५. बाइबल परमेश्वरको कामको गवाही हो। हामी प्रभुमा विश्वास गर्नेहरूले आकाश र पृथ्वी अनि सबै थोक परमेश्वरद्वारा सृष्टि गरिएका हुन् भनेर बाइबलकै आधारमा स्वीकार गर्छौं। बाइबलकै कारण तिनीहरूले परमेश्वरका कामहरूको आश्चर्य, महान्ता, र सर्वशक्तिसम्पन्नतालाई देख्छन्। त्यति मात्र होइन, बाइबलमा परमेश्वरका धेरै वचनहरू र मानिसको अनुभवका गवाहीहरू छन्, जसले मानिसको जीवनका लागि प्रबन्ध गर्न सक्छ, र मानिसलाई धेरै सुधार गर्न सक्छ। के हामी बाइबल पढेर अनन्त जीवन पाउन सक्छौं? वा के बाइबलमा अनन्त जीवनको बाटो छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“शास्त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्ना ५:३९-४०)।
“म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्ग पनि प्राप्त गर्न सक्छन्, जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवनका मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचन निकै बहुमूल्य छन्, र तिनले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिस बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका हुनाले, यसप्रतिका मानिसहरूका धारणाहरू महान् आत्मिक व्यक्तित्वहरूको कुनै लेखनप्रतिको धारणाभन्दा फरक छन्। बाइबल भनेको पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गरेका मानिसहरूको अनुभव र ज्ञानको अभिलेख र सङ्ग्रह हो, त्यसैले पछिका पुस्ताहरूले त्यसबाट धेरै अन्तर्दृष्टि, ज्योति र अभ्यासका मार्गहरू प्राप्त गर्न सकेका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेख बाइबलबाट लिइएका हुन्, अनि उनीहरूका सबै अनुभव बाइबलबाट आएका हुन् र बाइबलका व्याख्याहरू हुन्। अनि त्यसैले, मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट भरणपोषण प्राप्त गर्न सक्ने भए पनि, उनीहरू अझै पनि बाइबललाई नै पुज्छन्, किनकि उनीहरूलाई यो अत्यन्तै महान् र गहन लाग्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकलाई एकीकृत गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले भरणपोषण दिन र मद्दत गर्न सक्ने भए पनि, यी पुस्तकहरू अझै पनि पुराना नै हुन्, ती अझै पुरानै युगकै हुन्, र ती जतिसुकै राम्रो भए पनि, ती एक अवधिका लागि मात्र उपयुक्त छन्, र चिरस्थायी छैनन्। किनकि परमेश्वरको काम सधैँ विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्न सक्दैन—अर्थात्, यो सधैँभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगका लागि उपयुक्त छैनन्। तिनले केवल अनुग्रहको युगका विश्वासीहरूका लागि भरणपोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूका लागि सक्दैनन्, र ती जतिसुकै राम्रा भए पनि, अझै पनि अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको काम पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, पुरानो हुने नै थियो, र त्यो बितेर जाने समय आउने नै थियो। परमेश्वरको काम पनि यस्तै हो: यो जतिसुकै महान् भए पनि, यो समाप्त हुने समय आउने नै छ; यो सधैँ सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्नमा यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुन नै सक्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तक—इतिहासका पुस्तकहरू भएका छन्, तिनीहरू पुराना पञ्चाङ्गहरू भएका छन्, अनि पुराना पञ्चाङ्गहरूले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्चाङ्गहरू मानिसहरूलाई जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाइ गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु, तैँले अन्धाधुन्ध यी पञ्चाङ्गहरूमा विश्वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त सक्दैनन् नै, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्वरप्रतिको आफ्नो विश्वासमा प्रतिगमन गरिरहेको हुनेथिइनस् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
धेरै मानिस के विश्वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको साँचो मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, के कामकुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएको काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छ, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्वर इतिहासलाई फर्केर हेर्नुहुन्न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्वरमा विश्वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्वरमा विश्वास गर्दैनस्। तर आज, तँ परमेश्वरमा विश्वास गर्ने, तँ जीवन, र परमेश्वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद् भएको भए तैँले बाइबल पढ्न सक्नेथिस्—तर तँ होइनस्, तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)
सायद तँ अहिले जीवन प्राप्त गर्ने चाहना गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने चाहना गर्छस् होला। जेसुकै भए पनि, तँ परमेश्वरलाई भेट्टाउने इच्छा गर्छस्, तँ भर पर्न सक्ने र तँलाई अनन्त जीवन दिन सक्ने परमेश्वरलाई भेट्टाउने इच्छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्नैपर्छ र पहिले परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ भनी जान्नैपर्छ। मैले भनिसकेको छु कि परमेश्वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्वरसँग मात्रै जीवनको मार्ग छ। परमेश्वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्वर मात्रै जीवनको मार्ग हुनुभएकोले, परमेश्वर स्वयम् नै अनन्त जीवनको मार्ग हुनुहुन्छ। त्यसैले, तैँले सुरुमा परमेश्वर कहाँ हुनुहुन्छ, र अनन्त जीवनको यो बाटो कसरी प्राप्त गर्ने भन्ने कुरा बुझ्नुपर्छ। अब यी दुई विषयहरूलाई अलगअलग रूपमा हामी सङ्गति गरेर हेरौँ।
यदि तँ साँच्चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्नको उत्तर दे: आज परमेश्वर कहाँ हुनुहुन्छ? सायद तैँले यस्तो जवाफ दिनेछस्, “निश्चय नै, परमेश्वर स्वर्गमा बस्नुहुन्छ—उहाँ तपाईंको घरमा बसिरहनुभएको त हुनुहुन्न होला, हुनुहुन्छ त?” सायद तैँले भन्न सक्छस् कि परमेश्वर अवश्य नै सबै कुराहरूका माझमा बस्नुहुन्छ। वा तैँले भन्न सक्छस् कि परमेश्वर हरेक व्यक्तिको हृदयमा बस्नुहुन्छ, वा परमेश्वर आत्मिक जगतमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिनँ, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्वर मानिसको हृदयमा बस्नुहुन्छ भनेर भन्नु पूर्ण रूपमा सत्य होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्वरमा विश्वास गर्नेहरूमध्ये, कसैको विश्वास साँचो छ र कसैको विश्वास झूटो छ, कसैलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु, परमेश्वर एकदुई जना मानिसहरूको हृदयमा मात्रै बस्नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्वरमा साँचो विश्वास गर्नेहरू, परमेश्वरद्वारा स्वीकार हुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँद्वारा सिद्ध पारिनेहरू हुन्। परमेश्वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्वरको अनन्त जीवनको बाटोको बारेमा सुन्ने र देख्ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्वरमाथि झूटो विश्वास हुनेहरू, परमेश्वरद्वारा स्वीकार नहुनेहरू, परमेश्वरद्वारा घृणा गरिनेहरू, परमेश्वरद्वारा हटाइनेहरू—तिनीहरू परमेश्वरद्वारा इन्कार हुने निश्चित छ, तिनीहरू जीवनको बाटोविहीन हुने निश्चित छ र तिनीहरू परमेश्वर कहाँ हुनुहुन्छ भन्ने कुराप्रति अनजान हुने निश्चित छ। यसको विपरीत, जसको हृदयमा परमेश्वर बस्नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ। परमेश्वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्वर कहाँ हुनुहुन्छ भन्ने थाहा छ? परमेश्वर मानिसको हृदय र मानिसको छेउ दुवैमा हुनुहुन्छ। उहाँ आत्मिक जगतमा र सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्न, उहाँ त अझै बढी रूपमा पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। यसरी, आखिरी दिनहरूको आगमनले परमेश्वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। परमेश्वरले यावत् थोकमाझ सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानिसको हृदयमा उसको सहारा उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको मार्ग मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको मार्गमा ल्याउन सक्नुहुन्छ। मानिसले जीवनको मार्ग प्राप्त गर्न सकोस् भनेर, र मानिसको अस्तित्वका खातिर परमेश्वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। साथ-साथै परमेश्वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकमाझ सबै कुरालाई निर्देशन पनि गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्ने धर्मसिद्धान्तलाई मात्रै मान्छस्, तर मानिसमाझ परमेश्वरको अस्तित्वको सत्यतालाई मान्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यताको मार्ग पनि कहिल्यै प्राप्त गर्नेछैनस्।
परमेश्वर स्वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्नेहरूले निश्चय नै जीवन प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन एकसाथ सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण अस्तित्वमा तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। के कुरा जान् भने, फगत पुस्तकका शब्दहरूलाई जीवन मान्न सकिँदैन, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्, अनि पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्वरले व्यक्त गर्ने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूमा परमेश्वरले बोल्नुभएका वचनहरूको अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी अनुसन्धान गर्ने विज्ञ होस् भनेर भन्नु हो। तँ सधैँ परमेश्वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्वरले उहाँका अनुयायीहरूलाई भन्नुभएको मार्गमा मात्रै विश्वास गर्छस्, तर तँ परमेश्वरको आजको कामको रुझानमा विश्वास गर्दैनस्, परमेश्वरको आजको महिमामयी मुहारमा विश्वास गर्दैनस्, र परमेश्वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्न देख्ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अहिले अझै पनि मानिसलाई जिउन सक्षम बनाउन नसक्ने शब्दहरूमा टाँसिन्छस् भने, तँ आशाहीन काठको ठुटा होस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ