२. हामीले सधैँ प्रभु येशूमाथिको हाम्रो विश्वासद्वारा हाम्रा पापहरू क्षमा हुनु भनेको मुक्तिको अनुग्रह प्राप्त गर्नु हो भनी विश्वास गरेका छौं, तापनि तपाईं “मुक्ति पाउनु” को अर्थ वास्तविक मुक्ति होइन भनेर भन्नुहुन्छ। त्यसोभए मुक्ति पाउनुको अर्थ के हो, र पूर्ण रूपमा मुक्ति पाउनु भनेको के हो? मुक्ति पाउनु र पूर्ण रूपमा मुक्ति पाउनुबिचको मुख्य भिन्नता के हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर विश्वास नगर्नेलाई दण्डाज्ञा हुनेछ” (मर्कूस १६:१६)।
“किनभने यो नयाँ करारको मेरो रगत हो, जुन धेरैको पापक्षमाको लागि बगाइएको छ” (मत्ती २६:२८)।
“मलाई प्रभु, प्रभु भन्ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)।
“यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्वर र थुमाका लागि पहिलो फल भएकाले यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:४-५)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
परमेश्वरको कामको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्वरको काम पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार मात्रै गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सरल रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्वरको अघि आउनका लागि उसको पापहरू त्यस उप्रान्त बाधा रहेनन्, र ती त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेनन्। किनभने परमेश्वर स्वयमले व्यावहारिक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको नमुना बन्नुभएको थियो, र परमेश्वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र उसलाई परमेश्वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै शोचनीय किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको आनन्दको अति नै लालसा गर्छन् र देहलाई ज्यादै अभिव्यक्त गर्छन्; यसैकारण परमेश्वर मानिसको देहलाई यति धेरै घृणा गर्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तब परमेश्वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरू अझै पनि फोहोर र भ्रष्टता फाल्दैनन् भने, तिनीहरू अझै पनि शैतानको सत्तामा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने षड्यन्त्र र झै-झगडा, छलकपट र बेईमानी सबै शैतानका कुरा हुन्। परमेश्वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तँ परमेश्वरमाथिको विश्वासमा त्यस बिन्दुमा पुगेको हुन्छस् जहाँ तँ आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र यो भ्रष्टताद्वारा नियन्त्रित हुन छोड्छस्, तब के तैँले मुक्ति पाएको हुनेछैनस् र? जब तँ शैतानको शक्तिअन्तर्गत जिउँछस्, तब तँ परमेश्वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ फोहोर वस्तु बन्छस् र परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध र सिद्ध पारिएपछि, तँ पवित्र पारिएको हुनेछस्, तँ सामान्य व्यक्ति हुनेछस्, साथै तँ परमेश्वरद्वारा आशिषित् हुनेछस् र परमेश्वरको प्रिय बन्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)
मानिसहरूको विश्वासको सबैभन्दा ठूलो महत्त्व के हो? सामान्य भाषामा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नका निम्ति हो। मुक्ति भनेको ठ्याक्कै के हो? अनि मुक्तिको महत्त्व के हो? म तिमीहरू सबैले यसबारे सोचविचार गरेको चाहन्छु। (यसको अर्थ हामी शैतानको अन्धकारमय प्रभावबाट मुक्त हुन, पूर्णतया परमेश्वरतर्फ फर्कन, र अन्ततः जीवित रहन सक्छौँ भन्ने हो।) (मानिसहरू शैतानको सत्ताअन्तर्गत जिउँछन् र त्यसैले तिनीहरू मृत्युको योग्य छन्, तर परमेश्वरको कामको अनुभवमार्फत, तिनीहरूले मुक्ति पाउन सक्छन्, र यसरी तिनीहरू मृत्युबाट बच्न सक्छन्।) तिमीहरू सबैले यो कुरा बुझ्छौ र त्यसलाई धर्मसिद्धान्तको स्तरमा व्याख्या गर्न सक्छौ, तर तिमीहरूलाई मुक्ति प्राप्त गर्नु भनेको वास्तवमा के हो भनेर थाहै छैन। के मुक्ति प्राप्त गर्नु भनेको तेरा भ्रष्ट स्वभावहरू फाल्नु हो? के मुक्ति प्राप्त गर्नुले नढाँट्ने, इमानदार व्यक्ति बन्ने र परमेश्वरविरुद्ध विद्रोह गर्न छोड्ने अर्थ दिन्छ? मुक्ति पाइसकेपछि मानिसहरू कस्ता हुन्छन्? सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तेरो मृत्यु निश्चित थियो—र परमेश्वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुअघि मानिसहरू कसको सत्ताअन्तर्गत जिउँछन्? (शैतानको सत्ताअन्तर्गत।) अनि शैतानको सत्ताअन्तर्गत मानिसहरू केका आधारमा जिउँछन्? उनीहरू शैतानको प्रकृति र त्यसका भ्रष्ट स्वभावहरूका आधारमा जिउँछन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व—उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू—जीवित हुन्छन् कि मृत हुन्छन्? परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तँ सास फेरिरहेको र सोचिरहेको देखिन्छस्, तर तँ निरन्तर जे कुराबारे सोचिरहेको हुन्छस् त्यो सबै दुष्ट, परमेश्वरको अवज्ञा गर्ने र परमेश्वरविरुद्ध विद्रोही हुन्छ, तेरा सबै सोच परमेश्वरले घिनाउने, घृणा गर्ने र दोषी ठहराउने कुरा हुन्। परमेश्वरको नजरमा, यी सबै थोकहरू देहका मात्र हुँदैनन्, बरु ती त पूर्ण रूपमा शैतान र दियाबलसका हुन्छन्। त्यसोभए, परमेश्वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु र दियाबलस हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्वरको नजरमा, तिनीहरू मानव देह धारण गरेका जिउँदा शैतान हुन्, मानवको खोल ओढेका दियाबलस हुन्। परमेश्वर त्यस्ता मानिसहरूलाई जिउँदा लाश, अर्थात् मरेका मानिस भनेर चित्रण गर्नुहुन्छ। अहिले परमेश्वरले गरिरहनुभएको मुक्तिको कामको उद्देश्य शैतानका भ्रष्ट स्वभावहरू र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिने र तिनीहरूलाई जीवित मानिसमा परिणत गर्ने हो। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्वरमा विश्वास गर्छ—मुक्ति पाउनु भनेको के हो? जब व्यक्तिले परमेश्वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका थिए र तिनीहरू मर्नु निश्चित थियो, तर अहिले तिनीहरूले परमेश्वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्वरमा विश्वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्वरप्रति समर्पित हुन, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई अवज्ञा वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविक प्रकटीकरणहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (जो सत्यता स्विकार्न सक्छन् तिनीहरू नै जिउँदा मानिस हुन्। यदि मानिसहरूका सोचाइ र हेराइ र कामकुराबारे तिनीहरूका दृष्टिकोणहरू परिवर्तन भएर परमेश्वरका वचनहरूअनुरूप हुन्छन् भने, तिनीहरू जिउँदा मानिस हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्वरलाई चिन्ने मानिसहरू परमेश्वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतालाई जीवनमा उतार्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू प्रत्येकले एकखाले प्रकटीकरणबारे बताएका छौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्वरका वचनहरूलाई ध्यान दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, उसले सोच्न र खुट्ट्याउन सक्नैपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरू सामान्य मानिसहरूले गर्नुपर्ने केही काम गर्न सक्छन्। मुख्य गरी, तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्छन्, र तिनीहरूले मनमा सोच्ने र प्रकट गर्ने कुरामा, साथै तिनीहरूले नियमित रूपमा भन्ने र गर्ने कुरामा, तिनीहरू परमेश्वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्वरद्वारा दोषी ठहराइँदैन वा तिरस्कार गरिँदैन, बरु उहाँद्वारा मान्यता दिइन्छ र अनुमोदन गरिन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ
यदि मानिसहरू जीवित प्राणी बन्न र परमेश्वरको गवाही दिन, अनि परमेश्वरद्वारा योग्य ठहरिन चाहन्छन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्वरको काँटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्वरद्वारा माग गरिएका सबै सत्यता अभ्यास गर्न सक्नेछन् र त्यसपछि मात्र तिनीहरूले परमेश्वरको मुक्तिको अनुग्रह प्राप्त गर्नेछन् र तिनीहरू साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन्, जसलाई परमेश्वरले मुक्ति दिनुभएको हुन्छ; तिनीहरू परमेश्वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र खुसीसाथ परमेश्वरका लागि आफ्नो जीवन त्याग्छन् र तिनीहरू हर्षसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्वरप्रति समर्पित गर्छन्। जब जीवितहरू परमेश्वरको गवाही दिन्छन्, तब मात्र शैतानलाई लज्जित पार्न सकिन्छ; जीवितहरूले मात्र परमेश्वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिस हुन्। सुरुमा परमेश्वरद्वारा सृजित मानिस जीवित थियो, तर शैतानको भ्रष्टताका कारण मानिस मृत्युबीच जिउँछ अनि शैतानको प्रभावमा जिउँछ, त्यसैले यसरी मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्वरको विरोध गर्ने शत्रु बनेका छन्, तिनीहरू शैतानको औजार बनेका छन् अनि तिनीहरू शैतानको बन्दी बनेका छन्। परमेश्वरद्वारा सृजित जीवित मानिसहरू मृत जन बनेका छन्, त्यसैले परमेश्वरले आफ्नो गवाही गुमाउनुभएको छ, र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु, मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्वरले उहाँको गवाही फिर्ता लिने र उहाँको आफ्नै हातद्वारा सृजित गरिएका तर शैतानद्वारा बन्दी बनाइएकाहरूलाई फिर्ता लिने हो भने, तिनीहरूलाई पुनर्जीवित गर्नैपर्छ ताकि तिनीहरू जीवित प्राणी बनून्, र उहाँले तिनीहरू सबैलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा जिऊन्। मृतकहरू ती हुन्, जोसँग आत्मा हुँदैन, जो चरम रूपमा भावशून्य हुन्छन्, र जो परमेश्वरको विरोध गर्छन्, त्यसभन्दा पनि बढी, जो परमेश्वरलाई चिन्दैनन्। यी मानिसहरूमा परमेश्वरप्रति समर्पित हुने रत्तीभर अभिप्राय हुँदैन; तिनीहरू केवल उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर बफादारी हुँदैन। जीवितहरू ती हुन्, जसको आत्मा पुनर्जीवित भएको हुन्छ, जो परमेश्वरमा समर्पित हुन जान्दछन्, जो परमेश्वरप्रति बफादार छन्, र जोसँग सत्यता र गवाही छ—यी मानिसहरू मात्र परमेश्वरका लागि उहाँको घरमा प्यारा हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?