२. हामीले सधैँ प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हाम्रा पापहरू क्षमा हुनु भनेको मुक्तिको अनुग्रह प्राप्त गर्नु हो भनी विश्‍वास गरेका छौं, तापनि तपाईं “मुक्ति पाउनु” को अर्थ वास्तविक मुक्ति होइन भनेर भन्‍नुहुन्छ। त्यसोभए मुक्ति पाउनुको अर्थ के हो, र पूर्ण रूपमा मुक्ति पाउनु भनेको के हो? मुक्ति पाउनु र पूर्ण रूपमा मुक्ति पाउनुबिचको मुख्य भिन्नता के हो?

सन्दर्भका लागि बाइबलका पदहरू:

“जसले विश्‍वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्नेलाई दण्डाज्ञा हुनेछ” (मर्कूस १६:१६)

“किनभने यो नयाँ करारको मेरो रगत हो, जुन धेरैको पापक्षमाको लागि बगाइएको छ” (मत्ती २६:२८)

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)

“यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका लागि पहिलो फल भएकाले यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:४-५)

परमेश्वरका सान्दर्भिक वचनहरू:

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने, तँ उप्रान्त पापको वशमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ मानिस येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्‍ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरको कामको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको काम पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार मात्रै गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सरल रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनका लागि उसको पापहरू त्यस उप्रान्त बाधा रहेनन्, र ती त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेनन्। किनभने परमेश्‍वर स्वयमले व्यावहारिक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको नमुना बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र उसलाई परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। यी वचनहरू स्वीकार गर्दा यी मानिसहरूमा ल्याइने परिवर्तनहरू, अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गर्दा मानिसहरूमा ल्याइएका परिवर्तनहरूभन्दा ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभाव अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका भ्रष्ट शैतानी स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसको आस्थाका कारण, उसलाई केवल मुक्ति दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्‍वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र रूपान्तरित गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानी स्वभावअन्तर्गत जिइरह्यो। यस्तो भएकोले, मानिसलाई उसको भ्रष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, ताकि उसको पापी प्रकृति पूर्ण रूपले फालियोस्, र फेरि कहिल्यै विकास नहोस्, यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्‍वरका अभिप्रायअनुसार होस्, ताकि उसले आफ्नो भ्रष्ट शैतानी स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै शोचनीय किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू अति धेरै छन्; यसैकारण परमेश्‍वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तब परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको सत्तामा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त षड्यन्त्र, छलकपट र बेईमानी सबै शैतानका कुराहरू हुन्। परमेश्‍वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्‍वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्‍म विश्‍वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधीनमा जिउँछस्, तब तँ परमेश्‍वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ फोहोर वस्तु बन्छस् र तैँले परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध र सिद्ध पारिएपछि, तँ पवित्र हुनेछस्, तँ सामान्य व्यक्ति हुनेछस्, र तैँले परमेश्‍वरबाट आशिष् पाउनेछस् र तँ परमेश्‍वरको निम्ति आनन्दको मानिस बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

अब मानिसहरूको आस्थाको अन्तिम अर्थ के हो त? सरल रूपमा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नको निम्ति हो। अनि मुक्तिको महत्त्व के हो? म चाहन्छु कि तिमीहरू सबैले त्यसबारे सोच र वास्तवमा मुक्ति प्राप्त गर्नुको अर्थ के हो मलाई बताओ। (त्यसको अर्थ हामी शैतानको अँध्यारो प्रभावबाट मुक्त हुन, पूर्णतया परमेश्‍वरतर्फ फर्कन, र अन्ततः बाँच्न सक्छौँ भन्‍ने हो।) (शैतानको शक्तिमा जिउने मानिसहरू मृत्युको हकदार हुन्छन्, तर परमेश्‍वरको काम अनुभव गरेर मुक्ति प्राप्त गर्ने मानिसहरू मर्नेछैनन्।) तिमीहरू सबैले यो कुरा बुझ्छौ र त्यसलाई धर्मसिद्धान्तको स्तरमा व्याख्या गर्न सक्छौ, तर तिमीहरूलाई मुक्ति प्राप्त गर्नु भनेको वास्तवमा के हो भनेर थाहै छैन। के मुक्ति प्राप्त गर्नु तेरो भ्रष्ट स्वभाव हटाउनु हो र? के मुक्ति प्राप्त गर्नुले नढाँट्ने, इमानदार व्यक्ति बन्‍ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्ने अर्थ दिन्छ? मुक्ति पाइसकेपछि मानिसहरू कस्ता हुन्छन्? सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्‍ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तेरो मृत्यु निश्चित थियो—र परमेश्‍वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुअघि मानिसहरू कसको सत्तअन्तर्गत जिउँछन्? (शैतानको सत्ताअन्तर्गत।) अनि शैतानको सत्ताअन्तर्गत जिउनका निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व—उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू—जीवित हुन्छन् कि मृत हुन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तैँले निरन्तर रूपमा सोच्ने सबथोक दुष्ट परमेश्‍वरलाई चुनौती दिने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुन्छन्, तेरा सबै सोचहरू परमेश्‍वरले घिनाउने, घृणा र निन्दा गर्ने कुरा हुन्। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू देहका मात्र हुँदैनन्, बरु ती त पूर्ण रूपमा शैतान र दियाबलसका हुन्छन्। त्यसोभए, परमेश्‍वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु, दियाबलस र शैतान हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्‍वरको नजरमा, तिनीहरू मानव देह धारण गरेका जिउँदा शैतान हुन्, मानवको खोल ओडेका दियाबलसहरू हुन्। परमेश्‍वर त्यस्ता मानिसहरूलाई जिउँदा लाश, अर्थात् मरेका मानिस भनेर चित्रण गर्नुहुन्छ। परमेश्‍वर अहिले मुक्तिको काम गर्दै हुनुहुन्छ, यसको मतलब उहाँले शैतानको भ्रष्ट स्वभाव र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिनुहुन्छ र तिनीहरूलाई जिउँदा मानिसहरूमा परिणत गर्नुहुन्छ। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्‍वरमा विश्‍वास गर्छ—मुक्ति पाउनु भनेको के हो? जब व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका थिए र तिनीहरू मर्नु निश्‍चित थियो, तर अहिले तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्‍वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई प्रतिरोध वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्‍वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्‍वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविकताहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (सत्यता स्विकार्न सक्ने मानिसहरू नै जिउँदा व्यक्तिहरू हुन्। मानिसहरूका वैचारिक दृष्टिकोणहरू र विभिन्‍न कुराहरूसम्बन्धी विचारहरू परिवर्तन भएर परमेश्‍वरका वचनहरूअनुरूप हुन्छन् भने तिनीहरू जिउँदा मानिसहरू हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्‍वरलाई चिन्ने मानिसहरू परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतालाई जीवनमा उतार्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू सबैले एकखाले प्रकटीकरणबारे बतायौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्‍वरका वचनहरूलाई ध्यान दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, उसले सोच्न र खुट्ट्याउन सक्नैपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरूले सामान्य मानिसहरूले गर्नुपर्ने केही कामहरू गर्न सक्छन्। मुख्य गरी, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउँछन्, र तिनीहरूले नियमित रूपले जे सोच्छन् र प्रकाश गर्छन्, जे भन्छन् र गर्छन् त्यसमा परमेश्‍वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्‍ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्‍वरले निन्दा वा तिरस्कार गर्नुहुन्‍न, बरु उहाँले मान्यता दिनुहुन्छ र अनुमोदन गर्नुहुन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

यदि मानिसहरू जीवित प्राणीहरू बन्न र परमेश्‍वरको गवाही दिन, अनि परमेश्‍वरद्वारा अनुमोदित हुन चाहन्छन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्‍वरको काटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र परमेश्‍वरले माग गर्नुभएका सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन् जसलाई परमेश्‍वरले मुक्ति दिनुभएको छ; तिनीहरू परमेश्‍वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र परमेश्‍वरका लागि आफ्नो जीवन त्याग्न खुसी हुन्छन् र तिनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पित गर्नेछन्। जब जीवितहरूले परमेश्‍वरको गवाही दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरमा समर्पित हुने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरमा समर्पित हुन जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

अघिल्लो:  १. तपाईं भन्नुहुन्छ, मानिसहरूले परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने न्यायको कामलाई स्वीकार गरे भने मात्र तिनीहरू शुद्ध हुन र तिनीहरूले पूर्ण रूपले मुक्ति पाउन सक्छन्। हामी त्यस्तो विश्‍वास गर्दैनौं। बाइबलले भन्छ, “किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ” (रोमी १०:१०)। “त्यसैले जो ख्रीष्‍ट येशूसँग छन् उनीहरूका लागि अब कुनै निन्दा छैन” (रोमी ८:१)। हाम्रा पापहरू पहिले नै क्षमा गरिएको छ र प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हामी धर्मी ठहरिएका छौं। हामी एकै पटकमा र सधैँका लागि उद्धार गरिएका छौं, र जब प्रभु फर्केर आउनुहुन्छ, हामी सीधै स्वर्गमा लगिनेछौं। त्यसोभए तपाईं किन पूर्ण रूपले मुक्ति पाउनका निम्ति हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नुपर्छ भनी भन्नुहुन्छ?

अर्को:  १. बाइबलले भन्छ, “त्यसपछि हामी जिउँदा र बाँकी रहेकाहरू आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौँ: अनि तसर्थ सदासर्वदा प्रभुसँगै रहनेछौँ” (१ थेसलोनिकी ४:१७)। हामी विश्‍वास गर्छौं, प्रभु आउनुभएपछि, हामी उहाँसँग भेट्नका लागि सीधै आकाशका बादलहरूमा उठाइनेछौं। प्रभु फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसो भए हामी किन उठाएर लगिएका छैनौं?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger