१००. साँचो कुरा बोलेर मैले के पाएँ

क्लारा, अमेरिका

केही समयअघि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, जसमा भनिएको थियो: “खुसामद, चापलुसी, र मिठा शब्दहरू—बाहिरी रूपमा, यी शब्दहरूको अर्थ सबैले बुझ्नुपर्छ, र यी कुराहरू सन्निहित भएका व्यक्तिहरू यत्रतत्र भेटिन्छन्। खुसामदी र चापलुसीमा लाग्नु, र मिठा शब्दहरू बोल्नु भनेको प्रायजसो अरूको निगाह, प्रशंसा, वा कुनै लाभ प्राप्त गर्नहेतु अपनाइने बोलीको शैली हो। चापलुसी र चोचोमोचो गर्नेहरूले सबैभन्दा बढीजसो यस्तै बोल्छन्। यो भन्‍न सकिन्छ कि सारा भ्रष्ट मानवहरूले केही हदसम्म यही प्रकटीकरण देखाउँछन्, जुन शैतानी दर्शनअन्तर्गत पर्ने बोलीको शैली हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। त्यतिबेला, त्यस्ता मानिसहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचन पढेपछि, मैले तिनलाई आफैमा लागू गरिनँ। त्यस्ता मानिसहरूदेखि मलाई घृणा लाग्थ्यो, अनि म तिनीहरूलाई मन पराउँदिनथिएँ वा तिनीहरूसँग समय बिताउन चाहन्नथिएँ, त्यसैले म तिनीहरूभन्दा असल छु भन्‍ने मलाई लाग्थ्यो। तर सोच्दै नसोचेको कुरा, जब तथ्यहरूले मलाई प्रकट गरे, तब मैले के देखेँ भने, आफ्नै हितहरूका लागि म पनि त्यस्तै—मान्छे खुसी पार्न खोज्ने, चापलुसी गर्ने र मीठा कुराहरू गर्ने गर्दो रहेछु अनि अत्यन्तै धूर्त र छली तरिकाले पनि व्यवहार गर्दो रहेछु।

केही दिनअघि, म एउटा समूह भेलामा सहभागी भएँ। भेलापछि, मेरो अगुवाले मलाई एउटा मेसेज पठाएर ब्रदर कालेबको सङ्‍गति कस्तो थियो भनेर सोध्नुभयो। त्यो मेसेज हेरेर म अलि आत्तिएँ, “अगुवाले मलाई अचानक किन यो प्रश्न सोध्दै हुनुहुन्छ? मैले यसको जवाफ कसरी दिनुपर्छ? मैले गलत जवाफ दिएँ भने, उहाँले मेरा बारेमा के सोच्नुहोला? अरू मानिसहरू कति राम्रोसँग सङ्‍गति गर्छन् भनी म खुट्याउनसमेत नसक्ने रहेछु, मेरो क्षमता कमजोर रहेछ, र मसँग कुनै वास्तविक अनुभव छैन रहेछ भनेर पो सोच्नुहुनेछ कि? यदि त्यसो भयो भने, के उहाँले मलाई भविष्यमा कहिल्यै विश्वास गर्नुहोला र महत्त्वपूर्ण कामहरूमा लगाउनुहोला त? मैले छिट्टै समूह अगुवाको पदसमेत गुमाउन सक्छु।” अगुवाको मनमा आफ्नो छवि र हैसियत कायम राख्न, र म कामकुराहरू खुट्याउन सक्छु भनी सोच्ने बनाउन, मैले उहाँको आशय के होला भनेर अड्कल काट्न थालेँ। उहाँले सोध्नुभयो भनेपछि पक्कै पनि उहाँलाई कालेबको सङ्‍गतिमा समस्या छ भन्ने लागेको हुनुपर्छ, त्यसैले उहाँको अनुमोदन प्राप्त गर्न म के भन्न सक्छु होला? वास्तवमा, कालेबले सङ्‍गति गरेका केही कुरा कता-कता शब्द र धर्मसिद्धान्तहरूमा सीमित लागे पनि, कतिपय ठाउँमा त्यो व्यावहारिक नै लागेको थियो। तर मेरो बुझाइ सही नहोला कि भन्ने डरले गर्दा, मैले अगुवालाई आफ्नो मनको वास्तविक कुरा बताइनँ। त्यसको सट्टा, मैले भनेँ, “कालेबले धेरैजसो धर्मसिद्धान्तका बारेमा सङ्‍गति गरे।” मेरो अगुवाले जवाफ दिनुभयो, “हो, उनले भनेका धेरै कुरा शब्द र धर्मसिद्धान्तहरूमा सीमित थिए। भविष्यमा उनलाई अझ बढी सम्झाउन र मद्दत गर्न नबिर्सिनू है।” अगुवाको जवाफ पढिसकेपछि मैले सोचेँ, “धन्न, मैले आफ्नो मनको कुरा भनिनछु। नत्र त आफ्नै बेइज्जत गराउने थिइनँ र? अनि मेरो अगुवाले मेरो वास्तविकता थाहा पाउनुहुने थियो!”

त्यसलगत्तै, म अर्को समूह भेलामा सहभागी भएँ। भेलापछि, अगुवाले मलाई फेरि एउटा मेसेज पठाउँदै सोध्नुभयो, “सिस्टर जेम्माको सङ्‍गति तपाईँलाई कस्तो लाग्यो?” त्यो मेसेज देखेपछि, म अलि अक्कबक्क परेँ। भेला भइरहेका बेला मेरो मन अन्तै डुलिरहेको थियो, त्यसैले मैले उनको सङ्‍गति ध्यान दिएर सुन्दै सुनेकी थिइनँ। अब मैले कसरी जवाफ दिने त? मैले साँचो कुरा बताएँ भने, अगुवाले मेरा बारेमा के सोच्नुहोला? अगुवाले पहिले जेम्माले प्रायः शब्द र धर्मसिद्धान्तहरू बोल्छिन् भन्नुभएको कुरा मैले सम्झेँ, त्यसैले के उहाँ मलाई यही कुरा पुष्टि गर्न सोध्नुभएको हो कि? पछिल्लो पटक, उहाँले त्यसैगरी सोध्नुभएको थियो किनभने उहाँलाई कालेबले धेरै धर्मसिद्धान्तहरूका कुरा गर्छन् जस्तो लागेको सोध्नुभएको थियो। यसपालि पनि कारण त्यही नै होला भन्ने मलाई लाग्यो। त्यसैले, मैले जवाफ दिएँ, “जेम्माको सङ्‍गतिबाट, उनीसँग कस्तो आत्मज्ञान छ, वा उनको कुन दृष्टिकोणमा परिवर्तन आएको छ भन्ने कुरा मैले सुनिनँ।” मेरो जवाफ पढेपछि अगुवाले केही पनि भन्नुभएन। त्यसपछि म शान्त रहन सकिनँ, र मैले अड्कल काट्न थालेँ, “के अगुवा मेरो जवाफबाट असन्तुष्ट हुनुभएको हो? मैले गलत जवाफ दिएँ कि? यदि त्यसो हो भने, के उहाँले मेरो क्षमता कमजोर छ भनेर सोच्नुहोला?” ती दिनहरूमा, यसले बेलाबेलामा मेरा विचारहरूलाई बाधा पुर्‍याइरह्यो।

केही दिनपछि, एउटा एउटा भेलाको क्रममा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई नै घोचे जस्तो महसुस गरायो। परमेश्‍वरका वचनहरूले भन्छन्: “अरूका अगाडि एउटा र तिनीहरूको पिठ्युँ पछाडि अर्को व्यवहार गर्ने ती छली मानिसहरू सिद्ध पारिन इच्छुक हुँदैनन्। तिनीहरू सबै अनन्त विनाशका पुत्र र विनाशका पुत्र हुन्; तिनीहरू शैतानका हुन्, र तिनीहरू परमेश्‍वरद्वारा चुनिएका होइनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई चयन गर्नुहुन्न!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ)। केही दिनअघि घटेको घटनालाई म नसोची बस्न सकिनँ। जब अगुवाले मलाई ब्रदर र सिस्टरको सङ्‍गतिका बारेमा मेरो विचार सोध्नुभयो, तब मैले आफ्नो वास्तविक विचार गर्ने आँट नै गरिनँ, किनभने मलाई मेरो गलत जवाफले अगुवाको हृदयमा रहेको मेरो छवि र हैसियतमा असर पर्नेछ भन्ने डर थियो, त्यसैले मैले छली तरिकाले जवाफ दिएँ। मैले अगुवाले मनमा के छ भनेर अड्कल काटेँ, अनि उहाँका विचारहरूसँग मिल्ने गरी जवाफ दिने प्रयास गरेँ। यसो गर्दा गल्ती हुने सम्भावना कम हुन्छ, अगुवाले मेरो वास्तविकता देख्नुहुनेछैन, र मेरो पद सुरक्षित रहनेछ भन्ने मलाई लागेको थियो। मैले मेरो अगुवालाई मूर्ख बनाएर र मेरा विचारहरूलाई लुकाएर आफूलाई चलाख ठानेँ, तर परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँले सबै कुराको छानबिन गर्नुहुन्छ। परमेश्‍वरले मेरा छली मनसायहरू र युक्तिहरू स्पष्ट रूपमा देख्नुभयो, र परमेश्‍वरले ती कुरालाई धिक्कार्नुभयो। मैले परमेश्‍वरका वचन जति धेरै मनन गरेँ, म त्यति नै डराएँ। मैले सोचेँ, मेरा विचारहरू कसरी यति दुष्ट, घृणास्पद र लाजमर्दा हुन सकेका होलान्। मैले ख्रीष्टविरोधीहरूको चाकरी गर्ने, चापलुसी गर्ने र मीठा-मीठा कुराहरू गर्ने स्वभावलाई परमेश्‍वरले कसरी खुलासा गर्नुभएको थियो भन्ने कुरा पनि सम्झेँ, त्यसैले मैले परमेश्‍वरका केही वचनहरू खोजेँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्‍नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्‍वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्‍वरसँग बोल्‍न र कुनै पनि वास्तविक कुरा भन्‍नसमेत सक्षम हुँदैनन्। तिनीहरू सर्पको घिस्राइजस्तै घुमाउरो र अप्रत्यक्ष तरिकाले कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएर माथितिर गएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरू घुमाउरो तरिकाले कुरा गरेर तेरो निर्णयको प्रतीक्षा गर्छन्, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्छन्, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्छन्, ताकि तिनीहरूका शब्दहरू तेरो सोचसँग मिलून्। तिनीहरूले भन्‍ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))

परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जबाफदेही ठहराइनेछ। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहुन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्‍वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ ढोँग गर्छ, कामकुरालाई ढाकछोप गर्छ र लुकाउँछ, र आफूलाई निकै कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तेरो भित्री हृदयका कुराहरूको छानबिन गर्न सक्‍नुहुन्छ। जब परमेश्‍वरले तँ इमानदार व्यक्ति होइनस्, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्‍ने कुरा देख्नुहुन्छ, उहाँले तँलाई मन पराउनुहुन्‍न, र उहाँले तँलाई घृणा गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। गैरविश्‍वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई अत्यन्तै रहस्यमयी, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न—र उहाँले यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्‍न। तिमीहरू यस्तो प्रकारको व्यक्ति कदापि हुनु हुँदैन। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चिप्ले र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्‍वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूलाई मुक्ति दिइनै सकिन्न। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, दुष्ट शब्द हुन्। तिनीहरूका शब्‍दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरका रूपमा हेर्नुहुन्छ। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र सारमा तिनीहरू दियाबलस र शैतान हुन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्‍वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))

परमेश्‍वरका वचनबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरूसँग विशेष गरी एउटा दुष्ट स्वभाव हुन्छ। आफ्ना लक्ष्यहरू प्राप्त गर्न, तिनीहरू ख्रीष्टको चापलुसी गर्छन् र परिस्थितिअनुसार चल्छन्, र तिनीहरूलाई के समेत लाग्छ भने ख्रीष्टले तिनीहरूका युक्तिहरू थाहा पाउनुहुने छैन र उहाँलाई छल गर्न सकिन्छ। त्यसैले, तिनीहरू खुलमखुला परमेश्‍वरलाई छल गर्ने र परमेश्‍वरलाई एउटा मानिसजस्तै ठान्ने आँट गर्छन्। परमेश्‍वरप्रतिको यस्तो मनोवृत्ति परमेश्‍वरका लागि अत्यन्तै अरुचिकर र घृणास्पद हुन्छ। म ख्रीष्टसँग प्रत्यक्ष सम्पर्कमा नभए तापनि, मैले प्रकट गरेको स्वभाव ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै थियो। मेरो अगुवाले मलाई मेरा ब्रदर र सिस्टरको सङ्‍गतिका बारेमा मेरो विचार सोध्नुभएको थियो, जुन एकदमै सामान्य प्रश्न थियो, र मैले जे लागेको थियो त्यही साँचो कुरा भन्न सक्थेँ, तर मेरा विचारहरू जटिल थिए, र मेरो मनमा धेरै तानाबाना बुनिएका थिए। मैले त अगुवाले मेरो खुट्याउन सक्ने क्षमताको जाँच गर्दै हुनुहुन्छ कि भनेर अड्कल समेत काटेँ, र मलाई के डर थियो भने मैले गल्ती गरेमा उहाँले मलाई कमको ठान्नुहुनेछ र मलाई अबउप्रान्त महत्त्व दिने वा संवर्धन गर्ने काम गर्नुहुनेछैन। उहाँको हृदयमा मेरो छवि र हैसियत कायम राख्न, मैले आफ्ना साँचो विचारहरू लुकाएँ र जानाजानी उहाँको आशयसँग मिल्ने गरी जवाफ दिने कोसिस गरेँ। मेरो व्यवहार ठ्याक्कै परमेश्‍वरका वचनले खुलासा गरेजस्तै थियो, एउटा नागबेली परेर हिँड्ने सर्प र यताउटा जेलिँदै फैलिने काँक्रोको लहरा जस्तै। मानिसहरूलाई व्यवहार गर्दा र मानिसहरूसँग घुलमिल हुँदा यसरी प्रस्तुत भएर, म तिनीहरूलाई छल गर्दै थिएँ र तिनीहरूसँग खेलवाड गर्दै थिएँ। म विशेष गरी धूर्त र कपटी भइरहेकी थिएँ। अनि मैले यी कुराहरू भनिरहँदा, मलाई थाहा नभएको होइन। मैले सोचेर र हिसाबकिताब गरेर नै ती कुरा बोलेकी थिएँ। मैले जानाजानी त्यसो गरेकी थिएँ। मैले त झन् परमेश्‍वरलाई मेरा युक्तिहरूका बारेमा थाहा पाउनुहुन्न भन्ने समेत सोचेकी थिएँ, त्यसैले मैले खुलमखुल्ला ढाँट्ने र छल्ने आँट गरेँ। मसँग परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै थिएन। अरू मानिसहरूसँग व्यवहार गर्दा त मैले यसरी ढाँट्ने र छल्ने आँट गरेँ भने, यदि कहिल्यै ख्रीष्टसँग मेरो भेट भयो भने त, म पक्कै पनि खुलमखुला परमेश्‍वरलाई छल गर्नेथिएँ, र परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथिएँ। विशेष गरी जब मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र सारमा तिनीहरू दियाबलस र शैतान हुन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्‍वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन,” म अचानक लाचार भएँ। परमेश्‍वरले मेरो प्रकृतिलाई खुलासा गर्दै मेरा कार्यहरूको चित्रण गर्दै हुनुहुन्थ्यो। मैले सम्झेँ कि अरूसँग कुराकानी गर्दा, मेरा आफ्नै मनसायहरू हुन्थे, र म तिनीहरूका शब्द र हाउभाउलाई नियाल्ने गर्थेँ। विशेष गरी अगुवा र कामदारहरूसँग, म तिनीहरूका विचारहरू अड्कल गर्ने र तिनीहरूको आशयसँग मिल्ने गरी, सुन्नमा मीठा लाग्ने कुराहरू गर्ने प्रयत्न गर्थेँ। यसरी जिउनु चलाखी हो भन्ने मलाई लाग्थ्यो किनभने कसैले पनि मेरो वास्तविकता थाहा पाउन सक्दैनथे। तर परमेश्‍वरले मलाई पहिल्यै छर्लङ्ग देखिसक्नुभएको थियो। अहिले आएर बल्ल मैले परमेश्‍वर किन इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्ने कुरा बुझेँ। किनभने इमानदार मानिसहरूको हृदय सरल, सफा पानीजस्तै शुद्ध हुन्छ, तिनीहरू मानिसहरू र परमेश्‍वरलाई निष्कपट व्यवहार गर्छन्, र तिनीहरू कहिल्यै जानाजानी आफ्ना कमजोरीहरू लुकाउँदैनन् वा छद्मभेष धारण गर्दैनन्। त्यस्ता मानिसहरू थकाउने जीवन जिउँदैनन्, अरूहरू तिनीहरूसँग सङ्गत गर्न रुचाउँछन्, र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्छ। तर छली मानिसहरूको मन भने जटिल हुन्छ, तिनीहरू युक्ति रच्छन् र हरेक कुरामा तिनीहरूका मनसायहरू हुन्छन्, र एकदमै सरल कुरा र शब्दहरू पनि तिनीहरूका लागि धेरै जटिल बन्न पुग्छन्। छली मानिसहरूका बोली र व्यवहार अरूलाई भ्रममा पारेर र छल गरेर आफ्नै लक्ष्यहरू प्राप्त गर्नका लागि मात्रै हुन्छन्। तिनीहरूले पैशाचिक स्वरूप प्रकट गर्छन्, र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई कहिल्यै मुक्ति दिनुहुन्न। यो कुरा सोच्दा, मलाई अलि डर लाग्यो। मैले मेरो आफ्नै प्रकृति शैतानको जस्तै छली र दुष्ट छ, र मैले अझै पश्चात्ताप गरिनँ भने, म परमेश्‍वरद्वारा हटाइनेछु र दण्डित हुनेछु भन्ने देखेँ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ, र परमेश्‍वरको राज्यमा जिउनेहरू सबै इमानदार मानिसहरू मात्र हुनेछन् जो सत्यतालाई अभ्यास गर्न तत्पर हुन्छन्। छली व्यक्ति परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैन। यी कुराहरू सोच्दा, मलाई भित्रैदेखि पछुतो भयो, म अब मेरो छली र दुष्ट स्वभावअनुसार जिउन चाहन्नथिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि व्यक्ति जोसुकै भए तापनि सबैसामु खुलस्त भएर र साँचो कुरा बोलेर इमानदार व्यक्ति बन्ने अभ्यास गर्न चाहन्छु भनेँ। त्यसपछि, एउटा भेलामा, मैले यी दुई मामिलाहरूमा मेरा घृणास्पद मनसायहरू र मैले प्रकट गरेको भ्रष्टताका बारेमा खुलेर कुरा गरेँ। यसो गरेपछि, मलाई निकै हलुका र चैन महसुस भयो।

त्यसपछि, अगुवाले मेरा बारेमा के सोच्नुहुन्छ भन्ने कुराको म किन सधैँ चासो राख्थेँ, र उहाँको नजरमा राम्रो बन्नका लागि म किन ढाँट्ने र छल्ने गर्न सक्थेँ भनेर पनि सोचेँ। एक दिन, मैले परमेश्‍वरका वचनमा यसो लेखिएको पढेँ: “अगुवा वा कामदारको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिकति प्रतिभा भएकाले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास गऱ्यौ भने, अनि यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदरभावले हेऱ्यौ र तिनीहरूमा भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हो। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै अन्तर्निहित रूपमा गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदान प्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले अरू मानिसलाई आराधना गर्ने, आदरभावले हेर्ने र पछ्याउने जोकोहीलाई अन्त्यमा हटाइनेछ र दोषी ठहराइनेछ। परमेश्‍वरमा विश्वास गर्नेहरूले उहाँलाई मात्र आदरभावले हेर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र कामदारहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। … यदि तँ परमेश्‍वरलाई विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँको वचनप्रति ध्यान दिनुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, बस सत्यताप्रति समर्पित हो—के यो यति सजिलो कुरा होइन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने व्यक्ति खोज्नमै जोड दिन्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? यसको साटो किन सत्यताको सेवक नहुने? यसमा व्यक्तिमा समझ र इज्जत छ कि छैन भन्ने कुरा देखिन्छ। तैँले आफैबाट सुरु गर्नुपर्छ: आफैलाई विभिन्न प्रकारका सत्यताहरूले सुसज्जित गर्, विभिन्न मामला र मानिसहरू प्रकट हुने विभिन्न तरिकाहरू पहिचान गर्न सक्ने बन्, विभिन्न मानिसहरूको व्यवहारको प्रकृति के हो र तिनीहरूले कस्ता स्वभावहरू प्रकट गर्छन् भन्ने कुरा जान्, विभिन्न प्रकारका मानिसहरूको सारलाई छुट्याउन सिक्, र तेरो वरिपरिका मानिसहरू कस्ता छन्, तँ कस्तो व्यक्ति होस्, र तेरो अगुवा कस्तो व्यक्ति हो भन्नेबारे स्पष्ट बन्। यी सबै कुरा स्पष्ट रूपमा देखेपछि, तैँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सही तरिकाले व्यवहार गर्न सक्नेछस्: यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तैँले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नेछस्, र यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नभएर दुष्ट मानिस, ख्रीष्टविरोधी, वा अविश्‍वासी हुन् भने, तैँले तिनीहरूसँग दूरी कायम गर्नेछस् र तिनीहरूलाई त्याग्नेछस्। यदि तिनीहरू सत्यता वास्तविकता भएका मानिसहरू हुन् भने, तैँले तिनीहरूलाई आदर गरे पनि, तिनीहरूको आराधना गर्नेछैनस्। कसैले पनि ख्रीष्टको स्थान लिन सक्दैन; ख्रीष्ट मात्रै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ, र ख्रीष्टलाई पछ्याएर मात्र तँ सत्यता र जीवन प्राप्त गर्न सक्छस्। यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तँसित कद छ र तँ ख्रीष्टविरोधीहरूको भ्रममा पर्ने सम्भावना हुँदैन, न त तैँले ख्रीष्टविरोधीहरूको भ्रममा पर्छु भनेर डर मान्नु जरुरी नै हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरका वचनले खुलासा गरेको कुरा मेरो आफ्नै स्थिति थियो। मैले यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी भए तापनि, मेरो हृदयमा परमेश्‍वरका लागि कुनै स्थान थिएन। मेरो ध्यान त मानिसहरूको शक्ति र हैसियतमा केन्द्रित थियो, अनि मैले “राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ” भन्ने शैतानी दर्शन पछ्याएकी थिएँ। मलाई सधैँ के लाग्थ्यो भने परमेश्‍वरको सार्वभौमिकता मबाट धेरै टाढा छ; मेरो नजरमा, अगुवा नै मेरा लागि सबै कुराको निर्णय गर्ने व्यक्ति हुनुहुन्छ, र मलाई महत्त्व दिइन्छ कि दिइन्न, संवर्धन गरिन्छ कि गरिन्न, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न पाउँछु कि पाउँदिन भन्ने कुरा पूर्ण रूपमा अगुवाको भनाइमा निर्भर हुन्थ्यो। के यो अविश्‍वासी र गैरविश्‍वासीहरूको दृष्टिकोण जस्तो भएन र? आफ्ना हाकिमहरूको प्रशंसा पाउन र आफ्नो पद र जागिर जोगाउन, गैरविश्‍वासीहरू सबै कुरामा आफ्ना हाकिमहरूलाई खुसी पार्छन् र जहाँतहीँ तिनीहरूको चापलुसी गर्छन्, उनीहरू त कुनै चरित्र वा मर्यादा नभएको पाल्तु कुकुर जस्तै बन्छन्। तिनीहरू र ममा के नै फरक थियो र? अगुवाको प्रशंसा पाउन र मेरो हैसियत जोगाउन, म सधैँ उहाँलाई खुसी पार्न चाहन्थेँ, अनि म उहाँको मनसाय अड्कल गर्थेँ र उहाँको रुचिअनुसार चल्थेँ। म साँच्चै नीच थिएँ र अवसरवादी बन्न सिपालु थिएँ। आफ्नै हितहरूका लागि, मैले आफ्नो मानव मर्यादा पूर्ण रूपमा गुमाएकी थिएँ र ममा मानव रूपको नामनिसान थिएन। वास्तवमा, मानिसहरूलाई छान्ने र तिनीहरूको संवर्धन गर्ने विषयमा परमेश्‍वरको घरका सिद्धान्तहरू हुन्छन्, जुन गैरविश्‍वासी संसारको जस्तो हुँदैन। गैरविश्‍वासीहरू “चाकरी र चापलुसी नगरी केही पनि उपलब्धि हुँदैन” भन्ने कुरालाई अभ्यास गर्छन्। जबसम्म तिनीहरू आफ्ना हाकिमहरूको तलुवा चाट्न सक्छन्, तबसम्म वास्तविक प्रतिभा र ज्ञान नभए पनि, तिनीहरूले निगाह पाउन र बढुवा भएर धनी बन्न सक्छन्। तर परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। मानिसहरूलाई सत्यता सिद्धान्तहरूका आधारमा छानिन्छ र संवर्धन गरिन्छ। यदि हामीसँग असल मानवता छ, हामी सत्यतालाई स्वीकार गर्न सक्छौँ, हाम्रो हृदय परमेश्‍वरको घरप्रति समर्पित छ, र हामी परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छौँ भने, हाम्रो क्षमता अलि कमजोर भए पनि केही फरक पर्दैन। मण्डलीले अझै पनि हाम्रा लागि उपयुक्त कर्तव्यको बन्दोबस्त गरिदिनेछ। यदि हाम्रो चरित्र खराब छ, हामी सत्यता पछ्याउँदैनौँ, र केवल युक्ति मात्र रच्छौँ र षड्यन्त्र गर्छौँ भने, हामीले अगुवाको चापलुसी र चाकरी गरे तापनि, हामीले कहिल्यै महत्त्वपूर्ण भूमिका पाउनेछैनौँ। जब ब्रदर-सिस्टरहरूले हामीलाई खुट्याउँछन् र छर्लङ्ग देख्छन्, तब हामी तिरस्कृत र अस्वीकृत हुनेछौँ। केही झूटा अगुवा र ख्रीष्टविरोधीले सिद्धान्तविपरीत काम गरेर आफ्नो चाकरी गर्ने र तलुवा चाट्नेहरूलाई बढुवा दिए तापनि, ढिलोचाँडो तिनीहरूको प्रकटीकरण हुनेछ, त्यसैले तिनीहरूले परमेश्‍वरको घरमा कहिल्यै दह्रिलो स्थान पाउन सक्नेछैनौँ। मैले यो कुरा बुझेपछि, अगुवाले मलाई कसरी हेर्नुहुन्छ भन्ने कुराको मैले चिन्ता गर्न छोडेँ। मानिसहरूले मेरा बारेमा जेसुकै सोचून्, त्यसले केही फरक पर्दैन। म आफ्नो कर्तव्यमा लागिरहन सक्छु कि सक्दिनँ भन्ने कुरा म सत्यता पछ्याउँछु कि पछ्याउँदिनँ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छु कि गर्दिनँ भन्ने कुरामा निर्भर हुन्छ। अब मैले ध्यान केन्द्रित गर्नुपर्ने कुरा भनेको मेरो कर्तव्य राम्ररी निर्वाह गर्नु र मेरा समस्या तथा कठिनाइहरू समाधान गर्न आफ्नो कर्तव्यमा सत्यता खोज्नु हो। यही नै आफ्नो सही काममा ध्यान दिनु हो।

त्यसपछि, मैले परमेश्‍वरका वचनमा अभ्यासको मार्ग खोजेँ र यी दुई खण्ड फेला पारेँ: “इमानदार व्यक्ति बन्‍नु परमेश्‍वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्‍वरसँगको आफ्नो व्यवहारमा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्‍नुपर्छ: परमेश्‍वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। गैरविश्‍वासीहरूले अभ्यास गर्ने खुसामद वा चापलुसीमा नलाग्; परमेश्‍वरलाई मान्छेको खुसामद र चापलुसी आवश्यक छैन। इमानदार बन्‍नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्‍नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्‍वरसित खुलेर कुरा गर्नु, परमेश्‍वरसँग इमानदार हृदयले अन्तरक्रिया गर्नु, र कुनै पनि गलत अभिप्राय वा छलकपटविना सीधा कुरा बोल्‍नु।) ठीक भन्यौ। इमानदार हुनका लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत चाहनाहरूलाई पन्छाउनैपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तैँले आफूलाई परमेश्‍वरसामु उदाङ्गो पार्नुपर्छ र हृदयमा जे छ त्यो कुरा भन्नुपर्छ, तेरा शब्‍दहरूका परिणाम के हुनेछन् भनेर मनन वा सोचविचार नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा मनसायहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नका लागि मात्रै कुराहरू बोल्‍ने नगर्। तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र दूषणहरू छन्, तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, ‘मैले यो कुरा भन्‍नुपर्छ, त्यो कुरा होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्‍वरमा राम्रो छाप पर्ने गरी बताउनेछु।’ के यो मनसायहरू बोक्नु होइन र? तैँले आफ्नो मुख खोल्नुभन्दा अगाडि, तेरो मन कपटी विचारहरूले भरिएको हुन्छ, तँ आफूले भन्न चाहेको कुरा केही पटक सच्याउँछस्, यसरी, तेरो मुखबाट निस्कँदा ती शब्‍दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्‍चा हुँदैनन्, र तिनमा तेरा आफ्‍नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्‍नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुर्भावपूर्ण मनसाय राख्‍नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ मानिसहरूका अनुहारका भावहरू र तिनीहरूका हेराइबाट सङ्केत लिन्छस्: यदि तिनीहरूको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्‍नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि तिनीहरूको हेराइ नराम्रो छ, र तिनीहरूलाई आफूले सुनेको कुरा मन परेन भन्‍ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, ‘ठीकै छ, म तिमीलाई रोचक लाग्‍ने, तिमीलाई खुशी बनाउने, तिमीलाई मन पर्ने, र तिमीलाई मप्रति सकारात्मक बनाउने कुरा बताउँछु।’ के यो इमानदार बन्‍नु हो? होइन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। “परमेश्‍वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्‍वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्‍वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँ आफूसँग इमानदार हुने मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। परमेश्‍वरका वचनले अभ्यासको मार्गलाई एकदमै स्पष्ट पार्छन्। परमेश्‍वर र मानिसहरू दुवैसँग व्यवहार गर्दा, निष्कपट र इमानदार हुनुपर्छ, कुनै व्यक्तिगत मनसाय हुनुहुँदैन, र परमेश्‍वरको छानबिनलाई स्वीकार गरेर इमानदार व्यक्ति बन्नुपर्छ। परमेश्‍वरका वचनले मलाई प्रभु येशूले पत्रुसलाई सोध्नुभएको प्रश्नको सम्झना गरायो, “सिमोन बारयोना, के तिमीले मलाई कहिल्यै प्रेम गरेका छौ?” पत्रुसले इमानदारीपूर्वक जवाफ दिए, “प्रभु! मैले एक पटक स्वर्गमा हुनुहुने पितालाई त प्रेम गरेको थिएँ, तर म स्वीकार गर्छु कि मैले तपाईँलाई कहिल्यै प्रेम गरेको छैन।” पत्रुस शुद्ध र इमानदार थिए। उनले प्रभु येशूको चाकरी कसरी गर्ने भनेर सोचेनन्, उनले आफ्नो मनमा जे थियो, ठ्याकै त्यही कुरा मात्र भने। पत्रुसको हृदय शुद्ध र पारदर्शी थियो, र उनले प्रभु येशूसँग इमानदार बन्न सकेकाले नै परमेश्‍वरको अनुमोदन प्राप्त गरे। जब मैले यी कुरा बुझेँ, तब मैले अभ्यासको मार्गलाई अझ स्पष्ट रूपमा देखेँ, र मैले आफ्नो जीवनमा सचेत भई इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थालेँ।

एक दिन, एउटा भेलापछि, मेरो अगुवाले मलाई र दुई जना समूह अगुवाहरूलाई एउटी सिस्टरको मूल्याङ्कन गर्न भन्नुभयो। यो सुन्नेबित्तिकै म अलि आत्तिएँ, र फेरि अड्कल काट्न थालेँ, “मेरो अगुवाले ती सिस्टरको मूल्याङ्कन माग्नुभएको छ, कतै उहाँलाई यी सिस्टरमा केही समस्या छ जस्तो लागेको त होइन? के उहाँले हाम्रो खुट्याउन सक्ने क्षमता जाँच्नका लागि हामीलाई यो सोधिरहनुभएको हो? अगुवाले पछिल्लो पटक यी दुई जना समूह अगुवाहरूसँग राम्रो क्षमता रहेको र तिनीहरूको संवर्धन गर्न चाहेको भन्नुभएको थियो, त्यसैले यदि मैले तिनीहरूले जस्तै मानिसहरू र कामकुरालाई हेर्न सकिनँ भने, के मलाई भविष्यमा अझै पनि महत्त्व दिइनेछ र संवर्धन गरिनेछ त?” ठ्याक्कै त्यही बेला मलाई म फेरि छल गर्न र उहाँका विचारहरूका बारेमा अड्कल काट्न खोज्दैछु भन्ने महसुस भयो। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “परमेश्‍वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्‍वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्‍वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँ आफूसँग इमानदार हुने मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। म के सोच्छु र के गर्ने योजना बनाउँछु भन्ने कुरा परमेश्‍वरले नियालिरहनुभएको हुन्छ। म इमानदार बनूँ, कुनै बनावटी र ढाकछोप नगरी, वा मेरा भित्री विचारहरूसँग अमिल्दो हुने नगरी मलाई साँच्चै जे लाग्छ त्यही भनूँ भन्ने परमेश्‍वर आशा गर्नुहुन्छ। मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नैपर्थ्यो र अरूसँग इमानदार हुनैपर्थ्यो। त्यसैले, मैले अगुवालाई मेरा विचारहरू बताएँ। जब मैले आफ्नो कुरा सिध्याएँ, तब मलाई धेरै हलुका महसुस भयो, र इमानदार व्यक्ति बन्ने अभ्यास गर्दा मलाई चैनको अनुभूति भयो, अनि यसले मलाई धेरै शान्त र सुरक्षितसमेत महसुस गरायो। यो यस्तो अनुभूति थियो, जुन मैले पहिले कहिल्यै पाएकी थिइनँ। मानिसहरूले यसरी नै आत्मआचरण गर्नुपर्छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ९९. मेरो आस्थामा अवरोध

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger