१३. झाराटारुवापनले मलाई कसरी हानि गर्यो
सन् २०२१ को अक्टोबरमा, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास सुरु गरेँ। एक हप्तामै, मलाई आफूले सिक्नुपर्ने कुरा धेरै रहेछन् भन्ने महसुस भयो। मैले सबै प्रकारका सत्यता सिद्धान्तहरूसँग आफूलाई परिचित गराउनुपर्ने थियो, अनि नयाँ विश्वासीहरूका विभिन्न समस्या र कठिनाइ समाधान गर्न सत्यताबारे सङ्गति गर्ने अभ्यास पनि गर्नुपर्ने थियो, तर सत्यताप्रतिको मेरो बुझाइ सतही थियो अनि कुराकानी गर्नु मेरो खुबी थिएन। मलाई यो एकदमै गाह्रो कर्तव्य लाग्यो, खास गरी टोली अगुवाले मबाट नयाँ विश्वासीहरूका समस्या र कठिनाइहरू छिटो समाधान होस् भन्ने चाहेको बेला। सबै नयाँ विश्वासीका थुप्रै समस्या थिए, त्यसैले ती समस्या समाधान गर्न मैले धेरै सान्दर्भिक सत्यता खोज्नुपर्ने र कसरी स्पष्ट रूपमा सङ्गति गर्ने भनेर विचार गर्नुपर्ने हुन्थ्यो। यो गर्न मैले कति धेरै मूल्य चुकाउनुपर्थ्यो होला? यी सबै कुरा हासिल गर्न निकै गाह्रो छ भन्ने लागेर, मैले टोली अगुवालाई ममा क्षमताको कमी छ र म यो काम राम्ररी गर्न सक्दिनँ भनेर बताएँ। टोली अगुवाले मसँग सङ्गति गर्दै, मैले आफ्नो कर्तव्यमा बोझ बोक्नुपर्छ र कष्टदेखि डराउनु हुँदैन भन्नुभयो। उहाँको सङ्गति सुनेपछि म अनकनाउँदै सहमत त भएँ, तर मेरो हृदयमा भने, म मूल्य चुकाउन चाहन्नथेँ। भेलाहरूमा, मैले पहिले जस्तै नयाँ विश्वासीहरूसँग सङ्गति गरिरहेँ, अनि मलाई तिनीहरूका सङ्घर्षहरूबारे थाहा नभएकाले, म आफ्नो सङ्गतिमा लम्बे-चौडे गन्थन मात्र गर्थेँ र नतिजाहरू हासिल हुँदैनथ्यो, जसले गर्दा भेलाहरूमा नियमित सहभागी हुने नयाँ विश्वासीहरूको सङ्ख्या घट्न थाल्यो। जब टोली अगुवाले यो समस्या थाहा पाउनुभयो, तब उहाँले उनीहरूलाई तत्काल मद्दत र सहयोग गर्न मसँग आग्रह गर्नुभयो, तर मैले मनमनै सोचेँ, “सुसमाचारसम्बन्धी कामदारहरूले तिनीहरूलाई परमेश्वरको कामका दर्शनहरूको सत्यताबारे पहिल्यै धेरै सङ्गति गरिसकेका छन्, तैपनि तिनीहरू भेलाहरूमा आइरहेका छैनन्। त्यसैले के मेरो सङ्गतिले केही हासिल होला र? यसबाहेक, ती सबै नयाँ विश्वासी हालसालै भेलामा सहभागी भइरहेका छैनन्, त्यसैले तिनीहरूसँग सङ्गति गर्न जाँदा पक्कै पनि धेरै समय लाग्छ, जुन थकाउने हुनेछ।” यस्तो सोचेर, मैले तिनीहरूलाई छोटो अभिवादन ‘हेलो’ भनेर मेसेजहरू पठाएँ, अनि जवाफ नदिनेहरूलाई वास्तै नगरी त्यत्तिकै छोडिदिएँ। धेरै समस्या भएकाहरूलाई चाहिँ, मैले सङ्गतिका लागि आफ्नो सूचीको अन्त्यमा राखेँ, वा सहयोगका लागि सुसमाचारसम्बन्धी कामदारहरूको जिम्मा लाएर पन्छिएँ। धेरै समय नबित्दै, केही नयाँ विश्वासी आफ्ना समस्याहरू लामो समयसम्म समाधान नभएका कारण भेलामा आउन छोडे। नयाँ विश्वासीहरू भेलामा नआएको देख्दा मलाई अपराधबोध र दुःखी महसुस भयो, अनि तिनीहरूका समस्या समाधान गर्न मैले अझ बढी मूल्य चुकाउनुपर्छ भन्ने लाग्यो। तर जब मैले त्यो कति झन्झटिलो होला भनेर सोचेँ, तब मैले त्यसलाई त्यत्तिकै छाडिदिएँ।
मलाई एक जना नयाँ विश्वासीको सम्झना छ, जो पहिले क्याथोलिक थिइन्, आखिरी दिनहरूमा देहधारी परमेश्वर देखा पर्नुभएको र काम गर्नुभएको कुराप्रति उनमा धारणा उत्पन्न भयो, अनि उनी भेलामा आउन छोडिन्। मैले जति नै मेसेज वा फोन गरे पनि उनले वास्तै गरिनन्। दुई दिनपछि, उनले मलाई यो मेसेज छोडिन्, “म एउटा क्याथोलिक परिवारमा जन्मेकी हुँ। म सानी छँदादेखि नै क्याथोलिक छु, र अहिले ६४ वर्ष भइसक्यो। म प्रभु येशूमा मात्र विश्वास गर्छु—म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्दिनँ।” मेरो जवाफ थियो, “सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ। आखिरी दिनहरूमा प्रभुको देखापराइ र कामलाई स्वीकार गरेर मात्र मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ।” त्यसपछि, उनले कुनै जवाफ दिइनन्। मैले अझै केही पटक उनलाई खोज्ने प्रयास गरेँ, तर उनले मलाई वास्तै गरिनन्। त्यसैले मैले यो समस्या टोली अगुवाको थाप्लोमा हालिदिएँ। अपेक्षा नै नगरेको कुरा, उहाँले मलाई यो समस्या समाधानका लागि सत्यता खोज्न आग्रह गर्दै परमेश्वरका वचनका केही सान्दर्भिक खण्ड पठाउनुभयो। मैले आफूलाई धेरै सत्यताले सुसज्जित पार्नुपर्ने र नतिजाहरू हासिल गर्न कसरी सङ्गति गर्ने भनेर सोचविचार गर्नुपर्ने देख्दा, यो सबै एकदम झन्झटिलो लाग्यो। ती नयाँ विश्वासीले मलाई जवाफ दिइरहेकी थिइनन् अनि मैले आफूलाई सुसज्जित पार्न समय खर्चिए पनि, उनले मेरो सङ्गति नसुन्न सक्थिन्, त्यसैले मैले उनलाई एकातिर पन्छाएँ र बेवास्ता गरेँ। हरेक दिन काममा धेरै व्यस्त हुने एक जना नयाँ विश्वासी थिइन्, र उनीसँग मैले आमन्त्रण गरेका भेलाहरूमा सहभागी हुन कहिल्यै समय हुँदैनथ्यो। सुरु-सुरुमा त मैले उनलाई हरेक दिन परमेश्वरका वचन र भजनहरू पठाइरहेँ, तर हरेक पटक उनी “आमेन” मात्र भनेर जवाफ फर्काउँथिन्, र त्यसपछि भेलाहरूमा भने आउँदिनथिन्। अन्ततः, मैले उनलाई परमेश्वरका वचनहरू पठाउन छोडिदिएँ। मलाई उनी काममा धेरै व्यस्त हुन्छिन्, र यही उनको वास्तविक अवस्था हो, अनि मैले जति नै समय खर्च गरे पनि, त्यो समस्या समाधान गर्न सक्दिनँ भन्ने लाग्यो। वास्तवमा, मलाई मैले उनका कठिनाइहरूलाई ध्यानमा राखेर भेलाको उपयुक्त समय मिलाउनुपर्छ, अनि उनका धारणाहरूको विषयमा उनीसँग सङ्गति गर्न परमेश्वरका वचनका सान्दर्भिक खण्डहरू खोज्नुपर्छ, र नतिजाहरू हासिल गर्ने एक मात्र मार्ग यही नै हो भन्ने थाहा थियो। तर मलाई यसो गर्नु धेरै जटिल र झन्झटिलो लाग्यो, त्यसैले म यो मूल्य चुकाउन चाहन्नथेँ। तर, यदि मैले उनीसँग सङ्गति गरिनँ र अगुवालाई यो कुरा थाहा भयो भने, वास्तविक काम नगरेको भन्दै उहाँले मलाई काँटछाँट गर्नुहुनेथियो। त्यसैले मैले आफैँलाई बाध्य पारेर ती नयाँ विश्वासीसँग दुई-चार पटक सङ्गति गरेँ, अनि उनी अझै पनि भेलाहरूमा नआइरहेको देखेपछि, मलाई उनमा सत्यताको तिर्खा छैन, र मेरा तर्फबाट मेहनतमा कुनै कमी भएको होइन भन्ने लाग्यो। त्यसैले मैले उनलाई वास्ता गर्न छाडिदिएँ। म आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा बन्थेँ, सबै दुःखकष्टबाट तर्किरहन्थेँ। धारणाहरू वा वास्तविक कठिनाइहरू भएका नयाँ विश्वासीहरूको सामना गर्दा, म तिनीहरूका समस्या कसरी समाधान गर्ने भनेर विचार गर्ने प्रयास गर्न चाहन्नथेँ, अनि म यी समस्याहरू टोली अगुवाको टाउकोमा हालिदिन्थेँ। केही महिनापछि, एकदमै थोरै नयाँ विश्वासी मात्र भेलामा सामान्य रूपमा सहभागी भइरहेका थिए। अगुवाले यो समस्या पत्ता लगाएपछि मलाई काँटछाँट र खुलासा गर्नुभयो। उहाँले म आफ्नो कर्तव्यमा धेरै नै झाराटारुवा बनिरहेकी बताउँदै मैले तुरुन्तै परिवर्तन हुनुपर्ने भन्नुभयो। त्यसैले मैले आफ्नो देहविरुद्ध विद्रोह गर्ने र नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्ने सङ्कल्प गरेँ। तर धेरै समस्या भएका नयाँ विश्वासीहरूको सामना गर्दा, म अझै पनि तिनीहरूका समस्याहरू समाधान गर्नका लागि मूल्य चुकाउन तत्पर थिइनँ। यसको सट्टा, म कुनै न कुनै बहाना बनाएर ममा क्षमताको कमी छ र म त्यो कर्तव्यको लागि योग्य छैन भन्थेँ। म अझै पनि झाराटारुवा नै रहेकी छु, परिवर्तन भएकी छैन, र मेरो कर्तव्यबाट कुनै नतिजा आइरहेको छैन भन्ने देखेपछि, अगुवाले मलाई कठोरतापूर्वक काँटछाँट गर्दै भन्नुभयो, “तपाईँ आफ्नो कर्तव्यमा धेरै नै झाराटारुवा बनिरहनुभएको छ! तपाईँ नयाँ विश्वासीहरूका समस्याहरूबारे कहिल्यै सोध्नुहुन्न, अनि तपाईँलाई ती समस्याबारे केही थाहा हुँदा पनि समाधान गर्न कुनै प्रयास गर्नुहुन्न। त्यो कसरी कर्तव्य निर्वाह गरेको हुन्छ? तपाईँले नयाँ विश्वासीहरूलाई हानि मात्र पुर्याइरहनुभएको छ! यदि तपाईँ परिवर्तन हुनुभएन भने तपाईँलाई बर्खास्त गरिनेछ।” त्यसरी काँटछाँट र चेतावनी पाएपछि, मलाई अपराधबोध र डर दुवै महसुस भयो। मैले आत्मचिन्तन गर्न थालेँ: मैले किन यो कर्तव्य राम्ररी गर्न सकिनँ, र मलाई किन सधैँ यो धेरै गाह्रो छ भन्ने लाग्यो?
एक दिन मेरो उपासनामा, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “कतिपय मानिसले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा कुनै सिद्धान्त हुँदैन। तिनीहरू निरन्तर आफ्नै इच्छालाई पछ्याउँछन् र जथाभावी काम गर्छन्। के यो झाराटारुवा हुनु होइन र? के तिनीहरू परमेश्वरलाई छल गरिरहेका छैनन् र? के तिमीहरूले यस्तो व्यवहारका परिणामहरूलाई कहिल्यै ख्याल गरेका छौ? तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिमीहरू परमेश्वरका अभिप्रायहरूलाई साँच्चिकै अलिकति पनि ख्याल गर्दैनौ, र तिमीहरू हृदयहीन छौ। तिमीहरू आफूले गर्ने हरेक काममा अदक्ष छौ, तिमीहरू अलिकति पनि दत्तचित्त समर्पण र मेहनत गर्दैनौ। के तिमीहरू यसरी परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छौ र? धेरै मानिस अनिच्छापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरू निरन्तर लागिरहन सक्दैनन्। तिनीहरू अलिकति पनि दुःख सहन सक्दैनन् र तिनीहरू सधैँ आफूले ठूलो घाटा भोगेको महसुस गर्छन्, र तिनीहरू कठिनाइहरू समाधान गर्न सत्यता खोज्दैनन्। के तिनीहरू यसरी आफ्नो कर्तव्य निर्वाह गरेर अन्तिमसम्म परमेश्वरलाई पछ्याउन सक्छन् र? के तिनीहरूले जे गर्दा पनि त्यसमा तिनीहरू झाराटारुवा हुनु ठीक हो? के यो विवेकका लागि स्वीकार्य हुन सक्छ? मानव मानदण्डद्वारा मापन गर्दा पनि, यस्तो व्यवहार मानकअनुरूप हुँदैन—त्यसोभए के यसलाई मानकअनुरूप कर्तव्य निर्वाह गरेको मान्न सकिन्छ? यदि तँ यसरी तेरो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्। तैँले गर्ने श्रम समेत मानकअनुरूप हुनेछैन। त्यसोभए, तँ कसरी परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस्? आफ्नो कर्तव्य निर्वाह गर्दा, धेरै मानिस कष्टसँग डराउँछन्, अत्यन्तै अल्छी हुन्छन्, र भौतिक सुखसुविधाको लालसा गर्छन्। तिनीहरू पेसागत सीपहरू सिक्नका लागि कहिल्यै मूल्य चुकाउँदैनन्, र तिनीहरू परमेश्वरका वचनहरूभित्रको सत्यतालाई मनन गर्न आफ्नो हृदय लगाउँदैनन्। तिनीहरू यसरी झाराटारुवा हुँदा झन्झटबाट बचिन्छ—तिनीहरूले कुनै अनुसन्धान गर्नु वा अरूको सल्लाह माग्नु पर्दैन, तिनीहरूले आफ्नो दिमाग प्रयोग गर्नु वा कुनै मानसिक प्रयास खर्च गर्नु पर्दैन भन्ने विश्वास गर्छन्, र तिनीहरू आफ्नो धेरै मेहनत जोगाउँछन्, कुनै शारीरिक कष्ट सहँदैनन्, र तैपनि काम पूरा गर्न सफल हुन्छन्। तर अन्त्यमा नतिजाहरू मानकअनुरूप हुँदैनन्। यदि तैँले तिनीहरूलाई काटछाँट गरिस् भने, तिनीहरू यो कुरा मान्न तयार हुँदैनन्, र यसो भन्दै निरन्तर बहस गर्छन्: ‘म अल्छी वा बेकामे थिइनँ, काम सम्पन्न भएको थियो—तपाईँ किन मेरो गल्ती खोजिरहनुभएको छ? के तपाईँ स-साना गल्तीहरू खोजिरहनुभएको छैन र? म यसरी आफ्नो कर्तव्य निर्वाह गरेर काफी राम्रो गरिरहेकै छु त। तपाईँ कसरी सन्तुष्ट नहुनुभएको?’ के तिमीहरूलाई यस्ता मानिसहरूले थप कुनै प्रगति गर्न सक्छन् भन्ने लाग्छ? तिनीहरू निरन्तर झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छन् अनि बहानाहरू बनाइरहन्छन्। जब समस्याहरू उत्पन्न हुन्छन्, तब तिनीहरू कसैलाई पनि आफ्नो आलोचना गर्न दिँदैनन्। यो कस्तो प्रकारको स्वभाव हो? के यो शैतानी स्वभाव होइन र? के मानिसहरू यस्तो स्वभावका साथ मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्ने व्यक्तिले मात्रै परमेश्वरलाई प्रेम गर्छ)। परमेश्वरले धेरै मानिसलाई आफ्नो कर्तव्यमा अत्यन्तै अल्छी हुने, सधैँ शारीरिक सुखसयलमा लिप्त रहने, लगनशीलता नहुने, र व्यस्त भइरहेको देखिनमै सन्तुष्ट हुने र त्यसरी आफ्नो कर्तव्य कहिल्यै राम्ररी गर्न नसक्ने भन्दै खुलासा गर्नुहुन्छ। मैले आफ्नो कर्तव्यमा नतिजाहरू प्राप्त गर्न नसक्नुको कारण ममा क्षमताको कमी भएर होइन, बरु म अल्छी भएर र कष्ट भोग्न डराएर पो रहेछ भन्ने महसुस गरेँ। मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्नु भनेको मैले धेरै सत्यता जान्नुपर्छ, मैले तिनीहरूका विभिन्न समस्या र कठिनाइ समाधान गर्न सिक्नुपर्छ, अनि त्यसले यसलाई एकदमै झन्झटिलो कर्तव्य बनाउँछ भन्ने लाग्थ्यो, त्यसैले म त्यसमा झारा मात्र टार्थेँ। टोली अगुवा मैले जतिसक्दो चाँडो नयाँ विश्वासीहरूका समस्याहरू समाधान गरूँ भन्ने चाहनुहुन्थ्यो, र मैले मिहिनेत गरेको भए त्यो गर्न सक्थेँ। तर त्यसका लागि धेरै समय र प्रयास चाहिने देखेपछि, मैले यसलाई टोली अगुवा वा सुसमाचारसम्बन्धी कामदारहरूतिर पन्छाइदिएँ। नयाँ विश्वासीहरूमा धारणाहरू भएका वा तिनीहरूले विभिन्न कठिनाइ र समस्याहरूको सामना गरिरहेका कारण भेलाहरूमा सहभागी नभइरहेको म देख्थेँ, र तैपनि म उदासीन रहन्थेँ। अरूले मलाई समाधानका मार्गहरू बताउँदा पनि म वास्तै नगरी बस्थेँ। कहिलेकाहीँ म नयाँ विश्वासीहरूलाई परमेश्वरका वचन वा भजनहरू पठाउँथेँ, तर केही दिनपछि म त्यसलाई निरन्तरता दिन सक्दिनँथेँ, र बेवास्ता गरिदिन्थेँ। मैले आफूलाई एकदमै अल्छी, देहका सुबिस्ताहरूको लालसा गर्ने, र आफ्नो कर्तव्यमा बिलकुलै इमानदार नरहेको देखेँ। म त केवल छली बनिरहेकी थिएँ, मण्डलीमा त्यत्तिकै दिन काटिरहेकी थिएँ। परमेश्वरको नजरमा म एकदमै घिनलाग्दो र घृणित थिएँ!
त्यसपछि, मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै तिकडम पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै काम राम्रोसँग पूरा गर्नेछैनस्। मानौँ तैँले भन्छस्, ‘मैले धूर्त्याइँ गरेको र ढिलासुस्ती गरेको कसैले देखेन। क्या गजब भो!’ यो कस्तो सोचाइ हो? के तँलाई तैँले मानिसहरूको आँखामा, र परमेश्वरको आँखामा पनि, छारो हालेको छस् भन्ने लाग्छ? तर, खास तथ्यमा, के तैँले के गरेको छस् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ? थाहा हुन्छ। वास्तवमा, तँसँग केही समय अन्तरक्रिया गर्ने जो कोहीले पनि तेरो भ्रष्टता र कुरूपताको बारेमा थाहा पाउनेछ; कुरा यति मात्रै हो कि तिनीहरूले सोझै नभन्न सक्छन्: तिनीहरूले हृदयमा तेरो मूल्याङ्कन गर्नेछन्। धेरै मानिसहरू यस्ता थिए जसलाई प्रकट गरी हटाइयो किनभने धेरैजसो मानिसहरूले तिनीहरूको सार छर्लङ्गै देख्न सक्थे र त्यसैले तिनीहरू को हुन् भन्ने कुरा खुलासा गरे र तिनीहरूलाई मण्डलीबाट निकाल्न लगाए। त्यसैले, मानिसहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तिनीहरू आफ्नो विवेकद्वारा डोऱ्याइनुपर्छ र तिनीहरूले केही वास्तविक कामकुरा गर्नुपर्छ। तँमा कमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ आफू ठीक छु, मलाई पक्कै पनि हटाइनेछैन भनी सोच्छस् भने, यदि तैँले कहिल्यै चिन्तन गर्दैनस् वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र तैँले अझै पनि आफ्ना उचित कामहरूलाई बेवास्ता गर्छस् र सधैँ झारा टार्छस् भने, जब परमेश्वरका चुनिएका मानिसहरूले साँच्चै तँप्रति सहनशीलता गुमाउँछन्, तब तिनीहरूले तँ को होस् भन्ने कुरा खुलासा गर्नेछन्, अनि तँलाई हटाइनेछ। त्यसपछि, पछुताउन धेरै ढिलो भइसकेको हुनेछ, किनभने सबैले तँलाई छर्लङ्गै देखिसकेका हुनेछन्, र तैँले आफ्नो सबै इज्जत र निष्ठा गुमाइसकेको हुनेछस्। यदि कसैले तँलाई विश्वास गर्दैन भने, के परमेश्वरले तँलाई विश्वास गर्नुहुन्छ? परमेश्वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले यस्तो व्यक्तिलाई कदापि विश्वास गर्नुहुनेछैन। … भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्नो कर्तव्यलाई आफ्नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्नो कर्तव्य नराम्ररी गर्ने पक्का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि, तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूबारे चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिबारे सोध्नुपर्छ; नत्र भने, तिनीहरूले कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, र काम गर्दा समस्याहरू आउन सक्छन्, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ। छोटकरीमा, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफूलाई जाँच्नुपर्छ: ‘के मैले यो कर्तव्य मानकअनुरूप निर्वाह गरेको छु? के मैले यसमा आफ्नो हृदय लगाएको छु? के म झाराटारुवा स्थितिमा पुगेको छु?’ यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँसँग कुनै विश्वसनीयता छैन, र मानिसहरूले तँलाई विश्वास गर्न सक्दैनन् भन्ने हुन्छ। अझ गम्भीर रूपमा भन्दा, यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा हुन्छस्, र यदि तँ सधैँ परमेश्वरलाई धोका दिन्छस् भने, तँ ठूलो खतरामा छस्! खुलेआम छलमा संलग्न हुनुका परिणामहरू के-के हुन्? तैँले जानी-जानी गलत गरिरहेको छस् भन्ने कुरा सबैले देख्न सक्छन्। तँ पूर्ण रूपमा आफ्नै भ्रष्ट स्वभावहरूअनुसार जिइरहेको छस्, र तेरो कर्तव्यमा तँ झारा टार्ने बाहेक केही गर्दैनस्, र तैँले सत्यता पटक्कै अभ्यास गर्दैनस्—यसको मतलब तँ मानवताविहीन छस्! यदि यो तँमा सुरुदेखि अन्त्यसम्म प्रकट हुन्छ—तैँले कुनै ठूला गल्तीहरू गर्दैनस् तर सानातिना गल्तीहरू निरन्तर गरिरहन्छस्, र सुरुदेखि अन्त्यसम्म पश्चात्ताप गर्दैनस् भने, तँ एक दुष्ट व्यक्ति, एक अविश्वासी होस्, र तँलाई निकालिनुपर्छ—यो एक गम्भीर परिणाम हो। तँलाई अविश्वासी र दुष्ट व्यक्तिका रूपमा पूर्ण रूपमा प्रकट गरी हटाइन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरूको खुलासाको सामना गर्दा, आफ्नो कर्तव्यमा झाराटारुवा बन्नेहरूप्रति उहाँको घृणा र क्रोधलाई मैले महसुस गर्न सकेँ। तिनीहरूमा विवेक, समझ, निष्ठा र मर्यादा हुँदैन, अनि तिनीहरू कत्ति पनि भरोसायोग्य हुँदैनन्। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरू दुष्ट मानिस र अविश्वासीहरू हुन्, र तिनीहरूलाई हटाइनुपर्छ। नयाँ विश्वासीहरूलाई मलजल गर्नु एउटा महत्त्वपूर्ण काम हो। तिनीहरूले भर्खरै परमेश्वरको नयाँ कामलाई स्वीकार गरेका हुन्छन्, अनि साँचो मार्गमा जरा गाड्न तिनीहरूलाई अझ बढी मलजलको आवश्यकता पर्छ, ताकि शैतानले तिनीहरूलाई कब्जा गर्न नसकोस्। यसबाहेक, कसैले पनि परमेश्वरको काम त्यति सजिलै वा सहज रूपमा स्वीकार गर्दैनन्: यो सबै परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन, अनि धेरै ब्रदर-सिस्टरले तिनीहरूलाई मलजल गर्न, पोषण दिन, सम्हाल्न र मद्दत गर्न चुकाएको मूल्यले गर्दा हुने गर्छ। तब मात्र तिनीहरूलाई परमेश्वरसामु ल्याउन सकिन्छ। मलजल गर्ने व्यक्तिका रूपमा, नयाँ विश्वासीहरूलाई मलजल गर्नु मेरो जिम्मेवारी थियो। खास गरी कठिनाइहरू भएका नयाँ विश्वासीहरूलाई देख्दा, ममा एउटा हतारोपन हुनुपर्थ्यो र यी समस्याहरू समाधान गर्ने उपायहरू खोज्नुपर्थ्यो। तर यसको सट्टा, म कठिन कामहरूबाट पन्छिन्थेँ र चिप्ले बन्थेँ। नयाँ विश्वासीहरूले कठिनाइहरू सामना गरिरहेको देख्दा, म सधैँ समाधान गर्न सजिलो हुने समस्याहरू मात्र रोज्थेँ, अनि कठिन समस्याहरूलाई एकातिर पन्छाउँथेँ र बेवास्ता गर्थेँ। अझ खराब कुरा त, म आफ्नो कर्तव्यमा स्पष्ट रूपमै चिप्ले र गैरजिम्मेवार भइरहेकी थिएँ, जसका कारण केही नयाँ विश्वासी भेलाहरूमा सहभागी भएनन् र छाडेर पनि गए। तर अरूलाई छल गर्न र आफू झाराटारुवा बनेको कुराबाट चोखो बन्न म तिनीहरूमा सत्यताप्रतिको तिर्खा नै छैन, वा ममा क्षमताको कमी छ र तिनीहरूको समस्या समाधान गर्न सक्दिनँ भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन्थेँ। के म एउटा गैरविश्वासीले आफ्नो मालिकका लागि काम गर्ने जसरी आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनँ र? विवेकको चेतलाई बिर्सेर म दाउपेच खेलिरहेकी र त्यत्तिकै दिन काटिरहेकी थिएँ। यतिका वर्षको आस्थापछि पनि, मैले अझै पनि आँखा झिमिक्क नगरी परमेश्वरलाई मूर्ख बनाउने र छल्ने प्रयास गरिरहेँ। म कति धेरै धूर्त र छली थिएँ! ममा अलिकति पनि मानवता थिएन। मैले पहिलो पटक परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्विकार्दा, म हरेक दिन काममा व्यस्त रहन्थेँ, अनि मेरा आमाबुबाले मेरो आस्थामा बाधा पुर्याइरहनुभएको थियो। मलाई एकदमै तनाव महसुस हुन्थ्यो र मैले भेलाहरू छाड्नेसमेत विचार गरेकी थिएँ। तर ब्रदर-सिस्टरहरूले धैर्यपूर्वक पटक-पटक मसँग सत्यताको सङ्गति गर्नुभयो र मेरो समयअनुसार भेलाहरूको व्यवस्था मिलाउनुभयो। कहिलेकाहीँ काममा धेरै व्यस्त भएका कारण म भेलामा उपस्थित हुन सक्दिनथेँ, त्यसैले ब्रदर-सिस्टरहरू टाढादेखि साइकल चलाएर मसँग परमेश्वरको वचन सङ्गति गर्न, मलाई मद्दत र सहयोग गर्न आउनुहुन्थ्यो। अनि बिस्तारै, मैले परमेश्वरको काम थाहा पाएँ, अनि सत्यतालाई पछ्याएर मात्र मुक्ति पाउन सकिन्छ भन्ने कुरा देखेँ। त्यसपछि म भेलाहरूमा सहभागी हुन र कर्तव्य सम्हाल्न तत्पर भएँ। मण्डलीले सधैँ के कुरामा जोड दिन्छ भने नयाँ विश्वासीहरूलाई मलजल गर्न धैर्य आवश्यक पर्छ र तिनीहरूका कठिनाइहरूलाई धेरै ख्याल गर्नुपर्छ, अनि हामीले तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ र भेलाहरूमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ ताकि तिनीहरूले सकेसम्म चाँडो साँचो मार्गमा जरा गाड्न सकून्। मैले परमेश्वर हामीप्रति प्रेम र कृपाले भरिपूर्ण हुनुहुन्छ, अनि उहाँले हामीलाई सम्भव भएसम्मको हदसम्म मुक्ति दिनुहुन्छ भन्ने देखेँ। साँचो मार्गको अनुसन्धान गर्ने गर्ने हरेक व्यक्तिप्रति उहाँ अत्यन्तै चिन्तनशील बन्नुहुन्छ। अलिकति मात्र आशा छ भने पनि उहाँले हरेस खानुहुन्न। तर म भने नयाँ विश्वासीहरूप्रति एकदमै रूखो थिएँ र तिनीहरूप्रति ममा कुनै जिम्मेवारीबोध थिएन। मैले तिनीहरूको जीवन प्रवेशको अलिकति पनि वास्ता गरिनँ, जसले गर्दा तिनीहरूका समस्याहरू तुरुन्तै समाधान भइरहेका थिएनन्, अनि कतिपय त उप्रान्त भेलाहरूमा आउनै चाहेनन्। मेरो व्यवहारलाई हेर्दा, कसरी त्यो कर्तव्य निर्वाह गरेको भयो र? म त केवल दुष्टता गरिरहेकी थिएँ, परमेश्वरलाई मूर्ख बनाउन र छल्न खोजिरहेकी थिएँ! यो कुरा महसुस गरेपछि मलाई एकदमै अपराधबोध भयो अनि आफूमा यति साह्रो मानवताको कमी भएकामा आफैलाई घृणा गरेँ।
पछि मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? … बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरको हप्काइका वचनहरू पढ्दा, मलाई धेरै नै अपराधबोध र आत्मग्लानि महसुस भयो। हाम्रा भ्रष्ट स्वभावहरू सफा र रूपान्तरण गर्न, अनि हामीलाई मुक्तिको मौका दिन, परमेश्वरले हामीलाई यति धेरै सत्यताहरू दिएर गम्भीरतापूर्वक पोषण गर्नुभएको छ, अनि हामीले नबुझौँला कि भनी डराउँदै, उहाँले सत्यताको हरेक पक्षबारे अत्यन्तै विस्तृत रूपमा सङ्गति गर्नुभएको छ। परमेश्वरले हाम्रा लागि आफ्नो कति धेरै रगत-पसिना अर्पण गर्नुभएको छ। मानवता भएको जोकोहीले पनि सत्यता पछ्याउन मेहनत लगाउनुपर्छ र आफ्नो कर्तव्यप्रति बफादार हुनुपर्छ। तर ममा भने विवेकको पूरै कमी थियो। म सत्यतालाई अलिकति पनि पछ्याइरहेकी थिइनँ, म केवल शारीरिक सुखसयलमा लिप्त थिएँ, अनि अझै पनि केवल “जीवनको गाडी जता कुद्छ कुद्न देऊ,” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” जस्ता शैतानी दर्शनहरूअनुसार जिइरहेकी थिएँ। मैले यी शैतानी दर्शनहरूलाई जीवन जिउने बुद्धिमानी मन्त्रका रूपमा लिएँ। पृथ्वीमा हामीले पाएका यी केही दशकमा आफ्नो राम्रो ख्याल राख्नुपर्छ, आफूलाई धेरै दबाब लिनु हुँदैन, र जीवनलाई चिन्तामुक्त र सुखी बनाउनुपर्छ भन्ने सोचेँ। आफूले देह्गत कष्ट वा थकान भोग्न नपरोस् भन्ने सर्तमा मात्र म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। सबभन्दा सजिलो जे हुन्थ्यो म त्यही गर्थेँ। कुनै कुरामा अलि धेरै दिमाग खियाउनुपर्ने समय आउनेबित्तिकै, म प्रतिरोधी बन्थेँ र भाग्थेँ, कि त त्यो समस्या अरू कसैमाथि पन्छाइदिन्थेँ, कि त त्यसलाई एकातिर राखेर वास्तै गर्दिनथेँ। मैले आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिइरहेकी नै थिइनँ, जसले गर्दा केही नयाँ विश्वासीका समस्याहरू समाधान भएनन् र तिनीहरू भेलाहरूमा आउनै छाडिदिए। तब मात्र मैले ती शैतानी दर्शनहरूले मलाई झन्-झन् पतनतर्फ धकेलिरहेका रहेछन् भन्ने देखेँ। म दिनभरि सुखसयलमा लिप्त रहन्थेँ र सत्यतालाई बिलकुलै पछ्याउँदिनथेँ, आफ्नो कर्तव्यलाई लथालिङ्ग पार्थेँ, अनि त्यसबारे अलिकति पनि चासो राख्दिनथेँ। म सिक्न चाहन्नथेँ र असक्षम बन्दै गएँ, मैले प्राप्त गर्नुपर्ने सत्यताहरू प्राप्त गरिरहेकी थिइनँ, र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेकी थिइनँ। के म पूर्ण रूपमा काम नलाग्ने व्यक्ति थिइनँ र? मैले साँच्चै के अनुभव गरेँ भने, शारीरिक सुखसयलमा लिप्त हुँदा मैले आफैलाई हानि गरिरहेकी थिएँ र मुक्तिको मेरो मौकालाई बर्बाद पारिरहेकी थिएँ। कर्तव्यमा कठिनाइहरूको सामना गर्नु भनेको वास्तवमा परमेश्वरमा भर पर्ने र सत्यता खोज्ने राम्रो मौका हो। मलाई सत्यता खोज्न र आफ्नो कर्तव्यमा सिद्धान्तहरू पालन गर्न बाध्य पार्ने कठिनाइहरू, मेरा लागि सत्यता र जीवन प्रवेश पछ्याउने राम्रा माध्यमहरू थिए। तर मैले यी कुराहरूलाई झन्झटका रूपमा, पन्छाउनुपर्ने बोझका रूपमा लिइरहेकी थिएँ। त्यो कुरा बुझेपछि, मलाई मैले आफ्नो देहलाई यति धेरै पुल्पुलाएको, र सत्यता बुझ्ने त्यस्ता धेरै राम्रा मौकाहरू गुमाएको कुरामा एकदमै पछुतो लाग्यो। म त्यसरी नै झारा टार्दै रहन चाहन्नथेँ। मैले देहविरुद्ध विद्रोह गर्नुपर्ने थियो र आफ्नो कर्तव्यमा मन लगाउनुपर्ने थियो।
एक दिन मैले परमेश्वरका वचनहरूको झुट्टा अगुवाहरूलाई खुलासा गर्ने एउटा खण्ड पढेँ। त्यसले मलाई आफ्नो कर्तव्यमा झाराटारुवा बन्दा हुने परिणामहरूबारे अझ राम्ररी बुझायो। परमेश्वरका वचनहरूले भन्छन्: “एउटा काम एक व्यक्तिले एक महिनामा पूरा गर्न सक्छ रे। यदि यो काम गर्न छ महिना लाग्यो भने, के बाँकी पाँच महिनाको खर्च घाटा होइन र? म सुसमाचार प्रचार गर्नेबारे एउटा उदाहरण दिन्छु। मानौँ कुनै व्यक्ति साँचो मार्गको अनुसन्धान गर्न इच्छुक छ र उसलाई सायद एक महिनाभित्रै विश्वासमा ल्याउन सकिन्छ, र त्यसपछि ऊ मण्डलीमा प्रवेश गर्छ र उसले निरन्तर मलजल र भरणपोषण प्राप्त गर्छ, र छ महिनाभित्र उसले एउटा जग बसाल्न सक्छ। तर यदि यो मामलाप्रति सुसमाचार प्रचार गर्ने व्यक्तिको मनोवृत्ति बेवास्ता गर्ने र झारा टार्ने प्रकारको छ, र अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन्, अनि त्यो व्यक्तिलाई विश्वासमा ल्याउन आधा वर्ष लाग्छ भने, के यो आधा वर्ष त्यो व्यक्तिको जीवनको घाटा हुनेछैन र? यदि तिनीहरूलाई ठूला प्रकोपहरू आइपरे भने र तिनीहरूले अझै पनि साँचो मार्गमा जग बसालेका छैनन् भने, तिनीहरू खतरामा हुनेछन्, अनि के ती मानिसहरूले तिनीहरूलाई निराश तुल्याएका हुँदैनन् र? यस्तो घाटा पैसा वा भौतिक कुराले मापन गर्न सकिँदैन। यदि त्यो व्यक्तिको सत्यताको बुझाइ छ महिना रोकियो, र उसलाई जग बसाल्न र कर्तव्य निर्वाह गर्न थाल्नमा छ महिना ढिलाइ भयो भने, यसको जिम्मेवारी कसले लिनेछ? के अगुवा र कामदारहरूले यसको जिम्मेवारी लिन सक्छन्? कसैको जीवनलाई पछि पार्ने कार्यको जिम्मेवारी कसैले लिन सक्दैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वरका वचनहरूले मलाई लाज र पछुतो महसुस गराए। म वास्तविक काम नगर्ने, आफ्नो कर्तव्यमा लापरवाह गर्ने र गैरजिम्मेवार बन्ने एउटी झूटी अगुवा जस्तै थिएँ, जसले गर्दा नयाँ विश्वासीहरू भेलामा आउन छाडे, र केहीले आफ्ना समस्याहरू समाधान नभएको कारण आस्था नै छाडे। नयाँ विश्वासीहरूलाई त्यसरी मलजल गर्नु भनेको केवल तिनीहरूलाई हानि गर्नु होइन र? केहीले आस्था नछोडे तापनि, धारणाहरू पालेर राखेका र लामो समयसम्म भेलामा नआएका कारण तिनीहरूको जीवनले नोक्सानी बेहोर्नुपर्यो। ती त्यस्ता नोक्सानी हुन् जसको भर्पाइ गर्ने कुनै तरिका मसँग छैन। यदि मैले आफ्नो देहको त्यति धेरै वास्ता नगरेकी भए, मूल्य चुकाउन सकेकी भए, र हरेक नयाँ विश्वासीका समस्याहरूलाई गम्भीरतापूर्वक लिएकी भए, सायद तिनीहरूमध्ये केहीले सत्यता बुझेर साँचो मार्गमा चाँडै जरा गाड्न, मण्डलीको जीवन जिउन, कर्तव्य निर्वाह गर्न, र चाँडै नै असल कार्यहरू तयार गर्न सक्नेथिए, अनि परिस्थिति यस्तो हुने थिएन। तर अहिले आएर पछुतो मान्नुको अर्थ थिएन। मलाई एकदमै दुःखी र अपराधबोध, अनि परमेश्वरप्रति अत्यन्तै ऋणी महसुस भयो। त्यो एउटा अपराध थियो, मैले आफ्नो कर्तव्यमा छोडेको एउटा दाग थियो! म पछुतो र डरले भरिएकी थिएँ। मलाई आफूले ठूलठूला समस्याहरू खडा गरेँ जस्तो लाग्यो। रुँदै मैले प्रार्थना गरेँ, “हे परमेश्वर, म सधैँ सुखसयलमा लिप्त हुन्छु र आफ्नो कर्तव्यमा झाराटारुवा बन्छु, जुन कुरालाई तपाईँ घृणा गर्नुहुन्छ। म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु। कृपया मेरो हृदयको छानबिन गर्नुहोस्। यदि म अझै पनि झाराटारुवा बनिरहेँ भने, कृपया मलाई ताडना दिनुहोस् र अनुशासनमा राख्नुहोस्।”
त्यसपछि मैले नकारात्मक र कमजोर भएका, अनि भेलाहरूमा सहभागी नभइरहेका नयाँ विश्वासीहरूको सूची बनाएँ, र तिनीहरूका समस्याहरू समाधान गर्न परमेश्वरका सान्दर्भिक वचनहरू खोजेँ। मैले मलजल गर्न सिपालु सिस्टरहरूसँग सिद्धान्त र तरिकाहरूबारे पनि सोधेँ। पछि, मैले धार्मिक धारणाहरू भएकी र भेलामा नआउने ती नयाँ विश्वासीलाई सम्पर्क गर्ने प्रयास गरेँ। मैले उनलाई धेरै मेसेजहरू पठाएँ, तर उनले कुनैको पनि जवाफ दिइनन्। मलाई अलि उत्साहहीन महसुस भइरहेको थियो र मैले यसलाई बिर्सिदिनुपर्छ भनेर सोचेँ। आखिर जे भए पनि जवाफ दिन छोड्ने उनी नै थिइन्—यति कुरा त साँचो थियो। त्यसपछि मैले काममा व्यस्त रहने नयाँ विश्वासीलाई अर्को मेसेज पठाएँ, र उनले मेरो भेलाको आमन्त्रणलाई अस्वीकार गरेको देखेपछि, उनलाई सहयोग गर्न थप कुनै मूल्य चुकाउन मलाई इच्छा भएन। त्यति बेला, मैले परमेश्वरलाई गरेको मेरो प्रार्थना, अनि उहाँका यी वचनहरू सम्झिएँ: “तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छस्। यदि तैँले यो कार्य परमेश्वरको अघि गर्छस् भने, यदि तँ इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै आफ्नो कर्तव्य निर्वाह गर्छस् र परमेश्वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी वास्तविक जीवनमा लागू गर्न सक्छस्? तैँले ‘परमेश्वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्नु’ लाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ झारा टार्न चाहन्छस्, जब-जब तँ धूर्त रूपमा कार्य गर्न र अल्छी बन्न चाहन्छस्, र जब-जब तेरो ध्यान भङ्ग हुन्छ वा तँ रमाइलो गर्न चाहन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्वसनीय भइरहेको छु? के यो मेरो हृदयलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउनु हो? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्वरले मलाई सुम्पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्नो बारेमा चिन्तन गर्नुपर्छ। यदि तैँले तँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्वरलाई चोट पुर्याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘त्यो समयमा, मलाई केही गलत छ भन्ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई त्यत्तिकै टारिदिएँ। अहिले मात्रै मलाई म साँच्चै झाराटारुवा रहेछु, मैले आफ्नो जिम्मेवारी पूरा गरेको रहेनछु भन्ने थाहा भयो। ममा साँच्चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण, अब तैँले आफूलाई सुल्टाउनैपर्छ! कर्तव्य निर्वाह गर्नेबारे तेरो मनोवृत्ति गलत थियो। तैँले त्यसलाई अतिरिक्त काम जस्तै व्यवहार गरिस् र देखावटी मेहनत मात्र लगाइस्, र तैँले यसमा आफ्नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्न र ताडना दिन लगाउनुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प छ भने मात्र तैँले साँचो रूपमा पश्चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्ति रूपान्तरण भएको छ भने मात्रै तैँले आफूलाई सुल्टाएको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने, कर्तव्य राम्ररी निर्वाह गर्न गाह्रो छैन, हामी इमानदार हुनुपर्छ, परमेश्वरको छानबिनलाई स्वीकार गर्नुपर्छ, आफूलाई थाहा भएका एवं आफूले गर्न सक्ने कुराहरू पूरा गर्न आफ्नो सम्पूर्ण क्षमता लगाउनुपर्छ; कुनै चलाकी गर्नु वा झाराटारुवा बन्नु हुँदैन, अनि आफ्नो कर्तव्य राम्ररी गर्न हामीलाई यस्तै प्रकारको मनोवृत्ति चाहिन्छ। त्यसैले मैले यस पटक परमेश्वरलाई फेरि निराश नतुल्याउने सङ्कल्प गरेँ। मेरो मद्दत र सहयोगपछि पनि ती नयाँ विश्वासीहरू भेलामा सहभागी भएनन् भने पनि, मैले आफ्नो जिम्मेवारी पनि पूरा गरेकी हुने थियो र मलाई पछुतो पनि हुनेथिएन।
मैले अभ्यासको मार्ग खोज्न अर्की सिस्टरसँग कुरा गर्न गएँ, अनि धार्मिक धारणाहरू भएकी ती नयाँ विश्वासीलाई सङ्गतिका लागि पनि खोजेँ। मैले उनीसँग मेरो आफ्नै आस्थाका अनुभवहरूबारे खुलस्त कुरा गरेँ। अचम्म, उनले मेरा मेसेजहरूको जवाफ फर्काइन्। वास्तवमा उनलाई भेलाहरू धेरै मन पर्दो रहेछ, तर उनमा केही समाधान नभएका धारणा र अन्योल रहेछन्। ती नयाँ विश्वासीका हृदयस्पर्शी कुराहरूले म साँच्चै नै भावुक भएँ अनि मैले उनका धारणाहरू लक्षित सङ्गति गरेँ। अन्ततः, उनी भेलाहरूमा सहभागी हुन सहमत भइन् र धेरै समय नबित्दै, उनले एउटा कर्तव्य पनि सम्हालिन्। परिस्थिति यसरी बदलिएको देख्दा मलाई शब्दमा वर्णन गर्न नसकिने एउटा छुट्टै अनुभूति भयो मलाई आनन्द र पछुतो दुवै महसुस भयो। मलाई आफैलाई चिन्न र आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति बदल्ने मौका दिने परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र ज्योति नभएको भए, मैले अर्को अपराध गरेकी हुने थिएँ। त्यसपछि, मैले काममा व्यस्त हुने ती नयाँ विश्वासीलाई फेरि सम्पर्क गर्ने प्रयास गरेँ। पहिले, म सधैँ उनका कठिनाइहरूलाई विचार नै नगरी भेलामा आउन दबाब दिन्थेँ। यस पटक, मैले उनको वास्तविक अवस्थाको आधारमा उनलाई मद्दत गर्न परमेश्वरका वचनहरू सङ्गति गरेँ, र भेलाको समयलाई उचित रूपमा मिलाएँ। जब उनीसँग भेलाको लागि समय हुँदैनथ्यो, उनी फुर्सदमा भएको बेला म उनीसँग परमेश्वरका वचनहरू पढ्थेँ, र धैर्यपूर्वक उनीसँग सङ्गति गर्थेँ। त्यसपछि उनी मसँग आफ्नो हृदय खोलेर कुरा गर्न र आफूले पढेका परमेश्वरका वचनहरूबारे कुरा गर्न तत्पर भइन्। उनले खुसी हुँदै मलाई अब जस्तोसुकै परिस्थिति आए पनि भेलामा आउन, वा परमेश्वरका वचनहरू खान-पिउन यत्तिकै नछोड्ने बताइन्। त्यसपछि, उनले कहिल्यै कुनै भेला छुटाइनन्, र काममा जतिसुकै व्यस्त भए पनि, उनले परमेश्वरका वचनहरू मनन गर्न समय निकाल्थिन्। नयाँ विश्वासीहरूका लागि यस प्रकारको सहयोग र मद्दतले गर्दा, तिनीहरूमध्ये केही फेरि भेलाहरूमा सहभागी हुन इच्छुक भए। मैले आफ्नो मनोवृत्ति सुधारेपछि, परमेश्वरमा भर परेपछि, र साँचो मेहनत लगाएपछि, मैले आफ्नो कर्तव्यमा अझ राम्रा नतिजाहरू प्राप्त गरेँ।
पहिले म आफ्नो कर्तव्यमा सधैँ चिप्ले र झाराटारुवा बन्थेँ। मैले शारीरिक कष्ट त भोगिरहेकी थिइनँ, तर म सधैँ कठिनाइमा जिइरहेकी थिएँ। मैले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सकेकी थिइनँ, मेरो कर्तव्यमा मेरो उपलब्धि कम हुँदै गइरहेको थियो, अनि मलाई सधैँ परमेश्वरले मलाई त्याग्नुहुनेछ र हटाउनुहुनेछ भन्ने चिन्ता लाग्थ्यो। म निकै निराश र पीडामा थिएँ। मैले आफ्नो कर्तव्यमा हृदय लगाएपछि, मैले परमेश्वरको उपस्थिति र मार्गदर्शन महसुस गर्न सकेँ। मैले आफ्नो कर्तव्यमा प्रगति पनि गरेँ र शान्ति तथा स्थिरताको अनुभूति प्राप्त गरेँ। कर्तव्यप्रतिको हाम्रो मनोवृत्ति कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मैले साँच्चै अनुभव गरेँ। कठिनाइहरूको सामना गर्दा, साँचो मूल्य चुकाएर र परमेश्वरको अभिप्रायलाई ख्याल गरेर मात्र हामीले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छौँ र आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्न सक्छौँ।