१४. कहिल्यै नबिर्सिने दिन

ली छिङ, चीन

सन् २०१२ को डिसेम्बर महिनाको एक बिहान, ९ बजेको केही समयपछि, म केही ब्रदर-सिस्टरसँग सुसमाचार प्रचार गर्दै थिएँ। त्यही बेला प्रहरीको एउटा गाडी हाम्रो अगाडि आएर रोकियो। कुनै परिचयपत्र नदेखाई, एक जना प्रहरीले मेरा पाखुरा बटारेर मलाई जबरजस्ती उसको गाडीमा कोच्यो। अर्की सिस्टर र एक जना ब्रदरलाई पनि गाडीमा हालियो। मेरो मुटुको धड्कन बढिरहेको थियो र प्रहरीले मलाई के गर्ने हो भन्ने मलाई केही थाहा थिएन। मैले मनमनै सोचेँ, “मैले यातना सहन सकिनँ, यहूदा बनेँ र परमेश्‍वरमाथि विश्‍वासघात गरेँ भने के गर्ने?” मैले हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो हृदयको सुरक्षा गर्न अनुरोध गरेँ, र यहूदा बनेर आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गर्नुभन्दा बरु मर्न तयार छु भनेर भाकल गरेँ। प्रार्थना गरेपछि, मलाई त्यति घबराहट भएन।

हामीलाई प्रहरी चौकी पुर्‍याएपछि छुट्टाछुट्टै राखेर सोधपुछ गरियो। एक जना प्रहरीले मलाई कडा स्वरमा सोध्यो, “तेरो अगुवा को हो? तँ कहाँ बस्छेस्?” मैले भनेँ, “अगुवा को हो, मलाई थाहा छैन। मैले कुनै कानुन तोडेकी छैन, मलाई किन पक्राउ गरियो?” तिनीहरू बेस्सरी हाँसे र भने, “तँलाई कानुनका बारेमा के थाहा छ? सुसमाचार प्रचार गर्न तैँले केन्द्रीय सरकारबाट अनुमति लिएकी थिइस्? के धार्मिक मामिला ब्युरोले तँलाई स्वीकृति दिएको थियो? तँ गैरकानुनी रूपमा मिसिनरी काम गर्दै थिइस् र सार्वजनिक व्यवस्था भङ्ग गर्दै थिइस्। हामीले तँलाई धार्मिक मामिला ब्युरोमा पठाएर त्यहीँ ठीक पार्नुपर्छ!” अर्को एक जना प्रहरीले भन्यो, “हामीलाई सहयोग गरिस् भने, हामी तँलाई छोडिदिन्छौँ।” मैले तिनीहरूलाई वास्तै गरिनँ। त्यही बेला ढोकानेर बसेको प्रहरी झम्टिँदै भित्र आयो र मेरो दाहिने पिँडौलामा बेसरी लात्ताले हान्यो। यति धेरै दुख्यो कि मेरो पिँडुलाको हड्डी नै भाँचियो जस्तो मलाई लाग्यो। उसले यति जोडले लात्ताले हानेको थियो कि ऊ आफै भुइँमा पछारियो, र अरू प्रहरीहरू हाँस्न थाले। ऊ उठ्यो र मेरो अनुहारमा थप्पड हानेर आफ्नो रिस पोख्यो। उसको थप्पडको प्रहारबाट मैले तोरीको फूल देखेँ, र म रिङटा लागेर झन्डै ढलेकी थिएँ। केही बेरमै, मेरो अनुहारको दाहिने भाग सुन्निन थाल्यो। त्यसपछि उसले मेरो दाहिने पिँडुलामा जोडले लात्ती हान्यो र म कोठाको कुनामा गएर बजारिएँ। अनि ऊ आक्रामक हुँदै मेरो कम्मरको तल्लो भागमा लात्ताले हान्न तरखर गर्न थाल्यो। म निकै डराएकी थिएँ। उसले लात्ताले हानेर मेरो कम्मरको तल्लो भागमा चोट पुर्‍यायो भने के होला? म रुन थालेँ। त्यति नै बेला, केही अरू प्रहरीले उसलाई रोके। अर्को प्रहरीले अलि नरम स्वरमा मलाई भन्यो, “हेर नानी, हामी तिमीलाई यस्तो व्यवहार गर्न चाहँदैनौँ। तिमीले आफ्नो ठेगाना मात्र भनिदियौ भने, हामी तिमीलाई छोडिदिन्छौँ।” मैले मनमनै सोचेँ, “मेरा आमाबुबा दुवै जना परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ र आफ्नो कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ। यदि मैले तिनीहरूलाई आफ्नो ठेगाना भनेँ भने, मेरा आमाबुबा पनि यसमा तानिनुहुनेछ। यदि ब्रदर-सिस्टरहरू मेरो घरमा भेला भइरहेका रहेछन् र उनीहरू सबै पक्राउ परे भने, मैले दुष्ट कार्य गरेकी हुनेछु।” त्यसैले म केही बोलिनँ। त्यसपछि एक जना प्रहरीले मसित एक्लै कुरा गर्न चाहेकाले अरू सबैलाई त्यहाँबाट बाहिर निस्कन भन्यो। उसले मलाई सोध्यो, “के तँ यहाँबाट बाहिर निस्कन चाहन्छेस्? चाहन्छेस् भने, तेरो ठेगाना मात्र बताइदे। या तँ हामीसँग सहकार्य गर्न र हाम्रो सुराकी बन्न सक्छेस्। हाम्रो लागि मण्डलीको उच्च तहसम्म घुसपैठ गर्, अनि हामी मिलेर काम गर्नेछौँ। तैँले सहमति जनाइस् भने, हामी तँलाई छोडिदिनेछौँ।” मैले उसलाई बेवास्ता गरिरहेको देखेर, ऊसँग अर्को जुक्ति भएजस्तो देखियो र उसले भन्यो, “अहिले यहाँ हामी दुई जना मात्र छौँ। मलाई थाहा छ तैँले सायद अरू सदस्यहरूलाई तिनीहरूकै अगाडि औँल्याउन सक्दिनस्, त्यसैले म तेरो पहिचान लुकाइदिन्छु। हामी मेरो गाडी लिएर सडकमा जानेछौँ, तँ गाडीभित्र बस्न सक्छेस्, अनि तैँले आफ्ना ब्रदर-सिस्टरहरूमध्ये कसैलाई औँलाले देखाइदिए मात्र पुग्छ। तैँले आफ्नो सट्टामा अर्को सदस्यलाई औँल्याएर देखाइदिइस् भने मात्र, हामी तँलाई छोडिदिनेछौँ। तँ के भन्छेस् त?” त्यो प्रहरीको घिनलाग्दो अनुहार देखेर, मलाई घृणा लागेर आयो। मैले मनमनै सोचेँ, “यहाँ हामी दुई जना मात्र हौँला, तर परमेश्‍वरका आत्माले सबै कुराको छानबिन गर्नुहुन्छ। तैँले अरू मानिसलाई मूर्ख बनाउन सक्लास्, तर परमेश्‍वरलाई कहिल्यै मूर्ख बनाउन सक्दैनस्। यदि तँलाई म सुराकी बन्छु, मेरा ब्रदर-सिस्टरहरूलाई घात गर्छु र परमेश्‍वरमाथि विश्‍वासघात गर्छु भन्ने लाग्छ भने, तँ भ्रममा छस्!” मैले दृढतापूर्वक जवाफ दिएँ, “म कसैलाई चिन्दिनँ!” त्यसपछि उसले मलाई धम्की दिँदै भन्यो, “के तँ कसैलाई जोगाउन खोज्दै छेस्? के तेरा आमाबुबा पनि परमेश्‍वरमा विश्‍वास गर्छन्? तँसँगै पक्राउ परेकाहरूले तेरा बारेमा हामीलाई सबै कुरा बताइसके। हामीलाई तेरा बारेमा जति जान्नुपर्ने हो, सबै थाहा भइसक्यो। म तँलाई यहाँ साँचो कुरा बक्ने मौका दिँदैछु। यदि तैँले हामीलाई केही भनिनस् भने, जेलमा तेरो हालत यति सजिलो हुनेछैन। तिनीहरूले तँलाई जबरजस्ती खुर्सानीको पानी पिउन लगाउनेछन्, तेरा औँलाहरू बाँसको भाटाले च्याप्नेछन्, तेरा नङभित्र सियो कोच्नेछन्, तेरा कानमा बाँसको सिन्का घुसाउनेछन् अनि अरू कैदीहरू लगाएर तँलाई दुःख दिनेछन्। त्यो जिउँदै नरक भोगेजस्तो हुनेछ!” उसको कुरा सुनेर मेरो आङ सिरिङ्ग भयो, र म पूरै डराएँ। मैले मनमनै सोचेँ, “के तिनीहरूले साँच्चै मलाई घात गरे त? यदि प्रहरीले साँच्चै मेरो कानमा बाँसको सिन्का घुसायो भने, म बहिरी हुन्न र? औँलाहरूलाई बाँसको भाटाले च्याप्ने, नङभित्र सियो कोच्ने—औँलाहरू त कति संवेदनशील हुन्छन्, त्यो त कति धेरै दुख्दो हो! यदि तिनीहरूले मलाई जेलमा पठाएर यातना दिए भने, मजस्तो दुब्ली-पातली केटीले ती सबै कसरी सहन सक्छे र? या म त्यहीँ मर्छु कि? म भर्खर २० वर्षकी भएँ, र मेरो जीवन त भर्खरै सुरु हुँदै छ। म अहिल्यै मर्न चाहन्नँ! सायद मैले तिनीहरूको माग पूरा गर्न कुनै सानोतिनो कुरा मात्र बताइदिनुपर्छ कि।” यतिखेर, मलाई बेचैनी भयो र मेरो हृदयमा स्पष्ट रूपमा के थाहा थियो भने, “पक्राउ पर्नु र सतावट भोग्नु मेरा लागि एउटा परीक्षा हो। यदि मैले थोरै मात्र कुरा बताएँ भने पनि, तिनीहरूले पक्कै थप प्रश्नहरू सोध्नेछन्। यदि तिनीहरू मजस्तो सानी केटीप्रति यति क्रूर छन् भने, कसलाई थाहा तिनीहरू मेरा ब्रदर र सिस्टरहरूसँग कति निर्मम हुनेछन्!” म आफ्नो विवेक मारेर आफ्नै बारेमा मात्र सोच्न सक्दिनँ। म शैतानको नोकर बनेर परमेश्‍वरलाई विश्‍वासघात गर्न सक्दिनँ। अरू सिस्टर र ब्रदरहरूले मलाई घात गरेका होऊन् वा नहोऊन्, म दृढ रहनैपर्छ। जेल गएर यातना नै भोग्नुपरे पनि, म परमेश्‍वरमाथि विश्‍वासघात गर्न सक्दिनँ।

त्यसपछि, तिनीहरूले जतिसुकै सोधपुछ गरे पनि, मैले सधैँ मलाई थाहा छैन भनेरै जवाफ दिएँ। एक जना प्रहरी अत्यन्त रिसाएर टेबुल ठोक्दै चिच्यायो, “लाग्छ, हामीले यसलाई ठीक पार्न कडा बाटो नै अपनाउनुपर्ने भयो!” त्यसपछि अर्को प्रहरीले मलाई हतकडी लगायो, मेरो कपाल समातेर पछाडितिर जोडले तान्यो। अनि अरू तीन-चार जना प्रहरी पनि ममाथि खनिए र मलाई मुक्का र लात्ती हान्न थाले। तिनीहरूले विशेष गरी मेरा पिँडुलाहरूमा लात्ती प्रहार गरे र मेरो टाउको, पेट र कम्मरको तल्लो भागमा मुक्का हाने। एक जना प्रहरीले मेरो पेटमा यति जोडले मुक्का हान्यो कि म कोठाको कुनामा डल्लो परेँ अनि रुन थालेँ। एउटा प्रहरीले मलाई सोध्यो, “के अब तँ बोल्छेस् कि बोल्दिनस्?” मैले उसलाई रिसाएर हेरेँ। अर्को प्रहरीले मेरो कलर समातेर मलाई उठायो, मेरो टाउको भित्ता र फलामको दराजमा ठोक्काइदियो र मेरो घाँटी अठ्यायो। यो यति पीडादायी थियो कि मलाई सास फेर्न पनि गाह्रो भयो। म बेहोस हुनै लागेकी देखेर मात्रै मेरो छेउको प्रहरीले उसलाई रोक्न भन्यो। म लामो-लामो सास फेर्दै भुइँमा ढलेँ। मैले सोचेँ, यी प्रहरीहरू हाम्रो समाजका दुष्ट मानिसहरूलाई पक्रन डराउँछन्, तर जब हामी विश्‍वासीहरूको कुरा आउँछ, तिनीहरू निर्दयी भएर हामीलाई यातना दिन्छन्, कुट्छन् र मार्नसम्म पछि पर्दैनन्। मैले मेरो हृदयभित्रैबाट क्रन्दन गरेँ, “के यो संसारमा कुनै इन्साफ छ र? तिनीहरू कसरी आफूलाई ‘जनताको प्रहरी’ भन्छन्?” त्यति नै बेला, मैले “अन्धकारमा हुनेहरू उठ्नुपर्छ” शीर्षकमा परमेश्‍वरका वचनको एउटा भजन सम्झेँ:

१  हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै, क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशभन्दा परको संसार कसले देख्न सक्छ? यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ?

२  परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? सबैले पूर्ण रूपमा देख्‍ने गरी, तिमीहरू परमेश्‍वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्‍वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ?

…………

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

विगतमा, मैले चिनियाँ कम्युनिस्ट पार्टीलाई राम्ररी चिन्न सकेकी थिइनँ। चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना पाठ्यपुस्तकहरूमा धार्मिक स्वतन्त्रतालाई समर्थन गर्ने दाबी गरेको थियो, त्यसैले मैले कुनै प्रश्न नगरी तिनीहरूको कुरा पत्याएँ, यहाँसम्म कि तिनीहरूको गुणगान पनि गरेँ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सतावट भोगेपछि मात्र मैले तिनीहरूको वास्तविक रूप देखेँ। चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई धोका दिन धार्मिक स्वतन्त्रताको समर्थन गर्छौँ भनी दाबी गर्छ, तर वास्तवमा तिनीहरूले उग्र रूपमा परमेश्‍वरको प्रतिरोध गरिरहेका छन् र इसाईहरूलाई सताइरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर सत्यता व्यक्त गर्न र मानवजातिलाई शैतानको भ्रष्टता र सास्तीबाट, शैतानको अन्धकारको प्रभावबाट मुक्ति दिन, र हामीलाई जीवनको सही मार्गमा मार्गदर्शन गर्न आउनुभएको छ। यो एउटा अद्भूत कुरा हो, तर चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई सताउँछ र प्रहरीहरूलाई विशेष गरी परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई पक्रनू र पाशविक व्यवहार गर्नू भनी आदेश दिन्छ। चिनियाँ कम्युनिस्ट पार्टी साँच्चै नै दुष्ट छ! यो परमेश्‍वरलाई घृणा गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने पिशाच हो!

त्यसपछि तिनीहरूले मलाई आधा घण्टासम्म हतकडी लगाए, मेरो दाहिने हातलाई काँधमाथिबाट पछाडितिर बटारे र देब्रे हातलाई पछाडिबाट माथि ताने, अनि मलाई टुक्रुक्क बस्न लगाए र आफ्ना अगाडि घुँडा टेक्न आदेश दिए। मैले घुँडा नटेकेपछि, दुई जना प्रहरीले मेरा पाखुरा समाते, र तेस्रो प्रहरीले आफ्नो घुँडाले मेरो खुट्टा खुम्च्याएर मलाई जबरजस्ती घुँडा टेक्न बाध्य पार्‍यो। म यातनाले गर्दा पूरै लखतरान भएँ र भित्तातिर फर्केर भुइँमा घुँडा टेकेँ। मैले सोचेँ, यदि तिनीहरूले मबाट मण्डलीका बारेमा केही जानकारी पाएनन् भने मलाई त्यति सजिलै छोड्नेछैनन्। म त्यहाँ पुगेको दुई घण्टा मात्र भएको थियो तर यातनाले गर्दा म लखतरान भइसकेकी थिएँ र मेरो पूरै शरीर दुखिरहेको थियो। मैले अझै कति यातना भोग्न बाँकी छ होला र मैले त्यो सहन सक्छु कि सक्दिनँ होला भनेर सोच्न थालेँ। मलाई ब्वाँसाहरूको बथानमा अचानक आइपुगेकी एउटी सानी भेडाजस्तै महसुस भयो, जसलाई जुनसुकै बेला खाइदिन सक्थे। म निकै विचलित र त्रसित थिएँ। मैले मेरो हृदयमा निरन्तर परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, “प्यारा परमेश्‍वर, मलाई मेरो हृदयमा निकै कमजोर महसुस भइरहेको छ। म अझै कति समय सहन सक्छु, मलाई थाहा छैन। हे परमेश्‍वर, यो परिस्थिति तपाईँको अनुमतिले नै आएको हो, तर तपाईँको अभिप्राय के हो भन्ने मैले बुझेकी छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यति नै बेला, परमेश्‍वरका वचनको एउटा पङ्क्ति मनमा आयो, “तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। र मलाई अचानक सबै कुरा स्पष्ट भयो। सतावट र सङ्कष्ट भोग्दा मैले उहाँप्रतिको मेरो आस्था कायमै राखूँ भन्ने परमेश्‍वर चाहनुहुन्थ्यो। मैले मनमनै “परीक्षाहरूले आस्थाको माग गर्छन्” भन्ने यो भजन गाएँ।

१  परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो।

२  तैँले आफ्ना अनुभवहरूमा, परमेश्‍वरका वचनहरूबाट जे शोधन भोगे पनि, समग्रमा, परमेश्‍वरले चाहने कुरा भनेको, तेरो आस्था र परमेश्‍वरलाई प्रेम गर्ने हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्‍वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

मनमनै यो भजन गाइसकेपछि, मेरो अनुहार आँसुले भिज्यो। मैले अय्यूब आफ्नो परीक्षाबाट कसरी गुज्रे भन्ने कुरा सोचेँ, जतिबेला तिनले आफ्ना छोराछोरी र आफ्ना सबै सम्पत्ति गुमाएका थिए, अनि तिनको पूरै शरीरमा खटिराहरू निस्केका थिए, र तिनले चरम शारीरिक र भावनात्मक पीडा भोगेका थिए। यो परीक्षाको सामना गर्दा, अय्यूब सुरुमा परमेश्‍वरको अभिप्रायबारे स्पष्ट थिएनन्, र तिनले निकै पीडा र बेचैनी महसुस गरेका थिए, तर तिनमा परमेश्‍वरको डर मान्‍ने हृदय थियो। तिनी डाँकाहरूको पछि लागेनन् वा गनगन गरेनन्। तिनी पहिले परमेश्‍वरसामु आए, उहाँलाई प्रार्थना गरे र उहाँलाई खोजे। अन्तमा तिनले भने: “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। भन्दै तिनले गुञ्जायमान गवाही दिए। यसबारे, मैले परमेश्‍वरको अभिप्राय बुझेँ। परमेश्‍वरले मेरो आस्थालाई सिद्ध पार्न यी परिस्थितिहरू प्रयोग गर्दै हुनुहुन्छ। मैले अय्यूबको कथाबाट सिक्नुपर्छ र परमेश्‍वरमा आस्था राख्नुपर्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र मेरो गवाहीमा दृढ रहन उहाँमा नै भर पर्नुपर्छ।

१० मिनेटभन्दा बढी समयसम्म मलाई घुँडा टेक्न लगाएपछि, प्रहरीले मलाई उठ्न आदेश दियो। एक जना अग्लो प्रहरीले मेरो कपाल समात्यो र मेरो टाउको माथितिर यसरी तान्यो कि मेरो खुट्टाको औँलाको टुप्पोले मात्र भुइँ छोएको थियो। त्यो पीडा मेरो टाउकोबाट छाला नै उप्किए जस्तो महसुस भयो। त्यसपछि उसले आफ्नो जुत्ताले मेरो देब्रे खुट्टाका औँलाहरू जाँतोले पिसेजस्तो पिस्न र किच्न थाल्यो, र आफ्नो पूरै शरीरको भार दिएर मेरो पैतालाको माथिल्लो भागमा टेक्यो। यति धेरै दुख्यो कि मेरो खुट्टाका हड्डीहरू भाँचिए कि जस्तो भयो, त्यसैले मैले उसलाई धकेलेर पर हटाएँ। मलाई कति धेरै दुखिरहेको छ भन्ने देखेर, ऊ फेरि मेरो खुट्टाको माथिल्लो भागमा टेकेरै उभिइरह्यो। मेरो खुट्टाहरू काँप्न थाले र म अनजानमै निहुरिएर थचक्क बसेँ। तर उसले मलाई फेरि तानेर उठायो, मेरा हातहरू भित्तामा अचेट्यो र मेरो खुट्टामाथि टेकेर उभिइरह्यो। पहिलो पटक मैले यो पीडा सहनुभन्दा बरु मर्नु नै बेस हो भनेर सोचेँ। जब मेरो देब्रे खुट्टाबाट करक्क आवाज आयो, तब मात्रै उसले कुल्चन छोड्यो। मलाई मेरो खुट्टाका हड्डी भाँचिए भन्ने लागेको थियो, तर वास्तवमा त्यो ठीकै थियो। मलाई थाहा भयो, परमेश्‍वरले मेरो ख्याल र सुरक्षा गरिरहनुभएको छ। मैले मेरो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि २० वर्ष कटेको जस्तो देखिने एउटा प्रहरी भित्र आयो र कामुक आशयले मलाई सोध्यो, “कति वर्षकी भइस्? ब्वाइफ्रेन्ड छ? बोल्न चाहन्नस् भने नि केही छैन। तर जति चाँडो बोल्छेस्, त्यति नै चाँडो तँलाई छोडिदिनेछौँ। अनि राति म तँलाई भेट्न आउनेछु।” त्यसपछि ऊ मेरो नजिकै आयो र भन्यो, “एउटा खाली कोठामा केटा र केटी मात्रै सँगै हुँदा के गर्छन् होला जस्तो लाग्छ?” उसले मलाई अरू पनि धेरै फोहोर र अश्‍लील कुरा भन्यो। त्यसपछि एउटी महिला प्रहरी भित्र आई र कुटिल मुस्कानसाथ भनी, “यदि यसले मुख खोल्दिन भने, यसका सबै लुगा च्यातिदेऊ र एउटा साइनबोर्ड यसको घाँटीमा झुन्ड्याएर सबैले देख्ने गरी भीडभाड भएको चोकमा नाङ्गै उभ्याइदेऊ। त्यसपछि यसका नाङ्गा तस्बिरहरू इन्टरनेटमा हालिदेऊ अनि हेरौँला, यसले फेरि मान्छेहरूको अगाडि जाने हिम्मत कसरी गर्दी रहिछ। यसको जिन्दगीभरकै बेइज्जत हुनेछ!” यसो भन्दै गर्दा, उसले मेरो हतकडी खोली र मेरो डाउन कोट फुकाल्न थाली। म निकै डराएँ। एउटी महिला भएकी नाताले उसमा मेरा लागि केही सहानुभूति होला भन्ने मैले सोचेकी थिएँ, तर ऊ पनि ती पुरुष प्रहरीहरू जत्तिकै दुष्ट रहिछे। अर्को एक जना पुरुष प्रहरीले मेरो कम्मरमा हात सुम्सुम्याउन थाल्यो र भन्यो, “तेरो शरीर त निकै राम्रो छ।” अरू प्रहरीहरू पनि अश्‍लील तरिकाले हाँस्न थाले। तिनीहरूको हाँसो सीधै नरकबाट आएजस्तो सुनिन्थ्यो। म यति डराएकी थिएँ कि मेरो आँखामा आँसु भरिइसकेको थियो, मैले सोचेँ, “यी प्रहरीहरूले जे पनि गर्न सक्छन्। यदि तिनीहरूले साँच्चै मेरा सबै लुगा फुकालिदिए भने, म यस्तो बेइज्जत सहेर कसरी बाँच्न सक्छु होला र? यस्तो अपमान सहेर जिउनुभन्दा त मर्नु नै बेस हुन्छ।” मैले टेबुलअगाडिको झ्यालमा कुनै बार नभएको देखेँ, र त्यहाँबाट हाम फाल्ने विचार गरेँ। जब तिनीहरूले म हाम फाल्ने विचार गर्दैछु भन्ने थाहा पाए, तिनीहरूले झ्याल लक गरिदिए, अनि मैले सकेसम्म जोडले भित्तामा आफ्नो टाउको ठोक्काएँ। एउटा प्रहरीले मलाई भित्तामा कसिलो गरी अचेट्यो जसले गर्दा म हलचल गर्न सकिनँ। उसले रिसाउँदै चिच्यायो, “तँ मर्न चाहन्छेस्? हामी तँलाई यति सजिलै उम्कन दिँदैनौँ! म तेरो जीवनलाई जिउँदै नरक बनाइदिन्छु!” म मर्न चाहन्थेँ, तर तिनीहरूले मलाई मर्न दिएनन्। म चरम पीडामा थिएँ। त्यति नै बेला, “कष्ट जति ठूलो भए पनि परमेश्‍वरको प्रेम पछ्याउ” भन्ने परमेश्‍वरका वचनको भजन मेरो मनमा आयो: “यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्‍वरको निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। मैले परमेश्‍वरको अभिप्राय बुझेँ। परमेश्‍वर म जीवित रहेर उहाँका निम्ति गवाही दिऊँ भन्ने चाहनुहुन्थ्यो। अलिकति दुःख भोग्नेबित्तिकै मर्न चाहनु परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको व्यवहार थिएन। यो त एउटा कायर र बेकामे व्यक्तिको व्यवहार थियो। मैले जिउनैपर्थ्यो! यदि तिनीहरूले साँच्चै मेरा सबै लुगा फुकालेर मलाई प्रदर्शनमा राखे भने, यो तिनीहरूले इसाईहरूलाई गरेको सतावटको प्रमाण बन्थ्यो। यो कुरा सोचेपछि, मलाई मर्न मन लागेन। त्यसपछि, शिये थर भएको एउटा प्रहरीले मलाई कामुक नजरले हेर्दै भन्यो, “तँ हेर्नमा निकै राम्री छेस्। भर्खर २० वर्षकी भइस्, हो? अझै नि ब्वाइफ्रेन्ड छैन? तँ अझै भर्जिन छेस् कि छैनस्, म हेर्न चाहन्छु।” यसो भन्दै गर्दा, ऊ मेरो नजिक आयो र आफ्नो शरीर मेरो शरीरमा टाँस्यो, अनि मेरो अनुहार र चिउँडो छुन थाल्यो। म डराएँ र उसलाई धकेलिदिएँ। ऊ ढुन्मुनिँदै पछाडि पुग्यो र टेबुलको छेउमा ठोक्कियो, अनि रिसाउँदै मतिर झम्टियो र मेरा हातहरू भित्तामा लगेर अचेट्यो। उसले मेरो अनुहार र घाँटीभरि चुम्बन गर्न थाल्यो। म एकदमै अत्तालिएर चिच्याएँ। यो हेरिरहेका केही प्रहरी बेस्सरी हाँसे। आफूमाथि यौन हिंसा हुनबाट जोगिन, मैले उसलाई लात हानेँ र नजिक आउन दिइनँ। अर्को एउटा प्रहरीले आफ्नो क्यामेरा निकालेर मेरो फोटो खिच्न थाल्यो। उसले भन्यो, “एउटा प्रहरीलाई हात हाल्ने तेरो कत्रो हिम्मत!” उसको कुरा सुनेर म रिसले मुर्मुरिएँ। तिनीहरू सबै मिलेर ममाथि आक्रमण गरिरहने, तर उल्टै मैले प्रहरीलाई कुटेको आरोप लगाउन खोज्ने? के तिनीहरूले सत्य कुरालाई तोडमोड गरिरहेका थिएनन् र? तर मैले यो पनि सोचेँ, “यदि मैले प्रतिकार गरेँ र तिनीहरूले फोटो खिचे भने, त्यो फोटो तिनीहरूले अनलाइनमा हालेर मण्डलीलाई बदनाम गर्न र फसाउन सक्छन्। के यसले परमेश्‍वरलाई अपमानित गराउँदैन र?” मण्डलीको विरुद्ध कुनै पनि कुरा तिनीहरूको हात लागोस् भन्‍ने म चाहन्नथेँ, त्यसैले मैले आफ्ना आँसु लुकाउँदै तिनीहरूको दुर्व्यवहार चुपचाप सहनुपर्‍यो। अन्ततः, तिनीहरूले आफूले चाहेजस्तो फोटो पाएनन् र त्यहाँबाट गए।

प्रहरी शियेले अर्को पुरुष प्रहरीलाई मलाई हतकडी लगाउन र मेरा पाखुरा भित्तामा लगेर अचेट्न लगायो। उसले मेरो खुट्टामा टेक्यो, मेरो डाउन कोटको जिप खोल्यो, र मेरो ढाड र कम्मरभरि छुन थाल्यो। मेरा हात र खुट्टाहरू सबै अचेटिएका थिए, त्यसैले मसँग प्रतिकार गर्ने कुनै बाटो थिएन। म यति धेरै आहत भएँ कि म भक्कानिएर रुन थालेँ। त्यतिबेला प्रहरी शियेकी प्रेमिका भित्र आएपछि मात्रै उसले मलाई छोड्यो। केही बेरपछि, प्रहरी शिये भित्र फर्कियो र भूत चढेको मान्छेजस्तै ममाथि झम्टियो। त्यतिबेला कोठामा अरू कोही थिएन। उसले मेरा खुट्टाहरूलाई एकै ठाउँमा कसिलो गरी च्याप्यो र मलाई बलजफ्ती अँठ्याएर मेरो शरीरभरि छुन थाल्यो। उसले मेरो पाइन्टसमेत खोलिदियो। म असाध्यै डराएँ र मेरो कम्मरको पेटी भाग कस्सेर समातेँ। उसले मेरो अनुहारमा क्रूरतापूर्वक थप्पड हान्यो र म चिच्याएँ। उसले मेरो मुख र नाक हातले थुनिदियो। म सास फेर्न सकिरहेकी थिइनँ, र मैले जति सङ्घर्ष गरेँ, त्यति नै कमजोर हुँदै गएँ। टिभीमा बलात्कारीहरूले आफ्ना सिकारलाई यस्तै गरेको मैले देखेकी थिएँ। म एकदमै त्रासमा थिएँ र निसहाय महसुस गरेँ। रिसाउँदै र मुर्मुरिँदै, प्रहरी शियेले चिच्याउँदै भन्यो, “चिच्या! जति सक्छेस् त्यति ठूलो स्वरले चिच्या! हेरौँ तेरो परमेश्‍वर तँलाई बचाउन आउँछ कि आउँदैन!” उसको निर्लज्जता र दुष्टताले मलाई साह्रै रिस उठायो। मैले हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारा परमेश्‍वर, म शैतानद्वारा कुल्चिइन चाहन्नँ। कृपया मलाई बचाउनुहोस्, कृपया मलाई बचाउनुहोस्!” मैले परमेश्‍वरलाई यसरी आतुर भई पुकारा गरिरहेकै बेला, प्रहरी शियेले मेरो नाक र मुखबाट आफ्नो हात हटायो र मैले लामो सास फेरेँ। म तुरुन्तै चिच्याएँ र सँगैको कोठामा भएका केही प्रहरी मेरो चिच्याहट सुनेर त्यहाँ आए। त्यसपछि मात्रै उसले मलाई छोड्यो। म भुइँमा थचक्क बसेँ, र भर्खरै के भयो भनेर सोच्न थालेँ। यदि परमेश्‍वरको सुरक्षा नभएको भए, मेरो बलात्कार भइसकेको हुनेथियो। मैले हृदयदेखि परमेश्‍वरलाई धन्यवाद दिएँ।

त्यस दिन दिउँसो, सात-आठ जना प्रहरी भित्र आए। जब मैले तिनीहरूलाई सहयोग गरिनँ, तब चौकी प्रमुख मेरो नजिकै आयो र मेरो गर्धनको पछाडिको भाग चिमोट्दै मेरो कान बटारिदियो। पीडाले गर्दा मैले मेरो गर्धन खुम्च्याएँ। उसले मलाई हेरेर हाँस्दै भन्यो, “कछुवालेजस्तै टाउको लुकाउँदै छेस्, हँ?” अरू प्रहरीहरू पनि मेरो मजाक उडाउन थाले। तिनीहरूले मलाई घेरे र मलाई भकुन्डोजस्तै यताउता धकेल्न थाले। दुई जना प्रहरीले मौका छोपेर मेरो छाती र कम्मरमा चिमोटे। तिनीहरू साँच्चै जङ्गलीहरूको झुन्ड थिए! रिसले मेरा दाह्रा किटिए र म प्रतिकार गर्न चाहन्थेँ! यदि मैले आफैले यी सबै नभोगेकी भए, हाम्रा पाठ्यपुस्तक र टेलिभिजन कार्यक्रमहरूमा “जनताको सेवा गर्ने” र “इन्साफका लागि लड्ने” भनी भन्ने गरिएको “जनताको प्रहरी” यी नै रहेछन् भनेर म कहिल्यै विश्‍वास गर्नेथिइनँ। म थप सहन नसकेर तिनीहरूलाई चिच्याउँदै भनेँ, “के साँचो मर्दले एउटी सानी केटीमाथि अत्याचार गर्छ?” मैले त्यसो भन्नेबित्तिकै तिनीहरू रोकिए। केही बेरपछि, एउटा प्रहरीले मेरो कञ्चटमा पेस्तोल राख्यो र मलाई धम्क्याउँदै भन्यो, “म तँलाई अहिल्यै गोली हान्न सक्छु! जब हामी तिमीहरू जस्ता विश्‍वासीहरूलाई पक्रन्छौँ, हामीले तिमीहरूलाई मारे पनि हामीलाई केही हुँदैन। हामी तँलाई अहिल्यै गोली हान्न सक्छौँ। तँ मरेपछि, हामी तँलाई लगेर गाडिदिनेछौँ! यदि तेरो कुनै अन्तिम भनाइ छ भने, अहिले भन्!” यसो भन्दै गर्दा, उसले पेस्तोलमा गोली लोड गर्‍यो। उसले ठट्टा गरिरहेको छैन भन्ने देखेपछि, म यति डराएँ कि मेरा खुट्टाहरू लल्याकलुलुक भए। मैले मनमनै सोचेँ, “के यति सानै उमेरमा मेरो जीवन साँच्चै समाप्त हुँदै छ त? मानवजातिलाई मुक्ति दिन आउनुभएका परमेश्‍वरलाई भेट्न पाउनु मेरो ठूलो अहोभाग्य हो, तर ब्रह्माण्डभरि राज्यको सुसमाचार फैलिएको दृश्य देख्नुअघि र मेरो भ्रष्ट स्वभावमा परिवर्तन हासिल गर्नुअघि नै म मर्न लागेकी हुँ त? यो कुरा स्वीकार्न गाह्रो छ।” त्यति नै बेला, मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ(मत्ती १०:२८)। ठूलो रातो अजिङ्गरले मेरो देहलाई मात्रै तहसनहस पार्न र यातना दिन सक्छ, तर यसले मेरो प्राणलाई नष्ट गर्न सक्दैन। यो त केवल एउटा कागजी बाघ हो। बाहिरबाट हेर्दा यो डरलाग्दो देखिन्छ, तर यो जतिसुकै बौलाहा भए पनि, यो सधैँ परमेश्‍वरकै हातमा हुन्छ। परमेश्‍वरको अनुमतिविना यसले मलाई केही गर्ने हिम्मत गर्न सक्दैन। मैले पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो पछ्याइमा उहाँका लागि कसरी उल्टो क्रुसमा टाँगिएका थिए भन्‍ने कुरा सम्झेँ। जब तिनलाई क्रुसमा टाँगिएको थियो, तिनले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेका थिए: “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। पत्रुसको प्रार्थना मेरा लागि धेरै ज्योतिर्मय थियो। मैले परमेश्‍वरसँग धेरै नजिक भएको महसुस गरेँ र मलाई अब मृत्युको डर लागेन। पक्राउ परेदेखि नै परमेश्‍वरले मलाई कसरी सुरक्षा दिइरहनुभएको थियो अनि शैतानले मलाई परीक्षा गर्दा परमेश्‍वरका वचनले नै मलाई त्यसको षड्यन्त्र छर्लङ्ग देख्न कसरी मार्गदर्शन गरेका थिए भन्ने कुरा मैले सोचेँ। म कमजोर हुँदा, उहाँले मलाई आस्था र शक्ति दिनुभयो, अनि म खतरामा पर्दा, म शैतानद्वारा नकुल्चिऊँ भनेर परमेश्‍वरले मेरो सुरक्षा गर्नुभयो। पत्रुस परमेश्‍वरमा समर्पित हुन सक्थे र उहाँका लागि उल्टो क्रुसमा टाँगिएका थिए। मसँग पत्रुसको जस्तो कद त थिएन, तर म तिनलाई आदर्शका रूपमा लिन तत्पर थिएँ। आज परमेश्‍वरका लागि मर्न पाउनु मेरो अहोभाग्य हुनेथियो। म परमेश्‍वरको प्रेमले एकदमै प्रभावित भएँ र मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, म तपाईँप्रति धेरै ऋणी छु। मेरो जीवनमा, मैले कहिल्यै पनि गम्भीर भएर सत्यता पछ्याएकी छैन वा तपाईँलाई प्रेम गर्न खोजेकी छैन। यदि मेरो कुनै अर्को जुनी छ भने, म अझै पनि तपाईँमा विश्‍वास गर्नेछु, तपाईँलाई पछ्याउनेछु र तपाईँको प्रेमको ऋण तिर्नेछु!” केही प्रहरीले म रोइरहेको देखे र म डराएकी छु भन्ठानेर यसो भने, “यो तेरो अन्तिम मौका हो। यदि तेरो कुनै अन्तिम भनाइ छ भने, अहिले भन्!” मैले भनेँ, “आखिरमा सबै जना मर्छन्। म धार्मिकताका खातिर सतावटमा परेर मर्दैछु, त्यसैले मलाई कुनै पछुतो छैन।” त्यति भनिसकेपछि, मैले आँखा चिम्लिएँ र गोली चल्ने प्रतीक्षा गरेँ। त्यो प्रहरीको रिसले हात काँप्न थाल्यो र उसले भन्यो, “तँ मर्नै चाहन्छेस् भने, म तेरो इच्छा पूरा गरिदिन्छु!” उसले मलाई मेरो टाउको एकातिर फर्काउन भन्यो, त्यसपछि पेस्तोल मेरो कञ्चटमा ताक्यो र पेस्तोलको ट्रिगर केही पटक दबायो, तर कसरी हो म मरिनँ। त्यसपछि मलाई थाहा भयो, उसले गोली निकालिसकेको रहेछ। अर्को प्रहरीले टेबुलमा जोडले हात बजार्दै भन्यो, “तँ आफूलाई कुनै वीर हुँ जस्तो लाग्छ? हामीले तँलाई जे गरे पनि, केही लाग्ने रहेनछ!” तिनीहरूले मेरो कञ्चटमा घोचे र पेस्तोलले मेरो टाउकोमा हिर्काउँदै भने, “रु न त रु! तँ किन नरोएकी?” मैले एउटा भजन सम्झेँ जसमा यसो भनिएको छ: “मेरो शिर छिनालिए पनि वा मेरो रगत बगिगए पनि, परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन।” पहिले, तिनीहरूको यातना र धम्कीको सामना गर्दा, म तिनीहरूको सहानुभूति पाउनका लागि रुन्थेँ, खाली रोइरहन्थेँ। ममा परमेश्‍वरमाथि अलिकति पनि आस्था थिएन। म शैतानसामु घुँडा टेकिरहेकी थिएँ र ममा सङ्कल्पको कमी थियो। मेरो कायरताले म अब परमेश्‍वरलाई अपमानित गर्न सक्दिनथेँ। त्यसैले मैले आँसु पुछेँ, मुट्ठी कसेँ, र रक्ताम्मे अन्त्य नहोउन्जेल शैतानसँग लड्ने सङ्कल्प गरेँ! मैले मनमनै “म परमेश्‍वरले महिमा प्राप्त गर्ने दिन देख्‍न चाहन्छु” भन्ने भजन गाएँ: “हृदयमा परमेश्‍वरको आज्ञा लिएर, म शैतानको अगाडि कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनालिए पनि वा मेरो रगत बगिगए पनि, परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्‍वरका लागि जोडदार गवाही दिनेछु, अनि दियाबलसहरू र शैतानलाई लज्जित पार्नेछु। पीडा र कष्ट परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्, अनि म मृत्युसम्मै उहाँप्रति बफादार र समर्पित हुनेछु। म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने वा चिन्तित तुल्याउनेछैनँ। म परमेश्‍वरलाई आफ्नो प्रेम र बफादारी अर्पण गर्नेछु र उहाँलाई महिमित पार्न आफ्नो मिसन पूरा गर्नेछु(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)

मैले मुट्ठी कसेको देखेर केही प्रहरी रिसले चुर भए र भने, “यो त खच्चरभन्दा पनि जिद्दी रहिछ!” प्रहरीहरू हताश भएको र तिनीहरूसँग कुनै उपाय बाँकी नरहेको देखेर, पिशाच र शैतानहरूको यो बथान अपमानित र पराजित भएको छ भन्ने मलाई थाहा भयो। परमेश्‍वरले यो कुरा भन्नुहुँदा उहाँको भनाइको अर्थ के थियो भन्ने मैले साँच्चै बुझेँ: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ३६)। मृत्युको डर नै मानिसको मुख्य कमजोरी हो। दियाबलस शैतानलाई मेरो मुख्य कमजोरीबारे थाहा थियो र त्यसले मलाई धम्की दिन र परमेश्‍वरमा विश्‍वास गर्न अनि उहाँलाई पछ्याउनबाट रोक्न त्यसको प्रयोग गरेको थियो। तर परमेश्‍वरको बुद्धि शैतानका षड्यन्त्रहरूका आधारमा प्रयोग गरिन्छ। जब मैले मेरो जीवन परमेश्‍वरलाई सुम्पेँ, तब शैतान शक्तिहीन भयो, यो असफल र अपमानित भयो।

दिउँसो, केही प्रहरी खाना खान गए, अनि तीन जना मलाई निगरानी गर्न त्यहीँ बसे। एउटा प्रहरी मेरो नजिकै आयो र, अनुहारमा कृत्रिम हाँसो ल्याउँदै मलाई सोध्यो, “तँ किन रुँदिनस्?” मैले भनेँ, “मसँग रुनुपर्ने केही कुरा छैन।” उसले भन्यो, “तँ रुँदिनस् भने, हामी तँलाई रुने कारण दिन्छौँ!” यसो भन्दै, उसले एउटा कालो बोतल उठायो। उसले मेरा आँखाहरू जबरजस्ती च्यात्यो र त्यसमा भएको केमिकल मेरो मुख र आँखामा छर्किदियो, अनि अर्को प्रहरीले चाहिँ मेरा पाखुरा र टाउको अचेटेको थियो। तुरुन्तै मेरा आँखाहरू पोल्न थाले र आँसु बग्न थाल्यो अनि मैले आँखाहरू खुला राख्न सकिनँ। केमिकलले गर्दा मेरा भतभती पोले र मैले निलेको केमिकलले गर्दा मेरो घाँटी पनि पोल्यो। यति धेरै दुख्यो कि म बोल्नसमेत सकिनँ र मैले बारम्बार थुक्नुपरिरह्यो। उसले मलाई के पनि भनेर तर्सायो भने यो एक प्रकारको विष हो र यसले मलाई आधा घण्टाभित्र मार्नेछ। तेस्रो प्रहरीले मेरो हतकडीमा समातेर अर्कै कोठामा लग्यो। त्यतिबेलासम्म म मेरा आँखाहरू अलिअलि खोल्न सक्ने भएकी थिएँ, त्यसैले तिनीहरूले अझै धेरै केमिकल छर्किदिए। त्यसपछि तिनीहरूले मलाई मसितै पक्राउ परेका अरू ब्रदर-सिस्टरहरूसँगै हतकडी लगाइदिए, पङ्खालाई सबैभन्दा तेज गतिमा चलाइदिए र सबै झ्याल र ढोकाहरू खोलिदिए। उसले ठूलो बाक्लो ज्याकेट लगाएको थियो र हिटरले उसका खुट्टाहरू न्यानो पारिरहेको थियो। ऊ बेस्सरी हाँस्यो र भन्यो, “मज्जाले न्यानो भयो होला, होइन त?” त्यो कठ्याङ्ग्रिँदो जाडोको समय थियो र मेरा हातखुट्टाहरू छिट्टै बरफजस्तै चिसो भए। त्यति नै बेला, मैले एउटी सिस्टरले आफ्नो खुट्टा भुइँमा थपथपाउँदै बिस्तारै एउटा गीत गाइरहेको सुनेँ। मैले ध्यान दिएर सुनेँ र तिनले परमेश्‍वरको प्रशंसाको भजन गाइरहेकी छिन् भन्ने थाहा पाएँ। मैले पनि त्यो तालमा आफ्नो खुट्टा थपथपाउन थालेँ। गाउँदै गर्दा, मलाई मेरो शक्ति फर्किरहेको महसुस भयो, र मैले सोचेँ, “यी दियाबलसहरूले मलाई जस्तोसुकै यातना दिए पनि, म जसरी भए पनि अगाडि बढिरहनेछु। मेरो ज्यानै गए पनि, म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो गवाहीमा दृढ रहनेछु!” अचम्मको कुरा, तिनीहरूले हामीलाई दिउँसो तीन बजेतिर छोडिदिए। वास्तवमा, त्यस अवधिमा तिनीहरूले यति धेरै ब्रदर-सिस्टरलाई पक्राउ गरेका रहेछन् कि हिरासत केन्द्र वा जेलमा कुनै ठाउँ नै बाँकी थिएन। जब तिनीहरूले हामीबाट कुनै महत्त्वपूर्ण जानकारी पाउनेछैनन् भन्ने थाहा पाए, तब तिनीहरूले हामीलाई त्यत्तिकै छोडिदिए। तर, मलाई थाहा थियो यो परमेश्‍वरको कृपा हो। उहाँले हामीलाई उम्कने बाटो दिनुभएको थियो। मैले हृदयदेखि परमेश्‍वरलाई धन्यवाद दिएँ।

चिनियाँ कम्युनिस्ट पार्टीले मलाई गिरफ्तार र सतावट गरेको समयमा, मेरो देहले केही दुःख भोग्यो र म अपमानित भएँ, तर मैले चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सारलाई स्पष्ट रूपमा खुट्ट्याउन सकेँ। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरलाई घृणा गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा पिशाच मात्र हो भन्ने कुरा मैले स्पष्ट रूपमा देखेँ। जबसम्म ठूलो रातो अजिङ्गर सत्तामा रहन्छ, तबसम्म शैतान सत्तामा रहन्छ, जसले सबै मानिसहरूलाई क्रूरतापूर्वक सताउँछ र भ्रष्ट तुल्याउँछ। मैले मेरो हृदयभित्रैबाट ठूलो रातो अजिङ्गरलाई अस्वीकार गरेँ र त्यसको विरुद्ध विद्रोह गरेँ, अनि ख्रीष्ट र धार्मिकता सत्तामा आउने दिन उत्सुकतापूर्वक प्रतीक्षा गरेँ। ख्रीष्टको राज्य छिट्टै साकार हुनेछ भन्ने मैले आशा गरेँ, र अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउने मेरो आस्था अझै बढेर गयो!

अघिल्लो:  १३. लापरवाह बन्दा भएको क्षति

अर्को:  १५. स्नेहहरू सिद्धान्तमा आधारित हुनुपर्छ

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger