१५. स्नेहहरू सिद्धान्तमा आधारित हुनुपर्छ
म बच्चै हुँदा मेरा आमाबुबा र शिक्षकहरूले मलाई असल व्यक्ति बन्न, र कृतज्ञताको अभ्यास गर्न सिकाए, जस्तो भनाइ छ, “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ।” यसैले मैले बाल्यकालदेखि नै यही सिद्धान्तका आधारमा आफू चल्ने र समाजमा अरूसँग व्यवहार गर्ने गर्थेँ। विशेष गरी जब अरू मप्रति दयालु हुन्थे, मैले उनीहरूका दयाको दुइ गुणा फिर्ता गर्ने सक्दो कोसिस गर्थेँ। समय बित्दैजाँदा मैले मेरो वरिपरिका अधिकांश मानिसहरूबाट स्वीकृति र प्रशंसा पाएँ, अनि मेरा आफन्त र साथीहरू म दयालु र बफादार छु भनी सोच्थे, त्यसैले उनीहरू मसँग कुराकानी गर्न र घुलमिल हुन चाहन्थे। परमेश्वरमा विश्वास गरेपछि, म मेरा ब्रदर र सिस्टरहरूसँग त्यसरी नै घुलमिल भएँ। मैले सोचेँ, मेरो यस प्रकारको आचरणले मलाई एक विवेकशील असल व्यक्ति बनाएको छ। तापनि, परमेश्वरको वचनको खुलासाद्वारा, मैले परम्परागत संस्कृतिका धारणाहरू सत्य होइनन् भनी बुझेँ, र ती नै हामीले कस्तो व्यवहार गर्नुपर्छ र कसरी आचरण गर्नुपर्छ भन्ने कुराको मापदण्ड होइनन्।
२०१८ सेप्टेम्बरमा, मैले वास्तविक काम गर्न असमर्थ भएकीले मलाई अगुवा पदबाट बर्खास्त गरियो। त्यस बेला, म धेरै नकारात्मक र कमजोर थिएँ, तर साधारण कामकाजको जिम्मेवारीमा रहेकी सिस्टर लेस्लीले, मलाई सहयोग गर्न परमेश्वरको वचनका धेरैवटा खण्डहरू पठाइन्, जसले साँच्चै मेरो हृदय छोयो। मलाई लाग्यो, लेस्लीले मलाई तुच्छ नठानेकी मात्र होइन, मलाई प्रोत्साहित र सहयोग पनि गर्छिन्। त्यसपछि, लेस्लीले मेरो निम्ति सामान्य मामिलाहरू सम्हाल्ने प्रबन्ध गरिदिइन्। उनले मेरो राम्रो ख्याल राखिन्, र हाम्रो कर्तव्य सम्बन्धी मामिलाहरूबारेका मेरा विचार र धारणाहरू माग्ने पहल गर्थिन्। लेस्लीले मलाई त्यत्ति धेरै महत्त्व दिएकी देखेर म उनीप्रति अझै बढी कृतज्ञ भएँ। पछि, जब मण्डलीका अगुवाले मेरा मूल्याङ्कनहरूको जाँच गरिन्, केही ब्रदर र सिस्टरहरूले यस्ता कुराहरू भने जुन गलतफहमीहरू थिए, तर लेस्लीलाई त्यो घटनाको सन्दर्भ थाहा थियो र उनले त्यत्ति बेलै मसँग सम्बन्धित तथ्यहरू स्पष्ट पारिदिइन्। यसका निम्ति, म उनीप्रति अझ धेरै कृतज्ञ बनेँ, किनकि मलाई लाग्यो उनले महत्त्वपूर्ण क्षणमा मेरो पक्षमा बोलेर मेरो छवि बचाइन्। मैले उनलाई शब्दहरूमार्फत् धन्यवाद व्यक्त नगरे पनि, म सधैँ उनलाई धन्यवाद दिने मौका पाउन चाहन्थेँ।
धेरै समय नबित्दै लेस्लीलाई वास्तविक काम नगरेकीमा बर्खास्त गरियो, र म टोली अगुवा चुनिएँ। उनको काम जाँच गरी हेर्दा उनी भुल्ने र बिर्सने बानी भएकी पाएँ। मैले कोमल सोरमा उनलाई सोधेँ, “लेस्ली, तपाईं आफ्नो कर्तव्यमा त्यत्ति लापरवाही किन हुनुहुन्छ?” उनले यो सुनेपछि, आफूले आत्मचिन्तन गर्नु सट्टा, “म बुढी भएँ र स्मरण शक्ति राम्रो छैन” भनिन्। पछि, मेरी सहकर्मीका रूपमा काम गर्ने सिस्टरले लेस्लीले अझै पनि आफ्नो कर्तव्य भुल्ने गरेकी पाइन्, र धेरै पटक उनलाई त्यो कुरा औंल्याइन्, तर उनी अझै पनि परिवर्तन भइनन्। म यसबारे उनीसँग कुराकानी गर्न एउटा राम्रो समय पाउन चाहन्थेँ, तर त्यो बेला मैले सम्झेँ जब म पहिलो पटक बर्खास्त भएकी थिएँ, म नराम्रो मानसिक स्थितिमा थिएँ, र उनले कोमलतापूर्वक मलाई सहायता र समर्थन गरेकी थिइन्। अहिले, उनी भर्खरै बर्खास्त भएकी थिइन्, यसैले यदि मैले अहिले समस्याहरू खुलासा गरेँ भने, के उनले म धेरै क्रूर हुँदैछु भनी सोच्दिनन् र? यसबाहेक, उनी भर्खरै बर्खास्त भएकी थिइन् र खराब मनस्थितिमा थिइन्, यसैले उनको बिर्सने बानी क्षम्य थियो। मैले उनलाई प्रेमपूर्वक अझ धेरै सहायता गर्नुपर्छ र उनलाई परिवर्तन हुने समय दिनुपर्छ। त्यसपछि, जब लेस्लीले आफ्नो कर्तव्यमा कुनै कुरा ठिकसित गर्दिनथिन्, मेरी सहकर्मी र म मिलेर उनको निम्ति त्यो गरिदिन्थ्यौं। उनले केही भुल्छिन् भन्ने डरले म बारम्बार उनलाई स्मरण गराउँथेँ, र घरीघरी उनीसँग सङ्गति गर्थेँ र उनको अवस्थाका बारेमा सोध्थेँ। तर उनको मनस्थिति सुध्रिएन। कामसम्बन्धी थुप्रै छलफलहरूमा, उनले दिने सुझावहरू सिद्धान्तअनुरूप हुँदैनथे, र अधिकाँश ब्रदर-सिस्टरहरूले स्वीकार गर्दैनथे, तर अझै पनि उनले आफ्नो विचार सही छ भनी जोड दिन्थिन् र त्यो स्वीकार गर्न अरूलाई कर लाउँथिन्, जसले गर्दा छलफल अगि बढाउन लगभग असम्भव हुन्थ्यो। म उनलाई धेरै सम्झाउन चाहन्थेँ, तर त्यतिबेला मैले उनलाई भर्खरै बर्खास्त गरिएको, र उनी कति दु:खी भएकी होलिन् भन्ने सोचेँ। यदि मैले अहिले उनका समस्याहरू खुलासा गरेँ भने, के त्यो उनको घाउमा नून दलेको जस्तो हुँदैन र? यसैले उनले बिस्तारै आफैँ महसुस गर्लिन् भन्ने आशा गर्दै मैले त्यो कुरा छोडिदिएँ। मैले उनलाई केहीपनि सम्झाइनँ, अनि कामसम्बन्धी छलफलहरूमा उनी कम संलग्न होउन् भन्ने सुनिश्चित गर्ने कोसिस गरेँ। तर उनले आत्मचिन्तन गर्नुको सट्टा, मैले उनका विचारहरू सुनिनँ भन्दै ममाथि अप्रत्यक्ष आरोप लगाइन्। उनलाई आफ्नै बारेमा कुनै ज्ञान छैन भनी बुझेर, मैले आँट गरेर उनलाई खुलस्त भनेँ, “लेस्ली, तपाईं धेरै अहङ्कारी र स्वधर्मी हुनुहुन्छ। तपाईंले साँच्चै आत्मचिन्तन गर्नुपर्छ।” त्यस बेला, मैले उनको अनुहार थोरै कठोर भएको देखेँ, र उनको सोर मधुरो भयो। मलाई अचानक नराम्रो लाग्यो। मैले उनीप्रति यस्तो व्यवहार गर्नु अलि बढी नै भयो कि? पहिले उनले मलाई गरेको त्यत्तिको सहायताका बाबजुद, के म असंवेदनशील बनिरहेकी हुँ त? मैले आफैलाई दोष दिन थालेँ।
केही दिनपछि सुपरभाइजरले मेरी सहकर्मी र मैले प्रायः लेस्लीको काम गरेको देखिन्, यसैले उनले हामीलाई लेस्ली आफ्नो कर्तव्यपालनमा कस्ती छिन् भनेर सोधिन्। त्यो प्रश्नले मलाई चिन्तित बनायो। मैले लेस्लीको परिस्थितिबारे इमानदारीपूर्वक जवाफ दिएमा उनी बर्खास्त हुन सक्थिन्। मैले साधारण मामिलाहरू मात्र सम्हाल्न सक्थेँ किनकि उनले त्यस्तै गरी मिलाएकी थिइन्। उनले प्रायः मलाई राम्रो व्यवहार गर्थिन्, र कठिन समयहरूमा उनले मलाई सहायता गरेकी थिइन्। यदि म टोली अगुवा हुँदा उनी बर्खास्त भएकी भए, के उनी मसित रिसाउँथिन् अनि म विवेकहीन र निर्दयी छु भन्ने थिइन् होला? उनको काम कायम राख्न, मैले उनका व्यवहारको एक यथार्थ विवरण दिएँ, र अरू कुराहरू पनि थपेर भनेँ, “हालैमा बर्खास्त भएपछि उनको बेचैन मनस्थितिका कारण यस्ता व्यवहारहरू भएका हुन्। उनी सचेत भएर परिवर्तन हुने कोसिस गरिरहेकी छिन्।” पछि, उनलाई बर्खास्त हुनबाट बचाउन, धेरैवटा भेलाहरूमा उनलाई सहायता गर्न मैले जानाजानी उनको अवस्थाबारे सङ्गति गरेँ। तर उनी सधैँझैँ अलमल्ल परिरहिन्, र उनको कर्तव्यमा निरन्तर समस्याहरू थिए। एउटा यस्तो समय पनि आयो जब उनले कसैसँग सल्लाह नगरी अनावश्यक चीजहरू किनिन्, अनि मूल्य सामान्यभन्दा धेरै उच्च थियो। त्यस बेला, म निकै रिसाएँ र उनलाई काँटछाँट गर्न चाहेँ, तर हाम्रो सम्बन्ध बचाउन मैले आफ्नो रिस थामेर राखेँ। मैले उनलाई फेरि त्यसो नगर्न, र आफ्नो कर्तव्यमा अलि बढी होसियार हुन सम्झाएँ। उनी गम्भिरताकासाथ सहमत भइन्, यसैले मैले यस विषयमा थप केही भनिनँ। त्यस अवधिमा, ब्रदर र सिस्टरहरूले मलाई बारम्बार लिस्लीको काममा रहेका समस्याहरू बताइरहेका थिए। म साँच्चै उनलाई हप्काउन र काँटछाँट गर्न चाहन्थेँ, तर मैले उनको सामना गर्दा भने शब्दै निस्केनन्। कतिपल्ट ती मेरो जिब्राको टुप्पैमा आएतापनि, मैले तिनलाई निलिदिएँ। पछि, सुपरभाइजर लेस्लीले आफ्नो कर्तव्यपालन कसरी गरिरहेकी छिन् भनी पत्ता लाउन आइन्। उनी र हाम्रो टोलीका अरू ब्रदर र सिस्टरहरूले एकसाथ सिद्धान्तहरूका आधारमा लेस्लीको मूल्याङ्कन गरे, र लेस्ली सामान्य मामिलाहरू सम्हाल्न अयोग्य छिन् भन्ने यकिन गरे, अनि उनलाई चाँडै बर्खास्त गर्न मलाई आग्रह गरे। तर लेस्ली भर्खरै टोली अगुवाबाट बर्खास्त भएकी, र अहिले उनलाई फेरि जिम्मेवारी तोक्न लागिएको बारे विचार गर्दा-यो एउटा ठूलो झट्का हुनेछ! के उनले त्यो सहन सक्लिन्? त्यति बेला, उनले मलाई सहयोग गरेका सबै क्षणहरूको सम्झना मेरो मनमा झलक्क आयो। धेरै दिनसम्म, जब-जब मैले उनलाई बर्खास्त गर्ने कुरा सोच्थेँ, म दबिएको र दयनीय महसुस गर्थेँ। धेरै रात मैले सुत्न नसकेर कोल्टे मात्रै फ़ेरिरहेँ। म आफैँ बर्खास्त भए झैँ नरमाइलो महसुस भयो। मैले नसोचिरहनै सकिनँ, “उनले पहिले मलाई सहायता गरिन्, तर अहिले मआफैँले उनलाई बर्खास्त गर्नु र उनको व्यवहारको खुलासा गर्नु परेको छ। के उनले म कृतघ्न छु भनी सोच्लिन् र त्यसका निम्ति मसँग रिसाउलिन्?” दोषी महसुस गर्नु नपरोस् भनेर, म सुपरभाइजरले नै लेस्लीसँग सङ्गति गरून् भन्ने चाहन्थेँ, त्यति बेला म धेरै नबोली पछिल्तिर उभिएँ या त्यहाँ जाँदै नजान बहाना समेत बनाएँ। तर यस प्रकारको अभिप्राय अति नै घृणित र लाजमर्दो हो भन्ने मलाई थाहा थियो, यसैले मैले दुविधामा फसेको महसुस गरेँ। दुःखमा मैले परमेश्वरको प्रार्थना गरेँ, “हे परमेश्वर, लेस्लीलाई बर्खास्त गर्नु सही हो भन्ने मलाई थाहा छ, तर मेरा निम्ति यो यति कठिन किन भएको? हे परमेश्वर, मलाई के मा समस्या हो? कृपया, म आफैलाई जान्न मलाई मार्गदर्शन गर्नुहोस्।”
मैले प्रार्थना गरेपछि, मलाई किन अरू मानिसलाई बर्खास्त गर्न कठिन लाग्दैन, तर लेस्लीलाई बर्खास्त गर्ने निर्णय लिन किन सक्दिनँ भनी सोचेँ। मैले खोज्दै जाँदा परमेश्वरको यो वचन पढेँ: “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्नेहको अनुभूति गर्छन्, र तिनीहरू स्नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। … यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “भावनाहरू विशेषतः कस्ता हुन्छन्? अवश्यै सकारात्मक हुँदैनन्। यो भौतिक सम्बन्ध र देहका रुचिहरू सन्तुष्ट पार्ने कार्यमा केन्द्रित हुनु हो। पक्षपात गर्नु, अरू मानिसका कमीकमजोरी बचाउ गर्नु, आसक्तिपन देखाउनु, पुलपुल्याउनु, र लिप्त हुनु, यी सबै नै भावनाहरूमा पर्छन्। कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, तिनीहरू आफूमाथि जेसुकै आइपरे पनि त्यसप्रति आफ्नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई पहिलो स्थानमा राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्वरका वचन पढेपछि मात्र मैले बुझेँ लेस्लीलाई बर्खास्त गर्दा मलाई यति धेरै पीडा र बेचैनी हुनुको कारण उनीप्रतिका मेरा भावनाहरू धेरै बलियो रहनु र सधैँ तीद्वारा बाँधिएको महसुस हुनु रहेछ। म सोच्थेँ, लेस्लीले पहिले मलाई सहायता गरेकी र मप्रति दयालु भएकीले, म उनीप्रति कृतज्ञ हुनुपर्छ। मैले उनलाई आफ्नो कर्तव्यमा झारा टारेकी, काममा ढिलाइ गरेकी, र धेरैचोटि सङ्गति गर्दा पनि परिवर्तन हुन अस्वीकार गरेकी देख्दा, मैले उनलाई काँटछाँट गर्नुपर्थ्यो भन्ने मलाई स्पष्ट थाहा थियो, तर त्यसले उनको स्वाभिमानमा चोट लाग्ला र मसँग अप्रसन्न होलिन् भनी डराएँ, यसैले मैले यसबारे उनीसित कोमलतासाथ कुरा गरेँ र त्यत्ति मै छोडिदिएँ। उनले गलत विचारहरू राख्थिन्, तर मानिसहरूले उनको कुरा सुनून् र पालन गरून् भनी जोड दिन्थिन्, यसले कामसम्बन्धी छलफल पटक पटक रोक्थ्यो, र बाधा उत्पन्न गर्थ्यो। त्यो अवधिभर, मैले उनलाई खुलासा वा काँटछाँट गर्ने साहस गर्न सकिनँ। जब सुपरभाइजर आएर लेस्लीले कर्तव्य निर्वाहमा कस्तो गरिरहेकी छिन् भनेर सोधिन्, तब मलाई लेस्ली बर्खास्त होलिन् भन्ने चिन्ता लाग्यो, त्यसैले सुपरभाइजरमा द्विविधा उत्पन्न होस् र सही मूल्याङ्कन गर्न नसकुन् भनेर, मैले झुट बोल्दै लेस्ली परिवर्तन हुने कोसिस गर्दैछिन् भनेँ। मैले लेस्लीलाई कर्तव्यमा सिद्धान्तनिष्ठ नभएकी र मण्डलीको पैसा बर्बाद गरेकी देख्दा, उनलाई हप्काइनँ, बरु आँखा चिम्लेर उनको बचाउ गरेँ र उनलाई सहयोग गरेँ। अब, मैले उनलाई बर्खास्त गर्नु र उनको व्यवहारको खुलासा गर्नु परेको थियो, तर म त्यो काम सुपरभाइजरलाई सुम्पन चाहन्थेँ। मेरा भावनाहरू अति नै प्रबल थिए, र मसँग सत्यता अभ्यासको कुनै गवाही थिएन। लेस्लीलाई जोगाउन, र उनी मसँग नरिसाऊन् अनि मलाई कृतघ्न नभनून् भनेर, मैले मण्डलीको कामको पर्वाह नगरी उनको बचाउ गरिरहेँ र उनलाई खुशी पारिरहेँ। म आफ्नै भावनाहरू अनुसार जिएँ, उनको देहको ख्याल गरेँ, र उनीसँगको आफ्नो व्यक्तिगत सम्बन्धको बचाउ गरेँ। मैले त स्नेह र बफादारीसाथ काम गरेर प्रेमपूर्वक उनलाई सहायता गरिरहेकी छु भन्ने पनि सोचेँ, तर वास्तवमा म केवल सांसारिक लेनदेनका सिद्धान्तमा लिप्त थिएँ। उनले मलाई सकारात्मक रूपमा हेरून् भन्ने म चाहन्थेँ, चाहे त्यसले मण्डलीको हितलाई हानि नै किन पुर्याओस्। मैले गरेको सबै कुरा मेरै निम्ति थियो। म अति दुष्ट र घृणित थिएँ! मलाई गहिरो पछुतो भयो। म भावनामा बहेर कार्य गर्दै थिएँ, जसले मण्डलीको कामलाई हानि पुऱ्यायो र परमेश्वरले मलाई घृणा गर्ने बनायो। यदि मैले भावनामा बहेर कार्य गरिरहेँ र सत्यता अभ्यास गरिनँ भने एक दिन म हटाइनेथिएँ।
त्यसपछि, मैले विचार गरेँ “मैले भावनामा बहेर सत्यता सिद्धान्तहरू विरुद्ध हुनेगरी यति धेरै कामकुरा किन गरेँ?” मेरो खोजमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “अभिप्राय स्पष्ट रूपमा मानिसको स्थितिको अंश, अनि सबैभन्दा बढी पाइने कुरा हो; धेरैजसो मामिलाहरूमा, मानिसका आफ्नै सोच र अभिप्राय हुन्छन्। यस्ता सोच र अभिप्राय आउँदा, मानिसहरू तिनलाई जायज ठान्छन्, तर प्रायः जसो ती सोच र अभिप्राय तिनीहरूकै खातिर, तिनीहरूको आफ्नै घमण्ड र हितका लागि वा त केही ढाकछोप गर्न, वा कुनै तरिकाले आफैलाई सन्तुष्ट पार्नका लागि हुन्छन्। यस्तो बेलामा, तैँले आफ्नो अभिप्राय कसरी आयो, त्यो किन उत्पन्न भयो भनेर जाँच्नुपर्छ। उदाहरणका लागि, परमेश्वरको घरले तँलाई मण्डली शुद्ध पार्ने काम अह्रायो, अनि त्यहाँ एउटा यस्तो व्यक्ति छ जो सधैँ आफ्नो कर्तव्यमा झाराटरूवा हुँदै आएको छ, जो सधैँ काम छल्ने उपाय खोज्छ। सिद्धान्तअनुसार, यस व्यक्तिलाई पखालिनुपर्छ, तर तेरो ऊसँग राम्रो सम्बन्ध छ। त्यसोभए तँभित्र कस्ता सोच र अभिप्राय पैदा हुनेछन्? तैँले कसरी अभ्यास गर्नेछस्? (आफ्नै प्राथमिकताहरूअनुसार कार्य गर्नेछु।) अनि यी प्राथमिकताहरू कसरी बन्छन्? किनकि यो व्यक्तिले तँसँग असल व्यवहार गर्छ वा उसले तेरा लागि केही गरिदिएको छ, उसले तँमाथि राम्रो छाप छोडेको छ, र त्यसैले यसबेला तँ उसलाई बचाउन, उसको पक्ष लिन चाहन्छस्। के यो भावनाहरूको असर होइन र? तँ ऊप्रति भावुक हुन्छस्, अनि त्यसैले ‘उच्च अधिकारीहरूसँग नीति हुन्छन् भने स्थानीयहरूसँग तिनको जवाफी उपाय हुन्छन्’ भन्ने विचार अपनाउँछस्। तँ दुईजिब्रे भइरहेको छस्। एकातिर, तँ उसलाई भन्छस्, ‘तिमीले कार्य गर्दा अलि बढी प्रयास लगाउनुपर्छ। झाराटरूवा हुन बन्द गर, तिमीले अलिकति कठिनाइ त भोग्नैपर्छ; यो हाम्रो कर्तव्य हो।’ अर्कोतिर, तँ माथिकालाई उत्तर दिँदै भन्छस्, ‘ऊ सुध्रिएको छ, अहिले ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा झन् प्रभावकारी भएको छ।’ तर खासमा तँ आफ्नो मनमा यस्तो सोचिरहेको हुन्छस्, ‘यो मैले उसलाई सुधारेकोले गर्दा हो। मैले नसुधारेको भए, ऊ अझै पनि पहिलेजस्तै हुने थियो।’ तेरो मनमा तँ सधैँ यस्तो सोचिरहन्छस्, ‘उसले मलाई राम्रो व्यवहार गर्छ, उसलाई हटाउन मिल्दैन!’ तेरो अभिप्रायमा यस्ता कुराहरू हुनु भनेको कस्तो स्थिति हो? यो भनेको व्यक्तिगत भावनात्मक सम्बन्धहरूलाई बचाएर मण्डलीको कामलाई हानि पुऱ्याउनु हो। के यसरी कार्य गर्नु सत्यता सिद्धान्त अनुरूप हुन्छ? अनि के तैँले यसो गर्दा त्यो समर्पण गरेको हुन्छ? (हुँदैन।) त्यसमा कुनै समर्पण हुँदैन; तेरो हृदयमा प्रतिरोध छ। तैँले भोग्ने कुराहरू र तैँले गर्नुपर्ने काममा, तेरा आफ्नै व्यक्तिगत मूल्याङ्कनहरू हुन्छन्, अनि त्यसमा भावनात्मक कारकहरू पनि मिसिएका हुन्छन्। तैँले भावनाको आधारमा कामकुरा गरिरहेको छस्, अनि तैपनि तैँले निष्पक्ष भएर कार्य गरिरहेको छस्, मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिइरहेको छस्, अनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग गरिरहेको छस् भन्ने विश्वास गर्छस्; तसर्थ तँ परमेश्वरले भनेजस्तो होइन आफूले चाहेजस्तो गर्छस्। यसरी काम गर्दा यसले कामको गुणस्तर घटाउँछ, प्रभावकारिता घटाउँछ, अनि मण्डलीको कामलाई हानि पुऱ्याउँछ—यो सबै आफ्नो भावनाका अनुसार कार्य गरेको नतिजा हो। यदि तैँले आत्म-जाँच गर्दैनस् भने, के तैँले समस्या पहिचान गर्न सक्नेछस् र? कहिल्यै सक्नेछैनस्। तँलाई यसरी कार्य गर्नु गलत हो, यो समर्पण नहुनु हो भनेर थाहा होला तर तँ यसबारे सोचेर आफूलाई यसो भन्छस्, ‘मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नुपर्छ, अनि तिनीहरू सहयोग पाएर सुध्रिएपछि, तिनीहरूलाई हटाउनै पर्नेछैन। के परमेश्वरले मानिसलाई पश्चाताप गर्ने मौका दिनुहुन्न र? परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ, त्यसैले मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नैपर्छ, र मैले परमेश्वरले भनेझैँ गर्नैपर्छ।’ यी कुराहरू सोचेपछि, तँ आफ्नै शैलीमा काम गर्छस्। पछि, तेरो हृदय ढुक्क हुन्छ; तँलाई आफूले सत्यता अभ्यास गरिरहेको झैँ लाग्छ। यो प्रक्रिया दौरान, के तैँले सत्यताअनुसार अभ्यास गरिस् कि आफ्नै प्राथमिकता र अभिप्रायअनुसार कार्य गरिस्? तेरा कार्यहरू पूर्ण रूपमा तेरा आफ्नै प्राथमिकता र अभिप्रायअनुसार थिए। यो पूरै प्रक्रिया दौरान, तैँले कुराहरूलाई मिलाउन आफ्नै तथाकथित दया र प्रेम, भावना, अनि संसारसँग व्यवहार गर्ने दर्शनहरू प्रयोग गरिस्, अनि तटस्थ रहने प्रयास गरिस्। तैँले यस व्यक्तिलाई प्रेमका साथ सहयोग गरेको जस्तो देखिन्थ्यो, तर खासमा तँ आफ्नो हृदयमा भावनाहरूद्वारा बाँधिएको थिइस्—अनि माथिकाहरूलाई थाहा हुन्छ भन्ने डरले तैँले त्यो व्यक्ति र माथिकाहरू, दुवैलाई सम्झौताले फकाउने प्रयास गरिस् ताकि कोही नचिढिओस् र काम होस्—गैरविश्वासीहरूले तटस्थ रहन प्रयोग गर्ने तरिका जस्तै हो यो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति)। परमेश्वरका वचन पढेपछि मात्र मैले लेस्लीमा समस्याहरू छन् भन्ने थाहा भएतापनि, मैले किन उनको खुलासा गरिनँ, र अझै पनि उनको बचाउ गरेँ भन्ने कुरा बुझेँ। यो उनले मलाई सकारात्मक दृष्टिले हेरून् भन्ने मेरो चाहनाका कारण थियो। वास्तवमा म “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने धारणाद्वारा नियन्त्रित थिएँ। मैले यस धारणालाई आफूले गर्ने आचरण तथा समाजमा अरूसँग गर्ने व्यवहारको सिद्धान्तका रूपमा प्रयोग गरेँ। म के ठान्थेँ भने मानिसहरू अरूप्रति दयालु र बफादार हुनुपर्छ, यसैले यदि उनीहरू मप्रति दयालु हुन्छन् भने, मैले त्यो दया दुई गुणा फर्काउनु पर्छ। नत्र, म कृतघ्न हुनेछु, अनि अरूद्वारा निन्दित र तिरस्कृत हुनेछु। यसैले, जब मैले लेस्लीले मेरो सहायता र ख्याल गरेकी, साथै मेरो पक्षमा बोलेकी देखेँ, मलाई़़ मैले उनको गुण तिर्नुपर्छ भन्ने लाग्यो। तर जब मैले लेस्ली निरन्तर उनको झारा टारेको देख्थेँ, तब म उनलाई खुलासा र काँटछाँट गर्नुको सट्टा सिद्धान्तको उलङ्घन गर्दै मण्डलीको कामलाई हानि पुऱ्याउन रुचाउँथेँ। अझ गम्भीर कुरा, मैले उनलाई सहायता गर्न आँखा चिम्लेर प्रेम र सङ्गति दिइरहेँ, र उनले आफ्नो कर्तव्यमा झारा टारेको र मण्डलीको काममा बाधा पुऱ्याएको कुरा लुकाउन मैले सुपरभाइजरलाई झुटो बोल्दै धोका दिएँ। मैले यो केवल मानिसहरूले म एक असल व्यक्ति हुँ, जो अरूप्रति कृतज्ञ र दयालु छु भन्ने सोचून् भनी गरेकी थिएँ। परमेश्वरका वचनले खुलासा गरेका कुराबाट, मैले बल्ल यी धारणा र दृष्टिकोणहरू सबै मानिसहरूलाई भ्रमित र भ्रष्ट बनाउनका निम्ति हुन् भनी बुझेँ। मैले सही या गलत के हो बुझ्दै नबुझी यिनै कुराअनुसार जिएँ साथै विना सिद्धान्त कार्य गरेँ अनि त्यस्तै आचरण गरेँ। बाहिरबाट हेर्दा, म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर वास्तवमा, म परमेश्वरप्रति समर्पणता नदेखाई आफ्नै इच्छामा कामकुराहरू गर्थेँ। मैले मण्डलीको काममा बाधा समेत पुऱ्याएँ र अनजानमा परमेश्वरको विरोध गरेँ। यदि हामी परमेश्वरमा विश्वास गर्छौं, तैपनि सत्यता अभ्यास गर्दैनौँ र अझै पनि यिनै कुराहरूअनुसार जिउँछौँ भने, हाम्रो बाहिरी व्यवहार जत्तिनै राम्रो भए पनि र हामी मानिसहरूसँग जति नै राम्ररी मिलेर बसे पनि, परमेश्वरको नजरमा हामी अझै पनि उहाँका विरोधी हौँ। तब मात्र मैले यी अनर्थक र घृणित शैतानी दृष्टिकोणहरूलाई केही बुझ्न सकेँ। मैले यी सबै कुरा शैतानबाट आएका र सत्यताको विपरीत भएका देखेँ, ती सबै मानवीय स्वार्थ र अभिलाषाहरूले दूषित छन्, अनि ती दुष्ट र कुरूप छन्। ती मैले गर्ने काम र मेरो आचरणको मापदण्ड हुनुहुँदैन।
केही दिनपछि, मैले परमेश्वरका वचनको अर्को खण्ड देखेँ र यस विषयको प्रकृतिका बारेमा केही समझ प्राप्त गरेँ। परमेश्वरका वचनहरूले भन्छन्: “यो परमेश्वरको वचन र आफ्नो कर्तव्य पालन गर्न नसक्नु मात्रै होइन, यो त शैतानको युक्ति र सांसारिक व्यवहारको दर्शनलाई सत्यताका रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? तँ परमेश्वरमा समर्पित हुने व्यक्ति होइनस्, झन् परमेश्वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ हदैको बदमास होस्। परमेश्वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताका रूपमा अभ्यास गर्नु सत्यता र परमेश्वरलाई धोका दिनु हो! तँ परमेश्वरका घरमा काम गर्छस्, तैपनि तेरो कामका सिद्धान्तहरू शैतानी तर्क र सांसारिक व्यवहारको दर्शन हुन् भने, तँ कस्तो व्यक्ति होस्? यो त परमेश्वरलाई विश्वासघात गर्ने र परमेश्वरलाई अत्यन्तै लज्जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? (हो।) तैँले परमेश्वरको इच्छा नपछ्याउनेबाहेक, शैतानी भनाइहरूमध्ये एउटा र सांसारिक व्यवहारका दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार बन्छस् र शैतानलाई मण्डलीभित्र त्यसका क्रियाकलाप गर्न सघाउँछस्। यस समस्याको सार एकदमै गम्भीर हुन्छ, होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। परमेश्वरका वचनले मेरो हृदय छेडिरहेको जस्तो लाग्यो। “हदैको बदमास,” “सत्यतालाई धोका दिने,” “परमेश्वरलाई अत्यन्तै लज्जित पार्ने” र “शैतानको मतियार” भन्ने शब्दहरूले धारिलो तरबारले झैँ मेरो हृदय छेडे। म परम्परागत संस्कृतिका यी धारणाहरू अनुरूप जिउँथेँ। परमेश्वरको नजरमा, यो सत्यता अभ्यास गर्नु र मण्डलीको हितको रक्षा गर्नुको सट्टा भावनामा आधारित भएर काम गर्ने एउटा क्षणिक उदाहरण मात्र थिएन, यो परमेश्वर र आफ्नो कर्तव्यप्रति अबफादार हुनु अनि सत्यता इन्कार गर्नु, परमेश्वरलाई लज्जित पार्नु र धोका दिनु थियो। यसको प्रकृति धेरै गम्भीर थियो! यो थाहा पाएर मैले असाधारण दुःख र डर महसुस गरेँ। परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा शैतानी विचारहरूमा भर पर्नु एउटा अति गम्भीर समस्या हो भनी मलाई थाहा थिएन। आफैलाई शान्त पार्न मलाई धेरै समय लाग्यो।
पछि, मैले परमेश्वरको वचनका अरू दुईवटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सारा मानवजातिभरि सत्यताले प्रभुत्व जमाएको एउटा जाति पनि छैन। कुनै जातिले जति नै उच्च, प्राचीन, वा रहस्यमय विचार वा परम्परागत संस्कृति पैदा गरेको भए पनि, वा शिक्षा प्राप्त गरेको भए पनि, वा त्यसमा ज्ञान भए पनि, एउटा कुरा निश्चित छ: यी कुनै पनि कुराहरू सत्यता होइनन्, वा तिनको सत्यतासँग कुनै सम्बन्ध छैन। कतिपय मानिस भन्छन्, ‘परम्पारगत संस्कृतिमा भएका कतिपय नैतिक शिक्षा, वा सही र गलत, ठिक र बेठिक, कालो र सेतो मापन गर्ने धारणाहरू सत्यताको निकै नजिक रहेजस्तो देखिन्छन्।’ ती कुराहरू सत्यताको नजिक रहेजस्तो लाग्ने तथ्यले ती अर्थमा नजिक छन् भन्ने सङ्केत गर्दैन। भ्रष्ट मानवजातिका भनाइहरू शैतानबाट आउँछन्, ती कहिल्यै सत्यता हुँदैनन्, जबकि परमेश्वरका वचनहरू मात्र सत्यता हुन्। त्यसैले, मानवजातिका शब्दहरू परमेश्वरका वचनसँग जति नै नजिक भएजस्तो देखिए पनि, ती सत्यता होइनन् र सत्यता बन्न सक्दैनन्; यसमा कुनै शङ्का छैन। ती शब्दचयन र अभिव्यक्तिमा मात्र नजिक हुन्छन्, तर वास्तवमा, यी परम्परागत धारणाहरू परमेश्वरको वचनका सत्यताहरूसँग मेल खाँदैनन्। यी शब्दहरूको शाब्दिक अर्थमा केही निकटता हुन सक्ने भए पनि, तिनीहरूको स्रोत एउटै हुँदैन। परमेश्वरका वचनहरू सृष्टिकर्ताबाट आउँछन्, जबकि परम्परागत संस्कृतिका शब्द, विचार र दृष्टिकोणहरू शैतान र पिशाचहरूबाट आउँछन्। कतिपय मानिस भन्छन्, ‘परम्परागत संस्कृतिका विचार, दृष्टिकोण, र प्रसिद्ध भनाइहरूलाई सर्वत्र सकारात्मक कुराका रूपमा स्विकारिन्छ; ती झूट र भ्रम भए पनि, मानिसहरूले सयौँ—हजारौँ—वर्षसम्म कायम राखेमा, के ती सत्यता बन्न सक्छन्?’ कदापि सक्दैनन्। यस्तो दृष्टिकोण बाँदरहरू विकसित भएर मानिस बनेका हुन् भन्ने भनाइ जत्तिकै हास्यास्पद छ। परम्परागत संस्कृति कहिल्यै सत्यता बन्न सक्नेछैन। संस्कृति संस्कृति नै हो, र त्यो जति नै उच्च भए पनि, त्यो त भ्रष्ट मानवजातिले उत्पन्न गरेको तुलनात्मक रूपले सकारात्मक कुरा मात्र हो। तर सकारात्मक हुनु सत्यता हुनुबराबर होइन, सकारात्मक हुँदैमा त्यो मापदण्ड बन्दैन; त्यो केवल तुलनात्मक रूपले सकारात्मक कुरा हो, त्योभन्दा बढी केही होइन। त्यसोभए, के अब हामीलाई यो ‘सकारात्मकता’ पछाडि परम्परागत संस्कृतिले मानवजातिमाथि पार्ने प्रभाव असल छ कि खराब छ भन्ने कुरा स्पष्ट छ? निस्सन्देह, त्यसले मानवजातिमाथि खराब र नकारात्मक प्रभाव पार्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। “मानवजातिलाई परम्परागत संस्कृतिका यी पक्षहरूद्वारा सिकाइएको छ, भावशून्य र भ्रष्ट पारिएको छ। अनि अन्तिम परिणाम के हुन्छ? परम्परागत संस्कृतिले मानवजातिलाई बहकाउँछ, सीमित पार्छ, र बन्धनमा राख्छ, अनि एक प्रकारको मानसिकता र सिद्धान्त स्वाभाविक रूपमा उत्पन्न हुन्छ, जसलाई मानवजातिले समर्थन गर्छ र फैलाउँछ, व्यापक रूपमा प्रसार गर्छ र मानिसहरूलाई स्विकार्न लगाउँछ। अन्त्यमा, त्यसले सबैको हृदय कब्जा गर्छ, सबैलाई यस्तो मानसिकता र विचारको समर्थन गर्न लगाउँछ, र सबै जना यस विचारद्वारा भ्रष्ट पारिन्छन्। मानिसहरू निश्चित हदसम्म भ्रष्ट पारिँदा, तिनीहरूमा सही वा गलतबारे कुनै धारणा रहँदैन; तिनीहरू त्यसउप्रान्त न्याय के हो र दुष्टता के हो भनेर खुट्ट्याउन चाहँदैनन्, न त तिनीहरू अबदेखि सकारात्मक कुरा के हुन् र नकारात्मक कुरा के हुन् भनेर खुट्ट्याउन नै इच्छुक हुन्छन्। तिनीहरू आफू वास्तवमा मानव हो कि होइन भनेर अस्पष्ट हुने दिनसमेत आउँछ, अनि आफू पुरुष हो कि स्त्री हो भनेर थाहा नपाउने धेरै भ्रमित मानिस हुन्छन्। यस्तो मानवजाति विनाशबाट कति टाढा छ? … यसले शैतानका दर्शन, नियम, विचार, र तथाकथित मानसिकताहरूले सारा मानवजातिलाई बहकाएको छ र भ्रष्ट पारेको छ भनेर देखाउँछ। तिनीहरू कुन हदसम्म बहकाइएका र भ्रष्ट पारिएका छन्? सबै मानिसले शैतानका भ्रम र दुष्ट भनाइहरूलाई सत्यताका रूपमा स्विकारेका छन्; तिनीहरू सबै शैतानको आराधना गर्छन् र शैतानलाई पछ्याउँछन्। तिनीहरू परमेश्वर अर्थात् सृष्टिकर्ताका वचनहरू बुझ्दैनन्। सृष्टिकर्ताले जे भन्नुभए पनि, उहाँले जति भन्नुभए पनि, अनि उहाँका वचनहरू जति नै प्रस्ट र व्यावहारिक भए पनि, कसैले बुझ्दैन; कसैले बोध गर्दैन। तिनीहरू सबै भावशून्य र मन्द बुद्धिका छन्, अनि तिनीहरूको सोचाइ र दिमाग छ्यासमिस भएका छन्। ती कसरी छ्यासमिस भए? तिनला छ्यासमिस पार्ने शैतान हो। शैतानले मानिसहरूलाई पूर्ण रूपमा भ्रष्ट पारेको छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। विगतमा, मलाई सांसारिक व्यवहारहरूका निम्ति शैतानी दर्शनहरू मात्र थाहा थियो, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” र “समस्त ब्रह्माण्डमा, सर्वोच्च शासन गर्ने म मात्र हुँ,” यी सत्यता विपरीत थिए, र यी साधारण मानवमा हुनुपर्ने कुराहरू थिएनन्। तर परम्परागत संस्कृतिका भनाइहरू विवेक र नैतिकता अनुरूप भए जस्तो देखिन्छन्, जस्तै, “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ”, “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ”, “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” त्यस्तै अरू सभ्य र महान् लाग्ने परम्परागत नीतिवचनहरू, मैले तिनीहरूलाई चिन्न सकिनँ। यी कुराहरू पुस्तौँपुस्तादेखि हस्तान्तरण भएका हुन्, र असल मानिसहरूले यी धारणाहरू पछ्याउनु पर्छ भन्ने म सोच्थेँ। यी परम्परागत विचारहरूका निम्ति मैले विवेक प्रयोग गरिनँ, र ती सबैलाई पछ्याउनु अनि अभ्यास गर्नुपर्ने सकारात्मक कुराको रूपमा लिएँ। यी कुराहरूको विरुद्धमा जाँदा मैले दोषी महसुस गरेँ, र मानिसहरूले मेरो निन्दा र तिरस्कार गर्नेछन् भनी म डराएँ। अब, परमेश्वरका वचनले गरेको खुलासाद्वारा, अन्त्यमा मैले बुझेँ, यी धारणा र दृष्टिकोणहरूको वशमा परेर मानिसहरू एकअर्कासित बातचित गर्दा सिद्धान्तहरू होइन, भावनाहरूको बारेमा मात्र सोच्छन्, र असल र खराब वा सही र गलत छुट्ट्याउन सक्दैनन्। जबसम्म अरू मप्रति दयालु हुन्थे, तबसम्म उनीहरू खराब वा दुष्ट भए पनि, र उनीहरूलाई सघाउनु दुष्टता गर्नका लागि सघाउनु जस्तै भएपनि, मैले उनीहरूको गुन तिर्नु र उनीहरूलाई सहायता गर्नुपर्छ। बाहिरबाट हेर्दा, म विवेक भए झैँ देखिन्थेँ, तर वास्तवमा म भ्रमित र मूर्ख थिएँ, र मेरा आफ्नै अभिप्राय र उद्देश्यहरू थिए। मैले यो मेरो आफ्नै छवि र प्रतिष्ठा बचाउनका निम्ति गरेकी थिएँ; यो पूर्ण रूपमा मेरो आफ्नै हितका निम्ति थियो। म धेरै स्वार्थी, घृणास्पद र पाखण्डी थिएँ। म साँच्चै एक असल व्यक्ति थिइनँ। यदि म यी शैतानी दर्शन र सिद्धान्तहरूमा अडिरहन्थेँ भने, त्यसले मलाई अझ बढी धूर्त, छली, स्वार्थी र दुष्ट मात्र बनाउने थियो। मैले यी महान् र न्यायसङ्गत देखिने परम्परागत धारणा र भनाइहरू देख्दा राम्रा लाग्ने झुटहरू मात्र हुन् भन्ने बुझेँ। ती महान् र मानवीय नैतिकता र नैतिक सिद्धान्तहरू अनुरूप जस्ता सुनिन्छन्, तर ती वास्तवमा सत्यताका शत्रु हुन्, र मानिसहरूलाई भ्रष्ट पार्ने शैतानका युक्तिहरूमध्येका एक हुन्। मैले महसुस गरेँ म धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएकी छु, तर मैले सत्यता अभ्यास नगरेकीले, र यी परम्परागत धारणाहरू अनुसार जिएकीले, मैले आफ्नो विवेकलाई मेरा सबै अन्तर्क्रियाहरूको केन्द्रमा राखेँ, सधैँ मानिसहरूको दयाको गुन तिर्न खोजेँ, तर असल र खराब बीचको फरक छुट्ट्याउन सकिनँ। म यति भ्रमित मूर्ख थिएँ, जसले सही र गलत छुट्ट्याउन सक्दिनँथेँ! परमेश्वरले अन्तिम दिनहरूमा यति धेरै सत्यता व्यक्त गर्नुभएको छ र सत्यताका सबै पक्षहरूलाई ठोस रूपमा विस्तृत तरिकाले प्रकट गर्नुभएको छ जुन हामीले अभ्यास गर्नुपर्छ, यही आशाले कि हामी सत्यता र परमेश्वरको वचन अनुसार आचरण र कार्य गर्नेछौँ, र यसरी हामी परमेश्वरको गवाही दिन र उहाँको महिमा गर्न सकौँ। तर मैले केवल देहमा आधारित सम्बन्धहरू कायम राख्नका लागि मात्र आफ्नो कर्तव्य निर्वाह गरेँ, र सत्यताको खोजी गरिनँ वा मण्डलीको हितको रक्षा गरिनँ। यो कुरा बुझेपछि, आफूले गरेका सबै कामका लागि मैले दोषी र पछुतो महसुस गरेँ। म परमेश्वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, म शैतानी विषहरूद्वारा जिउँछु। मैले सत्यता विरुद्ध हुने र तपाईंको विरोध गर्ने धेरै कामहरू गरेकी छु। हे परमेश्वर, म पश्चात्ताप गर्न र सिद्धान्तहरू अनुरूप कार्य गर्न चाहन्छु।”
त्यसपछि, मैले सोचेँ, “यदि यी परम्परागत विचार र धारणाहरू अनुसार जिउनुको अर्थ मसँग राम्रो मानवता छ भन्ने होइन भने, असल मानवता हुनु भन्नुको अर्थ के हो?” पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँ, जसले मलाई कुराहरूको मूल्याङ्कन गर्ने उचित मापदण्ड दियो। परमेश्वरका वचनहरूले भन्छन्: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्वर र सत्यताप्रति समर्पित हुन सक्नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्वप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचन पढेपछि, मैले बुझेँ, असल मानवता भएको व्यक्तिले कसैलाई चोट नलागोस् र सबैले उसलाई समर्थन र स्वीकार गरून् भनेर सम्झौता गर्दैन। बरु, तिनीहरू सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्छन्, अनि आफ्ना कर्तव्यमा जिम्मेवार हुन्छन्, सत्यता सिद्धान्तहरू कायम राख्न, र मण्डलीका कामको हिफाजत गर्न सक्छन्। यस प्रकारका मानिसहरू मात्र साँच्चै असल मानिसहरू हुन्। यदि हामी मानिससँगका आफ्ना सम्बन्धहरू, हाम्रो आफ्नै यश र हैसियत जोगाउँछौँ, र अरूसँग मिलेर बस्छौँ, तर आफ्नो कर्तव्यमा परमेश्वरप्रति बफादार छैनौँ, र मण्डलीको कामलाई हानि पुऱ्याउने मूल्य चुकाएर मानिसहरूसँग सम्बन्धहरू कायम राख्छौँ भने, त हामी अति नै स्वार्थी र घृणास्पद हौं। हाम्रो बाहिरी व्यवहार नैतिक रूपमा जति नै स्वीकारयोग्य भए पनि, त्यसले मानिसहरूलाई बहकाउँछ र त्यो सत्यता विरोधी हुन्छ। म यी परम्परागत विचार र दृष्टिकोणहरूद्वारा कसरी जिएँ, र अनि एक असल व्यक्तिको भेष धारण गरेँ भन्ने बारे मैले चिन्तन गरेँ। वास्तवमा, म भित्रभित्रै अझ बढी स्वार्थी, छली र दुष्ट हुँदै गएँ। मैले गरेका सबै कुरा मेरो प्रतिष्ठा र हैसियत जोगाउन, र मेरा व्यक्तिगत महत्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि थिए। मसँग कुनै मानवीय स्वरूप थिएन; मैले जिएका सबै कुरा राक्षसी थिए। विगतमा, जब म कसैमा मानवता छ कि छैन भनेर विचार गर्थेँ, त्यो मेरो आफ्नै धारणा र कल्पनाहरूमा आधारित हुन्थ्यो। त्यो सत्यतासँग पटक्कै मेल खाँदैनथ्यो, र त्यो मानिसहरूको मूल्याङ्कन गर्ने परमेश्वरको मानदण्ड अनुरूप थिएन।
त्यसपछिका केही दिनसम्म, मैले सत्यता सिद्धान्तहरू र परमेश्वरको अभिप्राय अनुसार कसरी अभ्यास गर्ने भनी विचार गरेँ। परमेश्वरका वचनमा मैले पढेँ: “तेरा अन्तरवैयत्तिक सम्बन्धहरू देहको आधारमा नभई परमेश्वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर आत्मिक तहमा तिमीहरूमाझ सङ्गति, पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरू जीवन जिउने सांसारिक कुराहरू सम्बन्धी मानवदर्शनको आधारमा कायम राखिँदैन, ती सम्बन्धहरू परमेश्वरको लागि बोझ बोक्ने क्रममा प्राकृतिक रूपमै स्थापित हुन्छन्। यसको लागि तेरो कृत्रिम मानव प्रयत्न आवश्यक पर्दैन, तैँले परमेश्वरका वचनहरूको सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ। … सामान्य अन्तर्वैयक्तिक सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट नभई, आफ्नो हृदय परमेश्वरतर्फ फर्काउने जगमा स्थापित हुन्छ। यदि व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न भने, अन्य मानिसहरूसँगका सम्बन्धहरू केवल दैहिक सम्बन्धहरू मात्र हुन्छन्। ती सामान्य हुँदैनन्, ती वासनाले ग्रसित आसक्ती हुन्, र त्यस्ता सम्बन्धहरूलाई परमेश्वर घिनाउनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। परमेश्वर चाहनुहुन्छ हामी मानिसहरूसित सत्यता सिद्धान्त अनुरूप व्यवहार गरौँ, हाम्रा ब्रदर-सिस्टरहरूसँग अन्तर्क्रिया गर्न परमेश्वरको प्रेमलाई जगको रूपमा प्रयोग गरौँ, सत्यता र जीवनमा एकअर्कालाई सहयोग र समर्थन गरौँ, र सांसारिक व्यवहारका लागि भौतिक दर्शनहरूमा लिप्त नहोऔँ। लेस्लीले विगतमा मलाई सहायता गरिन्, र यो परमेश्वरको सार्वभौमिकता र प्रबन्ध थियो; मैले त्यो कुरा बुझेर त्यसलाई परमेश्वरबाट स्वीकार गर्नुपर्थ्यो। तर त्यसो नगरेर मैले यो सबैको श्रेय लेस्लीलाई नै दिएँ, र सबै कुरामा उनीप्रति मेरो कृतज्ञता देखाएँ। मैले लेस्लीसँगको मेरो सम्बन्ध देहमा आधारित भएको देखेँ, मैले जे गरेँ र जस्तो आचरण देखाएँ त्यो पटक्कै परमेश्वरका अभिप्रायहरू अनुरूप थिएन, र मसँग कुनै सिद्धान्तहरू थिएनन्। वास्तवमा, जब ब्रदर र सिस्टरहरूले असफलता वा रोकावटको सामना गर्दा नकारात्मक र कमजोर महसुस गर्दा, तिनीहरूलाई सहयोग र समर्थन गर्न परमेश्वरका वचनहरूमा सङ्गति गर्नु सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ, र हामीले गर्नुपर्ने यही हो। तर जो निरन्तर आफ्ना कर्तव्यहरूमा अलमल्ल पर्छन् र गैरजिम्मेवार हुन्छन्, र जसले मण्डलीको काममा बाधा-व्यवधान पुऱ्याउँछन्, तिनलाई रोक्नु, खुलासा गर्नु, काँटछाँट गर्नु वा बर्खास्त गर्नुपर्छ। भावनाहरूको आधारमा उनीहरूलाई कहिल्यै पनि आश्रय वा संरक्षण दिनुहुँदैन। हामी स्नेही हुँदा पनि हामीले सिद्धान्त अनुरूप व्यवहार गर्नुपर्छ। बर्खास्त भएपछि पनि लेस्ली आफ्ना कर्तव्यहरूप्रति गैरजिम्मेवार र लापरवाह थिइन्, र उनलाई आफ्ना समस्याहरू बारे कुनै वास्तविक ज्ञान थिएन। मैले उनको व्यवहार तथा समस्याको प्रकृतिमाथि सङ्गति र विश्लेषण गर्न परमेश्वरका वचन प्रयोग गरेको भए, उनी आत्मचिन्तन गर्न, प्रायश्चित्त गर्न र परिवर्तन हुन सक्थिन्, यो नै वास्तवमा उनप्रतिको प्रेम हुने थियो। यसले मण्डलीको काममा पनि फाइदा पुऱ्याउँथ्यो। एक पटक मैले यो बुझेपछि, अचानक छुटकारा पाएको जस्तो अनुभव गरेँ, र अब मैले देहमा आधारित मेरा सम्बन्धहरू बचाउन चाहिनँ।
त्यसपछि, मैले लेस्लीको कर्तव्यप्रति उनको मनोवृत्ति र उनका विभिन्न व्यवहारहरू खुलासा गर्न परमेश्वरका वचनहरू प्रयोग गरेँ, र उनको कर्तव्यमा फेरि नियुक्त गरेँ। सङ्गति गरेपछि, मैले ढुक्क महसुस गरेँ। लेस्ली मसँग रिसाइनन्, र उनले परमेश्वरबाट यसलाई स्वीकार गरिन्। उनले भनिन्, बर्खास्त र खुलासा नगरिएको भए, आफूले गरेको कृयाकलापले यति धेरै अशान्ति र बाधा पुगेको कहिल्यै थाहा पाउने थिइनन्, र उनीसँग जस्तो व्यवहार गरियो त्यसबारे उनलाई कुनै गुनासो छैन। जब उनले यसो भनेकी मैले सुनेँ, मलाई साँच्चै लाग्यो परमेश्वरको वचनअनुरूप जिएर हामी मानिसहरूलाई साँचो फाइदा पुऱ्याउन र सहायता गर्न सक्छौं, र हामी आफै पनि धेरै राहत महसुस गर्छौं। मैले व्यक्तिगत रूपमा के अनुभव गरेँ भने परम्परागत संस्कृतिका यी सभ्य र महान् देखिने कुराहरू—जति धेरै मानिसहरूले प्रशंसा र प्रचार गरे पनि—ती सत्यता होइनन्। ती सबै विकृत र खराब छन्, र यिनले अरूको र हाम्रो आफ्नै हानि मात्र गर्दछन्। सत्यता नै हाम्रा कार्यहरू र आचरणको एक मात्र मापदण्ड हो।