७१. सत्यता अभ्यास गर्नेबारे मेरा आशङ्काहरू
२०२१को सेप्टेम्बरमा, म मण्डलीको एउटा काम हेर्थेँ, र झाओ टिङ्ग टोली अगुवा थिइन्। समूहमा कामको कुरा हुँदा, झाओ टिङ्ग सधैँ आफ्नै विचारमा अडिग रहन्थिन् र अरूलाई सुन्दिनथिन्। यसले गर्दा हामी बीचमा अड्किन्थ्यौँ र कामको प्रगति नै रोकिन्थ्यो। म यसबारे उनीसँग कुरा गर्न चाहन्थेँ, तर जब झाओ टिङ्गले मलाई अहङ्कारी, आत्म-धर्मी, र आफ्नै कुरामा अडान लिने भनेर बारम्बार खुलासा गरेको सम्झन्थेँ, तब मेरा शब्दहरू मेरो घाँटीमै अड्किन्थे। उनले भनेका कुरा साँचो नै हो भन्ने थाहा भए पनि, मलाई त्यो कुरा हृदयदेखि नै मन पर्दैनथ्यो। यसो गरेर उनले मेरा घाउहरू उदाङ्गो पारिरहेकी जस्तो लाग्थ्यो र उनले केही नबोलुन् भन्ने चाहन्थेँ। अहिले मैले उनका समस्या देखाएँ भने, के उनलाई पनि मलाईजस्तै पीडा हुने थिएन र? त्यसैले मैले चुप बस्नु नै ठीक ठानेँ ताकि हामी दुवैलाई नराम्रो नलागोस्। त्यसमाथि, मलाई खुलासा गरिएको र अरूले मेरा समस्याहरू औँल्याएको मन पर्दैनथ्यो अनि मैले आफैँलाई बदलेकी थिइनँ, तर अरूलाई भने बदलिन भन्दै थिएँ—के त्यसले म पूर्ण रूपमा अविवेकी भएको देखाउँदैनथ्यो र? यदि उनले उल्टै मलाई, “तिमी आफैँ अरूको सल्लाह स्वीकार गर्न त चाहन्नौ, तिमीलाई मेरो आलोचना गर्ने अधिकार केले दियो?” भनिन् भने मसँग कुनै जबाफ हुने थिएन। साथै, हामी सामान्यतया धेरै राम्रोसँग मिल्थ्यौँ, हाम्रो सम्बन्ध राम्रो थियो, र एकअर्कासँग विनम्रतापूर्वक कुरा गर्थ्यौँ। मैले उनका समस्याहरूबारे कुरा गर्दा, उनले मलाई पहिलेजसरी हेर्न छोडिन्, र काममा मसँग सहकार्य गर्न चाहिनन् भने के गर्ने? यी कुराहरूलाई ध्यानमा राखेर, मैले उनका समस्याहरू औँल्याइनँ।
धेरै समय नबित्दै, वु शिन नाम गरेकी एक सिस्टर हाम्रो टोलीमा आबद्ध भइन्। केही समयपछि, मैले उनले खासै प्रगति नगरिरहेको पाएँ। उनी निरन्तर अरूसँग होडबाजी गरिरहन्थिन्, अनि जब अघि बढ्न सक्दिनथिइन्, तब ठुस्स पर्थिन्। मैले उनका समस्यासँग सम्बन्धित परमेश्वरका केही वचनहरूमा सङ्गति गरेँ, अनि मैले उनलाई मार्गदर्शन र मद्दत गर्न सिद्धान्तहरूको सहारा लिएँ। तर उनले आफ्नो समस्याबारे चिन्तन गरिनन् र आफूले राम्रो नतिजा ननिकाल्नुको कारण हामीले उनीसँग सिद्धान्तबारे प्रस्टसँग सङ्गति नगरेकाले हो भनिन्। उनलाई यस्तो देखेर, म उनीसँग प्रतिष्ठा र हैसियत पछ्याउने उनको सार, अनि यस्तो व्यवहार जारी राख्दाका परिणामहरूबारे सङ्गति गरेर त्यसलाई चिरफार गर्न चाहन्थेँ। तर त्यसपछि मैले उनले एउटा भेलामा आफ्ना भ्रष्टताको प्रकटीकरणबारे भनेको कुरा सम्झिएँ, जसमा उनले अरूका समस्या औँल्याउन र अरूले सधैँ आफ्ना समस्या औँल्याएको मन पराउँदिनन् भनेर भनेकी थिइन्। मैले सोचेँ, “मेरा लागि नि प्रतिष्ठा र हैसियत महत्त्वपूर्ण छन्, र म बिस्तारै आफैँ यो पक्षलाई खोज्न र यसमा प्रवेश गर्न चाहन्छु। म अरूले मेरा समस्याहरू खुलासा गरुन् र औँल्याऊन् भन्ने चाहन्न। मैले धेरै कठोर ढङ्गले बोलेँ भने, यसले उनलाई दुःखी बनाउनेछ। मैले उनलाई सङ्गति र मद्दत गरेर सुरु गर्नु उपयुक्त हुन्छ। सायद उनले सिद्धान्तहरू बुझेपछि र केही नतिजा पाएपछि, उनले अभिमान र हैसियतको चाहना पूरा गर्न नसके पनि, त्यसले उनलाई यति नकारात्मक बनाउने छैन।” यस्तो सोचेर मैले उनका समस्याहरू औँल्याउन छोडेँ। पछि मैले वु शिनको मानवता निकै कमजोर रहेको थाहा पाएँ। उनी प्रायः अरूलाई होच्याउने र व्यङ्ग्यात्मक तरिकाले बोल्थिन्, तिनीहरूलाई बाँधिएको महसुस गराउँथिन्, अनि कहिलेकाहीँ फरक विचार राख्नेहरूलाई उनले तीव्र आलोचना र बहिष्कार गर्थिन्। काममा समस्या आउँदा उनी कत्ति पनि चिन्तन गर्थिनन् र जिम्मेवारीबाट पन्छिन खोज्थिन्, र उनले आफ्नो कर्तव्यमा खासै नतिजा ल्याइरहेकी थिइनन्। सिद्धान्तअनुसार, उनी बर्खास्त गरिनुपर्थ्यो। मलाई त्यसो गर्दा उनी चिढिन सक्छिन् भन्ने लाग्यो, त्यसैले मैले उनको अवस्थाबारे एक अगुवालाई रिपोर्ट गरेँ। तर व्यस्तताका कारण अगुवा आइनन्, त्यसैले उनले मलाई वु शिनलाई बर्खास्त गर्न भनिन्। जब मैले उनलाई भेटेँ, म उनको प्रतिष्ठा र हैसियतको निरन्तरको पछ्याइ, फरक आवाजहरूलाई उनले गर्ने आलोचना र बहिष्कार, र उनी कसरी ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छिन् भन्ने कुरालाई चिरफार गर्न चाहन्थेँ ताकि उनले आफ्ना समस्याहरूको सार र परिणामहरू जान्न सकून्, तर मैले भन्न लागेका कुराहरू नभनी चुप लागेँ। मैले उनले प्रतिष्ठा र हैसियतलाई कति महत्त्व दिन्छिन् र उनी कति कमजोर छिन् भनी सोचेँ। मैले उनका समस्याहरू खुलासा गरेर चिरफार गरेँ भने, अनि उनले त्यो सहन सकिनन् र मप्रति पूर्वाग्रह राख्न थालिन् भने, के हुन्थ्यो? त्यसैले मैले चुप बस्नु नै उचित ठानेँ। त्यसैले, मैले उनले कसरी नतिजा पाइरहेकी थिइनन् भन्ने कुरा मात्र उठाएँ, र त्यसपछि मैले उनलाई बर्खास्त गरेँ, सान्त्वनाका केही शब्दहरू दिएँ, र उनलाई आत्मचिन्तन गर्न लगाएँ। जब अगुवाले मैले वु शिनको व्यवहार चिरफार नगरेको थाहा पाइन्, उनले मलाई काटछाँट गर्दै भनिन्, “उनका समस्याहरू निकै गम्भीर थिए, तर तिमीले न त खुलासा गर्यौ, न त चिरफार नै! तिमी धेरै नै मान्छे खुसी पारिहिँड्ने खालकी छौ!” यो कुरा सुन्न निकै गाह्रो लाग्यो। मैले आफ्नो जिम्मेवारीमा ध्यान दिएकी छैन भनेर मलाई थाहा थियो, तर मैले त्यतिबेला आत्मचिन्तन गरिनँ। पछिको एउटा घटनापछि मात्र मैले अन्ततः चिन्तन गर्न थालेँ।
त्यसबेला, झाओ टिङ्ग र उनको समूहले निष्कासित गरिनुपर्ने व्यक्तिहरूको केही विवरण सङ्कलन गरेका थिए, तर त्यसमा धेरै कुरा स्पष्ट थिएनन्। सामान्य अवस्थामा, यस्ता साधारण गल्तीहरू हुँदैनथ्यो। मैले अरूलाई के भइरहेको छ भनेर सोधेँ, अनि उनीहरूले झाओ टिङ्ग आफ्नै कुरामा अडिग भइरहेको भने। जसले जे सुझाव दिए पनि, उनले सिधै खारेज गरिदिन्थिन्। उनीहरू सबैले बाँधिएको महसुस गर्थे र उनले भनेअनुसार नै गर्नुपर्थ्यो। यो सुनेर मलाई धेरै अपराधबोध भयो। उनको यो समस्याबारे मैले पहिले देखिनै थाहा पाएकी थिएँ, तर उनलाई चिढ्याउने डरले गर्दा मैले त्यसलाई कहिल्यै खुलासा गरिनँ, अनि नतिजा स्वरूप, काममा ढिलाइ भएको थियो। अन्ततः म सत्यता खोज्न र आत्मचिन्तन गर्न थालेँ। मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानवत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … कतिपय मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको हुँदा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको तिनीहरूले देख्दा, तिनीहरू आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा पनि तिनीहरू उनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू मान्छे खुसी पार्दै हिँड्नेहरू र आरामको लालसा गर्नेहरू हुन्; तिनीहरू आफ्नै आडम्बर, इज्जत, हैसियत र हितको लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थितिलाई खुलासा गरिदिए। मैले झाओ टिङ्गमा अहङ्कारी स्वभाव छ र उनी अरूलाई बाँध्छिन् भनेर देखेकी थिएँ, जसकारण काममा असर परिरहेको थियो। एक सुपरभाइजरका रूपमा, मैले उनको समस्यालाई औँल्याएर खुलासा गर्नुपर्थ्यो, तर उनले त्यो स्वीकार गर्दिनन् र त्यसपछि मलाई नराम्रो सोच्नेछिन् भनेर म चिन्तित थिएँ, त्यसैले जबजब म उनको समस्या औँल्याउन चाहन्थेँ, तब मलाई मेरो घाँटीमा केही अड्किएको जस्तो लाग्थ्यो र म बोल्नै सक्थिनँ। मैले यदि हाम्रो सम्बन्ध टुट्यो भने, उनी मेरो काममा सहकार्य गर्नेछैनन् भन्ने सोच्दै कामलाई बहानाका रूपमा प्रयोग गरेँ। मैले कामको चिन्ता गरिरहेकी छु जस्तो देखिए पनि, वास्तवमा, म हाम्रो मैत्रीपूर्ण र राम्रो सम्बन्ध बिगार्नै चाहन्नथेँ, बरु म आफ्ना ब्रदर-सिस्टरहरूमा राम्रो छाप छोड्न चाहन्थेँ। त्यसबाहेक, मैले वु शिनका समस्याहरू गम्भीर छन् भन्ने कुरा स्पष्ट रूपमा देखेँ, तर मैले ती समस्याहरू खुलासा गरेर औँल्याए उनले मलाई नराम्रो सोच्लिन् भनी डराएँ, त्यसैले म उनका समस्याहरू खुलासा गर्न असफल भइरहेँ, अनि नतिजा स्वरूप, उनले आफैँलाई चिनिनन्, र आफ्नो भ्रष्ट स्वभावमा कुनै परिवर्तन आएन, बरु उनले मण्डलीको काममा अवरोध र बाधा पुर्याइन् र अरूहरूलाई बाँधिएको महसुस गराइन्। आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ आफ्नै हित र अरूको हृदयमा मेरो स्थानबारे मात्र सोच्थेँ। अरूले आफ्नो भ्रष्ट स्वभावमा भर परेर कर्तव्यमा बाधा-अवरोध पुर्याइरहेको देख्दा पनि मैले त्यसलाई बेवास्ता गरेँ, मण्डलीको कामको कुनै ख्याल गरिनँ। म कति स्वार्थी थिएँ, ममा त विवेक वा समझ नै थिएन!
पछि मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँः “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरको वचनबाट गरिएको खुलासामार्फत मैले के बुझेँ भने मैले सधैँ अरूका समस्या अनदेखा गर्नु र औँल्याउन पनि म डराउनुको मुख्य कारण, म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” जस्ता शैतानी दर्शनहरूमा भर पर्नु थियो। म सधैँ सोच्थेँ—मलाई फाइदा भए मात्र मैले केही गर्नुपर्छ, र अरूको समस्या औँल्याउँदा र तिनलाई खुलासा गर्दा तिनीहरू चिढिन सक्छन्, अनि मलाई केही लाभ हुँदैन, त्यसैले म त्यो गर्न चाहँदिनथेँ। म अत्यन्त स्वार्थी, नीच, चिप्ले र छली थिएँ। मैले झाओ टिङ्ग अहङ्कारी, जिद्दी र अरूको कुरा नै नसुन्ने भइरहेकी, र उनले काममा असर पारेको देखेकी थिएँ, तर म उनका समस्या खुलासा वा चिरफार गर्नुका सट्टा उनीसँगको सम्बन्ध जोगाउनतिर लागेँ। म सधैँ उनलाई चिढ्याउँछु कि भनी डराउँथेँ, त्यसैले उनलाई खुसी पार्न सधैँ मिलाएर कुरा गर्थेँ। म मानिसहरूलाई चिढ्याउनदेखि डराउँथेँ, तर परमेश्वरलाई चिढ्याउनदेखि डराउँथिनँ, र कहिल्यै मण्डलीको हितबारे सोच्दिनथेँ। म विवेक वा समझ नभएको, तुच्छ र बेकारको जीवन जिइरहेकी थिएँ। विवेक र समझ भएको मान्छेले, अरूको स्थिति खराब देखेर सहयोग गर्न सत्यतामा सङ्गति गर्न सक्छ, र जब कसैले मण्डलीको काममा बाधा-अवरोध पुर्याउँछ, तब ऊ त्यस्तो व्यक्तिलाई खुलासा गरी रोक्न उभिन सक्छ। एक सुपरभाइजरका रूपमा, मैले अझ ठूलो भार र जिम्मेवारी उठाउनुपर्छ। कुनै ब्रदर वा सिस्टरको स्थिति वा काममा समस्या भए पनि, मैले उनीहरूसँग सङ्गति गरेर मद्दत गर्नुपर्छ। यदि कुनै व्यक्तिले मण्डलीको काममा बाधा-अवरोध पुर्याइरहेको छ भने, मैले उनलाई चाँडै नै काटछाँट र खुलासा गर्नुपर्छ, अनि रोक्नुपर्छ। सुपरभाइजरले आफ्नो काम यसरी नै गर्नुपर्छ। तर अरूको मप्रतिको राम्रो छाप जोगाउनका लागि मैले आधारभूत जिम्मेवारीहरू पनि पूरा गरिनँ। मैले कामप्रति गैरजिम्मेवार भएर ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे केही ध्यान दिइनँ। मैले आफू मान्छे खुसी पारिहिँड्ने व्यक्ति भएर वास्तवमा दुष्ट र दुर्भावनापूर्ण बन्दै छु भन्ने देखेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु परमेश्वरका लागि घिनलाग्दो कुरा हो। यदि म यसरी नै चलिरहने हो भने, अन्ततः परमेश्वरले मलाई खुलासा गरेर हटाउनुहुनेथ्यो। यी कुरा बुझेर म निकै दुःखी भएँ। म यसरी नै जिइरहन चाहन्नथेँ, त्यसैले मैले परमेश्वरसँग प्रार्थना गरेँ: “परमेश्वर, म सत्यता अभ्यास गर्न चाहन्छु, तर मेरो भ्रष्ट स्वभाव निकै गम्भीर छ। कृपया मलाई आफैँलाई चिन्न र अभ्यासको मार्ग पत्ता लगाउन अन्तर्दृष्टि दिनुहोस्।”
एक दिन, मेरो भक्तिका क्रममा मैले परमेश्वरको वचनले यसो भनेको कुरा पढेँ: “मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, सत्यलाई समर्थन गर; सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो। कालो अनि सेतोमा नअलमलिओ। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिल्यै पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरा अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरको वचनले मलाई अभ्यासको मार्ग दियो। हरेक कुरामा मैले सत्यता सिद्धान्तहरू कायम राख्नु र मण्डलीको हितको रक्षा गर्नु जरूरी छ। झाओ टिङ्गले आफ्नो कर्तव्यमा भ्रष्ट स्वभावमा भर परेर मण्डलीको काममा बाधा र अवरोध पुर्याइसकेकी थिइन्। मैले उनीसँग सङ्गति गर्नुपर्थ्यो, उनको खुलासा र चिरफार गर्नुपर्थ्यो, ताकि उनले आफ्ना समस्याहरू जान्न सकून्। यदि उनले अझै पनि चिन्तन र पश्चात्ताप नगरेकी भए, मैले तुरुन्तै उनलाई सरुवा वा बर्खास्त गर्नुपर्थ्यो। पछि मैले झाओ टिङ्गलाई उनका समस्याहरू औँल्याएँ र अहङ्कारी स्वभाव खुलासा गर्ने परमेश्वरको वचनका केही खण्डहरू उनलाई पढेर सुनाएँ। परमेश्वरको वचन पढेपछि उनले आफ्नै अहङ्कारी स्वभावको केही ज्ञान प्राप्त गरिन् अनि त्यसपछि उनले केही सुधार र परिवर्तन गरिन्। सबै जनाले छलफलमा फरकफरक धारणा राख्दा, उनी खोजी गर्न र तिनीहरूको कुरा सुन्न सक्षम भइन्, आफ्नै विचारमा अडिग हुन छोडिन्। अरूसँगको सम्बन्ध जोगाउन छोडेर सत्यता सिद्धान्तअनुसार कर्तव्य निर्वाह गर्दा, मलाई सहज महसुस भयो। यसरी जिएर अन्ततः मैले केही मानव रूप पाएँ।
पछि, मैले सोचेँ: “मेरो स्वार्थीपन, तुच्छता र आफ्नो हित जोगाउने इच्छाबाहेक, अन्य कुन कुराहरूले मलाई सधैँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न बाध्य बनाइरहेका थिए?” एकदिन, एउटा भेलामा, मैले परमेश्वरको वचनहरू पढेँ, जसमा लेखिएको थियो: “शाब्दिक अर्थमा, ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्नुको अर्थ, यदि तँलाई कुनै कुरा मन पर्दैन, वा कुनै कुरा गर्न मन लाग्दैन भने, तैँले अरूलाई पनि त्यो कुरा जबरजस्ती गर्न लगाउनु हुँदैन भन्ने हो। यो बाठोपन र समझदारीजस्तो देखिन्छ, तर तैँले हरेक परिस्थिति सामना गर्न यो शैतानी दर्शन प्रयोग गरिस् भने, धेरै गल्ती गर्नेछस्। सायद तैँले मानिसहरूलाई चोट पुर्याउनेछस्, बहकाउनेछस्, वा हानिसमेत गर्नेछस्। जस्तै, कतिपय आमाबुबालाई पढ्न मन पर्दैन, तर आफ्ना छोराछोरीलाई पढ्न लगाउन मन पर्छ, र सधैँ तिनीहरूसँग तर्क गर्दै परिश्रम गरेर अध्ययन गर्न प्रेरित गर्छन्। यदि तैँले यहाँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने माग लागू गर्नुपर्ने हो भने, यी आमाबुबाले आफ्ना छोराछोरीलाई पढ्न लगाउनु हुँदैन, किनभने तिनीहरू आफैलाई पढ्न मन पर्दैन। कतिपय मानिसहरू परमेश्वरमा विश्वास त गर्छन्, तर सत्यताको पछि लाग्दैनन्; तैपनि तिनीहरूलाई हृदयमा परमेश्वरमा विश्वास गर्नु जीवनको सही मार्ग हो भन्ने थाहा छ। यदि तिनीहरूले आफ्ना छोराछोरी परमेश्वरमा विश्वास गर्दैनन् र सही मार्गमा छैनन् भनेर देखे भने, तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्वरमा विश्वास गर्न प्रेरित गर्छन्। तिनीहरू आफै सत्यताको पछि नलागे पनि, आफ्ना छोराछोरीलाई यसको पछि लगाएर आशिषित बनेको चाहन्छन्। यस परिस्थितिमा, यदि तिनीहरूले ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने भनाइ पालन गरे भने, यी आमाबुबाले आफ्ना छोराछोरीलाई परमेश्वरमा विश्वास गर्न लगाउनु हुँदैन। त्यो त यो शैतानी दर्शनअनुरूप हुनेथियो, र यसले तिनीहरूका छोराछोरीको मुक्ति पाउने मौका पनि नष्ट गर्नेथियो। यो परिणामको जिम्मेवार को हुन्छ? नैतिक आचरणसम्बन्धीको आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने परम्परागत भनाइले के मानिसहरूलाई हानि गर्दैन र? … उदाहरणको लागि, कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू देहगत सहजताहरूको लालसा गर्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा सुस्त हुने उपाय खोज्छन्। तिनीहरू कष्ट भोग्न वा मूल्य चुकाउन इच्छुक हुँदैनन्। तिनीहरू, ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने भनाइलाई राम्रो ठान्छन् र मानिसहरूलाई यसो भन्छन्, ‘तिमीहरू आफैमा रमाउन सिक्नुपर्छ। तिमीहरूले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नु वा कठिनाइ भोग्नु वा मूल्य चुकाउनु पर्दैन। यदि सुस्त हुन सक्छौ भने, सुस्त बन; कुनै कुरामा झारा टार्न सक्छौ भने, झारा टार। आफ्नो लागि परिस्थिति कठिन नबनाऊ। हेर त, म यसरी नै जिउँछु—के यो रमाइलो छैन र? मेरो जीवन परिपूर्ण छ! त्यसरी जिएर तिमीहरूले आफूलाई थकित पारिरहेका छौ! तिमीहरूले मबाट सिक्नुपर्छ।’ के यसले ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने माग पूरा गर्छ? यदि तैँले यसरी व्यवहार गरिस् भने, के तँ विवेक र समझ भएको व्यक्ति होस्? (होइन।) यदि व्यक्तिले आफ्नो विवेक र समझ गुमायो भने, के उसमा सदगुणको कमी हुँदैन र? सदगुणको कमी हुनु भनेको यही हो। हामी किन यसो भन्छौँ? किनभने तिनीहरू सहजताको लालसा गर्छन्, आफ्नो कर्तव्यमा झारा टार्छन्, र अरूलाई पनि उक्साएर र प्रभावित पारेर आफूसँगै झाराटारुवा र सहजताको लालसा गर्ने बनाउँछन्। यसमा समस्या के छ? आफ्नो कर्तव्यमा झाराटारुवा र गैरजिम्मेवार बन्नु छल र परमेश्वरको विरोध गर्नु हो। यदि तँ झाराटारुवा भइरहिस् र पश्चात्ताप गरिनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। “‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने भनाइ समस्याले भरिएको हुन्छ। यसका भुलचुकहरू अति स्पष्ट छन्; यो विश्लेषण गर्न र बुझ्नसमेत लायक छैन। अलिकति जाँच गर्दा पनि, यसका त्रुटि र निरर्थकता स्पष्टरूपमा देखिन्छ। तैपनि, तिमीहरूमध्ये धेरै जना यो भनाइद्वारा सहजै फकिन्छौ र प्रभावित हुन्छौ, अनि नबुझी यसलाई स्वीकार गर्छौ। अरूसँग अन्तरक्रिया गर्दा, तिमीहरू आफूलाई चेतावनी दिन र अरूलाई सल्लाह दिन यो भनाइ अक्सर प्रयोग गर्छौ। यसो गरेर, तिमीहरू आफ्नो चरित्र निकै उच्च छ, र तिमीहरूको व्यवहार अत्यन्तै समझदार छ भन्ने सोच्छौ। तर थाहै नपाई, यी शब्दहरूले तँ जिउने सिद्धान्त र मामिलाहरूमा तैँले लिने अडानलाई प्रकट गरेका हुन्छन्। यसको साथै, तैँले अरूलाई भ्रम र बहकाउमा पारेर तेरो जस्तै दृष्टिकोण र अडानले मानिसहरू र परिस्थितिलाई हेर्ने तुल्याएको छस्। तैँले वास्तविक मध्यमार्गी व्यक्तिले जस्तो व्यवहार गरेको छस्, र पूर्णरूपमा मध्य मार्ग अपनाएको छस्। तँ भन्छस्, ‘समस्या जेसुकै भए पनि, यसलाई गम्भीररूपमा लिनु आवश्यकता छैन। आफ्नो वा अरूका लागि परिस्थिति गाह्रो नबनाऊ। यदि अरूको लागि परिस्थिति गाह्रो बनायौ भने, तिमीहरूले आफ्नो लागि परिस्थिति गाह्रो बनाइरहेका हुन्छौ। अरूलाई दया गर्नु भनेको आफैलाई दया गर्नु हो। यदि तिमीहरू अरूप्रति कठोर भयौ भने, आफूप्रति कठोर भइरहेका हुन्छौ। आफूलाई किन कठिन परिस्थितिमा पार्ने? ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भनेको आफ्ना लागि गर्न सक्ने सबैभन्दा उत्तम, र सबैभन्दा विचारशील कुरा हो।’ यो मनोवृत्ति अवश्य नै कुनै पनि कुरामा सतर्क हुने किसिमको होइन। कुनै पनि मामिलामा तँसँग सही अडान वा दृष्टिकोण छैन; तँसँग सबै कुराबारे अस्पष्ट दृष्टिकोण छ। तँ सावधान छैनस् तर कामकुराप्रति आँखा चिम्लन्छस्। जब तँ अन्तिममा परमेश्वरअघि खडा हुन्छस् र आफ्नो लेखा दिन्छस्, तब त्यसमा ठूलो गडबडी भएको हुने छ। किन त्यसो हुन्छ? किनभने तँ सधैँ नै ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भनी भन्छस्। यसले तँलाई धेरै सान्त्वना र आनन्द दिन्छ, तर साथै तँलाई धेरै समस्यामा पार्ने छ, यसले गर्दा तैँले धेरै विषयमा स्पष्ट दृष्टिकोण राख्न वा अडान लिन सक्दैनस्। अवश्य नै, यी परिस्थितिहरू सामना गर्दा यसले तँलाई परमेश्वरका माग र मापदण्डहरू के-के हुन्, वा तैँले कस्ता परिणाम हासिल गर्नुपर्छ भनेर बुझ्न नसक्ने पनि तुल्याउँछ। तँ कुनै पनि कुरामा सतर्क नहुने हुनाले यी कुराहरू हुन्छन्; तेरो गडबड मनोवृत्ति र दृष्टिकोणको कारण ती हुन्छन्। ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने भनाइ मानिसहरू र परिस्थितिप्रति तँमा हुनुपर्ने सहनशील मनोवृत्ति होइन र? होइन। यो बाहिरबाट सही, आदर्शमय, र दयालु देखिने सिद्धान्त मात्रै हो, तर वास्तवमा यो पूर्णतया नकारात्मक कुरा हो। स्पष्टतः यो मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्त त झन् पटक्कै होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्वरका वचनहरूले के खुलासा गर्छन् भने शैतानले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइलाई हामीलाई भ्रष्ट बनाउन र बहकाउन प्रयोग गर्छ, जसले हामीले गर्न नचाहेका वा गर्न नसक्ने कुराहरू अरूमाथि लाद्नु हुँदैन भन्ने सोच्ने तुल्याउँछ, र यो तर्कसङ्गत व्यवहार हो। म यसै सोचमा भर परेर जिइरहेकी थिएँ। मलाई झाओ टिङ्गको अहङ्कार र आत्म-धार्मिकताले कामलाई असर गरिरहेको स्पष्ट रूपमा थाहा थियो, र मैले उनको समस्या औँल्याउनुपर्थ्यो र खुलासा गर्नुपर्थ्यो, तर मैले प्रायः अहङ्कारी स्वभाव प्रकट गर्ने र मलाई सधैँ अरूद्वारा आलोचना गरिएको नि मन नपर्नेबारे सोचेँ, त्यसैले मलाई मलाई मन नपर्ने कुरा अर्को व्यक्तिमाथि लाद्नु अविवेकी हो भन्ने लाग्यो, त्यसैले म झाओ टिङ्ग़को समस्या औँल्याउन धेरै डराएँ। वु शिन केवल प्रतिष्ठा र हैसियतका लागि काम गरिरहेकी छिन् भन्ने कुरा मलाई प्रस्ट थाहा थियो, र उनको अहङ्कारले अरूहरूलाई बाँध्दै काममा बाधा-अवरोध पुर्याइरहेको थियो। उनलाई खुलासा र काटछाँट गरिनु जरुरी थियो, तर मैले सोचेँ—म त आफ्नो प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिन्छु, र कसैले मेरा समस्याहरू औँल्याएको वा खुलासा गरेको नि मन पर्दैन, त्यसैले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने दृष्टिकोणअनुसार म जिएँ अनि त्यसैले मैले उनको खुलासा गरिनँ। मलाई खुलासा र आलोचित हुनु पीडादायी र अपमानजनक लाग्थ्यो, र अरूले मलाई कहिल्यै काटछाँट वा आलोचना नगरून् भन्ने आश गर्थेँ, त्यसैले म पनि अरूलाई त्यस्तै व्यवहार गर्न चाहन्नथेँ। वास्तवमा, म केवल आफैँलाई समायोजन र रक्षा गरिरहेकी थिएँ। म आफ्नो अभिमान र हैसियत जोगाउँदै थिएँ, सत्यता स्वीकार गर्दिनथेँ र अरूलाई आफूखुसी गर्न दिँदै मिलाएर पनि राख्थेँ। म विद्रोही थिएँ र परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ र अरूलाई पनि त्यसै गर्न दिइरहेकी थिएँ। सारमा, म कसैले पनि सत्यता अभ्यास नगरून् वा परमेश्वरको न्याय र सजाय अनुभव नगरून्, वा काटछाँट नहोऊन् भन्ने आशा गर्दै थिएँ। म एकदमै नीच र अनैतिक भइसकेकी थिएँ! शैतानले हामीलाई पूर्ण रूपमा भ्रष्ट बनाएको छ र हामी शैतानी स्वभावहरूले भरिएका छौँ। हामीमा अहङ्कारी, अभिमानी, स्वार्थी र छली, अनि सधैँ प्रतिष्ठा र हैसियत खोज्न झुकाव भएको प्रकृति छ। परमेश्वरको वचनको न्याय र खुलासाबिना, काटछाँट नभईकन, र अरूको आलोचना वा सहयोगबिना, हामी मण्डलीको काममा बाधा नपुर्याई रहन सक्दैनौँ। झाओ टिङ्ग र वु शिनले भ्रष्ट स्वभाव प्रकट गरिरहेका थिए र गलत मार्गमा थिए, र कसैले उनीहरूलाई आलोचना वा खुलासा नगरेमा, उनीहरूले मण्डलीको काममा बाधा पुर्याउनेथिए। उनीहरूको उल्लङ्घन सामान्य भएको खण्डमा, उनीहरूलाई बर्खास्त गरिनेथ्यो, तर यो अझ गम्भीर भएको खण्डमा उनीहरूलाई निष्कासन गरिनेथ्यो। म शैतानी दर्शनहरूमा जिइरहेकी थिएँ, समस्या देखेर पनि उठाइरहेकी थिइनँ। यसले अरूलाई भित्रभित्रै शैतानी स्वभावअनुसार चल्न दिनु हो, र अन्ततः यसले मलाई र अरूलाई पनि हानि पुर्याउने थियो। म “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने शैतानी विषअनुसार जिइरहेर, मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरिरहेकी मात्र नभएर, शैतानको सहयोगी भएर मण्डलीको काममा बाधासमेत पुर्याइरहेकी थिएँ। यी कुराहरू बुझेर सहन गाह्रो भयो, अनि म परमेश्वरसामु कबुल गर्न र पश्चात्ताप गर्न चाहन्थेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, जहाँ लेखिएको थियो: “परमेश्वर मानिसहरूले आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने माग गर्नुहुन्न, बरु उहाँ मानिसहरूले फरक-फरक परिस्थिति सम्हाल्दा तिनीहरू आफूले पालना गर्नुपर्ने सिद्धान्तहरूबारे स्पष्ट भएको माग गर्नुहुन्छ। यदि यो सही छ र परमेश्वरका वचनहरू र सत्यताअनुरूप छ भने, तँ त्यसमा लागिरहनैपर्छ। अनि तँ यसमा लागिरहनैपर्ने मात्रै होइन, तर तैँले अरूलाई अर्ती दिने, मनाउने, र सङ्गति गर्ने पनि गर्नैपर्छ, ताकि तिनीहरूले परमेश्वरका अभिप्रायहरू वास्तवमा के हुन्, र सत्यता सिद्धान्तहरू के-के हुन् भनेर स्पष्टरूपमा बुझ्न सकून्। यो तेरो जिम्मेवारी र दायित्व हो। परमेश्वरले तँलाई मध्य मार्ग अपनाउनू भनेर भन्नुहुन्न, र तेरो हृदय कति ठूलो छ भनेर तैँले देखाउनुपर्छ भनेर त झन् भन्दै भन्नुहुन्न। परमेश्वरले तँलाई जुन कुराबारे सल्लाह दिनुभएको छ र सिकाउनुभएको छ, र उहाँले आफ्ना वचनहरूमा जुन कुराहरूबारे बताउनुहुन्छ, ती कुराहरूमै तँ लागिरहनुपर्छ: मानदण्ड, मापदण्ड, र मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू। तँ यी कुरामा पटक्कै टाँसिनु र अल्झिरहनु हुँदैन मात्रै होइन, तर तैँले उदाहरण बसालेर, साथै आफूलेजस्तै यी सत्यता सिद्धान्तहरूमा टाँसिरहन, पालना र अभ्यास गर्न अरूलाई मनाएर, रेखदेख गरेर, सहयोग गरेर र डोऱ्याएर यी सत्यता सिद्धान्तहरू पनि पालन गर्नैपर्छ। परमेश्वर तैँले यो गरेको माग गर्नुहुन्छ—उहाँले तँलाई सुम्पने कुरा यही हो। तैँले अरूलाई बेवास्ता गरेर आफूबाट मात्र माग गर्नु मिल्दैन। तैँले समस्याहरूमा सही अडान लिनुपर्छ, सही मापदण्डमा टाँसिनुपर्छ, र परमेश्वरका वचनहरूमा के-कस्ता मानकहरू दिइएका छन् भनेर ठिकसित जान्नुपर्छ, र सत्यता सिद्धान्तहरू के-के हुन् भनेर ठिकसित पत्ता लगाउनुपर्छ भन्ने परमेश्वर माग गर्नुहुन्छ। तैँले यो पूरा गर्न नसके पनि, तँ अनिच्छुक भए पनि, तँलाई यो मन नपरे पनि, तँमा धारणाहरू भए पनि, वा तैँले यसको विरोध गरे पनि, तैँले यसलाई आफ्नो जिम्मेवारी, आफ्नो दायित्वको रूपमा लिनैपर्छ। तैँले मानिसहरूलाई परमेश्वरबाट आउने सकारात्मक कुराहरूबारे, सही र ठिक कुराहरूबारे सङ्गति दिनैपर्छ, अनि ती अरूलाई सहयोग गर्न, प्रभाव पार्न, र डोऱ्याउन प्रयोग गर्नैपर्छ, ताकि तीबाट मानिसहरूले फाइदा र सुधार पाऊन्, र तिनीहरू जीवनमा सही मार्गमा हिँड्न सकून्। यो तेरो जिम्मेवारी हो, र तँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने विचारमा जिद्दी भएर टाँसिनु हुँदैन, जुन विचार शैतानले तेरो मनमा हालिदिएको छ। परमेश्वरको नजरमा, त्यो भनाइ दुनियाँसित व्यवहार गर्ने दर्शन मात्रै हो; यो शैतानको चाल भएको एउटा सोच्ने तरिका मात्र हो; यो सही मार्ग हुँदै होइन, न त सकारात्मक कुरा नै हो। परमेश्वरले तँबाट माग गर्नुभएको कुरा भनेकै तँ सोझो व्यक्ति बन्नु हो, जसले आफूले गर्नुपर्ने र गर्न नहुने कुरा स्पष्टरूपमा बुझ्छ। उहाँ तँ मानिसहरूलाई खुसी पार्ने वा मध्यमार्गी व्यक्ति बन्नुपर्छ भन्ने माग गर्नुहुन्न; उहाँ तैँले मध्य मार्ग अपनाउनुपर्छ भनेर माग गर्नुहुन्न। जब कुनै कुरा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ, तैँले भन्नुपर्ने कुरा भन्नैपर्छ, र बुझ्नुपर्ने कुरा बुझ्नैपर्छ। यदि कसैले कुनै कुरा बुझ्दैन तर तँ बुझ्छस्, र उसको गल्ती औँल्याएर सहयोग गर्न सक्छस् भने, तैँले यो जिम्मेवारी र दायित्व पूर्णतया पूरा गर्नैपर्छ। तैँले हात बाँधेर हेरिबस्नु पटक्कै हुँदैन, झन् आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्नेजस्ता शैतानले तेरो मनमा हालिदिएका दर्शनहरूमा टाँसिनु त पटक्कै हुँदैन। के तैँले कुरा बुझिस्? (बुझेँ।) जुन कुरा सही र सकारात्मक हो, त्यो तँलाई मन नपरे पनि, त्यो गर्ने इच्छा नभए पनि, तैँले त्यो गर्न वा प्राप्त गर्न नसके पनि, त्यसको प्रतिरोध गरे पनि, वा त्यसविरुद्ध धारणा विकास गरे पनि, सही र सकारात्मक नै हुन्छ। मानवजातिमा भ्रष्ट स्वभाव र निश्चित संवेग, भावना, चाहना र धारणा छ भन्दैमा, परमेश्वरको वचन र सत्यताको सार परिवर्तन हुनेछैन। परमेश्वरको वचन र सत्यताको सार कहिल्यै, कदापि परिवर्तन हुनेछैन। तैँले परमेश्वरको वचन र सत्यता जानेपछि, बुझेपछि, र अनुभव गरेर प्राप्त गरेपछि, आफ्ना अनुभव गवाहीहरूबारे अरूलाई सङ्गति दिनु तेरो दायित्व हुन्छ। यसो गर्दा अझ धेरै मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न, सत्यता बुझ्न र बोध गर्न, परमेश्वरको मापदण्ड र मानक बुझ्न अनि सत्यता सिद्धान्तहरू बुझ्न मदत पाउनेछन्। यसो गरेर, यी मानिसहरूले आफ्नो दैनिक जीवनमा समस्याहरू आइपर्दा अभ्यासको मार्ग पाउनेछन् र तिनीहरू शैतानका विचार र दृष्टिकोणहरूद्वारा भ्रममा वा बन्धनमा पर्नेछैनन्। नैतिक आचरणसम्बन्धी ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भन्ने भनाइ वास्तवमै र साँच्चै नै मानिसहरूको दिमाग नियन्त्रण गर्ने शैतानको धूर्त चाल हो। यदि तँ सधैँ यसलाई पालना गर्छस् भने, तँ शैतानी दर्शनहरूअनुसार जिउने व्यक्ति होस्; शैतानी स्वभावमा पूर्णरूपले जिउने व्यक्ति होस्। यदि तँ परमेश्वरको मार्ग पछ्याउँदैनस् भने, तैँले सत्यतालाई प्रेम गर्दैनस् र पछ्याउँदैनस्। जेसुकै भए पनि, तैँले पछ्याउनुपर्ने सिद्धान्त र तैँले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई सकेजति सहयोग गर्नु हो। तैँले शैतानले भन्ने कुरा अभ्यास गर्नु हुँदैन, जुनचाहिँ ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ र मानिसहरूलाई खुसी पार्ने ‘बाठो’ व्यक्ति बन्नुपर्छ भन्ने हो। मानिसहरूलाई आफूले सकेजति सहयोग गर्नु भनेको के हो? यसको अर्थ आफ्ना जिम्मेवारी र दायित्व पूरा गर्नु हो। तैँले कुनै कुरा तेरो जिम्मेवारी र दायित्वको भाग हो भन्ने थाहा पाउनेबित्तिकै, परमेश्वरका वचनहरू र सत्यतामा सङ्गति गर्नुपर्छ। आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नु भनेको यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्वरको वचनबाट मैले के कुरा बुझेँ भने परमेश्वरले हामी हरेक कुरामा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूमा अडिग रहन माग गर्नुहुन्छ, र जब हामी मिलेर कर्तव्य निर्वाह गर्छौँ, जब कुनै व्यक्तिले सिद्धान्त तोडिरहेको वा मण्डलीको काममा बाधा दिइरहेको देख्छौँ, तब हामीले उनीहरूलाई आलोचना र सहायता गर्नुपर्छ। सबैजना परमेश्वरको वचनअनुसार जिउँदा मात्र हामी कर्तव्यमा सुधार गर्न सक्छौँ। सिद्धान्तका विषयमा कुरा गर्दा, हामी मानिसहरूलाई चिढ्याउन डराउनु वा उनीहरूको भावनालाई ध्यान दिनु हुँदैन। हामीले सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नैपर्छ र मण्डलीको कामको रक्षा गर्नैपर्छ। अरुले स्वीकार गरून् या नगरून्, हामी सबैले सत्यता अभ्यास र आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। एक सुपरभाइजरका रूपमा, मेरो जिम्मेवारी भनेको समस्या देखेपछि समयमा नै सङ्गति र समाधान गर्नु हो। मैले देखिएका समस्याहरू समाधान नगरेर मान्छे खुसी पारिहिँड्न मात्रै खोजेँ र बीचको बाटो अपनाएँ भने, त्यो भनेको मैले आफ्नो जिम्मेवारी पूरा नगरेको र परमेश्वरको प्रतिरोध गरेको हो। साथै, म आफैँले भ्रष्टता प्रकट गर्छु भन्दैमा मैले अरूका समस्याहरू औँल्याउन सक्दिनँ भन्ने हुँदैन। मैले भ्रष्टता प्रकट गर्दा सत्यता खोज्नु पर्छ र आत्मचिन्तन गर्नु पर्छ, त्यो मेरो आफ्नै कुरा हो। तर जब मैले अरूलाई सिद्धान्तहरू उल्लङ्घन गर्दै र मण्डलीको काममा हानि पुर्याउँदै गरेको देख्छु, मैले सङ्गति गर्न, खुलासा गर्न, र उनीहरूलाई रोक्न जरुरी हुन्छ। यो मण्डलीको कामको रक्षा गर्नु हो र यो मेरो जिम्मेवारी हो। म यी दुई कुरा बीचमा भ्रमित हुनु हुँदैन। म आफ्नो प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिन्छु, र ममा अहङ्कारी स्वभाव छ, मैले यी समस्याहरू समाधान गर्न चिन्तन गर्नु र सत्यता खोज्नुपर्छ अनि आफूलाई छुट दिनु र अरूलाई खुसी पार्दै हिँड्नु हुँदैन। म पहिले “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने शैतानी दर्शन अनुसार जिउँथेँ। मैले अरूलाई म आफैँले गर्न मन नलाग्ने वा नसक्ने त्यस्ता कामहरू गर्न भन्नु हुँदैन भन्दै सोच्थेँ। यसको परिणामस्वरूप, सत्यता अभ्यास गर्ने अवसरहरू गुम्दै थिए। अन्ततः मैले मेरा दृष्टिकोण हास्यास्पद र बेतुका भएको देखेँ।
पछि, जब मैले अरूले सिद्धान्त उल्लङ्घन गर्दै र मण्डलीको कामलाई असर पुर्याउँदै गरेको देखेँ, मैले खुलासा गरेँ, चिरफार गरेँ, र उनीहरूसँग उनका समस्यामा सङ्गति गरेँ, र उनीहरूले मेरो बारेमा नराम्रो सोच्नेछन् भनी अझै चिन्तित भए तापनि, म पहिले जस्तो धेरै सतर्क हुन वा धेरै सोच्न छाडेँ; मैले केवल म कसरी उनीहरूलाई मद्दत गर्न सक्छु र मण्डलीको कामलाई जोगाउन सक्छु भनी सोचेँ। यसरी अभ्यास गर्दा, मैले ब्रदर-सिस्टरहरूले उनीहरूको कर्तव्यमा प्रगति गर्दै गरेको देखेँ र म खुशीले भरिएँ। अरूका समस्याहरू समाधान गर्दा, म बढी आत्मचिन्तन गर्न सक्थेँ, अनि मैले पहिले थाहा नपाएका केही भ्रष्ट स्वभावहरू अनजानमा पत्ता लगाएँ, जसले मलाई सत्यता पछ्याउन र आफ्ना समस्याहरू समाधान गर्न अझ बढी प्रेरित गर्यो। यसरी अभ्यास गर्दा मलाई परमेश्वरसँग झनै नजिक भएको महसुस भयो; जब मैले देहलाई त्यागेँ र सत्यताको थप अभ्यास गरेँ, यसले मलाई यस्तो जीवन जिउँदा शान्त र सहज महसुस गरायो।