१८. खतरनाक परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु
२०२३ को जुलाई महिनाको एक दिन, म भेलाबाट फर्किएपछि, एक सिस्टर हतारिँदै मतिर आइन् र क्यू लिङ्ग नामकी सामान्य मामिला डिकन र एक जना मण्डलीका अगुवा पक्राउ परेको बताइन्। उनले म भेला गएको बेला एकदमै सावधान रहन पनि आग्रह गरिन्। म झसङ्ग भएँ र सोचेँ, “म क्यू लिङ्गसँग हरसमय भेला गर्छु र उनको घर गइरहन्छु। के प्रहरीको नजर ममाथि परिसक्यो? दुई वर्षअघि, परमेश्वरमा विश्वास गरेकोमा मेरो रिपोर्ट परेको थियो, र त्यतिबेला प्रहरीले मेरो भिडियो पनि खिचेको थियो। म फेरि पक्राउ परेँ भने, त्यो त दोहोरिएको अपराध ठहरिनेछ, र तिनीहरूले मलाई मारेनन् भने पनि, घाइते त पक्कै बनाएर छाड्नेछन्।” त्यसको केही समयपछि नै अर्को मण्डली अगुवा आइन् र उत्पन्न परिस्थितिलाई सम्हाल्ने बताइन्। उनले मलाई नयाँ विश्वासीहरूलाई मलजल र सहयोग गरेर सतावट र कष्टबीच दृढ रहन सक्ने बनाउनु भनिन्। उनले मलाई त्यो जिम्मेवारी सुम्पँदा, म अचानक आत्तिएँ र मैले सोचेँ, “अहिलेको जोखिमपूर्ण अवस्थामा, उनले मलाई सिधै खतरातर्फ धकेलिरहकी होइनन् र?” ब्रदर-सिस्टरहरूले सहनु परेका विभिन्न यातनाका तस्बिरहरू मेरो दिमागमा एकपछि अर्को गरी आउन थाले। म चिन्तित हुन थालेँ र सोचेँ—“प्रहरीसँग मेरो भिडियो नै छ। उनीहरूले मलाई समातेपछि पक्कै पनि सजिलै छोड्नेवाला छैनन्। मैले यातना सहन सकिनँ र यहूदा भइहालेँ भने, मैले मुक्ति नपाउने मात्र होइन, दण्ड भोग्न नर्कमा समेत झर्नेछु। यत्तिका वर्ष आस्थामा रहँदा मैले गरेका सबै कुराहरू—परिवार त्याग्नु, आफ्नो करियर छोड्नु, आफूलाई समर्पित गर्नु, दुःख सहनु, मूल्य चुकाउनु— के यी सबै कुरा अन्ततः व्यर्थ हुने त होइनन्?” यो सबै बुझेर, म मेजमान घरमा लुक्न र बाहिर ननिस्कन चाहेँ। मलाई अहिले यसरी नै चल्नु सुरक्षित हुनेछ जस्तो लाग्यो। तर त्यसपछि, मलाई यसरी सोच्नु गलत हो भन्ने भयो। यस्तो सङ्कटको घडीमा कायर, डरछेरुवा भएर आफ्नो हितको रक्षा मात्र गर्न खोज्नु स्वार्थीपन होइन र? अगुवाले उत्पन्न परिस्थिति सम्हाल्न खतरा मोल्दै थिइन्—यदि उनी पनि मजस्तै सानो खतरा देख्नेबित्तिकै पछि हटेको खण्डमा, उत्पन्न परिस्थिति कसले सम्हाल्थ्यो? यो कुरा बुझेर, डराउँदा डराउँदै पनि मैले त्यो काम स्विकारेँ।
अर्को दिनको मध्यान्हतिर, मैले एक जना मेजमान सिस्टर र उनकी कान्छी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ भनी सुनेँ। मैले मनमनै सोचेँ, “म केही समयअघि मात्र उनीहरूसँग भेलामा थिएँ र अहिले उनीहरू पक्राउ परेका छन्। म बाहिर गएँ भने, म पनि पक्राउ पर्ने छैन र?” मलाई निकै द्विविधा भयो: म बाहिर गएँ भने समातिने खतरा छ, तर म घरमै बसेँ भने, अरू ब्रदर-सिस्टरले यी दुई सिस्टरको गिरफ्तारीका बारेमा सुन्ने छैनन्। मैले तुरुन्तै खबर नगरे उनीहरू पनि समातिने जोखिममा पर्नेछन्। यो बुझेर, मैले उनीहरूलाई भएका घटनाबारे जानकारी दिन जाने, अनि केही समय भेला नगर्न र परमेश्वरका वचनहरूका सबै किताब लुकाउन अनुरोध गर्ने निर्णयमा पुगेँ। फर्किएपछि मैले मनमनै सोचेँ—“अब त म फेरि बाहिर जान हुँदैनँ, धेरै नै जोखिमपूर्ण छ!” अचम्म्को कुरा, सोही दिन बेलुकीपख ब्रदर वाङ्ग बिन आए र मलाई अगुवाहरूले हाम्रो कामबारे छलफल गर्न सुरुमा उनकै घरमा भेला राखेको, तर श्रीमती भर्खरै पक्राउ परेको, अनि आफू चाहिँ पर्खाल नाघेर भागेर आएको बताए। ब्रदर वाङ्गले हामीले अगुवाहरूलाई उनको घर नजान जानकारी दिनुपर्छ भने। म झन् डराएँ, र आत्तिएर मेरा खुट्टा लडखडाउन थाले। मैले सोचेँ, “यदि प्रहरीहरूले तपाईंको पिछा गरेर निगरानी गरिरहेका छन् भने, म बाहिर निस्कनेबित्तिकै मलाई पक्कै समात्नेछन्! ती प्रहरीहरू परमेश्वरका चुनिएका मानिसहरूप्रति अत्यन्तै कठोर र निर्मम हुन्छन्, र मलाई पक्राउ गर्न उनीहरू निसाना साँधिरहेका छन्। यदि उनीहरूले मलाई समातेर पिटेर मारे भने, मैले फेरि कहिल्यै मेरो श्रीमान् र बच्चालाई देख्न पाउनेछैन!” प्रहरीबाट जसोतसो ज्यान जोगाएर भागेर आएका वाङ्ग बिनबाहेक, त्यहाँ अर्को एक जना एउटी वृद्ध सिस्टर मात्र थिइन्। ती सिस्टर लगभग ८० वर्षकी थिइन् र खासै हिँडडुल गर्न सक्दिनथिन्। त्यसमाथि, बाहिर झमक्कै रात परिसकेको थियो, त्यसैले, मैले नै अगुवाहरूकहाँ पत्र पुर्याउनु थियो। मैले हतारहतार परमेश्वरलाई प्रार्थना गरेँ र त्यसपछि मैले पढेको परमेश्वरको वचनको एउटा खण्ड सम्झेँ: “मानिसहरू वफादार नभएको कुरा तिनीहरूले कसरी सधैँ आफूलाई बचाउँछन्, केही आइपर्दा कछुवाले टाउको लुकाएझैँ पछि सर्छन्, र सबै साम्य भएपछि मात्र फेरि टाउको बाहिर निकाल्छन् भन्ने कुरामा प्रकट हुन्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ अत्यन्तै सजगता अपनाइरहेका हुन्छन्, तिनीहरूमा धेरै व्यग्रता, चिन्ता र डर हुन्छ, र तिनीहरू मण्डलीको कामको रक्षामा उभिन सक्दैनन्। यहाँ के समस्या छ? के यो आस्थाको कमी होइन र? तँसित परमेश्वरप्रति साँचो आस्था छैन, तँ परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्वास गर्दैनस्, र तँ तेरो जीवन र तेरो सबथोक परमेश्वरको हातमा छ भनेर विश्वास गर्दैनस्। तँ ‘परमेश्वरको अनुमतिविना, शैतानले तेरो शरीरको एउटा रौँ समेत हल्लाउने आँट गर्दैन’ भन्ने परमेश्वरको भनाइलाई विश्वास गर्दैनस्। तँ तैँले देखेकै कुराहरूको भरमा तथ्यहरूको मूल्याङ्कन गर्छस्, तँ आफ्नै आकलनका आधारमा कामकुराको मूल्याङ्कन गर्छस्, र सधैँ आफ्नो बचाउ गर्छस्। … परमेश्वरमाथि साँचो आस्था किन हुँदैन? के यो मानिसको अनुभव अति सतही भएर अनि तिनीहरूले यी कुराहरू छर्लङ्गै देख्न नसकेर हो, कि तिनीहरूले अत्यन्तै कम सत्यता बुझेर हो? कारण के हो? के मानिसहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध छ? के यो मानिसहरू अत्यन्तै धूर्त भएर हो? (हो।) तिनीहरूले जति नै कुराहरू अनुभव गरे पनि, तिनीहरूसामु जति धेरै तथ्यहरू प्रस्तुत गरे पनि, तिनीहरू यो परमेश्वरको काम हो, वा व्यक्तिको भाग्य परमेश्वरको हातमा हुन्छ भनेर विश्वास गर्दैनन्। यो एउटा पक्ष हो। अर्को अत्यन्तै ठूलो समस्या भनेको मानिसहरूले आफ्नो बारेमा अति धेरै ख्याल राख्नु हो। तिनीहरू परमेश्वर, उहाँको काम, परमेश्वरको घरका हितहरू, उहाँको नाम र उहाँको महिमाका निम्ति कुनै मूल्य चुकाउन वा कुनै त्याग गर्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो कुनै पनि काम गर्न इच्छुक हुँदैनन्, जसमा सानोभन्दा सानो खतरा हुन्छ। मानिसहरू आफ्नो बारेमा अति धेरै ख्याल राख्छन्! मृत्युको, अपमानको, दुष्ट मानिसहरूको पासो, र कुनै पनि खालको दुर्दशामा परिने डरले, मानिसहरू तिनीहरूको आफ्नै देहलाई बचाउन हरसम्भव प्रयास गर्छन्, आफूलाई कुनै खतरनाक परिस्थितिमा पर्न नदिने प्रयत्न गर्छन्। एकातिर, यो व्यवहारले मानिसहरू अत्यन्तै धूर्त हुन्छन् भन्ने देखाउँछ भने अर्कोतिर, यसले तिनीहरूको आत्मरक्षा र स्वार्थीपन प्रकट गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनहरूले गरेको न्याय र खुलासाले गर्दा म छट्पटिएँ। मलाई निकै लाज लाग्यो। म त ठ्याक्कै परमेश्वरले भनेको खालकै तरिकाले व्यवहार गरिरहेकी थिएँ। जब कुनै खतरा थिएन र सबै कुरा सहज रूपमा चलिरहेको थियो, तब म सधैँ के भन्ने गर्थेँ भने परमेश्वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, सबै कुरामा उहाँको नियन्त्रण छ, मानिसको भाग्य उहाँकै हातमा छ, र परिस्थिति जतिसुकै कठिन भए पनि, हामीले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र परमेश्वरको गवाहीमा दृढ रहनुपर्छ। अहिले आएर मैले के देखेँ भने म केवल नाराहरू मात्र लगाइरहेकी थिएँ र आफ्नो कर्तव्य निर्वाह गर्नु र परमेश्वरलाई सन्तुष्ट पार्नु मेरा आकाङ्क्षाहरू मात्र थिए। अगुवाहरू पक्राउ पर्ने खतरामा थिए अनि वाङ्ग बिनले मलाई एउटा पत्र उनीहरूकहाँ पुर्याइदिन भनेका थिए—थोरै पनि मानवता हुनेले मण्डलीको हितबारे सोच्नेथ्यो र तुरुन्तै पत्र पठाइदिनेथ्यो, तर म स्वार्थी र कपटी थिएँ र केवल आफ्नो सुरक्षाबारे सोचेँ। म जान चाहन्नथेँ किनभने मैले चिठी पठाएँ भने, मलाई पछ्याएर प्रहरीले समाउनेछ भन्ने डर थियो अनि म पक्राउ परेँ भने मलाई यातना दिइनेछ भन्ने चिन्ता थियो। यस्तो खतरनाक अवस्थामा, मैले परमेश्वरको घरको हित वा ब्रदर-सिस्टरहरूको सुरक्षाबारे अलिकति पनि सोचिनँ। म जीवनसँग टाँसिएँ र मृत्युसँग डराएँ, र जिउनका लागि जे आवश्यक थियो त्यही मात्र गरिरहेकी थिएँ। म त विश्वासी बन्न लायक पनि थिइनँ! यो कुरा बुझेर, म हिचकिचाउन छाडेँ अनि म तुरुन्तै आफ्नो स्कुटरमा पत्र लिएर अगुवाहरूकहाँ गएँ। पत्र पाएपछि, अगुवाहरू वाङ्ग बिनको घर गएनन्।
प्रहरीले गिरफ्तार गर्न छोडेको थिएन र ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ पर्दै थिए। मण्डलीका धेरैजसो ब्रदर-सिस्टरहरूले केही समयका लागि भेला बन्द गरे, तर केही नयाँ विश्वासीहरूलाई अझै पनि मेरो मलजल र सहयोगको खाँचो थियो। म अलिकति दोधारमा परेँ: गिरफ्तारीहरू लगातार भइरहेका कारण, भेलामा सहभागी हुन नपाएकाले नयाँ विश्वासीहरूले परमेश्वरको अभिप्राय बुझ्न नसकेर कुनै पनि बेला मण्डली छोड्न सक्थे। तर मैले प्रहरीले पक्राउ परेका ब्रदर-सिस्टरहरूलाई तस्बिरहरू देखाउँदै तिनमा भएका ब्रदर-सिस्टरहरू चिन्न बाध्य पारिरहेको सुनेँ। तीन जनासम्म ब्रदर-सिस्टरहरूलाई चिन्ने जो कोहीलाई पनि तिनले छाडिदिन्थे। कसैले मलाई चिन्छु भनिदिए भने, म निकै जोखिममा पर्ने थिएँ। यो कुरा बुझेर म अलिकति डराएँ। अनि मैले परमेश्वरका ती वचनहरू सम्झिएँ: “मानिसहरूले आफूले हासिल गर्न सक्ने कुरा हासिल गर्न सक्दो गर्नुपर्छ; बाँकी कुरा परमेश्वरले नै गर्नुहुन्छ, अर्थात् उहाँले आफ्नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ र सबै कुरा योजनाबद्ध गर्नुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। हामीले सबैभन्दा कम चिन्ता यही कुराको गर्नुपर्छ। हाम्रो पछाडि परमेश्वर हुनुहुन्छ। हाम्रो हृदयमा मात्रै परमेश्वर हुनुहुन्न, हाम्रो साथमा साँचो विश्वास पनि हुन्छ। यो आत्मिक सहयोग होइन; वास्तवमा, परमेश्वरले पछाडि बसेर काम गर्नुहुन्छ, र उहाँ मानिसहरूको पक्षमा हुनुहुन्छ, सधैँ तिनीहरूको छेउमै उपस्थित हुनुहुन्छ। जब मानिसहरूले कुनै कुरा गर्छन् वा कुनै कर्तव्य निभाउँछन्, तब उहाँले हेरिरहनुभएको हुन्छ; उहाँ तँलाई कुनै पनि समय र स्थानमा सहयोग गर्न, र जोगाउन र रक्षा गर्नको लागि त्यहीँ रहनुहुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा भनेको आफूले हासिल गर्नुपर्ने कुरा हासिल गर्न सक्दो गर्नु हो। यो तैँले गर्नुपर्ने कुरा हो, यो परमेश्वरले तँलाई दिनुभएको आज्ञा हो भन्ने कुरा जबसम्म तँलाई थाहा हुन्छ, जबसम्म तैँले हृदयमा महसुस गर्छस्, जबसम्म परमेश्वरका वचनहरूमा देख्छस्, जबसम्म तेरो वरिपरिका मानिसहरूले तँलाई याद दिलाउँछन्, वा जबसम्म तँलाई थाहा दिन परमेश्वरले कुनै सङ्केत वा साइत जुराउनुहुन्छ, तबसम्म तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र चुपचाप बस्नु हुँदैन वा तँ हात बाँधेर बस्नु हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२१))। परमेश्वरका वचनहरूले मलाई सान्त्वना र प्रेरणा दिए। मैले आस्थाको बोध महसुस गरेँ अनि यो जोखिमपूर्ण अवस्था मेरो परीक्षा लिने परमेश्वरको तरिका हो भनी थाहा पाएँ। मेरो हरेक बोली र चालचलन परमेश्वरले हेरिरहनुभएको थियो, अनि मैले जति नै पीडा सहनुपरे पनि, म बफादार रहनुपर्थ्यो र कुनै पनि व्यक्ति, घटना वा चीजबाट अवरोधित हुनु हुँदैनथ्यो। परमेश्वर मेरो बलियो आधार हुनुहुन्थ्यो, बाहिरी संसारमा जति नै खतरनाक वातावरण किन नहोस्, वा ठूलो रातो अजिङ्गर जति नै दुष्ट र पागलजस्तै किन नहोस्, ती सबै परमेश्वरकै हातमा थिए र उहाँको योजनाबद्ध कार्य र सार्वभौमिकताको अधीनमा थिए। परिस्थिति जति चरम र भयानक हुन्छ, त्यति नै मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, परमेश्वरको पक्षमा दृढ गवाही दिनुपर्छ र शैतानलाई लज्जित पार्नुपर्छ। यो कुरा बुझेपछि, मैले भेष बदलेँ र तुरुन्तै नयाँ विश्वासीहरूलाई मलजल गर्न बाहिर गएँ।
त्यसपछि, मण्डलीबाट एक-एक गर्दै दश जनाभन्दा बढी ब्रदर-सिस्टरहरू पक्राउ परे र अब म बस्नका लागि कुनै सुरक्षित आतिथ्य गृहहरू रहेनन्। सडकमा हिँड्दै गर्दा म पीडाले चिरिएजस्तै भएँ अनि मेरा आँखाबाट आँसु बगे। मैले सोचेँ, “यो भाग्दै-लुक्दै जिउने जीवनशैली कहिले सकिने हो? मेरा केही ब्रदर-सिस्टरहरू पक्राउ परिसकेका छन्, जबकि केही बेचिएका छन्। अहिले त कुनै पनि आतिथ्य घर सुरक्षित छैन, म कहाँ जान सक्छु त?” मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरी मेरा लागि बाटो खोलिदिन बिन्ती गरेँ। पछि, मैले उहाँका वचनहरूको यो खण्ड सम्झेँ: “तैँले सधैँ के याद राख्नैपर्छ भने परमेश्वर मानिसहरूको साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले केवल प्रार्थना गरेर उहाँबाट खोजी गर्नुपर्छ, अनि परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन। तँमा यो विश्वास हुनैपर्छ। तैँले परमेश्वर नै सबै थोकका सार्वभौम हुनुहुन्छ भन्ने विश्वास गर्ने भए पनि, किन आफूलाई केही आइपर्दा तँ अझै डर मान्छस् र आफूसँग भरोसायोग्य केही छैन भन्ने सोच्छस्? यसले प्रमाणित गर्छ कि तँ परमेश्वरमा भरोसा गर्दैनस्। यदि तैँले उहाँलाई तेरो आडभरोसा र तेरो परमेश्वरको रूपमा लिँदैनस् भने, उहाँ तेरो परमेश्वर हुनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई के सम्झाए भने उहाँले सम्पूर्ण कुरामा सार्वभौमिकता राख्नुहुन्छ र हामी परमेश्वरमा साँचो रूपमा निर्भर रहेसम्म, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ। यो बुझेपछि, ममा फेरि केही आस्था जाग्यो। म हिँड्दै गर्दा लगातार सोचिरहेँ अनि अचानक एउटा पुरानी सिस्टरको घर अझै केही हदसम्म सुरक्षित रहेको सम्झना आयो अनि म तुरुन्तै त्यतै लागेँ। ती सिस्टरले मलाई कुनै दोमन नगरी स्वीकार गरिन्। त्यतिबेला, कसरी परमेश्वर मानिसको अटल सहयोगी हुनुहुन्छ र कठिनाइको सामना गर्न परमेश्वरमा भर पर्नु मानिसको हातमा छ भनी राम्रोसँग बोध प्राप्त भयो।
एक दिन, नयाँ विश्वासीहरूलाई मलजल गरेपछि, म केही कुरा सोध्न पहिलाकै एक आतिथ्य घरमा गएँ। अचम्मको कुरा, होस्ट सिस्टरले मलाई उनको घरमा अहिले भर्खरै खानतलासी भएको र मलाई त्यहाँबाट गइहाल्न भनिन्। म हतारहतार एउटा सानो गल्ली हुँदै भागेँ। म मलाई कसैले पछ्याइरहेको छ कि भनी चिन्तित थिएँ र मेरो मुटु बेस्सरी धड्किरहेको थियो। मैले सोचेँ, “प्रहरीसँग मेरो जानकारी पहिल्यैदेखि छ। यसपालि म उनीहरूका हात परेँ भने, पक्कै पनि उनीहरूले मलाई कुटेरै मार्नेछन्!” जति सोचेँ, उति डर बढिरह्यो, र डरले मेरो मुटु घाँटीसम्म आइपुग्यो। मैले लगातार परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यसपटक म प्रहरीको हात परेँ भने पनि, तपाईंकै अनुमतिले हुनेछ। म समर्पित हुन तयार छु। कृपया मलाई आस्था, शक्ति र दुःख सहन सक्ने इच्छाशक्ति प्रदान गर्नुहोस्, ताकि म तपाईंप्रति गवाही दिन दृढ रहन सकूँ र शैतानलाई लज्जित बनाउन सकूँ।” प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्यो भने, ऊ मर्छ नै भन्ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्यो भने, ऊ जिउँछ नै भन्ने छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्वरको अख्तियार, परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “यदि तँ परमेश्वरका निम्ति के गर्न चाहन्छस्, कसरी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस्, र परमेश्वरका निम्ति कति समर्पण गर्न र मेहनत लगाउन चाहन्छस् भन्नेबारे नारा मात्र लगाउँछस् भने, त्यो बेकार हो। जब तँलाई वास्तविकता आइपर्छ, जब तँलाई जीवन बलिदान दिन भनिन्छ, तब तैँले अन्तिम क्षणमा आएर गुनासो गर्छस्-गर्दैनस्, तँ इच्छुक हुन्छस्-हुँदैनस्, तँ साँचो रूपमा समर्पित हुन्छस्-हुँदैनस्—यो तेरो कदको परीक्षण हो। यदि तँबाट तेरो जीवन खोसिनै लागेको क्षणमा, तँ ढुक्क हुन्छस्, इच्छुक हुन्छस्, र गुनासो नगरी समर्पित हुन्छस्, यदि तँलाई आफूले आफ्ना जिम्मेवारी, दायित्व र कर्तव्य अन्त्यसम्मै पूरा गरेको छु भन्ने लाग्छ, यदि तेरो हृदय खुसी र शान्त छ—यदि तँ यसरी जान्छस् भने, परमेश्वरका नजरमा, तँ बिलकुलै गएको हुँदैनस्। बरु, तँ अर्को क्षेत्रमा र अर्को स्वरूपमा जिइरहेको हुन्छस्। तैँले केही गरेको हुँदैनस् तर आफ्नो जिउनेशैली बदलेको मात्र हुनेछस्। तँ कुनै हालतमा साँच्चै मरेको हुँदैनस्। मानिसहरूलाई यस्तो लाग्छ, ‘यो व्यक्ति यस्तो कलिलो उमेरमै मऱ्यो, कति दुःखलाग्दो!’ तर परमेश्वरका नजरमा, तँ मरेको वा दुःख भोग्न गएको हुँदैनस्। बरु, तँ आशिषहरूको आनन्द उठाउन र परमेश्वरको अझ नजिक आएको हुन्छस्। किनभने, तँ सृजित प्राणीको नाताले, परमेश्वरका नजरमा मापदण्डअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्ने भइसकेको छस्, अब तैँले आफ्नो कर्तव्य पूरा गरेको छस्, परमेश्वर उप्रान्त तैँले सृष्टि गरिएको प्राणीका दर्जामा रहेर यो कर्तव्य निर्वाह गरेको चाहनुहुन्न। परमेश्वरका नजरमा, तँ ‘गएको’ लाई ‘गएको’ भनिँदैन, तँलाई ‘लगिएको,’ ‘ल्याइएको’ वा ‘डोऱ्याइएको’ हो, र यो राम्रो कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू मनन गर्दा मैले के बुझेँ भने मानिसको जीवन र मृत्यु उसको रोजाइअनुसार हुँदैन। कसैले म मर्न चाहन्छु भनेर मर्दैन वा म जिउन चाहन्छु भनेर बच्दैन। सबै कुरा परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणको अधीनमा छ। मैले के पनि बुझेँ भने सृजित प्राणीहरूले सृष्टिकर्ताद्वारा मानवजातिलाई दिने मुक्तिको सुसमाचार फैलाउन, र आफ्ना जिम्मेवारीहरू पूरा गर्न, अनि ठूलो रातो अजिङ्गरले पागलजस्तै ईसाईहरूलाई गिरफ्तार गर्ने प्रतिकूल वातावरणमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुँदा परमेश्वर प्रसन्न हुनुहुन्छ। मैले कसरी युगौँदेखि सन्तहरूले प्रभुको सुसमाचार फैलाउन आफ्नो बहुमूल्य जीवन बलिदान दिए भन्नेबारे सोचेँ। कसैलाई ढुङ्गा हानेर मारियो, त कसैलाई घोडाले घिसारेर मारियो—उनीहरूले धेरै किसिमका भयावह मृत्यु पाए। मानिसहरूले तिनको मृत्युलाई क्रूर र दुखद ठान्न सक्छन्, तर परमेश्वरले तिनका मृत्युलाई महत्त्वपूर्ण र बहुमूल्य ठान्नुहुन्छ। मेरो कुरा गर्ने हो भने, खतरनाक परिस्थितिको सामना हुँदा, म मृत्युदेखि डराएँ, आफ्नो जीवनलाई माया गरेँ, र मृत्यु वास्तवमा के हो र मृत्युको अर्थ के हो भनेर बुझ्न सकिनँ। म कुनै दिन साँच्चै प्रहरीको हात परेँ, मृत्युको डरले गर्दा मैले परमेश्वरलाई धोका दिएँ र यहूदा बनेँ भने, म सधैँका लागि पापी बन्थेँ, र मेरो शरीर, आत्मा र प्राण अनन्त सजायको भागीदार बन्थ्यो—त्यो वास्तविक मृत्यु हुनेथ्यो। ठूलो रातो अजिङ्गर जति नै क्रूर र दुष्ट भए पनि, त्यसले मान्छेको देहलाई मात्र तहसनहस गर्न सक्छ। यदि म साँच्चै पक्राउ परेर कुटिएर मारिएँ भने, त्यो मैले धार्मिकताका निम्ति सतावट सहेको हुने थियो। मेरो देह नष्ट भए पनि, मेरो आत्मा अझै परमेश्वरकै हातमा रहने थियो। यो कुरा बुझेर म मृत्युदेखि त्यति डराइनँ।
त्यसपछि, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ, जसमा लेखिएको छ: “परमेश्वरको व्यवस्थापन काम विस्तार गर्ने अवधिमा, परमेश्वरलाई पछ्याउने हरव्यक्तिले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ, र तिनीहरू सबैले बारम्बार ठूलो रातो अजिङ्गरको दमन र क्रूर सतावट भोगेका हुन्छन्। परमेश्वरलाई पछ्याउने मार्ग अप्ठेरो र असजिलो हुन्छ, र यो अत्यन्तै कठिन हुन्छ। परमेश्वरलाई दुईतीन वर्षभन्दा बढी पछ्याएको जोकोहीले यो अनुभव गरेको हुन्छ। हरव्यक्तिले निर्वाह गर्ने कर्तव्य, चाहे त्यो निश्चित कर्तव्य होस् वा अस्थायी बन्दोबस्त, त्यो परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूबाट आउँछ। मानिसहरू बारम्बार पक्राउ पर्लान्, अनि मण्डलीको काम बाधित होला र बिग्रिएला, अनि कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूको, विशेष गरी अल्पसङ्ख्यकमा रहेका राम्रो क्षमता र व्यावसायिक दक्षता भएकाहरूको स्पष्ट कमी होला, तर परमेश्वरको अगुवाइका कारण, उहाँको शक्ति र अख्तियारका कारण, परमेश्वरको घरले सबैभन्दा कठिन समयहरू पार गरिसकेको हुन्छ, र त्यसका सबै काम सही दिशामा पुगेको हुन्छ। मानिसका लागि, यो असम्भव देखिन्छ, तर परमेश्वरलाई यो गर्न कुनै गाह्रो हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू मनन गर्दा मैले एकदमै स्पष्टता पाएँ। परिस्थिति जति नै कठिन किन नहोस्, परमेश्वरले सधैँ आफ्नो अख्तियार र शक्ति प्रयोग गरेर मानिसहरूलाई कदम-कदम गरी अगुवाइ गर्नुभयो। उदाहरणका लागि, मोशाले इस्राएलीहरूको प्रस्थानको नेतृत्व गर्दा, लाल समुद्र तिनीहरूको अगाडि खडा थियो र पछाडि सिपाहीहरूको फौजको खेदो—मानिसहरूले आफ्नो धारणा र कल्पनामा इस्राएलीहरू अवश्यै मर्नेछन् भनेर विश्वास गर्थे—तर परमेश्वरले इस्राएलीहरूलाई हानि पुर्याउन ती सैनिकहरूलाई अनुमति दिनुभएन। परमेश्वरले मोशालाई आफ्नो लठ्ठीले लाल समुद्रतिर देखाउन आदेश दिनुभयो अनि समुद्रको पानी छुट्टियो, सुख्खा जमिनी मार्ग देखियो र इस्राएलीहरूले समुद्र पार गर्न पाए। जब सैनिकहरूले समुद्र पार गर्ने प्रयास गरे, समुद्रको पानी फर्केर सुख्खा जमिन ढाक्यो र पूरै सेनालाई डुबायो। यो घटनाले परमेश्वरको सर्वशक्तिमानता, बुद्धि र अद्भुत कार्यहरूलाई देखाउँछ। म सिस्टरको घरमा आधा घण्टा पहिले पुगेकी भए, सायद म पक्राउ परेकी हुने थिएँ, तर परमेश्वरको अद्भुत सुरक्षाका कारण म सकुशल बच्न सकेँ। यी सबै कुरा बुझेर मैले परमेश्वरसामु यदि उहाँले मलाई प्रहरीद्वारा समातिन दिनुभयो भने, म उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तमा आफूलाई समर्पण गर्न इच्छुक छु भनी सङ्कल्प गरेँ। मलाई पिटेरै मारियो भने, यो धार्मिकताका निम्ति सतावट हुनेथ्यो र अर्थपूर्ण रहनेथ्यो। यी सबै कुरा बुझेपछि, मैले केही शान्ति महसुस गरेँ। मलाई कसैले पछ्याइरहेको छैन भन्ने निश्चित भएपछि, मैले तुरुन्तै जोखिममा रहेका ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेँ र लुक्न भनेँ।
यस व्यक्तिगत अनुभवबाट, मैले चिनियाँ कम्युनिस्ट पार्टी भनेको मानवजातिलाई तहसनहस पार्ने र नोक्सान पुर्याउने राक्षस हो भनेर देखेँ। यसले एक-एक गरी ब्रदर-सिस्टरहरूलाई पक्राउ गर्यो, र परमेश्वरलाई धोका दिने र एकअर्कालाई बेच्ने बनाउनका लागि धम्क्याउने, प्रलोभन देखाउने, यातना दिनेजस्ता सबै किसिमका घृणास्पद चालहरू प्रयोग गर्यो। यो श्रापित छ र दुष्टताको स्वरूप हो! मैले यसलाई भित्री हृदयबाटै घृणा गरेँ र त्यसविरुद्ध विरोध गरेँ। साथै, मैले अन्तसम्मै परमेश्वरलाई पछ्याउने आफ्नो दृढ सङ्कल्पमा अझ दृढ महसुस गरेँ। यस अनुभवका क्रममा, केही पीडा, डर र त्रासको सामना गर्नु परे तापनि, यसबाट गुज्रँदा मलाई मेरो स्वार्थी, घृणित शैतानी प्रकृति चिन्न मद्दत पुग्यो र मलाई परमेश्वरको सर्वशक्तिमानता, सार्वभौमिकता र चमत्कारी कार्यहरू देख्न अनुमति मिल्यो। यो मेरो एउटा अविस्मरणीय अनुभव हो, र यसले मलाई अमूल्य जीवन अनुभव दिएको छ।