४. अब मलाई मेरो भद्दा बोलीका कारणले हीनताबोध हुँदैन
सानैदेखि, म तुलनात्मक रूपमा अन्तर्मुखी थिएँ र आफूलाई राम्रोसँग व्यक्त गर्न सक्दिनथेँ। अपरिचित व्यक्तिहरूसँग कुराकानी गर्दा, मसँग बोल्ने त्यति आँट हुँदैनथ्यो, धेरै मानिसहरूका बीचमा हुँदा, म निकै घबराउँथेँ। मलाई सधैँ मैले स्पष्ट रूपमा आफ्नो कुरा व्यक्त गर्न सक्दिनँ र आफूलाई हाँसोको पात्र बनाउँछु कि भन्ने डर हुन्थ्यो। यसकारण, म प्रायः अरूभन्दा हीन महसुस गर्थेँ। सन् २०२३ को अगस्टमा, मण्डलीले मलाई नवआगन्तुकहरूलाई मलजल गर्ने प्रबन्ध मिलाइदियो। यो कर्तव्य पूरा गर्नका लागि मैले बारम्बार नवआगन्तुकहरूसँग सङ्गति गर्नुपर्थ्यो, र मैले अरू मलजल गर्ने व्यक्तिहरूसँग पनि कुराकानी गर्नुपर्थ्यो। यस्ता परिस्थितिहरूको सामना गर्दा, म बारम्बार घबराउँथेँ, र मलाई जब मेरो सङ्गति गर्ने पालो आउँछ, तब मैले स्पष्ट रूपमा बोल्नेछैन, र त्यसपछि ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्लान् भन्ने डर हुन्थ्यो?
एकपटक, मसँग सहकार्य गर्ने सिस्टर स्टेसीले मलाई नवआगन्तुकहरूसँग सङ्गति गर्न लगिन्। त्यहाँ ४० वा ५० जना जति मानिसहरू थिए। जब मैले यो दृश्य देखेँ, म नघबराई बस्न सकिनँ। त्यहाँ धेरै नै मानिसहरू थिए। यो भीडको अगाडि राम्रोसँग सङ्गति नगर्दा त्यो कस्तो लाजमर्दो कुरा हुने थियो! उनीहरूले सोच्ने थिए, “यदि तिमी यस्तो छौ, बुझिने गरी बोल्न पनि सक्दैनौ भने, के तिमीले साँच्चै हामीलाई मलजल गर्न सक्छौ?” के उनीहरूले मलाई होच्याउने थिएनन् र? यो सोचेर, म शान्त हुन सकिनँ, र मेरो हृदय निकै हडबडायो। विशेषगरी जब मैले स्टेसीको सङ्गतिमा उनको सोचाइ प्रस्ट भएको र उनको विषयसामग्री व्यावहारिक भएको देखेँ, तब मलाई उनको निकै डाह लाग्यो। म निकै चिन्तित पनि थिएँ, र मलाई डर थियो कि, त्यहाँ यति धेरै मानिसहरू भएकाले, म घबराउनेबित्तिकै मेरो दिमाग खाली हुनेछ र मैले केही पनि सङ्गति गर्न सक्नेछैन। त्यो कति लाजमर्दो हुने थियो? नवआगन्तुकहरूले मेरा बारेमा के सोच्ने थिए? यो सोचेर, मैले नबोल्ने निर्णय गरेँ। मैले त श्रोताको भूमिका मात्र खेल्ने भएँ! त्यसैले, मैले एक शब्द पनि नबोली पूरै सङ्गति सकियो। जब म अरू मलजल गर्ने व्यक्तिहरूसँग भेला हुन्थेँ, म पनि यस्तै हुन्थेँ। उनीहरू सबैले तुलनात्मक रूपमा आफ्ना कुरा राम्रोसँग व्यक्त गर्न सक्ने देखेर, मलाई ईर्ष्या लाग्थ्यो। मेरो आत्म-अभिव्यक्ति असन्तोषजनक र सार्वजनिक रूपमा प्रस्तुत गर्न अयोग्य छ भन्ने सोचेर, बोल्दाखेरि मेरो आत्मविश्वास झनै कम हुन्थ्यो। म धेरै अवसादी हुन्थेँ, र सोच्थेँ, “हामी सबै मलजल गर्ने कर्तव्य पूरा गरिरहेका छौँ, त्यसोभए हामीबीचको अन्तर कसरी यति ठूलो हुन सक्छ? म कहिल्यै केही बोल्दिनँ; के उनीहरूले म पटक्कै सङ्गति गर्न सक्दिनँ र म त केही काम नलाग्ने रहेछु भनी सोच्नेछैनन् र?” म थोरै नकारात्मक थिएँ, र मैले यस्तोसम्म सोचेँ, “जब मेरा लागि मलजल गर्ने कर्तव्यको प्रबन्ध गरियो, के त्यो गल्ती थिएन र? यो कर्तव्य निर्वाह गर्नका लागि, व्यक्तिले सत्यतामा सङ्गति गर्न सक्नुपर्छ र आफ्नो कुरा राम्रोसँग व्यक्त गर्न सक्नुपर्छ। म यति अस्पष्ट वक्ता छु कि मलाई म यो कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने डर छ।” तर त्यसपछि मैले सोचेँ कि कुन चरणमा कसले कुन कर्तव्य निर्वाह गर्छ भन्ने कुरा परमेश्वरले निर्धारण गर्नुहुन्छ, र म उहाँको रगत-पसिनाको अयोग्य बन्न चाहन्नथेँ। तर भविष्यमा मैले प्रायः धेरै मानिसहरूको अगाडि बोल्नुपर्ने हुन्छ; म के गरूँ? ती केही दिनहरू, म हरेक दिन कष्टमा जिइरहेकी थिएँ, र त्यो मनोवस्थाबाट उम्कन सकिरहेकी थिइनँ।
एक दिन, मैले एउटी सिस्टरलाई आफ्नो अवस्थाबारे बताएँ, र उनले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्न लगाइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँलाई जीवनमा प्रायजसो आरोपित महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्ने, सत्यतालाई विश्वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्ने सम्भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरका वचनहरूले मेरो साँचो अवस्था खुलासा गरेका थिए, र मैले म यस समयमा किन यति धेरै पीडामा थिएँ भन्ने कुरा बुझेँ। त्यो किन थियो भने म सधैँ आडम्बर र घमण्डको स्थितिमा जिइरहेकी थिएँ र सत्यता अभ्यास गरिरहेकी थिइनँ। चाहे म नवप्रवेशीहरूसँग भेला भइरहेकी होऊँ वा मलजल गर्ने व्यक्तिहरूसँग कुराकानी गरिरहेकी होऊँ, म साँचो रूपमा आफ्नो कुरा व्यक्त गर्ने आटँ गर्दिनथेँ, र यदि मैले राम्रोसँग सङ्गति गरिनँ भने अरूले मलाई हेप्नेछन् भनेर मलाई सधैँ डर लाग्थ्यो। मैले बारम्बार सोचेँ र म आफ्नो आडम्बर र घमन्डबारे चिन्ताले भरिएकी थिएँ, र मैले आफ्ना घमन्ड र स्वार्थका बारेमा मात्र सोचेँ। म केवल असह्य पीडामा थिएँ किनकि मेरो पूरा दिन भ्रष्ट स्वभावमा जिएरै जान्थ्यो। परमेश्वरका वचनहरू पढेर, मैले आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ।
केही दिनपछि, सुपरिवेक्षकले भनिन् कि त्यसपश्चात, हामी मलजल गर्नेहरूबीचको सञ्चारको नेतृत्व पालैपालो गर्नेछौँ। यी शब्दहरू सुनेर, म फेरि नघबराई बस्न सकिनँ, र मैले सोचेँ, “अब, म आफूले जस्तै कर्तव्य निर्वाह गर्ने ब्रदर-सिस्टरहरूको सामना गर्दैछु। उनीहरू जम्मा ११ जना छन्। दर्शनसम्बन्धी सत्यताहरूमा मेरो सङ्गति पहिल्यै उनीहरूको जस्तो राम्रो छैन, र अब मैले भेलाहरूको समेत जिम्मेवारी लिनुपर्नेछ। मैले आफ्नो कुरा व्यक्त गर्न नसक्ने भएकाले, यदि सङ्गति गर्ने समयमा म घबराएँ र मैले भकभकाउँदै र अड्किँदै बोलेँ अनि मेरो सोचाइ अस्पष्ट भयो भने, सबैले मेरा बारेमा के सोच्लान्?” केही दिनपछि, भेला हुने दिन आयो, र सुपरिवेक्षकले मलाई फोन गरेर सहभागी हुन आग्रह गरिन्। मैले भेलाको नेतृत्व गरिरहेकी थिइनँ, तैपनि म भित्री रूपमा सङ्घर्ष गरिरहेकी थिएँ। मलाई डर थियो कि यदि म गएँ र मलाई सङ्गति गर्न भनियो भने, मैले केही पनि बोल्न सक्नेछैन, र त्यो सबैभन्दा ठूलो अपमान हुनेछ, त्यसैले मसँग सहभागी हुने आँट थिएन। त्यसपछिका कैयौँ दिनसम्म, मलाई हृदयमा ढुङ्गा अड्किएको र सास फेर्न नसकेको जस्तो महसुस भयो। मैले त्यो दिन जसोतसो टारेकी भए पनि के मैले सधैँभरि यसरी नै टारिरहन सक्नेथिएँ त? मैले सोचेँ कि सायद म साँच्चै मलजल गर्ने कर्तव्यका लागि उपयुक्त छैन, तर जब मैले छोड्ने सोचेँ, तब मलाई आफैँप्रति खेद महसुस भयो, र लाग्यो कि म परमेश्वरप्रति ऋणी छु। जब मैले परमेश्वरका यी वचनहरू पढेँ, त्यसपछि मात्र मेरो स्थिति बदलियो। परमेश्वरका वचनहरूले भन्छन्: “कतिपय मानिसहरू सानैदेखि निकै अन्तर्मुखी हुन्छन्; तिनीहरूलाई कुरा गर्न मन पर्दैन र अरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। तीस-चालीसको दशकमा पुगेका वयस्क अवस्थामा पनि, तिनीहरू अझै पनि यो व्यक्तित्वलाई जित्न सक्दैनन्: तिनीहरू अझै पनि बोल्नमा सिपालु हुँदैनन् वा शब्दहरू चलाउन सिपालु हुँदैनन्, न त तिनीहरू अरूसँग सङ्गत गर्नमा नै सिपालु हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यो व्यक्तित्वको विशेषताले निश्चित हदसम्म तिनीहरूको कामलाई सीमित र अवरोध गर्छ, र यसले प्रायजसो तिनीहरूलाई हैरान र निराश तुल्याउँछ, तिनीहरूलाई अत्यन्तै बन्धनमा परेको महसुस गराउँछ। अन्तर्मुखी हुनु र बोल्न नचाहनु सामान्य मानवताको प्रकटीकरणहरू हुन्। ती सामान्य मानवताका प्रकटीकरणहरू भएका हुनाले, के तिनलाई परमेश्वरप्रतिका अपराधहरू मानिन्छ? अहँ, ती अपराधहरू होइनन्, र परमेश्वरले तिनलाई सही रूपमा लिनुहुनेछ। तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ। त्यसकारण, सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, सामान्य मानवताको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानीबेहोरा, र जिउने शैली जस्ता आधारभूत अवस्थाहरूलाई तँलाई प्रतिबन्धित गर्न नदे। … तेरो मूल व्यक्तित्व जेसुकै भए पनि, त्यो तेरो व्यक्तित्व नै रहन्छ। मुक्ति प्राप्त गर्नका लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्; यो भ्रमपूर्ण विचार हो—तँमा जुनसुकै व्यक्तित्व भए पनि, त्यो वस्तुगत तथ्य हो, र तँ त्यसलाई परिवर्तन गर्न सक्दैनस्। यसका वस्तुगत कारणहरूका हिसाबमा भन्दा, परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने नतिजासँग तेरो व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा पनि तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। यसका साथै, तँ सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता भएको व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। त्यसकारण, तैँले निश्चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्वर तैँले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तैँले उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्ने कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ। परमेश्वर यही कुरा हेर्नुहुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ?” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेर, म धेरै प्रभावित भएँ, र मैले केही हदसम्म स्वतन्त्र महसुस गरेँ। मैले बुझेँ कि परमेश्वरले मानिसहरूको नैसर्गिक प्रवृत्ति र व्यक्तित्वलाई होइन, बरु उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्न चाहनुहुन्छ। व्यक्तित्वका कमजोरीहरू सामान्य मानवताका प्रकटीकरण हुन् जसलाई परमेश्वरले निन्दा गर्नुहुन्न। मेरो सधैँ एउटा निश्चित धारणा थियो; मलाई लाग्थ्यो कि म अन्तर्मुखी छु र आफ्नो कुरा राम्रोसँग व्यक्त गर्न सक्दिनँ, र म मलजल गर्ने कर्तव्यका लागि उपयुक्त छैन। जबजब म बहिर्मुखी र आफूलाई राम्रोसँग व्यक्त गर्न सक्ने मानिसहरूसँग भेट्थेँ, मलाई बन्धनमा परेको जस्तो महसुस हुन्थ्यो, र मैले राम्रोसँग आफ्नो कुरा व्यक्त गरिनँ भने मानिसहरूले मेरा बारेमा के सोच्लान् भनेर मलाई सधैँ डर लाग्थ्यो। म हीन महसुस गर्थेँ र लजाउँथेँ, र यो कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने झनै बढी महसुस गर्थें। वास्तवमा, यो मेरो विकृत धारणा रहेछ। विगतमा अन्य कर्तव्यहरू निर्वाह गर्दाको समयलाई सम्झँदा, त्यो समयमा, मैले लगनका साथ परमेश्वरका वचनहरू मनन गर्ने प्रयास गरेकी थिएँ, र लगनका साथ आफ्नो कर्तव्य पूरा गर्दा, मैले केही नतिजाहरू हासिल गर्न सकेँ। भेला हुँदा र सङ्गति गर्दा, मैले केही अन्तर्दृष्टि र ज्योति पनि पाएँ। मैले अरूले जस्तो राम्रोसँग आफ्नो कुरा व्यक्त गर्न नसके पनि, मैले पटक्कै केही पनि स्पष्ट रूपमा व्यक्त गर्न नसक्ने भन्ने थिएन। वास्तवमा, परमेश्वरले मलाई दिनुभएको कुरा पर्याप्त थियो। मुख्य कुरा यो थियो कि, म आडम्बर र घमन्डको बन्धनमा परेकी थिएँ, र मलाई आफूले नराम्रोसँग सङ्गति गरेमा हाँसोको पात्र बन्ने डर थियो। मैले सधैँ आफ्नो अन्तर्मुखी स्वभाव र बोल्न नजान्नुलाई बहानाका रूपमा प्रयोग गरेँ, र आफ्नो कर्तव्यमा रहेका यी कठिनाइहरू कसरी समाधान गर्ने भनेर मनन गरिनँ, आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्ने त कुरै छोडौँ। म आफ्नो आडम्बर र घमन्डमा जिएँ, त्यसबाट उम्कन सकिनँ। परमेश्वरका वचनहरूले मलाई बुझाए कि समस्या समाधान गर्ने मेरो शैली गलत छ, र म अन्तर्मुखी र आफ्नो कुरा राम्रोसँग व्यक्त गर्न नसक्ने भएकोले मैले सधैँ हीन र नकारात्मक महसुस गर्नुहुँदैन, किनकि व्यक्तिको व्यक्तित्व परमेश्वरद्वारा निर्धारित हुन्छ र यसलाई परिवर्तन गर्न सकिँदैन, र यो भ्रष्ट स्वभाव होइन। मैले गर्न सक्ने भनेको केवल सत्यता पछ्याउनु, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु, र अब उप्रान्त आडम्बर र घमन्डले नबाँधिनु थियो। यसरी, म निश्चिन्त र स्वतन्त्र हुनेथिएँ। पछि, मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेँ, र आफ्ना व्यक्तित्वका कमजोरीहरूलाई स्विकारेँ र सामना गरेँ। जुन क्षेत्रहरूमा म काम गर्न सक्षम थिएँ, तिनमा मैले कदम चाल्न सक्दो प्रयास गरेँ, र जुन क्षेत्रमा म कमजोर थिएँ, त्यसमा मैले आफूसँग सहकार्य गर्ने सिस्टरहरूसँग मिलेर काम गरेँ र उनीहरूबाट आफ्ना कमीकमजोरीलाई पूर्ति गर्न सिकेँ। म त्यस उप्रान्त आफू अन्तर्मुखी र राम्रो बोल्न नजान्ने भएको कारण हीन र दुःखी महसुस गर्दिनथेँ।
पछि, जब मैले आफ्नो स्थितिबारे एउटी सिस्टरसँग कुरा गरेँ, तब उनले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्न लगाइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले यो कुरा खुलासा गर्नुभयो कि ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी ख्याल गर्ने कुराचाहिँ तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो। तिनीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवनभन्दा पनि महत्त्वपूर्ण ठान्छन्। फर्केर हेर्दा, मेरो पनि त्यस्तै स्थिति थियो। वास्तवमा, नवप्रवेशीहरूसँग भेला हुँदा, मैले होसियारीसाथ परमेश्वरका वचनहरू मनन गरेर आफूले बुझ्न सक्ने अंशहरूमा सङ्गति गर्नु मात्रै पर्थ्यो। तर, मैले त्यसो गरिनँ। जब मैले नवप्रवेशीहरूलाई देखेँ, मेरो ध्यान परमेश्वरका वचनहरू मनन गर्ने वा उनीहरूका समस्याहरू कसरी समाधान गर्ने भन्नेमा भन्दा पनि, कसरी सङ्गति गरूँ ताकि मैले उनीहरूको हृदयमा मेरो राम्रो छवि बनोस् भन्ने कुरामा केन्द्रित हुन्थ्यो। यदि मैले राम्रोसँग आफ्नो कुरा व्यक्त गरिनँ र सङ्गति गरिनँ भने अरूले मेरा बारेमा के सोच्लान् भनी सोच्दा, मेरो मन खुम्चिन्थ्यो र म सङ्गति गर्ने आँट गर्दिनथेँ। अरू मलजल गर्ने व्यक्तिहरूसँग भेला हुँदा र कुराकानी गर्दा पनि यस्तै हुन्थ्यो। जब उनीहरू सबैले मैलेभन्दा राम्रोसँग आफ्नो कुरा व्यक्त गरेको देखेँ, तब मैले आफ्ना कमजोरीहरू सुधार्न उनीहरूबाट सिक्ने र उनीहरूसँग कुराकानी गर्नेबारे सोचिनँ, बरु मैले राम्रोसँग आफ्नो कुरा व्यक्त नगर्दा वा सङ्गति नगर्दा उनीहरूले मेरा बारेमा के सोच्लान् भन्नेबारे सोचेँ। जब म केही बोल्दिनथेँ, तब पनि म उनीहरूले मेरा बारेमा के सोच्ने हुन् भनेर चिन्ता लिन्थेँ। जब म केही हदसम्म आडम्बर र घमन्डको जञ्जिरमा बाँधिन्थेँ, तब म समस्याहरू समाधान गर्न तुरुन्तै सत्यता खोज्दिनथेँ, बरु अरूले मेरो भित्री कुरा थाहा पाउलान् कि भनेर डराउँथेँ। मानिसहरूले मलाई केही काम नलाग्ने भन्नुभन्दा म बरु यो कर्तव्य नै निर्वाह गर्दिनथिएँ। यसरी, मैले कम्तीमा आफ्नो एक थोपा इज्जत जोगाउन सक्थेँ। मैले के देखेँ भने, चाहे म बोलूँ वा चुप लागूँ, र चाहे म मानिसहरूको जुनसुकै समूहमा होऊँ, म जहाँ भए पनि आफ्नै आडम्बर र घमन्डबारे मात्रै ख्याल गरिरहेकी थिएँ। आज मैले महसुस गरेको पीडा, नकारात्मकता र हीनताबोध, सबै मेरो आफ्नै आडम्बर र घमन्डका कारणले भएको थियो। यो मैले मानिसहरूको अगाडि आफ्नो अनुहार देखाउन नसकेकाले भएको थियो, र आफ्नो घमन्ड पूरा गर्न नसकेकाले मैले आफ्नो कर्तव्यसमेत त्याग्न चाहेकी थिएँ। मलाई याद आयो, सानो छँदा मेरा आमाबुबाले मलाई अक्सर “इज्जत अमूल्य हुन्छ” भन्नुहुन्थ्यो। यस्तो शैतानी विषबाट प्रभावित भएकीले, म जोसुकैसँग कुराकानी गर्दा पनि सधैँ उनीहरूमा राम्रो छाप छोड्न चाहन्थेँ, र यदि मैले उनीहरूलाई म उच्च भएको ठान्न लगाउन सकिनँ भने, कम्तिमा मलाई हेप्नचाहिँ दिन सक्दिनथेँ। चाहे विद्यालयका होऊन्, कामका होऊन्, वा मेरो कर्तव्यका होऊन्, जुन मानिसहरूसँग भए पनि म यस्तै हुन्थेँ, र जब प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना पूरा हुँदैनथ्यो, तब मलाई आफ्नो ज्यानै गएजस्तो लाग्थ्यो। मैले देखेँ कि मैले जे प्रकट गरेकी थिएँ, त्यो ख्रीष्टविरोधीहरूको स्वभाव थियो। यति कुरा बुझेपछि, मैले यो पनि बुझेँ कि परमेश्वरले मेरा लागि यस्तो व्यक्तित्व निर्धारण गर्नुको पछाडि उहाँको रगत-पसिना लुकेको छ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूले शैतानका भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनको सारका रूपमा बोकेका हुन्छन्; अर्थात्, तिनीहरू सबै आफ्ना भ्रष्ट स्वभावअनुसार जिउँछन्, र तिनीहरूको जीवन तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा शासित हुन्छ। यसको साथै, यदि कुनै व्यक्तिले राम्रो वा असाधारण क्षमता राख्छ, र सबै क्षेत्रमा उसका क्षमताहरू पूर्ण, सिद्ध र खोटरहित छन् भने, यसले उसका भ्रष्ट स्वभावहरूलाई बढावा दिनेछ। यसले उसका भ्रष्ट स्वभावहरूको असीमित रूपमा बढोत्तरी गर्नेछ, तिनलाई अनियन्त्रित बनाउनेछ, र त्यस व्यक्तिलाई अझ बढी अहङ्कारी, हठी, छली, र दुष्ट बनाउनेछ। उसले सत्यता स्विकार्नुको कठिनाइ बढ्नेछ, र उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने कुनै उपाय हुनेछैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरू पढेर, मैले बुझेँ कि यदि म स्पष्टवक्ता, आफ्नो कुरा धेरै राम्रोसँग व्यक्त गर्न सक्ने, र सबै प्रकारका परिस्थितिहरूलाई सजिलै नियन्त्रण गर्न सक्ने, सबैको ध्यानको केन्द्र बन्ने र अरूबाट सम्मानित हुनेथिएँ भने, पक्कै पनि आफूसँग मख्ख परेर मैले खुसीमा होश गुमाउनेथिएँ। म आफ्नो कुरा राम्रोसँग व्यक्त गर्नमा सिपालु नभएकै कारणले गर्दा, मैले कठिनाइहरूका बीचमा परमेश्वरमा भरोसा राख्न र उहाँलाई हेर्न, साथै आफ्नै कमजोरी र अयोग्यता, आफ्नो तुच्छता र अस्पष्ट बोलाइ देख्न सकेकी हुँ, र त्यसकारण, म धेरै अहङ्कारी हुने आँट गर्दिनँ। म प्रतिष्ठा र हैसियतप्रति यति धेरै आसक्त थिएँ, तैपनि म वाक्पटु थिइनँ र आफ्नो कुरा राम्रोसँग व्यक्त गर्न सक्दिनथेँ। मसँग यति ठूला कमजोरीहरू थिए तर म अरूले मेरो बारेमा के सोच्छन् भन्ने कुरामा यति धेरै वास्ता गर्थेँ। यदि म बोल्न सिपालु हुन्थेँ भने, म झन्-झन् अहङ्कारी मात्र बन्नेथिएँ, परमेश्वरले मलाई राम्रो वक्ता बन्ने सीप नदिएर ठूलो सुरक्षा दिनुभयो!
पछि, मैले परमेश्वरका वचनहरू अझ बढी पढेँ: “तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ मानवताका खराबी र कमीहरूबाट जोगिन सक्छस्, तर तँ सत्यता पछ्याउने मार्गबाट कहिल्यै जोगिन सक्दैनस्। तेरो मानवता जति नै सिद्ध वा कुलीन भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “यदि तैँले हरेक दिन खाली समयमा सोच्ने सबथोक आफ्नो भ्रष्ट स्वभाव कसरी सुल्झाउने, कसरी सत्यता अभ्यास गर्ने, अनि कसरी सत्यता सिद्धान्तहरू बुझ्ने भन्नेसँग सम्बन्धित छ भने, तैँले परमेश्वरका वचनहरूअनुसार आफ्ना समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्न सिक्नेछस्। यसरी तैँले स्वतन्त्र रूपले जिउने क्षमता प्राप्त गर्नेछस्, तँमा जीवन प्रवेश हुनेछ, तैँले परमेश्वरलाई पछ्याउनमा ठूला कठिनाइहरू सामना गर्नेछैनस्, अनि तँ क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस् भने, र अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्ग हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुरा हो, त्यो ख्याति, प्राप्ति, र हैसियत हो—र त्यो अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, त्यो सबै दुष्कर्म र श्रम हो। यदि तँ आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्छस्, अनि सधैँ सत्यताको लागि लागिपर्छस् भने, यदि तँ स्वभाव परिवर्तन पछ्याउँछस्, र परमेश्वरप्रतिको साँचो समर्पण हासिल गर्न, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छस् भने, अनि यदि तँ आफूले गर्ने हरेक कुरामा संयमित छस्, र परमेश्वरको छानबीन स्विकार्न सक्छस् भने, तेरो स्थितिमा सुधार आइरहनेछ, अनि तँ परमेश्वरसामु जिउने व्यक्ति बन्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि जो सत्यता पछ्याउँदैनन्, उनीहरूले जतिसुकै राम्रोसँग आफ्नो कुरा व्यक्त गरे पनि, उनीहरू जतिसुकै बोल्न सिपालु भए पनि, वा उनीहरूलाई जतिसुकै मानिसहरूले उच्च ठाने पनि, उनीहरू परमेश्वरद्वारा अनुमोदित हुनेछैनन्। परमेश्वरले मानिसहरूका कमीकमजोरीहरू के-के हुन् भनेर हेर्नुहुन्न, बरु उनीहरूले सत्यता पछ्याउन, उहाँप्रति समर्पित हुन, र उहाँको डर मान्न सक्छन् कि सक्दैनन् भनेर हेर्नुहुन्छ। मैले नवप्रवेशीहरूलाई मलजल गर्ने कर्तव्य निर्वाह गर्नमा परमेश्वरको अभिप्राय यो थियो कि मैले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याऊँ, चाहे नवप्रवेशीहरूको सामना गर्दा होस् वा मलजल गर्ने व्यक्तिहरूको, मैले आफ्नो जिम्मेवारी पूरा गरूँ, र साथसाथै, मैले नवप्रवेशीहरूका कठिनाइ र समस्याहरू कसरी समाधान गर्ने भनेर पनि खोजूँ ताकि उनीहरूले चाँडो साँचो मार्गमा जग बसाल्न र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। तर, जब म नवप्रवेशी र मलजल गर्ने व्यक्तिहरूको अगाडि आउँथेँ, मैले हरेक दिन सोच्ने कुरा मेरो आफ्नै आडम्बर र हैसियत थियो। यो परमेश्वरले बताउनुभएको सत्यता पछ्याउने र त्यसलाई प्रेम गर्ने मानिसहरू हिँड्ने मार्गको पूरै विपरीत थियो। यसरी, म परमेश्वरका मागहरूबाट झन्-झन् टाढिनेथिएँ, र उहाँले अन्ततः मलाई हटाउनुहुनेथियो। तबदेखि, परमेश्वरका वचनहरूले भनेअनुसार, मैले आफ्नो कर्तव्यमा र आफ्नै भ्रष्ट स्वभाव समाधान गर्नमा मन लगाउन सचेत रूपमा आफूलाई प्रशिक्षित गर्न थालेँ, साथै सत्यता सिद्धान्तहरू खोज्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा ध्यान केन्द्रित गरेँ। पछि, जब हामीले पालैपालो भेलाहरूको जिम्मेवारी लिन थाल्यौँ, त्यस उप्रान्त मैले पन्छिने विकल्प रोजिनँ। मलाई थाहा थियो कि भेलाहरूको अगुवाइ गरेर, मैले आत्म-अभिव्यक्तिमा आफूलाई प्रशिक्षित गर्न र त्यसलाई सुधार्न, आफ्नो कमीलाई पूर्ति गर्न, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छु, र त्यसैले मैले विश्वास र शक्ति दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरेँ। म अरूले मेरा बारेमा के सोच्छन् भन्ने कुरामा ध्यान केन्द्रित गर्दिनथेँ; परमेश्वरले मलाई मूल रूपमा जे दिनुभयो र म आफैले जे हासिल गर्न सक्छु, त्यसलाई स्वतन्त्र रूपमा व्यक्त गर्नु नै मेरा लागि पर्याप्त हुनेथियो। जब मेरो सङ्गति गर्ने पालो आयो, मैले आफूले बुझेका कुरामा शान्तिपूर्वक सङ्गति गरेँ, र केही त्यस्ता कुराहरू पनि व्यक्त गरेँ जुन मैले व्यक्त गर्न तयार गरेकी थिइनँ; म अब आफ्नो इज्जतको बन्धनमा थिइनँ।
यो अनुभव गरेर, मैले थाहा पाएँ कि मलाई अवसाद र पीडामा पार्ने कुरा मेरो अस्पष्ट बोली थिएन, बरु मेरो प्रतिष्ठा र हैसियतको पछ्याइ थियो। अस्पष्ट वक्ता हुनु र आफ्नो कुरा राम्रोसँग व्यक्त नगर्नु मानवताको एउटा कमजोरी हो, तर यो घातक रोग होइन। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा समस्या वा कठिनाइहरू आइपर्दा आफ्नो मनलाई सत्यताको पछ्याइमा र सत्यता सिद्धान्तहरूको खोजीमा लगाउनु; यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।