५. के “आफूप्रति कठोर र अरूप्रति सहनशील हुनु” साँच्चिकै एउटा सद्गुण हो?
पहिले, म सधैँ सोच्थेँ, म अरूप्रति सहनशील र उदार हुनुपर्छ, अरूको भावनाको ख्याल गर्ने र कठिनाइ बुझ्ने हुनुपर्छ। म अरूलाई असहज बनाउनुको साटो आफैलाई असहज बनाउथेँ, किनभने उदार, असल चरित्र भएका भद्र मानिसले यही गर्छन् भन्ने मलाई लाग्थ्यो। पछि, मैले भिडियो निर्माणको सुपरिवेक्षणको काम थाल्दा, टोली अगुवाको नाताले मैले असल उदाहरण स्थापित गर्दै अग्रणी भूमिका निभाउनुपर्छ भन्ने ठान्थेँ, मेरो आफ्नै उच्च मानक थिए, म टोलीका अन्य सदस्यप्रत सख्त र कठोर हुनु हुँदैन भन्ठान्थेँ, किनकि यो दयालु र उदार कार्य थियो। सबैलाई मलाई ठूलो मानवता, समझदार र असल छाप भएकी मान्थे। त्यसैले म आफै समूहका लागि गर्न सकेजति काम गर्थेँ, अनि अरूलाई खटाइएको काम निकै गाह्रो छ, तिनीहरू सो काम गर्न इच्छुक छैनन् भने म आफैले सो काम गर्थेँ। मेरा माग धेरै उच्च छन् र म निकै कठोर छु नभनून् भनेर अरूमाथि दबाब नपार्न म सक्दो सावधानी अपनाउँथेँ। कहिलेकाहीँ मैले धेरै काम लिइरहेकी छु, त्यसले धेरै परिश्रमको माग गर्छ भन्ने आफूलाई लागेपनि अरूले मेराबारे नराम्रा राय नराखून् भनेर म आफ्नै देहको विरुद्ध विद्रोह गर्दै सकेजति काम लिन्थेँ। पछि केही नयाँ सदस्य हाम्रो समूहमा सामेल भए, तिनीहरू कामसँग परिचित थिएनन् र तिनीहरूमा व्यावसायिक सीपको पनि कमी थियो, त्यसैले तिनीहरूले बनाएका सबै भिडियो मैले जाँच गर्नुपर्थ्यो। कहिलेकाहीँ तिनीहरू आफै कुनै समस्या परे त्यसबारे कुरा गर्न मलाई खोज्थे। यही कामले मात्रै पनि मेरो पूरै समय खाइदिन्थ्यो, तर मसँग योबाहेक गर्नुपर्ने अरूपनि काम हुन्थ्यो। केही समयमै काम थुप्रिन थाल्थ्यो, र हरेक दिनको कामले मलाई पूरै अत्याउँथ्यो। कहिलेकाहीँ तिनीहरूले निकै आधारभूत समस्या हल गर्न मेरो सहयोग माग्दा म मनमनै सोच्थेँ: “तपाईँहरूले छलफल गरेर यी समस्या सजिलै हल गर्न सक्नुहुन्थ्यो, किन हरेक कुराको हल खोज्न मकहाँ नै आउनुपर्यो?” तर म फेरि सोच्थेँ: “तिनीहरूले मलाई अनुरोध गरेकाले मैले त्यो अनुरोध अस्वीकार गरेँ भने, म गैरजिम्मेवार भइरहेकी जस्तो हुनेछ! आखिरमा, यो विषयमा छलफल गर्न तिनीहरूलाई पनि समय लाग्नेछ। आ छोडौँ, म आफैले यसको हल खोज्न समय मिलाउन सक्छु।” यो सोचेर, म समहत हुन्थेँ। पछि, मैले थाहा पाएँ कि एउटी सिस्टरले अल्छी गरेर र जिम्मेवारीदेखि डराएर काम मलाई नै सार्ने गर्दो रहेछिन्। सुरुमा त उनीसँग सङ्गति गरौँ जस्तो लाग्यो, तर फेरि मैले अति माग गरिरहेकी सोच्लिन् कि भन्ने चिन्ता लाग्यो, त्यसैले सङ्गति नगर्ने विचार गरेँ। कहिलेकाहीँ अरूसँग त्यति काम नभएको जस्तो देख्दा, अनि मैले हेर्नुपर्ने कैयौँ जरुरी मामिला भएर म आत्तिँदा, समयभन्दा अगावै काम सकौँ भनेर म केही काम अरूलाई दिन चाहन्थेँ। तर यसबारे सोचविचार गरेपछि, म तिनीहरूलाई भन्न जान सक्दिनँथेँ। मैले मनमनै सोच्थेँ: “मैले तिनीहरूको कार्यबोझ बढाएँ भने तिनीहरूले मलाई धेरै माग गर्ने, फुर्सदको समय नदिने व्यक्ति भन्ठान्ने छैनन् र? आ छाडूम्, म आफै गर्छु।” तर काम गर्दाखेरि मलाई यो अलिक अनुचित हो भन्ने लाग्थ्यो। खास गरी, म काम गरिरहेको बेला तिनीहरूलाई आराम गरेको देख्दा मलाई झन् धेरै रिस उठ्थ्यो र तिनीहरूलाई बोझ नभएको भन्दै दोषारोपण गर्थेँ। तिनीहरूले गर्नुपर्ने कति काम बाँकी छ भनेर देख्दैनथे। तर म मनमनै भुतभुताउँथेँ, सुन्ने गरी केही भन्दिनथेँ, मैले केही भनेमा म खराब मानवता भएकी र अनुदार देखिनेछु होला भन्ने चिन्ता लाग्थ्यो। त्यसैले म जतिसुकै व्यस्त भएपनि, म आफ्नै बुताले सक्दो गर्ने कोसिस गर्थेँ। कहिलेकाहीँ, समूहको कार्यतालिकाअनुसार कामको बाँडफाँट गर्दा तिनीहरूको प्रतिक्रिया राम्रो हुँदा ठीकै हुन्थ्यो, तर तिनीहरू बेखुसी देखिँदा वा तिनीहरूले गुनासो गर्दा, तिनीहरूलाई काम दिन दोमन हुन्थ्यो, र सबै काम आफै पूरा गर्न रातभर काम गर्थेँ। वास्तवमा, काम गरिरहँदा मलाई यो अनुचित हो भन्ने हुन्थ्यो र आक्रोशले भरिन्थेँ। मलाई यो प्रस्ट रूपमा तिनीहरूकै काम हुँदा पनि यसलाई पूरा गर्न मैले थप समय खर्चिनुपरेको जस्तो लाग्थ्यो, र कहिलेकाहीँ यति व्यस्त हुन्थेँ कि उपासनाका लागि मसँग समय नै हुन्थेन। तर म यी कुनैपनि गुनासो सुन्ने गरी व्यक्त गर्ने आँट गर्दिनथेँ। त्यसैले म विवश हुँदै आफैलाई यसरी सान्त्वना दिन्थेँ: “उदार र समझदार हुनु, अरूको ख्याल गर्नु र तुच्छ नबन्नु धेरै राम्रो हो, अन्यथा ममा दरिद्र चरित्र छ भन्ने देखिनेथ्यो।” पछि, मेरो टोलीका सबैले म कर्तव्यमा बोझ उठाउँछु, कष्ट सहन र मुल्य चुकाउन सक्छु, प्रेमिलो र अरूको ख्याल गर्ने खालकी छु भनी बताए। यस्तो मूल्याङ्कन सुनेपछि मलाई आफूले कष्ट सहनु परेपनि, सबैबाट यति उच्च प्रशंसा पाउँदा यो कष्ट सार्थक रहेछ भन्ने लाग्यो। तर, मैले सिद्धान्तअनुसार कार्य नगरेकी, निरन्तर अरूको देहलाई खुसी पारेकी र अनुचित तरिकाले कामको बाँडफाँट गरेकीले काम थुप्रिन थाल्यो र टोलीगत रूपमा हाम्रो कामको प्रगति सुस्त हुन गयो। कतिपय ब्रदर-सिस्टर आलसी, अनुत्प्रेरित थिए, र आफ्नो काम पूरा गर्नमै सन्तुष्ट हुन्थे। अरूले समस्या आउँदा परमेश्वरलाई प्रार्थना गर्दैनथे वा सत्यता सिद्धान्त खोज्दैनथे, ममाथि नै भर पर्न रुचाउँथे, र तिनीहरूको समस्या हल गर्न मेरो प्रतीक्षा गर्थे, जसले गर्दा तिनीहरू आफ्नो सीप विकास गर्न असफल भए।
एक दिन हाम्रो सुपरिवेक्षक हाम्रो कामको जाँच गर्न आए, उनले काम यथोचित रूपमा बाँडफाँट नगरिएको पाए। उनले भने, केही काम टोलीका सदस्यहरूलाई दिन सकिन्छ, र मैले टोली अगुवाको रूपमा आफूले गर्नुपर्ने काम गर्न अधिक समय दिनुपर्छ, कामको प्रगति पनि हेर्नुपर्छ, र सीपसम्बन्धी कुनै समस्या देखिएमा त्यसको हल गर्नुपर्छ। यसरी, सबैले केही जिम्मेवारी थाम्न र बोझ उठाउन सक्नेछन्। उनको कुरा सही थियो र बाँडफाँटको यो तरिका कामका लागि लाभदायी थियो। तैपनि, मैले सोचेँ, यसरी अभ्यास गर्नु निकै कठिन छ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मेरो भ्रष्ट स्वभावबारे ज्ञान पाउन मलाई मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। उपासनाको समयमा, मैले मेरो वर्तमान स्थितिसँग मिल्ने परमेश्वरका वचन खोजेँ। एउटा खण्डले ममा गहिरो छाप छोड्योः “‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने भनाइ ‘भेटेको पैसा लिनु हुँदैन’ र ‘अरूलाई सहयोग गर्दा आनन्द पाइन्छ’ भन्ने भनाइ जस्तै परम्परागत संस्कृतिले मानिसहरूको नैतिक आचरणको विषयमा गरेकामागहरूमध्ये एउटा हो। त्यसरी नै, कसैले यो नैतिक आचरण प्राप्त गर्न वा अभ्यास गर्न सके पनि नसके पनि, यो उसको मानवता नाप्ने मापदण्ड वा मानक होइन। सायद तँ साँच्चै आफूप्रति कडा हुन र अरूलाई सहन सक्छस्, अनि आफूप्रति निकै उच्च मापदण्ड राख्छस्। सायद तँ नैतिक रूपमा पूर्णतया स्वच्छ छस् अनि स्वार्थी नबनी र आफ्ना हितहरू नखोजी सधैँ अरूको बारेमा सोच्छस् र तिनीहरूको कुरा बुझिदिन्छस् होला। तँ विशेष गरी दिलदार र निस्स्वार्थ देखिन्छस् होला, र तँमा सामाजिक जिम्मेवारी र सामाजिक नैतिकताहरूको ठूलो बोध होला। तेरो नजिकका मानिसहरू, र तैँले भेटेका र तँसँग कुराकानी गर्ने मानिसहरूले तेरो आदर्श व्यक्तित्व र गुणहरू देखेका होलान्। तेरो व्यवहारले गर्दा अरूले कहिल्यै तँलाई दोष दिने वा आलोचना गर्ने कारण भेट्टाउँदैनन् होला, बरु तँलाई प्रशंसा र आदरसमेत गर्छन् होला। मानिसहरूले तँलाई आफूलाई कडाइ गर्ने र अरूलाई सहने व्यक्तिको रूपमा हेर्छन् होला। तैपनि, यी बाहिरी व्यवहारबाहेक केही होइनन्। के तेरो हृदयभित्रका विचार र इच्छाहरू यी बाहिरी व्यवहारसँग, तैँले बाहिरी रूपमा जिउने यी क्रियाकलापसँग मेल खान्छन्? यसको उत्तर हो, खाँदैनन्। तैँले यसरी व्यवहार गर्न सक्नुको पछाडि एउटा मनसाय छ। त्यो मनसाय वास्तवमा के हो? के तैँले त्यस्तो मनसाय खुलासा भएको सहन सक्छस्? अवश्य नै सक्दैनस्। यसले यो मनसाय उल्लेख गर्न नसकिने, कालो र दुष्ट कुरा हो भन्ने प्रमाणित गर्छ। अब, किन यो मनसाय बताउन नमिल्ने र दुष्ट किसिमको छ? किनभने मानिसहरूको मानवता उसको भ्रष्ट स्वभावद्वारा सञ्चालित र उत्प्रेरित भएको हुन्छ। मानवजातिले आफ्ना विचारहरूलाई शब्दहरूमा ढाले पनि नढाले पनि वा व्यक्त गरे पनि नगरे पनि, ती सबैलाई तिनीहरूको भ्रष्ट स्वभावले काबुमा राखेको, नियन्त्रण गरेको, र प्रभावित गरेको हुन्छ। परिणामस्वरूप, मानिसहरूको मनसाय र अभिप्राय सबै कुटिल र दुष्ट हुन्छन्। मानिसहरूले आफूलाई कडाइ गर्न र अरूलाई सहन सके पनि नसके पनि, वा तिनीहरूले बाहिरी रूपमा यो नैतिकता राम्ररी व्यक्त गर्न सके पनि नसके पनि, यो नैतिकताले तिनीहरूको मानवतालाई कुनै पनि रूपमा नियन्त्रित वा प्रभावित गर्नेछैनरभन्ने कुरा अवश्यम्भावी छ। त्यसोभए, मानिसहरूको मानवतालाई केले नियन्त्रण गर्छ? तिनीहरूको भ्रष्ट स्वभावले, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने नैतिकताको पछाडि लुकेको तिनीहरूको मानवता सारले—तिनीहरूको साँचो प्रकृति त्यही हो। व्यक्तिको साँचो प्रकृति उसको मानवता सार हो। अनि तिनीहरूको मानवता सारमा के हुन्छ? यसमा मुख्य रूपमा तिनीहरूको अभिरुचि, तिनीहरूले खोजी गर्ने कुरा, जीवनसम्बन्धी तिनीहरूको दृष्टिकोण र तिनीहरूको मूल्यमान्यता, साथै सत्यता र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, र यस्तै इत्यादि कुरा हुन्छ। यी कुराहरूले मात्रै मानिसहरूको मानवता सारलाई साँचो रूपमा प्रतिनिधित्व गर्न सक्छन्। निश्चित गरेर के भन्न सकिन्छ भने, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने नैतिकता पूरा गर्न आफूलाई बाध्य गर्ने धेरैजसो मानिसहरू हैसियतप्रति मरिहत्ते गर्छन्। आफ्ना भ्रष्ट स्वभावद्वारा उत्प्रेरित भएर, तिनीहरू मानिसहरूका बीचमा प्रतिष्ठा, सामाजिक प्रसिद्धि, र अरूको नजरमा हैसियत पाउने कुराको पछि नलागी सक्दै सक्दैनन्। यी सबै कुरा हैसियतप्रतिको तिनीहरूको इच्छासँग सम्बन्धित हुन्छन्, अनि तिनीहरूको असल नैतिक आचरण व्यवहारको नाममा तिनीहरू यसको पछि लाग्ने गर्छन्। अनि तिनीहरूको यी खोजीहरू कसरी आउँछन्? ती पूर्णतया तिनीहरूको भ्रष्ट स्वभावहरूबाट आउँछन् र तिनैद्वारा प्रेरित हुन्छन्। त्यसकारण, जेसुकै भए पनि, कुनै व्यक्तिले ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने नैतिकतालाई पुरा गरे पनि नगरे पनि र उसले सिद्ध रूपमा त्यसो गरे पनि नगरे पनि, यसले पटक्कै उसको मानवता सार परिवर्तन गर्न सक्दै सक्दैन। यथार्थमा, यसको अर्थ यसले कुनै पनि हालतमा जीवन सम्बन्धी तिनीहरूको दृष्टिकोण वा मूल्य-मान्यताहरू परिवर्तन गर्न, वा सबै किसिमका मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई डोऱ्याउन सक्दैन। के कुरा त्यही होइन र? (हो।) कुनै व्यक्ति आफूलाई कडाइ गर्न र अरूलाई सहन जति सक्षम हुन्छ, ऊ नाटक गर्न, आफ्नो वास्तविक रूप लुकाउन, र अरूलाई असल व्यवहार र मीठो बोलीवचनद्वारा बहकाउन उति नै सिपालु हुन्छ, र ऊ प्रकृतिले उती नै छली र दुष्ट हुन्छ। तिनीहरू जति हदसम्म यस्तो व्यक्ति बन्छन्, हैसियत र शक्तिप्रति तिनीहरूको प्रेम र खोजी त्यति नै गहिरो बन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। मैले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुनेहरूमा हैसियतप्रति कसरी गहिरो लगाव हुँदो रहेछ भन्ने देखेँ। तिनीहरू सधैँ मानिसको हृदयमा ठाउँ बनाउन खोज्छन्। यस्ता मानिस छली, दुष्ट प्रकृतिका र पाखण्डी हुन्छन्। यो चरित्र चित्रणले साँच्चिकै मेरो मन घोच्यो। मैले टोली अगुवाको मेरो कार्यकालमा हाम्रो टोलीको अधिकांश कामको जिम्मा कसरी आफै बोक्थेँ भनी सम्झेँ। म सधैँ अरू मानिसको कार्यतालिका, कार्यबोझ र तिनीहरूलाई के कठिनाइ परेको छ भन्नेर ख्याल गरिरहन्थेँ। म अरूको निकै हेरचाह र ख्याल गर्ने खालकी थिएँ, तिनीहरूलाई कहिल्यै बेखुसी नबनाउने सुनिश्चित गर्थेँ। सतहमा, म निकै समझदार देखिएकी हुन सक्थेँ, तर यथार्थमा, मैले आफ्नै प्रतिष्ठा र हैसियत बढाउन त्यसरी कार्य गरेकी थिएँ। म सधैँ अरूको चित्त दुख्ने गरी केही गलत पो भनिहाल्छु वा गरिहाल्छु कि, अनि तिनीहरूमा मेरोबारेमा नराम्रो छाप बस्छ कि भनी चिन्तित हुन्थेँ। मैले अरूको भन्दा धेरै बोझ उठाएँ, कष्ट सहन र मूल्य चुकाउन सकेँ, सहनशीलता, समझदारी र सम्झौता गर्ने क्षमता देखाएँ, तर त्यसको पछाडि, म अरूभन्दा उत्कृष्ट छु, अरूको भन्दा मेरो कद ठूलो छ, म समझदार छु, तिनीहरूप्रति सहनशील छु भन्ने सोच थियो। यसले तिनीहरूलाई मलाई उच्च मान्ने र ममा भर पर्ने तुल्यायो। तिनीहरू आफ्नो समस्या हल गर्न मेरो प्रतीक्षा गर्थे, समाधान पाउन परमेश्वरमा भर पर्न र सत्यता खोज्न सक्थेनन्। मलाई म शैतानद्वारा भ्रष्ट तुल्याइसकेकी रहेछु र ममा शैतानी स्वभाव भरिपूर्ण रहेछ महसुस भयो। म कुनै तरिकाले पनि निस्वार्थ र उदार थिइनँ! जब ती सिस्टरले काम मतिर सारेकी थिइन्, मैले खुसीखुसी यसलाई लिएँ, तर भित्र चाहिँ बेखुसी थिएँ, र मैले काम गरिरहँदा उनले बोझ नबोकेकोमा उनीप्रति रुष्ट रहेँ। मैले गर्नुपर्ने काम धेरै थिए र म ठूलो दबाबमा थिएँ, अनि मैले केही नभने पनि, आफू निस्वार्थ छु भनेर देखाए पनि भित्रभित्रै मलाई यो निकै अनुचित हो भन्ने लाग्थ्यो, र म कष्ट सहन वा कुनै कुरा सोच्न चाहन्नथेँ। कामको बाँडफाँट गर्दा, एउटा सिस्टरले आफ्नो देहप्रति मोह राख्दै धेरै मेहनत गर्न नचाहँदा पनि मैले उनको समस्या हल गर्न सत्यताबारे सङ्गति गरिनँ, बरु उनको काम आफैले गर्ने जिम्मा लिएँ। वास्तवमा, उनका बारेमा मेरा आफ्नै राय थिए, उनको आलसीपनले मैले धेरै काम गर्नुपरेकोमा म रुष्ट थिएँ। यी सबै कुरालाई सम्झँदा, अरूप्रति मेरो सहनशीलता नक्कली रहेछ, यो सबै देखावटी रहेछ, र वास्तवमा तिनीहरूलाई सहयोग गरेर म खुशी थिइनँ। म स्पष्ट रूपमा स्वार्थी मात्रै थिएँ, तर म पूरै परोपकारी छु जस्तो व्यवहार गरेँ—मैले सबैलाई छल गरिरहेकी थिएँ। मेरा कार्यमा मेरो एकमात्र उद्देश्य थियो—म अरूको प्रशंसा, सम्मान र स्याबासी जित्न मात्र चाहन्थेँ। क कति पाखण्डी र नक्कली रहेछु! मानिसले केवल मेरो भ्रामक कार्य देखे, तर मेरा वास्तविक विचार देख्न सकेनन्। तिनीहरू सबैले म असल मानवता भएकी र धेरै सहनशील छु भन्ने ठाने। के मैले तिनीहरूलाई छलिरहेकी र झुक्याइरहेकी थिइनँ? मैले यसबारे जति धेरै सोचेँ, उति नै आफूप्रति घृणा हुन थाल्यो। मैले मुखौटो लगाएर जिन्दगी जिइरहेँ, र आफैले धेरै कष्ट खेपेकी मात्र होइन, मण्डलीको काममा समेत ढिलाइ गरेँ। मैले आफू र अरूलाई हानि गरिरहेकी थिएँ। मलाई आफैसँग घृणा हुन थाल्यो, र म सक्दो छिटो पश्चात्ताप गरी बदलिन चाहन्थेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को दुइटा खण्ड भेटेँ जसले मलाई आफ्नो स्थितिबारे नयाँ दृष्टिकोण दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब मण्डली अगुवाले दाजुभाइ-दिदीबहिनीहरूले लापरवाह रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छ, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि, नहप्काउन सक्छ। उसले परमेश्वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झूटो अगुवाले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा विश्लेषण गर्दैन। ऊ कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूमा लिप्त हुन्छन्, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्दहरू बोल्छ। परिणामस्वरूप, परमेश्वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्वरले भन्दा बढी बुझेको छ। परमेश्वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। “तिमीहरूले यसलाई मण्डलीका केही ख्रीष्ट-विरोधी र दुष्ट मानिसहरूसँग तुलना गर्न सक्छौ। मण्डलीमा आफ्नो हैसियत र शक्तिलाई दह्रिलो बनाउन, र अरू सदस्यहरूका बीचमा राम्रो ख्याति कमाउनका लागि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा केही कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले परमेश्वरका लागि मरिमेट्न आफ्नो जागिर र परिवार छोड्न र आफूसँग भएका सबै कुरा बेच्न समेत सक्छन्। कतिपय अवस्थामा त, तिनीहरूले परमेश्वरका खातिर मरिमेट्नका लागि चुकाउने मूल्य र भोग्ने दुःख-कष्ट सामान्य व्यक्तिले सहन सक्नेभन्दा पनि बढी हुन्छ; तिनीहरूले आफ्नो हैसियत कायम राख्नका लागि चरम आत्म-त्याग गर्ने भावना बोक्न सक्छन्। तैपनि, तिनीहरूले जति धेरै कष्ट भोगे पनि वा तिनीहरूले जति धेरै मूल्य चुकाए पनि, तिनीहरू कसैले पनि परमेश्वरको गवाही वा परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्दैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास नै गर्न सक्छन्। तिनीहरूले पछ्याउने उद्देश्य भनेको हैसियत, शक्ति र परमेश्वरको इनाम पाउनु मात्रै हो। तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यतासँग अलिकति पनि सम्बन्धित हुँदैन। तिनीहरूले आफूलाई जति नै कडाइ गरे पनि र अरूलाई जति नै सहे पनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? परमेश्वरले तिनीहरूका बारेमा के सोच्नुहुनेछ? के परमेश्वरले तिनीहरूले जिउने बाहिरी असल व्यवहारका आधारमा तिनीहरूको परिणाम निर्धारित गर्नुहुनेछ? अवश्य नै गर्नुहुनेछैन। मानिसहरूले यी व्यवहार र प्रकटीकरणहरूअनुसार अरूलाई हेर्छन् र मूल्याङ्कन गर्छन्, र तिनीहरूले यस्ता मानिसहरूको सारलाई स्पष्टसँग देख्न नसक्ने हुनाले, तिनीहरू यी मानिसहरूको छलमा पर्छन्। तर परमेश्वर भने कहिल्यै मानिसको छलमा पर्नुहुन्न। मानिसहरू आफूलाई कडाइ गर्न र अरूलाई सहन सके भन्दैमा उहाँले तिनीहरूको नैतिक आचरणको तारिफ गर्नुहुनेछैन र त्यसलाई स्मरण गर्नुहुनेछैन। बरु, उहाँले तिनीहरूका महत्वाकाङ्क्षाहरूका निम्ति र हैसियतको खोजी गर्न तिनीहरूले लिएको मार्गका लागि तिनीहरूको निन्दा गर्नुहुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। परमेश्वरका वचनलाई मनन गरेपछि, म आफ्ना कार्यको प्रकृति र परिणामबारे झन् प्रस्ट भएँ। मेरो प्रतिष्ठा र हैसियतको रक्षा गर्न मैले सधैँ अरूको कठिनाइको ख्याल गरेँ, र सबै कुरा आफैले गरेँ। परिणामस्वरूप, ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सकेनन्। केहीले आफ्नो देहको मोह गर्दै बोझ उठाएनन्, अरू चाहिँ मेरो प्रशंसा गर्दै र ममा भर पर्दै बसे, आफूलाई समस्या पर्दा मलाई खोज्थे, र समस्या सुल्झाउन परमेश्वरमा भर पर्न र सत्यता खोज्न जानेनन्। तिनीहरूको हृदयमा परमेश्वरका लागि ठाउँ थिएन। मैले दुष्कर्म गरेकी थिएँ! ती सिस्टरले आफ्नो कर्तव्यमा बोझ बोक्न नचाहेर आफ्नो कर्तव्य ममाथि थोपर्दा, मैले उनीसँग थोरै सङ्गति गरेकी भए, र उनको वर्तमान स्थितिको प्रकृति र परिणाम देखाउन सकेकी मात्र भएपनि सायद उनले आफ्नो देहविरुद्ध विद्रोह गर्दै आफ्ना समस्या हल गर्न परमेश्वरमा भर पर्न सक्थिन्। यसले उनको जीवनमा प्रगति, अनि उनको व्यावसायिक सीपमा सुधार हुन्थ्यो। तर मैले केवल आफ्नो प्रतिष्ठा र हैसियतको बारेमा सोचेँ, र भ्रष्ट स्वभावमा फसेका ब्रदर-सिस्टरसँग सङ्गति गरिनँ, न कुनै सल्लाह दिएँ। बाहिरबाट हेर्दा, कार्य गर्ने यो तरिका मानिसको देहको चिन्ताअनुरूप थियो, तर तिनीहरूले जीवनमा कुनै प्रगति गरेनन्, र झन्-झन् पतित हुँदै गए। मानिसलाई लगातार आफूखुसी गर्न दिएर मैले तिनीहरूलाई हानि गरिरहेकी थिएँ! सबैजना मेरो व्यवहार खुट्याउन असफल रहे, मद्वारा बहकिएर मलाई असल र दयालु व्यक्ति ठान्न पुगे। म कति नक्कली थिएँ, मैले ती सबैलाई बहकाइरहेकी थिएँ! बाहिरबाट, मैले कर्तव्यमा ठूलो बोझ वहन गरेको, म कष्ट सहन र मूल्य चुकाउन सक्छु भन्ने देखिन्थ्यो। मानिसले मलाई असल व्यक्तिको रूपमा हेर्थे, तर वास्तवमा परमेश्वरबाट दोषी ठहरिएकी थिएँ, किनभने मैले गरेका हरेक कार्य परमेश्वरलाई सन्तुष्ट पार्न गरिएका थिएनन्, बरु मानिसको हृदयमा रहेको मेरो हैसियतको रक्षा गर्नका लागि थिए। मैले कुनै स्पष्ट दुष्कर्म गरेकी थिइनँ, तर मैले मानिसलाई परमेश्वरका वचनको वास्तविकतामा ल्याएकी थिइनँ, बरु तिनीहरूलाई मेरो सामु ल्याएकी थिएँ। म मानिसलाई जित्न खोजिरहेकी थिएँ, मैले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेकी थिएँ। यो बुझेपछि, म निकै खतरनाक स्थितिमा रहेको मैले देखेँ। मैले आफ्नो कर्तव्य परम्परागत सांस्कृतिक मान्यताअनुसार गर्दै थिएँ र म परमेश्वर-विरोधी मार्गमा हिँडिरहेकी थिएँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड भेटेँ जसले मलाई मेरा समस्याबारे झन् प्रस्ट पारेः “जस्ता नैतिक आचरणका कथनहरू जुनै वर्गमा राखे पनि, यी सबैले मानिसहरूलाई आत्मसंयम अपनाउनुपर्छ—आफ्नो चाहना र नैतिक आचरणमाथि नियन्त्रण—अनि उचित वैचारिक र नैतिक दृष्टिकोण राख्नुपर्छ भन्ने मापदण्ड दिन्छन्। यी कथनहरूले मानवजातिलाई जतिसुकै प्रभाव पारे पनि, र त्यो प्रभाव सकारात्मक वा नकारात्मक जे भए पनि, स्पष्टसित भन्नुपर्दा यी तथाकथित नीतिज्ञहरूको उद्देश्य भनेको यस्ता कथनहरू अघि सारेर प्रष्ट रूपमै मानिसहरूको नैतिक आचरणलाई नियन्त्रित र नियमित गर्नु हो, ताकि मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने, कसरी मानिसहरू र विभिन्न कुराहरूलाई हेर्ने, र कसरी आफ्नो समाज र देशलाई बुझ्ने भन्नेबारे आधारभूत नियम पाऊन्। सकारात्मक दृष्टिले हेर्दा, नैतिक आचरणका यी कथनहरूको प्रतिपादनले मानवजातिको नैतिक आचरणलाई नियन्त्रण र सञ्चालन गर्नमा केही हदसम्म भूमिका खेलेको छ। तर वस्तुगत तथ्यलाई हेर्दा, यसले मानिसहरूलाई गलत र देखावटी विचार अनि दृष्टिकोण अँगाल्न लगाएको छ, र यसरी पारम्परिक संस्कृतिद्वारा प्रभावित र पोषित मानिसहरूलाई झन् कपटी, झन् छली, झन् ढोँगी, र झनै आफ्नै विचारमा सीमित तुल्याएको छ। पारम्परिक संस्कृतिको प्रभाव र पोषणको कारण, मानिसहरूले क्रमिक रूपमा ती गलत दृष्टिकोण र पारम्परिक संस्कृतिका कथनहरूलाई सकारात्मक कुराको रूपमा अपनाउँदै आएका छन्, र तिनीहरूले मान्छे बहकाउने यी विद्वान र महान् व्यक्तिहरूलाई सन्तको रूपमा पूजा गर्छन्। जब मानिसहरू बहकिएका हुन्छन्, तब तिनीहरूको दिमाग रनभुल्ल, शून्य र मन्द हुन्छ। तिनीहरूलाई सामान्य मानवता भनेको के हो, वा सामान्य मानवता भएका मानिसहरूले के पछ्याउनु र पालन गर्नुपर्छ भन्ने थाहै हुँदैन। तिनीहरूलाई मानिसहरूले यस संसारमा कसरी जिउनुपर्छ वा तिनीहरूले अस्तित्वको कस्तो शैली वा नियम अपनाउनुपर्छ भन्ने थाहा हुँदैन, झन् मानव अस्तित्वको उचित उद्देश्य के हो भन्ने थाहा हुने त कुरै नगरौँ। पारम्परिक संस्कृतिको प्रभाव, पोषण, र परिसीमनसमेतको कारण, सकारात्मक कुरा, परमेश्वरबाट आएका मापदण्ड र नियमहरू दबिएका छन्। यस अर्थमा, पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी विभिन्न कथनहरूले धेरै हदसम्म मानिसहरूको सोचलाई गहन रूपमा बहकाएका र प्रभावित पारेका छन्, र यसरी तिनीहरूको सोचलाई परिसीमित गर्दै गलत बाटोतर्फ, जीवनको सही मार्गबाट टाढा, र परमेश्वरका मापदण्डहरूदेखि झन्झन् पर लगेका छन्। यसको अर्थ, तँ पारम्परिक संस्कृतिको नैतिक आचरणका विभिन्न विचार र दृष्टिकोणद्वारा जति प्रभावित हुन्छस्, र ती कुराद्वारा जति लामो समयसम्म पोषित हुन्छस्, उति नै तँ सामान्य मानवता भएका मानिसहरूले पछ्याउनुपर्ने विचार, आकाङ्क्षा र उद्देश्य अनि तिनीहरूले धारण गर्नुपर्ने अस्तित्वको नियमदेखि टाढा जान्छस्, अनि उति नै तँ परमेश्वरले मानिसहरूलाई दिनुभएका मापदण्डहरूबाट पनि टाढा जान्छस्। … परमेश्वरका चुनिएका मानिसहरूले एउटा तथ्य बुझ्नैपर्छ: परमेश्वरको वचन परमेश्वरको वचन हो, सत्यता सत्यता हो, र मानव वचन मानव वचन हो। परोपकार, धार्मिकता, सद्व्यवहार, बुद्धि र विश्वसनीयता मानव वचन हुन्, र पारम्परिक संस्कृति पनि मानव वचन नै हुन्। मानव वचनहरू सत्यता हुँदैनन्, न त ती कहिल्यै सत्यता नै बन्नेछन्। यो तथ्य हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनबाट मैले परम्परागत संस्कृतिले हामीभित्र रोपेको विचार र सोच हास्यास्पद र बेतुकको छ, समान्य मानिसको विवेक र समझ, अनि परमेश्वरले मानिसलाई जिउन भनी माग गर्नुभएको सामान्य मानवताको विपरीत छ भन्ने बुझेँ। “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने परम्परागत सोचले बहकिएकी र प्रभावित भएकी, म अलमल्लमा परेकी, गलत र अविवेकी बनेकी थिएँ। म सोच्थेँ, मानिसप्रति सहनशील भएर, हरेक तरिकाले तिनीहरूको ख्याल राखेर, र अरूलाई कष्ट दिनुको सट्टा आफै कष्ट सहेर मात्रै मैले असल चरित्र, ग्रहणशीलता र उदारता र देखाइरहेकी हुनेछु। मैले कसैबाट धेरै माग गर्नु वा अति कठोर हुनुहुँदैन, र छुद्र हुनबाट बच्नुपर्छ। यी सोचहरू मेरो दिमागमा गहन रूपमा गडेर बसेका थिए, तिनले मेरा हरेक शब्द र कार्यलाई नियन्त्रित गरेका र अरूसँग मेरो कुराकानी गर्ने तरिकालाई प्रभावित पारेका थिए। यसमाथि विचार गरेपछि, मैले देखेँ कि अरूप्रति मेरो सहनशीलता सामान्य मानवताको उदारता थिएन, बरु यो एउटा छाडापन थियो जसमा सिद्धान्त वा मानक थिएनन्। टोली अगुवा भएको नाताले मैले हाम्रो समग्र कार्यतालिका र प्रत्येक सदस्यको दक्षताका आधारमा कामको यथोचित बाँडफाँट गर्नुपर्थ्यो, यसो हुँदा हरेकले भूमिका निभाउन सक्थे, कर्तव्यमा अभ्यास गर्ने र आफ्ना सीपलाई काममा ल्याउने मौका पाउन सक्थे। त्यसो हुँदा मात्र हाम्रो टोलीको काम सामान्य रूपमा अगाडि बढ्ने र सुधार हुनेथ्यो। कम दक्ष, औसत क्षमता भएका र ज्ञान उपल्ल्याउनमा सुस्त रहेकाको हकमा, कामको बाँडफाँट तिनीहरूको वास्तविक कद र कठिनाइका आधारमा गरिनुपर्थ्यो। तिनीहरूले कार्य गर्न सक्ने सुनिश्चित गर्न सजिलो काममा खटाइनुपर्थ्यो, र नसक्ने काम गर्न बाध्य पार्नु हुन्थेन। असल क्षमता, नयाँ कुरा सिक्ने खुबी भएका र सिद्धान्त र सीपको समझ भएकाहरूको हकमा तिनीहरूलाई यथोचित रूपमा धेरै मात्रामा काम दिन सकिन्थ्यो, आफ्ना काममा होशियार हुनु र बोझ उठाउनु भन्न सकिन्थ्यो, यसले तिनीहरूलाई द्रुत गतिमा प्रगति गर्न सहयोग गर्नेथ्यो। तिनीहरूले कठिनाइको सामना गरेर केही तनाव महसुस गरेमा त्यो सामान्य हुनेथ्यो र यसले तिनीहरूलाई परमेश्वरमा धेरै भर पर्न, आफ्ना सीप सुधार्न र द्रुत गतिमा प्रगति गर्न प्रेरित गर्नेथ्यो। अझ, मैले काम दिइसकेपछि कोही निराश भएको भए, म तिनीहरूसँग संवाद गरी तिनीहरूलाई वास्तविक कठिनाइ परेको हो कि खालि सहजतामा लिप्त भएर कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक नभएका हुन् भनेर हेर्न सक्थेँ। त्यसपछि मैले वास्तविक परिस्थितिका आधारमा कामकुरो सम्हाल्न सक्थेँ—यो सत्यता सिद्धान्तमा आधारित भएर कार्य गर्नु हुनेथ्यो। वास्तवमा, धेरैजसो समय मैले टोलीका सदस्यहरूको वास्तविक परिस्थितिहरूमा आधारित भएर कामको यथोचित बाँडफाँट गरेकी थिएँ। मैले धेरै माग गरिनँ, त्यति कठोर थिइनँ, र मेरा टोली सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्न सक्नेथिए। तिनीहरू कहिलेकाहीँ आलसी हुँदा, मूल्य चुकाउन र सफलतातर्फ लागिपर्न इच्छुक नहुँदा, वा जिम्मेवारी लिन डराएर काम अरूतिर सार्दा मैले सङ्गति गरेर तिनीहरूलाई सल्लाह दिएर तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावबारे अवगत गराउनुपर्थ्यो। अधिक गम्भीर मामिलामा मैले तिनीहरूको काँटछाँट गर्नुपर्थ्यो, तिनीहरूलाई आफूखुसी छोडिरहन, कुनै आधारविना तिनीहरूको व्यवहारलाई सहन गर्न हुन्थेन। त्यसो गरेर मात्रै मैले हाम्रो टोलीको सामान्य कार्यप्रगति कायम राख्न सक्थेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को दुई खण्ड भेटेँ, जसले मलाई अभ्यासको मार्गबारे थप प्रस्ट बनायो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तीविरुद्ध विद्रोह गर्न सक्षम बन् र परमेश्वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले भन्ने र गर्ने सबै कुरामा, आफ्नो हृदयलाई सही राख्न र आफ्नो व्यवहारमा न्यायोचित बन्न सक्ने बन्, र आफ्ना भावनाहरूमा नबग्, अनि आफ्नै इच्छा अनुसार काम नगर्। परमेश्वरका विश्वासीहरूको चालचलनका सिद्धान्तहरू यिनै हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?)। “त्यसोभए, परमेश्वरले तोक्नुभएका सत्यता सिद्धान्तहरू केके हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र व्यवधानहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तैँले तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई स्वीकार गर्छस् र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनलाई मनन गरेपछि, म निकै प्रस्ट भएँ। विश्वासीको नाताले मैले बोल्दा वा कार्य गर्दा हृदयमा परमेश्वरलाई राख्नुपर्थ्यो, र मैले मेरो हृदयलाई परमेश्वरसामु छानबीनका लागि राख्नुपर्थ्यो। मैले कम्तीमा पनि यति चाहिँ गर्नुपर्थ्यो। अझ, अरूसँग कुराकानी गर्दा र मेरो कर्तव्यमा साझेदारी गर्दा, मैले असल अभिप्राय राखी सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्थ्यो, परमेश्वरको घरको हितलाई हानि गर्ने कुरा गर्नुहुँदैनथ्यो र सधैँ मण्डलीको कामलाई ख्याल गर्नुपर्थ्यो। नकारात्मक, कमजोर र कठिनाइमा रहेकालाई मैले साथ सहयोग गर्नुपर्थ्यो, भ्रष्ट स्वभाव प्रकट गर्नेलाई वा जानीजानी मण्डलीको काममा अवरोध र बाधा दिनेलाई सङ्गति, मद्दत, सल्लाह दिने वा खुलासा गर्ने गर्नुपर्थ्यो, तर तिनीहरूलाई सहने वा तिनीहरूसँग मूर्खतापूर्ण ढङ्गले सद्भाव बढाउने गर्नुहुन्थेन। काम बाँडफाँट गर्दा मैले आफ्नो प्रतिष्ठाको सुरक्षा गर्ने र मानिसको देह र भावनाको ख्याल मात्रै गर्नुहुन्थेन। मैले सिद्धान्त र टोलीको वास्तविक स्थितिका आधारमा काममा ढिलाइ नहुने सुनिश्चित हुने गरी कामको यथोचित बाँडफाँट गर्नुपर्थ्यो। अभ्यासको यो तरिका मण्डलीको काम र सबै सदस्यका लागि लाभदायक हुनेथ्यो। त्यसबेला देखि, ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्दा म इमानदार हुन, आफूलाई साँच्चै लागेको कुरा भन्न र मलाई समस्या हुँदा मानिससँग संवाद गर्न थालेँ। कामको बाँडफाँट गर्दा, मानिसको वास्तविक परिस्थितिको आधारमा गर्थें ताकि सबैले आफ्नो भूमिका निर्वाह गर्न सकून्। म अपेक्षाकृत रूपमा सजिला समस्या सदस्यहरूलाई सम्हाल्न दिन्थेँ, र तिनीहरूले सुल्झाउन नसक्दा मात्र त्यसमा संलग्न हुन्थेँ। मानिसहरू खताइएको कामसँग खुसी नहुँदा, अधिक मूल्य चुकाउन नचाहँदा म तिनीहरूसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गर्थेँ, तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्न, चिन्न र अनुचित मनोवृत्तिमा सुधार गर्न दिन्थेँ। मसँग आफूले सम्हाल्न सक्नेभन्दा बढी काम हुँदा वा समस्या आइपर्दा, ढिलाइ नहुने गरी कामको यथोचित बाँडफाँट कसरी गर्ने भनी म अरूसँग छलफल गर्थेँ, र सबै आफैले लिने गर्दिनथेँ। सबैजना सक्रिय रूपमा काममा सहभागी हुन सक्षम भए, कर्तव्यमा अझै उत्साहित भए, र हाम्रो कार्यप्रगतिमा सुधार आयो। मलाई निकै सहज महसुस भयो। कहिलेकाहीँ म अझैपनि भ्रष्टता देखाउँछु, तर सचेत भई परमेश्वरका वचनअनुसार अभ्यास गर्न सक्छु। यसरी मैले परिस्थिति बदल्न सक्नु केवल परमेश्वरका वचनको मार्गदर्शनका कारण थियो। परमेश्वरलाई धन्यवाद!