७. भेलाको “तयारी”

सियाओ ली, चीन

सन् २०२३ फेब्रुअरीमा, म मुख्य रूपमा मलजलको कामका लागि जिम्मेवार मण्डली अगुवा चुनिएकी थिएँ। सुरुमा, मसँग सहकार्य गर्ने सिस्टरको जिम्मेवारीका कतिपय कामहरू समेत म भ्याउँथेँ। पछि, मलजल गर्ने कामको नतिजा गम्भीर रूपमा खस्कियो, र म केही चिन्तित भएँ। मैले सोचेँ, “मलजल गर्ने कामको लागि म जिम्मेवार छु। खराब नतिजाहरू त सीधै मसँग सम्बन्धित छन्। कतै माथिल्ला अगुवाहरूले ममा काम गर्ने क्षमताको कमी छ, ममा कार्य क्षमताको कमी छ, केही पनि राम्रोसँग गर्न सक्दिनँ, र कामको जिम्मेवारी लिन असमर्थ छु भनी सोच्नुहोला?” अगुवाहरूले मलाई तुच्छ नठानुन् भनेर, मैले आफ्ना सबै सोच र शक्ति मलजल गर्ने काममा लगाएँ, र ती सिस्टर जिम्मेवार रहेको काममा खासै संलग्न भइनँ। यसरी काम गर्दा, म अरूसँग तालमेल नमिलाई एक्लै काम गर्दै छु भन्‍ने पनि मैले थाहा पाएँ। तर जब मैले मलजल गर्ने कामको लागि मुख्यतया म जिम्मेवार छु, र खराब नतिजाले मेरो प्रतिष्ठा र हैसियतमा असर पार्छ भन्‍ने सोचेँ, तब मैले अरू कुनै पनि कुराको वास्ता गर्न छोडिदिएँ।

एक दिन, मैले अचानक माथिका अगुवाहरूबाट भोलिपल्ट भेलामा आउन अनुरोध गरिएको पत्र पाएँ। मेरो मन बेचैन भयो, सोच्दै थिएँ, “यो त नराम्रो भयो। अगुवाहरूले पक्कै पनि मलाई मण्डलीका विभिन्न कामहरूबारे सोध्नुहुनेछ। यो महिना, मलजल गर्ने कामको फलो-अपबाहेक, मैले अरू कुनै काममा वास्तै गरेकी छैन। विभिन्न कामहरूमा के-कस्ता समस्या छन् वा तिनीहरूले कस्तो प्रगति गरिरहेका छन् भन्‍नेबारे मलाई केही थाहा छैन। यदि अगुवाहरूले प्रश्न सोध्नुभयो र मैले कुनै जवाफ दिन सकिनँ भने, उहाँहरूले मेरा बारे के सोच्नुहोला? के उहाँहरूले ममा आफ्नो कर्तव्यप्रति भारको बोध छैन भन्‍ने सोचेर र मेरो बारेमा नराम्रो धारणा बनाउनुहोला? यदि उहाँहरूले मैले आफ्नै मलजल गर्ने कामको मात्र फलो-अप गरेको, र अरू कामलाई बेवास्ता गरेको थाहा पाउनुभयो भने उहाँहरूले पक्कै पनि मलाई अत्यन्त स्वार्थी र नीच, र मण्डलीको समग्र कामको नभएर व्यक्तिगत स्वार्थको मात्र ख्याल गर्ने, अनि प्रतिष्ठा र हैसियतको मात्र पछि लाग्ने व्यक्ति भन्नुहुनेछ। यदि उहाँहरूले आखिरमा मलाई काटछाँट वा बर्खास्त गर्नुभयो भने, त्यो कति लाजमर्दो होला?” मैले सोचेँ, भोलिपल्टको भेलामा, अगुवाहरूले सबैभन्दा पहिले सुसमाचारको कामबारे सोध्नुहुनेछ, त्यसैले म हतारहतार मसँग काम गर्ने सिस्टरकहाँ सुसमाचारको कामको प्रगतिबारे बुझ्न गएँ ताकि भोलिपल्ट अगुवाहरूले सोध्दा म पूरै अनभिज्ञ नहोऊँ। तर सुसमाचारको काममा धेरै विस्तृत कुराहरू संलग्न थिए, र तिनलाई केही शब्दमा मात्रै स्पष्ट रूपले व्याख्या गर्न सकिँदैनथ्यो, र समय एकदमै कम भएकोले, मैले धेरै कुरा थाहा पाउन सकिनँ। म आत्तिएँ, अनि निदाउन नसकी ओछ्यानमा पल्टी रहेँ, मेरो दिमाग भोलिपल्टको भेलाको सोचले भरिएको थियो। भेलाको दिन, म चाँडै आइपुगेँ र अगुवाहरू अरू कामले गर्दा अझै आइपुग्नुभएको छैन भन्‍ने थाहा पाउँदा म खुसी भएँ, र मैले सोचेँ म यो समय हरेक समूहको रिपोर्ट हेरेर प्रत्येक काम कसरी भइरहेको छ भनेर बुझ्न र समस्या कहाँ हुनसक्छ भनेर पत्ता लगाउन प्रयोग गर्न सक्छु, ताकि अगुवाहरूले सोध्न सक्ने केही प्रश्नहरूको जवाफ दिन सकूँ। त्यसैले मैले हतारहतार हरेक समूहको कार्य रिपोर्ट सरसर्ती हेरेँ, र काम कसरी भइरहेको छ भन्‍नेबारे मोटामोटी धारणा पाए पनि, त्यहाँ अझै धेरै विस्तृत कुराहरू थिए जुन मैले बुझिनँ। मैले यो पनि सोचेँ, भेलामा अगुवाहरूले कामको बारेमा मात्र सोध्नुहुनेछैन, उहाँहरूले त पक्कै पनि हाम्रा हालका अनुभव र प्राप्तिहरू, र हामीले आफूबारे प्राप्त गरेको ज्ञानबारे पनि सोधपुछ गर्नुहुनेछ। म पहिल्यै कामका विस्तृत विवरणहरू बारे धेरै कुरा बोल्न असमर्थ थिएँ, र यदि मैले आफ्नो जीवन प्रवेशबारे ठीकसँग कुरा गर्न वा कुनै कुरामा सङ्गति गर्न सकिनँ भने, अगुवाहरूले पक्कै पनि मैले काम र जीवन प्रवेश दुवैमा अपर्याप्त काम गरेकी छु भन्‍ने सोच्नुहुनेछ, र यसो भन्नुहुनेछ: “तिमी त केही काम पनि राम्रोसँग गर्न सक्दिनौ; तिमीजस्तो मान्छे कसरी मण्डली अगुवा हुन सक्छ?” र मलाई तुच्छ ठान्नु हुनेछ। त्यसैले, समय आएपछि, यदि मैले राम्रोसँग सङ्गति गर्न सकिनँ भने, अगुवाहरूले मेरो भित्री कुरा देख्नुहुनेछ भन्‍ने डरले, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न खान र पिउनका लागि खण्डहरू खोज्दै, मैले हतारहतार परमेश्‍वरका वचनहरू पढेँ र आफ्नो स्थितिमाथि विचार गरेँ। तर मैले आफ्नो मन शान्त पार्न सकिनँ, न त परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गर्न सकेँ। जति मैले मनन गर्ने र आफूलाई चिन्ने प्रयास गरेँ, मेरो दिमाग उति नै अन्योलग्रस्त हुँदै गयो, र मैले पवित्र आत्माको अन्तर्दृष्टि वा मार्गदर्शनको बोध गर्न सकिनँ। मैले आफ्नो अवस्था गलत रहेको महसुस गरेँ। के म छली भइरहेकी थिइनँ र? त्यसपछि मैले आफूलाई शान्त पारेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरो अवस्था एकदमै खराब छ। मलाई चिन्ता र छटपटी भइरहेको छ, र मेरा विचारहरू एकदमै अस्पष्ट छन्। मलाई थाहा छ म गलत अवस्थामा छु। म तपाईंको सामु आफ्नो हृदय शान्त पार्न चाहन्छु, तपाईंको अभिप्राय खोज्न चाहन्छु, र यो गलत अवस्थाबाट बाहिर निस्कन चाहन्छु।”

त्यो क्षणमा, मैले परमेश्‍वरका केही वचनहरू सम्झेँ: “के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? अरूलाई देखाउनको लागि तैँले गलत आवरण धारण गर्छस् र तँ चुपचाप आत्म-धार्मिकताको भावलाई धारण गर्छस्; तैँले आफैलाई रक्षा गर्नको लागि यसो गर्छस्। तँ तेरो दुष्टतालाई ढाकछोप गर्न यसो गर्छस्, र तँ त्यो दुष्टतालाई अरूमा लाद्‍नको लागि उपायहरू समेत सोच्छस्। तेरो हृदयमा कस्तो छलले बास गर्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। पछि, मैले परमेश्‍वरका यी वचनहरू पनि पढें: “ख्रीष्टविरोधीहरू विशेष धोकेबाज र छली हुन्छन्। तिनीहरूले भन्‍ने सबै कुरा राम्ररी सोचविचार गरेर भनिएको हुन्छ; बहाना गर्न अरू कोही पनि यति सिपालु हुँदैन। तर खास कुरा पत्ता लागेपछि, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देखेपछि, तिनीहरूले आफ्नै पक्षमा तर्क गर्न सक्दो प्रयास गर्छन्, र आफ्‍नो इज्जत र प्रतिष्ठा जोगाउने माध्यमको रूपमा परिस्थिति सुधार्ने र आफूलाई मुक्त गर्ने उपायहरू लगाउँछन्। ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतको लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा मोज गर्नको लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। हैसियत पछ्याउनु, शक्ति प्राप्त गर्नु, र सहज जीवन बिताउनु नै ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गरेपछि सधैँ योजना बनाउने प्रमुख कुरा हुन्, र तिनीहरू आफ्ना लक्ष्य प्राप्त नहुन्जेल हार मान्दैनन्। यदि तिनीहरूका दुष्ट कार्यहरू पर्दाफास भइहालेमा, तिनीहरू आफूमाथि आकास नै खसेझैँ गरी आत्तिन्छन्। तिनीहरू खान वा सुत्न सक्दैनन्, र बेहोसीको हालतमा भएजस्तो देखिन्छन्, मानौँ तिनीहरू डिप्रेसनका सिकार भएका छन्। मानिसहरूले के भयो भनी सोध्दा तिनीहरू कुरा लुकाउँछन् र यसो भन्छन्, ‘म हिजो अति व्यस्त भएर रातभरि सुत्दै सुतिनँ, त्यसैले म साह्रै थकित छु।’ तर वास्तवमा, यो कुनै साँचो होइन, त्यो सबै छल हो। तिनीहरूलाई यस्तो अनुभूति हुन्छ किनभने तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, ‘मैले गरेका खराब कुराहरू पर्दाफास भएका छन्, त्यसैले म कसरी आफ्नो ख्याति र हैसियत फिर्ता ल्याउन सक्छु त? म आफूलाई छुटकारा दिलाउन कुन माध्यम प्रयोग गर्न सक्छु? यसको स्पष्टीकरण दिन मैले सबैसँग कस्तो लबज प्रयोग गर्न सक्छु? मानिसलाई मेरो बारेमा छर्लङ्ग बुझ्न नदिन के भन्दा हुन्छ?’ लामो समयसम्म तिनीहरू के गर्ने भनी भेउ पाउन सक्दैनन्, त्यसैले तिनीहरू निराश हुन्छन्। कहिलेकाहीँ तिनीहरू एउटै ठाउँमा एक टकले हेरिरहन्छन्, र तिनीहरूले के हेरिरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यो समस्याले तिनीहरूको दिमाग खियाउँछ, एकपछि अर्को सोचाइ थुपारिदिन्छ, अनि खान वा पिउन मन नलाग्ने बनाउँछ। यसको बाबजुद, तिनीहरू अझै पनि मण्डलीको कामलाई वास्ता गरेको खोल ओड्छन्, र मानिसहरूलाई सोध्छन्, ‘सुसमाचार काम कस्तो भइरहेको छ? कति प्रभावकारी रूपमा त्यसको प्रचार भइरहेको छ? के हालै दाजुभाइ-दिदीबहिनीहरूले कुनै जीवन प्रवेश पाएका छन्? के कसैले कुनै अवरोध वा बाधा पुऱ्याइरहेको छ?’ तिनीहरूले मण्डलीको कामबारे यसरी सोधपुछ गर्नुको उद्देश्य अरूलाई देखाउनका लागि हो। तिनीहरूले समस्याहरू थाहा पाएका भए, तिनीहरूसित ती समाधान गर्ने कुनै उपाय हुनेथिएनन्, त्यसैले तिनीहरूका प्रश्न औपचारिकता मात्र हुन् ताकि अरूलाई तिनीहरूले मण्डलीको कामको वास्ता गरिरहेका छन् भन्ने देखाउन सकून्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरका वचनको न्यायले मलाई बेचैन र अशान्त बनाए। मैले आफू कति छली रहेछु देखेँ। म आफ्नो कर्तव्यमा साँच्चै स्वार्थी भएकी थिएँ, प्रतिष्ठा र हैसियतका लागि आफ्नो काममा मात्र ध्यान केन्द्रित गरेकी थिएँ, जबकि अरू कामबारे भने मैले विरलै सोधखोज गरेँ। मैले कुनै वास्तविक काम गरेकै थिइनँ। मेरा कार्यहरू परमेश्‍वरका अभिप्राय अनुरूप छैनन्, र म समूहमा मिलेर काम गरिरहेकी छैनँ भन्‍ने मलाई थाहा थियो, तर मैले यी समस्याहरू समाधान गर्न सत्यता सिद्धान्तहरू खोजिनँ। त्यसका अतिरिक्त, म सामान्यतया आफ्नो जीवन प्रवेशमा खासै ध्यान दिन्नँ, न त कुनै वास्तविक अनुभवबाट पाएको समझमा सङ्गति गर्न सक्छु भन्‍ने मलाई थाहा थियो। अगुवाहरूले मलाई भेलामा नबोलाएका बेला, मैले त्यसबारे खासै विचार गरिनँ, ममा समस्याहरू भए तापनि, अगुवाहरूलाई थाहा हुँदैन भन्‍ने लागेको थियो, त्यसैले मलाई ती समस्या समाधान गर्न हतार थिएन। तर जब मैले अगुवाहरूले मलाई भेलामा बोलाउन लाग्नुभएको भन्‍ने सुनेँ, म तुरुन्तै आत्तिएँ, मेरा समस्याहरू भेलामा प्रकट हुनेछन्, र अगुवाहरूले यी कुरा थाहा पाएपछि, उहाँहरूले पक्कै ममा कर्तव्यप्रति भार बोधको अभाव छ, वास्तविक काम गर्दिनँ भन्‍ने सोच्नुहुनेछ भनेर डराएँ। र मेरो क्षमता र जीवन प्रवेश कमजोर छ भन्‍ने ठान्नुहुनेछ। मैले भर्खरै अगुवाका रूपमा आफ्नो कर्तव्य सुरु गरेकीले, र माथिल्ला अगुवाहरू मसँग त्यति परिचित नहुनुभएकोले, यदि मैले हाम्रो पहिलो भेटमै उहाँहरूमा नराम्रो छाप छोडेँ भने, उहाँहरूले भविष्यमा पक्कै पनि मलाई महत्व दिनुहुनेछैन र सायद मलाई बर्खास्त पनि गर्नुहुनेछ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले आफ्ना समस्याहरू लुकाउन हरसम्भव प्रयास गरेँ। भेला अघि, म हतारहतार मसँगै काम गर्ने सिस्टर कहाँ कामको विवरण बुझ्न गएँ, र आफूलाई कामबारे परिचित गराउन अग्रिम रूपमा सरसर्ती रिपोर्टहरू हेर्दै आफूलाई बनावटी रूपमा प्रस्तुत गरेर अगुवाहरूलाई धोका दिन पनि चाहेँ। म आफूसँग बलियो कार्य क्षमता भएको र मैले आफ्नो जीवन प्रवेशमा गहिरो ध्यान दिएकी भन्‍ने झुटो छाप छोड्न चाहन्थेँ, ताकि अरूले म राम्रो भनेर मूल्याङ्कन गरून्। ममा पहिल्यैदेखि कर्तव्यप्रति भार बोधको अभाव थियो र मैले सत्यता खोजेकी थिइनँ, त्यसमाथि मलाई सधैँ अरूले मेरो वास्तविकता चाल पाउलान् भन्‍ने डर हुन्थ्यो, त्यसैले मैले झूटो छवि बनाएँ र आफूलाई बनावटी रूपमा प्रस्तुत गरेँ। के यो स्पष्ट र निर्लज्ज धोका थिएन र? मैले म साँच्चै छली रहेछु भन्‍ने देखेँ। म ठ्याक्कै ख्रीष्ट विरोधीकै जस्तो व्यवहार गरिरहेकी थिएँ। ख्रीष्ट विरोधीहरू विशेष रूपमा धूर्त हुन्छन्, र जब उनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतमा हानि पुग्नलागेको देख्छन्, तब तिनलाई जोगाउन आफूसँग उपलब्ध हरेक जुक्ति लगाउँछन्। के म यही गरिरहेकी थिइनँ र? जब कामकुराहरूले मेरो प्रतिष्ठा वा पदमा हानि पुऱ्याएनन्, मैले मण्डलीका अरू कामलाई बेवास्ता गरेँ र आफ्नो जीवन प्रवेशमा कुनै ध्यान दिइनँ। तर जब कुनै कुराले मेरो हैसियत र प्रतिष्ठामा असर पार्‍यो, म आत्तिएँ, म आफ्नो पछ्याइमा लगनशील छु भन्‍ने जस्तो देखिने गरी परमेश्‍वरका वचनहरू पढेर काम बुझ्ने प्रयास गरेँ। म साँच्चै धूर्त र छली थिएँ। के मैले प्रकट गरेको स्वभाव ख्रीष्ट विरोधीको स्वभाव थिएन र?

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढें: “परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिमीहरू सही मार्गमा हिँड्नुपर्छ र उचित आचरण प्रस्तुत गर्नुपर्छ कुटिल र दुष्ट मार्गहरूमा संलग्न हुनु हुँदैन। कुटिल र दुष्ट तरिकाहरू के-के हुन्? परमेश्‍वरका विश्‍वासीहरू सधैँ सानातिना युक्तिहरूमा, छली र कुटिल खेलहरूमा, र चलाकीहरूमा भरोसा गरेर आफ्‍नो भ्रष्टतालाई, खराबीहरू, कमीहरू र समस्याहरूलाई ढाकछोप गर्न चाहन्छन्, जस्तै तिनीहरूको आफ्‍नै कमजोर क्षमता; तिनीहरूले सधैँ शैतानी दर्शनहरू अनुसार मामलाहरूलाई सम्‍हाल्छन् जुन तिनीहरूलाई खराब होइन भन्‍ने लाग्छ। झट्ट हेर्दा, तिनीहरूले परमेश्‍वर र आफ्‍ना अगुवाहरूलाई प्रिय ठान्छन् भन्‍ने देखिन्छ, तर तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्, न त सिद्धान्तहरू अनुसार नै काम गर्छन्। तिनीहरूले सधैँ अरूको शब्‍दहरू र अभिव्यक्तिहरूलाई ध्यान दिइरहेका हुन्छन्, र सधैँ यस्तो सोचिरहन्छन्, ‘मेरो हालैको कार्य प्रस्तुति कस्तो रह्यो? के सबैले मलाई समर्थन गर्छन्? के परमेश्‍वरलाई मैले गरेका सबै असल कुराहरूको बारेमा थाहा छ? यदि उहाँले थाहा छ भने, के उहाँले मेरो प्रशंसा गर्नुहुनेछ? परमेश्‍वरको हृदयमा मेरो स्थान के हो? के त्यहाँ मेरो महत्त्व छ?’ यसको तात्पर्य के हो भने, परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्तिको रूपमा, तिनीहरूले आशिष्हरू पाउनेछन् कि तिनीहरूलाई हटाइनेछ? के यी मामलाहरूमा सधैँ सोचविचार गर्नु कुटिल र दुष्ट तरिका होइन र? यो वास्तवमा नै कुटिल र दुष्ट तरिका हो, सही मार्ग होइन। त्यसोभए, सही मार्ग के हो? (सत्यतालाई पछ्याउने र स्वभाव परिवर्तन गर्ने।) ठीक भन्यौ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि, एउटै मात्र सही मार्ग भनेको सत्यतालाई पछ्याउनु, सत्यता प्राप्त गर्नु, र स्वभाव परिवर्तन हासिल गर्नु हो। परमेश्‍वरले मानिसहरूलाई मुक्ति प्राप्त गर्नेतर्फ डोर्‍याउने मार्ग मात्रै साँचो मार्ग, अर्थात् सही मार्ग हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले पूर्ण रूपमा न्याय गरिएको महसुस गरेँ। मैले म सधैँ आफ्नो कर्तव्यमा समस्याहरू लुकाउन छलकपट प्रयोग गर्ने प्रयास गर्छु भन्‍ने देखेँ। यो काम गर्ने एउटा कुटिल र दुष्ट तरिका थियो र म सही मार्गमा हिँडिरहेकी थिइनँ। वास्तवमा, अगुवाहरूले मलाई कामबारे जानकारी लिन भेलामा बोलाउनु एकदमै सामान्य कुरा थियो। मैले सामान्यतया जस्तो व्यवहार गर्थेँ, त्यस्तै भन्नुपर्थ्यो। यदि उहाँहरूले म कतिपय पक्षहरूमा कमजोर छु भनेर औँल्याउनुभयो भने, मैले भविष्यका कर्तव्यहरूमा ती कुराहरू सुधार्नुपर्थ्यो, र यदि मलाई काटछाँट गरिए तापनि, त्यसले मलाई मनन गर्न र प्रवेश गर्न मद्दत गर्ने थियो ताकि मैले आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकूँ। तर, मैले छलकपटको सहारा लिएँ, अनि आफ्ना समस्याहरू लुकाउन र अगुवाहरूलाई झुक्याएर धोका दिन हरसम्भव प्रयास गरेँ। म उहाँहरूले मेरा भ्रष्टता र कमजोरीहरू देख्नुहोस् भन्‍ने चाहन्नथेँ। के मैले यसो गरेर कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भइरहेकी थिइनँ र? जब वास्तव मै सत्यता खोज्ने व्यक्तिले आफू स्वार्थी र नीच भइरहेको र आफ्नो कर्तव्यमा आफ्नै कामको मात्र चिन्ता गरिरहेको महसुस गर्छ, त्यो व्यक्तिले आफ्नो अवस्था समाधान गर्न तुरुन्तै सत्यता खोज्न सक्छ। जब अगुवाहरूले उसको कामबारे सोधपुछ गर्छन्, उसले शान्तिपूर्वक यसको सामना गर्न र आफ्ना विचलनहरू सच्याउन सक्छ। यसबाहेक, सही रूपले जीवन प्रवेशमा ध्यान केन्द्रित गर्ने मानिसहरूले दैनिक जीवनमा आफ्ना सोच र विचारहरूमा ध्यान दिनुपर्छ, र अगुवाहरूसँग भेला हुनै लाग्दा मात्र परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित पार्नुको सट्टा, समयमै ती समाधान गर्न सत्यता खोज्नुपर्छ। तर मैले अगुवाहरूलाई धोका दिन झूटो रूप सिर्जना गर्ने प्रयास गरेँ। मैले त्यसो गरेर छलकपट र जालसाजीमा संलग्न भइरहेकी थिएँ। के म परमेश्‍वरलाई धोका दिन र अगुवाहरूलाई खुसी पार्न खोजिरहेकी थिइनँ र? मैले देखेँ म सत्यता अभ्यास गर्ने वा खोज्ने व्यक्ति होइन।

पछि, मैले म किन निर्लज्ज भएर धोका दिन सक्छु, र परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्दिनँ भन्‍ने पनि मनन गरेँ। धेरै पटक, मलाई के पनि थाहा थियो भने म इमानदार हुनुपर्छ र परमेश्‍वरको सामु जिउनुपर्छ, परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ, तैपनि परिस्थितिहरूको सामना गर्दा, म अझै पनि अनजानमै छलकपटको सहारा लिन्थेँ। किन यस्तो हुन्छ? पछि, मैले परमेश्‍वरका यी वचनहरू पढें: “के कपटी मानिसहरूको लागि जीवन थकाइलाग्दो छैन र? तिनीहरूले आफ्नो सबै समय झूट बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले यस्तो थकान आफैले आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने पनि थाहा हुन्छ—तैपनि किन तिनीहरू कपटी बन्‍न चाहन्छन्, तर इमानदार बन्‍न चाहँदैनन्? के तिमीहरूले यस प्रश्‍नको बारेमा कहिल्यै विचार गरेका छौ? यो मानिसहरूलाई आफ्नै शैतानी प्रकृतिले मूर्ख बनाउँदाको परिणाम हो; यसले तिनीहरूलाई यस्तो जीवन र यस्तो स्वभावबाट आफूलाई मुक्त गर्न दिँदैन। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसरी नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिको मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले गर्दा आफ्‍नो छवि, आफ्नो प्रतिष्ठा र आफ्नो हितमा समेत हानि पुग्छ, र आफूले एकदमै धेरै गुमाउनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्रिय ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै सम्हालेर राख्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्क्षेपमा, जब मानिसहरू इमानदार बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, तब यो तिनीहरूले सत्यतालाई प्रेम नगरेको कारणले हुन्छ। आफ्‍नो हृदयमा, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन र शैतानको शक्ति अन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त यहाँ परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरूमा अझै पनि केही परिवर्तन आएको छैन—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा, मैले बुझ्न सकेँ मेरो एक इमानदार व्यक्ति बन्ने अनिच्छा मेरै प्रकृतिबाट उत्पन्न भएको हो, जसले सत्यतालाई प्रेम गर्दैन र प्रतिष्ठा र हैसियतलाई ज्यादै माया गर्छ। छली रूपमा जिउनु थकाइलाग्दो छ भन्‍ने मलाई थाहा भए तापनि, जब मैले कसरी एक इमानदार व्यक्ति हुँदा मेरो प्रतिष्ठा र हैसियतमा क्षति पुग्ला भन्‍नेबारे सोचेँ, मलाई सत्यता अभ्यास गर्न मनै लागेन, यसरी म अनजानमै शैतानद्वारा ठगिएँ र हानि पुर्‍याइएँ। यो अवधिमा, मैले कुनै वास्तविक काम गरिनँ वा जीवन प्रवेशमा ध्यान केन्द्रित गरिनँ। अगुवाहरूले मलाई भेलामा बोलाउँदा, मैले एक इमानदार व्यक्ति भएर निर्धक्कतापूर्वक यसको सामना गर्नुपर्थ्यो, आफूले वास्तविक काम नगरिरहेको तथ्य स्वीकारी, अगुवाहरूको मार्गदर्शन र मद्दत स्वीकार गर्नुपर्थ्यो। तर त्यसो गर्दा अगुवाहरूले ममा कर्तव्यप्रति भारबोधको अभाव भएको सोच्नुहोला, मेरो बारेमा उहाँहरूमा नराम्रो छाप पर्ला र मलाई महत्व नदिनुहोला, वा सायद मलाई पदबाटै हटाउनुहोला भनेर म डराएँ। यी कुराहरू सोचेर, मैले एक इमानदार व्यक्ति हुने साहस गुमाएँ, किनकि इमानदार भएमा मलाई धेरै हानि पुग्ला भन्‍ने मलाई लाग्यो। मैले सत्यता अभ्यास गरिनँ वा एक इमानदार व्यक्तिको रूपमा आचरण गरिनँ, र म निरन्तर आफ्नो प्रतिष्ठा र हैसियत जोगाउने प्रयास गरिरहेकी थिएँ, “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ”, र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूद्वारा जिउँदै थिएँ। यी विषहरूले मेरो बाँच्ने नियम बन्दै मेरो हृदयमा गहिरोसँग जरा गाडेका थिए। अगुवाहरूमा नराम्रो छाप नपरोस् भनेर, मैले आफूलाई छलावरण गर्न एउटा नकाब बनाएँ। मलाई थाहा थियो म अगुवाहरूसँग झारा टार्ने र छली व्यवहार गरिरहेकी थिएँ, त्यसैले मलाई असहज महसुस भयो, तर आफ्नो इज्जत जोगाउन, म फेरि छलकपट कै सहारा लिन बाध्य भएँ। यी शैतानी विषहरू हथकडी जस्तै थिए, जसले मलाई बलियोसँग बाँधेर उम्कन गाह्रो बनाएका थिए। मलाई सत्यता राम्ररी थाहा भए तापनि, मैले त्यसलाई व्यवहारमा उतार्न सकिनँ। मैले प्रतिष्ठा र हैसियतका लागि आफ्नो कर्तव्यमा म अक्सर छलकपट अभ्यास गर्दोरहेछु भन्‍ने देखेँ। कहिलेकाहीँ माथिल्लो नेतृत्वले कामबारे सोधपुछ गर्दा, मैले केही-केही कामहरू नगरेको भएपनि, उहाँहरूको हृदयमा राम्रो छवि कायम राख्न मैले ती कामहरू गरेको भनेर झूट बोल्थेँ, र त्यसपछि ती कार्यहरू पूरा गर्न हतारिन्थेँ। अरू बेला, मलाई कामको विवरण थाहा भएन भने, अगुवाहरूले सोध्दा म तुरुन्तै विषय परिवर्तन गर्थेँ, वास्तविक काम नगरेको कुरा लुकाउन आगामी योजनाहरूबारे कुरा गर्थेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी र उहाँका धेरै वचनहरू खाएकी र पिएकी भएपनि, म अझै प्रतिष्ठा र हैसियतलाई नै सबैभन्दा बढी महत्व दिन्छु भन्‍ने मैले बुझेँ। यी कुराहरू पछ्याउनु परमेश्‍वरका लागि घिनलाग्दो हुन्छ भन्‍ने मलाई थाहा भएपनि, मैले ती कुराहरू खोज्नबाट आफूलाई रोक्न सकिनँ। मेरो प्रकृतिमा साँच्चै सत्यताप्रति कुनै प्रेम छैन र म सत्यताप्रति वितृष्णा राख्छु। मैले यो पनि महसुस गरेँ सत्यता अभ्यास गर्न र एक इमानदार व्यक्ति बन्न, व्यक्तिले आफ्नो स्वार्थ त्याग्नुपर्छ अनि प्रतिष्ठा र हैसियत पछ्याइ छोड्नुपर्छ। छली स्वभावका भरमा जिउनुको अर्थ हो व्यक्तिले शुद्ध मनले र निष्ठापूर्वक जिउन सक्दैन, र त्यो व्यक्तिले अन्ततः आफ्नो मर्यादा र निष्ठा गुमाउँछ, अनि अन्त्यमा परमेश्‍वरद्वारा घृणित र निन्दित हुन्छ। यो महसुस गरेपछि, मैले साँच्चै आफूलाई घृणा गरेँ, र मैले अब उप्रान्त प्रतिष्ठा वा हैसियतका लागि जिउन चाहिनँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैँले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तँ आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैँले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैँले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ र उहाँको सामु जिउनुपर्छ। तर मेरो विश्‍वास र मेरो कर्तव्यमा, म परमेश्‍वरको छानबिन स्वीकार गर्न असमर्थ भएकी थिएँ। मैले सधैँ मानवीय माध्यमहरूका भरमा अगुवाहरूलाई झुक्याउन र धोका दिन चाहेँ, र मैले सोचेँ जबसम्म मानिसहरूले मेरा समस्याहरूबारे थाहा पाउँदैनन्, तबसम्म सबै कुरा ठीकै हुन्छ, मानौँ मानिसहरूलाई धोका दिएको कुरा परमेश्‍वरलाई थाहा हुँदैन, र यसो गर्दा मैले आफ्नो हैसियत र जिम्मेवारी दुवै जोगाउन सक्नेछु जस्तो लाग्यो। के म आफैँलाई र अरूलाई धोका दिन खोजिरहेकी थिइनँ र? बाहिरबाट हेर्दा मैले अगुवाहरूलाई धोका दिन खोजिरहेकी छु जस्तो देखियो होला, तर सारमा, म परमेश्‍वरलाई धोका दिन खोजिरहेकी थिएँ, र मेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ थिएन। सत्यता के हो भने, परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ। उहाँले मेरो हरेक सोच, विचार, र कार्यको छानबिन गर्नुहुन्छ, र जब मैले निर्लज्जतापूर्वक परमेश्‍वर र मानिसहरूलाई धोका दिन खोजेँ र गोप्य रूपमा छलपूर्ण गतिविधिहरूमा संलग्न भएँ, परमेश्‍वरले यो सबै स्पष्ट रूपमा देख्नुभयो। मैले आफ्नो कर्तव्य कसरी निर्वाह गरेँ र मैले सत्यता खोजेँ कि खोजिनँ भन्‍ने परमेश्‍वरलाई थाहा थियो। यदि मेरो हृदयमा परमेश्‍वरका लागि ठाउँ भएको भए, मैले परमेश्‍वरका सामु जिउन र सबै कुरामा उहाँको छानबिन स्वीकार गर्नमा ध्यान केन्द्रित गर्ने थिएँ। जहाँ-जहाँ मेरो काममा कमजोरी भयो, त्यहाँ-त्यहाँ मैले तुरुन्तै सच्याउनुपर्थ्यो र आफ्ना कमजोरीहरूको इमानदारीपूर्वक सामना गर्नुपर्थ्यो। तर मैले आफ्नो कर्तव्य निर्वाह गरे जसरी, कामका विभिन्न पक्षहरूलाई बेवास्ता गर्दै र छलकपटले ढाकछोप गर्ने निरन्तर प्रयास गर्दै कर्तव्य निर्वाह गर्नुमा, मानिसहरूले मलाई राम्रो मानेर के अर्थ भयो र? मेरो कर्तव्यका समस्याहरू समाधान भएनन्, र मेरो छली स्वभाव अपरिवर्तित रह्यो। यसले परमेश्‍वरलाई वाक्क-दिक्क र अप्रसन्न बनायो। के यो ठूलो हानि र पूर्ण मूर्खता थिएन र? म आफ्नो कर्तव्यमा वास्तविक काम गरिरहेकी थिइनँ, मेरो जीवन प्रवेश कमजोर थियो, र मैले धेरै भ्रष्ट स्वभावहरू प्रकट गरेँ। मैले परमेश्‍वरसँग पश्चात्ताप गर्न र आफ्नो कर्तव्य राम्रोसँग कसरी पूरा गर्ने भन्‍नेमा ध्यान केन्द्रित गर्नुपर्थ्यो। मेरो मनोवृत्ति त यस्तो पो हुनुपर्थ्यो!

पछि, मैले परमेश्‍वरको अभिप्राय अनुरूप कसरी काम गर्ने भनेर खोज्न थालेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग प्रदान गरे। जुनसुकै समस्या आए पनि, तिनको समाधान गर्न हामीले सत्यता खोज्नुपर्छ। सत्यतामा प्रवेश गर्ने पहिलो पाइला हो आफूलाई खुला पार्नु, त्यसैले जुनसुकै भ्रष्ट स्वभाव प्रकट भएपनि, व्यक्तिले आफूलाई नाङ्गेझार पार्नुपर्छ र परमेश्‍वर र अरू मानिसहरूका सामु एक इमानदार व्यक्ति बन्नुपर्छ। व्यक्तिले आफ्नो प्रतिष्ठा वा हैसियत जोगाउन कुनै कुरा लुकाउनु हुँदैन। उसले छलकपट वा जालसाजीविना सत्यता व्यक्त गर्नुपर्छ। यसो गरेमा मात्र व्यक्तिले स्वतन्त्रतापूर्वक जिउन र परमेश्‍वरको अनुमोदन पाउन सक्छ। मैले के महसुस गरेँ भने शैतानी भ्रष्ट स्वभावमा जिउँदा, सधैँ अरूका धारणाको वास्ता गर्दा, अनि निरन्तर झूट बोल्दा र धोका दिँदा जीवन थकाइलाग्दो र अमर्यादित बन्दो रहेछ। मैले अब उप्रान्त ख्याति, प्राप्ति, र हैसियतका लागि जिउन चाहिनँ। म परमेश्‍वरको छानबिन स्वीकार गर्न र उहाँको सामु जिउन इच्छुक भएँ। मेरा बारेमा अरूको धारणा वा विचार जस्तोसुकै भए तापनि, म केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न चाहन्थेँ। यो कुरा मनमा राख्दा, मेरो हृदयमा ठूलो शान्ति महसुस भयो, र मैले अब माथिल्लो नेतृत्वले मेरो कामबारे जानकारी लिने कुरामा चिन्ता गरिनँ, न त मैले परमेश्‍वर वा अरू मानिसहरूलाई धोका दिन नै चाहेँ।

भेलाको दिन, अगुवाहरू ढिलो आइपुग्नुभयो र मैले सुसमाचारको कामको फलो-अप कसरी गरेकी छु भनेर सोध्नुभयो। मेरो मुटु ढुकढुक भयो, र यदि अगुवाहरूले स्थितिको वास्तविकता थाहा पाउनुभयो भने मेरा बारेमा नराम्रो सोच्नुहोला भनेर डराउँदै अझै पनि म केही चिन्तित भएँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मेरो हृदयमा ठूलो शान्ति महसुस भयो, र मैले अब उप्रान्त प्रतिष्ठा वा हैसियतको लागि काम गर्न चाहिनँ। त्यसैले मैले इमानदारीपूर्वक र खुला रूपमा अगुवाहरूसँग कुरा गरेँ। मैले म स्वार्थी र नीच भएकी थिएँ, र समग्र कामको फलो-अप गर्न असफल भएकी थिएँ, अनि कामको फलो-अप नगरेकी भएपनि, अरूलाई धोका दिने प्रयास गरेकी थिएँ भन्‍ने कुरा स्वीकार गरेँ। मैले भनेको कुरा सुनेपछि, अगुवाहरूले मलाई काटछाँट गर्नुभएन। बरु, उहाँहरूले मण्डलीको काम राम्रोसँग गर्न कसरी सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्ने भन्‍नेबारे मसँग सङ्गति गर्नुभयो। उहाँहरूको सङ्गति सुनेर, मेरो हृदय उज्यालो भयो र मैले अभ्यासको मार्ग पाएँ। उहाँहरूले पछि मेरो अवस्थाबारे सोध्नुहुँदा, मैले के पनि खुला रूपमा सङ्गति गरेँ भने म प्रतिष्ठा र हैसियतका लागि काम गरिरहेकी थिएँ, स्वार्थी र नीच अवस्थामा जिइरहेकी थिएँ, तर म त्यसलाई सुधार्न सत्यता खोज्न तयार छु। त्यसो भनेपछि, मैले आफ्नो हृदयमा स्थिरता र शान्ति महसुस गरेँ। मैले महसुस गरेकी छु जब मेरा विचारहरू मानिसहरूले मेरो बारेमा के सोच्छन् र उनीहरूको हृदयमा मेरो हैसियत के छ भन्‍नेमा केन्द्रित हुन्छन्, म शैतानद्वारा मूर्ख बन्नबाट आफूलाई रोक्न सक्दिनँ, छलकपट र जालसाजीको सहारा लिन्छु, र मेरो जीवन पीडादायी र थकाइलाग्दो तरिकाले जिउँछु। तर जब म मानिसहरूको धारणाको वास्ता गर्दिनँ र केवल परमेश्‍वरका वचनहरूअनुसार काम गर्न र एक इमानदार व्यक्ति हुन चाहन्छु, मेरो अवस्था सुध्रिँदै जान्छ, मलाई म परमेश्‍वरका सामु जिइरहेकी छु भन्‍ने लाग्छ र मेरो हृदयले साँच्चै स्वतन्त्र महसुस गर्छ।

अघिल्लो:  ५. के “आफूप्रति कठोर र अरूप्रति सहनशील हुनु” साँच्चिकै एउटा सद्गुण हो?

अर्को:  ८. म यो रोजाइमा कहिल्यै पछुताउने छैन

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger