८. म यो रोजाइमा कहिल्यै पछुताउने छैन
सानैबेलादेखि म राम्रो अङ्क ल्याउँथेँ अनि क्लास टेस्टहरूमा प्राय: सबैभन्दा बढी अङ्क पाउँथेँ। परीक्षाको नतिजा प्रकाशित हुँदा, मेरो नाम र फोटो सधैँ स्कुलको सम्मान बोर्डमा प्रदर्शित हुन्थ्यो। मेरा शिक्षकहरूका सन्तुष्टि र प्रशंसाले भरिएका हँसिला आँखा देख्दा अनि आफ्ना सहपाठीहरूका तारिफ सुन्दा, मेरो मन खुसीले भरिन्थ्यो र म अतिसम्मानित महसुस गर्थेँ। घर फर्किँदा सडकमा भेटिने छिमेकीहरूले मलाई, “यी नानी बहुतै राम्रो विद्यार्थी हुन्। तिमीले आफ्ना आमाबुबालाई गौरवान्वित बनाउँछ्यौ। भविष्यमा तिमी पक्कै पेकिङ्ग या चिङहुआ विश्वविद्यालयमा पुग्नेछ्यौ!” भन्दै स्वागत गर्थे। म उनीहरूलाई लजालु मुस्कान दिन्थेँ तर भित्र भने एकदम अहम्ताले भरिन्थेँ। पछि, मैले मेरो प्रदेशको एउटा उत्कृष्ट विश्वविद्यालयमा प्रवेश पाएँ र पहिलो वर्षमा आफ्नो मुख्य विषयमा प्रथम स्थान प्राप्त गरेँ। म अत्यन्त खुसी भएँ—मेरा सहकर्मीहरूले मेरो खुबीको तारिफ गरे, मेरो प्रशंसा र इर्ष्या पनि गरे, साथै मेरा शिक्षकहरूले मबाट ठुलो आशा राखे। मलाई आफू समकक्षीहरूबीचमा असाधारण भए झैँ महसुस भयो। तथापि, विश्वविद्यालयको जीवन हाइस्कुल जस्तो व्यस्त थिएन अनि प्रायः जसो एकदम सजिलो र चिन्तामुक्त हुन्थ्यो। कक्षामा हामीले प्रायः केही सामाजिक विज्ञानका सिद्धान्तहरू पढ्नुपर्थ्यो अनि ती सिद्धान्त र शब्दावली कण्ठ गर्नुपर्थ्यो र म कहिलेकाहीँ “यी सबै सिद्धान्तहरू जान्नु र कण्ठ गर्नुको के अर्थ छ त?” भन्दै सोच्थेँ। अधिकांश समय म खालि परीक्षा पास गर्नका लागि मात्र पढ्थेँ। कक्षाबाहिर, फुर्सदको समयमा मेरा सहपाठीहरू आफ्नो समय केवल रमाइलो गरेर बिताउँथे, जबकि म भने बसेर दिक्क लागुन्जेलसम्म आफ्नो फोनमा स्क्रोल गर्दै बसिरहन्थेँ म प्राय: सोच्थेँ, “हामीलाई वास्तवमा यो पृथ्वीमा यसैगरी समय खेर फाल्नका लागि मात्र ल्याइएको हो त? मानवका रूपमा हाम्रो जीवनमा केही लक्ष्य वा दिशा हुनु पर्दैन?” तथापि, यी प्रश्नको जवाफ कसरी दिने हो मलाई थाहा थिएन।
पहिलो वर्षको ग्रिष्म ऋतुमा, मलाई एउटी सिस्टरले परमेश्वरका आखिरी दिनका सुसमाचार पढेर सुनाइन्। परमेश्वरका वचनहरू खाने र पिउने कार्यमार्फत्, मैले परमेश्वरले मानिसलाई मुक्ति दिनका लागि तीन चरणमा कार्य गर्नुभएको कुरा थाहा पाएँ। मानिसलाई पापबाट छुटकारा दिन प्रभु येशू क्रुसीकरण हुनुभएको अनि, आखिरी दिनहरूमा मानवजातिलाई पूर्णरूपमा मुक्ति दिनका लागि परमेश्वरले फेरि देहधारण गरी, मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न थुप्रै सत्यताहरू व्यक्त गर्नुभएको, उनीहरूलाई पापको बन्धनबाट पूर्णरूपले मुक्त भई परमेश्वरको राज्यमा प्रवेश गर्न अनुमति दिनु भएको कुरा मैले बुझेँ। मैले मानवजातिलाई मुक्ति दिन परमेश्वरले देखाउनु भएको ईमानदारी र दयाको गहिरो अनुभूति गरेँ, साथै परमेश्वरको मानवप्रतिको प्रेमलाई पनि महसुस गरेँ। म गहिरोसँग प्रभावित भएँ अनि परमेश्वरमा आस्था राख्ने र सत्यता पछ्याउने सङ्कल्प गरेँ। पछि मेरा ब्रदर-सिस्टरहरूले राज्यको सुसमाचार फैलाउन यो कसरी महत्त्वपूर्ण समय हो भन्ने बारेमा सङ्गति गरे। उनीहरूले के बताए भने सुसमाचार फैलाउने कार्यमा योगदान पुर्याउन र धेरै मानिसहरूलाई परमेश्वरका अगाडि ल्याएर उहाँको मुक्ति प्राप्त गराउन सक्नु निःसन्देह मूल्यवान् कुरा हो। त्यसपछि एउटी सिस्टरले मलाई कुनै कर्तव्य पूरा गर्न तयार छौ कि भएर सोधिन्। म अलि हिच्किचाएँ, “कर्तव्यपालनका लागि समय र उर्जा आवश्यक हुन्छ। स्कुलमा प्रतिष्पर्धा उच्च छ अनि मेरो ग्रेडमा असर पर्याे भने के गर्ने? म परमेश्वरमाथि आस्था राखेर सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरूँ कि राम्रो ग्रेड ल्याएर सुरक्षित भविष्य तथा अरूहरूको प्रशंसा अनि सम्मान सुनिश्चित गर्न आफ्नो पढाइलाई समय दिउँ?” कुन बाटो रोज्ने हो मलाई थाहै भएन त्यसैले मैले ती सिस्टरलाई यस बारेमा विचार गरौँला भनेँ। त्यसपछिका केही रात, विश्वविद्यालयको सडकमा हिँड्दै गर्दा, अरू विद्यार्थीहरूले राम्रो ग्रेड ल्याउन राति अबेरसम्म मेहनत गरेको देखेर, प्राय: आफूलाई अलमलमा परेको पाउँथेँ, र सोच्थेँ, “म आफ्ना अधिकांश साथीहरूजस्तै शैक्षिक अध्ययन र राम्रो भविष्यका लागि प्रयास गरूँ, कि परमेश्वरलाई पछ्याउँदै कर्तव्य पूरा गरूँ?”
पछि, मैले परमेश्वरको वचनका यी खण्डहरू फेला पारेँ: “बिलकुलै शून्यबाट सुरु गरेको एउटा एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वानिर्धारणका कारण अभिभावक र परिवार पाउँछ, मानवजातिको सदस्य बन्ने, र मानव जीवन अनुभव गर्ने र मानव संसारमा यात्रा गर्ने मौका प्राप्त गर्छ; उसले सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिका अद्भुतता जान्न पुग्ने, अनि, त्योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्ने र त्यसप्रति समर्पित हुन पुग्ने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले यो दुर्लभ र क्षणिक मौकाको साँच्चै फाइदा उठाउँदैनन्। मानिसहरूले आफ्नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सक्काउँछन्, र आफ्नो सम्पूर्ण जीवन परिवारको आपूर्ति गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यता र उता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले कदर गर्ने कुराहरू परिवारको प्रेम, पैसा, र ख्याति र लाभ हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा हेर्छन्। सबै मानिसहरूले आफ्नो भाग्य खराब भएकोबारे गुनासो गर्छन्, तैपनि मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजीनिती गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता मामलाहरूलाई आफ्नो मनको पछाडितिर धकेल्छन्। तिनीहरू चाहे जति धेरै बाँचे पनि, तिनीहरूको जवानी गइञ्जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्जेल, जबसम्म तिनीहरूले ख्याति र लाभले तिनीहरूलाई बुढो हुन बाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन भनी महसुस गर्दैनन्, र कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमबाट उम्कन सक्दैन, र कसैले पनि नियतिका प्रबन्धहरूलाई फाल्न सक्दैन भनी बुझ्दैनन्, तबसम्म तिनीहरू आफ्नो सारा जीवन ख्याति र लाभ खोज्न दौडधुप गरेरै बिताउँछन्। जीवनको अन्तिम विन्दुको सामना गर्नु परेपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। “परमेश्वरमा विश्वास गर्नु, सत्यता पछ्याउनु र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुबाहेक मान्छेको जीवनका सबै कुरा खाली हुन्छन्, र त्यो याद गर्न लायक हुँदैन। तैँले धर्ती नै हल्लाउने खालको सबभन्दा ठूलो काम पूरा गरेको भए पनि, तँ चन्द्रमामै पुगेर फर्केको भए पनि, तैँले मानवजातिलाई केही लाभ वा मदत पुर्याउने वैज्ञानिक प्रगति नै गरेको भए पनि, त्यो व्यर्थ छ र त्यो सब नासिएर जानेछ। त्यस्तो एउटै कुरा कुन हो, जुन नासिएर जाँदैन? (परमेश्वरको वचन।) परमेश्वरको वचन, उहाँको गवाही, सृष्टिकर्ताको साक्षी दिने सबै गवाही तथा कार्यहरू, र मान्छेका असल कर्महरू नासिएर जाँदैनन्। यी कुराहरू सधैँ रहिरहनेछन् र यी धेरै मूल्यवान् हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ)। परमेश्वरका वचनको ममा गहिरो प्रभाव पर्याे। परमेश्वरले हरेक मानिसलाई यस संसारमा आएर परमेश्वरको सार्वभौमिकता चिन्ने, उहाँको बुद्धि र अख्तियारी बुझ्ने, अनि परमेश्वरमा समर्पित भई उहाँको आराधना गर्न सिक्ने प्रबन्ध मिलाउनुहुन्छ। मानिसहरूले परमेश्वरको अभिप्रायलाई बुझेनन् भने यस संसारमा उनीहरूको युग अर्थहीन हुन्छ—उनीहरूले आफ्नो जन्म किन भएको हो, आफू किन अघि बढ्नु पर्छ वा आफू केका लागि बाँच्नुपर्छ भन्ने थाहै पाउँदैनन्। म प्राय: अत्यधिक प्रशंसा र पैसा प्राप्त गरी विलासी जीवन बिताएपनि, डिप्रेसनमा परेर अन्तत: आत्महत्या गरेका प्रसिद्ध मानिसहरूबारेका समाचार हेर्ने गर्थें। अरू समाचार विवरणहरूमा कसरी उच्च प्रतिष्ठित धनी मानिसहरू अचानक बिरामी परेर मरे भन्ने बताइएको हुन्थ्यो। मैले उच्च शिक्षित बौद्धिक व्यक्तित्व, जीवनभर कडा परिश्रम गरेर कुनै समय गौरवशाली क्षण बिताएका मेरा आफ्नै हजुरबा-हजुरआमा नै आफ्नो अवकाशपछिको समय गफिएर कटाउँदै, जीवनको अर्थै नबुझी खालीपनमा दिन बिताउँदै, विना उद्देश्य मृत्यु कुरिरहेका पनि देखेँ। कसैले जतिसुकै अध्ययन गरोस् वा जतिसुकै ठुला उपलब्धि हासिल गरोस्, त्यो सबै क्षणिक र अस्थायी हुन्छ। अन्त्यमा दुष्ट, पुरातन संसार विनाश भएपछि सबैकुरा त्यत्तिकै नष्ट हुनेछन्। यी वैज्ञानिक उपलब्धि तथा व्यक्तिगत प्राप्तिहरूले मानिसलाई परमेश्वरबारे बुझ्ने, परमेश्वरका अगाडि आउने र जीवनको अर्थ बुझ्ने मार्ग देखाउन सक्दैनन्। तिनले मानिसलाई आफ्नो भ्रष्टता फाल्न र मानव स्वरूपमा बाँच्न पनि सघाउन सक्दैनन्—यी प्राप्ति हासिल गरेपछि पनि उनीहरू सदा झैँ भ्रष्ट नै रहन्छन्। अझ विद्वता समाजको अन्धकार अवस्थालाई परिवर्तन गर्न असक्षम हुन्छ अनि मानिसलाई सही मार्ग र दिशा देखाउन असफल हुन्छ। विद्वता र प्राप्ति मात्र अर्थपूर्ण हुँदैनन्। केवल परमेश्वरका चुनिएका जनहरूको गवाही र परमेश्वरका कार्यको अनुभवमार्फत् उनीहरूले प्राप्त गरेका कुरा मात्रै अमर हुन्छन्। यदि म ज्ञानको खोजी गर्न लगानी गर्ने, यो नाशवान् संसारको फलको पछि लाग्ने र प्रतिष्ठा, लाभ, परिवार, शैक्षिक योग्यता, अनि पेसाको पछि दगुर्ने गर्थेँ, सत्यता पछ्याउन र परमेश्वरलाई चिन्न असफल हुन्थेँ, अनि अन्तत: कुनैपनि सत्यता बोध गर्न असफल हुन्थेँ, परमेश्वरको ज्ञान प्राप्त गर्न असफल हुन्थेँ र मेरो स्वभाव परिवर्तन हुँदैनथ्यो भने, मैले परमेश्वरको कार्यको अनुभव गर्ने सुनौलो मौका गुमाउने थिइनँ र? परमेश्वरले मलाई जीवनको दिशा फेला पार्न मार्गदर्शन गर्नुभएको थियो: मैले के बुझेँ भने जीवनमा हामीले सत्यता र परमेश्वरको ज्ञानलाई पछ्याउने गर्नुपर्छ। सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरेर मात्र म परमेश्वरको मुक्ति प्राप्त गर्न लायक हुने थिएँ र यस्तो जीवन मात्र मूल्यवान् अनि अर्थपूर्ण हुने थियो। सुसमाचार फैलाउन आफ्नो प्रयत्न लगाउन सक्नु र धेरै मानिसहरूलाई परमेश्वरका अगाडि ल्याउन सक्नु मेरो जिम्मेवारी तथा परमेश्वरद्वारा प्रदत्त उच्च सम्मान थियो। मैले पढाइमा समय खेर फाल्न छोडेर आस्थालाई नै आफ्नो प्राथमिकता बनाउने निर्णय गर्नु जरूरी थियो। त्यसपछि, मैले ग्राजुएट अध्ययनका लागि सुनिश्चित भर्नाको अवसर त्यागेर आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गरेँ।
२०२० को सुरुमै, म घरमा चिनियाँ नयाँ वर्ष मनाइरहेका बेला महामारी फैलियो र म त्यहीँ अड्किएँ अनि मैले आफ्नो मण्डलीलाई सम्पर्क गर्नै सकिनँ। आधावर्ष जति मैले भेलाहरूमा सहभागी हुन वा परमेश्वरका वचन खान र पिउन पाइनँ। त्यतिखेर म सिनिएर विद्यार्थी थिएँ र ग्राजुएट गर्नै लागेकी थिएँ। मेरा केही सहपाठीहरूले ग्राजुएट कार्यक्रममा भर्ना पाइसकेका थिए भने कोहीले राम्रो जागिर पाएका थिए। मेरो भने अझैसम्म जागिरको कुनै टुङ्गो थिएन। मेरो बुबाले मलाई कडासँग सम्झाउँदै भन्नुहुन्थ्यो, “फलानाका सन्तानले नाम चलेको स्कुलमा ग्राजुएट कार्यक्रममा भर्खरै भर्ना पाए। आजभोलि ग्राजुएट डिग्री हासिल गर्ने चलन बढ्दो छ र यसले तिमीलाई रोजगारीको क्षेत्रमा प्रतिस्पर्धात्मक बनाउनेछ। तिमीले जसरीपनि ग्राजुएट डिग्री हासिल गर्ने नै निर्णय गर्नुपर्थ्यो, तर तिमीले हाम्रो कुरा सुने पो त। अहिले तत्कालै जागिर पाएनौ भने यो तह पास भैसकेपछि के गर्ने योजना छ?” मेरो बुबाले सम्झाइबुझाइ सुनेपछि अनि मेरा सबै साथीहरूले राम्रो भविष्यका लागि कडा परिश्रम गरेको देखेपछि, मैले मनमनै सोचेँ, “उहाँले भनेको सही हो, मैले यो तह पास गर्नै लागेकी छु। पास भइसकेपछि पनि म साँच्चै बेरोजगार नै बस्ने हो र? मानिसले मेरा बारेमा के सोच्लान्? उनीहरूले म केही काम नलाग्ने भन्ने नसोच्लान्?” म अति दुःखी भएँ। एकचोटि एउटा पूर्वसहकर्मी पुनर्मिलनका बेला, सबैजना आफ्नो भविष्यका योजना बताउन थाले: कोही उत्साहित भएर आफूले नाम चलेको यो वा त्यो विश्वविद्यालयमा ग्राजुएट गर्नका लागि भर्ना पाएको भन्दै थिए, कतिपयले राज्यको स्वामित्व भएको कार्यालयमा जागिर पाएका थिए त कतिले सरकारी कर्मचारीका रूपमा जागिर पाएका थिए। उनीहरूले एकअर्कामाथि बधाईको ओइरो लाए र विभिन्न क्षेत्रमा प्रवेश गर्नु अघि र पछिका अनुभवका बारेमा कुरा गरे, तर मेरो भने भन्ने कुरा केही थिएन। मेरा साथीहरूको इज्जत, उनीहरूको मुस्कान र गौरवले बलेका अनुहारहरू देख्दा, मैले निराशामा चुपचाप आफ्नो शिर निहुऱ्याउनु पऱ्याे, सोचेँ, “म उनीहरूको भन्दा राम्रो ग्रेड ल्याउँथेँ उनीहरू सबैले मलाई सम्मान र प्रशंसा गर्थे, तर अहिले उनीहरू प्रख्यात स्कुलहरूमा ग्राजुएट कार्यक्रमका विद्यार्थी छन् मैले भने खालि स्नातक मात्र गरेकी छु। उनीहरू म भन्दा निक्कै अगाडि छन्, यस्तो भएपछि मैले आफूभन्दा अगाडि पुगेकाहरूको सामुन्ने कसरी टाउको ठड्याएर बस्ने? अब उनीहरूको नजरमा मेरो छवि र इज्जत गिरेन त?” मलाई अन्धकारले छोपेझैँ भयो। मेरा सहपाठीहरूले अगाडि बढ्नका लागि मेरा के-कस्ता योजनाहरू छन् भनेर सोध्दा, म खालि अक्मकिएँ र उनीहरूको अस्वीकारपूर्ण दृष्टि हेर्न डर लागेर उनीहरूका प्रश्नलाई अस्वाभाविक तवरले पन्छाएँ। पुनर्मिलन कार्यक्रमभरि मैले एकदमै दमित महसुस गरेँ—मलाई मैले केही पनि हासिल गर्न सकेको छैन र मलाई मेरा सहपाठीहरूले हेप्लान् भन्ने लाग्यो। घर आएपछि म रोएँ। मैले सानै उमेरदेखि अरूको प्रशंसा र तारिफ पाएकी थिएँ, तर अब भने म उनीहरूभन्दा पछि परेकी थिएँ र त्यही अहिले र पहिलेको अनुभूति बीचको बिशाल खाडलले कठोर मुक्का प्रहार गऱ्याे। अगाडि बढ्नका लागि मैले कुन बाटो रोज्ने हो मलाई थाहा थिएन। मेरा तत्कालिन शैक्षिक प्रमाणपत्रहरू हेर्दा मैले सम्मानयोग्य जागिर पाउँछु भन्ने कुनै सम्भावना नै थिएन। के मैले आफू ती ग्राजुएट विद्यार्थीहरूभन्दा तल्लो स्तरको भएको स्वीकार गर्नुपर्ने हो? मैले त्यसलाई स्विकार्न सकिनँ, त्यसैले मैले ग्राजुएट प्रवेश परीक्षा दिने सङ्कल्प गरेँ।
पछि म आफ्नो मण्डलीको सम्पर्कमा आएँ अनि ब्रदर-सिस्टरहरूलाई आफू घर जाने र ग्राजुएट प्रवेश परीक्षा दिने तयारी गरिरहेको तर सकेको बेला भेलामा सहभागी हुने कुरा बताएँ। ब्रदर-सिस्टरहरूले मलाई एउटा खास कर्तव्य पूरा गर्नका लागि उनीहरूलाई धेरै मानिसहरू चाहिएको र यो कर्तव्य पूरा गर्नेबारे मैले विचार गर्छु कि भनेर सोधे। त्यतिबेला, परमेश्वरमाथि आस्था राख्नु र सत्यता पछ्याउनु राम्रो कुरा हो अनि आफ्नो कर्तव्य पूरा गर्न असफल भएमा मलाई यति धेरै कुराहरू उपलब्ध गराइदिने परमेश्वरलाई मैले दुःखित तुल्याउने छु भन्ने मलाई थाहा थियो, तर त्यतिखेरै मैले प्रवेश परीक्षा तयारीका लागि थोरै समय बाँकी रहेको कुरा सम्झिएँ र इज्जत बचाउने यो नै अन्तिम मौका थियो। ग्राजुएट कार्यक्रमको प्रारम्भिक चरणमा छानिनु नै मलाई अत्यधिक योग्य सहपाठीहरूकै स्तरमा रहन, आफ्नो परिवारका अपेक्षाहरू पूरा गर्न र मेरा साथीभाइ तथा आफन्तहरूमाझ शिर ठाडो राख्न सक्षम बनाउने एक मात्र उपाय थियो। मैले ग्राजुएट प्रवेश परीक्षा छोडेँ भने, आफना साथीहरूभन्दा भिन्न हुने सम्पूर्ण आशा गुमाउने थिइनँ र? म त्यसो गर्न बिलकुल राजी थिइनँ। त्यसैले, मैले मेरा ब्रदर-सिस्टरहरूलाई के भनेँ भने म पूर्णकाल नै कर्तव्य पूरा गर्न सक्दिनँ र परीक्षाको तयारी गर्दागर्दै गर्न सक्ने कर्तव्य मात्र पालन गर्छु। त्यसपछिका केही महिना म अत्यधिक दबाब र तनावमा परेँ। दिनभरि म आफ्नो कर्तव्य पूरा गर्थेँ वा भेलामा सहभागी हुन्थेँ, अनि राति चाङ लगाएर राखिएका परीक्षा-तयारी सामग्रीहरूको सामना गर्न घर पुग्थेँ। म यति थकित हुन्थेँ तैपनि जबर्जस्ती आँखा खुल्ला राख्दै र सो दिनका लागि आफूले आफैँलाई दिएका अध्ययन कार्य पूरा गर्न डटेर लाग्थेँ। भोलिपल्ट उज्यालो हुने बित्तिकै म तत्कालै उठिहाल्थेँ र जतिसुकै थकित भएपनि ज्ञानको त्यही गहिरो समुद्रमा हामफाल्थेँ। मैले आफूलाई अलिकति पनि आराम गर्ने मौका दिने आँट गरिनँ—खानेकुरा किन्न बाहिर जाँदा, खाना पकाउँदा वा भाँडा माझ्दा समेत, अडियो बजाउँदै पढाइ जारी राख्थेँ। अनि आखिरमा, धेरै महिनाको कठिन तयारीपछि मैले ग्राजुएट कार्यक्रम प्रवेशका लागि परीक्षा दिएँ। आफ्नो परीक्षाफल देखेर म निकै उत्साहित थिएँ—अब भने म आफूले पहिले पाएको केही इज्जत फेरि पाउन सफल भएँ, म आफन्त र साथीहरूमाझ आफ्नो शिर ठाडो गर्न सक्थेँ र अरूले मलाई हेप्लान् भनेर आत्तिनु पर्दैनथ्यो। मेरा साथीहरूले मैले ग्राजुएट कार्यक्रमको प्रवेश परीक्षा पास गरेँ भन्ने सुनेपछि मलाई बधाईको ओइरो लगाए। मेरो बुबा त खुसीले मुख कानसम्म पुग्नेगरी मुस्कुराउँदै हुनुहुन्थ्यो र त्यो खुसीको खबर छिमेकी र आफन्तलाई सुनाउन आतुर हुनुहुन्थ्यो। म घर फर्किएपछि मेरा सबै छिमेकीले मलाई बधाई दिए अनि प्रशंसा गरे, “तिमीले ग्राजुएट कार्यक्रममा भर्ना पायौ, स्याबास्! तिमी सानैदेखि प्रतिभावान् छ्यौ। तिम्रो बुबाले तिमीमाथि कति गौरव गर्नुहोला!” म आफैँदेखि अति सन्तुष्ट भएँ र बल्ल गौरवले आफ्नो शिर ठाडो गर्न सकेँ।
लगत्तै स्कुल सुरू भयो र मैले अध्ययन र कर्तव्यपालनमा बराबर समय बिताएँ, तर ग्राजुएट विद्यार्थीहरूले हरदिन धेरै पाठहरू पढ़नुपर्थ्यो अनि खाली समयमा आफ्नो गृहकार्य पूरा गर्नु पर्थ्यो, त्यसैले मैले भक्तिको अभ्यास गर्न अनि परमेश्वरका वचन पाठ गर्न कुनै समय नै पाइनँ। कहिलेकाहीँ म आफ्नो कर्तव्यपालनमा भ्रष्टता प्रकट गर्दैछु भन्ने महसुस गर्थेँ, तर आफैँमा चिन्तन गर्ने मसँग समय थिएन र म व्याकुल अनि दुःखी हुन्थेँ। कहिलेकाहीँ म सोच्थेँ, “परमेश्वरका वचन पढ्ने र सत्यताको खोजी गर्ने मसँग समय भएन भने मेरो जीवनमा कसरी प्रगति होला त? तर मेराे गृहकार्य थुप्रिँदै जान्थ्यो अनि मैले त्यसलाई पूरा गर्नैपर्थ्यो। अझ, मेरा सहपाठीहरू झन् कडासँग अध्ययन र अनुसन्धान गर्दै थिए, आफ्नो क्षमता र स्तर वृद्धिका लागि पूर्ण प्रयत्नरत थिए—मैले पढाइका लागि समय ननिकाल्ने हो भने, म तिनीहरूभन्दा पछि पर्ने र अरूभन्दा कहिल्यै विशिष्ट हुन नसक्ने थिइनँ र?” यसले मलाई चिन्तित र अति दुःखित बनायो—आफ्नो सपनाको ग्राजुएट कार्यक्रममा भर्ना हुन सकेपनि म किन खुशी छैन?
एकरात, स्कुलले महामारीका कारण क्याम्पस सिल गर्न लागेको सूचना सुनायो, तसर्थ केही दिनपछिबाट क्याम्पसभित्र आइसकेका विद्यार्थीहरू आफ्नो इच्छानुसार छोडेर जान पाउने थिएनन्। मलाई निर्णय गर्ने समय यही हो भन्ने लाग्यो। मैले अध्ययन जारी राख्ने हो भने आस्थाको अभ्यास गर्न र आफ्नो कर्तव्यपालन गर्न सक्ने थिइनँ। यस्तो महत्त्वपूर्ण समयमा पनि मैले कर्तव्य पन्छाएँ र भेलामा सहभागी हुन सकिनँ भने, मेरो जीवनमा हानि हुने निश्चित थियो। अझ, मैले पूरै समय स्कुलमै बिताएर भेलामा सहभागी हुन नसक्ने हो भने, मैले निःसन्देह अधार्मिक जगतमा भविष्य खोज्न सम्पूर्ण लगानी गर्ने थिएँ र त्यसबाट निस्किन कठिन हुने थियो। मैले सत्यता प्राप्त नगर्दा मेरा दृष्टिकोणहरू रूपान्तरित हुने थिएनन् र म अन्य अविश्वासीहरूसँगै दलदलमा डुबेर दुष्ट प्रवृत्तिहरू पछ्याउँदै, अन्ततः शैतानको जीवित स्वरूपमा परिणत हुने थिएँ अनि अधोगति र विनाशको नियति भोग्ने थिएँ। विपद्को सुरूवात भैसकेको थियो र सुसमाचार फैलाउने यो महत्त्वपूर्ण क्षण थियो—मैले सांसारिक कुराको खोजी जारी राख्दै आफ्नो कर्तव्य पूरा नगर्दा र असल कार्यको कत्तिपनि तयारी नगर्दा, परमेश्वरको हेरचाह र संरक्षण प्राप्त नगर्ने निश्चित थियो अनि म अन्य अविश्वासीहरू जस्तै विपदमा बढारिने थिएँ। तैपनि, म आफ्नो पढाइलाई पनि छोड्न सक्दिनथेँ; पढ्नका लागि प्रवेश परीक्षा पास गर्नु चानचुने कार्य थिएन, त्यसोभए मैले यति सजिलै पछि हट्नु हुन्थ्यो त? म फिर्ता गएँ भने फेरि आफ्नो इज्जत र प्रतिष्ठा गुमाउने थिइनँ र? त्यसपछि त म आफ्ना साथीहरू भन्दा तल पर्ने, दमित जीवन जिउने र गौरवले शिर ठाडो पार्न नसक्ने हुन्नथेँ? मैले पछि हट्नेबारे विचार गर्दा, म यति दुखित भएँ कि मलाई कुनै कामै नगरूँ जस्तो भयो। हरेक बिहान ब्यूँझेपछि, म आफ्नो अगाडि भएका विकल्पबारे सोच्थेँ र गहिरो पीडामा डुब्थेँ।
पछि मैले परमेश्वरका वचनको एउटा खण्ड फेला पारेँ: “परमेश्वरले हरेक व्यक्तिको जन्मदेखि अहिलेसम्मका दशकहरूमा उसको लागि मूल्य मात्रै चुकाउनुहुन्न। परमेश्वरको नजरमा, तँ यो संसारमा धेरै पटक आएको छस्, र तैँले धेरै पटक पुनर्जन्म लिएको छस्। यसको तालुकदार को हो? यसको तालुकदार परमेश्वर हो। तँलाई कुनै पनि हालतमा यी कुराहरू थाहा हुँदैन। हरेक पटक तँ यो संसारमा आउँदा, परमेश्वरले व्यक्तिगत रूपमा तेरो लागि बन्दोबस्तहरू मिलाउनुहुन्छ: तँ कति वर्ष बाँच्नेछस्, कस्तो परिवारमा जन्मनेछस्, तैँले कहिले घर र करियर बनाउनेछस्, साथै यो संसारमा तैँले के गर्नेछस् र कसरी यो जीवन धान्नेछस्, त्यो सबैको बन्दोबस्त उहाँले मिलाउनुहुन्छ। परमेश्वरले तेरो लागि जीवनयापन गर्ने मार्ग तयार गर्नुहुन्छ, ताकि तैँले कुनै बाधाविना यस जीवनमा आफ्नो मिसन पूरा गर्न सक्। अनि जहाँसम्म तैँले तेरो अर्को जन्ममा के गर्नुपर्ने भन्ने कुरा छ, परमेश्वरले तँलाई तैँले के पाउनुपर्छ र तँलाई के दिइनुपर्छ भन्ने आधारमा सबै कुरा मिलाएर त्यो जीवन प्रदान गर्नुहुन्छ…। परमेश्वरले तेरो लागि धेरै पटक यस्ता बन्दोबस्तहरू गर्नुभएको छ, र अन्त्यमा तँ आखिरी दिनहरूको यो युगमा तेरो अहिलेको वर्तमान परिवारमा जन्मेको छस्। परमेश्वरले तेरो लागि तैँले परमेश्वरलाई विश्वास गर्न सक्ने वातावरण मिलाउनुभएको छ; उहाँले तँलाई उहाँको आवाज सुन्न र उहाँसामु फर्किआउन दिनुभएको छ, र यसरी तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य पूरा गर्न सक्छस्। परमेश्वरबाट यस्तो मार्गदर्शन पाएर मात्रै तैँले आजको दिनसम्म जिएको छस्। मानिसहरूमाझ तँ कति पटक जन्मेको छस्, तेरो रूप कति पटक परिवर्तन भएको छ त्यो तँलाई थाहा छैन, न त तँलाई तेरा कति वटा परिवारहरू थिए, कति वटा युग र वंशहरू तैँले बाँचिसकिस् त्यो नै थाहा छ—तर यो पुरै समय, परमेश्वरले तँलाई साथ दिइरहनुभएको छ, र तँलाई सधैँ हेरचाह गरिरहनुभएको छ। व्यक्तिको लागि परमेश्वर कति धेरै मेहनत गर्नुहुन्छ! कतिपय मानिसहरू भन्छन्, ‘म साठी वर्ष पुगेँ। साठी वर्षसम्म परमेश्वरले मलाई हेरचाह, रक्षा, र मार्गनिर्देशन गर्दै आउनुभएको छ। म वृद्ध भएपछि, यदि मैले कर्तव्य पूरा गर्न सकिनँ र केही गर्न सकिनँ भने—के परमेश्वरले मलाई अझै वास्ता गर्नुहुनेछ?’ के यसो भन्नु मूर्खता होइन र? केवल एउटै जीवनकालको लागि मात्रै मानिसको नियतिमाथि परमेश्वरको सार्वभौमिकता रहने र उहाँले त्यतिन्जेल मात्रै मानिसलाई हेरचाह र सुरक्षा गर्ने भन्ने हुँदैन। यदि यो एउटै जीवनकाल, एउटै जीवन-अवधिको लागि मात्रै भएको भए, यसले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने कुरा देखाउन सक्दैनथ्यो। परमेश्वरले कुनै व्यक्तिको लागि गर्नुहुने परिश्रम र चुकाउनुहुने मूल्य उसले यस जीवनमा के गर्छ त्यसलाई बन्दोबस्त गर्नको लागि मात्रै होइन, बरु यो त उसको लागि अनगिन्ती जीवनकालको बन्दोबस्त गर्नको लागि हो। पुनर्जन्म लिने हरेक प्राणको लागि परमेश्वरले पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँले हरेक व्यक्तिलाई डोऱ्याउँदै र उसको जीवनको हरेक बन्दोबस्त मिलाउँदै, एकदमै ध्यान दिएर काम गर्नुहुन्छ र आफ्नै जीवनको मूल्य चुकाउनुहुन्छ। परमेश्वरले यसरी मानिसको खातिर मेहनत गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, अनि उहाँले मानिसलाई यी सबै सत्यता र यो जीवन दिनुहुन्छ। यदि मानिसहरूले यी आखिरी दिनहरूमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दैनन्, र तिनीहरू सृष्टिकर्ताको अघि फर्किँदैनन् भने—यदि अन्त्यमा, तिनीहरूले जति नै जीवन र पुस्ता पार गरेको भए पनि, आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन् र परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनन् भने—के परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुँदैन र? के तिनीहरू परमेश्वरले चुकाउनुभएका सबै मूल्यहरूको लागि अयोग्य हुँदैनन् र? तिनीहरूमा विवेकको यति कमी हुनेछ कि तिनीहरू मान्छे भनिनसमेत लायक हुनेछैनन्, किनभने परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुनेछ। यसैले, यो जीवनमा—मैले तेरो पूर्व जीवनहरूबारे कुरा गरिरहेको छैन, तर यदि यो जीवनमा—तैँले आफ्नो मिसनको निम्ति आफूले प्रेम गरेका वा बाह्य कुराहरू—जस्तै भौतिक सुखहरू र परिवारको प्रेम र आनन्द—त्याग्न सक्षम छैनस् भने, यदि तैँले परमेश्वरले तेरो निम्ति चुकाउनुभएको मूल्यको खातिर देहको सुख त्याग्न सक्दैनस् भने वा परमेश्वरको प्रेमको ऋण तिर्न सक्दैनस् भने, तँ साँच्चै नै दुष्ट होस्। वास्तवमा, तैँले परमेश्वरको लागि तिर्ने जुनसुकै मूल्य पनि सार्थक नै हुन्छ। परमेश्वरले तेरो खातिर चुकाउनुभएको मूल्यको तुलनामा, तैँले प्रदान गर्ने सानो रकम वा खर्चको मूल्य कति हुन्छ र? तैँले भोगेको थोरै कष्टको मूल्य कति नै हुन्छ र? के तँलाई परमेश्वरले कति कष्ट भोग्नुभएको छ भन्ने थाहा छ? परमेश्वरले सहनुभएको कष्टसँग तुलना गर्दा, तैँले भोग्ने थोरै कष्ट त उल्लेख गरिन पनि योग्य छैन। साथै, अहिले कर्तव्य निर्वाह गरेर तैँले सत्य र जीवन प्राप्त गरिरहेको छस् र अन्त्यमा तँ बाँच्नेछस् र परमेश्वरको राज्यमा प्रवेश गर्नेछस्। त्यो कति ठूलो आशिष्को कुरा हो! जब तैँले परमेश्वरलाई पछ्याउँछस्, चाहे तैँले कष्ट भोग् वा मूल्य तिर्, तैँले वास्तवमा परमेश्वरसँग काम गरिरहेको हुन्छस्। परमेश्वरले हामीलाई जे गर्न लगाउनुभए पनि, हामी परमेश्वरका वचनहरू सुन्छौँ र तीबमोजिम अभ्यास गर्छौँ। परमेश्वरको विरुद्ध विद्रोह नगर् वा उहाँलाई दुःखी पार्ने कुनै पनि काम गर्ने नगर्। परमेश्वरसँग काम गर्नको निम्ति, तैँले केही कष्ट भोग्नुपर्छ अनि तैँले केही कुराहरू त्याग्नु र अलग गर्नुपर्छ। तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा र सांसारिक सुखहरू त्याग्नुपर्छ—तैँले विवाह, काम र तेरा सांसारिक सम्भाव्यताहरूजस्ता कुराहरू पनि त्याग्नुपर्छ। तैँले यी कुराहरू त्यागिस् कि त्यागिनस् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ? के परमेश्वरले यी सबै देख्नुहुन्छ? (देख्नुहुन्छ।) तैँले यी कुराहरू त्यागिसकेको परमेश्वरले देख्नुभयो भने, उहाँले के गर्नुहुनेछ? (परमेश्वरलाई सान्त्वना मिल्नेछ, र उहाँ प्रसन्न हुनुहुनेछ।) परमेश्वर प्रसन्न मात्र हुनुहुनेछैन, र उहाँले यसो भन्नुहुनेछ, ‘मैले तिरेको मूल्यले फल फलाएको छ। मानिसहरू मसँग काम गर्न राजी छन्, तिनीहरूसँग यस्तो सङ्कल्प छ र मैले तिनीहरूलाई प्राप्त गरेको छु।’ चाहे परमेश्वरलाई प्रसन्नता वा खुसी, सन्तुष्टि वा सान्त्वना मिलोस् वा नमिलोस्, परमेश्वरसँग त्यो मनोवृत्ति मात्र हुँदैन। उहाँ काम पनि गर्नुहुन्छ र उहाँ आफ्नो कामले प्राप्त गरेको परिणाम हेर्न चाहनुहुन्छ, नत्र त उहाँले मानिसहरूबाट चाहनुभएको कुरा अर्थहीन हुनेछ। परमेश्वरले मानिसप्रति देखाउनुहुने अनुग्रह, प्रेम र कृपा एउटा मनोवृत्ति मात्रै होइन—त्यो एउटा तथ्य पनि हो। त्यो कुन तथ्य हो? त्यो तथ्य हो, परमेश्वरले तँभित्र आफ्ना वचनहरू राखिदिनुहुन्छ, र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, ताकि तैँले उहाँमा के कुरा प्रेमिलो छ, र यो संसार केको बारेमा हो भनेर देख्न सक्, ताकि तेरो हृदय ज्योतिले भरियोस्, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न मदत मिलोस्। यसरी, तैँले थाहै नपाई सत्यता प्राप्त गर्छस्। परमेश्वरले हरेक वास्तविक तरिकामा तँमा यति धेरै काम गर्नुहुन्छ, यसरी तैँले सत्यता प्राप्त गर्न सक्छस्। जब तैँले सत्यता प्राप्त गर्छस्, जब तैँले सबैभन्दा बहुमूल्य कुरा अर्थात् अनन्त जीवन प्राप्त गर्छस्, तब परमेश्वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्वरले मानिसहरूले सत्यता पछ्याएको र उहाँसँग सहकार्य गर्ने इच्छा गरेको देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट बन्नुहुन्छ। त्यसपछि उहाँमा एउटा मनोवृत्ति हुन्छ, र उहाँमा त्यो मनोवृत्तिमा हुँदा, उहाँ काममा लाग्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘म तँलाई तैँले पाउनुपर्ने आशिष्हरू प्रदान गर्नेछु।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँमा सृष्टिकर्ताको ज्ञान हुन्छ र जब तैँले आफूमा उहाँप्रतिको सराहना प्राप्त गरेको हुन्छस्, के तँलाई अझै पनि मनमा रित्तो महसुस हुनेछ? हुनेछैन। तँलाई आफू भरिपूर्ण भएजस्तो र आनन्द महसुस हुनेछ। के व्यक्तिको जीवनमा मूल्य हुनु भनेको यही होइन र? यही नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। परमेश्वरका वचनमार्फत् मैले के बुझेँ भने, उहाँले नै मेरो मार्गका हरेक पाइलामा मलाई अहिलेको क्षणसम्म डोऱ्याउनु र संरक्षण गर्नु भएको थियो। परमेश्वरले मलाई आखिरी दिनहरूमा जन्म लिने र उहाँका आखिरी दिनका काम स्वीकार गर्ने सौभाग्य केवल सम्भावना र पेसा पछ्याउनका लागि मात्र दिनुभएको थिएन। मैले उहाँका वचनहरू प्राप्त गरूँ, सत्यता बुझूँ र सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकूँ भन्ने उहाँको चाहना थियो। परमेश्वरले प्रबन्ध गर्नुहुने परिवार र काम भनेका अस्थायी हुन्छन्। आफ्नो परिवारको अपेक्षा पूरा गर्नैका लागि मैले परमेश्वरको मुक्ति अस्वीकार गर्ने र सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगर्ने हो अथवा भौतिक आनन्द, प्रसिद्धि र लाभ प्राप्त गर्ने हो भने, मैले परमेश्वरले प्रदान गर्नुहुने कुरा प्राप्त गर्न अयोग्य भई, मुक्ति पाउने सुन्दर मौका गुमाउने थिइनँ त? मैले आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गर्थेँ भने, मैले केही व्यक्तिगत लाभहरू गुमाउने थिएँ तर सबैभन्दा मूल्यवान् सत्यता प्राप्त गर्ने थिएँ अनि अन्तत: परमेश्वरको मुक्ति प्राप्त गरी जीवित रहने थिएँ—ती नै वास्तविक उपलब्धिहरू थिए! यो अनुभूत गरिसकेपछि म निकै प्रभावित र प्रेरित भएँ अनि परमेश्वरले छेउमै रहेर मलाई प्रेरित गर्दै, डोऱ्याउँदै हुनुहुन्छ भन्ने महसुस गरेँ। त्यसपछि मैले “एउटा पछुतो विहीन निर्णय” शीर्षकको एउटा अनुभूति गवाही भिडिओ हेरेँ। यसमा एउटी सिस्टरले आफ्नो आस्था अभ्यास गर्न र सुसमाचार प्रचार गर्नका लागि चिङहुआ विश्वविद्यालयमा अध्ययन गर्ने अवसर दृढतापूर्वक त्यागिदिन्छिन्। यो भिडिओमा ती सिस्टरले आफ्नो शिक्षकलाई सुसमाचार प्रचार गर्दा, उनी एकदम उत्साहित हुन्छन् अनि खुसीका आँसु झार्छन्, किनभने उनी लामो समयदेखि तड्पिँदै प्रभु आउने प्रतीक्षा गरिरहेका हुन्छन्, र बल्ल आएर यत्तिका समयसम्म प्रतीक्षा गरेको परमेश्वरको सुसमाचार प्राप्त गरेका हुन्छन्। यो भिडिओले मलाई विशेष रूपले गहिरो प्रभाव पाऱ्याे। मैले मेरा सबै सहपाठी र साथीहरूलाई सम्झिएँ उनीहरूले जीवनको सही अर्थ बुझेका थिएनन् अनि अझैपनि शैतानको शक्तिमुनि पीडामा बाँचिरहेका थिए। म परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गर्न पाउने भाग्यमानी थिएँ, त्यसैले मैले जिम्मेवारी लिँदै, जतिसक्दो सत्यता पछ्याउनुपर्थ्यो, सत्यताले आफूलाई सुसज्जित गर्नुपर्थ्यो, र सुसमाचार फैलाई बढी भन्दा बढी मानिसले परमेश्वरको न्याय प्राप्त गरून्, शुद्ध होउन्, मुक्ति प्राप्त गरून् अनि परमेश्वरको आशिष् र मार्गदर्शन प्राप्त गरून् भनेर उनीहरूलाई परमेश्वरका अगाडि ल्याउनुपर्थ्यो। यस्तो काम कति अद्भुत होला! यो कुरा बुझेपछि मैले आफ्नो पढाइ त्यागिदिने र परमेश्वरमाथि विश्वास गर्ने निर्णय गरेँ। यद्यपि साँच्चै निर्णय गर्ने समय आएपछि भने मलाई अझै केही कठिन नै भयो। मैले सोचेँ, “मैले आफ्नो पढाइ जारी राखिनँ भने भविष्यमा आफूलाई अरूभन्दा भिन्न बनाउने मौका कहिल्यै पाउने छैन।” मेरा परिवार, आफन्त, साथीभाइ र छिमेकीको प्रशंसा नै मैले त्याग्न नसकेको एक किसिमको प्रतिष्ठा थियो।
आफ्नो पीडाकै बीचमा, म परमेश्वरका वचनको यो खण्डमा पुगेँ: “मानिसले ज्ञान सिक्ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा तिनीहरूलाई आफ्ना इच्छा वा महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न दिने होस्। शैतानले तँलाई कुन बाटोमा डोर्याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्च आदर्शहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको इच्छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्ना आदर्शहरूलाई पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्ने मात्रै होइन, इतिहासमा आफ्नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्च भए पनि, मानिसका इच्छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्दसँग जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्द के-के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतानले अत्यन्तै नरम प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र तिनीहरूले जीवनमा थाहै नपाई महत्त्वाकाङ्क्षाहरू पनि हुर्काउन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै ‘ख्याति’ र ‘प्राप्ति’ सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्छाले तर अनजानमा आफ्नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्ने कुराप्रति सधैँ अनजान रही, तिनीहरूले साँचो रूपमा र एक क्षण पनि नहिचकिचाई त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान् बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्नो जीवनभरि र अनन्तसम्म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनमार्फत् मैले बिस्तारै के बुझेँ भने, म सधैँ भर पर्ने गरेका “अरूभन्दा असल बन र पुर्खाको नाम राख” अनि “किताबका अगाडि सबै कुरा फिका हुन्छ” जस्ता विचार, दृष्टिकोण र जिउने सिद्धान्तहरू शैतानबाट आएका थिए। मलाई लाग्थ्यो उच्च डिग्री हासिल गर्न तथा अरूभन्दा उत्कृष्ट हुनका लागि मेहनत गरेर पढ्नु पछ्याउनुपर्ने सकारात्मक लक्ष्य हो। आफ्नो लक्ष्य प्राप्तिका लागि मैले पढाइमा एकदमै मेहनत गरेँ र जुनसुकै कष्टमा पनि डटिरहन तयार भएँ। मेरा केही सहपाठीहरूले उच्च डिग्री वा उत्कृष्ट जागिर पाएको देखेर, मैले आफू उनीहरूभन्दा तल परेको महसुस गरेँ अनि अरूले हेप्लान् भनेर चिन्तित भएँ। इज्जत बचाउन र साथीहरूका अगाडि शिर ठाडो राख्न, मैले पूर्णकाल कर्तव्य पूरा गर्न पाउने मौका त्यागेँ, आफ्नो सम्पूर्ण समय र उर्जा ग्राजुएट प्रवेश परीक्षाको तयारीमा लगाउन चाहेँ। मैले मण्डलीको कार्य अथवा परमेश्वरको मानवजातिलाई मुक्ति दिलाउने जरूरी अभिप्रायको अलिकति पनि ख्याल गरिनँ अनि कर्तव्यपालन गर्नतिर लाग्दा मेरो परीक्षाको तयारी ढिला हुन्छ भनेर डराएँ। परीक्षाको तयारी गर्दैगर्दा म दिनरात पढाइमै बिताउँथेँ, आफूलाई अलिकति पनि आरामको मौका दिन्नथेँ अनि नचाहँदा नचाहँदै चिन्तित र दुःखी हुन्थेँ। म पूर्णत: थकित हुन्थेँ! मैले अनलाइनमा मानिसहरूले ग्राजुएट कार्यक्रमको प्रवेश परीक्षा दिँदा वा कामको खोजी गर्दा असफल भएपछि चिन्ता र डिप्रेसनबाट पीडित हुन थालेको बारेमा छलफल गरिरहेको देखेँ। एकजना साथीले मलाई हाम्रो स्कुलबाट पास भएर गएका एकजना विद्यार्थीको बारेमा बताइन् जो एउटा कार्यक्रमको प्रवेश परीक्षामा असफल भए र यो सम्पूर्ण घटनाक्रमले दिएको तनावका कारण मानसिक अस्पतालमा भर्ना हुन बाध्य भए। हरेक दिन उनी वार्डमा, “म ग्राजुएट स्कुल जान चाहन्छु” भन्दै कराएको सुनिन्थ्यो। त्यस्ता थुप्रै अरू मानिसहरू पनि थिए जसले कलेज वा ग्राजुएट डिग्री प्रवेश परीक्षामा फेल भएपछि आत्महत्या गरेका थिए किनभने उनीहरूले आफ्नो भविष्यै छैन, नाम र प्राप्तिको कुनै मौकै छैन तसर्थ जीवनको अर्थै छैन भन्ने सोचे। के यी सम्पूर्ण जीवन्त उदाहरणहरू शैतानको यातनाका परिणामहरू थिएनन् र? ममाथि पनि ठ्याक्कै त्यस्तै भएको थियो: मैले प्रसिद्धि र लाभको गहिरो खाडलमा डुब्दै सम्भावना, नाम र प्राप्तिको खोजीमा सबैथोक लगाएँ अनि आस्थाको अभ्यास गर्न, सत्यता पछ्याउन र स्वभाव रुपान्तरणको खोजी गर्न अलिकति पनि प्रेरित भइनँ। मैले त्यतिबेला मात्रै शैतानको दुष्ट उद्देश्य चिन्न सकेँ। यसले मलाई लोभ्याउन प्रसिद्धि र लाभको प्रयोग गऱ्याे; जसले मलाई मानसिक र भावनात्मक रूपले पीडित बनाएको मात्र होइन, मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न परमेश्वर सामुन्ने आउन समेत रोक्ने प्रयत्न गऱ्याे। मैले परमेश्वरका वचनको यो खण्ड सम्झेँ: “यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार धेरै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक तवरमा परमेश्वरमा विश्वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्वरको नजरमा ऊ उच्च वा कम मूल्यको, वा मूल्यवान् वा बेकारको, के हुन्छ? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा कम, कुलीन वा निम्न—केमा निर्भर हुन्छ? यो कुरा परमेश्वर तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्वर तँलाई सत्यता पछ्याउने व्यक्तिको रूपमा हेर्नुहुन्छ भने, तँ महत्त्वको र मूल्यवान् होस्—तँ मूल्यवान् पात्र होस्। यदि परमेश्वर तँ सत्यता पछ्याउँदैनस् र उहाँको लागि सच्चा रूपमा आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान् होइनस्—तँ नीच पात्र होस्। तँ जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, प्रशंसा गरे पनि, र प्यारो ठाने पनि, तँ घृणित पात्र नै होस्। त्यसोभए, किन परमेश्वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो ‘कुलीन’ व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले प्रशंसा र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई किन परमेश्वर नीच देख्नुहुन्छ? किन परमेश्वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। यस्तो किन भएको हो भने, परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मानिसलाई मापन गर्ने उहाँको मानक सत्यता हो। त्यसो भन्दा अलि अमूर्त लाग्ला, त्यसैले यसलाई अर्को तरिकाले भन्नुपर्दा, परमेश्वरको मापन गर्ने मानक उहाँप्रतिको व्यक्तिको मनोवृत्ति, सत्यताप्रतिको उसको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिमा आधारित हुन्छ—यो अब अमूर्त छैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका वचनमार्फत्, मैले सिकेँ, परमेश्वरले मानिसको मूल्याङ्कन उनीहरूको शैक्षिक प्रमाणपत्र वा सामाजिक हैसियतका आधारमा नभई, सत्यता र परमेश्वरप्रतिको उनीहरूको रबैयाका आधारमा गर्नुहुन्छ। परमेश्वरले तिनलाई मात्र मूल्यवान् ठान्नुहुन्छ जसले उहाँमाथि साँचो आस्था राख्छन्, सत्यता पछ्याउँछन् र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। त्यसको उल्टो, कसैको सामाजिक प्रतिष्ठा उच्च छ र अरूद्वारा सम्मानित छ, तर यदि ऊ सत्यता स्वीकार्दैन, परमेश्वरको अनादर गर्छ अनि दुष्ट र भ्रष्ट कुराहरू पछ्याउँछ भने, परमेश्वरले त्यसलाई नीच ठान्नुहुन्छ। परमेश्वरको अभिप्राय र उहाँले मानिसहरूलाई गर्ने मूल्याङ्कनको मापदण्ड बुझिसकेपछि मैले मुक्त भएको महसुस गरेँ अनि शैक्षिक प्रमाणपत्रका आधारमा मानिसहरूको मूल्याङ्कन गर्नु कत्तिको हास्यास्पद र सत्यसँग मेल नखाने रहेछ भन्ने मैले बुझेँ। मैले केही प्रेरणाबोध पनि गरेँ र एकचित्त भएर उच्च डिग्री अनि राम्रो अङ्कको खोजी गर्ने चाहना छोडिदिएँ। मलाई सत्यता पछ्याउने र कर्तव्य निर्वाहमा अटल अनि व्यवहारिक हुने चाहना जाग्यो।
त्यसपछि आफ्नो नाम फिर्ता लिन म स्कुल गएँ। मेरा शिक्षकले मलाई धाराप्रवाह रूपमा हप्काए अनि ग्राजुएट अध्ययन जारी नराखेकोमा, मलाई उच्च डिग्री हासिल गर्न जम्मा दुई वर्ष पनि नबिताउने मूर्ख भन्दै मेरो खिल्ली पनि उडाए। शिक्षकको खिसीको सामना गरेपछि भने म केही कमजोर भएँ। मैले सोचेँ, शैक्षिक सत्र सुरू हुँदा, विद्यार्थीहरू उत्साह र महत्वाकाङ्क्षाले उर्लिरहेका हुन्छन्, ग्राजुएट विद्यार्थीको रूपमा नयाँ जीवन सुरु गर्न तयार हुन्छन्, तर म भने पछाडि हट्दै छु र विपरीत दिशातिर गइरहेकी छु। मानिसहरूले म विचित्रकी छु भन्ने सोचे र मलाई बुझेनन् भने, अरूहरूले प्रश्न गर्दा म दृढ रहन सकूँला त? मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यसभन्दा अघि कहिल्यै यसरी खिस्याइएकी थिइनँ त्यसैले म कमजोर महसुस गर्दैछु। हे परमेश्वर, मलाई आस्था प्रदान गर्नुहोस् र मलाई यी सबै कुरामा आत्मविश्वासी र साहसी बनाइदिनुहोस् ताकि म आफ्नो आस्थामा अडिग रहन सकूँ।” पछि, मैले मेरो तत्कालिन परिस्थितिसँग सम्बन्धित परमेश्वरका वचनहरू खोजेँ अनि “जवानहरूले पछ्याउनुपर्ने कुरा” भन्ने एउटा भजन फेला पारेँ। यो भजनले ममा गहिरो प्रभाव पाऱ्याे।
जवान मानिसहरू आकाङ्क्षा चाहनाविहीन हुनुहुँदैन, विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्परहित हुनुहुँदैन। …
१ जवान मानिसहरूसँग अरूप्रति कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन। तिनीहरू आकाङ्क्षा, कर्मशक्ति र आफैलाई अझ उत्तम बनाउने उत्साही चाहनाविहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्वास नै गुमाउनुपर्छ; तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ।
२ तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मासहित खुला र स्पष्ट हुनुपर्छ।
३ जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू
परमेश्वरका वचन सुनिसकेपछि, मलाई परमेश्वरले सामुन्नेमै रहेर प्रेरित गर्दै हुनुहुन्छ जस्तो लाग्यो: प्रचलित प्रवृत्तिहरूसँगै नबग। परमेश्वरलाई पछ्याउनु नै उज्यालोको सही मार्ग हो भनेर तिमीले थाहा पाएकी छ्यौ, त्यसैले तिमीले दृढतापूर्वक यही मार्ग पछ्याउनुपर्छ। मैले के पनि महसुस गरेँ भने परमेश्वरको अद्भुत अनुग्रहकै कारणले गर्दा मैले परमेश्वरको कार्यलाई स्वीकार गर्न र उहाँले व्यक्त गर्नुभएको सत्यतालाई पढ्न सकेँ! परमेश्वरबाट आउने सबैकुरा सकारात्मक हुन्छन्, भने अधार्मिक जगतमा मानिसले पछ्याउने सबैकुरा नकारात्मक हुन्छन्। मैले अरूले मलाई नबुझ्लान् र मलाई साथ नदेलान् भनेर चिन्ता गरेकी भए, साथै आफैँलाई जोगाउन सांसारिक प्रवृत्तिको पछि लागेकी भए, म पनि अधार्मिक जगतकाहरूसँगै भासिइरहेकी हुन्नथेँ त? परमेश्वरका वचनको मार्गदर्शनद्वारा, ममा आफ्नो विश्वासमा अडिग रहने आस्था तथा साहस आयो र मैले स्कुलबाट नाम फिर्ता लिएँ।
मेरो मार्गबारे मनन गर्दा, मैले के थाहा पाएँ भने परमेश्वरका वचनहरूको मार्गदर्शनका कारणले गर्दा नै म प्रसिद्धि र लाभको प्रयोग गरी मानिसहरूलाई हानि पुऱ्याउने शैतानका कपटी उद्देश्यहरू देख्न सक्षम भएँ। अझ, उहाँका वचनले मलाई प्रसिद्धि र लाभ पछ्याउने अँध्यारो खाडलबाट निस्कन मद्दत गरे। मैले परमेश्वरका वचनले ममा ल्याएको आनन्द र शान्तिको अनुभूत गरेँ, अनि मानिसलाई मुक्ति दिने परमेश्वरको असल अभिप्राय बुझेँ। मैले यो दुर्लभ अवसरलाई कदर गरेर, आफूलाई सत्यताले सुसज्जित गर्नका लागि सक्दो प्रयास गर्नुपर्ने, सुसमाचार प्रचार गर्नुपर्ने, र परमेश्वरको माया तिर्नका लागि गवाही दिनुपर्ने थियो! त्यसपछि मैले नयाँ विश्वासीलाई मलजल गर्ने कर्तव्य निर्वाह गर्न थालेँ। शैक्षिक अध्ययनका अवरोध र भविष्यका सम्भावनाबारेको चिन्ताको बन्धन विना, मैले आफूलाई कर्तव्यपालनमा पूर्ण रूपले समर्पित गर्न सकेँ, र मसँग परमेश्वरका वचन पढ्न, सत्यताले आफूलाई सुसज्जित गर्नका लागि थप समय भयो, अनि मैले आफ्नो कर्तव्यपालनबाट अझ धेरै सिकेँ र धेरै कुरा प्राप्त गरेँ। परमेश्वरलाई उहाँको मार्गदर्शन र मुक्तिका लागि धन्यवाद!