८८. अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू
सन् २०२२ अगस्टमा म लिउ शुआन र झाङ कीसँग मिलेर भिडियो बनाउन सहकार्य गर्थेँ। म भिडियो बनाउने काममा नयाँ भएकीले र कतिपय सिद्धान्तहरू नबुझेकी हुँदा, हाम्री टोली अगुवा लिउ शुआनले मलाई प्रायः सहयोग गर्थिन्। हामी लगभग एउटै उमेरका थियौँ र रुचिहरू पनि मिल्दोजुल्दो भएकाले चाँडै घनिष्ठ भयौँ र सम्बन्ध राम्रो बन्यो।
एकपटक, झाङ कीले भिडियो बनाउँदा केही जटिल समस्याहरूको सामना गरिन् र लिउ शुआनसँग सहयोग मागिन्। लिउ शुआनले ती समस्याहरू उनीसँगै विश्लेषण र छलफल गरिन्, तर झाङ कीले पूरा गरेको भिडियोमा अझै पनि केही समस्याहरू थिए। त्यसपछि लिउ शुआनले अनादर तरिकाले भनिन्, “हामीले त हिजै यो कुरा छलफल गरेका थियौँ, तर पनि तिमीले यस्तो भिडियो बनायौ!” झाङ कीले केही हदसम्म बाँधिएको महसुस गरेकी र केही नभनी आफ्नो टाउको निहुराएकी देखेर, मैले सोचेँ, “लिउ शुआनको यस्तो व्यवहारले झाङ कीलाई चोट पुर्याउनेछ। समस्याहरू सामना गर्दा हामीले शान्तिपूर्वक कुराकानी गर्नुपर्छ, जुन भविष्यमा सुधारका लागि बढी अनुकूल हुनेछ।” म लिउ शुआनसँग यो कुरा उठाउने बारेमा सोच्दै थिएँ, तर म अलिक हिच्किचाएँ र सोचेँ, “लिउ शुआनले स्वीकारिन् भने त ठीकै हो। तर यदि उनले यसो नगरी प्रतिकार गरिन् र मलाई अप्ठ्यारोमा पारिन् भने त मेरा लागि साह्रै लाजमर्दो हुनेछ! कतै लिउ शुआनले झाङ कीको पक्षमा लागेको ठानेर मलाई मन नपराउने पो हुन् कि? भविष्यमा म उनीसँग कसरी मिलुँला र? भैगो, सायद केही नबोल्नु नै ठीक होला।” पछि लिउ शुआनले पनि आफूले अहङ्कारी स्वभाव प्रकट गरेको कुरा बुझिन्, तर उनले आफूलाई साँचो रूपमा नबुझी त्यो कुरा सामान्य रूपमा मात्र स्वीकारिन्। मैले उनीसँग सङ्गति गर्ने विचार गरेँ, तर कुराहरू मुखसम्म आएर पनि फेरि हिच्किचाएँः “उनले त पहिले नै आफू अहङ्कारी छु भनेर मानेकै छिन्। मैले फेरि त्यो कुरा औँल्याए र उनीसँग सङ्गति गरेँ भने, के उनले मेरा मागहरू अत्ति ठूला छन् भनेर सोच्लिन् त? कतै उनले मप्रति पूर्वाग्रह पो राख्ने हुन् कि? यो कुरा छोडेकै राम्रो।” अनि त्यो मामिला त्यत्तिकै टुङ्गियो। अर्कोपटक हाम्रो टोलीले यस्तो भिडियो बनायो जुन स्तरीय थिएन। टोली अगुवा भएर पनि लिउ शुआनले समस्याको कारण खोज्न हामीलाई अगुवाइ गरिनन्। केही दिनपछि, अन्य ब्रदर-सिस्टरहरूले सिद्धान्तअनुसार हामीसँग विश्लेषण र कुराकानी गरे। अनि मात्र मैले समस्या कहाँ छ भनेर बुझेँ। मैले प्राविधिक सीपको यस पक्षका बारेमा छिटो सिक्न सुझाव दिएँ। तर लिउ शुआनले यो कुरालाई गम्भीर रूपमा लिइनन्, उनले आफूले पहिले नै यो पक्षको प्राविधिक सीप अध्ययन गरिसकेकी र आफूलाई पहिल्यै थाहा भएको, त्यसैले उनले हामीलाई सिक्ने कुनै व्यवस्था नगरेको भनिन्। मैले लिउ शुआनको प्राविधिक अध्ययनप्रति लापरवाह मनोवृत्ति देखेँ। उनी स्पष्ट रूपमा निपुण थिइनन्, तर पनि आफूमा सन्तुष्ट देखिन्थिन् र सिक्न अनिच्छुक थिइन्। साथै टोली अगुवा भएर पनि, उनले विचलनहरूको सारांश गरिनन्। म उनीसँग उनका समस्याहरूबारे कुरा गर्न चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “मैले यस्तो भनेँ भने लिउ शुआनलाई लाज मान्लिन् कि? कतै मैले उनको आत्माभिमानमा चोट पुर्याएँ अनि उनले मप्रति पूर्वाग्रह राख्न थालिन् भने?” त्यसैले मैले केही पनि भनिनँ र फेरि चुप लागेँ। पछि, हाम्रो सुपरभाइजरले मेरो स्ठितिबारे सोध्दा, म उनलाई यी सबै कुरा लेख्न चाहन्थेँ। तर म चिन्तित भएँ, “यदि लिउ शुआनले यो देखिन् भने, के उनले मैले उनको समस्या उनकै अगाडि औँल्याउनुको सट्टा उनको पछाडि छुरा हानेको, र मैले आफ्नो स्थितिबारे लेख्ने कुराको फाइदा उठाएर उनको समस्याहरू रिपोर्ट गरेको भन्नेछिन्? यदि लिउ शुआनले मप्रति नकारात्मक धारणा राख्छिन् भने, भविष्यमा म उनीसँग कसरी मिलेर बस्न सकुँला?” यी चिन्ताहरूका साथ, मैले लिउ शुआनका मुद्दाहरूबारे केही उल्लेख गरिनँ। बाहिरबाट हेर्दा म र लिउ शुआन सँगै कुरा गर्थ्यौँ र हाँस्थ्यौँ, तर जबजब मैले उनको कमजोरी औँल्याउनुपर्ने हुन्थ्यो, म सधैँ उनको प्रतिक्रिया कस्तो आउला भनेर दोधारिन्थेँ। उनको समस्या स्पष्ट देख्दा पनि म इमानदारीपूर्वक बोल्ने आँट गर्न सक्दिनथेँ। यो एकदमै दयनीय र घुटन हुने खालको थियो! त्यो समयमा म बारम्बार परमेश्वरसँग प्रार्थना गर्थेँ, आफैँलाई चिन्न र भ्रष्ट स्वभावको बन्धनबाट मुक्त हुनका लागि उहाँको अन्तर्दृष्टि र मार्गदर्शन माग्दथेँ।
एक दिन, हाम्रा स्थितिबारे कुराकानीको क्रममा, लिउ शुआनले हामीबीच वास्तविक सङ्गतिको कमी भएको बताइन्। उनले म अरूलाई खुसी पारिहिँड्ने खालकी छु भनी औँल्याइन्, र मैले उनका समस्याहरू देखेर पनि खासै नउठाउने गरेको भनिन्। उनले आफूलाई पनि अरूको सुधार र मद्दतको आवश्यकता छ भनिन्, र बोल्दै गर्दा, उनी दुःखी हुँदै रोइन्। लिउ शुआनका शब्दहरू सुनेर, मलाई गहिरो आत्मग्लानि र पीडा महसुस भयो। उनका नजरमा म अरूलाई खुसी पारिहिँड्ने व्यक्ति थिएँ, र उनी सत्यताप्रति मैले सोचेको जति प्रतिरोधी थिइनन् भन्ने कुरा थाहा भयो। मैले उनका समस्याहरूलाई औँल्याउन वा खुलासा गर्न किन एक शब्द पनि भन्न सकिनँ? मैले यस समस्यामा लक्षित परमेश्वरका वचनहरू खाएँ-पिएँ। मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यसबाट तैँले फाइदा पाउनका लागि तैँले तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, र तिनीहरूलाई आफ्नो भित्री मनका कुराहरू बताउनुपर्छ। आफ्नो कर्तव्य निभाउने क्रममा त झन् आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्नो भित्री मनका कुराहरू बताउनु अझै महत्त्वपूर्ण हुन्छ; तब मात्र तैँले सँगसँगै मिलेर काम गर्नेछस्। … कहिलेकाहीँ, जब दुई जना मानिसहरूले अन्तरक्रिया गर्छन्, तिनीहरूको व्यक्तित्वबीच टकराव हुन्छ, वा तिनीहरूको पारिवारिक वातावरण, पृष्ठभूमि वा आर्थिक अवस्था मिल्दैन। तर यदि यी दुई जना मानिसहरूले एकअर्कासामु आफ्नो हृदय उदाङ्गो पार्न र आफ्ना समस्याहरूबारे पूर्ण रूपमा खुलस्त हुन सक्छन्, र कुनै पनि झूट वा छलविना कुराकानी गर्न सक्छन्, र एक-अर्कालाई आफ्नो हृदय देखाउन सक्छन् भने, यसरी तिनीहरू सच्चा मित्र बन्न सक्छन्, जसको अर्थ घनिष्ठ मित्र बन्नु भन्ने हुन्छ। सायद, जब उक्त व्यक्तिलाई कठिनाइ हुन्छ, उसले अरू कसैलाई होइन, बरु तँलाई नै खोज्नेछ, र उसले उसलाई मद्दत गर्न तँ मात्र सक्षम छस् भनेर तँलाई नै भरोसा गर्नेछ। यदि तैँले उससँग रिसाएर कुरा गरिस् भने पनि, उसले तँसँग तर्कवितर्क गर्नेछैन, किनभने उसलाई तँ निष्कपट हृदय भएको इमानदार व्यक्ति होस् भन्ने थाहा छ। उसले तँलाई भरोसा गर्छ, त्यसकारण तैँले उसलाई जेसुकै भने पनि वा ऊप्रति जस्तोसुकै व्यवहार गरे पनि, उसले सबै कुरा बुझ्न सक्नेछ। के तिमीहरू त्यस्तो मान्छे बन्न सक्छौ? के तिमीहरू त्यस्तो मान्छे हौ? होइनौ भने, तिमीहरू इमानदार मानिस होइनौ। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि निष्कपट हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मैले लिउ शुआनलाई अहङ्कारी स्वभाव देखाएर अरूलाई बाँधिरहेको र प्राविधिक अध्ययनलाई लापरवाहीपूर्वक लिइरहेको देखे तापनि, मैले उनलाई सच्याउन वा सहयोग गर्न कुनै कुरा भनिनँ। त्यो मेरो छली प्रकृति र अरूप्रति अत्यधिक सतर्क रहने प्रवृत्तिका कारण थियो। लिउ शुआनले मेरो सुझाव स्वीकार गरिनन् र मप्रति पूर्वाग्रह राखिन् भने, हाम्रो सम्बन्ध नै बिग्रनेछ भनेर म चिन्तित थिएँ। फर्केर हेर्दा, लिउ शुआनले प्रायः मेरा समस्याहरू देख्दा सिधैँ औँल्याउने गर्थिन्, जुन कुरा मेरा लागि साँच्चिकै उपयोगी थियो। तर म उनीदेखि धेरै सतर्क थिएँ। मैले उनका समस्याहरू पहिचान गरे तापनि, मैले कहिल्यै सङ्गति गरिनँ वा औंल्याइनँ, कुनै इमानदारी बिना नाटक मात्र गरिरहेँ। म त एकदमै छली थिएँ! मलाई अरूको कमजोरी देखाउनु अपमानजनक हुन्छ र उनीहरूलाई चोट पुर्याउँछ जस्तो लाग्थ्यो, तर यो दृष्टिकोण गलत रहेछ। वास्तवमा, जब हामी अरू मानिसहरूले आफ्नो भ्रष्टता प्रकट गरेको देख्छौँ, हामी केवल इमानदार हुनुपर्छ र उनीहरूसँग खुला हृदयसाथ कुरा गर्नुपर्छ, र उनीहरूको समस्या तुरुन्तै औँल्याउनुपर्छ। यसले उनीहरूलाई आत्मचिन्तन गर्न र आफ्ना विचलनहरू सुधार गर्न सहयोग गर्छ, अनि यसले मण्डलीको काममा नोक्सानी हुनबाट पनि जोगाउँछ। यो अरूलाई सघाउने एउटा तरिका हो। मैले कामकुराबारे मेरा विचारहरू पूर्णतया विकृत छन् र सत्यतासँग पटक्कै मेल खाँदैनन् भनेर बुझेँ। पछि, मैले लिउ शुआनलाई मैले देखेका उनका समस्या बताएँ। सुपरभाइजरले पनि लिउ शुआनलाई सङ्गति गर्न लेखे।
केही समयपछि, लिउ शुआनले आफ्नो अहङ्कारी स्वभावबारे केही बुझाइ पाउन थालिन्, र अग्रसर भएर हामीलाई प्राविधिक सीपहरू सिकाउन अगुवाइ गर्न थालिन्। त्यसले हाम्रो कर्तव्यको कार्यदमता पनि बढायो। यी परिणामहरू देखेर, मलाई अत्यन्त लाज र आत्मग्लानि भयो। यदि मैले पहिल्यै कुरा उठाएकी भए, लिउ शुआनले आफ्ना समस्या चाँडै बुझ्न सक्थिन्, जसले हाम्रो सामञ्जस्यपूर्ण सहकार्य र प्राविधिक सीपहरूको सञ्चार दुवैलाई फाइदा पुर्याउनेथ्यो। पछुतो मान्दै मैले चिन्तन गरेँ र सोच्न थालेँः किन सधैँ यस्तो हुन्छ, जब म अरूको समस्या देख्छु, कुराहरू मुखसम्म आएर पनि म बोल्ने आँट गर्न सक्दिनँ? पर्दापछाडि कुन भ्रष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको छ? एक दिन, मैले परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ: “मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ मानिसलाई रिझाउने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “सबैले देख्दा, ख्रीष्टविरोधीका वचनहरू अत्यन्तै दयालु, सभ्य र विशिष्ट देखिन्छन्। चाहे जसले सिद्धान्त उल्लङ्घन गर्ने वा मण्डलीको काममा अवरोध गर्ने र र बाधा दिने काम गरे ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैन; उसले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकाश गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। ऊ क्रोधित हुँदैन, वा झनक्कै रिसाउँदैन, उसले केही गलत काम गर्दा र परमेश्वरको घरका हितलाई हानि पुऱ्याउँदा, तिनीहरू झर्कँदैन र मानिसहरूलाई दोष दिँदैन। जोसुकैले दुष्कर्म गरेको र मण्डलीको काममा बाधा दिएको भए पनि, उसले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैन, र यस विषयको खातिर उसले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैन। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूको उच्च मान्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसका लागि प्रशंसा गर्छन् भन्ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू कष्ट व्यर्थमा कहिल्यै भोग्नु हुँदैन भन्ने विश्वास गर्छन्; तिनीहरूले जुनसुकै कठिनाइ सहे पनि, तिनीहरूले जुनसुकै मूल्य चुकाए पनि, तिनीहरूले जुनसुकै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै हेरचाह गर्ने, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, अझ धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण, र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु। कतिपय ख्रीष्टविरोधीहरूले यो बाहिरी रूपमा असल देखिने व्यवहारद्वारा आफूलाई ‘एक असल व्यक्ति’ का रूपमा स्थापित गर्ने प्रयाससमेत गर्छन्, ताकि सहयोग माग्दै अझै बढी मानिसहरू तिनीहरूकहाँ आऊन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्वरका वचनहरूले सत्यतालाई कति प्रस्ट रूपमा खुलासा गर्छन्! छली र धूर्त स्वभाव भएका मानिसहरूले अरूले भ्रष्टता प्रकट गरेको वा मण्डलीको काममा अवरोध पुर्याएको देख्छन्, तर उनीहरूले त्यसलाई कहिल्यै पनि औँल्याउँदैनन् वा खुलासा गर्दैनन्। बाहिरबाट हेर्दा उनीहरू सहनशील र धैर्यवान देखिन्छन्, तर उनीहरूको वास्तविक लक्ष्य भनेको बाहिरी दया प्रयोग गरेर अरूलाई आफू मायालु र विचारशील छु भनी सोच्ने बनाउनु हो, जसबाट उनीहरूले मानिसहरूको मन जित्न र अनुग्रह कमाउन सक्छन्। उनीहरूको प्रकृति अत्यन्तै दुष्ट हुन्छ। म जस्तै, जब मैले लिउ शुआनलाई झाङ कीलाई हेपेको र बाँधेको देखेँ, र हाम्रो टोली अगुवाका रूपमा लिउ शुआनले प्राविधिक अध्ययनको व्यवस्था नगरी काममा ढिलाइ गरेको देखेँ, तब म ती समस्याहरू औँल्याउन चाहन्थेँ। तर कुराहरू मुखसम्म आएर पनि मैले बोलिनँ, लिउ शुआनले स्वीकार नगर्लिन् र मविरुद्ध पूर्वाग्रह राख्लिन्, जसले गर्दा हाम्रो भविष्यको अन्तरक्रिया कठिन होला कि भनी चिन्तित भइरहेँ। त्यसैले, म सधैँ चुप नै बसेँ। आफ्नो स्थितिबारे लेख्दा पनि, लिउ शुआनले यो देखिन् भने, मैले उनको पछाडि उनका समस्याहरू रिपोर्ट गरिरहेकी छु भन्ने सोच्लिन् कि भनी डराएँ, त्यसैले मैले उनीबारे उल्लेख गरिनँ। बाहिरबाट हेर्दा, मैले कसैलाई चिढ्याइनँ र म मिलनसार देखिन्थेँ, तर मेरो वास्तविक अभिप्राय लिउ शुआनसँगको सम्बन्ध बिग्रन नदिनु थियो। उनको मनमा सकारात्मक छवि राख्नका लागि, मैले साँच्चै इमानदार वा लाभदायक कुनै कुरा भन्न सकिनँ। मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर पर्छ कि पर्दैन वा यस कारणले मण्डलीको काममा ढिलाइ हुन्छ कि हुँदैन भनी विचार गरिनँ। म कति स्वार्थी, दुष्ट, चतुर र छली थिएँ! म साँच्चिकै पूर्ण रूपमा अरूलाई खुसी पारिहिँड्ने खालकी थिएँ! परमेश्वर कसरी मप्रति घृणा नगर्न सक्नुहुन्छ?
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, र एकअर्काबाट कुरा लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र गर्छन्। अर्को व्यक्ति कस्तो हो भन्ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा र आफ्नो समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र पनि होइनन्, एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरूमा, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्ने शब्दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको निगाह राख्नका लागि राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने मानव नैतिक आचरणको मापदण्ड के उच्चकोटिको सिद्धान्त हो? के यो सकारात्मक सिद्धान्त हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? हामीले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्: ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। मानिसहरूलाई यस्तो कुरा सिकाउँदा, यसले के-कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मापदण्ड हासिल गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “अरूको भावना र तर्कसँग मिल्ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,” र “कुनै कुरा गलत छ भन्ने थाहा छ भने, त्यो नभनेकै बेस,” भन्ने जस्ता भनाइहरू सांसारिक व्यवहारका शैतानी दर्शनहरू हुन्। शैतानले मानिसमा यस्ता विचारहरू भरिदिन्छ, जसले गर्दा मानिसलाई लाग्छ—समाजमा अडिनका लागि सम्बन्ध बनाइराख्नै पर्छ, सधैँ अरूको इज्जत जोगाउनुपर्छ, चतुर र मानिसलाई खुसी पार्ने हुनुपर्छ, अन्यथा, उनीहरूलाई बहिष्कृत गरिनेछ। जब मानिस यस्ता सांसारिक व्यवहारका दर्शनहरूमा भर परेर एकअर्कासँग अन्तरक्रिया गर्छन्, तब तिनीहरू एकअर्काप्रति शङ्कालु र रक्षात्मक बन्छन्। उनीहरू जब बोल्छन् वा काम गर्छन्, तब अरूको बोली र हाउभाउ लगातार पढ्छन्, बाहिरबाट एकखाले व्यवहार गर्छन्, तर आफ्ना वास्तविक विचारहरू लुकाउँछन्। उनीहरू कहिल्यै इमानदार वा हार्दिक शब्दहरू बोल्दैनन्, क्रमिक रूपमा पाखण्डी र दुष्ट हुँदै जान्छन्, मर्यादा वा निष्ठाबिना जिउँछन्। सांसारिक व्यवहारका लागि यी शैतानी दर्शनहरूको प्रभाव परेका कारण, म लिउ शुआनका कमजोरीहरू देख्दा पनि सधैँ औँल्याउन डराउँथेँ। म के ठान्थेँ भने मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्न र तिनीहरूमाझ आफ्नो स्थान सुरक्षित गर्न, म मेरो वचन र कार्यमा सतर्क हुनुपर्छ, अरूलाई मन नपर्ने कुरा कहिल्यै भन्नु हुँदैन वा तिनीहरूका दोष र कमीकमजोरी औँल्याउनु हुँदैन। मैले सधैँ अरूको इज्जत जोगाउनुपर्छ भनी सोच्थेँ। नत्र भने, म उनीहरूलाई चिढ्याउनेथेँ र शत्रु बनाउनेथेँ। परमेश्वरमाथि विश्वास गर्नुअघि, म सधैँ होसियारीपूर्वक, अरूको लवज र हाउभाउ पढ्दै, अनि शङ्कालु र सतर्क हुँदै मानिसहरूसँग अन्तरक्रिया गर्थेँ। आफ्ना सबैभन्दा मिल्ने साथी वा परिवारसँग पनि, उनीहरूले मन नपराउलान् वा एक्लै पार्लान् भन्ने डरले म उनीहरूको समस्या औँल्याउँदिनथेँ। मानिसहरूले मलाई राम्रो भन्थेँ, तर म वास्तवमै निकै थकित जीवन जिउँदै थिएँ। परमेश्वरमा विश्वास गरेपछि, मैले इमानदार हृदय बिना नै ब्रदर-सिस्टरहरूसँग उस्तै तरिकाले अन्तरक्रिया गर्न जारी राखेँ। मैले लिउ शुआनका समस्याहरू स्पष्ट रूपमा देखेँ, तर उनीसँगको मेरो सम्बन्धलाई कायम राख्नका लागि मैले कहिल्यै पनि उनलाई ती समस्याहरू औँल्याइनँ र आफ्ना वास्तविक विचारहरू आफैँमा राखेँ। बाहिरबाट हेर्दा, म उनीसँग राम्रोसँग मिल्थेँ र हामीले कुराकानी गर्न नसक्ने कुनै कुरा थिएन। यी शैतानी दर्शनहरूका आधारमा जिउँदै, कसैलाई पनि नचिढ्याउने प्रयास गर्दै, अरूसँगको मेरो अन्तरक्रियामा सधैँ उनीहरूको लवज र हाउभाउलाई पढ्दै, मैले बीचको बाटो अपनाएँ। यसले लिउ शुआनलाई हानि पुर्याउनु र काममा ढिलाइ गर्नुका साथै मलाई घुटन र दयनीय समेत महसुस गरायो। अन्ततः म केवल परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइनेथेँ। परमेश्वर इमानदार मानिसलाई मन पराउनुहुन्छ। उहाँ हामी अरूसँग खुलेर र इमानदारीपूर्वक अन्तरक्रिया गर्न सकौँ, एकअर्कासँग हाम्रो हृदयका कुरा साझा गरौँ भनी आशा गर्नुहुन्छ। सत्यता पछ्याउनेहरू पनि इमानदार मानिसहरूसँग सङ्गत गर्न रुचाउँछन्। शैतानी दर्शनका आधारमा जिउँदा मानिसहरूसँग सम्बन्ध कायम राख्न अस्थायी रूपमा मद्दत गर्न सक्छ, तर यो दिगो हुँदैन। अन्ततः यस्ता व्यक्तिहरूलाई सत्यता पछ्याउने र प्रेम गर्नेहरूले खुट्याउनेछन् र अस्वीकार गर्नेछन्। संसारिक व्यवहारका लागि यी दर्शनहरूमा भर पर्दै, म लिउ शुआनसँगको आफ्नो सम्बन्ध कायम गर्न असफल मात्र भइनँ, मैले उनको विश्वास पनि गुमाएँ। अरूसँगको मेरो अन्तरक्रियामा ममा इमानदार हृदयको कमी छ भन्दै उनले मलाई अरूलाई खुसी पारिहिँड्ने व्यक्ति भनेर भनिन्। यसबारे चिन्तन गर्दा, मैले संसारसँग व्यवहार गर्न यी शैतानी दर्शनहरू अपनाउनु कतिको मूर्खतापूर्ण रहेछ भन्ने बुझेँ। मैले शैतानले मलाई कति गहिरो रूपमा भ्रष्ट बनाएको देखेँ र मलाई साँच्चै परमेश्वरको मुक्तिको आवश्यकता छ भन्ने बुझेँ। मैले यस्तो स्वार्थी र छली जीवन जिउन बन्द गर्ने निर्णय गरेँ।
पछि, मैले सोच्न थालेँ: म अरूसँग कसरी मिल्नुपर्छ? परमेश्वरको अभिप्रायअनुरूप कसरी बोल्नुपर्छ र काम गर्नुपर्छ? मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्वरका वचनहरू। त्यसो भए, परमेश्वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गरेका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठिक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्नुपर्छ, इमानदारीपूर्वक बोल्नुपर्छ, र अरूलाई फाइदा पुर्याउनुपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्गुण हो। … सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्लाह दिने, बुझ्ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्चात्ताप गर्ने इच्छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? उदाहरणको लागि, मानौँ तँ औधी नै स्वेच्छाचारी र अहङ्कारी छस्। यसबारेमा तँलाई कहिल्यै थाहा थिएन, तर तँलाई राम्ररी चिन्ने व्यक्ति आउँछ, र तँलाई समस्या सीधै बताइदिन्छ। तैँले मनमनै विचार गर्छस्, ‘के म स्वेच्छाचारी छु? के म अहङ्कारी छु? कसैले पनि मलाई यसो भन्ने आँट गरेन, तर उसले मलाई बुझेको छ। उसले यस्तो कुरा भन्न सक्यो, यसले यो साँचो हो भन्ने जनाउँछ। मैले यसबारेमा केही समय मनन गर्नुपर्छ।’ त्यसपछि, तैँले त्यस व्यक्तिलाई भन्छस्, ‘अरूले मलाई राम्रा कुराहरू मात्रै भन्छन्, तिनीहरूले मेरो गुणगान गाउँछन्, कसैले पनि मसँग यति व्यक्तिगत कुरा गर्दैन, कसैले पनि मलाई कहिल्यै मेरा यी कमीकमजोरी र समस्याहरूलाई औँल्याइदिएका थिएनन्। तपाईंले मात्रै मलाई बताउन, र यति व्यक्तिगत कुरा गर्न सक्नुभयो। मेरो लागि यो निकै राम्रो, निकै ठूलो सहयोग हो।’ हृदयदेखि कुरा गर्नु भनेको यही हो, होइन र? अलिअलि गर्दै, अर्को व्यक्तिले आफ्नो मनको कुरा, तेरो बारेमा आफ्नो विचार बताउँछ, र आफूसँग यस विषयमा धारणा, कल्पना, नकारात्मकता र कमजोरी रहेको, तर सत्यताको खोजी गरेर त्यसबाट उम्कन सकेको आफ्नो अनुभव बताउँछ। हृदयदेखि कुरा गर्नु भनेको यही हो; आत्मा-आत्माबीचमा सञ्चार हुनु भनेको यही हो। अनि समग्रमा भन्दा, बोल्नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्नु। ती शब्दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न मैले परमेश्वरका वचनका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ। जब मैले कसैले भ्रष्टता प्रकट गरेको, काममा बाधा पुर्याएको वा सिद्धान्त विरुद्ध काम गरेको देख्छु, मैले तुरुन्तै त्यो कुरा औँल्याउनुपर्छ। यसले काममा पनि फाइदा पुर्याउँछ र त्यो व्यक्तिको जीवन प्रवेशमा पनि मद्दत गर्छ। यसरी आचरण गरेर मात्र म सिद्धान्तहरू कायम राख्न सक्छु, अनि खुलेर र इमानदारीपूर्वक जिउन सक्छु, अनि मानवता र न्यायको बोध राख्न सक्छु। कहिलेकाहीँ मानिसहरूले यसलाई तुरुन्तै स्वीकार गर्न सक्दैनन्, तर उनीहरूले सत्यता पछ्याउँछन् भने, पछि सत्यता खोजेर आत्मचिन्तन गर्नेछन्। उनीहरूले घृणा वा अस्वीकार महसुस गर्नेछैनन्, तर मेरो सहयोगका लागि मप्रति आभारी हुनेछन्। यदि उनीहरूले सत्यता पछ्याउँदैनन् वा स्वीकार्दैनन् भने, त्यसले पनि उनीहरूलाई प्रकटन गर्छ र मलाई केही खुट्याउने क्षमता पनि दिलाउँछ। म केवल आफ्नै इज्जत जोगाउन केन्द्रित हुनु हुँदैन। मैले मप्रति परमेश्वरको मनोवृत्ति कस्तो छ, मेरा कार्यहरूले परमेश्वरलाई सन्तुष्ट पार्छन् कि पार्दैनन्, अनि म सिद्धान्तहरू पालना गर्छु कि गर्दिनँ र परमेश्वरको वचनमा भएको सत्यताअनुसार मानिसहरूसँग व्यवहार गर्छु कि गर्दिन भन्ने कुरामा ध्यान दिनुपर्छ। विगतलाई सम्झँदा, म सधैँ सांसारिक व्यवहारका दर्शनमा आधारित भएर मानिसहरूसँग अन्तरक्रिया गर्थेँ। मेरा शब्द र कार्यहरू निरन्तर बाँधिएका थिए, र म कुनै राहतबिना दमित स्थितिमा जिएँ। यसरी जिइरहँदा, म कहिल्यै सत्यता पाउन सक्दिनथेँ, बरु सधैँ शैतानको बन्धनमा रहेकी र दास भएकी हुन्थेँ। यस बिन्दुमा, मैले मानिसहरूलाई परमेश्वरको वचनअनुसार व्यवहार गर्नुपर्छ, मानिसहरूसँग खुलेर र इमानदारीपूर्वक अन्तरक्रिया गर्नुपर्छ, आफ्नो हृदयदेखि बोल्नुपर्छ, र अरूका लागि फाइदाजनक कुराहरू भन्नुपर्छ भनी बुझेँ। चाहे म अरूलाई काटछाँट गरिरहेकी, अरूलाई आलोचना गरिरहेकी, वा शान्तपूर्वक उनीहरूसँग सत्यतामा सङ्गति गरिरहेकी हुँ, मैले आफ्नो साँचो हृदयले उनीहरूसँग सम्पर्क गर्नुपर्थ्यो। यसरी, अरूसँगको मेरो सम्बन्ध सामान्य र दिगो हुन सक्छ, अनि म आफ्नो दमनबाट मुक्त हुन सक्छु साथै छुटकारा र स्वतन्त्रता प्राप्त गर्न सक्छु।
पछि, हामीले हाम्रा भिडियोहरूका केही समस्याहरूबारे छलफल गर्दा, लिउ शुआनले अरूका समस्याहरू औँल्याउँदा सधैँ आफ्नै विचारहरू मात्र राख्थिन्। उनी विरलै सिद्धान्तबारे सङ्गति गर्थिन्। भेलाका क्रममा, उनी आफैँले प्रकट गरेका भ्रष्टताबारे विरलै खुल्ने गर्थिन्, र काममा देखिएका समस्याहरूबारे पनि उनी हामीसँग कमै खुल्थिन्। यसले अरूलाई थाहा पाउनु अगाडि नै उनमा कद र काम गर्ने सामर्थ्य छ भनी सोच्ने बनाउँथ्यो, र उनलाई सम्मानका नजरले हेर्न प्रेरित गर्थ्यो। मलाई यो कुरा सबैका लागि हानिकारक छ भन्ने लाग्थ्यो, र म उनलाई यो औँल्याउन चाहन्थेँ। तर बोल्न लाग्दा म हिच्किचाउँथे, सोच्थेँ, “मैले यो भनेँ भने लिउ शुआन रिसाउँछिन् कि? यसले हाम्रो सम्बन्धमा असर पार्यो भने, हामीबीचको भावी अन्तरक्रियामा समस्या आउला कि?” मैले अरूसँगको सम्बन्ध जोगाउन फेरि म मानिसलाई खुसी पारिहिँड्ने व्यक्ति बन्दै छु भनेर बुझेँ। त्यसैले, मैले तुरुन्तै परमेश्वरसँग प्रार्थना गरेँ, सत्यता अभ्यास गर्न र आफूविरुद्ध विद्रोह गर्ने शक्ति दिन आग्रह गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि सबैले मत वा सिद्धान्तको ज्ञानबारे मात्रै कुरा गर्छन्, तर वास्तविक अनुभवहरूबाट आफूले प्राप्त गरेको ज्ञानबारे केही पनि बोल्दैनन् भने; र सत्यता सङ्गति गर्दा, यदि तिनीहरू सबैले आफ्नो व्यक्तिगत जीवन, आफ्नो वास्तविक जीवनको समस्या, र आफ्नो भित्री संसारबारे कुरा गर्न चाहँदैनन् भने, साँचो कुराकानी कसरी हुन सक्छ? त्यहाँ वास्तविक भरोसा कसरी हुन सक्छ? … यदि मानिसहरूका बीचमा कुनै मौखिक वा आत्मिक सञ्चार भएन भने, तिनीहरूका बीचमा घनिष्ठता हुने सम्भावना हुँदैन, र तिनीहरूले एकअर्काको भरणपोषण गर्न वा एकअर्कालाई सहयोग गर्न सक्दैनन्। तिमीहरूले यो अनुभव गरिसकेका छौ, होइन र? यदि तेरो साथीले सबै कुरामा तँलाई भरोसा गरी कुरा खोल्छ, उसले जे सोचिरहेको छ र उसले जेसुकै कष्ट वा खुसी बोकिरहेको भए पनि तँलाई भन्छ भने, के तैँले ऊसँग विशेष घनिष्ठ भएको अनुभव गर्दैनस् र? उसले तँलाई यी कुराहरू भन्न इच्छुक हुनुको कारण भनेको तैँले पनि आफ्ना भित्री विचारहरू सुनाउन उसलाई भरोसा गरेकोले गर्दा हो। तिमीहरू विशेष रूपमा नजिक हुन्छौ र यही कारणले गर्दा तिमीहरू एकअर्कासित मिल्न र एकअर्कालाई सहयोग गर्न सक्छौ। मण्डलीमा दाजुभाइ-दिदीबहिनीहरूबीच यस किसिमको कुराकानी र आदानप्रदान भएन भने, तिनीहरूबीच सद्भाव हुन सक्दैन, र तिनीहरूले आफ्नो कर्तव्य निभाउने क्रममा मिलेर राम्ररी काम गर्न असम्भव हुन्छ। त्यसैले, सत्यता सङ्गति गर्नलाई आत्मिक सञ्चार, र हृदयबाट बोल्ने क्षमता चाहिन्छ। इमानदार व्यक्ति बन्नको लागि व्यक्तिमा हुनुपर्ने सिद्धान्तहरूमध्येको एक यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूले मलाई बिउँझाए। कसरी सांसारिक व्यवहारका दर्शनमा आधारित भई लिउ शुआनसँग अन्तरक्रिया गरेर, मैले कहिल्यै साँचो रूपमा आफ्नो हृदयको कुरा उनलाई खोलिनँ, न मद्दत गरेँ, न सङ्गति गरिनँ, न त उनका समस्याहरू औँल्याएँ, बरु मैले उनलाई छ्लेँ र हानि पुर्याएँ, अनि मानिसहरूले मलाई मन नपराउने र परमेश्वरले मलाई घृणा गर्ने बनाएँ भन्ने कुरा मैले सोचेँ। मैले अब म स्वार्थी, छली, र मानिसहरू खुसी पारिहिँड्ने व्यक्ति बनिरहन हुँदैन, र म परमेश्वरको वचनअनुसार इमानदार व्यक्ति हुनुपर्छ र मैले देखेका समस्याहरूका बारेमा बोल्नुपर्छ भनेर बुझेँ। अर्को दिन, जब हामीले आ-आफ्ना स्थितिबारे कुरा गर्यौँ, मैले लिउ शुआनलाई उनले कहिल्यै आफ्ना भ्रष्टताबारे खुलेर कुरा नगरेकी, हाम्रा कर्तव्यका सिद्धान्तहरूमा सबैलाई मार्गदर्शन गर्ने कुरामा ध्यान केन्द्रित नगरिरहेकी, र यसले अरूलाई सजिलै उनप्रति उच्च हेराइ राख्ने बनाउन सक्छ भनी औँल्याएँ। यसैबीच, मैले उनलाई यसरी कर्तव्य निर्वाह गर्नु सही मार्ग होइन भनेर चेतावनी दिएँ। लिउ शुआनले कुरा सुनेपछि आफ्नो समस्याको गम्भीरता बुझिन्, र सत्यता खोज्ने र आत्मचिन्तन गर्ने चाहना देखाइन्। पछि, लिउ शुआनले यो अनुभवबाट पाठ सिकिन्। उनले हामीसँग सिद्धान्तहरूमा बढी कुराकानी गर्न सुरु गरिन्, र आफ्ना भ्रष्टताबारे प्रायः खुलेर भन्न थालिन्। यसका कारण हाम्रो सम्बन्ध टुटेन। बरु, हामी झनै नजिक भयौँ। कहिलेकाहीँ मैले आफ्नो स्थिति छर्लङ्ग देख्न नसक्दा, लिउ शुआनसँग यसबारे कुराकानी गरेर मलाई आफ्नो बारेमा केही बुझ्न मद्दत मिल्यो। मैले मानिसहरूसँग मिलेर बस्दा र परमेश्वरको वचनअनुसार अरूसामु आफ्नो हृदय खोल्दा अरूलाई मद्दत मात्र नभएर, आफूलाई पनि फाइदा भएको महसुस गरेँ। त्यो समयमा, हामीले हाम्रा जीवन प्रवेश र प्राविधिक सीप दुवैमा सुधार गरेका थियौँ। हाम्रो कर्तव्यको प्रभावकारिता पनि बढेको थियो, र हामीले साँच्चिकै परमेश्वरको मार्गदर्शन महसुस गर्यौँ। विगतबारे चिन्तन गर्दा, सांसारिक व्यवहारका सिद्धान्तहरूमा आधारित भएर लिउ शुआनसँग मिलेर बस्दा मेरो जीवन निकै पीडादायी र थकाउने बनेको थियो। मैले मण्डलीको कामलाई कायम राख्ने आफ्ना जिम्मेवारीहरू समेत पूरा गरिनँ। त्यसलाई वर्तमानसँग तुलना गर्दा, परमेश्वरको वचनअनुसार इमानदार व्यक्ति हुँदा र आफ्नो हृदयबाट बोल्दा, म परमेश्वरको मार्गदर्शन महसुस गर्छु, अनि हृदयमा सहजता र स्वतन्त्रताको अनुभूति गर्छु। त्यहाँ एउटा मिठास र आनन्द छ जुन वर्णन गर्न गाह्रो छ। म ब्रदर-सिस्टरहरू बीचको सामान्य सम्बन्धमा कुनै शङ्का वा अवरोधहरू हुनु हुँदैन भनेर पनि बुझ्छु। हामीले एकअर्कासँग इमानदारीपूर्वक व्यवहार गर्नुपर्छ, र जीवन प्रवेश र कर्तव्यहरूमा एकअर्कालाई सहयोग र समर्थन गर्नुपर्छ। यसले अरूलाई, हामीलाई र मण्डलीको कामलाई फाइदा पुर्याउँछ। यो परमेश्वरको वचन हो जसले मलाई अरूसँग कसरी मिलेर बस्ने भनेर सिकाएको छ, र म आफ्नो हृदयको गहिराइदेखि नै परमेश्वरप्रति साँच्चैआभारी छु।