२१. अरूलाई आक्रमण र बहिष्कार गरेपछिको आत्म-समीक्षा
सन् २०२३ को मे महिनामा, म सिन जिए, जियाङ यान र सियाओ सिनसँग लेखन-पठनको कर्तव्यमा सहकार्य गर्दै थिएँ। सिस्टर सिन जिए नयाँ आएकी थिइन्, तर उनी मामिलहरू सामना गर्दा गम्भीर हुन्थिन्, सत्यता खोज्नमा सिपालु थिइन्, र आफूले नबुझेका कुरा वा फरक दृष्टिकोणहरूलाई सङ्गतिका लागि प्रस्तुत गर्थिन्। सुरुमा, मैले उनीसँग प्रेम र धैर्यसाथ सङ्गति गर्न सकेँ, तर समय बित्दै जाँदा, सिन जिएले अक्सर मेरोभन्दा फरक दृष्टिकोणहरू राख्न थालिन्, जसले गर्दा मलाई लाज लाग्यो, त्यसैले भित्रभित्रै, मैले उनलाई प्रतिरोध गर्न र पाखा लगाउन थालेँ।
एकपटक, हामी सँगै एउटा प्रवचन विश्लेषण गरिरहेका थियौँ, र सिन जिएको दृष्टिकोण मेरोभन्दा फरक थियो। मैले सोचेँ, “जब हामी सँगै प्रवचनहरू अध्ययन वा समीक्षा गरिरहेका हुन्छौँ, तब तिमीले अक्सर फरक दृष्टिकोणहरू राखेकी हुन्छौ, तर यसपटक, मैले तिमीसँग आफ्नो दृष्टिकोणबारे राम्ररी सङ्गति गर्नुपर्छ।” त्यसैले मैले आफ्नो दृष्टिकोणबारे विस्तारमा बताएँ, तर सिन जिए अझै पनि असहमत भइन्। अरू दुई सिस्टरले केही बेर सोचे र सिन जिएका कुरामा दम छ भन्ने ठाने र मेरो दृष्टिकोण खण्डन गर्न थाले, जसले गर्दा मलाई एकदमै लाज लाग्यो। मैले सोचेँ, “मैले तिमीहरूभन्दा लामो समयदेखि आफ्नो कर्तव्य गर्दै आएकी छु र धेरै बुझेकी छु, र म टोली अगुवा पनि हुँ, यदि मैले नयाँ विश्वासीले भन्दा राम्रो कुरा बुझ्न सकिनँ भने त्यो असाध्यै अपमानजनक हुनेछ! यहाँ मलाई समस्यामा पार्ने सिन जिए हो। यो त भएन। मैले अरू सिस्टरलाई मनाउने कुनै तरिका खोज्नुपर्छ, र उनीहरूलाई मेरो पक्षमा ल्याउनुपर्छ।” तर मैले जसरी सङ्गति गरे पनि, ती सिस्टरहरू मेरो दृष्टिकोणसँग सहमत भएनन्। मैले त्यो कुरालाई छोड्न मानिनँ, सोचेँ, “सिन जिए सधैँ मेरो विचारसँग असहमत हुन्छिन्। यसले साँच्चै एक टोली अगुवाको रूपमा मेरो छविलाई कमजोर बनाउँछ। यसरी त चल्दैन। मैले आफ्नो इज्जत जोगाउन र सिस्टरहरूलाई मेरो दृष्टिकोण सही छ भनी स्विकार्न लगाउन सान्दर्भिक सिद्धान्तहरू खोजिरहनुपर्छ।” तर लामो समयसम्म सङ्गति गरेपछि पनि सिस्टरहरू मेरो दृष्टिकोणसँग सहमत भएनन्। अन्त्यमा, सिन जिएले अगुवासँग सल्लाह माग्न सुझाव दिइन्, र मैले हार मान्नुपर्यो। पछि, अगुवाले सिन जिएको दृष्टिकोण सिद्धान्तसँग अझ बढी मिल्छ भन्नुभयो। यस नतिजाले मलाई झनै नराम्रो महसुस गरायो, र मैले सोचेँ, “यो त बर्बादै भयो, टोलीका सिस्टरहरूले सिन जिएको दृष्टिकोण स्वीकार मात्र गरेनन्, तर अगुवासमेत उनीसँग सहमत भइन्। म त नाम मात्रको टोली अगुवा, यस टोलीमा पूरै निकम्मा भएकी छु।” सिन जिएबारे मेरो राय झनै खराब भयो, र काममा समस्या आउँदा, म जानाजानी अरू दुई सिस्टरसँग मात्र कुराकानी गर्ने प्रयास गर्थेँ, र मैले सिन जिएसँग बोल्न छोडेँ।
केही दिनपछि, सिन जिएले हामीलाई आफूले लेखेको सञ्चार पत्र समीक्षा गर्न दिइन्। सिन जिएको पत्र समग्रमा निकै राम्रो थियो, र मेरा सहकर्मी दुई सिस्टरले पनि आफ्नो स्वीकृति दिए। मैले सोचेँ, “यो त भएन, मैले यो राम्ररी छानबिन गर्नुपर्छ र तिम्रा कमजोरीहरू औँल्याउनुपर्छ, ताकि दुई सिस्टरले तिमी त्यति राम्रो छैनौ भनेर देख्न सकून्।” पत्र समीक्षा गर्दा, मैले एक-एक कुरा सावधानीपूर्वक हेरेँ, आफूले भेटेका सबै समस्या किबोर्डमा जोडले टाइप गर्दै रेकर्ड गरेँ। मानौँ आफ्नो असन्तुष्टि पोखिरहेकी छु। वास्तवमा, सिन जिएको पत्रमा साँच्चै सुधार देखिएको थियो, र त्यसमा केही सानातिना समस्या भए पनि, त्यो सामान्य थियो, र मैले धैर्यपूर्वक उनीसँग पत्रलाई कसरी संशोधन र सुधार गर्ने भनेर सङ्गति गर्नुपर्थ्यो। तर मैले आफ्नो आत्मगौरव जोगाउने प्रयासमा, जानाजानी ससाना खोट निकाल्ने प्रयास गरेँ, र उनलाई रुखो लबजमा यसो भनें, “यो भाग राम्ररी लेखिएको छैन, त्यो भाग सिद्धान्तहरूसँग मिलाइएको छैन, यस भागले परमेश्वरको नभई तपाईँको आफ्नै गवाही दिइरहेको छ। तपाईँले यसलाई सिद्धान्तअनुसार फेरि सुरुदेखि संशोधन गर्नुपर्छ।” मैले यसो भनेपछि, सिन जिएले टाउको निउराइरहिन् र केही बोलिनन्, र स्टुडियोको वातावरण विशेष गरी दबाबपूर्ण बन्दै गयो। केही बेरपछि, मैले सिन जिएले अझै पत्र संशोधन गर्न सुरु नगरेकी देखें, र मैले सोचेँ, “तिमीले अहिलेसम्म किन संशोधन गर्न थालेकी छैनौ? तिमीले मेरो सुझाव स्वीकार नगरिरहेकी हौ वा के हो? हुँदैन! मैले तिमीलाई भन्नैपर्छ र सबैको अगाडि तिम्रो बेइज्जत गर्नैपर्छ!” त्यसैले मैले सिन जिएलाई रोब जमाउने लबजमा भनें, “आज रातिसम्म संशोधन सकेर त्यो अगुवालाई पठाइदिनुस्। आलटाल गर्न छोड्नुस्!” सिन जिएलाई संशोधन गर्न निकै चुनौतीपूर्ण लाग्यो, कसरी अगाडि बढ्ने थाहा थिएन, र मद्वारा नियन्त्रित भएको महसुस भयो। उनले आफ्ना कठिनाइबारे बताउने आँट गरिनन् र उनी एकदमै अप्ठ्यारोमा परेकी देखिन्थिन्। त्यसपछि, जियाङ यानले सिन जिएसँग सङ्गति गरेपछि मात्र उनले पत्र संशोधन गरेर पठाइन्।
एक दिन, मैले अचानक सिन जिएबाट एउटा पत्र पाएँ। मैले त्यो खोल्दा सिन जिएले त्यस अवधि मैले देखाएको व्यवहारलाई औँल्याएकी, अनि ख्रीष्टविरोधीहरूले अरूलाई आक्रमण गर्ने र पाखा लगाउनेबारे परमेश्वरले खुलासा गर्ने खण्डका आधारमा मेरा कार्यको प्रकृतिलाई चिरफार गरेकी पाएँ। मैले मनमनै तर्क गर्ने कोसिस गरिरहेँ र त्यसलाई स्वीकार गर्नै सकिनँ। मैले आफ्नो स्थिति गलत छ र आफूले स्वीकार र आज्ञापालनबाट सुरु गर्नुपर्छ भन्ने बुझेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, सिन जिएले मेरा समस्याहरू औँल्याएकीले, ती मभित्र अवश्य नै हुनुपर्छ, तर मलाई अझै तीबारे थाहा छैन। कृपया मलाई मेरो भ्रष्ट स्वभाव चिन्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
मैले आफ्नो खोजीका क्रममा, परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ: “मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर सहनै नसक्ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुनेछन्। के दोष दिनु पनि अरूलाई होच्याउनुको एउटा पाटो हो? (हो।) ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई दोष दिन्छन्? तिनीहरूले तिललाई पहाड बनाउँछन्। उदाहरणका लागि, तैँले कुनै काम गरिस् जसमा कुनै समस्या छैन, तर तिनीहरूले तँलाई आक्रमण गर्न यसलाई निहुँ बनाउन चाहन्छन्, त्यसकारण तँलाई हिलो छ्याप्न तिनीहरूले सबै किसिमका उपाय सोच्छन् र तिललाई पहाड बनाएर तँलाई यसरी दोष लगाउँछन् कि ख्रीष्टविरोधीहरूको कुरा सुन्नेहरूले यो कुरा ठीकै हो र तैँले गलत काम गरिस् भन्ने सोच्छन्। योसँगै, ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुन्छन्। यो मतविरोधीहरूलाई दोष दिनु, आक्रमण गर्नु, र निष्कासन गर्नु हो। बहिष्कार गर्नु भनेको के हो? यसको अर्थ के हुन्छ भने, वास्तवमा तँ सही छस् भनेर ख्रीष्टविरोधीहरूलाई पनि हृदयमा थाहा हुन्छ, तर तिनीहरू तँलाई डाह र घृणा गर्छन्, तँलाई जानीजानी आक्रमण गर्ने प्रयास गर्छन्, त्यसैले तिनीहरू तैँले गरेको काम गलत हो भन्छन्। त्यसपछि तँलाई विवाद गरेर जित्नका लागि तिनीहरूले आफ्नै दृष्टिकोण र भ्रमहरू प्रयोग गर्नेछन् र सुन्नेहरू सबैलाई विश्वासलाग्दो तरिकाले बोलेर तिनीहरूको कुरा नै सही र ठीक छ भन्ने अनुभूति गराउँछन्। त्यसपछि, ती सबै मानिसहरू तिनीहरूलाई अनुमोदन गर्छन् र तिनीहरूको पक्षमा खडा हुनेछन्। ख्रीष्टविरोधीहरूले तँलाई आक्रमण गर्न, नकारात्मक र कमजोर बनाउन यसको प्रयोग गर्छन्। योसँगै, तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्। मतविरोधीहरूलाई बहिष्कार गर्ने कार्य कहिलेकाहीँ आमनेसामने विवादमार्फत हुन्छ, वा कहिलेकाहीँ कसैप्रतिको आलोचना, षड्यन्त्र, निन्दा, र पिठ्यूँपछाडिको कुरा बुनाइमार्फत हुन्छ। … ख्रीष्टविरोधी आफ्नो विरोधीलाई वशमा राख्नु नै राम्रो हुन्छ भन्ने ठान्छ, तर यदि उसलाई वशमा राख्न सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याउन अनि त्यसपछि बहिष्कार गर्नका लागि हरसम्भव प्रयास गर्छ। यदि उसलाई बहिष्कार गर्न सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याइरहन्छ, अन्त्यमा उसलाई घुँडा टेकाएर दयाको भीख माग्न लगाउँछ। ख्रीष्टविरोधीले सत्यता पछ्याउने वा आफ्नो विचारसँग नमिल्ने विचारका मानिसहरूलाई लोभ्याउँछन् र केही शक्ति लगाएर आक्रमण गर्छ। उसले मण्डली भत्काउँछ र यसलाई गुटहरूमा टुक्राउँछ र अन्त्यमा मण्डली दुई वा तीन गुटमा विभाजित हुन्छ—एउटाले उसको कुरा सुन्छ, अर्कोले उसको कुरा सुन्दैन, र एउटाचाहिँ तटस्थ रहन्छ। उसको ‘सानदार’ मार्गदर्शनमा, झन्-झन् धेरै मानिसले उसको कुरा सुन्छन्, र उसको कुरा नसुन्ने मानिसहरू झन्-झन् कम हुन्छन्। अझ धेरै मानिसहरू ऊसामु झुक्छन्, अनि ख्रीष्टविरोधीभन्दा फरक विचार भएकाहरू अलग्गिन्छन् र बोल्ने हिम्मत गर्दैनन्। उसलाई खुट्ट्याउन वा विरोध गर्न सक्ने मानिसहरू झन्-झन् कम हुँदै जान्छन्, र यसरी, ख्रीष्टविरोधीले मण्डलीका अधिकांश मानिसलाई बिस्तारै नियन्त्रणमा लिन्छ र अख्तियारको पद ग्रहण गर्छ। ख्रीष्टविरोधीको लक्ष्य यही हो। ख्रीष्टविरोधीले आफ्नो भन्दा फरक राय भएका मानिसहरूसँग व्यवहार गर्दा शून्य सहनशीलता देखाउँछ। ऊ सोच्छ: ‘तिम्रो राय फरक भए पनि, तिमीले मेरो नेतृत्व मान्नैपर्छ, किनकि अहिले मेरो नै निर्णय चल्छ। तिमी मभन्दा मुनि छौ। यदि तिमी अजिङ्गर हौ भने, तिमी गुँडुल्किनुपर्छ; बाघ हौ भने, तिमी घोप्टिएर लम्पसार पर्नुपर्छ; तिमीसँग जुनै क्षमता भए पनि, म यहाँ भइन्जेल, फाइदा उठाउने वा समस्या खडा गर्ने कुरा सोच्दै नसोच!’ ख्रीष्टविरोधीको उद्देश्य यही हुन्छ—एकतर्फी रूपमा मण्डलीलाई नियन्त्रण गर्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरूले समूहमा शक्ति हातमा लिन र आफूखुसी गर्न, र अरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्न, सबै प्रकारका विधि र साधनहरू प्रयोग गरेर आफूसँग असहमत हुने वा आफ्नो हैसियतलाई खतरामा पार्ने मानिसहरूलाई आक्रमण गर्छन् र पाखा लगाउँछन्। मैले परमेश्वरका वचनका आधारमा आफ्नो व्यवहारबारे चिन्तन गरेँ। म टोली अगुवा छँदा, धेरैजसो समय, मसँग उठबस गर्ने सिस्टरहरू सामान्यतः मेरा विचारसँग सहमत हुन्थे, र हैसियत पाउने मेरो चाहना पूरा हुन्थ्यो, तर सिन जिए आएपछि, उनले कहिलेकाहीं फरक सुझावहरू दिइन्, र मलाई समूहसामु आफ्नो प्रभाव घटेको महसुस भयो, जसले मलाई बेखुस बनायो, जसले गर्दा मैले सिन जिएलाई पाखा लगाउन थालेँ। हाम्रो अध्ययन र छलफलको दौरान, सिस्टरहरूले मेरा विचार स्वीकार नगर्दा, आफ्नो इज्जत जोगाउन र सिन जिएलाई मेरा विचारहरू सही छन् भनी स्वीकार गराउन, म लुकिछिपी जानकारी खोज्थेँ र सिस्टरहरू सबैलाई मनाउन उनीहरूसँग बारम्बार सङ्गति गर्थेँ। जब सिन जिए मसँग असहमत हुन्थिन्, तब म उनलाई चिसो मनोवृत्ति देखाउँथेँ, र यदि काममा समस्याहरू भएमा, म तीबारे सिन जिएसँग सङ्गति गर्दिनथेँ, बरु उनलाई एक्ल्याउन र सीमित पर्नो रोज्थेँ। मैले आफ्नो प्रतिष्ठा स्थापित गर्न, सिन जिएको पत्रलाई समीक्षा गर्दा, गल्तीहरू भेट्टाउँदा उनलाई शोधन र सुधार गर्न प्रेमपूर्वक मद्दत गर्नुको सट्टा, जानाजानी उनका त्रुटिहरू कोट्याएँ, अनि उनलाई आलोचना गरेँ र होच्याएँ। यसले उनलाई नकारात्मक बनायो र पत्र संशोधन गर्ने कुनै तरिका नभएको महसुस गरायो, रपनि, मैले रोकिनँ, प्रगतिमा ढिलाइ नगर्ने बहानामा उनलाई तुरुन्तै पत्र संशोधन गर्न दबाब दिएँ, जानाजानी उनलाई कठिनाइमा पारेँ। फरक मत राख्नेहरूलाई आक्रमण गर्ने र पाखा लगाउने मेरा यी व्यवहार र कार्यहरू के परमेश्वरले खुलासा गरेका जस्तै ठ्याक्कै थिएनन् र? जब ब्रदर-सिस्टरहरू आफ्ना कर्तव्यमा सहकार्य गर्छन्, तब त्यो बाहिरी संसारमा जस्तो हुँदैन, जहाँ हैसियत र शक्ति भएकाहरूले सबै कुरा नियन्त्रण गर्छन्। परमेश्वरको घरमा, सत्यताको शासन चल्छ, र सिद्धान्तहरू खोज्न फरक विचारहरूबारे सँगै सङ्गति गर्न सकिन्छ, र हामीले जो सही र सिद्धान्तअनुरूप छ उसैलाई पछ्याउनुपर्छ, सबै कुरा परमेश्वरका वचन र सत्यता सिद्धान्तअनुसार लागू गर्नुपर्छ। तर मैले आफूलाई अत्यधिक महत्त्व दिएँ र सधैँ अरूहरूलाई मेरो इच्छाअनुसार चलाउन चाहेँ, र यदि कसैले मेरो कुरा सुनेन भने, म उसलाई समर्पित हुन लगाउने तरिकाहरू खोज्थेँ, त्यसको अर्थ काममा रोकावट ल्याउनु र मेरी सिस्टलाई सीमित पार्नु हो भने पनि, म हिचकिचाउँदिनथेँ। ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मात्र अरूलाई आक्रमण गर्ने र पाखा लगाउनेजस्ता दुष्ट कार्यहरू गर्न सक्छन् भन्ने सोच्दा, मैले पनि यस्ता कामकुरा गर्न सक्छु भन्ने विश्वास गर्न सकिनँ। मैले आफ्ना समस्याहरू साँच्चै गम्भीर रहेछन् भन्ने बुझेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना समस्याहरू चिन्न अन्तर्दृष्टि मागेँ।
पछि, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ: “ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको नेतृत्वकारी हैसियत, र तिनीहरूका कुराहरू सबै सर्वमान्य होऊन्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र तिनीहरूको विचार फरक हुँदा पनि तिनीहरूले यसलाई व्यक्त गर्नु हुँदैन, बरु आफ्नो हृदयमै लुकाएर राख्नुपर्छ। खुल्लमखुल्ला तिनीहरूसित असहमत हुन आँट गर्ने जोकोही ख्रीष्टविरोधीहरूका शत्रु बन्छन्, र तिनीहरूले उनीहरूलाई समस्यामा पार्न हर उपाय सोच्नेछन्, र जतिसक्दो चाँडो उनीहरूलाई विलय गराउन चाहनेछन्। आफ्नो हैसियतलाई कायम राख्न र आफ्नो शक्तिलाई रक्षा गर्न ख्रीष्टविरोधीहरूले आफ्ना मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने एउटा तरिका यही हो। तिनीहरू सोच्छन्, ‘तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र प्रतिष्ठाको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्टविरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्न दिँदैनन्। यदि तिनीहरूको कुनै राय छ भने—चाहे ख्रीष्टविरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो कुरा यतिकै उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्टविरोधीको इज्जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्टविरोधीले तिनीहरूलाई शत्रु ठानेर, तिनीहरूलाई आक्रमण र निष्कासन गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्टविरोधीको प्रकृति हो। तिनीहरूले किन यसो गर्छन्? तिनीहरूले मण्डलीमा अरू कुनै वैकल्पिक आवाज उठ्न दिँदैनन्, मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैनन्, परमेश्वरका चुनिएका जनहरूलाई खुलस्त रूपमा सत्यताको सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैनन्। तिनीहरूलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; तिनीहरू आफ्नो शक्तिलाई र मानिसहरूको हृदयमा भएको तिनीहरूको हैसियतलाई निरन्तर दह्रिलो पार्ने प्रयास गरिरहेका हुन्छन्, जुन कहिल्यै पनि डग्मगिनु हुँदैन भन्ने तिनीहरूलाई लाग्छ। तिनीहरू आफ्नो अभिमान, इज्जत वा हैसियत र अगुवाका रूपमा आफ्नो महत्त्वलाई जोखिम पुर्याउने वा असर गर्ने कुनै पनि कुरा कहिल्यै सहन सक्दैनन्। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व खोज्छन्। तिनीहरूले अरूको व्यवहार मात्र नभई उनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यी विधिहरू प्रयोग गर्नुको उद्देश्य पूर्णतया आफ्नो शक्ति र हैसियतको रक्षा गर्नु हो, र ती पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्छाका परिणाम हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। “ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने विधि, प्रकटीकरण, त्यस कार्यका उद्देश्य, र स्रोतहरू के-के हुन्? (शैतान।) खासगरी, ती त मानिसका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट, र शैतानको प्रकृतिबाट आएका हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरूको उद्देश्य भनेको शक्ति कब्जा गर्नु, मानिसहरूको हृदय नियन्त्रण गर्नु र आफ्नो हैसियतका फाइदाहरूको आनन्द लिनु हो। वास्तविक ख्रीष्टविरोधीमा यही कुरा हुन्छ। मानिसहरूको मन जित्ने र मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने यी दुई वटा कुराको दृष्टिकोणबाट हेर्दा, एउटा ख्रीष्टविरोधीले ‘अगुवा’ भन्ने शब्दको अर्थ र अगुवाले खेल्ने भूमिकालाई कसरी व्याख्या गर्छ? तिनीहरूलाई अगुवा भनेको आफूसँग शक्ति र हैसियत हुने, आफूले नेतृत्व गर्ने मानिसहरूलाई आदेश दिने, आफूतिर तान्ने, बहकाउने, धम्की दिने र नियन्त्रण गर्ने शक्ति भएको व्यक्ति हो भन्ने लाग्छ। तिनीहरूले ‘अगुवा’ भन्ने शब्दलाई यसरी बुझेका हुन्छन्। त्यसैले, जब तिनीहरू नेतृत्वको भूमिकामा हुन्छन्, तिनीहरूले आफ्नो काममा यी कार्यनीतिहरू लागू गर्छन्, र तिनीहरूले यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्। त्यसोभए तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वास्तवमा के गरिरहेका हुन्छन् त? निर्धक्क साथ भन्न सकिन्छ, तिनीहरूले दुष्कर्महरू गरिरहेका हुन्छन्, र अझै सटिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुन्छन्, चुनिएका मानिसहरू, मानिसहरूको हृदय र हैसियतका लागि परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो आराधना गर्न लगाउन मानिसहरूका हृदयमा रहेको परमेश्वरको स्थान लिन चाहन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। परमेश्वर ख्रीष्टविरोधीको प्रकृति भएकाहरूले हैसियतलाई जीवन ठान्छन्, र आफ्नो हैसियत र शक्ति जोगाउन लापरवाह रूपमा काम गर्न सकछन्, मानिसहरूका लागि परमेश्वरसँग प्रतिस्पर्धा गर्न अनि मानिसहरूलाई उनीहरूको पछि लाग्न लगाउन र आज्ञापालन गराउन आवश्यक कुनै पनि साधन प्रयोग गर्छन् भनेर खुलासा गर्छन्। चिन्दन गर्दा, मैले के बुझेँ भने, आफूले पनि प्रतिष्ठा र हैसियतलाई एकदमै महत्त्व दिएकी रहेछु, र टोली अगुवा बनेदेखि, म सधैँ टोलीमा हैकम चलाउन र सबैलाई ममा ध्यान केन्द्रित गर्न लगाउन चाहन्थेँ, र यदि कसैको कार्यले मेरो हैसियतमा आँच पऱ्यायो भने, म उसलाई कष्ट दिन युक्तिहरू प्रयोग गर्थेँ, मानिसहरू मप्रति समर्पित भएपछि मात्र रोकिन्थें। म “महापुरुष एक जना मात्रै हुन सक्छ,” “मलाई मान्नेहरूको उन्नति होस्, मलाई विरोध गर्नेहरूको नाश होस्,” र “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ,” भन्नेजस्ता शैतानी दर्शनहरूअनुसार जिउँथेँ, यी विचारहरूलाई बाँच्ने सिद्धान्तका रूपमा लिन्थेँ। मैले पहिले आफ्नो कर्तव्य गर्न एउटी बहिनीसँग सहकार्य गरेको समयबारे चिन्तन गरेँ। उनी मेरा विचारसँग असहमत भएकी थिइन् र उनले मेरा सुझाव पालना गरेकी थिइनन्, र त्यसको जवाफमा, मैले उनको परिस्थिति गाह्रो बनाइदिएँ, जसले गर्दा उनलाई मद्वारा नियन्त्रित गरिएको महसुस भयो र उनी मसँगै कर्तव्य गर्न अनिच्छुक भइन्। अब, सिन जिए र अरू केहीसँग सहकार्य गर्दा, म आत्म-केन्द्रित नै रहेँ र मैले अरूलाई फरक सुझावहरू राख्न अनुमति दिइनँ, र सिन जिए मसँग असहमत हुँदा, मलाई आफूलाई अप्ठ्यारो परिस्थितिमा पारिएको महसुस भयो, त्यसैले मैले आफ्नो हैसियत र छवि जोगाउन उनलाई मेरा विचारहरू स्वीकार गर्न बाध्य बनाएँ, जसले गर्दा समस्याहरू छलफल गर्दा लामो समयसम्म गतिरोध सिर्जना भयो, तर म आत्मचिन्तन गर्न असफल मात्र भइनँ, मैले आक्रमण गर्ने र बदला लिने अवसरहरू पनि खोजेँ, सिन जिएलाई अपमानित गर्न जानाजानी उनका लागि परिस्थिति गाह्रो बनाइदिएँ। यसले सिन जिएलाई धेरै हानि गऱ्यो। ममा साँच्चै कुनै मानवता थिएन! टोली अगुवाको कर्तव्य गर्न सक्नु त परमेश्वरले मलाई उच्च पार्नुभएको थियो, अनि परमेश्वरको अभिप्राय भनेको मैले सबैलाई सँगै सत्यता सिद्धान्तहरू खोज्न, र सद्भावपूर्ण रूपमा सहकार्य गरेर आफ्ना कर्तव्यहरू राम्ररी गर्न, अनि जीवन प्रवेश र प्राविधिक क्षेत्र दुवैमा प्रगति गर्न अगुवाइ गरूँ भन्ने थियो, न कि अख्तियार चलाएर अरूलाई नियन्त्रण गरूँ भन्ने थियो। मैले लामो समय कर्तव्य गर्नुको अर्थ मैले सत्यता बुझेकी छु वा वास्तविकता पाएकी छु भन्ने होइन। वास्तवमा, मैले कामकुरालाई विस्तृत रूपमा हेरिनँ अनि मेरा सङ्गति र बुझाइ सधैँ सही थिएनन्। मैले सबैका सुझावहरू अझ धेरै सुन्नुपर्थ्यो, र जसको सङ्गति सत्यतासँग मिल्थ्यो, उसैको कुरा सुन्नुपर्थ्यो। सबैको क्षमता र बुझाइ फरक-फरक हुन्छन्, र त्यसैले मामिलाहरूबारे दृष्टिकोणहरू फरक-फरक हुन्छन्, त्यसैले स्वाभाविक रूपमा, फरक दृष्टिकोणहरू उत्पन्न हुनेछन्, र मैले आफ्नो हैसियत जोगाउन फरक विचारहरूलाई पाखा लगाउनु र अस्वीकार गर्नुहुँदैनथ्यो, बरु सबैसँग मिलेर सत्यता सिद्धान्तहरू खोज्नुपर्थ्यो। तर मैले आफ्ना विचार र बुझाइलाई सत्यता सिद्धान्तका रूपमा लिएँ, अरूलाई स्वीकार गर्न र समर्पित हुन बाध्य पारेँ, अनि कुरा नसुन्नेहरूलाई आक्रमण गरेँ र पाखा लगाएँ। मेरा यी दुष्ट कार्यहरू परमेश्वरसामु अपराध थिए! मैले परमेश्वरको घरबाट निष्कासित गरिएका धेरै ख्रीष्टविरोधीहरूलाई सम्झेँ, जसले आफ्नो हैसियत जोगाउन उनीहरूलाई खुट्याउन सक्नेहरूलाई दमन गरेका र पाखा लगाएका थिए, जसले गर्दा मण्डली काममा बेलगाम अस्तव्यस्तता छायो अनि गम्भीर अवरोध र बाधा पुग्यो। त्यसपछि मैले आफूलाई हेरेँ, र आफूले म पनि टोली अगुवाका रूपमा आफ्नो हैसियत जोगाउन फरक विचार राख्ने सिस्टरलाई आक्रमण गरेकी र पाखा लगाएकी रहेछु भन्ने मैले बुझेँ। मैले उनको जीवन गाह्रो बनाउन र उनलाई एक्ल्याउन सधैँ दोषहरू खोजिरहेकी थिएँ। मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै थियो! म साँच्चै दुर्भावपूर्ण थिएँ! यदि मैले पश्चात्ताप नगरेकी भए, मेरो नतिजा पनि ती ख्रीष्टविरोधीहरूको जस्तै हुनेथ्यो, र अन्ततः म परमेश्वरद्वारा हटाइनेथिएँ र दण्डित हुनेथिएँ! यो बुझेर, म डराएँ र मैले पश्चात्ताप गर्न चाहेँ।
त्यसपछि, मैले अरूसँग सहकार्य गर्ने मार्ग खोजेँ र परमेश्वरका केही वचन पढेँ: “सौहार्दपूर्ण सहकार्यमा धेरै कुरा समावेश हुन्छन्। यसमा कम्तीमा पनि, यी धेरै कुराहरूमध्ये एउटाचाहिँ अरूलाई बोल्न र विभिन्न सुझावहरू राख्न दिनु हो। यदि तँ सच्चा रूपमा विवेकसङ्गत छस् भने, तैँले जुनै प्रकारको काम गरे पनि, पहिले सत्यता सिद्धान्तहरू खोज्न सिक्नुपर्छ, र अरूका रायहरू खोज्न अग्रसर हुनुपर्छ। तैँले प्रत्येक सुझावलाई गम्भीरतापूर्वक लिइस् र त्यसपछि अरूसित मिलेर समस्याहरू समाधान गरिस् भने, आधारभूत रूपमा सौहार्दपूर्ण सहकार्यलाई पूर्णता दिनेछस्। यस तरिकाले, तैँले आफ्नो कर्तव्यमा एकदमै कम कठिनाइको सामना गर्नेछस्। जुनै समस्या आइपरे पनि, ती समाधान गर्न र सम्हाल्न सजिलो हुनेछ। यही नै सौहार्दपूर्ण सहकार्यको प्रभाव हो। कहिलेकाहीँ, सानातिना मामिलाहरूमा विवादहरू हुन्छन्, तर जबसम्म यिनले काममा असर गर्दैनन्, ती समस्या बन्नेछैनन्। तथापि, मण्डलीको कामसँग सम्बन्ध भएका महत्त्वपूर्ण र प्रमुख मामिलाहरूमा, तैँले सहमति कायम गर्नुपर्छ र ती समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि अगुवा वा कामदारको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरू लिन्छस्, आफ्नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यम चलाउँदै, र सधैँ उच्च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र आफ्नो शक्तिको दायरा विस्तार गर्ने प्रयास गर्दै, कुनै सरकारी अधिकारीजस्तै गरी, यदि तँ आफ्नो कर्तव्यमा मस्त हुन्छस् भने, त्यो समस्या हो। आफू सरकारी अधिकारी भएजस्तै गरी कुनै महत्त्वपूर्ण कर्तव्यलाई आफ्नो पदको फाइदा उठाउने मौकाको रूपमा लिनु निकै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तरी व्यवहार गर्छस्, अरूसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्तिलाई कम गर्न र त्यो अरू कसैसित बाँड्न चाहँदैनस्, अरू आफूप्रतिको ध्यान अरू कसैले तानेको चाहँदैनस्, सबैको आकर्षणको केन्द्रबिन्दु बन्न खोज्छस्, र आफै मात्र शक्तिको उपभोग गर्न चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, प्रेरणा र विचारहरू विरुद्ध विद्रोहको अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नलाई मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरूलाई ध्यानपूर्वक सुन्न, र जोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाहलाई स्विकार्न सक्छस् भने, तैँले बुद्धिमानीपूर्ण र सही तरिकाले अभ्यास गरिरहेको हुन्छस्, र तँ गलत मार्गबाट बच्न सक्षम हुन्छस्, र यो तेरो लागि सुरक्षा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “जब एउटा कर्तव्य निर्वाह गर्न दुईजनाले सहकार्य गर्छन्, तिनीहरूबीच कहिलेकाहीँ सिद्धान्तको विषयमा विवाद हुन्छ। तिनीहरूका दृष्टिकोण फरकफरक हुन्छन् र तिनीहरू फरकफरक विचारमा पुग्छन्। त्यस्तो अवस्थामा के गर्न सकिन्छ? के यो बारम्बार भइरहने समस्या हो? यो एक सामान्य घटना हो। हरेक व्यक्तिको दिमाग, क्षमता, अन्तर्दृष्टि, उमेर र अनुभव फरक हुन्छ, र कुनै दुई व्यक्तिमा ठ्याक्कै उस्तै विचार र दृष्टिकोण हुनु असम्भव हुन्छ, त्यसैले दुई व्यक्ति फरकफरक दृष्टिकोण र रायमा पुग्नु एकदमै सामान्य घटना हो। योभन्दा नियमित घटना हुनै सक्दैन। यसमा बखेडा गर्नुपर्ने कुनै कुरा छैन। महत्त्वपूर्ण प्रश्न यो हो कि जब त्यस्तो समस्या उत्पन्न हुन्छ, तब परमेश्वरसामु एकता अनि विचार र दृष्टिकोणहरूमा ऐकमत्य ल्याउन कसरी सहकार्य र खोजी गर्नुपर्छ? विचार र दृष्टिकोणहरू एक बनाउने मार्ग के हो? यो मार्ग भनेको सत्यता सिद्धान्तहरूको सान्दर्भिक पक्ष खोजी गर्नु, तेरो आफ्नै वा अरू कसैको अभिप्रायअनुसार काम नगर्नु, बरु परमेश्वरका अभिप्रायहरू खोजी गर्नु हो। सामञ्जस्यपूर्ण सहकार्य गर्ने मार्ग यही हो। जब तँ परमेश्वरका अभिप्रायहरू र उहाँले आवश्यक गर्नुभएका सिद्धान्तहरूको खोजी गर्छस, तब तैँले एकता प्राप्त गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। परमेश्वरका वचनहरूले मलाई आफ्नो कर्तव्यमा अरूसँग सहकार्य गर्ने अभ्यासको मार्ग देखाए। जब कोही मेरा विचारहरूसँग असहमत हुन्छ, तब मैले आफ्नो हैसियत र पदलाई पन्छाउनुपर्छ र आफ्नै कुरामा जिद्दी गर्नु हुँदैन, र अरूसँग सान्दर्भिक सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्वरका मागअनुसार अभ्यास गर्नुपर्छ। हामी प्रत्येकका फरक क्षमता र अनुभवहरू हुने हुनाले, अनि एउटै मामिलबारे प्रत्येक व्यक्तिको बुझाइ फरक हुने हुनाले, परमेश्वर हाम्रा लागि एकअर्काको पूरक बन्न अनि एकअर्काको सामर्थ्य र कमजोरीहरूलाई पूर्ति गर्न सँगै सहकार्य गर्ने बन्दोबस्त मिलाउनुहुन्छ। मैले सिन जिएले फरक दृष्टिकोणको प्रस्ताव राखेका बारेमा चिन्तन गरेँ। यदि मैले टोली अगुवाका रूपमा आफ्नो हैसियतलाई पन्छाउन सकेकी र खोजी गर्ने हृदयले उनका सुझावहरू स्विकारेकी भए, कामको प्रगतिमा ढिलाइ हुनेथिएन। मैले आफ्नो हैसियतलाई अति धेरै महत्त्व दिनु अनि निरन्तर आफ्नो हैसियत र छविलाई जोगाउनु, त्यो सब मेरो गल्ती थियो, किनभने यी कुराले काममा रोकावट ल्यायो। पछि, मैले सिन जिएसँग माफी मागेँ र आफ्ना दुष्ट कार्यहरू खुलासा गरेँ, तर मलाई अचम्म लाग्यो, मैले सिन जिएलाई पुर्याएको हानिका लागि उनले मसँग कुनै ईख राखिनन्, र हामीले फेरि सामान्य रूपमा अन्तरक्रिया गर्न सक्यौं। प्राविधिक मामिलाहरू अध्ययन गर्दा र समस्याहरू सँगै छलफल गर्दा, मैले सिस्टरहरूका दृष्टिकोण सुन्नमा पनि ध्यान दिएँ। कहिलेकाहीँ, सिस्टरहरू मेरा विचारसँग असहमत हुँदा, मलाई अलि दुःख लाग्थ्यो, तर मैले परमेश्वरलाई प्रार्थना गर्न र आफूविरुद्ध विद्रोह गर्न, अरूका दृष्टिकोण खोज्न र तीबारे मनन गर्न सकेँ, अनि मैले सबैका आ-आफ्नै बुझाइ हुन्छन् र सबैले केही ज्योति व्यक्त गर्न सक्छन्, र म अरूको सङ्गतिबाट केही लाभ उठाउन सक्छु भनेर बुझेँ।
पछि, मैले प्रवचनहरू छनौट गरिरहेकी बेला मलाई एउटा प्रवचनमा समस्या छ भन्ने लाग्दा, मैले त्यो त्यागेँ, तर सिन जिएले आफ्नो समीक्षामा फरक दृष्टिकोण प्रस्तुत गरिन्। सिस्टरको सुझाव सामना गर्दा, मलाई केही प्रतिरोध महसुस भयो, सोचेँ, “यदि सिन जिएको दृष्टिकोणसँग सहमत भएँ भने, के यसले गर्दा म उनीभन्दा कमसल देखिनेछु? अरू सिस्टरहरूले मलाई के सोच्नेछन्?” यसरी सोच्दै, मैले सिन जिएसँग केही बेर तर्क गरेँ, उनलाई मेरो दृष्टिकोण स्वीकार गराउन खोजेँ। मैले मेरो स्थिति गलत छ, र म आफ्नो आत्मगौरव जोगाउन र सिन जिएलाई मेरो कुरा सुन्न लगाउन खोज्दै छु भनेर बुझेँ, त्यसैले, मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, सिन जिएका फरक सुझावहरू स्विकार्न मलाई गाह्रो भइरहेको छ। कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई आफूलाई त्याग्न, यसबाट सिद्धान्तहरू खोज्न, फरक दृष्टिकोणहरू सामना गर्दा स्विकारेर र समर्पित भएर सुरु गर्न, अनि आफूलाई इन्कार गर्न सिक्न मद्दत गर्नुहोस्। यदि मेरो दृष्टिकोण अनुपयुक्त छ भने, म अरूका सुझावहरू स्वीकार गर्न इच्छुक छु।” त्यसपछि, हामीले सान्दर्भिक सिद्धान्तहरू प्रयोग गरेर सँगै प्रवचनको समीक्षा गर्यौँ, र हामीले मैले उल्लेख गरेका समस्याहरू खास समस्या नभएका, र समग्रमा, त्यो प्रवचन राम्रो छ भन्ने पायौँ। मेरो आत्मगौरवमा अलि चोट पुगे पनि, मलाई निकै खुसी लाग्यो, किनभने यदि सिन जिएका सुझावहरू नभएका भए, मैले एउटा राम्रो प्रवचनलाई बेवास्ता गरेको हुनेथिएँ। अरूका सुझावहरू सुन्नुले मलाई दुष्ट काम गर्न रोक्न मद्दत मात्र गर्दैन तर मेरा कमीकमजोरी पत्ता लगाउन पनि सक्षम बनाउँछ, जुन मेरा त्रुटिहरूलाई पूर्ति गर्ने कुरा हो।
यस अनुभवबाट मैले बुझेँ भने यदि म सही मार्गमा हिँडिनँ र मैले आफ्नो कर्तव्यमा सत्यता पछ्याइनँ, र आफ्नो हैसियत जोगाउन मात्र खोजेँ भने, म कुनै पनि क्षण दुष्ट काम गर्न र परमेश्वरको प्रतिरोध गर्न प्रवृत्त हुन्छु, आफूमाथि मानिसहरूको घृणा र परमेश्वरको तिरस्कार ल्याउँछु, आफूलाई फर्कन नसक्ने मार्गमा डोर्याउँछु। मैले फ्नो आत्मगौरव र हैसियत त्यागेर, आफ्ना विचारहरू पन्छाएर, सत्यता सिद्धान्तहरू खोजेर, र अरूसँग सहकार्य गर्न सिकेर मात्र, थप अप्रत्याशित लाभहरू प्राप्त गर्न सक्छु। मैले फरक सुझावहरू स्विकार्नु र सिद्धान्तअनुसार काम गर्नुका फाइदाहरू साँच्चै अनुभव गरेँ। परमेश्वरलाई धन्यवाद!