२०. मेरो आस्थाप्रति मेरा आमाबुबाको विरोधको सामना
सन् २०१२ मा, सुसमाचार प्रचार गर्दैगर्दा मलाई प्रहरीले पक्राउ गर्यो। मण्डलीका अगुवा को हुन् र भेलाहरू कहाँ हुन्छ भन्दै, उनीहरूले कठोरतापूर्वक केरकार गरे, र मैले जवाफ नदिँदा, उनीहरूले मलाई कुटे र लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखे। अन्तमा, जब उनीहरूले चाहेको जानकारी पाउन सकेनन्, उनीहरूले मेरा आमाबुबालाई मलाई घर लैजान दिए, र उहाँहरूलाई यसो भन्दै धम्की दिए, “यस पटक हामी उसलाई छोड्दैछौँ, तर उसलाई निगरानी गर्नू र फेरि परमेश्वरमा विश्वास गर्न नदिनू। यदि फेरि विश्वास गरी र पक्राउ परी भने, उसलाई जेल सजाय हुन्छ, अनि हामी तिमीहरूको सर्वस्व सिध्याएर परिवार नै बर्बाद पारिदिनेछौँ!” त्यसपछि, मेरा आमाबुबा मेरो विश्वासको बाधक बन्न थाल्नुभयो। मैले परमेश्वरका वचनहरू पढ्छु कि भनेर उहाँहरू डराउनुभयो, त्यसैले जताततै मेरो निगरानी गर्न थाल्नुभयो, राति पनि मेरो कोठामै सुत्नुहुन्थ्यो, मलाई अलिकति पनि स्वतन्त्रता थिएन। मेरा अरू आफन्तहरूले पनि मलाई बुझेनन्। मेरी वृद्धा हजुरआमा हाम्रो घरमा आएर, मलाई प्रहरीले पक्राउ गरेर जेल हाल्ला कि भन्ने डरले रुँदै-कराउँदै फेरि परमेश्वरमा विश्वास नगर्न बिन्ती गर्न थाल्नुभयो, मेरा हजुरबुबाले पनि गम्भीर मुद्रामा मलाई औँल्याउँदै भन्नुभयो, “यति सानो उमेरमा किन परमेश्वरमा विश्वास गर्छेस्! विश्वास गरेकैले तँ पक्राउ परिस्, अपराधी भइस्, हाम्रो बेइज्जत मात्र होइन, पूरै परिवारलाई नै फसाइस्! तैँले यो विश्वास छोड्नैपर्छ!” हजुरबुबाको त्यो डरलाग्दो रूप देखेर मलाई साह्रै अन्याय भएको महसुस भयो। मैले मनमनै खण्डन गरेँ, “परमेश्वरमा विश्वास र आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो र यो त सही मार्ग हो। संसारभरिका असल मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्। तपाईंहरूले मलाई किन बुझ्नुहुन्न? जतिसुकै रोके पनि, म आफ्नो विश्वास छोड्नेछैन!”
एक रात, मेरी आमा एक्कासि मेरो कोठामा पस्नुभयो र मेरो अगाडि घुँडा टेकेर रुँदै भन्न थाल्नुभयो, “बिन्ती छ, अब परमेश्वरमा विश्वास नगर्! तँ हाम्रो एउटै मात्र छोरी होस्, फेरि पक्राउ परिस् र सजाय पाइस् भने, प्रहरीले हाम्रो पैसा मात्र खोस्दैन, तँलाई कठोर यातना पनि दिन्छ। तँलाई केही भइहाल्यो भने, यो परिवार नै सकिन्छ!” यो देखेर म त छाँगाबाट खसेझैँ भएँ र हतार-हतार आमालाई उठाएँ। आमाले त्यसरी मन दुखाएर रोएको देख्दा मेरा आँसु पनि थामिएनन्। उहाँलाई के जवाफ दिने मलाई थाहा थिएन। म सानो छँदादेखि नै मेरो बुबा कामको लागि बाहिरै हुनुभयो, र मेरी आमाले नै मलाई अनेकौँ दुःख-कष्ट सहेर हुर्काउनुभएको थियो। अब म ठूली भइसकेकी थिएँ, मैले उहाँको त्यो गुन तिर्नु त कता हो कता, उल्टै उहाँले नै मेरो अगाडि घुँडा टेकेर बिन्ती गर्नुपर्ने भयो। मैले आफ्नो छोरीको कर्तव्य पूरा गरिनँ भन्ने लाग्यो। यो सोचले मलाई अलि कमजोर बनायो, “आमाले यसरी घुँडा टेकेर बिन्ती गरिरहनुभएको छ, यदि मैले उहाँको भावनाको अलिकति पनि ख्याल गरिनँ भने उहाँको मन कति दुख्दो हो?” मलाई धेरै दुःख लाग्यो, त्यसैले मैले चुपचाप प्रार्थना गरेँ, र परमेश्वरसँग मलाई दृढ राख्न अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु र तेरा लागि शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनले मेरो मन स्पष्ट भयो। बाहिरबाट हेर्दा, मेरी आमाले घुँडा टेकेर मसँग बिन्ती गरिरहनुभएको जस्तो देखिन्थ्यो, तर यसको पछाडि शैतानको षड्यन्त्र थियो। शैतान मैले परमेश्वरलाई पछ्याएर मुक्ति पाऊँ भन्ने चाहँदैनथ्यो र यसले मलाई परीक्षा लिन र आक्रमण गर्न मेरी आमालाई प्रयोग गरिरहेको थियो, ताकि म परमेश्वरलाई धोका दिएर त्यससँगै नरकमा जाऊँ। म शैतानको षड्यन्त्रमा फस्नुहुँदैनथ्यो; त्यसलाई लज्जित पार्न आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो! यो सोचले मलाई अझै दृढ बनायो। दैनिक मामिलाहरूमा, म मेरी आमाको कुरा सुन्न सक्थेँ, तर विश्वासको मामिलामा, म सक्दिनथेँ। म परमेश्वरमा विश्वास गर्न दृढ भएँ!
पछि, विश्वासप्रति मेरो दृढता देखेर, मेरा आमाबुबाले ममाथि अझ कडा निगरानी गर्न थाल्नुभयो। म अक्सर परमेश्वरलाई मेरो लागि बाटो खोलिदिनुहोस् भनी प्रार्थना गर्थेँ। केही समयपछि, एक जना सिस्टरले मलाई उहाँको पसलमा कामको प्रस्ताव गर्नुभयो, यसले मलाई परमेश्वरका वचनहरू पढ्ने र ब्रदर-सिस्टरहरूसँग भेला हुने मौका दिन्थ्यो, त्यसैले मैले खुसीसाथ स्वीकार गरेँ। तर, अचम्म, मेरा बुबाले गोप्य रूपमा मेरो पिछा गर्न थाल्नुभएछ। एक दिन, म भेलामा हुँदा, अचानक बुबाको फोन आयो र उहाँले म कहाँ छु भनेर सोध्नुभयो। मैले बुद्धिमानीपूर्वक काममा छु भनेँ, तर उहाँले पत्याउनुभएन र हतारिँदै पसलमा आउनुभयो। भाग्यले, म उहाँभन्दा पहिले पसलमा पुगिसकेकी थिएँ, र उहाँ मलाई देखेपछि मात्र ढुक्क भएर जानुभयो। अर्को पटक, म भेलामा जाँदै थिएँ, आयोजकको घर नजिक पुग्न लाग्दा पछाडि फर्केर हेर्छु त बुबा पो मेरो पिछा गर्दै हुनुहुन्थ्यो, त्यसैले मैले भेलामा जाने आँट गरिनँ र घर फर्कनुपर्यो। मेरा बुबाले म बाहिर जाँदा मेरो पिछा र निगरानी मात्र गर्नुहुन्नथ्यो, घरमा पनि बेला-बेला अचानक मेरो कोठामा आएर मैले परमेश्वरका वचनहरू पढिरहेकी छु कि छैन भनेर जाँच्नुहुन्थ्यो। एक रात, मैले कोठाको ढोका लगाएर भित्र लुकेर परमेश्वरका वचनहरू पढ्दै थिएँ, अचानक ढोकामा “ढक ढक ढक” को आवाज आयो र म साह्रै डराएँ। मैले परमेश्वरका वचनहरूका किताबहरू लुकाएर ढोका खोल्न नपाउँदै, बुबाले बार्दलीको सिसा फुटाएर भित्र छिर्नुभयो। उहाँले सिङ्गार-पेटार गर्ने टेबलबाट एउटा बोतल उठाएर मलाई त्यसैले कुट्दै सरापिरहनुभयो: “मैले तँलाई परमेश्वरमा विश्वास नगर्न भनेको होइन! म तँलाई यो आस्थामा लागिरहन दिनेछैन!” उहाँले परमेश्वरको विरुद्धमा निन्दात्मक शब्दहरू पनि चिच्याउनुभयो। त्यसपछि मेरी आमाले पनि मलाई गाली गर्नुभयो, “यदि तैँले परमेश्वरमा विश्वास गरिरहिस् भने, तेरा बुबा र मैले तँलाई त्याग्नेछौँ। त्यसपछि तँ के गर्छेस् हेरौँला!” त्यसबेला, म एकदमै डराएँ, बुबाले मलाई चोट पुर्याउनुहोला र उहाँहरूले साँच्चै मलाई घरबाट निकालिदिनुहोला कि भन्ने डर लाग्यो, त्यसैले मैले परमेश्वरलाई पुकारेँ: “हे परमेश्वर, यो परिस्थितिलाई जित्न मेरो कद ज्यादै सानो छ, कृपया मलाई मार्गदर्शन र सुरक्षा दिनुहोस्, र मलाई विश्वास र शक्ति दिनुहोस्।” त्यसपछि मैले परमेश्वरका वचनहरू सम्झेँ: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। साँच्चै, परमेश्वर मेरो सहारा हुनुहुन्छ, सबै कामकुरा र घटनाहरू परमेश्वरकै हातमा छन्, र मेरा आमाबुबा पनि परमेश्वरकै नियन्त्रणमा हुनुहुन्छ। परमेश्वरको अनुमतिविना, उहाँहरूले मलाई केही गर्न सक्नुहुन्नथ्यो। मेरा आमाबुबाले जे भने पनि मैले परमेश्वरमा विश्वास गर्न छोड्दिनँ भन्ने देख्नुभएपछि, उहाँहरू यति रिसाउनुभयो कि फर्केर हेर्दै नहेरी जानुभयो।
आमाबुबा गइसकेपछि, बुबाले मलाई कसरी कुट्नुभयो भन्ने सम्झेर मलाई साह्रै दुःख लाग्यो। मेरो जीवनमा, बुबाले मलाई कहिल्यै कुट्नुभएको थिएन, तर मैले परमेश्वरमा विश्वास गरेकै कारण, मलाई सधैँ माया गर्ने मेरा आमाबुबाले मलाई शत्रुजस्तो व्यवहार गरिरहनुभएको थियो। बुबाले मलाई बोतलले हिर्काउनुभयो, र आमाले त मलाई अबदेखि चाहिन्न समेत भन्नुभयो। यदि उहाँहरूले साँच्चै मलाई घरबाट निकालिदिनुभयो भने, मेरो घर हुनेथिएन र म एक्लै हुनेथेँ, तब म कहाँ जान सक्थेँ र? मलाई अलि कमजोर महसुस भयो, र चीनमा परमेश्वरमा विश्वास गर्न कति गाह्रो छ भन्ने सोचेँ। मैले मनमनै विश्वास गरौँ र भेलाहरूमा नजाऊँ कि भन्ने विचार गरेँ, ताकि परिवारमा फेरि मेलमिलाप होस्, र उहाँहरूले मलाई पहिलेको जस्तै माया गर्नुभएको होस्। तर भेलामा नजाने कुरा सोच्दा मात्र पनि मलाई साह्रै दुःख लाग्यो, किनभने यो समयमा ब्रदर-सिस्टरहरूसँग भेला भएर परमेश्वरका वचनहरू पढ्दा मैले केही सत्यताहरू बुझेकी थिएँ, र परमेश्वरमा विश्वास गर्नु भनेको जीवनको सही मार्गमा हिँड्नु हो र जीवनमा सबै कुरा परमेश्वरबाटै आउँछ भन्ने थाहा पाएकी थिएँ। परमेश्वरमा विश्वास गर्दा मलाई शान्ति, आनन्द र भरोसाको महसुस हुन्थ्यो, र म धेरै खुसी हुन्थेँ। तर आमाबुबाबाट सतावट भोग्नु साह्रै पीडादायी र निसास्सिने खालको थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्, र यो परिस्थितिलाई पार गर्ने विश्वास दिनुहोस् भनेँ। पछि, मैले परमेश्वरका वचनहरू पढेँ जसमा यसो भनिएको थियो: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अल्पकालिन आनन्दका खातिर तैँले जीवनभरको इज्जत र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस् र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेर मेरो मनमा स्पष्टता आयो। परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्ने देश चीनमा, परमेश्वरमा विश्वास गर्दा सतावट भोग्नुपर्ने हुन्छ। परमेश्वरलाई पछ्याउन व्यक्तिमा विश्वास अनि कठिनाइ सहने इच्छाशक्ति हुनैपर्छ। तर मेरा आमाबुबाको अक्सर कुटाइ, गाली र सतावटबाट केही कष्ट भोगेपछि, मेरो मन विचलित भयो, र मैले परमेश्वरमा विश्वास गर्नु साँच्चै पीडादायी छ भनेर गुनासो गरेँ, र भेलामा नजाने विचारसमेत गरेँ। म कति कमजोर र काँतर रहेछु! परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र मेरा आमाबुबाले मलाई नबुझ्नु र सताउनु सबै कम्युनिष्ट पार्टीको कारणले भएको थियो, जसले परमेश्वरको प्रतिरोध गर्छ, जताततै इसाईहरूलाई पक्राउ गर्छ, आधारहीन अफवाहहरू फैलाउँछ, र परमेश्वरलाई दोषी ठहराउँछ। यसले गर्दा मेरो अविश्वासी परिवार त्यसद्वारा बहकिन पुग्यो, र मेरो विश्वासमा मलाई सताउन र बाधा दिन त्यसकै लहैलहैमा लाग्यो। तर मैले गल्तीले यो कष्ट मेरो परमेश्वरमाथिको विश्वासले गर्दा भएको हो भन्ने विश्वास गरेँ। म सही र गलत छुट्याउन पूर्ण रूपमा असक्षम थिएँ, र म अन्धी र मूर्ख थिएँ! मैले परमेश्वर देहधारी भएर उहाँको सबैभन्दा बढी प्रतिरोध गर्ने देश चीनमा आउनुभएको कुरा सोचेँ, उहाँले नास्तिक शासनबाट पक्राउ र सतावट अनि धार्मिक संसारबाट प्रतिरोध र निन्दा भोग्नुभएको छ, तर सधैँ चुपचाप सत्यता व्यक्त गरिरहनुभएको छ र मानवजातिलाई मुक्ति दिन सबै प्रकारका दुःख सहिरहनुभएको छ। तर म थोरै दुःख भोग्दैमा परमेश्वरबारे गुनासो गरिरहेकी थिएँ, केवल आरामदायी र सजिलो जीवन जिउन चाहन्थेँ, परमेश्वरमाथिको मेरो विश्वासमा सत्यता प्राप्तिका लागि कष्ट भोग्न वा सतावटको सामना गर्न तयार थिइनँ। ममा साँच्चै विवेकको कमी थियो। मैले के पनि सोचेँ भने परमेश्वर आखिरी दिनहरूमा देहधारी भएर सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन आउनुभएको छ। यो जीवनमा एक पटक मात्र आउने मौका थियो, र यो मेरो लागि सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा मुक्ति पाउने एकमात्र मौका हुनेछ। यदि मैले क्षणिक पारिवारिक मेलमिलापको लागि परमेश्वरमाथिको मेरो विश्वास त्यागेँ र परमेश्वरको मुक्तिको मौका गुमाएँ भने, त्यो जीवनभरको पछुतो हुनेछ! मेरा आमाबुबाले मलाई जतिसुकै माया गरे पनि, उहाँहरूले मलाई विपत्तिबाट जोगाउन सक्नुहुन्न। परमेश्वर नै मेरो एकमात्र सहारा हुनुहुन्छ। यदि मैले परमेश्वरमा विश्वास गरिनँ वा सत्यता खोजिनँ, केवल आराम र पारिवारिक मेलमिलापको आनन्द लिएर खोक्रो जीवन बिताएँ भने, त्यसको के अर्थ रहन्छ र? अन्तमा, म सांसारिक मानिसहरूले हिँड्ने भ्रष्ट र दुष्ट मार्गमा हिँड्नेछु, शैतानद्वारा झन्-झन् भ्रष्ट हुनेछु, र अन्ततः शैतानसँगै नष्ट हुनेछु। यो सोचेर, म धेरै शान्त भएँ र मेरा आमाबुबाले जतिसुकै सताए वा बाधा दिए पनि, म अन्तसम्मै परमेश्वरलाई पछ्याउनेछु भनी सङ्कल्प गरेँ!
भोलिपल्ट, बुबा फेरि मेरो कोठामा आउनुभयो। उहाँ हिजोको जस्तो कठोर हुनुहुन्नथ्यो र निधार खुम्च्याएर भन्नुभयो, “मैले तँलाई पहिले केही कुरा भनिनँ। तँलाई दुःख लाग्ला कि भन्ने डर थियो। जबदेखि तँ पक्राउ परेर छुटेकी छेस्, गाउँका केही मानिसले हाम्रो गाउँमा एउटा सानै उमेरको अपराधी निस्कियो भन्दैछन्, र तेरी आमा र मैले बाहिर जाँदा शिरसमेत उठाउन सकेका छैनौँ। हामीले तँलाई हुर्काउन सजिलो थिएन, तैँले हाम्रो ख्याल नगरे पनि, आफ्नो बारेमा त सोच्नुपर्छ! यदि तँ आफ्नो विश्वासको लागि फेरि पक्राउ परिस् भने, तेरो जीवन नै बर्बाद हुनेछ!” यति भनेर उहाँ जानुभयो। बुबालाई पीडादायी अनुहार लिएर गएको देखेर मलाई पनि दुःख लाग्यो। सबैले मलाई पहिले मायालु र समझदार बच्चाको रूपमा हेर्थे, तर अब, प्रहरीले पक्राउ गरेपछि, तथ्य नबुझ्ने मानिसहरूले मैले बाहिर केही नराम्रो काम गरेँ होला भन्ने सोचे। यो समयमा मेरा आमाबुबाले अवश्य पनि धेरै चिसो नजर र कठोर शब्दहरू सहनुभएको थियो। मैले मेरा आमाबुबाले मलाई हुर्काएको कुरा सोचेँ तर मैले उहाँहरूलाई गर्व गराइनँ, बरु उहाँहरूलाई अरूले औँल्याउने र हेला गर्ने कारण मात्र बनेँ। मलाई साँच्चै मैले उहाँहरूलाई निराश पारेँ जस्तो लाग्यो। पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: ‘किनभने हाम्रो हल्का दु: ख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वरमा विश्वास गरेर जीवनको सही मार्गमा हिँड्नु गलत होइन, तर कम्युनिष्ट पार्टीले बौलाहा पाराले परमेश्वरको प्रतिरोध गर्ने, विश्वासीहरूलाई पक्राउ गर्ने र सताउने हुनाले, यस नास्तिक देश चीनमा विश्वासीहरूले धेरै अपमान र सतावट भोग्नुपर्छ। यो परमेश्वरमा विश्वास गर्नु गलत भएर होइन, बरु कम्युनिष्ट पार्टी अत्यन्तै दुष्ट भएर हो, जसले विश्वासीहरू र उनीहरूका परिवारलाई अनन्त हानि र दुःख दिन्छ। यो सबै कष्टको मुख्य दोषी त कम्युनिष्ट पार्टी थियो, र मैले मेरा आमाबुबालाई केही पनि ऋण तिर्नु थिएन। यो सोचेर, मलाई केही हल्का महसुस भयो। परमेश्वरका वचनहरूमा मनन गरेर, मैले यो पनि बुझेँ कि आज हामी परमेश्वरमा विश्वास गर्दा अपमानित र सताइएका भए तापनि, यो दुःख अस्थायी हो। परमेश्वरले मेरो विश्वासलाई सिद्ध पार्न यो कष्ट प्रयोग गर्नुभयो, त्यसैले यो कष्ट भोग्नुको अर्थ थियो, र मैले परमेश्वरमा भर परेर दृढतापूर्वक अघि बढ्नुपर्थ्यो। यो कुरा मनमा राखेर, मैले विश्वास प्राप्त गरेँ र अब कुनै पीडा वा दुःख महसुस गरिनँ।
सन् २०१३ को गर्मीमा, म आफ्नो कर्तव्यबाट घर फर्केकी मात्र थिएँ, मेरी आमाले चिन्तित हुँदै भन्नुभयो, “प्रहरी चौकीबाट फोन आएको थियो, उनीहरू तँलाई भेट्न चाहन्छन् रे।” यो सुनेर म साह्रै डराएँ, प्रहरीले मलाई के चाहन्छन् भन्ने थाहा थिएन, त्यसैले मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई बुद्धि दिनुहोस् भनी मागेँ, ताकि म शैतानको षड्यन्त्रलाई चिनेर आफ्नो गवाहीमा दृढ रहन सकूँ। प्रहरी चौकीमा, प्रहरीले मलाई मण्डलीबारे केही प्रश्नहरू सोधे, र उनीहरूले मलाई परमेश्वरको विरुद्धमा निन्दात्मक शब्दहरू लेख्न पनि भने। मलाई थाहा थियो परमेश्वरको निन्दा गर्नु यो जीवन र आउँदो संसारमा पनि क्षमा नहुने पाप हो, र यो लेख्नु भनेको परमेश्वरलाई धोका दिनु हो, त्यसैले मैले दृढतापूर्वक त्यसो गर्न अस्वीकार गरेँ। मेरा बुबाले, मैले लेख्न नमानेको देखेर, रिसले अनुहार रातो बनाउनुभयो, र प्रहरीलाई भन्नुभयो, “यदि यो आफ्नो विश्वासमा टाँसिरहन्छे भने, यसलाई समातेर लैजानुहोस्!” त्यसबेला, मैले आफ्नो कानलाई विश्वास गर्न सकिनँ। मैले सोचेकी पनि थिइनँ मेरा बुबाले मलाई मेरो विश्वास त्याग्न दबाब दिन प्रहरीसँग मिलेमतो गर्नुहोला, यहाँसम्म कि मलाई पक्राउ गर्न प्रहरीलाई उक्साउनुहोला। उहाँ अब मैले चिनेको बुबा रहनुभएन! पछि, मैले लेख्न नमानेको देखेर, प्रहरीले मलाई घर जान दिए र तीन दिनभित्र धर्मत्यागको ग्यारेन्टी पत्र बुझाउन भने। घर फर्केपछि, बुबाले मलाई प्रहरीलाई सुम्पन चाहनुभएको कुरा सोच्दा मेरो मन चिसो भयो। मैले परमेश्वरका वचनका दुई खण्डहरू सम्झेँ: “यदि परमेश्वरलाई उल्लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ भने, के उसले परमेश्वरलाई देखेको हुन्छ? के परमेश्वर को हुनुहुन्छ भन्ने उसलाई थाहा हुन्छ? परमेश्वर को हुनुहुन्छ भन्ने उसलाई थाहा हुँदैन, उहाँमा विश्वास गर्दैन, अनि परमेश्वर ऊसँग बोल्नुभएको हुँदैन। परमेश्वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन भने, किन ऊ रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, ‘परमेश्वर’ भन्ने शब्द, वा परमेश्वरको वचनको सत्यतालाई उल्लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। “विश्वासी पति र गैरविश्वासी पत्नीबीच कुनै सम्बन्ध हुँदैन, र विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूले के खुलासा गर्छन् भने यदि कुनै व्यक्तिले परमेश्वरलाई चिन्दैन वा उहाँमा कहिल्यै विश्वास गरेको छैन, तर “परमेश्वर” भन्ने शब्द उल्लेख हुँदा, ऊ रिसाउँछ र घृणाले भरिन्छ, यसले त्यो व्यक्तिको प्रकृति दुष्ट छ र उसले परमेश्वरको विरोध गर्छ भन्ने सङ्केत दिन्छ। मैले सम्झेँ कि मेरो बुबाको मेरो विश्वासप्रतिको मनोवृत्ति सधैँ घृणित थियो, र जब-जब उहाँले मलाई भेला भएको वा परमेश्वरका वचनहरू पढेको देख्नुहुन्थ्यो, उहाँ घृणाले दाह्रा किट्नुहुन्थ्यो, उहाँका आँखामा क्रोधको आगो बल्थ्यो, र उहाँले परमेश्वरको निन्दासमेत गर्नुहुन्थ्यो। मेरो विश्वासमा बाधा दिन, उहाँले मलाई अक्सर अपराधीलाई जस्तै हेर्नुहुन्थ्यो, मेरो पिछा र निगरानी गर्नुहुन्थ्यो, मलाई कुनै स्वतन्त्रता दिनुहुन्नथ्यो, र जब उहाँले मलाई मेरो कोठामा परमेश्वरका वचनहरू पढिरहेको थाहा पाउनुभयो, उहाँ बौलाहाजस्तो देखिनुभयो, झ्याल फुटाएर भित्र पस्नुभयो र मलाई कुट्नुभयो। मलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न, उहाँले सक्रिय रूपमा प्रहरीले मलाई पक्राउ गरोस् भनेर समेत भन्नुभयो, मेरो जीवन वा मृत्युको कुनै चिन्ता गर्नुभएन, न बाबु-छोरीको स्नेह देखाउनुभयो। यसले मलाई के बुझायो भने उहाँको प्रकृति सार परमेश्वरको प्रतिरोध गर्ने र घृणा गर्ने थियो। परमेश्वर भन्नुहुन्छ विश्वासी र गैरविश्वासीहरू दुई फरक प्रकारका मानिसहरू हुन्, र यो साँच्चै सत्य हो! म परमेश्वरलाई पछ्याउँदै र सत्यता खोज्दै, जीवनको सही मार्गमा हिँडिरहेकी थिएँ, जबकि मेरा आमाबुबाले परमेश्वरमा विश्वास गर्नुहुन्नथ्यो र कम्युनिष्ट पार्टीलाई पछ्याएर मलाई सताउनुभयो। हाम्रो रगतको सम्बन्ध भए तापनि, हामी एउटै बाटोमा थिएनौँ र आधारभूत रूपमा नमिल्ने थियौँ। यी कुरा अनुभव गरेर, मैले मेरा आमाबुबाको सारबारे केही समझशक्ति प्राप्त गरेँ, र म उहाँहरूप्रतिको मेरो भावनात्मक लगावबाट केही हदसम्म मुक्त हुन सकेँ। पछि, प्रहरी चौकीले मलाई धर्मत्यागको ग्यारेन्टीमा हस्ताक्षर गर्न कर गरिरहेकोले, मैले घर छोडेँ र लुक्न थालेँ।
त्यसपछि अर्को घटना घट्यो, जसले मलाई मेरा आमाबुबाको सार अझ स्पष्ट रूपमा देखायो। एक रात, आफ्नो कर्तव्य गर्ने क्रममा म हाम्रो गाउँहुँदै जाँदा, म केही सामान लिन घर गएँ, र मलाई फर्केको देखेर मेरा आमाबुबाले फेरि उप्रान्त परमेश्वरमा विश्वास नगर्न आग्रह गर्नुभयो। मेरा बुबाले भन्नुभयो, “बुढेसकालमा तैँले हामीलाई पाल्छेस् भन्ने आशाले हामीले तँलाई हुर्कायौँ, तर अब तँ हरेक दिन भेलामा जान्छेस्, अब तेरो भर नहुने भयो।” सुरुमा, मैले उहाँहरूको कुराको जवाफ दिइनँ, तर अचम्मको कुरा, मेरा बुबाले अचानक आफ्नो अनुहारमा थप्पड हान्न थाल्नुभयो, र परमेश्वरमा विश्वास गर्न छोड्न माग गर्दै आफैँलाई कुट्नुभयो, उहाँको नाकबाट रगत नै आयो। म स्तब्ध भएँ। मेरा बुबाले मलाई परमेश्वरमाथिको मेरो विश्वास छोडाउन यस्तो हत्कण्डा अपनाउनुहोला भन्ने मैले सोचेकी पनि थिइनँ। मेरी आमा पनि रुँदै मलाई आग्रह गर्दै हुनुहुन्थ्यो। मलाई साह्रै दुःख लाग्यो, र मैले आफ्नो आँसु रोक्न सकिनँ, सोचेँ, “बुबाले यसरी आफैँलाई कुटिरहनुभयो भने उहाँलाई गहिरो चोट लाग्दैन र? जे भए पनि, उहाँ मेरो बुबा हो, र म उहाँले आफैँलाई चोट पुऱ्याएको हेरिरहन सक्दिनँ, तर म परमेश्वरमा विश्वास गर्न छोड्न पनि सक्दिनँ। मैले के गर्ने?” त्यस क्षण, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकाको प्रतिरक्षा गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३)। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने मेरा बुबाले आफैँलाई चोट पुऱ्याउनुको उद्देश्य मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्नु थियो, जुन शैतानको एउटा षड्यन्त्र थियो। त्यसैले मैले उहाँहरूसँग सम्झौता गरिनँ। म अटल रहेको देखेर, मेरा आमाबुबाले अन्ततः बोल्न छोड्नुभयो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने आमाबुबाको आफ्ना छोराछोरीप्रतिको प्रेम उनीहरूको आफ्नै स्वार्थी इच्छाहरूद्वारा प्रेरित हुन्छ। म परमेश्वरमा विश्वास गरेका कारण पक्राउ परेपछि, मेरा आमाबुबाले मैले उहाँहरूलाई लाजमा पारेको महसुस गर्नुभयो र प्रहरीले उहाँहरूलाई समस्यामा पार्ला कि भनेर डराउनुभयो। त्यसैले, उहाँहरूले मेरो विश्वासमा बाधा दिन विभिन्न तरिकाहरू अपनाउनुभयो, यहाँसम्म कि मलाई बाध्य पार्न आफैँलाई चोट पुऱ्याउने हदसम्म जानुभयो। मैले के महसुस गरेँ भने उहाँहरूको मप्रतिको प्रेम साँचो थिएन। आमाबुबाको प्रेम मिश्रित हुन्छ, र यो उनीहरूको आफ्नै व्यक्तिगत हितका लागि हुन्छ। यदि मैले उहाँहरूको कुरा सुनेर परमेश्वरमाथिको मेरो विश्वास त्यागेँ भने, मैले कसरी मुक्ति पाउने थिएँ र? उहाँहरूले मलाई माया गरिरहनुभएको थिएन; उहाँहरूले मलाई हानि गरिरहनुभएको थियो! म अब उप्रान्त स्नेहद्वारा बाँधिन सक्दिनथेँ। मेरा आमाबुबाले जतिसुकै बाधा वा सतावट दिए पनि, मैले अन्तसम्मै परमेश्वरलाई पछ्याउने सङ्कल्प गरेँ।
पछि, जब मैले बुबाले आफैँलाई कुट्नुभएको कुरा सम्झन्थेँ, मलाई अझै पनि केही असहज र कमजोरी महसुस हुन्थ्यो। मैले परमेश्वरका वचनहरू पढेँ जसमा यसो भनिएको थियो: “जवान मानिसहरूको सम्पूर्ण जीवन मेरा निम्ति समर्पित गर्ने तिनीहरूको इच्छालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र बेइन्साफ नै पाल्न हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू बहकिनु हुँदैन, तर इन्साफ र सत्यताका निम्ति बलिदान गर्ने र सङ्घर्ष गर्न साहस गर्ने मिजास तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोमा नझुक्ने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने एउटा सृजित प्राणीको रूपमा, मैले परमेश्वरमा विश्वास गर्नुपर्छ, उहाँलाई पछ्याउनुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यसरी नै जीवनको मूल्य र अर्थ हुन्छ। यदि मैले पारिवारिक मेलमिलापको लागि अस्थायी सहजता खोजेँ, र सत्यता पछ्याउने र परमेश्वरद्वारा मुक्ति दिइने मौका गुमाएँ भने, के मेरो जीवन व्यर्थमा बित्नेछैन र? मैले परमेश्वरमा विश्वास गर्ने छनौट गरिसकेकीले, म कसैद्वारा वा कुनै पनि कुराद्वारा बाँधिनुहुँदैन, र अटल भएर अघि बढ्नुपर्छ। यो एक जवान व्यक्तिमा हुनुपर्ने सङ्कल्प र दृढता हो। मैले पत्रुसलाई सम्झेँ, जसका आमाबुबाले उनको परमेश्वरमाथिको विश्वासमा बाधा दिएका थिए, तर पत्रुसमा इन्साफको बोध थियो र उनले आफूले केलाई प्रेम गर्ने र केलाई घृणा गर्ने भन्ने स्पष्ट छुट्याउन सकेका थिए। उनी आफ्ना अविश्वासी आमाबुबाद्वारा बाँधिएनन् र दृढतापूर्वक प्रभु येशूलाई पछ्याए। प्रभुलाई पछ्याउने क्रममा, उनले परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गरे, उनको जीवन स्वभाव परिवर्तन भयो, र अन्तमा, उनी परमेश्वरको गवाही बनेर उँधोमुन्टो क्रूसमा टाँगिए। पत्रुसको जीवन साँच्चै सबैभन्दा अर्थपूर्ण थियो। पत्रुसको दाँजोमा म केही पनि नभए तापनि, म उनको अनुकरण गरी कसैद्वारा वा कुनै पनि कुराद्वारा नबाँधिन, सत्यता पछ्याउन र अर्थपूर्ण जीवन जिउन इच्छुक थिएँ। परमेश्वरको अभिप्राय बुझेपछि, मेरो हृदय पूर्ण रूपमा स्वतन्त्र भयो। म अब मेरा आमाबुबाको मप्रतिको व्यवहारको कारणले असहज महसुस गर्दिनथेँ, र म केवल परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ। पछि, जब मेरा आमाबुबाले म परमेश्वरमाथिको विश्वासमा दृढ छु, र उहाँहरूसँग मलाई बाधा दिने कुनै उपाय नै छैन भन्ने देख्नुभयो, तब उहाँहरूले मलाई दिक्क पार्न छोड्नुभयो। अब म निरन्तर मण्डलीमा भेला हुन्छु र आफ्नो कर्तव्य पूरा गर्छु, र मेरो हृदयमा साँच्चै सहजता र शान्ति महसुस हुन्छ!