३५. बुबाको हेरचाह र संरक्षणलाई कसरी लिने
सन् २०१९ मा, १८ वर्षीया म्यु सी सुसमाचार प्रचार गरेकामा चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ परिन्, साढे दुई वर्षको जेल सजाय पाइन्, र सन् २०२२ को अप्रिलमा रिहा भइन्। उनी रेल स्टेसनबाट बाहिर निस्किन् र आफ्ना बुबालाई सडकको छेउमा उभिरहेको देखिन्, उहाँ निराश देखिनुहुन्थ्यो र बाहिर निस्कने द्वारतर्फ चिन्तापूर्वक हेरिरहनुभएको थियो। म्यु सी धेरै उत्साहित भइन्, किनकि उनले बुबालाई नदेखेको तीन वर्ष भइसकेको थियो। जेलमा छँदा, म्यु सीले आफ्ना बुबाको बाथको रोग बढेको थाहा पाएकी थिइन् र अहिले उहाँको स्वास्थ्यमा सुधार भयो कि भएन भनेर सोचिन्। यसो सोच्दै, म्यु सीले आफ्ना बुबातिर पाइला छिटो बढाइन्। नजिक पुग्दा, उनले आफ्ना बुबाको ढाड अलिकति कुप्रिएको र उहाँको अनुहारमा दुःख र बुढ्यौलीका लक्षणहरू देखिन्। म्यु सीको हृदयमा उदासी छायो, र उनले आफ्नो नाक पोलेझैँ महसुस गरिन् र आँसु पुछ्न पछाडि फर्किन्। घर फर्केपछि, आफ्ना बुबासँगको कुराकानीको क्रममा, उनले थाहा पाइन् कि यी पछिल्ला केही वर्षहरूमा उहाँ उनको बारेमा निरन्तर चिन्तित हुनुहुन्थ्यो। त्यस वर्ष प्रहरी विभागबाट पक्राउ पुर्जी पाउँदा उहाँले पत्याउनै सक्नुभएन, र उहाँले त्यसलाई स्वीकार गर्न पनि सक्नुभएन। उहाँको अठार वर्षीया छोरी पक्राउ परेर जेलमा थुनिएकी थिई, र प्रहरीले उसलाई कसरी यातना देला भन्ने उहाँलाई थाहा थिएन। उहाँले आफ्ना दिनहरू यति चिन्तामा बिताउनुभयो कि राम्ररी सुत्न वा खान पनि सक्नुभएन। त्यसमाथि, वर्षौँको कडा श्रमले उहाँमा दीर्घकालीन रोगहरू देखिए, र उहाँको खुट्टाको बाथको रोग झन् बढेको थियो। उहाँ मुस्किलले गह्रौँ काम गर्न सक्नुहुन्थ्यो र दुखाइ बढी हुँदा लङ्गडाएर हिँड्नुहुन्थ्यो, र उहाँलाई घरमा एक्लै मरेँ भने कसैले थाहा पनि पाउँदैन कि भन्ने डर थियो। म्यु सीले प्रायः बलियो बुबाका आँखाहरू राता भएको देखिन्, र उहाँले विगत केही वर्षहरूमा के भएको थियो भनी गला अवरुद्ध भएको स्वरमा भन्नुभयो। म्यु सीले मर्माहत पीडा महसुस गरिन्, र उनको अनुहारबाट आँसु अविरल बग्न थाल्यो। म्यु सीले सम्झिन्, उनी एघार वर्षकी हुँदा, उनकी आमा परमेश्वरमा विश्वास गरेकाले प्रहरीद्वारा खेदिएकी थिइन् र लुक्नुपरेको थियो। उनका बुबाले नै आमा र बुबा दुवैको भूमिका निर्वाह गरी उनको हेरचाह र पालनपोषण गर्नुभएको थियो। उहाँका बुबाले ट्रक चालकको रूपमा काम मात्र गर्नुभएन, तर खेतको काम पनि गर्नुभयो, र लामो दिनको कडा श्रमपछि, उहाँसँग आराम गर्ने समय हुँदैनथ्यो किनकि उहाँले बाल्यकालमा उनको हेरचाह गर्नुपर्थ्यो। पछि, जब उनी आफ्नो कर्तव्य निर्वाह गर्न घरबाट निस्किन्, प्रहरीले उनीहरूको बारेमा सोधपुछ गर्न निरन्तर उनको घरमा आएर उनका बुबालाई केरकार गर्थ्यो, र यो सबै उनका बुबाले एक्लै सामना गर्नुभयो, आफन्त र छिमेकीहरूको चिसो नजर र उपहास सहनुभयो, सधैँ उनी र उनकी आमा दुवैको सुरक्षाको चिन्ता गरिरहनुभयो। अनि उनले सोचिन्, उनका बुबा हरेक दिन चिसो, रित्तो घरमा एक्लै बस्नुपर्थ्यो, पीडाले ग्रस्त हुँदा उहाँको छेउमा कुरा गर्ने वा हेरचाह गर्ने कोही पनि थिएन। म्यु सीलाई आफ्ना बुबाप्रति झनै ऋणी महसुस भयो र उनी अपराधबोधले भरिइन्, आफू ठूली भइसकेकी तर बुबाको जीवनको कुनै पनि दबाबमा सघाउन नसकेको, र उल्टै बुबालाई आफ्नो चिन्तामा पारेको कुरा सोचिन्। के उनले छोरीको धर्म निभाएकी थिइनन् र? म्यु सीले मनमनै आफूलाई भनिन्, “अब म फर्किएकी छु, मैले बुबाको छेउमा बसेर उहाँको दुःख कम गर्न सघाउनुपर्छ।” त्यसपछिका दिनहरूमा, म्यु सीले पैसा कमाउन काम गर्न थालिन् र आफ्ना बुबाको आवश्यकताको होसियारीसाथ ख्याल गरिन्।
चाँडै नै, आधा वर्ष बितिसकेको थियो, तर प्रहरीले अझै पनि म्यु सीको गतिविधि निगरानी गरिरहेको थियो, जसले उनलाई मण्डली जीवन बिताउन र आफ्नो कर्तव्य गर्नबाट रोकिरहेको थियो, जसले गर्दा उनलाई खोक्रो र दुःखित महसुस भयो। एक दिन, मण्डली अगुवाले म्यु सीलाई अन्तै गएर आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छिन् कि भनेर सोधिन्। म्यु सी धेरै उत्साहित भइन्, किनकि उनी अन्ततः आफ्ना ब्रदर-सिस्टरहरूसँग भेला हुन, परमेश्वरका वचनहरू खान र पिउन, र आफ्नो कर्तव्य पूरा गर्न सक्ने थिइन्। म्यु सीले यो खबर आफ्ना बुबालाई सुनाइन्, तर अचम्मको कुरा, उनका बुबा अचानक अधीर हुनुभयो, र उहाँले भन्नुभयो, “तिमीहरू दुवै जना पटक-पटक घरबाट जाँदा मैले कसरी हेरि मात्र रहन सक्छु र?” आफ्ना बुबालाई यति भावुक देख्दा म्यु सी दुःखित भइन्, र उनले आफ्ना बुबाप्रति गहिरो रूपमा ऋणी महसुस गरिन्। उनले सोचिन्, “यदि म साँच्चै घरबाट गएँ भने, कहिले फर्कन्छु थाहा छैन, के मेरा बुबाले मलाई हुर्काउन गरेको यत्रो कडा परिश्रमपछि, मैले छोरी हुनुको धर्म अलिकति पनि निभाएकी छैन भन्ने सोच्नुहुनेछ?” त्यसपछि म्यु सीले आफ्ना बुबाको स्वास्थ्यबारे सोचिन् र उहाँको मन अझै दुखाउन सकिनन्। तर उनलाई थाहा थियो परमेश्वरको सुरक्षा र हेरचाहविना, उनी जेलको दुई वर्षभन्दा बढीको समय बाँच्ने थिइनन्, र सृजित प्राणीको कर्तव्य नगर्नु त विवेकहीन कुरा हुनेछ! म्यु सीको मनमा धेरै द्वन्द्व चल्यो, र अन्तमा, उनले आफ्नो कर्तव्य पूरा गर्ने मौका त्यागिन्। यो छनौट गरेको क्षण, म्यु सीलाई साँच्चै दोषी महसुस भयो, त्यसैले उनले परमेश्वरको अभिप्राय खोज्न तुरुन्तै उहाँका वचनहरू खाइन् र पिइन्।
खोजीको क्रममा, म्यु सीले परमेश्वरका वचनका दुई खण्डहरू पढिन्: “तैँले आफ्ना आमाबुबा सिकिस्त बिरामी परेको वा तिनीहरूले कुनै ठूलो दुर्भाग्य सामना गरेको विषयलाई अत्यधिक विश्लेषण वा अनुसन्धान गर्न आवश्यक छैन, र तैँले पक्कै पनि यसमा ऊर्जा लगाउनु हुँदैन—त्यसो गर्नुको कुनै फाइदा हुनेछैन। मानिस जन्मनु, बूढो हुनु, बिरामी पर्नु, मर्नु, र जीवनका विभिन्न ठूला-साना मामिलाहरू सामना गर्नु अत्यन्तै सामान्य कुराहरू हुन्। यदि तँ वयस्क होस् भने, तँसँग परिपक्व सोचाइ हुनुपर्छ, र तैँले यस विषयलाई शान्त र सही तरिकाले हेर्नुपर्छ: ‘मेरा आमाबुबा बिरामी छन्। तिनीहरूले मलाई धेरै याद गरेका कारण यस्तो भएको हो भनेर कतिपय मानिसहरूले भन्छन्, तर के यो सम्भव छ? तिनीहरूले पक्कै पनि मलाई सम्झन्थे—कुनै व्यक्तिले आफ्नो सन्तानलाई नसम्झी कसरी बस्न सक्छ र? मलाई पनि तिनीहरूको याद आउँथ्यो, तैपनि म किन बिरामी भइनँ?’ के कुनै व्यक्तिले आफ्नो सन्तानलाई धेरै याद गरेका कारण ऊ बिरामी हुन्छ र? त्यस्तो हुँदैन। त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्न सकिन्छ कि, परमेश्वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको भए पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्नेथिएनन्, होइन र? (हो।) … तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्ने कुरा परमेश्वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्वास गर्न सक्छस् सक्दैनस् भन्ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। म्यु सीले परमेश्वरका वचनहरूलाई मनन गरिन् र गहिरो सोचमा डुब्नबाट आफूलाई रोक्न सकिनन्। हरेक पटक जब उनी आफ्ना बुबा यत्तिका वर्ष घरमा एक्लै भएको, र बिरामी हुँदा उहाँको हेरचाह गर्ने कोही नभएको बारेमा सोच्थिन्, तब उनको हृदय अपराधबोध र ऋणको भावनाले भरिन्थ्यो। उनी केवल आफ्ना बुबाको हेरचाह गर्न र उहाँलाई केही आराम दिन चाहन्थिन्, तर परमेश्वरका वचनहरू पढेपछि, उनले अन्ततः बुझिन्, प्रत्येक व्यक्तिले जीवनमा भोग्नुपर्ने दुःख, र उनीहरूमाथि आइपर्ने बिमारी र विपत्तिहरू सबै परमेश्वरद्वारा पूर्वनियत गरिएका हुन्छन्, र त्यो कसैले परिवर्तन गर्न सक्दैन। म्यु सीले सम्झिन्, जब उनले जेलमा आफ्ना बुबाको बाथ बढेको थाहा पाइन्, उनी उहाँको बारेमा धेरै चिन्तित थिइन्। उनी डराएकी थिइन् र सोचिन्, यदि उहाँको अवस्था बिग्रियो र कसैले हेरचाह गरेन भने उहाँ कसरी गुजारा गर्नुहोला। तर उनी जेलमा थुनिएकी थिइन् र उहाँको हेरचाह गर्न सक्दिनथिन्, र त्यस समयमा उनले गर्न सक्ने भनेको केवल परमेश्वरलाई धेरै प्रार्थना गर्नु र आफ्ना बुबालाई परमेश्वरको हातमा सुम्पनु थियो। जेलबाट छुटेपछि, उनले के थाहा पाइन् भने बुबाको अवस्था धेरै गम्भीर भए पनि, र उहाँको हेरचाह गर्ने कोही नभए पनि, उहाँको बाथ बिस्तारै निको हुँदै गएको थियो। उनले महसुस गरिन्, कुनै पनि व्यक्तिको शरीरको अवस्था र ऊ सुरक्षित छ कि छैन भन्ने कुरा परमेश्वरको पूर्वनियति र सार्वभौमिकतामा निर्भर गर्दछ, र परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु र आफ्ना बुबालाई उहाँमा सुम्पनु नै गर्नुपर्ने उचित कुरा थियो। यो कुरा बुझेपछि, म्यु सीले आफ्नो हृदयमा धेरै हलुका महसुस गरिन्, र उनी अब त्यति चिन्तित वा व्याकुल भइनन्।
म्यु सी अन्तै गएर आफ्नो कर्तव्य पूरा गर्न चाहन्थिन्, तर जब उनले आफ्ना बुबालाई लामो दिनको कामपछि थकित देखेकी थिइन् र उहाँलाई उच्च रक्तचाप पनि छ र दिनभरि रिङ्गटा लाग्छ भन्ने सम्झिन्, म्यु सीको मनमा फेरि द्वन्द्वमा चल्न थाल्यो, र सोचिन्, “मेरा बुबाले मेरो हेरचाह गर्न धेरै दुःख भोग्नुभएको छ, के मैले घरमा बसेर केही समय उहाँको हेरचाह गर्नुपर्छ?” तर त्यसो गर्दा उनले आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथिन्, र त्यसका लागि उनलाई दोषी महसुस भयो। म्यु सीले अक्सर यो कुरा परमेश्वरलाई आफ्ना प्रार्थनाहरूमा सुनाउँथिन्, र परमेश्वरसँग सत्यता अभ्यास गर्ने सङ्कल्प दिनुहोस् भनी माग्थिन्। पछि, म्यु सीले परमेश्वरका वचनहरूको एउटा खण्ड पढिन् जसले उनलाई आफ्ना आगामी छनौटहरूमा पछ्याउनका लागि अभ्यासको सही मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्वरमा विश्वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको भक्त हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी भक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्वरमाथिको तेरो विश्वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक तत्त्वहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्वरमा विश्वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको भक्त सन्तान बन्नु सत्यता होइन, यो त मानव जिम्मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तेरो यो अवस्था छ भने, तैँले यो जिम्मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्था प्रतिकूल छ भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति भक्तिभाव देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।’ त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। … कुनचाहिँ सत्यता हो: आमाबुबाको भक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्मेवारी हो। यो साँचो जिम्मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको मापदण्ड हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्मेवारी र दायित्व मात्रै हो। यो निश्चय नै परमेश्वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्वरको मापदण्डबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। म्यु सीले परमेश्वरका वचनहरूबाट बुझिन् कि आफ्ना आमाबुबाप्रति छोरीको धर्म निभाउनु एक सकारात्मक कुरा र सन्तानको जिम्मेवारी हो, तर यो केवल सामान्य मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरा हो, र यसको मतलब सत्यता अभ्यास गर्नु होइन। केवल सृजित प्राणीको कर्तव्य गरेर मात्र व्यक्तिले सत्यता अभ्यास गर्दछ। जब उनको कर्तव्य र आमाबुबाप्रति छोरीको धर्म निभाउने कुरामा कुनै द्वन्द्व हुँदैन, उनले आफ्ना बुबाको हेरचाह गर्न सक्दो प्रयास गर्नुपर्छ, उहाँसँग धेरै कुराकानी गर्नुपर्छ र उहाँका चिन्ताहरू कम गर्न मद्दत गर्नुपर्छ, किनकि सन्तानको रूपमा यो उनको जिम्मेवारी थियो; तर जब उनले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने थियो र आफ्ना बुबाको छेउमा उहाँको हेरचाह गर्न सक्दिनथिन्, उनले आफ्ना बुबालाई परमेश्वरमा सुम्पनुपर्थ्यो। एक सृजित प्राणीको रूपमा, उनको जिम्मेवारी र दायित्व आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो मिसन पूरा गर्नु थियो। सत्यता अभ्यास गर्नुको मतलब यही थियो र उनले गर्नुपर्ने कुरा यही थियो। त्यसपछि म्यु सीले जेलमा बिताएका साढे दुई वर्ष सम्झिन्। त्यहाँ आफ्नो कष्ट र असहाय अवस्थामा उनले एउटी सिस्टरलाई भेटिन्, र उनीहरूले एकअर्कालाई मद्दत र समर्थन गर्ने, र सँगै परमेश्वरका वचनहरूको सङ्गति गर्ने मौका पाएका थिए। परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनद्वारा नै उनी बिस्तारै त्यस अवस्थाबाट बाहिर निस्केकी थिइन्। म्यु सीले महसुस गरिन् कि परमेश्वरले उनलाई हेरचाह, सुरक्षा, र यति धेरै अनुग्रह दिनुभएको छ, र यदि उनले आफ्ना दैहिक भावनाहरूलाई आफ्नो कर्तव्यभन्दा प्राथमिकता दिइन् भने, त्यो साँच्चै विद्रोह गर्नु हुनेछ। यो कुरा बुझेपछि, म्यु सीले प्रार्थना गरिन् र आफ्ना सबै चिन्ता र फिक्रीहरू परमेश्वरमा सुम्पिइन्। उनले घरमा गर्नुपर्ने कामहरू सकिन् र त्यसपछि आफ्ना बुबाका लागि केही पोषणयुक्त खानेकुरा, औषधि, र अन्य आवश्यक चीजहरू किनिन्। त्यसपछि, म्यु सीले आफ्ना बुबासँग कुरा गरिन् र अन्तै आफ्नो कर्तव्य निर्वाह गर्न गइन्।
पछि, म्यु सीले आफ्ना ब्रदर-सिस्टरहरूले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्ने भन्नेबारे दिएका अनुभवात्मक गवाहीहरू सुनिन्, र यसले उनलाई चिन्तन गर्न प्रेरित गर्यो। उनले सोचिन्, कसरी उनका बुबाले सानो छँदादेखि नै उनको आमा र बुबा दुवैको भूमिका निभाएर उनलाई हुर्काउनुभयो, र कसरी उहाँले उनका लागि ठूलो त्याग गर्नुभयो। उनलाई बुबाप्रति कृतज्ञताको ठूलो ऋण तिर्नु छ भन्ने लाग्यो, र जब उनी आफ्ना बुबाको छेउमा रहेर उहाँको हेरचाह गर्न सक्दिनथिन्, उनलाई आफूले सन्तानको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेकी छैनँ भन्ने लाग्थ्यो, र आफ्ना बुबाप्रति ऋणी र आफ्नो विवेकमा दोषी महसुस गर्थिन्। अब, आफ्ना बुबाबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गर्दा पनि प्रायः उनको स्थिति असर गर्थ्यो र उनलाई नियन्त्रित पनि गर्थ्यो, र उनी यो समस्या कसरी समाधान गर्ने भनेर जान्न चाहन्थिन्। आफ्नो खोजी र मननमा, उनले परमेश्वरका वचनहरूको यो खण्ड भेटिन्: “गैरविश्वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त जीवित प्राणीहरूको जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्वरले सृष्टि गर्नुभएको हो भन्ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। सिंह र बाघजस्ता तुलनात्मक रूपमा क्रूर मांसाहारीहरूले पनि आफ्नो सन्तानको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस अन्तर्निहित प्रवृत्ति र नियम पालना गरेर मात्र वृद्धि हुन र बाँचिरहन सक्छन्। यदि तिनीहरूले यस नियम पालना गरेनन्, वा तिनीहरूमा यो नियम र अन्तर्निहित प्रवृत्ति नभएको भए, तिनीहरू वृद्धि हुन र बाँच्न सक्दैनथिए। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्ने तथ्यले जीवित प्राणीहरूको जगतले यस प्रकारको नियम पालना गर्छ भन्ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो। … केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू आफ्ना भावनाहरूद्वारा नियन्त्रित हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो ‘मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!’ भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्न गलत विचार र आम रूपमा प्रचलित दृष्टिकोणहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्ने ऋणदाताहरू। आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि ग्लानि महसुस गर्ने मानिसहरू पनि छन्, र तिनीहरूले आफ्ना आमाबुबालाई बेखुस पार्ने कुनै एउटा काम गरेकाले वा तिनीहरूका आमाबुबाले चाहेको दिशामा नगएकाले आफ्ना आमाबुबाको दया चुक्ता गर्न नसकेकोमा ग्लानि महसुस गर्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्न हुने विभिन्न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्याउन सक्छन्। मानिसहरू भ्रष्ट मानवजातिको विचारधाराले रङ्गिएको वातावरणमा जिउँछन्, त्यसैले तिनीहरूलाई विभिन्न मिथ्या विचारहरूले अतिक्रमण गर्छन् र बाधा पुर्याउँछन्, जसले गर्दा तिनीहरूको जीवन थकाइलाग्दो र अन्य जीवित प्राणीहरूको भन्दा कम सरल हुन्छ। तैपनि, अहिले परमेश्वर काम गरिरहनुभएको हुनाले, र उहाँले मानिसहरूलाई यी सबै तथ्यहरूको सत्यता बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी मिथ्या विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र ती तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने कुराको मार्गदर्शक हुन छोड्नेछन्। यस बिन्दुमा, तेरो जीवन थप ढुक्क हुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। म्यु सीले परमेश्वरका वचनहरूलाई मनन गरिन् र उनको मन उज्यालो भयो। यस्तो पो रहेछ, सबै प्रकारका प्राणीहरूले आफ्ना सन्तानलाई ध्यान दिएर हेरचाह गर्न र जिम्मेवारीपूर्वक पालनपोषण गर्न सक्छन्। यो सबै जीवित प्राणीहरूका लागि परमेश्वरले निर्धारण गर्नुभएको सिद्धान्त र नियम हो, र यो परमेश्वरले उनीहरूलाई दिनुभएको एक सहज ज्ञान हो। जस्तै क्रूर बाघ र सिंहहरू, तिनका बच्चाहरू अपरिपक्व नै रहँदा र आफै बाँच्न सक्ने नहुँदासम्म, तिनले आफ्ना बच्चाहरूलाई होसियारीसाथ पालनपोषण र सुरक्षा गर्छन्, उनीहरूका लागि खाना खोज्छन्, र उनीहरूको वृद्धिका लागि सुरक्षित र आरामदायक वातावरण प्रदान गर्न सक्दो प्रयास गर्छन्। यदि तिनले यो अस्तित्वको सिद्धान्तलाई पछ्याउँदैनन्, र जन्म दिएपछि आफ्ना बच्चाहरूको हेरचाह र पालनपोषण गर्दैनन् भने, तिनीहरूको अर्को पुस्ता बाँच्न सक्दैन, र सम्पूर्ण जनावर जगतमा नयाँ जीवनको निरन्तरता टुक्रिन्छ। मानिसहरू पनि त्यस्तै हुन्। आफ्ना छोराछोरीहरू स्वतन्त्र रूपमा बाँच्न सक्नुअघि, आमाबुबाले उनीहरूलाई पूरा हृदयले पालनपोषण र हेरचाह गर्छन्, त्यसो गर्न धेरै दुःखकष्टसमेत सहन्छन्, तर तिनीहरूले केवल आमाबुबाको रूपमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्, र तिनीहरूले केवल सबै जीवित चीजहरूका लागि परमेश्वरले निर्धारण गर्नुभएको अस्तित्वको सिद्धान्तलाई पछ्याइरहेका हुन्छन्, र यो उपकार होइन। म्यु सीले यो पनि सोचिन् कि कसरी केटाकेटीहरू हुर्कंदै गर्दा, स्कूल र परिवारहरूले “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” भन्ने दृष्टिकोण मनमा घुसाइदिन्छन्। यसको तात्पर्य जनावरहरू हुर्किएपछि आफ्ना आमाबुबालाई चुक्ता गर्छन् भने, मानिसले त झन् आफ्ना आमाबुबाप्रति सन्तानको धर्म निभाउनुपर्छ र उनीहरूको पालनपोषणको अनुग्रहको ऋण चुकाउनुपर्छ भन्ने थियो। यदि कसैले यो गर्न सक्दैन भने, उसमा मानवताको कमी छ र मानवीय भावनाको कुनै बोध छैन। बाल्यकालदेखि नै यसरी शिक्षित भएकाले, म्यु सीले सधैँ आफ्ना बुबाले उनलाई हुर्काउँदाको जिम्मेवारी र दायित्वलाई आफूमाथिको उपकारको रूपमा लिइन्, र उनले आफ्ना बुबालाई आफ्नो ऋणदाता जस्तै व्यवहार गरिन्। जब उनले आफ्ना बुबाको पालनपोषणको अनुग्रह चुकाउन नसक्ने बारेमा सोच्थिन्, उनलाई आफ्नो हृदयमा दोषी र आरोपित महसुस हुन्थ्यो, र आफूमा विवेकको कमी भएको महसुस गर्थिन्। यद्यपि उनलाई थाहा थियो उनको कर्तव्य एक सृजित प्राणीको रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर उनी भ्रामक दृष्टिकोणहरूद्वारा बाँधिएकी र नियन्त्रित रहिन्, र उनले आफ्नो कर्तव्य गर्ने र सत्यता पछ्याउने मौकालाई पन्छाउन तयार भइन्। यसमा, उनी परमेश्वरको विरुद्धमा विद्रोह गरिरहेकी र उहाँलाई धोका दिइरहेकी थिइन्! म्यु सीले देखिन्, मामिलाहरूमा सही दृष्टिकोण नहुनु अनि सकारात्मक र नकारात्मक कुराहरूबीच पूर्ण रूपमा भेद गर्न नसक्नु कति दयनीय कुरा रहेछ। म्यु सीले के बुझिन् भने उनको जीवन परमेश्वरले दिनुभएको हो, र परमेश्वरको पूर्वनियति र सार्वभौमिकताविना, उनी यस संसारमा आउने पनि थिइनन्, सुरक्षित रूपमा हुर्कने कुरा त परै जाओस्, र उनी आफ्नो परिवारमा जन्मिनु, आफ्ना बुबाको हार्दिक हेरचाह पाउनु पनि परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूको एक हिस्सा थियो। उनले कुनै पनि व्यक्तिप्रति ऋणी महसुस गर्नुको सट्टा परमेश्वरको अनुग्रहका लागि कृतज्ञ हुनुपर्थ्यो। यो कुरा बुझेपछि, म्यु सीले परमेश्वरलाई प्रार्थना गरिन्, “हे परमेश्वर, म यत्तिका वर्षदेखि भ्रामक परम्परागत विचारहरूद्वारा बाँधिएकी छु, र मैले सधैँ मेरा बुबाको जिम्मेवारीलाई उपकारको रूपमा लिएँ। यसले गर्दा जब मैले उहाँको हेरचाह गर्न सकेकी छैन, मलाई नियन्त्रित र आरोपित महसुस भएको छ, र मैले मेरो कर्तव्यलाई बेवास्ता गरेकी छु। हे परमेश्वर, म अब तपाईंको विरुद्धमा विद्रोह गर्न चाहन्न। म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।”
त्यसपछि म्यु सीले परमेश्वरका वचनहरूको अर्को खण्ड पढिन्: “सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्वरको बोलावटले गर्दा हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्। … त्यसैले, समग्रमा, मानिसहरूको विवेकमा आफ्ना आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे एउटा चेतना हुन्छ। यो चेतनाले व्यक्तिमा आमाबुबाप्रति जे-जस्तो मनोवृत्ति ल्याए पनि, चाहे त्यो चिन्ता होस् वा तिनीहरूको छेउमा बस्ने इच्छा होस्, त्यो जे भए पनि, मानिसहरूले वस्तुगत परिस्थितिहरूले प्रभाव पारेको कारण आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न नसकेकोमा दोषी महसुस गर्नु वा दोषी विवेक बोक्नु हुँदैन। यी र यस्तै अन्य मामलाहरू परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूको जीवनको समस्या बन्नु हुँदैन; ती कुराहरू त्यागिनुपर्छ। आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्नेसम्बन्धी यी विषयहरूबारे भन्नुपर्दा, मानिसहरूमा यी शुद्ध बुझाइहरू हुनुपर्छ र तिनीहरूले विवश महसुस गर्न छोड्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरूबाट, म्यु सीले बुझिन् कि उनको घरमा बुबाको हेरचाह गर्न नसक्नु छोरीको धर्म ननिभाउनु थिएन, किनकि उनी आफ्ना बुबाको हेरचाह गर्ने र सँगै बस्ने जिम्मेवारी पूरा गर्न नचाहेकी होइन, बरु सीसीपीको उत्पीडन र गिरफ्तारीले उनलाई आफ्नो परिवारबाट टाढा हुन बाध्य पारेको थियो। थप रूपमा, एक सृजित प्राणीको रूपमा, उनले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो र आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्थ्यो। म्यु सीले युगौँदेखिका सन्तहरूको बारेमा सोचिन्, जसले प्रभु येशूको सुसमाचारको गवाही दिन र प्रचार गर्न आफ्ना आमाबुबा र परिवारहरूलाई त्यागेर यात्रा गरे, प्रचार गरे, र काम गरे, अन्ततः प्रभु येशूको सुसमाचारलाई संसारको कुनाकुनामा फैलाउन सफल भए, जसले गर्दा धेरै मानिसहरूले प्रभुको मुक्ति प्राप्त गरे। उनीहरूका त्याग र खर्चहरू असल कार्यहरू थिए र सबैभन्दा न्यायपूर्ण कार्य पनि थियो। अहिले राज्यको सुसमाचार फैलाउने महत्त्वपूर्ण समय हो, र परमेश्वरको देखा पराइको तिर्सना गर्ने धेरै मानिसहरू छन् जो अन्धकारमा बाँचिरहेका छन् र परमेश्वरको आवाज सुनेका छैनन्, र म्यु सीलाई थाहा थियो उनले सुसमाचार फैलाउने काममा योगदान दिनुपर्छ। यो कुरा बुझेपछि, म्यु सीले धेरै स्वतन्त्र र हलुका महसुस गरिन्, अब आफ्ना बुबाप्रति ऋणी भएर बाँचिनन्, र आफ्नो कर्तव्यमा अझ बढी हृदय लगाइन्।