३७. आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउनुको समस्या के हो?
२०१४ को जुलाईमा, म प्रचारका रूपमा चुनिएँ। त्यो बेला, ममा खुट्याइको कमी थियो र मैले आफ्नी सहकर्मी सिस्टरको पछि लागेर एक जिल्ला अगुवाको रिपोर्ट गरेँ, जसले गर्दा काम अस्तव्यस्त भयो। पछि, अनुसन्धान गरेपछि, के प्रस्ट भयो भने ती जिल्ला अगुवा केही वास्तविक काम गर्न सक्षम थिए तर मेरी सहकर्मीले जिल्ला अगुवालाई आक्रमण गर्न र मण्डलीको काममा बाधा पुऱ्याउन जानाजानी त्रुटीहरू खोजेकी थिइन्। त्यसपछि मैले आफू भ्रमित भएकी रहेछु भन्ने बुझेँ, र मलाई आफूले ठूलो दुष्टता र गम्भीर अपराध गरेकी रहेछु भन्ने लाग्यो। मण्डलीले मलाई पश्चात्तापको मौका दिए तापनि, म थप अपराध गर्छु र हटाइन्छु कि भनेर डराएँ। यो डरले मलाई निरन्तर सतर्कताको स्थितिमा जिउन लगायो, मैले आफ्नो मार्ग बदल्न सकिनँ। परिणामस्वरूप, आफ्नो कर्तव्यमा प्रभावकारिताको कमी भएकाले मलाई बर्खास्त गरियो। त्यसबेला, मैले सत्यताको मेरो बुझाइ सतही छ, र भविष्यमा अगुवा वा कामदारका रूपमा सेवा नगर्नु नै राम्रो हुन्छ भन्ने महसुस गरेँ, किनकि यदि मैले गम्भीर अपराध गरेँ र निष्कासित भएँ भने, मेरो मुक्ति पाउने मौका गुम्नेथियो। मैले कुनै पनि समस्याको जिम्मेवारी मण्डली अगुवा र कामदारहरूले लिने, साधारण कर्तव्यहरू लिनु अलि सुरक्षित हुन्छ र मेरो मुक्ति जोखिममा पर्नेछैन भन्ने सोचेँ। त्यसबेला मैले यो समस्या सम्बोधन गर्न सत्यता खोजिनँ।
२०२३ को अक्टोबरमा, म जिल्ला अगुवाका रूपमा चुनिएँ। म यस्तो सोच्दै अलि सशङ्कित भएँ, “म त धेरै मण्डलीहरूको कामको निरीक्षण गरिरहेकी हुनेछु। यदि कुनै गम्भीर गल्ती भयो भने के होला? म त्यो जिम्मेवारी कसरी उठाउन सकूँला? यदि मैले अपराधहरू थप्दै गएँ भने, के त्यसले मेरो मुक्तिको आशालाई नष्ट नगर्ला र?” तर मलाई आफ्नो विवेकले के भन्यो भने, धेरै अगुवा र कामदार पक्राउ परेको सङ्कष्टको समयमा, मण्डलीको सदस्यको भएर, मैले केवल आफ्नो हित जोगाउन यति स्वार्थी भएर आफ्नो कर्तव्य पन्छाउन मिल्दैन। त्यसैले मैले तत्कालका लागि सहकार्य गर्ने निर्णय गरेँ, र पछि अझ योग्य व्यक्ति चुनिएला र म यो भूमिकाबाट हट्न पाउँला भन्ने आशा गरेँ। त्यसपछि चाँडै, मसँग काम गरेकी सिस्टर ली युनलाई एउटा यहूदाले विश्वासघात गरेकाले उनी आफ्नो कर्तव्य गर्न आउन सकिनन्। त्यसैले, धेरै कामहरू म एक्लैले सम्हाल्नुपर्ने भयो। म आफूले नराम्रो काम गरेर मण्डलीको कामलाई हानि पुग्ला र फलस्वरूप अपराध गरूँला कि भनेर चिन्तित भएँ। त्यतिबेला, एउटा रिपोर्ट-पत्र सम्हाल्नुपर्ने थियो, तर म गल्ती गर्न र सम्भावित जिम्मेवारी उठाउन डराएँ, किनकि त्यसले मेरा सम्भाव्यताहरू र गन्तव्यमा असर पर्ला कि भन्ने मलाई डर थियो। त्यसैले मैले ली युनलाई यो कसरी सम्हाल्ने मलाई थाहा छैन भनेर भनेँ र त्यो सम्हाल्न पत्र लेख्न अनुरोध गरेँ। उनले मलाई यस्तो काम आफै सम्हाल्न तालिम लिन प्रोत्साहित गरे पनि, मैले अझै पनि त्यो गर्ने आँट गरिनँ र त्यो उनैलाई पन्छाएँ। त्यसपछिको ली युनसँगको सहकार्यमा, मैले आफूलाई आत्मविश्वास भएका कामहरू मात्र लिएँ, तर बढी महत्त्वपूर्ण र चुनौतीपूर्ण कामहरू चाहिँ उनलाई पन्छाएँ। यसले उनलाई दबाबमा पाऱ्यो, र उनको कामले राम्रो परिणाम दिएन। २०२३ को नोभेम्बरमा, मण्डलीले दुई जना नयाँ अगुवा छान्नुपर्ने भयो, र मलाई चुनाव सञ्चालन गर्न भनियो। मैले सोचेँ, मानिसहरूलाई छान्नु र प्रयोग गर्नुमा उनीहरूलाई खुट्ट्याउनु समावेश हुन्छ। यदि मैले उनीहरूलाई छर्लङ्ग बुझ्न सकिनँ र गलत मानिसहरू छानेँ भने के होला? पहिले, म प्रचारक हुँदा, मैले गलत मण्डली अगुवा छानेकी थिएँ, जसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेश ढिलो गराएको थियो। मैले पहिले नै एउटा अपराध गरिसकेकी थिएँ, र म फेरि गलत मान्छे छान्छु कि भनेर साँच्चै चिन्तित थिएँ। मैले सोचेँ, “म असल कार्यहरू तयार गर्न आफ्नो कर्तव्य गर्छु। मेरो अन्त्य अपराधपूर्ण रेकर्डका साथ हुन सक्दैन।” यो सब कुराको सोचाइले मात्रै पनि मलाई धेरै दबाब पऱ्यो र म राति सुत्नै सकिनँ। मैले सोचेँ, “सायद मैले ली युनलाई भेष बदलेर चुनाव सञ्चालन गर भन्नुपर्ला। त्यसो गर्दा, केही गडबड भयो भने, त्यो उनको जिम्मेवारी हुनेछ, मेरो हुनेछैन।” तर, ली युनको सुरक्षा जोखिममा रहेको मलाई थाहा थियो। यदि उनी देखा परिन् भने, पक्राउ पर्न सक्थिन्, जसको परिणाम अझ नराम्रो हुनेथियो। म त्यसो गर्न सक्दिनँ भन्ने मैले बुझेँ, त्यसैले म आफैले चुनाव सञ्चालन गर्नुपर्ने भयो।
पछि, मैले आफ्नो स्थिति ठिक नभएको बुझेँ र आत्मचिन्तन गर्न थालेँ। म किन जिम्मेवारी लिन यति धेरै डराएँ? मैले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना समस्याहरू बुझ्न अन्तर्दृष्टि मागेँ। त्यसपछि, मैले परमेश्वरका यी वचनहरू भेट्टाएँ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निभाउनको लागि तिनीहरूका सर्त यस्तो हुन्छः पहिलो, यो साधारण काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने अवस्था हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरूको काम के हुन्छ र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले झन् धेरै जिम्मेवारी लिनु पर्दैन र? तैँले सुसमाचार फैलाए पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निभाउने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य पूरा गर्न सक्दैनस्। आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्वासघाती हुन्छन्। आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतिभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीताको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्न डराउँदैन। त्यो परमेश्वरप्रति निष्ठावान् व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्वरमा साँचो हृदयले विश्वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्वरका विश्वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्। त्यसो भए, के जिम्मेवारी लिन डराउने व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्ना हितहरूमा हानि खेप्न डराउँछन्; तिनीहरूलाई अपमान, बेइज्जति र आलोचनाको डर हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। जब मैले परमेश्वरका “स्वार्थी,” “छली,” र “यो तिनीहरूको मानवताको समस्या हो,” जस्ता वचनहरू पढेँ, मलाई गहिरो पीडा र दुःखको अनुभूति भयो। वास्तवमा ममा यी चरित्रहरू रहेछन् भन्ने मैले बुझेँ। मैले अगुवाको भूमिका लिएकी भए पनि, ममा साँचो बोझ थिएन। म सधैँ कामहरू राम्ररी गर्न र जिम्मेवारी वहन गर्न असफल होइएला भन्ने चिन्तामा रहन्थेँ, यदि मैले अपराधहरू गरेँ भने, मुक्तिको मौका गुमाउनेछु भनेर डराउँथेँ। त्यसैले, मैले जिम्मेवारी लिन नपर्ने कामहरू गर्न रुचाएँ र कठिन काम ली युनलाई पन्छाएँ। रिपोर्ट-पत्रहरू सम्हाल्ने मुख्य जिम्मेवारी मेरै थियो। आफू सिद्धान्तहरूसँग परिचित नभए तापनि, मैले ली युनको मार्गदर्शन र मद्दतले केही कामहरूमा सहकार्य गर्न सक्षम थिएँ। तर, म कार्य प्रक्रियामा हुन सक्ने कुनै पनि गल्तीको जिम्मेवारीदेखि डराएकी थिएँ। त्यसैले, मैले आफ्नो बुझाइको कमीलाई बहाना बनाएर काम ली युनलाई पन्छाएकी थिएँ। विशेष गरी मण्डली चुनावको समयमा, ली युन सुरक्षा जोखिमका कारण व्यक्तिगत रूपमा उपस्थित हुन नसक्दा, म गलत मानिसहरू छान्ने, अपराध गर्ने, र आफ्नै भविष्यलाई खतरामा पार्ने काम गरिएला भनेर डराएकी थिएँ। त्यसैले मैले उनको सुरक्षा र समग्र मण्डलीको कामलाई ख्यालै नगरी, उनैलाई चुनाव सञ्चालन गराउन चाहेकी थिएँ। जब जब जिम्मेवारी लिने कुरा आउँथ्यो, तब तब म त्यो अरूलाई पन्छाइदिन्थेँ, किनकि यदि त्यसलाई राम्ररी सम्हालिएन भने, त्यसले मेरा संभाव्यताहरू र गन्तव्यमा असर पार्न सक्ने अपराधहरू निम्त्याउला भनेर म डराउँथेँ। ममा परमेश्वरप्रतिको बफादारी र आफ्नो कर्तव्यप्रति जिम्मेवारीको कमी थियो। म कति स्वार्थी र घृणित रहेछु! जसरी परमेश्वरले खुलासा गर्नुहुन्छ: “तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र?” म ठ्याक्कै त्यस्तै प्रकारकी व्यक्ति थिएँ। परमेश्वरप्रति बफादार र मानवता भएको कुनै पनि व्यक्तिले, मण्डलीको काममा मानिसहरूको सहकार्यको आवश्यकता देख्दा, ऊ कर्तव्य निर्वाह गर्न कटिबद्ध हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्न सत्यता सिद्धान्तहरू खोज्छन्। तर परमेश्वरका घरको सदस्यका रूपमा, मैले आफ्नो कर्तव्यमा परमेश्वरका अभिप्रायको ख्याल गरेकी थिइनँ। बरु, मैले पहिले आफूले लिने जिम्मेवारी कति गम्भीर छ भनेर विचार गरेकी थिएँ, र म अत्यन्तै होसियार र सतर्क भएकी थिएँ। मैले आफूलाई जोगाउन धेरै काम ली युनलाई पन्छाएँ। म साँच्चै स्वार्थी र घृणित भएकी थिएँ! यदि मैले आफूलाई नबदलेमा, कुनै पनि कर्तव्य राम्ररी गर्न सक्नेथिइनँ र अन्त्यमा निकम्मा बन्नेथिएँ। मैले अबदेखि आफ्नो कर्तव्य पन्छाउनु हुँदैन भनेर मनमनै भनेँ। मैले बुझे पनि नबूझे पनि पहिले यो स्विकार्नुपर्छ, सिद्धान्तहरू खोज्नुपर्छ, र यसलाई पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ।
२०२३ डिसेम्बरको अन्त्यमा, मण्डलीले सुसमाचारको काम र मलजलको कामका लागि जिम्मेवार सुपरिवेक्षकहरू छान्नुपर्ने भयो। म फेरि यस्तो सोच्दै चिन्तित भएँ, “सुसमाचार प्रचार गर्नु र नयाँ विश्वासीहरूलाई मलजल गर्नु दुवै मण्डलीका महत्त्वपूर्ण कामहरू हुन्। म यहाँका मण्डली सदस्यहरूसँग त्यति परिचित छैनँ। यदि मैले अनुपयुक्त व्यक्तिहरू छानेँ र काममा ढिलाइ गरेँ भने के होला? म यो जिम्मेवारी कसरी उठाउन सकूँला?” मैले आफू फेरि एकपटक सतर्कता र गलतफहमीको स्थितिमा जिइरहेकी छु भन्ने बुझेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना समस्याहरू बुझ्न अगुवाइ मागेँ। एक बिहान, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले हृदयमा यी कुराहरू बोक्छन्, र यी सबै गलतफहमी, विरोध, आलोचना, र परमेश्वरविरुद्धको प्रतिरोध हुन्। तिनीहरूमा परमेश्वरको कामबारे केही पनि ज्ञान हुँदैन। परमेश्वरका वचनहरूबारे खोजीनिती गर्दा, परमेश्वरको स्वभाव, पहिचान र सारबारे खोजीनिती गर्दा, तिनीहरू यस्ता निष्कर्षहरूमा पुग्छन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई हृदयको गहिराइमा लुकाउँछन्, र आफैलाई चेतावनी दिन्छन्: ‘सतर्कता नै सुरक्षाको आधार हो; अरूको नजरमा नपर्नु नै उत्तम हुन्छ; थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ; र शिखरमा एक्लोपन महसुस हुन्छ! जहिलेसुकै होस्, कहिल्यै थुतुनो ननिकाल, कहिल्यै धेरै शिखरमा नपुग; जति उचाइमा पुग्छौ, त्यति नै नराम्ररी बजारिन्छौ।’ तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनेर विश्वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर पनि विश्वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्वरको स्वभाव, पहिचान र सारलाई व्याख्या गर्न शैतानको तर्क र सोच प्रयोग गर्दै, तिनीहरूले परमेश्वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्वरप्रतिका धारणा, विरोध, र विद्रोहले भरिएका समेत हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्वरको काम, परमेश्वरको स्वभाव, र परमेश्वरको प्रेमसम्बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्नवाचक चिन्ह, अर्थात् सन्देह मात्रै हुन्छ र तिनीहरू यसप्रति शङ्काले ग्रस्त र अस्वीकार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्वरको स्वभावबारे तिनीहरूको यस्तो सोच भएको हुँदा, परमेश्वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। यो ख्रीष्टविरोधीहरूको सार हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। “कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णतः प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ ढोँग गर्ने, कुतर्क गर्ने, आफूलाई जायज तुल्याउने गर्छ, र बिलकुलै पछुतो गर्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णतः प्रकाश भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा अविश्वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता स्विकार्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने ख्रीष्टविरोधीहरू परमेश्वरको धार्मिकतामा वा परमेश्वरको घर सत्यताद्वारा शासित हुन्छ भन्ने तथ्यमा विश्वास गर्दैनन्। उनीहरू जति ठूलो जिम्मेवारी लिइयो, त्यति नै धेरै अपराधहरू गरिनेछ, र मुक्तिको आशा त्यति नै कम हुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले, उनीहरू निरन्तर परमेश्वरलाई गलत बुझ्छन् र उहाँबाट सतर्क रहन्छन्, आफ्नो कर्तव्यमा कहिल्यै सक्दो प्रयास गर्दैनन्। उनीहरू संसारसँग व्यवहार गर्ने दर्शनहरू प्रयोग गरेर आफूलाई जोगाउँछन् अनि अत्यन्तै स्वार्थी र छली हुन्छन्। मैले ममा पनि ख्रीष्टविरोधीहरूको स्वभाव रहेछ भन्ने बुझेँ। मैले “जति माथि गयो, त्यसबाट तल झर्नुको पीडा पनि त्यति नै ठूलो हुन्छ,” र “सतर्कता नै सुरक्षाको आधार हो” भन्ने कुरामा विश्वास गरेकी थिएँ। मैले आफू अगुवाका रूपमा छानिँदैपिच्छे, त्यो अस्वीकार गर्न चाहेकी थिएँ। यदि म अगुवा भइनँ भने, मैले ठूलो दुष्टता गर्नेछैनँ वा सजिलै प्रकटित भएर हटाइनेछैनँ भन्ने विश्वास गरेकी थिएँ। अहिले अगुवा भइसकेपछि पनि, मैले आफ्नो कर्तव्य सतर्कतापूर्वक र अत्यन्तै सावधानीका साथ गरिरहेकी थिएँ, किनकि मैले गरेका कुनै पनि अपराधले मेरो परिणाम र गन्तव्यमा असर पार्छ कि भन्ने मलाई डर थियो। मैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर सोचिरहेकी थिइनँ, बरु, मेरो दिमाग कुटिल विचारहरूले भरिएको थियो। जब जब काममा जिम्मेवारी लिने कुरा आउँथ्यो, तब तब मैले ती ली युनलाई पन्छाइदिएकी थिएँ। मैले आफ्नो कर्तव्यमा कहिल्यै साँचो रूपमा आफ्नो हृदय परमेश्वरलाई दिएकी थिइनँ, परमेश्वरलाई आफ्नो हृदयको गहिरो खाडलको अर्को छेउमा राखेकी थिएँ, र निरन्तर उहाँबाट सतर्क रहन्थेँ। ममा परमेश्वरको धर्मी स्वभावको कुनै बुझाइ थिएन। वास्तवमा, परमेश्वर हरेक व्यक्तिलाई निष्पक्ष रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्वरको घरले सबैलाई सिद्धान्तहरूका आधारमा व्यवहार गर्छ। क्षणिक अपराधका लागि कसैलाई पनि बर्खास्त गरिँदैन वा हटाइँदैन। परमेश्वरले व्यक्तिको सार, उनीहरूको कार्यपछाडिको अभिप्राय, र सत्यताप्रतिको उनीहरूको मनोवृत्तिलाई हेर्नुहुन्छ। यदि कसैले सिद्धान्तविरुद्ध काम गरेर काममा अवरोध र बाधा पुऱ्याउँछ, र अरूले ऊसँग सङ्गति गर्दा पनि सत्यता स्विकार्न मान्दैन, र परमेश्वरको घरको कामलाई पटक-पटक हानि पुऱ्याउँछ भने, उसलाई बर्खास्त गर्नैपर्छ। मैले मण्डलीद्वारा निष्कासित केही ख्रीष्टविरोधी र दुष्ट मानिसहरू सम्झेँ। आफ्नो कर्तव्य गर्दा, उनीहरूले सधैँ ख्याति, लाभ र हैसियत पछ्याएका थिए, कार्य बन्दोबस्त उल्लङ्घन गरेका थिए र आफ्नै तरिकाले कामकुरा गरेका थिए। उनीहरूले मानिसहरूका लागि परमेश्वरसँग प्रतिस्पर्धा गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नसमेत प्रयास गरेका थिए। अरूले उनीहरूलाई सङ्गति गरेर खुलासा गरेपछि, उनीहरूले पश्चात्ताप गरेका थिएनन्। अन्ततः मण्डलीले उनीहरूलाई सिद्धान्तहरूका आधारमा निष्कासित गरेको थियो—यो परमेश्वरको धार्मिकता थियो। यदि कसैले सत्यता नबुझेकाले वा आफ्नो भ्रष्ट स्वभावका कारण आफ्नो कर्तव्य निर्वाहमा केही अपराध गर्छ, तर ऊ सत्यता स्विकार्न र अरूले उसँग सङ्गति गरेपछि आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ भने, परमेश्वरको घरले उसलाई पश्चात्ताप गर्ने मौका दिनेछ। उदाहरणका लागि, जब म पहिले प्रचारक थिएँ, तब मैले सत्यता नबुझेका कारण अर्को व्यक्तिको पछि लागेर दुष्ट काम गरेकी थिएँ। अरूसिस्टरहरूको सङ्गति र मद्दतद्वारा, मैले आफ्ना गल्तीहरू चिनेकी थिएँ। त्यसपछि, मैले आफ्ना कार्यहरूको गहिरो पछुतो गरेकी थिएँ र म पश्चात्ताप गर्न इच्छुक भएकी थिएँ। मण्डलीले मलाई निष्कासित गरेको थिएन, र मलाई आफ्नो कर्तव्य जारी राख्नसमेत दिएको थियो, जसले मलाई परमेश्वरको घर सत्यता र धार्मिकताद्वारा शासित हुन्छ भन्ने देखायो। तर, मैले परमेश्वरलाई गल्तीवश संसारिक राजाका रूपमा हेरेकी थिएँ, जो अन्यायी र अधर्मी छ र जसले मानिसहरू केही गलत कुरा गर्दा समातिए भने उनीहरूलाई निन्दा गर्छ र दण्ड दिन्छ। मैले निरन्तर परमेश्वरबारे अनुमान लगाएकी थिएँ र म उहाँबाट सतर्क रहेकी थिएँ, जुन परमेश्वरविरुद्ध निन्दा थियो। मेरो स्वभाव साँच्चै दुष्ट रहेछ!
मैले परमेश्वरले हामीसँग सङ्गति गर्नुभएको इमानदार मानिस बन्नेबारेको सत्यतालाई सम्झेँ। त्यसैले मैले पढ्नका लागि परमेश्वरका सान्दर्भिक वचनहरू खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई कसरी चिन्ने)। “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। … मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्वरका यी वचनहरूले ममा गहन सोचहरू भरिदिए। हो, परमेश्वर बारम्बार के भन्नुहुन्छ भने उहाँ सत्यता स्वीकार गर्न सक्ने इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। परमेश्वरले नोआलाई हामीले अनुकरण गरौँ भनेर एउटा उदाहरणका रूपमा प्रस्तुत गर्नुहुन्छ। जब परमेश्वरले नोआलाई जहाज बनाउन आज्ञा दिनुभयो, तब उनले पहिले कहिल्यै जहाज नबनाएकाले त्यसबेला निश्चय नै कठिनाइहरू सामना गरे। तर, उनी यी चुनौतीद्वारा बाँधिएनन्, न त उनले राम्रो काम नगरेमा पाउन सक्ने दण्डबारे चिन्ता नै गरे। उनले केवल परमेश्वरको आज्ञा स्वीकार गरे, वास्तवमा गएर सामग्रीहरू खोजे, र कठिनाइहरू सामना गर्दैपिच्छे, परमेश्वरलाई प्रार्थना गरे। यदि कुनै भाग गलत तरिकाले बनाइएको भए, उनी त्यो भत्काएर फेरि बनाउँथे। उनले ठ्याक्कै परमेश्वरले माग गर्नुभएअनुसारै जहाज बनाए। परमेश्वरप्रतिको आफ्नो साँचो विश्वास र समर्पणका कारण, उनले अन्ततः परमेश्वरको आशिष् प्राप्त गरे। आत्मचिन्तन गर्दा, मैले आफू अति छली भएकी रहेछु भन्ने बुझेँ। आफ्नो कर्तव्य गर्दा, म सधैँ जिम्मेवारी लिन डराउँथे, अपराध गर्छु कि र मुक्तिको आशा गुमाउँछु कि भनी चिन्ता गर्थेँ। ममा इमानदार मनोवृत्तिको कमी थियो। वास्तवमा, यसबारे सोच्दा, मेरो भ्रष्ट स्वभाव र सत्यता बुझाइको कमीलाई आधार मान्दा, मेरो कर्तव्यमा विचलनहरू अपरिहार्य थिए। मैले यसलाई ठिकसँग व्यवहार गर्न सिक्नुपर्थ्यो, आफूले कहाँ गल्ती गरेकी थिएँ भनेर विश्लेषण गर्नुपर्थ्यो, आत्मचिन्तन गर्नुपर्थ्यो, र आफ्ना भ्रष्ट स्वभावलाई चिन्नुपर्थ्यो। यदि मैले यसो गरेकी भए, निरन्तर प्रगति गर्नेथिएँ, र मेरा कर्तव्यहरू पनि सुध्रिनेथिए। आफ्ना कर्तव्यमा स्पष्टसित देख्न नसकिने कुराहरू सामना गर्दा, मैले अझ धेरै प्रार्थना र खोजी गर्नुपर्छ, आफ्नी सहकर्मी सिस्टरसँग छलफल गर्नुपर्छ, वा माथिल्ला अगुवाहरूबाट खोजी गर्नुपर्छ। मैले जिम्मेवारी लिनुपर्ने डरले आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गर्ने वा त्यसबाट भाग्ने वा टाढिने गर्नु हुँदैन। उदाहरणका लागि, मानिसहरूलाई छान्ने र प्रयोग गर्ने कुरामा, यदि मैले सुरुमा सिद्धान्तअनुसार कसैलाई छानेँ र अन्ततः ऊ गलत व्यक्ति साबित भयो भने, त्यो उसले हिँडेको मार्गसँग सम्बन्धित हुन्थ्यो, र परमेश्वरको घरले मलाई जवाफदेही ठहराउनेथिएन।
पछि, मैले आफूमा अर्को गलत दृष्टिकोण रहेछ भन्ने बुझेँ। म अगुवाका रूपमा जति ठूलो जिम्मेवारी, त्यति नै धेरै म अपराधहरू थुपार्नेछु, र अन्तमा मेरो मुक्तिको मौका बर्बाद हुनेछ भन्ने विश्वास गर्थेँ। म साधारण विश्वासी हुनु नै सुरक्षित हुनेछ भन्ने सोच्थेँ। तर वास्तवमा, कुनै व्यक्ति अगुवा होस् वा नहोस्, यदि ऊ सत्यता पछ्याउँदैन र उसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ भने, अन्ततः ऊ विनाश हुने निश्चित छ। ठिकत्यस्तै जसरी सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम)। मण्डलीबाट हटाइएकाहरूमध्ये, धेरै जना साधारण विश्वासी थिए। तिनीहरूमध्ये केही दुष्ट मानिस वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका थिए, जबकि अरू भने अविश्वासीका रूपमा प्रकट भएका थिए। उनीहरू उच्च पदमा नभए पनि, मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएकै कारण हटाइएका होइनन् र? यी तथ्यहरूले के देखाउँछन् भने प्रकटित हुनु र हटाइनुको व्यक्तिले गर्ने कर्तव्यसँग कुनै सम्बन्ध हुँदैन, बरु उनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् र आफ्नो स्वभावमा परिवर्तन अनुभव गर्छन् कि गर्दैनन् भन्ने कुरासँग सम्बन्धित हुन्छ। यी सब बुझेर, म आफ्नो गलत दृष्टिकोण सच्याउन, र अगुवाका रूपमा आफ्नो कर्तव्य राम्ररी गर्नका लागि सही मानसिकता अपनाउन इच्छुक भएँ। पछि, म सुसमाचारको काम र मलजलको काम सुपरवेक्षण गर्ने व्यक्तिहरू छनोट गर्न गएँ। आफूले छर्लङ्ग बुझ्ने नसकेका कतिपय व्यक्तिबारे, मैले ली युनसँग छलफल गरेँ र माथिल्ला अगुवाहरूबाट पनि खोजी गरेँ। अन्ततः हामीले उपयुक्त मानिसहरू छान्यौँ। जब मैले आफ्नो सतर्कताको भावना त्यागेँ, परमेश्वरमा भर परेँ, र सिद्धान्तअनुसार आफ्नो कर्तव्य गरेँ, मलाई धेरै राहत महसुस भयो।
यो अनुभवमार्फत, मैले “जति माथि गयो, त्यसबाट तल झर्नुको पीडा पनि त्यति नै ठूलो हुन्छ,” र “सतर्कता नै सुरक्षाको आधार हो” भन्नेजस्ता शैतानी दर्शनहरू मानिसहरूलाई भ्रष्ट पार्ने भ्रम र विधर्महरू हुन् भन्ने बुझेँ। यस्ता विश्वासहरूद्वारा जिउँदा म झन्-झन् स्वार्थी र छली, निरन्तर परमेश्वरबाट सतर्क रहने र आफ्नो कर्तव्य सजिलै स्विकार्न नसक्ने मात्र बनेँ। यसले आत्मिक दमन र पीडा मात्र निम्त्याएन, मलाई सत्यता प्राप्त गर्ने अवसरहरू गुमाउन पनि लगायो। परमेश्वरका वचनहरूले नै मलाई आफ्नो भ्रष्ट स्वभाव बुझ्न अन्तर्दृष्टि दिएका र अगुवाइ गरेका छन्, र परमेश्वरको धर्मी स्वभावका केही वास्तविक बुझाइ दिएका छन्। मैले परमेश्वर जे गर्नुहुन्छ, हाम्रै मुक्तिका लागि गर्नुहुन्छ भन्ने बुझेकी छु।