३६. परमेश्वरका वचनले मलाई दबिएको भावनाबाट मुक्त गराए
सन् २०२१ को मे महिनामा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ, र म मुख्यतया सुसमाचारको काम र मलजल गर्ने कामका लागि जिम्मेवार थिएँ। हरेक काम विस्तृत रूपमा अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने हुन्थ्यो, र कहिलेकाहीँ माथिल्लो तहका अगुवाहरूले हरेक कामका लागि विस्तृत प्रबन्धहरू गर्नुहुन्थ्यो, र तिनलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्थ्यो। यदि कामले राम्रो नतिजा ल्याएन भने, मैले अक्सर समस्याहरूको विश्लेषण गर्नुपर्थ्यो र तिनलाई समाधान गर्न सत्यता सिद्धान्तहरू खोज्नुपर्थ्यो। सुरुमा, मैले यो कर्तव्यबारे धेरै कुराहरू जानेकी थिइनँ, त्यसैले मैले तिनलाई राम्ररी बुझ्न धेरै समय लगाउनुपर्यो। मैले निकै ठूलो दबाब महसुस गरेँ, तर मलाई यो पनि थाहा थियो कि यो कर्तव्य निर्वाह गर्न पाउनु परमेश्वरले मलाई उचाल्नुभएको र अनुग्रह गर्नुभएको थियो, त्यसैले मैले राम्ररी सहकार्य गर्नुपर्थ्यो। करिब दुई महिनापछि, मसँग सहकार्य गर्ने एउटी सिस्टरको सरुवा भयो, अनि मण्डलीको काम सम्हाल्न म र सिस्टर वाङ जिङ मात्र बाँकी रह्यौँ। पहिले तीन जनाबीच बाँडिने कामको बोझ अब हामी दुई जनामा मात्रै आइपर्यो, जसले गर्दा काम झनै व्यस्त भयो। कहिलेकाहीँ, मैले बल्लतल्ल आफ्ना कामहरू सकेर आराम गर्न खोज्दा, जवाफ दिनुपर्ने थप पत्रहरू आइपुग्थे। सधैँ पूरा गर्नुपर्ने काम हुन्थ्यो। समय बित्दै जाँदा, मैले थकित महसुस गर्न थालेँ, र मैले कामको बोझ अलिक घटोस् र म आराम गर्न सकूँ भन्ने आशा गर्न थालेँ। कहिलेकाहीँ, बाहिरको काम सकेपछि, म हतार गरेर फर्कन चाहन्नथेँ, र मनलाई शान्त पार्न अझै केही बेर बाहिरै बस्न चाहन्थेँ। मैले हाम्रो अतिथि-घरकी सिस्टरले दिनमा तीन पटक खाना पकाउने मात्र काम गर्नुपर्थ्यो, र त्यसपछि बाँकी समयमा उनी आराम गर्न र परमेश्वरका वचनहरू पढ्न सक्थिन् भन्ने देखेँ। मलाई साँच्चै ईर्ष्या लाग्यो, र मैले एउटै कामको कर्तव्य गर्दा आराम गर्न समय पाउने दिनहरूलाई सम्झेँ। अहिले, कामको बोझ यति धेरै थियो कि प्रत्येक दिन आँखा खोल्नेबित्तिकै मैले कामको सामना गर्नुपरेजस्तो लाग्थ्यो। मलाई यसरी जिउनु साह्रै कठिन छ भन्ने लाग्यो! बाहिरबाट हेर्दा म आफ्नो कर्तव्य गरिरहेकी जस्तो देखिन्थेँ, तर भित्र, म प्रतिरोधले भरिएकी थिएँ। मेरा ब्रदर-सिस्टरका प्रश्नहरूको जवाफ दिँदा, मलाई आफूले गृहकार्यजस्तै कामहरू पूरा गरिरहेकी छु जस्तो लाग्थ्यो, र मैले अझ राम्रो नतिजा कसरी हासिल गर्ने भनेर विचार गर्ने झन्झट नै गरिनँ। म केवल छिटो काम सकेर आराम गर्न चाहन्थेँ। जब धेरै प्रश्नहरू हुन्थे, तब मलाई झर्को लाग्थ्यो र रिस उठ्थ्यो, र म साँच्चै दबिएको महसुस गर्थेँ।
एक पटक, म केही कामका लागि घर गएँ, र घर पुग्नेबित्तिकै, मेरो सबै बोझ हटेको जस्तो लाग्यो। त्यहाँ कुनै काम थिएन, र म जे चाहन्थेँ त्यही गर्न सक्थेँ। यसरी जिउनु साह्रै आरामदायी थियो! मैले एकै दिनमा गर्नुपर्ने सबै कुरा सक्न सक्थेँ, तर म दुई दिनसम्म बसेँ। मलाई ग्लानि भयो, मलाई थाहा थियो कि काम सकेपछि तुरुन्तै फर्कनुपर्थ्यो, तर फेरि मैले सोचेँ कि घर आउन पाउनु दुर्लभ छ, सायद म अझै एक दिन आराम गर्न बस्न सक्छु! पछि, सिस्टर वाङ जिङले मलाई केही काम सम्हाल्न छिटो फर्कन आग्रह गरिन्, त्यसैले मसँग फर्कनुबाहेक कुनै विकल्प थिएन। म आफ्नो अगुवाइको कर्तव्यमा सधैँ निष्क्रिय र नकारात्मक रहेकीले, मेरो स्थिति झन्-झन् बिग्रँदै गयो, र मैले आफ्नो कर्तव्यमा कुनै नतिजा ल्याइरहेकी थिइनँ। मेरा अगुवाहरूबाट सङ्गति र मद्दत पाएर पनि, म परिवर्तन भइनँ, र अन्ततः, मलाई बर्खास्त गरियो। मैले त्यतिबेला आत्मचिन्तन गरिनँ। पछि मलजल गर्ने कर्तव्य निर्वाह गर्दा, मैले पहिले चिनेकी एउटी सिस्टरलाई भेटेपछि मात्र म केही हदसम्म प्रभावित भएँ। यी सिस्टरले एक वर्षभन्दा बढी समय अगुवाको रूपमा तालिम लिएकी थिइन्, छिटो प्रगति गरेकी थिइन्, र भेलाहरूमा उनको सङ्गति धेरै व्यावहारिक थियो। अगुवाइको काममा धेरै चिन्ता, कठिनाइ र थकान भए तापनि उनको जीवनमा, छिटो प्रगति भएको मैले देखेँ। तर मेरो कुरा गर्दा, मैले आफ्नो अगुवाइको कर्तव्यमा प्रतिरोध गरिरहेँ, र मैले आफ्नो देहलाई आराम र सहज महसुस गर्न दिएँ। तर मैले यसबाट के पाएँ? यदि मैले आफ्नो पछ्याइको यो दृष्टिकोणलाई परिवर्तन गरिनँ, मैले आफ्नो देहको कुरा सुनिरहेँ, अनि कठिनाइ र थकानसँग डराएँ भने तब मैले परमेश्वरमा जति वर्ष विश्वास गरे पनि, मेरो जीवन कहिल्यै अघि बढ्ने थिएन। यसबारे सोच्दा, मैले आफैलाई सोधिरहेँ, “म परमेश्वरमा किन विश्वास गर्छु? म परमेश्वरमाथिको मेरो विश्वासबाट वास्तवमा के चाहन्छु? के म यसरी नै पछ्याइरहनेछु? यदि म मेरो देहविरुद्ध विद्रोह गर्न, कठिनाइ सहन, मूल्य चुकाउन, र पूर्णहृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भने, के मैले अझ धेरै सत्यताहरू पाउनेछैन र?”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसहरूले आफ्नो कर्तव्य निभाउँदा सधैँ झारा टार्छन् र अल्याङटल्याङ गर्ने उपाय खोज्छन्। कहिलेकहीँ, मण्डलीको काम छिटो गर्नुपर्ने जरुरी हुन्छ, तर तिनीहरू आफूलाई मन लागेअनुसार गर्न चाहन्छन्। शारीरिक रूपमा तिनीहरूलाई सहज महसुस भएन, वा तिनीहरू केही दिनसम्म खराब मनस्थिति र निराश अवस्थामा भए भने, तिनीहरूलाई मण्डलीको काम गर्न कठिनाइ भोग्ने र मूल्य चुकाउने इच्छा हुँदैन। तिनीहरू विशेष रूपमा अल्छी हुन्छन् र आरामको लोभ गर्छन्। जब तिनीहरूमा उत्प्रेरणाको कमी हुन्छ, तब तिनीहरूको शरीर बोधो बन्छ, र तिनीहरू हलचल गर्न इच्छा गर्दैनन्, तर अगुवाले काटछाँट गर्ला र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले अल्छी भन्लान् भन्ने डरले, तिनीहरू मन नलागीनलागी भए पनि अरू सबैसँग काम गर्न बाध्य हुन्छन्। तैपनि, यसप्रति तिनीहरूलाई साह्रै नै अनिच्छा, नरमाइलो, र अरुचि भएको हुन्छ। तिनीहरूले अन्याय, पीडा, झर्को, र थकित महसुस गर्छन्। तिनीहरू आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छन्, तर परमेश्वरको घरका मापदण्ड र सर्तहरू तोड्ने वा तीविरुद्ध जाने आँट गर्दैनन्। परिणामस्वरूप, समय बित्दै जाँदा तिनीहरूमा एउटा भावना पैदा हुन थाल्छ, जुन दबाबको भावना हो। यो दबाबको भावनाले तिनीहरूमा जरा गाडेपछि, तिनीहरू क्रमिक रूपमा जोसजाँगररहित र कमजोर हुन थाल्छन्। मेसिनजस्तै, तिनीहरूलाई पनि के गर्दै छु भन्ने कुरा स्पष्ट रूपमा थाहा हुन छोड्छ, र तिनीहरू हरेक दिन जे गर्नु भनिएको छ, र जसरी गर्नु भनिएको छ त्यही नै र त्यसरी नै गरिरहन्छन्। हेर्दाखेरि तिनीहरूले नअडिई, नरोकिई, र कर्तव्य पूरा गर्ने वातावरणबाट पछाडि नहटी आफ्नो काम निरन्तर गरेजस्तो देखिए पनि, तिनीहरूले हृदयमा दबाब महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो जीवन थकाइलाग्दो र गुनासै गुनासोले भरिएको जस्तो लाग्छ। तिनीहरूको सबैभन्दा ठूलो इच्छा भनेको अरूको नियन्त्रणमा बस्नु नपरोस्, परमेश्वरको घरका सर्तहरूमा बाँधिनु नपरोस्, र परमेश्वरको घरका बन्दोबस्तहरूबाट मुक्त भइयोस् भन्ने हो। तिनीहरू जे मन लाग्यो र जहिले मन लाग्यो त्यही कुरा र त्यही बेला गर्न चाहन्छन्, र राम्रो लागिरहेको बेला अलिअलि काम गर्न, र नराम्रो लागिरहेको बेला केही पनि नगर्न चाहन्नन्। तिनीहरू हरकुनै दोषबाट, हरकुनै काटछाँटबाट, र हरकसैको निगरानी र अनुगमनबाट वा हरकसैको रेखदेखकर्ता बन्नबाट मुक्त हुन चाहन्छन्। तिनीहरूलाई लाग्छ कि त्यो दिन आएपछि, त्यो महान् दिन हुनेछ, र तिनीहरूलाई अत्यन्तै स्वतन्त्र र मुक्त भएको अनुभव हुनेछ। तर तिनीहरू अझै पनि छोडेर जान वा यो काम त्याग्न चाहँदैनन्; तिनीहरूलाई आफूले कर्तव्य निर्वाह गरिनँ भने, र साँच्चै आफूलाई जे मन लाग्यो त्यही गरेँ र एकदिन स्वतन्त्र र मुक्त भइहालेँ भने, स्वाभाविक रूपमै परमेश्वरबाट टाढा हुनेछु भन्ने डर लाग्छ, र आफूलाई परमेश्वरले चाहन छोड्नुभयो भने, कुनै आशिष् प्राप्त गर्न सक्दिनँ भन्ने पनि तिनीहरूलाई डर लाग्छ। कतिपय मानिसहरू द्विविधामा पर्छन्: यदि तिनीहरूले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग गुनासो गर्ने प्रयास गरे भने, तिनीहरूलाई बोल्न गाह्रो हुन्छ। यदि तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे भने, तिनीहरूले आफ्नो मुख खोल्न सक्दैनन्। यदि तिनीहरूले गुनासो गरे भने, तिनीहरूको आफ्नै गल्ती छ भन्ने तिनीहरूलाई लाग्छ। यदि गुनासो गरेनन् भने, तिनीहरूलाई भित्रभित्रै अशान्ति हुन्छ। तिनीहरू आफ्नो जीवन किन यति धेरै गुनासोले भरिएको छ, किन आफ्नै इच्छाको यति विपरीत, र यति थकाइलाग्दो छ भनेर अचम्ममा पर्छन्। तिनीहरूलाई त्यसरी जिउन मन लाग्दैन, तिनीहरू अरूको तालमा हिँड्न चाहँदैनन्, आफूलाई जे मन लाग्यो र जहिले मन लाग्यो त्यही र तहिले गर्न चाहन्छन्, र तिनीहरूले किन यो कुरा हासिल गर्न सक्दैनन् त्यसबारे तिनीहरूलाई प्रश्न उठ्छ। तिनीहरूले पहिले शारीरिक रूपमा मात्रै थकित भएको महसुस गर्थे, तर अहिले तिनीहरूको हृदयले पनि थकित महसुस गर्छ। तिनीहरू आफूलाई के भइरहेको छ त्यो बुझ्दैनन्। मलाई भन, के यो दबाबको भावनाले पैदा गरेको कुरा होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरू पढेपछि, मैले बल्ल मेरो अगुवाइको कर्तव्यमा मैले यति धेरै दबिएको र पीडा भएको महसुस गर्नुको कारण कर्तव्य व्यस्त वा थकाइलाग्दो भएर होइन, तर मेरो मानसिकता गलत भएर रहेछ भन्ने बुझेँ। म निरन्तर आराम र दैहिक आनन्दको खोजी गर्थेँ, त्यसैले जब कर्तव्य अलिकति व्यस्त वा थकाइलाग्दो हुन्थ्यो, र मेरो देह सन्तुष्ट हुँदैनथ्यो, तब मलाई दबिएको र पीडा महसुस हुन्थ्यो। विशेष गरी मेरी सहकर्मी सिस्टरको सरुवा भएपछि, कामको बोझ बढ्यो, र हरेक दिन गर्नुपर्ने काम हुन्थ्यो, त्यसैले मलाई झर्को लाग्थ्यो र अरूलाई हप्काउन र गाली गर्न मन लाग्थ्यो। मैले हाम्रो अतिथि-घरकी सिस्टरले त्यस्तो हलुका, सजिलो कर्तव्य पाएकोमा ईर्ष्या पनि गरेँ। मलाई मैले पछ्याएका कुरा मेरो कर्तव्यको उचित सम्पादन थिएन, बरु शारीरिक आराम थियो भन्ने महसुस भयो। म निरन्तर दबिएका भावनाहरूमा डुबिरहेकी थिएँ, आफ्नो कर्तव्यलाई अनादरपूर्वक व्यवहार गर्थेँ, ममा जिम्मेवारीको कुनै भावना थिएन, र म कत्ति पनि भरोसायोग्य थिइनँ। मैले साँच्चै परमेश्वरलाई मप्रति घृणा गर्ने तुल्याएकी थिएँ!
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई दैहिक आरामको पछ्याइको जडबारे केही बुझाइ दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले के बुझेँ भने मेरो पतन र अवनतिको कारण सधैँ “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ।” जस्ता शैतानी विषहरूअनुसार जिउनु रहेछ। मैले शारीरिक आनन्दलाई अत्यधिक महत्त्व दिएँ, जीवन छोटो छ त्यसैले आफूलाई राम्रो व्यवहार गर्नुपर्छ र आफ्नो शरीरलाई कुनै कठिनाइ भोग्न दिनुहुँदैन भन्ने सोचेँ। मैले आफ्नो विश्वविद्यालयको प्रवेश परीक्षाको समयलाई फर्केर सोचेँ। जब अरूहरू रातभरि बसेर कडा मेहनतका साथ अध्ययन गरिरहेका थिए, मलाई त्यो निकै द्रुत गतिको र थकाइलाग्दो लाग्यो, त्यसैले मैले कहिल्यै रातभरि बसेर अध्ययन गरिनँ, मेरो ग्रेड नखस्केसम्म ठीकै छ भन्ने सोचेँ। मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न आएपछि, मैले यही मानसिकताअनुसार जिइरहेँ। जब मेरो अगुवाइको कर्तव्यले मलाई दुःख भोग्न र मूल्य चुकाउन माग गर्यो, र म शारीरिक आराममा लिप्त हुन सकिनँ, तब मलाई साँच्चै दबिएको र निराश महसुस हुन्थ्यो। मेरो दिमाग आफूलाई नथकाउने र आफ्नो शारीरिक हितलाई पहिलो स्थानमा राख्ने विचारहरूले भरिन्थ्यो, र मैले आफ्ना जिम्मेवारी र कर्तव्यहरूलाई पूर्ण रूपमा बेवास्ता गर्थेँ। यति महत्त्वपूर्ण कर्तव्य बोकेर पनि, मैले प्रत्येक काममा कसरी राम्रो नतिजा हासिल गर्ने वा आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्नेबारे सोचिरहेकी थिइनँ। मैले केवल आफ्नै आरामबारे विचार गरेँ, र आफ्ना दैहिक इच्छाहरू पूरा गरेँ, जब कुनै थप कठिनाइ हुन्थ्यो तब दुःखी महसुस गर्थेँ र त्यसबाट भाग्न चाहन्थेँ। मैले देखेँ कि म अविश्वसनीय रूपमा स्वार्थी र घृणित थिएँ, र ममा विवेक वा समझको पूर्ण रूपमा कमी थियो। वास्तवमा, फर्केर सोच्दा, मेरो शरीरले अस्थायी आराम पाए तापनि, मैले कुनै सत्यता पाएकी थिइनँ वा आफ्नो कर्तव्य गरेकी थिइनँ, र मसँग कुनै निष्ठा र स्वाभिमान थिएन। यसरी जिउनुको कुनै अर्थ वा मूल्य थिएन। यसबारे चिन्तन गर्दा, मैले साँच्चै आफूलाई घृणा गरेँ, र मैले परमेश्वरप्रति गहिरो रूपमा ऋणी महसुस गरेँ, र अब यसरी जिउन चाहन्नथेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मेरो मनलाई साँच्चै छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के तिनीहरू आफूले गर्नुपर्ने उचित काम गर्ने मानिसहरू हुन् त? तिनीहरू गाँस, बास, कपास, र यातायातजस्ता आधारभूत आवश्यकताहरूलाई सरल तरिकाले लिने मानिसहरू हुन्। यी कुराहरू सामान्य मापदण्डअनुरूप छन् भने, तिनीहरूलाई त्यति नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्नो जीवनको मार्ग, मानवको रूपमा आफ्नो मिसन, जीवनप्रतिको आफ्नो दृष्टिकोण र मूल्य-मान्यताहरूलाई नै बढी ध्यान दिन्छन्। आशाजनक नरहेका यस्ता मानिसहरूले सारा दिन केबारे सोचविचार गर्छन्? तिनीहरूले जिम्मेवारीबाट पन्छिन सधैँ कसरी काममा ठग्ने, कसरी चलाकी गर्ने, कसरी मीठो खाएर रमाइलो गर्ने, उचित मामलाहरूबारे विचार नगरी शारीरिक सहजता र आराममा कसरी जिउने भनेर सोचविचार गरिरहेका हुन्छन्। त्यसकारण, परमेश्वरको घरमा कर्तव्य पूरा गर्ने परिस्थिति र वातावरणमा तिनीहरूलाई दबाब महसुस हुन्छ। परमेश्वरको घरले मानिसहरूलाई कर्तव्यसँग सम्बन्धित आम किसिमका र व्यावसायिक ज्ञान सिक्न अनिवार्य गर्छ, ताकि तिनीहरूले आफ्नो काम राम्ररी गर्न सकून्। परमेश्वरको घरले मानिसहरूलाई निरन्तर परमेश्वरका वचनहरू खान-पिउन लगाउँछ, ताकि तिनीहरूले अझै राम्ररी सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र हरेक कार्यका सिद्धान्तहरू जान्न सकून्। परमेश्वरको घरले सङ्गति गर्ने र बताउने यी सबै कुराहरू मानिसहरूको जीवन र तिनीहरूको कर्तव्यनिर्वाहनभित्रका विषयहरू, र व्यावहारिक कुराहरू, आदि इत्यादि कुरासँग सम्बन्धित हुन्छन्, र ती सबैको उद्देश्य मानिसहरूलाई आफूले गर्नुपर्ने उचित काम गर्न र सही मार्ग हिँड्न सहयोग गर्नु हो। आफूले गर्नुपर्ने उचित काम नगर्ने र आफ्नो इच्छाअनुसार हिँड्ने यी मानिसहरूले यी उचित कुराहरू गर्न चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गरेर तिनीहरूले हासिल गर्न चाहने अन्तिम उद्देश्य भनेको भौतिक आराम, सुख, र सहजता प्राप्त गर्नु, र कुनै पनि हालतमा बन्धन वा दोषमा नपर्नु हो। अनि, तिनीहरूले जे चाह्यो त्यो पर्याप्त रूपमा खान पाउनु, र आफूले चाहेको कुरा गर्न पाउनु हो। तिनीहरूको मानवताको गुणस्तर र तिनीहरूको भित्री खोजको कारण तिनीहरूले प्रायजसो दबाब महसुस गर्छन्। तिनीहरूसँग तैँले जेजसरी सत्यता सङ्गति गरे पनि, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले महसुस गर्ने दबाब समाधान हुनेछैन। तिनीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्; तिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्। झट्ट हेर्दा तिनीहरूले त्यति ठूलो दुष्कर्म गरेजस्तो वा तिनीहरू खराब मानिसहरू भएजस्तो नदेखिए पनि, र तिनीहरूले सिद्धान्त र नियमहरू मात्रै पालना गर्न असफल भएजस्तो देखिए पनि, वास्तवमा तिनीहरूको प्रकृति सार नै यो हो कि तिनीहरूले आफूले गर्नुपर्ने उचित कार्य गर्दैनन् वा सही मार्ग पछ्याउँदैनन्। यस्ता मानिसहरूमा, सामान्य मानवताको विवेक र समझको कमी हुन्छ, र तिनीहरूले सामान्य मानवताको बौद्धिकता हासिल गर्न सक्दैनन्। … समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू कामचोर, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गाहरू र त्यस्तै खाले मानिसहरू हुन्। तिनीहरू कुनै नयाँ सीप वा क्षमता सिक्न चाहँदैनन्, र तिनीहरू कुनै गम्भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्ने चाहना गर्दैनन्। तिनीहरू समाजका कामचोर र लफङ्गाहरू हुन्। तिनीहरू मण्डलीमा घुस्छन्, र त्यसपछि केही नगरी केही पाउन, र आफ्नो भागको आशिष् पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्ने तिनीहरू सोच्छन्। तिनीहरू थोरै पनि कठिनाइ भोग्न चाहँदैनन् र तिनीहरू मोजमस्तीको जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउनसमेत थकाइलाग्दो हुन्छ; तिनीहरू नकारात्मक संवेगहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाएर प्रायजसो थकित र अन्योल महसुस गर्छन्। तिनीहरू आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्हाल्नुपर्ने उचित मामलाहरू सम्हाल्न चाहँदैनन्। तिनीहरू काममा निरन्तर लागेर सुरुदेखि अन्तिमसम्म गरिरहन, यसलाई आफ्नै पेसा र कर्तव्यको रूपमा लिन, र आफ्नो दायित्व र जिम्मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्भव भएको उत्कृष्ट मापदण्डअनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रण सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड, वा अलिक बढी जिम्मेवारी बोक्न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्। तिनीहरूलाई जिउन गाह्रो लाग्नुको एउटा कारण के हो भने, यस्ता मानिसहरूमा समझको कमी हुन्छ। तिनीहरूको बिग्रेको समझ हुन्छ, तिनीहरू सारा दिन कल्पनामा डुब्दै, सपनामा भुल्दै, अवास्तविक कुरा सम्झँदै सधैँ अनेक कल्पना गरेर बिताउँछन्। त्यसकारण तिनीहरूको दबाब हल गर्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू अविश्वासीहरू हुन्। हामीले गर्न सक्ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्नो स्थान खोज्न लगाउनु मात्र हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। जब मैले परमेश्वरका वचनहरूमा “आफूले गर्नुपर्ने उचित काम नगर्ने” वा “कामचोर” र “लफङ्गाहरू” को बारेमा कुरा गरिएको पढेँ, तब मलाई एकदमै घोचिएको र गहिरो पीडा महसुस भयो। कामचोर र लफङ्गाहरू सबैभन्दा निम्न, सबैभन्दा पतित मानिसहरू हुन्, तिनीहरू आफ्ना दिनहरू खाने, पिउने, र रमाइलो गरेर बिताउँछन् र तिनीहरूसँग कुनै गम्भीर पछ्याइ हुँदैन। तिनीहरूले गर्ने सबै कुरामा भरोसा नपर्दो, असङ्गत हुन्छन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। मेरो खोजी लफङ्गाहरूको भन्दा फरक थिएन। एक अगुवाको रूपमा, मेरा विचारहरू हरेक दिन आफ्नो कर्तव्य कसरी राम्रोसँग गर्ने वा आफ्ना जिम्मेवारीहरू कसरी काँधमा लिने भन्नेमा केन्द्रित थिएनन्। बरु, म सधैँ मेरो देहलाई कसरी आराम र सहजता दिने भन्नेबारे सोचिरहन्थेँ, र अलिकति कठिनाइमा पनि, म प्रतिरोध गर्थेँ र असन्तुष्ट महसुस गर्थेँ। मैले मेरो कर्तव्यलाई भार सम्झेँ र मेरा उचित कामहरूलाई कत्ति पनि विचार गरिनँ। मैले म विश्वासयोग्य छैनँ र ममा परमेश्वरको डर मान्ने हृदय पटक्कै छैन भन्ने देखेँ। गैरविश्वासीहरूले समेत “दुःख नगरी सुख पाइँदैन,” र बाँच्नका लागि, व्यक्तिले कठिनाइ सहनुपर्छ र मूल्य चुकाउनुपर्छ भन्नेमा विश्वास गर्छन्। तैपनि म कुनै पनि दुःख सहन सक्दिनथेँ र अलिकति असुविधामा पनि गुनासो गर्थेँ। के म पूर्ण रूपमा बेकम्मा थिइनँ र? यदि मैले यो पतित मानसिकतालाई परिवर्तन गरिनँ र मैले गर्नुपर्ने उचित कामबाट भागिरहेँ भने, म अन्ततः हटाइने थिएँ। परमेश्वरले उहाँमा इमानदारीपूर्वक विश्वास गर्ने, सत्यता पछ्याउने, र आफ्ना कर्तव्यहरू जिम्मेवारीपूर्वक पूरा गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यी मानिसहरू आफ्ना उचित मामिलाहरूमा ध्यान केन्द्रित गर्छन्, र आफ्ना उचित कर्तव्यहरूमा लाग्छन्, र यदि तिनीहरूका कर्तव्यहरूले तिनीहरूलाई कष्ट वा थकान दिए पनि, तिनीहरू गुनासो गर्दैनन् र पूर्ण हृदयले पूरा गर्छन्। अबदेखि, म आफ्ना उचित कर्तव्यहरूमा लाग्ने व्यक्ति बन्न चाहन्थेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र अभ्यासको मार्ग पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? … एक हिसाबमा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्बन्धित छ। अर्को हिसाबमा, यो आफ्नो क्षमता र सामर्थ्यले भ्याउन्जेल भरमग्दुर प्रयाससाथ सबै कुरा गरेर कम्तीमा पनि तँलाई तेरो विवेकले दोष नलगाउने अवस्थामा पुग्नु, अनि आफ्नै विवेकसँग शान्तिसाथ रहन सक्ने र अरूको नजरमा ग्रहणयोग्य हुने अवस्थामा पुग्नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले तेरो पूरै जीवनभरि नै मानिसहरूले जीवनमा बुझ्नुपर्ने सिद्धान्तहरू केही मात्रामा बुझेको हुनुपर्छ। उदाहरणको लागि, मानिसहरू कस्तो मार्ग हिँड्नुपर्छ, तिनीहरू कसरी जिउनुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउने हो—कम्तीमा, तैँले थोरै नै भए पनि जीवनको साँचो मूल्य खोजी गर्नुपर्छ। यो जीवन व्यर्थमा जिउनु हुँदैन, र कोही पनि यो पृथ्वीमा व्यर्थमा आएको हुँदैन। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामीले ठूलो मिसन, कर्तव्य वा जिम्मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। … मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्गमा त कुनै बहुमूल्य कुरा हासिल गर्ने र मूल्यसहितको कुनै एउटा वा धेरै काम पूरा गर्ने कार्य समावेश हुन्छ। यसलाई करियर भनिँदैन; यसलाई सही मार्ग भनिन्छ, यसलाई उचित काम पनि भनिन्छ। मलाई भन् त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नको लागि मूल्य चुकाउनु सार्थक हुन्छ? यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्पचाहिँ मूल्यवान् जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि मानिसहरूले अर्थपूर्ण र मूल्यवान् जीवन पाउन के खोजी गर्नुपर्छ। जीवन यति छोटो छ, त्यसैले हामीले यो सीमित समयमा अर्थपूर्ण कामहरू गर्नुपर्छ। सत्यता पछ्याउनु र हाम्रा कर्तव्यहरू पूरा गर्नु नै व्यर्थमा जिउनबाट बच्ने एकमात्र तरिका हो। जब परमेश्वरको काम पूरा हुन्छ, तब हामी पछुतो वा ऋणी भावनाका साथ छोडिनेछैनौँ, र हाम्रा हृदयहरूमा सहज र शान्ति महसुस हुनेछ। मैले पहिले कसरी आफ्नो देहका लागि जिउने गर्थेँ भनेर चिन्तन गरेँ। मेरा कर्तव्यहरूमा अलिकति कठिनाइ वा थकानले पनि मलाई दबिएको, प्रतिरोधी, र असन्तुष्ट महसुस गराउँथ्यो। म कुनै मानव रूपविना बाँचिरहेकी थिएँ, र म आफ्ना कर्तव्यहरू राम्ररी पूरा गरिरहेकी थिइनँ। मैले आफ्नो पछाडि छोडेका सबै कुरा आत्मग्लानि र ऋणी भावनाहरू थिए, र अन्तमा, मैले कुनै सत्यता पाइनँ। मैले साँच्चै मेरो समय खेर फालिरहेकी थिएँ! मैले मनमनै सोचेँ, “म अब यति लक्ष्यहीन रूपमा बाँचिरहन सक्दिनँ। यो सौभाग्य हो कि मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने मौका पाएकी छु। यो परमेश्वरको अनुग्रह र उचालो हो, र मैले मेरा जिम्मेवारीहरू काँधमा लिनुपर्छ, मेरो देहविरुद्ध विद्रोह गर्न सिक्नुपर्छ र आफ्ना उचित कर्तव्यहरूमा लाग्ने व्यक्ति बन्नुपर्छ।” यी विचारहरू मनमा राखेपछि, मेरो हृदय उज्यालो भयो, र मैले त्यसपछि के पछ्याउने भनेर थाहा पाएँ।
पछि, म फेरि मण्डलीको अगुवाको रूपमा चुनिएँ, र मलाई साँच्चै कृतज्ञता महसुस भयो। मैले यो अवसरलाई कदर पनि गरेँ र मेरा कर्तव्यहरू राम्ररी पूरा गर्न चाहेँ। म अगुवा बनेपछि, हरेक दिन गर्नुपर्ने धेरै काम थियो, र जब मेरा कर्तव्यहरूमा धेरै काम हुन्थ्यो र सम्हाल्न गाह्रो हुन्थ्यो, मैले अझै पनि मेरो देहका लागि विचार गर्ने सोचहरू प्रकट गर्थेँ, र गहिरो रूपमा सोच्न चाहन्नथेँ, तर त्यसपछि परमेश्वरका वचनहरू सम्झेँ: “के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नको लागि मूल्य चुकाउनु सार्थक हुन्छ? यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए, र मलाई थाहा भयो म अब मेरो देहलाई सन्तुष्ट पार्नका लागि मेरो कर्तव्यमा झाराटारुवा हुन हुँदैन, र शारीरिक आराम केवल अस्थायी हो, तर मेरो कर्तव्यमा मेरो पूर्ण प्रयास नलगाउँदा मलाई पछुतो र ऋणी भावनाहरूमा छोड्नेछन्, र यी कुराहरू कहिल्यै मेटाउन सकिँदैन। त्यसैले, मैले आफूविरुद्ध विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गरेँ, जसले मेरो हृदयलाई अझ शान्त हुन र मलाई पूर्ण हृदयले सहकार्य गर्न मद्दत गर्यो। मैले मेरो काममा कसरी वास्तविक नतिजाहरू हासिल गर्ने भनेर विचार गर्न थालेँ, र जब मैले नबुझेको कुराको सामना गर्थेँ, तब म अरूसँग छलफल गर्थेँ र परमेश्वरका वचनहरूमा सत्यता सिद्धान्तहरू खोज्थेँ। यसरी मेरा कर्तव्यहरू गर्दा व्यस्तता बढ्यो, धेरै चिन्ता लिनुपर्यो, र मसँग आराम गर्ने समय कम भयो, तर मैले धेरै कुरा पाएँ, र मेरो जीवन झन्-झन् भरिपूर्ण महसुस भयो। मैले सजिलै नकारात्मक र दबिएको महसुस गर्न पनि छोडेँ। ममा भएको यो रूपान्तरण परमेश्वरका वचनहरूको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!