३८. मेरो छनौट
मेरो आमाबुबा म सानै छँदा बित्नुभयो, र मेरा दुई दिदी र म सानैदेखि हजुरआमासँग बस्यौँ, र हामीलाई प्रभु येशूको सुसमाचार सुनाउनुहुने पनि हाम्रै हजुरआमा हुनुहुन्थ्यो। हामी अक्सर प्रभुलाई प्रार्थना गर्थ्यौँ र आइतबार हजुरआमासँग मण्डली जान्थ्यौँ। हजुरआमा बित्नुभएपछि, हाम्रा काका-काकीले हामीलाई आफ्नो संरक्षणमा लिनुभयो, र हामीलाई आफ्नै छोराछोरीलाई जस्तै हेरचाह गर्नुभयो। हाम्री काकीले हामीलाई अक्सर भन्नुहुन्थ्यो पढाइ जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो र उज्ज्वल भविष्यको साँचो यही हो। मैले यी कुराहरूलाई मनमा राखेँ, र जेसुकै भए पनि, मैले आफ्नो पढाइ छोड्न हुँदैन भन्ने सोचेँ। मैले साँच्चै कडा मेहनत गरेर पढेँ, र बिरामी हुँदा पनि स्कुल जान छोडिनँ। मेरो नतिजा सधैँ कक्षामा उत्कृष्ट विद्यार्थीहरूमध्ये हुन्थ्यो, र मैले धेरै पुरस्कार र प्रमाणपत्रहरू जितेकी थिएँ।
सन् २०२० मा, कोभिड-१९ महामारी फैलिएपछि, मैले मण्डली जान छोडेँ, र घरमै बाइबल पढ्न थालेँ। बाइबलमा परमेश्वरका लागि आफ्नो जीवन समर्पण गर्ने सन्तहरूबाट म प्रेरित भएँ, र बिस्तारै, मेरो मनमा परमेश्वरको सेवा गर्ने इच्छा जाग्यो। मैले भेलामा सहभागी हुन अनलाइनमा समूहहरू खोज्न थालेँ, र २०२० को अगस्टमा, फेसबुकको एक जना साथीले मलाई अनलाइन भेलामा सहभागी हुन निम्तो दिनुभयो। भेलामा, उहाँहरूले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिनुभयो। जब मैले पहिलो पटक सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ, म गहिरो रूपमा प्रभावित र उत्साहित भएँ किनभने सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार थियो र मैले पहिले नबुझेका धेरै रहस्यहरू प्रकाश गर्नुभएको थियो। फलस्वरूप, म अनलाइन भेलाहरूमा सहभागी हुन साँच्चै उत्सुक भएँ, र आफ्नो फुर्सदको समयमा, मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका धेरै चलचित्र र ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू हेरेँ। मेरो हृदय आनन्द र आपूर्तिले भरिएको थियो।
केही समयपछि, मैले अनलाइनमा नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास गरिरहेकी थिएँ। महामारीको कारण, मैले आफ्नो पढाइ अनलाइनबाटै पूरा गर्न सक्थेँ र मसँग धेरै खाली समय थियो, त्यसैले मेरो कर्तव्य र पढाइलाई सन्तुलनमा राख्न त्यति गाह्रो थिएन। समय बित्दै जाँदा, मेरा काका-काकी मेरो कर्तव्यले पढाइमा असर गर्ला कि भनेर चिन्तित हुन थाल्नुभयो र मलाई अनलाइन भेलाहरूमा सहभागी हुन छोड्न भन्नुभयो। म अलि चिन्तित भएँ, र सोचेँ, “यदि मलाई अनलाइन भेलाहरूमा सहभागी हुन दिइएन भने, मैले आफ्नो कर्तव्य कसरी पूरा गर्नेछु? हालै, सर्वशक्तिमान् परमेश्वरको काम स्वीकार गर्न धेरैभन्दा धेरै नयाँ विश्वासीहरू आइरहनुभएको छ, र यदि मैले उहाँहरूलाई राम्ररी मलजल गरिनँ भने, उहाँहरूको जीवनले क्षति भोग्नेछ। त्यो मेरो गल्ती हुनेछ र त्यसले मेरो विवेकलाई पिरोल्नेछ भन्ने कुरामा म निश्चित छु।” यसकारण, मैले आफ्नो कर्तव्यलाई निरन्तरता दिने छनौट गरेँ। एक दिन, अगुवाले मलाई सन्देश पठाएर सोध्नुभयो कि म पूर्ण-समय आफ्नो कर्तव्य गर्न चाहन्छु कि चाहन्नँ। यो सन्देश पाउने बित्तिकै म खुसीले गदगद भएँ र तुरुन्तै सहमति जनाएँ किनभने मैले अन्ततः आफ्नो सारा समय परमेश्वरका लागि समर्पित गर्न सक्थेँ, र जीवनभर परमेश्वरको सेवा गर्ने मेरो इच्छा पूरा हुनेथियो। तर मेरो मनमा केही चिन्ताहरू पनि थिए, र म सोच्न थालेँ, “यदि मैले पूर्ण-समय आफ्नो कर्तव्य गरेँ भने, मेरो पढाइको के हुन्छ? यदि मैले स्कुल छोडेँ भने, मेरो भविष्य के होला? मेरा काका-काकीले कस्तो महसुस गर्नुहोला? उहाँहरूले अझै पनि एक दिन मैले उहाँहरूको हेरचाह गर्नेछु, र उहाँहरूको प्रेम र मलाई हुर्काउन गर्नुभएको मेहनत चुकाउनेछु भन्ने आशा गर्नुहुन्छ।” त्यति नै बेला, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ: “व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्ने सबैभन्दा उचित कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरूले परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिमीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य पृथ्वीमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र नैतिकवान् हुन्छ; मानवजातिमाझ सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृष्टि गरिएको व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यो समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरू अनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा सानदार गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृष्टि गरिएको प्राणीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र सबै मानिसहरूले प्रशंसा गर्ने एउटा कथाको रूपमा फैलाउनुपर्ने कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई सुम्पनुहुने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने सबैको लागि, योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … जब कुनै व्यक्ति सृष्टि गरिएको प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्ने शर्तमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यस मार्फत आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर अन्त्यमा हासिल गर्ने अभिप्राय राख्नुभएको प्रभाव यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरबाट आएको हो, र परमेश्वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्वरको आदेश र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्वरको आदेशका निम्ति शहीद भएकाहरूसामु हाम्रा आत्मालाई लाज लाग्नेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्वरसामु झन् धेरै लाज लाग्नेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। परमेश्वरका वचनहरूले हामीलाई स्पष्ट रूपमा बताउँछन् कि परमेश्वरको आज्ञा पूरा गर्न र उहाँको सुसमाचार फैलाउन आफ्नो शरीर र मनलाई समर्पण गर्नु हाम्रो जिम्मेवारी र दायित्व हो। यदि हाम्रो शरीर र मन परमेश्वरको आज्ञाका लागि समर्पित छैन र हामी केवल देहका लागि जीवन बिताउँछौँ भने, हाम्रो जीवन अर्थहीन हुन्छ। परमेश्वर हामीले आफ्नो कर्तव्य पूरा गरौँ र आफ्नो समय खेर नफालौँ भन्ने आशा गर्नुहुन्छ। म एउटा सृजित प्राणी हुँ, र मेरो जीवन परमेश्वरबाट आएको हो, त्यसैले मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। परमेश्वरका वचनहरूबाट, मैले यो पनि बुझेँ कि कर्तव्य पूरा गर्नु भनेको मुक्ति र सिद्धता प्राप्त गर्ने मार्ग हो, र यदि मैले आफ्नो कर्तव्य गर्न छोडेँ भने, मेरो जीवन खोक्रो हुनेछ, र सर्वशक्तिमान् परमेश्वरको अनुमोदनविना म व्यर्थमा बाँचिरहेकी हुनेछु। परमेश्वरका वचनहरूले मलाई साहस दिए, र मेरो मनमा परमेश्वरलाई सन्तुष्ट पार्ने र आफ्नो जीवन उहाँलाई समर्पण गर्ने इच्छा जाग्यो। यद्यपि म एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्न आफ्नो पढाइसँगै सबै कुरा त्याग्न इच्छुक थिएँ, तर यदि मैले आफ्नो पढाइ छोडेँ भने मेरो भविष्य के होला भनेर पनि म चिन्तित थिएँ। मैले डिप्लोमाविना राम्रो जागिर पाउन सक्छु कि सक्दिनँ, र भविष्यमा आफ्नो गुजारा गर्न सक्छु कि सक्दिनँ भनेर सोचेँ। मैले काकीले अक्सर भन्ने कुरा पनि सम्झेँ, “शिक्षा जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ज्ञान सबैभन्दा बहुमूल्य सम्पत्ति हो, जुन चोर्न सकिँदैन, र उज्ज्वल भविष्यको साँचो हो।” मैले सोचेँ, यदि मैले पढाइमा राम्रो गरिनँ भने, मैले राम्रो जागिर पाउने छैनँ, र मेरो स्थिर जीवन हुने छैन। यो सोचले मलाई झनै चिन्तित र बेचैन बनायो। त्यतिबेला, मेरो हाइस्कुलको पढाइ सकिन दुई-तीन महिना मात्र बाँकी थियो, त्यसैले मैले पहिले आफ्नो हाइस्कुलको पढाइ पूरा गर्न चाहेँ। यसरी, मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै पढाइ पनि गरिरहेँ। म एकै समयमा दुवै कुरा राम्ररी गर्न चाहन्थेँ, तर वास्तवमा यो धेरै गाह्रो थियो। कहिलेकाहीँ मैले गृहकार्य गर्नुपर्थ्यो र नयाँ विश्वासीहरूलाई मलजल पनि गर्नुपर्थ्यो, र मेरो मन शान्त हुन सक्दैनथ्यो। मलाई याद छ, एक दिन, मलाई केही गृहकार्य दिइएको थियो, र जब मैले त्यो कति धेरै छ भनेर देखेँ, मैले सोचेँ कि यदि मैले यो सबै पूरा गर्न खोजेँ भने मेरो कर्तव्यको के होला। अझ, जब मैले मेरो पढाइको सामग्री पढेँ, मलाई धेरै असहज महसुस भयो किनभने पाठ्यक्रमको अधिकांश सामग्री सत्यतासँग मिल्दैनथ्यो, र केही त सत्यतासँग बाझिन्थ्यो र परमेश्वरको अस्तित्वलाई नै नकार्थ्यो। यसले मलाई धेरै पीडा र भित्री अशान्ति दियो। मलाई यस्तो लाग्यो कि म दुईवटा संसारमा बाँचिरहेकी छु: एउटा उज्यालो संसार र अर्को अँध्यारो संसार, र मेरो एउटा खुट्टा उज्यालोमा र अर्को खुट्टा अँध्यारोमा थियो। यस बिन्दुमा, मैले अन्ततः के महसुस गरेँ भने मैले आफ्नो पढाइ र कर्तव्यको बीचमा एउटा छनौट गर्नैपर्छ।
मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूले कलेजमा राम्रो विषय रोज्छन् अनि तिनीहरूले आफ्नो जीवन यात्रामा पहिलो विजयी छलाङ्ग मार्दै, दीक्षान्तपछि सन्तोषजनक जागिर पाउँछन्। कतिपय मानिसहरूले विभिन्न प्रकारका फरक-फरक सीप सिक्छन् र त्यसमा पोख्त हुन्छन् तैपनि तिनीहरूले आफ्नो निम्ति उपयुक्त जागिर कहिल्यै भेट्टाउँदैनन् वा आफूलाई उपयुक्त पद कहिल्यै पाउँदैनन्, जीविका प्राप्त गर्नु त परै जाओस्; तिनीहरूको जीवन यात्राको सुरुमा, तिनीहरू हरेक मोडमा ठक्कर खान्छन्, समस्याहरूद्वारा गाँजिएकोले तिनीहरूको भविष्य निराशाजनक बन्छ र तिनीहरूको जीवन अनिश्चित हुन्छ। कतिपय मानिसहरू आफ्ना अध्ययनमा लगनशील भएर लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक मौकालाई लक्ष्यको नजिक पुगेर पनि गुमाउँछन्; सफलता हासिल गर्ने त तिनीहरूको नियतिमा नै लेखिएको छैन जस्तो देखिन्छ, तिनीहरूको जीवन यात्राको प्रारम्भिक आकाङ्क्षा हावामा बिलाएर जान्छ। अगाडिको बाटो सहज छ कि ढुङ्गैढुङ्गाको छ भन्ने कुरा थाहा नभएपछि, तिनीहरूले मानव नियति कति परिवर्तनशील हुँदो रहेछ भन्ने पहिलो पटक अनुभव गर्छन्, तसर्थ जीवनलाई अपेक्षा र भयको साथ लिन्छन्। कतिपय मानिसहरू त्यति शिक्षित नभए पनि, पुस्तकहरू लेख्छन् अनि निकै ख्याति कमाउँछन्; कतिपय मानिसहरू पूर्ण रूपमा असाक्षर भए पनि, व्यापारमा पैसा कमाउँछन् र आफ्नो लागि आफै कमाउन सक्छन्…। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले कसरी दिनचर्या गर्छ: के यी कुराहरूमा मानिसहरूले असल कि खराब निर्णय गर्छन् भन्ने बारेमा तिनीहरूको कुनै नियन्त्रण हुन्छ र? के यी कुराहरू मानिसहरूको इच्छा र निर्णयहरू अनुरूप हुन्छन् र? धेरैजसो मानिसहरूका कामनाहरू यस्ता हुन्छन्: थोरै काम गरेर धेरै कमाइ गर्ने, घाम र झरीमा कडा परिश्रम नगर्ने, राम्रो लुगा लगाउने, जहाँसुकै भए पनि हाँसीखुशी बस्ने, अरूभन्दा माथि उठ्ने, र आफ्ना पुर्खाहरूका निम्ति इज्जत कमाउने। मानिसहरूले सिद्धताको आशा गर्छन्, तर जब तिनीहरूले आफ्नो जीवन यात्राका प्रथम पाइलाहरू चाल्छन्, तिनीहरूले बिस्तारै मानव नियति कति असिद्ध छ भन्ने महसुस गर्छन्, अनि कसैले आफ्नो भविष्यको लागि साहसिक योजनाहरू बनाउन सके पनि र उसले आँटिला कल्पनाहरू गर्न सके पनि, आफ्ना सपनाहरूलाई वास्तविक तुल्याउने क्षमता वा शक्ति कसैसँग छैन, र आफ्नो भविष्यलाई नियन्त्रण गर्ने हैसियत कसैसँग छैन भन्ने कुरालाई साँचो रूपमा पहिलो पटक बुझ्छन्। व्यक्तिका सपनाहरू अनि उसले सामना गर्नुपर्ने वास्तविकताहरूको बीचमा जहिल्यै पनि केही न केही दूरी हुन्छ; व्यक्तिले जे चाहेको हुन्छ त्यस्तो कहिल्यै हुँदैन, अनि त्यस्ता वास्तविकताहरूको सामना गरिसकेपछि, मानिसहरूले कहिल्यै पनि सन्तुष्टि वा तृप्ति हासिल गर्न सक्दैनन्। कतिपय मानिसहरूले आफ्नै नियति परिवर्तन गर्ने प्रयास स्वरूप, आफ्नो जीविका र भविष्यको खातिर, कल्पना गर्न सकिने कुनै पनि हदसम्म लागिपर्छन्, ठूला-ठूला प्रयासहरू गर्छन् र धेरै परित्यागहरू गर्छन्। तर अन्तिममा, तिनीहरूका आफ्नै कठिन परिश्रमद्वारा आफ्ना सपनाहरू र इच्छाहरूलाई पूरा गर्न सके भने पनि, तिनीहरूले आफ्नो नियति कहिल्यै परिवर्तन गर्न सक्दैनन्, अनि तिनीहरूले जति धेरै दृढताको साथ प्रयास गरे पनि, नियतिले तिनीहरूका निम्ति जे छुट्याएर राखिदिएको छ त्योभन्दा बढी तिनीहरूले प्राप्त गर्न सक्दैनन्। क्षमता, बौद्धिकता, र इच्छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उचा र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मेरो भाग्य र भविष्य मेरो आफ्नै हातमा छैन, न त यो मेरो मेहनतमा नै निर्भर छ। यी कुराहरू पूर्ण रूपमा सृष्टिकर्ताद्वारा निर्धारित हुन्छन्। मेरी काकीले सधैँ भन्नुहुन्थ्यो, ज्ञान उज्ज्वल भविष्यको साँचो र अतुलनीय सम्पत्ति हो, र यी कुराहरू मेरो हृदयमा गहिरोसँग जरो गाडेको थियो, जसले गर्दा मैले यसलाई नै सत्यता ठानेँ। म अक्सर आफैँलाई भन्थेँ कि जेसुकै भए पनि, मैले आफ्नो पढाइ रोक्नुहुँदैन, किनभने यो सफल भविष्यको साँचो थियो, र यदि मैले पढ्न छोडेँ भने, मेरो भाग्य बदलिनेछैन। म गरिबीमा हुर्कन र गरिबीमै मर्न चाहन्नथेँ, त्यसैले मैले कडा मेहनत गरेर पढेँ। तर अब मैले के महसुस गरेँ भने मेरो हृदयमा हालिदिएका ती कुराहरू त मानिसहरूलाई बहकाउन शैतानले प्रयोग गर्ने तरिकाहरू रहेछन्, जसले मानिसहरूलाई परमेश्वरको विरोध गर्न र उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई इन्कार गर्न लगाउँछ, र हामीलाई के विश्वास दिलाउँछ भने राम्रो भाग्य हाम्रो आफ्नै कडा मेहनतमा निर्भर हुन्छ, र मानिसको भाग्य उसकै हातमा हुन्छ, अनि यसरी हामीलाई मानव भाग्य सृष्टिकर्ताको हातमा हुन्छ भन्ने सत्यतालाई इन्कार गर्न लगाउँछ। मैले सोचेँ, किन धेरै उच्च शैक्षिक योग्यता भएका वा राम्रो विषय पढेका मानिसहरूको करियर र सम्पत्ति उनीहरूको अपेक्षाभन्दा धेरै फरक हुन्छ। कोही स्नातक गरेपछि आया बन्छन्, कोही किसान बन्छन्, कोही सेल्सम्यान बन्छन्, र कोहीले त जागिर नै पाउँदैनन्। अर्कोतिर, कत्ति मानिसहरू जसले पटक्कै पढेनन्, वा कम्तीमा कडा मेहनत गरेर पढेनन्, तिनीहरू अहिले धनी वा प्रसिद्ध छन्। यी कुराहरूमा चिन्तन गर्दा, मैले के बुझेँ भने हाम्रो भाग्य हाम्रो हातमा होइन, परमेश्वरको हातमा छ। जसरी प्रभु येशूले भन्नुभएको छ: “त्यसैले म तिमीहरूलाई भन्छु, तैँले के खानेछस्, वा तैँले के पिउनेछस् भनेर आफ्नो जीवनको चिन्ता नगर्; वा तैँले के लगाउनेछस् भनेर आफ्नो शरीरको चिन्ता नगर्। के जीवन भनेको खाना मात्र, र शरीर भनेको पहिरन मात्र हो र? आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?” (मत्ती ६:२५-२६)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने हामीलाई चाहिने सबै कुराको स्रोत परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रा सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ, र मैले कुनै पनि कुराको चिन्ता लिनुपर्दैन। मेरो भविष्यको कुरा, चाहे मसँग खानलाई खाना होला कि नहोला, बस्नलाई घर होला कि नहोला, वा भविष्यमा राम्रो जागिर पाउँछु कि पाउँदिनँ, मैले चिन्ता लिनु आवश्यक छैन, किनकि मैले केवल परमेश्वरलाई खोज्नुपर्छ र सबै कुरा उहाँलाई सुम्पनुपर्छ, र परमेश्वरले सबै कुरा योजनाबद्ध र बन्दोबस्त गर्नुहुनेछ। त्यस क्षण, मेरो मन ढुक्क भयो, र मैले आफ्नो पढाइ रोकेर आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्ने निर्णय गरेँ। तर मेरो परिवारले यसमा सहमति नजनाउला कि भनेर म चिन्तित थिएँ र मलाई उहाँहरूप्रति ऋणी भएको महसुस भयो। उहाँहरूले मलाई हुर्काउन धेरै दुःख भोग्नुभएको थियो। मेरा काकाले अक्सर ओभरटाइम काम गर्नुहुन्थ्यो र हामीलाई पाल्न धेरै पैसा कमाउन पार्ट-टाइम जागिर पनि गर्नुभएको थियो। कहिलेकाहीँ उहाँ हामीलाई खान पुगोस् भनेर आफैँ नखाई बस्नुहुन्थ्यो। यी कुराहरू सोच्दा मलाई साह्रै पीडा भयो, तर यदि मैले उहाँहरूको गुन तिर्न आफ्नो कर्तव्य छोडेँ भने, मेरो विवेकले पिरोल्नेथियो।
पछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनको एउटा खण्ड भेटेँ जसले मेरो समस्या समाधान गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। परिणामस्वरूप, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्वरको निर्धारणभित्र रहन निर्धारित गरिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई हुर्काएर वयस्कतामा पुर्याउँछ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा नै अस्तित्वमा रहिरहेको र हुर्किरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको स्याहारसुसारको अनुग्रहमा हुर्किरहेको हुन्छ र उसको हुर्काइलाई उसैको जीवनको अन्तर्निहित शक्तिले निर्देशन गर्छ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, उसको जीवन कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्चर्यकर्महरू पैदा गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएका आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्ने मात्र उसले जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको बन्दोबस्तबारे अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवनलाई उसले यसरी नै बरबाद गर्छ…। परमेश्वरले दिनरात हेरचाह गर्नुहुने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्वरले केवल मानिसमा काम गर्न जारी राख्नुहुन्छ, जसका निम्ति उहाँले योजना बनाएअनुसार कुनै पनि अपेक्षा हुन्न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उसलाई उहाँले दिनुभएको सब थोकको बदलामा उहाँले चुकाउनुभएको मूल्यलाई, र मानिस उहाँतिर फर्कियोस् भन्ने उहाँको तीव्र इच्छासहितको आतुरता महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वरले यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वरले सबैलाई आपूर्ति गर्नुहुन्छ, र बाहिरबाट हेर्दा हाम्रो परिवारले हाम्रो हेरचाह गरेजस्तो देखिए पनि, पर्दा पछाडि, वास्तवमा परमेश्वरले नै हाम्रो जीवनभर सबै कुराको बन्दोबस्त र हेरचाह गरिरहनुभएको हुन्छ। मैले अचानक सम्झेँ कि जब मेरा दिदीहरू र म सानै थियौँ, हाम्रा आमाबुबाको हेरचाहविना पनि, हामी राम्ररी बाँच्यौँ। हामी जहाँ बसे पनि, हामीले भेटेका मानिसहरू सधैँ दयालु थिए र हामीलाई आफ्नै छोराछोरीको रूपमा व्यवहार गर्थे। मैले यो पनि सम्झेँ कि जब म सात वर्षकी थिएँ, एक पटक मेरी दिदी र म बाटो काट्दै गर्दा, एउटा गाडी अचानक हामीतिर आयो र हामीलाई झण्डै ठक्कर दिएको थियो। मेरी दिदी र म चकित परेर उभिएको उभियै भयौँ, तर त्यो गाडी अचानक रोकियो, र हामीलाई चोट लागेन। अर्को पटक, म बाटो काट्दा एउटा तीनपाङ्ग्रे गाडीले झण्डै ठक्कर दिएको थियो, र त्यो पनि अचानक रोकियो, र मलाई केही भएन। यी घटनाहरू सम्झेर मेरो आँसु थामिएन। परमेश्वर सधैँ मेरो साथमा रहेर मेरो हेरचाह र सुरक्षा गरिरहनुभएको रहेछ, तर मैले त्यो महसुस गरेकी थिइनँ। मैले सोचेकी थिएँ, मसँग जे जति थियो, त्यो सबै मेरा काका-काकीको त्याग र कडा मेहनतको परिणाम थियो। उहाँहरूप्रतिको यो कृतज्ञता मेरो मनबाट कहिल्यै हटेन र म उहाँहरूको गुन तिर्न चाहन्थेँ। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मसँग जे जति थियो, त्यो सबै परमेश्वरको प्रेम र हेरचाहको कारणले थियो, र परमेश्वर नै सबैभन्दा धेरै मेरो प्रेम र कृतज्ञताको योग्य हुनुहुन्थ्यो। एउटा सृजित प्राणीको रूपमा, मेरो दायित्व र जिम्मेवारी एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नु हो। त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो निर्णयबारे परिवारलाई बताउने साहस दिनुहोस् भनी मागेँ।
एक साँझ, मैले मेरी काकीलाई एउटा सन्देश पठाएँ, र मैले यसरी लेखेकी थिएँ: “काकी, म सानो छँदा, हजुरआमाले मेरा दिदीहरू र मलाई प्रभु येशूको सुसमाचार सुनाउनुभयो, उहाँले हामीलाई परमेश्वरलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउनुभयो, र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनी बुझाउनुभयो। मैले देखेँ कि परमेश्वर कति अद्भुत र असल हुनुहुन्छ, उहाँले मानवजातिका लागि सबै कुरा बलिदान गर्नुभयो, र हाम्रा जतिसुकै पाप भए पनि उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। जब परमेश्वरले हाम्रा लागि सबै कुरा गर्नुहुन्छ भने, हामी मानिसहरूले परमेश्वरको व्यवस्थापनको बीचमा आफ्नो कर्तव्य किन पूरा गर्न सक्दैनौँ र? यसैकारण, मैले परमेश्वरको सेवा गर्ने निर्णय गरेकी छु। प्रभु फेरि देह बन्नुभएको छ, र उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, र उहाँले मानिसहरूलाई पापबाट मुक्त गर्न न्याय र शुद्धीकरणको काम गरिरहनुभएको छ। म आफ्नो सारा समय आफ्नो कर्तव्यमा र परमेश्वरसँगको मेरो प्रतिज्ञा पूरा गर्नमा समर्पित गर्न चाहन्छु। आशा छ तपाईंले मेरो निर्णयलाई स्वीकार गर्नुहुनेछ।” यो सन्देश पठाएपछि, मेरो घाँटीमा अड्केको काँडा निकालिए जस्तो भयो, र मलाई धेरै हल्का महसुस भयो।
भोलिपल्ट बिहान, मेरी काकीले मलाई भन्नुभयो, “शारा, के तँ यो तेरो निर्णय हो भन्नेमा निश्चित छेस्? तेरो भविष्यको के हुन्छ? तेरो काकाले तेरा लागि यति धेरै दुःख गर्नुभएको छ, र तैँले यति सजिलै आफ्नो पढाइ छोडिदिइस्?” मेरी काकी अरू धेरै चोट पुऱ्याउने कुराहरू पनि भन्नुभयो र उहाँले भनेका कुराले मलाई गहिरो चोट लाग्यो। त्यसपछि काकीले सोध्नुभयो, “के तँ अझै पढ्दै छेस्?” मैले जवाफ दिएँ, “छैन, अब पढ्दिनँ।” यो सुनेर काकी धेरै रिसाउनुभयो र आवाज ठूलो पार्दै भन्नुभयो, “के? तँ पढ्दिनस्? के सोच्दै छेस् तँ? तेरो काका र मैले तँलाई स्कुल पठाउन कति कडा मेहनत गर्यौँ, र तैँले हामीलाई यस्तो व्यवहार गरिस्? मैले तँलाई तीन दिदीबहिनीमध्ये सबैभन्दा दयालु र चलाख सोचेकी थिएँ, तर म गलत रहेछु। तैँले हामीलाई साँच्चै निराश पारिस्!” मेरो आँखाबाट आँसु थामिएन, किनभने मलाई थाहा थियो उहाँहरूले मेरा लागि ठूलो मूल्य चुकाउनुभएको थियो, तर मैले आफ्नो कर्तव्य छनौट गर्नु सही थियो भन्ने महसुस गरेँ। तर मैले जति पटक सम्झाउने प्रयास गरे पनि, काकीले मलाई बुझ्नुभएन। पछि भान्सामा, मैले एक जना सिस्टरलाई सन्देश पठाएँ, र ममाथि के बितिरहेको छ सो बताएँ। सिस्टरले मलाई प्रोत्साहन दिनुभयो र परमेश्वरका वचनको एउटा खण्ड पठाउनुभयो: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु र तेरा लागि शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनहरूले मेरो हृदय छोयो र मलाई शक्ति दियो, र मैले परमेश्वरले मलाई सम्झाइरहनुभएको, प्रोत्साहन र अर्ती दिइरहनुभएको महसुस गरेँ। मलाई थाहा थियो कि शैतानले मलाई परीक्षामा पार्न र आक्रमण गर्न, मलाई कमजोर बनाउन र पछि हट्न लगाउन मेरो परिवारलाई प्रयोग गरिरहेको थियो, तर म शैतानको अगाडि झुक्न सकिनँ। मेरो परिवारले मलाई जस्तोसुकै व्यवहार गरे पनि, मैले शैतानलाई लज्जित पार्न आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो! मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, शैतानले ममाथि आक्रमण गरिरहेको छ, र म कमजोर र शक्तिहीन छु। कृपया मलाई शक्ति दिनुहोस्, मेरो हृदयको रक्षा गर्नुहोस्, र मलाई शैतानको षड्यन्त्रबाट जोगाउनुहोस्।” मेरो प्रार्थनापछि, मैले साहस पाएँ र आउँदो परिस्थितिको सामना गर्न परमेश्वरमा भर पर्न इच्छुक भएँ। केही बेरपछि, मेरा काका फर्केर आउनुभयो। काकालाई देखेर, मेरो मनमा फेरि डर पस्यो। काकाले भन्नुभयो, “तिमी मण्डलीमा गएर परमेश्वरको सेवा गर्न चाहन्छ्यौ। के साँच्चै तिमीले चाहेको यही हो?” मैले टाउको हल्लाएँ। उहाँले फेरि सोध्नुभयो, “के तिमी आफ्नो निर्णयमा पक्का छ्यौ?” मैले भनेँ: “हो।” मैले सोचेकी थिएँ मामा धेरै रिसाउनुहुनेछ, तर अचम्म, उहाँले भन्नुभयो, “ठीक छ, यदि यो तिम्रो निर्णय हो भने, म तिमीलाई रोक्दिनँ। शारा, मैले तिम्री आमालाई वचन दिएको थिएँ कि म तिम्रो र तिम्रा दिदीहरूको हेरचाह गर्नेछु र तिमीहरूले शिक्षा पाउनेछौ भन्ने कुरा सुनिश्चित गर्नेछु, र अब मैले तिमीलाई त्यो सबै दिइसकेको छु, म अब उप्रान्त तिम्रो निर्णयमा हस्तक्षेप गर्दिनँ। जबसम्म तिमी आफ्नो निर्णयमा पछुताउँदिनौ, तिमी जे गर्न चाहन्छ्यौ त्यही गर।” त्यस क्षण, मेरो आँसु थामिएन; मैले साँच्चै सोचेकी थिइनँ कि काका यति शान्त हुनुहोला। मैले के देखेँ भने मेरो वरपरका सबै जना परमेश्वरको सार्वभौमिकतामा थिए, यो परमेश्वरको काम थियो, र मैले हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिएँ!
तर अचम्मको कुरा, एक दिन मेरा काकाले अचानक आफ्नो मन बदल्नुभयो र ब्रदर-सिस्टरहरूसँग भेट्ने माग गर्नुभयो, अनि उहाँले नभनेसम्म म घर छोडेर जान सक्दिनँ, मैले राति ८ बजे उहाँलाई मेरो फोन दिनुपर्छ र भेलामा सहभागी हुन पाउँदिनँ, र यदि मैले फोन दिन मानिनँ भने, उहाँले मलाई घरबाट निकालिदिनुहुनेछ भन्नुभयो। उहाँले यसो भन्दा म साँच्चै डराएँ। किनभने मेरा काका निकै कडा हुनुहुन्थ्यो, मैले उहाँको मागलाई नमान्ने आँट गरिनँ, तर राति ८ बजे मलजल गर्नुपर्ने नयाँ विश्वासीहरू पनि थिए, र यदि काकाले मेरो फोन लिनुभयो भने, मैले उहाँहरूलाई कसरी मलजल गर्ने थिएँ? यो कुरा मनमा लिएर, मेरो मन शान्त हुनै सकेन, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अहिले म केही गर्न सक्दिनँ, म मेरो हालको अवस्था तपाईंलाई सुम्पन्छु। कृपया मलाई मद्दत गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले सबै कुरा परमेश्वरको हातमा छ, र मैले परमेश्वरमा भर पर्नुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ, र शैतानको षड्यन्त्रलाई सफल हुन दिनुहुँदैन भन्ने सोचेँ। यो सोचले, मेरो मन उज्यालो भयो र मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने निर्णय गरेँ। रातिको ८ बज्यो र मेरा काकाले मेरो फोन लिनुभएन, र म सधैँको झैँ अनलाइन भेलामा सहभागी भएँ। अचम्मको कुरा, मेरा काकाले केही भन्नुभएन वा मेरो अनलाइन भेलामा बाधा दिनुभएन, र मैले नयाँ विश्वासीहरूसँग भेला नसकुन्जेल चुपचाप बस्नुभयो। त्यस क्षण म रुनबाट आफूलाई रोक्न सकिनँ। मैले देखेँ कि मेरा मामा जतिसुकै कडा भए पनि, उहाँ पनि परमेश्वरको हातमा र परमेश्वरको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूमा हुनुहुन्थ्यो। मैले सोचेँ कि मेरा मामाबाट हुने मेरो सतावट सकियो, तर उहाँले मलाई बाधा दिन छोड्नुभएन। कहिलेकाहीँ म सोच्न बाध्य हुन्थेँ, “मेरा काकाले किन अचानक आफ्नो मन बदल्नुभयो र मेरो विरोध गर्न थाल्नुभयो?” मैले परमेश्वरका वचनका दुई खण्ड पढेपछि मात्र यो कुरा बुझेँ: “जब परमेश्वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई निगाह र अनुमोदन गर्नुहुन्छ, तब शैतान पछिपछि लाग्छ, र उक्त व्यक्तिलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्वरको कामलाई बिगार्न विभिन्न दुष्ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्वरले कुनै पनि व्यक्तिलाई प्राप्त गर्नुभएको त्यसले चाहँदैन; परमेश्वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्वरको विरोध गरून्। के यो शैतानको दुष्ट आशय होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। “परमेश्वरले मानिसहरूमा गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको हो। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र हुने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्वरको गवाही दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्ने कार्यको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई गवाही दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र गवाही दिनका लागि परमेश्वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वर मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ, र शैतान मानिसहरूले स्वतन्त्र रूपमा परमेश्वरलाई पछ्याऊन् भन्ने चाहँदैन र परमेश्वरले कसैलाई पनि प्राप्त नगरून् भन्ने चाहन्छ। त्यसकारण, जब मानिसहरू परमेश्वरको नजिक जान र उहाँको आराधना गर्न चाहन्छन्, शैतानले मानिसहरूलाई बाधा दिन र उनीहरूलाई परमेश्वरको सामु आउनबाट रोक्न हरसम्भव प्रयास गर्छ। मैले देखेँ कि शैतान कति दुष्ट र निर्लज्ज छ! बाहिरबाट हेर्दा, मैले सामना गरिरहेको कुरा मेरो परिवारको बाधा र प्रतिबन्ध थियो, तर यसको पछाडि लुकेको कुरा शैतानको बाधा थियो। शैतानले मलाई परमेश्वरलाई पछ्याउनबाट रोक्न मेरो वरपरका मानिस, घटना र कामकुराहरू प्रयोग गरिरहेको थियो। यो शैतानको द्वेषपूर्ण लक्ष्य थियो, र म शैतानलाई झनै घृणा गर्न थालेँ। परमेश्वर भन्नुहुन्छ: “तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र गवाही दिनका लागि परमेश्वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ।” शैतानले मलाई जतिसुकै बाधा र अवरोध दिए पनि, म आफ्नो गवाहीमा दृढ रहनेछु र शैतानलाई लज्जित पार्नेछु! मैले अय्यूबले भोगेका कुराहरू पनि सम्झेँ। पर्दा पछाडि, शैतानले परमेश्वरसँग बाजी लगायो, र विभिन्न शारीरिक, भावनात्मक, र आत्मिक कष्टहरू अय्यूबमाथि आइपरे। अय्यूबले परमेश्वरको विरुद्ध विद्रोह नगरी वा उहाँबाट टाढा नभई धेरै कठिनाइहरू सहे, र जब उनकी पत्नीले उनलाई परमेश्वरमाथिको विश्वास त्याग्न लगाउन बाधा दिइन् र आक्रमण गरिन्, तब पनि उनी अटल रहे। अन्तमा, शैतानले के देख्यो भने अय्यूबले ठूलो कष्ट भोग्दा पनि परमेश्वरलाई इन्कार वा धोका दिएनन्, र लज्जित भएर पछि हट्यो। यो कुरा मनमा लिएर, परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प झनै दृढ भयो। पछि, मेरा काकाले मेरो मन बदल्न मलाई मनाउन लगभग हरेक दिन आफन्तहरूलाई घरमा ल्याउनुभयो। काकाले भन्नुभयो, “अहिले तेरा लागि के महत्त्वपूर्ण छ, तेरो कर्तव्य कि तेरो परिवार? छान्!” उहाँहरूले परमेश्वरको विरोध गर्ने र इन्कार गर्ने धेरै कुराहरू पनि भन्नुभयो, र मैले परमेश्वरको प्रतिरोध गर्ने र घृणा गर्ने उहाँहरूको साँचो अनुहार स्पष्ट रूपमा देखेँ। उहाँहरूले जतिसुकै मनाउन वा बाधा दिन खोजे पनि, कुनै पनि कुराले मेरो निर्णय बदल्न सकेन। मैले आफ्नो कर्तव्य गरिरहेँ र आफ्नो सामान पोको पारेर घर छोडेँ। अब म ब्रदर-सिस्टरहरूसँगै आफ्नो कर्तव्य पूरा गरिरहेकी छु, र मलाई सहजता र शान्तिको महसुस हुन्छ। अन्ततः, म स्वतन्त्र रूपमा परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न सक्छु!