४२. म ईर्ष्याको पासोमा परेँ

सु जुआन, चीन

म मण्डलीमा चित्रहरू डिजाइन गर्ने कर्तव्य निर्वाह गर्थें, र पछि म टोली अगुवाका रूपमा छानिएँ। केही समयको सहकार्यपछि, टोलीको कामको प्रगति केही हदसम्म सुधार भयो, र डिजाइनको गुणस्तर पनि बढ्यो। अगुवाले मलाई धेरै महत्त्व दिनुहुन्थ्यो, र धेरैजसो समय टोलीका मामिलामा मसँग सल्लाह गर्नुहुन्थ्यो। यदि कुनै सिस्टरको स्थिति खराब भए वा उनमा प्राविधिक सीपको कमी भए, मलाई थप सङ्गति गर्न र मद्दत गर्न पनि भनिन्थ्यो। मैले कतिपटक त अगुवाले अरू टोलीहरूमा मेरो कार्य क्षमताको प्रशंसा गर्नुभएको कुरा पनि सुन्थेँ, अनि म आफू अरूभन्दा उत्कृष्ट रहेकी, र आफूमा राम्रो क्षमता रहेको भन्ने सोचेर मनमनै खुसी हुन्थेँ।

सन् २०१९ को अगस्टमा, सिस्टर ली वेन आफ्नो कर्तव्य निर्वाह गर्न हाम्रो टोलीमा सरुवा भइन्। अगुवाले उनको क्षमता निकै राम्रो रहेको बताउँदै मलाई उनको संवर्धनमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो। त्यसपछिका अन्तरक्रियाहरूमा, मैले ली वेनको क्षमता साँच्चै नै निकै राम्रो भएको देखेँ। कहिलेकाहीँ उनले चित्रहरूमा मैले छुटाएका समस्याहरू पत्ता लगाउँथिन्, र उनले दिने परिमार्जनका सुझावहरू निकै नवीन र अद्वितीय हुन्थे। टोलीकी अर्की सिस्टर, झाओ लिङ्ग पनि उनको प्रशंसा गर्थिन्। यही बेला, मेरो मनमा एक किसिमको सङ्कटको महसुस भयो, र मैले सोचेँ, “यदि म ली वेनजस्तो कुसल हुन सकिनँ भने, कसले मेरो प्रशंसा गर्ला र? हुँदैन। मैले आफ्नो कर्तव्यको प्राविधिक पक्षमा कडा मेहनत गर्नुपर्छ।” तर मैले जति नै कडा मेहनत गरे पनि, म प्राविधिक क्षेत्रमा ली वेनजस्तो कुसल हुन सकिनँ, न त मैले ली वेनले जस्तो विस्तृत रूपमा समस्याहरू देख्न सकेँ। मलाई धेरै हताश महसुस भयो। पछि, मैले झाओ लिङ्ग ली वेनसँग नजिक भइरहेकी बुझेँ, उनी कुनै पनि समस्यामा ली वेनको मद्दत खोज्थिन्, र जब अगुवाले हामीसँग समस्याहरूबारे छलफल गर्नुहुन्थ्यो, ली वेनका दृष्टिकोण र सुझावहरूले प्रायः सबैको स्वीकृति पाउँथे। मलाई पन्छाइएको महसुस भयो। विशेष गरी जब अगुवाले आफू जानैलाग्दा ली वेनलाई अझ धेरै अभ्यास गर्न प्रोत्साहन दिनुभयो, यो सुनेर मलाई निकै असहज महसुस भयो, र मैले सोचेँ, “ली वेनको क्षमता राम्रो छ भन्ने कुरामा म इन्कार गर्दिनँ, तर म पनि केही कम त छैन नि! मैले बनाएका धेरै चित्रहरू पहिले छानिएका छन्, र म समस्याहरू समाधान गर्न पनि सक्षम छु। तपाईंहरू यी कुराहरू किन देख्नुहुन्न?” यस्ता कुराहरू मनमा खेलाउँदै, म ली वेनप्रति ईर्ष्यालु भएँ, र सोचेँ, “तिमी आउनुअघि, अगुवाले मलाई धेरै महत्त्व दिनुहुन्थ्यो र हरेक कुरामा मसँग सल्लाह गर्नुहुन्थ्यो, तर तिमी आएदेखि, मलाई पन्छाइएको छ, तिमीले मेरो ‘चमक’ खोस्यौ!” मैले जति धेरै यसबारे सोचेँ, यो असन्तुलनको भावना उति नै बढ्दै गयो, र म ली वेनलाई घृणा गर्न थालेँ।

पछि, मैले ली वेन र एक जना अतिथि-सत्कार गर्ने सिस्टरबीच केही खटपट भएको देखेँ, तर मैले कुनै सङ्गति वा मद्दत गरिनँ, बरु उनको अवस्थामा रमाएँ, र सोचेँ, “तिमी त सबै कुरामा राम्रो हुनुपर्ने होइन र? सबैले तिम्रो प्रशंसा गर्दैनन् र? तिमीले यी अतिथि-सत्कार गर्ने सिस्टरसँगको सम्बन्ध पनि मिलाउन नसक्ने कसरी भयो?” कहिलेकाहीँ, ती अतिथि-सत्कार गर्ने सिस्टर हाम्रो अगाडि ली वेनका केही झर्कोलाग्दा व्यक्तिगत बानीहरूबारे बताउँथिन्, र मैले मुखले उनलाई ली वेनसँग सही तरिकाले व्यवहार गर्नुपर्छ भने तापनि, भित्रभित्रै, म उनी ली वेनप्रति पूर्वाग्रही होऊन्, त्यसो भएमा मानिसहरूले ली वेनलाई त्यति महान् मान्ने छैनन् र उनलाई त्यति उच्च सम्मान दिने छैनन् भन्ने आशा गर्थें। एक दिन, हामीले हाम्रा कला विधिबारे एउटा सञ्चार-पत्र लेख्नुपर्ने भयो र केही चित्रहरू परिमार्जन पनि गर्नुपर्ने भयो। म सञ्चार-पत्र लेख्नमा निकै सिपालु थिएँ, तर अगुवाले ली वेनको प्रशंसा गर्नुभएको कुरा सोचेर मलाई पत्र लेख्न मन लागेन। मैले सोचेँ पत्र लेख्ने कार्य ली वेनको कमजोर पक्ष हो, त्यसैले मैले उनलाई नै लेख्न लगाएँ। मैले सोचेँ यदि उनले राम्रोसँग लेखिनन् भने, अरूले उनलाई उच्च सम्मान दिन छोड्छन्। मैले निष्कपट भएको बहाना गर्दै ली वेनलाई भनेँ, “झाओ लिङ्ग र म डिजाइनमाथि काम गर्छौं, अनि तिमी पत्र लेख। हरेकले हरेक काममा दक्ष भएर अभ्यास गर्नुपर्छ, त्यसैले तिमीले सक्दो प्रयास गरेर लेख, धेरै दबाब नलिनू।” ली वेनले आफूले यस्तो पत्र पहिले कहिल्यै नलेखेकी र यदि राम्रो भएन भने समय खेर जान्छ कि भन्ने डर भएको बताइन्, तर मैले उनलाई लेख्न कर गरिरहेँ। उनले लेखेको पत्र समग्रमा ठीकै देखिन्थ्यो तर केही विवरणको कमी थियो। मैले सोचेँ, “किन तिमीलाई यसले चुनौती दिइरहेको छैन? यही गतिमा त तिमीले मेरो चमक खोस्नेछ्यौ! तिमीले लेखेको पत्रमा कमजोरीहरू छन् भएकोले मैले तिमीलाई कमजोर देखाउनैपर्छ!” मैले केही अंशहरू अस्पष्ट भएका, र अन्यमा विवरणको कमी भएको भन्दै धेरै समस्याहरू औँल्याइदिएँ। मैले यति धेरै समस्याहरू औँल्याएकी देखेर ली वेन केही नकारात्मक भइन्। पछि, मैले जानाजानी ली वेनलाई अप्ठ्यारोमा पार्ने उद्देश्यले टोलीका केही चुनौतीपूर्ण कामहरू उनलाई दिएँ। कहिलेकाहीँ, म ली वेनले प्रकट गरेको कुनै सानो भ्रष्टतालाई समातेर झाओ लिङ्गसँग उनको आलोचना गर्थें, उनी कति अहङ्कारी छिन्, र कसरी उनले आफ्नो झर्कोलाग्दो बानीलाई नियन्त्रणमा राख्दिनन् र अतिथि-सत्कार गर्ने सिस्टरलाई दिक्क बनाउँछिन् भन्थेँ। यसले गर्दा झाओ लिङ्ग ली वेनप्रति पूर्वाग्रही भइन्। ली वेन धेरै बन्धित र नकारात्मक भइन्, र आफ्नो कर्तव्य निर्वाह गर्न अर्को टोलीमा जान चाहिन्। ली वेनलाई यति नकारात्मक देखेर, मलाई चसक्क दोषी महसुस भयो, र सोचेँ, “के म उनीप्रति धेरै कठोर भइरहेकी छु?” तर फेरि मैले सोचेँ, “यदि मैले यसो गरिनँ भने, मैले टोलीमा खुट्टा टेक्ने ठाउँ कसरी पाउँला र? मलाई कसले पो ध्यान देला र? मेरो टोली अगुवाको पद पनि जोखिममा पर्न सक्छ।” यी सोचहरूले त्यो दोषी भावनालाई हटाइदिए। पछि, अगुवाको सङ्गति र मदतले, ली वेनको स्थितिमा सुधार आयो। त्यसैबिच म भने ईर्ष्यामा डुबिरहेँ र ली वेनसँग सहकार्य गर्न सकिनँ। पछि, मलाई दुई महिनाभन्दा बढी समयसम्म दाँत दुख्यो, र जति औषधि खाए पनि केही काम लागेन। सिस्टरहरूले मलाई आत्मचिन्तन गर्न सम्झाउनुभयो, तर मैले बाहिरी कारणहरू मात्र खोजिरहेँ। तब अगुवाले म प्रतिष्ठा र हैसियतबारे ज्यादै चिन्तित भएको, अरूलाई पन्छाएको, अरूसँग मिलेर सहकार्य नगरेको, टोलीलाई अस्तव्यस्त पारेको, र काममा महिनौँसम्म कुनै परिणाम नल्याएको भन्दै मलाई खुलासा गर्नुभयो। उहाँले म ख्रीष्ट विरोधीको मार्गमा हिँडिरहेकीले मलाई पदबाट हटाइएको बताउनु भयो। उहाँका कुराहरूले मेरो हृदय छेड्यो र म दुःखी भएँ। मैले दुष्ट काम गरेकी रहेछु भन्ने महसुस गरेँ र म रोई मात्र रहेँ। मलाई लाग्यो प्रतिष्ठा र हैसियतप्रतिको मेरो तीव्र चिन्ताको अर्थ परमेश्‍वरले मलाई मुक्ति दिनुहुनेछैन, त्यसैले मैले आफैँमा हरेस खाएँ। पछि, झाओ लिङ्गले आफ्ना अनुभवहरू बाँडिन् र मलाई मद्दत गरिन्, उनले मलाई हरेस नखान र आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्छ भन्दै प्रोत्साहन दिइन्।

एक साँझ, मेरो आत्मिक भक्तिको बेला, मैले “सत्यताको खोजी गर्नको लागि अत्यावश्यक सङ्कल्प” भन्ने शीर्षकको परमेश्‍वरको वचनको एउटा भजन सुनेँ, जसले मेरो मन छोयो। परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले यो कुरा बुझ्नैपर्छ: ‘मलाई जे आइपरे पनि, ती सबै मैले मेरो सत्यता पछ्याइमा सिक्नैपर्ने पाठ हुन्—ती परमेश्‍वरद्वारा बन्दोबस्त गरिएका हुन्। म कमजोर हुन सकुँला, तर म नकारात्मक छैनँ, र यी पाठहरू सिक्ने मौका दिनुभएकोमा म परमेश्‍वरप्रति आभारी छु। मेरा लागि यो अवस्था खडा गरिदिनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु। म परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने आफ्नो सङ्कल्प त्याग्‍न सक्दिनँ। यदि मैले त्यो त्याग्ने हो भने, त्यो शैतानसामु हार मान्‍नु, आफूलाई बरबाद गर्नु, र परमेश्‍वरलाई धोका दिनु समान हुन्थ्यो।’ तँसँग यस्तो सङ्कल्प हुनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ)। आँखाभरि आँसु लिएर मनमनै मैले यो भजन घरीघरी गाएँ। मलाई के महसुस भयो भने बर्खास्त हुनु र मबारे अगुवाले गर्नुभएको कठोर खुलासा परमेश्‍वरबाटै आएको थियो, र यो मेरा लागि परमेश्‍वरको प्रेम र मुक्ति थियो। म यति लाटिएकी र हठी भएकी थिएँ, जिद्दीपूर्वक प्रतिष्ठा र हैसियतको पछि लागिरहेकी थिएँ, र ख्रीष्ट विरोधीको मार्गमा हिँडिरहेकी थिएँ। मलाई लामो समयसम्म दाँत दुखेको थियो, अनि सिस्टरहरूले पनि मलाई सम्झाउनुभएको थियो र मद्दत गर्नुभएको थियो, तर मैले पश्चात्ताप गर्ने विचार गरिनँ। मेरो दिमाग ली वेनको प्रशंसा हुनुको अर्थ मलाई बेवास्ता गरिनु हो भन्ने सोचले भरिएको थियो, र मलाई प्रतिष्ठा र हैसियतको मेरो चाहनाले अन्धो बनाएको थियो, जसले मलाई ली वेनलाई घृणा गर्न र उनीप्रति पूर्वाग्रही हुन, उनलाई चोट पुऱ्याउने कामहरू गर्न, र टोलीलाई अस्तव्यस्त पार्ने बनायो। तर मैले आत्मचिन्तन गर्नुको सट्टा परमेश्‍वरले मलाई अब कहिल्यै मुक्ति दिनुहुनेछैन भन्ने गलत सोच राखेर आफैँमा हरेस खाएँ। के मैले परमेश्‍वरको अभिप्रायलाई तोडमोड गरिरहेकी थिइनँ र? मलाई वास्तवमा परमेश्‍वरको हृदयको कुनै समझ नै रहेनछ। मैले आफैँलाई चिनेकी रहिनछु! यो महसुस गरेपछि, मैले परमेश्‍वरप्रति साँच्चै ऋणी महसुस गरेँ, र यदि परमेश्‍वरले मलाई सजाय दिन र ताडना दिन यी परिस्थितिहरूको बन्दोबस्त नगरिदिनुभएको भए, मैले आत्मचिन्तन गर्ने नै थिइनँ, र म गलत मार्गमा हिँडिरहने थिएँ। मैले परमेश्‍वरलाई गलत बुझिरहनु हुँदैनथ्यो र म आफ्नो स्थिति सुधार्न उहाँका वचनहरू राम्ररी खान र पिउन चाहन्थेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जुन मेरो स्थितिसँग प्रत्यक्ष रूपमा सान्दर्भिक थियो। परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले देखेँ परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म अरूको क्षमतामाथि ईर्ष्या गर्थें र मेरो स्वभाव खराब थियो। डिजाइन बनाउने काम धेरै महत्त्वपूर्ण हुन्छ, र यसमा नवीन विचार र अन्तर्दृष्टि भएका मानिसहरूको सहकार्य आवश्यक हुन्छ। यसले डिजाइनको प्रभावकारिता बढाउन मद्दत गर्छ। तर झाओ लिङ्ग र म त्यति नवीन विचारयुक्त थिएनौँ, जबकि ली वेन यस क्षेत्रमा उत्कृष्ट थिइन्, जसले गर्दा हाम्रा कमजोरीहरूको राम्रोसँग पूर्ति हुन्थ्यो। यो कामको लागि लाभदायक थियो र मण्डलीमा उनीजस्तो व्यक्ति भएकोमा म खुसी हुनुपर्थ्यो। तर मैले त्यसरी सोचिनँ। प्रतिष्ठा र हैसियत पछ्याइका कारण, मैले हरेक मोडमा ली वेनमाथि ईर्ष्या गरेँ। जब मैले उनको क्षमता मेरोभन्दा राम्रो छ र अगुवाले उनलाई महत्त्व दिनुहुन्छ भन्ने थाहा पाएँ, म उनीबाट ओझेलमा पर्छु कि भनेर डराएँ र उनलाई उछिन्न कटिबद्ध भएँ, तर अचम्मको कुरा, मैले जति नै प्रयास गरे पनि, म अझै उनको बराबरीमा पुग्न सकिनँ। तर म हार मान्न तयार थिइनँ, त्यसैले मैले ली वेनलाई अप्ठ्यारोमा पार्न थालेँ, खोट खोज्ने र जानाजानी उनलाई लज्जित पार्ने काम गरेँ। मैले ली वेनले प्रकट गरेको भ्रष्टतालाई समातेर उनको पिठ्यूँ पछाडि न्याय र तुच्छ व्यवहार समेत गरेँ, जसले गर्दा मानिसहरूले उनलाई उच्च सम्मान गर्न छाडे। मैले आफू वास्तवमै दुर्भावपूर्ण रहेकी, र आफूमा सामान्य मानिसमा हुने विवेक रहेनछ भन्ने बुझेँ! सामान्य मानवता र विवेक भएको व्यक्तिले अरूलाई हानि पुऱ्याउने काम गर्दैन। यस्तो व्यक्ति इमानदार हुन्छ, परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्छ, र उसको हृदय उहाँतिर झुकेको हुन्छ, र ऊ परमेश्‍वरको घरको काममा कसैले सहकार्य गरेको देख्दा खुसी हुन्छ। तर मैले त कामलाई अघि बढाउन असफल मात्र भइनँ, अझ यसमा बाधा पुऱ्याएँ र यसलाई भत्काएँ। मेरा कार्य र व्यवहार परमेश्‍वरका लागि यति घृणित थिए, र म वास्तवमै मानव कहलाइन लायक नै थिइनँ!

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीको सारको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै क्रूर हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। … यति मात्र होइन, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः झूटहरू रच्‍छन् र तथ्यहरूलाई बङ्ग्याउँछन्, साथै आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने मानिसहरूलाई होच्याउँछन् र निन्दा गर्छन्। ती मानिसहरूले जस्तोसुकै काम गरे पनि, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बहिष्कार गर्ने र दमन गर्ने बहाना खोज्छन्, र उनीहरू अहङ्कारी र आत्मधर्मी छन्, उनीहरूलाई धाक लगाउन मन पर्छ, र उनीहरूले महत्त्वाकाङ्क्षा बोकेका हुन्छन् भन्दै उनीहरूको आलोचना गर्छन्। वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकाहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्‍ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्‍वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने आवश्यकताहरू र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘म कुनै हालतमा यो कुरा सहनेवाला छैनँ। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न र मसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा लोकप्रिय छस्, र तँ मैले भन्दा बढी लगनशीलताका साथ सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र तैँले मेरो श्रेय खोसिस् भने, त्यसपछि मैले के गर्ने?’ के तिनीहरू परमेश्‍वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका खुलासाका वचनहरू धेरै स्पष्ट छन्। ख्रीष्ट विरोधीहरूले हैसियतलाई ठूलो महत्त्व दिन्छन् र अरूलाई आफूभन्दा अगाडि बढ्न दिँदैनन्। जब कोही उनीहरूभन्दा अगाडि बढ्छ र उनीहरूको हैसियतलाई खतरामा पार्छ, उनीहरूले त्यो व्यक्तिलाई आक्रमण गर्न र पन्छाउन सक्दो प्रयास गर्छन्, जबसम्म उनीहरूले अर्को व्यक्तिलाई पूर्ण रूपमा ध्वस्त पार्दैनन् तबसम्म हार मान्दैनन्। यो साँच्चै दुर्भावपूर्ण हुन्छ! ख्रीष्ट विरोधीहरू आफ्नो हैसियत कसरी जोगाउने भन्ने मात्र सोच्छन् र परमेश्‍वरका घरको हितका बारेमा कहिल्यै सोच्दैनन्। परमेश्‍वरका घरको हितमा हानि पुगे पनि वा ब्रदर-सिस्टरहरूलाई चोट पुगे पनि, उनीहरू उदासीन रहन्छन्। मेरो काम गराइ यो विवरणसँग मेल खान्थ्यो। मैले ली वेनको बुझाइ राम्रो भएको, छिटो प्रगति गरिरहेको, अद्वितीय अन्तर्दृष्टि दिन सक्ने, र उनले अगुवा र सँगै सहकार्य गर्ने सिस्टरबाट स्वीकृति पाएको देखेँ, त्यसैले मैले आफ्नो हैसियत गुमाइएला भन्ने चिन्तामा परेर ली वेनप्रति वैरभाव राखेँ। मलाई उनले मेरो “चमक” खोसेकी भन्ने विश्वास थियो, त्यसैले मैले उनलाई पन्छाउन थालेँ। मैले जानाजानी उनलाई अप्ठ्यारोमा पारेर नराम्रो देखाउन खोजेँ, र मैले उनको पिठ्यूँ पछाडि न्याय पनि गरेँ, अतिथि-सत्कार गर्ने सिस्टर र झाओ लिङ्गलाई आफ्नो पक्षमा तानेर ली वेनलाई पन्छाउने र निशाना बनाउने काम गरेँ। म उनलाई नकारात्मकतामा धकेलेर आफ्नो “इलाका” बाट बाहिर निकाल्न चाहन्थेँ। मैले म साँच्चै अनैतिक र धोकेबाज बनेकी रहिछु भन्ने बुझेँ! म “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ” र “महापुरुष एक जना मात्रै हुन सक्छ” जस्ता शैतानी विषहरूद्वारा नियन्त्रित भइरहेकी थिएँ। म अरू कसैलाई सहन सक्दिनथेँ, र मैले आफूभन्दा राम्रो कसैलाई भेट्टाउँदा कि त घृणा गर्थें कि त ईर्ष्या, र उनीहरूलाई दुःख दिन षड्यन्त्र समेत गर्थें, जबसम्म उनीहरू नकारात्मक भएर हार्दैनथे तबसम्म हार मान्दिनथेँ। अहिले फर्केर हेर्दा, म यी शैतानी विषहरूअनुसार जिएकी रहिछु र ममा धेरै अहङ्कारी र दुर्भावपूर्ण स्वभाव रहेछ। मेरा वचन र कार्यहरूमा, मैले परमेश्‍वरका घरको हितका बारेमा कहिल्यै सोचिनँ। मेरो यो स्वभाव ख्रीष्ट विरोधीको भन्दा कसरी फरक थियो र?

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र आफ्नो हितको रक्षा गर्ने र मण्डलीको काममा बाधा पुऱ्याउने मेरा कार्यहरूको प्रकृति र परिणामहरूबारे केही समझ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तैँले सधैँ परमेश्‍वरले रक्षा गर्न चाहनुहुने कुराहरूलाई बाधा र अवरोध गर्छस्, र जग कमजोर पार्छस् भने, यदि तैँले सधैँ त्यस्ता कुराहरूप्रति अवहेलना प्रदर्शन गर्छस्, र तीप्रति सधैँ धारणा र विचारहरू राख्छस् भने, तैँले परमेश्‍वरलाई खण्डन गरिरहेको र उहाँविरुद्ध खडा भइरहेको हुन्छस्। यदि तैँले परमेश्‍वरको घरको काम र परमेश्‍वरको घरका हितहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, र सधैँ तिनलाई कमजोर पार्न, र सधैँ विनाश गर्न चाहन्छस्, वा सधैँ तीबाट फाइदा लिन, ठग्न, वा हिनामिना गर्न चाहन्छस् भने, के परमेश्‍वर तँसँग रिसाउनुहुनेछैन र? (रिसाउनुहुनेछ।) अनि, परमेश्‍वरको रिसका परिणामहरू के-के हुन्? (हामीलाई दण्ड दिइनेछ।) यो कुरा निश्‍चित छ। परमेश्‍वरले तँलाई अवश्य नै क्षमा गर्नुहुनेछैन! किनभने तैँले गरिरहेको कुरा मण्डलीको काम तोड्नु र नष्ट गर्नु हो, र यो परमेश्‍वरको घरको काम र हितहरूसँग बाझिन्छ। यो ठूलो दुष्टता हो, यो परमेश्‍वरसँगको प्रतिस्पर्धामा प्रवेश गर्नु हो, र यो परमेश्‍वरको स्वभाव प्रत्यक्ष रूपमा चिढ्याउने कुरा हो। यस्तोमा परमेश्‍वर तँसँग नरिसाई कसरी बस्‍न सक्‍नुहुन्छ र? यदि कतिपय मानिसहरूले कमजोर क्षमता भएर अनि कामसम्बन्धी दक्षता नभएर अनजानमा अवरोध र बाधा पैदा गर्ने कुराहरू गर्छन् भने, त्यो माफ दिन सकिने कुरा हो। तर यदि तँ आफ्नै व्यक्तिगत हितहरूको कारण डाहा र कलहमा संलग्‍न हुन्छस् र जानीजानी परमेश्‍वरको घरको काममा अवरोध, बाधा, र विनाश ल्याउने कुराहरू गर्छस् भने, यो जानीजानी गरिएको उल्लङ्घन हो, र यो परमेश्‍वरको स्वभाव चिढ्याउने मामला हो। अनि, के तँलाई परमेश्‍वरले क्षमा गर्नुहुनेछ र? परमेश्‍वरले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाको काम गरिरहनुभएको छ, र उहाँको सबै रगत-पसिना यसैमा गएको छ। यदि कसैले परमेश्‍वरको विरोध गर्छ, जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ, र जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि हुने गरी आफ्ना व्यक्तिगत हित र व्यक्तिगत प्रतिष्ठा र हैसियत पछ्याउँछ, र मण्डलीको काम तोड्न कति पनि हिच्किचाउँदैन, र यसरी परमेश्‍वरको घरको काममा बाधा र विनाश ल्याउँछ, र परमेश्‍वरको घरलाई ठूलो भौतिक र आर्थिक हानिसमेत पुर्‍याउँछ भने, तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरूलाई क्षमा गरिनुपर्छ? (अहँ, तिनीहरूलाई क्षमा गरिनु हुँदैन।) … ख्याति, प्राप्ति र हैसियत पछ्याउनु, र आफ्नै हितहरू पछ्याउनु—यो त दुष्टता गर्न शैतानसँग सहकार्य गर्नु, र परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरको काममा अवरोध गर्ने हेतुले, शैतानले मानिसहरूलाई परीक्षा गर्न, बाधा दिन, बहकाउन, परमेश्‍वरलाई पछ्याउनबाट रोक्न र परमेश्‍वरमा समर्पित हुन सक्षम बन्‍न नदिन विभिन्‍न वातावरणहरू पैदा गर्छ। अनि यसको साटो, तिनीहरू शैतानसँग सहकार्य गर्छन् र त्यसैलाई पछ्याउँछन्, र जानीजानी परमेश्‍वरको काम बाधा दिन र नष्ट गर्न खडा हुन्छन्। परमेश्‍वरले सत्यताबारे जति धेरै सङ्गति गर्नुभए पनि, तिनीहरू अझै पनि होशमा आउँदैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जति नै काटछाँट गरे पनि, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरमा पटक्‍कै समर्पित हुँदैनन्, बरु आफ्नै तरिकाले काम गर्न र जे मन लाग्यो त्यही गर्न जोड दिन्छन्। फलस्वरूप, तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन् र त्यसलाई नष्ट गर्छन्, मण्डलीको विविध कामको प्रगतिमा गम्भीर असर पार्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छन्। यो पाप अत्यन्तै ठूलो हुन्छ, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अवश्यै दण्ड दिनुहुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरू पढ्दा, मलाई परमेश्‍वरले मेरै सामुन्ने मेरो खुलासा गरिरहनुभएझैँ लाग्यो। उहाँका वचनहरूले मेरो मनमा गहिरो प्रहार गरे र मलाई साँच्चै डर लाग्यो। ली वेन अझ धेरै र अझ राम्रा डिजाइनहरू बनाउन सक्थिन्, जसले मण्डलीको कामलाई फाइदा पुऱ्याउँथ्यो भन्ने कुरा विचार गर्दा, म उनलाई समर्थन गर्न र यो कामलाई जोगाउन असफल मात्र भइनँ, बरु मैले उनलाई लगातार पन्छाएँ र जानाजानी उनलाई अप्ठ्यारोमा पार्न र एक्ल्याउन उनका कमजोरीहरूको फाइदा समेत उठाएँ। यसले गर्दा ली वेन नकारात्मक स्थितिमा परिन् र आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न नसक्ने भइन्। टोलीको काममा पनि गम्भीर असर पऱ्याे, र महिनौँसम्म कुनै परिणामहरू आएनन्। मैले जे गरेँ, त्यो मण्डलीको कामलाई धराशायी बनाउने, बाधा दिने र बर्बाद गर्ने काम थियो। यो परमेश्‍वरको विरोध गर्नु र उहाँको स्वभावलाई क्रोधित पार्नु थियो। मैले शाऊल कसरी दाऊदप्रति ईर्ष्यालु थिए भन्नेबारे सोचेँ। परमेश्‍वरले दाऊदलाई अभिषेक गर्नुभयो, र दाऊदले यहोवा परमेश्‍वरमा भरोसा राखेर विजय हासिल गरे र इस्राएलीहरूको समर्थन पाए। शाऊलले उनलाई सहन सकेनन्, र उनले दाऊद हुँदा, आफूले आफ्नो सिंहासन जोगाउन नसक्ने महसुस गरे, त्यसैले उनले दाऊदलाई मार्ने प्रयास गर्दै लगातार पछ्याए, तर परमेश्‍वरको सुरक्षाले गर्दा, शाऊलले दाऊदलाई हानि गर्न सकेनन्, र शाऊल अन्ततः युद्धभूमिमा मरे। मेरा कार्यहरू सारमा शाऊलका जस्तै थिए। म आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन छलकपट प्रयोग गरिरहेकी थिएँ, र मैले ली वेनलाई पन्छाएँ र दुःख दिएँ, जसले गर्दा उनी नकारात्मक स्थितिमा जिइन् र आफ्नो कर्तव्य निभाउने प्रेरणा गुमाइन्, यहाँसम्म कि उनले टोली नै छोड्न समेत चाहिन्। फर्केर हेर्दा, बाहिरबाट हेर्दा मैले ली वेनलाई दुःख दिन खोजिरहेकी जस्तो देखिए तापनि, वास्तवमा, म त मण्डलीको काम भत्काइरहेकी र परमेश्‍वरको विरोध गरिरहेकी रहेछु! ली वेन आफ्नो कर्तव्यमा प्रभावकारी थिइन्, तर मैले उनलाई पन्छाउन सक्दो जुक्ति लगाएँ, र जब मैले उनलाई बाहिर धकेल्न सकेँ, म खुसी भएँ। यसले मण्डलीको काममा अवरोध र बाधा दिँदै थियो। के यो दियाबलस र शैतानले गर्नेजस्तो काम थिएन र? यो सोचले मलाई भयभीत बनायो। मेरो स्वभाव यति दुर्भावपूर्ण होला भनेर मैले सोचेकी थिइनँ। अहिले फर्केर हेर्दा, मलाई बर्खास्त गरिनु साँच्चै नै परमेश्‍वरको धार्मिकता थियो! त्यस क्षण, मैले पश्चात्तापको आँसु झारेँ, र यति मानवताविहीन भएकोमा मैले आफैलाई घृणा गरेँ! मैले पश्चात्तापमा आफ्ना विगतका गल्तीहरूलाई पूर्ण रूपमा सुधार्न तयार हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ।

भोलिपल्ट बिहान, मेरो आत्मिक भक्तिको बेला, मैले ब्रदर-सिस्टरहरूले ईर्ष्या समाधानका आफ्ना अनुभवहरूबारे लेखेका अनुभवात्मक गवाही लेखहरू पढेँ, र मैले अभ्यासको मार्ग भेट्टाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। “तैँले यी कुराहरूलाई छोड्न र पन्छाउन, अरूहरूलाई सिफारिस गर्न, र तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा चम्कने अवसर भेट्नेबित्तिकै फाइदा लिन संघर्ष वा हतार नगर्। तैँले यी कुराहरू पन्छ्याउन सक्‍नुपर्छ, र कर्तव्य निर्वाह गर्न ढिलाइ पनि गर्नु हुँदैन। तँ यस्तो व्यक्ति बन् जो चुपचाप गुमनामीमा काम गर्छ, र निष्ठापूर्वक कर्तव्य निभाउँदा अरूलाई धाक देखाइहिँड्दैन। तैँले आफ्नो घमण्ड र हैसियत जति धेरै छोड्छस्, र तैँले आफ्ना हितहरू जति धेरै त्याग्छस्, तँ त्यति नै धेरै शान्ति महसुस गर्नेछस्, तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले के बुझेँ भने हाम्रो कर्तव्यमा ली वेनसँग सहकार्य गर्दा, मैले अभ्यास गर्नुपर्ने एउटा सत्यता थियो। मैले आफ्नो स्थानमा ठीकसँग उभिएर आफ्नो हितका फाइदा र नोक्सानहरूबारेका आफ्ना सोचाइहरूलाई पन्छाउनुपर्थ्यो, र मैले मण्डलीको कामलाई जोगाउन र आफ्नो कर्तव्य राम्रोसँग निभाउन सिक्नुपर्थ्यो। व्यक्तिको क्षमता परमेश्‍वरद्वारा निर्धारित हुन्छ र आफैले परिवर्तन गर्न सकिँदैन। ठ्याक्कै ली वेन जस्तै, उनको तीक्ष्ण समझ र अन्तर्दृष्टि थियो, उनका दृष्टिकोण र उनले बनाएका डिजाइनहरू नवीन र रचनात्मक थिए, र उनी राम्रो क्षमता भएकी व्यक्ति थिइन्। जबकि मेरो क्षमता औसत थियो, र म ली वेनजस्ती नवीन थिइनँ, त्यसैले मैले उनीसँग जति नै प्रतिस्पर्धा गरे पनि, उनलाई उछिन्न सकिनँ। मैले पहिले मेरो काममा पाएको प्रभावकारिता सबै परमेश्‍वरको मार्गदर्शन र ब्रदर-सिस्टरहरूको सहकार्यबाट प्राप्त भएको परिणामहरूका कारणले थियो, मेरो बलियो कार्य सामर्थ्य वा मेरो क्षमताको कारणले होइन। तर मैले परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद दिइनँ। बरु, मैले यी परिणामहरूका निम्ति आफैँलाई श्रेय दिएँ, आफूसँग राम्रो क्षमता भएको र आफू एक प्रतिभाशाली व्यक्ति भएको घमण्ड गरेँ। म साँच्चै निर्लज्ज रहेछु! यदि मलाई बर्खास्त नगरिएको, र अगुवाद्वारा कठोर काँटछाँट नभएको भए, म अझै पनि प्रतिष्ठा र हैसियतका लागि ली वेनसँग प्रतिस्पर्धा गरिरहेकी हुन्थेँ, र अन्तमा म किन हटाइएँ भन्ने पनि थाहा पाउने थिइनँ! अब मैले महसुस गरेँ प्रतिष्ठा र हैसियत पछ्याउनुको कुनै अर्थ थिएन। यसबारे सोच्दा, अरूले मलाई उच्च सम्मान गरे पनि के फाइदा थियो र? मैले एक पटक अरूबाट प्रशंसा र समर्थन पाएकी थिएँ, तर त्यो केवल अस्थायी महिमा र गर्व थियो। मेरो भ्रष्ट स्वभाव अलिकति पनि परिवर्तन भएको थिएन, र म अझै पनि ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गरिरहेकी थिएँ। अन्तमा, म यति बेहोसी भएँ कि मेरा सिस्टरहरूले मेरै आँखा अगाडि मेरा गल्तीहरू औँल्याइदिँदा पनि मैले आत्मचिन्तन गर्नुपर्छ भन्ने महसुस गरिनँ। मैले आफू प्रतिष्ठा र हैसियतले अन्धो भएकी थाहा पाएँ। म साँच्चै मूर्ख बनेकी रहिछु! मैले मूल्यहीन प्रतिष्ठा र हैसियतका लागि लडाइँ गरेकी थिएँ, र आफ्नो तर्फबाट परमेश्‍वरको सामुन्ने गम्भीर अपराधहरू छोडेकी थिएँ। मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। यो साँच्चै मूल्यहीन थियो! मण्डलीले ली वेन र मलाई सँगै कर्तव्य निभाउने बन्दोबस्त गरेको थियो ताकि हामी मिलेर सहकार्य गर्न र आ-आफ्नो शक्तिलाई प्रयोगमा ल्याउन सकौँ। यो परमेश्‍वरले भन्नुभएजस्तै हो: “प्रत्येकले आफ्नो कर्तव्य पूरा गर्छ” र “प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। जब हामी आफ्ना कर्तव्यहरू राम्रोसँग निभाउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न सँगै कडा मेहनत गर्छौं, तब परमेश्‍वरको हृदयले सन्तुष्टि प्राप्त गर्छ। यसबारे मनन गर्दा, मैले ठूलो राहतको महसुस गरेँ। आफ्नो ईर्ष्यालाई त्याग्दा, मैले आफ्नो हृदयमा यति धेरै शान्ति र सहजता महसुस गरेँ।

एक महिनाभन्दा बढीको आत्मिक भक्ति र मननपछि, मैले आफूलाई केही हदसम्म बुझेँ, र तब अगुवाले मलाई फेरि ली वेन र अरूसँगै कर्तव्य निभाउने बन्दोबस्त गर्नुभयो। मलाई थाहा थियो यो परमेश्‍वरको कृपा थियो, र परमेश्‍वरले मलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको थियो, त्यसैले म परमेश्‍वरप्रति साँच्चै आभारी भएँ! त्यस समय, ली वेन टोली अगुवा थिइन्, र अगुवाले सबै प्रकारका मामिलामा उनीसँग सल्लाह गर्नुहुन्थ्यो। मलाई अलि असहज महसुस भयो। मैले मेरो ईर्ष्या फेरि सल्किरहेको महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, परमेश्‍वरलाई ममाथि नजर राख्न र मलाई सत्यता अभ्यास गर्न र मेरो सिस्टरप्रतिको ईर्ष्या त्याग्न मद्दत गर्न बिन्ती गरेँ। पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरूको चालचलनका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार चालचलन देखाउनुपर्छ, आफ्ना लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणका रूपमा, कतिपय मानिसहरू निश्‍चित व्यावसायिक सीप भएका सिद्धान्तहरू बुझेका हुन्छन्, र तिनीहरूले त्यो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा अन्तिम जाँच गर्नुपर्छ; विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्ने, अरूलाई उत्प्रेरित गरेर कर्तव्य अझ राम्ररी निभाउन मदत गर्ने मानिसहरू पनि हुन्छन्—त्यसोभए तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउनर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्‍नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। ली वेनको प्राविधिक सीप राम्रो थियो र उनका रचनाहरू नवीन र रचनात्मक थिए, र टोली अगुवाको रूपमा उनले टोलीको कामलाई अघि बढाउन सक्थिन् भन्ने कुरा विचार गर्दा, मैले उनीसँग मिलेर सहकार्य गर्नुपर्थ्यो र हाम्रा कर्तव्यहरू राम्रोसँग निभाउनु पर्थ्यो। म प्राविधिक रूपमा ली वेनजस्तो सिपालु थिइनँ भन्ने कुरा एउटा तथ्य थियो, र त्यसैले मैले आफ्ना कमीकमजोरीहरूलाई सही रूपमा हेर्नुपर्थ्यो र उनीसँग ईर्ष्या गर्नुहुँदैनथ्यो। मेरो क्षमता परमेश्‍वरद्वारा निर्धारित छ, र मैले यो परमेश्‍वरबाट स्वीकार गर्नुपर्छ, समर्पित हुन सिक्नुपर्छ, र आफ्नो शक्ति योगदान गर्नुपर्छ। यो मेरो कर्तव्य र जिम्मेवारी हो। पहिले ली वेनसँग राम्ररी सहकार्य नगर्दा मण्डलीको काममा नोक्सानीहरू भए, तर परमेश्‍वरले मलाई अर्को मौका दिनुभएको छ, जसलाई मैले कदर गर्नुपर्छ, र मैले अब कुनै बाधा दिने वा कमजोर बनाउने काम गर्नुहुँदैन। यस्तो कुरा मनमा राखेर, म ली वेनप्रतिको आफ्नो केही ईर्ष्या त्याग्न सक्षम भएँ। हाम्रो सहकार्यको क्रममा, म आफूले बुझेजति बताउँथेँ, र ली वेनले राखेका राम्रा सुझावहरूलाई स्वीकार गर्थें। यसरी, हामी एउटै मन र हृदयका भयौँ, हामीले मिलेर सहकार्य गर्‍यौँ, र हाम्रा कर्तव्यहरूको प्रभावकारितामा सुधार आयो। मैले आफ्नो जीवन प्रवेश र आफ्नो प्राविधिक सीपमा पनि केही प्रगति गरेँ। म ईर्ष्याको बन्धनबाट मुक्त हुन र मेरी सिस्टरसँग मिलेर सहकार्य गर्न सक्षम भएँ। यो परमेश्‍वरका वचनहरूले ममा काम गरिरहेको परिणाम थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ३९. म अब उमेरका कारण व्याकुल वा चिन्तित हुन्नँ

अर्को:  ४३. मेरो छोराको मृत्युको छायाबाट बाहिर निस्कँदै गर्दा

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger