४३. मेरो छोराको मृत्युको छायाबाट बाहिर निस्कँदै गर्दा

लि लान, चीन

विश्वासी भएको यत्तिका वर्षमा, मैले सिद्धान्तत: सधैँ जानेकी थिएँ हाम्रो भाग्य अनि हाम्रा जन्म र मृत्यु सबै परमेश्‍वरकै हातमा हुन्छन्, तर वास्तवमा, ममा परमेश्‍वरको साँचो बुझाइ थिएन। परमेश्‍वरले मेरा धारणाअनुरूप नहुने परिस्थिति योजनाबद्ध गर्नुहुँदा, मेरो छोराको मोटरसाइकल दुर्घटनामा अचानक मृत्यु हुँदा, मैले गुनासा, गलतफहमी र तर्क-वितर्क प्रदर्शन गरेँ, म पूर्ण रूपमा प्रकटित भएँ। त्यति बेला मात्र मैले आफ्नो वास्तविक कद थाहा पाएँ। साथै, मैले विश्वासद्वारा आशिष् पाउनेसम्बन्धमा आफ्नो गलत दृष्टिकोणहरूबारे पनि केही बुझाइ पाएँ।

यो २०१७ को जुलाई महिनाको कुरा हो, अनि म र मेरो श्रीमान् स्थानीय तवरमा विश्वासीका रूपमा बढी चिनिएका थियौँ, यहाँसम्म कि प्रहरी हामीलाई अनुसन्धान गर्न धेरै पटक हाम्रो घरमा आयो। हामी हाम्रो छोरालाई छोडेर घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्न बाध्य भयौँ। पछि, प्रहरीले हाम्रो बारेमा सोधपुछ गरिरह्यो र त्यसैले मेरो श्रीमान् र म पछिल्लो सात वर्षमा कुनै पनि बेला घर फर्कन सकेनौँ। कहिलेकाहीँ जब मैले अरू केटाकेटीले “मम्मी” भनेर बोलाएको सुन्थेँ, मेरो मन पीडाले चसक्क हुन्थ्यो। म केवल कुनै दिन घर गएर छोरालाई हेर्न पाउँला भन्ने आशा गर्थेँ, तर हाम्रो अवस्थाको कारण, हामी घर फर्कने आँट गरेनौँ र आफ्नो गाउँका ब्रदर-सिस्टरहरूबाट मात्र छोराको बारेमा जानकारी लिन सक्थ्यौँ। हरेक पटक जब म मेरो छोरा स्वस्थ र सुरक्षित छ भन्ने सुन्थेँ, म परमेश्‍वरलाई उहाँको हेरविचार र सुरक्षाका लागि धन्यवाद दिन्थेँ र मन ढुक्क भएर आफ्नो कर्तव्य पूरा गर्न सक्थेँ।

२०२३ को अगस्ट महिनाको एक दिउँसो, मैले मेरो सुपरिवेक्षकबाट एउटा सन्देश पाएँ, जसमा वाङ्ग काईको छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जानकारी थियो। वाङ्ग काई मेरै श्रीमान् हुनुहुन्छ। उनीहरूले मेरो छोराको मृत्यु भएको भन्दै थिए। यो कुरा असम्भव लाग्यो, र मैले सायद सुपरिवेक्षकले गल्ती गर्नुभएको होला भन्ने सोचेँ। आफ्नो छोराको मृत्यु भएको भन्ने मैले विश्वासै गर्न सकिनँ। मैले आँखा मिचेँ र सन्देशलाई फेरि ध्यान दिएर पढेँ, तर योभन्दा स्पष्टसँग त लेख्न सकिने नै थिएन। म भुइँमा ढलेँ र डाँको छोडेर रुन थालेँ। मेरो परिवारमा यस्तो कसरी हुन सक्छ? मलाई पखेटा पलाओस् र उडेर घर गई छोरालाई अन्तिम पटक हेर्न सकूँ जस्तो लाग्यो, तर म र मेरो श्रीमान् दुवैलाई प्रहरीले निशाना बनाएको थियो र घर जानु सुरक्षित थिएन। जब मैले हाम्रो मृत छोरालाई हेर्न घर जान नसक्ने कुरा सोचेँ, मेरो छातीमा छुराले रोपेझैँ पीडा भयो। मैले परमेश्‍वरलाई गलत बुझ्न र दोष दिन थालें: “हे परमेश्‍वर! तपाईंले मेरो छोराको सुरक्षा किन गर्नुभएन? आस्थामा प्रवेश गरेदेखि नै, मेरो श्रीमान् र मैले सधैँ कर्तव्य निर्वाह गरेका छौँ। ठूलो रातो अजिङ्गरको सतावट र निशानाको सामना गर्दै, हामीले घर छोड्यौँ र आजसम्म आफ्नो कर्तव्य पूरा गर्न आफ्नै छोरालाई त्याग्यौँ। मण्डलीले हामीलाई जुनसुकै कर्तव्य सुम्पे पनि, हामीले कहिल्यै अस्वीकार गरेनौँ। हाम्रो छोरा जम्मा ३० वर्षको थियो; ऊ त भर्खरको जवान थियो। मैले आफ्नै छोरालाई गाड्नुपर्‍यो! आमाको रूपमा मेरो एक मात्र आशा मेरो छोरा थियो, र अब मसँग केही पनि छैन र मैले ऊ बित्नुअघि उसलाई हेर्न समेत पाइनँ। हामी सँगै बितेको भए हुन्थ्यो र म मृत्युपछि उसँगै हुन सक्थेँ।” मैले आफ्नो सोचाइमा गल्ती गरेकी, आफूले परमेश्‍वरलाई दोष दिइरहेकी र गलत बुझिरहेकी महसुस गरेँ, त्यसैले मैले हतारमा परमेश्‍वरलाई चुपचाप प्रार्थना गर्न थालेँ, “हे परमेश्‍वर! जब मैले आफ्नो छोरा मोटरसाइकल दुर्घटनामा मरेको सुनेँ, मैले तुरुन्तै स्वीकार गर्न सकिनँ, तर मैले तपाईंलाई दोष दिनु र गलत बुझ्नु हुँदैनथ्यो। हे परमेश्‍वर! कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई तपाईंको सामुन्ने शान्त हुन दिनुहोस्।” मैले पटक-पटक परमेश्‍वरसँग मद्दतको लागि प्रार्थना गरेँ, र बिस्तारै म शान्त हुन थालेँ। यद्यपि, जब मैले मेरो छोरा कसरी मऱ्याे, र मैले उसलाई फेरि कहिल्यै देख्नेछैन भन्ने सोचेँ, मलाई अझै पनि निकै पीडा र कमजोरी महसुस भयो। म ओछ्यानमा पल्टिएँ, खान-पिउन मानिनँ र रातभरि सुतिनँ। मैले मनमा छोराको अनुहारको कल्पना गरेँ, र मनमनै उसको नाम बोलाएँ जबकि आँसुले मेरो दृष्टि धमिलो बनायो।

त्यसपछिका केही दिनहरू, म छोराको पीडादायी यादमा बाँचिरहेँ र केही गर्न मन लागेन। मलाई सुसमाचारको काममा अघि बढ्ने प्रेरणै भएन र काममा ढिलाइ भयो। मलाई म यो अवस्थामा डुबिरहन हुँदैन किनकि म सुसमाचारको कामको जिम्मेवारीमा छु भन्ने थाहा थियो। मेरो छोराको मृत्यु भएको थियो, तर मैले बाँच्नैपर्थ्यो र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो! मैले आँसु पुछेँ र परमेश्‍वरको अगाडि घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! म यो दिक्दार स्थितिमा रहन चाहन्नँ। कृपया मलाई यो परिस्थितिबाट पाठ सिक्न र यो दुःखबाट बाहिर निस्कन मार्गदर्शन गर्नुहोस्।” प्रार्थनापछि, मैले मेरो अगुवाले मलाई पठाउनुभएको परमेश्‍वरका वचनहरूको एक खण्ड पढेँ: “कतिपय अज्ञानी आमाबुबा जीवन वा नियति बोध गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता चिन्दैनन्, र तिनीहरू छोराछोरीबारे अज्ञानी कामहरू गर्न प्रवृत्त हुन्छन्। उदाहरणको लागि, आत्मनिर्भर बनेपछि, छोराछोरीलाई केही विशेष परिस्थिति, कठिनाइ वा ठूला घटनाहरू आइपर्न सक्छन्; कतिपय बिरामी हुन्छन्, कतिपय मुद्दामा फस्छन्, कतिपयको सम्बन्धविच्छेद हुन्छ, कतिपय धोका र ठगीमा पर्छन्, र कतिपयलाई अपहरण गरिन्छ, क्षति पुर्‍याइन्छ, गम्भीर कुटपिट गरिन्छ, वा मृत्यु आइलाग्छ। कतिपय त लागूपदार्थ, र आदि इत्यादि दुर्व्यसनमा समेत फस्छन्। यी विशेष र महत्त्वपूर्ण परिस्थितिहरूमा आमाबुबाले के गर्नुपर्छ? अधिकांश आमाबुबाहरूको खाट्टी प्रतिक्रिया के हुन्छ? के आमाबुबाको नाताले तिनीहरूले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम गर्छन्? आमाबुबाले यस्ता समाचार सुनेर जसरी प्रतिक्रिया दिन्छन्, यदि कुनै नौलो मान्छेमाथि यस्ता घटनाहरू घट्ने हो भने, तिनीहरूले त्यसरी त विरलै मात्र प्रतिक्रिया जनाउँछन्। अधिकांश आमाबुबाहरू कपाल फल्ने गरी रातभर जागै बस्छन्, तिनीहरूलाई रातैपिच्छे निन्द्रा लाग्दैन, दिनमा भोक लाग्दैन, तिनीहरू दिमाग खियाउँदै सोच्छन्, र कतिपय त आँखा रातो हुन्जेल र आँसु सुकुन्जेल रुन्छन्। तिनीहरूले आफ्नो आस्थाबारे विचार गरिदिनुहोस् र आफ्ना बच्चाहरूलाई सुरक्षा गरिदिनुहोस्, तिनीहरूमाथि निगाह गरिदिनुहोस् र आशिष् दिइदिनुहोस्, कृपा देखाइदिनुहोस् र जीवन बचाइदिनुहोस् भनी उत्कट रूपमा परमेश्‍वरलाई प्रार्थना गर्छन्। आमाबुबाहरू यस्तो परिस्थितिमा पर्दा, तिनीहरूका कमजोरी, नाजुकता र छोराछोरीप्रतिका तिनीहरूका भावना सबै पर्दाफास हुन्छन्। अनि, अर्को के कुरा पर्दाफास हुन्छ? परमेश्‍वरविरुद्धको तिनीहरूको विद्रोहीपन। तिनीहरू परमेश्‍वरलाई बिन्ती र प्रार्थना गर्छन्, र आफ्ना बच्चाहरूलाई सङ्कटबाट जोगाउन अनुनय विनय गर्छन्। तिनीहरू कुनै विपत्‌ आउँदा पनि आफ्ना छोराछोरी नमरून्, खतराबाट उम्‍कन सकून्, दुष्ट मानिसहरूको हानिमा नपरून्, र उनीहरूको रोग गम्भीर नहोस् बरु निको होस् भनेर प्रार्थना गर्छन्। अनि, तिनीहरू साँच्चिकै केको लागि प्रार्थना गरिरहेका हुन्छन्? (परमेश्‍वर, यी प्रार्थनामार्फत तिनीहरू गुनासोको सङ्केत गर्दै परमेश्‍वरसामु मागहरू राखिरहेका हुन्छन्।) एकातिर, तिनीहरू छोराछोरीको पीडाप्रति अत्यन्तै असन्तुष्ट भएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूका छोराछोरीलाई यस्ता कुराहरू हुन नदिनुभएको भए हुन्थ्यो भनी गुनासो गर्छन्। तिनीहरूको असन्तुष्टिमा गुनासो मिसिएको हुन्छ, र तिनीहरू परमेश्‍वरलाई उहाँको मन परिवर्तन गर्न, यस्तो कार्य नगर्न, तिनीहरूका छोराछोरीलाई खतरामुक्त पार्न, उनीहरूलाई सुरक्षित राख्‍न, उनीहरूको रोग निको पार्न, उनीहरूलाई मुद्दाबाट पन्छिन मद्दत गर्न, र सङ्कट आइपर्दा त्यसलाई रोक्‍न, र आदि इत्यादि कुराहरू गर्न—र छोटकरीमा भन्दा, सबथोक राम्ररी चल्ने बनाइदिन आग्रह गर्छन्। यसरी प्रार्थना गरेर, एकातिर तिनीहरू परमेश्‍वरसित गुनासो गरिरहेका हुन्छन्, र अर्कोतिर, तिनीहरू उहाँसित माग गरिरहेका हुन्छन्। के यो विद्रोहीपनको प्रकटीकरण होइन र? (हो।) अप्रत्यक्ष रूपमा, तिनीहरू परमेश्‍वरले जे गरिरहनुभएको छ त्यो ठिक वा राम्रो होइन, र उहाँले त्यस्तो कार्य गर्नु हुँदैन भनेर भनिरहेका हुन्छन्। यिनीहरू तिनीहरूका छोराछोरी भएकाले र उनीहरू विश्‍वासी भएकाले, तिनीहरू आफ्ना बच्चाहरूमाथि परमेश्‍वरले यस्ता कुराहरू हुन दिनु हुँदैन भन्‍ने सोच्छन्। तिनीहरूलाई लाग्छ, तिनीहरूका छोराछोरी अरूभन्दा फरक छन्; र परमेश्‍वरको आशिष्‌मा उनीहरूले प्राथमिकता पाउनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको कारण, उहाँले तिनीहरूका छोराछोरीलाई आशिषित् तुल्याउनुपर्छ, र यदि तुल्याउनुभएन भने, तिनीहरू निराश हुन्छन्, रुन्छन्, रिस पोख्छन्, र त्यसउप्रान्त परमेश्‍वरलाई पछ्याउन चाहँदैनन्। यदि तिनीहरूको बच्चा मर्‍यो भने, तिनीहरू आफू पनि जिइरहन नसक्ने महसुस गर्छन्। के तिनीहरूको मनमा हुने भावना यही होइन र? (हजुर।) के यो परमेश्‍वरको विरोध होइन र? (हो।) यो परमेश्‍वरको विरोध गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूले मेरो वर्तमान अवस्थालाई पूर्ण रूपमा प्रकट गरिदिए। जब मैले आफ्नो छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको खबर सुनेँ, मैले खान-पिउन छोडेँ र मैले अनुचित रूपमा परमेश्‍वरसँग तर्कवितर्क गरेँ, उहाँको प्रतिरोध गरेँ, उहाँलाई दोष दिएँ, र उहाँलाई गलत बुझेँ। मैले यसो किन गरेँ भने मेरो विश्वासमा एउटा गलत दृष्टिकोण थियो। मेरो श्रीमान् र मैले कठिनाइहरूका बारेमा अलिकति पनि गुनासो नगरी आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र काम त्यागेका थियौँ, र हाम्रा आफन्तहरू र छिमेकीहरूले हामीलाई खिल्ली उडाउँदा र प्रहरीले हामीलाई खेदो गर्दा र सताउँदा पनि हामीले आफ्नो कर्तव्य पूरा गरिरह्यौँ। मैले सोचेकी थिएँ जबसम्म मैले कामकुराहरू त्याग्छु, आफूलाई समर्पण गर्छु, र आफ्नो कर्तव्यमा धेरै दुःख भोग्छु अनि धेरै मूल्य चुकाउँछु, परमेश्‍वरले पक्कै पनि मेरो छोरालाई बिमारी र दुर्घटनाबाट जोगाउनुहुनेछ र उसलाई स्वस्थ जीवन जिउन दिनुहुनेछ। जब मैले मेरो छोरा मोटरसाइकल दुर्घटनामा मरेको सुनेँ, आफूले त्यागेका र खर्चेका कुरालाई परमेश्‍वरसँग तर्क गर्ने पुँजीको रूपमा प्रयोग गर्दै, र मेरो छोरालाई सुरक्षा नदिनुभएकोमा उहाँलाई दोष दिँदै मैले परमेश्‍वरसँग तर्क गर्न र उहाँको प्रतिरोध गर्न थालेँ। मैले यो पनि सोचेँ मेरो छोरा मरिसकेपछि, मेरो बाँच्नुको कुनै अर्थ छैन र मृत्युपछि आफ्नै छोरासँगै बस्नु राम्रो हुनेछ! आफ्नो व्यवहारलाई फर्केर हेर्दा, मैले आफू परमेश्‍वरले योजनाबद्ध गर्नुभएको परिस्थितिप्रति प्रतिरोधी र असन्तुष्ट रहेकी थाहा पाएँ। यसको प्रकृति परमेश्‍वरविरुद्धको विद्रोह र कोलाहल थियो—यो उहाँविरुद्धको विरोध थियो! मेरो छोराको मृत्युले मेरो वास्तविक कद प्रकट गर्‍यो। मैले स्पष्ट रूपमा देखेँ मेरो लामो समयको आस्था, परिवार र करियर त्याग्नु, दुःख भोग्नु र मूल्य चुकाउनु, सबै अनुग्रह र आशिष्‌ साट्नका लागि परमेश्‍वरसँग गर्न चाहेको एउटा व्यापार मात्र थियो। मैले अय्यूबले भोगेको अविश्वसनीय परीक्षाका बारेमा सोचेँ, उनले आफ्ना सबै सम्पत्ति र छोराछोरी गुमाए, र शरीरभरि खटिरा निस्कियो, तर उनी विना शर्त परमेश्‍वरमा समर्पित भए र उहाँको नामको प्रशंसा समेत गरे र परमेश्‍वरको लागि आफ्नो गवाहीमा दृढ रहे। आफ्नो व्यवहारलाई अय्यूबको व्यवहारसँग तुलना गरेपछि मलाई लाज लाग्यो। मैले परमेश्‍वरलाई दोष दिन बन्द गर्नुपर्थ्यो। मैले आफ्नो गवाहीमा दृढ रहन र शैतानलाई लज्जित पार्न उहाँमा भरोसा गर्नुपर्थ्यो!

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढ्ने काम जारी राखेँ र विश्वासबारे आफ्नो गलत दृष्टिकोणबारे बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के ‘एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा उसको सम्पूर्ण परिवार आशिषित हुन्छ’ भन्‍ने युग लामो समयअघि नै बितिसकेको छैन र? (हजुर, बितिसकेको छ।) तब, किन मानिसहरू अझै पनि व्रत बसेर यसरी प्रार्थना गर्छन्, र परमेश्‍वरलाई निर्लज्‍ज रूपमा आफ्ना छोराछोरीलाई रक्षा गर्नुहोस् र आशिषित तुल्याउनुहोस् भन्दै बिन्ती गर्छन्? तिनीहरू किन अझै पनि परमेश्‍वरको विरोध गर्ने र उहाँसित जोरी खोज्ने आँट गर्छन्, र ‘तपाईंले यसो गर्नुभएन भने म प्रार्थना गरिरहनेछु; म व्रत बसिरहनेछु!’ भनेर भनिरहन्छन्? यो व्रत बस्नुको अर्थ के हो? यसको अर्थ अनशन बस्नु हो, र अर्को अर्थमा यो निर्लज्ज व्यवहार गर्नु र रिस पोखाउनु हो। जब मानिसहरूले अरू मान्छेप्रति निर्लज्ज व्यवहार गर्छन्, तिनीहरूले आफ्नो खुट्टा बजार्दै यसो भन्न सक्छन्, ‘ओहो, मेरो बच्चा मर्‍यो; अब म बाँच्न चाहँदिनँ, म जिइरहन सक्दिनँ!’ परमेश्‍वरसामु हुँदा तिनीहरूले यसो गर्दैनन्; तिनीहरू निकै शिष्ट रूपमा बोल्छन्, र यसो भन्छन्, ‘परमेश्‍वर, म तपाईंलाई मेरो बच्चाको रक्षा गर्न र उसको रोग निको पार्न बिन्ती गर्छु। परमेश्‍वर, तपाईं मान्छेलाई बचाउने महान्‌ चिकित्सक हुनुहुन्छ—तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। म तपाईंलाई उनीहरूलाई हेर्न र रक्षा गर्न बिन्ती गर्छु। तपाईंको आत्मा जताततै छ, तपाईं धर्मी हुनुहुन्छ, तपाईं मान्छेलाई कृपा देखाउने परमेश्‍वर हुनुहुन्छ। तपाईं तिनीहरूलाई हेरचाह गर्नुहुन्छ र प्रिय ठान्नुहुन्छ।’ अनि, यसले के अर्थ दिन्छ? तिनीहरूले भनिरहेको कुनै पनि कुरा गलत होइन, तर त्यस्ता कुराहरू भन्‍ने त्यो सही समय होइन। यसको तात्पर्य, यदि परमेश्‍वरले तेरो बच्चा बचाउनुभएन र रक्षा गर्नुभएन भने, यदि उहाँले तेरा इच्छाहरू पूरा गर्नुभएन भने, के उहाँ प्रेमिलो परमेश्‍वर हुनुहुन्न, के उहाँ प्रेमरहित हुनुहुन्छ, के उहाँ कृपालु परमेश्‍वर हुनुहुन्न, र के उहाँ परमेश्‍वर हुनुहुन्न भन्‍ने हो? के यहाँ त्यही भएको छैन र? के यो निर्लज्ज व्यवहार गर्नु होइन र? (हो।) के निर्लज्ज व्यवहार गर्ने मान्छेले परमेश्‍वरलाई सम्मान गर्छन्? के तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? (हुँदैन।) निर्लज्ज व्यवहार गर्ने मानिसहरू दुर्जनहरूजस्तै हुन्—तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम गरिने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने खाडल मात्रै हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने परमेश्‍वरले “एक जनाले प्रभुमा विश्वास गर्दा, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्ने युग धेरै अघि बितिसकेको छ भन्नुभयो। तैपनि मैले आफ्नो विश्वासमा यही दृष्टिकोणलाई कायम राखेँ। आफ्नो विश्वासका धेरै वर्षहरूलाई फर्केर हेर्दा, बाहिरी रूपमा मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियर त्यागेको जस्तो देखिन्थ्यो, तर वास्तवमा म केवल परमेश्‍वरबाट अनुग्रह प्राप्त गर्न चाहन्थेँ। जब म आफ्नो छोरा ठिक छ अनि स्वस्थ र सुरक्षित छ भन्ने सुन्थेँ, मलाई जुनसुकै कर्तव्य दिए पनि, म कर्तव्यनिष्ठ भई निर्वाह गर्थेँ। जब मैले आफ्नो छोराको मृत्युको भयानक खबर सुनेँ, मैले परमेश्‍वरसँग तर्क गर्न र उहाँको प्रतिरोध गर्न थालेँ साथै ममा कर्तव्य पूरा गर्ने कुनै प्रेरणा थिएन। मैले आफ्नो छोरासँगै हुनका लागि आत्महत्या गर्ने समेत सोचेँ र परमेश्‍वरका बारेमा गलत बुझाइ र गुनासाले भरिएँ। परमेश्‍वरका वचनहरूलाई आफूसँग तुलना गर्दा, मैले आफू रिसले उन्मत्त भइरहेकी एक निर्लज्ज व्यक्ति भएकी थाहा पाएँ। मैले वर्षौंदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, उहाँका धेरै वचनहरू खाएँ र पिएँ, तर मेरो हृदयमा उहाँप्रति अलिकति पनि समर्पण वा डर थिएन। मैले ती वर्षहरू केवल आशिष् प्राप्त गर्नका लागि दुःख भोग्दै र आफूलाई खर्चिंदै बिताएकी थिएँ, म केवल परमेश्‍वरसँग लेनदेन गर्दै थिएँ र मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। जब मैले परमेश्‍वरको अनुग्रह र आशिष् प्राप्त गरिनँ, मैले उहाँविरुद्ध कोलाहल गर्न र उहाँसँग तर्क गर्न थालेँ। ममा अलिकति पनि मानवता वा समझ थिएन!

पछि, मैले अर्को खण्ड पढेँ, जसले मलाई किन “एक जनाले प्रभुमा विश्वास गर्दा, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्ने दृष्टिकोण गलत हो भनेर अझ राम्रोसँग बुझ्न मद्दत गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “हरेकको एउटा सुहाउँदो गन्तव्य छ, जुन हरेक व्यक्तिको सारअनुसार निर्धारित हुन्छ, अनि यसको अरू मानिसहरूसँग बिलकुलै सरोकार छैन। एउटा बालकको दुष्ट व्यवहार उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, आमाबुबाको दुष्ट व्यवहार उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन, न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। सबैले आ-आफ्नै पापहरू वहन गर्छन्, र सबैले आ-आफ्ना आशिष्‌को आनन्द उठाउँछन्। कोही व्यक्तिले पनि अर्को व्यक्तिको ठाउँ लिन सक्दैन; यो धार्मिकता हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूद्वारा मैले बुझेँ परमेश्‍वरले मानिसहरूको सार र समग्र व्यवहारअनुसार तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्छ। एक विश्वासीका भएर, आफ्नो कर्तव्य पूरा गर्नु मेरो जिम्मेवारी थियो र योसँग मेरो छोराको भाग्य र गन्तव्यको कुनै सम्बन्ध थिएन। मैले परमेश्‍वरमा विश्वास गरेको कारणले मात्रै मेरो छोराको भाग्य बदलिने थिएन। परमेश्‍वरले विश्वासी र गैरविश्वासी सबैको भाग्यमा शासन गर्नुहुन्छ। परमेश्‍वरका बन्दोबस्तहरू सधैँ धर्मी हुन्छन् र त्यसैले मैले तिनीहरूमा समर्पित हुनुपर्थ्यो, यो नै तर्कसङ्गत कुरा हुनेथियो। तैपनि म “एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्ने गलत दृष्टिकोणमा चलेँ, र सोचेँ मैले कामकुराहरू त्यागेकी, आफूलाई समर्पित गरेकी र आफ्नो कर्तव्य पूरा गरेकी हुनाले परमेश्‍वरले मेरो छोराको सुरक्षा गर्नुपर्छ। यो दृष्टिकोण मेरा आफ्नै धारणा र कल्पनाहरूबाट आएको थियो र सत्यतासँग बिलकुलै मेल खाँदैनथ्यो।

परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै, मैले विश्वासद्वारा आशिष् प्राप्त गर्ने सम्बन्धमा आफ्नो गलत दृष्टिकोणबारे बुझाइ पाएँ। मैले आफूले आखिरमा छोराको मृत्युलाई पार गरिसकेकी भन्ने सोचेँ, तर जब परमेश्‍वरले मेरा लागि अर्को परिस्थिति योजनाबद्ध गर्नुभयो र मैले आफ्नो छोराको मृत्युको कारण थाहा पाएँ, मैले फेरि गुनासो गर्न थालेँ। अगस्ट १४ तारिखमा, मैले मेरी नन्दलाई भेटेँ, उनी पनि एक विश्वासी थिइन्, र उनले मलाई भनिन् दुर्घटनाको समयमा, मेरो छोरालाई धेरै चोट लागेको जस्तो देखिएको थिएन। उसलाई इमेजिङ्गका लागि अस्पताल लगियो र पछि घरमा आराम गर्न पठाइयो। घर पुगेपछि, उसलाई सास फेर्न गाह्रो हुन थाल्यो त्यसैले ऊ फेरि आफैँ अस्पतालमा भर्ना भयो, तर उसको अवस्थामा सुधार नहुने मात्र होइन, वास्तवमा झन् खराब चाहिँ भयो त्यसैले उसले अर्को अस्पतालमा सार्न अनुरोध गर्‍यो, तर उपचार गरिरहेका डाक्टरले अस्वीकार गरे। पछि, मेरो छोराको सास फेर्न गाह्रो हुने क्रम बढ्दै गएपछि मात्र डाक्टर उसलाई सार्न सहमत भए, तर अस्पताल जाँदै गर्दा बाटोमा, उसले सास फेर्न पूर्ण रूपमा बन्द गर्‍यो। शवपरिक्षणबाट के देखियो भने एउटा भाँचिएको करङले उसको फोक्सोमा चोट पुर्‍याएको थियो र संक्रमण भएको थियो। यदि उसको समयमै शल्यक्रिया गरिएको भए, ऊ सायद मर्दैनथ्यो। अस्पतालको गलत निदानले उसको मृत्यु भयो। जब मैले यी विवरणहरू सुनेँ, म पूर्ण रूपमा स्तब्ध भएँ र लगभग बेहोस भएँ। भावनात्मक पीडा छातीमा छुरा रोपेझैँ भयो। म आफ्नी नन्दलाई अँगालो हाल्दै डाँको छोडेर रोएँ। मैले मनमनै सोचें: “यदि म र मेरो श्रीमान् समयमै उसलाई सार्नका लागि वकालत गर्न त्यहाँ भएको भए, ऊ कहिल्यै मर्ने थिएन।” मेरी नन्दले मलाई सान्त्वना दिने प्रयास गरिन् र भनिन्, “यो अनुभवमा परमेश्‍वरको अभिप्राय छ; यसलाई परमेश्‍वरबाट स्वीकार गर्ने प्रयास गर्नुहोस्।” मेरी नन्दको टिप्पणीले मलाई अचानक आफूले फेरि गुनासो गरिरहेकी रहेछु भन्ने महसुस गरायो। मैले मेरो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो हृदयको रक्षा गर्न र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन मद्दत गर्न अनुरोध गरेँ। त्यसपछि मैले केही दिन अघि पढेको परमेश्‍वरका वचनहरूको एक खण्ड याद गरेँ: “परमेश्‍वरको सार्वभौमिकता उहाँले तोक्नुभएको र योजना गर्नुभएको हो। के तैँले त्यो बदल्‍न चाहनु ठिक हो? (अहँ, होइन।) त्यो ठिक होइन। त्यसकारण, मानिसहरूले मूर्ख वा अनुचित काम गर्नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूमाथि सोच्दा, मैले मानिसको जीवन र मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छ भन्ने महसुस गरेँ। यदि हामी घरमा भएको भए र डाक्टरलाई छिटो शल्यक्रिया गर्न प्रोत्साहित गरेको भए पनि, यदि उसको समय आएको थियो भने, ऊ जसरी पनि मर्ने थियो र हामीले यसको बारेमा केही गर्न सक्ने थिएनौँ। परमेश्‍वरसँग गुनासो गर्नु मेरा लागि धेरै अनुचित थियो। यो महसुस गरेपछि, मलाई धेरै सहज महसुस भयो। म परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन र शान्तिपूर्वक आफ्नो कर्तव्य पूरा गर्न तत्पर भएँ।

पछि, मैले एउटा भिडियोमा परमेश्‍वरका वचनहरूको एक खण्ड भेटेँ जसले मलाई आफ्नो आस्थामा आशिष् पछ्याउने गलत दृष्टिकोणबारे केही अन्तरदृष्टि दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूमाथि मनन गर्दा, मैले महसुस गरेँ आफ्नो कर्तव्य पूरा गर्नु र आशिषित वा श्रापित हुनु पूर्ण रूपमा असम्बन्धित हुन्छन्। कर्तव्यहरू परमेश्‍वरले मानिसहरूलाई दिनुभएका आज्ञा हुन्, र हामी सबैले स्वाभाविक र न्यायोचित रूपमा पूरा गर्नुपर्ने हाम्रा पन्छाउन नमिल्ने जिम्मेवारीहरू हुन्। म एक सृजित प्राणी हुँ, र परमेश्‍वरले मलाई मेरो जीवन दिनुभयो, त्यसैले मैले मेरो कर्तव्य पूरा गर्नुपर्छ र मैले त्यागेका कामकुराहरू र आफ्ना खर्चहरूलाई परमेश्‍वरसँग अनुग्रह र आशिष्‌को लागि साट्ने पुँजीका रूपमा प्रयोग गर्नु हुँदैन। विश्वासी होस् वा गैरविश्वासी, हरेक व्यक्तिको भाग्य परमेश्‍वरद्वारा प्रबन्धित र शासित हुन्छ। जन्म, बुढ्यौली, बिमारी र मृत्यु सबै प्राकृतिक घटना हुन् र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “तँ तेरा छोराछोरीलाई रक्षा र प्रेम गर्छस्, तँसित तेरा छोराछोरीप्रति स्नेह छ, तँ उनीहरूलाई त्याग्न सक्दैनस्, त्यसैले तँ परमेश्‍वरलाई केही पनि गर्न दिँदैनस्। के यसो गर्नुको कुनै अर्थ छ? के यो सत्यता, नैतिकता वा मानवतासँग मिल्छ? त्यो केहीसँग पनि मिल्दैन, नैतिकतासँग समेत मिल्दैन, होइन र? तैँले आफ्ना छोराछोरीलाई प्रिय ठानिरहेको छैनस्, उनीहरूको रक्षा मात्र गरिरहेको छस्—तँ स्नेहबाट प्रभावित भएको छस्। तँ आफ्नो बच्चा मर्‍यो भने, बाँचिनबस्‍ने भनेरसमेत भन्छस्। तँ तेरो आफ्नै जीवनप्रति अत्यन्तै गैरजिम्मेवार छस् र परमेश्‍वरले तँलाई दिनुभएको जीवनलाई प्रिय ठान्दैनस्, त्यसैले यदि तँ आफ्ना बच्चाहरूको लागि मात्र जिउन चाहन्छस् भने, तँ जा, उनीहरूसँगै मरे हुन्छ। के यो सजिलो हुँदैन र? तँ मरेपछि, र तँ आत्मक क्षेत्रमा पुगेपछि, र तैँले जाँच्न र हेर्न सक्छस्: के तँ र तेरा बच्चाहरूको आत्मा उस्तै खालका हुनेछन्? के तिमीहरूको अझै पनि उस्तै भौतिक सम्बन्ध हुन्छ? के तिमीहरूमा अझै पनि एकअर्काप्रति स्नेह हुन्छ? जब तँ अर्को संसारमा फर्कन्छस्, तँ परिवर्तन हुनेछस्। के यो साँचो होइन र? (हो।) … उनीहरू मरेपछि कहाँ जानेछन्? उनीहरू मरेपछि, उनीहरूको शरीरले अन्तिम सास फेर्नेछ, उनीहरूको प्राण निस्केर जानेछ, र उनीहरूले तँबाट सधैँको लागि बिदा लिनेछन्। उनीहरूले तँलाई चिन्न छोड्नेछन्, र उनीहरू एक सेकेण्ड पनि बस्नेछैनन्, सिधै अर्को संसारमा फर्कनेछन्। उनीहरू त्यो अर्को संसारमा फर्केपछि, तँ रुन्छस्, उनीहरूलाई सम्झिन्छस्, र दुःख र पीडा महसुस गर्छस्, र यसो भन्छस्, ‘ओहो, मेरो बच्चाले छोडिगयो, मैले उसलाई फेरि कहिल्यै देख्न सक्नेछैनँ!’ के मृत व्यक्तिमा कुनै चेतना हुन्छ? उनीहरूलाई तेरो बारे केही चेतना हुँदैन, उनीहरूले तँलाई अलिकति पनि सम्झिँदैनन्। आफ्नो शरीर छोडेपछि उनीहरू तुरुन्तै तेस्रो पक्ष बन्छन्, र तँसँग उनीहरूको कुनै सम्बन्ध बाँकी रहँदैन। उनीहरूले तँलाई कुन रूपमा हेर्छन्? उनीहरूले भन्छन्, ‘त्यो बुढी, त्यो बुढो—तिनीहरू कसको लागि रोइरहेको हो? ओहो, तिनीहरू त कुनै शरीरको लागि रुँदै छन्। मलाई त म भर्खरै त्यो शरीरबाट छुट्टिएजस्तो महसुस हुन्छ: अहिले मलाई त्यस्तो गह्रुङ्गो लाग्दैन, र ममा रोगको पीडा बाँकी छैन—म मुक्त भएको छु।’ उनीहरूले महसुस गर्ने यही हो। मरेर शरीर छोडेपछि, उनीहरू अर्को संसारमा अस्तित्वमा रहिरहन्छन्, फरक भेषमा देखा पर्छन्, र तँसित उनीहरूको कुनै सम्बन्ध बाँकी हुँदैन। तँ यहाँ रुन्छस् र उनीहरूको तृष्णा गर्छस्, उनीहरूको लागि कष्ट भोग्छस्, तर उनीहरूलाई भने केही अनुभूति हुँदैन, केही पत्तो हुँदैन। धेरै वर्षपछि, भाग्य वा संयोगवश, उनीहरू तेरा सहकर्मी, वा तेरै देशका मानिस बन्न सक्छन्, वा उनीहरू तँबाट टाढा रहन सक्छन्। तिमीहरू एउटै संसारमा जिउने भए पनि, तिमीहरू दुई फरक मानिस हुनेछौ र तिमीहरूबीच कुनै सम्बन्ध हुनेछैन। विशेष परिस्थितिको कारण वा कुनै विशेष कुरा भनिएको कारण कतिपय मानिसहरूले उनीहरू अघिल्लो जुनीमा फलाना थिए भनेर चिन्न सक्लान्, तर तँलाई देख्दा उनीहरूलाई केही महसुस हुँदैन, र उनीहरूलाई देख्दा पनि तँलाई केही महसुस हुँदैन। अघिल्लो जुनीमा उनीहरू तेरो बच्चा भएका भए पनि अहिले तँलाई उनीहरूप्रति केही अनुभूति हुँदैन—तँ तेरो मृत बच्चाबारे मात्र सोच्छस्। उनीहरूलाई पनि तँप्रति केही अनुभूति हुँदैन: उनीहरूका आफ्नै आमाबुबा, आफ्नै परिवार र आफ्नै भिन्नै थर हुन्छन्—तँसित उनीहरूको कुनै सम्बन्ध हुँदैन। तर तँ अझै उनीहरूलाई सम्झिरहन्छस्—आखिर तँ के सम्झिरहेको हुन्छस्? तँ त्यो भौतिक शरीर र पहिले तँसँग रगतको नाता रहेको नाम मात्र सम्झिरहेको हुन्छस्; त्यो एउटा आकृति, अर्थात् एउटा छायाँ मात्र हो जुन तेरो सोच वा मनमा अल्झिरहन्छ—त्यसको कुनै वास्तविक मूल्य छैन। उनीहरूले पुनर्जन्म लिएका छन्, कुनै मानव वा अन्य कुनै प्राणीमा रूपान्तरित भएका छन्—तर तँसित उनीहरूको कुनै सम्बन्ध छैन। त्यसकारण, जब कतिपय आमाबुबाहरू ‘यदि मेरो बच्चा मर्‍यो भने, म पनि बाँचिबस्‍नेछैनँ’ भनेर भन्छन्—त्यो विशुद्ध अज्ञानता मात्र हो! उनीहरूको पो आयु सकिएको हो त, तैँले चाहिँ किन जिउन छोड्‍नुपर्‍यो नि? तँ किन यस्तो गैरजिम्मेवार बोली बोल्छस्? उनीहरूको आयु सकिएको छ, परमेश्‍वरले उनीहरूको धागो छिनाल्नुभएको छ, र उनीहरूको लागि अर्को काम छ—यसमा तेरो के सरोकार? यदि तेरो लागि अर्को काम छ भने, परमेश्‍वरले तेरो धागो पनि छिनाल्नुहुनेछ; तर अहिले तेरो लागि अर्को काम नभएकोले तैँले जिइरहनुपर्छ। यदि परमेश्‍वरले तँलाई जिउँदो चाहनुहुन्छ भने, तँ मर्न सक्दैनस्। चाहे आफ्ना आमाबुबा, बच्चा, वा जीवनका अरू कुनै पनि नातेदार वा रक्तनाता भएका मानिसहरू भए पनि, तिनीहरूप्रतिको स्नेहबारे मानिसहरूमा यस्तो विचार र बुझाइ हुनुपर्छ: मानिसहरूबीच रहेको स्नेहबारे कुरा गर्दा, यदि त्यो रगतको नाता हो भने, आफ्नो जिम्मेवारी पूरा गरे पुग्छ। तर आफ्ना जिम्मेवारीहरू पूरा गर्नुबाहेक, मानिसहरूमा कुनै कुरा परिवर्तन गर्ने न त दायित्व हुन्छ न त क्षमता नै। त्यसकारण, आमाबुबाले ‘यदि हाम्रा छोराछोरी मरे भने, यदि हामी आमाबुबाले आफ्नै बच्चा गाड्नुपर्‍यो भने, हामी बाँचिबस्‍नेछैनौँ’ भनेर भन्नु गैरजिम्मेवार कुरा हो। यदि बच्चाहरूलाई साँच्चिकै आफ्ना आमाबुबाले गाड्‍नुपरेमा, यति मात्र भन्न सकिन्छ कि यस संसारमा उनीहरूको समय यति मात्र थियो, र उनीहरूले जानैपर्ने थियो। तर उनीहरूका आमाबुबाहरू अझै यहीँ छन्, त्यसैले तिनीहरू राम्ररी जिइरहनुपर्छ। मानिसहरूले आफ्नो मानवताअनुसार, आफ्ना छोराछोरीबारे सोच्नु अवश्‍य नै सामान्य कुरा हो, तर तिनीहरूले मरेका छोराछोरी सम्झेर आफ्नो बाँकी समय खेर फाल्नु हुँदैन। त्यो मूर्खता हो। त्यसैले, यो मामला सामना गर्दा, एकातिर मानिसहरूले आफ्नो जीवनको जिम्मेवारी लिनुपर्छ, र अर्कोतिर पारिवारिक सम्बन्धहरूको पूर्ण बोध गर्नुपर्छ। मानिसहरूबीचको साँच्चिकैको सम्बन्ध देह र रगतको नातामा आधारित सम्बन्ध होइन, यो त परमेश्‍वरले सृष्टि गर्नुभएको एउटा प्राणी र अर्कोबीचको सम्बन्ध हो। यस्तो सम्बन्धमा देह र रगतको कुनै नाता हुँदैन; यो दुई स्वतन्त्र प्राणीहरूबीचको सम्बन्ध मात्र हो। यदि तैँले त्यसबारे यो कोणबाट सोचिस् भने, तेरा बच्चाहरू दुर्भाग्यवश बिरामी पर्दा वा उनीहरूको जीवन खतरामा हुँदा, आमाबुबाको रूपमा तैँले यी मामलाहरू सही रूपमा सामना गर्नुपर्छ। तेरा छोराछोरीको दुर्भाग्य वा मृत्युको कारण, तैँले आफूसँग बाँकी रहेको समय, आफूले लिनुपर्ने मार्ग, वा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू त्याग्नु हुँदैन—तैँले सही तरिकाले यो मामला सामना गर्नुपर्छ। यदि तँसित सही सोच र दृष्टिकोणहरू छन् र तैँले यी कुराहरू छर्लङ्गै बुझ्छस् भने, तैँले निराशा, दुःख, र तृष्णालाई चाँडै जित्नेछस्। तर तैँले यी कुराहरू छर्लङ्गै बुझ्न सकिनस् भने के हुन्छ? त्यसले तँलाई बाँकी जीवनभर, अर्थात् तँ मर्ने दिनसम्‍मै झस्काइरहनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेपछि मलाई धेरै स्पष्ट भयो। मेरो छोरा जीवित हुँदा, हामी आमा र छोरा थियौँ र रगतको नाता थियो। उसलाई जन्म दिएर वयस्क नहुन्जेल हुर्काएपछि, मेरो जिम्मेवारी पूरा भइसकेको थियो। उसको भाग्यका लागि, ऊ कहिले मर्ने, कसरी मर्ने, र उसको परिणाम र गन्तव्य के हुने, यो सबै परमेश्‍वरद्वारा शासित र बन्दोबस्त गरिएको थियो। उसको समय सकियो र परमेश्‍वरले उसको जीवन सास फिर्ता लिनुभयो। ऊ मरेपछि तुरुन्तै, उसको आत्माले उसको देह छोड्यो र त्यसपछि मेरो ऊसँग कुनै सम्बन्ध रहेन अनि हामीले एकअर्कालाई चिन्न छोडयौँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, उहाँका धेरै वचनहरू पढेकी थिएँ र धेरै कर्तव्यहरू पूरा गरेकी थिएँ, र परमेश्‍वरले नै मलाई जीवनको सही मार्गमा डोऱ्याउनुभएको थियो र मलाई सत्यता प्राप्त गर्ने र मुक्ति पाउने अवसर दिनुभएको थियो। तैपनि, मेरो छोराको मृत्युको सामना गर्दा, मैले केवल उसँगै मर्न चाहेँ र आफ्नो कर्तव्य र मुक्ति पाउने मौका त्याग्न चाहेँ। मैले आफूमा थोरै मात्र पनि विवेक र समझ रहेनछ भन्ने बुझेँ। मलाई मैले आफ्नो छोराको मृत्युको शोकबाट बाहिर निस्किएर आफूलाई सम्हाल्नुपर्छ भन्ने थाहा थियो र आफ्ना बाँकी दिनहरू आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र धेरै साँचा विश्वासीहरूलाई परमेश्‍वरको सामुन्ने ल्याउन प्रयोग गर्नुपर्छ।

पछि पनि, जब मलाई कहिलेकाहीँ मेरो छोराको याद आउँथ्यो, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र परमेश्‍वरका वचनहरूको भजन “कसरी सिद्ध पारिने” गाउँथेँ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूको त्यो भजन गाउँदा मेरो मन गहिरो रूपमा प्रभावित भएको थियो। परमेश्‍वरको अभिप्राय परीक्षाद्वारा मेरो संकल्पलाई बलियो बनाउनु, म उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु अनि मेरो कर्तव्यमा लागिरहनु थियो। परमेश्‍वरको अभिप्राय महसुस गरेपछि, मैले अपराधबोध र ऋणीपनको आँसु झारेँ र अब आफ्नो छोराको मृत्युको शोकमा डुब्न चाहिनँ। मैले मेरो छोरा गुमाएकी हुन सक्छु, तर मसँग अझै पनि मेरो सबैभन्दा ठूलो सहारा परमेश्‍वर हुनुहुन्थ्यो।

यो अविस्मरणीय अनुभवको क्रममा, मैले केही हदसम्म दुःख भोगेँ, तर मैले परमेश्‍वरको सार्वभौमिकताको राम्रो बुझाइ पाएँ र विश्वाससम्बन्धी गलत दृष्टिकोणलाई चिन्न सकेँ। यदि म यस अनुभवद्वारा प्रकटित नभएकी भए, मैले मेरो वास्तविक कद, भ्रष्टता र अशुद्धताहरूलाई कहिल्यै चिन्ने थिइनँ। मैले यो सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शनद्वारा प्राप्त गरेँ। म आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो:  ४२. म ईर्ष्याको पासोमा परेँ

अर्को:  ४४. कर्तव्य पूरा गर्ने क्रममा वरिष्ठताको धाक जमाउनु गलत हो

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger