४४. कर्तव्य पूरा गर्ने क्रममा वरिष्ठताको धाक जमाउनु गलत हो

बाइ चेन, चीन

मङ्गलबार, मार्च २८, २०२३

आज बिहान, मैले माथिल्लो तहका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा सिन रानलाई नयाँ जिल्ला अगुवा चुनिएको जानकारी दिइएको थियो। पत्र पढिसकेपछि, म केही बेर शान्त हुन सकिनँ, र सोचिरहेँ, “सिन रान मण्डली अगुवा बनेको केही महिना मात्रै भयो। पहिले त म नै उनको कामको अनुगमन गर्थेँ, र मलाई थाहा छ उनको कार्य सामर्थ्यमा केही कमी छ। अहिले, अचानक, उनले पूरै जिल्लाको कामको निरीक्षण गर्ने भइन्—यो अलि छिटो भएन र? सिन रानको मानवता राम्रो छ र उनी आफ्नो जीवन प्रवेशमा ध्यान दिन्छिन्, त्यसैले उनलाई संवर्धन गर्न त सकिन्छ, तर उनको कार्य सामर्थ्य बलियो छैन। उनले पूरै जिल्लाको कामलाई कसरी व्यवस्थापन गर्न सक्लिन् र? म धेरै वर्षदेखि मण्डली अगुवा भएकी छु। अब मभन्दा कम समय विश्वासी भएकी र अगुवाइको काममा निकै कम अनुभव भएकी व्यक्तिले मेरो कामको सुपरिवेक्षण गर्दैछिन्। के यसले मलाई असक्षम देखाउँदैन र?” मैले जति यसबारे सोचेँ, त्यति नै म यो कुरा स्वीकार्न अनिच्छुक भएँ, र मैले निकै असन्तुष्ट महसुस गरेँ। तर त्यसपछि मैले सम्झेँ हामीले हरेक दिन सामना गर्ने सबै कुरामा परमेश्‍वरको अनुमति हुन्छ, र सिन रानको कर्तव्य परमेश्‍वरको बन्दोबस्त र सार्वभौमिकताभित्रै पर्छ। मैले यसलाई आफ्नै दृष्टिकोणबाट हेर्नु हुँदैन। बरु, म पहिले समर्पित हुनुपर्छ।

सोमबार, अप्रिल १०, २०२३

विगत दुई दिनदेखि, सिन रानले मेरो सुसमाचारको काममा भएका केही समस्याहरू बुझ्ने प्रयास गर्दै र अवस्थालाई कसरी सुधार्ने भनी सङ्गति गर्दै कामको अनुगमन गर्न पत्र लेखिन्। उनका पत्रहरू पढ्दा, मलाई असहज महसुस भयो र वास्तवमै उनलाई जवाफ दिन मन लागेन। मैले सोचेँ, “म दश वर्षभन्दा बढी समयदेखि मण्डलीको अगुवाइमा छु। मलाई कामको अनुगमन कसरी गर्ने भन्ने थाहा छ। मलाई तिम्रो मार्गदर्शन चाहिँदैन! तिमीले अगुवा बन्ने तालिम लिइरहेको एक वर्षै पूरा भएको छैन, र अहिले तिमी मेरो कामको मार्गदर्शन गर्ने कोशिस गर्दैछ्यौ? तिमीले बताएका तरिकाहरू मलाई पहिल्यै थाहा छ।” मैले के महसुस गरेँ भने मैले प्रकट गरिरहेको कुरा एउटा अहङ्कारी स्वभाव थियो, अनि सोचेँ: यदि म सिन रानले मेरो कामको अनुगमन गरेकीमा विद्रोही र असन्तुष्ट महसुस गर्दै र उनीसँग सहकार्य गर्न अस्वीकार गर्दै यही अहङ्कारी स्वभावमा जिइरहेँ भने, के त्यसले उनलाई बन्धनमा पार्दैन र? मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूद्वारा, मैले बुझेँ जब ममाथि परिस्थितिहरू आइपर्छन्, म आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन मिल्दैन। मैले परमेश्‍वरका घरको हितकाे धेरै ख्याल गर्नुपर्छ र मण्डलीको कामलाई जे ले फाइदा पुऱ्याउँछ त्यही गर्नुपर्छ। यदि म आफ्नो अहङ्कारी स्वभावमै जिएँ र सिन रानको पत्रको जवाफ दिइनँ भने, उनले मेरो कामको अवस्था बुझ्न सक्दिनन्, जसले गर्दा उनलाई पछि अनुगमन गर्न गाह्रो हुन्छ। यसबाहेक, यसले उनलाई बन्धनमा पार्न र उनको स्थितिलाई असर गर्न सक्छ, जसले सजिलै मण्डलीको काममा अवरोध र बाधा दिन सक्छ। कामको अनुगमन र सुपरिवेक्षण गर्नु सिन रानको कर्तव्य हो, र मैले सुसमाचारको कामको अवस्थाबारे तुरुन्तै जवाफ दिएर उनीसँग सहकार्य गर्नुपर्छ।

शुक्रबार, मे १२, २०२३

आज दिउँसो, सुसमाचारको कामबारे छलफलको क्रममा, सिन रानले म आजभोलि सामान्य मामिलाहरूमा मात्र ध्यान केन्द्रित गरिरहेकी, सुसमाचारको कामलाई नपछ्याइरहेकी, र आफ्नो मुख्य कर्तव्यबाट भड्किएकी भन्ने कुरा औँल्याइन्। उनले औँल्याएको यो समस्याबारे मलाई थाहा थियो, र यो साँच्चै मेरो काममा भएको समस्या हो भन्ने पनि थाहा थियो, तर उनले यो कुरा औँल्याएको सुन्दा मलाई निकै असहज महसुस भयो। “तिमी अगुवा बनेको केही समय मात्रै भयो तैपनि तिमीले यति धेरै मानिसहरूका अगाडि, मेरो इज्जतको ख्यालै नगरी मेरो समस्या औँल्याउँदैछौ। मैले यो विचलनबारे मेरो अघिल्लो कार्य रिपोर्टमा उल्लेख गरिसकेकी छु। मैले तिमीभन्दा लामो समयदेखि सुसमाचारको कामको जिम्मेवारी लिएकी छु र यसलाई कसरी अनुगमन गर्ने भन्ने मलाई थाहा छ। तिमीले मलाई यो विचलनबारे बताउनु पर्दैन—म आउने दिनहरूमा यसलाई आफैँ सुधार्नेछु!” त्यसपछि, सिन रानले सङ्गति जारी राख्दा, मैले भने संवादमा कत्तिपनि सहभागी नभई आफ्नै काममा ध्यान केन्द्रित गरिरहेँ। वातावरण केही अप्ठ्यारो भयो, र यसले सभाको प्रभावकारितामा असर गर्‍यो। आज साँझ, सिन रानले आफ्नो स्थितिबारे बताइन्, उनले कसैले पनि उनका शब्दहरूको जवाफ नदिँदा उनको चित्त दुखेको, जसले गर्दा उनलाई यो काम गर्ने आफ्नो क्षमतामाथि नै शङ्का लागेको बताइन्। यो सुनेर, मैले केही दोषी महसुस गरेँ। मलाई सिन रानले मेरो काममा भएका विचलन र समस्याहरू कुनै दुर्भावनाले औँल्याएकी होइनन् भन्ने थाहा थियो, बरू सुसमाचारको काममा ढिलाइ नगरी समयमै विचलनहरू सुधार्न मलाई मद्दत गर्नको लागि थियो। तर मैले किन यति धेरै प्रतिरोध महसुस गरेँ? यदि यो कुनै माथिल्लो तहका अगुवा वा मेरा सहकर्मी ब्रदर-सिस्टरहरूले मेरो समस्या औँल्याएका भए, मैले यस्तो प्रतिक्रिया दिने थिइनँ। मैले सिन रानप्रति किन यस्तो शत्रुतापूर्ण मनोवृत्ति राखेँ? मैले यस्तो भ्रष्टता प्रकट गर्नुको मूल कारण के हो?

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूले के आधारमा आफ्नो योग्यताको तह मूल्याङ्कन गर्छन्? तिनीहरूले निश्‍चित कर्तव्य कति वर्ष निभाएका छन् र तिनीहरूले कति धेरै अनुभव बटुलेका छन् भन्‍ने आधारमा, होइन र? अनि यस्तो हो भने, के तैँले क्रमिक रूपमा वरिष्ठताका आधारमा सोच्‍न थाल्दैनस् र? उदाहरणका लागि, कुनै दाजुले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र कर्तव्य निभाउन थालेको लामो समय भयो, त्यसकारण कुरा गर्नको लागि ऊ नै सबैभन्दा योग्य हुन्छ; कुनै बहिनीले यहाँ काम गरेको धेरै भएको छैन, र उसमा केही क्षमता भए पनि, ऊसँग यो कर्तव्य पूरा गरेको अनुभव छैन, र उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, त्यसकारण ऊ बोल्‍नका लागि सबैभन्दा कम योग्य हुन्छे। बोल्‍नका लागि सबैभन्दा योग्य व्यक्तिले मनमनै सोच्छ, ‘म नै वरिष्ठ भएको हुनाले, मेरो कर्तव्यपालन मापदण्डका स्तरमा छ, र मेरो खोजी चरम अवस्थामा पुगेको छ, र मैले पछ्याउनुपर्ने वा प्रवेश गर्नुपर्ने कुनै कुरा छैन। मैले यो कर्तव्य राम्ररी निभाएको छु, मैले यो काम केही हदसम्‍म पूरा गरेको छु, त्यसकारण परमेश्‍वर सन्तुष्ट हुनुपर्छ।’ अनि यसरी तिनीहरू आत्मसन्तुष्ट हुन थाल्छन्। के यसले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने जनाउँछ र? तिनीहरूमा कुनै पनि प्रगति हुन छोडिसकेको छ। तिनीहरूले सत्यता र जीवन अझै प्राप्त गरेका छैनन्, तर तिनीहरू आफैलाई अत्यन्तै योग्य ठान्छन्, र वरिष्ठताका शब्दहरूमा बोल्छन् र परमेश्‍वरको इनाम कुर्छन्। के यो अहङ्कारी स्वभावको प्रकटीकरण होइन? जब मानिसहरू ‘अत्यन्तै योग्य’ हुँदैनन्, तिनीहरूलाई सतर्कता अपनाउन आउँछ, तिनीहरूले गल्ती नगर्न आफैलाई सम्झाउँछन्; आफू अत्यन्तै योग्य भएको विश्‍वास भएपछि, तिनीहरू अहङ्कारी बन्छन्, र आफैलाई महान्‌ ठान्‍न थाल्छन्, र प्राय आत्मसन्तुष्ट बन्छन्। यस्ता समयहरूमा, के तिनीहरूले पावलले जस्तै परमेश्‍वरसँग इनाम र मुकुट माग्ने सम्भावना हुँदैन र? (हुन्छ।) यसमा मान्छे र परमेश्‍वरबीचको सम्बन्ध के हो? यो सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीबीचको सम्बन्ध होइन। यो कारोबारमा आधारित सम्बन्धबाहेक अरू केही होइन। अनि यस्ता अवस्थामा, परमेश्‍वरसँग मानिसहरूको केही सम्बन्ध हुँदैन, र सम्भवतः उहाँले तिनीहरूदेखि आफ्नो अनुहार लुकाउनुहुन्छ—यो खतरनाक सङ्केत हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ)। परमेश्‍वरका वचनको यो खण्डले मेरो साँचो स्थितिको खुलासा गर्छ। म वरिष्ठताको आधारमा सोचिरहेकी रहेछु। मैले सिन रान अगुवाइको काममा नयाँ छन् र उनमा कार्य सामर्थ्यको कमी छ, जबकि म दश वर्षभन्दा बढी समयदेखि मण्डलीको अगुवाइमा छु, र मसँग धेरै कार्य अनुभव र राम्रो योग्यता छ भन्ने सोचेकी थिएँ। त्यसैले जब उनले मेरो कामको अनुगमन गरिन् र मेरा विचलन र समस्याहरू औँल्याइन्, तब मैले अत्यन्तै असहज महसुस गरेँ, किनकि मैले उनी मेरो कामको अनुगमन गर्न योग्य छैनन् भन्‍ने मैले सोचेँ। वास्तवमा, सिन रानका लागि, मेरो कामको अनुगमन र अनुसन्धान गर्नु अनि मेरो काममा भएका विचलन र समस्याहरूलाई औँल्याउनु उनको जिम्मेवारी र कर्तव्यको हिस्सा थियो, र उनले यो मण्डलीको कामको फाइदाका लागि गरिरहेकी थिइन्। यो एउटा सकारात्मक कुरा थियो। तर म भने आफ्नो वरिष्ठताको फाइदा उठाउन र आफ्नो योग्यताको धाक लगाउन अगुवाइमा आफ्नो धेरै वर्षको अनुभवलाई प्रयोग गर्दै आफ्नो अहङ्कारी स्वभावमा जिइरहेकी थिएँ, र उनको निर्देशन स्वीकार गर्न इन्कार गरेँ। सभाको दौडान, मैले कामको आदान-प्रदानमा भाग लिइनँ र बरु अमिलो मुख लगाएर आफ्नै काममा ध्यान केन्द्रित गरेँ, जसले गर्दा सिन रानले मेरो कामको अनुगमन गर्न बन्धनमा परेको महसुस गरिन्। के मैले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याइरहेकी थिइनँ र? मैले जति यसबारे सोचेँ, त्यति नै मैले यस समस्याको प्रकृतिको गम्भीरता महसुस गरेँ। अघि बढ्दै जाँदा, मैले यो समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ।

बिहीबार, मे २५, २०२३

आज बिहान मेरो भक्ति-समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुसी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरका निम्ति घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, हैसियतको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ)। परमेश्‍वरका वचनहरूको खुलासाद्वारा मैले महसुस गरेँ, भ्रष्ट स्वभावका आधारमा आफ्नो कर्तव्य निभाउनु र परमेश्‍वरको सेवामा व्यक्तिगत प्राथमिकताहरू पछ्याउनुले परमेश्‍वरको प्रतिरोध गर्ने बाटोतर्फ मात्र डोऱ्याउँछ। यदि कुनै व्यक्तिले आफ्नो वर्षौंको अनुभवलाई पुँजीको रूपमा भरोसा गर्छ, अरूलाई बन्धनमा पार्न निरन्तर आफ्नो वरिष्ठताको धाक लगाउँछ भने, यो पावलकै बाटोमा हिँड्नु हो, र उसले गर्ने सबै कुरा दुष्ट कार्य हो! सिन रानलाई मेरो कामको सुपरिवेक्षण गर्न जिल्ला अगुवाको रूपमा चुनिएको थाहा पाएदेखि, म विद्रोहले भरिएकी छु। मैले उनमा कार्य सामर्थ्यको कमी छ, र उनले अगुवाको रूपमा तालिम लिएको छोटो समय मात्र भएको छ भन्‍ने विश्वास गरेँ, त्यसैले मैले आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा उनी त्यस भूमिकाको लागि अनुपयुक्त छिन् भन्ने निष्कर्ष निकालेँ। मैले यस मामिलामा परमेश्‍वरको अभिप्राय खोजिनँ। बरु, मैले सिन रानको अगाडि निरन्तर आफ्नो वरिष्ठताको धाक लगाएँ। जब उनले मेरो कामलाई अनुगमन गर्ने वा निर्देशन दिने गरिन्, तब मैले मेरो कार्य सामर्थ्य र वर्षौंको अगुवाइको अनुभवलाई आधार मान्दा, उनी मलाई निर्देशन दिन योग्य छैनन् भन्ने सोच्दै उनलाई अत्यन्तै तिरस्कार गरेँ। तर गहिरो चिन्तन गरेपछि, म सोच्छु: के मेरो काममा साँच्चै कुनै विचलन नहुन सम्भव छ? के मलाई मेरो कामको सुपरिवेक्षण र अनुगमन गर्न अन्य व्यक्तिहरू आवश्यक छैनन् र? मसँग जतिसुकै अनुभव भए पनि, यसको अर्थ मैले सत्यता बुझ्छु वा ममा सत्यता वास्तविकता छ भन्ने होइन। मेरो काममा अनिवार्य रूपमा विचलन र त्रुटिहरू हुन्छन्। सिन रानले मेरो कामको सुपरिवेक्षण र निर्देशन दिनुको उद्देश्य मलाई मेरो कर्तव्य अझ राम्रोसँग निभाउन मद्दत गर्नु हो, र यो मण्डलीको काम र मेरो आफ्नै जीवन प्रवेश दुवैको लागि लाभदायक छ। तर, मैले उनले मेरो काममा गरेको अनुगमन र सुपरिवेक्षणको प्रतिरोध गर्दै त्यसलाई स्वीकार गर्न इन्कार गरेँ, जसले सत्यताप्रतिको मेरो वितृष्णालाई प्रकट गर्‍यो। मैले मेरो कार्य अनुभव र लामो कार्यकालको अगुवाइलाई पुँजीको रूपमा लिएकी छु, र मैले सधैँ म कामका बारेमा सिन रानभन्दा बढी जान्दछु र यो म आफैँ राम्रोसँग गर्न सक्छु भन्ने सोचेकी छु। तर वास्तविकतामा, मेरो कर्तव्यमा अझै पनि धेरै विचलन र समस्याहरू छन्। सत्यता वास्तविकताको कमीका बाबजुद, म अभिमानी भएकी छु, र मैले आफूलाई सिन रानभन्दा बढी सक्षम सोच्दै उनलाई तुच्छ ठानेकी छु। म अत्यन्तै अहङ्कारी र आत्म-धर्मी, पूर्णरूपमा समझविहीन भएकी छु!

सोमबार, जुन ५, २०२३

विगत केही दिनको चिन्तनपछि, मैले के महसुस गरेँ भने मैले मानिसहरूलाई पदोन्नति दिने र संवर्धन गर्ने विषयमा परमेश्‍वरका घरको सिद्धान्तहरूलाई साँच्चै बुझेकी रहेनछु। म आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा कामकुराहरूमा अगाडि बढ़ने र तिनको मूल्याङ्कन गर्ने गरिरहेकी थिएँ। मैले सत्यता सिद्धान्तहरूको आधारमा मूल्याङ्कन गर्नुको सट्टा, अनुभव र व्यक्तिले अगुवाका रूपमा बिताएको समयको लम्बाइलाई धेरै महत्त्व दिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “विभिन्न कामका सुपरिवेक्षकहरूका लागि माग गरिएका मानकहरू के-के हुन्? तीन वटा प्रमुख मानक छन्। पहिलो, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुनैपर्छ। जसले विकृतिविना शुद्ध रूपमा सत्यता बुझ्न सक्छन् र त्यसबाट निहितार्थ निकाल्न सक्छन् तिनीहरू मात्र राम्रो क्षमता भएका मानिस हुन्। राम्रो क्षमता भएका मानिसहरूसँग कम्तीमा पनि आत्मिक बुझाइ हुनैपर्छ र तिनीहरूले स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन सक्नैपर्छ। परमेश्‍वरका वचनहरू खाने र पिउने क्रममा, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वतन्त्र रूपमा स्विकार्न, र आफ्ना धारणा र कल्पनाहरू अनि आफ्नै इच्छाका मिसावटहरू, साथै आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्नैपर्छ—यदि तिनीहरू यो मानकसम्म पुगे भने, त्यसको अर्थ तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्न जानेका छन्, र यो राम्रो क्षमताको प्रकटीकरण हो। दोस्रो, तिनीहरूले मण्डलीको कामका लागि बोझ बोक्नैपर्छ। साँच्चै बोझ बोक्ने मानिसहरूसँग जोस मात्र होइन, वास्तविक जीवन अनुभव पनि हुन्छ, तिनीहरूले केही सत्यताहरू बुझेका हुन्छन् र केही समस्याहरू छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले मण्डलीका काममा र परमेश्‍वरका चुनिएका मानिसहरूमा समाधान गरिनुपर्ने कैयौँ कठिनाइ र समस्याहरू छन् भन्ने देख्छन्। तिनीहरूले यो आफ्नै आँखाले देख्छन् र हृदयमा यसबारे चिन्ता लिन्छन्—मण्डलीको कामका लागि बोझ बोक्नु भनेको यही हो। यदि कसैमा राम्रो क्षमता मात्र छ र ऊ सत्यता बुझ्न मात्र सक्षम छ, तर ऊ अल्छे छ, उसले देहसुखको लालसा गर्छ, ऊ वास्तविक काम गर्न इच्छुक छैन, र माथिले काम सम्पन्न गर्नुपर्ने मिति जारी गर्दा, काम नगरी उम्किन नमिल्ने अवस्थामा, उसले अलिकति मात्रै काम गर्छ भने, यो कुनै बोझ नबोक्ने व्यक्ति हो। कुनै बोझ नबोक्ने मानिसहरू सत्यता नपछ्याउने, इन्साफको बोध नभएका, र केही न कामका मानिसहरू हुन्, जो सारा दिन कुनै पनि कुराका बारेमा गम्भीरतापूर्वक नसोची, खानेकुरा हसुर्दै बिताउँछन्। तेस्रो, तिनीहरूसँग कार्य सामर्थ्य हुनैपर्छ। ‘कार्य सामर्थ्य’ भनेको के हो? सरल रूपमा भन्दा, यसको अर्थ के हो भने, तिनीहरूले काम अह्राउन र मानिसहरूलाई निर्देशन दिन सक्ने मात्र नभई समस्याहरू पहिचान गर्न र समाधान गर्न पनि सक्छन्—कार्य सामर्थ्य हुनु भनेको यही हो। यसका साथै, तिनीहरूलाई सङ्गठनात्मक सीप पनि चाहिन्छ। सङ्गठनात्मक सीप भएका मानिसहरू मानिसहरूलाई एकै ठाउँमा ल्याउन, कामको बन्दोबस्त र प्रबन्ध गर्न, र समस्या समाधान गर्न निकै कुशल हुन्छन्, अनि कामको प्रबन्ध गर्दा र समस्या समाधान गर्दा, तिनीहरूले मानिसहरूलाई राम्रोसँग मनाउन र पालन गराउन सक्छन्—सङ्गठनात्मक सीप हुनु भनेको यही हो। कार्य सामर्थ्य साँच्चिकै हुनेहरूले परमेश्‍वरको घरले प्रबन्ध गरेका विशिष्ट कार्यहरू गर्न सक्छन्, अनि कुनै लापरवाहीविना तीव्र र निर्णायक रूपमा त्यसो गर्न सक्छन्, र त्यसमाथि तिनीहरूले विभिन्न कार्यहरू राम्ररी गर्न सक्छन्। अगुवा र कामदारहरूको संवर्धन गर्नका लागि परमेश्‍वरको घरका तीन मानकहरू यिनै हुन्। यदि कसैले यी तीन मानकहरू पूरा गर्छ भने, ऊ एक दुर्लभ, प्रतिभावान् व्यक्ति हो र उसलाई तुरुन्तै प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र तालिम दिइनुपर्छ, अनि केही समय अभ्यास गरिसकेपछि, उसले कामको जिम्मेवारी लिन सक्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। “जब परमेश्‍वरको घरले कसैलाई अगुवा बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्छ, तब त्यसले उसलाई तालिम लिन, परमेश्‍वरमा निर्भर हुन, र सत्यतातर्फ लागिपर्न अझै ठूलो बोझ दिन्छ; त्यसपछि मात्रै उसको कद सक्दो चाँडो बढ्छ। उसलाई जति ठूलो बोझ दिइन्छ, ऊ त्यति नै बढी दबाबमा पर्छ, र ऊ त्यति नै सत्यताको खोजी गर्न र परमेश्‍वरमा निर्भर हुन बाध्य हुन्छ। अन्त्यमा, उसले आफ्‍नो काम राम्ररी गर्न र परमेश्‍वरको इच्‍छा पछ्याउन सक्छ, र त्यसरी उसले मुक्ति पाउने र सिद्ध पारिने सही मार्गमा पाइला राखेको हुन्छ—परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा हासिल हुने नतिजा यही हो। … जब कसैलाई अगुवा बन्नका लागि प्रवर्द्धन र संवर्धन गरिन्छ, तब उसले विभिन्न मानिसहरूको स्थिति खुट्ट्याउने तरिका सिक्ने, विभिन्न मानिसहरूका कठिनाइहरू समाधान गर्नका लागि सत्यता खोजी गर्ने, र विभिन्न प्रकारका मानिसहरूलाई सहयोग र आपूर्ति गर्ने, साथै मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउने तालिम पाउँछ। साथसाथै, उसले कामको दौरान सामना गरिने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्न, र विभिन्न प्रकारका ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरूलाई खुट्ट्याउने र कारबाही गर्ने, अनि मण्डलीलाई पखाल्ने तरिका सिक्न पनि तालिम लिनैपर्छ। यसरी, उसले अरूका तुलनामा धेरै मानिस, घटना र कामकुराहरू, अनि परमेश्‍वरद्वारा खडा गरिएका अझ बढी वातावरणहरू अनुभव गर्न सक्छ, परमेश्‍वरका वचनहरू झन्-झन् बढी खान र पिउन सक्छ, र अझ धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छ। यो त तिनीहरूले आफैलाई तालिम दिने अवसर हो, होइन र? तालिम लिने अवसरहरू जति धेरै छन्, मानिसहरूका अनुभवहरू त्यति नै प्रशस्त हुन्छन्, तिनीहरूको अन्तर्ज्ञान त्यति नै फराकिलो हुन्छ, र त्यति नै चाँडो तिनीहरूको वृद्धि हुनेछ। … मानिसहरूका लागि, सत्यता वास्तविकतामा छिटो प्रवेश गर्नु राम्रो हो कि ढिलो प्रवेश गर्नु? (छिटो प्रवेश गर्नु।) त्यसकारण, क्षमता भएका, बोझ बोक्ने र काम गर्ने सक्षमता भएका मानिसहरूको कुरा आउँदा, परमेश्‍वरको घरले अपवादका रूपमा त्यस्ता मानिसहरूलाई प्रवर्द्धन गर्छ, तर यदि तिनीहरू सत्यता पछ्याउने र सत्यतातर्फ लागिपर्ने मानिस होइनन् भने, त्यस अवस्थामा, परमेश्‍वरको घरले तिनीहरूलाई जबरजस्ती गर्नेछैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले बुझेँ परमेश्‍वरले मानिसहरूलाई पदोन्नति र संवर्धन गर्ने आवश्यकताहरू, सिद्धान्तहरू, र महत्त्वबारे स्पष्ट रूपमा सङ्गति गर्नुहुन्छ। कसैलाई पदोन्नति र संवर्धन गर्दा, परमेश्‍वरका घरले उनीहरूमा सत्यता बुझ्ने क्षमता र योग्यता छ कि छैन, र उनीहरूको कर्तव्यप्रति बोझ छ कि छैन भन्ने कुरालाई प्राथमिकता दिन्छ। यदि उनीहरूले यी दुई मापदण्ड पूरा गर्छन् भने, उनीहरूको कार्य सामर्थ्यमा कमी भए पनि, तालिमद्वारा त्यसलाई सुधार गर्न सकिन्छ। परमेश्‍वरका घरले मानिसहरूलाई संवर्धन गर्नुको उद्देश्य मुख्यतया व्यक्तिहरूलाई तालिमका लागि थप अवसरहरू प्रदान गर्नु हो, ताकि उनीहरूलाई विभिन्न सत्यता सिद्धान्तहरू बुझ्न र उनीहरूको आफ्नै जीवन प्रवेशमा अझ छिटो बढ्न मद्दत पुगोस्। यदि कसैले संवर्धनको लागि मापदण्ड पूरा गर्छ भने, परमेश्‍वरका घरले उनीहरूलाई तालिमको अवसर दिन्छ र उनीहरूमाथि थप बोझ राख्छ। तर, कुनै व्यक्ति संवर्धनको लागि उपयुक्त छ कि छैन भनी मूल्याङ्कन गर्दा, मैले उनीहरूको सत्यता बुझ्ने क्षमता र योग्यता वा उनीहरूको कर्तव्यप्रति साँचो बोझ छ कि छैन भन्नेमा ध्यान दिइनँ। बरु, मैले उनीहरू कति लामो समयदेखि अगुवा थिए र उनीहरू अनुभवी थिए कि थिएनन् भन्ने कुरामा मात्र ध्यान दिएँ। मैले आफ्नै धारणाहरू र कल्पनाहरूअनुसार कामकुराहरूलाई हेरेँ, र यो सत्यता अनुरूप थिएन! यी सिद्धान्तहरू बुझेपछि, मैले तिनलाई सिन रानमाथि लागू गरेँ र उनले संवर्धनका लागि मापदण्ड पूरा गर्छिन् भन्ने बुझेँ। उनमा आफ्नो कर्तव्यप्रति बोझ छ र कामलाई अगाडि बढाउन पहल गर्छिन्। उनले समस्याहरू देख्दा, उनले ती कुराहरू उठाएर हामीसँगै विश्लेषण गर्थिन्। यसबाहेक, उनी जीवन प्रवेशमा ध्यान दिन्छिन्। जब हामी हाम्रो कर्तव्यमा कामहरूमा मात्र व्यस्त हुन्थ्यौँ, उनी हामीलाई आफूले सामना गरेका कुराहरूबाट पाठ सिक्नमा ध्यान केन्द्रित गर्न सम्झाउँथिन्। सिन रानमा केही कार्य सामर्थ्यको कमी भए तापनि, उनी आफूले गर्ने काममा सत्यताका सिद्धान्तहरू खोज्नमा ध्यान दिन्छिन्, र कहिलेकाहीँ उनी काम-सम्बन्धित कतिपय समस्याहरू पहिचान गर्न सक्छिन्। उनमा कार्य सामर्थ्यको कमी हुनुको कारण उनको छोटो तालिम अवधि हो। तर जिल्ला अगुवाको रूपमा सेवा गर्ने यो अवसरले उनलाई छिटो बृद्धि हुन मद्दत गर्नेछ। अर्कोतर्फ, ममा आफ्नो कर्तव्यप्रतिको बोझ, मानवता, र जीवन प्रवेश सिन रानको जस्तो राम्रो छैन, त्यसोभए उनको अगुवाइ स्वीकार नगर्ने मसँग के आधार छ र? मैले उनको कमीकमजोरीप्रति सही मानसिकता अपनाउनु आवश्यक छ, र हामीले आफ्ना कमीकमजोरीहरू हटाउन एकअर्काका सबल पक्षबाट सिक्नुपर्छ, र आफ्नो कर्तव्य राम्रोसँग निभाउन सँगै काम गर्नुपर्छ। मैले अपनाउनुपर्ने मनोवृत्ति र अभ्यास यही हो।

मङ्गलबार, जुन २०, २०२३

आज, सिन रानसँग कामबारे छलफल गर्दा, उनले मैले मानिसहरूलाई संवर्धन गर्दा उनीहरूको बाहिरी व्यवहारमा ध्यान दिने गरेकी, र मैले सत्यता सिद्धान्तहरू नखोज्ने कुरा औँल्याइन्। उनले मसँग सङ्गति गर्न सान्दर्भिक परमेश्‍वरका वचनका खण्डहरू पनि उल्लेख गरिन्। उनको सङ्गति सुनेपछि, मैले मेरा आफ्नै समस्याहरूबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। मैले हाम्रो कर्तव्यमा ब्रदर-सिस्टरहरूसँग काम गर्नु भनेको हाम्रा कमीकमजोरीहरू हटाउन एकअर्काको सबल पक्षहरूबाट सिक्ने प्रक्रिया हो भन्ने पनि साँच्चै महसुस गरेँ। जसरी परमेश्‍वरले भन्नुहुन्छ: “दाजुभाइ-दिदीबहिनीहरूबीचको सहकार्य भनेको एउटाको कमजोरीलाई अर्को व्यक्तिको सबल पक्षले पूर्ति गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूले तेरा अपर्याप्तताहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। एउटाका कमजोरीहरूलाई अर्काका बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्‍जस्यपूर्वक सहकार्य गर्नु भनेको यही हो। मानिसहरूले सौहार्दपूर्वक सहकार्य गर्दा मात्र तिनीहरू परमेश्‍वरसामु आशिषित् हुन सक्छन्, अनि तिनीहरूले जति बढी कामकुरा अनुभव गर्छन्, त्यति नै बढी वास्तविकता प्राप्त गर्न थाल्छन्, र तिनीहरू आफ्नो मार्गमा जति धेरै हिँड्छन्, त्यो त्यति नै चहकिलो बन्छ, अनि तिनीहरूले झन् बढी सहजता महसुस गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। त्यसपछि, सिन रानले निर्देशन दिँदा, मैले त्यसलाई उचित रूपमा व्यवहार गर्न र सहजै स्वीकार गर्न सकेँ। काममा स्पष्टसँग बुझ्न नसकेको कुराको सामना गर्दा, म सिन रानसँग छलफल गर्थेँ। परमेश्‍वरका वचनहरूद्वारा नै मैले आफ्नो अहङ्कारी स्वभावका बारेमा केही बुझाइ प्राप्त गरेकी छु, आफ्ना गलत दृष्टिकोणहरूलाई सच्याएकी छु र अरूसँग कसरी सहकार्य गर्ने भनेर सिकेकी छु। यी उपलब्धि र अनुभूतिहरू परमेश्‍वरका वचनहरूको अगुवाइले गर्दा प्राप्त भएका फल हुन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ४३. मेरो छोराको मृत्युको छायाबाट बाहिर निस्कँदै गर्दा

अर्को:  ४६. म किन मानिसहरूलाई संवर्धन गर्न अनिच्छुक थिएँ

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger