४८. मार्गदर्शन र मद्दत स्वीकार्नाले मलाई कसरी लाभ भएको छ

चाउ युन, चीन

सन् २०२३ को सेप्टेम्बरमा, म प्रचारकको रूपमा सेवा गर्नका लागि छानिएँ र मलाई केही मण्डलीहरूका कामको जिम्मा दिइयो। दुई महिनाभन्दा बढी समयसम्म ती मण्डलीहरूसँग काम गरेपछि, मण्डली जीवन र नयाँ विश्वासीलाई मलजल गर्ने काममा सुधार आयो, त्यसैले मेरा माथिल्लो अगुवाले मलाई अभ्यासका असल मार्गहरूबारे विचार आदानप्रदान गर्न बोलाउनुभयो। म आफैमा मख्ख थिएँ र मैले केही वास्तविक काम पूरा गर्न सकेकी छु भन्ने महसुस गरेँ। तैपनि, नोभेम्बरको अन्त्यतिर, मैले सुसमाचारको काममा थोरै मात्र प्रगति भएको देखेँ, त्यसैले मैले त्यस काममा रहेका केही समस्याहरूलाई सङ्क्षेपमा प्रस्तुत गरेँ र त्यसपछि केही सुसमाचार समूह अगुवाहरूलाई ती समस्याहरूबारे आफ्ना विचार र सुझावहरू बताएँ। उनीहरूले उत्साहपूर्वक सुसमाचार प्रचार गर्न सकून् भनेर मैले उनीहरूसँग परमेश्‍वरको अभिप्रायबारे पनि सङ्गति गरेँ। मैले काम सुम्पिसकेपछि मैले राम्रै गरेकी छु, र मैले विस्तृत काम गरिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले म चाँडै नै अरू कुराहरूमा व्यस्त भएँ। केही दिनपछि, जब मैले टोली अगुवाहरूलाई उनीहरूको सुसमाचारको कामको प्रगतिबारे सोधेँ, कतिपयले जवाफै दिएनन् भने, बाँकीले सुसमाचार कामदारहरूसँग भेट्न केही दिन लाग्ने बताए। केही टोली अगुवाहरूले सहकार्य गरिरहेको देखेर, मैले यस मामिलामा थप खोजीनिती गर्न वा स्थिति विवरणहरू बुझ्नमा धेरै ध्यान दिइनँ। दश दिनभन्दा बढी समयपछि, मेरा माथिल्लो अगुवाले मलाई सुसमाचारको कामको प्रगति, यो प्रभावहीन हुनुको कारण, सुसमाचार कामदारहरूले सहकार्य गरिरहेको तरिका र मैले समाधान गरेका वास्तविक समस्याहरूबारे सोध्दै एउटा पत्र लेख्नुभयो। मैले टोली अगुवाहरूबाट पत्रहरू नपाएकीले, म सुसमाचारको कामको प्रगतिका विवरणहरूबारे अस्पष्ट थिएँ, त्यसैले मैले माथिल्लो अगुवालाई टोली अगुवाहरूबाट पत्रहरू पाएपछि पूर्ण रिपोर्ट दिनेछु भनी जवाफ दिएँ। त्यसपछि, मैले टोली अगुवाहरूलाई उनीहरूको नतिजाबारे रिपोर्ट गर्न दबाब दिएँ। तर, धेरैपटक दबाब दिँदा पनि, उनीहरूले मलाई जवाफ दिएनन् र म उनीहरू आफ्नो कर्तव्यमा अत्यन्तै गैर-जिम्मेवार भइरहेका छन् भन्ने विश्वास गर्दै रिसाएँ। कामको प्रगतिबारे सोध्दै मेरा अगुवाबाट एकपछि अर्को पत्र आइरहँदा, म झन्-झन् चिन्तित भएँ, तर टोली अगुवाहरूले मेरा पत्रहरूको जवाफ नदिइरहेको अवस्थामा मैले केही गर्न सक्दिनँ भन्ने महसुस गरेँ। मैले समस्या ममा नभएर टोली अगुवाहरूमा रहेछ भन्ने मेरी अगुवाले थाहा पाउनु होस् भनेर उहाँलाई टोली अगुवाहरूले मेरा पत्रहरूको जवाफ दिइरहेका छैनन् भनेर बताएँ।

मेरी अगुवाले तुरुन्तै मलाई जवाफ दिँदै, टोली अगुवाहरूका वास्तविक समस्या र कठिनाइहरू मैले बुझेकी छु कि छैन भनेर सोध्नुभयो र मेरो पत्रमार्फत मेरो कामको जाँच गर्दा, मैले आफ्नो कर्तव्यमा पर्याप्त चिन्तन र प्रयास नगरिरहेकी जस्तो देखिएको बताउनुभयो। हामी हाम्रो काममा नतिजाहरू हासिल गर्न असफल हुँदा, मैले अरूलाई दोष मात्र लगाएँ र आफ्नै समस्याहरूबारे चिन्तन गरिनँ। उहाँले के पनि भन्नुभयो भने यदि कामको अनुगमन गर्दा, मैले टोली अगुवाहरूलाई नतिजा ल्याउन हतारिन मात्र लगाएँ अनि वास्तविक समस्याहरू पहिचान गरिनँ र मानिसहरूलाई उनीहरूका समस्याहरू समाधानमा मद्दत गर्न अभ्यासका विशेष मार्गहरू दिइनँ भने, हामी कुनै पनि हालतमा नतिजा हासिल गर्न सक्दैनौँ। उहाँको पत्र पढ्दा म यस्तो सोच्दै अलि प्रतिरोधी भएँ, “म काम राम्ररी गर्न चाहन्छु, मैले सुसमाचारको काममा भाग लिएकी छु र पत्रहरू लेखेकी छु अनि टोली अगुवाहरूसँग उनीहरूको स्थितिबारे सङ्गति गरेकी छु, कुनै कठिनाइ आइपरेमा तुरुन्तै सम्पर्क गर्न आग्रह गरेकी छु। यदि उनीहरूले आफ्ना समस्याहरू मलाई बताउँदैनन् भने, मैले के नै गर्न सक्छु र? यी मण्डलीहरूमा पहिले सामूहिक गिरफ्तारीका कारण काम रोकिएको थियो, तर म आएको दुई महिनाभन्दा बढी समयपछि, कामको सबै पक्षमा सुधार आएको छ। मलाई लाग्छ, यसले म पहिले नै निकै राम्रो गरिरहेकी छु भन्ने देखाउँछ, तर तपाईँ मलाई चिन्तन गर्न भन्नुहुन्छ? मैले यस्तो किसिमको सङ्गति स्विकार्नै सक्दिनँ।” त्यस समय, मैले अन्यायमा परेको, अटेरी र प्रतिवादी महसुस गरेँ। मैले जति बढी सोचेँ, म उति नै नकारात्मक भएँ र मैले त्यो कर्तव्य निभाउनै सक्दिनँ भन्ने महसुस गरेँ। मैले आफू गलत स्थितिमा भएकी महसुस गरेँ, तर म त्यसबाट बाहिर निस्कन सकिनँ र मलाई आफूले त्यस स्थितिबाट के सिक्नुपर्ने हो भन्ने थाहै भएन। पछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै उहाँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ। मैले एउटा अनुभवात्मक गवाहीको भिडियोमा उल्लेख गरिएको परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जुन मेरो वर्तमान स्थितिसँग निकै सान्दर्भिक थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउने क्रममा काटछाँटको सामना गर्छन्, र यसो भन्छन्: ‘मेरो सीमित क्षमताले म साँच्चिकै कति नै गर्न सक्छु र? म धेरै बुझ्दिनँ, त्यसैले यदि म यो काम राम्ररी गर्न चाहन्छु भने, के मैले काम गर्दै जाँदा सिक्नुपर्नेछैन र? के त्यो मेरो लागि सजिलो हुनेछ? परमेश्‍वर मान्छेलाई बुझ्नै हुन्न; के यो व्यक्तिलाई उसको क्षमताले नभ्याउने काम गर्न लगाउनु होइन र? यो काम मैले भन्दा बढी बुझ्ने व्यक्तिलाई गर्न दिनुस्। म यसरी मात्र गर्न सक्छु—म योभन्दा बढी गर्नै सक्दिनँ।’ मानिसहरू नियमित रूपमा यस्ता कुराहरू भन्छन् र सोच्छन्, हैन र? (हो।) त्यो सबैले स्वीकार गर्न सक्छ। कोही पनि पूर्ण हुँदैन, र कोही पनि स्वर्गदूत हुँदैन; मानिसहरू शून्यतामा बाँच्दैनन्। सबैमा यी सोचहरू र भ्रष्टताका प्रकटीकरणहरू हुन्छन्। सबैजना यी कुराहरू प्रकट गर्न र बारम्बार यी स्थितिहरूमा जिउन सक्षम हुन्छन्, र त्यो तिनीहरूको इच्छाले गर्दा हुने होइन; तिनीहरू यसरी सोच्नबाहेक केही गर्न सक्दैनन्। मानिसहरूलाई केही हुनुअघि, तिनीहरूको स्थिति सामान्य नै हुन्छ, तर केही आइपरेपछि परिस्थितिहरू फरक हुन्छन्—नकारात्मक स्थिति स्वाभाविक रूपमा, कुनै बाधा वा अवरोधबिना, र अरूको दबाब वा उक्साहटबिना, निकै सजिलो तरिकाले प्रकट हुन्छ; जबसम्म तिनीहरूले सामना गर्ने कुराहरू आफ्नो इच्छाबमोजिम हुँदैनन्, यी भ्रष्ट स्वभावहरू सधैँ र सबै ठाउँमा प्रकट हुन्छन्। ती स्वभावहरू तिनीहरूबाट सधैँ र सबै ठाउँमा किन प्रकट हुन सक्छन्? यसले प्रमाणित मानिसहरूभित्र यस प्रकारको भ्रष्ट स्वभाव र भ्रष्ट प्रकृति हुन्छ भन्‍ने प्रमाणित गर्छ। मानिसका भ्रष्ट स्वभावहरू तिनीहरूमाथि अरूद्वारा थोपरिएको हुँदैन, न त ती अरूले हालिएको नै हुन्छ, अरूद्वारा सिकाइएको, प्रोत्साहित गरिएको वा उक्साइएको त झनै हुँदैन; बरु, ती त मानिसहरूमै हुन्छन्। यदि मानिसहरूले यी भ्रष्ट स्वभावहरू समाधान गर्दैनन् भने, तिनीहरू सही, सकारात्मक स्थितिहरूमा जिउन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्‍वर भन्नुहुन्छ, जब मानिसहरूले समस्याहरूको सामना गर्दैनन्, तिनीहरूको अवस्था प्रायः सामान्य हुन्छ, तर जब परिस्थितिहरू तिनीहरूका धारणाहरूसँग मेल खाँदैनन्, तिनीहरू प्रतिरोध, अटेरी र असन्तुष्टिको स्थिति प्रकट गर्न थालिहाल्छन्। यी मानिसको प्रकृतिसँग सम्बन्धित समस्याहरू हुन्। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफ्नो स्थितिसँग दाँजेर ती वचनहरूलाई विचार गरेँ। मेरा अगुवाले सुसमाचारको काममा मेरो प्रयास र विचारको कमी तथा वास्तविक काम गर्नमा मेरो असफलताको कुरा औँल्याउँदा, मैले अन्यायमा परेको र प्रतिरोधी महसुस गरेँ अनि आफूले गर्न सक्ने सबैभन्दा राम्रो यही थियो भन्ने सोचेँ। मैले काममा भाग लिएकी थिएँ अनि टोली अगुवाहरूसँग उनीहरूको स्थितिबारे सङ्गति गरेकी थिएँ तर उनीहरूले आफ्नो वर्तमान स्थितिबारे रिपोर्ट नगरेकाले मैले गर्न सक्ने केही थिएन। मलाई मेरा अगुवाले मेरो अवस्था पटक्कै बुझ्नुभएन भन्ने महसुस भयो। म अटेरी भएर तर्क गर्ने स्थितिमा बाँचिरहेकी थिएँ, जसले मैले सत्यलाई स्वीकार गरिनँ भन्ने देखायो। आफ्नो समस्याको प्रकृति कति गम्भीर रहेछ भन्ने थाहा पाएर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई काटछाँट गरेर कसैले मलाई दुःख दिन खोजिरहेको छैन र यो तपाईँकै अनुमतिमा हुन्छ भन्ने मलाई थाहा छ। मलाई थाहा छ, मैले चिन्तन गर्नुपर्ने र प्रवेश गर्नुपर्ने कुराहरू छन्, तर म तत्कालै ती के हुन् भनेर ठम्याउन सकिरहेकी छैन। कृपया मलाई आफूलाई बुझ्न र यस मामिलामा पाठ सिक्न अन्तर्दृष्टि दिँदै मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ: “कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्‍थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काटछाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्‍दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अनि के ख्रीष्टविरोधीहरूमा त्यस्तो मनोवृत्ति हुन्छ त? हुँदैन; सुरुदेखि अन्त्यसम्‍मै, तिनीहरूले प्रतिरोध र दिक्‍कताको मनोवृत्ति देखाउँछन्। त्यस्तो मनोवृत्तिको साथमा, के तिनीहरू परमेश्‍वरसामु शान्त हुन, र विनम्र रूपमा काटछाँट स्विकार्न सक्छन्? अहँ, सक्दैनन्। त्यसो भए, तिनीहरूले के गर्छन् त? सर्वप्रथम, तिनीहरूले जोडतोडले तर्क गर्छन् र औचित्य प्रस्तुत गर्छन्, र मानिसहरूले बुझ्ने र क्षमा गर्ने आशामा आफूले गरेका गल्तीहरू र आफूले प्रकट गरेको भ्रष्ट स्वभावको प्रतिरक्षा र बचाउ गर्छन्, ताकि तिनीहरूले कुनै जिम्‍मेवारी लिनु वा तिनीहरूलाई काटछाँट गर्ने वचनहरू स्विकार्नु नपरोस्। तिनीहरूले काटछाँटको सामना गर्दा कस्तो मनोवृत्ति देखाउँछन्? ‘मैले पाप गरेको छैन। मैले केही गल्ती गरेको छैन। यदि मैले गल्ती गरेको भए, त्यसको कारण छ; यदि मैले गल्ती नै गरेको छु भने पनि मैले जानी-जानी गरेको होइन, मैले यसको जिम्‍मेवारी नलिनुपर्ने हो। सानोतिनो गल्ती कसले पो गर्दैन र?’ तिनीहरूले यस्ता अभिव्यक्ति र वाक्यांशहरूलाई लिन्छन्, तर तिनीहरूले सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू वा प्रकट गरेका भ्रष्ट स्वभावहरू नै स्विकार्छन्—र तिनीहरूले दुष्कर्म गर्नुको पछाडि के मनसाय र लक्ष्य थियो भनेर त झन् किमार्थ स्वीकार गर्दैनन्। … तथ्यहरूले जसरी तिनीहरूको भ्रष्ट स्वभावलाई प्रकाश पारे पनि, तिनीहरूले यसलाई मान्‍ने वा स्विकार्ने गर्दैनन्, बरु तिनीहरूको विरोध र प्रतिरोधलाई जारी नै राख्छन्। अरूले जे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्ने वा मान्‍ने गर्दैनन्, बरु यस्तो सोच्छन्, ‘कसले कुरामा जित्‍ने रहेछ हेरौँ; कसले राम्रो बोल्ने रहेछ हेरौँ।’ यो काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने एक प्रकारको मनोवृत्ति हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनहरूद्वारा, मैले बुझेँ काटछाँट, मद्दत र सल्लाहको सामना गर्दा, उनीहरूले मसँग जस्तोसुकै मनोवृत्ति र लवज देखाए पनि, र उनीहरूले भनेका कुराहरू मेरा धारणाहरूसँग जतिसुकै मेल नखाए पनि, मैले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्थ्यो, समर्पित हुनुपर्थ्यो र आफ्ना समस्याहरूबारे चिन्तन गर्नुपर्थ्यो। मानिसमा हुनुपर्ने मनोवृत्ति यही हो। ख्रीष्ट विरोधीहरू काटछाँट, सल्लाह र मद्दतको सामना गर्दा प्रतिरोधी, प्रतिवादी, विद्रोही हुन्छन् साथै दोषसमेत अरूतिर पन्छाउँछन्। तिनीहरूमा सत्य स्वीकार गर्ने मनोवृत्ति अलिकति पनि हुँदैन। यसलाई आफ्नै व्यवहारसँग दाँजेर चिन्तन गर्दा, मेरा अगुवाले मेरा समस्याहरू औँल्याउँदा, म आफूले मूल्य चुकाएकी, र अगुवाले अवस्थै नबुझी मलाई काटछाँट गरिरहनुभएको भन्ने सोच्दै प्रतिरोधी भएँ र आफ्नो हृदयमा निरन्तर तर्क गरेँ। मैले अत्यन्तै अन्यायमा परेको महसुस गरेँ र मैले जति गरेकी थिएँ आफूले गर्न सक्ने त्यति मात्रै हो भन्ने सोचेँ। मैले विरोधी, अटेरी महसुस गरेँ र सत्यताप्रति वितृष्ण हुने स्वभाव प्रकट गरिरहेकी थिएँ। मैले कसरी आफूले सुरुमा केही काम सुम्पे पनि, त्यसपछि आफू वास्तवमै भाग लिन र कामको अनुगमन गर्न असफल भएकी, सुसमाचारसम्बन्धी कामदारहरूका कठिनाइ वा स्थितिहरू बुझ्ने कष्ट नगरी मानिसहरूलाई नतिजा ल्याउन हतार मात्र गराइरहेकी थिएँ भन्नेबारे सोचेँ। यसरी आफ्नो काम गर्दा, म आफ्नो जिम्मेवारी पूरा गर्न असफल भइरहेकी थिएँ। म वास्तविक समस्याहरू समाधान गर्न पनि असफल भएँ—यो त वास्तविक काम नगरे जस्तै थियो। अगुवाले ममा भएका समस्याहरूका लागि मलाई काटछाँट गरिरहनुभएको थियो, तर मैले काटछाँट स्वीकार गरिनँ र प्रतिरोधीसमेत भएँ, तर्क गरेँ र अरू मानिसहरूमाथि जिम्मेवारी पन्छाएँ। सारमा, म सत्यता स्वीकार गर्न असफल भइरहेकी थिएँ र परमेश्‍वरको विरोध गरिरहेकी थिएँ। यदि मैले पश्चात्ताप गरिनँ र यही हठी स्वभावमा बाँचिरहेँ भने, मलाई परमेश्‍वरले अन्ततः घृणा गर्दै हटाउनुहुनेछ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ: “मण्डलीमा, केही मानिस ठूलो प्रयास गर्नु वा केही जोखिमपूर्ण काम गर्नु भनेको आफूले योग्यता हासिल गरेको हो भन्ठान्छन्। खासमा, तिनीहरू आफ्ना कार्यअनुसार वास्तवमै सराहनायोग्य छन्, तर सत्यताप्रति तिनीहरूका स्वभाव र मनोवृत्ति घृणित र मन नपर्दा छन्। तिनीहरूमा सत्यताप्रति कुनै प्रेम छैन, बरु तिनीहरूमा सत्यताप्रति अरूचि हुन्छ। यसैले मात्र तिनीहरूलाई घृणित तुल्याउँछ। यस्ता मानिसहरू बेकार हुन्। जब परमेश्‍वर मानिसहरू कमजोर क्षमताका छन्, तिनीहरूमा केही कमजोरी छन्, र भ्रष्ट स्वभावहरू वा उहाँको विरोध गर्ने सार छ भन्‍ने देख्नुहुन्छ, तब उहाँ तिनीहरूलाई घिनाउनुहुन्‍न, र आफूबाट टाढा राख्नुहुन्‍न। परमेश्‍वरको अभिप्राय त्यो होइन, र त्यो मानिसप्रति उहाँको मनोवृत्ति होइन। परमेश्‍वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्‍न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्‍न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्‍वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूमा सत्यताप्रति अरुचि हुनुलाई। यदि तँमा सत्यताप्रति अरुचि छ भने, त्यो कुराले मात्रै परमेश्‍वर तँसित कहिल्यै प्रसन्‍न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँमा सत्यताप्रति अरुचि छ, तँ सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र अहङ्कारी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँ यस्तो व्यवहार गर्छस् भने, परमेश्‍वर तँलाई असाध्यै घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्। यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर यति यो कि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस्, र तँ प्रायजसो गल्ती गरिरहन्छस्, तर तैँले दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ सत्यतामा परमेश्‍वरको सङ्गति सुन्‍न हृदयदेखि नै इच्‍छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरूलाई इमानदार र उत्कट इच्‍छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्‍वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकाहीँ तँ अलि मूर्ख भए पनि, परमेश्‍वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्‍वर सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँ सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्‍वर तँलाई कृपा देखाउनुहुन्छ र सधैँ तँलाई अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँ तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्‍न, न त तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्‍चा भएकाले, तेरो हृदयको सच्चापन र तेरो यो मनोवृत्तिलाई विचार गरेर, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्‍माले तँमा काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ। अर्कोतिर, यदि तँ हठी मनको र आत्मभोगी छस्, तँमा सत्यताप्रति अरुचि छ, परमेश्‍वरका वचनहरू र सत्यतासँग सम्‍बन्धित हरेक कुरा कहिल्यै सुन्दैनस्, र हृदयदेखि नै प्रतिरोध र तिरस्कार गर्ने छस् भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? घृणा, तिरस्कार, र अटुट क्रोध(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्‍वर भन्नुहुन्छ, उहाँ सत्यताप्रतिको मानिसको मनोवृत्तिलाई निकै गम्भीरतापूर्वक लिनुहुन्छ। कतिपय मानिसहरू सामान्यतया आफ्नो कर्तव्यमा मूल्य चुकाउन सक्षम देखिन्छन् र निकै प्रभावकारी हुन्छन्, तर समस्याहरूको सामना गर्दा, तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन् र सत्यताप्रति वितृष्णसमेत हुन्छन्। परमेश्‍वर यसबाट दिक्क हुनुहुन्छ। विगत दुई महिनामा मैले आफ्नो कर्तव्यमा केही मूल्य चुकाएकी र केही नतिजा हासिल गरेकी थिएँ भन्ने कुरा फर्केर सोच्दा, मैले आफूले पहिले नै वास्तविक काम गरिरहेकी थिएँ त्यसैले मेरा अगुवाले मेरा समस्याहरू औँल्याउनु हुँदैनथ्यो भन्ने महसुस गरेँ। तर, मैले के बुझेँ भने, परमेश्‍वरले कसले कति दुःख भोगेको छ, कति काम गरेको छ वा कस्ता नतिजा हासिल गरेको छ भनेर मात्र हेर्नुहुन्न, उहाँले सत्यताप्रति उनीहरूको कस्तो मनोवृत्ति छ र उनीहरूले सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भनेर पनि हेर्नुहुन्छ। यदि, काटछाँटको सामना गर्दा, म निरन्तर प्रतिरोधी भइरहेँ र त्यसलाई स्वीकार गरिनँ, र तर्क गरेँ र परमेश्‍वरको विरुद्धमा काम गरेँ भने, परमेश्‍वर मदेखि दिक्क हुनुहुनेछ र मैले पवित्र आत्माको काम प्राप्त गर्ने छैन। सत्यताप्रति वितृष्ण हुने स्वभावमा जिउनु साँच्चै नै धेरै खतरनाक रहेछ भन्ने मैले बुझेँ। सुसमाचारको काम हाल प्रभावहीन रहेको कुरा सत्यता थियो, त्यसैले मैले मेरा अगुवाको सल्लाह स्वीकार गर्नुपर्थ्यो र सुसमाचारको काममा रहेका समस्याहरूलाई वास्तवमै समाधान गर्नुपर्थ्यो।

आफ्नो खोजीको बीचमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ र त्यसलाई खोजेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तिनीहरू कुनै पनि वास्तविक काममा सहभागी हुँदैनन्, तिनीहरूले अनुगमन गर्ने वा निर्देशन दिने गर्दैनन्, र समस्याहरू समाधान गर्न छानबिन वा अनुसन्धान गर्दैनन्। के तिनीहरूले अगुवाका जिम्मेवारीहरू पूरा गर्छन् त? के यसरी मण्डलीको काम राम्ररी गर्न सकिन्छ त? माथिले तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भनेर सोध्दा, तिनीहरूले भन्छन्, ‘मण्डलीको काम सबै सामान्य रूपले चल्दै छ। हरेक काम सम्हाल्ने एउटा सुपरिवेक्षक राखिएको छ।’ यदि काममा कुनै समस्याहरू छन् कि छैनन् भनेर थप प्रश्‍न सोधियो भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, ‘मलाई थाहा छैन। सायद कुनै समस्याहरू छैनन् होला!’ आफ्नो कामप्रति झूटा अगुवाहरूको मनोवृत्ति यस्तै हुन्छ। अगुवा भएको नाताले, तँ आफूले पाएको कामप्रति पूर्ण गैरजिम्मेदारी देखाउँछस्; यो सबै अरूलाई सुम्पिइन्छ, र तेरो तर्फबाट कुनै अनुगमन, सोधपुछ, वा समस्याहरू सुल्झाउन मद्दत हुँदैन—तँ अरूमाथि काम थोपर्ने तर आफूचाहिँ संलग्न नहुने सरदारजस्तै भएर बस्छस्। के तैँले आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरिरहेको छैनस् र? के तैँले पदाधिकारीले जस्तै व्यवहार गरिरहेको छैनस् र? कुनै निश्‍चित काम नगर्नु, कामको अनुगमन नगर्नु, वास्तविक समस्याहरू समाधान नगर्नु—के यस्ता अगुवाहरू सजावटका वस्तु मात्रै होइनन् र? के तिनीहरू झूटा अगुवा होइनन् र? झूटो अगुवाको ठेट चित्रण यही हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनहरूले मेरो वर्तमान स्थितिलाई उजागर गरे: सुसमाचारको काम अगुवाहरूले अनुगमन गर्ने मुख्य कामहरूमध्ये एक हो र यो मेरो जिम्मेवारी थियो, तर काम सुम्पिसकेपछि, मैले सुसमाचारको काम सुसमाचार समूहका अगुवाहरूको जिम्मेवारी हो भन्ने सोचेँ। मैले म केवल हात बाँधेर उनीहरूले नतिजा ल्याउन् भनेर पर्खेर बस्दा हुन्छ भन्ने सोचेँ र मैले टोली अगुवाहरूको स्थिति वा उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा के-कस्ता समस्याहरू देखा परे भन्ने कुरा बुझ्नमा ध्यान दिइनँ। तैपनि, मेरा अगुवाले हाम्रो कामको प्रगतिबारे सोध्दा, मैले टोली अगुवाहरूले मलाई अझै जवाफ दिएका छैनन् भनेँ। स्पष्ट रूपमा म नै त्यस कामको इन्चार्ज थिएँ, तर मैले विस्तृत रूपमा कामको प्रगति जाँच गर्न आफूलाई संलग्न गराइनँ र काममा हात नहाल्ने तरिका अपनाएँ। के यो झूटो अगुवाको व्यवहार थिएन र? त्यसबेला, मैले अन्ततः अगुवाको सल्लाहलाई आफ्नो हृदयमा स्वीकार गर्न सकेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ जसमा यसो भनिएको थियो: “सुपरिवेक्षणको अर्थ के हो? सुपरिवेक्षणमा निरीक्षण गर्ने र निर्देशन प्रदान गर्ने कुरा संलग्न हुन्छन्। यसको अर्थ विशिष्ट रूपमा कामबारे विस्तृत रूपमा सोध्नु, कामको प्रगति र कमजोर कडीहरू जान्‍नु र बोध गर्नु, आफ्नो काममा को जिम्मेवार छ र को छैन, र काम गर्न को सक्षम छ र को छैन भन्‍ने लगायतका कुराहरू बुझ्नु हो। सुपरिवेक्षणमा कहिलेकाहीँ परिस्थितिबारे परामर्श लिने, बुझ्ने, र सोधपुछ गर्ने कुराहरू आवश्यक पर्छन्। कहिलेकाहीँ यसमा आमनेसामने सोधपुछ गर्न वा प्रत्यक्ष निरीक्षण गर्न आवश्यक हुन्छ। अवश्य पनि, धेरैजसो यसमा कमान सम्हालेका मानिसहरूसँग प्रत्यक्ष सङ्गति गर्नुपर्ने, कामको कार्यान्वयन, सामना गरिएका कठिनाइ र समस्याहरू, आदिबारे सोध्नुपर्ने हुन्छ। सुपरिवेक्षण गर्दा, तैँले कुन-कुन मानिसहरू बाहिरी रूपमा मात्र आफ्नो काममा लागिपर्छन् र सतही रूपमा मात्र कामकुरा गर्छन्, कुन-कुन मानिसहरूलाई विशिष्ट कामहरू कार्यान्वयन गर्न आउँदैन, कुन-कुन मानिसहरूलाई ती कार्यान्वयन गर्न आउँछ तर वास्तविक काम गर्दैनन्, र त्यस्तै अन्य कुराहरू पत्ता लगाउन सक्छस्। यदि पत्ता लागेका यी समस्याहरू सामयिक रूपमा समाधान गर्न सकिएमा, त्यो सर्वोत्तम हुन्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूलाई अझ राम्ररी कार्यान्वयन गर्नु, तैँले प्रबन्ध गरेको काम उचित छ कि छैन, तैँले नजरअन्दाज गरेका वा ख्याल नगरेका कुराहरू छन् कि छैनन्, सिद्धान्तहरूसँग नमिल्ने कुनै क्षेत्रहरू छन् कि छैनन्, कुनै विकृत पक्षहरू वा गल्तीहरू भएका क्षेत्रहरू छन् कि छैनन्, आदि इत्यादि जस्ता कुरा हेर्नु हो—यी सबै समस्याहरू सुपरिवेक्षण गर्ने क्रममा पत्ता लगाउन सकिन्छ। तर यदि तँ घरमै बस्छस् र यो निश्चित काम गर्दैनस् भने, के तैँले यी समस्याहरू पत्ता लगाउन सक्छस् त? (सक्दिनँ।) धेरै समस्याहरू थाहा पाउन र बोध गर्नका लागि तिनका बारेमा सोधपुछ, अवलोकन गर्नुपर्छ, र कार्यस्थलमै गएर बुझ्नुपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०))। परमेश्‍वरका वचनहरूद्वारा, मैले सिकेँ कामको सुपरिवेक्षण गर्नु भनेको अरूलाई काम सुम्पेर त्यसपछि उनीहरूले नतिजा ल्याउन् भनेर पर्खनु मात्र होइन, बरु वास्तवमा काममा सहभागी हुनु र कामको प्रगतिमा के-कस्ता वास्तविक समस्याहरू छन् भनी पत्ता लगाउनु हो। के सुम्पिएको काम मानिसहरूका लागि उपयुक्त छैन, के ब्रदर-सिस्टरहरू कमजोर स्थितिमा छन्, वा के मानिसहरूमा आफ्नो कर्तव्य पूरा गर्ने मनोवृत्ति कमजोर छ? अगुवाहरूले यी कुराहरूलाई विस्तृत रूपमा बुझेर ग्रहण गर्नुपर्छ, र तिनलाई समयमै समाधान गर्न सत्यता सङ्गति गर्नुपर्छ। वास्तविक काम गर्नु भनेको यही हो। मैले आफूले कसरी टोली अगुवाहरूलाई काम सुम्पेकी र त्यसपछि उनीहरूलाई नतिजा ल्याउन निरन्तर दबाब दिएकी थिएँ भन्नेबारे चिन्तन गरेँ—मैले अगुवाको रूपमा आफ्नो जिम्मेवारी अलिकति पनि पूरा गरेकी थिइनँ। म आफ्नो ओहदामा बसेर कहिल्यै कुनै वास्तविक काम नगर्ने ठूलो रातो अजिङ्गरका ती अधिकारीहरूभन्दा कत्तिपनि भिन्न थिइनँ। कुनै अधिकारीले जुनसुकै काम गरिरहे पनि, तिनीहरू खालि नारा लगाउँछन्, माथिको निर्देशन तलका बताउँछन् र आफूलाई राम्रो देखाउने काम गर्छन्। मेरो आफ्नै सन्दर्भमा, म सुसमाचारको काममा रहेका वास्तविक समस्या र कठिनाइहरू समाधान गर्नका लागि नभई आफ्ना अगुवालाई रिपोर्ट गर्न सकूँ भनेर मात्र कामको जाँच गरिरहेकी थिएँ। परमेश्‍वर यस्तो किसिमको काम गर्ने मनोवृत्तिबाट दिक्क हुनुहुन्छ। यदि मैले आफ्नो मनोवृत्ति सच्याइनँ भने, मैले मण्डलीको काममा क्षति पुर्‍याउने थिएँ र यसरी आफ्नो कर्तव्यमा दुष्ट काम गरिरहेकी हुने थिएँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूअनुसार काम गर्न थालेँ र हतारहतार आफ्ना विचलनहरू सच्याउन काम गरेँ। वास्तविक बुझाइ प्राप्त गरेर, मैले कुनै-कुनै मण्डलीहरूमा सुसमाचारसम्बन्धी कामदारहरूको कमी छ भन्ने पत्ता लगाएँ, केही टोली अगुवाहरूले आवश्यक गतिमा काम सुम्पिएका थिएनन्, जसले गर्दा प्रगति सुस्त भएको थियो, र केही ब्रदर-सिस्टरहरू सीसीपीको गिरफ्तारी र निगरानीका कारण सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न असमर्थ थिए। यो र अन्य धेरै समस्याहरूका कारण, सुसमाचारको काम प्रभावहीन भएको थियो। त्यसपछि मैले यी समस्याहरूलाई एक-एक गरी सङ्गति गर्दै समाधान गरेँ। मैले जिम्मेवारी पन्छाउन बहाना खोज्न छोडेँ र अरू मानिसहरूले के गरिरहेका छन् वा के गरिरहेका छैनन् भन्ने कुरामा ध्यान केन्द्रित गर्न छोडेँ, बरु सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्न र अझ धेरै वास्तविक काम गर्नमा ध्यान केन्द्रित गर्ने विकल्प रोजेँ। केही समयको सहकार्यपछि, सुसमाचारको काममा सुधार हुन थाल्यो। म असाध्यै खुसी भएँ—मैले आफ्नो स्थिति सच्याउँदै र वास्तवमै काम गर्दै, आफूले परमेश्‍वरको मार्गदर्शन देख्नेछु भन्ने कहिल्यै कल्पना गरेकी थिइनँ।

यस अनुभवबाट, मैले काटछाँट, सल्लाह र मद्दत परमेश्‍वरबाटै आउँछन् र र ती हामीलाई आफ्नो कर्तव्यमा भएका विचलनहरू सच्याउन मद्दत गर्ने अनि आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न सक्षम बनाउने सकारात्मक कुराहरू हुन् भन्ने जानेँ। तिनीहरूले हामीलाई हाम्रो भ्रष्ट स्वभावहरू चिन्न र समाधान गर्न पनि मद्दत गर्छन्। यी सबैको पछाडि परमेश्‍वरका असल अभिप्रायहरू लुकेका हुन्छन्। यस अनुभवको फलस्वरूप, मैले काटछाँट, सल्लाह र मद्दत स्वीकार गर्दाका फाइदाहरूबारे प्रत्यक्ष रूपमा सिकेँ र कामको जाँच र सुपरिवेक्षण कसरी गर्ने भन्ने पनि थाहा पाएँ। परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!

अघिल्लो:  ४७. झूटको पछाडि के लुकेको हुन्छ

अर्को:  ५०. आमाबुबाले हामीलाई हुर्काएर गरेको उपकारप्रति कस्तो व्यवहार गर्ने

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger