४७. झूटको पछाडि के लुकेको हुन्छ
सन् २०२३ को नोभेम्बरमा, मण्डलीमा लेखन-पठनको कर्तव्य पूरा गर्ने क्रममा, मैले सीप तालिमको सुपरिवेक्षण गरेँ, तर कहिलेकाहीँ काम चापाचप हुँदा, म त्यो पछि सार्थेँ, जसले गर्दा सिक्नुपर्ने सीपहरू सिकिएनन्। सुपरिवेक्षकले यो विचलन देखे र मलाई आग्रह गरे, “तपाईँले सीप सिकाइ सत्रहरू निरन्तर सञ्चालन गर्नैपर्छ, अहिले हामीमा सबैभन्दा बढी कमी यही कुराको छ,” र उनले सीप सिक्नुको महत्त्वबारे सङ्गति पनि गरे। त्यसपछि सुपरिवेक्षकले मलाई सोधे, “के तपाईँले अगुवाहरूले हामीलाई औँल्याइदिएका हरेक विचलन र समस्याहरूलाई सङ्कलन गर्नुभएको छ?” म त छक्क परेँ, सोचेँ, “मैले त सुरुमा केही मात्र व्यवस्थित गरेकी थिएँ, तर त्यसपछि त्यो गर्न छोडेँ। तर मैले साँचो कुरा बताएँ भने, सुपरिवेक्षकले मलाई के सोच्लान्? के उनले यसो भन्नेछन्, ‘तपाईँ सीप तालिमका लागि जिम्मेवार हुनुहुन्छ, तर तपाईँ आफै सिक्न चाहनुहुन्न!’ सामान्यतया, सुपरिवेक्षकले मलाई के गर्ने भनेर भनेपछि, म खुरुक्कै मान्छु र तुरुन्तै दृढतापूर्वक काममा लाग्छु, जसले गर्दा म भरपर्दो र आफ्नो काममा दृढ छु भन्ने सबैमा छाप पर्छ। तर मैले यी सामग्रीहरू व्यवस्थित गर्न बिर्सेँ भनेँ भने, के त्यसले सुपरिवेक्षकमा म आफ्नो कर्तव्यमा गैरजिम्मेवार छु भन्ने छाप पार्दैन र?” त्यसैले, मैले झूट बोल्दै भनेँ, “हजुर, गरेकी छु।” मलाई अलि दोषी महसुस भयो र सुपरिवेक्षकतिर हेर्ने आँटसमेत गरिनँ। मैले अचानक परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “परमेश्वरले इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, र त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्, जसका कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तेरो हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै छल गर्ने प्रयास नगर्नु, र परमेश्वरको चापलुसी गर्ने प्रयासका मात्र कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। मैले के बुझेँ भने इमानदार मानिसहरू आफ्ना वचन र कार्यहरूमा सत्यलाई झूटसँग मिसाउँदैनन्। तिनीहरू सोझा र सच्चा हुन्छन् अनि तिनीहरूले आफ्ना विचार परमेश्वर र अरूलाई सरल र खुला रूपमा व्यक्त गर्न सक्छन्। त्यसपछि मैले आफ्नै आचरणबारे सोचेँ। सुपरिवेक्षकले मलाई हाम्रो कार्यविधिका विचलन र समस्याहरू व्यवस्थित गरेँ कि गरिनँ भनेर सोध्दा, मैले ती कुरा व्यवस्थित गर्न भर्खर मात्र थालेकी र बाँकी केही व्यवस्थित नगरेकी भए पनि, साँचो कुरा बताउँदा मेरो छवि बिग्रन्छ भनेर डराएँ, त्यसैले मैले सुपरिवेक्षकलाई आफूले व्यवस्थित गर्नुपर्ने कुरा व्यवस्थित गरेँ भनेर भनेँ। म बेइमान भइरहेकी र झूट बोलिरहेकी थिएँ। परमेश्वरले उहाँ इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भनेर स्पष्टसँग बताउनुहुन्छ। मैले मनमनै सोचेँ, “के म सुपरिवेक्षकसँग खुलस्त र इमानदार हुनुपर्छ? तर म कसरी सुरु गरूँ? यदि मैले खुलेर भनिहालेँ भने, सपरिवेक्षकले मलाई कस्तो नजरले हेर्नेछन्? के उनले म यस्ता सानातिना कुरामा समेत झूट बोल्छु भन्नेछन्? अहँ, त्यस्तो हुनेछैन। मैले भन्नु हुँदैन। यदि भनेँ भने, आखिरमा मैले आफैलाई लज्जित पार्नेछु।” पछि, सुपरिवेक्षकले अचानक मलाई भने, “के तपाईँले समस्या र विचलनहरू व्यवस्थित गर्नुभएन? त्यसोभए आज दिउँसो टोली अध्ययन सत्र राखौँ।” यति भनेर, उनी गए। सत्य कुरा प्रकट हुन र आफूलाई लाजमर्दो हुन नदिन, मैले दिउँसो खाजा खाने समयमा गोप्य रूपमा ती कुराहरू व्यवस्थिति गर्नुपऱ्यो, तर मलाई यो ठिक लागेन। मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “यदि कसैले सत्यतालाई प्रेम गर्दैन भने, उसले सत्यता बुझे पनि सत्यता अभ्यास गर्न सक्दैन, किनभने हृदयमा ऊ त्यसो गर्न इच्छुक नै हुँदैन र उसलाई सत्यता मनै पर्दैन। त्यस्तो व्यक्तिलाई मुक्ति दिनै सकिँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने मलाई राम्ररी थाहा थियो, तर म झूट बोलिरहेँ र छली भइरहेँ, र मलाई एकदमै दुःख लाग्यो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म इमानदार व्यक्ति बन्न अनि सुपरिवेक्षकसामु खुलस्त हुन र आफूलाई उदाङ्गो पार्न इच्छुक छु।” त्यसैले मैले सुपरिवेक्षकलाई सत्य कुरा बताएँ, र मलाई अचम्म लाग्यो, सुपरिवेक्षकले मलाई हप्काएनन्। पछि, मैले आत्मचिन्तन गरेँ र आफ्नो दैनिक बोलीमा अक्सर सत्यलाई झूटसँग मिसाउँदी रहेछु भन्ने बुझेँ। धेरैपटक, सुपरिवेक्षकले मेरो कामबारे सोधपुछ गर्दा, मैले स्थितिे जाँचेकी वा त्यसलाई ध्यान दिएकी हुन्थिनँ, तर मलाई साँचो कुरा बताएँ भने सुपरिवेक्षकले मलाई तुच्छ ठान्नेछन् भनेर चिन्ता लाग्थ्यो, त्यसैले म झूट बोल्थेँ र त्यो जाँच्दै छु वा त्यो गरिसकेकी छु भनेर भन्थेँ। यसबारे जति धेरै सोचेँ, मलाई आफूले कति धेरै झूट बोलेकी रहेछु भनी त्यति नै धेरै महसुस भयो!
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई गहन रूपमा प्रभावित गऱ्यो। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम् सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकाश हुन्छन्। यदि तैँले यी भ्रष्ट तत्त्वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेथ्यो, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेथिस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र तेरो गहिराइमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्वरलाई तँप्रति अप्रसन्न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्वरको उपस्थितिमै जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने जब कुनै व्यक्तिले झूट बोल्छ, तब उसलाई पीडा हुन्छ र उसको हृदयलाई असहजता र आत्मग्लानिले गाँज्छ, तर उसले आफ्नो प्रतिष्ठा र हितलाई पन्छाउन नसक्ने हुनाले, ऊ अक्सर शैतानको पासोमा परेर झूट बोल्दै र छल गर्दै जिउँछन्। म आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यधिक मन पराउँथेँ सुपरिवेक्षकले मलाई प्राविधिक विचलनहरूलाई सारांशीकरण र व्यवस्थित गरेँ कि गरिनँ भनेर सोध्दा, मैले स्पष्ट रूपमा त्यो नगरेकी भए पनि, त्यसो भन्दा सुपरिवेक्षकमा परेको मेरो राम्रो छापमा असर पर्नेछ भनेर डराएँ, त्यसैले मैले झूट बोल्दै त्यो गरिसकेँ भनेँ। मैले आफूले झूट बोलिरहेकी र छल गरिरहेकी छु भन्ने बुझेँ, र मलाई मैले इमानदार व्यक्ति बन्न, परमेश्वरका वचनहरूअनुसार खुलस्त हुन र आफूलाई उदाङ्गो पार्न अभ्यास गर्नुपर्छ भन्ने थाहा थियो। तर म अझै पनि आफ्नो आत्मसम्मान र हैसियतलाई पन्छाउन सकिनँ, र सत्य कुरा प्रकट गर्दा सुपरिवेक्षकले मलाई झनै तुच्छ ठान्नेछिन् भन्ने डरले, मैले आफ्नो विवेकको घोचाइलाई बेवास्ता गरेँ र तथ्यहरूलाई लुकाइरहेँ। मैले आफ्नो प्रतिष्ठा र हैसियतका खातिर निर्लज्जसित झूट बोलेँ, र मलाई सत्य कुरा राम्ररी थाहा भए पनि, मैले त्यो अभ्यास गरिनँ। परमेश्वरले मेरो व्यवहारलाई साँच्चै घृणा र अत्यन्तै घीन गर्नुभयो!
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि तिनीहरूले आफूले भन्न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे र तिनीहरूलाई छर्लङ्ग देखे भने—कुरो मिलाउनलाई तिनीहरूले तुरुन्तै अर्को झुट सिर्जना गर्छन्। यस प्रकारको मानिसले बारम्बार झूटो बोलिरहन्छ र झूटो बोलिसकेपछि त्यो झुटलाई कायम गराउन त्यस्तो मानिसले थप झुटहरू बोल्नुपर्ने हुन्छ। तिनीहरूले आफ्ना अभिप्राय लुकाउन अरूलाई धोका दिन्छन् र आफूले बोलेका झुटहरूको समर्थनमा हरप्रकारका बहाना र स्पष्टीकरणहरू कथ्छन्, ताकि कुन कुरा साँचो हो र कुनचाहिँ साँचो होइन भनेर छुट्याउन मानिसहरूलाई कठिन होस् र यसले गर्दा तिनीहरूले कहिले साँचो बोलिरहेका छन् भन्ने कुरा मानसिहरूलाई थाहै हुँदैन, तिनीहरूले कहिले झुट बोलिरहेका हुन्छन् भनी जान्ने त कुरै भएन। जब तिनीहरूले झुट बोल्छन्, तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, तिनीहरूलाई झूटो बोल्ने बानी परेको छ भन्ने होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू निरन्तर आफ्नै अभिप्राय र उद्देश्यले बोल्छन्, र ती सबैभित्र अवर्णनीय षड्यन्त्रहरू लुकेका हुन्छन्। साना-ठूला मामिलाहरूमा, तिनीहरू आफ्ना लक्ष्यहरू हासिल गर्न, आफ्ना शब्दहरूलाई पहिले नै दिमागमा तम्तयार पार्छन्, र आफूलाई जेले फाइदा पुऱ्याउँछ त्यही भन्छन्। यसले के देखाउँछ भने, ख्रीष्टविरोधीहरू आफ्नो सारमै झूट बोल्न बानी परेका हुन्छन्। म आफ्नो जीवन र काम दुवैमा अक्सर झूट बोल्थेँ। मेरा सुपरिवेक्षकले मेरो कामबारे सोध्दा, मैले स्पष्ट रूपमा त्यो नगरेकी भए पनि, साँचो कुरा बताउँदा मेरो प्रतिष्ठा र हैसियतमा असर पर्नेछ भनेर डराएकीले मैले त्यो गरिसकेँ भनेर झूट बोलेँ। कहिलेकाहीँ मलाई काम कसरी भइरहेको छ भन्ने थाहा नहुँदा, जब सुपरिवेक्षकले त्यसको अनुगमन गर्थे, तब म पहिले जाँचेको स्थितिलाई नै हालको स्थितिजस्तो गरी रिपोर्ट गर्थेँ। मेरा सहकमी ब्रदरहरू वा सुपरिवेक्षकले सानातिना मामिलाहरूबारे सोध्दासमेत म झूट बोल्थेँ। म आफ्नो छली स्वभावअनुसार जिइरहेकी थिएँ, म कुनै कुरा भन्नुअघि आफ्नो दिमागमा मामिलाहरूलाई बारम्बार खेलाइरहेकी हुन्थेँ, र झूट बोलेपछि, झूट खुलासा हुन्छ कि भन्ने डरमा जिउँथेँ, त्यसले म त्यसलाई कम गम्भीर बनाउने र ढाकछोप गर्ने तुरुन्तै उपायहरू सोच्थेँ। हरेक झूटपछिका मेरा विभिन्न लाजमर्दो व्यवहारहरूबारे चिन्तन गर्दा, मैले आफू ज्योतिमा जिउन नसक्ने केवल छली व्यक्ति रहेछु भन्ने देखेँ। परमेश्वर हामी इमानदार व्यक्ति बनौँ, र तथ्यअनुसार बोलौँ र काम गरौँ भन्ने माग गर्नुहुन्छ। हाम्रा शब्दहरू तथ्यसँग मिल्नुपर्छ, र हामीले आफ्नो हृदयमा जे छ त्यही व्यक्त गर्नुपर्छ। तर के मैले सधैँ झूट बोलेर र छल गरेर परमेश्वरलाई धोका दिने प्रयास गरिरहेकी थिइनँ र? मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्ना ८:४४)। मैले प्रकट गरिरहेको कुरा दुष्ट स्वभाव थियो। परमेश्वर सबै कुराको छानबिन गर्नुहुन्छ। मेरा यी झूटहरूले मानिसहरूलाई अस्थायी रूपमा मात्र धोका दिन सक्थे, र ढिलो-चाँडो, ती प्रकट हुनेथिए। यदि मैले पश्चात्ताप नगरेकी भए, मेरो निष्ठा र मर्यादा खेर गइसकिन्जेलसम्म त, म पूर्ण र कट्ट झूटो बनिसकेको हुन्थे। त्यसपछि मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। सर्वशक्तिमान् परमेश्वर यसो पनि भन्नुहुन्छ: “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरको स्वभाव धर्मी र पवित्र छ, र आफ्नो हृदयमा इमानदार हुनेहरू मात्र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छन्। यदि म परमेश्वरको कामको अन्त्यमा पनि अझै झूट बोल्ने व्यक्ति नै रहेँ भने, निश्चय नै दियाबलसहरू र शैतानहरूसँगै नष्ट पारिनेछु। परमेश्वरले मलाई अझै पनि पश्चात्ताप गर्ने मौका दिइरहनुभएको थियो, र मैले इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्थ्यो।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई मेरो काममा उत्पन्न विचलन र समस्याहरूलाई कसरी सही तरिकाले सम्हाल्ने भनेर बुझ्न मद्दत गर्यो। परमेश्वर भन्नुहुन्छ: “यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न दिन्छस् र त्यसबाट असल-खराब छुट्याउन सक्छस्, अनि यसबारेमा खुलस्त हुन र यसलाई चिरफार गर्न सक्छस् भने, तेरो बारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्नेछन् किनकि तेरो हृदय परमेश्वरका लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्वीकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र तिनीहरूको भ्रष्टताको साँचो अनुहारबारे तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरू मान्छेले गल्ती गर्दा तँ तिनीहरूप्रति नराम्रो विचार नै पाल्नेछस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्नेछस्। तब मात्र तँ समझदार हुने छस् र मूर्ख कुराहरू गर्ने छैनस्, र यसले तँलाई बुद्धिमान् बनाउने छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूले मलाई के बुझायो भने, मेरो काम राम्रोसँग नहुँदा वा आफूले गल्ती गर्दा, मैले आफ्ना समस्याहरूलाई सही तरिकाले सम्हाल्नुपर्छ, र म सबैसामु खुलस्त हुनुपर्छ र मैले आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि उनीहरूको मार्गदर्शन र मद्दत स्वीकार गर्नुपर्छ। बुद्धिमान व्यक्तिले यही गर्छ। चिन्तन गरेपछि, मैले के बुझएँ भने, म आफूले काम राम्रोसँग नगर्दा र अरूले त्यसबारे सोध्दा, सत्य कुरा बोलेँ भने उनीहरूले मलाई तुच्छ ठान्नेछन् भनेर सधैँ चिन्ता गर्थेँ। तर वास्तवमा, कुरा यो थिएन। उदाहरणका लागि यही महिनालाई लिऔँ, मैले सबैलाई सीप सिक्न अगुवाइ गरिनँ, तर सुपरिवेक्षकले थाहा पाउँदा, मलाई दोष दिएनन् वा तुच्छ ठानेनन्। बरु, उनले मसँग सीप सिक्नुको महत्त्वबारे सङ्गति गरे र धैर्यपूर्वक मलाई मद्दत गरे। तर मलाई आफ्ना कमीकमजोरीहरू प्रकट गर्दा अरूले मलाई तुच्छ ठान्नेछन् भन्ने चिन्ता भयो। तथ्यहरू मेरो सामुन्ने भएकाले, मैले आफू अत्यधिक सोच्ने र साँच्चै छली भएकी रहेछु भन्ने देखेँ। सबैका कर्तव्यहरूमा कमीकमजोरी र कमीहरू हुन्छन्, तर यदि मैले ढाकछोप गरिरहेकी, झूट बोलिरहेकी, र छलकपटमा लागिरहेकी, आफ्ना कमीकमजोरीहरू अरूलाई हेर्न नदिइरहेकी भए, समय बित्दै जाँदा, मेरा ब्रदर-सिस्टरहरूले मेरा झूट र छलकपटलाई खुट्याउनेथिए अनि मलाई खुलासा र अस्वीकार गर्नेथिए। यसबाहेक, कतिपय मानिसलाई मेरा समस्याहरूबारे थाहा हुने सम्भावना हुन्थ्यो, त्यसैले वास्तवमा, मैले केवल आफैलाई धोका दिइरहेकी र टाउको दूलोमा हालेर आफूलाई लुकाउन खोजिरहेकी थिएँ। आफ्ना कमीकमजोरीहरूको सही तरिकाले सामना गर्नु, र आफ्नो कामका समस्याहरूको शान्तिपूर्वक सामना गर्नु नै मैले गर्नुपर्ने कुरा थियो। यदि यस्तो समस्या क्षणिक त्रुटि थियो भने, मैले त्यो तुरुन्तै सुधार्नुपर्थ्यो, र यदि त्यो आफ्नो कर्तव्यमा झारा टार्नु थियो भने, मैले सबैसामु खुलस्त बताउनुपर्थ्यो, आफूलाई उदाङ्गो पार्नुपर्थ्यो र आत्मचिन्तन गरेर आफूलाई चिन्नुपर्थ्यो। बुद्धिमान व्यक्तिले यही गर्छ।
मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, र मैले झूट बोल्ने र छली हुने समस्यालाई कसरी समाधान गर्ने भनेर बुझ्न थालेँ। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटहरूमा कुनै अभिप्राय नै लुकेको हुँदैन, न त ती झूटको जानी-जानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त बस प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र तिनले शैतानको चलाकीलाई प्रतिनिधित्व गर्छन्, र ती मानिसहरूले जानी-जानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, उसले देहविरुद्ध विद्रोह गर्न सक्नेछैन—त्यसकारण उसले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्ने समस्या एकै पटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकाहीँ वा धेरै पटक पुरानै बानीमा फर्किने समस्या रहनेछ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्ने हरेक झूटलाई समाधान गरेसम्म, र यो कार्यलाई कायम राखेसम्म, त्यो दिन पक्कै आउनेछ जब तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब तँबाट एउटा झूट निस्किन्छ, तब आत्म-चिन्तन गर्, र त्यसपछि परमेश्वरलाई प्रार्थना गर्। जब अर्को झूट निस्किन्छ, तब फेरि आत्मचिन्तन गर्, र परमेश्वरलाई प्रार्थना गर्। परमेश्वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तैँले सत्यता अभ्यास गर्ने र सत्यता जिउने त्यति नै तृष्णा गर्नेछस्। त्यसरी, तँसँग झूटहरू त्याग्ने सामर्थ्य हुनेछ। केही समयसम्म त्यस्तो अनुभव र अभ्यास गरेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले उप्रान्त झूट बोल्न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछन्। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो आजाद र उन्मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले बाँध्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बन्नुका नतिजाहरू देख्न थाल्नेछस्। … अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्जित हुन्छौ। तिमीहरूको अनुहार रातो हुनेछ, तिमीहरूलाई लाज लाग्नेछ, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्ने डर लाग्नेछ। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्नुपर्छ। तैँले यसो भन्नुपर्छ: ‘हे परमेश्वर, म इमानदार व्यक्ति बन्न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरू ममाथि हाँस्नेछन् भन्ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई आजाद र उन्मुक्त हुने तुल्याउनुहोस्।’ जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयभित्र अझै धेरै ज्योति हुनेछ, र तैँले मनमनै भन्नेछस्: ‘यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एक पटक त इमानदार व्यक्ति बनेको छु।’ तैँले यसरी प्रार्थना गर्दा, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई उत्प्रेरित गर्नुहुनेछ, र तँलाई वास्तविक व्यक्ति बन्दा हुने अनुभवलाई कदर गर्ने तुल्याउनुहुनेछ। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। जब म बोल्छु र आफ्नो आत्मसम्मान र प्रतिष्ठा जोगाउन छली हुन चाहन्छु, तब मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको छानबिन स्वीकार गर्नुपर्छ। मैले जानीबुझी आफूविरुद्ध विद्रोह गर्नुपर्छ र परमेश्वरसँग उहाँको हप्की र अनुशासन माग्नुपर्छ। जब कुनै समय म आफूले झूट बोलेको वा तथ्यहरू तोडमोड गरेको पाउँछु, तब मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, इमानदार व्यक्ति बन्ने अभ्यास गर्न आफ्नो आत्मसम्मान पन्छाउनुपर्छ, र आफ्ना अभिप्रायहरू चिरफार गर्न आफ्ना ब्रदर-सिस्टरहरूसामु खुलस्त हुनुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ। पछि, मैले जानबुझी परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न थालेँ। एकपटक, सुपरिवेक्षकले मलाई एउटा काम कार्यान्वयन गर्न अह्राए र बारम्बार सम्झाए। पछि, सुपरिवेक्षकले मलाई त्यो कार्यान्वयनबारे सोधे र मैले त्यो काम कार्यान्वयन गर्न बिर्सेकी रहेछु भन्ने थाहा पाएँ। मैले सोचेँ, “मैले सत्य कुरा बताएँ भने, सुपरिवेक्षकले मलाई के सोच्लान्? के उनले मलाई भर पर्न र भरोसा गर्न नसकिने व्यक्ति भन्नेछैनन् र? वा सायद मैले त्यो लागू गरेँ भनिदिनुपर्छ?” झूट बोल्न मुख खोल्नै लाग्दा, मैले आफू फेरि छली हुन लागेकी छु भन्ने बुझेँ, त्यसैले मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, सुपरिवेक्षकले मेरो कामबारे सोधिरहेका छन्, र म फेरि झूट बोल्न चाहन्छु। हे परमेश्वर, म अबउसो आफ्नो छली स्वभावअनुसार जिउन र मेरा ब्रदर-सिस्टरहरूलाई झूट बोल्न चाहन्नँ। म इमानदार व्यक्ति बन्ने कोसिस गर्न इच्छुक छु, र म तपाईंलाई मलाई सत्यता अभ्यास गर्ने र आफ्नो गलत अभिप्रायविरुद्ध विद्रोह गर्ने सङ्कल्प दिनुहोस् भनी विन्ती गर्छु।” प्रार्थना गरेपछि, मलाई शान्त महसुस भयो र मैले सुपरिवेक्षकलाई आफूले त्यो काम लागू गर्न बिर्सेछु भनेर बताएँ। त्यसपछि सुपरिवेक्षकले मलाई यस विषयबारे सङ्गति र मार्गदर्शन दिनुभयो, र मैले यो मेरो काममा एउटा विचलन हो र त्यो सच्च्याउन म इच्छुक छ भनेर बुझेँ।
यो अनुभवद्वारा, मैले आफ्नो झूट बोलाइ र छलपछाडिको छली स्वभावबारे केही बुझाइ प्राप्त गरेँ, र मैले आफ्नो झूट बोलाइलाई समाधान गर्ने र इमानदार व्यक्ति बन्ने केही तरिका भेट्टाएँ। परमेश्वरलाई धन्यवाद!