५१. ख्याति र प्राप्तिका लागि मरिमेट्दा आइपरेको कष्ट
सन् २०१५ को नोभेम्बरमा, अगुवाले मलाई मण्डलीको सामान्य मामिलाको कामको जिम्मा दिनुभयो। सामान्य मामिलाका कर्मचारीहरूलाई परेका समस्याहरू समाधान गर्न म सक्रिय भएर मद्दत गर्थें, र सबैले मलाई अनुमोदन गर्थे, जसले गर्दा मलाई मण्डलीको एक अपरिहार्य सदस्य हुँ जस्तो लाग्थ्यो। सन् २०१७ को अक्टोबरमा, सिस्टर तियान यु र मलाई सामान्य मामिलाको कामको निरीक्षण गर्न सँगै सहकार्य गर्ने व्यवस्था मिलाइयो। सुरुमा, हाम्रो सहकार्य राम्रै थियो। उहाँले मलाई मेरो जीवन प्रवेशमा मद्दत गर्नुभयो, र म उहाँसँग सहकार्य गर्न पाउँदा खुसी थिएँ। तर केही समयपछि, मैले तियान यु राम्रो क्षमताकी, तेज दिमाग भएकी, र सत्यतामा सङ्गति गरेर समस्याहरू समाधान गर्न मभन्दा सिपालु हुनुहुन्छ भन्ने थाहा पाएँ। एक पटक भेलाको दौरान, एउटी सिस्टरले आफ्नो काममा आइपरेका केही कठिनाइहरूबारे बताइन्। मैले समस्या के हो भनेर पत्ता लगाउन नपाउँदै, तियान युले आफ्नै अनुभवहरूलाई आधार बनाएर ती सिस्टरसँग सङ्गति गर्नुभयो, र परमेश्वरका वचनका केही सान्दर्भिक खण्डहरू पनि पढ्नुभयो। उहाँले सङ्गति गरिसकेपछि, ती सिस्टरले सहमतिमा बारम्बार टाउको हल्लाइन्। साँच्चै भन्नुपर्दा, सिस्टरको समस्या समाधान हुनु राम्रो कुरा थियो, तर म खुसी हुन सकिनँ। मैले मनमनै सोचेँ, “तियान युको क्षमता राम्रो छ र उहाँले जहिले पनि समस्या समाधान गर्न सङ्गति दिन सक्नुहुन्छ, यस्तो भएपछि ब्रदर-सिस्टरहरूले मलाई तुलनामा कस्तो ठान्नेछन्? के तिनीहरूले मेरो क्षमता तियान युको जत्तिको राम्रो छैन भनी सोच्नेछन्? भविष्यमा म कसरी ब्रदर-सिस्टरहरूसँग भेलामा सहभागी भइरहन सकूँला र?” पछि, मैले तियान युलाई केही कम्प्युटर सीप पनि आउँछ भन्ने देखेँ, र जब ब्रदर-सिस्टरहरूलाई उनीहरूको कम्प्युटर वा भिडियो प्लेयरमा समस्या आउँथ्यो, तिनीहरू सधैँ तियान युकहाँ जान्थे। मैले तियान यु हरेक कुरामा मभन्दा सिपालु हुनुहुन्छ भन्ने देखेँ, र म ईर्ष्या र डाहले भरिएँ मलाई दबिएको समेत महसुस भयो। मैले भित्रभित्रै गुनासो गरेँ, “हामी दुवै जना सुपरभाइजर हौँ, तर हाम्रो बीचको खाडल किन यति ठूलो छ? भविष्यमा अगुवा र ब्रदर-सिस्टरहरूले मलाई कस्तो ठान्नेछन्?” मैले विगत सम्झेँ, त्योबेला म एक्लै इन्चार्ज थिएँ, मेरो कर्तव्यमा केही नतिजाहरू आएका थिए, र ब्रदर-सिस्टरहरू सबैले मलाई आदर गर्थे। तर जब तियान यु आउनुभयो, उहाँ हरेक कुरामा मभन्दा सिपालु हुनुहुन्थ्यो, र मसँग आफूलाई देखाउने कुनै तरिका थिएन, त्यसैले मलाई तियान युले मेरो प्रसिद्धि खोसेको जस्तो लाग्यो। मैले तियान युप्रति मनमा रिस साँच्न थालेँ, र मनमनै सोचेँ, “तिमी सबै कुरामा सिपालु देखिन्छ्यौ, तर तिमीले गर्न नसक्ने केही छ कि छैन हेरौँला।”
त्यसको केही समयपछि, अगुवाले म र तियान युलाई केही ब्रदर-सिस्टरलाई लिन जाने व्यवस्था मिलाउनुभयो। म त्यहाँ थिइनँ, त्यसैले तियान युले अरू कसैलाई पठाउने व्यस्था गर्नुभयो। तर उहाँले राम्ररी व्यवस्था मिलाउन सक्नुभएन र ती ब्रदर-सिस्टरहरूलाई लिन कोही पुगेनन्, र तिनीहरू चिन्तित हुँदै पर्खिरहे। मैले यो अवसरलाई एक जना सिस्टरको अगाडि तियान युलाई तुच्छ देखाउन प्रयोग गरेँ किनभने म तियान युले यस्तो सानो कुरा पनि सम्हाल्न सक्नुहुन्न भन्ने कुरा ती सिस्टरले देखून् भन्ने चाहन्थेँ। मैले फैलाएको कुराले गर्दा, ती सिस्टरको मनमा तियान युप्रति केही नकारात्मक धारणाहरू विकास भए, र तियान युले राम्ररी व्यवस्था मिलाउन सक्नुहुन्न भनेर गुनासो गरिन्। अर्को पटक, मैले थाहा पाएँ कि तियान युले जिम्मा लिएकी एक सिस्टर, सिन रु, बाहिरबाट मात्र उत्साही देखिन्थिन् तर सत्यता पछ्याउने गर्दिनथिइन्, न परमेश्वरका वचनहरू खाने-पिउने गर्थिन्। उनी केवल सांसारिक चलनहरू, खाई-पिई र मोजमस्ती गर्ने कुरालाई मात्रै पछ्याउँथिन्। सङ्गतिपछि पनि कुनै परिवर्तन भएन, र उनलाई हटाइनुपर्थ्यो। मैले सोचेँ, “तियान यु सिन रुको कामका लागि जिम्मेवार हुनुहुन्छ, र उहाँमा सिन रुबारे सुझबुझ धेरै छैन; यस्तो लाग्छ सुझबुझको मामिलामा तियान यु मभन्दा सिपालु हुनुहुन्न।” मैले श्रेष्ठताको भावना महसुस गरेँ, अन्ततः मैले तियान युलाई उछिन्न सक्ने केही कुरा भेटेँ जस्तो लाग्यो। मैले सोचेँ, “तिम्रा पनि कमीकमजोरी छन्। अगुवा यहीँ हुनुहुन्छ, म सिन रुको व्यवहारबारे कुरा उठाउनेछु र अगुवाले सुझबुझको मामिलामा तिमी मभन्दा सिपालु छैनौ भन्ने देख्नुहुनेछ। यसले तिम्रो घमण्डलाई चूर पार्नेछ।” तर तियान युले आफ्नो सुझबुझको कमीबारे उल्लेख गर्नुभएन, र अँध्यारो हुँदै गएको र अगुवा जान लाग्नुभएको देखेर, म अधीर हुन र रिसाउन थालेँ, त्यसैले मैले तियान युलाई उपदेश दिने पारामा भनेँ, “तपाईँ आफ्नो राम्रो पक्षबारे मात्र कुरा गर्नुहुन्छ, आफ्नो कमीकमजोरीबारे कुरा गर्नुहुन्न; मैले देखेँ, तपाईँले आफूलाई पनि चिन्नुहुन्न!” मैले यो भनेपछि, कोठाको वातावरण तुरुन्तै हिउँजस्तै चिसो भयो, र कसैले केही बोलेन। अगुवाले मेरो स्थितिमा केही गडबड भएको याद गर्नुभयो र के भइरहेको छ भनेर सोध्नुभयो, त्यसैले मैले साँचो स्थिति प्रकट गर्दै म तियान युलाई लज्जित पार्न र उहाँ पनि कतिपय क्षेत्रमा मभन्दा कमजोर हुनुहुन्छ भन्ने देखाउन चाहन्थेँ भनेर बताएँ। तियान यु भक्कानिएर रुनुभयो, र मलाई साह्रै असहज र दोषी महसुस भयो, त्यसैले मैले उहाँसँग माफी मागेँ। त्यसबेला, ममा म आफ्नो इज्जतलाई महत्त्व दिन्छु र मभित्र हैसियतको प्रबल इच्छा छ भन्ने सामान्य बुझाइ मात्र थियो, तर मेरो भ्रष्ट स्वभाव अझै समाधान भएको थिएन।
पछि, मेरो कामको परिणाम तियान युको जस्तो राम्रो नभएकाले, मैले आफूलाई अब्बल देखाउन वा इज्जत कमाउन सक्दिनँ भन्ने महसुस गरेँ, त्यसैले म झनै दिक्दार भएँ, र भेलाको समय हुँदा पनि भेलामा जान मन लाग्दैनथ्यो। मैले ब्रदर-सिस्टरहरूले उनीहरूको जीवन प्रवेश र कर्तव्यमा सामना गरेका कठिनाइहरूलाई बेवास्ता गरेँ, र धेरैजसो काम तियान युले एक्लै गर्नुभयो। केही समयपछि, मैले छातीमा कसिएको, सास फेर्न गाह्रो भएको महसुस गरेँ, र खोकी लागेको थियो, र जाँच गराउँदा, मलाई इन्टरस्टिसियल निमोनिया भएको पत्ता लाग्यो। डाक्टरले यो रोग छिटो बढ्छ र तुरुन्तै उपचार गर्नुपर्छ भने। बिरामी भएपछि पनि, मैले धेरै आत्मचिन्तन गरिनँ, र मैले आफ्नो कर्तव्यमा गल्ती गरिरहेँ, त्यसैले अगुवाले मलाई बर्खास्त गर्नुभयो। त्यसबेला, म पीडामा डुबेँ, र मलाई परमेश्वरद्वारा प्रकट गरिएको र हटाइएको हो भन्ने ठानेँ, जसले मलाई झनै दिक्दार बनायो। एक पटक, मैले परमेश्वरका वचनहरूको एउटा पठन सुनेँ: “सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनको यो खण्डले मेरो हृदय छेड्यो। मैले म बर्खास्त हुँदाको कुरा याद गरेँ, अगुवाले म सधैँ ख्याति, प्राप्ति, र हैसियतको पछि लागेको, बारम्बार सङ्गतिपछि पनि परिवर्तन हुन नसकेको, र मैले सत्यतालाई पटक्कै स्वीकार नगरेको भनेर खुलासा गर्नुभएको थियो। मैले के पनि सोचेँ भने म तियान युसँग लगभग तीन वर्षदेखि सहकार्य गरिरहेकी छु, र तियान युसँग ईर्ष्या राख्नु र प्रतिस्पर्धा गर्नु गलत हो भन्ने थाहा भए तापनि, मैले आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोजिनँ। के म परमेश्वरले वर्णन गर्नुभएको सत्यता अभ्यास नगर्ने व्यक्ति थिइनँ र? त्यसबेला, मैले परमेश्वरको अभिप्राय बुझिनँ र म नकारात्मक थिएँ र आफैलाई दोषी ठहराएँ। त्यो अवधिमा, मलाई भोक लाग्दैनथ्यो, परमेश्वरका वचनहरू खाँदा-पिउँदा कुनै अन्तर्दृष्टि पाउँदिनथेँ, र केही गर्न पनि जाँगर चल्दैनथ्यो। पछि, मैले आफ्नो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना र खोजी गरेँ। त्यसपछि, मैले “आफ्ना असफलता र पतनहरूलाई सम्हाल्नेसम्बन्धी सिद्धान्तहरू” पढेँ। परमेश्वर भन्नुहुन्छ: “यदि तँ परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छस् भने, तैँले दैनिक घटनाहरू, चाहे ती राम्रा होऊन् वा नराम्रा, ती कुनै पनि संयोगवश घट्दैनन् भन्ने विश्वास गर्नैपर्छ। कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरिरहेको वा तँलाई निशाना बनाइरहेको हुँदैन; यो सब परमेश्वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको थियो। परमेश्वर किन यी सबै कुराहरू योजनाबद्ध गर्नुहुन्छ? त्यो तेरो साँचो रूप खुलासा गर्न वा तँलाई प्रकट गर्न र हटाउनका लागि होइन; तँलाई प्रकट गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध पार्नु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्वर तँलाई कसरी सिद्ध पार्नुहुन्छ? अनि उहाँ तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँ तँलाई तेरो आफ्नै भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै सुरुआत गर्नुहुन्छ। यी कुराहरू जानेर र तिनको बुझाइ प्राप्त गरेर मात्र, तँ सत्यता पछ्याउन सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभाव फाल्न सक्छस्। यो परमेश्वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्वरको कृपा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट सिक्नुपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म बर्खास्त हुनुको अर्थ परमेश्वरले मलाई हटाउनुभएको होइन, बरु यो ममाथि उहाँको अनुशासन र ताडना थियो। यो किनभने मैले ती सिस्टरसँग ख्याति र प्राप्तिका लागि होड गरेकी थिएँ, जसले गर्दा मण्डलीको काममा ढिलाइ भएको थियो, र आत्मचिन्तन गर्नुको सट्टा, मैले ती सिस्टरलाई आक्रमण र बहिष्कारसमेत गरेँ, जसबाट परमेश्वरको स्वभावलाई उल्लङ्घन गरेँ। यस्तो परिस्थितिमा, परमेश्वरको अभिप्राय मैले सत्यता खोजूँ, अनि आफूमाथि चिन्तन गरेर आफैलाई चिनूँ भन्ने थियो। परमेश्वरको अभिप्राय बुझेपछि, मेरो स्थिति केही हदसम्म सुधारियो, र म परमेश्वरमा भर परी आत्मचिन्तन र उहाँसामु पश्चात्ताप गर्न इच्छुक भएँ।
पछि, अगुवाले मलाई देखाउनुभएको परमेश्वरका वचनहरूको एउटा खण्ड मैले सम्झेँ: “ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियत पछ्याउँछन्, त्यसकारण तिनीहरू अवश्य नै आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्न बोल्ने र काम गर्ने गर्छन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतलाई अरू सबै कुराभन्दा माथि राख्छन्। यदि तिनीहरूको वरपर कुनै व्यक्तिमा राम्रो क्षमता छ र उसले सत्यता खोजी गर्छ, र त्यो व्यक्तिले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ केही प्रतिष्ठा प्राप्त गर्छ र ऊ समूह अगुवा चुनिन्छ, र त्यो व्यक्तिलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले साँच्चै नै प्रशंसा र अनुमोदन गर्छन् भने, ख्रीष्टविरोधीहरू कस्तो प्रतिक्रिया दिन्छन्? अवश्य नै, तिनीहरू यसप्रति खुशी हुनेछैनन्, र तिनीहरूमा डाहा पैदा हुनेछ। यदि ख्रीष्टविरोधीहरूमा डाहा हुन्छ भने, मलाई भन त, के तिनीहरू राम्रोसित व्यवहार गर्न सक्छन्? के तिनीहरूले यसबारे केही गर्नुपर्दैन र? (पर्छ।) तिनीहरूले साँच्चै नै त्यो व्यक्तिलाई डाहा गर्छन् भने के गर्नेछन्? तिनीहरूले अवश्य नै मनमा यस्तो हिसाबकिताब गर्नेछन्: ‘यो व्यक्तिको क्षमता निकै राम्रो छ, उसमा यो पेसाबारे केही न केही बुझाइ छ, र ऊ मभन्दा दह्रिलो छ। यो कुराले परमेश्वरको घरको काममा फाइदा गर्ला, तर मेरो लागि गर्दैन! के उसले मेरो पद लिनेछैन र? यदि उसले एकदिन साँच्चै नै मलाई प्रतिस्थापन गर्यो भने, के त्यो समस्या हुँदैन र? मैले अगाडि नै केही गर्नुपर्छ। यदि एकदिन ऊ आफ्नै खुट्टामा उभिन सक्यो भने, उसलाई सम्हाल्न मलाई त्यति सजिलो हुनेछैन। मैले पहिले नै प्रहार गर्नु राम्रो हुन्छ। यदि मैले ढिलाइ गरेर उसलाई मेरो खुलासा गर्न दिएँ भने, परिणामहरू के हुनेछ कसलाई के थाहा। अनि, मैले कसरी प्रहार गर्न सक्छु र? मैले कुनै न कुनै बहाना बनाउनुपर्छ, कुनै न कुनै मौका खोज्नुपर्छ।’ मलाई भन त, यदि मानिसहरू यसरी कसैलाई यातना दिन चाहन्छन् भने, के तिनीहरूले सजिलै त्यस्तो गर्ने बहाना बनाउने र मौका खोज्ने गर्दैनन् र? दियाबलसको एउटा युक्ति के हो? (‘कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।’) ठीक भन्यौ, ‘कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ।’ शैतानको संसारमा, यस्तो तर्क हुन्छ, र यस्ता कुराहरू हुन्छन्। परमेश्वरको सन्दर्भमा यस्तो कदापि हुँदैन। ख्रीष्टविरोधीहरू शैतानका हुन् र तिनीहरू यी कुराहरू गर्न अत्यन्तै सिपालु हुन्छन्। तिनीहरू यसरी मनन गर्छन्: ‘कुकुर कुट्ने बुद्धि भएको मान्छेले सजिलै लौरो भेट्टाउँछ। म तँलाई दोष दिनेछु, तँलाई यातना दिने मौका खोज्नेछु, तेरो अहङ्कार र अभिमान दमन गर्नेछु, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई अर्कोपटक तँलाई आदर गर्न र टोली अगुवाको रूपमा छनौट गर्नबाट रोक्नेछु। त्यसपछि, तँ मेरो लागि खतरा बन्नेछैनस्, होइन र? यदि मैले यो सम्भावित समस्या र यो प्रतिद्वन्द्वीलाई हटाएँ भने, के मलाई सहज हुनेछैन र?’ यदि तिनीहरूको मनभित्र ठूलो उथलपुथल हुँदै छ भने, के तिनीहरूले बाहिरी रूपमा यस्तो काम गर्नबाट आफूलाई रोक्न सक्छन् र? ख्रीष्टविरोधीहरूको प्रकृतिलाई ध्यानमा राख्दा, के तिनीहरूले यो विचारलाई आफ्नो हृदयमै थुनेर केही नगरी बस्न सक्छन् र? अवश्य नै सक्दैनन्। तिनीहरूले अवश्यै यस्तो गर्ने उपाय भेट्टाउनेछन्। ख्रीष्टविरोधीहरूको क्रूरता नै यही हो। तिनीहरूले यस्तो सोच्ने मात्र होइन, यही उद्देश्य हासिल गर्नसमेत चाहन्छन्। त्यसकारण, तिनीहरूले यो मामलामा उत्कट रूपमा मनन गर्दै दिमाग खियाउँछन्। तिनीहरूले परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त मण्डलीको कामबारे नै विचार गर्छन्। तिनीहरूले आफ्नो व्यवहार परमेश्वरको अभिप्रायअनुरूप छ छैन भनेर त झनै वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत कसरी कायम राख्ने, आफ्नो शक्ति कसरी रक्षा गर्ने भन्नेबारे मात्रै विचार गर्छन्। तिनीहरूलाई प्रतिद्वन्द्वीले आफ्नो हैसियत खतरामा पारिसकेको छ भन्ने लाग्छ, त्यसैले तिनीहरू उनीहरूलाई तल झार्ने मौका खोज्ने प्रयास गर्छन्। जब तिनीहरूले त्यस प्रतिद्वन्द्वीले तिनीहरूसँग सल्लाह नै नगरी, निरन्तर आफ्नो कर्तव्य झारा टार्दै निर्वाह गर्ने कुनै व्यक्तिलाई बर्खास्त गरेको थाहा पाउँछन्, तब यसलाई त्यो प्रतिद्वन्द्वीलाई दोष लाउने सही मौकाको रूपमा हेर्छन्। अनि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरूले यसो भन्छन्, ‘आज सबैजना यहाँ भएको हुनाले, यो मामलालाई चिरफारको लागि अघि सारौँ। के सहकर्मी वा साझेदारहरूसँग छलफल नगरी बिनाअनुमति कसैलाई बर्खास्त गर्नु तानाशाही कार्य होइन र? किन कसैले यस्तो गल्ती गर्छ? के तिनीहरूको स्वभावमा समस्या हुँदैन र? के तिनीहरूलाई काटछाँट गरिनुपर्दैन र? के विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई त्याग्नुपर्दैन र?’ तिनीहरूले यो समस्या टिप्छन् र आफ्नो प्रतिद्वन्द्वीलाई बदनाम गर्न र आफूलाई उचाल्न तिललाई पहाड बनाउँछन्। वास्तवमा, परिस्थिति त्यति गम्भीर हुँदैन। कुनै टोली सदस्यलाई बर्खास्त गरिएपछि वा उसको कर्तव्य समायोजन गरिएपछि त्यसबारे रिपोर्ट गर्नु पूर्ण रूपमा स्वीकार्य हुन्छ, तर त्यो बर्खासी वा समायोजन सिद्धान्तहरूअनुरूप हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले यो समस्यालाई ठूलो बनाउँछन्। तिनीहरूले जानाजानी आफ्नो प्रतिद्वन्द्वीलाई आक्रमण गर्ने र आफूलाई उचाल्ने गर्छन्। के यो अरूलाई यातना दिनुको प्रकटीकरण होइन र? तिनीहरूले क्रूर रूपमा प्रतिद्वन्द्वीको काटछाँट गर्छन्, र उनीहरूमाथि अतिरञ्जित आरोप लाउँछन्। … यी ख्रीष्टविरोधीहरूले सानो कुरालाई ठूलो बनाइरहेका हुन्छन्: यो त स्पष्ट रूपमै रिस-इबी र व्यक्तिगत बदला मात्रै हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचनहरूको प्रकाशको सामना गर्दा, मेरो हृदय डरले काँप्यो। तियान युसँग सहकार्य गरेको समयलाई फर्केर हेर्दा, मैले उहाँ हरेक हिसाबले मभन्दा उत्कृष्ट हुनुहुन्छ भन्ने देखेँ, त्यसैले म ख्याति र प्राप्ति खोज्ने भ्रष्ट स्वभावमा फसेकी थिएँ, र तियान युप्रति ईर्ष्या र घृणा महसुस गर्थेँ। मलाई तियान युले मेरो प्रसिद्धि खोसेको जस्तो लाग्यो, त्यसैले मैले उहाँप्रति अरूको उच्च सम्मानलाई कम गर्न उहाँका कमीकमजोरी खुलासा गर्ने मौका खोजेँ। यो हासिल गर्न, म शिकारीले आफ्नो शिकारको प्रतीक्षा गरेजस्तै सही समयको प्रतीक्षा गरेँ। जब तियान युले ब्रदर-सिस्टरहरूलाई लिन जाने व्यवस्था मिलाउन असफल हुनुभयो, मैले जानाजानी एक जना सिस्टरको अगाडि उहाँले राम्ररी व्यवस्था मिलाउन सक्नुहुन्न भनेर उहाँलाई तुच्छ देखाएँ। जब मैले तियान युको सुपरिवेक्षणमा रहेकी समूह सदस्य सिन रुले राम्रो प्रदर्शन गरिरहेकी छैनन् भन्ने देखेँ, म खुसी भएँ, मानौँ मैले तियान युलाई आफ्ना कमीकमजोरी स्वीकार गर्न लगाउने मौका पाएकी थिएँ। त्यसैले जब अगुवाले हामीसँग भेला गर्नुभयो र मैले तियान युले आफ्नो सुझबुझको कमीबारे उल्लेख गर्नुभएन भन्ने देखेँ, मैले खुलेआम उहाँले आफूलाई नचिनेको भनेर आलोचना गरेँ, र उहाँको घमण्डलाई चूर पार्ने र अगुवालाई म मानिसहरूलाई खुट्याउन उहाँभन्दा सिपालु छु भनेर देखाउने आशा गरेँ। म ख्याति र प्राप्ति खोज्ने भ्रष्ट स्वभावमा बाँचिरहेकी थिएँ, र जब मैले जस्तोसुकै गरे पनि तियान युलाई उछिन्न सक्दिनँ भन्ने देखेँ, तब म नकारात्मक भएँ र काममा ढिलासुस्ती गर्न थालेँ, र मैले ब्रदर-सिस्टरहरूले उनीहरूको कर्तव्य र जीवन प्रवेशमा सामना गरिरहेका कठिनाइहरूलाई बेवास्ता गरेँ, जसले गर्दा काममा ढिलाइ भयो। मैले तियान युको बारेमा सोचेँ, उहाँ आफ्नो कर्तव्यमा बोझ लिनुहुन्थ्यो, जिम्मेवार हुनुहुन्थ्यो, र ब्रदर-सिस्टरहरूको वास्तविक समस्या समाधान गर्न सक्नुहुन्थ्यो, जुन मण्डलीको कामका लागि फाइदाजनक थियो, तर मैले आफ्ना सबै दिन उहाँसँग प्रतिस्पर्धा र होडबाजीमा बिताएँ, र जब म उहाँलाई उछिन्न सकिनँ, मैले उहाँलाई आक्रमण र बहिष्कार गरेँ। मैले गरिरहेको कुरा कसैलाई अप्ठ्यारो पार्ने प्रयास मात्र थिएन; मैले त मण्डलीको कामलाई कमजोर पार्दै र अवरोध गर्दै थिएँ। यस्तो काम कस्तो व्यक्तिले गर्छ? यो महसुस गर्दा, मलाई धेरै दुःख लाग्यो, र म नरोई बस्न सक्दिनँ। विगतमा, मैले आफूलाई परमेश्वरमा निष्ठापूर्वक विश्वास गर्ने र मण्डलीको कामलाई रक्षा गर्न सक्ने व्यक्ति ठानेकी थिएँ, तर तथ्यहरूको प्रकाशमार्फत मैले आफू कति घृणित र मानवताविहीन रहेछु भन्ने देखेँ। जति मैले यसबारे सोचेँ, त्यति नै मैले यो भ्रष्टाचारको सामान्य प्रकटन मात्र होइन, बरु म ख्रीष्टविरोधीको बाटोमा पुगिसकेकी छु भन्ने महसुस गरेँ। डरले मेरो हृदय जकड्यो, र मैले आफ्नो स्थिति कति खतरनाक छ, र यदि मैले पश्चात्ताप गरिनँ भने, मलाई हटाइनेछ र दण्ड दिइनेछ भन्ने बुझेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि तैँले परमेश्वरलाई पछ्याउँछु, मुक्ति हासिल गर्छु, परमेश्वरको छानबिन र अगुवाइ स्विकार्छु, र परमेश्वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा, मण्डलीको विभिन्न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी इच्छाहरू र आफ्नै हितहरू पछ्याउने कार्यको कारण, परमेश्वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि भएको हुन्छ भने, यहाँसम्म कि परमेश्वरको घरको कामसमेत गम्भीर रूपमा बाधा भएको वा विनाश भएको हुन्छ भने, तेरो जीवन पुस्तकमा परमेश्वरले कसरी तेरो परिणाम मापन गर्नुपर्छ? तँलाई कसरी चित्रण गर्नुपर्छ? निष्पक्ष रूपमा भन्नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको स्वभावले उल्लङ्घन सहन गर्दैन भन्ने महसुस गरेँ। मैले आफ्नो कर्तव्यमा सकारात्मक भूमिका खेलिनँ, मैले सहकार्य गरिरहेकी सिस्टरलाई आक्रमण र बहिष्कार गरेँ र मण्डलीको काममा बाधा पुर्याएँ। यो परमेश्वरले दोषी ठहराउने कुरा हो। आफ्नो कर्तव्य सम्हालेदेखि, मैले सधैँ सत्यता पछ्याउने र परमेश्वरलाई सन्तुष्ट पार्ने घोषणा गरेकी थिएँ, तर तथ्यहरूको सामना गर्दा, मैले मेरो अभिप्राय आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्वरलाई सन्तुष्ट पार्ने होइन, बरु आफ्नै हैसियत व्यवस्थापन गर्ने थियो भन्ने देखेँ। मैले सधैँ अरूबाट उच्च सम्मान खोजेँ र कसैले मेरो हैसियतलाई खतरामा पार्ने बित्तिकै, म उनीहरूको खोट खोतल्ने र कमीकमजोरी समात्ने मौका खोज्थेँ, र त्यसपछि त्यसलाई ठूलो मुद्दा बनाएर उनीहरूलाई आक्रमण र बहिष्कार गर्न प्रयोग गर्थेँ। मण्डलीको कामले सहकार्य गर्दै वास्तविक काम गर्न सक्ने राम्रो क्षमता भएका धेरै मानिसहरूको आवश्यकता छ, तर मैले अरूलाई आक्रमण र बहिष्कार गरेँ, र मण्डलीको काममा बाधा र बर्बाद गरेँ। यो त दियाबलसहरूले गर्ने काम हो! जब मैले आफ्नो व्यवहारको प्रकृति बुझेँ, तब मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मैले तपाईंका यति धेरै वचनहरूको आपूर्तिको आनन्द लिएकी छु तर पनि मैले तपाईंका वचननुसार अभ्यास गरेकी छैन। बरु, मैले आफ्नो शैतानी स्वभावमा भर परेर तपाईंको विरोध गरेकी छु। मैले ख्याति, प्राप्ति, र हैसियत पछ्याउने क्रममा धेरै दुष्ट काम गरेकी छु, तर म पश्चात्ताप गर्न र नयाँ सुरुवात गर्न इच्छुक छु।”
त्यसपछि मैले अझै चिन्तन गरेँ, आफैलाई सोधेँ, “म किन नचाहँदा नचाहँदै पनि सधैँ ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्छु?” पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो हृदय उज्यालो भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) त्यसैले, शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूद्वारा मैले के बुझेँ भने तियान युसँग ख्याति र प्राप्तिका लागि मेरो प्रतिस्पर्धा अनि परमेश्वरको विरोधमा गरिएका दुष्ट कार्यहरू सबै शैतानले भ्रमित र भ्रष्ट पार्नुका उपज थिए। शैतानले मानिसहरूलाई “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “महापुरुष एक जना मात्र हुन्छ” जस्ता विचारहरूले भर्छ। यी र यस्तै अन्य विचारहरू मेरो हृदयमा गहिरोसँग जरा गाडेका थिए र मलाई बाँधिरहेका र नियन्त्रण गरिरहेका थिए। बाल्यकालदेखि नै, म जहाँ गए पनि, मलाई सधैँ प्रशंसा र तारिफ मन पर्थ्यो, र मण्डलीमा मेरो कर्तव्यको सन्दर्भमा पनि यो फरक थिएन। म जुनसुकै कर्तव्य गरे पनि सधैँ अब्बल देखिन र अरूको नजरमा पर्न चाहन्थेँ, र जबसम्म म मानिसहरूको प्रशंसा र समर्थन प्राप्त गर्न सक्थेँ, म कुनै पनि कठिनाइ सहन इच्छुक हुन्थेँ। तियान यु कार्य सामर्थ्य, क्षमता, र अन्य पक्षहरूमा मभन्दा उत्कृष्ट हुनुहुन्छ भन्ने देख्दा, मलाई एउटा ठूलो रूखको छायामा उभिएकी छु जस्तो लाग्यो, जसले मलाई अब्बल देखिन वा अरूको नजरमा पर्नबाट रोकिरहेको थियो। मलाई साँच्चै दबिएको र निसास्सिएको महसुस भयो, र मेरो हृदयमा, म तियान युप्रति ईर्ष्यालु हुन र रिसाउन थालेँ, र उहाँले गल्ती गर्नुहोस्, लज्जित हुनुहोस्, वा कर्तव्यबाट बर्खास्त पनि गरियोस् भन्ने कामना गर्थेँ। मलाई राम्रोसँग थाहा थियो कि कामको बोझ म एक्लैले सम्हाल्न सक्नेभन्दा धेरै थियो, तियान यु एक सक्षम कामदार हुनुहुन्थ्यो, र हाम्रो सहकार्य मण्डलीको कामका लागि लाभदायक थियो, तर मेरो आफ्नै स्वार्थका खातिर, मैले उहाँको काममा सहयोग नगरेकी मात्र होइन, उहाँलाई आक्रमण र बहिष्कार पनि गरेँ। यसले तियान युलाई चोट पुर्याउनुका साथै मण्डलीको काममा पनि ढिलाइ गर्यो। ममा साँच्चै मानवताको कमी थियो! मैले के महसुस गरेँ भने “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ” र “महापुरुष एक जना मात्र हुन्छ,” जस्ता शैतानले मानिसहरूलाई भर्ने विचारहरूमा आधारित भएर आचरण गर्दा म अहङ्कारी र तर्कहीन बनेकी थिएँ, र मेरो स्वभाव झन्-झन् दुर्भावनापूर्ण हुँदै गइरहेको थियो। यसले मलाई अझ साँघुरो सोचको बनायो, र मैले आफ्नो मानवता गुमाएँ। वास्तवमा, जब मैले आफूले तियान युलाई चोट पुर्याएको देखेँ, मलाई दोषी महसुस भयो, तर जबजब म तियान युलाई अब्बल र अरूको नजरमा परेको देख्थेँ, म उहाँप्रति ईर्ष्या नगरी बस्न सक्दिनथेँ। म यो स्थितिबाट छुटकारा पाउन चाहन्थेँ, तर सकिरहेकी थिइनँ। जसरी परमेश्वरले भन्नुभयो: “यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै।” परमेश्वरका यी वचनहरू पढ्दा, मैले आफ्नो आँसु थाम्न सकिनँ। मलाई परमेश्वरका वचनहरू सीधै मेरो हृदयसँग बोलिरहेका छन् जस्तो लाग्यो र मैले ती कुराहरूसँग गहिरो सम्बन्ध महसुस गरेँ। मैले तियान युसँग लगभग तीन वर्ष सहकार्य गरिसकेकी थिएँ र अगुवाले मसँग ख्याति र प्राप्तिका लागि होड गर्ने मेरो समस्याबारे धेरै पटक सङ्गति गर्नुभएको थियो, यहाँसम्म कि मलाई खुलासा र काँटछाँट पनि गर्नुभयो, र त्यसबेला, मैले यो कुरा चिन्न सकेँ र आफैलाई घृणा गरेँ, तर फेरि त्यस्तै किसिमको परिस्थितिको सामना गर्दा, म उही पुरानो खराब बानीमा फर्किएँ। म ख्याति, प्राप्ति, र हैसियतको पछि लागिरहेँ, मैले पर्दा पछाडिबाट मण्डलीको कामलाई समेत कमजोर र अवरोध गरिरहेँ, जसले गर्दा मैले परमेश्वरको स्वभावलाई उल्लङ्घन गरेँ र परमेश्वरको ताडना र अनुशासन ममाथि आइलाग्यो। म बिरामी परेँ तर पनि मैले आफूमाथि चिन्तन गरिनँ, र अन्ततः जब मलाई बर्खास्त गरियो, तब मात्र म डराएँ। मैले के देखेँ भने ख्याति, प्राप्ति, र हैसियतप्रतिको मेरो पछ्याइ साँच्चै नियन्त्रणबाहिर पुगेको थियो। परमेश्वरले मानिसहरूलाई किन ख्याति, प्राप्ति, र हैसियतको पछि नलाग भन्नुहुन्छ भन्ने कुरा मैले अन्ततः बुझेँ। परमेश्वरको मुक्तिविना, म केवल झन्-झन् डुब्दै जाने थिएँ!
मैले परमेश्वरलाई प्रार्थना गरेँ, सत्यता खोजी गर्न र यो शैतानी स्वभावको बन्धन फाल्न चाहेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासका केही मार्गहरू प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रतिष्ठा र हैसियत त्याग्न सजिलो छैन—मानिसहरूले सत्यता पछ्याएर मात्रै त्यो हासिल गर्न सक्छन्। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्न, ख्याति, प्राप्ति र हैसियत पछ्याउनुको खोक्रोपन देख्न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्न सक्छ। आफ्नो भ्रष्ट स्वभाव फाल्न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्ने विश्वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै वाक्क-दिक्क रूपमा प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्नुपर्छ, ‘मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई खिसी र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।’ यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्ने कुराको प्रमाण हो। … जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता प्रतिकूल परिणामहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने सङ्कल्पको समेत कमी छ भने, सत्यताको पछि लाग्ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, प्राप्ति र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हिसाबमा एक-दुई वटा असफलता र बाधाहरू सामना गर्छन्, तब तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको कुनै मूल्य हुँदैन भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्। तिनीहरूले हैसियत र प्रतिष्ठा पूर्ण रूपमा त्याग्न सक्छन्, र तिनीहरूले कहिल्यै हैसियत नपाए पनि, सत्यता पछ्याउन र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न, र आफ्नो अनुभव गवाही बाँड्न जारी राख्ने, र यसरी परमेश्वरको गवाही दिने परिणाम हासिल गर्ने दृढ संकल्प लिन सक्छन्। तिनीहरू साधारण अनुयायी हुँदा पनि, तिनीहरूले अझै पनि अन्त्यसम्म पछ्याउन सक्छन्, र तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न मात्रै चाहन्छन्। यिनीहरू मात्रै सत्यतालाई साँचो रूपमा प्रेम गर्ने र दृढ संकल्प भएका मानिसहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्नबाट बच्न, व्यक्तिले पहिले आफ्ना कमजोरी र अपर्याप्तताहरू स्वीकार गर्नुपर्छ, र ब्रदर-सिस्टरहरूको अगाडि सक्रिय रूपमा आफूलाई खुला राख्नुपर्छ, आफ्नै भ्रष्टता र कमीहरू स्वीकार गर्नुपर्छ। साथै, जब कसैमा ख्याति र प्राप्तिका लागि होड गर्ने भ्रष्ट स्वभाव फेरि देखा पर्छ, तब उसले आफ्नो विरुद्धमा विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र त्यसलाई सत्यताको अभ्यासले प्रतिस्थापन गर्नुपर्छ ताकि उसले आफूलाई मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने दुष्ट कामहरू गर्नबाट पर राख्न सकोस्। मैले तियान युको राम्रो क्षमता, कार्य सामर्थ्य, र ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्ने खुबीको बारेमा, र कसरी मण्डलीले मेरा कमीकमजोरीहरू पूरा गर्न तियान युलाई मसँग सहकार्य गर्ने व्यवस्था मिलायो, र कसरी यी कुराहरू काम र मेरो आफ्नै जीवन प्रवेशका लागि लाभदायक थिए भन्ने बारेमा सोचेँ। त्यहाँदेखि, जब मभन्दा राम्रो क्षमता भएका र मभन्दा उत्कृष्ट ब्रदर-सिस्टरहरूलाई भेटेँ, तब मैले उनीहरूलाई सही तरिकाले व्यवहार गर्न थालेँ, र उनीहरूका सबै पक्षबाट सिकेर आफ्ना कमीकमजोरीहरू पूरा गरेँ। पछि, अगुवाले मैले केही पाठ सिकेको देख्नुभयो र मलाई एउटा कर्तव्य दिनुभयो। आफ्नो कर्तव्य पूरा गर्दा, मैले फेरि तियान युलाई भेटेँ। मलाई उहाँप्रति साह्रै ऋणी महसुस भयो, त्यसैले मैले अग्रसर भएर मेरो आफ्नै भ्रष्ट स्वभावबारे उहाँलाई बताएँ, र उहाँले पनि हाम्रो सहकार्यको दौरान आफूले प्रकट गरेका भ्रष्टताबारे खुलस्त बताउनुभयो। जति धेरै मैले उहाँसँग सङ्गति गरेँ, त्यति नै मलाई हल्का र स्वतन्त्र महसुस भयो।
सन् २०२४ को अप्रिलमा, मलाई मण्डलीको सफाइको काम गर्ने जिम्मा दिइयो र सिस्टर लिउ सिनसँग सहकार्य गर्न लगाइयो। लिउ सिनको क्षमता र कार्य सामर्थ्य राम्रो थियो। एक पटक, हामी दुई जना सिस्टरहरूलाई भेट्न गयौँ, र उनीहरूको सफाइको कामप्रतिको मनोवृत्ति केही हदसम्म लापरवाह भएको पायौँ। लिउ सिनले त्यसपछि उनीहरूसँग सङ्गति गर्न परमेश्वरका सान्दर्भिक वचनहरू लिएर सङ्गति गर्नुभयो। उहाँको सङ्गतिपछि, दुवै सिस्टरले लिउ सिनले भनेका कुरामा साँच्चै अनुमोदन जनाए, र एक क्षणका लागि, मलाई आफू त्यहाँ नभएजस्तो लाग्यो, र मैले सोचेँ, “आज बिहान उनीहरूसँग सङ्गति गर्ने लिउ सिन मात्र हुनुहुन्छ। उनीहरूले मेरो बारेमा के सोच्नेछन्?” मलाई केही हदसम्म असहज महसुस भयो, र लिउ सिन त्यहाँ हुँदा म नजरमा पर्न सक्दिनँ भन्ने लाग्यो। त्यस क्षण, मैले आफू फेरि ख्याति र प्राप्तिका लागि होड गर्ने स्थितिमा जिइरहेकी छु भन्ने महसुस गरेँ, र त्यसैले मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मलाई तपाईंका वचनहरूमा आधारित भएर आचरण गर्न र कर्तव्य पूरा गर्न मद्दत गर्नुहोस्, र म शैतानी स्वभावमा भर परेर नजिऊँ।” ख्याति र प्राप्तिको पछ्याइमा मैले गरेका दुष्ट कामहरू र त्यसले ल्याएको कष्टबारे चिन्तन गर्दै, मैले सोचेँ, “म असफलताको बाटोमा हिँडिरहन सक्दिनँ। मैले आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्नुपर्छ र मण्डलीको हितलाई विचार गर्नुपर्छ। म आज यहाँ सफाइको काम गर्न आएकी हुँ, मेरो सिस्टरसँग प्रतिस्पर्धा वा तुलना गर्न होइन। मैले मेरो सिस्टरसँग मिलेर सहकार्य गर्न सिक्नुपर्छ।” यो सोचेपछि, मेरो हृदय शान्त भयो। लिउ सिनले सङ्गतिमा कमी रहेको क्षेत्र मैले पूरा गरेँ, उहाँसँग सहकार्य गरेँ र समस्याहरू समाधान गर्न सङ्गति गरेँ। अन्तमा, दुवै सिस्टरले आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरे र परिवर्तन हुन इच्छुक भए। मैले आफ्नो कर्तव्यमा हृदय लगाउँदाको मिठास पनि चाखेँ।
परमेश्वरका वचनहरूको न्याय, खुलासा, ताडना, र अनुशासनद्वारा नै मैले ख्याति, प्राप्ति, र हैसियतको पछ्याइले ममाथि ल्याएको कष्टलाई स्पष्ट रूपमा देखेँ, र शैतानले मानिसहरूलाई बाँध्न ख्याति र प्राप्तिलाई कसरी प्रयोग गर्छ भन्नेबारे केही सुझबुझ प्राप्त गरेँ। म अब ख्याति, प्राप्ति, र हैसियतप्रति धेरै हदसम्म उदासीन छु, र मलाई लाग्छ आफ्नो कर्तव्य पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण छ। म हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु!