५२. बर्खास्त भएपछि मैले सिकेको कुरा
सन् २०२१ मा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्थें। कर्तव्यमा मेरो झाराटारुवा शैलीका कारण, धेरै नयाँ विश्वासीहरू भेलामा नियमित उपस्थित हुँदैनथे। त्यसमाथि, मेरो अहङ्कारी स्वभावले मसँग सहकार्य गर्दा अरूहरूलाई सधैँ बन्धनमा पारेको महसुस गराउँथ्यो। त्यसैले, अगुवाहरूले मलाई बर्खास्त गरे र साधारण मामिलाहरू सम्हाल्ने काममा खटाए। यो खबर सुनेर मलाई साह्रै दुःख लाग्यो। मैले दश वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेकी, र आफ्नो पढाइ छोडेपछि, म निरन्तर मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आएकी कुराबारे सोचेँ। यसबाहेक, ममा एउटा विदेशी भाषाको केही ज्ञान भएकाले, आफू सधैँ अन्य ब्रदर-सिस्टरहरूभन्दा बढी सक्षम छु भन्ने लाग्थ्यो। राज्यको सुसमाचार फैलाउने यो महत्त्वपूर्ण घडीमा, मलाई बर्खास्त गरिनेछ र साधारण मामिलाहरू सम्हाल्ने एउटा खासै महत्त्व नभएको कर्तव्यमा खटाइनेछ भनी मैले सोचेकी थिइनँ। के यो बर्खास्ती मलाई प्रकाश गर्ने र हटाउने परमेश्वरको तरिका थियो? यो कुरा सोच्दा, मलाई निराशा, पीडा र चिन्ताले ढाक्यो। मैले मनमनै आफैलाई भनेँ, “भविष्यमा, मैले फेरि बर्खास्त हुन सक्ने कुनै पनि समस्या नआओस् भन्नका लागि कर्तव्य होसियार र सावधान भएर पूरा गर्नुपर्छ। नत्र, मैले साँच्चै नै मुक्ति पाउने सबै आशा गुमाउन सक्छु।”
केही समयपछि, मैले केही ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्यमा खराब नतिजाका कारण बर्खास्त भएको सुनेँ। म अचानक चिन्तित भएँ र सोचेँ, “मैले हालैमा आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेकी छु? के म पनि बर्खास्त हुने जोखिममा छु?” मैले तुरुन्तै मेरो कर्तव्यमा अझै के-कस्ता समस्याहरू हुन सक्छन्, सुपरिवेक्षकको मप्रतिको मनोवृत्ति कस्तो छ, र मेरो बर्खास्तीका कुनै सङ्केतहरू छन् कि छैनन् भनी विचार गर्न थालेँ। जब मैले मेरो कर्तव्यमा केही समस्याहरू छन् र नतिजाहरू त्यति राम्रो छैनन् भनी देखेँ, तब मलाई साह्रै असहज भयो, र सोच्न थालेँ, “के सुपरिवेक्षकले मलाई कुनै दिन बर्खास्त गर्लिन्? यदि म फेरि बर्खास्त भएँ भने, म पूर्ण रूपमा हटाइन सक्छु।” त्यस समयमा, कुनै गल्ती पो गरिहाल्छु कि भन्ने डरले मैले आफ्नो कर्तव्य निकै सावधानीपूर्वक गरेँ। कहिलेकाहीँ सुपरिवेक्षकले मलाई मेसेज पठाउँदा, उनले मलाई बर्खास्त गर्ने योजना बनाइरहेकी छिन् कि भनी चिन्ता गर्थेँ। म सतर्कता र शङ्काको अवस्थामा जिएँ, र मलाई ठूलो ढुङ्गाले थिचेजसरी अत्यन्तै दबिएको महसुस भयो।
एक दिन भेलाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मैले आफ्नो स्थितिबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। … यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्नो डर, साथै परमेश्वरसम्बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ। व्यक्तिमा परमेश्वरसम्बन्धी गलत बुझाइ कसरी पैदा हुन्छ? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, तिनीहरूले उहाँलाई पक्कै पनि गलत बुझ्दैनन्। तिनीहरूले परमेश्वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर विश्वास गर्छन्। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, ‘परमेश्वर त्यति धर्मी हुनुहुन्न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।’ के यो गलतफहमी होइन र? परमेश्वर कसरी धर्मी हुनुहुन्न र? यो गलतफहमी पैदा गर्ने कुरा के थियो? के कुराले तँलाई परमेश्वर धर्मी हुनुहुन्न भन्ने विचार र बुझाइ पैदा गर्ने तुल्यायो? त्यो के थियो भनेर निश्चयसाथ भन्न सक्छस्? त्यो कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि सबैले खुट्ट्याउन सकून् र तँ जायज छस् कि छैनस् भनी हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छ, तब तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र समर्पित हुने मनोवृत्ति।) तिनीहरूले सुरुमा समर्पित हुँदै यो विचार गर्नुपर्छ: ‘मैले बुझेको छैन, तर म समर्पित हुनेछु किनकि परमेश्वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्लेषण गर्ने कुरै होइन। यसअलावा, मैले परमेश्वरका वचनहरू वा उहाँको काममा शङ्का गर्नु हुँदैन किनकि परमेश्वरको वचन सत्यता हो।’ के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा असर वा बाधा गर्दैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। म परमेश्वरले वर्णन गर्नुभएजस्तै थिएँ: जब म आफ्नो कर्तव्यमा गल्ती गर्थेँ, तब बर्खास्त हुन्छु कि भनी सधैँ डराउँथेँ। यो परमेश्वरप्रतिको मेरो सतर्कता र गलतफहमी, परमेश्वरको घरमा मानिसहरूलाई बर्खास्त गर्नेसम्बन्धी सिद्धान्तहरू नबुझ्नु वा परमेश्वरको धर्मी स्वभावलाई नचिन्नुको कारणले थियो। म सोच्थेँ, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा केही समस्या वा गल्तीहरू भएमा, वा केही समयसम्म नतिजा राम्रो नआएमा, बर्खास्त भइनेछ, यो गैरविश्वासी संसारमा काम गरेजस्तै थियो, जहाँ गल्तीहरूले हप्की र सम्भावित बर्खास्ती निम्त्याउँथ्यो, त्यसैले आफ्नो पद जोगाउन अत्यन्तै होसियार हुनुपर्थ्यो। तर परमेश्वरको घरमा, परमेश्वरले मानिसहरूलाई पश्चात्ताप गर्ने सकेसम्म धेरै मौका दिनुहुन्छ, र मानिसहरूलाई बर्खास्त गर्ने कुरा पनि सिद्धान्तहरूमा आधारित हुन्छ। कुनै व्यक्तिले आफ्नो कर्तव्यमा सानोतिनो गल्ती गर्दा वा केही छोटो समयसम्म खराब नतिजा ल्याएकै कारण उसलाई बर्खास्त गरिँदैन। बरु, यो त्यस व्यक्तिको निरन्तरको कार्यसम्पादन र प्रकृति सारको बृहत् मूल्याङ्कनमा, विशेष गरी उसले गल्ती गरेपछि आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ कि सक्दैन, र साँचो पश्चात्ताप देखाउँछ कि देखाउँदैन भन्नेमा आधारित हुन्छ। उदाहरणका लागि, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्य निर्वाह गर्दाको बेला, मेरो अहङ्कारी स्वभावका कारण, मैले अरूसँग सहकार्य गर्दा सधैँ तिनीहरूलाई बन्धनमा पार्थेँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई यो समस्या औँल्याएका थिए। तथापि, म केही बेरसम्म मात्रै दुःखी भएँ र त्यसपछि आफ्नो अहङ्कारी स्वभावलाई सम्बोधन गर्न ध्यान दिइनँ। यसबाहेक, नयाँ विश्वासीहरूलाई मलजल गर्दा, म झारा टार्थेँ, सतही काम मात्रै गर्थेँ। नयाँ विश्वासीहरूलाई कठिनाइ हुँदा र तिनीहरू भेलामा नियमित उपस्थित नहुँदा, मैले मदत वा सहयोग गरिनँ। कामलाई सारांशित गर्दा र त्यति धेरै नयाँ विश्वासीहरूको अनियमित उपस्थिति देख्दा, म केही समयका लागि मात्र दुःखी भएँ, तर त्यसपछि, मैले अझै पनि ती समस्याहरूलाई सम्बोधन गर्ने प्रयास गरिनँ। मण्डलीले मेरो निरन्तरको कार्यसम्पादनका आधारमा मलाई बर्खास्त गर्यो, तर मेरो कर्तव्य निर्वाह गर्ने मौका खोसेन, बरु मलाई साधारण मामिलाको कर्तव्य पूरा गर्न खटायो, जसले गर्दा मैले पश्चात्ताप गर्ने मौका पाएँ; तर, म राम्ररी आत्मचिन्तन गर्न र आफूलाई बुझ्नतिर लागिनँ, बरु परमेश्वरप्रति सर्तकता र गलतफहमी पालेँ। म साँच्चै नै धेरै छली थिएँ! अहिले, मेरो साधारण मामिलाको कर्तव्यमा केही समस्या र विचलनहरू भए तापनि, सुपरिवेक्षकले यसबारे थाहा पाएपछि, उनले मलाई केही सल्लाह दिन्थिन् वा मसँग सिद्धान्तहरूमा सङ्गति गर्थिन्। जब मैले यी सुझावहरू पछ्याएँ, मेरो कर्तव्यका समस्याहरू समाधान भए, र मण्डलीले तिनका कारणले मलाई बर्खास्त गरेन। मैले परमेश्वरको घरमा मानिसहरूलाई बर्खास्त गर्ने काम वास्तवमा सिद्धान्तअनुसार गरिन्छ, र मेरो सतर्कता र गलतफहमी साँच्चै आत्मछल र आत्मबन्धन हो भन्ने देखेँ।
पछि, मैले अझ गहिरिएर मनन गरेँ, र मेरो सतर्कता र गलतफहमी समाधान गर्नुका अतिरिक्त, मैले आफ्नो कर्तव्यमा गल्ती गर्दा बर्खास्त हुने यो डरलाई पनि समाधान गर्न आवश्यक छ भनी बुझेँ। मैले म किन डराएकी छु भन्नेबारे मनन गरेँ? मैले परमेश्वरलाई प्रार्थना गरेँ र यस विषयमा खोजेँ। एक दिन, मेरो आत्मिक भक्तिको दौरान, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूले विगतमा केही असफलता अनुभव गरेका हुन्छन्, जस्तै, अगुवाका रूपमा कुनै वास्तविक काम नगरेकाले वा हैसियतको फाइदाहरूको लोभ गरेकाले बर्खास्त गरिनु। कैयौँ पटक बर्खास्त गरिएपछि, तिनीहरूमध्ये केहीले थोरै वास्तविक परिवर्तन अनुभव गर्छन्, त्यसोभए बर्खास्त गरिनु भनेको मानिसहरूका लागि राम्रो कुरा हो कि नराम्रो? (यो राम्रो कुरा हो।) पहिलो पटक बर्खास्त हुँदा मानिसहरूलाई आकाशै खसिरहेको जस्तो लाग्छ। मानौँ तिनीहरूको हृदय नै तोडियो। त्यसपछि तिनीहरू आफूलाई सम्हाल्न सक्दैनन् र तिनीहरूलाई कुन दिशामा अघि बढ्ने भनेर थाहा हुँदैन। तर यो अनुभवपछि तिनीहरू यस्तो सोच्छन्, ‘त्यो त्यस्तो ठूलो कुरा थिएन। पहिला मेरो कद किन त्यति सानो थियो? म कसरी त्यति अपरिपक्व हुन सकेँ?’ यसले तिनीहरूले जीवनमा प्रगति गरेको, अनि परमेश्वरका अभिप्राय, सत्यता र परमेश्वरले मानिसलाई मुक्ति दिनुको उद्देश्य अलिकति बुझेको प्रमाणित गर्छ। परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया यही नै हो। तैँले परमेश्वरले उहाँको काममा प्रयोग गर्नुहुने यी विधिहरू, अर्थात् तँलाई निरन्तर काटछाँट गर्नु, वा तेरो फैसला सुनाउनु, तँ नालायक होस् भन्नु, तँ मुक्ति पाउने व्यक्ति होइनस् भन्नु, र तँलाई निन्दा र श्रापित समेत गर्नुलाई आत्मसात् र स्वीकार गर्नुपर्छ। तैँले नकारात्मक महसुस गर्लास्, तर सत्यता खोजी गरेर अनि आत्मचिन्तन गरेर र आफूलाई चिनेर तँ चाँडै नै फेरि माथि उक्लन अनि परमेश्वरलाई पछ्याउन र सामान्य रूपमा आफ्नो कर्तव्य निभाउन सक्नेछस्। जीवनमा बढ्नु भनेको यही नै हो। त्यसोभए, कैयौँ पटक बर्खासी अनुभव गर्नु राम्रो हो कि नराम्रो? के परमेश्वरले उहाँको काममा प्रयोग गर्नुहुने यो विधि सही छ त? (सही छ।) तर, कहिलेकाहीँ मानिसहरूले यो कुरा बुझ्दैनन् र यसलाई स्विकार्न सक्दैनन्। विशेष गरी जब तिनीहरूले पहिलो पटक बर्खासी अनुभव गर्छन्, तिनीहरूलाई आफूमाथि अन्याय भएजस्तो लाग्छ, तिनीहरू जहिले पनि परमेश्वरसँग तर्क गर्छन् र उहाँबारे गुनासो, अनि तिनीहरूले त्यो तगारो पन्छाउन सक्दैनन्। तिनीहरूले किन त्यो पन्छाउन सक्दैनन्? के यो तिनीहरूले परमेश्वर र सत्यतासँग जोरी खोजेकाले गर्दा हो? मानिसहरूले सत्यता नबुझ्ने, आत्मचिन्तन गर्न नजान्ने र आफूभित्र समस्याहरू नखोज्ने हुनाले यसो भएको हो। तिनीहरू सधैँ हृदयदेखि समर्पित हुन अस्वीकार गर्छन्, अनि बर्खास्त भएपछि परमेश्वरलाई चुनौती दिन थाल्छन्। तिनीहरू आफूलाई बर्खास्त गरिएको तथ्य स्विकार्न सक्दैनन् र आक्रोशले भरिन्छन्। यसबेला तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तर पछि त्यस मामिलालाई फर्केर हेर्दा तिनीहरूले आफूलाई बर्खास्त गरिनु सही थियो भन्ने देख्न सक्छन्—त्यो राम्रै साबित भयो, जसले तिनीहरूलाई जीवनमा अलिकति प्रगति गर्न सक्षम बनायो। भविष्यमा फेरि बर्खासी सामना गर्दा, के तिनीहरूले अझै पनि यसै गरी चुनौती दिनेछन्? (त्यो हरेक पटक कम-कम हुँदै जानेछ।) त्यो क्रमिक रूपमा सुधार हुँदै जानु सामान्य कुरा हो। यदि केही पनि परिवर्तन भएन भने, यसले तिनीहरू सत्यता पटक्कै स्विकार्दैनन् र तिनीहरू अविश्वासी हुन् भन्ने कुरा प्रमाणित गर्छ। त्यसपछि तिनीहरूलाई पूर्ण रूपले प्रकाश गरिन्छ र हटाइन्छ, र तिनीहरूसँग मुक्ति पाउने कुनै पनि तरिका हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मेरो अन्तस्करण छोइएको महसुस भयो। बर्खास्तीमा परे पनि वा मुक्ति पाउन नसक्ने व्यक्ति भनिए पनि, हामीले यसलाई परमेश्वरबाट आएको हो भनी स्वीकार गर्नुपर्छ। यदि हामी समर्पित हुन, सत्यता खोज्न, आत्मचिन्तन गर्न, र आफूलाई चिन्न सक्छौँ भने, हाम्रो जीवनमा प्रगति हुनेछ, र त्यो राम्रो कुरा हो। तर, हामी आत्मचिन्तन नगरी तर्क र गुनासो गरिरहन्छौँ भने, हामी साँच्चै नै प्रकाश गरिनेछौँ र हटाइनेछौँ। मलजल गर्ने मेरो कर्तव्यबाट बर्खास्त भएको समयलाई फर्केर हेर्दा, यो धेरै पीडादायी भए पनि, यसले मलाई जागृत गरायो। यसले मलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्न प्रेरित गर्यो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा देखाउने झाराटारुवापन र अहङ्कारी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। विगतमा, जब म नयाँ विश्वासीहरू भेलामा नियमित उपस्थित नभएको देख्थेँ, मलाई तिनीहरूका कठिनाइहरू बुझ्नु र समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरू खोज्नु धेरै झन्झटिलो लाग्थ्यो, त्यसैले म यी समस्याहरूलाई सम्बोधन गर्न इमानदारीपूर्वक त्याग गर्न चाहन्नथेँ, र मलाई राम्रो देखाउने केही सरल कामहरू मात्र गर्न चाहन्थेँ। बर्खास्त भएपछि, मैले आफू धेरै अल्छी र शारीरिक सुखमा लिप्त थिएँ भन्ने बुझेँ। मैले यस्तो तुच्छ प्रकृतिले आफ्नो कर्तव्य निर्वाह गर्दा म मौलिक रूपमै अविश्वसनीय बनेकी थिएँ भन्ने कुरा देखेँ। अब, साधारण मामिलाको कर्तव्य निर्वाह गर्दा, मैले आफ्नो कर्तव्य कसरी व्यवहारिक तरिकाले पूरा गर्ने भनी मनन गर्न थालेँ। मेरो कार्य सामर्थ्य जस्तोसुकै भए पनि, मैले केवल आफ्नो सारा हृदय र शक्तिले त्यो काम गर्नमा ध्यान केन्द्रित गरेँ। कहिलेकाहीँ यो थकाइलाग्दो भए तापनि, मेरो मनमा शान्ति महसुस हुन्थ्यो। यसबाहेक, विगतमा, म सधैँ कम क्षमता वा कमजोर पेशागत दक्षता भएका ब्रदर-सिस्टरहरूलाई हेयको दृष्टिले हेर्थें। कामबारे छलफल गर्दा, मेरो बोलीको लवज अक्सर कठोर हुन्थ्यो, जसले तिनीहरूलाई बन्धनमा पार्थ्यो र हानि पुऱ्याउँथ्यो। बर्खास्त भएपछि, म शान्त हुन र आत्मचिन्तन गर्न थालेँ। अरूप्रतिको मेरो अनादर मेरो अहङ्कारी स्वभावको कारणले उब्जेको थियो भनी बुझेँ। पछि, जब मैले पहिले हेयको दृष्टिले हेर्ने गरेका ब्रदर-सिस्टरहरूलाई भेटेँ, मैले तिनीहरूमा धेरै सबल पक्ष र सद्गुणहरू भएको पाएँ। अब, जब ब्रदर-सिस्टरहरूले मेरा समस्या र कमजोरीहरू औँल्याउँथे, म तिनलाई स्वीकार गर्न र आत्मचिन्तन गरी आफूलाई चिन्न सक्षम थिएँ। ब्रदर-सिस्टरहरू मबाट बन्धनमा पर्न छाडे। यसले मलाई के देखायो भने, काममा फेरबदल र बर्खास्ती कसैलाई प्रकाश गर्न वा हटाउनका लागि थिएन। म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएकी थिएँ र ममा धेरै भ्रष्ट स्वभावहरू थिए, त्यसैले मैले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा धेरै असफलताहरू भोग्नु र प्रकाश हुनु आवश्यक थियो। यदि मैले सत्यता खोज्न, आत्मचिन्तन गर्न, र इमानदारीपूर्वक पश्चात्ताप गर्न सकेँ भने, यो मेरा लागि राम्रो कुरा र मेरो स्वभाव रूपान्तरणका लागि एक महत्त्वपूर्ण मोड हुनेथियो। तर मैले आफ्नो कर्तव्यमा भएका असफलता र प्रकटीकरणहरूलाई सही तरिकाले सामना गर्न सकिनँ। मैले शान्त भएर सत्यता खोज्न र राम्ररी आत्मचिन्तन गर्न सकिनँ। बरु, म सधैँ आफ्नो अन्तिम गन्तव्य र परिणामका लागि योजना बनाउँथेँ र चिन्ता गर्थें, जसले मलाई नकारात्मकता र पीडामा पुऱ्यायो। म परमेश्वरले प्रबन्ध गर्नुभएका वातावरणप्रति प्रतिरोधले भरिएकी थिएँ। मैले पश्चात्ताप नगरे, मैले साँच्चै नै आफूलाई बर्बाद पार्ने थिएँ। अब मैले गर्नुपर्ने कुरा परमेश्वरले बन्दोबस्त गर्नुभएका वातावरणलाई स्वीकार गरी तिनमा समर्पित हुनु, सत्यताको खोजी गर्न र आफ्नो भ्रष्टता एवम् कमीकमजोरीमा चिन्तन गरी तिनलाई चिन्न ध्यान केन्द्रित हुनु, पाठ सिक्नु, र मेरो जीवन प्रवेशमा प्रगति गर्नु थियो। यो कुरा बुझ्दा, मेरो मन अझै शान्त भयो।
केही महिनापछि, मण्डलीले मलाई फेरि नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा खटायो। मैले यो कर्तव्य निर्वाह गर्ने अर्को मौका पाउँछु भनी सोचेकी थिइनँ, मलाई एक अवर्णनीय भावना बोध महसुस भयो र मैले आफ्नो हृदयमा परमेश्वरलाई धन्यवाद चढाएँ। केही समयपछि, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा केही कठिनाइहरूको सामना गरेँ। तिनीहरूमध्ये कोही काममा धेरै व्यस्त थिए, कोही बिरामी थिए, र कोहीमा परमेश्वरको कामबारे धारणाहरू थिए, त्यसैले तिनीहरू भेलामा आउन छोडे। तिनीहरूलाई केही समयसम्म मलजल र सहयोग गरेपछि पनि कुनै स्पष्ट नतिजा नदेख्दा, म धेरै चिन्तित भएँ, “यदि मैले यी समस्याहरू चाँडै समाधान गर्न सकिनँ भने, के म बर्खास्त हुनेछु? प्रकोपहरू झन्-झन् गम्भीर हुँदैछन्, र परमेश्वरको काम अन्त्यतिर आइरहेको छ। यदि म यो महत्त्वपूर्ण घडीमा बर्खास्त भएँ भने, के मैले अझै मुक्ति पाउन सक्छु?” यी विचारहरूले मलाई धेरै दुःखी बनाए। जब सुपरिवेक्षक मेरो काम जाँचबुझ गर्न आइन्, उनले मलाई अझ लगनशील हुन र यी समस्याहरू जतिसक्दो चाँडो समाधान गर्न सम्झाइन्। मलाई निकै निराश महसुस भयो, “मैले पछिल्लो समय परिश्रम लगाइरहेकी छु, तर नतिजा किन सुधार भएन? यदि म आफ्नो कर्तव्यमा निरन्तर प्रभावहीन भइरहेँ भने, म बर्खास्त हुन सक्छु। यदि मलाई अर्को कर्तव्यमा खटाइयो भने, मैले सुरुदेखि नै सिक्न थाल्नुपर्नेछ। यदि म निरन्तर प्रभावहीन भइरहेँ र फेरि बर्खास्त भएँ भने म के गर्ने? तब त म पूर्ण रूपमा प्रकाश हुनेछु र हटाइनेछु!” जति मैले यसबारे सोचेँ, म उति नै बढी हताश भएँ, र मेरो दिमाग धुम्म र भारी भएको महसुस भयो। जब मैले नयाँ विश्वासीहरू भेलामा नियमित नआएको देखेँ, मलाई तिनीहरूको थप अनुगमन गर्ने इच्छा भएन। मेरो ह्रदयमा केही गुनासाहरू समेत थिए, “पछिल्लो समयमा म यति कडा मेहनत गरिरहेकी छु, परमेश्वरले मलाई किन मार्गदर्शन गर्नुभएन? मैले जतिसुकै कडा प्रयास गरे पनि, त्यसले कुनै फरक पार्दैन जस्तो छ। यी समस्याहरू समाधान गर्न सजिलो छैन, र सायद मेरा सबै प्रयासपछि पनि, म अझै बर्खास्त हुनेछु।” त्यो समयमा, म धेरै नकारात्मक थिएँ र मैले आफ्नो कर्तव्य निर्वाहका गर्ने ऊर्जा जुटाउन सकिनँ। पछि, मैले आत्मचिन्तन गर्न थालेँ, “कुनै कुरा हुँदा म किन सधैँ बर्खास्त हुन्छु कि भनी डराउँछु?” मैले आफू आशिष् पाउने अभिप्रायले प्रेरित भइरहेको महसुस गरेँ, त्यसैले मैले खान र पिउनका लागि परमेश्वरका सान्दर्भिक वचनहरू खोजेँ।
एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “जब परमेश्वरको घरमा ख्रीष्टविरोधीको हैसियत र शक्ति हुन्छ, जब उसले हरेक मोडमा लाभ लिन र फाइदा उठाउन सक्छ, जब मानिसहरूले उसलाई मान र चापलूसी गर्छन्, र जब उसलाई आशिष् र इनाम, अनि सबै सुन्दर गन्तव्य पहुँचमै रहेछन् भन्ने लाग्छ, तब ऊ सतही रूपमा परमेश्वरप्रति, परमेश्वरका वचनहरू र मानवजातिका लागि उहाँका प्रतिज्ञाहरूप्रति, अनि परमेश्वरको घरका कार्य र सम्भाव्यताहरूप्रति विश्वासले भरिभराउ देखिन्छ। तथापि, उसलाई काटछाँट गरिनासाथ, आशिष् पाउने उसको चाहना खतरामा पर्दा, उसले परमेश्वरप्रति आशङ्का र गलतफहमी विकास गर्छ। आँखा झिमिक्क गर्दा नै, उसको प्रचुर देखिने विश्वास गायब हुन्छ, र त्यसलाई कहीँ भेट्टाउन सकिँदैन। उसले हिँड्न वा बोल्नसमेत मुस्किलले ऊर्जा जुटाउँछ, आफ्नो कर्तव्य निभाउने उसको चासो गुम्छ, अनि उसले सबै उत्साह, प्रेम र विश्वास गुमाउँछ। उसले आफूसँग भएको थोरै सद्भाव पनि गुमाएको हुन्छ, र ऊ आफूसँग कुरा गर्ने कसैलाई कुनै ध्यान दिँदैन। ऊ क्षणभरमै पूर्णतया बेग्लै व्यक्तिमा परिणत हुन्छ। ऊ खुलासा हुन्छ, होइन र? यस्तो व्यक्तिले आशिष् पाउने आशा राखिराख्दा, ऊसँग असीमित ऊर्जा देखिन्छ, ऊ परमेश्वरप्रति बफादार देखिन्छ। ऊ बिहान चाँडै उठेर राती अबेरसम्म काम गर्न सक्छ, अनि कष्ट भोग्न र मूल्य चुकाउन सक्छ। तर जब उसले आशिषित् हुने आशा गुमाएको हुन्छ, तब ऊ हावा खुस्केको बेलुनजस्तै हुन्छ। ऊ आफ्नो योजना बदल्न, अर्को मार्ग खोज्न र परमेश्वरप्रतिको विश्वास त्याग्न चाहन्छ। ऊ परमेश्वरसँग निरुत्साहित र हतोत्साहित हुन्छ, अनि गुनासाहरूले भरिन्छ। के यो सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने, मानवता र निष्ठा भएको व्यक्तिको अभिव्यक्ति हो र? (होइन।) ऊ खतरामा छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “ख्रीष्टविरोधीहरू परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष् र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरपर्दो र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूप सिर्जित प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूप सिर्जित प्राणी बन्ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्। … कसैले परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा आधारित हुँदैन, बरु उसमा सत्यता छ कि छैन, ऊ साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन्छ कि हुँदैन, र ऊ बफादार छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। परमेश्वरद्वारा मानिसहरूलाई मुक्ति दिइने अवधिमा, तिनीहरूले धेरै परीक्षा भोग्नैपर्छ। विशेष गरी, आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले धेरै असफलता अनि घुम्ती र जटिल परिस्थितिहरू सामना गर्नैपर्छ, तर अन्त्यमा, यदि तिनीहरूले सत्यता बुझे र तिनीहरूमा परमेश्वरप्रति साँचो समर्पण भए, तिनीहरू परमेश्वरको अनुमोदन पाउने मानिस बन्नेछन्। आफ्नो कर्तव्य अह्रावट समायोजित हुने विषयमा ख्रीष्टविरोधीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरूमा बुझ्ने क्षमता पटक्कै हुँदैन भन्ने कुरा देख्न सकिन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनहरूको खुलासाद्वारा, मैले के देखेँ भने ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यमा हुने फेरबदल वा बर्खास्तीलाई सही तरिकाले सामना गर्न नसक्नुको कारण तिनीहरू केवल आशिष् पाउनका लागि, परमेश्वरसँग मोलतोल गर्ने प्रयासमा आफ्नो कर्तव्य निर्वाह गर्छन्, न कि सत्यता हासिल गर्न वा परमेश्वरमा समर्पित हुन। त्यसैले, केही गडबड हुँदा वा तिनीहरूको कर्तव्यमा फेरबदल गरिँदा वा तिनीहरूलाई बर्खास्त गरिँदा, तिनीहरूले सधैँ यसलाई आशिष् पाउनुसँग जोड्छन्। आशिष् पाउने कुनै आशा नदेख्दा, तिनीहरू हतोत्साहित, निराश हुन्छन्, र गुनासोले भरिन्छन्, आफ्नो कर्तव्य पूरा गर्ने प्रेरणा गुमाउँछन्, र परमेश्वरमा विश्वास गर्ने चाहनासमेत गुमाउँछन्। ममा पनि ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू थिए। मेरो कर्तव्य सहज रूपमा चल्दा र मैले आफूसँग आशिष् पाउने आशा भएको महसुस गर्दा, म आफ्नो पढाइ त्याग्न, र आफ्ना कर्तव्यका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्थेँ। तर, मैले आफ्नो कर्तव्यमा खराब नतिजा पाउँदा र मलाई बर्खास्त गर्ने जोखिमसमेत देखिँदा, आफ्नो आशिष् पाउने आशा चकनाचुर भएको लाग्थ्यो। फलस्वरूप, म हतोत्साहित, निराश, नकारात्मक हुन्थेँ, र ढिलासुस्ती गर्थेँ, अनि पूरै अर्कै व्यक्तिले जस्तै आफ्नो कर्तव्य निर्वाह गर्थेँ। वास्तवमा, बर्खास्त हुनु, वा आफ्नो कर्तव्यमा समस्या उत्पन्न हुँदा सलाह-सुझाव दिइनु वा काटछाँट गरिनु धेरै सामान्य कुरा हो। तर, म निरन्तर चिन्तित हुन्थेँ, “के म बर्खास्त हुन लागेकी छु? यदि म फेरि बर्खास्त भएँ भने, के म पूर्ण रूपमा प्रकाश हुने र हटाइने छैनँ र? तब त मैले मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने धेरै मौका पाउने छैन।” मैले आफ्नो कर्तव्यलाई एउटा लेनदेनमा परिणत गरेकी थिएँ, आफ्ना त्याग, खर्च, र कामका नतिजालाई स्वर्गको राज्यको आशिष्सँग साट्ने प्रयास गरिरहेकी थिएँ। यो पावलजस्तै थियो। उनले पूर्ण रूपमा इनाम र आशिष् पाउनका लागि सुसमाचार प्रचार गरे, न कि सत्यता हासिल गर्नका लागि, यहाँसम्म कि उनले यसो भन्न सके, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यसको तात्पर्य उनले आफ्नो कर्तव्य निर्वाहमा ठूलो मूल्य चुकाएका थिए, र परमेश्वरले उनलाई इनाम र आशिष् दिनैपर्थ्यो, नत्र उनी परमेश्वरसँग बहस गर्थे र उहाँको विरोध गर्थे। के म पावल हिँडेकै मार्गमा हिँडिरहेकी थिइनँ र? म आशिष् पाउनका लागि मूल्य चुकाउन इच्छुक थिएँ, तर जब मैले ती पाउन सक्दिनँ भनी महसुस गरेँ, तब म नकारात्मक भएँ र ढिलासुस्ती गरेँ, यहाँसम्म कि परमेश्वरले मलाई मार्गदर्शन गर्नुभएन भनी गुनासो पनि गरेँ। के त्यो चुपचाप परमेश्वरको विरोध गर्नु थिएन र? त्यो सोचेर, मलाई धेरै डर लाग्यो, र केवल आशिष् पाउन र परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्नका लागि कर्तव्य निर्वाह गर्नु अत्यन्तै खतरनाक छ भनी बुझेँ। यो परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो!
पछि, मैले परमेश्वरका वचनका दुई खण्ड पढेँ: “आशिषित हुनु मानिसहरूका लागि पछ्याउने उचित उद्देश्य नभएकाले, उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तन पछ्याउनु, र परमेश्वरका सबै योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणका लागि, मानौँ तँलाई काटछाँट गरिएकाले तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्ने लाग्छ। तँ नकारात्मक र उद्विग्न बन्छस्, र आफ्नो कामबाट विमुख हुन र कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? तेरो पछ्याइमा समस्या छ। त्यसोभए यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्नुपर्छ, ‘म आफ्नो कामबाट बिमुख हुनुहुँदैन, मैले अझै पनि सृजित प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो चाहनालाई पन्छ्याउनुपर्छ।’ जब तैँले आशिषित हुने चाहना त्याग्छस्, र तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकता हुन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसले आफूलाई बाँध्न दिँदैनस्, र हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो पछ्याइको उद्देश्यलाई सत्यताको पछ्याइमा परिणत गर्छस्, र तँ मनमनै सोच्छस्, ‘सत्यता पछ्याइ सृजित प्राणीको कर्तव्य हो। आज निश्चित सत्यताहरू बुझ्नुजत्तिको महान् फसल अरू कुनै हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष् हो। यदि परमेश्वरले मलाई चाहनुहुन्न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचुर हुन्छ भने पनि, मैले अझै आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, म यसलाई मेरो उचित कर्तव्य निर्वाहमा असर गर्न दिनेछैनँ, म यसलाई परमेश्वरको आज्ञा पूरा गर्नमा असर गर्न दिनेछैनँ; म यही सिद्धान्तअनुसार आफूलाई आचरणमा ढाल्छु।’ अनि के यसरी, तैँले देहका बन्धनहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, ‘म अझै नकारात्मक छु भने के गर्ने?’ त्यसो भए, यसलाई समाधान गर्न फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तँ यसलाई समाधान गर्न सत्यता खोजी गरिरहन्छस्, र सत्यताप्रति लागिपरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मकताबाट बाहिर आउनेछस्। अनि एक दिन, तैँले तँमा आशिष्हरू पाउने चाहना छैन र तँ तेरो गन्तव्य र परिणामद्वारा बाँधिएको छैनस्, र यसरी जिउनु अझ सहज र स्वतन्त्र हुन्छ भन्ने अनुभूति गर्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। “अय्यूबले परमेश्वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष् पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्वरले मानिसहरूलाई आशिष् दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्ने तिनलाई विश्वास थियो। परमेश्वरको सार्वभौमिकताको कारण मानिसले परमेश्वरबाट आशिष् पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्छ, त्यो पनि परमेश्वरको सार्वभौमिकताकै कारणले हुन्छ। परमेश्वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धमा सबै कुराको शासन र प्रबन्ध गर्छन्; मानिसको नियतिका परिवर्तनहरू परमेश्वरको शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्य परमेश्वरको कानमा परे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्वरको आज्ञा पर्खन्थ्यो र जुनसुकै समय वा ठाउँ भए पनि आफूमाथि आइपरेको हर कुराको स्वागत गर्थ्यो। अय्यूबले परमेश्वरसँग कुनै माग राखेनन्। तिनले परमेश्वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा, स्वीकार, सामना, र तीप्रति समर्पण गर्ने मापदण्ड आफ्नै लागि तय गरे; तिनले त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्ने विश्वास गरे, र परमेश्वर पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। … किनभने अय्यूबको हृदय शुद्ध र परमेश्वरबाट लुकेको थिएन, र तिनको मानवता इमानदार र दयालु थियो, र तिनले न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे। यस्तो हृदय र मानवता भएको मानिसले मात्र परमेश्वरको मार्ग अनुसरण गर्न सक्थ्यो, र परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्थ्यो। त्यस्तो व्यक्तिले परमेश्वरको सार्वभौमिकतालाई देख्न सक्थ्यो, उहाँको अख्तियार र शक्तिलाई देख्न सक्थ्यो, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पण हासिल गर्न सक्थ्यो। केवल त्यस्तो मानिसले मात्र परमेश्वरको नाउँको प्रशंसा गर्न सक्थो। किनकि परमेश्वरले तिनलाई आशिष् दिनुहुन्छ कि तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भन्ने कुरालाई तिनले हेरेनन्; किनकि सबै कुरा परमेश्वरकै हातले नियन्त्रण गर्छ, र मानिसले चिन्ता गर्नु भनेको मूर्खता, अज्ञानता र समझहीनताको सङ्केत हो, र साथै सबै कुरामा परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यप्रति शङ्का गर्नु र परमेश्वरसँग नडराउनुको सङ्केत हो भन्ने तिनी जान्दथे। अय्यूबको ज्ञान परमेश्वरले चाहनुभएको जस्तै थियो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरू धेरै व्यावहारिक छन् र तिनले मलाई अभ्यासको मार्ग देखाए। जब म परिस्थितिहरूको सामना गर्छु र मेरो आशिष् पाउने आशा चकनाचुर भएको महसुस गर्छु, तब मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, मेरो आशिष् पाउने अभिप्रायलाई त्याग्नुपर्छ, र उहाँप्रतिका मेरा मागहरूलाई पन्छाउनुपर्छ। यदि अन्तमा मैले आशिष् पाइनँ र मुक्ति पाउन सकिनँ भने पनि, मैले अझै आफ्नो कर्तव्यमा लागिरहनुपर्छ र सत्यता पछ्याउनुपर्छ, र परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरणहरूलाई समर्पणको मनोवृत्तिले अनुभव गर्नुपर्छ। यसरी, आशिष् पाउने चाहनाले मलाई अबउसो बन्धनमा पार्न सक्दैन। अय्यूबजस्तै, उनले परमेश्वरसँग मोलतोल गर्ने प्रयास गरेनन् र उहाँसँग कुनै माग राखेनन्। जब उनीमाथि परीक्षाहरू आइपरे, उनले आफ्ना सबै सम्पत्ति र छोराछोरी गुमाए, र पीडादायी खटिराले ढाकिएका पनि थिए, तर उनले परमेश्वरविरुद्ध गुनासो गरेनन्। उनले बुझेका थिए, मानिसको जीवन परमेश्वरको हातमा हुन्छ र कुनै व्यक्तिले प्रत्येक चरणमा कस्ता वातावरणहरू अनुभव गर्छ भनी परमेश्वरले पूर्वनिर्धारित र बन्दोबस्त गर्नुभएको हुन्छ। र त्यसैले, अय्यूब सधैँ परमेश्वरद्वारा बन्दोबस्त भएका सबै कुरालाई इमानदार र समर्पित मनोवृत्तिले सामना गर्न सक्षम थिए। अय्यूबको दाँजोमा, म त कति पछि रहेछु! म सधैँ परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्थें, यदि म बर्खास्त भएँ भने, मैले मुक्ति पाउनेछैनँ वा आशिष् पाउनेछैनँ भनी निरन्तर चिन्ता गर्थें। म सधैँ परमेश्वरले यो वा त्यो गर्नुहोस् भनी माग गर्थेँ, र मैले आफूलाई उहाँमा सुम्पन सहज महसुस गरिनँ। वास्तवमा, म कहिले कुन ठाउँमा जानेछु वा कुन कर्तव्य निर्वाह गर्नेछु, र कहिले परीक्षाहरूको सामना गर्नेछु, भन्ने कुरा परमेश्वरले पहिल्यै बन्दोबस्त गर्नुभएको छ। मानिसहरूले अनुभव गर्ने वातावरणहरू महत्त्वपूर्ण छैनन्; महत्त्वपूर्ण कुरा त तिनीहरूले हिँड्ने मार्ग हो। तिनीहरूले मुक्ति पाउनेछन् वा हटाइनेछन् भन्ने कुरा तिनीहरूले सामना गर्ने वातावरणले गर्दा हुँदैन। यदि मैले सधैँ परमेश्वरसँग मोलतोल गर्ने प्रयास गरेँ र आशिष् खोजेँ, तर अन्तमा, मेरो स्वभावमा कुनै परिवर्तन भएन भने, म बर्खास्त नभए पनि, म अझै हटाइने थिएँ। यदि म सत्यता पछ्याउने मार्गमा हिँडेँ, र यदि, असफलता र प्रकटीकरणहरूको सामना गर्दा, मैले सत्यता खोज्न र आत्मचिन्तन गर्न सकेँ, र मेरो जीवन स्वभावमा परिवर्तनहरू ल्याउन सकेँ भने, मलाई अन्ततः परमेश्वरले मुक्ति दिनुहुने थियो। यी कुराहरू बुझेपछि, मलाई आफूले एउटा ठूलो भारी बिसाएको छु भन्ने महसुस भयो, र मलाई शान्ति र सहजताको बोध भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ बर्खास्त हुनेछु भनी चिन्ता गर्थेँ, जसले गर्दा म नकारात्मक स्थितिमा पुगेँ र आफ्नो कर्तव्यमा निष्क्रिय भएँ। हे परमेश्वर, म गलत थिएँ। मैले आशिष् वा दुर्भाग्यको चिन्ता नगरी अय्यूबको अनुकरण गर्न आवश्यक छ, र हरेक परिस्थितिमा केवल सत्यता खोज्नु र परमेश्वरमा समर्पित हुनु, अनि आफ्नो कर्तव्य पूरा गर्नु आवश्यक छ।”
केही समयपछि, केही नयाँ विश्वासीहरू अझै पनि अनियमित रूपमा भेलामा उपस्थित हुन्थे। म व्याकुल भएँ, र मलाई बर्खास्त हुनेछु भन्ने चिन्ता लाग्यो, त्यसैले म तुरुन्तै प्रार्थनामा परमेश्वरसामु आएँ, र मलाई त्यस परिस्थितिमा समर्पित हुन मार्गदर्शन गर्न उहाँसँग बिन्ती गरेँ। म बर्खास्त हुनेछु वा हुनेछैनँ भन्ने कुराको वास्ता नगरी, मैले गर्नुपर्ने काम भनेको आत्मचिन्तन गर्नु र सत्यताका सिद्धान्तहरू खोज्नु थियो। प्रार्थना गरेपछि, मलाई धेरै शान्त महसुस भयो। मैले नयाँ विश्वासीहरूलाई मलजल गर्दा यी खराब नतिजाहरूको समस्या कहाँबाट उत्पन्न भयो भनी मनन गर्न थालेँ। अन्य ब्रदर-सिस्टरहरूसँगको छलफलको क्रममा, मैले आफ्ना विचलनहरू पत्ता लगाएँ। अनियमित उपस्थित हुने नयाँ विश्वासीहरूका सन्दर्भमा, मैले तिनीहरूसँग भेलाको महत्त्वबारे छोटकरीमा मात्र सङ्गति गरेँ, तिनीहरूलाई आग्रह गरेँ, र तिनीहरूका कठिनाइहरूका लागि प्रार्थना गरेँ। फलस्वरूप, केही नयाँ विश्वासीहरू एक वा दुईवटा भेलामा उपस्थित हुन्थे तर त्यसपछि फेरि उपस्थितिमा अनियमित हुन पुग्थे। मुख्य समस्या के थियो भने मैले समस्याको जड र चुरो नै बुझेकी थिइनँ। यो समस्या समाधान गर्न, मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्न सिक्नुपर्थ्यो। एकातिर, मैले मण्डली जीवनको गुणस्तर सुधार गर्नुपर्थ्यो। जब ब्रदर-सिस्टरहरूले मण्डली जीवनमार्फत आपूर्तिको आनन्द उठाउँथे र त्यो पाउँथे, तब तिनीहरू स्वाभाविक रूपमा भेलामा उपस्थित हुन चाहनेथिए। अर्कातिर, मैले विभिन्न प्रकारका मानिसहरूलाई खुट्याउन सिक्नुपर्थ्यो। सत्यता पछ्याउने नयाँ विश्वासीहरूका सन्दर्भमा, मैले तिनीहरूलाई मलजल गर्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, तिनीहरूलाई परमेश्वरका वचनहरू र परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गर्नुपर्थ्यो। यो तिनीहरूले विभिन्न कठिनाइहरू पार गर्न, अनि सामान्य रूपमा भेलामा उपस्थित हुन र आफ्नो कर्तव्य पूरा गर्नका लागि आवश्यक थियो। सत्यता नपछ्याउने र भेलामा रुचि नराख्नेहरूका सन्दर्भमा, यदि तिनीहरू अविश्वासी भएको पुष्टि भयो भने, मैले व्यर्थको काम जारी राख्नुको सट्टा, तिनीहरूलाई छाड्नुपर्थ्यो। यी कुराहरू बुझेपछि, मैले आफ्नो कर्तव्य पूरा गर्ने दिशा पाएँ। पछि, मैले मलजल गर्नेहरूलाई सँगै सिद्धान्तहरू अध्ययन गर्ने प्रबन्ध मिलाएँ। हामीले मण्डली जीवनको गुणस्तर कसरी सुधार गर्ने भनेर सङ्गति गर्यौँ, र तिनीहरूले एकअर्कासँग प्रभावकारी तरिकाहरू पनि बाँडे। केही समयपछि, मण्डली जीवनमा सुधार भयो। अब, कहिलेकाहीँ मेरो कर्तव्यमा अझै पनि राम्रो नतिजा नआए पनि, म अब म बर्खास्त हुनेछु कि भनेर चिन्ता गर्दिनँ। बरु, म परिस्थितिहरूलाई समर्पित मनोवृत्तिले सामना गर्छु, सत्यता सिद्धान्तहरू खोज्छु, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न लागिपर्छु। यसले मलाई मनमा शान्ति महसुस गराउँछ। परमेश्वरलाई उहाँको मार्गदर्शनका लागि धन्यवाद!