५५. के म साँच्चै एक “असल अगुवा” थिएँ?
सन् २०२० को मेमा, म मण्डली अगुवा चुनिएँ। एक महिनापछि, दुई सहकर्मी सिस्टरहरूलाई बर्खास्त गरियो। ब्रदर-सिस्टरहरूले लेखेका मूल्याङ्कनहरूमा मैले के देखेँ भने, ती दुई सिस्टरहरूले समस्याहरू समाधान नगर्ने र मानिसहरूलाई हप्काउने गर्थे, जसले गर्दा उनीहरूलाई बाँधिएको महसुस हुन्थ्यो। तिनमा उनीहरू आफू नै अधिकारीहरू भए झैँ गरी आफ्नो कर्तव्य निर्वाह गर्थे भनेर भनिएको थियो, अनि मैले उनीहरूलाई ब्रदर-सिस्टरहरूले नरुचाएको महसुस गरेँ। मैले सोचेँ, “अरूलाई खुलासा र काटछाँट गरेर उनीहरूको भावनामा चोट पुऱ्याउनु अत्यधिक कठोर कुरा होइन र? यो त अलिकति पनि प्रेमपूर्ण भएन! म उनीहरूजस्तो जतिबेला पनि मानिसहरूलाई काटछाँट गर्ने र हप्काउने हुन सक्दिनँ। ब्रदर-सिस्टरहरूमा समस्या देख्दा मैले समझदारीपूर्ण व्यवहार गर्नुपर्छ। यसो गरेमा, सबैले म मिलनसार र मायालु छु, अनि म बुज्झकी असल अगुवा हुँ भन्ने महसुस गर्नेछन्।” पछि ब्रदर-सिस्टरहरूसँगको अन्तरक्रियामा, मैले अरूको भावनामा चोट नपुऱ्याउने प्रयास गर्दै नम्रतापूर्वक बोल्नमा ध्यान केन्द्रित गरेँ, अनि समस्याहरू आउँदा, म उनीहरूसँग राम्ररी कुराकानी गर्थेँ, र नम्र अनि कोमल तरिकाले बोल्थेँ। म बिरलै अरूलाई काटछाँट गर्ने वा ब्रदर-सिस्टरहरूका समस्याहरू खुलासा गर्ने गर्थेँ। केही समयपछि, धेरै ब्रदर-सिस्टरहरूले म ढोँग नभएकी अगुवा हुँ, अनि म नम्र बोल्ने र मिलनसार छु भन्दै मेरो प्रशंसा गर्न थाले। ब्रदर-सिस्टरहरूबाट पाएको यो सबै प्रशंसाले मलाई धेरै खुसी बनायो, र त्यसपछि, मैले सधैँ अरूसँग यसरी नै अन्तरक्रिया गरेँ।
ब्रदर ली ल्याङ्गसँग केही समय अन्तरक्रिया गरेपछि, मैले उनी आफ्नो कर्तव्यमा सधैँ ख्याति र हैसियत पछ्याउने कुरा थाहा पाएँ। उनी भिडियोको कामको सुपरिवेक्षण गर्दै थिए र उनले भिडियो बनाउने प्रविधिका बारेमा अझ धेरै अध्ययन गर्नुपर्थ्यो, तर उनले प्रविधि सिक्नु भनेको पर्दापछाडिको काम हो र त्यसबाट धाक देखाउन सकिँदैन भन्ने सोचेर त्यसमा कुनै मेहनत गरेनन्। बरु, उनी अक्सर ब्रदर-सिस्टरहरूलाई विद्युतीय सामानहरू मर्मत गर्न मद्दत गर्थे, जसले उनको काममा ढिलाइ गरायो। एक अगुवाका रूपमा, मैले ली ल्याङ्गले आफ्ना समस्याहरू थाहा पाऊन् र समयमै सुधार गर्न सकून् भनेर उनका समस्याहरू औँल्याउनुपर्छ भन्ने मलाई थाहा थियो। तर मैले सोचेँ, “ली ल्याङ्गमा मेरो राम्रो छाप परेको छ, अनि म उनीहरूको टोलीको भेलामा जाँदा उनी निकै उत्साही हुन्छन्। मैले अगुवा बने लगत्तै उनका समस्याहरू खुलासा गरिहालेँ भने उनले मलाई मिल्न नसक्ने र माया नभएकी ठान्लान्, अनि यसले उनमा मैले छोडेको राम्रो छापलाई बिगार्ला। समस्या औँल्याउँदा मैले एकदम ठाडै भन्नु हुँदैन, म थप समझदार हुनुपर्छ।” त्यसैले ली ल्याङ्गलाई देख्दा, मैले केवल यति भनेँ, “सुपरभाइजरका रूपमा, हामीले भिडियो बनाउने प्रविधिको अध्ययनलाई प्राथमिकता दिनुपर्छ, नत्र हाम्रो कामको प्रगतिमा असर पर्नेछ।” ली ल्याङ्गले टाउको हल्लाए र बदलिने इच्छा व्यक्त गरे। तर, पछि मैले उनले भिडियो बनाउने प्रविधिको अध्ययनमा अझै पनि मेहनत नगरिरहेकाे थाहा पाएँ। मैले उनलाई खुलासा गर्न चाहेँ, तर त्यसपछि मैले सोचेँ, “ऊ जवान छ, अनि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्नका लागि उसले आफ्नो काम पन्छाउन सकेको छ, यो पहिले नै प्रशंसनीय कुरा हो। मैले उसलाई काटछाँट र खुलासा गरेपछि ऊ नकारात्मक भयो भने के गर्ने? के ब्रदर-सिस्टरहरूले मलाई पनि पहिले बर्खास्त गरिएका अगुवाहरूजस्तै मानिसहरूलाई हप्काउने र माया नभएकी भनेर भन्दैनन् होला र? के त्यसले ब्रदर-सिस्टरहरूमा मैले छोडेको मेरो राम्रो छापलाई बिगार्दैन र?” यो कुरा मनमा राखेर, मैले उनी आफैँ सचेत होऊन् भन्ने आशामा उनको स्थितिसँग मिल्ने एउटा अनुभवात्मक गवाही भिडियो खोजेर दिएँ। तर ली ल्याङ्गले त केवल आफूले ख्याति र हैसियत पछ्याएको स्वीकार गरे तर समस्याको गम्भीरतालाई भने बुझेनन्। जवाफमा, मैले केवल नम्रतापूर्वक उनलाई ख्याति र हैसियतको पछि नलाग्न सल्लाह दिएँ, र त्यसपछि, उनले सधैँझैँ आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखे, जसको परिणाम स्वरूप भिडियोको काममा कुनै प्रगति भएन। चाँडै नै, माथिल्ला अगुवाहरू कामका बारेमा छानबिन गर्न आए, र ली ल्याङ्गलाई उनले कर्तव्यमा देखाएको निरन्तरको व्यवहारका आधारमा बर्खास्त गरियो। त्यसपछि अगुवाहरूले मलाई सोधे, “तिमीले किन ली ल्याङ्गमा भेट्टाएका समस्याहरू सङ्गति गरेर समाधान नगरेकी? उनी यो भूमिकाका लागि उपयुक्त नभएकाले किन उनलाई अर्को काममा नखटाएकी?” मेरो अनुहार तातो भयो, अनि मैले ली ल्याङ्गको बर्खास्तीको दोष आफूले पन्छाउन नसक्ने कुरा बुझेँ। यदि मैले समयमै आफ्नो कर्तव्यमा ख्याति र हैसियत खोज्ने उसको प्रकृति र त्यसका परिणामहरूको खुलासा गरिदिएकी र उसलाई आफैँलाई चिन्न मद्दत गरेकी भए, सम्भवतः यस्तो हुने थिएन। यसले मलाई धेरै पछुतो महसुस गरायो। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, ली ल्याङ्गले ख्याति र हैसियत पछ्याइरहेको, ऊ आफ्नो कर्तव्यमा सिद्धान्तहीन भएको, र मैले उसलाई खुलासा र काटछाँट गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा थियो, तर उसमा मेरो बारेमा नराम्रो छाप पर्ला भन्ने चिन्ताले मैले उसका समस्याहरू औँल्याइनँ वा खुलासा गरिनँ, र यसले काममा नोक्सान पुऱ्यायो। हे परमेश्वर, कृपया मलाई मेरो भ्रष्ट स्वभाव चिन्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
आफ्नो खोजीमा, मैले पहिले हेरेको एउटा अनुभवात्मक गवाही भिडियो सम्झेँ, जसको शीर्षक थियो, “एउटा ‘असल छवि’ को पछाडि के रहन्छ,” अनि मैले भिडियो खोलेँ र परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्दहरू बोल्छ। परिणामस्वरूप, परमेश्वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्वरले भन्दा बढी बुझेको छ। परमेश्वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका यी वचनहरू पढेपछि, मैले आफैमाथि चिन्तन गरेँ। ब्रदर-सिस्टरहरू, आफ्ना भ्रष्ट स्वभावहरूद्वारा प्रेरित भएर, आफ्नो कर्तव्यमा मण्डलीको काममा बाधा पुऱ्याइरहेका छन् भन्ने मलाई राम्ररी थाहा थियो, तैपनि मैले उनीहरूलाई न खुलासा गरेँ न त काटछाँट नै, बरु उनीहरूलाई प्रोत्साहित गर्न केही राम्रा शब्दहरू मात्र भनेँ। मानिसहरूले मलाई एक मायालु र बुज्झकी अगुवाका रूपमा देखून् भनेर मैले यसो गरेँ। यो परमेश्वरले खुलासा गर्नुभएजस्तै, मानिसहरूको मन जित्ने प्रयासको एउटा प्रकटीकरण थियो। मैले ली ल्याङ्गसँगका आफ्ना कुराकानीहरूमाथि चिन्तन गरेँ। उनले ख्याति र हैसियत पछ्याइरहेका, सुपरभाइजरका रूपमा आफ्नो कर्तव्यबाट विचलित भइरहेका, र यसले समग्र कामको प्रगतिलाई सुस्त बनाइरहेको कुरा मैले धेरै पहिले नै देखेकी थिएँ। उनलाई समयमै मार्गदर्शन र सुधारको आवश्यकता छ भन्ने पनि मलाई थाहा थियो, तर मलाई यदि मैले उनका समस्याहरू खुलासा गरेँ भने, उनले मलाई माया नगर्ने र मागहरूमा धेरै कठोर भएकी भन्लान् भन्ने चिन्ता थियो, त्यसैले मैले बस नम्रतापूर्वक कुरा गरेँ। म उनलाई खालि ख्याति र हैसियतको पछि नलाग्न, बरु आफ्नो मुख्य कर्तव्यमा ध्यान केन्द्रित गर्न सम्झाउने र प्रोत्साहित गर्ने गर्थेँ। ली ल्याङ्गले आफ्ना समस्याहरू चिन्न सकेनन्, तर त्यतिबेला पनि, मैले उनका समस्याहरू खुलासा वा चिरफार गरिनँ। बरु, मैले उनी होशमा आऊन् भनेर उनलाई एउटा अनुभवात्मक गवाहीको भिडियो पठाएर घुमाउरो जुक्ति अपनाएँ। मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू त देखेँ तर, केवल सबैले मलाई मायालु, मिलनसार,र अरूलाई बुझ्ने असल अगुवाका रूपमा हेरून् भनेर, मैले तिनलाई कहिल्यै खुलासा गरिनँ। मैले यो मानिसहरूको मन जित्नका लागि गरेकी थिएँ। म त साँच्चै ख्रीष्ट विरोधीको बाटोमा हिँडिरहेकी रहेछु! एक अगुवाका रूपमा, मेरो कर्तव्य सत्यताको सङ्गति गर्नु र आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्नु, र मण्डलीको कामको रक्षा गर्नु हुनुपर्छ। तर मैले ली ल्याङ्गले भ्रष्ट स्वभावमा जिएको र काममा ढिलाइ गरेको हेरेँ, तर मैले सङ्गति, मार्गदर्शन, खुलासा, वा काटछाँट केही पनि गरिनँ। मैले आफ्नो जिम्मेवारी अलिकति पनि पूरा गरिनँ। मसँग मानवता नै पो कहाँ रहेछ र? अरूको नजरमा “असल अगुवा” को छवि कायम राख्नका लागि, मैले मण्डलीको हितलाई बेवास्ता गरेँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ! यो कुरा बुझेपछि, मैले गहिरो पछुतो र दोषी महसुस गरेँ। मैले ली ल्याङ्गलाई फेरि भेट्दा, मैले उनीसँग खुलेर कुरा गरेँ र उनका समस्याहरूको खुलासा र चिरफार गरेँ। उनले भने, “म तपाईँले हाम्रा समस्याहरू औँल्याएको बिरलै देख्छु, तपाईँ सधैँ यति नम्र बोल्नुहुन्छ, र यो हाम्रा लागि वा मण्डलीको कामका लागि फाइदाजनक छैन। आज तपाईँले यो कुरा उठाउनुभएकोमा धेरै राम्रो भयो। मैले ख्याति र हैसियत पछ्याउनुको प्रकृति र परिणामहरू चिन्न सकेको छु।” यो सुनेर मलाई साँच्चै लाज लाग्यो। मैले ली ल्याङ्गका समस्याहरू औँल्याएकोमा उनमा मेरो बारे नराम्रो छाप परेन। बरु, उनी यो मार्गदर्शन स्वीकार गर्न र आफैमाथि चिन्तन गर्न सक्षम भए। मैले के महसुस गरेँ भने समस्याहरू देख्दा मानिसहरूलाई खुलासा र मार्गदर्शन गर्न नसक्दा मानिसहरूलाई साँच्चै हानि पुग्दो रहेछ!
त्यसलगत्तै, मैले मलजल गर्ने कामकी सुपरभाइजर, सुए मेईले आफ्नो कर्तव्यमा बोझ महसुस नगरेकी र देहिक सुखभोगमा लिप्त रहेकी थाहा पाएँ। उनलाई गर्न लगाइएको काम उनी मलजल गर्नेहरूतिर पन्छाइदिन्थिन्, र त्यसका विस्तृत विवरणहरू अनुगमन गर्ने वा सुपरिवेक्षण गर्ने गर्दिनथिन्। उनलाई नयाँ विश्वासीहरूका भेलाहरू के-कस्ता भइरहेका छन् भन्ने पनि थाहा थिएन। मैले मनमनै सोचेँ, “मलजलको काम गर्न, हामीमा कम्तिमा पनि बोझ र जिम्मेवारीको बोध हुनुपर्छ। उनको कर्तव्य निर्वाह गर्ने तरिकाले मण्डलीको काममा ढिलाइ गर्नेछ र नयाँ विश्वासीहरूको जीवनको वृद्धिलाई बाधा पुऱ्याउनेछ, त्यसैले मैले उनलाई उनको कर्तव्यप्रतिको दृष्टिकोण परिवर्तनमा सहयोग गर्न सुखभोगमा लिप्त हुनुको प्रकृति र परिणामहरूमा सङ्गति गर्नुपर्छ।” तर त्यसपछि मैले सोचेँ, “उनी टोली अगुवाको पदबाट बर्खास्त हुँदा उनलाई सङ्गति गर्ने र खुलासा गर्ने म नै थिएँ। उनले आफ्नो बर्खास्तीदेखि नै, मबाट धेरै दूरी बनाएकी मैले महसुस गरेकी छु। यदि मैले उनका समस्याहरू फेरि खुलासा गरेँ भने, के उनले म सधैँ उनलाई खुलासा र काटछाँट गर्छु र म मायालु छैन भन्ने सोच्लिन्? यदि त्यसो भयो भने, मेरो बारेमा उनमा रहेको छाप अझै बिग्रनेछ। छोडिदिऊँ। हाम्रो बीचको सम्बन्धलाई थप अप्ठ्यारो नबनाउनु नै राम्रो हुन्छ।” जब मैले सुए मेईलाई फेरि भेटेँ, मैले बस उनलाई हल्का रूपमा भनेँ, “पछिल्लो समय मलजलको कामका नतिजाहरू त्यति राम्रा छैनन्। हामीले आफ्नो कर्तव्यप्रतिको दृष्टिकोण छिट्टै परिवर्तन गर्नुपर्छ र अझ बढी जिम्मेवारी लिनुपर्छ!” यो सुनेपछि, सुए मेईले टाउको निहुराएर भनिन्, “मैले आफ्नो कर्तव्यमा बोझ बोध गरेकी छैन; मैले तुरुन्तै त्यसलाई परिवर्तन गर्नु जरुरी छ।” मैले उनको असहजता देखेँ र म उनलाई यसमाथि चिन्तन गर्न समय दिनेछु भन्ने सोचेँ। पछि, सुए मेईले कुनै बोझको बोधविना आफ्नो कर्तव्य निर्वाह गर्नमा ढिलासुस्ती गरिरहिन्। यसले गर्दा नियमित रूपमा भेलामा नआउने नयाँ विश्वासीहरूको सङ्ख्या बढ्दै गयो, जसले मलजलको काममा गम्भीर ढिलाइ गऱ्यो। माथिल्लो नेतृत्वले मेरो निरन्तरको व्यवहारबारे छानबिन गर्दा, मैले आफ्नो कर्तव्यमा आफ्नो प्रतिष्ठा र हैसियतको मात्र सुरक्षा गरेकी, र ब्रदर-सिस्टरहरूका समस्याहरू देख्दा पनि मैले उनीहरूलाई खुलासा वा काटछाँट नगरेकी भन्ने पत्ता लगायो। उनीहरूले मैले परमेश्वरका घरको हितको बिलकुलै रक्षा गरिरहेकी छैन, मण्डलीका विभिन्न कामहरूमा प्रगतिको कमीलाई समयमै समाधान गरिरहेकी छैन, र मैले कुनै पनि वास्तविक काम गरिरहेकी छैन भन्ने देखे। फलस्वरूप, सिद्धान्तहरूका आधारमा मलाई बर्खास्त गरियो। बर्खास्त गरिएपछि, मैले धेरै पछुतो र दोषी महसुस गरेँ। मण्डलीका विभिन्न कामहरूमा भएको नोक्सान मेरो ख्याति र हैसियतको पछ्याइ र मण्डलीको हितको रक्षा नगरेका कारणले भएको थियो। मैले सुए मेईको निरन्तरको व्यवहार, र उनी कसरी अब सुपरभाइजर हुन उपयुक्त छैनन् र उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ भन्नेबारे सोचेँ, त्यसैले मैले अगुवाहरूसँग छलफल गरेर उनलाई बर्खास्त गरेँ।
पछि, मैले अतिथि-सत्कार गर्ने घरमा दुई जना ब्रदरहरूलाई भेटेँ। एक ब्रदरले मेरो मुखैअगाडि म संवर्द्धन गर्न सकिने एक प्रतिभाशाली व्यक्ति हुँ, म आफ्नो कर्तव्यमा दुःख भोग्न र मूल्य चुकाउन सक्छु, अनि म जवान भएकी कारण मण्डलीको भारी कामको बोझले गर्दा मैले राम्रो गर्न नसक्नु बुझ्न सकिने कुरा हो भने। अर्को ब्रदर पनि सहमत भए। मैले मलाई बर्खास्त गरिनुअघि, धेरै ब्रदर-सिस्टरहरूले मेरो मुखैअघि मेरो प्रशंसा गरेकाे कुरा सम्झेँ, उनीहरूले मलाई ढोँग नभएकी नम्र बोल्ने र मिलनसार अगुवा भनेका थिए। अहिले मैले मण्डलीको काममा यति ठूलो नोक्सान पुऱ्याउँदा पनि, ब्रदर-सिस्टरहरूले अझै पनि मलाई अलिकति पनि खुट्ट्याएका थिएनन् र मेरो पक्षमा उभिएका थिए। के मैले सबैलाई भ्रममा पारेकी थिइनँ र? यो सोचेर, मलाई डर लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गर्दै उहाँसँग मेरा समस्याहरू चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनी अनुरोध गरेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू आफ्नो लेखन राम्रो छ, आफू कुशल लेखक हुँ भन्ने सोच्छन्; कतिले आफू असल अगुवा भएको, मण्डलीलाई आड दिने खम्बा भएको सोच्छन्; अरू चाहिँ आफूलाई असल मानिस ठान्छन्। यी मानिसहरूले कुनै न कुनै कारणले आफ्नो राम्रो आत्म-छवि गुमाउने बित्तिकै, तिनीहरूले धेरै विचार गर्छन् र यसका खातिर मूल्य चुकाउँछन्, परिस्थितिलाई सुधार्ने प्रयास गर्दै आफ्नो दिमाग खियाउँछन्। तैपनि तिनीहरू आफूले लिएका गलत मार्गहरूका लागि, वा तिनीहरूले गरेका विभिन्न सत्यताविरोधी कुराहरूका लागि कहिल्यै पनि लाज, वा आत्मग्लानि, वा परमेश्वरप्रति ऋणी महसुस गर्दैनन्। तिनीहरूलाई कहिल्यै त्यस किसिमको अनुभूति हुँदैन। तिनीहरू मानिसहरूलाई बहकाउन र तिनीहरूको हृदय जित्नका लागि हरप्रकारका युक्ती प्रयोग गर्छन्। के यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो? पटक्कै होइन। के मण्डली अगुवाहरूले गर्नुपर्ने काम त्यही हो? पटक्कै होइन। … यी मानिसहरू अगुवाको कर्तव्य निर्वाह गरिरहेको झन्डा फहराउँछन्, तर तिनीहरू अगुवाले गर्नुपर्ने काम गर्दैनन्। तिनीहरूले जे गर्छन् त्यो अगुवाको कर्तव्य निर्वाह गर्नु पटक्कै होइन, त्यो त ख्रीष्टविरोधीको भूमिका निर्वाह गर्नु, परमेश्वरको घरका काममा बाधा दिन र त्यसलाई नष्ट गर्न शैतानका पक्षमा खडा हुनु, र परमेश्वरका चुनिएका मानिसहरूलाई भ्रममा पारेर साँचो मार्गबाट र परमेश्वरबाट अलग बस्न लगाउनु हो। तिनीहरूका सबै कार्य र व्यवहारहरूले शैतानको स्वभाव र प्रकृतिलाई प्रकट गर्छन्, र मानिसहरूलाई परमेश्वरबाट अलग बस्न, सत्यता र परमेश्वरलाई इन्कार गर्न, र तिनीहरूलाई आराधना गर्न र पछ्याउन लगाउने परिणाम हासिल गर्छन्। एक दिन, जब तिनीहरूले मानिसहरूलाई पूर्ण रूपमा बहकाएका र आफ्नो नियन्त्रणमा ल्याएका हुन्छन्, तब मानिसहरूले तिनीहरूलाई आराधना गर्न, पछ्याउन, र पालन गर्न थाल्नेछन्। तब तिनीहरूले मानिसहरूको हृदय फन्दामा पार्ने आफ्नो उद्देश्य हासिल गरेका हुनेछन्। तिनीहरू मण्डली अगुवा हुन्, तर तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम गर्दैनन्; तिनीहरू अगुवा र कामदारहरूको काम गर्दैनन्। बरु, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूमाथि कार्य गर्छन्, तिनीहरूलाई बहकाउँछन्, फन्दामा पार्छन्, र नियन्त्रण गर्छन्, स्पष्ट रूपमा परमेश्वरका भेडाहरूलाई आफ्नै हातमा, आफ्नो नियन्त्रणमा लिन्छन्। के तिनीहरू चोर र डाँका होइनन् र? परमेश्वरसँग उहाँका चुनिएका मानिसहरूका लागि होड गर्ने क्रममा, के तिनीहरूले शैतानका नोकरहरूका रूपमा सेवा गरिरहेका हुँदैनन् र? के त्यस्ता ख्रीष्टविरोधीहरू परमेश्वरका शत्रु होइनन् र? के तिनीहरू उहाँका चुनिएका मानिसहरूका शत्रु होइनन् र? (हुन्।) शतप्रतिशत हुन्। तिनीहरू परमेश्वर र उहाँका चुनिएका मानिसहरूका शत्रु हुन्; यसमा शङ्काको कुनै गुन्जायस छैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने यदि कुनै अगुवा वा कामदारले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दैन, र मानिसहरूले आफूलाई आदर गरून् र उच्च ठानून् भनेर ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्यमा गलत बाटोमा हिँडेको, र मण्डलीको काममा नोक्सान पुऱ्याएको देख्दा पनि उनीहरूलाई खुलासा गर्दैन, बरु मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि स्थापित गर्नका लागि अरूको मन जितेर अरूलाई भ्रममा पार्न छलकपट प्रयोग गर्छ भने सारमा, यो परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँसँग प्रतिस्पर्धा गर्नु हो, र ख्रीष्ट विरोधीको बाटोमा हिँड्नु हो। अगुवाका रूपमा मेरो समयमाथि चिन्तन गर्दा, ब्रदर-सिस्टरहरूको हृदयमा “असल अगुवा” आफ्नो छवि स्थापित गर्न, र सबैले मलाई प्रशंसा र आदर गरून् भनेर, मैले ब्रदर-सिस्टरहरू भ्रष्ट स्वभावमा जिइरहेको र उनीहरूले मण्डलीको काममा बाधा पुऱ्याइरहेको देख्दा पनि, मैले उनीहरूलाई खुलासा वा काटछाँट गरिनँ, र केवल नम्रतापूर्वक सङ्गति गरेँ, हल्का रूपमा सम्झाएँ र उनीहरूलाई प्रोत्साहित गरेँ। यसले गर्दा ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा गरे, र मलाई एक असल र समझदार अगुवा भनेर प्रशंसा गरे। मैले मण्डलीको काममा गम्भीर नोक्सान पुऱ्याएर म बर्खास्त हुँदा पनि, उनीहरूले मलाई अझै पनि अलिकति पनि खुट्ट्याएका थिएनन्, र उनीहरूले त के पनि भने भने म जवान भएकै कारणले मैले राम्रो प्रदर्शन गर्न नसकेकी हुँ। कसै-कसैले त मप्रति सहानुभूति पनि देखाए, र मेरो पक्ष लिए। एक अगुवाका रूपमा, मैले मानिसहरूलाई परमेश्वरको सामु डोऱ्याइनँ, बरु मानिसहरूले मलाई आदर गरून्, र उनीहरूका हृदयमा मेराे लागि ठाउँ राखून् भनेर, मैले आफ्नो कर्तव्यलाई मानिसहरूको मन जित्ने अवसरका रूपमा प्रयोग गरेँ। मेरा कार्यहरू परमेश्वरले खुलासा गर्नुभएका डाँकु र लुटेराहरूभन्दा कसरी फरक थिए र? बाहिरबाट हेर्दा ली ल्याङ्ग र सुए मेईले सत्यता अभ्यास नगरेर मण्डलीको कामलाई हानि पुऱ्याइरहेका जस्तो देखियो होला, तर वास्तवमा, मैले नै उनीहरूलाई प्रश्रय दिइरहेकी र उनीहरूको ढाकछोप गरिरहेकी थिएँ। मण्डलीको हितलाई त्याग गरेर भए पनि मैले आफ्नो ख्याति र हैसियत जोगाएँ र म ख्रीष्ट विरोधीको बाटोमा हिँडिरहेकी थिएँ। यो परमेश्वरको स्वभावलाई चिढ्याउने कुरा हो! मेरो बर्खास्ती परमेश्वरको धार्मिकता थियो, र यदि मैले पश्चात्ताप नगरेकी भए, म अन्त्यमा परमेश्वरद्वारा दोषी ठहराइएर हटाइने थिएँ। यो सबै महसुस गरेपछि, मलाई डर लाग्यो र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले मानिसहरूको मन जित्न र आफ्नो इज्जत र हैसियतको रक्षा गर्न मिठासयुक्त वचनहरू बोलेकी छु। म ख्रीष्ट विरोधीको बाटोमा हिँडिरहेकी छु। हे परमेश्वर! म अब उप्रान्त दुष्ट काम गर्न र तपाईँको विरोध गर्न चाहन्न; म पश्चात्ताप गर्न चाहन्छु।”
चिन्तन गर्दा, मैले के महसुस गरेँ भने मैले अर्को एउटा भ्रामक दृष्टिकोण बोकेकी रहेछु। मैले नम्रतापूर्वक बोल्नु, नरम तरिका अपनाउनु, र मानिसहरूलाई खुलासा वा काटछाँट नगर्नु भनेको उनीहरूप्रति मायालु हुनु हो, जबकि मानिसहरूलाई खुलासा र काटछाँट गर्नु कठोर र समझहीन काम हो भन्ने सोचेकी थिएँ। आफ्नो खोजी र मननमा, मैले परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ: “परमेश्वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्वरले मानिसहरूबाट माग गर्ने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्वरले माग गरेका सत्यता सिद्धान्तहरू के-के हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र अवरोधहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। “सकारात्मक पाटोलाई हेर्दा, शिक्षाप्रद बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, परामर्श दिने, अगुवाइ गर्ने, सल्लाह दिने, बुझ्ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताबारे बुझाइ र पश्चात्ताप गर्ने हृदय प्राप्त गरून्। त्यसपछि मात्रै नतिजाहरू हासिल गर्न सकिन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यसले तिनीहरूलाई वास्तवमै मदत गर्छ, र यो तिनीहरूका लागि शिक्षाप्रद हुन्छ, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मानिसहरूलाई काटछाँट गर्नु कठोर हुनु होइन, बरु यो उनीहरूको जीवन प्रवेशका लागि तथा उनीहरूलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि लाभदायक हुन्छ साथै यसले मानिसहरूलाई सिद्धान्तहरूअनुसार काम गर्न मद्दत गर्न सक्छ। मैले के पनि बुझ्न पुगेँ भने हामीले ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्दा सिद्धान्तहरू अपनाउनुपर्छ। यदि अर्को व्यक्ति अस्थायी रूपमा नकारात्मक र कमजोर छ भने, हामीले उनीहरूको कदअनुसार उनीहरूलाई प्रेमपूर्वक सङ्गति गर्दै मद्दत गर्नुपर्छ, जसले गर्दा ब्रदर-सिस्टरहरू कठिनाइहरूमा नरहून् र उनीहरूलाई अभ्यास र प्रवेशको बाटो प्रदान होस्। तर धेरै पटकको सङ्गतिका बावजुद, कुनै परिवर्तनविना मण्डलीको काममा बाधा, र अवरोध पुऱ्याइरहने गम्भीर भ्रष्ट स्वभाव भएकाहरूलाई भने, हामीले परमेश्वरका वचनहरूअनुसार खुलासा र काटछाँट गर्नैपर्छ, ताकि उनीहरूले आफ्ना समस्याहरूका साथै भ्रष्ट स्वभावका आधारमा आफ्नो कर्तव्य निर्वाह गर्नुको प्रकृति र परिणामहरू चिन्न सकून्। मानिसहरूलाई साँच्चै मद्दत गर्नु भनेको यही हो। मैले के पनि बुझेँ भने मानिसहरूप्रति कठोर हुनुको मुख्य अर्थ उनीहरूसँग निष्पक्ष व्यवहार नगर्नु हो—कुनै व्यक्तिले प्रसङ्गै नबुझी वा ब्रदर-सिस्टरहरूका स्थिति र कठिनाइहरूलाई विचारै नगरी, अनि उनीहरूको कदलाई ध्यानमै नराखी सानो विचलन वा गल्ती पत्ता लगाउनेबित्तिकै, उसले अन्धाधुन्ध तरिकाले आफ्नो रिस पोख्छ र मानिसहरूलाई हप्काउँछ। तर, मानिसहरूलाई खुलासा गर्नु र काटछाँट गर्नुको अर्थ हो, हामीले ब्रदर-सिस्टरहरू सिद्धान्तहरू विरुद्ध गएको, वा उनीहरूले भ्रष्ट स्वभावका आधारमा काम गरेर मण्डलीको काममा बाधा पुऱ्याइरहेको पत्ता लगाउँदा, हामी परमेश्वरका वचनहरूका आधारमा उनीहरूलाई मार्गदर्शन गर्न, काटछाँट गर्न, सङ्गति गर्न र मद्दत गर्न सक्छौँ, ताकि ब्रदर-सिस्टरहरूले आफ्ना समस्याहरू चिन्न र समयमै आफ्नो स्थिति सुधार गरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकून्। यो ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका साथै मण्डलीको कामका लागि पनि लाभदायक छ, र यो मानिसहरूप्रति कठोर हुनु होइन। मैले ली ल्याङ्ग र सुए मेईसँग गरेको व्यवहार जस्तै, मैले उनीहरूलाई काटछाँट र खुलासा गर्नु धेरै कठोर र प्रेमहीन हुन्छ, र मैले उनीहरूलाई नम्रतापूर्वक प्रोत्साहित मात्र गर्नुपर्छ भन्ने सोचेँ। फलस्वरूप, उनीहरूले आफ्नो भ्रष्ट स्वभावका बारेमा कुनै बुझाइ प्राप्त गरेनन्, र यसले मण्डलीको काममा नोक्सान पुऱ्यायो। मैले के महसुस गरेँ भने त्यस्ता कार्यहरूले उनीहरूलाई मद्दत गरेन, बरु उनीहरूलाई हानि पुऱ्यायो, यो साँचो प्रेम थिएन। मैले बोकेका दृष्टिकोणहरू साँच्चै बेतुका थिए र सत्यताअनुरूप थिएनन्!
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “कति अगुवा र कामदारहरूले अर्तीउपदेश दिएर, र कतिले भने प्रेरणा दिएर, अनि अरू कतिले चाहिँ खुलासा, दोषारोपण, र काटछाँट गरेर मानिसहरूलाई मद्दत गर्न मन पराउँछन्। तिनीहरूले जे विधि प्रयोग गरे पनि, यदि त्यसले तँलाई साँच्चै सत्यता वास्तविकतामा प्रवेश गर्न, तेरा वास्तविक कठिनाइहरू समाधान गर्नतर्फ डोर्याउन, र तँलाई परमेश्वरका अभिप्रायहरू के हुन् भनेर बुझाउन सक्छ र यसरी तँलाई आफूलाई चिन्न र अभ्यास मार्ग प्राप्त गर्न सक्षम पार्छ भने, तँलाई भविष्यमा त्यस्तै परिस्थिति आइपर्दा, तँसँग पछ्याउने मार्ग हुनेछ। तसर्थ, कुनै अगुवा वा कामदार मानकअनुरूपको छ कि छैन भनेर मापन गर्ने सबैभन्दा आधारभूत मानक भनेको उसले मानिसहरूका समस्या र कठिनाइहरू हल गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, र तिनीहरूलाई सत्यता बुझ्न र अभ्यासको मार्ग प्राप्त गर्न सक्षम पार्न सक्छ कि सक्दैन भन्ने हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले अभ्यासको बाटो भेट्टाएँ। मैले आफ्नो कर्तव्यमा मण्डलीको हितलाई प्राथमिकता दिनुपर्थ्यो र आफ्नो व्यक्तिगत हैसियत वा छविलाई विचार गर्नुहुँदैनथ्यो। मैले ब्रदर-सिस्टरहरूलाई समस्याहरूको सामना गर्दा सत्यता खोज्न अनि आफ्ना कमीकमजोरीहरूमाथि चिन्तन गर्न र चिन्नका लागि डोऱ्याउन सक्नुपर्थ्यो, ताकि उनीहरूले सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सकून्। जब मैले कसैले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेको पत्ता लगाउँछु, मैले समस्या समाधान गर्नका लागि समयमै उनीहरूसँग सत्यता सङ्गति गर्नैपर्छ, र काम सहज रूपमा अघि बढोस् भन्ने सुनिश्चित गर्न आवश्यकतानुसार मानिसहरूलाई काटछाँट र खुलासा गर्नैपर्छ। एक अगुवाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही हो। मैले परमेश्वरले हामीलाई मुक्ति दिनका लागि, सान्त्वना र उत्साहका वचनहरू मात्र बोल्नुहुन्न, बरू हाम्रो भ्रष्ट मानवताका आवश्यकताअनुसार समेत बोल्नुहुन्छ, हामीले आफ्नो भ्रष्ट प्रकृति चिन्न सकौँ र परमेश्वरसामु स्वीकारेर पश्चात्ताप गर्न सकौँ भनेर हाम्रो विद्रोहीपनलाई न्याय गर्न र खुलासा गर्न सत्यता व्यक्त गर्नुहुन्छ भन्नेबारे सोचेँ। चाहे परमेश्वरका वचनहरू सम्झाउने कुरा र अर्तीउपदेश हुन् वा कठोर खुलासा र न्याय, अन्तिम लक्ष्य हामीलाई शुद्ध र रूपान्तरण गर्नु हो, ताकि हामीले मुक्ति पाउन सकौँ। त्यसयता, मैले आफ्नो छविलाई विचार गर्न छोडेर सत्यता अभ्यास गर्नुपर्थ्यो, र मण्डलीको काम र आफ्ना ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई प्राथमिकता दिनुपर्थ्यो।
धेरै समय नबित्दै, मलाई फेरि अगुवा चुनियो। एक पटक, म धेरै टोली अगुवाहरूसँग भेलामा थिएँ, र मैले एक जना टोली अगुवाले काम कार्यान्वयन गर्नमा ढिलाइ गरिरहेको देखेँ। जब मैले उनलाई कारण सोधेँ, उनले दोष पन्छाइन्। मैले ती टोली अगुवाको आफ्नो कर्तव्यप्रतिको बेवास्तापूर्ण मनोवृत्ति, र काममा ढिलाइ भए तापनि, उनलाई आफ्नो समस्या अझै थाहा नभएको देखेँ। मैले उनका समस्याहरू खुलासा गर्नुपर्छ ताकि उनले आफ्नो भ्रष्ट स्वभाव चिन्न र आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति परिवर्तन गर्न सकून् भन्ने मलाई थाहा थियो। तर त्यतिखेरै मैले आफू भर्खरै अगुवा चुनिएको बारे विचार गरेँ, अनि सोचेँ, “मैले अगुवा बने लगत्तै उनका समस्याहरू खुलासा गरेँ भने उनले मेरो बारेमा के सोच्लिन्? विगतमा, हामी दुवै टोली अगुवा थियौँ, र हामीले सँगै आफ्नो कर्तव्य निर्वाह गर्दा, मेरो बारेमा उनमा राम्रो छाप परेको थियो। सायद मैले उनको समस्याबारे छोटकरीमा मात्रै उल्लेख गर्नु नै उत्तम हुन्छ कि?” तर त्यति बेलै मैले, एक अगुवाका रूपमा आफ्नो छविको रक्षा गर्ने मेरो निरन्तरको प्रयास र मानिसहरूलाई खुलासा, र काटछाँट नगरेका कारण भएको आफ्नो अघिल्लो असफलता र कसरी त्यसले मण्डलीको कामलाई हानि पुऱ्याएको थियो भन्ने बारे सोचेँ। समस्याहरूको सामना गर्दा म किन अझै पनि आफ्नो रक्षा गर्न र सत्यता अभ्यास नगर्न चाहन्थेँ? मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायलाई ख्याल गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। यो कुरा मनमा राखेर, मैले परमेश्वरका वचनहरू प्रयोग गर्दै ती टोली अगुवाको आफ्नो कर्तव्यप्रतिको झाराटारुवा प्रकृति र परिणामहरूलाई खुलासा र चिरफार गरेँ। मेरो सङ्गतिपछि, ती टोली अगुवाले आफू वास्तवमै आफ्नो कर्तव्यमा झाराटारुवा भएकी, र आफूले कर्तव्य पूरा गर्न नसक्ने होइन, बरू आफूले यसमा मनै नलगाई केवल आलटाल गरिरहेकी भन्ने स्वीकार गरिन्। उनले अबदेखि, आफू आफ्नो अवस्था बदल्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तत्पर रहेको भनेर पनि भनिन्। जब मैले टोली अगुवाले आफूलाई केही हदसम्म चिन्न सकेको देखेँ, मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नु कति अद्भुत कुरा रहेछ भन्ने महसुस गरेँ! पछि, जब मैले आफूले कर्तव्य निर्वाह गर्दा आफ्नो छविको रक्षा गर्न चाहेको पाएँ, मैले सचेत रूपमा आफ्नो देह विरुद्ध विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गरेँ, र मैले समयमै मार्गदर्शन र मद्दत प्रदान गर्न परमेश्वरका वचनहरू प्रयोग गर्दै, ब्रदर-सिस्टरहरूलाई चिन्तन गर्न र आफैँलाई चिन्न मार्गदर्शन गरेँ। केही समय यसरी अभ्यास गरेपछि, मैले के देखेँ भने ब्रदर-सिस्टरहरूले मैले समस्याहरू औँल्याएको र खुलासा गरेको कारणले मप्रति नकारात्मक दृष्टिकोण राख्नुको सट्टा, उनीहरूले आफैमाथि चिन्तन गर्न र आफैलाई चिन्न सके, र उनीहरूको कर्तव्यप्रतिको मनोवृत्ति पनि सुध्रिएको थियो। मैले पनि आफूले पहिलेभन्दा केही प्रगति गरेको महसुस गरेँ। मैले पूर्ण रूपमा परमेश्वरका वचनहरूको मार्गदर्शनका कारणले नै यी अनुभूतिहरू र परिवर्तनहरू प्राप्त गर्न सकेकी हुँ। परमेश्वरलाई धन्यवाद!