५९. के एकआपसमा मिल्नु भनेकै सामञ्जस्यपूर्ण सहकार्य हो?

सिसिली, जापान

सन् २०२२ को सुरुमा, म धेरै ओटा मण्डलीहरूको कामका लागि जिम्मेवार थिएँ। एक दिन, हामीमध्ये केही कामको विषयमा छलफल गरिरहेका बेला ब्रदर माइकलले एउटा मण्डलीले सिस्टर क्लारालाई अगुवाको रूपमा चुनेको कुरा उल्लेख गरे। त्यो नाम सुन्ने बित्तिकै मेरो मन चसक्क भयो, र मैले सोचेँ, “पहिले अगुवा हुँदा तिनले ब्रदर-सिस्टरहरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सकेकी थिइनन्, र तिनी सधैँ ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्थिन्, फरक विचार राख्नेहरूलाई पन्छाउने पनि गर्थिन्, जसले गर्दा ब्रदर-सिस्टरहरूलाई केही हानि पुगेको थियो, र अन्तमा, ख्रीष्ट विरोधीको मार्गमा हिँडेकोले तिनलाई बर्खास्त गरिएको थियो। के तिनले आफ्ना विगतका अपराधहरू थाहा पाएकी होलिन् त? यदि तिनले पश्चात्ताप गरेकी छैनन् भने, तिनलाई फेरि अगुवाको रूपमा चुनिनु उपयुक्त हुँदैन।” तर त्यतिबेलै मैले सोचेँ, “यो मण्डली मुख्यतया माइकलको जिम्मेवारी हो। यदि मैले आफ्नो चिन्ता व्यक्त गरेँ भने, उनले कतै मैले उनलाई अप्ठ्यारोमा पार्न खोजेको पो ठान्छन् कि? त्यसो भयो भने भविष्यमा सहकार्य गर्न गाह्रो हुनेछ। छोडिदिऊँ, मैले क्लारालाई त्यति राम्ररी चिनेकी पनि छैन, र तिनले आफूलाई साँच्चै चिनेकी छिन् कि छैनन् भन्ने कुरा के माइकललाई मभन्दा बढी थाहा छैन होला र? मैले यो कुरा नउठाएकै राम्रो।” अरूको चित्त दुखाइएला भन्ने डरले, मैले चुप बस्ने निर्णय गरेँ। हाम्रो टोलीका अरू केही ब्रदर-सिस्टरहरूले पनि भने, “क्लाराको बारेमा मानिसहरूको धारणा सामान्य भए तापनि, हामी तिनलाई केही समय अभ्यास गर्न दिएर हेरौँ, र यदि तिनी उपयुक्त भइनन् भने, हामी तिनलाई बर्खास्त गरौँला।” सबैले क्लारालाई उपयुक्त ठानेको र फरक विचार राख्ने म मात्र भएको देखेर, मैले केही पनि भन्न चाहिनँ, र सोचेँ, “मलाई क्लाराको हालको अवस्थाबारे थाहा छैन। यदि तिनले साँच्चै पश्चात्ताप गरेकी रहिछन् भने, सबैले मलाई छिट्टै अरूको मूल्याङ्कन गर्ने र खराब मानवता भएकी व्यक्ति ठान्लान् कि? छोडिदिऊँ, मैले केही नभनेकै राम्रो।”

एक साँझ, एउटी सिस्टरले मलाई सोधिन्, “के क्लाराले आफ्ना अपराधहरू चिनेकी छिन्? के तिनी अगुवा बन्नका लागि आवश्यक सर्तहरू पूरा गर्छिन्? तपाईंहरूले तिनको मूल्याङ्कन गर्न कुन सिद्धान्तहरू प्रयोग गर्दै हुनुहुन्छ, मलाई थाहा छैन।” प्रश्नहरूको ओइरोले मलाई अक्क न बक्क बनायो, तर मैले यसमा निश्चय नै परमेश्‍वरको अभिप्राय छ भन्ने बुझेँ। ती सिस्टरले भन्दै गइन्, “पहिले अगुवा हुँदा, क्लाराले ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्दै, मण्डलीको काममा गम्भीर अवरोध र बाधा पुऱ्याइन्, र भेलाहरूको दौडान, तिनको सङ्गतिमा कुनै आत्म-चिन्तन देखिँदैनथ्यो। मलाई अहिले तिनी फेरि अगुवाको रूपमा चुनिएकीले, तिनमा पुरानै बानी बल्झिएला, र यसले मण्डलीको कामलाई हानि पुऱ्याउला कि भन्ने डर छ। के हामीले तिनको आचरणलाई अझ नजिकबाट नियाल्नु पर्दैन र?” ती सिस्टरको चिन्ता सुनेर मलाई असहज महसुस भयो। साँचो कुरा त, मेरो पनि त्यही चिन्ता थियो, तर मलाई माइकलले मैले उनलाई अप्ठ्यारोमा पार्न खोजेको ठान्छन् कि भन्ने डर थियो, र अरू ब्रदर-सिस्टरहरू सबै सहमत भइसकेकाले, मैले कसैको चित्त दुखाउन चाहिनँ, त्यसैले मैले अरू सबैको कुरामा हो मा हो मिलाएँ। अगुवा छान्ने जस्तो महत्त्वपूर्ण कुरामा म कत्ति झाराटारूवा र गैरजिम्मेवार बनेकी रहेछु! यो सोचले मलाई गहिरो अपराधबोध गरायो। त्यो रात म छटपटाइरहेँ र सुत्नै सकिनँ। भोलिपल्ट बिहानै, मैले हाम्रो टोलीका केही ब्रदर-सिस्टरहरूलाई यसबारे बताएँ। यो सुनेपछि, माइकलले एक जना जानकार व्यक्तिसँग खोजी गर्दै स्थितिको बारेमा अझ विस्तृत रूपमा अनुसन्धान गरे। अन्तमा, क्लाराले आफ्ना अपराधहरू नचिनेकी, र तिनले सत्यता नस्वीकारेकीले उनी अगुवा बन्नका लागि उपयुक्त छैनन् भन्ने कुरामा सबैजना सहमत भए, त्यसैले क्लारालाई बर्खास्त गरियो। त्यसपछि, मलाई अझ बढी ऋणी र दोषीपनको भावना भयो, र मैले सोचेँ, “क्लारालाई अगुवा बनाउने विषयमा, मेरो स्पष्ट रूपमा फरक मत थियो तर मैले व्यक्त गरिनँ र अरू सबैको पछि लागेँ। म साँच्चै गैरजिम्मेवार थिएँ!” मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “केही मानिसहरू मान्छे खुसी पारिहिँड्ने मानिसहरू हुन्छन्, जो अरूले नराम्रो काम गरेको देख्दा पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू अरूसँग मिलिहाल्छन् र सजिलै ढलपलिन्छन्। तिनीहरू मण्डलीको काममा बाधा पुऱ्याउने झूटा अगुवाहरू र ख्रीष्ट विरोधीहरूको आज्ञापालन गर्छन्, अनि कसैलाई चिढ्याउँदैनन्, र जहिले पनि सम्झौता गर्छन् र तिनीहरू दायाँ पनि ढल्कँदैनन् र बायाँ पनि ढल्कँदैनन्। यसो हेर्दा, तिनीहरूसँग मानवता छ जस्तो देखिन्छ—तिनीहरू हद नाघ्दैनन्, र तिनीहरूसँग थोरै विवेक र समझ हुन्छ—तर अधिकांश समय, तिनीहरू चुपचाप बस्छन् र आफ्ना विचारहरू व्यक्त गर्दैनन्। त्यस्ता मानिसहरूबारे तँ के सोच्छस्? के तिनीहरू चिप्ले र छली छैनन् र? छली मानिसहरू यस्तै हुन्छन्। केही आइपर्दा, तिनीहरूले केही नबोल्न सक्छन् वा हल्का रूपमा कुनै विचार व्यक्त नगर्न सक्छन्, बरु सधैँ मौन रहिरहन्छन्। यसको मतलब तिनीहरू उचित छन् भन्‍ने होइन; बरु, यसले त के देखाउँछ भने, तिनीहरूले राम्ररी नै भेष बदलेका छन्, तिनीहरूले कुरा लुकाएका छन्, र तिनीहरू साह्रै धूर्त छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूको प्रकाशमा आफूलाई हेर्दा मलाई साह्रै लाज लाग्यो। परमेश्‍वर भन्नुहुन्छ असल मानवताको मापदण्ड भनेको परमेश्‍वर र अरूप्रति साँचो हृदय हुनु, काम गर्दा जिम्मेवार हुनु, र मण्डलीको काममा हानि पुग्न लागेको देख्दा त्यसलाई रोक्न खडा भएर बोल्ने साहस हुनु हो। यही नै साँचो मानवता र इमानदार व्यवहार हो। यदि कसैले समस्या देखेर पनि आफ्नो विचार व्यक्त गर्दैन, चुपचाप बस्छ, र कसैको चित्त दुखाउँदैन भने, ऊ बाहिरबाट हेर्दा विवेकी देखिन सक्छ, तर वास्तविकतामा, यस्तो व्यक्ति षड्यन्त्रले भरिएको, चिप्ले र छली हुन्छ। क्लाराको विषयमा आफूलाई फर्केर हेर्दा, मेरो हृदयमा स्पष्ट रूपमा चिन्ता थियो, तिनले आफ्ना विगतका अपराधहरूलाई मनन गरेकी वा चिनेकी छैनन्, र अब फेरि चुनिएपछि, तिनमा पुरानै रोग बल्झिने सम्भावना छ, जसले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुऱ्याउनेछ भन्ने डर थियो, तर म मानिसहरूको चित्त दुखाउँला र मेरा सहकर्मीहरूले मलाई गलत बुझ्छलान् भनेर डराएँ। यदि मेरो विचार गलत भयो भने सबैले मलाई छिट्टै अरूको मूल्याङ्कन गर्ने र खराब मानवता भएकी व्यक्ति भन्छन् कि भन्ने पनि मलाई चिन्ता थियो, त्यसैले मैले केही भनिनँ। मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि बनाउन, र आफ्ना सहकर्मीहरूसँग सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्न, मण्डलीको काममा हानि हुन्छ कि हुँदैन भन्ने कुराको वास्ता नगरी, मैले चुप लागेर मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने बाटो रोजेँ। मेरो मानवता साँच्चै छली र घिनलाग्दो छ! मैले यस्तो राम्रो देखावटी रूप धारण गरेकी थिएँ, कि मेरो वरपरका ब्रदर-सिस्टरहरूलाई मेरो साँचो विचार थाहा थिएन, यहाँसम्म कि उनीहरू मलाई घुलमिल गर्न सजिलो, कसैसँग कहिल्यै विवाद नगर्ने, र असल मानवता भएकी व्यक्ति ठान्थे। तर परमेश्‍वरले मेरो हृदयमा भएका सबै कुराको छानबिन गर्नुहुन्छ। मैले मण्डलीको कामलाई कायम राखिरहेकी थिइनँ र सधैँ अरूसँगको आफ्नो सम्बन्धलाई कायम राख्ने कुरा नै रोजिरहेकी थिएँ। मैले कुन चाहिँ तरिकाले सत्यता अभ्यास गरिरहेकी वा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ र? म परमेश्‍वरको लागि कत्ति घृणित थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्‍न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै शक्ति प्रयोग गरे पनि, ती सबै सांसारिक कुराहरू सम्‍बन्धी मानवदर्शनका कुरा हुनेछन्। तैँले परमेश्‍वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा, मानव दृष्टिकोण र सांसारिक कुराहरू सम्‍बन्धी दर्शनद्वारा मानिसहरूमाझ तेरो प्रतिष्ठा रक्षा गरिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तैँले मानिसहरूसँगका तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँमा समर्पित हुन सिक्‍न तत्पर छस् भने, प्राकृतिक रूपमै तेरा अन्तर्वैयक्तिक सम्बन्धहरू सामान्य हुनेछन्। त्यसपछि, ती सम्बन्धहरू देहको आधारमा नभई परमेश्‍वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर आत्मिक तहमा तिमीहरूमाझ सङ्गति, पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरू जीवन जिउने सांसारिक कुराहरू सम्‍बन्धी मानवदर्शनको आधारमा कायम राखिँदैन, ती सम्बन्धहरू परमेश्‍वरको लागि बोझ बोक्‍ने क्रममा प्राकृतिक रूपमै स्थापित हुन्छन्। यसको लागि तेरो कृत्रिम मानव प्रयत्न आवश्यक पर्दैन, तैँले परमेश्‍वरका वचनहरूको सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ मानिसहरूसँग सामान्य सम्बन्ध राख्नको लागि, व्यक्तिले पहिले परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ। व्यक्तिले आफ्नो हृदय परमेश्‍वरलाई दिनुपर्छ, संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरूमा आधारित भएर अरूसँग आफ्नो दैहिक सम्बन्ध कायम राख्नु हुँदैन, न त अरूको हृदयमा आफ्नो हैसियत वा छविको बारेमा सोच्नुपर्छ; उसले इमानदार हृदयले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र सबै कुरामा सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। यसरी, ब्रदर-सिस्टरहरूसँग व्यक्तिको सम्बन्ध स्वाभाविक रूपमा सामान्य हुनेछ। संसारसँग व्यवहार गर्ने दर्शनहरूमा भर परेर कायम राखिएका सम्बन्धहरू सामान्य सम्बन्ध होइनन्, र ती परमेश्‍वरद्वारा घृणित हुन्छन्। यस्ता सम्बन्धहरू प्रायः लामो समयसम्म टिक्दैनन्। क्लाराको मामिलामा मनन गर्दा, मैले गैरजिम्मेवार भई भीडलाई पछ्याएँ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ” जस्ता शैतानी दर्शनहरूअनुसार जिएँ। मैले यसरी मानिसहरूसँग व्यवहार गरेर, म विवादबाट बच्न र सम्बन्धहरू कायम राख्न सक्छु भन्ने विश्वास गरेँ। मैले यसले सामञ्जस्यपूर्ण सहकार्यमा डोऱ्याउन सक्छ भन्ने सोचेँ। तर वास्तविकतामा, ठीक उल्टो भयो। संसारसँग व्यवहार गर्ने यी दर्शनहरूअनुसार जिउँदा म झन्-झन् चिप्ले र छली भएँ। जब कुनै कुरा हुन्थ्यो, मेरो प्राथमिकता आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नु, र अरूसँगको मेरो सम्बन्ध कायम राख्नु हुन्थ्यो। यसले अस्थायी रूपमा सामञ्जस्य कायम राख्न सक्ने भए तापनि, यस प्रकारको सहकार्यमा कुनै इमानदारी हुँदैन, र यसले आपसी सहयोग र संयम हासिल गर्न सक्दैन। मण्डलीले हामी महत्त्वपूर्ण मामिलाहरूमा एक-अर्काको सुपरिवेक्षण गर्छौं र एक-अर्कालाई सही मार्गमा राख्छौं भन्ने आशाका साथ हामीलाई हाम्रो कर्तव्यमा सँगै सहकार्य गर्ने प्रबन्ध मिलाएको थियो। तर म समस्याहरू देखेर पनि तिनलाई नउठाउने मान्छे खुसी पारिहिँड्ने व्यक्तिको भूमिका खेल्दै, गैरजिम्मेवार भएकी थिएँ र यसरी मण्डलीको काममा हानि पुऱ्याउँदै थिएँ। म कत्ति गैरजिम्मेवार भएकी रहेछु!

पछि, मैले खोजी गरिरहेँ, र आफैलाई सोधेँ, “वास्तवमा साँचो सामञ्जस्यपूर्ण सहकार्य के हो?” एउटी सिस्टरले मलाई परमेश्‍वरका वचनका केही खण्डहरू पठाइन्: “यदि तँ राम्रोसित आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न चाहन्छस् भने, तैँले अरूसित कसरी सामञ्‍जस्यपूर्वक काम गर्ने, पहिले त्यो सिक्‍नुपर्छ। अरू दाजुभाइ-दिदीबहिनीहरूसित समन्वय गर्दा, तैँले यी कुराहरू विचार गर्नुपर्छ: ‘सामञ्‍जस्यता के हो? के मेरो बोलीवचन तिनीहरूसित सामञ्‍जस्यपूर्ण छ? के मेरा सोचविचारहरू तिनीहरूसित सामञ्‍जस्यपूर्ण छन्? के म जसरी काम गर्छु त्यो तिनीहरूसित सामञ्‍जस्यपूर्ण छ?’ कसरी सामञ्‍जस्यपूर्वक सहकार्य गर्ने भनी विचार गर्। कहिलेकाहीँ, सामञ्‍जस्यताको अर्थ सहिष्णुता र सहनशीलता हुन्छ, तर यसको अर्थ आफ्नो विचारमा अडिग रहनु र सिद्धान्तहरू परिपालन गर्नु भन्‍ने पनि हुन्छ। सामञ्‍जस्यताको अर्थ अप्ठ्यारो परिस्थिति मत्थर पार्नको लागि सिद्धान्तहरूमा सम्झौता गर्नु वा ‘मानिसहरूलाई खुसी पार्ने व्यक्ति’ बन्‍ने प्रयास गर्नु वा संयमको बाटोमा लागिरहनु भन्‍ने हुँदैन—र अवश्य नै यसको अर्थ कसैको कृपा प्राप्त गर्न खोज्नु होइन। सिद्धान्तहरू यिनै हुन्। तैँले यी सिद्धान्तहरू बुझेपछि, थाहै नपाई परमेश्‍वरका अभिप्रायहरूअनुसार बोल्ने र काम गर्नेछस्, अनि तँ सत्यताको वास्तविकतामा जिउनेछस्, र यसरी एकता हासिल गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। “कतिले भन्‍नेछन्: ‘तपाईँ म कसैसँग सहकार्य गर्न सक्षम नभएको भन्‍नुहुन्छ—अँ, मेरो एक जना सहकर्मी छ! उसले मसँग राम्ररी सहकार्य गर्छ: म जहाँ जान्छु ऊ त्यहीँ जान्छ, म जे गर्छु उसले त्यही गर्छ; म उसलाई जहाँ पठाउँछु, ऊ त्यहीँ जान्छ, मैले उसलाई जे गर्न लगाउँछु उसले त्यही गर्छ, जसरी गर्न लगाउँछु त्यसरी नै गर्छ।’ के सहकार्य भनेको त्यही हो? होइन। त्यसलाई त नोकर बनेको भनिन्छ। तैँले जे भन्छस् नोकरले त्यही गर्छ—के त्यो सहकार्य हो? स्पष्ट रूपमा, ऊ विचार वा दृष्टिकोणहरू नभएको, आफ्नै राय त झनै नभएको, नोकर हो। अनि त्यो बाहेक, तिनीहरूको सोचाइ मान्छे खुसी पारिहिँड्ने किसिमको हुन्छ। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा गम्भीरतापूर्वक हुँदैनन्, बरु झारा टार्छन्, र तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्। त्यस्तो सहकार्यले के उद्देश्य पूरा गर्न सक्छ? तिनीहरूले जोसँग सहकार्य गरे पनि, तिनीहरू सधैँ नोकर नै हुन्छन् र तिनीहरूले भनेको काम गर्छन्। तिनीहरू अरूले जे भन्छन् त्यही मान्छन् र अरूले जे गर्न लगाउँछन् त्यही गर्छन्। त्यो सहकार्य होइन। सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर सुपरिवेक्षण गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, ‘तपाईँले गलत गर्नुभयो, तपाईँ पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईँले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्‍हाल्‍नुभयो?’ यसको जवाफमा, तैँले यसो भन्छस्, ‘ठीक भन्‍नुभयो—तपाईँले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईँले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!’ एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको सुपरिवेक्षण गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्‍वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्‍ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्‍नो लागि चेतावनीको उभ्याउनुपर्छ। त्यो पारस्परिक सुपरिवेक्षण हो। पारस्परिक सुपरिवेक्षणले के काम गर्छ? यसको उद्देश्य परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो। एक-अर्कालाई सचेत गराउने र एक-अर्काको सुपरिवेक्षण गर्ने बाहेक, सहकार्यको अर्को काम पनि हुन्छ: एक-अर्कासित सोधपुछ गर्नु(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरूले मेरो साँचो अवस्थालाई खुलासा गरे। अक्सर ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दा, म आफ्ना विचारहरू व्यक्त नगर्ने र कुनै पनि सुपरिवेक्षकीय भूमिका नै नखेल्ने कठपुतली जस्तै हुन्थेँ। साँचो सहकार्य अन्तर्गत आपसमा स्मरण गराउने कार्य तथा सुपरिवेक्षण पर्दछ। हामी सबैसँग धेरै भ्रष्ट स्वभावहरू हुने भएकोले, हामीले आफ्नो कर्तव्यमा आफ्नै इच्छाअनुसार चल्दै मनमानी गर्ने सम्भावना हुन्छ। यदि हामीले एक-अर्कासँगको सहकार्यमा आपसी मार्गदर्शन, मद्दत, वा काटछाँट प्रदान गर्न सक्यौँ भने हामी काममा हानि गर्नबाट र गलत बाटोमा जानबाट बच्न सक्छौँ। यसबाहेक, हामीले सत्यतालाई पूर्ण रूपमा नबुझ्ने भएकोले, र हामी सबैसँग धेरै कमजोरी र कमीहरू हुने भएकोले, धेरै मुद्दाहरूलाई विस्तृत रूपमा ख्याल गर्न सकिँदैन; कहिलेकाहीँ साझेदार वा सहकर्मीहरूद्वारा स्मरण गराउने कार्यले समयमै विचलनहरू सच्याउन र काममा हुने त्रुटिहरूलाई कम गराउन सक्छ। आपसी सुपरिवेक्षण र स्मरण गराउने कार्य साँच्चै नै निकै महत्त्वपूर्ण छन्! तर मैले सधैँ सोचेकी थिएँ सामञ्जस्यपूर्ण सहकार्य भनेको शान्तिपूर्वक घुलमिल हुनु हो र अरूको कमजोरी औँल्याउँदा वा सुझाव दिँदा मानिसहरूको चित्त दुख्छ भन्ने विश्वास गरेकी थिएँ। चीजहरूको बारेमा मेरो दृष्टिकोण साँच्चै नै विकृत थियो! वास्तवमा, सामञ्जस्यपूर्ण सहकार्य भनेको सबैजना मिलेर बस्नु र कसैको पनि चित्त नदुखाउनु होइन, न त कुराहरूलाई ढाकछोप गर्नु र मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्नु नै हो। यो त सिद्धान्तहरूमा अडिग रहनु, दृढ भएर खडा हुनु, र इन्साफको बोध हुनु हो। हाम्रा साझेदार ब्रदर-सिस्टरहरूले सिद्धान्तहरूको उल्लङ्घन गरेको देख्दा, हामीले उनीहरूलाई सम्झाउने, मद्दत गर्ने, वा काटछाँट गर्ने गर्नुपर्छ। यो अरूका लागि समस्या खडा गर्न वा व्यक्तिगत गुनासो पोख्नको लागि होइन, बरू सिद्धान्तहरूअनुसार हाम्रो कर्तव्य निर्वाह गर्नका लागि हो र यो मण्डलीको कामलाई कायम राख्नका लागि गरिने न्यायपूर्ण कार्य हो। मेरा भ्रामक धारणाहरूका कारण, मैले समस्याहरू देखेँ तर तिनलाई उठाइनँ, देखेर पनि नदेखेझैँ गरेँ। यो मेरा ब्रदर-सिस्टरहरूसँगको सामञ्जस्यपूर्ण सहकार्य कसरी भयो र? यो त संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार जिउने र आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुने कार्य मात्र भयो। यस्तो सहकार्यले कुनै पनि सुपरिवेक्षकीय भूमिका खेल्न सकेन। यो सोचेर, मैले आफैप्रति केही घृणा महसुस गर्न थालेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र परमेश्‍वरका आवश्यकताहरूका बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशातर्फ चल्छस्, तब तेरो भविष्य सुन्दर र उज्यालो हुनेछ। यसरी, तँ आफ्नो हृदय शान्त भएको स्थितिमा जिउनेछस्, र तेरो आत्माले भरणपोषण पाएको हुनेछ, र तैँले तृप्त र सन्तुष्ट भएको महसुस गर्नेछस्। तर यदि तँ आफ्नो देहको बन्धनबाट उम्किन सक्दैनस् भने, यदि तँ निरन्तर आफ्ना भावना, व्यक्तिगत स्वार्थ, र शैतानी दर्शनहरूद्वारा बाधित हुन्छस्, लुकीछिपी बोल्ने र व्यवहार गर्ने गर्छस्, र सधैँ छायाँमा लुक्ने गर्छस् भने, तँ शैतानको सत्ताअन्तर्गत जिइरहेको छस्। तर यदि तँ सत्यता बुझ्छस्, देहका बन्धनहरूबाट मुक्त हुन्छस् र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव स्वरूप धारण गर्दै जानेछस्। अनि, तँ आफ्ना बोलीवचन र कार्यहरूमा खुलस्त र सीधा हुनेछस्, र तँ आफ्ना राय, विचार र आफूले गरेका गल्तीहरू खुलासा गर्न सक्षम हुनेछस्, र यसरी सबैलाई ती कुराहरू स्पष्टसित देख्‍न दिनेछस्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्‍वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्‍ने जानेर उसलाई क्षमा दिन सक्‍नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्‍यो भने, उसले माफी माग्‍नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्‍वास गर्छन्। परमेश्‍वरको र अरूहरूको भरोसा जित्‍नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन सक्ने सबैभन्दा उच्‍चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्‍मान हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वर चाहनुहुन्छ हामी हाम्रा वचन र काममा स्पष्टवादी र सिधा होऔँ, हाम्रा सोच र विचारहरू खुलेर अरूलाई बताऔँ, मामिलाहरूमा सँगै छलफल गरौँ, र इमानदार मानिस बनौँ। यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ र तिनीहरू गौरवका साथ जिउँछन्। अर्को पटक हामीले मामिलाहरूमा छलफल गर्दा, मैले सचेत हुँदै आफूसँग सहकार्य गरिरहेका ब्रदर-सिस्टरहरूसँग खुलेर सङ्गति गर्न आफ्ना विचारहरू र दृष्टिकोणहरू अघि सारेँ। मैले कुराहरू लुकाउने वा छिपाउने वा मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने प्रयास बन्द गरिदिएँ। मेरा विचारहरू पूर्ण रूपमा परिपक्व नभए तापनि, म तिनलाई अघि सार्थेँ। यदि मेरा विचारहरू गलत भए भने, म आफ्नो अभिमानलाई पन्छाएर अरूको राय स्वीकार गर्थेँ। यसरी अभ्यास गर्दा मेरो हृदयले शान्ति र ढाडस पायो।

एक दिन, हामी एनी नाम गरेकी एउटी सिस्टरलाई मण्डलीमा पुनःस्वीकार गर्ने कि नगर्ने भनेर छलफल गर्दै थियौँ। एनीको स्वभाव अहङ्कारी थियो र तिनले लगातार सत्यतालाई स्वीकार गर्न अस्वीकार गरेकी थिइन्। अगुवाहरूले तिनलाई धेरै पटक सङ्गति दिएका थिए, तर तिनले कहिल्यै मनन गरेकी वा आफूलाई चिन्ने प्रयास गरेकी थिइनन्। बरु, तिनले ब्रदर-सिस्टरहरूको अगाडि अगुवाहरूको न्याय गरेर, मण्डलीको जीवनमा अवरोध र बाधा पुऱ्याएकी थिइन्। अन्ततः तिनलाई आफूमाथि मनन गर्नको लागि एक्लो पारिएको थियो। त्यसपछि, तिनले आफ्नो कर्तव्य निर्वाह गरिरहिन्, र हालसालै, तिनी सुसमाचार प्रचार गर्नमा निकै प्रभावकारी भएकी थिइन्। धेरै सहकर्मीहरू एनीलाई मण्डलीमा पुनःस्वीकार गर्न सहमत भए, तर म यस्तो सोच्दै हिचकिचाइरहेकी थिएँ, “एनीले सुसमाचार प्रचारमा केही सफलता हासिल गरे तापनि, तिनको स्वभाव निकै दुर्भावपूर्ण छ, र तिनी सत्यता स्वीकार गर्ने व्यक्ति होइनन्। तिनले आफ्ना अघिल्ला दुष्ट कार्यहरूलाई साँच्चै चिनेकी छैनन्, न त पश्चात्तापका कुनै देखिने सङ्केत नै देखिएका छन्। सुसमाचार प्रचारमा तिनको क्षणिक सफलताका आधारमा मात्र तिनलाई मण्डलीमा पुनःस्वीकार गर्नु उपयुक्त देखिँदैन।” तर त्यतिबेलै मैले सोचेँ, “धेरै सहकर्मीहरू पहिल्यै सहमत भइसकेका छन्, र यदि असहमत हुने म मात्र भएँ भने, सबैले के सोच्लान्? के उनीहरूले म सधैँ फरक मत राख्ने र घुलमिल गर्न धेरै गाह्रो व्यक्ति भन्ने ठान्लान्? अरू सबै सहमत भएकोले, सायद मैले केही पनि भन्नु हुँदैन।” तर त्यसपछि अचानक मैले क्लाराको अवस्थाको बारेमा सोचेँ, जहाँ मैले गैरजिम्मेवार भई भीडको पछि लागेर सत्यता सिद्धान्तहरूको पक्षमा खडा हुने साहस नगरेकी हुनाले, मण्डलीको काममा ढिलाइ भयो। मलाई अलिकति डर लाग्यो, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र भनेँ, “हे परमेश्‍वर, सबैजना एनीलाई मण्डलीमा पुनःस्वीकार गर्न सहमत भएका छन्, तर मलाई अझै पनि यसमा असहज महसुस भइरहेको छ। यस पटक म स्पष्टता बिना हतारमा निर्णय गर्न चाहन्नँ। म सत्यता सिद्धान्तहरूअनुसार काम गर्न चाहन्छु। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थना गरेपछि, मैले मानिसहरूलाई मण्डलीमा पुनःस्वीकार गर्नेबारेका सिद्धान्तहरू हेरेँ, र ती सिद्धान्तहरूमा यसो भनिएको थियो: निरन्तर अहङ्कारी, अभिमानी हुने, र विवाद छर्नेहरू बचाउन नसकिने हुन्छन्। दुष्ट मानिसहरू सधैँ दुष्ट नै रहनेछन् र साँच्चै पश्चात्ताप गर्न सक्दैनन्। मण्डलीमा फर्कनेहरूले मण्डलीलाई बिलकुलै बाधा दिनु हुँदैन र बहुमतसँग घुलमिल हुन सक्नुपर्छ। यस्ता मानिसहरू मात्र मण्डलीमा पुनःस्वीकार गरिन उपयुक्त हुन्छन्। मण्डलीका लागि हानिकारक र असहयोगीहरूलाई पुनःस्वीकार गर्नै हुँदैन। यसलाई एनीको व्यवहारसँग तुलना गर्दै, मैले कसरी तिनको स्वभाव निकै अहङ्कारी छ, कसरी तिनले लगातार सत्यता स्वीकार गर्न अस्वीकार गर्छिन्, र ब्रदर-सिस्टरहरूले तिनलाई जतिसुकै सङ्गति दिए पनि, तिनले मनन वा पश्चात्ताप गर्दिनन् भन्ने बारे सोचेँ। तिनले सुसमाचार प्रचारमा केही क्षणिक सफलता हासिल गरेकी भएपनि, तिनी सत्यता स्वीकार गर्ने व्यक्ति थिइनन्, र यदि कुनै कुराले तिनको स्वार्थमा असर गर्‍यो भने, तिनमा पुरानै रोग बल्झिने र तिनले मण्डलीको काममा बाधा पुऱ्याइरहने सम्भावना थियो। यस्तो व्यक्तिलाई मण्डलीमा पुनःस्वीकार गर्नु उपयुक्त थिएन। त्यसपछि, मैले आफ्ना विचारहरू व्यक्त गरेँ र धेरै सहकर्मीहरू मेरो रायसँग सहमत भए, र अन्तमा, एनीलाई मण्डलीमा पुनःस्वीकार गरिएन। यो परिणाम देखेर, आफ्नो कर्तव्य यसरी निर्वाह गर्दा मेरो मनमा शान्ति र ढाडस महसुस भयो।

यो अनुभवले मलाई आफ्नो कर्तव्यमा इमानदार हृदय हुनु कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न मद्दत गर्‍यो। आफ्नो कर्तव्यप्रति इमानदार मनोवृत्ति राख्नु र अरूको चित्त दुखाउन नडराई सत्यता अभ्यास गर्नुले मण्डलीको कामको रक्षा गर्छ।

अघिल्लो:  ५८. म किन सधैँ पदोन्नति चाहन्छु?

अर्को:  ६०. बिमारीबिच समर्पित हुन सिक्दै

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger