६०. बिमारीबिच समर्पित हुन सिक्दै
सानैदेखि मेरो शरीर कमजोर थियो र म सधैँ बिरामी परिरहन्थेँ, जसले गर्दा म स्वस्थ शरीरको लालसा राख्थेँ। सन् २०१२ को मार्चमा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्ने सौभाग्य पाएँ। केही महिनापछि, मैले आफूलाई पहिलेको जस्तो बारम्बार रुघाखोकी र ज्वरो नआएको याद गरेँ; मेरो आधा टाउको दुख्ने रोग र गर्दनको जोर्नी दुख्ने समस्यामा पनि सुधार भएको थियो। मेरो हृदय परमेश्वरप्रति कृतज्ञताले भरियो, र म त्याग गर्न र आफूलाई खर्च गर्न अझै उत्प्रेरित भएँ। त्यतिबेला, म मण्डली अगुवा थिएँ, र मण्डलीको काम राम्रोसँग गर्न, मैले आफ्नो परिवारको बाधा र विरोधलाई बेवास्ता गरेँ, र बिहानदेखि बेलुकासम्म नथाकीकन आफ्नो कर्तव्यमा खटिरहेँ।
सन् २०२० को मे महिनाको एक दिन, मैले आफ्नो गर्दनमा केही असहजता भएको पाएँ। यताउता घुमाउँदा अररो हुन्थ्यो र “कट्याक-कुटुक” आवाज आउँथ्यो। अलि लामो समय बसेपछि, मेरो टाउको घुमे जस्तो महसुस हुन्थ्यो, र मेरो दाहिने हात दुख्न र लाटो हुन थाल्यो, जसले गर्दा कुनै पनि कुरा सजिलै समात्न गाह्रो हुन्थ्यो। सुरुमा, मैले यसलाई त्यति वास्ता गरिनँ, सोचेँ परमेश्वरमा विश्वास गर्न थालेपछि, उहाँले मेरा पुराना रोगहरू हटाउनुभएको मात्र होइन, मेरो समग्र स्वास्थ्यमा पनि सुधार ल्याउनुभएको छ। म अब आफ्नो कर्तव्यमा पूर्ण-समय समर्पित भएकीले, परमेश्वरले मेरो रक्षा गर्नुहुनेछ र मेरो अवस्था बिग्रन दिनुहुनेछैन भन्ने विश्वास गरेँ। मैले आफ्नो सामान्य बस्ने आसन सुधारेमा र राम्ररी व्यायाम गरेमा, यो कुनै ठूलो समस्या नहोला भन्ने सोचेँ। तर, मैले सोच्दै नसोचेको कुरा, दुई महिनापछि, मेरो गर्दनको जोर्नी दुखाइमा सुधार हुनुको सट्टा झनै बिग्रियो। मेरो टाउको बारम्बार दुख्ने र रिँगटा लाग्ने, आँखा सुक्खा र असहज हुने, र मेरो दाहिने काँध दुख्न र लाटो हुन थाल्यो, जसले गर्दा चपस्टिक प्रयोग गर्न पनि गाह्रो हुन्थ्यो। मलाई मेरो अवस्था झनै बिग्रन्छ कि भन्ने चिन्ता लाग्न थाल्यो। यदि मेरो शरीरको एक पाटोमा पक्षाघात भयो भने, मैले कसरी आफ्नो कर्तव्य निर्वाह जारी राख्न सक्थेँ र? के त्यसको मतलब मैले परमेश्वरको मुक्ति पाउने मौका गुमाउँछु भन्ने थिएन र? त्यसपछि मैले पहिले आफूसँगै काम गर्ने एउटी सिस्टरको बारेमा सोचेँ, जसले गर्दनको जोर्नी दुखाइ गम्भीर भएका कारण आफ्नो कर्तव्य निर्वाह छोडेर उपचारको लागि घर फर्कनुपरेको थियो। तर मैले आफ्नो कर्तव्य निर्वाहका लागि घर छोडेको केही समयपछि नै, मलाई एउटा यहूदाले धोका दिएको थियो। यदि मेरो अवस्था यति गम्भीर भयो कि मैले आफ्नो कर्तव्य निभाउन सकिनँ भने, घर जान नसक्ने र उपचारका लागि अस्पताल जान पनि आँट नगर्ने भएकीले म के गर्थेँ होला? म जति बढी सोच्थेँ, त्यति नै दुःखी हुन्थेँ, र मनमनै गुनासो गर्न बाध्य हुन्थेँ, सोच्थेँ, “मैले परमेश्वरमा विश्वास गरेका बितेका केही वर्षहरूमा, मैले आफ्नो कर्तव्य निभाउन घर-परिवार र करियर त्यागेकी छु, र थुप्रै कठिनाइ भोगेकी छु। परमेश्वरले किन मेरो वास्ता र रक्षा गर्नुहुन्न? उहाँले मलाई किन फेरि बिमारीको कष्ट भोग्न दिनुभयो?” मैले सोचेँ, “म उपचारको लागि अस्पताल जान नसके पनि, मैले चुप लागेर आफ्नो अवस्था बिग्रन दिनु हुँदैन! मैले आफै उपचार गर्ने कुनै बाटो खोज्नुपर्छ। नत्र, मेरो अवस्था बिग्रँदै जाँदा, मैले धेरै कष्ट भोग्ने मात्र होइन, मैले आफ्नो कर्तव्य निभाउन पनि सक्नेछैन, अनि त्यसपछि के होला?” त्यसपछि, मैले आफ्नो बिमारको उपचार गर्ने विभिन्न तरिकाहरू सोच्न थालेँ। कप लगाउने, ग्वा शा, र धूपको तातो लगाउने जस्ता उपचारका साथै, मैले सबै तिर गर्दनको जोर्नी दुखाइ निको पार्ने उपायहरू पनि खोजेँ। त्यो समयभर, मेरो मन पूरै आफ्नो बिमार कसरी निको पार्ने भन्नेमा केन्द्रित थियो, र मैले आफ्नो कर्तव्यप्रति कुनै बोझ महसुस गरिनँ। मैले विभिन्न कामहरूको अनुगमन गर्न सकिनँ, र जब काममा व्यस्त हुन्थ्यो र राति अबेरसम्म बस्नुपर्थ्यो, म बाहिरबाट आफ्नो कर्तव्य निभाए पनि भित्रभित्रै प्रतिरोध महसुस गर्थेँ, धेरै परिश्रमले मेरो अवस्था झनै बिग्रन्छ कि भनेर डराउँथेँ।
सन् २०२२ को मे महिनाको एक बिहान, जब म बिहानको खाजा खान तल झर्दै थिएँ, मैले अचानक आफ्नो दाहिने खुट्टा र दाहिने काँधमा स्पष्ट गह्रुङ्गोपन महसुस गरेँ। मेरो दाहिने खुट्टा यति कमजोर महसुस भयो कि मैले त्यसलाई मुस्किलले उठाउन सकेँ, र मैले त्यसलाई घिसार्दै हिँड्नुपर्यो। तत्कालै म चिन्तित भएँ, के साँच्चै मेरो शरीरको एक पाटोमा पक्षाघात हुँदैछ भन्ने सोचेँ। म एकदमै डराएँ, सोचेँ, “यदि मलाई पक्षाघात भयो भने, मैले साँच्चै आफ्नो कर्तव्य निभाउन सक्नेछैन, र त्यसपछि मेरो मुक्ति र स्वर्गको राज्यमा प्रवेश पाउने आशाहरूको के हाल होला? के त्यसपछि मेरा वर्षौंको त्याग र प्रयासहरू व्यर्थ हुनेछैनन् र?” मैले जति बढी सोचेँ, मलाई त्यति नै पीडा भयो। आफ्नो वरपरका कतिपय ब्रदर-सिस्टरहरूलाई स्वस्थ देख्दा, मलाई एकदमै ईर्ष्या र डाह लाग्थ्यो, सोच्थेँ, “मैले परमेश्वरमा विश्वास गर्न थालेपछिका यी वर्षहरूमा, मैले तिनीहरूले जत्तिकै त्याग र समर्पण गरेकी छु। परमेश्वरले तिनीहरूलाई किन स्वस्थ शरीर दिनुभयो तर मलाई दिनुभएन?” जति धेरै म यसरी सोच्थेँ, म आफ्नो अवस्थाबारे झनै चिन्तित र व्याकुल हुन्थेँ।
एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “निश्चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुनेछ र उसलाई ठूलो रोग लाग्छ कि लाग्दैन भन्ने जस्ता सबै कुरा परमेश्वरले नै तय गर्नुभएको हुन्छ। गैरविश्वासीहरूले परमेश्वरमा विश्वास गर्दैनन् र तिनीहरू हात, जन्म मिति, र अनुहार हेराएर यी कुराहरू पत्ता लगाउनका लागि कुनै व्यक्तिकहाँ जान्छन्, र तिनीहरूले यी कुराहरूमा विश्वास गर्छन्। तँ परमेश्वरमा विश्वास गर्छस् र प्रायजसो प्रवचनहरू सुन्छस् र सत्यतामा सङ्गति गर्छस्, त्यसकारण यदि तँ यसमा विश्वास गर्दैनस् भने, तँ अविश्वासीबाहेक केही पनि होइनस्। यदि तँ साँच्चै सबै कुरा परमेश्वरको हातमा छ भन्ने विश्वास गर्छस् भने, तैँले यी कुराहरू—गम्भीर रोग, ठूलो रोग, सानो रोग, र स्वास्थ्य—सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत पर्छन् भनेर विश्वास गर्नुपर्छ। गम्भीर रोग लाग्नु र निश्चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्ने कुरा संयोगले हुने कुराहरू होइनन्, र यो कुरा बुझ्नु भनेको सकारात्मक र सही बुझाइ हुनु हो। के यो सत्यता अनुरूप छ? (छ।) यो सत्यता अनुरूप छ, यो सत्यता हो, तैँले यसलाई स्विकार्नुपर्छ, र यस मामिलाप्रतिको तेरो मनोवृत्ति र दृष्टिकोण रूपान्तरण हुनुपर्छ। अनि यी कुराहरू रूपान्तरण भएपछि के सुल्झिन्छ? के तेरा हैरानी, तनाव, र चिन्ताका भावनाहरू सुल्झिनन् र? कम्तीमा पनि, रोग-बिमारीप्रतिको हैरानी, तनाव, र चिन्ता जस्ता तेरा नकारात्मक संवेगहरू सिद्धान्तमा समाधान हुन्छन्। तेरो बुझाइले तेरा सोचाइ र दृष्टिकोणहरूलाई रूपान्तरण गरेको हुनाले, यसले तेरा नकारात्मक संवेगहरूलाई सुल्झाउँछ। … हामीले रोगका बारेमा कुरा गरिरहेका छौँ; यो धेरैजसो मानिसहरूले आफ्नो जीवनमा अनुभव गर्ने कुरा हो। त्यसकारण, कुन समयमा वा कुन उमेरमा मानिसहरूलाई कुन रोगले सताउनेछ र तिनीहरूको स्वास्थ्य स्थिति कस्तो हुनेछ भन्ने जस्ता सबै कुरा परमेश्वरले तय गर्नुभएको हुन्छ र मानिसहरूले यी कुराहरूको निर्णय आफै गर्न सक्दैनन्; कुनै व्यक्तिको जन्म हुने कुरा उसले आफै निर्धारित गर्न नसक्ने जस्तै, यो कुरा पनि त्यस्तै हो। त्यसोभए, के आफूले निर्णय गर्न नसक्ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्ने कुराहरूलाई समाधान गर्नतिर लाग्नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्ने कुराहरूका हकमा परमेश्वरलाई पर्खनुपर्छ; मानिसहरूले चुपचाप आज्ञापालन गर्नुपर्छ र आफ्नो रक्षाका लागि परमेश्वरलाई समर्पित हुनुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ र गुनासो वा परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा उहाँको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्नु हुँदैन। बरु, मानिसहरू सृष्टि गरिएका प्राणीका रूपमा उभिनुपर्छ र परमेश्वरबाट आउने सबै कुरालाई अनुभव गर्नुपर्छ र कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन। यो तेरो जीवनलाई समृद्ध पार्ने विशेष अनुभव हुनुपर्छ, र यो खराब कुरा नै त होइन नि, होइन र? त्यसकारण, रोगबिमारीको कुरा आउँदा, मानिसहरूले सुरुमा रोगको स्रोतका बारेमा आफ्ना गलत विचार र दृष्टिकोणहरूलाई सुल्झाउनुपर्छ, त्यसपछि तिनीहरूले यसबारे चिन्ता गर्न छोड्नेछन्; यसको साथै, मानिसहरूसँग ज्ञात-अज्ञात कुराहरूलाई नियन्त्रण गर्ने कुनै अधिकार हुँदैन, न त ती कुराहरूलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ, किनभने यी सबै कुराहरू परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको प्रतीक्षा गर्नु र समर्पित हुनु हो। बुझ्ने कार्यदेखि अभ्यास गर्ने कार्यसम्म, यी सबै सत्यता सिद्धान्तहरू अनुरूप गरिनुपर्छ—सत्यतालाई पछ्याउनु भनेको यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मेरो बिमारी बिग्रन्छ वा त्यसले पक्षाघात गराउँछ भन्ने कुरा सबै परमेश्वरकै हातमा छ, र मैले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ; यही नै बुद्धिमानी छनोट हो। तर, मैले परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकतालाई बुझेकी रहेनछु। मैले आफ्नो बिमारीको उपचारमा धेरै ऊर्जा र चिन्ता लगाएकी थिएँ, हर समय यसबारे चिन्ता र फिक्री गरिरहेकी थिएँ, र परमेश्वरप्रति गलत बुझाइ र गुनासोसमेत पालेकी थिएँ। म साँच्चै मूर्ख भएकी थिएँ! मैले आफ्नो बिमारीबाट पाठ सिक्न समर्पित मनोवृत्ति अपनाउनुपर्छ, र परमेश्वरमा साँचो भरोसा राख्नुपर्छ। साथै, यदि मैले अस्वस्थ महसुस गरेँ भने, मैले सामान्य उपचार र स्वास्थ्य सेवा लिनुपर्छ, र आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसरी अभ्यास गर्दा परमेश्वरका मागहरूबाट विचलित भइँदैनथ्यो र मैले राख्नुपर्ने मनोवृत्ति पनि यही थियो। यो कुरा बुझेपछि, मेरो चिन्ता केही हदसम्म कम भयो, र म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ।
त्यसबेलादेखि, मैले कामकुराहरूलाई स्वाभाविक रूपमा अघि बढ्न दिएँ, र उपचार र आफ्नो हेरचाहको लागि उचित रूपमा समय मिलाएँ। कहिलेकाहीँ, म शान्त भएर मनन गर्थेँ, “मेरो बिमारी बिग्रँदा म किन गुनासो गर्छु? मलाई यसो गर्न लगाउने त्यो भ्रष्ट स्वभाव वास्तवमा के हो?” त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “जब मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र उहाँको अस्तित्वलाई देख्ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष् र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष् पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्वरको आशिष् पाउन सक्छु? …’ प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्वरको जाँच गरिरहेको हुन्छ, परमेश्वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत परिणामका लागि निरन्तर परमेश्वरसँग बहस गरिरहेको हुन्छ, र परमेश्वरबाट अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्वरले दिन सक्नुहुन्छ कि सक्नुहुन्न भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्वरको पछि लाग्ने क्रममा, मानिसले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, जबकि परमेश्वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरूचाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्वरमाथिको विश्वास’ बारे उहाँमा विश्वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्वरको भयसँग सम्बन्धित छैन। परमेश्वरमा विश्वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्नुको अर्थ, परमेश्वरमा विश्वास गर्दा उहाँको भय मान्नु र आराधना गर्नु पनि आवश्यक छ भन्ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण, कुटिल, र छली छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्छ। मानिसको हृदय परमेश्वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्वरलाई पटक्कै दिएको छैन। परमेश्वरले मानिसको साँचो हृदय कहिल्यै देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनले खुलासा गरेका कुरा पढेपछि, मैले के बुझेँ भने मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, मेरो आफूले पछ्याउने कुराप्रतिको दृष्टिकोण, साथै मैले पछ्याइरहेको दिशा सुरुदेखि नै गलत रहेछ। परमेश्वरमा विश्वास गर्न थालेको केही समयपछि नै, मैले आफ्नो बिमारीमा सुधार भएको पाएकी थिएँ, त्यसैले मैले परमेश्वरलाई आफूलाई निको पार्ने चिकित्सकको रूपमा व्यवहार गर्न थालेकी थिएँ। मैले त्याग गरेर, आफूलाई खर्च गरेर, र मूल्य चुकाएर परमेश्वरको आशिष् र सुरक्षा पाउन चाहेकी थिएँ; त्यसो गर्दा, मैले फेरि बिमारीको कष्ट भोग्नुपर्ने थिएन। जब मेरो बिमारी फेरि बल्झियो र अवस्था नियन्त्रण वा कम हुन नसकी त्यस्तै रहिरह्यो, तब मैले आफ्ना विगतका बाहिरी प्रयास, र परिश्रमलाई परमेश्वरसँग तर्क गर्ने पुँजीको रूपमा प्रयोग गर्दै गुनासो गरेकी थिएँ। मैले आफ्नो बिमारी निको पार्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने सोचेकी थिएँ, र मैले आफ्नो कर्तव्यलाई बोझको भावविना नै हेरेकी थिएँ। म कामले कुनै फल नल्याएको देख्दा, चिन्तित वा व्याकुल भएकी थिइनँ, केवल आफ्नो शरीरको उपचार र हेरचाह कसरी गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गरेकी थिएँ। आफू वरपरका ब्रदर-सिस्टरहरू पूर्ण रूपमा स्वस्थ भएको जबकि आफू भने, जवान भएर पनि, बिमारीको कारण कष्टमा बाँचिरहेकी देख्दा, मैले मनमनै परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभएको तर मेरो वास्ता वा रक्षा नगर्नुभएको भन्दै गुनासो गरेकी थिएँ। मेरो स्थिति ठ्याक्कै परमेश्वरका वचनहरूले खुलासा गरेजस्तै थियो: “जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै हर्ष र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरूले मलाई निको पार्न बिन्ती गर्छन् तर म कुनै ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनले मेरो हृदयलाई गहिरोसँग छेडे। धेरै वर्षसम्म, मैले परमेश्वरका लागि आफूलाई समर्पित गर्न चाहेको घोषणा गरेकी थिएँ, तर मैले कहिल्यै परमेश्वरलाई परमेश्वर मानेर साँचो रूपमा आराधना र समर्पण गरेकी थिइनँ। म केवल परमेश्वरबाट आशिष् चाहन्थेँ, उहाँले मलाई निको पार्नुहुनेछ र बिमारीको कष्टबाट मुक्त गर्नुहुनेछ भन्ने आशा गर्थेँ। म स्पष्ट रूपमा परमेश्वरलाई प्रयोग गर्ने र उहाँसँग लेनदेन गर्ने प्रयास गरिरहेकी थिएँ, बाहिरबाट परमेश्वरका लागि आफूलाई खर्च गरेको झण्डा फहराइरहेकी थिएँ। यो त परमेश्वरविरुद्ध खुलेआम धोका र प्रतिरोध होइन र? म साँच्चै घिनलाग्दी रहेछु!
त्यसपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र अभ्यासको बाटो भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब व्यक्तिले आफ्नो भौतिक शरीरबारे अत्यन्तै धेरै चिन्ता गर्छ र राम्रो खाँदै शरीरलाई स्वस्थ र तागतिलो राख्छ, तब तिनीहरूको लागि यसको मूल्य के हुन्छ? यसरी जिउनुमा के अर्थ छ? अनि, व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? … जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनको लागि मात्रै आएको हुँदैन, न त ऊ खानपिउन र रमाइलो गर्नको लागि मात्रै आएको नै हुन्छ। व्यक्ति यी कुराहरूको लागि मात्रै जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्गमा त कुनै बहुमूल्य कुरा हासिल गर्ने र मूल्यसहितको कुनै एउटा वा धेरै काम पूरा गर्ने कार्य समावेश हुन्छ। यसलाई करियर भनिँदैन; यसलाई सही मार्ग भनिन्छ, यसलाई उचित काम पनि भनिन्छ। मलाई भन् त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नको लागि मूल्य चुकाउनु सार्थक हुन्छ? यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्पचाहिँ मूल्यवान् जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो। मृत्यु हुनुअघिसम्मै राम्रो खाइरहने, र सुन्दरता कायम राखिराख्ने मानिसहरूको बारेचाहिँ के भन्न सकिन्छ? तिनीहरूले अर्थपूर्ण जीवनको खोजी गर्दैनन्, त्यसकारण मर्ने बेलामा तिनीहरूलाई कस्तो महसुस हुन्छ? (तिनीहरूले व्यर्थमा जिएछु जस्तो महसुस गर्छन्।) व्यर्थमा जिउनु—यी दुई शब्दहरू तीखा छन्। अनि, यो ‘व्यर्थमा जिउनु’ भनेको के हो? (आफ्नो जीवन खेर फाल्नु।) व्यर्थमा जिउनु, आफ्नो जीवन खेर फाल्नु—यी दुई वाक्यांशहरूको आधार के हो? (तिनीहरूले आफ्नो जीवनको अन्त्यमा आफूले केही पनि प्राप्त नगरेको पाउँछन्।) त्यसोभए व्यक्तिले के प्राप्त गर्नुपर्छ? (तिनीहरूले जीवनमा सत्यता प्राप्त गर्नुपर्छ वा बहुमूल्य र अर्थपूर्ण कुराहरू हासिल गर्नुपर्छ। तिनीहरूले सृष्टि गरिएको प्राणीको रूपमा गर्नुपर्ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि तिनीहरूले त्यसो गर्न सकेनन् र आफ्नो भौतिक शरीरको लागि मात्रै जिए भने, तिनीहरूलाई आफ्नो जीवन व्यर्थमा जिएको र खेर गएको महसुस हुनेछ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वरमा विश्वास गर्दा पछ्याउनुपर्ने कुराप्रतिको सही दृष्टिकोण भनेको सत्यता बुझ्न खोजी गर्नु र परमेश्वरमा समर्पणता हासिल गर्नु हो। परमेश्वरले जस्तोसुकै वातावरणको बन्दोबस्त गर्नुभए पनि, गम्भीर बिमारी र कष्टको सामना गर्नुपर्दा समेत, मैले परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुँदै सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यस किसिमको पछ्याइ मूल्यवान र अर्थपूर्ण हुन्छ र परमेश्वरले स्मरण गर्नुहुनेछ। तर, मैले सधैँ दैहिक शान्ति, बिमारी वा विपत्तिविनाको जीवन, र स्वस्थ रूपमा जिउन खोजेकी थिएँ। जब मेरो बिमारी गम्भीर भयो, मैले परमेश्वरसँग तर्क गर्न र गुनासो गर्न थालेँ, केवल उपचार र आफ्नो हेरचाहमा मात्र ध्यान केन्द्रित गरेँ, र आफ्नो कर्तव्य निभाउन समेत अनिच्छुक भएँ। यस्तो पछ्याइ अर्थहीन थियो। मैले के बुझेँ भने मैले आफ्नो स्वास्थ्य सुधारेर शान्तिपूर्ण, स्वस्थ जीवन बिताए पनि, यदि मैले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिनँ, र यदि मैले आफ्नो मिसन पूरा गर्न सकिनँ भने, त्यो खेर गएको जीवन हुनेथियो, र यस संसारमा मेरो अस्तित्व व्यर्थ हुनेथियो। यो कुरा बुझेपछि, मलाई उज्यालो महसुस भयो। चाहे मेरो बिमारी बिग्रियोस् वा मलाई पक्षघात होस्, सबैभन्दा महत्त्वपूर्ण कुरा त मैले आफ्नो कर्तव्य पूरा गर्नु थियो। त्यसबेलादेखि, मैले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाएँ र विभिन्न कामहरूको अनुगमन गरेँ।
एक दिन, जब म कम्प्युटरमा टाइप गर्दै थिएँ, मेरो दाहिने काँध अचानक चलाउन नमिल्ने भयो, र मैले आफ्नो दाहिने हात उठाउँदा चिरिक्क दुख्ने पीडा महसुस गरेँ। टाइप गर्न धेरै गाह्रो भयो। म फेरि चिन्ता गर्न थालेँ, सोचेँ, “यदि मेरो काँध चल्न सकेन भने, म कसरी आफ्नो कर्तव्य निर्वाह गर्न सकूँला र?” मैले सोचेँ, “म आराम गर्छु, र सायद भोलिसम्ममा केही सुधार होला।” तर, भोलिपल्ट, मेरो काँधमा सुधार हुनुको सट्टा झनै दुख्न थाल्यो। मेरो टाउको र गर्दन पनि दुख्न थाल्यो; बस्दा र पल्टिँदा पनि दुख्थ्यो। मैले आफ्नो कर्तव्य निर्वाहमा ध्यान लगाउनै सकिनँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाचिरहेको हुन्छस्, जबसम्म तैँले बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्मर कसेर शिष्ट भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले उहाँलाई प्रार्थना गरेँ, र चाहे मेरो अवस्था सुधार होस् वा नहोस्, म अब उप्रान्त त्यसबाट बाँधिन वा नियन्त्रित हुन चाहन्नँ। म केवल परमेश्वरको अभिप्राय खोज्न, उहाँमा समर्पित हुन, र आफ्नो कर्तव्यलाई पक्रिराख्न चाहन्थेँ। त्यसपछि, मैले मेरो बिमारी कहिले निको होला भनेर चिन्ता गर्न छोडेँ र बरु आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गरेँ, र आफ्नो फुर्सदको समयमा अलिअलि व्यायाम गरेँ। चौथो दिनको बिहान, मैले अचानक मेरो दाहिने काँधको दुखाइ कम भएको र मेरो गर्दन पनि अब अररो नभएको महसुस गरेँ। म पूर्ण रूपमा निको नभए पनि, म बिस्तारै निको हुँदै थिएँ।
बिमारीको यो बारम्बारको आक्रमणले आफ्नो आस्थामा मैले पछ्याउनुपर्ने कुराप्रति राखेका गलत दृष्टिकोणहरूलाई पूर्ण रूपमा खुलासा गर्यो। तब मात्र मैले साँचो रूपमा आफूलाई केही हदसम्म बुझ्न थालेँ। परमेश्वरका वचनहरूद्वारा, मैले बिमारीलाई कसरी सही तरिकाले व्यवहार गर्ने र यस्तो समयमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्ने पनि सिकेँ। म परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद दिन्छु!