५८. म किन सधैँ पदोन्नति चाहन्छु?

चिङ्गतियान, चीन

सन् २०१७ मा, म मण्डलीमा भिडियो बनाउँथेँ र मलाई टोली अगुवाको रूपमा छानिएको थियो। एक दिन, मैले सिस्टर ली मिन र ब्रदर चेन बिनलाई सुपरिवेक्षक बनाइएको थाहा पाएँ। मलाई नमिठो लाग्यो र मैले मनमनै सोचेँ, “उनीहरूले मैले जति लामो समयदेखि भिडियो बनाएका छैनन्, र उनीहरूको सीप पनि मेरो जस्तो राम्रो छैन। त्यसोभए किन उनीहरूलाई सुपरिवेक्षक बनाइयो, भने मेरो बारेमा अगुवाले विचारसमेत गर्नुभएन? पहिले म ली मिनको टोली अगुवा थिएँ, तर अहिले उनले मेरो कामको सुपरिवेक्षण गर्दैछिन्। अबदेखि कसरी मैले उनको अगाडि आफ्नो मुख देखाउँ? के ब्रदर-सिस्टरहरूले म उनीजत्तिको कुसल छैनँ भन्ने सोच्लान्? यसले मलाई पूर्ण रूपमा अयोग्य देखाउँदैन र?” यस्तो सोचेर म धेरै हतोत्साहित र नकारात्मक भएँ, र मलाई केही पनि गर्ने जाँगर चलेन। पछि, एउटा भेलामा, अगुवाले अर्को एक जना सुपरिवेक्षक छान्न आवश्यक छ भन्नुभयो, र अन्त्यमा, ब्रदर लिन हुई छानिए। यो परिणामले म स्तब्ध भएँ। मैले कर्तव्यमा मसँग सहकार्य गरिरहेका सबै जना एकपछि अर्को गर्दै बढुवा र संवर्धन गरिएका थिए, तर म जहाँको त्यहीँ थिएँ। के म सबैभन्दा मुनि थन्केकी थिइनँ र? लिन हुईले त मैले जति लामो समय भिडियो बनाएका पनि थिएनन्, तर अब उनी सुपरिवेक्षक छानिए। मलाई साह्रै लाजमर्दो महसुस भयो। के म साँच्चै नै यति अयोग्य थिएँ होला त? मैले जति धेरै सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो, र मैले आँसु थाम्न सकिनँ। त्यसपछि मैले अचानक अगुवाले लिन हुईले आफ्नो कर्तव्यमा असल परिणाम ल्याएको कुरा भनेको सम्झिएँ, र मैले सोचेँ, “के लिन हुईलाई सुपरिवेक्षकको रूपमा छानिनुको कारण उनको कर्तव्यले राम्रो परिणाम दिएकोले होला त? यदि मैले अझ धेरै प्रयास गरेँ र कामको परिणाम सुधार्न अझ धेरै मूल्य चुकाएँ भने, सायद मेरो पनि बढुवा र संवर्धन हुनेछ। तब मानिसहरूले मलाई हेप्नेछैनन्।” त्यो सोचाइले, मैले आफ्नो उत्साह पुनः प्राप्त गरेँ।

त्यसपछि, मैले हरेक दिन आफूलाई पूर्ण रूपमा भिडियो बनाउनमै लगाएँ, र कामको प्रगति अगाडि बढाउन अतिरिक्त समय काम गर्न थालेँ। एक दिन, हामीले बनाएका भिडियोहरू हेरेपछि, अगुवाले ती निकै राम्रा रहेका र हामीले प्रगति गरेको बताउनुभयो। अगुवाले हामीलाई पूरा गर्नुपर्ने केही महत्त्वपूर्ण कामहरू पनि दिनुभयो र तिनलाई समयमै पूरा गर्न आग्रह गर्नुभयो। काममा अन्ततः सुधार आएको र अगुवाले हामीलाई महत्त्व दिएको देखेर मलाई साँच्चै खुसी लाग्यो। मैले सोचेँ यदि मैले प्रयास जारी राखेँ र छिट्टै अझ राम्रा भिडियोहरू बनाएँ भने, सायद मैले पनि बढुवा र संवर्धन हुने मौका पाउनेछु। कामको गति बढाउन, मैले टोलीका सिस्टरहरूलाई हरेक दिन मसँग अतिरिक्त समय काम गर्न लगाएँ। तर म छिट्टै सफलता पाउन आतुर भएकीले, मैले आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोजिनँ, मैले प्राविधिक सिपहरू अध्ययन गर्न वा काममा भएका समस्याहरूको सारांश निकाल्न सबैलाई एकजुट गराइनँ र मैले केवल छिटो प्रगतिको लागि दबाब मात्र दिएँ। फलस्वरूप, भिडियोहरूको गुणस्तर खराब भयो र तिनलाई बारम्बार बनाउनुपर्ने भयो। सिस्टरहरूको मनोबल पनि खस्किएको थियो। सारांश निकाल्ने र सिक्ने काम नभएकाले सिस्टरहरूको सीपमा सुधार भएन, र जब उनीहरूको कर्तव्यमा कठिनाइहरू उत्पन्न हुन्थे, उनीहरूसँग अगाडि बढ्ने कुनै मार्ग हुँदैनथ्यो, उनीहरूको अवस्था झन्-झन् खराब हुँदै गयो, र उनीहरू झन्-झन् सुस्त बन्दै गए। यी समस्याहरू समाधान गर्नका लागि आफूमाथि चिन्तन वा सत्यता खोज्ने गर्नुको सट्टा, मैले राम्रो परिणाम नदिएको, आफ्नो कर्तव्यमा प्रगति ढिला गरेको र मेरो फरक देखिने मौकामा असर पारेकोमा सिस्टरहरूलाई दोष दिएँ। मैले उनीहरूसँग अनादरपूर्ण व्यवहार समेत गरेँ। कहिलेकाहीँ म आफ्नो स्थिति गलत रहेकोले मैले चिन्तन गरेर आफ्नो अवस्था सुधार्नुपर्ने महसुस गर्थेँ, तर जब म कामको खराब परिणामबारे सोच्थेँ, मलाई यदि मैले परिणाम सुधार्न कडा परिश्रम गरिनँ भने, अगुवाले पक्कै पनि मलाई एक अयोग्य टोली अगुवा ठान्नुहुनेछ, र मेरो बढुवा नहुने मात्र होइन, सायद म बर्खास्त हुन पनि सक्छु भन्ने लाग्थ्यो। जब म यस्तो सोच्थेँ, म लट्टुझैँ चारैतिर दौडधूप गर्दै, निरन्तर प्रगतिलाई अघि बढाउँथेँ। म रोकिनै सकिनँ।

मैले आफ्नो कर्तव्यमा सिद्धान्तहरू नखोजेको वा कुनै वास्तविक काम नगरेकोले, मैले भिडियोको कामको प्रगतिमा गम्भीर असर पारेँ, र केही समयपछि नै, अगुवाले मलाई बर्खास्त गर्नुभयो। मलाई केही हदसम्म अन्याय भएको महसुस भयो। मैले सोचेँ म त आफ्नो कर्तव्यमा ठूलो मूल्य चुकाइरहेकी छु, त्यसोभए मलाई वास्तविक काम गरिनँ भनेर किन भनिँदै छ? आफू बर्खास्तीमा परेपछि, म पीडाले भरिएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई बर्खास्त गरिएको छ र मैले भिडियोको काम गर्ने अवसर गुमाएकी छु। कृपया तपाईंको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।” मेरो एउटा आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “व्यक्तिले जुनसुकै वातावरण सामना गरे पनि—विशेषगरी प्रतिकूल परिस्थिति सामना गर्दा, र विशेषगरी परमेश्‍वरले उसलाई प्रकाश वा खुलासा गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिले कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच, छानबिन वा मूल्याङ्कन गर्नुको साटो आत्मचिन्तन गर्न आफ्नै बोली र कार्यहरू अनि आफ्नै भ्रष्ट स्वभाव जाँच्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूले आफूमा भ्रष्ट स्वभाव हुँदा पनि र आफूले सत्यता नबुझ्दा पनि अझै सत्यता खोजी गर्दैनन्—यो चाहिँ ठूलो समस्या हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मेरो बर्खास्ती परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूकै हिस्सा हो, र मैले परमेश्‍वरको अभिप्राय पूर्ण रूपमा नबुझे तापनि, मैले समर्पित हुनु, गम्भीरतासाथ सत्यता खोज्नु, र आफैमाथि चिन्तन गर्नुपर्छ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्‍वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसले हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्‍वास गर्दैनन् र उनीहरू परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनन् भनेर पनि भन्‍न सकिन्छ। यसैले उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्‍वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्‍बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्‍वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा यस्तो विश्‍वास गर्छन्, ‘सबै प्रतिष्ठा र हैसियत आफ्‍नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्‍वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्‍कै टिप्‍नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।’ ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत नै उनीहरूको जीवन हो। उनीहरूले गर्ने हरेक कुरामा, उनीहरूले हैसियत र अरूको सम्मान र प्रशंसा कसरी प्राप्त गर्ने भन्ने मात्र विचार गर्छन्। उनीहरूले मण्डलीको काममा जति नै बाधा वा हानि पुऱ्याए पनि, उनीहरू कहिल्यै चिन्तन वा पश्चात्ताप गर्दैनन्। आफ्नै व्यवहारमाथि चिन्तन गर्दा, मैले के बुझेँ भने मैले पनि प्रतिष्ठा र हैसियतमा नै धेरै ध्यान दिएकी रहेछु। जब मैले आफूसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरूलाई सुपरिवेक्षकको रूपमा छानिएको देखेँ, तब मलाई खिन्नता लाग्यो। मैले सोचेँ यदि मैले अझ धेरै प्रयास गरेँ, अझ धेरै मूल्य चुकाएँ र राम्रा परिणामहरू प्राप्त गरेँ भने, म पनि बढुवा हुनेछु र मलाई महत्त्व दिइनेछ। म प्रतिष्ठा र हैसियतको पछि लागेकी, मैले आफ्नो कर्तव्यमा सिद्धान्तहरू नखोजेकी, सबैलाई उनीहरूको सीप सुधारका लागि सिकाइ सत्र पनि आयोजना नगरेकी, र मैले केवल आफ्नो छिटो परिणाम पाउने चाहनाले हरेक दिन सबैलाई राति अबेरसम्म काम गर्न दबाब दिएकी हुनाले, भिडियोहरू पटकपटक दोऱ्याएर बनाउनुपर्थ्यो र काममा गम्भीर ढिलाइ भयो। यसबाहेक, टोली अगुवाको रूपमा, काममा समस्याहरू देख्दा, मैले ब्रदर-सिस्टरहरूलाई यी विचलनहरूको सारांश निकाल्न, र वास्तविक समस्याहरू समाधानका लागि सत्यता सिद्धान्तहरू खोज्न नेतृत्व गर्ने पहल गर्नुपर्थ्यो। सिस्टरहरू खराब अवस्थामा हुँदा, मैले उनीहरूलाई सङ्गति दिएर मदत गर्नुपर्थ्यो, किनकि यो मेरो जिम्मेवारी थियो। तर मैले कुनै वास्तविक काम गरिनँ। मैले परिणाम हासिल गर्ने र अरूबाट प्रशंसा पाउने कुराको मात्रै मतलब गरेँ, र मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे वा मण्डलीको काममा हानि हुन्छ कि हुँदैन भन्नेबारे पटक्कै वास्ता गरिनँ। म प्रतिष्ठा र हैसियतको खोजी गर्ने स्थितिमा जिइरहेकी थिएँ, र मेरो हृदय अन्धकार, दमन र पीडामा थियो। कामको गतिलाई कायम राख्नका लागि, मैले आत्मिक भक्ति र चिन्तनलाई पनि समयको बर्बादी ठानेँ, र म केवल हठी रूपमा काममा लागिरहें। अरूले मलाई सम्झाउने कोसिस गरे पनि, आफू बर्खास्तीमा नपरेसम्म म उदासीन रहेँ। मैले आफ्नो हृदय पूर्ण रूपमा हठी भएको रहेछ भन्ने बुझेँ। मेरो प्रतिष्ठा र हैसियतप्रतिको चाहना अति धेरै थियो, जसले गर्दा म सत्यताप्रति वितृष्ण बनेँ र ख्याति, प्राप्ति, र हैसियतको कदर गर्न पुगेँ। म हिँडिरहेको मार्ग ख्रीष्टविरोधीको मार्ग थियो। यो बुझेपछि, मलाई भित्रैबाट ऋणी महसुस भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अब मेरा भ्रष्ट स्वभावअनुसार जिउन चाहन्नँ। म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र प्रतिष्ठा र हैसियतको लागि मेरो निरन्तर पछ्याइको आधारभूत कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन भन्‍ने लाग्छ, र तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै, एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई तैँले पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट तैँले आफूलाई आजाद गर्न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनको खुलासाद्वारा, मैले मानिसहरूलाई ख्याति र प्राप्तिमार्फत भ्रष्ट पार्ने शैतानका घृणित तरिकाहरू र दुष्ट अभिप्रायहरूबारे केही बुझाइ प्राप्त गरेँ। शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्दै मानिसहरूलाई बन्धनमा पार्न र हानि गर्न, तिनीहरूलाई परमेश्‍वरबाट टाढै रहने र उहाँलाई धोका दिने बनाउँछ। फर्केर हेर्दा, मैले के महसुस गरेँ भने म बाल्यकालदेखि नै शैतानको शिक्षा र अभ्यस्तिकरणद्वारा प्रभावित भएकी रहेछु। मैले शैतानका दर्शनहरू, जस्तै “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” लाई मेरो जीवनको आदर्श-वाक्यको रूपमा लिएकी रहेछु। मेरो स्वभाव झन्-झन् अहङ्कारी बनेछ, र म जहाँ भए पनि, सधैँ अरूबाट प्रशंसा पाउन चाहन्थेँ र पछाडि पर्न इन्कार गर्थेँ। मलाई पहिले काम गर्दाको समय याद आयो, जब म मेरो उमेरका मभन्दा बढी शिक्षित मानिसहरूले कम्पनीमा उच्च पदका कर्मचारीको रूपमा काम गर्न सकेका, जबकि म भने, आफ्नो कम शिक्षाका कारण, केही सानतिनो काम मात्र गर्न सक्ने देख्थेँ, म यस्तो औसत जीवन जिउन चाहन्नथेँ। त्यसैले मैले एक दिन स्व-अध्ययनमार्फत डिप्लोमा प्राप्त गर्ने, र अरूको अगाडि प्रभावशाली देखिनका लागि राम्रो जागिर पाउने आशामा, आफ्नो खाली समयमा कठिन अध्ययन गरेँ। परमेश्‍वरलाई पाएपछि पनि, म संसारसँग व्यवहार गर्ने यी शैतानका दर्शनहरूद्वारा बाँचिरहेँ। मैले सोचेँ मण्डलीमा अगुवा वा सुपरिवेक्षक हुनु र ब्रदर-सिस्टरहरूको अनुमोदन र आदर पाउनु नै अर्थपूर्ण जीवन जिउने एकमात्र तरिका हो। त्यसैले जब मैले ब्रदर-सिस्टरहरूको बढुवा भएको देखेँ, मलाई ईर्ष्या र डाह लाग्यो। मैले छिट्टै केही उपलब्धि हासिल गर्ने आशामा भिडियोहरूमा कडा मेहनत गरेँ ताकि अगुवाहरूले मलाई पनि संवर्धन गरून्। आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू पूरा गर्न, मैले हतारमा प्रगति गर्नका लागि सिस्टरहरूलाई मसँगै राति ढिलोसम्म काम गराउन कुनै समस्या मानिनँ, र जब मैले मेरा सिस्टरहरू खराब स्थितिमा भएको देखेँ, मैले उनीहरूलाई मद्दत नगर्ने मात्र होइन, उनीहरूलाई हेलाँ पनि गरेँ। कहिलेकाहीँ म रिसाउँथेँ र उनीहरूसँग अनादरपूर्ण व्यवहारसमेत गर्थेँ। म साँच्चै नै पूर्ण रूपमा स्वार्थी र उदासीन थिएँ। आफ्नो प्रतिष्ठा र हैसियतको खोजीमा, म कुनै मानव स्वरूपविना नै जिएँ। मैले ब्रदर-सिस्टरहरूलाई चोट पुऱ्याउने मात्र होइन, मण्डलीको काममा पनि हानि पुऱ्याएँ। मैले कुनै वास्तविक काम नगरेकी, केवल प्रतिष्ठा र हैसियतको पछि लागेकी, र छिट्टै सफलता पाउने चाहनाले प्रेरित भएकीले, मैले भिडियोको कामको प्रगतिमा गम्भीर ढिलाइ गरेँ, र अन्ततः मलाई बर्खास्त गरियो। मैले शैतानका दर्शनहरू र झूटहरूद्वारा जिउनु र श्रेष्ठताको खोजी गर्नुले केवल झन् गहिरो भ्रष्टता, विद्रोह र परमेश्‍वरको प्रतिरोधतर्फ लैजान्छ भन्ने बुझेँ। अन्त्यमा, मैले आफूलाई हानि मात्र पुऱ्याउने थिएँ। अहिले फर्केर हेर्दा, मैले आफूलाई फरक देखाउने मेरो पहिलेको पछ्याइ अनि प्रतिष्ठा र हैसियतलाई च्याप्पै समातेर बस्ने तरिका साँच्चै मूर्खतापूर्ण रहेछ भन्ने महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र आफूलाई सुपरिवेक्षकको रूपमा नछानिएको कुरालाई मैले तर्कसङ्गत रूपमा स्वीकार गर्न सकेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकाशले मानिसहरूलाई विकर्षित गरेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूका लागि विश्‍वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। … यदि तँमा साँच्चिकै बोझ र यस्तो जिम्मेवारी बोध छ, र तैँले भार बोक्ने इच्छा गर्छस् भने, चाँडो गरेर तालिम लिई। सत्यता अभ्यास गर्नमा ध्यान दे र सिद्धान्तहरूअनुसार कार्य गर्। तैँले जीवन अनुभव पाएर गवाहीका लेखहरू लेख्न सक्ने भएपछि, तँ साँच्चै परिपक्व भएको हुनेछस्। अनि यदि तैँले परमेश्‍वरका निम्ति गवाही दिन सक्छस् भने, तैँले निश्चय नै पवित्र आत्माको काम पाउन सक्छस्। यदि पवित्र आत्माले तँमा काम गरिरहनुभएको छ भने, यसको मतलब परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुन्छ, अनि तैँले पवित्र आत्माको मार्गदर्शन पाएपछि, तेरो अवसर चाँडै आउनेछ। अहिले तँसित बोझ होला, तर तेरो कद पर्याप्त छैन र तेरो जीवन अनुभव अति सतही छ, त्यसकारण यदि तँ अगुवा बनिहालिस् भने पनि, तैँले ठेस खाने सम्भावना हुन्छ। तैँले जीवन प्रवेश पछ्याउन, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउन, इच्छापूर्वक अनुयायी बन्न, र परमेश्‍वरले जे योजनाबद्ध वा प्रबन्ध गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुन जरुरी छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल राख्न र परमेश्‍वरको इच्छा पछ्याउन चाहन्छस् भन्‍ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्‍वरका निम्ति गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्‍वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित प्रबन्धहरू गर्नुहुनेछ। … परमेश्‍वरको अभिप्राय उहाँका निम्ति गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूहलाई सकेसम्म चाँडो पूर्ण बनाउनु हो। त्यसकारण, परमेश्‍वरका घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र सच्चा रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्‍ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ मण्डलीमा विभिन्न कामहरूका लागि सुपरिवेक्षकहरूलाई बढुवा र संवर्धन गर्ने सिद्धान्तहरू छन्। यो केवल कोही व्यक्तिले केही उत्साह देखाएकै भरमा वा उसमा केही वरदानहरू भएकै कारण उसलाई बढुवा वा संवर्धन गर्ने कुरा होइन। कम्तिमा पनि, व्यक्तिको हृदय सही हुनुपर्छ, उसमा आफ्नो कर्तव्यप्रति बोझ हुनुपर्छ, र उसले मण्डलीको कामको रक्षा गर्न सक्नुपर्छ। उसमा एक निश्चित क्षमता पनि हुनुपर्छ र वास्तविक समस्याहरू समाधान गर्न सक्नुपर्छ। यस्ता मानिसहरू, सुपरिवेक्षकको रूपमा सेवा गर्दा, कामको लागि लाभदायक हुन्छन् र बढुवा र संवर्धनका लागि मापदण्ड पूरा गर्छन्। उदाहरणका लागि, चेन बिन र लिन हुई सुपरिवेक्षक बन्न सके किनभने उनीहरू आफ्नो कर्तव्यमा प्रभावकारी मात्र थिएनन्, उनीहरूमा आफ्नो कर्तव्यप्रति बोझ पनि थियो, र उनीहरू केही वास्तविक समस्याहरू समाधान गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्थे। यदि कुनै व्यक्तिको क्षमता अपर्याप्त छ, र उसले मण्डलीको कामको रक्षा गर्दैन र बरु केवल व्यक्तिगत लाभको खोजी गर्छ भने, त्यस्तो व्यक्ति, यदि सुपरिवेक्षकको रूपमा छानियो भने, उसले केवल मण्डलीको काममा ढिलाइ गर्नेछ र ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याउनेछ। जस्तो कि जब म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, मैले सधैँ प्रतिष्ठा र हैसियत पछ्याएँ, र जब मेरो हैसियतको इच्छा पूरा हुँदैनथ्यो, म नकारात्मक र कमजोर बन्थेँ, त्यसैले मण्डलीको हितलाई कुनै वास्ता नगरी झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्थेँ। ब्रदर-सिस्टरहरूले मलाई टोली अगुवाको रूपमा छाने, तर म उनीहरूको जीवन प्रवेशमा उनीहरूलाई मद्दत गर्न असफल मात्र भइनँ, मैले उनीहरूलाई उनीहरूको कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गर्न समेत डोऱ्याएँ। मेरो जस्तो मानवताले, यदि मलाई साँच्चै सुपरिवेक्षकको रूपमा छानिएको भए, म ख्रीष्टविरोधीहरूको मार्गमा पुग्नेथिएँ र परमेश्‍वरद्वारा हटाइनेथिएँ। सुपरिवेक्षकको रूपमा नछानिनु मेरो लागि परमेश्‍वरको सुरक्षा थियो। मैले वास्तवमा आफूलाई चिनेकै थिइनँ र ममा आत्म-सचेतनाको कमी थियो। यी कुराहरू बुझेपछि, मेरो हृदय स्वतन्त्रताको भावनाले भरियो।

केही महिनापछि, मण्डलीले मलाई फेरि भिडियो बनाउने व्यवस्था मिलायो, र उनीहरूले मलाई केही सिस्टरहरूलाई कसरी भिडियो बनाउने भनेर सिकाउन भने। अगुवाले भन्नुभयो यी सिस्टरहरूको क्षमता राम्रो छ र उनीहरूलाई केन्द्रित संवर्धन दिन सकिन्छ, त्यसैले मलाई उनीहरूलाई भिडियो उत्पादनमा थप मार्गदर्शन दिन भनियो। यो सुनेर मेरो मन अलिकति खिन्न भयो। मलाई लाग्यो उनीहरू नै संवर्धनको लागि प्राथमिकता दिइएका व्यक्तिहरू हुन्, जबकि मैले जतिसुकै राम्रो गरे पनि, म केवल एक सहायक भूमिका मात्रै निभाइरहेकी छु। जब मैले यसरी सोचेँ, मैले अचानक आफ्नो स्थिति ठिक नभएको महसुस गरेँ। त्यसैले, मैले यस विषयमा परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले जे कर्तव्य पाए पनि, तँमाथि जस्तो कर्तव्य आइपरे पनि, त्यो कर्तव्यमा जतिसुकै ठूलो वा सानो जिम्मेवारी परे पनि, वा यो निकै महत्त्वपूर्ण नभए पनि, यदि तँ सत्यता खोज्न र सत्यता सिद्धान्तअनुसार कर्तव्यलाई लिन सक्छस् भने, तँ आफ्नो कर्तव्य राम्ररी निभाउन सक्षम हुनेछस्। यसैगरी, आफ्ना कर्तव्यहरू निभाउने क्रममा, तैँले तेरो जीवन प्रवेश र स्वभाव परिवर्तन दुवैमा फरक-फरक मात्रामा वृद्धि अनुभव गर्नेछस्। तर, यदि तँ सत्यता पछ्याउँदैनस् र आफ्नो कर्तव्यलाई तेरो आफ्नै व्यवसाय, तेरो आफ्नै कार्यका रूपमा लिन्छस्, वा तेरो आफ्नै रुचि वा व्यक्तिगत कामका रूपमा लिन्छस् भने, तँ समस्यामा छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरूबाट, मैले परमेश्‍वरको अभिप्राय बुझेँ। मैले जुनसुकै कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, सबैभन्दा महत्त्वपूर्ण कुरा त आफ्नो कर्तव्यमा आफ्नो जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नु, र स्वभावमा परिवर्तन हासिल गर्न सत्यताको खोजी गर्नु हो। आफ्नो कर्तव्य निर्वाह गर्ने सही मार्ग यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने यो अवसर मुस्किलले पाएकी थिएँ, र मैले अब आफ्नो प्रतिष्ठा वा हैसियतका बारेमा सोच्न मिल्दैनथ्यो। मैले परमेश्‍वरको अभिप्रायलाई विचार गर्नुपर्थ्यो, यो जिम्मेवारी काँधमा बोक्नुपर्थ्यो, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न परमेश्‍वरमा भर पर्नुपर्थ्यो। पछि, म अक्सर सिस्टरहरूसँग कुराकानी गर्दै मन खोलेर भावना बताउँथेँ, र म उनीहरूले आफ्नो कर्तव्यमा सामना गरेका कठिनाइहरूलाई होसियारीसाथ बुझ्ने प्रयास गर्थेँ। मैले प्रत्येक व्यक्तिको कमजोरीअनुसार विस्तृत मार्गदर्शन पनि प्रदान गरेँ। तीन जना सिस्टरहरूले आफ्नो प्राविधिक सीपमा छिटो प्रगति गरे, र केही समय नबित्दै उनीहरू आफैले भिडियो बनाउन सक्षम भए। मैले परमेश्‍वरको मार्गदर्शनका लागि मेरो हृदयको गहिराइबाट उहाँलाई धन्यवाद दिएँ।

छ महिनापछि, मलाई पनि सुपरिवेक्षकको रूपमा छानियो, तर म पदको कारण अभिमानी भइनँ। यसको विपरीत, मैले जिम्मेवारीको ठूलो बोझ महसुस गरेँ। मैले यो ज्ञान प्राप्त गर्न र रूपान्तरणको अनुभव गर्न सकेकी परमेश्‍वरका वचनहरूकै परिणामले गर्दा हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ५६. म अब उप्रान्त आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्दिनँ

अर्को:  ५९. के एकआपसमा मिल्नु भनेकै सामञ्जस्यपूर्ण सहकार्य हो?

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger