६१. अब म कसरी अरूसँग मिलेर राम्ररी काम गर्ने भन्ने जान्दछु
मैले मण्डलीमा केही वर्षदेखि डिजाइनको काम गर्दै आएको थिएँ, र आफ्नो कर्तव्यको क्रममा, मैले ग्राफिक डिजाइनका केही सिद्धान्तहरूमा बिस्तारै पोख्त हुँदै केही अनुभव पनि बटुलेको थिएँ। अधिकांश मानिसहरूले ममा आफ्नो कर्तव्यप्रति लगनशील मनोवृत्ति छ भन्थे, जसले गर्दा मलाई आफूबारे एकदमै राम्रो महसुस हुन्थ्यो। सन् २०२२ को फेब्रुअरीमा, कामको आवश्यकताले गर्दा, मण्डलीले सिस्टर भ्यालेरी र मलाई डिजाइनको काममा सहकार्य गर्ने बन्दोबस्त मिलायो। केही समयपछि, मैले उनी आफ्नो कर्तव्यमा केही लापरवाह र सिद्धान्तहरू राम्ररी नबुझ्ने अनि कहिलेकाहीँ त उनले केही एकदमै प्रस्ट देखिने गल्तीहरू पनि गर्ने पाएँ, जसले गर्दा केही डिजाइनहरू पुनः बनाउनुपर्थ्यो र संशोधन गर्नुपर्थ्यो। मैले उनलाई हेलाँ गर्न थालेँ, उनको कर्तव्यमा धेरै समस्याहरू छन्, उनी मेरो जस्तो होसियार छैनन्, न त सिद्धान्तहरूलाई लचिलो ढङ्गले प्रयोग गर्नमा सिपालु नै छिन् भनी सोच्न थालेँ। यसबाहेक, उनी काममा मैले दिएका अधिकांश सुझावहरू धेरै असहमति बिना नै स्वीकार गर्थिन्, जसले गर्दा मलाई आफ्नोबारेमा झनै राम्रो महसुस भयो। पछि, छलफल गर्नुपर्ने कुनै समस्या आइपर्दा, मैले अबदेखि सल्लाहका लागि उनीकहाँ जान चाहिनँ। कहिलेकाहीँ उनले आफ्ना विचारहरू बताए पनि, म पटक्कै सुन्दिनथेँ, र मेरो दृष्टिकोण सही छ अनि उनले मेरो अगुवाइ पछ्याउनुपर्छ भनेर जिद्दी गरिरहन्थेँ।
मलाई याद छ, एक पटक, एउटा डिजाइनको अवधारणाको विषयमा भ्यालेरी र मेरो फरक-फरक विचार थियो। मैले उनको अवधारणा एकदमै साधारण छ त्यसले मानिसहरूको ध्यान खासै खिच्दैन, बरु हामीले मेरो अवधारणाअनुसार काम गर्नुपर्छ भन्ने सोचेँ। मैले मेरो विचार कसरी नवीन थियो र मौलिकताविहीन थिएन, अनि उनको दृष्टिकोण कसरी अनुपयुक्त थियो भनेर व्याख्या गरिरहेँ। जब उनले आफ्नो तर्क व्याख्या गर्न खोजिन्, मैले मनमनै सोचेँ, “मैले तिमीभन्दा धेरै डिजाइन बनाएको छु र सिद्धान्तहरू पनि राम्ररी बुझेको छु, त्यसैले मैले भनेअनुसार गर्नु नै ज्यादा उपयुक्त हुन्छ।” त्यसैले, मैले उनको कुरा काटेँ र फेरि आफ्नै कुरामा जोड दिन थालेँ। तैपनि उनले मेरो सुझाव मानिनन्, र आफूले अरू ब्रदर-सिस्टरहरूसँग सल्लाह लिन चाहेको बताइन्। म केही अधीर भएँ, र सोचेँ, “यसमा सोध्नुपर्ने के छ र? यो कुनै गाह्रो समस्या होइन; तिमीले मेरो सुझाव माने भइहाल्थ्यो नि, होइन र?” तर अचम्मको कुरा, अरूसँग सल्लाह गरेपछि, अधिकांशले सिद्धान्तहरूअनुसार त्यस विषयमाथि निर्णय गरे, र भ्यालेरीको अवधारणा र दृष्टिकोण नै बढी उपयुक्त छ भन्ने महसुस गरे। नवीन नभए पनि, ती अवधारणा विषयवस्तुसँग अझ बढी मेल खान्थे। यो सुनेर, मलाई केही लाज लाग्यो, र मैले उनको अवधारणा वास्तवमै मेरोभन्दा राम्रो थियो भनेर विश्वासै गर्न सकिनँ। अर्को पटक, मैले भ्यालेरीसँग एउटा डिजाइनमा रङ समायोजन गर्न मद्दत मागेँ, र मैले उनलाई कसरी समायोजन गर्ने भनेर बताएँ। पछि, मैले देखेँ उनले मैले सिकाएको तरिका अपनाएकी रहिनछिन्। बरु, उनले आफूलाई राम्रो लागेको तरिका प्रयोग गरिछन्। यो देखेर म निकै रिसाएँ, र उनलाई दबाब दिने पारामा सोधेँ, “तिमीले मेरो तरिका किन नअपनाएको? हामीले रङ समायोजनका लागि सधैँ यही तरिका प्रयोग गर्दै आएका छौँ, तिमीले गरेको समायोजनमा समस्या आयो भने के गर्ने?” उनले तुरुन्तै जवाफ दिइन्, “तपाईंले भन्नुभएको तरिका मलाई राम्रोसँग आउँदैन, त्यसैले मैले आफूलाई बढी बानी परेको तरिका प्रयोग गरेँ।” मैले उनलाई अझै आलोचना गर्न चाहेँ, तर मैले आफू आवेशमा बोलिरहेको महसुस गरेँ, त्यसैले म रोकिएँ।
एक दिन, उनले आफ्नो हालैको स्थितिबारे बताइन्, र भनिन्, “तपाईंसँग मिलेर कर्तव्य निर्वाह गर्दा मलाई सधैँ हीनताबोध हुन्छ, र मैले तपाईंको तरिकाअनुसार काम गरिनँ भने तपाईंले मेरो आलोचना गर्नुहुन्छ कि भनेर निरन्तर डराइरहन्छु। जस्तै, अघिल्लो पटक मैले केवल काम छिटो र सजिलो बनाउनका लागि, आफ्नै तरिकाले रङ समायोजन गर्दा, नढाँटी भन्ने हो भने, तपाईंले मलाई प्रश्न गर्दा म निकै डराएकी थिएँ।” यो सुनेर म निकै दु:खी भएँ। उनी मसँग सहकार्य गर्न साँच्चै डराउँलिन् भनेर मैले कहिल्यै सोचेको थिइनँ। पछि, मैले देखेँ प्रायः यस्ता समस्याहरू हुन्थे जुन उनी आफैँले सजिलै समाधान गर्न सक्थिन्, तर उनी पहिले मलाई सोध्न आउँथिन्, र मैले स्वीकृति दिएपछि मात्र काम गर्ने आँट गर्थिन्। हाम्रो सहकार्यमा समस्या छ भन्ने मैले महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई आफूलाई चिन्न अन्तर्दृष्टि दिनुहोस् भनेर बिन्ती गरेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “‘सहकार्य’ भन्ने शब्दलाई कसरी व्याख्या र अभ्यास गर्नुपर्छ? (परिस्थितिहरू उत्पन्न हुँदा तिनका बारेमा छलफल गरेर।) हो, यसको अभ्यास गर्ने एउटा तरिका त्यही हो। अरू के छ? (आफ्ना कमजोरीहरूलाई अर्को व्यक्तिको सबल पक्षद्वारा पूर्ति गरेर, अनि एक-अर्काको सुपरिवेक्षण गरेर।) त्यो पूर्ण रूपमा मिल्छ; त्यसरी अभ्यास गर्नु भनेको मिलेर सहकार्य गर्नु हो। अरू पनि छन्? परिस्थितिहरू आइपर्दा अरूको राय माग्नु—के त्यो सहकार्य होइन र? (हो।) यदि एक जना व्यक्तिले आफ्नो विचारमा सङ्गति गर्छ, र अर्कोले आफ्नो विचारमा सङ्गति गर्छ, र अन्त्यमा, तिनीहरूले पहिलो व्यक्तिको सङ्गतिलाई लागु गर्छन् भने, किन झारा टार्ने? त्यो सहकार्य होइन—त्यो सिद्धान्तहरूभन्दा बाहिर हुन जान्छ, र यसले सहकार्यका परिणामहरू दिँदैन। यदि तँ मेशिन गनझैँ बोलिरहन्छस्, र अरू बोल्न चाहनेहरूलाई मौका दिँदैनस्, साथै आफ्ना सबै विचारहरू बोलिसकेपछि पनि अरूको कुरा सुन्दैनस् भने, के त्यो छलफल हो? के त्यो सङ्गति हो? त्यो त झारा टराइ मात्र हो—त्यो सहकार्य होइन। त्यसोभए सहकार्य भनेको के हो त? यो तब हुन्छ जब तैँले आफ्ना विचार र निर्णयहरू बताइसकेपछि, अरूका राय र विचारहरू माग्न सक्छस्, त्यसपछि आफ्ना र तिनीहरूका अभिव्यक्ति र विचारहरूलाई तुलना गर्छस्, र एक-दुई जना मानिसहरूले तिनलाई खुट्याएर, अनि सिद्धान्तहरू खोजी गरेर, साझा बुझाइ प्राप्त गर्छन् र अभ्यासको सही मार्ग निर्धारण गर्छन्। छलफल र सङ्गति गर्नु भनेको त्यही हो—‘सहकार्य’ भनेको त्यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि मैले बुझेँ, साँचो सहकार्यको अर्थ मामिलाहरूमा सँगै छलफल गर्न सक्नु, एक-अर्काको सबल पक्ष र कमजोरीहरूलाई पूर्ति गर्नु, सँगै सत्यताका सिद्धान्तहरू खोज्नु, र परमेश्वरका मागहरूअनुसार हाम्रा कर्तव्यहरू पूरा गर्नु हो। साँचो सहकार्य भनेको यही हो। त्यति बेलासम्मको हाम्रो सहकार्यको समयलाई फर्केर हेर्दा, भ्यालेरी र मैले सँगै कर्तव्य निर्वाह गरे तापनि, मैले उनीसँग साँचो रूपमा सहकार्य गरिनँ। म आफू आफ्नो काममा उनीभन्दा बढी लगनशील छु र ममा उनीभन्दा राम्रो बुझाइ छ भन्ने सोच्थेँ, त्यसैले म सधैँ उनलाई होच्याउँथेँ, र मेरा वचन अनि कार्यहरू उनीप्रतिको तिरस्कारले भरिएका थिए। हामीले समस्याहरूबारे छलफल गर्दा, मैले कहिले पनि उनको सल्लाह लिने पहल गरिनँ, र सल्लाह लिइहाले पनि, पहिल्यै म नै सही छु भन्ने निर्णय गर्दै, र उनका विचारहरूलाई स्वीकार्न पूर्ण रूपमा इन्कार गर्दै, देखाउनको लागि मात्रै त्यसो गर्थेँ। म सबै विवेक गुमाएर उनको कुरा समेत काट्थेँ, केवल उनलाई आफ्नो अगुवाइ पछ्याउन लगाउने उद्देश्यले, उनलाई दबाब दिने पारामा आलोचना गर्थेँ। आफ्नो कर्तव्यमा, म सधैँ आत्म-केन्द्रित र हावी हुने खालको थिएँ; भ्यालेरीसँग कहिल्यै आपसी छलफल वा एक-अर्काको कमी-कमजोरीलाई पूर्ति गर्ने काम भएन, र सबै कुरा सधैँ मेरो तरिकाले मात्रै हुन्थ्यो। परिणामस्वरूप, केही समय सँगै काम गरेपछि, उनी मबाट यति बन्धनमा परिन् कि उनी आफैँ समस्याहरू समाधान गर्ने आँटै गर्दिनथिन्, र उनले मेरो तरिकाअनुसार काम गरिनन् भने मैले उनलाई हप्काउँछु भनेर निरन्तर डराइरहन्थिन्। मैले उनी र मेरो बीचमा कुनै पनि किसिमको मैत्रीपूर्ण सहकार्य थिएन, र मैले उनलाई बन्धन र चोट मात्रै दिएको रहेछु भन्ने बुझेँ। मलाई साह्रै दोषी महसुस भयो र मैले आफ्नो समस्याको समाधान खोजेँ।
एक दिन आफ्नो भक्तिको समयमा, मैले परमेश्वरले ख्रीष्टविरोधीहरूको खुलासा गर्नुहुने केही खण्डहरू पढेँ र मैले आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “झट्ट हेर्दा, कतिपय ख्रीष्टविरोधीहरूका सहयोगी वा सहकर्मीहरू छन् जस्तो लाग्न सक्छ, तर तथ्य कुरा हो यो कि जब केही आइपर्छ, अरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि तिनीहरूले भनेको कुरा सुन्दैनन्। तिनीहरूले यसलाई ध्यान समेत दिँदैनन्, यसको बारेमा छलफल गर्ने वा सङ्गति गर्ने कुरा त परै जाओस्। तिनीहरूले त्यहाँ अरू छँदै छैनन् जस्तो गरेर कुनै ध्यान दिँदैनन्। जब ख्रीष्टविरोधीहरूले अरूले भनेको कुरा सुन्छन्, तब तिनीहरूले अरूलाई देखाउनका लागि झारा टार्ने वा नाटक गर्ने काम मात्रै गर्छन्। तर अन्तिम निर्णय गर्ने समय आएपछि, निर्णय गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्छन्; अरूका शब्दहरू खेर जान्छन्, तिनको कुनै गन्ती हुँदैन। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, मात्र देखाउने व्यक्ति हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको एक्लो जिम्मेवारी लिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुको पहिलो प्रकटीकरण, तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्ने हो। कतिपयले यसो भन्न सक्छन्, ‘कसैसँग सहकार्य गर्न नसक्नु भनेको अरूलाई आफूप्रति मात्र समर्पित हुन लगाउनु जस्तो होइन।’ कसैसँग सहकार्य गर्न नसक्नुको अर्थ तिनीहरूले कसैका कुरा सुन्दैनन् वा कसैसँग सुझाव माग्दैनन्—तिनीहरूले परमेश्वरका अभिप्रायहरू वा सत्यता सिद्धान्तहरू समेत खोज्दैनन् भन्ने हुन्छ। तिनीहरू आफ्नै इच्छा अनुसार मात्रै काम र व्यवहार गर्छन्। यसमा के कुरा अन्तर्निहित छ? तिनीहरूको काममा शासन गर्नेहरू सत्यता वा परमेश्वर नभई तिनीहरू नै हुन्। त्यसकारण, तिनीहरूको कामको सिद्धान्त भनेको तिनीहरूले भनेको कुरा अरूलाई पालना गर्न लगाउनु हो, र आफूलाई सत्यताझैँ, वा परमेश्वरझैँ व्यवहार गर्न लगाउनु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, मलाई साह्रै लाज लाग्यो। ख्रीष्टविरोधीहरूले काम गर्ने सिद्धान्त भनेको परमेश्वर अनि सत्यता सिद्धान्तहरूप्रति समर्पित हुनुको सट्टा अरूलाई आफूप्रति समर्पित गराउँदै आफै शक्ति सञ्चालन गर्नु हो। भ्यालेरीसँगको मेरो सहकार्यलाई फर्केर हेर्दा, मैले आफूले पनि त्यही स्वभाव प्रकट गरिरहेको रहेछु भन्ने महसुस गरेँ। बाहिरबाट हेर्दा, भ्यालेरी र म सँगै कर्तव्य निर्वाह गरिरहेका जस्तो देखिन्थ्यो, तर वास्तवमा, मेरो हृदयमा, मैले उनलाई केवल एक अनुयायीको रूपमा हेरेको थिएँ। मैले उनलाई मेरा सबै निर्णयहरू मान्न र मेरा विचारहरू अनुरूप चल्न लगाएँ, मानौं उनले मेरो लागि आफ्नो कर्तव्य निभाइरहेकी थिइन्। जब उनी सुझावहरू दिन्थिन्, म उनका सुझावहरू सत्यता सिद्धान्तहरू अनुरूप भए-नभएका वा तिनमा असल पक्ष भए-नभएको बुझ्न खोज्दिनथेँ; म केवल आफ्ना विचारहरू सही छन् भनेर जिद्दी गरिरहन्थेँ। उनले सान्दर्भिक सिद्धान्तहरूका लागि अरूसँग सल्लाह लिन खोज्दा, मैले त्यो पूर्ण रूपमा अनावश्यक भन्ने सोच्दै धैर्य गुमाएँ। एक विश्वासीले परमेश्वरलाई नै महान मानेर सम्मान गर्नुपर्छ, सबै कुरामा उहाँका अभिप्रायहरू खोज्नुपर्छ, र उहाँका वचनहरू अनि सत्यता सिद्धान्तहरूप्रति समर्पित हुनुपर्छ। तर म अति नै अहङ्कारी र आत्म-धर्मी थिएँ। म मामिलाहरूको सामना गर्दा सत्यता सिद्धान्तहरू खोज्न असफल मात्र भइनँ, मैले त सधैँ अरूले मप्रति समर्पित हुँदै मेरो अगुवाइ पछ्याऊन् भन्ने समेत चाहेँ। मैले आफ्ना विचारहरूलाई अरूले पछ्याउनु र पालन गर्नुपर्ने सत्यता सिद्धान्तका रूपमा व्यवहार गरेँ, र यो त ख्रीष्टविरोधीको मार्ग हो! जब ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यहरूमा सहकार्य गर्छन्, यो एक-अर्कालाई मद्दत गर्न र कमी-कमजोरी पूर्ति गर्न, साथै एक-अर्कालाई सुपरिवेक्षण गर्न र रोक्नका लागि हो, ताकि कर्तव्यहरूमा हुने विचलनहरूलाई सकेसम्म कम गर्न सकियोस्, र हामी सबैले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सकौँ, अनि मण्डलीको काममा सर्वोत्तम परिणामहरू हासिल गर्न सकियोस्। तर मैले अरूसँग सहकार्य गरिनँ। यसले कर्तव्यको कमजोर प्रदर्शन मात्र गराएन, यसले त मलाई सिद्धान्तहरू उल्लङ्घन गर्न र काममा अवरोध अनि बाधा दिन सजिलै सक्ने समेत बनायो। मैले अहङ्कारी, अभिमानी र मनमानी ढङ्गले काम गर्ने केही ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट निष्कासित गरिएको बारे सोचेँ, उनीहरू सधैँ अरूले सत्यता खोजेर परमेश्वरप्रति समर्पित हुनुको सट्टा आफूप्रति समर्पित होऊन् भन्ने माग गर्थे। परिणामस्वरूप, उनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिए, अनि ब्रदर-सिस्टरहरूलाई धेरै हानि र बन्धनमा पारे, र अन्त्यमा, उनीहरूले पश्चात्ताप गर्न पूर्ण रूपमा इन्कार गरेकाले निष्कासित गरिए र हटाइए। यदि मैले अझै पनि पश्चात्ताप नगरेको भए, मेरो अन्तिम परिणाम पनि ती ख्रीष्टविरोधीहरूको जस्तै हुने थियो—हटाइ र दण्ड। यी विचारहरूले मलाई डर लाग्यो र म यो गलत मार्गमा अगाडि बढ्न चाहिनँ, त्यसैले मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई आफूलाई बुझ्न अगुवाइ गर्नुहोस् भनेर बिन्ती गरेँ। म परमेश्वरसामु पश्चात्ताप गर्न चाहन्थेँ।
त्यसपछिका केही दिनसम्म, मैले सोचिरहेँ, “म किन अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्दिनँ? यो समस्याको जड के हो?” एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्वरको स्थानमा बस्न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले भ्यालेरीसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न नसक्नुको जड मुख्यतया मेरो अति नै अहङ्कारी प्रकृति रहेछ भन्ने बुझेँ। म “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ” भन्ने शैतानको विषअनुसार जिइरहेको थिएँ र म सधैँ आफूलाई श्रेष्ठ ठान्थेँ। म आफ्नो कर्तव्यले केही परिणामहरू दिँदा म जस्तो राम्रो अरू कोही छैन भने झैँ आफूलाई विशेष ठान्न थाल्थेँ, र उनलाई हरेक तरिकाले हेलाँ गर्थेँ। यस किसिमको स्वभाव लिएर आफ्नो कर्तव्य निर्वाह गर्दा, म साँच्चै नै आत्म-विश्वस्त भएँ, मेरा सबै विचारहरू सही छन् भन्ने विश्वाससमेत गरेँ, र मनमानी ढङ्गले काम गर्दै परमेश्वरका अभिप्रायहरूलाई पटक्कै नखोजी, मैले प्रायः कर्तव्यलाई आफ्नै वरिपरि केन्द्रित गरेँ। भ्यालेरीसँग समस्याहरूबारे छलफल गर्दा, म सधैँ उनले मेरो तरिकाअनुसार काम गरून् भन्ने चाहन्थेँ, र उनले त्यसो नगर्दा, म रिसाउन, हप्काउन, र उनलाई होच्याउन चाहन्थेँ, र उनलाई आज्ञा पालन गर्न बाध्य पार्थेँ, जसको परिणामस्वरूप उनी मबाट बन्धनमा परिन् र मसँग सहकार्य गर्न डराइन्। मैले यसबारे जति धेरै सोचेँ, यो त्यति नै डरलाग्दो देखियो, र मैले अन्ततः महसुस गरेँ मेरो अहङ्कारी स्वभावले मेरो मानवता र विवेक, अनि मेरो परमेश्वरको डर मान्ने हृदय गुमाउन बाध्य पारेको थियो, जसले मलाई क्रूर बनाएको थियो। यसले अनजानमै मण्डलीको कामलाई पनि असर गरेको थियो, र मैले यो अहङ्कारी स्वभावलाई समाधान नगर्दा, म साँच्चै नै खतरामा पर्ने थिएँ। यस क्षणमा, मैले महसुस गरेँ मेरो अहङ्कार मैले सधैँ आफूलाई अरूभन्दा राम्रो ठानेका कारण उत्पन्न भएको थियो। तर के म साँच्चै त्यति महान् थिएँ र? परमेश्वर भन्नुहुन्छ: “तेरो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गर्नका निम्ति, तैँले परमेश्वरमा कति वर्षदेखि विश्वास गरेको छस्, तैँले कति वटा कर्तव्यहरू निर्वाह गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडिका सिद्धान्तहरू, दिशा, मूल र सुरुवाती बिन्दुलाई हेर्नुहुन्छ। परमेश्वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्। … तेरो वरदान वा विशेषज्ञता जुन क्षेत्रमा भए पनि, वा तेरो व्यावसायिक ज्ञान जुन क्षेत्रको भए पनि, आफ्नो कर्तव्य-निर्वाहमा यी कुराहरू प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ—यो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने एउटै मात्र उपाय हो। एउटा पाटो विवेक र समझको भरमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो, र अर्को पाटो आफ्नो भ्रष्ट स्वभाव हल गर्न तैँले सत्यता खोज्नुपर्छ भन्ने हो। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा व्यक्तिले जीवन प्रवेश प्राप्त गर्छ, र ऊ मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम बन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरका वचनहरूबाट, मैले महसुस गरेँ कुनै व्यक्तिको कर्तव्यको प्रदर्शन मापदण्ड अनुरूप छ कि छैन भन्ने कुरा उसले कति लामो समयदेखि कर्तव्य निर्वाह गरिरहेको छ वा उसँग कति अनुभव छ भन्ने कुरामा निर्भर हुँदैन, र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्ति सही मार्गमा हुनु, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्नु, र सिद्धान्तहरूअनुसार काम गर्नु हो। मलाई मैले काम उनीभन्दा राम्रोसँग बुझेको छु, मसँग धेरै अनुभव छ, र म आफ्नो कर्तव्यमा बढी होसियार छु भन्ने लाग्नु नै मैले सधैँ भ्यालेरीलाई हेलाँ गर्नु र उनीसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न नसक्नुको मुख्य कारण रहेछ। यी कुराहरूले वास्तवमा मेरो कर्तव्यको प्रभावकारितालाई केही हदसम्म सुधार गर्न सक्थे, तर यी कुराहरू सत्यता होइनन्। यसबाहेक, फरक-फरक सन्दर्भहरूमा, मसँग भएको प्राविधिक ज्ञान र अनुभव सधैँ लागू नहुन सक्छ। उदाहरणका लागि, मैले भ्यालेरीसँग काम गरिरहेको बेला, कहिलेकाहीँ म आफ्नै अनुभवको आधारमा कामहरू कसरी गर्ने भनेर निर्णय गर्थेँ, तर म अहङ्कारी, आत्म-धर्मी, र सत्यताका सिद्धान्तहरू नखोज्ने भएकाले, मैले गरेको काम अन्तत: उपयुक्त हुँदैनथ्यो। उनमा कमजोरीहरू भए तापनि, सिद्धान्तहरू खोजेर, उनी समस्याहरू पत्ता लगाउन सक्षम थिइन्। त्यसपछि मैले म अरूभन्दा कुसल छैन, र मेरो पहिलेको अहङ्कार र आत्म-धार्मिकता साँच्चै नै तर्कहीन रहेछ भन्ने महसुस गरेँ! अब मैले बुझेँ एक-अर्कासँग सहकार्य गरेर र कमी-कमजोरी पूर्ति गरेर, सँगै सत्यता खोजेर, र सिद्धान्तहरूअनुसार काम गरेर मात्र हामीले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्छौं।
पछि, भ्यालेरीसँग फेरि एउटा डिजाइनमा सहकार्य गर्दा, मैले सचेत भई पहिले उनका विचारहरू सोध्न थालेँ, र जब उनले आफ्ना दृष्टिकोणहरू व्यक्त गर्थिन्, म ध्यान दिएर सुन्न सक्ने भएँ। केही समयपछि, मैले भ्यालेरीमा सिक्न लायकका सबल पक्षहरू छन्, र उनी अरूका सुझावहरू स्वीकार गर्न र सत्यता खोज्नमा केन्द्रित हुन सक्छिन्, जुन गुणहरू मसँग छैनन् भन्ने थाहा पाएँ। यस बिन्दुमा, मैले महसुस गरेँ मेरो कर्तव्यमा मेरा कमजोरीहरूलाई पूर्ति गर्न सक्ने यस्तो व्यक्तिसँग सहकार्य गर्न पाउनु साँच्चै नै अद्भुत कुरा हो। त्यसैगरी, मैले भ्यालेरीका कमजोरीहरूलाई उचित रूपमा सम्हाल्न सिकेँ, र म सङ्गति गर्ने कोशिस गर्दै उनलाई उनले नबुझेका सिद्धान्तहरू बुझ्न मद्दत गर्थेँ। म कामको प्रभावकारिता सुधार्न सक्ने कुनै तरिकाहरू भेट्टाएमा पनि उनलाई बताउँथेँ। हाम्रो सहकार्य बिस्तारै सुधारियो, र हाम्रा कर्तव्यहरूको समग्र प्रभावकारितामा पनि सुधार भयो। पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “यो सौहार्दपूर्ण सहकार्यले कस्तो प्रभाव पार्नेछ? यसको प्रभाव ठूलो हुन्छ। तैँले आफूसित पहिला कहिल्यै नभएका कुराहरू प्राप्त गर्नेछस्, जुन सत्यताको ज्योति र जीवनका वास्तविकताहरू हुन्; तैँले अरूका गुणहरू पत्ता लगाउनेछस् र तिनीहरूका सबल पक्षबाट सिक्नेछस्। अर्को कुरा पनि छ: तँ अरूलाई मूर्ख, मन्द बुद्धिको, बेवकुफ, आफूभन्दा तुच्छ ठान्छस्, तर जब तँ तिनीहरूको राय सुन्छस् वा अरू मानिसले तँसामु आफ्नो मन खोल्छन्, तब तैँले अनजानमै कोही पनि तैँले सोचे जत्ति साधारण हुँदैन, हरव्यक्तिले फरक सोच र विचार दिन सक्छ, र हरव्यक्तिका आफ्नै गुणहरू हुन्छन् भनेर पत्ता लगाउनेछस्। यदि तैँले सौहार्दपूर्ण रूपमा सहकार्य गर्न सिकिस् भने, त्यसले तँलाई अरूका सबल पक्षबाट सिक्न मद्दत गर्ने मात्र नभई तेरो अहङ्कार र आत्म-धार्मिकता प्रकाश गर्न र तँलाई आफू चलाख छु भन्ने कल्पना गर्नबाट रोक्न सक्छ। जब तँ आफूलाई अरू सबैभन्दा स्मार्ट र राम्रो छु भन्ठान्न छोड्छस्, तब यो आत्मकेन्द्रित र आत्मप्रशंसा गर्ने स्थितिमा जिउन छोड्नेछस्। अनि त्यसले तँलाई बचाउनेछ, होइन र? अरूसँग सहकार्य गर्दा तैँले सिक्नुपर्ने पाठ र लिनुपर्ने लाभ यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। मैले जति धेरै परमेश्वरका वचनहरू पढेँ, त्यति नै मैले ती निकै व्यावहारिक रहेछन् भन्ने महसुस गरेँ। हाम्रा कर्तव्यहरूमा अरूसँग सहकार्य गर्न सिक्नुले कामलाई अझ राम्रो परिणामहरू हासिल गराउने र मेरा आफ्नै कमजोरीहरूलाई पूर्ति गर्न मद्दत गर्ने मात्र होइन, तर यसले मलाई आफ्नै क्षमताहरूलाई अझ सही रूपमा चिन्न, मलाई आफ्नै विचारहरूमा चल्न र मण्डलीको काममा हानि पुऱ्याउनबाट जोगाउन मद्दत गर्छ। यो मण्डलीको कामका साथै मेरा लागि पनि फाइदाजनक थियो।
पछि, एक पटक मैले एउटा पूरा भएको डिजाइन ब्रदर क्यामडेनको समीक्षाका लागि उनीकहाँ पठाएँ। अचम्मको कुरा, उनले समग्र डिजाइन अलि अँध्यारो देखिन्छ भने, र त्यसैले मैले उनीसँग मेरा विचारहरूबारे कुरा गरेँ। तर उनले मेरो दृष्टिकोण स्वीकार गरेनन् र समग्र डिजाइन निकै अँध्यारै रहेको बताए, र उनले मलाई फिर्ता गएर सिद्धान्तहरूअनुसार त्यसलाई मूल्याङ्कन गर्न वा अरू ब्रदर-सिस्टरहरूले पनि त्यही समस्या देख्छन् कि भनेर उनीहरूलाई सोध्न समेत सुझाए। मैले मनमनै सोचेँ, “यहाँ डिजाइन विशेषज्ञ म हुँ, त्यसैले कसलाई बढी थाहा छ, तपाईंलाई कि मलाई? मैले यसलाई सिद्धान्तहरूअनुसार मूल्याङ्कन गरिसकेको छु, त्यसैले कसरी समस्या हुन सक्छ र? अनि अरूसँग सल्लाह लिन लगाउने? मलाई वास्तवमा त्यसको कुनै आवश्यकता छ जस्तो लाग्दैन!” मैले साँच्चै नै उनको खण्डन गर्न चाहेँ। तर त्यसपछि मैले आफूले फेरि अहङ्कारी स्वभाव प्रकट गरिरहेको छु भन्ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई फेरि आफ्नो भ्रष्ट स्वभावअनुसार चल्नबाट जोगाउनुहोस् भनी बिन्ती गरेँ, र म आफैँलाई पन्छाउन र सत्यता सिद्धान्तहरू खोज्न तत्पर छु भनेँ। प्रार्थना गरेपछि, मैले अचानक परमेश्वरका वचनहरूबारे विचार गरेँ: “यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि त्यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या पत्ता लागेमा, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सत्यता खोजेर त्यसमा सँगै सङ्गति गर्नुपर्छ, त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूको हृदयले ज्योति पाउँछ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेको भन्दा राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस्, यदि तैँले आफ्ना कल्पना र विचारहरू त्याग्न सक्छस्, र यदि तैँले अरूको सही राय सुन्न सक्छस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदयले ज्योति पाउनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तैँले त्यसलाई व्यवहारमा लागु गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले त्यस्तो अभ्यास र अनुभवमार्फत तैँले सत्यता अभ्यास गर्न सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले अभ्यासको स्पष्ट मार्ग पाएँ। परिस्थितिहरू आइपर्दा, म पूर्ण रूपमा आत्म-विश्वस्त हुन मिल्दैन, र मैले अरूका सुझावहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ, सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, र परमेश्वरका मागहरूअनुसार अभ्यास गर्नुपर्छ। तब मात्र म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु। सुझाव दिने व्यक्ति विशेषज्ञ नभए तापनि, मैले केवल प्रतिरोध गर्दै त्यसलाई स्वीकार्न अस्वीकार गर्नुको सट्टा, समस्या छ कि छैन भनेर विचार गर्नुपर्छ। त्यसैले मैले तुरुन्तै सुपरभाइजरसँग सल्लाह लिएँ। खोजी र सङ्गतिको माध्यमबाट, मैले अन्ततः आफूले विषयवस्तुलाई गलत बुझेको, र क्यामडेनले उठाएको समस्या साँच्चै नै रहेछ भन्ने महसुस गरेँ।
यो अनुभवपछि, मैले महसुस गरेँ कर्तव्य पूरा गर्नमा सामञ्जस्यपूर्ण सहकार्य अपरिहार्य छ, र अरूका सुझावहरू बढी सुन्दा मण्डलीको कामलाई फाइदा हुने मात्र होइन, मेरो आफ्नै कर्तव्यमा भएका कमी-कमजोरीहरूको पूर्ति समेत हुन्छ। हरेकका सबलता र कमजोरीहरू हुन्छन्, र एक-अर्काको सबल पक्षहरूलाई पूर्ति गरेर र सँगै सामञ्जस्यपूर्ण रूपमा सहकार्य गरेर मात्र हामीले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्छौं। जसरी परमेश्वरले भन्नुहुन्छ: “दाजुभाइ-दिदीबहिनीहरूबीचको सहकार्य भनेको एउटाको कमजोरीलाई अर्को व्यक्तिको सबल पक्षले पूर्ति गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूले तेरा अपर्याप्तताहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। एउटाका कमजोरीहरूलाई अर्काका बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्जस्यपूर्वक सहकार्य गर्नु भनेको यही हो। मानिसहरूले सौहार्दपूर्वक सहकार्य गर्दा मात्र तिनीहरू परमेश्वरसामु आशिषित् हुन सक्छन्, अनि तिनीहरूले जति बढी कामकुरा अनुभव गर्छन्, त्यति नै बढी वास्तविकता प्राप्त गर्न थाल्छन्, र तिनीहरू आफ्नो मार्गमा जति धेरै हिँड्छन्, त्यो त्यति नै चहकिलो बन्छ, अनि तिनीहरूले झन् बढी सहजता महसुस गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)।