७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?
सन् २०२३ को मण्डली चुनावको दौरान, केही ब्रदर-सिस्टरले मलाई मत दिन चाहेको कुरा मैले सुनेँ, तर मलाई हृदयमा अगुवा बन्न मन थिएन। मैले के सम्झेँ भने केही समयअघि, एउटी अगुवाले भेटीहरू स्थानन्तरण गर्न केही ब्रदर-सिस्टरहरूलाई खटाएकी थिइन्, तर गलत व्यक्तिहरू छानेका कारण, ती भेटीहरू ठूलो रातो अजिङ्गरले कब्जा गर्यो, र धेरै ब्रदर-सिस्टर पक्राउ परेका थिए। मण्डलीले विशेष कारणहरू पत्ता लगाउँदै थियो। यस अगुवालाई बर्खास्त नगरिएको भए पनि, यो ठूलो अपराध नै हो। मैले पहिले चिनेकी एउटी सिस्टरबारे पनि सोचेँ, जो आफू अगुवा छँदा, आफ्नो इच्छाअनुसार काम गर्थिन् र काममा ढिलाइ गर्थिन्, अन्त्यमा झूटा अगुवा बनिन् र बर्खास्त भइन्। यी कुराहरूबारे सोच्दा, म चिन्तित भएँ, मैले अगुवा हुनुको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ, र उनीहरूले आफ्ना कार्यमा सिद्धान्तहरू उल्लङ्घन गरे भने कुनै पनि बेला उनीहरू बर्खास्त हुन सक्छन् भन्ने विश्वास गरेँ। मैले सोचेँ, “अहिले परमेश्वरको काम अन्तिम चरणमा पुगेको छ, र यो परमेश्वरले हरेक व्यक्तिको परिणाम निर्धारण गर्ने समय पनि हो। यदि मैले यस महत्त्वपूर्ण क्षणमा, असल कामहरू तयार गर्न नसक्ने मात्र नभई दुष्टता गरेँ र म दोषी ठहरिएँ भने, मैले कसरी असल परिणाम पाउन सक्छु र? जोखिम नउठाई एउटै मात्र काम लिनु नै राम्रो हुनेछ।” यो कुरा मनमा राखेर, म अगुवाको भूमिका लिन अनिच्छुक भएँ। केही दिनपछि, मण्डलीको चुनावमा, मलाई अगुवा चुनियो। यो नतिजा देखेर मलाई खुसी लागेन; बरु, दबिएको र पीडामा भएको महसुस भयो र सोचेँ, “यो स्वीकार नगर्नुले समर्पणताको कमी देखाउँछ। यदि मैले यो स्विकारेँ भने, अरूले भन्दा धेरै मेहनत गर्नुपर्ने र सहनुपर्ने मात्र नभई काम गडबड गरेँ भने, त्यो सानो समस्या हुनेछैन। यदि मैले परमेश्वरको स्वभावलाई चिढ्याएँ भने, परमेश्वरमाथिको मेरो विश्वासको यात्रा समाप्त हुनेछ, र मैले परमेश्वरमा विश्वास गरेका सबै वर्षहरू व्यर्थ हुनेछैनन् र? आफ्नो वर्तमान कर्तव्य व्यावहारिक रूपमा पूरा गर्नु नै उत्तम हुनेछ।” यसरी सोच्दा, मलाई हृदयमा ग्लानि भयो, तर अगुवा हुनुको ठूलो जिम्मेवारी, र गल्ती गर्दा उनीहरूलाई कति छिटो प्रकाश गरिनेछ र हटाइनेछ भन्ने कुरा विचार गर्दा, मैले अझै अगुवाको भूमिका लिन चाहिनँ। मलाई भित्र रस्साकस्सीजस्तै निरन्तर सङ्घर्ष चलिरहेको महसुस भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसँग अगुवाइ र मार्गदर्शन मागेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, र म गहिरो रूपमा प्रभावित भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँलाई कुनै निश्चित कर्तव्य निर्वाह गर्न सक्छु जस्तो लाग्छ, तर तँ आफूले गल्ती गर्ने र आफूलाई हटाइने डर पनि मान्छस्, त्यसैले तँ कायर र सुस्त हुन्छस् अनि अघि बढ्न सक्दैनस् भने, के त्यो समर्पणको मनोवृत्ति हो? उदाहरणको निम्ति, यदि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तिनीहरूको अगुवाको रूपमा छनौट गर्छन् भने, तँ यो कर्तव्य पूरा गर्न बाध्य भएको महसुस गर्छस्, किनकि तँ छानिएको थिइस्, तर तँ यस कर्तव्यलाई सक्रिय मनोवृत्तिले हेर्दैनस्। तँ किन सक्रिय बन्दैनस्? किनकि तँसित त्यसबारे सोचहरू छन् र तँलाई यस्तो लाग्छ, ‘अगुवा हुनु बिलकुल राम्रो कुरा होइन। यो छुरीको धारमाथि हिँड्नु वा पातलो बरफमाथि टेक्नु जस्तै हो। यदि मैले असल काम गरेँ भने, कुनै इनाम पाउनेछैनँ, तर यदि मैले नराम्रो काम गरेँ भने मलाई काटछाँट गरिनेछ। काटछाँट हुनु नै यसको सबैभन्दा नराम्रो नतिजा पनि होइन। यदि मलाई बर्खास्त गरियो वा हटाइयो भने के गर्ने? यदि त्यसो भयो भने, मेरा सम्भावनाका सबै ढोकाहरू बन्द हुनेछैनन् र?’ त्यो अवस्थामा तँलाई दुविधा महसुस हुन थाल्नेछ। यो कस्तो मनोवृत्ति हो? यो सतर्क रहनु र गलत बुझ्नु हो। मानिसहरूले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यो होइन। यो नकारात्मक मनोवृत्ति हो। त्यसोभए, सकारात्मक मनोवृत्ति कस्तो हुनुपर्छ त? (हामी खुला हृदयको र निष्कपट हुनुपर्छ, अनि हामीमा बोझहरू उठाउने साहस हुनुपर्छ।) यो समर्पणता र सक्रिय सहकार्यको मनोवृत्ति हुनुपर्छ। तिमीहरूको कुरा अलि खोक्रो छ। तँ यस्तो डराउँछस् भने कसरी खुला हृदयको र निष्कपट हुन सक्छस्? अनि बोझहरू उठाउने साहस हुनु भनेको के हो? कस्तो मानसिकताले तँलाई बोझहरू उठाउने साहस दिनेछ? यदि तँ सधैँ केही गलत हुनेछ र तैँले त्यो सम्हाल्न सक्नेछैनस् भनी डराउँछस्, र तेरा थुप्रै आन्तरिक बाधाहरू छन् भने, आधारभूत रूपमा तँसित बोझहरू उठाउने साहस हुनेछैन। तिमीहरूले भन्ने ‘खुला हृदयको र निष्कपट हुनु,’ ‘बोझहरू उठाउने साहस राख्नु,’ वा ‘मृत्युको मुखमा समेत कहिल्यै पछि नहट्नु’ कताकता रिसाहा जवान मानिसहरूले फलाक्ने नाराजस्ता सुनिन्छन्। के यी नाराहरूले व्यावहारिक समस्याहरू समाधान गर्न सक्छन्? अहिले चाहिएको भनेको सही मनोवृत्ति हो। सही मनोवृत्ति बोक्नका लागि, तैँले सत्यताको यो पक्ष बुझ्नैपर्छ। तेरा आन्तरिक कठिनाइहरू समाधान गर्ने, र सहज रूपमा यो आज्ञा अर्थात् यो कर्तव्य स्विकार्ने एउटै मात्र उपाय यही हो। यो अभ्यासको बाटो हो, अनि केवल यही नै सत्यता हो। यदि तैँले महसुस गर्ने डरलाई सम्बोधन गर्न तँ ‘खुला हृदयको र निष्कपट हुने’ अनि ‘बोझहरू उठाउने साहस राख्ने’ जस्ता शब्दहरू प्रयोग गर्छस् भने, के यो प्रभावकारी हुनेछ र? (हुँदैन।) यसले यी कुराहरू सत्यता होइनन्, न त ती अभ्यासको बाटो हुन् भन्ने सङ्केत गर्दछ। तैँले भन्न सक्लास्, ‘म खुला हृदयको र निष्कपट हुँ, म अदम्य कदको छु, मेरो हृदयमा अरू कुनै सोचहरू वा दूषकहरू छैनन्, र मसित बोझ उठाउने साहस छ।’ बाहिरी रूपले, तँ आफ्नो कर्तव्य सम्हाल्छस्, तर पछि, यसलाई केही समयसम्म मनन गरिसकेपछि, तँलाई अझै यसलाई वहन गर्न सक्दिनँ जस्तो लाग्छ। तँलाई अझै डर लाग्ला। यसको अतिरिक्त, तैँले अरू काटछाँट भएको देख्न सक्छस्, अनि आफ्नै छायासँग डराउने व्यक्ति जस्तो तँ झन् धेरै डराउन सक्छस्। तैँले लगातार आफ्नो कद धेरै सानो भएको अनि यो कर्तव्य विशाल, पारै गर्न नसकिने अगाध खाँद जस्तै भएको अनुभव गर्नेछस्, अनि अन्ततः तँ अझै यो बोझ वहन गर्न असक्षम हुनेछस्। यसकारण नाराहरू फलाकेर व्यावहारिक समस्याहरू समाधान गर्न सकिँदैन। त्यसोभए वास्तवमा तँ यो समस्या कसरी समाधान गर्न सक्छस्? तैँले सक्रिय रूपमा सत्यता खोज्ने र समर्पण र सहकार्यको मनोवृत्ति अपनाउने गर्नुपर्छ। त्यसले समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। कायरता, डर, र चिन्ता बेकारका कुरा हुन्। के तेरो खुलासा हुनु र तँ निकालिनु र अगुवा बन्नुबीच कुनै सम्बन्ध छ? यदि तँ अगुवा होइनस् भने, के तेरो भ्रष्ट स्वभाव हराउनेछ? ढिलोचाँडो तैँले तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्नैपर्छ। यसका साथै, यदि तँ अगुवा होइनस् भने, तँसित अभ्यास गर्ने थप अवसरहरू हुनेछैनन् र तैँले जीवनमा सुस्त प्रगति गर्नेछस्, र सिद्ध पारि थोरै मात्र मौकाहरू पाउनेछस्। अगुवा वा सेवक हुनुमा अलि बढी दुःख भए पनि, यसले धेरै लाभहरू पनि दिन्छ, र यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस् भने, तँलाई सिद्ध पार्न सकिन्छ। त्यो अत्यन्तै ठूलो आशिष् हो! त्यसैले तैँले समर्पण र सक्रिय सहकार्य गर्नुपर्छ। यो तेरो कर्तव्य हो र तेरो उत्तरदायित्व हो। अगाडिको बाटो जे-जस्तो भए पनि, तँसित समर्पणताको हृदय हुनुपर्छ। तैँले यही मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरका वचनले मेरो हृदयका सोचहरूलाई यति राम्ररी खुलासा गरे कि मलाई लाज र अप्ठ्यारो लाग्यो। मैले आफू अगुवा बन्न किन यति डराएकी थिएँ भनेर आत्मचिन्तन गरेँ। यसको कारण के थियो भने, मैले एउटी अगुवाले भेटीहरू स्थानन्तरण गर्ने प्रबन्ध मिलाउँदा गलत मानिसहरू छानेकी, परिणामस्वरूप भेटीहरू ठूलो रातो अजिङ्गरले कब्जा गरेको र धेरै ब्रदर-सिस्टर पक्राउ परेका, अनि परमेश्वरको घरले त्यस मामिलालाई कसरी अनुसन्धान र समाधान गरिरहेको थियो भनेर देखेकी थिएँ। त्यसैले, यदि म अगुवा बनेँ र काममा ठूलो गल्ती गरेँ भने, त्यसले मण्डलीलाई हानि मात्र गर्नेछैन, तर ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा पनि ढिलाइ गर्नेछ भनेर म चिन्तित भएकी थिएँ। त्यो ठूलो अपराध हुनेथ्यो, र मलाई छिट्टै प्रकाश गरिने र हटाइनेथियो। त्यसैले, एउटै मात्र काम लिनु सुरक्षित हुनेथियो। मैले निरन्तर आफ्नै हितलाई मात्र विचार गरेकी थिएँ, अगुवा हुनुको कर्तव्य स्विकार्ने आँट गरेकी थिइनँ। मैले आफू समर्पणताको नामोनिसान नभएको एकदमै स्वार्थी भएकी छु भन्ने देखेँ। अगुवा हुनुमा अझ धेरै काम समावेश भए पनि, यसले तालिमका लागि अझ धेरै अवसर, सत्यता प्राप्त गर्ने अझ धेरै मौका, र अझ द्रुत जीवन वृद्धि प्रदान गर्छ। यसको पछाडि परमेश्वरका गम्भीर अभिप्रायहरू थिए, तर मैले परमेश्वरका अभिप्रायहरू बुझिनँ, र बरु आफ्नो हृदयमा परमेश्वरप्रति सतर्कता र गलतफहमी पालेँ। के त्यो परमेश्वरलाई गहिरो चोट पुग्ने कुरा थिएन र? म समर्पित हुनुपर्थ्यो र मैले सक्रिय रूपमा सहकार्य गर्नुपर्थ्यो, परमेश्वरप्रतिको आफ्नो सतर्कता र गलतफहमीहरू समाधान गर्न सत्यता खोज्नुपर्थ्यो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व कर्तव्यमा लगाए पनि, आफ्नो जागिरबाट राजीनामा दिए पनि र आफ्नो परिवार त्यागे पनि, यदि तिनीहरू आफ्नो हृदय परमेश्वरलाई दिँदैनन् भने र परमेश्वरबाट आफ्नो प्रतिरक्षा गर्छन् भने, के त्यो राम्रो स्थिति हो? के त्यो सत्यता वास्तविकतामा प्रवेश गर्ने सामान्य स्थिति हो? के त्यो स्थितिको भावी विकासक्रम डरलाग्दो छैन? यदि मान्छेले यो स्थिति जारी राख्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले जीवन प्राप्त गर्न सक्छन्? के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूको अवस्था पनि यस्तै छ भनेर तिमीहरू सचेत छौ? जब तिमीहरू यसबारे सचेत हुन्छौ, के तिमीहरू यस्तो सोच्छौ: ‘म किन सधैँ परमेश्वरबाट आफ्नो प्रतिरक्षा गर्छु? म किन सधैँ यसरी सोच्छु? यसरी सोच्नु साह्रै डरलाग्दो हुन्छ! यो त परमेश्वरको विरोध गर्नु र सत्यता अस्वीकार गर्नु हो। परमेश्वरबाट आफ्नो प्रतिरक्षा गर्नु उहाँको विरोध गर्नुजस्तै हो’? परमेश्वरबाट आफ्नो प्रतिरक्षा गर्नु भनेको चोर हुनुजस्तै हो—तिमीहरू ज्योतिमा जिउने आँट गर्दैनौ, आफ्नो राक्षसी अनुहार खुलासा गर्न डराउँछौ, र साथै, त्रसित भई यस्तो सोच्छौ: ‘परमेश्वरसँग जोरी खोज्नु हुँदैन। उहाँले हर समय र स्थानमा मानिसहरूलाई न्याय र सजाय गर्न सक्नुहुन्छ। परमेश्वरलाई क्रोधित तुल्याइयो भने, हल्का अवस्थामा उहाँले काटछाँट गर्नुहुनेछ, तर गम्भीर अवस्थामा उहाँले दण्ड दिनुहुनेछ, बिरामी बनाउनुहुनेछ, वा कष्ट भोगाउनुहुनेछ। मानिसहरूले यी कुराहरू सहन सक्दैनन्!’ के मानिसहरूमा यस्ता गलत बुझाइ छैनन्? के यो परमेश्वरको डर मान्ने हृदय हो? (होइन।) के यस्तो स्थिति डरलाग्दो हुँदैन? जब मान्छे यस स्थितिमा हुन्छ, जब तिनीहरूले परमेश्वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र सधैँ यी विचारहरू अँगाल्छन्, जब तिनीहरूसँग परमेश्वरप्रति सधैँ यसप्रकारको मनोवृत्ति हुन्छ, के तिनीहरूले परमेश्वरलाई परमेश्वरजस्तै व्यवहार गरिरहेका हुन्छन्? के यो परमेश्वरमाथिको विश्वास हो? जब मान्छेले परमेश्वरमा यस तरिकाले विश्वास गर्छ, जब तिनीहरूले परमेश्वरलाई परमेश्वरजस्तै व्यवहार गर्दैनन्, के त्यो समस्या होइन? न्यूनतम रूपमा, मानिसहरूले परमेश्वरको धर्मी स्वभावलाई स्वीकार गर्दैनन्, न त उहाँको कामको तथ्यलाई नै स्वीकार गर्छन्। तिनीहरू सोच्छन्: ‘यो सत्य हो कि परमेश्वर कृपालु र प्रेमिलो हुनुहुन्छ, तर उहाँ क्रोधपूर्ण पनि हुनुहुन्छ। जब परमेश्वरको क्रोध कुनै व्यक्तिमाथि पर्छ, त्यो विनाशकारी हुन्छ। उहाँले जुनसुकै बेला मानिसलाई प्रहार गरी मार्न सक्नुहुन्छ, जसलाई चाह्यो उसलाई नष्ट गर्न सक्नुहुन्छ। परमेश्वरको क्रोधलाई ननिम्त्याऊ। यो सत्य हो, उहाँको प्रताप र क्रोधले उल्लङ्घनको कुनै अनुमति दिँदैन। उहाँबाट आफ्नो दूरी राख!’ यदि मान्छेमा यस्तो मनोवृत्ति र यी विचारहरू छन् भने, के तिनीहरू पूर्ण रूपमा र इमानदारीपूर्वक परमेश्वरको सामु आउन सक्छन्? सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ)। मैले परमेश्वरका वचनहरूमा मनन गर्दा र आत्मचिन्तन गर्दा, के महसुस गरेँ भने मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी भए पनि, बाहिरबाट हेर्दा आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र पेशा त्यागेकी भएपनि, वास्तवमा परमेश्वरलाई आफ्नो हृदय कहिल्यै दिएकी थिइनँ। म सधैँ “जति अल्गो चढियो, त्यति नै नराम्ररी झरिन्छ” र “टुप्पोमा एक्लै भइन्छ” भन्नेजस्ता बाँच्नेसम्बन्धी शैतानका नियमहरूमा टाँसिएकी थिएँ, मैले तिनलाई आदर्श-वाक्य र बुद्धिमान् शब्दहरूका रूपमा लिएकी थिएँ। म परमेश्वरको धर्मी स्वभावमा विश्वास नगरी बाँच्नेसम्बन्धी शैतानका नियमहरूअनुसार जिइरहेकी थिएँ। मैले परमेश्वरको घरलाई निष्पक्षता र धार्मिकता नभएको संसारजस्तै ठानेकी थिएँ, र मैले परमेश्वर भ्रष्ट मानिसहरूजस्तै भएको कल्पना गरेकी थिएँ, सानो, अनजानमा भएको गल्तीले पनि दोषी ठहराइनेछ र हटाइनेछ भन्ने विश्वास गरेकी थिएँ। त्यसैले मैले अरूलाई काटछाँट वा बर्खास्त गरिएको देख्दा, म आफ्नो हृदयमा परमेश्वरप्रति अझ बढी सतर्क बनेकी थिएँ। यदि म अगुवा बनेँ र काम राम्ररी गरिनँ भने, मलाई बर्खास्त गरिनेछ र हटाइनेछ, र एउटै मात्र काम गर्नु नै सुरक्षित हुनेछ भनेर चिन्तित भएकी थिएँ। यी भ्रामक दृष्टिकोणहरूका कारण, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सकिनँ। वास्तवमा, कुनै व्यक्तिलाई प्रकाश गरिने-नगरिने र हटाइने-नहटाइने कुराको उसको हैसियतसँग कुनै सम्बन्ध हुँदैन। यो उसले हिँड्ने मार्गद्वारा निर्धारित हुन्छ। यदि कसैले सत्यता पछ्याउँदैन भने, ऊसँग हैसियत नभए पनि, उसलाई अझै पनि प्रकाश गरिनेछ र हटाइनेछ। कतिपय अगुवा र कामदारको काममा विचलन वा असफलताहरू हुन सक्छन्, तर उनीहरूले पछि सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्छन्, सिद्धान्तहरूअनुसार काम गर्न हरप्रयास गर्छन्, र उनीहरूले जति धेरै आफ्नो कर्तव्य निर्वाह गर्छन्, सत्यताबारे उति नै धेरै बुझाइ प्राप्त गर्छन्। यस्ता मानिसहरूका लागि, अगुवाको भूमिका लिनु भनेको उनीहरूलाई सिद्ध पार्न सकिने माध्यम हो। मैले पहिले चिनेकी अगुवालाई बर्खास्त गरिएको थियो किनभने उनले सत्यता सिद्धान्तहरूमा समय र ऊर्जा लगाइनन्, काममा अवरोध र बाधा पुऱ्याइन्, र हठी भई आफूलाई चिन्न इन्कार गरिन्। उनका समस्याहरू खुलासा गरिँदा र सङ्गति गरिँदासमेत, उनले पश्चात्ताप गर्नुको सट्टा बहस र आफ्नो बचाउ गरिन्। यसले गर्दा उनलाई बर्खास्त गरियो। साथै, परमेश्वरको घरबाट निष्कासित गरिएका ती ख्रीष्टविरोधीहरू हैसियतले गर्दा बर्बाद भएका थिएनन्, वा एउटै अपराधका कारण हटाइएका थिएनन्। यो त उनीहरूले आफू अगुवा हुँदा जथाभाबी र निरङ्कुश व्यवहार गरेका, र स्वतन्त्र राज्यहरू स्थापना गर्न गुटहरू बनाएका कारणले थियो, जसले मण्डलीको काममा गम्भीर रूपमा अवरोध पुऱ्याएको थियो। काटछाँट र चेतावनी दिइएपछि समेत, उनीहरूले हठी भई पश्चात्ताप गर्न इन्कार गरेका थिए। उनीहरूलाई निष्कासित गरियो र हटाइयो किनभने उनीहरू सत्यताप्रति वितृष्णा राख्ने र त्यसलाई घृणा गर्ने मानिसहरूको वर्गमा पर्छन्। उनीहरूको असफलता उनीहरूको प्रकृति सार र उनीहरू हिँडेको मार्गद्वारा निर्धारित थियो। परमेश्वरको घरमा, कसैलाई बर्खास्त गर्ने वा हटाउने निर्णय कुनै व्यक्तिको क्षणिक व्यवहार वा उसले गरेको एउटै गल्तीमा आधारित हुँदैन, बरु उसको प्रकृति सार र निरन्तरको व्यवहारमा आधारित हुन्छ। यसबाहेक, परमेश्वरले प्रत्येक व्यक्तिलाई पश्चात्तापका लागि धेरै अवसरहरू दिनुहुन्छ। गल्ती गरेको पाइएको जो कोहीलाई निष्कासित गरिनेछ वा हटाइनेछ भन्ने होइन। हाम्रो मण्डलीकी अगुवाजस्तै, भेटीहरू हस्तान्तरण गर्ने बन्दोबस्तहरूमा ठूलो समस्या भएको भए तापनि, उनले पछि सत्यता खोजिन्, आत्मचिन्तन गरिन्, र पश्चात्ताप गर्ने इच्छा देखाइन्। फलस्वरूप, अहिलेसम्म उनलाई बर्खास्त गरिएको छैन। मैले “जति अल्गो चढियो, त्यति नै नराम्ररी झरिन्छ” भन्ने भनाइप्रतिको मेरो विश्वास मूलतः सत्यताअनुरूप छैन भन्ने देखेँ, र आफ्नो दृष्टिकोण कति विकृत रहेछ भनी बुझेँ! म निरन्तर आफ्नै भविष्य र भवितव्यबारेा चिन्तित भएकी थिएँ, यदि म अगुवा बनेँ र काम गडबड गरेँ भने, मैले राम्रो परिणाम र गन्तव्य पाउनेछैनँ भनेर डराएँ। यदि यी गलत पछ्याइ र गलत दृष्टिकोणहरूलाई सत्यता खोजेर समाधान नगरिएको भए, म अगुवा नबने पनि, परमेश्वरको प्रतिरोध गर्ने मेरो प्रकृतिले गहिरो जरा गाडेको हुनाले, अन्ततः म हटाइनेथिएँ। त्यो क्षण, मलाई शैतानको दर्शनअनुसार जिउनु साँच्चै खतरनाक हो भन्ने लाग्यो, किनकि यसले मलाई कुनै पनि बेला वा स्थानमा परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँबाट तर्किन लगाउन सक्थ्यो।
त्यसपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष् र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरपर्दो र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूप सिर्जित प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूप सिर्जित प्राणी बन्ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने ख्रीष्टविरोधीहरूले जुनै परिस्थिति सामना गरे पनि, पहिले आफूले आशिष् पाउन सक्छु कि सक्दिनँ भनेर विचार गर्छन्। जबसम्म कुनै कुरा आशिष पाउनका लागि लाभदायक हुन्छ, तबसम्म उनीहरूले त्यो गर्नेछन्, तर यदि लाभदायक हुँदैन भने, उनीहरूले त्यो गर्नेछैनन्। उनीहरू आफ्नो जिम्मेवारी वा कर्तव्यलाई कहिल्यै विचार गर्दैनन्, न त परमेश्वरको घरको हितलाई नै विचार गर्छन्। आफ्नै व्यवहारबारे चिन्तन गर्दा, मैले त्यसरी नै व्यवहार गरेकी रहेछु भन्ने बुझेँ। ब्रदर-सिस्टरहरूले मलाई अगुवाका रूपमा चुनेका थिए—यो त परमेश्वरद्वारा उचालिनु र मेरा लागि तालिम लिने अवसर थियो। मैले सक्रिय रूपमा सहकार्य गर्नुपर्थ्यो, तर मैले आशिष् पाउनुलाई एकदमै धेरै महत्त्व दिएकी थिएँ, आफ्नै भविष्य र भवितव्यलाई पहिले विचार गरेकी थिएँ। मैले अगुवा हुनुका ठूलो जिम्मेवारी र यदि आफूले कुनै अपराध गरेमा, आफ्नो भविष्य र गन्तव्यमा पर्ने सम्भावित नकारात्मक असरबारे सोच्नेबित्तिकै, म त्यो भूमिका लिन अनिच्छुक बनेँ। मैले आफ्ना कर्तव्य र जिम्मेवारीहरूभन्दा आशिष् पाउनुलाई बढी महत्त्वपूर्ण ठानेकी थिएँ। म साँच्चै स्वार्थी र मानवताहीन भएकी थिएँ! यो बुझेपछि, मैले परमेश्वरलाई पश्चात्तापको प्रार्थना गरेँ, र सक्रिय रूपमा अगुवा हुनुको कर्तव्य स्विकारेँ।
त्यसको केही समयपछि नै, मलाई भेटीहरू हस्तान्तरण गर्ने जिम्मा दिइयो। मलाई अझै हृदयमा केही डर महसुस भयो, आफ्नो अनुचित प्रबन्धका कारण कुनै त्रुटि होला कि भन्ने चिन्ता लाग्यो, त्यसैले म पछि हट्न चाहेँ। त्यस क्षणमा, मैले यो स्थिति ठिक छैन भनेर थाहा पाएँ, त्यसैले म प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, मैले आफू एकदमै स्वार्थी छु र फेरि आफ्नै भविष्य र भवितव्यमा ध्यान केन्द्रित गरेकी छु भन्ने बुझेकी छु। आज मलाई आएको यो कर्तव्य तपाईँले लिनुभएको मेरो परीक्षा हो। म आफ्नै हितलाई विचार गर्दै डरमा जिउनु हुँदैन। अबउसो म व्यक्तिगत लाभ वा हानिलाई विचार नगरी तपाईँमा भर पर्नुपर्छ र मैले सिद्धान्तहरूअनुसार सहकार्य गर्नुपर्छ, सक्रिय रूपमा यो बोझ उठाउनुपर्छ।” प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण र निर्णायक क्षणमा अग्रसर हुँदै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाई भोग्न डराउँदैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा इन्साफ वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणित मानिसहरू हुन्, परमेश्वरमा साँचो हृदयले विश्वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने सच्चा रूपमा परमेश्वरमा विश्वास गर्ने र असल मानवता भएकाहरूले आफ्ना कर्तव्य जिम्मेवारी बोधका साथ पूरा गर्छन्। उनीहरू व्यक्तिगत लाभ वा हानिलाई विचार नगरी परमेश्वरको घरका हितहरूलाई जोगाउँछन्। विशेष गरी महत्त्वपूर्ण काममा, उनीहरू कठिनाइहरूको सिधै सामना गर्छन्, र गह्रौँ बोझ उठाउन र परमेश्वरका अभिप्रायहरूलाई विचार गर्न सक्षम हुन्छन्। जतिसुकै ठूलो जोखिम भए पनि, उनीहरू पछि हट्दैनन् तर परमेश्वरमा भर परेर कामकुरा अनुभव गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरूमा साँच्चै विवेक र समझ हुन्छ। उनीहरू मण्डलीका खम्बा र ती मानिस हुन्, जसमा परमेश्वर रमाउनुहुन्छ। तर आफ्नो कर्तव्य निर्वाहमा निरन्तर आफ्नै लाभ र हानिलाई विचार गर्ने, र परमेश्वरको घरका हितको पटक्कै रक्षा नगर्नेहरूमा मानवताको कमी हुन्छ, उनीहरू स्वार्थी र घृणित हुन्छन्। परमेश्वरको नजरमा, उनीहरू अविश्वासी र गैरविश्वासी हुन्। यो सब मनन गर्दा, मलाई दुःख र आत्म-ग्लानि महसुस भयो, अनि म यो जिम्मेवारी लिन र भेटीहरूलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा सार्न सक्रिय रूपमा सहकार्य गर्न इच्छुक भएँ। यसरी अभ्यास गरेपछि, मलाई हृदयमा शान्ति र आश्वासनको अनुभूति भयो।
यदि परमेश्वरले मलाई प्रकट गर्न वातावरणहरू प्रबन्ध नगर्नुभएको भए, मैले आफ्नो स्वार्थी र घृणित भ्रष्ट स्वभाव र के पछ्याउने भन्नेबारेका मेरा गलत दृष्टिकोणहरू थाहा पाउनेथिइनँ, न त मानिसहरूलाई मुक्ति दिनमा परमेश्वरको श्रमसाध्य प्रयासलाई नै बुझ्नेथिएँ। म यी वातावरणहरू प्रबन्ध गरिदिनुभएकामा, र उहाँका वचनमार्फत पाएको अन्तर्दृष्टि र मार्गदर्शनका लागि परमेश्वरप्रति कृतज्ञ छु, जसले गर्दा यो ज्ञान र रूपान्तरण प्राप्त भयो।