८२. आमाको मृत्युको शोकबाट म कसरी बाहिर निस्केँ

जिहान, चीन

सन् २०१९ को जुनमा, म आफ्नो कर्तव्य निर्वाह गर्न अर्को क्षेत्रमा गएँ। म एक वर्षभन्दा बढी समय घर फर्किनँ, त्यसैले मेरा गैरविश्‍वासी श्रीमानले मेरो र मेरी आमाका बारेमा उजुरी गरिदिए। प्रहरीबाट पक्राउ पर्छु भन्ने डरले, त्यसबेलादेखि मैले घर फर्कने आँट गरेकी थिइनँ, न त आमालाई भेट्ने आँट नै गरेकी थिएँ। म अक्सर उहाँका बारेमा सोच्थेँ, “मेरी आमा बुढी हुँदै जानुभएको छ, बुबा पनि चाँडै बित्नुभयो, र उहाँको हेरचाह गर्ने कोही आफन्त छैन। अब मेरो श्रीमानले उजुरी गरिदिएपछि, उहाँले ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्ने आँट पनि गर्नुहुन्न। अहिले उहाँको स्थिति कस्तो छ वा उहाँ कसरी बसिरहनुभएको छ, मलाई थाहा छैन।” मेरी आमाले मलाई हुर्काउन धेरै दुःख गर्नुभयो, र अब उहाँको बुढेसकालमा हेरचाह गर्ने मान्छे चाहिने बेलामा, म छोरीको धर्म निभाउन उहाँको छेउमा हुन नसकेको मात्र होइन, मैले उहाँलाई पनि जोखिममा पारेर डरमा बाँच्न बाध्य बनाएँ। जब-जब म यो कुरा सोच्थेँ, मलाई साह्रै दुःख लाग्थ्यो र आमाप्रति ऋणी महसुस गर्थेँ, अनि म त्यो दिनको प्रतीक्षामा थिएँ, जब म घर फर्केर उहाँलाई भेट्न र सन्तानको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सकूँ। तर घर फर्कँदा प्रहरीले पक्रन्छ कि भन्ने डर थियो, र म आफ्नो कर्तव्यमा पनि व्यस्त थिएँ, त्यसैले म उहाँलाई भेट्न घर जान सकेकी थिइनँ।

सन् २०२३ को जुलाईमा, एउटा भेलाको क्रममा, मैले एउटी सिस्टरबाट थाहा पाएँ मेरी आमालाई मनोभ्रंश भएको रहेछ, र उहाँ आफ्नो हेरचाह आफैँ गर्न नसक्ने भएर अहिले वृद्धाश्रममा बस्दै हुनुहुन्छ। यो कुरा सुन्दा मैले पत्याउनै सकिनँ। मेरी आमालाई कसरी मनोभ्रंश हुन सक्यो? उहाँ आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्नथ्यो, र उहाँको हेरचाह गर्न वरिपरि कोही आफन्त थिएनन्। उहाँले कति धेरै दुःख भोग्नुपरेको होला, मैले कल्पना पनि गर्न सकिनँ! मैले भेलामा आफ्नो भावनालाई मुस्किलले रोकेँ। पछि, राति शान्त भएपछि, मैले सोचेँ, “मेरी आमालाई कसरी मनोभ्रंश हुन सक्छ? यदि उहाँलाई अरू कुनै रोग लागेको भए, कम्तीमा उहाँको दिमाग त ठीक हुन्थ्यो, र बिरामी पर्दा उहाँले मनन गर्न, आफूलाई चिन्न र पाठ सिक्न सक्नुहुन्थ्यो, र सायद उहाँ रोगबाट निको पनि हुन सक्नुहुन्थ्यो। तर अब उहाँको दिमागले नै सामान्य रूपमा काम नगरेपछि, उहाँले मुक्ति पाउने आशा कसरी गर्न सकिन्छ र?” मेरो श्रीमानले म र मेरी आमाका बारेमा उजुरी गरिदिएकै कारणले मेरी आमालाई मनोभ्रंश भएको होला भन्ने पनि मलाई लाग्यो। यसले गर्दा उहाँ भेला र आफ्नो कर्तव्यबाट वञ्चित हुनुभयो, र मेरा लागि चिन्ता पनि लिनुपर्‍यो। सायद यसैले उहाँको दिमागमा असर परेको होला। यदि मैले आफ्नै गृहनगरमा कर्तव्य निर्वाह गर्न सकेकी भए, म उहाँको हेरचाह गर्न सक्थेँ र उहाँलाई परमेश्‍वरका वचनहरूको सङ्गति गरेर साथ-सहयोग पनि दिन सक्थेँ, र सायद उहाँलाई यो रोग लाग्ने थिएन होला। मेरी आमालाई मेरो हेरचाह सबैभन्दा बढी चाहिएको बेलामा, म उहाँको छेउमा हुन सकिनँ। मजस्तो छोरी पाउनुको के नै अर्थ भयो र? मैले आमाप्रति गहिरो रूपमा ऋणी महसुस गरेँ। मलाई आफ्नो कर्तव्य गर्ने जाँगर नै थिएन र आफ्नो कर्तव्य गर्न अर्को क्षेत्रमा आएकोमा समेत पछुतो लाग्यो।

सुपरिवेक्षकले मेरो अवस्थाबारे थाहा पाएपछि, उहाँले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाउनुभयो: “तैँले आफ्ना आमाबुबा सिकिस्त बिरामी परेको वा तिनीहरूले कुनै ठूलो दुर्भाग्य सामना गरेको विषयलाई अत्यधिक विश्‍लेषण वा अनुसन्धान गर्न आवश्यक छैन, र तैँले पक्‍कै पनि यसमा ऊर्जा लगाउनु हुँदैन—त्यसो गर्नुको कुनै फाइदा हुनेछैन। मानिस जन्मनु, बूढो हुनु, बिरामी पर्नु, मर्नु, र जीवनका विभिन्‍न ठूला-साना मामिलाहरू सामना गर्नु अत्यन्तै सामान्य कुराहरू हुन्। यदि तँ वयस्क होस् भने, तँसँग परिपक्‍व सोचाइ हुनुपर्छ, र तैँले यस विषयलाई शान्त र सही तरिकाले हेर्नुपर्छ: ‘मेरा आमाबुबा बिरामी छन्। तिनीहरूले मलाई धेरै याद गरेका कारण यस्तो भएको हो भनेर कतिपय मानिसहरूले भन्छन्, तर के यो सम्भव छ? तिनीहरूले पक्‍कै पनि मलाई सम्झन्थे—कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई नसम्झी कसरी बस्‍न सक्छ र? मलाई पनि तिनीहरूको याद आउँथ्यो, तैपनि म किन बिरामी भइनँ?’ के कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई धेरै याद गरेका कारण ऊ बिरामी हुन्छ र? त्यस्तो हुँदैन। त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्‍न सकिन्छ कि, परमेश्‍वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्‍वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्‍नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्‍वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको भए पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्‍नेथिएनन्, होइन र? (हो।) परमेश्‍वरमा विश्‍वास नगर्ने ती मानिसहरूका बारेमा सोच्—के तिनीहरूको परिवार वर्षैपिच्छे नै सँगै हुँदैनन्? ती आमाबुबाले ठूलो दुर्भाग्य सामना गर्दा, तिनीहरूको परिवारका सदस्यहरू र तिनीहरूका सन्तान सबै तिनीहरूसँगै हुन्छन्, होइन र? जब आमाबुबा बिरामी पर्छन्, वा जब तिनीहरूको रोग बिग्रन्छ, तब के तिनीहरूका सन्तानले तिनीहरूलाई छोडेका कारण यस्तो भएको हुन्छ? त्यस्तो हुँदैन, यस्तो हुन्छ भनेर नियतिमा लेखिएको हुन्छ। यति मात्र हो कि, तिनीहरूको सन्तानका रूपमा, तेरा आमाबुबासँग तेरो रगतको नाता हुन्छ, त्यसकारण तिनीहरू बिरामी छन् भन्‍ने सुन्दा तँ दुःखी हुन्छस्, जबकि अरू मानिसहरूले केही पनि महसुस गर्दैनन्। यो सामान्य कुरा हो। तर, तेरा आमाबुबाले यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नुको मतलब यसलाई कसरी हटाउने वा समाधान गर्ने भनेर तैँले विश्‍लेषण र अनुसन्धान गर्नुपर्छ वा यसबारे सोच्‍नुपर्छ भन्‍ने होइन। तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्‍वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्। यदि तँ यस मामिलालाई आफै समाधान गर्न चाहन्छस्, यदि तँ यस मामिलाको स्रोत, कारण र परिणामहरूको विश्‍लेषण र अनुसन्धान गर्न चाहन्छस् भने, त्यो मूर्ख विचार हो। यो कुनै कामको छैन, र यो अनावश्यक कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन पढेपछि, मैले बुझेँ कि मानिसको जन्म, बुढ्यौली, बिमारी र मृत्यु परमेश्‍वरले निर्धारण गर्नुभएका नियमहरू हुन्। एक व्यक्तिले जीवनमा भोग्नुपर्ने कठिनाइ र दुःखहरू सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र मैले यी कुराहरूलाई मानवीय दृष्टिकोणबाट विश्लेषण वा अध्ययन गर्नुहुँदैन। मैले गर्नुपर्ने भनेको ती कुराहरू परमेश्‍वरबाट आएको हो भनेर स्वीकार्नु र उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सिक्नु हो। मेरी आमालाई मनोभ्रंश भएको थियो, र यो उहाँले भोग्नुपर्ने दुःख थियो, यो उहाँकै भाग्यसँग सम्बन्धित थियो, र यो उहाँले मेरो चिन्ता लिएर वा म उहाँको हेरचाह गर्न त्यहाँ नभएर भएको थिएन। तर मैले गल्तीवश, यदि म उहाँको हेरचाह गर्न र उहाँलाई जीवन प्रवेशमा मदत गर्न त्यहाँ भएकी भए, उहाँलाई यो रोग लाग्ने थिएन भन्ने सोच्न पुगेँ। यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई नबुझ्नु, अनि एउटा विकृत सोच थियो। मैले यस संसारका आमाबुबाका बारेमा सोचेँ, जसमध्ये कतिपयका छोराछोरी उनीहरूको साथमा र हेरचाह गर्न छेउमै हुन्छन्। तैपनि उनीहरूले आफूलाई लाग्नुपर्ने रोगहरू भोग्छन् र आफ्नो तोकिएकै समयमा मर्छन्। छोराछोरी हेरचाह गर्न छेउमा हुँदैमा उनीहरू ठूलो कष्टबाट बच्दैनन्। मेरी आमाको बिमारी र त्यसको गम्भीरता सबै परमेश्‍वरले नै निर्धारण गर्नुभएको थियो। म घर गएँ भने केही हेरचाह मात्र गर्न सक्थेँ होला, तर उहाँको कष्ट कम गर्न सक्ने थिइनँ। म परमेश्‍वरमा समर्पित भएर मेरी आमाको बिमारी उहाँकै हातमा सुम्पेर उहाँलाई नै सबै कुरा योजनाबद्ध र बन्दोबस्त गर्न दिनुपर्थ्यो, अनि आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउनुपर्थ्यो।

सन् २०२४ को जनवरीमा, मैले अचानक मेरी आमाको बिमारीका कारण एक महिनाअघि नै मृत्यु भइसकेको रहेछ थाहा पाएँ। यो खबरले मलाई ठूलो झट्का दियो। मेरी आमा यति छिट्टै बित्नुहोला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। विगत केही वर्षदेखि, म घर फर्केर आमालाई भेट्ने मौकाको आशा गरिरहेकी थिएँ, तर मैले छोरीको धर्म पूरा गर्न नपाउँदै, उहाँले यो संसार सधैँका लागि छोड्नुभयो। अब मसँग उहाँप्रति छोरीको धर्म निभाउने कुनै मौका थिएन। मलाई साह्रै दुःख लाग्यो र आँसु रोक्न मुस्किल भयो। मैले परमेश्‍वरलाई उहाँविरूद्ध गुनासो गर्न वा गलत बुझ्नबाट मलाई जोगाउनुहोस् भनी पुकारिरहेँ। म दिउँसोभर कम्प्युटरको अगाडि टोलाएर बसेँ, आफ्नो कर्तव्य गर्ने मन नै थिएन। मैले बिमारीमा आमाको हेरचाह नगरेको र उहाँ बित्नुअघि अन्तिम पटक भेट्न पनि नपाएको कुरा सोचेँ, र मलाई गहिरो दोष र ऋणीपनको बोध भयो। मलाई मेरा आफन्त र चिनजानकाहरूले विवेकहीन भनेर आलोचना गर्नेछन्, मलाई कृतघ्न र आमाबुबालाई आदर नगर्ने छोरी भन्नेछन् भन्ने थाहा थियो। त्यसपछिका केही दिन, म आफ्नो कर्तव्य पूरा गरिरहेकी त थिएँ, तर पूरै उदासीन थिएँ। मेरो दिमागभरि आमा बिमारीले कष्ट भोगिरहेका चित्रहरू मात्रै आइरहेका थिए, र उहाँले आफू बित्नुअघि अन्तिम पटक म उहाँलाई भेट्न घर आओस् भन्ने कति धेरै चाहना गरिरहनुभएको थियो होला। मैले जति धेरै सोचेँ, त्यति नै धेरै आमाप्रति ऋणी महसुस गरेँ, र मेरा आँसु थामिएनन्। ती केही दिन म पूरै अक्कनबक्क भएर बिताएँ। पछि, यसरी चलिरहनु खतरनाक छ भन्ने बुझेर मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र स्नेहको बन्धनबाट मुक्त हुन र व्याकुल नहुन अगुवाइ मागेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जुन मेरा लागि निकै सहयोगी थियो। परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो आमाबुबा बिरामी पर्नु नै तेरो लागि ठूलो आघात हुन्छ, त्यसैले तेरा आमाबुबाको निधन हुनु त झन् ठूलो आघात हुन्छ। त्यसोभए, यस्तो हुनुअघि, तैँले आफूमाथि आइपर्ने अप्रत्याशित बज्रपातलाई कसरी लिनुपर्छ, ताकि यसले तेरो कर्तव्य निर्वाहमा वा तैँले हिँड्ने बाटोमा असर नगरोस्, हस्तक्षेप नगरोस् वा प्रभाव नपारोस्? सुरुमा, वास्तवमा मृत्यु भनेको के हो, र वास्तवमा बितेर जानु भनेको के हो भन्‍ने कुरालाई हेरौँ—के यसको अर्थ व्यक्ति यो संसार छोडेर जाँदैछ भन्‍ने हुँदैन र? (हो।) यसको अर्थ व्यक्तिसँग भएको जीवन, त्यसको शारीरिक उपस्थिति मानिसहरूले देख्‍न सक्‍ने भौतिक संसारबाट हट्छ र हराउँछ भन्‍ने हुन्छ। त्यसपछि त्यो व्यक्ति अर्को संसारमा, र अर्को रूपमा बाँच्न जान्छ। तेरा आमाबुबाको देहान्त हुनुको अर्थ यस संसारमा तँसँगको तिनीहरूको सम्बन्ध भङ्ग भएको, हराएको र समाप्त भएको छ भन्‍ने हुन्छ। तिनीहरू अर्कै संसारमा, अन्य रूपमा बाँचिरहेका छन्। जहाँसम्म तिनीहरूको जीवन त्यो अर्को संसारमा कसरी चल्नेछ, तिनीहरू यस संसारमा फर्कनेछन् कि छैनन्, तँलाई फेरि भेट्नेछन् कि छैनन्, वा तँसँग कुनै पनि प्रकारको शारीरिक नाता वा भावनात्मक बन्धनहरू हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा छ, त्यो कुरा परमेश्‍वरले तय गर्नुहुन्छ, र यसको तँसँग कुनै सम्बन्ध हुँदैन। संक्षेपमा, तिनीहरूको निधन हुनुको अर्थ यो संसारमा तिनीहरूको मिसन समाप्त भएको छ, र तिनीहरूको पछाडि पूर्ण विराम लगाइएको छ भन्‍ने हुन्छ। यस जीवनमा र यस संसारमा तिनीहरूका मिसन समाप्त भएका छन्, त्यसैले तिनीहरूसँगको तेरो सम्बन्ध पनि समाप्त भएको छ। … तेरा आमाबुबा बितेको खबर नै तैँले यस संसारमा तिनीहरूका बारेमा सुन्‍ने अन्तिम खबर हो, र तिनीहरूको जन्म, वृद्धावस्था, तिनीहरू बिरामी हुनु र मर्नु जस्ता अनुभवहरूबारे तैँले देख्‍ने र सुन्‍ने अन्तिम चरणहरू त्यही हुनेछ, यति हो। तिनीहरूको मृत्युले तँबाट केही पनि लैजानेछैन वा तँलाई केही दिनेछैन, र तिनीहरू केवल मरेका हुनेछन्, अनि मानिसहरूका रूपमा तिनीहरूको यात्रा समाप्त भएको हुनेछ। त्यसकारण, तिनीहरूको निधनको कुरा आउँदा, तिनीहरू आकस्मिक रूपमा मरे पनि, सामान्य रूपमा मरे पनि, रोगबाट मरे पनि, र यस्तै अन्य कारणले मरे पनि, यदि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त नभएको भए, कुनै पनि व्यक्ति वा शक्तिले तिनीहरूको जीवन खोस्‍न सक्नेथिएन। तिनीहरूको मृत्यु हुनुको अर्थ तिनीहरूको शारीरिक जीवनको अन्त्य भयो भन्‍ने मात्र हुन्छ। यदि तँलाई तिनीहरूको याद आउँछ र तिनीहरूको तृष्णा हुन्छ, वा आफ्‍ना भावनाहरूका कारण तिनीहरूप्रति ग्लानि महसुस हुन्छ भने, तैँले त्यसो गर्नु हुँदैन, यी सबै अनावश्यक कुरा हुन्। तिनीहरू यस संसारबाट बिदा भएका छन्, त्यसैले तिनीहरूको सम्झना गर्नु निरर्थक छ, होइन र? यदि तँ ‘के मेरा आमाबुबाले मलाई यतिका वर्षसम्‍म सम्झनुभयो? मैले यतिका वर्षसम्म तिनीहरूलाई सन्तानी निष्ठा देखाउँदै तिनीहरूका साथमा नरहेका कारण तिनीहरूले झन् कति कष्ट भोगे होलान्? यतिका वर्षसम्‍म, म सधैँ तिनीहरूसँग केही दिन बिताउन चाहन्थेँ, तिनीहरू यति चाँडै बित्‍ने अपेक्षा कहिल्यै गरेको थिइनँ। मलाई दुःख लागेको छ र आत्मग्‍लानि भएको छ’ भन्‍ने सोच्छस् भने, तैँले यसरी सोच्नु आवश्यक छैन, किनभने तिनीहरूको मृत्युको तँसँग कुनै सम्बन्ध छैन। तिनीहरूको मृत्युको किन तँसँग कुनै सम्‍बन्ध छैन? किनभने, यदि तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको वा तिनीहरूलाई साथ दिएको भए पनि, यो परमेश्‍वरले तँलाई दिनुभएको दायित्व वा काम होइन। तेरा आमाबुबाले तँबाट कति सौभाग्य र कति कष्ट भोग्‍नेछन् भनेर परमेश्‍वरले तय गर्नुभएको छ—तँसँग यसको कुनै सम्बन्ध छँदै छैन। तँ तिनीहरूका साथमा रहेकोले तिनीहरूले लामो जीवन जिउनेछन् भन्‍ने छैन, र तँ तिनीहरूबाट टाढा बसेकोले र तिनीहरूसँग प्राय भेट गर्न नसकेकोले तिनीहरूले छोटो जीवन जिउनेछन् भन्‍ने हुँदैन। तिनीहरू कति लामो समयसम्म बाँच्नेछन् भनेर परमेश्‍वरले तोक्‍नुभएको छ, र तँसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, यदि तैँले आफ्‍नो जीवनकालमा नै आफ्ना आमाबुबाको निधन भएको समाचार सुनिस् भने, तैँले दोषी महसुस गर्नु पर्दैन। तैँले यस विषयलाई सही तरिकाले लिनुपर्छ र स्वीकार गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्: मानिसको जन्म, बुढ्यौली, बिमारी र मृत्यु सबै परमेश्‍वरले नियोजन गर्नुभएको हुन्छ। कुनै व्यक्ति जतिसुकै उमेरको होस् वा जसरी मरोस्, चाहे त्यो सामान्य मृत्यु होस् वा आकस्मिक मृत्यु, यी सबै कुराहरू परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र कसैले पनि यसलाई बदल्न सक्दैन। मेरी आमा जसरी बित्नुभयो, त्यो पनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूको एक हिस्सा थियो, जुन परमेश्‍वरले उहाँ जन्मनुअघि नै पूर्वनिर्धारित गर्नुभएको थियो, र अब उहाँको समय आएपछि, उहाँ जानु स्वाभाविक थियो। म उहाँको छेउमा बसेर हेरचाह गरिरहेकी भए पनि, मैले उहाँलाई जीवित राख्न सक्ने थिइनँ। मैले मेरा बुबा बिरामी हुँदाको बेला सम्झेँ, मैले उहाँलाई उपचारका लागि अस्पताल लगेँ र महिनौंसम्म उहाँको छेउमा बसेर होसियारीसाथ हेरचाह गरेँ, तर मैले उहाँको कष्ट कम गर्न सकिनँ, र अन्त्यमा, उहाँ बिमारीकै कारण बित्नुभयो। मानिसको जन्म, बुढ्यौली, बिमारी र मृत्यु सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। म मेरा आमाबुबाको कष्ट कम गर्न सक्दिनथेँ, न त उहाँहरूको आयु लम्ब्याउन नै सक्थेँ, त्यसैले म विवेकपूर्ण मनोवृत्ति अपनाएर परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। मैले के पनि सम्झेँ भने परमेश्‍वर भेट्नुअघि मेरी आमालाई विभिन्न रोगहरू थिए। डाक्टरहरूले उहाँ धेरै बाँच्नुहुन्न भनेका थिए, तर जबदेखि उहाँले परमेश्‍वर भेट्नुभयो, उहाँका विभिन्न रोगहरूमा सुधार आएको थियो। मेरी आमा सत्तरी वर्षभन्दा बढी बाँच्नु नै परमेश्‍वरको अनुग्रह र आशिष् थियो। यो कुरा बुझेपछि, मैले केही हदसम्म उन्मोचन पाएको महसुस गरेँ, र आमाको मृत्युका बारेमा मैले अब त्यति धेरै आफैलाई धिक्कार्न र दोषी महसुस गर्न छोडेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “गैरविश्‍वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्‍छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त जीवित प्राणीहरूको जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्‍ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। सिंह र बाघजस्ता तुलनात्मक रूपमा क्रूर मांसाहारीहरूले पनि आफ्नो सन्तानको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस अन्तर्निहित प्रवृत्ति र नियम पालना गरेर मात्र वृद्धि हुन र बाँचिरहन सक्छन्। यदि तिनीहरूले यस नियम पालना गरेनन्, वा तिनीहरूमा यो नियम र अन्तर्निहित प्रवृत्ति नभएको भए, तिनीहरू वृद्धि हुन र बाँच्न सक्दैनथिए। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्‍ने तथ्यले जीवित प्राणीहरूको जगतले यस प्रकारको नियम पालना गर्छ भन्‍ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्‍च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्‍लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो। … सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्‍ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्‍ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू आफ्‍ना भावनाहरूद्वारा नियन्त्रित हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो ‘मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!’ भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्‍न गलत विचार र आम रूपमा प्रचलित दृष्टिकोणहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्‍न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्‍ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्‍ने ऋणदाताहरू। आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि ग्लानि महसुस गर्ने मानिसहरू पनि छन्, र तिनीहरूले आफ्‍ना आमाबुबालाई बेखुस पार्ने कुनै एउटा काम गरेकाले वा तिनीहरूका आमाबुबाले चाहेको दिशामा नगएकाले आफ्ना आमाबुबाको दया चुक्ता गर्न नसकेकोमा ग्लानि महसुस गर्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्‍न हुने विभिन्‍न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्‍याउन सक्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन पढेपछि, मैले बुझेँ कि म यति धेरै पीडामा हुनुको कारण “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” र “बुढेसकालको सहारा हुन्छ भनेर छोराछोरी हुर्काऊ” जस्ता परम्परागत संस्कृतिको विषले मलाई प्रभाव पारेको रहेछ। मेरा आमाबुबाले मलाई हुर्काउन, मेरो खाना, कपडा र शिक्षाका लागि कडा मेहनत गर्नुभएकोले, र बुबाले मलाई हुर्काउनुभएको दयाको बदला चुकाउने मौका पाउनुअघि नै उहाँ बित्नुभएकोले, यदि मैले आमाको दयाको बदला पनि चुकाइनँ भने, म साँच्चै ठूलो अपमानको भागी हुनेछु, र पशुभन्दा पनि तल झर्नेछु भन्ने मलाई लाग्थ्यो। मैले यी परम्परागत मूल्यमान्यतालाई सकारात्मक कुरा र जिउने सिद्धान्तको रूपमा लिएकी थिएँ, तर मेरो जीवन परमेश्‍वरबाट आएको हो भन्ने कुरा मैले बुझेकी थिइनँ। मेरी आमाले मलाई जन्माएर हुर्काउनुभयो मात्र, र मेरा आमाबुबाले मेरा लागि गरेका सबै कुरामा उहाँहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्र पूरा गरिरहनुभएको थियो, र यसलाई दया मान्न मिल्दैन। चिन्तन गर्दा, यदि म हुर्कंदै गर्दा परमेश्‍वरको हेरचाह र सुरक्षा नभएको भए, म आज जीवित हुने थिइनँ। जब म सानी थिएँ, म एक साथीसँग डुङ्गा खेल्न गएकी थिएँ, र डुङ्गा पल्टियो। हामी दुवै नदीमा खस्यौँ र लगभग डुबिसकेका थियौँ, तर सौभाग्यले, नदी किनारमा माछा मारिरहेका दुई जना वयस्कले हामीलाई बचाउनुभयो। त्यतिबेला, मैले सोचेँ कि म भाग्यमानी रहेछु, तर पछि, परमेश्‍वरका वचन पढेर र परमेश्‍वरले दिनरात मानवजातिको रेखदेख गर्नुहुन्छ भन्ने थाहा पाएपछि, यो वास्तवमा परमेश्‍वरको हेरचाह र सुरक्षा थियो भन्ने महसुस भयो। यसबाहेक, मेरा आमाबुबाले मेरो हेरचाह गर्नु र मलाई हुर्काउनु पनि परमेश्‍वरको नियोजन थियो। तर मैले उहाँको हेरचाह र सुरक्षाका लागि परमेश्‍वरलाई धन्यवाद दिइनँ, न आफ्नो कर्तव्य राम्ररी पूरा गरेँ। बरु, म सधैँ आमाको हेरचाह गर्न नसकेकोमा उहाँप्रति ऋणी महसुस गर्थेँ, र यसले मेरो कर्तव्यमा समेत असर पारेको थियो। विशेष गरी आमाको मृत्युको खबर सुनेपछि, उहाँको बुढेसकालमा हेरचाह गर्न र राम्ररी बिदाइ गर्न नसकेकोमा मलाई झनै दोषी र पीडा महसुस भयो। मैले घर छोडेर आफ्नो कर्तव्य पूरा गर्न आएकोमा समेत पछुतो मानेँ। के म पूरै विवेकहीन थिइनँ र? म परम्परागत संस्कृतिका विचारहरूबाट प्रभावित र हानिग्रस्त भएकी थिएँ, र म साँच्चै सही र गलत छुट्याउनै नसक्ने भएकी थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूका दुई खण्ड पढेँ जसले मलाई आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्ने भनेर सिकायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबालाई सम्हाल्ने सन्दर्भमा, तैँले सन्तानको रूपमा तिनीहरूलाई हेरचाह गर्ने दायित्वहरू पूरा गर्छस् गर्दैनस् भन्‍ने कुरा पूर्णतया तेरा व्यक्तिगत अवस्था र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा आधारित हुनुपर्छ। के यसबाट उक्त मामला एकदमै प्रस्ट हुँदैन र? कतिपय मानिसहरू आफ्ना आमाबुबालाई छाड्दा आफू आमाबुबाप्रति एकदमै ऋणी रहेको र आफूले आमाबुबाको लागि केही पनि नगरेको अनुभूति गर्छन्। तर सँगै बस्दा, तिनीहरू आमाबुबाप्रति रत्तीभर कर्तव्यनिष्ठ हुँदैनन्, र कुनै पनि दायित्व पूरा गर्दैनन्। के यस्तो व्यक्ति साँच्चिकै कर्तव्यनिष्ठ व्यक्ति हो त? यो त खोक्रो कुराहरू बोल्‍नु हो। तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्‍वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्‍वास गर्न सक्छस् सक्दैनस् भन्‍ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्‍वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्‍वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्‍वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्। जे होस्, अन्ततः सन्तानीय भक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्ने अवस्था भयो भने, तैँले आमाबुबालाई सन्तानीय भक्ति देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने अवस्था छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्। यसलाई के भनिन्छ? (समर्पण।) यसलाई समर्पण भनिन्छ। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्‍वरले बन्दोबस्त र शासन गर्नुहुने यी सबै कुराहरूमा आधारित हुन्छ। मानिसहरूलाई रोज्ने चाहना हुन सक्छ, तर तिनीहरूले त्यसो गर्न सक्दैनन्, तिनीहरूलाई रोज्ने अधिकार हुँदैन, र तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्‍ने अनुभूति हुन्छ, के तँलाई हृदयमा शान्ति अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको कुरा तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस् किनकि ती मानवताभित्रका केही सामान्य सोच र प्रवृत्तिहरू हुन्, र तीबाट कोही पनि पन्छिन सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्‍बन्ध छैन। आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्‍बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्‍न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्‍थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्‍ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्‍थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्‍वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनहरूले हाम्रा आमाबुबालाई कसरी व्यवहार गर्ने भन्ने मार्ग स्पष्ट रूपमा प्रस्तुत गर्दछ। यो मुख्यतया हाम्रो अवस्था र सामर्थ्यमा निर्भर गर्दछ। यदि अवस्थाले अनुमति दिन्छ र हाम्रो सामर्थ्यले भ्याउँछ भने, हामी आफ्नो जिम्मेवारी पूरा गर्न र आमाबुबाप्रति आदरभव राख्न सक्छौँ, तर यदि परिस्थितिहरूले अनुमति दिँदैन भने, यसो गर्न जिद्दी गर्नु आवश्यक छैन, र हामीले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। उहाँ बिरामी पर्नुभएर बित्नुभएको समयमा मैले आमाको हेरचाह गर्न नसक्नुको मतलब म भावनाहीन वा कृतघ्न थिएँ भन्ने होइन। मैले आमाप्रति छोरीको धर्म निभाउन नचाहेकी होइन, तर नास्तिक देशमा परमेश्‍वरलाई विश्वास गरेका कारण सीसीपीद्वारा सताइएकाले र खोजी गरिएकाले म घर फर्कन सकिनँ। यसले मेरो विवेकको कमीलाई दर्शाउँदैन। यसबाहेक, परमेश्‍वरलाई विश्वास गर्नुमा मेरो आफ्नै मिसन छ, जुन सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो। यदि मैले आमाप्रति छोरीको धर्म निभाउनमा मात्र ध्यान केन्द्रित गरेर आफ्नो कर्तव्य निर्वाह गर्न नसकेकी भए, त्यसको मतलब म साँच्चै विवेकहीन हुन्थेँ। यो कुरा बुझेपछि, मैले अब मेरो विवेकले दोषी ठहराएको महसुस गरिनँ, र आफ्नो कर्तव्यमा आफ्नो हृदयलाई शान्त पार्न सकेँ। मेरो भ्रामक दृष्टिकोणलाई बदल्ने, आमाको मृत्युलाई सही तरिकाले लिन र मेरो हृदयमा छुटकाराको बोध पाउन मदत गर्ने परमेश्‍वरका वचनहरू नै थिए।

अघिल्लो:  ७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?

अर्को:  ८४. म अब आफ्नो असल छवि बँचाइ राख्दिनँ

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger