८६. बिमारीको सामना गर्नु परमेश्वरको अनुग्रह हो
सानैदेखि मेरो स्वास्थ्य राम्रो रहेको छैन। किशोरावस्थामा छँदा मेरो खुट्टा दुख्थ्यो। डाक्टरले मलाई बाथरोग भएको र उपचार आवश्यक रहेको बताए। त्यतिबेला, मेरो परिवार गरिब थियो र उपचार गर्ने पैसा थिएन। दुखाइ धेरै हुँदा, म दुईवटा पेनकिलर खान्थेँ। दुखाइ कम गर्न म धेरै लुगा लगाउने वा तातो इँटाको ओछ्यानमा बस्ने पनि गर्थेँ। बीस वर्षको उमेरमा, मेरो अवस्था झन् बिग्रियो र मलाई पक्षाघात भयो। केही समयको उपचारपछि, म हिँड्न सक्ने भएँ, तर एउटा पुरानो रोगको जरो बाँकी नै रह्यो; धेरै हिँड्दा मेरो खुट्टा दुख्थ्यो। पछि, मैले प्रभु येशूमा विश्वास गर्न थालेँ। अचम्मको कुरा, एक महिनाभन्दा बढी समयपछि, मेरो खुट्टा चमत्कारी ढङ्गले निको भयो, र म असाध्यै खुसी भएँ। प्रभुलाई उहाँको अनुग्रहका लागि धन्यवाद दिन, मण्डलीले प्रबन्ध गरेअनुसार गवाही दिने र सुसमाचार प्रचार गर्ने काममा म निकै सक्रिय भएँ। प्रभुका लागि गवाही दिएर र सुसमाचार प्रचार गरेर, मलाई परमेश्वरले मेरो निरन्तर हेरचाह र सुरक्षा गर्नुहुनेछ, र मैले अझ ठूलो अनुग्रह पनि पाउन सक्छु भन्ने लाग्यो। त्यसबेलादेखि, मैले आफ्नो आस्थालाई जीवनको सहाराझैँ समातेँ, र परमेश्वरमा विश्वास गर्ने मेरो उत्साह निकै बढ्यो।
सन् २००६ को अक्टोबरमा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न पाउँदा म अविश्वसनीय रूपमा उत्साहित थिएँ, र सोचेँ, “परमेश्वरले आखिरी दिनहरूमा मुक्तिको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ। मैले यो मौकालाई सदुपयोग गरेर धेरै कर्तव्य निर्वाह गर्नुपर्छ र असल कार्यहरू तयार पार्नुपर्छ। जबसम्म म इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्छु र बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्छु, तबसम्म परमेश्वरले मलाई जीवनभर पक्कै पनि सुरक्षित र स्वस्थ राख्नुहुनेछ। परमेश्वरको काम पूरा भएपछि, म राज्यमा प्रवेश गर्नेछु र महान् आशिष्हरूको आनन्द लिनेछु। यो त अति ठूलो आशिष् हो!” परमेश्वरमा विश्वास गरेको केही समयपछि नै, मैले आफ्नो कर्तव्य निर्वाह गर्न प्रशिक्षण लिन थालेँ। मण्डलीले जुनसुकै कर्तव्यहरू प्रबन्ध गरेपनि, मैले आज्ञापालन गरेँ। सन् २०१२ मा, सहरमा कोठा भाडामा लिएर अतिथिसत्कारको काम गर्न मैले घर छोडेँ। यो कठिन र थकाइलाग्दो भए तापनि, मेरो मनमा कुनै गुनासो थिएन। वर्षहरू छिट्टै बिते, र अगुवाहरूले मलाई धेरै वटा भेला समूहहरूको जिम्मेवारी लिने प्रबन्ध मिलाए। मलाई साइकल चलाउन आउँदैनथ्यो, त्यसैले जतिसुकै लामो दूरी भए पनि म हिँड्थेँ। कहिलेकाहीँ, दिउँसोको खाना खान घर गएर फेरि भेलाका लागि बाहिर निस्कँदा ढिलो हुन्थ्यो, त्यसैले म दिउँसोको खाना नै खान्नथेँ। धेरै हिँडेर खुट्टा दुख्दा पनि, मैले वास्ता गरिनँ। मलाई लाग्थ्यो, वर्षौंदेखि कठिनाइका बाबजुद आफ्नो कर्तव्य निर्वाह गरेकाले, मैले गरेका सबै कुरा परमेश्वरले याद गर्नुहुनेछ र मेरो कर्तव्यप्रतिको बफादारीका लागि उहाँले पक्कै पनि मलाई रक्षा गर्नुहुनेछ र आशिष् दिनुहुनेछ।
सन् २०१९ मा, मेरो खुट्टाको दुखाइ फेरि बल्झियो। कहिलेकाहीँ, धेरै हिँड्दा मेरो घुँडा यति साह्रो दुख्थ्यो कि म खुट्टा खुम्च्याउनै सक्दिनथेँ। राती सुत्दा म खुट्टा पूरै तन्काउन सक्दिनथेँ, र कहिलेकाहीँ दुखाइले मलाई ब्युँझाउँथ्यो। म जँचाउन अस्पताल गएँ, र डाक्टरले मेरो दाहिने घुँडाको जोर्नी फेर्न शल्यक्रिया आवश्यक रहेको बताए। त्यतिबेला, मेरो परिवारसँग उपचारका लागि पैसा थिएन, र म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। मैले सोचेँ, “यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेँ भने, सायद एकदिन परमेश्वरले यो बिमारी हटाइदिनुहुनेछ।” त्यसैले, मैले शल्यक्रिया गरिनँ र बरु दुखाइ कम गर्न पेनकिलर खाने र मल्हमपट्टी लगाउने गरेँ। त्यस अवधिमा, कहिलेकाहीँ दुखाइका कारण म राती सुत्न सक्दिनथेँ। दिउँसो, धेरै बेरसम्म बसेँ भने, उठ्दा हिँड्न सक्दिनथेँ, र अलिकति हिँड्न सक्ने हुन पहिले मैले बिस्तारै आफ्नो खुट्टा मालिस गर्नुपर्थ्यो।
सन् २०२३ को अगस्टमा, मेरो खुट्टाको दुखाइ कति गम्भीर छ भनी देखेर, मेरो छोराले मलाई एक्सरेका लागि अस्पताल लग्यो। डाक्टरले एक्सरे हेरेर भने, “यति गम्भीर भइसकेपछि मात्र उपचार खोज्न किन आउनुभयो? अब, तपाईंको दाहिने घुँडाको जोर्नी बिग्रीसकेको छ, र दुवै गोलीगाँठाका जोर्नीहरू मरिसकेका छन्। औषधि र एक्युपङ्चरले अब काम गर्दैन। सबैभन्दा राम्रो उपचार योजना भनेको गोलीगाँठा र घुँडा दुवैको जोर्नी फेर्नु हो। हरेक तीन महिनामा एउटा जोर्नी फेर्नुहोस्, र एक वर्षमा तपाईंको उपचार पूरा हुन्छ। नत्र भने, तपाईंलाई पक्षाघात हुन सक्छ।” डाक्टरको निदान सुनेर म झन्डै ढलेँ। हुन त वर्षौंदेखि मेरो खुट्टाको दुखाइ बढ्दै गएको थियो, र म केही हदसम्म मानसिक रूपमा तयार थिएँ, तर मैले अवस्था यति गम्भीर होला भन्ने सोचेकी थिइनँ। यदि मलाई पक्षाघात भयो भने, म कसरी बाँच्ने? मेरो हृदय क्षीण भयो, र मैले आँसु रोकेँ। घर फर्केपछि, म शक्तिहीन महसुस गर्दै हावा फुस्केको बेलुनझैँ भएर ओछ्यानमा थ्याच्च बसेँ, र मेरा आँसु अनियन्त्रित रूपमा बग्न थाले। परमेश्वरप्रतिका मेरा सबै गुनासा र गलतफहमीहरू एकैचोटि पोखिए, “त्यतिबेला म दुखाइ सहँदै अतिथिसत्कार गर्ने पैसा जुटाउनका लागि बेच्न भनेर कटुस टिप्न माथि पहाडतिर गएँ, जतिसुकै कठिन भए पनि मैले कहिल्यै गुनासो गरिनँ। पछि, जब म समूह भेलाहरूको जिम्मेवारीमा थिएँ, मैले घामपानी नभनी, आफ्नो कर्तव्यमा कहिल्यै ढिलाइ गरिनँ, र खुट्टा दुख्दा पनि गुनासो गरिनँ। परमेश्वरले मलाई किन सुरक्षा दिनुभएको छैन? अब मैले आफ्नो घुँडाको जोर्नी फेर्नुपर्छ, र मेरो परिवारसँग त्यति धेरै पैसा छैन! तर मैले शल्यक्रिया गरिनँ भने, मलाई पक्षाघात हुनेछ।” ती दिनहरूमा, जब-जब मलाई पक्षाघात हुँदा भोगेको पीडा र कष्टको याद आउँथ्यो, मेरो मुटु काँप्थ्यो, र मेरा आँसु अनियन्त्रित रूपमा बग्थे। ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्य निर्वाहका लागि हिँड्न र दौडन सकेको देखेर, मलाई उनीहरूको साँच्चै ईर्ष्या लाग्थ्यो! अरू सबैजस्तै मेरा दुईवटा स्वस्थ खुट्टा किन हुन सकेनन्? मैले सोचेकी थिएँ, परमेश्वरमा विश्वास गरपछि, उहाँले मलाई सधैँ रक्षा गर्नुहुनेछ, तर यस्तो होला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। अगुवाले मेरो अवस्थाबारे थाहा पाएपछि, उनले मसँग सङ्गति गरिन्, “जब हामीमाथि बिमारी आइपर्छ, यसमा परमेश्वरको अभिप्राय हुन्छ; परमेश्वरलाई गलत नबुझ्नुहोस्! जब हामी बिरामी पर्छौँ, हामीले आफूले प्रकट गरेका भ्रष्टताहरू र गलत अभिप्राय र दृष्टिकोणहरूबारे आत्मचिन्तन गर्नुपर्छ, र यसबाट पाठ सिक्नुपर्छ।” अगुवाले मलाई मेरो स्थितिलाई सम्बोधन गर्न सक्ने परमेश्वरका वचनका विशेष अध्यायहरू बारम्बार पढ्न पनि सल्लाह दिइन्। उनी गएपछि, मैले तुरुन्तै परमेश्वरका वचनहरू पढेँ: “जब परमेश्वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्नका लागि गर्ने युक्ति, मूल्याङ्कन, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वरले तँलाई योजना बनाउन लगाउनुहुन्न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्न दिनुहुन्न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा त्यो रोगप्रति तेरो आफ्नो मनोवृत्ति के छ त्यो जान्न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तेरा लागि बिमारीका परिस्थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूमा मनन गर्दा, मेरो हृदय उज्यालो भयो, “ममाथि यो बिमारी आइपर्नुमा परमेश्वरको असल अभिप्राय छ। परमेश्वरले मलाई हटाउन वा बिमारीले ल्याएका पीडा र अनेक भावनाहरूको महत्त्व बुझ्ने बनाउन खोज्नुभएको होइन, बरु वर्षौँदेखि मेरो आस्थामा रहेका अशुद्धताहरूलाई पखाल्न खोज्नुभएको हो।” त्यसपछि मैले मनमनै विचार गरेँ, “परमेश्वर मभित्र के शुद्ध पार्न चाहनुहुन्छ?” मैले महसुस गरेँ, यो अवधिभर, परमेश्वरमाथिको मेरो आस्था मुख्यतया अनुग्रह र राम्रो स्वास्थ्य अनि शान्तिपूर्ण जीवनको आशा पाउनका लागि थियो। सुरुमा, जब परमेश्वरले मलाई अनुग्रह दिनुभयो, म धेरै खुसी थिएँ, र परमेश्वरमा विश्वास गर्नमा आफूलाई समर्पित गर्न म ऊर्जाले भरिएकी थिएँ। तर अब, गम्भीर बाथरोग र पक्षाघातको सम्भावनाको सामना गर्दा, मैले परमेश्वरसँग तर्क गरेँ र उहाँले मलाई किन रक्षा गर्नुभएन भनेर गुनासो गरेँ। मैले आफ्नो आस्था धर्मका मानिसहरूको भन्दा फरक रहेनछ भन्ने बुझेँ—परमेश्वरमा इमानदारीपूर्वक विश्वास नगरी र सत्यता नपछ्याई केवल उहाँसँग अनुग्रह र आशिष् मागेँ। यो महसुस गरेपछि, मैले दोषी र आत्म-निन्दाको भाव महसुस गरेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंमा विश्वास गरेको यतिका वर्षमा, मैले गलत दृष्टिकोणले पछ्याएकी छु र गलत बाटो लिएकी छु। तपाईंले ममाथि बिमारी आउन दिनुभएको छ, र यसमा तपाईंको असल अभिप्राय छ। म सत्यता खोज्न र गहिरो रूपमा आत्मचिन्तन गर्न इच्छुक छु।”
मेरो खोजीको क्रममा, मैले परमेश्वरका वचनका दुई खण्डहरू भेट्टाएँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “मैले तिनीहरूलाई निको पार्छु भनेर मात्र धेरैले मलाई विश्वास गर्छन्। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै हर्ष र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरूले मलाई निको पार्न बिन्ती गर्छन् तर म कुनै ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। “परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम गरिने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने खाडल मात्रै हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मलाई तिनले मेरो हृदय छेडे जस्तो महसुस भयो, र मलाई पीडा भयो, मानौँ परमेश्वरले मेरो स्थितिलाई स्पष्ट विवरणसाथ खुलासा गर्दै, आमनेसामने भएर मलाई न्याय गरिरहनुभएको थियो। मैले महसुस गरेँ, परमेश्वरमाथिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाहको आशय त परमेश्वरले मलाई सुरक्षित राख्नुहोस्, शान्तिपूर्ण जीवन प्रदान गर्नुहोस्, र राम्रो स्वास्थ्य दिनुहोस् भन्ने पो रहेछ। यो ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएजस्तै हो: “मैले तिनीहरूलाई निको पार्छु भनेर मात्र धेरैले मलाई विश्वास गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। फर्केर हेर्दा, प्रभु येशूमा विश्वास गरेपछि जब म आफ्नो बिमारीबाट निको भएँ, मैले उहाँलाई जीवनको सहाराझैँ समातेँ र परमेश्वर मानिसहरूलाई आशिष् दिने परमेश्वर हुनुहुन्छ भनी दृढतापूर्वक विश्वास गरेँ। मैले सोचेँ, जबसम्म म साँच्चै परमेश्वरमा विश्वास गर्छु, धेरै कष्ट भोग्छु, र धेरै समर्पण गर्छु, तबसम्म परमेश्वरले मलाई राम्रो स्वास्थ्य दिनुहुनेछ र बिमारी र विपत्तिबाट मुक्त शान्तिपूर्ण जीवन दिनुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म आफूलाई समर्पित गर्न अझ बढी उत्साहित भएँ। आफ्नो कर्तव्य निर्वाहका लागि, मैले ब्रदर-सिस्टरहरूलाई अतिथिसत्कार गर्न घरबाट टाढा कोठा भाडामा लिएँ। पछि, म समूह भेलाहरूकाे जिम्मेवारीमा हुँदा, मैले सबै प्रकारका मौसम र लामा दूरीको सामना गरेँ, र परमेश्वरले मेरो कर्तव्य निर्वाहमा मेरो जिम्मेवारी र बफादारी देख्नुहुनेछ र मलाई जीवनभर पक्कै पनि सुरक्षित राख्नुहुनेछ भनी विश्वास गरेँ। तर यस पटक, गम्भीर बिमारी र पक्षाघातको सम्भावनाको सामना गर्दा, म परमेश्वरको विरुद्ध भएँ, क्रोधित भई उहाँविरुद्ध गुनासो गरेँ, उहाँसँग तर्क गर्न र हिसाबकिताब मिलाउन आफ्ना त्याग र समर्पणहरू प्रयोग गरेँ, परमेश्वरका वचनहरूले खुलासा गरे जस्तै: “मानवताविहीनहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वरले मलाई अनुग्रह प्रदान गर्दा, म उहाँप्रति पूर्ण रूपमा समर्पित थिएँ। तर उहाँले एकै क्षणका लागि मलाई सन्तुष्ट नपार्नुहुँदा, मैले उहाँबारे गुनासो गरेँ। के म पूर्ण रूपमा विवेकशून्य थिइनँ र? यस्तो विश्वास गरेर पनि अझै परमेश्वरबाट आशिष् पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने आशा राख्ने, म साँच्चै निर्लज्ज थिएँ! यो बिमारीले मलाई पूर्ण रूपमा खुलासा गरिदियो। मैले वर्षौंदेखिको परमेश्वरमाथिको मेरो विश्वास र मेरो कर्तव्यपालन बिलकुलै इमानदार रहेनछ भन्ने बुझेँ। परमेश्वरले मलाई निको पार्नुहोस् र आशिष् दिनुहोस् भनेर नै मैले प्रयत्नहरू गरेँ। म आफ्ना त्याग र समर्पणलाई परमेश्वरसँग मोलतोल गर्ने प्रयासमा प्रयोग गरिरहेकी थिएँ। बाहिरी रूपमा, मैले परमेश्वरको नयाँ कामसँगै कदम मिलाएको जस्तो देखिन्थ्यो, तर के पछ्याउने भन्ने मेरो दृष्टिकोण परिवर्तन भएको थिएन। म अझै अनुग्रहको युगमा जस्तै अनुग्रह र आशिष्हरू पछ्याइरहेकी थिएँ, केवल धित मरुञ्जेल रोटी खाने विश्वास गरिरहेकी थिएँ। पहिले, मैले ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्दै, परमेश्वरले अब अनुग्रहको युगको काम गरिरहनुभएको छैन, आखिरी दिनहरूमा, परमेश्वरले मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गरिरहनुभएको छ, र सत्यता पछ्याएर र जीवन स्वभावमा परिवर्तन गरेर मात्र हामीले मुक्ति पाउन र राज्यमा प्रवेश गर्न सक्छौँ भनेर भनेकी थिएँ। तर म सत्यता वा आफ्नो स्वभावमा परिवर्तन पछ्याइरहेकी थिइनँ; बरु, म केवल अनुग्रह र आशिष्हरू पछ्याउनमा केन्द्रित थिएँ। यसरी परमेश्वरमा विश्वास गरेर मैले के पाउन सक्थेँ होला र? अन्तमा, यदि मैले सत्यता बुझ्न सकिनँ र मेरो भ्रष्ट स्वभाव रूपान्तरण हुन सकेन भने, के म अझै पनि नष्ट नै हुनेथिइनँ र? त्यसपछि मैले पावलका बारेमा सोचेँ। उनले व्यक्तिगत उद्देश्य र अशुद्धताका साथ परमेश्वरमा विश्वास गरे, आफ्ना समर्पण, प्रयास, र कडा परिश्रमलाई परमेश्वरसँग मोलतोल गर्ने प्रयासमा प्रयोग गरे, खुलेआम परमेश्वरलाई धम्की दिए र उहाँसँग धार्मिकताको मुकुट मागे, यसरी परमेश्वरको स्वभावलाई चिढ्याए र उहाँको धर्मी दण्ड पाए। मेरो पछ्याइको प्रकृति पावलको जस्तै थिएन र? परमेश्वरका निम्ति दौडधूप गरेपछि र आफूलाई समर्पित गरेपछि, मैले परमेश्वरले मलाई निको पार्नु र स्वस्थ राख्नुपर्छ भन्ने माग गरेँ। परमेश्वरले मेरो इच्छाअनुसार काम नगर्नुहुँदा, मैले उहाँसँग बहस गरेँ र उहाँविरुद्ध कोलाहल मच्चाएँ। यो त परमेश्वरको प्रतिरोध गर्नु थियो। यी सबै सोचेर, मैले गहिरो दुःख महसुस गरेँ र पश्चात्तापका आँसु बगाएँ। बिस वर्षको उमेरमा दुई महिनाभन्दा बढी समयसम्म पक्षाघात भएको मलाई याद आयो; डाक्टरहरूले मेरो अवस्था निको नहुने भनेका थिए, तैपनि म फेरि उभिन र हिँड्न सकेँ। परमेश्वरले नै मलाई सधैँ रक्षा गरिरहनुभएको थियो। मेरो खुट्टामा पुरानो दुखाइ बाँकी रहेको भएपनि, बिमारीकै कारण म परमेश्वरको सामु आएँ र प्रभु येशूमा विश्वास गरेँ। पछि, परमेश्वरले ब्रदर-सिस्टरहरूमार्फत मलाई सुसमाचार प्रचार गर्न काम गर्नुभयो, र म फेरि परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिँदै, परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गर्ने भाग्यमानी भएँ। परमेश्वरले मलाई कति धेरै प्रेम देखाउनुभएको छ! तर अब, परमेश्वरले मैले चाहेजस्तो गरी मलाई निको नपार्नुभएकाले, मैले उहाँविरुद्ध विद्रोह गरेँ र उहाँबारे गुनासो गरेँ। म पूर्ण रूपले विवेकशून्य थिएँ! मैले आफ्नो हृदयमा चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईंका वचनहरूले नै मेरो भावशून्य हृदयलाई जगाएका छन्। मैले अहिले मात्रै महसुस गरेँ, आफ्नो विश्वासमा म तपाईंसँग मोलतोल गर्ने प्रयास गरिरहेकी रहेछु। मैले तपाईंको वचनको यति धेरै मलजल र आपूर्तिको आनन्द लिएकी छु, तैपनि मैले तपाईंको प्रेम चुक्ता गर्नेबारे सोचिनँ; बरु, मैले तपाईंलाई गलत बुझेँ र तपाईंबारे गुनासो गरेँ। म साँच्चै मानवताविहीन छु! हे परमेश्वर, म पश्चात्ताप गर्न र परिवर्तन हुन इच्छुक छु।”
त्यसपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “अय्यूबले परमेश्वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष् पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्वरले मानिसहरूलाई आशिष् दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्ने तिनलाई विश्वास थियो। परमेश्वरको सार्वभौमिकताको कारण मानिसले परमेश्वरबाट आशिष् पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्छ, त्यो पनि परमेश्वरको सार्वभौमिकताकै कारणले हुन्छ। परमेश्वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धमा सबै कुराको शासन र प्रबन्ध गर्छन्; मानिसको नियतिका परिवर्तनहरू परमेश्वरको शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्य परमेश्वरको कानमा परे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्वरको आज्ञा पर्खन्थ्यो र जुनसुकै समय वा ठाउँ भए पनि आफूमाथि आइपरेको हर कुराको स्वागत गर्थ्यो। अय्यूबले परमेश्वरसँग कुनै माग राखेनन्। तिनले परमेश्वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा, स्वीकार, सामना, र तीप्रति समर्पण गर्ने मापदण्ड आफ्नै लागि तय गरे; तिनले त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्ने विश्वास गरे, र परमेश्वर पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरू पढेपछि, मलाई साह्रै लाज लाग्यो; म त्यहीँ बिलाउन पाए हुन्थ्यो जस्तो लाग्यो। अय्यूबले कुनै पनि व्यक्तिगत उद्देश्य वा अशुद्धताविना परमेश्वरमा विश्वास गरे, उनले आफूले आशिष् पाउँछु कि दुर्भाग्यको सामना गर्छु भनी विचार गरेनन्। परमेश्वरले दिनुभए पनि वा लिनुभए पनि, उनले कुनै गुनासो गरेनन्। अय्यूब एक सृजित प्राणीको स्थानमा खडा भए, परमेश्वरमा समर्पित भए र उहाँको आराधना गरे। आफ्ना परीक्षाहरूको दौरान, अय्यूबले आफ्नो सबै धनसम्पत्ति गुमाए, आफ्ना छोराछोरी गुमाए, र शरीरभरि दर्दनाक खटिराहरू समेत भोगे। उनको कष्ट अपार थियो! खरानीमा बसेर, भाँडाकुँडाको टुक्राले आफ्ना घाउहरू कन्याउँदा पनि, अय्यूबले परमेश्वरबारे गुनासो गरेनन्, न त उनले परमेश्वरसँग आफ्नो कष्ट कम गर्न माग नै गरे। उनी अझै पनि परमेश्वरको नामको महिमा गाउन र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन सके। अय्यूबको मानवता र समझबारे सोच्दा, मलाई साह्रै लाज लाग्यो। परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा, जब मैले परमेश्वरको आशिष् पाएँ, मैले आफ्नो हृदयमा खुसीसाथ परमेश्वरलाई धन्यवाद दिएँ। तर जब मेरो खुट्टाको अवस्था बिग्रियो, मैले परमेश्वरबारे गुनासो गरेँ, उहाँसँग बहस गर्न र हिसाबकिताब मिलाउन चाहेँ। आफ्नो व्यवहारबारे सोच्दा, मैले आफैलाई घृणा गरेँ र परमेश्वरप्रति गहिरो रूपमा ऋणी महसुस गरेँ! हुन त म अय्यूबभन्दा बिलकुलै भिन्न छु, ममा उनको मानवता र उनको महान् आस्थाको अभाव छ, तैपनि म अय्यूबको उदाहरण पछ्याउन इच्छुक थिएँ। मेरो शरीरलाई जेसुकै भए पनि, मलाई पक्षाघात भए पनि वा म मरे पनि, म परमेश्वरबारे गुनासो गर्नेछैन; म परमेश्वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य पूरा गर्नेछु।
पछि, मेरो छोराले मलाई जाँचका लागि बेइजिङ लैजान चाह्यो। जानुअघि, मैले परमेश्वरलाई समर्पणको प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु! तपाईंको कृपाले नै म आजसम्म जीवित छु। तपाईंको सुरक्षा नभएको भए, म धेरै पहिले नै मरिसकेकी हुन्थेँ। तर ममा विवेक छैन; मैले कृतज्ञ हुन वा तपाईंको प्रेम चुक्ता गर्न जानिनँ। यतिका वर्ष, म निरन्तर तपाईंसँग मोलतोल गर्ने प्रयास गर्दै आएकी छु, तपाईंको विरुद्धमा विद्रोह गरेकी र तपाईंको प्रतिरोध गरेकी छु। हे परमेश्वर, तपाईंले मलाई मेरा अपराधअनुसार व्यवहार गर्नुभएको छैन, बरू मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ। म साँच्चै पश्चात्ताप गर्न इच्छुक छु। बेइजिङमा मेरो रोगनिदान जस्तोसुकै आए पनि, म तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु। मलाई पक्षाघात भए पनि वा म मरे पनि, त्यो तपाईंको धार्मिकता हो; तपाईंले गर्ने प्रबन्ध असल हुन्छ।” प्रार्थनापछि, मैले धेरै सहज र हल्का महसुस गरेँ। जब म बेइजिङ पुगेँ, डाक्टरले मेरो अवस्था धेरै गम्भीर रहेको, मेरो दाहिने घुँडाको भित्री भागको हड्डीको एउटा हिस्सा कालो भएर मरिसकेको, र यो झन् बिग्रिएमा, यो हड्डीको क्यान्सरमा परिणत हुन सक्ने, अनि मेरो शल्यक्रिया चाँडै नगरिएमा अरू कुनै सम्भावना नहुने कुरा बताए। यो सुनेर, म पहिले जति डराएकी थिएँ त्यति डराइनँ। मैले केवल परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेबारे सोचेँ। शल्यक्रियाका साइड इफेक्टहरू धेरै गम्भीर भएकाले, र यो धेरै पीडादायी हुने भएकाले, मैले शल्यक्रिया गराइनँ र घर फर्कनुअघि केही औषधि मात्र लिएँ। बेइजिङबाट फर्केको रात, मैले ओछ्यानमा बसेर आफ्नो खुट्टा मालिस गर्दै, मनमनै सोचेँ, “मेरो खुट्टा सोझो हुन्छ कि हुँदैन हेरूँ।” मैले बिस्तारै यसलाई तन्काउने प्रयास गरेँ, र अचम्म, यो त साँच्चै सोझो पो भयो! मैले बिस्तारै यसलाई खुम्च्याएर फेरि तन्काउने प्रयास गरेँ, र यो फेरि सोझो भयो! म असाध्यै खुसी भएँ!
त्यसपछिका दिनहरूमा, मेरो खुट्टाको दुखाइ बिस्तारै हरायो, र म पहिलेभन्दा सजिलैसँग हिँड्न सक्ने भएँ। ब्रदर-सिस्टरहरूले मेरो ढाड पहिलेभन्दा सोझो भएको छ र म स्वस्थ देखिन्छु भने। हुन त मेरो खुट्टा अझै पनि धेरैजसो मानिसहरूको जस्तो राम्रो छैन, तर म धेरै सन्तुष्ट छु, र म परमेश्वरप्रति भित्रैदेखि कृतज्ञ छु। परमेश्वरले यो बिमारीलाई मेरो विश्वासमा रहेका अशुद्धताहरू शुद्ध पार्न प्रयोग गर्नुभएको मैले बुझेँ। म धेरै हठी थिएँ। यतिका वर्ष, मैले धार्मिक दृष्टिकोणहरूलाई अँगालेर परमेश्वरमा विश्वास गरेकी छु, सत्यता पछ्याउनमा ध्यान केन्द्रित गर्नुको सट्टा आशिष् र अनुग्रह पछ्याइरहेकी छु। परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा मेरो भ्रष्ट स्वभाव खासै परिवर्तन भएको छैन, र मैले एक दशकभन्दा बढी समय खेर फालेकी छु। अबदेखि, मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्छ र परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्नुहुँदैन। अहिले मण्डलीले मलाई फेरि एउटा सानो समूह भेलाको सुपरिवेक्षण गर्न खटाएको छ, र यसको लागि म परमेश्वरप्रति भित्रैदेखि कृतज्ञ छु। म सकेसम्म धेरै प्रयास गर्दै, कुनै ऋणीपन वा पछुतोको भाव नराखी कसरी बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने भन्नेबारे सोच्छु।
यो अनुभवपछि, मैले महसुस गरेँ, यो बिमारी मेरो लागि परमेश्वरको अनुग्रह र आशिष् हो। यो बिमारीमार्फत, म परमेश्वरसामु आएँ, र यसले विश्वासद्वारा आशिष् पछ्याउने मेरा गलत दृष्टिकोणहरूलाई खुलासा गरिदियो। परमेश्वरका वचनहरूको खुलासाले मलाई के देख्न मद्दत गर्यो भने, मेरो विश्वासमा म केवल धित मरुञ्जेल रोटी खान खोजिरहेकी थिएँ, र मेरो प्रयास र समर्पण परमेश्वरसँग मोलतोल गर्ने प्रयास थियो, साँचो विश्वास थिएन। परमेश्वरका वचनहरूद्वारा नै उहाँमा विश्वास गर्नेबारेका मेरा गलत दृष्टिकोणहरूमा केही परिवर्तन आएको छ। परमेश्वरलाई धन्यवाद!