८५. म अब आफ्ना कमजोरीहरूको सही तरिकाले सामना गर्न सक्छु
म सानो छँदा, बोल्दाखेरि ठूला मानिसहरू प्रायजसो मेरो खिल्ली उडाउँथे। त्यो कलिलो उमेरमा के भइरहेको हो भनेर मैले बुझिनँ, र ठूलो भएपछि मात्र मलाई आफू भकभकाउने रहेछु भन्ने थाहा भयो। मैले यसलाई सुधार्ने कोसिस गरेँ, तर सकिनँ, त्यसैले यसले मलाई निकै कष्ट दियो। यही कमजोरीका कारण, अरूले प्रायः मेरो उपहास र गिल्ला गर्थे, र बिस्तारै, म कम बोल्ने भएँ र मानिसहरूलाई भेट्न नचाहने, एक्लै बस्न रुचाउने भएँ। म स्कुलमा हुँदा, कहिल्यै सहपाठीहरूका जमघटहरूमा गइनँ र जाडो र गर्मी बिदाहरूमा, म बाहिर जान वा आफन्तहरूलाई भेट्न चाहन्नथेँ। म एकदमै एक्लो भएँ र ममा साह्रै हीनताबोध थियो। कहिलेकाहीँ घरमा, मेरी आमाले म भकभकाएको सुन्दा, उहाँ मलाई किचकिच गर्नुहुन्थ्यो, “अलि बिस्तारै बोल्न सक्दैनस्? हतार नगर न! यस्तै गरिरहिस् भने, ठूलो भएपछि तैँले एउटी श्रीमती पनि पाउन सक्दैनस्!” मैले काम गर्न थालेपछि, एक पटक एक सहकर्मीले म भकभकाएको सुनेर मलाई जिस्काउँदै भने, “तिमी किन भकभकाइरहेको? तिमी त साँच्चै रमाइला मान्छे रहेछौ!” त्यो ठट्टा भए तापनि, लाजले मेरो अनुहार रातोपिरो भयो, र आफ्नो यो कमजोरी हटाउन नसकेकोमा मैले आफैलाई घृणा गरेँ।
सन् २००८ को सेप्टेम्बरमा, मैले परमेश्वरको नयाँ काम स्वीकार गरेँ। ब्रदर-सिस्टरहरूले मेरो भकभकाहट थाहा पाउँदा, उनीहरूले मेरो खिल्ली उडाउनु वा मलाई तुच्छ ठान्नुको साटो, मलाई प्रोत्साहन दिए र मद्दत गरे। कहिलेकाहीँ भेलाहरूमा अपरिचित ब्रदर-सिस्टरहरूलाई भेट्दा, म आत्तिन्थेँ। जब म परमेश्वरका वचनहरू पढ्दा अड्किन्थेँ, ब्रदर-सिस्टरहरू मसँगै पढिदिनुहुन्थ्यो, र उनीहरू मलाई कुनै बाधा महसुस नगर्न प्रोत्साहन दिन्थे। मैले परमेश्वरको घरमा विशेष न्यानोपन महसुस गरेँ। तीन वर्षपछि, ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवाको रूपमा छाने, र यो परमेश्वरले मलाई उचाल्नुभएको हो भन्ने मलाई थाहा थियो। तर अगुवाको कर्तव्य निर्वाह अन्तर्गत सत्यता सङ्गति गर्ने र समस्याहरू समाधान गर्ने, अनि बारम्बार ब्रदर-सिस्टरहरूसँग भेला हुने कामहरू पर्थे, र विशेष गरी ठूला भेलाहरूमा, म आफ्नो भकभकाहटले गर्दा एकदमै बाँधिएको महसुस गर्थेँ र अत्यन्तै आत्तिन्थेँ, यदि सङ्गति गर्दा म अड्किएँ भने, म आफैलाई लज्जित पार्नेछु र ब्रदर-सिस्टरहरूले मलाई खिसी गर्नेछन् भन्ने डर लाग्थ्यो। मलाई याद छ, एउटा भेलामा, मैले राम्ररी नचिनेकी एउटी सिस्टरलाई देखेँ, र मैले राम्रोसँग सङ्गति गर्न सकिनँ भने उनले मेरो बारेमा के सोच्लिन् भनेर म चिन्तित थिएँ। फलस्वरूप, परमेश्वरका वचनहरू पढ्दा म नराम्ररी भकभकाएँ। ती सिस्टरले हाँसो थाम्न सकिनन् र खित्का छोडेर हाँसिन्। यसले मेरो आत्म-सम्मानमा गहिरो चोट पुग्यो। ती सिस्टरले मसँग इमानदारीपूर्वक माफी मागे तापनि, मलाई भित्रभित्रै निकै चोट लाग्यो र मैले सधैँ हीनताबोध गरेँ, त्यसैले म अक्सर गुनासो गर्थेँ, “ममा यो कमजोरी किन छ? म किन यसलाई सुधार्न सक्दिनँ?” पछि, ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा, म निकै संवेदनशील भएँ, र हरेक पटक परमेश्वरका वचनहरू पढेपछि वा सङ्गति गरेपछि, म ब्रदर-सिस्टरहरूको अनुहारको भावमा निकै ध्यान दिन्थेँ, र जब म कुनै अस्वाभाविक हाउभाउ देख्थेँ, म सोच्थेँ, “के उनीहरू मलाई देखेर हाँसिरहेका हुन्?” यसले मलाई झनै तनावग्रस्त बनाउँथ्यो र कहिलेकाहीँ म यति धेरै आत्तिन्थेँ कि मेरो हत्केलाबाट पसिना आउँथ्यो। म अन्ततः भेलाहरूदेखि डराउन थालेँ, र विशेष गरी ठूला भेलाहरूमा, म जिम्मेवारीहरू मेरा सहकर्मी ब्रदरतिर पन्छाइदिन्थेँ। म लामो समयसम्म यही पीडायुक्त र दमित अवस्थामा बाँचेँ, र अन्ततः मैले अरू दबाब सहन सकिनँ, त्यसैले मैले राजीनामा दिएँ। राजीनामा दिएपछि, मैले लेखन-पठनको काम लिएँ, आफ्ना सबै दिनहरू लेखहरू छनोट गर्दै बिताएँ र अरूसँग बोल्नु वा अन्तरक्रिया गर्नु नपरेकोले, मैले आफ्नो भकभकाहटद्वारा दबाब महसुस गर्न छोडेँ।
सन् २०२० को सेप्टेम्बरमा, म फेरि मण्डली अगुवाको रूपमा चुनिएँ, तर कामको उच्च दबाब र अपरिचित ब्रदर-सिस्टरहरूसँग बारम्बारको अन्तरक्रियाका कारण मेरो भकभकाउने समस्या झनै बिग्रियो। भेलाहरूको समय आउँदा, अरूले मलाई कसरी हेर्छन् भनेर म गहिरो चिन्ता गर्थेँ, र मैले यति धेरै बाधा महसुस गरेँ कि आफूले लेखन-पठनको काम गरेका दिनहरू याद गर्न बाध्य भएँ, जहाँ मैले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्नु पर्दैनथ्यो, र दबाब पनि कम थियो। मैले लेखन-पठनको काममा फर्कने आशा गरेँ। अप्रत्याशित रूपमा, सन् २०२१ को जुलाईमा, ब्रदर-सिस्टरहरूले मलाई प्रचारकको रूपमा मनोनीत गरे। मैले मनमनै सोचेँ, “यो कसरी सम्भव छ र? मण्डली अगुवा हुनु नै पर्याप्त दबाब हो; म फेरि पदोन्नति हुने आशा गर्ने आँट गर्दिनँ।” तर विवेकका आधारमा, म अझै पनि चुनावमा भाग लिन गएँ। चुनावी भेलाको दौडान, मैले प्रचारकले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्ने र ऊ धेरै मण्डलीहरूका लागि जिम्मेवार हुने, अनि उनीहरूको काम समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्ने कुरामा निर्भर हुनेबारे विचार गरेँ। मैले सोचेँ: ममा गम्भीर भकभकाहट भएको हुँदा, के म स्पष्ट रूपमा सङ्गति गर्न सक्छु होला र? यदि ब्रदर-सिस्टरहरू फेरि ममाथि हाँसे भने, के मेरो पूरै बेइज्जत हुनेछैन र? अन्तमा, मैले आफ्नो नाम फिर्ता लिएँ। यसपछि, केही अरू चुनावहरू आए। मलाई थाहा थियो धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, मैले उहाँको अभिप्रायलाई विचार गर्नुपर्छ र थप जिम्मेवारी लिनुपर्छ। तर जब म आफ्नो भकभकाहटबारे सोच्थेँ, म पछि हट्थेँ, हरेक पटक नाम फिर्ता लिन्थेँ।
सन् २०२३ को डिसेम्बरमा, मैले अगुवाइबाट एउटा पत्र प्राप्त गरेँ, जसमा ब्रदर-सिस्टरहरूले मलाई जिल्ला अगुवाका रूपमा सिफारिस गरेका र अगुवाइले म चुनावमा भाग लिऊँ भन्ने चाहेको लेखिएको थियो। मैले मनमनै सोचेँ, “मेरो कमजोरी विचार गर्दा, म भाग लिन बिलकुलै उपयुक्त छैन, र यदि म चुनिए पनि, म जिम्मेवारी सम्हाल्न सक्नेछैन। म के गरूँ?” मैले यदि नाम फिर्ता लिएँ भने, मण्डलीको कामलाई समर्थन नगरेको भन्ने डर हुन्थ्यो, तर भाग भाग लिऊँ भने, मैले आफूलाई अयोग्य महसुस गरेँ। म निकै दुविधामा परेँ। मेरो व्यक्तिगत भक्तिको समयमा, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ: “बोल्दा भकभकाउने र लटपटिने—यो कस्तो समस्या हो? (अन्तर्निहित अवस्था।) यो अन्तर्निहित अवस्था हो र यो एक प्रकारको शारीरिक खराबी पनि हो। अवश्य नै, भकभकिने शैलीहरू फरक-फरक हुन्छन्। कतिपय भकभकेहरूले एउटा शब्दको एउटा अक्षरलाई तानेर बोल्छन्, जब कि अरूले एउटा शब्दको एउटा वटा अक्षरलाई दोहोर्याउँछन्, र वाक्य पूरा गर्न दिनभरि नै लगाउँछन्। छोटकरीमा भन्दा, यो अन्तर्निहित अवस्था हो र अवश्य नै, यो एक प्रकारको शारीरिक खराबी पनि हो। के यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ? (हुँदैन।) यसमा भ्रष्ट स्वभाव समावेश हुँदैन। यदि कसैले ‘तिमी बोल्दा भोकभकाउँछौ; तिमी पक्कै पनि धूर्त हौ!’ वा ‘बोल्दा समेत तिमी भकभकाउँछौ; तिमी कसरी यति अहङ्कारी हुन सक्यौ?’ भनेर भन्यो भने—के त्यस्ता अभिव्यक्तिहरू सही हुन्छन्? (हुँदैनन्।) भकभकाउनु एउटा खराबी वा त्रुटि भएको हुनाले, यो व्यक्तिको भ्रष्ट स्वभावको कुनै पनि पक्षसँग सम्बन्धित हुँदैन। त्यसकारण, भकभकाउनु एउटा अन्तर्निहित अवस्था र एक प्रकारको शारीरिक खराबी हो। स्पष्ट रूपमा नै, यो व्यक्तिको भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन र ऊसँग यसको कुनै सम्बन्ध नै हुँदैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (९))। “मानिसहरूले समाधान गर्न नसक्ने केही समस्याहरू छन्। उदाहरणका लागि, तँसँग अरूसँग कुरा गर्दा नर्भस हुने प्रवृत्ति हुन सक्छ; जब तैँले परिस्थितिहरू सामना गर्छस्, तब तँसँग आफ्नै विचार र दृष्टिकोणहरू हुन सक्छन् तर तिनलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस्। धेरै मानिसहरू उपस्थित हुँदा तँ निकै नर्भस हुन्छस्; तैँले अस्पष्ट रूपमा बोल्छस् र तेरो मुख काँप्छ। कतिपय मानिसहरू त भकभक समेत गर्छन्; अरूका हकमा, यदि विपरीत लिङ्गी सदस्यहरू उपस्थित छन् भने, तिनीहरूको कुरा झनै बुझ्न सकिँदैन, र के भन्ने वा के गर्ने भन्ने तिनीहरूलाई बस थाहा नै हुँदैन। के यसलाई जित्न सजिलो छ? (छैन।) कम्तीमा पनि छोटो अवधिमा, तँलाई यो कमजोरीलाई जित्न सजिलो हुँदैन किनभने यो तेरो जन्मजात अवस्थाको भाग हो। … त्यसकारण, यदि तैँले छोटो अवधिमा यो खराबी, यो कमजोरीलाई जित्न सक्छस् भने, जित्। यदि यसलाई जित्न गाह्रो छ भने, यसको झमेला नलिई, यसविरुद्ध सङ्घर्ष नगर्, र आफूलाई चुनौती नदे। अवश्य नै, यदि तँ यसलाई जित्न सक्दैनस् भने, तँलाई नकारात्मक महसुस हुनु हुँदैन। तैँले आफ्नो जीवनकालमा यसलाई कहिल्यै जित्न नसके पनि, परमेश्वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन। मञ्चमा बोल्ने तेरो डर, तेरो नर्भसपन र डर—यी प्रकटीकरणहरूले तेरो भ्रष्ट स्वभाव प्रतिबिम्बित गर्दैनन्; ती जन्मजात भए पनि वा जीवनमा पछि वातावरणले पैदा गरेका भए पनि, बढीमा, ती तेरो मानवताको खराबी, कमजोरी हुन्। यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, न त तँ यसको कारण नकारात्मक नै बन्नुहुन्छ, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन। त्यसकारण, तँ प्रायजसो तेरो मानवताको निश्चित खराबी वा कमजोरीको बन्धनमा पर्नु हुँदैन, न त तँ प्रायजसो नकारात्मक र निरुत्साहित नै हुनुपर्छ, न त तैँले आफ्नो कर्तव्य त्याग्नुपर्छ र मुक्ति पाउने मौका गुमाउँदै, सत्यता पछ्याउन समेत त्याग्नुपर्छ। यो पटक्कै सार्थक हुँदैन; मूर्ख र अज्ञानी व्यक्तिले त्यही गर्नेथियो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट मैले बुझेँ, भकभकाउनु र लर्बराउनु जन्मजात अवस्थाहरू, शारीरिक कमजोरीहरू हुन्, र यो भ्रष्ट स्वभाव वा परमेश्वरले निन्दा गर्नुहुने कुरा होइन। यसले मेरो सत्यता पछ्याइ वा मेरो मुक्तिको पछ्याइलाई असर गर्दैन। म आफ्ना कमजोरीहरूद्वारा बाँधिनु हुँदैन। यदि शारीरिक कमजोरीका कारण, मैले सत्यता पछ्याउन छोडिदिएँ, र पदोन्नति र संवर्धन हुने अवसरलाई त्यागेँ, जसले मुक्तिको महत्त्वपूर्ण विषयलाई ढिलाइ गर्यो भने, के मैले सानो कुराको लागि ठूलो कुरा गुमाएको हुनेछैनँ र? के त्यो साँच्चै मूर्ख र अयोग्य हुनेछैन र? परमेश्वरका यी वचनहरू पढेर, मैले निकै सान्त्वना महसुस गरेँ। पछाडि फर्केर हेर्दा, मैले बाल्यकालदेखि नै आफ्नो बोलीको कमजोरीमा धेरै ध्यान दिएको थिएँ, यसले मलाई मेरो जीवन, काम र कर्तव्यहरूमा प्राय: कष्टकर र प्रभावित बनायो भन्ने विश्वास गरेँ, जसले गर्दा म कम बोल्ने र विशेष गरी एकान्तमा बस्ने भएँ, र ममा हीनताबोध आयो, त्यसैले मैले जे गरे पनि ममा कुनै आत्मविश्वास वा प्रेरणा थिएन। भेला अवधिहरूमा, जब ब्रदर-सिस्टरहरू एक-अर्कासँग आफ्नो अनुभवात्मक बुझाइ खुलस्त रूपमा सङ्गति गर्थे, त्यो स्वतन्त्र र मुक्त हुनुपर्छ, साथै सङ्गतिमार्फत पवित्र आत्माको काम प्राप्त गर्न पनि सजिलो हुन्छ, तर आफ्नो भकभकाहटको कारण, म भेलाहरूमा दबिएको महसुस गर्थेँ र स्वतन्त्र हुन सक्दिनथेँ, यहाँसम्म कि भेलाहरूदेखि डराउँथेँ र सकेसम्म तिनीहरूबाट पन्छिन्थेँ, जसको मतलब मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। मण्डली चुनावको सामना गर्दा, म सधैँ भाग लिने मौका त्याग्थेँ, र जब मण्डलीको कामलाई तुरुन्तै मानिसहरूको सहकार्यको आवश्यकता पर्थ्यो, म जिम्मेवारी लिन सक्दिनथेँ र परमेश्वरको अभिप्रायलाई विचार गर्न असफल हुन्थेँ। मैले म अक्सर आफ्नो भकभकाहटद्वारा कसरी बाँधिएको र बाधामा परेको थिएँ, पीडायुक्त र दमित स्थितिमा बाँचिरहेको थिएँ र यो सबै मैले आफ्ना कमजोरीहरूलाई सही रूपमा हेर्न नसक्नुका कारणले भएको थियो भन्ने बुझेँ। मैले सत्यता बुझिनँ, र मैले परमेश्वरका वचनहरू अनुसार मानिस तथा मामिलाहरूलाई कसरी हेर्ने भनेर जानिनँ। यसले मलाई बाँध्ने र बाधा दिने मात्र नभएर मलाई बारम्बार आफ्ना कर्तव्यहरू अस्वीकार गर्ने पनि बनायो। मैले आफूलाई सीमित समेत गरेँ, मेरो भकभकाहटले गर्दा, म अगुवा बन्न उपयुक्त छैन भन्ने विश्वास गरेँ, जसले गर्दा मैले परमेश्वरलाई गलत बुझेँ र उहाँबाट टाढा भएँ—म कति मूर्ख थिएँ! म यति नकारात्मक भइरहनु हुँदैनथ्यो, मैले आफ्नो कमजोरीलाई सही रूपमा व्यवहार गर्नुपर्थ्यो र शान्त भएर यो चुनावको सामना गर्नुपर्थ्यो।
केही दिनपछि, मैले थाहा पाएँ दुई सिस्टरहरू विशेष कारणवश चुनावमा भाग लिन सक्दैनन्। मैले मनमनै सोचेँ, “यी दुई सिस्टरहरू सबैभन्दा बढी चुनिने सम्भावना भएका थिए, त्यसैले यदि उनीहरू भाग लिन सक्दैनन् भने, के मेरो चुनिने सम्भावना झनै ठूलो हुनेछैन र?” आफ्नो कमजोरीको बारेमा सोच्दा, मैले तुरुन्तै धेरै दबाब महसुस गरेँ। मण्डलीमा बेइज्जत हुनु एउटा कुरा हो, तर यदि म जिल्ला अगुवा भएँ भने, त्यो प्रकारको अपमान त झन् ठूलो हुनेछ। मैले आफ्नो स्थिति एउटी सिस्टरलाई बताएँ, र उनले म अरूले मलाई कसरी हेर्छन् भन्नेमा धेरै चिन्तित रहेको, अनि मैले अभिमान र आडम्बरलाई धेरै महत्त्व दिइरहेको कुरा औँल्याइन्। सिस्टरले सम्झाएपछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, हतोत्साह, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो आत्मगौरव, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सकारात्मक तत्वहरू कमै मात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्याउनेछन्। मानिसहरू ती नकारात्मक स्थितिहरूलाई दबाउन सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले यी नकारात्मक कुराहरू पूर्ण रूपमा खुट्ट्याउन सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धेरै नकारात्मक कुराहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्-झन् कमजोर बन्छस्। यदि तँ पवित्र आत्माको अन्तर्दृष्टि र काम प्राप्त गर्न सक्दैनस् भने, तँ यी स्थितिहरूबाट उम्कन सक्नेछैनस्, र तेरो नकारात्मक स्थिति परिवर्तन हुनेछैन, किनकि यदि पवित्र आत्मा तँमा काम गर्दै हुनुहुन्न भने, तैँले मार्ग भेट्टाउन सक्दैनस्। यी दुई कारणहरूले गर्दा, तँलाई आफ्नो नकारात्मक स्थिति त्यागेर सामान्य स्थितिमा प्रवेश गर्न निकै कठिन हुन्छ। हुन त, अहिले आफ्नो कर्तव्य निभाउँदा, तँ कठिनाइ भोग्छस्, कडा मेहनत गर्छस्, धेरै प्रयास गर्छस्, र तैँले आफ्नो परिवार र जीवनवृति छोड्न र सबथोक त्याग्न पनि सक्छस्, तर तँभित्रका नकारात्मक स्थितिहरू साँच्चिकै रूपान्तरित भएका छैनन्। तिमीहरूलाई सत्यता पछ्याउन र अभ्यास गर्नमा बाधा पार्ने अत्यन्तै धेरै उल्झनहरू छन्, जस्तै तिमीहरूका धारणा, कल्पना, ज्ञान, संसारसँग व्यवहार गर्ने दर्शन, स्वार्थी चाहना, र भ्रष्ट स्वभावहरू। यी प्रतिकूल चीजहरूले तिमीहरूको हृदय भरिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ चुनावको कुरा आउँदा म सधैँ निष्क्रिय थिएँ, यो मलाई आफ्नो भकभकाहटले बाधा दिएकोले मात्र नभएर, आडम्बर र अभिमानको बन्धनका कारणले समेत थियो। मैले सोचेँ, “मेरा जति धेरै जिम्मेवारीहरू हुन्छन्, मैले त्यति नै धेरै ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्नुपर्छ, र अगुवाका रूपमा, मैले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्नुपर्छ र यदि म भेलाहरूमा सङ्गति गर्दा भकभकाएँ भने, धेरै मानिसहरूले मेरो भकभकाहटको बारेमा थाहा पाउनेछन्। के त्यसले मेरो बेइज्जत गर्नेछैन र?” यी विचारहरू मनमा राखेर, म चुनावमा भाग लिन डराएँ, र मैले पदोन्नति वा संवर्धन गरिन चाहिनँ। म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” भन्ने शैतानी विषद्वारा जिइरहेको थिएँ, र सधैँ आफ्ना कमजोरीहरू लुकाउन सक्दो प्रयास गर्थेँ ताकि अरूले मेरा कमजोरीहरू नदेखून्। मैले मण्डलीको कामको आवश्यकतालाई विचार गरिनँ, र बारम्बार चुनावमा भाग लिने अवसर त्यागेँ। जब मण्डलीको कामलाई तुरुन्तै मानिसहरूको सहकार्यको आवश्यकता पर्यो, मैले अझै पनि हेरिरहेँ र नाम फिर्ता लिएँ। म साँच्चै स्वार्थी र घृणित थिएँ! मण्डलीले मलाई धेरै वर्षसम्म सिञ्चन र संवर्धन गरेको थियो, र मैले मण्डलीको कामको जिम्मा लिनुपर्थ्यो। यो सृजित प्राणीको रूपमा मेरो जिम्मेवारी पनि थियो, र मैले यसलाई बिनासर्त स्वीकार गर्दै यसप्रति समर्पण गर्नुपर्थ्यो। तर आफ्नो इज्जत बचाउन, म चुनावमा उमेदवार बन्नबाट पन्छिएँ र अस्वीकार गरेँ, परमेश्वरको घरकाे बोझ उठाउन चाहिनँ, र यो सम्मानलाई बिलकुलै चिनिनँ। यो परमेश्वरले घिन मान्ने र घृणा गर्ने कुरा हो। त्यतिबेला मात्र मैले बुझेँ मेरो दमन र पीडाको जीवन त मेरो आडम्बर र अभिमानमाथिको अत्यधिक ध्यान, अनि अरूको विचारप्रतिको मेरो अत्यधिक चिन्ताका कारणले पो रहेछ। त्यति नै बेला, मैले परमेश्वरको उत्कट अभिप्राय महसुस गरेँ। परमेश्वरले मेरा कमजोरीहरूको कारण मलाई तिरस्कार गर्नुभएन, बरु मलाई बारम्बार पदोन्नति र संवर्धन हुने अवसरहरू दिनुभयो। जब म आफ्ना त्रुटिहरू र भ्रष्ट स्वभावद्वारा बाँधिएर र बाधामा परेर, निराश भएँ र पछि हटेँ, परमेश्वरले मलाई अन्तर्दृष्टि र ज्योति दिन आफ्ना वचनहरूको प्रयोग गर्नुभयो, मलाई सत्यता बुझ्न र नकारात्मक भावनाहरूको बन्धनबाट मुक्त हुन मद्दत गर्नुभयो। मैले परमेश्वरको प्रेम कति वास्तविक रहेछ भन्ने बुझेँ, र मलाई मैले निष्क्रिय र निराश भइरहनु हुँदैन, बरू मैले आफ्नो गलत अभिप्रायलाई त्याग्नुपर्छ र सही रूपमा सहकार्य गरी चुनावमा भाग लिनुपर्छ भन्ने थाहा भयो।
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “यदि तेरो मानवताको समझ सामान्य छ भने, तैँले आफ्ना खराबी र कमी कमजोरीहरूलाई सही तरिकाले सामना गर्नुपर्छ; तैँले तिनलाई मानिलिनुपर्छ र स्वीकार गर्नुपर्छ। यो तेरा लागि फाइदाजनक हुन्छ। तिनलाई स्वीकार गर्नुको अर्थ तिनको बन्धनमा पर्नु होइन, न त तिनका कारण प्रायजसो नकारात्मक बन्नु नै हो, बरु यसको अर्थ तँ भ्रष्ट मानवजातिको साधारण सदस्य मात्र होस्, तँसँग आफ्नै कमीकमजोरी र खराबीहरू छन्, तँसँग घमण्ड गर्ने केही कुरा छैन, मानिसहरूलाई तिनीहरूको कर्तव्य पूरा गर्न उत्थान गर्ने परमेश्वर नै हुनुहुन्छ, र परमेश्वरले तिनीहरूमा आफ्नो वचन र जीवन ढाल्ने अभिप्राय राख्नुहुन्छ, जसले तिनीहरूलाई मुक्ति हासिल गर्ने र शैतानको प्रभावबाट उम्कने तुल्याउँछ—यो पूर्ण रूपमा परमेश्वरले मानिसहरूलाई उत्थान गरिरहनु भएको हो भन्ने कुरालाई पहिचान गर्नु हो। हरेकको खराबी र कमीकमजोरी हुन्छ। तैँले आफ्ना कमीकमजोरी र खराबीहरूलाई आफूसँग सह-अस्तित्वमा रहन दिनुपर्छ; ती कुराहरूबाट जोगिने वा तिनलाई ढाकछोप गर्ने नगर्, र तिनका कारण बारम्बार भित्री रूपमा दमन महसुस नगर् वा सधैँ आफू निकृष्ट छु भन्ने समेत महसुस नगर्। तँ निकृष्ट छैनस्; यदि तँ आफ्नो सारा हृदय, सारा शक्ति, र सारा मनले, अनि आफ्नो क्षमताले सके जति, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र तँसँग निष्कपट हृदय छ भने, तँ परमेश्वरको अघि सुन जस्तै बहुमूल्य हुन्छस्। यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउन सक्दैनस् र तँमा बफादारीको कमी छ भने, तेरा जन्मजात अवस्थाहरू औसत व्यक्तिको भन्दा असल भए पनि, तँ परमेश्वरको अघि बहुमूल्य छैनस्, तँ एउटा बालुवाको कणको मूल्य जति समेत छैनस्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट मैले बुझेँ परमेश्वरले मानिसहरूबाट अत्यधिक माग गर्नुहुन्न, बरु उनीहरूलाई आफ्नो क्षमताअनुसार काम गर्न लगाउनुहुन्छ। जब उनीहरू आफ्नो क्षमता र कार्य सामर्थ्यअनुसार काम गर्छन्, आफ्ना मौलिक अवस्थाहरूका आधारमा आफ्नो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्छन्, र परमेश्वरसँग पूर्ण हृदयले र आफ्नो क्षमताले भ्याएसम्म सहकार्य गर्छन्, तब उहाँ प्रसन्न हुनुहुनेछ। परमेश्वर मानिसहरूको ढोंग चाहनुहुन्न, बरु उनीहरूले इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गरेको रुचाउनुहुन्छ। मैले केबारे चिन्तन गरेँ भने मेरो भकभकाहटले मलाई हीनताबोध गरायो र मलाई निराश, संवेदनशील र कमजोर बनायो, र मैले अरूका विचारहरूको कति धेरै मतलब गरेँ, र कसरी फलस्वरूप, मैले बारम्बार चुनावमा भाग लिन अस्वीकार गरेँ, र भारी जिम्मेवारीहरू लिन अनिच्छुक भएँ। अब मैले बुझेँ मेरो भकभकाहट हटाउन कठिन एउटा कमजोरी थियो, र मैले यसलाई स्वीकार गर्न र सही रूपमा हेर्न सिक्नुपर्थ्यो। आवश्यक पर्दा, मैले आफ्नो कमजोरीलाई ढाकछोप गर्ने वा लुकाउने नगरी, यसका बारेमा ब्रदर-सिस्टरहरूसँग खुलस्त कुरा गर्नुपर्छ। मेरो कमजोरीप्रति मैले राख्नुपर्ने मनोवृत्ति यही हो।
केही दिनपछि, चुनावको नतिजा घोषणा गरियो, र म जिल्ला अगुवाको रूपमा चुनिएँ। म गहिरो रूपमा प्रभावित भएँ, र मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, आज अगुवाको रूपमा चुनिनु भनेको तपाईंले मलाई उचाल्नुभएको हो। म आफ्नो कर्तव्य पूरा गर्ने यो अवसरको कदर गर्नेछु र तपाईंको प्रेम चुकाउन यसलाई राम्रोसँग पूरा गर्न सक्दो प्रयास गर्न तयार छु।” पछि, मैले सोचेँ, “मेरो कमजोरीका बावजुद म आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्न सक्छु?” एक दिन, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ जसले मलाई गहिरो रूपमा प्रभावित गरे, र मलाई अभ्यासको मार्ग देखाए। परमेश्वर भन्नुहुन्छ: “तैँले निश्चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्वर तैँले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तैँले उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्ने कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ। परमेश्वर यही कुरा हेर्नुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ मानवताका खराबी र कमीहरूबाट जोगिन सक्छस्, तर तँ सत्यता पछ्याउने मार्गबाट कहिल्यै जोगिन सक्दैनस्। तेरो मानवता जति नै सिद्ध वा कुलीन भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ। उदाहरणका लागि, मानौँ तँ डरपोक र अन्तर्मुखी व्यक्ति होस्, तँसँग भकभकाउने बानी छ, र तँ त्यति शिक्षित छैनस्—अर्थात्, तँसँग धेरै खराबी र अपर्याप्तताहरू छन्—तर तँसँग व्यावहारिक अनुभव छ, र तैँले बोल्दा भकभकाए पनि, तैँले स्पष्ट रूपमा सत्यताबारे सङ्गति गर्न सक्छस्, र यो सङ्गति सुनेपछि यसले सबैलाई सुधार गर्छ, समस्याहरू समाधान गर्छ, मानिसहरूलाई नकारात्मकताबाट बाहिर निस्कन सक्षम तुल्याउँछ, र परमेश्वरबारे रहेका तिनीहरूका गुनासा र गलतफहमीहरूलाई हटाउँछ। हेर् त, तँ आफ्ना शब्दहरूमा भकभकाए पनि, तिनले समस्याहरू समाधान गर्न सक्छन्—यी शब्दहरू कति महत्त्वपूर्ण छन्! जब साधारण मानिसहरूले ती कुरा सुन्छन्, तब तिनीहरूले तँ अशिक्षित व्यक्ति होस्, र तैँले बोल्दा व्याकरणका नियमहरू पालन गर्दैनस्, र कहिलेकहीँ तैँले प्रयोग गर्ने शब्दहरू पनि साँच्चै सुहाउँदो हुँदैनन् भनेर भन्छन्। सायद तैँले कुनै छेत्रको बोल्ने शैली प्रयोग गर्छस्, वा दैनिक जीवनको भाषा प्रयोग गर्छस्, र तेरा शब्दहरूमा बोल्न अत्यन्तै सिपालु उच्च शिक्षा पाएका मानिसहरूको स्तर र शैलीको कमी हुन्छ होला। तर, तेरो सङ्गतिमा सत्यता वास्तविकता समावेश हुन्छ, यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ, र मानिसहरूले ती सुनेपछि, तिनीहरूवरिपरिका सबै अँध्यारा बादल हराउँछन्, र तिनीहरूका सबै समस्याहरू समाधान हुन्छन्। देखिस्, के सत्यता बुझ्नु महत्त्वपूर्ण छैन र? (छ।) मानौँ तँ सत्यता बुझ्दैनस्, र तँसँग केही शैक्षिक ज्ञान भए पनि र तँ कुशल वक्ता भए पनि, जब सबैले तेरो कुरा सुन्छन्, तब तिनीहरूले सोच्छन्, ‘तिम्रा शब्दहरू धर्मसिद्धान्तहरू मात्रै हुन्, तिनमा अलिकति पनि सत्यता वास्तविकता छैन, र तिनले वास्तविक समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्, त्यसकारण के तिम्रा यी शब्दहरू सबै रित्ता छैनन् र? तिमी सत्यता बुझ्दैनौ। के तिमी फरिसी मात्रै होइनौ र?’ तैँले धेरै धर्मसिद्धान्तहरू बोले पनि, समस्याहरू समाधान ज्युँका त्युँ रहन्छन्, र तैँले मनमनै सोच्छस्, ‘मैले निकै निष्कपटताका साथ र गम्भीर रूपमा कुरा गरिरहेको थिएँ। मैले भनेको कुरा तिमीहरूले किन बुझेका छैनौ?’ तैँले अत्यन्तै धेरै धर्मसिद्धान्तहरू बोलिस्, तर नकारात्मक मानिसहरू नकारात्मक नै रहे, र परमेश्वरबारे गलतफहमी भएका मानिसहरूमा अझै पनि ती गलतफहमीहरू रहिरहे, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा देखा परेका कुनै पनि कठिनाइहरू समाधान भएनन्—यसको अर्थ तैँले बोलेका शब्दहरू व्यर्थ मात्रै थिए। तेरो मानवतामा जति धेरै खराबी र कमीकमजोरीहरू भए पनि, यदि तैँले बोल्ने शब्दहरूमा सत्यता वास्तविकता समावेश छ भने, तेरो सङ्गतिले समस्याहरू समाधान गर्न सक्छ; यदि तैँले बोल्ने शब्दहरू धर्मसिद्धान्तहरू हुन्, र तिनमा अलिकति पनि व्यावहारिक ज्ञान छैन भने, तैँले जति नै धेरै कुरा गरे पनि, तैँले मानिसहरूका वास्तविक समस्याहरू समाधान गर्न सक्नेछैनस्। मानिसहरूले तँलाई जसरी हेरे पनि, तैँले भन्ने कुराहरू सत्यता अनुरूप न नभएसम्म, र तिनले मानिसहरूको स्थितिलाई सम्बोधन गर्न, वा मानिसहरूका कठिनाइहरूलाई समाधान गर्न नसकेसम्म, मानिसहरूले ती कुरा सुन्न चाहनेछैनन्। त्यसोभए, कुन कुरा बढी महत्त्वपूर्ण छ: सत्यता कि मानिसहरूका आफ्नै अवस्थाहरू? (सत्यता अझै महत्त्वपूर्ण छ।) सत्यता पछ्याउनु र सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। त्यसकारण, तेरो मानवता वा तेरा जन्मजात अवस्थाहरूका हिसाबमा, तँमा जेसुकै खराबीहरू भए पनि, तँ ती कुराहरूको बन्धनमा पर्नु हुँदैन। बरु, तैँले सत्यता पछ्याउनुपर्छ, र सत्यता बुझेर आफ्ना विभिन्न खराबीहरूको पूर्ति गर्नुपर्छ, र यदि तैँले आफूमा केही कमीहरू पत्ता लगाइस् भने, तैँले ती कुरालाई तुरुन्तै सच्याउनुपर्छ। कतिपय मानिसहरूले सत्यता पछ्याउने कार्यमा ध्यान दिँदैनन्, बरु सधैँ आफ्नो मानवताका कठिनाइ, कमीकमजोरी, र खराबीहरू समाधान गर्नमा, र आफ्नो मानवताका समस्याहरूलाई सच्याउनमा ध्यान दिन्छन्, र तिनीहरूले स्पष्ट नतिजाहरू प्राप्त नगरी कैयौँ वर्ष मेहनत गर्छन्, र परिणाम स्वरूप तिनीहरूलाई आफूप्रति निराशा महसुस हुन्छ, र तिनीहरू, तिनीहरूको मानवता अत्यन्तै कमजोर छ र तिनीहरू अपरिवर्तनीय छन् भन्ने सोच्छन्। के यो अत्यन्तै मूर्खतापूर्ण कुरा होइन र?” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूले मलाई गहिरो रूपमा छोए, र मैले परमेश्वरले साँच्चै व्यावहारिक रूपमा हामीलाई मार्ग देखाउनुहुन्छ भन्ने बुझेँ। आफ्नो कर्तव्य पूरा गर्दा, हामी व्यक्तित्व, क्षमता, वा उमेरले बाँधिनु हुँदैन। कसैले आफ्नो कर्तव्य मानकअनुसार पूरा गर्छ कि गर्दैन भन्ने परमेश्वरको मापन ऊ अन्तर्मुखी वा बहिर्मुखी छ, उसको हैसियतको स्तरमा आधारित हुँदैन, न त उसको क्षमता वा उमेर कति छ भन्नेमा नै आधारित हुन्छ, उसमा कुनै कमजोरी वा बाधा छ कि छैन भन्ने कुरामा त झन् आधारित हुँदैन, बरु ऊ सत्यताको अभ्यास गर्न र सत्यताका सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छ कि सक्दैन, र ऊ परमेश्वरको मार्ग पछ्याउने व्यक्ति हो कि होइन भन्नेमा आधारित हुन्छ। उदाहरणका लागि, अगुवाइको कर्तव्यमा, ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र कर्तव्यहरूमा रहेका समस्याहरू समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। जबसम्म म आफूलाई सत्यताले सुसज्जित पार्ने र त्यसको अभ्यास गर्ने कुरामा ध्यान केन्द्रित गर्छु, सत्यतामाथिको मेरो सङ्गतिमा वास्तविकता, र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हुन्छ, र म ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न र अभ्यासको मार्ग औँल्याउन सक्षम हुन्छु, तब मेरो जिब्रो लर्बराए तापनि, ब्रदर-सिस्टरहरूले अझै पनि त्यसबाट लाभ उठाउनेछन्। यदि मैले सत्यता पछ्याउन कडा परिश्रम गर्दिनँ भने, मैले धाराप्रवाह र वाक्पटुतासाथ बोले पनि, यदि मैले सत्यतामा सङ्गति गर्न वा वास्तविक समस्याहरू समाधान गर्न सक्दिनँ भने, म अगुवाइको काम गर्न सक्षम हुनेछैन। म सधैँ सोच्थेँ अगुवाको कर्तव्य पूरा गर्न, कम्तीमा पनि राम्रो बोल्ने सीप र स्पष्ट बोल्ने क्षमता हुनुपर्छ, र म जस्तो भकभकाउने र जिब्रो लर्बराउने व्यक्ति अगुवाइको कर्तव्यका लागि उपयुक्त छैन, त्यसैले मैले चुनावमा अगुवावाइको उमेदवार बन्न बारम्बार अस्वीकार गरेँ। तर वास्तवमा अगुवाहरू छान्ने मेरा मापदण्डहरू गलत रहेछन्। परमेश्वरको घरमा अगुवाहरूको चुनाव सिद्धान्तहरूमा आधारित हुन्छ, व्यक्ति बाहिरबाट कस्तो देखिन्छ भन्नेमा होइन, न त व्यक्तिमा कस्ता जन्मजात कमजोरीहरू छन् भन्नेमा नै हुन्छ, बरु यो त व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्नेमा, र उसको मानवता र क्षमतामा आधारित हुन्छ। मैले यसबारे जति धेरै सोचेँ, त्यति नै मैले बुझेँ मेरा जन्मजात कमजोरी र अपूर्णताहरू मेरो कर्तव्य पूरा गर्नमा अवरोध वा बाधाहरू थिएनन्, र तिनलाई मेरो कर्तव्य अस्वीकार गर्ने बहानाको रूपमा प्रयोग गर्न सकिँदैनथ्यो। सत्यता बुझ्नु र परमेश्वरका मागहरू अनुसार अभ्यास गर्नु नै आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने कुञ्जीहरू हुन्! मैले अगाडि बढ्नको लागि अभ्यासको मार्ग प्राप्त गरेको छु, र म भकभकाउने र अड्किँदै बोल्ने भए तापनि, म परमेश्वरका मागहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न, आफूलाई सत्यताका सिद्धान्तहरूले सुसज्जित पार्नमा ध्यान केन्द्रित गर्न, आफ्नो अहङ्कार र अभिमानलाई पन्छाउन, र आफूलाई व्यवहारमा ढाल्ने र कामहरू गर्ने तरिकामा विवेकशील र व्यावहारिक बन्न तयार छु। अब, भेलाहरूमा सङ्गति गर्दा वा परमेश्वरका वचनहरू पढ्दा, म अझै पनि भकभकाउँछु, तर म यसलाई सही रूपमा व्यवहार गर्न सक्छु, र मेरो मानसिकता धेरै शान्त भएको छ। कहिलेकाहीँ, म यसलाई जित्न सचेत रूपमा काम गर्छु, र मलाई याद छ जब ब्रदर-सिस्टरहरूले मलाई सम्झाउँदै भन्थे, “तिमी अलि छिटो बोल्छौ, जसले गर्दा भकभकाउने सम्भावना बढी हुन्छ; अलि बिस्तारै बोल्यौ भने राम्रो हुन्छ,” “जब तिमी अड्किन्छौ, तिमी अन्तिम शब्दांशलाई तन्काउन सक्छौ; यसरी, तिमी भकभकाउने सम्भावना कम हुन्छ। यसरी, तिमी भकभकाउने सम्भावना कम हुन्छ।” भेलाहरूमा सङ्गति गर्दा, म आफ्नो बोलीलाई ढिलो गर्ने र आवश्यकटाअनुसार मेरा शब्दहरूलाई तन्काउन प्रयास गर्छु, सहकार्य गर्न सचेत प्रयास गर्छु। म अब पहिले जस्तो आत्तिन्न, जसले मलाई भेलाहरूमा बढी स्वतन्त्र बनाएको छ। एक पटक, म कामको बारेमा छलफल गर्न एक लेखन-पठनको कामको सुपरभाइजरलाई भेट्न गएँ, तर म अलिकति चिन्तित हुँदै सोच्दै थिएँ, “उहाँले सिद्धान्तहरू मभन्दा राम्ररी बुझ्नुहुन्छ। यदि म आत्तिएँ र नराम्ररी भकभकाएँ भने के होला? उहाँले मेरो बारेमा के सोच्नुहोला?” तर त्यसपछि मैले कसरी कामले कठिनाइहरूको सामना गरेको थियो, र कसरी अघिल्लो पत्रले राम्रो नतिजा हासिल गरेको थिएन, त्यसैले मुद्दामा छलफल र समाधान गर्न व्यक्तिगत रूपमा भेट्नैपर्ने आवश्यक थियो भन्ने बारे सोचेँ। म आफ्नो भकभकाहटलाई समस्या समाधान गर्नबाट रोक्न दिन सक्दिनथेँ किनकि त्यसले काममा ढिलाइ गर्थ्यो। जब मैले यसरी सोचेँ, मैले अब बाधा महसुस गरिनँ, त्यसैले मैले कामको बारेमा छलफल गर्न सुपरभाइजरसँग एउटा भेलाको व्यवस्था गरेँ।
पछाडि फर्केर हेर्दा, कसरी मैले आफ्नो भकभकाहटको कारणले बारम्बार आफ्ना कर्तव्यहरू अस्वीकार गरेँ, र अन्ततः आफ्नो भकभकाहटद्वारा बाधा महसुस नगरी शान्तपूर्वक आफ्ना कर्तव्यहरू स्वीकार गर्न सक्षम भएँ, म के बुझ्छु भने यो पूरै यात्रामा परमेश्वरका वचनहरूले मलाई सान्त्वना, प्रोत्साहन र मार्गदर्शन दिएका छन्। म मेरो हृदयको गहिराइबाट परमेश्वरलाई इमानदारीपूर्वक धन्यवाद दिन्छु!