२६. मैले धरातलीय भई आफ्नो कर्तव्य निर्वाह गर्न सिकेँ

लु हेङ, चीन

अप्रिल २०२३ मा, मैले अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ, जसमा ममा अहङ्कारी स्वभाव भएको, मैले मानिसहरू छान्दा र नियुक्ति गर्दा सत्यता सिद्धान्तहरू नखोज्ने गरेको, अनि सधैँ आफ्नै इच्छाअनुसार अनुपयुक्त मानिसहरूलाई छानेर मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएको कुरा उल्लेख गरिएको थियो। त्यसमा सङ्गति गरिसकेपछि पनि मैले आफूलाई नसच्याएको, र अगुवाका रूपमा काम गरेको एक वर्षमा खासै प्रगति नगरेको कुरा पनि लेखिएको थियो। समग्रमा, मेरो क्षमता औसत भएको र म अगुवा वा कामदारका रूपमा थप संवर्धन गरिन अनुपयुक्त भएको मूल्याङ्कन गरिएको रहेछ। ममा लेखनसम्बन्धी केही प्रतिभा भएकाले, मलाई लेखन-पठनको कर्तव्यमा खटाइयो। अगुवाहरूको पत्र पढ्दा मेरो मुटुमा ठूलो चोट लाग्यो। अगुवाहरूको भनाइको अर्थ के थियो भने, मेरो कमजोर क्षमताले मलाई अगुवाइको कर्तव्यका लागि अयोग्य बनाउँछ। यसको मतलब म अब उप्रान्त अगुवा वा कामदारका रूपमा सेवा गर्न सक्दिनथेँ। यसो हुँदा मैले ब्रदर-सिस्टरहरूको सम्मान गुमाउने मात्र होइन, सत्यता प्राप्त गर्ने धेरै अवसर पनि गुमाउनेथिएँ, अनि मेरो मुक्ति पाउने आशा पनि क्षीण हुनेथियो। यस्तो सोच्दा म असाध्यै खिन्न भएँ। राति सुत्न नसकी मैले ओछ्यानमा कोल्टे फेरिरहेँ। मैले मनमनै सोचेँ, “कमजोर क्षमताकै कारण मलाई नयाँ काममा खटाइएको छ। अब मैले फेरि कहिल्यै अगाडि आउने मौका पाउनेछैन; म सधैँभरिका लागि एउटा नगण्य व्यक्ति मात्र हुनेछु। लेखन-पठनको कर्तव्य निर्वाह गर्दा त मैले हरेक दिन लेखहरू जाँच्ने र पत्रहरूको जवाफ दिने काम मात्र गर्नुपर्छ। यो अगुवा हुनुजस्तो हुँदै होइन, जहाँ कामका सबै पक्षमा प्रबन्ध गर्ने र निर्णयहरू लिने वा कामलाई मार्गदर्शन गर्न ब्रदर-सिस्टरहरूसँग भेला गर्न पाइन्छ। मैले फेरि कहिल्यै उनीहरूको आदर र समर्थन पाउनेछैन। यसबाहेक, मलाई किन बर्खास्त गरियो भन्ने कुरा अगुवाहरूले मलाई चिन्ने ब्रदर-सिस्टरहरूलाई पक्कै बताउनुहुनेछ। सायद उनीहरूले मलाई खुट्ट्याउने पनि छन्। त्यसपछि त मेरो प्रतिष्ठा धुलोमा मिल्नेछ, र जताततै मेरो बेइज्जत हुनेछ!” यसबारे जति सोच्थेँ, मलाई उति नै मेरो जीवन अन्धकारमय र भविष्य पूर्ण रूपमा निराशाजनक लाग्थ्यो, अनि मेरो आँखाबाट आँसुका धारा बगे। मलाई मेरा यी विचारहरू गलत छन् भन्ने थाहा थियो, र म आफूलाई सम्हालेर आफ्नो हृदय आफ्नो कर्तव्यमा समर्पित गर्न चाहन्थेँ। तर जब-जब कमजोर क्षमताका कारण नयाँ काममा खटाइएको कुरा सम्झन्थेँ, मुटुमा छुरा रोपेजस्तै हुन्थ्यो। कर्तव्य निर्वाह गर्दा म आफ्नो हृदय शान्त पार्न सक्दिनथेँ, र कहिलेकाहीँ त म लुकेर रुन्थेँ। त्यस दौरान, म समग्र कामको खासै वास्ता नगरी आफ्नै कामहरू पूरा गर्नमै सन्तुष्ट हुँदै, हरेक दिन झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्थेँ। मेरो टोलीका ब्रदर-सिस्टरहरूले काममा ढिलासुस्ती गरिरहेको र टोली अगुवाले आफ्नो कर्तव्यमा कुनै बोझ नउठाएको अनि त्यसका लागि उचित योजना नबनाएको देख्दा पनि, यो मसँग सम्बन्धित छैन भन्ठान्दै, म त्यो समाधान गर्नका लागि सङ्गति गर्दिनथेँ। मैले आफ्नो कर्तव्यमा कुनै बोझ नउठाएकीले, त्यसबाट कुनै नतिजा आएन। जब सुपरिवेक्षकले मेरा समस्याहरू औँल्याउनुभयो र मलाई काटछाँट गर्नुभयो, तब मात्र मैले विषयको गम्भीरता बुझेँ। मलाई यस्तै गरिरहे आफूलाई बर्खास्त गरिनेछ भन्ने चिन्ता लाग्यो, त्यसैले म मेरा समस्याहरू समाधान गर्न सत्यता खोज्न चाहन्थेँ। मैले प्रार्थना गरेँ, “प्रिय परमेश्वर, म निकै खराब स्थितिमा छु र कहिल्यै जाँगर चलाउन सक्दिनँ, तर यसको कारण के हो मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्नै समस्याहरू बुझ्न र पाठ सिक्न सकूँ।”

आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जुन सिधै मेरो स्थितिसँग सम्बन्धित थियो। परमेश्‍वर भन्‍नुहुन्छ: “जब कतिपय मानिसलाई अगुवाको पदबाट बर्खास्त गरिन्छ र तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग गरिनेछैन भनेर माथिले भनेको तिनीहरूले सुन्छन्, तब तिनीहरू आफूलाई हटाइँदै छ जस्तो गरी अत्यन्तै दुःखी हुन्छन्, र बेस्सरी रुन्छन्—यो कस्तो समस्या हो? के तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग नगरिनुको अर्थ तिनीहरूलाई हटाइनु हो? के त्यसको अर्थ त्यसपछि तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्ने हो? के तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत साँच्चै त्यस्तो महत्त्वपूर्ण लाग्छ? यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, आफूले ख्याति, प्राप्ति र हैसियत गुमाउँदा तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ, र साँचो पछुतो महसुस गर्नुपर्छ; तिनीहरूले सत्यता पछ्याउने मार्ग रोज्नुपर्छ, जीवनको नयाँ पाना पल्टाउनुपर्छ, र तिनीहरू धेरै दुःखी हुनु वा धेरै रुनु हुँदैन। यदि तिनीहरूलाई आफूले वास्तविक काम नगरेको र सत्यता नपछ्याएको कारण परमेश्‍वरको घरले आफूलाई बरखास्त गरेको छ भन्ने हृदयमा थाहा भयो अनि तिनीहरूलाई फेरि प्रवर्धन वा प्रयोग गरिनेछैन भनेर परमेश्‍वरको घरले भनेको तिनीहरूले सुने भने, तिनीहरूलाई लाज लाग्नुपर्छ, आफू परमेश्‍वरप्रति ऋणी भएको र आफूले परमेश्‍वरलाई निराश तुल्याएको महसुस गर्नुपर्छ; तिनीहरूले आफू परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य छैनँ भनेर जान्नुपर्छ, अनि यसरी तिनीहरूमा अलिअलि समझ छ भनेर मान्न सकिन्छ। तर तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग गर्नेछैन भनेको सुन्दा नै नकारात्मक र दुःखी बन्छन्, र यसले के देखाउँछ भने तिनीहरू ख्याति, प्राप्ति र हैसियत पछ्याइरहेका छन्, र तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनले मेरो हृदयमै छोए। मलाई धेरै लज्जित र धेरै भावुक पनि महसुस भयो। यस पटकको कर्तव्य फेरबदलमा, अगुवाहरूले मेरो क्षमता औसत भएको र म अगुवाका रूपमा संवर्धन गर्न अनुपयुक्त भएको मूल्याङ्कन गरेको सुन्नु मेरो लागि ठूलो धक्का थियो। मलाई लाग्यो, कमजोर क्षमताका कारण मलाई नयाँ काममा खटाइएकाले, म फेरि कहिल्यै अगुवाका रूपमा तालिम लिन वा अगाडि आउन पाउनेछैन। मलाई मेरो जीवन अन्धकारमय र भविष्य निराशाजनक लाग्यो, अनि म कर्तव्यमा औपचारिकता मात्र पूरा गर्थेँ। मैले आफूमा हैसियतको चाहना अति नै प्रबल रहेछ भन्ने देखेँ। पहिले म अगुवा हुँदा, ममा असीमित ऊर्जा थियो। म बिहानदेखि बेलुकासम्म मण्डलीको काममा खटिन्थेँ, र जब कुनै समस्या देख्थेँ, म त्यसलाई समाधान गर्नमा जुटिहाल्थेँ। मलाई लाग्थ्यो, मैले साँचो बोझ उठाएकी छु र म परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति हुँ। तर अगुवाइको कर्तव्य गुमाएपछि, म हावा फुस्किएको बेलुनजस्तै भएँ र रत्तिभर पनि जाँगर चलाउन सकिनँ। म हरेक दिन झाराटारुवा तरिकाले कर्तव्य निर्वाह मात्र गर्थेँ। जब मैले टोली अगुवाले कर्तव्यमा कुनै बोझ नउठाएको र टोलीको काम लथालिङ्ग भएको देखेँ, मैले त्यो नदेखेजस्तै गरेँ। एउटा बाहिरको मान्छेले जस्तै, मैले काममा ढिलाइ हुन दिएँ। यसरी कर्तव्य निर्वाह गर्दा, मैले परमेश्वरका अभिप्रायहरूलाई रत्तिभर पनि ख्याल गरिरहेकी थिइनँ; म त केवल परिश्रम र श्रम मात्र गरिरहेकी थिएँ। मैले मेरो विगतको उत्साह र मैले उठाएको त्यो बोझ सबै प्रतिष्ठा र हैसियतका लागि मात्र रहेछन्, र म सत्यता पछ्याउने मार्गमा हिँडिरहेकी रहेनछु भन्ने देखेँ। वास्तवमा, मेरो कमजोर क्षमता मलाई बर्खास्त गरिनुको एउटा कारण मात्र थियो; मुख्य कारण त मेरो अहङ्कारी प्रकृति र मैले सत्यता स्वीकार गर्न इन्कार गर्नु थियो। मैले आफ्नो हैसियत गुमेकोमा दिनभरि उदास हुनु, र फलस्वरूप मण्डलीको काममा ढिलाइ गराउनुको सट्टा यो बर्खास्तगीलाई आफ्नो भ्रष्ट स्वभावबारे राम्ररी चिन्तन गर्न र बुझ्न अनि साँचो पश्चात्ताप गर्न प्रयोग गर्नुपर्थ्यो। यो त दुष्टता गर्नु थियो र परमेश्वरका लागि घृणास्पद थियो। त्यसपछि, मैले आफ्ना समस्याहरूसँग सम्बन्धित परमेश्वरका वचनहरू खोजेँ ताकि म आत्मचिन्तन गर्न र आफूलाई बुझ्न सकूँ। मैले के देखेँ भने, विगतमा, मैले आफ्नो अहङ्कारी स्वभावका आधारमा कर्तव्य निर्वाह गरेकी रहेछु, र मानिसहरूको बुद्धि र वरदानहरूका आधारमा मात्र उनीहरूलाई चुन्ने र नियुक्ति गर्ने गरेकी रहेछु। जब अगुवाहरूले मसँग सत्यता सिद्धान्तबारे सङ्गति गर्नुहुन्थ्यो, म सुन्दै सुन्दिनथेँ। फलस्वरूप, मैले गलत मानिसहरू चुनेँ, जसले मण्डलीको काममा अवरोध र बाधा पुर्‍यायो र विभिन्न कामलाई अर्ध-ठप्प स्थितिमा छोड्यो। अगुवाहरूले मलाई बर्खास्त गर्नु सही थियो; उहाँहरूले मण्डलीको कामको सुरक्षा गरिरहनुभएको थियो। मण्डलीले अझै पनि मलाई कर्तव्य निर्वाह गर्ने अवसर दिएको थियो, त्यसैले मैले यसको कदर गर्नुपर्थ्यो र राम्ररी पश्चात्ताप गर्नुपर्थ्यो। त्यसपछि, मैले आफ्नो हृदय कर्तव्यमा समर्पित गरेँ र टोलीको काममा सहभागी हुन पहल गरेँ। हाम्रो सुस्त प्रगतिको कारणबारे मैले गहिरिएर विचार गरेँ, र समस्याहरू भेट्टाउँदा, मैले तिनका बारेमा सङ्गति गर्न र तिनलाई समाधान गर्न सम्बन्धित सत्यता सिद्धान्तहरू खोजेँ। टोली अगुवाले बोझ नउठाएको देख्दा, मैले यो कुरा औँल्याएँ र उनीसँग सङ्गति गरेँ। उनले आफ्ना समस्याबारे केही बुझाइ प्राप्त गरिन् र आफूलाई सच्याउन र पश्चात्ताप गर्न इच्छुक भइन्। त्यसपछि, हामीले एक-अर्काको सुपरिवेक्षण गर्दै र एक-अर्काका सबल पक्षहरूबाट सिक्दै मिलेर कामको योजना बनायौँ। केही समयपछि, कामको नतिजामा केही सुधार देखिन थाल्यो।

जुन महिनाको एक दिन, माथिल्लो तहका अगुवाहरूले मलाई परमेश्वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा कर्तव्य निर्वाह गर्न इच्छुक छु कि छैन भनेर अचानक सोध्नुभयो। यो सुन्दा, ममा मिश्रित भावनाहरू आए। लेखन-पठनको काममा खटाइएपछि मेरो दिक्दारीको स्थिति सम्झँदा, मलाई आफू बढुवा हुन लायक नभएजस्तो लाग्यो। साथसाथै, म अलि चिन्तित पनि थिएँ, “यदि मैले शुद्धाशुद्धि जाँच टोलीमा लेखन-पठनको कर्तव्य निर्वाह गर्न रोजेँ भने, मैले फेरि कहिल्यै अगुवा बन्ने मौका नपाउन सक्छु। के यसले मलाई अरूभन्दा विशिष्ट बन्न गाह्रो बनाउँदैन र?” यस्तो सोच्दा, म साँच्चिकै अस्वीकार गर्न चाहन्थेँ, तर मलाई मण्डलीले सधैँ कामका आवश्यकताअनुसार कर्तव्यहरूको प्रबन्ध गर्छ, र एउटा सृजित प्राणीमा हुनुपर्ने समझ भनेको समर्पित हुनु हो भन्ने पनि थाहा थियो, त्यसैले म जान राजी भएँ। सुरुमा, ममा आफ्नो कर्तव्य राम्रोसँग गर्ने केही चाहना थियो, तर मेरो स्थिति खासै नबदलिएकाले, केही घटना हुनेबित्तिकै मेरो वास्तविकता फेरि प्रकट भइहाल्यो। एकपटक, मैले अगुवाबाट बर्खास्त गरिएकी एउटी सिस्टरले आफूबारे केही बुझाइ प्राप्त गरेर पश्चात्ताप गरिछिन्, र चाँडै नै फेरि अगुवा चुनिइछिन् भन्ने थाहा पाएँ। मलाई असाध्यै ईर्ष्या लाग्यो, “परमेश्वरले उनलाई किन यति धेरै अनुग्रह गर्नुभयो र यति राम्रो क्षमता दिनुभयो? मेरो उमेर पनि उस्तै छ, तर मेरो कमजोर क्षमताका कारण, मैले अगुवा बन्ने मौका सधैँका लागि गुमाएँ। अब उप्रान्त म एउटा मामुली टोली सदस्य मात्र हुन सक्छु। परमेश्वरले मलाई किन राम्रो क्षमता दिनुभएन?” जब मैले यस्तो सोचेँ, मलाई लाग्यो, मलाई परमेश्वरद्वारा उच्च पारिरहिएको वा मैले उहाँको निगाह पाइरहेकी छैनँ, न त मलाई अरूले नै आदर गर्छन्, र मलाई अवर्णनीय उदासी र क्षति महसुस भयो। कहिलेकाहीँ म आफूलाई यी कुराहरूबारे सोच्नबाट रोक्ने प्रयास गर्थेँ, तर जब म आफ्नो कर्तव्य सिध्याएर एकैछिन विश्राम लिन्थेँ, यी विचारहरू अनियन्त्रित भई बाहिर निस्कन्थे। म यसबारे जति धेरै सोच्थेँ, मेरो हृदय उति नै अशान्त हुन्थ्यो। मैले आफ्नो कर्तव्य छोड्ने आँट नगरे पनि, आफूले गर्ने कुनै पनि काममा जाँगर चलाउन सकिनँ। म हरेक दिन झारा मात्र टार्थेँ, र कुनै नतिजा हासिल गर्दिनथेँ।

एक दिन आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, र मेरो स्थितिमा केही सुधार आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्तिलाई जस्तोसुकै समस्या भए पनि, चाहे त्यो हैसियत, ख्याति, प्राप्ति, र धनको पछ्याइ होस्, वा व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने होस्, कुनै पनि अवस्थामा, सबै समस्याहरू सत्यताको पछ्याइमार्फत नै समाधान गरिनुपर्छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, ऊ सत्यताबाट पन्छिन सक्दैन, र समस्या जेसुकै भए पनि, सत्यताविना त्यसलाई समाधान गर्न सकिँदैन। जब कोही परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सत्यताबाट टाढा हुन्छ, तब सबै कुरा खोक्रो हुन्छ, र अरू कुनै पनि कुरा पछ्याउनुको कुनै फाइदा हुँदैन। कतिपय मानिसहरू गौरवशाली र प्रभावशाली कर्तव्यहरू निर्वाह गर्नमा, अरूले तिनीहरूलाई आदरभावले हेरेको र तिनीहरूको ईर्ष्या गरेकोमा नै सन्तुष्ट हुन्छन्। के यी कुराहरूको कुनै काम लाग्छ? यी कुराहरू परमेश्‍वरको अनुमोदनको बराबर होइनन्, न त ती उहाँले दिनुभएका इनाम नै हुन्। त्यसैले, तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो केवल अस्थायी हो; त्यो अनन्त हुँदैन। कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्‍वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ। तैँले परमेश्‍वरले माग गर्नुभएको मानकअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्रै मुक्ति प्राप्त गर्न सक्छस्। यदि तैँले अर्को बाटो भेट्टाउँछस् र अस्पष्ट कुराहरू पछ्याउँछस्, र तैँले भाग्यले सफल हुन्छु भनेर स्वैरकल्पना गर्छस् भने, तँ परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने व्यक्ति होस्, र तँलाई पक्कै पनि परमेश्‍वरद्वारा श्राप दिइनेछ र दण्डित तुल्याइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेपछि मैले के बुझेँ भने, अगुवा वा कामदार हुनुको अर्थ व्यक्तिले अन्तमा राम्रो परिणाम पाउनेछ भन्ने होइन। परमेश्वरले कुनै व्यक्तिको परिणाम उसले सत्यता प्राप्त गरेको छ कि छैन र उसको भ्रष्ट स्वभावमा परिवर्तन आएको छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। मैले परमेश्वरको धर्मी स्वभाव बुझेकी थिइनँ। मलाई सधैँ लाग्थ्यो, अगुवा हुँदा प्रतिष्ठा र अरूको उच्च आदर मात्र पाइँदैन, सत्यता प्राप्त गर्ने धेरै अवसर र मुक्ति पाउने अझ ठूलो आशा पनि हुन्छ, त्यसैले म अगुवाहरूको ईर्ष्या गर्थेँ। मेरो यो दृष्टिकोण सत्यताअनुरूप थिएन। मैले ती धेरै मानिसलाई सम्झेँ जो अगुवा त थिए तर सत्यता नपछ्याएका र गलत मार्गमा हिँडेका कारण अन्ततः प्रकाश गरिएका र हटाइएका थिए। याङलाई लिऔँ, जसलाई म चिन्थेँ। अगुवा भएको बेला आफ्नो अहङ्कारी प्रकृतिका कारण उसले ख्याति, प्राप्ति र हैसियत पछ्यायो; उसले ख्याति र प्राप्ति पाउन ब्रदर-सिस्टरहरूसँग प्रतिस्पर्धा गर्‍यो, र आफूसँग सहमत नहुनेहरूलाई पछाडिबाट प्रहार गर्ने र बहिष्कार गर्नेजस्ता कामसमेत गर्‍यो। अन्तमा, उसले मण्डलीको काममा गम्भीर रूपमा अवरोध र बाधा पुऱ्यायो र उसलाई एक्ल्याइयो। त्यसपछि डान थिइन्, जो सधैँ अगुवा वा कामदार रहँदै आएकी थिइन्। उनका वरदान र प्रतिभाहरू उत्कृष्ट थिए, तर आफ्नो कर्तव्यमा उनी प्रायः आफैँलाई उच्च पार्थिन्, घमण्ड देखाउँथिन्, शक्तिमा एकाधिकार जमाउँथिन्, र आफूसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरूलाई पाखा लगाउँथिन्। उनले धेरै दुष्ट कार्य गरिन् र उनी ख्रीष्टविरोधीका रूपमा चित्रण गरिइन् र निष्कासित भइन्। यी असफल व्यक्तिहरूको उदाहरणबाट, मैले के देखेँ भने, अगुवा हुनुले नै मुक्ति पाइन्छ र सिद्ध पारिन्छ भन्ने ग्यारेन्टी गर्दैन। मुख्य कुरा त सत्यता पछ्याइँन्छ कि पछ्याइँदैन र सही मार्गमा हिँडिन्छ कि हिँडिदैन भन्ने हो। अगुवा र कामदारहरूले अझ धेरै मानिस, घटना, र कामकुराहरूको सामना गर्छन्, त्यसैले उनीहरूसँग निश्चय नै प्रशिक्षित हुने अवसरहरू अझ धेरै हुन्छन्। यदि उनीहरूले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता पछ्याउनमा ध्यान केन्द्रित गर्न सके भने, उनीहरूले पक्कै अझ धेरै सत्यता प्राप्त गर्नेछन्, जुन सिद्ध पारिनका लागि फाइदाजनक हुन्छ। तर यदि उनीहरूले सत्यता पछ्याएनन् र उनीहरूको भ्रष्ट स्वभाव परिवर्तन भएन भने, अगुवा नै भए पनि उनीहरूले मुक्ति पाउन सक्दैनन्। यदि, आफ्नो भ्रष्ट स्वभावका आधारमा, उनीहरूले दुष्टता गरे र मण्डलीको काममा अवरोध र बाधा पुऱ्याए भने, उनीहरू अन्ततः प्रकट हुनेछन् र हटाइनेछन्। अहिले निर्वाह गर्ने कर्तव्यले भविष्यको परिणाम र गन्तव्य निर्धारण गर्दैन। सत्यता पछ्याएर र आफ्नो भ्रष्ट स्वभाव फालेर मात्र बाँच्न सकिन्छ। यो कुरा बुझ्दा मेरो हृदयमा ठूलो ज्योति आयो, र म अब उप्रान्त आफूले प्रतिष्ठा ल्याउने र मानिसहरूलाई मेरो आदर र ईर्ष्या गर्न लगाउने कर्तव्यहरू पछ्याउनु हुँदैन। मैले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सत्यता पछ्याउनैपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। त्यसपछि, आफ्नो कर्तव्यप्रतिको मेरो मानसिकता केही हदसम्म बदलियो। जब मलाई फुर्सद हुन्थ्यो, म परमेश्वरका वचनहरू मनन गर्थेँ र अनुभवात्मक गवाहीका लेखहरू लेख्थेँ। मैले कर्तव्यमा पहिलेभन्दा बढी ध्यान दिन थालेँ, र यसले केही नतिजा दिन थाल्यो।

पछि, मैले परमेश्वरका वचनका थप केही खण्ड पढेँ, जुन मेरा आफ्नै समस्याहरू बुझ्न धेरै सहयोगी थिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथि विश्‍वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्‍वरमाथि विश्‍वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे चिन्तन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्‍म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्‍म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्ने बारेमा त कुरै नगरौँ; तैँले अन्त्यमा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्‍ने कुरा त झन् भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्‍न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्‍वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्‍वरले दोषी ठहराउने कुरा हो, र परमेश्‍वरले न्याय गर्ने र शुद्ध पार्ने कुरा पनि यही हो। मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्‍वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्‍वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूका लागि परमेश्‍वरले नियोजन गर्नुहुन्न; परमेश्‍वरले मानिसहरूलाई सत्यता, मार्ग, र जीवन प्रदान गर्नुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् साना र महत्त्वहीन सृजित प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति नबनून्। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछ्याइ भनेको बर्बादीको बाटो हो। हैसियत पछ्याउने तेरो बहाना जति नै उचित भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले त्यो कुरा तँलाई दिनुभएन भने, तँ त्यो प्राप्त गर्ने लडाइँमा असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र हटाइनेछ—तँ बर्बादीको बाटोमा हुनेछस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))

परमेश्वर के खुलासा गर्नुहुन्छ भने, ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवनभन्दा महत्त्वपूर्ण ठान्छन्। उनीहरू राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नुलाई आफ्नो पछ्याइको लक्ष्य बनाउँछन्, र उनीहरू परमेश्वरको घरमा कसरी पकड जमाउने र कसरी अरूलाई आफूलाई उच्च नजरले हेर्न लगाउने भनी आफ्नो हृदयमा निरन्तर दाउपेच गर्छन्। ख्याति, प्राप्ति र हैसियत गुमाउने, र ब्रदर-सिस्टरहरूको प्रशंसा र आराधना नपाउनेबित्तिकै उनीहरूले सम्पूर्ण ऊर्जा गुमाउँछन् र जीवन अर्थहीन भएको महसुस गर्छन्। आफूलाई योसँग तुलना गर्दा, मैले मेरो व्यवहार ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने देखेँ। म “अरूभन्दा असल बन”, “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ”, र “जुन सिपाही जनरल बन्‍न चाहँदैन, ऊ असल सिपाही नै होइन” जस्ता शैतानी विषहरूअनुसार जिउँथेँ। मलाई लाग्थ्यो, अर्थपूर्ण र मूल्यवान् जीवन जिउनका लागि म अरूभन्दा विशिष्ट बन्नैपर्छ। स्कुलमा, म कडा अध्ययन गर्थेँ। कक्षा मनिटर चुनिएपछि, मेरा सहपाठीहरू सबैले मलाई आदर गर्थे र मेरो प्रशंसा गर्थे। म धेरै गर्व महसुस गर्थेँ र जस्तोसुकै कष्ट पनि सार्थक छ भन्ठान्थेँ। परमेश्वरलाई भेट्टाएपछि, मैले अगुवा हुनुले हैसियत र प्रतिष्ठा ल्याउँदो रहेछ भन्ने देखेँ, त्यसैले म सधैँ अगुवा बन्नुको पछि लागेँ। जब म अगुवा चुनिएँ र मैले मेरा ब्रदर-सिस्टरहरूको सम्मान पाएँ, मेरो हृदय महजस्तै गुलियो भयो। मलाई लाग्यो, परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नुमा लागिपर्नुपर्ने कुनै कुरा छ, त्यसैले म कामका सबै पक्षमा सक्रिय रूपमा सहभागी भएँ, हरेक दिन राति अबेरसम्म काम गरेँ र कहिल्यै थकान महसुस गरिनँ। जब मैले माथिल्लो तहका अगुवाहरूले म अगुवा हुन अनुपयुक्त छु भनेको सुनेँ, मलाई ठूलो घनले हानेजस्तै महसुस भयो। म अब उप्रान्त अगुवा हुन सक्दिनँ र मैले फेरि कहिल्यै ब्रदर-सिस्टरहरूको सम्मान र आराधना पाउनेछैन, र उनीहरूले मलाई खुट्ट्याउन समेत सक्छन् भन्ने सोचले मलाई मेरो जीवन नै समाप्त भएजस्तो महसुस गरायो। म भयानक मानसिक पीडामा थिएँ, र मैले सबै कुराका लागि ऊर्जा गुमाएँ। मैले परमेश्वरले मलाई राम्रो क्षमता दिनुभएन भनेर गुनासो समेत गरेँ, र म गलत बुझाइ र दिक्दारीमा जिउँदै, टोलाएर दिन बिताएँ, आफ्नो कर्तव्यमा कुनै बोझ उठाइनँ र काममा कुनै नतिजा ल्याइनँ। मैले प्रतिष्ठा र हैसियतलाई नै मेरो जीवनको आधारभूत कुराका रूपमा लिएँ, र तिनलाई सत्यता पछ्याउनु र राम्ररी कर्तव्य निर्वाह गर्नुभन्दा महत्त्वपूर्ण मानेँ। जब मसँग हैसियत थियो, म जोसका साथ पछ्याउँथेँ; तर जब मैले प्रतिष्ठा र हैसियत गुमाएँ, मेरो आत्मा नै मबाट निकालिएजस्तै भयो, र म आफ्नो कर्तव्यमा नकारात्मक भएँ र काममा ढिलासुस्ती गर्न थालेँ। हैसियतप्रतिको मेरो चाहना अति नै प्रबल थियो! ममा स्पष्ट रूपमा कमजोर क्षमता थियो र म अहङ्कारी थिएँ, ममा अलिकति पनि सत्यता वास्तविकता थिएन, र म अगुवाइको कर्तव्यका लागि पूर्ण रूपमा अयोग्य थिएँ। तैपनि म अझै अगुवा बन्नेबारे सोच्नबाट आफूलाई रोक्न सकिरहेकी थिइनँ, र म एक सामान्य लेखन-पठनको कामदार बन्न इच्छुक थिइनँ। कुनै दिन म फेरि अगुवा बन्न सकूँ र ब्रदर-सिस्टरहरूको प्रशंसा र आराधनाको आनन्द लिन सकूँ भन्ने मेरो व्यर्थको सपना थियो। म अत्यन्तै अहङ्कारी र अभिमानी थिएँ, र ममा समझको पूर्ण अभाव थियो। अगुवा बन्ने मेरो चाहना परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु वा परमेश्वरलाई सन्तुष्ट पार्नुसँग सम्बन्धित छँदै थिएन, न त यो साँच्चै मुक्ति पाउन सत्यता पछ्याउनुसँग नै सम्बन्धित थियो। यो सबै मेरो आफ्नै अभिमानलाई सन्तुष्ट पार्न र हैसियतका फाइदाहरूको आनन्द लिनका लागि थियो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! यदि मैले यसरी नै जिद्दी भई पछ्याइरहेकी भए, म परमेश्वरप्रति अझ बढी विद्रोही र प्रतिरोधी बन्नेथिएँ, र अन्ततः ख्रीष्टविरोधी जस्तै परमेश्वरको स्वभावलाई चिढ्याउनेथिएँ अनि उहाँद्वारा प्रकाश गरिएर हटाइनेथिएँ। यो कुरा बुझ्दा म डराएँ। मलाई लाग्यो, प्रतिष्ठा र हैसियत पछ्याउनुको प्रकृति र परिणाम अति नै गम्भीर छन्। आज म अगुवा नहुनु भनेको परमेश्वरले मेरो हैसियतको चाहनालाई काटछाँट गर्ने, मलाई उहाँप्रति समर्पित हुन, एउटा सृजित प्राणीको स्थानमा आज्ञाकारी भई खडा हुन, र सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न सिकाउने तरिका थियो। यो मप्रतिको परमेश्वरको सुरक्षा र मुक्ति थियो। मेरो हृदय परमेश्वरप्रतिको कृतज्ञताले भरियो, र मैले त्यस उप्रान्त प्रतिष्ठा र हैसियत पछ्याउन चाहिनँ।

त्यसपछि, मैले परमेश्वरका वचनका थप केही खण्ड पढेँ, र अभ्यासका सिद्धान्त र मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरले सबैलाई सर्वोत्तम तरिकाले प्रयोग गर्ने गरी मानिसहरूलाई प्रयोग गर्छ, हरेक व्यक्तिलाई उपयुक्त भूमिका दिन्छ, र ठ्याक्कै सही तरिकाले त्यसो गर्छ। यदि तँसँग असल मानवता छ तर तेरो क्षमता कमजोर छ भने, तैँले आफ्नो सम्पूर्ण हृदय र शक्तिका साथ आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ; परमेश्‍वरद्वारा अनुमोदित हुनका लागि तँ अगुवा वा कामदार हुनैपर्छ भन्‍ने छैन। तँ कष्ट भोग्न इच्छुक भए पनि, तर तँ अगुवाले भोग्नैपर्ने तरिकाले मेहनत लगाउन सक्दैनस्, तँसँग अगुवा बन्‍न हुनुपर्ने क्षमता छैन, र तँ त्यस कुरामा चुक्छस् भने, तैँले के गर्न सक्छस्? आफूलाई जोर-जबरजस्ती गर्ने वा कठिनाइमा पार्ने काम नगर्; यदि तँ २५ किलो बोक्न सक्छस् भने, २५ किलो नै बोक्। आफूलाई आफ्नो सीमाबाहिर धकेलेर ‘२५ किलोले पुग्दैन। म अझै बढी बोक्न चाहन्छु। म ५० किलो बोक्न चाहन्छु। म थाकेर मरे नै भने पनि म त्यो गर्न इच्छुक छु!’ भन्दै धाक देखाउने प्रयास नगर्। तँ अगुवा वा कामदार बन्‍न सक्षम छैनस्, तर यदि तँ धाक देखाउन आफूलाई अझै पनि आफ्नो सीमाबाहिर धकेलिरहन्छस् भने, तँ थकित नभए पनि, तैँले मण्डलीको काममा ढिलाइ गर्नेछस्, कामको प्रगति र प्रभावकारितामा असर पार्नेछस्, र धेरै मानिसहरूको जीवन प्रगतिमा ढिलाइ गर्नेछस्—यो तैँले वहन गर्न सक्ने जिम्मेवारी होइन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक् तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ, त्यसैले तँ त्यसबारे सतर्क हुनुपर्छ। सबै मानिसहरू प्रगति गर्ने चाहना राख्छन् र सत्यताप्रति लागिपर्न इच्‍छुक हुन्छन्, यो कुनै समस्या होइन। कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। “अगुवा वा कामदार बन्‍नका लागि, व्यक्तिमा निश्‍चित स्तरको क्षमता हुनुपर्छ। व्यक्तिको क्षमताले उसको कार्य सामर्थ्य र उसले सत्यता सिद्धान्तहरू कति हदसम्म बुझ्छ भन्‍ने कुरा निर्धारित गर्छ। यदि तेरो क्षमतामा केही हदसम्म कमी छ र तँसँग सत्यताबारे पर्याप्त रूपमा गहन बुझाइ छैन, तर तैँले आफूले बुझ्न सकेजति अभ्यास गर्न सक्छस्, र आफूले बुझेको कुरालाई व्यवहारमा उतार्न सक्छस्, र तँ हृदयमा शुद्ध र इमानदार छस्, र तैँले आफ्नो पक्षमा कुनै कुराका लागि षड्यन्त्र गर्ने वा ख्याति, प्राप्ति, र हैसियत पछ्याउने गर्दैनस्, र तैँले परमेश्‍वरको छानबिन स्विकार्न सक्छस् भने, तँ सही व्यक्ति होस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०))। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने, परमेश्वरको घरमा अगुवा वा कामदार हुनका लागि सत्यता पछ्याउनु मात्र होइन, निश्चित क्षमता र कार्य सामर्थ्य पनि हुनु आवश्यक छ। तब मात्र मण्डलीको काम राम्ररी गर्न सकिन्छ। मण्डलीले विगतमा मलाई अगुवाका रूपमा प्रशिक्षित हुने अवसरहरू दिएको थियो, र मैले आफ्नो पछ्याइमा कडा परिश्रम गरेकी थिएँ। मैले परमेश्वरका वचनअनुसार ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गर्न सके पनि, मानिसहरू चुन्ने र नियुक्ति गर्ने वा निर्णय लिने कामजस्ता प्रमुख विषयहरूको कुरा आउँदा, म मानिसहरूलाई खुट्ट्याउन वा उचित रूपमा छनोट गर्न सक्दिनथेँ। मलाई सैद्धान्तिक रूपमा केही सिद्धान्त थाहा थियो, तर तिनलाई व्यवहारमा लागू गर्दा म सधैँ गल्ती गर्थेँ। म अहङ्कारी पनि थिएँ र अरूका सुझावहरू सुन्दिनथेँ, सधैँ अनुपयुक्त मानिसहरूलाई छान्ने र नियुक्ति गर्ने गर्थेँ, जसले मण्डलीको काममा अवरोध र बाधा ल्याउँथ्यो। मैले मेरो क्षमता साँच्चिकै कमजोर रहेछ भन्ने देखेँ। यदि म अगुवाका रूपमा रहिरहेकी भए, मैले ब्रदर-सिस्टरहरूलाई हानि पुर्‍याउने मात्र होइन, मण्डलीको काममा अवरोध र बाधा पनि पुऱ्याउनेथिएँ। अहिले, मण्डलीले मेरो क्षमता र सबल पक्षहरूका आधारमा मलाई लेखन-पठनको कर्तव्यमा खटाएको छ, जसले मेरा खुबीहरूको सर्वोत्तम उपयोग गर्छ र यो मेरो क्षमताअनुरूपको छ। यसले मेरो लागि सुरक्षाको पनि काम गर्छ। प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना यति प्रबल छ कि यदि म अगुवा भएकी भए, म हैसियतका लागि परिश्रम गर्न अनियन्त्रित रूपमा लाग्नेथिएँ, आफ्नो काम र प्रवचनहरूमा हरेक मोडमा देखावा गर्नेथिएँ, र सत्यता सिद्धान्तहरू खोज्न परमेश्वरका सामु आफूलाई शान्त राख्न सक्ने थिइनँ। आफ्नो हैसियतको महत्त्वाकाङ्क्षा पूरा गर्न, म अवरोध र बाधा पनि पुऱ्याउनेथिएँ र ख्रीष्टविरोधीको मार्गमा हिँड्नेथिएँ। त्यसैले, अगुवा नहुनु वास्तवमा मेरो लागि राम्रो कुरा हो। अहिले, मेरो लेखन-पठनको कर्तव्यमा, म परमेश्वरका वचन खान-पिउन अनि सत्यताबारे मनन गर्न आफ्नो हृदयलाई अझ बढी शान्त राख्न सक्छु। यसले मलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न मद्दत गर्छ र यो मेरो जीवन प्रवेशका लागि फाइदाजनक छ। यो मेरो अहङ्कार र महत्त्वाकाङ्क्षामाथिको अङ्कुश पनि हो, र यसद्वारा म सुरक्षित छु। यो परमेश्वरको श्रमसाध्य अभिप्राय हो। म मण्डलीका प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ, आफ्नो उचित स्थानमा खडा हुनुपर्छ, र आफ्नो लेखन-पठनको कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। जब मैले यसरी सोचेँ, मेरो हृदय धेरै उज्यालो भयो। मलाई गह्रौँ भारी बिसाएजस्तो महसुस भयो, र मैले अत्यन्तै आजाद भएको महसुस गरेँ।

एक दिन, मैले सिस्टर छी यालाई मण्डली अगुवा चुनिएको थाहा पाएँ, र ममा ईर्ष्या जाग्यो। “उनको क्षमता राम्रो छ र उनी मण्डलीमा अगुवाका रूपमा प्रमुख भूमिका खेल्न सक्छिन्, तर म त लेखन-पठनको कर्तव्य मात्र गर्न सक्छु। मैले फेरि कहिल्यै अगुवा हुने र मानिसहरूद्वारा आदर गरिने मौका पाउनेछैन।” जब यी विचारहरू प्रकट भए, मैले तुरुन्तै मेरो हैसियतको चाहना फेरि सल्बलाउन थालेको महसुस गरेँ, त्यसैले मैले आफ्ना विचारहरूविरुद्ध विद्रोह गरेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “सृजित मानवजातिको एक सदस्यका रूपमा, तँ आफ्नो उचित स्थानमा रहनैपर्छ, र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्नैपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई कर्तव्यनिष्ठ भई मजबुत रूपमा पक्रिराख्। हद नाघेर काम नगर्, वा तेरो क्षमताको दायराभन्दा बाहिरका वा परमेश्‍वरलाई घृणित लाग्ने कुराहरू नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति बन्नुको पछि नलाग्, र परमेश्‍वर बन्नुको पछि नलाग्। यी सबै मानिसहरूले राख्न नहुने इच्छाहरू हुन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। तिमीहरूमध्ये प्रत्येकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, अनि तिमीहरूमध्ये प्रत्येकले आफ्नो स्थानमा रहँदै आफूले सक्दो गर्नुपर्छ—प्रत्येक झिल्काका लागि प्रकाशको एउटा चमक हुनुपर्छ—र तिमीहरूले जीवनमा परिपक्वता खोज्नुपर्छ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। परमेश्वरका वचनहरूबारे मनन गर्दा, मैले परमेश्वरको अभिप्राय बुझेँ। परमेश्वरले हरेकलाई फरक-फरक क्षमता दिनुहुन्छ र उनीहरूका लागि फरक-फरक कर्तव्यहरूको बन्दोबस्त गर्नुहुन्छ; उच्च-हैसियत वा निम्न-हैसियतका कर्तव्यहरू हुँदैनन्। मैले आफ्नै स्थानमा खडा हुनुपर्छ, सत्यता पछ्याउनुपर्छ, र परमेश्वरको हृदयलाई सान्त्वना दिन आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। सबैभन्दा अर्थपूर्ण कुरा यही हो। यस्तो सोच्दा, म आफ्नो कर्तव्यका लागि आफ्नो हृदय शान्त पार्न सक्षम भएँ। कहिलेकाहीँ, राम्ररी कर्तव्य निर्वाह नगर्दा, म मेरा कमजोरीहरू कहाँ छन् र म कसरी सुधार गर्न र निकास पाउन सक्छु भन्नेबारे मनन गर्थेँ। केही समयसम्म यसरी अभ्यास गरेपछि, म कर्तव्यमा केही राम्रा नतिजाहरू हासिल गर्न सक्षम भएँ। ममा यी परिवर्तनहरू ल्याउनका लागि अगुवाइ गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद!

अघिल्लो:  २५. मेरी आमालाई निकालिँदैछ भन्ने थाहा पाउँदाको मेरो सङ्घर्ष

अर्को:  २७. म किन अरूका समस्याहरू औँल्याउन डराउँथेँ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger