२७. म किन अरूका समस्याहरू औँल्याउन डराउँथेँ

स्यु ह्वेई, चीन

पहिला, मेरो एउटा छिमेकी थिइन् जो एकदमै ठाडै बोल्थिन्। जब उनी कसैले केही गल्ती गरिरहेको देख्थिन्, उनी त्यो कुरा सीधै औँल्याउँथिन्, र त्यसबाट मानिसहरूलाई प्रायः चिढ्याउँथिन्। अरू छिमेकीहरू सबै उनको पिठ्युँपछाडि कुरा काट्दै भन्थे, “हेर्दा त बाठी देखिन्छे तर किन यस्तो मूर्ख काम गर्छे?” समय बित्दै जाँदा, छिमेकीहरू एक-अर्कासँग कुरा गरिरहेको बेला उनी आइपुगिन् भने सबै जना तितरबितर हुन्थे। बिस्तारै, उनी एक्लिइन्। यी कुराहरूले मेरो मनमा गहिरो असर पारे, र त्यसैले मैले के सोचेँ भने भविष्यमा अरूसँग अन्तरक्रिया गर्दा मैले उनीजस्तो मनमा लागेको कुरा सिधै बोल्ने गर्नुहुँदैन, ताकि मानिसहरूले मलाई मन नपराउने नहोस्। भनिन्छ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” जब तपाईँ अरूका समस्याहरू देख्नुहुन्छ, आफ्नो मनमा थाहा पाए मात्र पुग्छ—ती कुरा मानिसहरूलाई औँल्याइरहनु पर्दैन। त्यसो गर्नुभयो भने, तपाईँले उनीहरूको बेइज्जत गराउनुहुनेछ र उनीहरूलाई चिढ्याउने सम्भावना हुन्छ। त्यसकारण, जब म अरू मानिसहरूका समस्याहरू देख्थेँ, म सीधै तीबारे कुरा गर्दिनथेँ। मेरा वरपरका छिमेकीहरू सबै मसँग खुसीसाथ घुलमिल गर्थे, र जुनसुकै कुरा मलाई बताउन तत्पर हुन्थे। उनीहरूले म लोकप्रिय र मिलनसार भएकोमा मेरो प्रशंसा पनि गर्थे। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँगको सम्बन्धलाई त्यसरी नै सम्हालेँ। मैले उनीहरूका समस्या वा भ्रष्टताका प्रकटीकरणहरू देखेँ भने, म ती कुरा औँल्याउन र खुलासा गर्न चाहन्नथेँ। त्यसो गर्दा उनीहरूलाई लाजमर्दो हुन्छ र उनीहरूको कमजोरी औँल्याएको जस्तो मात्र हुन्छ, र मैले उनीहरूलाई चिढ्याउनेछु भन्ने मलाई लाग्थ्यो। मैले केही कुराहरू अनुभव गरेपछि मात्र संसारसँग व्यवहार गर्ने यी तरिकामा भर परेर जिउनु सत्यताको विपरीत रहेछ भनी बुझेँ।

सन् २०२३ को सेप्टेम्बरको मध्यतिर, म एउटा मण्डलीमा अगुवाको रूपमा सेवा गर्न गएँ। केही ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचार गर्ने सिस्टर झाओ जेनको स्वभाव अहङ्कारी रहेको रिपोर्ट गरे। उनी अरू मानिसहरूको भावनाको ख्यालै नगरी बोल्थिन्, र उनीहरू उनको वरपर हुँदा अलिकति बाँधिएको महसुस गर्थे। उनीहरूले मलाई झाओ जेनसँग सङ्गति गरी उनका समस्याहरूको चिरफार गर्न अनुरोध गरे, ताकि उनले आफूलाई बुझ्न सकून्। मैले मनमनै सोचेँ, “मैले उनका समस्याहरूको चिरफार गरेर मदत गर्नैपर्छ। नत्र, उनी आफ्नो अहङ्कारी स्वभावको आधारमा बोल्ने र काम गर्ने जारी राख्नेछिन्। मेरा ब्रदर-सिस्टरहरू उनीबाट बाँधिने मात्र होइन, काम पनि प्रभावित हुनेछ।” तर, फेरि मैले सोचेँ, “म यो मण्डलीमा नयाँ छु र म झाओ जेनसँग परिचित छैनँ। म आउनेबित्तिकै उनको खुलासा र चिरफार गरेँ भने उनका लागि यो लाजमर्दो हुनेछैन र? भविष्यमा हामी कसरी मिलेर बस्ने?” यसबारे सोचविचार गरेपछि, मैले के गर्ने भनेर अझै थाहा पाइनँ, तर अन्त्यमा, म हिचकिचाउँदै झाओ जेनलाई भेट्न गएँ। जब मैले उनलाई भेटेँ, मेरो मुखमा टेप टाँसे जस्तो भयो, र धेरैबेरपछि बल्ल केही भन्न सकेँ। मैले सोचेँ भविष्यमा मैले उनीसँग अक्सर भेट्नुपर्ने हुन्छ। मैले उनलाई चिढ्याएँ भने, आफूलाई नै समस्यामा पारिरहेको हुनेछैन र? मैले उनका समस्याहरूको चिरफार र खुलासा पछि गर्ने निर्णय गरेँ। त्यसकारण, मैले उनलाई भविष्यमा बोल्ने शैलीमा ख्याल गर्न र अनुहारमा असन्तुष्टि देखाउँदा मानिसहरू बाँधिन सक्छन् भन्दै त्यसो नगर्न हल्कासँग सम्झाएँ, झाओ जेनले यो सुनेर भनिन्, “म सीधा छु र मैले भनेको कुराको कुनै गलत अर्थ थिएन। म भविष्यमा ध्यान दिनेछु।” घर जाने बाटोमा, मैले झाओ जेनमा आफ्नो भ्रष्ट स्वभावबारे कुनै बुझाइ नभएकोबारे सोचेँ, र मेरो मनमा केही आत्मग्लानि महसुस भयो। तर, फेरि मैले सोचेँ, “मैले उनलाई केही समस्या औँल्याइदिएकी छु। भविष्यमा फेरि उनले अहङ्कारी स्वभाव प्रकट गरेको पाएँ भने, म त्यतिबेला उनीसँग सङ्गति गर्न र उनको खुलासा गर्न सक्छु।” त्यसको केही समयपछि, मलजल गर्ने डिकनले मलजल गर्ने टोली अगुवा वाङ होङले धेरै पटक वातावरणीय जोखिमको बहाना बनाएर कर्तव्य पूरा गर्न र भेलाहरूमा उपस्थित हुनबाट पन्छिने गरेकी, र आफू जिम्मेवार रहेका दुइटा समूहलाई बेवास्ता गरेकी भन्ने कुरा रिपोर्ट गरिन्। अवस्था बुझेपछि, मैले के थाहा पाएँ भने उनी पक्राउ परेर जेलमा पर्छु कि भनेर डराएकी रहिछिन्। डरमा जिउँदै, उनलाई सधैँ कसैले पछ्याइरहेको छ भन्ने लाग्थ्यो। उनलाई धेरै पटक सङ्गति दिइएको थियो तर उनले कुनै बुझाइ हासिल गरेकी थिइनन्, र त्यसैले मलजल गर्ने डिकन म उनीसँग सङ्गति गरौँ भन्ने चाहन्थिन्। मैले सकेसम्म चाँडो वाङ होङलाई भेटेर सङ्गति गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर फेरि मैले सोचेँ, “वाङ होङ र मेरो अहिलेसम्म भेट भएको छैन। म आउनेबित्तिकै उनको समस्या खुलासा गरेँ भने, के उनले मलाई अरूको भावना नबुझ्ने ठान्नेछिन्? यदि मैले उनलाई चिढ्याएँ भने के होला? म यो मण्डलीमा नयाँ छु। यदि मैले आउनेबित्तिकै यो व्यक्तिको समस्या चिरफार गर्ने र त्यो व्यक्तिको खुलासा गरी सबैलाई चिढ्याउन थालेँ भने, सबै जना मदेखि वाक्क हुनेछन् र मलाई एक्ल्याउनेछन्। अनि भविष्यमा मलाई अगुवाइको काम गर्न गाह्रो हुनेछ। म मण्डलीको कामको सबै पक्षहरूसँग परिचित नभएसम्म पर्खनु नै बेस होला।” त्यसकारण, म वाङ होङसँग कुरा गर्न गइनँ, बरु मलजल गर्ने डिकनलाई उनीसँग सङ्गति गर्न भनेँ। तर, उनको सङ्गतिले पनि कुनै नतिजा ल्याएन। यसरी, वाङ होङको समस्या लम्बिँदै गयो, र उनले एक महिनाभन्दा बढी समयसम्म कुनै भेलामा भाग लिइनन् वा आफ्नो कर्तव्य पूरा गरिनन्। दुई महिनापछि, माथिका अगुवाहरूले हामीले आफ्नो कर्तव्य कत्तिको राम्ररी पूरा गरिरहेका छौँ, र हामीले ब्रदर-सिस्टरहरूमा विचलन, समस्या वा भ्रष्ट स्थितिहरू भेट्टाउँदा तुरुन्तै सल्लाह-सुझाव दिएर मदत गरिरहेका छौँ कि छैनौँ भनेर बुझ्न हामीलाई पत्र लेख्नुभयो। पत्रमा अगुवा र कामदारहरूको जिम्मेवारीसम्बन्धी परमेश्‍वरका वचनहरूको एक खण्ड उद्धृत गरिएको थियो, जसले मेरो हृदय छोयो। मैले सम्झेँ म यो मण्डलीमा पहिलो पटक आउँदा ब्रदर-सिस्टरहरूले मलाई झाओ जेनको समस्याबारे रिपोर्ट गरेका थिए, र मैले झाओ जेनलाई उनको समस्याबारे हल्का रूपमा मात्र कुरा गरेकी थिएँ, तर उनको अहङ्कारी स्वभावमा भर परेर काम गर्नुको प्रकृति र परिणामहरूको चिरफार गरेकी थिइनँ। परिणामतः, झाओ जेनले आफूबारे बुझ्न पाइनन्, र उनको अहङ्कारी स्वभावमा अलिकति पनि परिवर्तन भएको थिएन। अझ, वाङ होङ निरन्तर डरमा जिइरहेकी थिइन् र भेलाहरूमा उपस्थित भइरहेकी थिइनन्। उनले आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनन्। यस्तो हुँदाहुँदै पनि, मैले उनीसँग सङ्गति गरेकी वा उनलाई मदत गरेकी थिइनँ। मण्डली अगुवा भएर मैले कुनै ब्रदर वा सिस्टरको समस्या देख्दा पनि त्यो औँल्याइनँ, उनीहरूलाई मदत गरिनँ, वा आफ्नै जिम्मेवारी पूरा गरिनँ भने, के त्यसको अर्थ म व्यावहारिक काम गरिरहेकी छैनँ भन्ने हुँदैनथ्यो र? जब मैले यो सोचेँ, मलाई दोषी र असहज महसुस भयो। त्यसपछि, मैले झाओ जेनलाई भेटेँ र अहङ्कारी स्वभावमा भर परेर उनले काम गर्दाका विभिन्न अभिव्यक्ति, प्रकृति र परिणामहरूलाई खुलासा र चिरफार गरेँ। मेरो कुरा सुनेपछि, उनले आफूबारे केही बुझाइ हासिल गरिन् र सुध्रिन इच्छुक भइन्। पछि, म मलजल गर्ने डिकनसँग वाङ होङलाई भेट्न गएँ। हामीले परमेश्‍वरका वचनहरू समावेश गर्दै सङ्गति दियौँ र उनका समस्याहरूको चिरफार गर्‍यौँ, र उनले आफ्नो स्वार्थी र घृणास्पद भ्रष्ट स्वभाव बुझिन्। पछि, उनले फेरि आफ्नो कर्तव्य निर्वाह गर्न थालिन्। सङ्गतिपछि, जब मैले आफूले कल्पना गरेजस्तो उनीहरूलाई चिढ्याएकी रहेनछु, बरु उल्टै उनीहरूलाई मदत पुगेको छ भन्ने देखेँ, तब मैले उनीहरूसँग पहिले नै सङ्गति नगरेकोमा पछुतो मानेँ।

त्यसपछि, मैले आत्मचिन्तन गरेँ: कुन भ्रष्ट स्वभावले गर्दा मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू खुलासा र चिरफार गर्न आँट गरिनँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले मेरा ब्रदर-सिस्टरहरूमा समस्याहरू भेट्टाउँदा, एउटा अगुवाको नाताले मैले सत्यताबारे सङ्गति दिनुपर्छ, समस्याहरू औँल्याउनुपर्छ र उनीहरूलाई मदत गर्नुपर्छ। तर म उनीहरूलाई चिढ्याउँला कि भनी डराएर सङ्गति गर्न र उनीहरूका समस्याहरू खुलासा गर्न आँट गरिनँ। मलाई थाहा छ यो तपाईँको अभिप्रायअनुसार थिएन। मलाई अन्तर्दृष्टि दिनुहोस् र आफैलाई चिन्न र पाठ सिक्नमा डोऱ्याउनुहोस्।” खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्‍ने शब्‍दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्‍नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्‍वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि अपनाइने तरकिप र विधि हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनहरूको खुलासाबाट मैले के महसुस गरेँ भने यदि तपाईँ “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने सांसारिक व्यवहारका दर्शनअनुसार जिउनुभयो भने, तपाईँले आफूलाई झन्-झन् छली र कुटिल मात्र बनाउनुहुनेछ। तपाईँ अरू कसैसँग पनि आफ्नो मनको साँचो कुरा बोल्न नसक्ने बन्नुहुनेछ, अर्को व्यक्तिलाई फाइदाजनक कुराहरू पनि बोल्ने आँट गर्नुहुन्न, र उनीहरूलाई कुनै साँचो सहायता बन्न सक्नुहुन्न। गैरविश्‍वासीहरूले सांसारिक व्यवहारलाई सम्हाल्ने तरिका यही हो। यतिका वर्ष, म शैतानको सांसारिक व्यवहारका दर्शनअनुसार जिएकी थिएँ। मैले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” लाई आफ्नो बाँच्ने तरिका बनाएकी थिएँ। म के ठान्थेँ भने जब मैले अर्को व्यक्तिको समस्या वा कमजोरीहरू देख्छु, तब शिष्टतापूर्वक उल्लेख गरिदिए मात्र पुग्छ, र मैले तिनीहरूको खुलासा वा चिरफार गर्नुहुँदैन, नत्र मैले उनीहरूलाई चिढ्याउनेछु, शत्रु बनाउनेछु, र आफैलाई हानि पुऱ्याउनेछु। जब म मेरा कुनै छिमेकीमा केही गलत देख्थेँ, तब म उनीहरूलाई चिढ्याउँला र अनि म एक्लो परुँला भन्ने डरले म कहिल्यै केही भन्दिनँथेँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, म यही दृष्टिकोणअनुसार जिउन जारी राखेँ। मण्डलीको अगुवाको रूपमा, मैले मेरा ब्रदर-सिस्टरहरूबाट कुनै भ्रष्टता प्रकट भएको देख्दा, उनीहरूलाई प्रेमपूर्वक मदत गर्नुपर्थ्यो र उनीहरूका समस्याहरू औँल्याउनुपर्थ्यो। यो मैले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मैले कुनै वास्तविक काम नै गरिनँ। मेरा ब्रदर-सिस्टरहरूले झाओ जेनको समस्याबारे रिपोर्ट गरेको बेला, मलाई राम्ररी थाहा थियो मैले उनीसँग सङ्गति र उनको समस्याको चिरफार गरिनँ, उनी स्वयंलाई बुझ्न र सुध्रिन मदत गरिनँ भने, उनले अझ धेरै ब्रदर-सिस्टरहरूलाई बन्धनमा पारी काममा असर पार्नेछिन्। तर, म उनलाई चिढ्याउँला र भविष्यमा उनीसँग मिलेर रहन गाह्रो भई अगुवाइको काम गर्न कठिन होला भनेर डराएँ। त्यसकारण, मैले हल्का रूपमा मात्र उल्लेख गरेँ। परिणामस्वरूप, झाओ जेनले आफ्नो अहङ्कारी स्वभावबारे केही बुझ्न सकिनन् र उनी अलिकति पनि बदलिइनन्। वाङ होङको मामिलामा पनि त्यस्तै भयो। वाङ होङ डर र भयमा बाँचिरहेकी, भेलाहरूमा उपस्थित नभइरहेकी वा आफ्नो कर्तव्य पूरा नगरिरहेकी, र त्यसले काममा ढिलाइ गरेको देखे पनि मलाई के लाग्यो भने पहिलो भेटमै मैले उनका समस्याहरू खुलासा र चिरफार गरेँ भने, उनले मलाई अरूको भावना नबुझ्ने भन्नेछिन्। यदि मैले उनलाई चिढ्याएँ भने के गर्ने होला? त्यसकारण, मैले उनका समस्याहरू खुलासा गर्न वा औँल्याउन चाहिनँ, र त्यो समस्या समाधान गर्नका लागि मलजल गर्ने डिकनमाथि थोपरेर चलाखी समेत गरेँ। मैले मानिसहरूसँगको मेरो सम्बन्ध कायम राख्न शैतानी दर्शनहरू प्रयोग गरेँ र सबैजनासँग घुलमिल भइरहेकी थिएँ, तर वास्तवमा मैले मेरा ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याएकी थिएँ र काममा ढिलाइ गरेकी थिएँ। यदि मैले पहिले नै सत्यता अभ्यास गरेर झाओ जेन र वाङ होङका समस्याहरू खुलासा र चिरफार गरिदिएको भए, उनीहरूले आफूलाई चाँडै बुझ्नेथिए, र मण्डलीको काम र उनीहरूको जीवन प्रवेशमा भएको क्षतिलाई रोक्न सकिन्थ्यो। मैले के देखेँ भने “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने कुरा सकारात्मक कुरा होइन, बरु सांसारिक व्यवहार गर्ने एउटा चिप्लो र छली तरिका हो। यो पूर्ण रूपमा सत्यताको विपरीत छ। यदि म शैतानका दर्शनहरूअनुसार जिइराखेकी भए, मैले अरूलाई र आफैलाई हानि पुऱ्याउने धेरै कामहरू गरेकी हुने थिएँ, मण्डलीको काममा अवरोध र बाधा ल्याएकी हुने थिएँ र परमेश्‍वरको घृणा र अरुचि निम्त्याएकी हुने थिएँ। र अन्तमा, मलाई प्रकट गरी हटाइएको हुने थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र अरूका कमजोरीहरू कोट्याउनु के हो, र उचित रूपमा औँल्याउनु र मदत गर्नु के हो भनी बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइमा ‘औँला उठाउनु’ भन्‍ने वाक्यांश असल हो कि खराब हो? के यो ‘औँला उठाउनु’ भन्ने वाक्यांशले परमेश्‍वरका वचनहरूभित्र जस्तै मानिसहरू प्रकट वा खुलासा हुने अर्थ दिन्छ? (दिँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा ‘औँला उठाउनु’ को अर्थ त्यस्तो हुँदैन। यसमा केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा गर्ने प्रकृति हुन्छ; यसको अर्थ मानिसहरूका समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका केही कुरा र व्यवहार, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु हो। ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइमा ‘औँला उठाउनु’ को अर्थ यही हुन्छ। यदि दुई मानिस मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्‍वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले एकसाथ बसेर खुलस्‍त र इमानदारीसाथ विद्यामान समस्याहरूबारे स्पष्टसँग कुरा गर्नु सर्वोत्तम हुनेछ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु होइन। यदि तैँले अर्को व्यक्तिका समस्याहरू पत्ता लगाइस् तर ऊ तेरो औँल्याइ अझै स्विकार्न सक्दैन भन्ने देखिस् भने, भनाभन वा झगडा हुन नदिन केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले तिनीहरूसित विचार बुझ्‍न सुरुमा सोध्‍न सक्छस्, ‘म तपाईँमा अलि समस्या देख्छु, र म केही सल्‍लाह दिन चाहन्छु। तपाईँ स्विकार्न सक्‍नुहुन्छ कि हुन्‍न थाहा छैन। यदि सक्‍नुहुन्छ भने, म भन्छु। यदि सक्‍नुहुन्‍न भने, म अहिलेको लागि त्यो कुरा मनमै दबाउँछु, र केही बोल्‍नेछैनँ।’ यदि तिनीहरूले, ‘म तपाईँलाई भरोसा गर्छु। तपाईँले जे भन्‍नु भए त्यो उचित हुनेछ। म त्यो स्विकार्न सक्छु’ भनी भन्छन् भने, त्यसको अर्थ तँलाई अनुमति दिइएको छ र त्यसपछि तैँले तिनीहरूसँग तिनीहरूका समस्याहरूबारे एकपछि अर्को गर्दै सङ्गति गर्न सक्छस्। तिनीहरूले तैँले भनेका कुरा पूर्ण रूपमा स्विकार्ने मात्रै छैनन्, यसबाट फाइदा पनि प्राप्त गर्नेछन्, र तिमीहरू दुवैले सामान्य सम्‍बन्ध कायम गर्न सक्‍नेछौ। के त्यो एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमजोरीमाथि औँला उठाउनुजस्तो होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने कसैको कमजोरी कोट्याउनु दुर्भावपूर्ण आक्रमण हो, जानाजानी अरूका कमीकमजोरी, निजी मामिला र सबैभन्दा वर्जित कुराहरूलाई समातेर तिनीहरूको खुलासा गर्नु हो; यो जानीबुझी अरूलाई लाजमर्दो बनाउनु हो, र यसले तिनीहरूलाई हानि मात्र गर्छ। अर्कोतिर, परमेश्‍वरको घरमा, जब हामी हाम्रा ब्रदर-सिस्टरहरूले भ्रष्ट स्वभावहरू प्रकट गरेको वा सिद्धान्तहरूको विपरीत काम गरेको देख्छौँ, तब हामी परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूका समस्याहरू औँल्याउँछौँ, खुलासा र चिरफार गर्छौँ, र तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव बुझ्न मदत गर्छौँ। यो उनीहरूको जीवन प्रवेशका लागि फाइदाजनक छ। यस प्रकारको चिरफार र खुलासा उनीहरूको कमजोरी कोट्याउनु होइन, बरु प्रेमपूर्वक उनीहरूलाई मदत गर्नु हो। झाओ जेनको समस्यालाई सम्हाल्दा, जब मैले परमेश्‍वरका वचनहरूको प्रकाशमा उनको अहङ्कारी स्वभावको खुलासा र चिरफार गरेँ, मैले उनलाई चिन्तन गरेर आफ्ना समस्याहरू चिन्न मदत गरिरहेकी थिएँ ताकि उनी बदलिन, जीवन प्रवेश हासिल गर्न, र आफ्ना ब्रदर-सिस्टरहरूसँग सौहार्दपूर्वक सहकार्य गरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकून्। यो उनका लागि लाभदायक कुरा थियो। अझ, जब मैले वाङ होङसँग सङ्गति गरी उनको स्वार्थी र आफूलाई बचाउने समस्याको चिरफार गरेँ, त्यसको उद्देश्य उनलाई आफ्नो स्वार्थी र घृणास्पद प्रकृति सारबारे बुझाइ प्राप्त गर्न मदत गर्नु थियो, ताकि उनी पश्चात्ताप गर्न, बदलिन, र आफ्नो कर्तव्य पूरा गर्न सकून्। यो पनि वाङ होङलाई मदत गर्नु थियो। यस प्रकारको खुलासा र चिरफार सत्यता सिद्धान्तहरूअनुरूप छ र यो एक सकारात्मक कुरा हो; यो मानिसहरूको कमजोरी कोट्याउनु होइन। कमजोरी कोट्याउनु र उचित मार्गदर्शन एवं मदतबीचको भिन्नता पत्ता लगाउन, हेर्नुपर्ने मुख्य कुरा अभिप्राय र सुरुवाती बिन्दु हो। साथै, म सधैँ अरू मानिसहरूका समस्याहरू खुलासा गर्दा र चिरफार गर्दा उनीहरू चिढिनेछन् र मलाई शत्रुको रूपमा व्यवहार गर्नेछन्, जसले मेरो अगुवाइको कामलाई अझ गाह्रो बनाउनेछ भनी चिन्तित रहेकी थिएँ। त्यसकारण, मैले हर हालतमा अरूसँगको मेरो सम्बन्ध कायम राखेँ। वास्तवमा, परमेश्‍वरको घर समाजभन्दा फरक छ। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, र अरूसँग राम्रो सम्बन्ध कायम राखेर मात्र काम राम्ररी गर्न सकिन्छ भन्ने कुरा होइन। मैले मेरा विचारहरू धेरै विकृत छन् र सत्यतासँग पटक्कै मिल्दैनन् भन्ने महसुस गरेँ।

मैले खोजी गर्न जारी राखेँ: कस्तो प्रकारको भ्रष्ट स्वभावले गर्दा मैले अरू मानिसहरूका समस्याहरू खुलासा गर्न आँट गरिनँ? मैले परमेश्‍वरका वचनहरू पढेँ: “विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … के यस्तो व्यक्तिसँग विवेक र समझ हुन्छ? (हुँदैन।) के विवेक र समझ नभएको व्यक्तिले यसरी काम गरेकोमा आत्म-ग्लानि महसुस गर्छ? तिनीहरूले आत्म-ग्लानि महसुस गर्दैनन्; यस्तो व्यक्तिको विवेकले कुनै काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने हप्काइ वा ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय छेडिएजस्तो भयो; मैले आफूले गरेको कामका लागि दोषी र असहज महसुस गरेँ। विवेक र मानवता भएका मानिसहरूले आफ्नो कर्तव्यमा बोझ बोक्छन् र उनीहरूमा जिम्मेवारीबोध हुन्छ, उनीहरू हर हालतमा मण्डलीको हितलाई विचार गर्छन् र मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने काम गर्ने मानिसहरूलाई खुलासा र चिरफार गर्छन्। यसको विपरीत, मानवता नभएकाहरूले सबैभन्दा पहिले सोच्ने कुरा भनेको मानिसहरूलाई चिढ्याउने र शत्रु बनाउने डर हो। उनीहरू केवल आफ्नै हितको रक्षा गर्छन् र मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूको रूपमा व्यवहार गर्छन्, मण्डलीको हितको पटक्कै रक्षा गर्दैनन्। जब मैले आत्मचिन्तन गरेँ, मैले आफूलाई परमेश्‍वरले खुलासा गर्नुभएकै जस्तो कमजोर मानवता भएको त्यही स्वार्थी र घृणास्पद व्यक्ति पाएँ। मलाई स्पष्ट थाहा थियो मेरा ब्रदर-सिस्टरहरू झाओ जेनद्वारा बाँधिएका थिए, र यसले मण्डलीको काम र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा पहिले नै असर पारिसकेको थियो। साथै, वाङ होङले आफ्नो सुरक्षामा खतरा छ भन्ने बहाना बनाएर आफ्नो कर्तव्य त्यागेकी थिइन्। मण्डलीको अगुवाको रूपमा, मैले उनीहरूसँग सकेसम्म चाँडो सङ्गति गरी यी समस्याहरूको चिरफार गर्नुपर्थ्यो, ताकि उनीहरूले यसरी नै अघि बढ्दा हुने हानि र परिणामहरू बुझ्न सकून्, आफ्नो गलत स्थितिलाई समयमै सुधारी कर्तव्य राम्ररी पूरा गर्न सकून्। तर, म यदि मैले उनीहरूलाई चिढ्याएँ भने, उनीहरूले मप्रति रिस राख्नेछन् र मलाई एक्ल्याउनेछन् भनी डराएँ, त्यसैले मैले उनीहरूसँग सङ्गति गरिनँ। हर हालतमा, मैले आफ्नै हितको रक्षा गरेँ, र मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्ने र उनीहरूमाथि राम्रो छाप छोड्नेबारे मात्र सोचेँ। मैले मण्डलीको हितलाई पटक्कै विचार गरिनँ, न त मेरा ब्रदर-सिस्टरहरूको जीवनमा हानि हुन्छ कि भनेर नै विचार गरेँ। म एकदमै स्वार्थी र घृणास्पद थिएँ, र ममा अलिकति पनि इन्साफको बोध थिएन! मैले आफ्नो कर्तव्य पटक्कै पूरा गरिरहेकी थिइनँ। म दुष्ट काम र परमेश्‍वरको प्रतिरोध गरिरहेकी थिएँ! यदि मैले पश्चात्ताप गरिनँ र परिवर्तन भइनँ भने, अन्ततः म परमेश्‍वरको घृणाको पात्र बन्ने थिएँ र हटाइने थिएँ। जब मैले यो बुझेँ, मैले आफूले गरेको काममा पछुतो मानेँ। मैले परमेश्‍वरप्रति ऋणी महसुस गरेँ, र आफूले मेरा ब्रदर-सिस्टरहरूलाई निराश पारेको महसुस गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म पश्चात्ताप गर्न, अनि मानवता र इन्साफको बोध भएको व्यक्ति बन्न इच्छुक छु। म भविष्यमा तपाईँको अभिप्रायहरूको ख्याल गर्न र मण्डलीको हितको रक्षा गर्न चाहन्छु।”

प्रार्थना र खोजीद्वारा, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरतर्फ फर्किएको हुनुपर्छ; यसको जगमा अन्य मानिसहरूसँगको तेरो सम्बन्ध पनि सामान्य हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्‍न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै मेहनत लगाए पनि, त्यो सबै संसारसँग व्यवहार गर्ने मानव दर्शन मात्र हुनेछ। तैँले परमेश्‍वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा मानव दृष्टिकोण र मानव दर्शनद्वारा मानिसहरूमाझ आफ्नो स्थान कायम राखिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तँ अरू मानिसहरूसँगका सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्छस्, र तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँप्रति समर्पित हुन सिक्‍न तत्पर छस् भने, सबै मानिसहरूसँग तेरा सम्बन्धहरू पनि स्वाभाविक रूपमै सामान्य बन्नेछन्। त्यसपछि, ती सम्बन्धहरू देहको आधारमा नभई परमेश्‍वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर तिमीहरूबीच आत्मिक तहको सङ्गति, साथै पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरूलाई संसारसँग व्यवहार गर्ने मानव दर्शनको आधारमा कायम राखिँदैन, ती त तँमा परमेश्‍वरप्रति बोझको भावना हुँदा प्राकृतिक रूपमै निर्माण हुन्छन्। यसको लागि तैँले कुनै मानव प्रयास लगाउनु पर्दैन, र तैँले परमेश्‍वरका वचनहरूका सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने ब्रदर-सिस्टरहरूसँगको हाम्रो सम्बन्धमा, हामीले अरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। जब हामीले हाम्रा ब्रदर वा सिस्टरहरूमा कुनै पनि प्रकारको भ्रष्ट स्वभाव छ भनी पत्ता लगाउँछौँ, तब हामीले उनीहरूसँग सङ्गति गर्नुपर्छ र प्रेमपूर्वक उनीहरूलाई मदत गर्नुपर्छ, ताकि उनीहरूले आत्मचिन्तन गरी आफूलाई चिन्न सकून् र केही जीवन प्रवेश हासिल गर्न सकून्। हामीले अरूसँगको सम्बन्ध कायम राख्न सांसारिक व्यवहारका दर्शनहरूमा भर पर्नुहुँदैन। कहिलेकाहीँ, अरूले आफ्नै समस्याहरू नदेखेका बेला हामीले तिनको खुलासा र चिरफार गर्नुपर्छ। जबसम्म उनीहरू सत्यता पछ्याउने ब्रदर-सिस्टरहरू हुन्, तबसम्म उनीहरूले यसलाई सही रूपमा लिन सक्नेछन् र पछि परिवर्तनहरू गर्नेछन्। तर, सत्यता नपछ्याउनेहरूले कुरा औँल्याउँदा र खुलासा गर्दा तर्क र प्रतिरोध गर्नेछन्। यो उनीहरूको प्रकटीकरण हो, र सोसँगै, यसले हामीलाई उनीहरूलाई खुट्याउने क्षमता हासिल गर्न मदत गर्छ। पछि, मैले मलजल गर्ने डिकनले आफ्नो कर्तव्यमा बोझ नबोकेकी देखेँ। उनले काम लागू गर्नमा ढिलासुस्ती गर्थिन्, र आफ्नो क्षमता कमजोर छ र आफूले सत्यता बुझ्दिनँ भन्दै बहाना समेत बनाउँथिन्। म उनको समस्या औँल्याउन चाहन्थेँ ताकि उनले आफ्नो कर्तव्यमा अझ बढी बोझ बोकून्, तर फेरि मैले सोचेँ, “यदि मैले सीधै उनको समस्या खुलासा गरेर उनलाई चिढ्याएँ भने, भविष्यमा हामी कसरी सहकार्य गर्ने?” यस्तो सोच आएपछि, म अलिक हिचकिचाएँ। पछि, मैले पहिले पढेका परमेश्‍वरका केही वचनहरू सम्झेँ, र मलाई म फेरि सांसारिक व्यवहारका शैतानी दर्शनहरूमा भर परेर अरूसँगको मेरो सम्बन्ध कायम राख्न खोजिरहेकी छु भन्ने महसुस भयो। तर मलाई आफ्नो हृदयमा स्पष्ट रूपले के थाहा थियो भने मैले अरूसँगको मेरो सम्बन्ध जतिसुकै राम्रोसँग कायम राखे पनि, यो सत्यता अभ्यास गर्नु होइन, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्न। मैले परमेश्‍वरलाई देहको विरुद्ध विद्रोह गर्ने र सत्यता अभ्यास गर्ने सङ्कल्प दिनुहोस् भनी प्रार्थना गरेँ। पछि, मैले मलजल गर्ने डिकनको कर्तव्यमा झाराटारुवा गर्ने समस्या औँल्याएँ, र झाराटारुवा हुनुको प्रकृति र परिणामहरूबारे सङ्गति दिएँ। मेरो सङ्गतिपछि, उनले आफ्नो समस्या बुझिन्, र आफ्नो देहको विरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न इच्छुक भइन्। मैले के अनुभव गरेँ भने जब मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिन्छ, तब मनमा ढुक्क महसुस हुन्छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  २६. मैले धरातलीय भई आफ्नो कर्तव्य निर्वाह गर्न सिकेँ

अर्को:  २८. म मृत्युलाई अब शान्तपूर्वक सामना गर्न सक्छु

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger