४५. विवाह सम्बन्ध मेरो गन्तव्य होइन

क्याथलिन, इटाली

मेरो जन्म ८० को दशकको मध्यतिर भएको थियो, अनि हुर्कने क्रममा मलाई टिभी ड्रामाहरू हेर्न एकदमै मन पर्थ्यो। जब म विवाहको सेतो पोसाकमा सजिएकी नायिकालाई आफूले मन पराएको मान्छेसँग विवाह मण्डपतिर हिँडिरहेको, अनि त्यो केटाले उसलाई “म तिमीलाई जीवनभर सुरक्षा दिनेछु र खुसी राख्नेछु” भनेको देख्थेँ, तब मलाई निकै इर्ष्या लाग्थ्यो। आफूले मन पराएको मान्छेसँग हुँदा, प्यारो बच्चा हुँदा, अनि आपसमा मिलेको परिवार भएर बस्दा नै—सबैभन्दा खुसीको जीवन हुन्छ भन्ने कुरामा म पूरै विश्वस्त थिएँ। पछि ठुलो भएपछि, मैले एक जना परिपक्व र स्थिर स्वभावको युवकलाई भेटेँ। उनले मेरो एकदमै ख्याल राख्थे, मेरो जिद्दीपनलाई सहन्थे, अनि मेरो लागि सधैँ रोमान्टिक कुराहरू गर्थे, जस्तै सानोतिनो उपहारहरू किन्दिने गर्थे। उनले मलाई सधैँ राम्रो व्यवहार गर्ने र मलाई कहिल्यै थोरै पनि अन्याय हुन नदिने वाचा गरेका थिए। उनको परिवार एकदमै गरिब भएको र मेरा आमाबुबा हाम्रो विवाहको सख्त विरोधमा हुनुभएको भए पनि, मैले केही नसोची उनीसँग विवाह गरेँ। हामीले विवाह गरेपछि, हाम्रो एउटा प्यारो छोरा जन्मियो, अनि मेरा श्रीमान्‌ पहिले जस्तै नै मेरो ख्याल राख्नुहुन्थ्यो। घरका सानाठुला सबै कुराको जिम्मा उहाँले लिनुभएको थियो, त्यसैले मैले केही कुराको चिन्ता गर्नु पर्दैनथियो। हाम्रो बच्चाको हेरचाह गर्न र घरधन्दा गर्न म घरमै बस्थेँ, अनि उहाँ घर आउनुअघि हरेक दिन मिठोमिठो खाना पकाउँथेँ र एउटी असल श्रीमती बन्ने सक्दो कोसिस गर्थेँ। यो वैवाहिक जीवनले मलाई निकै सन्तुष्ट बनाएको थियो, अनि मैले आफूलाई संसारकै सबैभन्दा खुसी महिला ठान्थेँ।

जब हाम्रो छोरा सात महिनाको भयो, तब मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचारलाई स्वीकार गरेँ। परमेश्‍वरका वचनहरू पढेर, मैले मानवजातिको पतनको मूल, शैतानले कसरी मानिसलाई भ्रष्ट तुल्याउँछ, अनि परमेश्‍वरले कसरी मानिसलाई मुक्ति दिन चरणबद्ध रूपमा काम गर्नुहुन्छ भन्ने कुरा थाहा पाएँ। मैले पहिले नबुझेका धेरै सत्यताहरू बुझेँ। परमेश्‍वरमा विश्वास गर्नु धेरै सुन्दर कुरा हो भन्ने मलाई महसुस भयो, अनि मेरो श्रीमानले पनि मसँग मिलेर परमेश्‍वरमा विश्वास गरून् भन्ने मैले आशा गरेँ। तर अचम्मको कुरा, जब मेरो श्रीमानले मैले परमेश्‍वरमा विश्वास गरेको कुरा थाहा पाउनुभयो, तब उहाँ आगो हुनुभयो। उहाँले मलाई विश्वास गर्न सख्त मनाही गर्नुभयो, अनि मलाई कसले सुसमाचार सुनायो भनेर जान्ने माग गर्नुभयो र त्यो मान्छेसँग हिसाबकिताब गर्ने धम्की दिनुभयो। श्रीमानको यस्तो व्यवहार देखेर, मेरो हृदय छियाछिया भयो। मेरो विश्वासको कारणले उहाँले मसँग दिनहुँ झगडा गर्नुहुनेछ, हाम्रो सम्बन्ध बिग्रिन सक्छ, अनि मैले मेरो वैवाहिक जीवनलाई गुमाउन सक्छु भनेर मलाई डर लाग्यो। मलाई अलिक कमजोर महसुस भयो, अनि मेरो विश्वासमा पहिलेको जस्तो ठुलो जोस र प्रेरणा रहेन। केही दिनपछि, एउटी सिस्टरले मेरो अवस्थाबारे थाहा पाउनुभयो अनि मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्‍वरलाई तैँले गवाही दिनुपर्ने समय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। ती सिस्टरले मसँग सङ्गति गर्दै भन्नुभयो, “तपाईंको श्रीमानले परमेश्‍वरमाथिको तपाईंको विश्वासलाई रोकिरहनुभएको छ, तर यसको पछाडि वास्तवमा शैतानको बाधा छ। तपाईंले भर्खरै मात्र परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचारलाई स्वीकार गर्नुभएको छ र मुक्ति प्राप्त गर्न सत्यतालाई पछ्याउन चाहनुहुन्छ। मानिसले परमेश्‍वरलाई पछ्याएको शैतानले चाहँदैन, त्यसैले यसले तपाईंलाई विश्वास त्याग्न लगाउन तपाईंको श्रीमानलाई प्रयोग गरेर तपाईंलाई बाधा दिइरहेको छ र सताइरहेको छ। यो शैतानको दाउपेच हो! हेर्नुहोस्, सुरुवातमा, परमेश्‍वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो। उनीहरू परमेश्‍वरको उपस्थिति र प्रबन्धमा अदनको बगैँचामा बस्थे, अनि उनीहरू एकदमै खुसी थिए। शैतानले मानिसलाई परमेश्‍वरको हातबाट खोस्न चाहन्थ्यो, त्यसैले यसले हव्वालाई भ्रममा पार्न र असल र खराबको ज्ञान दिने रूखको फल खान लालायित गर्न झुटको प्रयोग गर्‍यो। आदम र हव्वासँग खुट्ट्याउने क्षमता नभएकोले, उनीहरूले परमेश्‍वरका वचनहरूमा शङ्का गरे र त्यसलाई इन्कार गरे। उनीहरूले शैतानको कुरा सुने, फल खाए, अनि परमेश्‍वरलाई धोका दिए। परिणामस्वरूप, उनीहरू अदनको बगैँचाबाट निकालिए अनि शैतानको शक्तिअन्तर्गत परे, र शैतानद्वारा कुल्चिए अनि सताइए। शैतानले तपाईंलाई सताउन र बाधा दिन तपाईंको श्रीमानलाई प्रयोग गरिरहेको छ। हामीले शैतानको दाउपेचलाई चिन्नुपर्छ र परमेश्‍वरको लागि आफ्‍नो गवाहीमा दृढ रहनुपर्छ।” ती सिस्टरको सङ्गति सुनेपछि, मैले कुरा बुझेँ। मैले परमेश्‍वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन चाहने भएकोले, शैतानले मलाई बाधा दिन जे पनि गर्नेथियो। यसले मलाई विश्वास त्याग्न लगाउन मेरो श्रीमानको सतावट प्रयोग गरिरहेको थियो। यदि मैले मेरो श्रीमानको पछि लागेर विश्वास गर्न छोडेँ भने, मैले परमेश्‍वरलाई विश्वासघात गर्नेथिएँ। म शैतानको चालमा फस्नु हुँदैनथियो। मेरो श्रीमानले मलाई जति नै सताए पनि, मैले परमेश्‍वरमाथिको मेरो विश्वास त्याग्नु हुँदैनथियो। त्यसपछि, जब श्रीमान घरमा हुँदैनथे, तब म लुकेर परमेश्‍वरका वचनहरू पढ्थेँ र भेलाहरूमा जान्थेँ। एक वर्षपछि, म सिञ्चन डिकनको रूपमा छानिएँ। भेलाहरूमा सहभागी भएर, परमेश्‍वरका वचनहरू पढेर, अनि ब्रदर-सिस्टरहरूले उहाँका वचनहरूप्रतिको आफ्ना अनुभवात्मक बुझाइहरूबारे सङ्गति गरेको सुनेर, मलाई परमेश्‍वरमा विश्वास गर्नु नै जीवनको सही मार्ग हो भन्ने कुरामा झन्-झन् विश्वास लाग्दै गयो, र म आफ्नो कर्तव्य पूरा गर्न अझ सक्रिय भएँ। तैपनि, म अझै पनि मेरो श्रीमानद्वारा नियन्त्रित थिएँ। कहिलेकाहीँ, यदि भेला अलिक ढिलो सकियो भने, मलाई छटपटी हुन्थ्यो, म घर पुग्नुअघि नै श्रीमान्‌ घर आउनुभयो र मलाई देख्नुभएन भने रिसाउनुहुन्छ र झगडा गर्नुहुन्छ भन्ने चिन्ता लाग्थ्यो। त्यसैले, भेला सकिनेबित्तिकै, म जतिसक्दो चाँडो घर पुग्न हतारिन्थेँ। घर पुग्नेबित्तिकै, म हतार-हतार खाना पकाउँथेँ र घरका सबै सरसामान मिलाउँथेँ। श्रीमानसँग कुनै पनि नराम्रो नहोस् भनेर, उहाँ घरमा हुँदा म कहिल्यै पनि आत्मिक भक्ति गर्दिनथिएँ। हरेक पटक, म उहाँ बाहिर जाने समय कुर्थेँ अनि बल्ल परमेश्‍वरका वचनहरूका किताब निकाल्ने आँट गर्थेँ, र ढोकाबाहिर केही आवाज सुन्नेबित्तिकै, म तिनलाई तुरुन्तै लुकाउँथेँ।

पछि, मण्डलीको काम झन्-झन् व्यस्त हुँदै गयो, र कहिलेकाहीँ म घर पुग्न ढिलो हुन्थ्यो। एकपटक, भेला ढिलो सकियो, र मैले हाम्रो बच्चालाई समयमै किन्डरगार्टेनबाट ल्याउन सकिनँ, त्यसैले शिक्षकले मेरो श्रीमानलाई फोन गरिदिनुभएछ। जब म घर पुगेँ, तब उहाँले रिसाउँदै म कहाँ गएकी थिएँ भनेर सोध्नुभयो। म उहाँलाई झुट बोल्न चाहन्नथिएँ, र म यो मौका छोपेर उहाँलाई मैले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि के प्राप्त गरेकी छु भनेर बताउन पनि चाहन्थेँ। तर अचम्मको कुरा, मेरो कुरा सुनेपछि, उहाँले रिसाउँदै भन्नुभयो, “तेरो बुबाले तँलाई यो परमेश्‍वरको कुरा सिकाएको हो?” अनि उहाँले मेरा बुबाको नम्बर डायल गर्न थाल्नुभयो। म उहाँसँग राम्ररी कुरा गर्न चाहन्थेँ, तर उहाँ आगो हुनुभएको थियो। मैले उहाँलाई सोधेँ, “परमेश्‍वरको विश्वासी भएकोले, म चुरोट पिउँदिनँ, रक्सी पिउँदिनँ वा माजोङ खेल्दिनँ, र पक्कै पनि म कुनै गलत काम गर्दिनँ। तपाईँ परमेश्‍वरमाथिको विश्वासलाई किन घृणा गर्नुहुन्छ?” उहाँले खिल्ली उडाउँदै हाँस्नुभयो र मलाई प्रश्न गर्नुभयो, “तैँले स्कुलमा मानिस बाँदरबाट विकसित भई आएको हो भनेर पढिनस्? परमेश्‍वर कसरी हुन सक्छ? खै कहाँ छन् परमेश्‍वर? यदि परमेश्‍वर छन् भने, ल मलाई अहिले नै मारेर देखाउन भन् त!” मेरो श्रीमानको कुरा सुनेर म निक्कै स्तब्ध भएँ, र मैले तुरुन्तै उहाँलाई जथाभाबी नबोल्न चेतावनी दिएँ। तर उहाँ एक्कासि हाँस्न थाल्नुभयो र उहाँले भन्नुभयो, “तेरो विश्वासले तँलाई बहुला बनाइसकेछ! परमेश्‍वर कसरी हुन सक्छ? बरु तँ चुरोट पी, रक्सी पी, माजोङ खेल्, र जे मन लाग्छ त्यही गर्, तर तैँले परमेश्‍वरमा विश्वास चाहिँ गर्न पाउँदैनस्! म तँलाई फेरि एकपटक सोध्छु: तँलाई परमेश्‍वर चाहिन्छ, कि यो परिवार?” मैले भनेँ, “परमेश्‍वरमाथिको मेरो विश्वास अटल छ!” जब उहाँले म परमेश्‍वरमा विश्वास गर्न दृढ छु भन्ने देख्नुभयो, तब उहाँले भन्नुभयो, “त्यसोभए निस्केर जा! तँलाई परमेश्‍वरमा विश्वास गर्नु छ भने गर् र तेरो स्वर्ग जा, म चाहिँ मेरो नरक जान्छु!” उहाँको त्यो डरलाग्दो रूप देखेर, मलाई विश्वास नै लागेन कि यी तिनै श्रीमान हुन् जसले कुनै बेला मलाई जीवनभर माया गर्ने र जीवनभरको खुसी दिने वाचा गरेका थिए। उहाँले परमेश्‍वरलाई यति धेरै घृणा गर्नुहुन्थ्यो; उहाँ पक्का नास्तिक हुनुहुन्थ्यो। मेरो हृदय छियाछिया भयो। भित्री रूपमा, म उहाँले परमेश्‍वरको विरोध गर्नुहुन्छ भन्ने तथ्यलाई स्वीकार गर्न चाहन्नथिएँ, र म हाम्रो वैवाहिक जीवनलाई छोड्न सक्दिनथिएँ। मैले आफैलाई सान्त्वना दिइरहेँ, सायद उहाँले रिसाएको बेला मात्रै त्यसो भन्नुभएको होला र उहाँ शान्त भएपछि सबै ठीक हुन्छ होला भन्ने सोचेँ। त्यसैले, केही समयका लागि आमाको घरमा गएर बस्ने निर्णय गरेँ। त्यसो गर्दा, मैले सामान्य रूपमा आफ्नो कर्तव्य पनि पूरा गर्न सक्थेँ। तर सोच्दै नसोचेको कुरा भयो, केही दिनपछि मेरो श्रीमान आफ्ना साथीहरूको समूहलाई लिएर मेरी आमाको घरमा आउनुभयो। उहाँहरू सबै जना एकैचोटि कराउँदै मलाई मेरो विश्वास त्याग्न मनाउने कोसिस गर्दै हुनुहुन्थ्यो। उहाँहरूले टोल सुधार समिति वा प्रहरीको ध्यान खिच्नुहोला भन्ने मलाई डर लाग्यो, त्यसैले तत्कालका लागि श्रीमानसँगै घर फर्कनुबाहेक मसँग अरू कुनै विकल्प थिएन।

घर पुगेपछि, मेरो श्रीमानले ममाथि दिनहुँ निगरानी राख्नुभयो, उहाँ जहाँ जानुहुन्थ्यो मलाई पनि सँगै लैजानुहुन्थ्यो र मलाई घरमा एक्लै बस्न दिनुहुन्नथियो। उहाँले मलाई हरेक दिन मिठोमिठो खाना पनि ल्याइदिनुहुन्थ्यो, हाम्रो बच्चा र मलाई पार्क र मलहरूमा लैजानुहुन्थ्यो, र सधैँ मलाई कसरी असल श्रीमती बन्ने अनि हामी तीन जनाको परिवार कसरी खुसी हुन सक्छ भनेर बताउनुहुन्थ्यो। बिस्तारै, मैले उहाँका कुराहरू खुट्ट्याउन छोडेँ। मैले मात्र यति सोचेँ, “मेरो श्रीमान मप्रति धेरै राम्रो हुनुहुन्छ, र हाम्रो बच्चा पनि कति साह्रै असल छ; यसरी नै जिउन पाए त कति रमाइलो हुन्थ्यो।” मलाई यस्तो किसिमको जीवन झन्-झन् मन पर्न थालेकोले, मैले आफ्नो कर्तव्यमा उप्रान्त कुनै बोझ महसुस गर्न छोडेँ। मैले एक महिनासम्म समूहका भेलाहरूमा भाग लिइनँ, र पछि, मेरो परिस्थितिलाई ध्यानमा राखेर अगुवाले मलाई सेवाबाट बर्खास्त गर्नुभयो।

त्यसपछिका दिनहरूमा, मेरो श्रीमान मप्रति रिसाउनुभएको त थिएन, तैपनि मैले मेरो आत्माको रित्तोपनलाई हटाउन सकिनँ। म हरेक दिन टोलाएर बिताउँथेँ। म प्रायः आफैँलाई सोध्थेँ, “के म जीवनभर यसरी नै बाँचिरहनेछु त? जीवनको अर्थ के हो?” त्यसपछि, परमेश्‍वरका वचनका केही पङ्क्तिहरू मेरो मनमा आए: “तेरो संकल्प कहाँ छ? तेरो महत्त्वाकाङ्क्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो निष्ठा कहाँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरका एकपछि अर्को प्रश्नहरूको सामना गर्दा, मलाई असाध्यै नराम्रो लाग्यो। मैले मनमनै आफैँलाई सोधेँ, “मेरो सङ्कल्प खोई? म किन मेरो श्रीमानको नियन्त्रणबाट मुक्त हुन सकिरहेकी छैनँ?” त्यसपछि, मैले पढ्नका लागि परमेश्‍वरका वचनको त्यो खण्ड भेटाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको छ, तापनि कसले ती कुराहरूलाई गम्भीरतापूर्वक लिएको छ र? मानिस परमेश्‍वरका वचनहरू बुझ्दैन, तापनि ऊ उदासीन र तृष्णारहित हुन्छ; उसले पुरानो दियाबलसको सार वास्तवमा कहिल्यै जानेको छैन। मानिसहरू पातालमा, नरकमा बस्छन्, तर तिनीहरू समुद्रतलको दरबारमा बस्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्; तिनीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ, तापनि तिनीहरू आफू त्यस राज्यबाट ‘कृपा पाएको’ भन्ठान्छन्; दियाबलसले तिनीहरूलाई मूर्ख बनाउँछ तैपनि तिनीहरू आफूले देहको उत्कृष्ट कलाको आनन्द लिइरहेको भन्ठान्छन्। तिनीहरू कस्ता घृणित, तुच्छ नीचहरू हुन्! मानिसले दुर्भाग्यको सामना गरेको छ, तर उसलाई यो थाहा छैन, र यो अन्धकार समाजमा उसले एकपछि अर्को दुर्भाग्य भोग्छ, तर ऊ यस विषयमा कहिल्यै सचेत छैन। उसले कहिले आफूप्रति दयालु हुने आफ्नो स्वभाव र दासको स्वभाव फाल्नेछ? ऊ किन परमेश्‍वरको हृदयको ख्याल गर्दैन? के ऊ चुपचाप यो उत्पीडन र कठिनाइ सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के ऊ न्याय र सत्यताप्रति भएका गुनासाहरू सच्याउन चाहँदैन? के ऊ मानिसहरूले सत्यतालाई इन्कार गरेको र तथ्यहरू बङ्ग्याएको हेरेर केही नगरी बस्‍न इच्छुक छ? के ऊ यो अन्याय सहिरहन इच्छुक छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्‍वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्त्वाकाङ्क्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो निष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? … उसलाई बिना कुनै उद्देश्य यसरी हेपिन्छ र दमन गरिन्छ, र उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुन्छ; ऊ पुग्न किन यति हतार गर्छ, र प्रस्थान गर्न किन त्यति हतार गर्छ? ऊ किन परमेश्‍वरलाई दिनका लागि कुनै बहुमूल्य कुरा राख्दैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। मानव जीवनको वर्तमान अवस्थाबारे परमेश्‍वरको खुलासा पढ्दा, मलाई सपनाबाट ब्युँझिएजस्तो महसुस भयो। म तीन जनाको परिवार आपसमा मिलेर बस्नु नै सबैभन्दा सुन्दर जीवन हो भन्ने सोच्थेँ, तर के वास्तवमा त्यस्तै थियो त? परमेश्‍वरमा विश्वास गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, तैपनि मेरो श्रीमानलाई नचिढ्याउनका लागि, म घरमा परमेश्‍वरका वचनहरू पढ्ने आँटसमेत गर्दिनथिएँ, भेलाहरूमा जाने वा कर्तव्य पूरा गर्ने कुरा त परै जाओस्। म हरेक दिन मेरो श्रीमान र बच्चाको दैनिक आवश्यकताहरू पूरा गर्नमै बिताउँथेँ, र कुनै लक्ष्य वा दिशा बिना नै जिउँदो लासझैँ बाँचिरहेकी थिएँ। आत्मचेतना बिनाको यो अर्थहीन जीवन जिउनुमा वास्तवमा खुसी नै थिएन। यो त परमेश्‍वरले भन्नुभएजस्तै थियो: “तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमा व्यथित महसुस गर्दैनौ; तिमीहरू खुसीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू त्यो फोहोर पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरू वास्तवमा आफू यस्तो दुर्दशामा खसेको महसुस गर्दैनौ। तिमीहरू हरेक दिन अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र ‘मलमूत्र’ सँग सम्पर्क गर्छौ, अनि तिमीहरूको जीवन निकै तुच्छ छ; तैपनि तँलाई आफू मानव संसारमा बिलकुलै नजिएको र आफू आफ्नै नियन्त्रणमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिसकिएको छ, वा तेरो चरित्र धेरै पहिले नै फोहोर पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तँ आफू सांसारिक स्वर्गमा जिइरहेको, र खुसीयालीमाझ रहेको भन्ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन जिएको, र तिनीहरूले तेरा लागि तयार गरेका सबै कुरासँग सह-अस्तित्वमा रहेको थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्थ्यो र? तेरो जीवनको कुनै मूल्य कसरी हुन सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। मैले परमेश्‍वरका वचनहरू जति धेरै मनन गरेँ, मलाई मेरो जीवन त्यति नै दयनीय लाग्यो। मेरा ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरू खान र पिउन तथा सत्यतालाई पछ्याउनका लागि अलिकति पनि समय खेर फालिरहेका थिएनन्, र उनीहरूको जीवन निरन्तर बढिरहेको थियो। तर मेरो दिनचर्या भने श्रीमान र बच्चाको वरिपरि घुम्थ्यो, र म आफ्नो वैवाहिक जीवनमा आफ्नो जीवन खेर फालिरहेकी थिएँ। मानिसहरूलाई शुद्ध गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नका लागि परमेश्‍वर देहधारी हुनुभएको छ, ताकि उनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, परमेश्‍वरको मुक्ति प्राप्त गर्न, र अर्थपूर्ण जीवन जिउन सकून्। यदि मेरा दिनहरू श्रीमान र बच्चाकै वरिपरि बित्ने हो भने, मैले पक्कै पनि परमेश्‍वरको मुक्ति पाउने यो अति दुर्लभ अवसर गुमाउनेथिएँ, र अन्त्यमा, म दियाबलसहरूसँगै नाश हुनेथिएँ। त्यो जीवनभरका लागि पछुतो हुनेथियो! त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अब यसरी नै अलमल्लिरहन सक्दिनँ। म सत्यतालाई पछ्याउन र मेरो कर्तव्य पूरा गर्न चाहन्छु, तर मैले मेरो हृदयबाट श्रीमानलाई हटाउन सकिरहेकी छैनँ। शैतानका दाउपेचहरू ठम्याउन मलाई मार्गदर्शन गर्नुहोस्, ताकि म उप्रान्त उहाँद्वारा नियन्त्रित नहोऊँ र मैले पूर्ण हृदयले तपाईंमा विश्वास गर्न र राम्ररी मेरो कर्तव्य पूरा गर्न सकूँ।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र मेरो श्रीमानको सार अझ स्पष्ट रूपमा देखेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “पति आफ्नी पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नी आफ्नो पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूको यति धेरै ख्याल राख्छन्? मानिसहरूको सबै मनसाय केप्रति लक्षित हुन्छन्? के यो सबै उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नप्रति लक्षित हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। “मानौँ परमेश्‍वरको उल्लेख गर्दा कुनै व्यक्ति अत्यन्तै क्रोधित हुन्छ र रिसाउँछ: के उसले परमेश्‍वरलाई देखेको छ? के उसलाई परमेश्‍वर को हुनुहुन्छ भनी थाहा छ? उसलाई परमेश्‍वर को हुनुहुन्छ भनी थाहा छैन, ऊ उहाँमा विश्‍वास गर्दैन, परमेश्‍वरले ऊसँग बोल्नुभएको छैन, र परमेश्‍वरले उसलाई कहिल्यै रिस उठाउनुभएको छैन—त्यसोभए ऊ किन रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट हो भन्न सक्छौँ? सांसारिक प्रवृत्तिहरू, खानपान, र सुखचैनको खोजी, अनि सेलिब्रेटीहरूको पूजा—यीमध्ये कुनै पनि कुराले त्यस्तो व्यक्तिलाई रिस उठाउँदैन। तर, ‘परमेश्‍वर’ भन्‍ने शब्द वा परमेश्‍वरका वचनहरूको सत्यताको उल्लेख गर्नेबित्तिकै, ऊ रिसाउँछ। के यो दुष्ट प्रकृति हुनु होइन र? यो उनीहरूको दुष्ट प्रकृति हो भनी प्रमाणित गर्न यो नै पर्याप्त छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरूले मलाई ब्युँझाए। मप्रति मेरो श्रीमानको कुनै साँचो प्रेम थिएन; उहाँको तथाकथित प्रेम सर्तसहितको थियो। मेरो श्रीमान पहिले मप्रति किन त्यति धेरै मिलनसार हुनुहुन्थ्यो भनेर मैले सोचेँ। किनभने उहाँको परिवार धेरै गरिब थियो, र हामीले विवाह गर्दा उहाँले मलाई विवाहको कुनै उपहार दिनुभएको थिएन, जब कि मेरो रूप र पारिवारिक पृष्ठभूमि दुवै उहाँको भन्दा राम्रो थियो। मसँग हिँड्दा उहाँलाई गर्व महसुस हुन्थ्यो। साथै, विवाहपछि, म लुगा धुन्थेँ, उहाँको लागि खाना पकाउँथेँ, र उहाँलाई सन्तान दिएँ, अनि म समझदार थिएँ र जीवनको हरेक पक्षमा उहाँको ख्याल राख्थेँ। मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई पक्राउ गरिरहेकोले, यदि म पक्राउ परेँ भने आफ्नो इज्जत जानेछ भनेर उहाँ डराउनुभयो, त्यसैले उहाँ मप्रति रूखो हुनुभयो, प्रायः मसँग रिसाउनुहुन्थ्यो, र मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न उहाँले सक्दो सबै उपायहरू लगाउनुभयो। त्यो कसरी मप्रतिको प्रेम थियो र? त्यो त स्पष्ट रूपमा मलाई नियन्त्रण र प्रयोग गर्नु मात्र थियो। म तथाकथित प्रेमले अन्धो भएकी रहेछु, मैले मेरो श्रीमानले मलाई साँच्चै माया गर्नुहुन्छ भन्‍ने सोचेकी रहेछु। म कति मूर्ख रहेछु! परमेश्‍वरको कुरा निस्कनेबित्तिकै, मेरा श्रीमान् रिसले आगो बन्‍नुहुन्थ्यो, यहाँसम्म कि परमेश्‍वरलाई इन्कार गर्ने र खिल्ली उडाउने कुराहरू बोल्नुहुन्थ्यो। उहाँ परमेश्‍वरलाई घृणा गर्ने र प्रतिरोध गर्ने दियाबलस हुनुहुन्थ्यो! मलाई विश्वास त्याग्न लगाउन, उहाँले कडा र नरम दुवै उपायहरू अपनाउनुभयो, र मलाई खान, पिउन, मोजमस्ती गर्न र माजोङ खेल्न छुट थियो—तर परमेश्‍वरमा विश्वास गर्न र सही मार्गमा हिँड्न भने मनाही थियो। दियाबलसहरू त्यतिसम्म कुटिल हुन्छन्! विगतमा, म उहाँलाई परिपक्व, स्थिर, र हरेक कुरामा मलाई सहने व्यक्तिको रूपमा हेर्थेँ, र उहाँ त्यस्तो मानिस हुनुहुन्छ जसलाई म मेरो सम्पूर्ण जीवन सुम्पन सक्छु भन्‍ने सोच्थेँ। तर अहिले मैले स्पष्ट रूपमा देखेँ: त्यो सबै एउटा भ्रम मात्र थियो। मसँग सत्यता थिएन र म मानिसहरूलाई खुट्ट्याउन सक्दिनथिएँ। म सधैँभरि उहाँको मिठो कुराले धोकामा परेकी रहेछु। म कति अन्धो रहेछु! त्यसपछि, मलाई परमेश्‍वरका वचनहरूको याद आयो: “विश्‍वासी र गैरविश्‍वासीहरू अन्तर्निहित रूपमै मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मेरो श्रीमान सांसारिक दुष्ट प्रचलनहरू पछ्याउने र खानपान तथा मोजमस्तीमा रम्ने नास्तिक हुनुहुन्छ। म परमेश्‍वरमा विश्वास गर्छु र सत्यता तथा मुक्तिलाई पछ्याउँछु। हामी एउटै मार्गमा हिँडिरहेका छैनौँ। उहाँले मेरो विश्वास बदल्न सक्नुहुन्न, र म उहाँको सार बदल्न सक्दिनँ। हामी सँगै बसे पनि, हामी खुसी हुनेछैनौँ। मेरो श्रीमानले मलाई निगरानीमा राख्नुभयो, मलाई हरेक दिन उहाँसँगै दुष्ट प्रचलनहरू पछ्याउन फकाउँदै, मलाई परमेश्‍वरमा विश्वास गर्न र मेरो कर्तव्य पूरा गर्नबाट रोक्नुभयो। त्यो प्रेम थिएन; त्यो त मलाई उहाँसँगै नरकमा तान्ने काम थियो। म अब यो दियाबलससँग सम्झौता गर्न सक्दिनथिएँ। मैले पूर्ण हृदयले परमेश्‍वरमा विश्वास गर्नु र राम्ररी मेरो कर्तव्य पूरा गर्नु पर्थ्यो।

त्यसपछि, म बाहिर निस्केर सामान्य रूपमा मेरो कर्तव्य पूरा गर्न थालेँ। जब मेरो श्रीमानले मलाई नियन्त्रण गर्न सक्दिनँ भन्‍ने देख्नुभयो, तब उहाँ मसँग बोल्‍न छोड्नुभयो। यस्तो वैवाहिक जीवनले मलाई शारीरिक र मानसिक रूपमा थकाएको भए पनि, मेरो हृदयमा, म अझै एक दिन मेरो श्रीमानले मेरो विश्वासमा बाधा दिन छोड्नुहुनेछ, र हाम्रो परिवार पहिले जस्तै आपसमा मिलेर बस्न सक्नेछ भनेर आशा गर्थेँ। पछि, मैले मनन गरेँ, “मैले किन मेरो हृदयबाट यो विवाह सम्बन्धलाई हटाउन सकिरहेकी छैनँ?” त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “हजारौँ वर्षदेखिको ‘राष्ट्रवादको उच्च भावना’ मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनले तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडिएको, आदि अवस्थामा राखेको छन्। यी वस्तुगत कारकहरूले मानवताको वैचारिक दृष्टिकोण, आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एक नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्‍वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? मानिसहरूका ती सबै भाग, जसलाई अन्धकारको प्रभावले ओगटेको छ, धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्‍वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले कुरा बुझेँ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसहरू विभिन्न परम्परागत सांस्कृतिक विचारहरू र सामन्ती विचारहरूद्वारा बाँधिएका र जकडिएका हुन्छन्। उनीहरूले मायालु वैवाहिक जीवन र छोराछोरी हुर्काउने कुरालाई आफ्नो जीवनको लक्ष्य बनाउँछन्, र यो कुरा पुस्तादेखि पुस्तासम्‍म हस्तान्तरण हुँदै आएको छ। त्यसमाथि, सबै प्रकारका टिभी कार्यक्रमहरू, चलचित्रहरू, र साहित्यिक कृतिहरूले “प्रेम नै सर्वोपरि हो” र “जीवनभर सँगै यात्रा गर्नु” जस्ता विचारहरूलाई बढावा दिन्छन्। फलस्वरुप, मानिसहरूले सुखी वैवाहिक जीवनको पछि लाग्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर विश्वास गर्छन्। मैले पनि यी विचारहरूलाई आफ्नो हृदयमा लिएकी थिएँ र सुखी वैवाहिक जीवनलाई मेरो जीवनको लक्ष्य बनाएकी थिएँ। विवाहपछि, मेरो श्रीमानले सधैँ साना-साना रोमान्टिक पलहरू सिर्जना गर्नुहुन्थ्यो र मलाई ख्याल र हेरचाह दुवै गर्नुहुन्थ्यो, त्यसैले म निकै सन्तुष्ट थिएँ। म उहाँसँग जीवन बिताउन पाउँदा मेरो जीवन सार्थक भएको छ भन्ने सोच्थेँ। हाम्रो सुखी वैवाहिक जीवनलाई कायम राख्न, मैले खाना पकाउन सिकेँ, म बच्चा हुर्काउन घरमै बसेँ, र मैले एउटी असल श्रीमती र आमा बन्न सक्दो कोसिस गरेँ, अनि मेरो सारा समय र ऊर्जा हाम्रो विवाह र परिवारमा खन्याएँ। मैले विवाहलाई जीवनको गन्तव्यको रूपमा हेरेँ र यसको लागि सबथोक दिनु नै मैले गर्नुपर्ने कुरा हो भन्ने मलाई लाग्थ्यो। परमेश्‍वरलाई भेट्टाएपछि, मैले उहाँका वचनहरूबाट धेरै सत्यता र रहस्यहरू बुझेँ। एक सृजित प्राणीको रूपमा, मैले सृष्टिकर्ताको आराधना गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु पर्छ भन्‍ने पनि मलाई थाहा भयो। तैपनि, परमेश्‍वरमा विश्वास गर्दा मेरो श्रीमान रिसाउनुहुनेछ र मैले हाम्रो वैवाहिक जीवन गुमाउनेछु भन्‍ने मलाई डर लागेको थियो, त्यसैले भेलाहरूमा म प्रायः ध्यान दिन सक्दिनथेँ र घरमा परमेश्‍वरका वचनहरू पढ्ने वा भजनहरू सुन्ने आँट गर्दिनथिएँ। श्रीमानसँगको सम्बन्ध कायम राख्न, मैले आफ्नो कर्तव्यलाई पन्छाएँ र कर्तव्य पूरा गरेकोमा पछुतोसमेत मानेँ। म “स्त्रीको विवाह नै उसको जीवनभरको गन्तव्य हो,” “सुखी वैवाहिक जीवन नै सबैभन्दा ठुलो खुसी हो,” र “जीवनभर सँगै यात्रा गर्नु” भन्‍ने जस्ता शैतानी विचारहरूमा नराम्ररी बाँधिएकी थिएँ। म सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्नता छुट्याउन सक्दिनथिएँ, र सुखी वैवाहिक जीवनको पछि लागेर मैले सजिलै आफ्नो कर्तव्य त्यागिदिएँ। यदि म यसरी नै अघि बढेँ भने, अन्ततः म शैतानसँगै नाश हुनेथिएँ। यसको बारेमा विचार गर्दा त, यदि म मेरो श्रीमानसँग मिलेर बस्न सकेँ भने पनि, त्यसमा के अर्थ हुनेथियो र? न त मैले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नेथिएँ, न त मैले बुझ्नुपर्ने सत्यताहरू नै बुझ्नेथिएँ। के जीवनभर अलमलमा बाँच्दा त्यो समयको बर्बादी मात्र हुनेथिएन र? त्यसपछि, मलाई परमेश्‍वरका वचनहरूको याद आयो: “दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन।” म जुन जीवनको पछि लागिरहेकी थिएँ त्यो अर्थहीन थियो, र म यो नसोची बस्नै सकिनँ: सबैभन्दा सुन्दर जीवन के हो त? जीवन सार्थक हुनका लागि मानिस वास्तवमा कसरी बाँच्नुपर्छ?

त्यसपछि मैले परमेश्‍वरका वचनका दुई खण्डहरू पढेँ, र तिनमा आफ्नो जीवनका लागि मार्गदर्शन फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस गल्तीले वैवाहिक सुख पछ्याउनुलाई, वा आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्नु, र उसलाई चासो दिनु, हेरचाह गर्नु, कदर गर्नु र सुरक्षा दिनुलाई आफ्नो जीवनको मिसन बनाउँछन्, अनि आफ्नो जोडीलाई पूरै संसार, आफ्नो जीवन ठान्छन्—यो गलत हो। तेरो नियति परमेश्‍वरको सार्वभौमिकतामा हुन्छ र त्यो तेरो जोडीको नियन्त्रणमा हुँदैन। विवाहले तेरो नियति परिवर्तन गर्न सक्दैन न त परमेश्‍वरले तेरो नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्यलाई नै परिवर्तन गर्न सक्छ। तैँले जीवनबारे राख्नुपर्ने दृष्टिकोण र पछ्याउनुपर्ने मार्गको सम्बन्धमा भन्नुपर्दा, तैँले यी कुराहरू परमेश्‍वरका शिक्षण र मागहरूसम्बन्धी वचनहरूमा खोज्नुपर्छ, तिनका लागि आफ्नो जोडीमा निर्भर हुनु र ती कुराहरू आफ्नो जोडीलाई निर्णय गर्न दिनु हुँदैन। तँप्रतिका जिम्मेवारीहरू पूरा गर्नुबाहेक, उसले तेरो नियतिमाथि नियन्त्रण राख्नु हुँदैन, तँलाई तेरो जीवनको दिशा परिवर्तन गर्न माग गर्नु हुँदैन, तैँले कुन मार्ग पछ्याउने भनी निर्णय गर्नु हुँदैन, जीवनबारे तेरो कस्तो दृष्टिकोण हुनुपर्छ भनी निर्णय गर्नु हुँदैन, तँलाई बन्धनमा पार्नु वा मुक्ति पछ्याउनमा अवरोध पुऱ्याउनु त झनै हुँदैन। जहाँसम्म विवाहको कुरा छ, मानिसले केवल परमेश्‍वरबाट त्यो स्वीकार गर्न र विवाहबारे मानिसका लागि परमेश्‍वरले नियोजन गर्नुभएको परिभाषा पालना गर्न, साथै श्रीमान् र श्रीमती दुवैले एकअर्काप्रति जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। तिनीहरूले आफ्नो जोडीको नियति, अघिल्लो जीवन, वर्तमान जीवन, वा अर्को जुनी निर्धारण गर्न सक्दैनन्, झन् अनन्तकालको त कुरै छाडौँ। तेरो गन्तव्य, तेरो नियति, र तैँले पछ्याउने मार्ग सृष्टिकर्ताले मात्र निर्धारण गर्न सक्नुहुन्छ। त्यसकारण, सृजित प्राणी भएको नाताले, चाहे तेरो भूमिका श्रीमतीको होस् वा श्रीमान्‌को, तैँले यो जीवनमा पछ्याउनुपर्ने खुसी तँलाई सृजित प्राणीको कर्तव्य निर्वाह गरेर र सृजित प्राणीको मिसन पूरा गरेर मिल्छ। यो विवाहबाट मिल्दैन, विवाहको संरचनाभित्र श्रीमती वा श्रीमानका जिम्मेवारीहरू पूरा गरेर त झनै मिल्दैन। अवश्य नै, तैँले पछ्याउन रोज्ने मार्ग र जीवनबारे अपनाउने दृष्टिकोण वैवाहिक सुखमा आधारित हुनु हुँदैन, यो श्रीमान् वा श्रीमती कुनै एक जनाले निर्धारण गर्न त झनै मिल्दैन—यो तैँले बुझ्नुपर्ने कुरा हो। त्यसैले, वैवाहिक जीवनमा प्रवेश गर्ने मानिसहरू जसले केवल वैवाहिक सुख पछ्याउँछन् र यो पछ्याइलाई आफ्नो मिसन मात्र ठान्छन्, तिनीहरूले यस्तो सोच र दृष्टिकोण त्याग्नुपर्छ, आफूले अभ्यास गर्ने तरिका अनि जीवनमा लिएको दिशा परिवर्तन गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ। … तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय एक्कासि ज्योतिले भरियो, र मलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा मेरो जीवनको मार्गदर्शन गरिरहनुभएको छ जस्तो महसुस भयो। मैले के बुझेँ भने, विवाह सम्बन्ध मेरो गन्तव्य होइन, र विवाहको परिधिभित्र, श्रीमान र श्रीमतीले एकअर्काप्रतिको जिम्मेवारी मात्र पूरा गरिरहेका हुन्छन् र साथ तथा हेरचाह प्रदान गरिरहेका हुन्छन्। हाम्रो वैवाहिक जीवनमा, मैले लुगा धोएकी थिएँ, खाना पकाएकी थिएँ, र बच्चा जन्माएकी थिएँ; मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेकी थिएँ र म मेरो श्रीमानप्रति ऋणी थिइनँ। यदि उहाँले मेरो विश्वासमा हस्तक्षेप नगर्नुभएको भए, मेरो कर्तव्यमा बाधा नआएसम्म हामी सँगै बस्न सक्थ्यौँ। तर यदि उहाँले मेरो विश्वासमा बाधा दिनुभयो भने, मैले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बाटो रोज्नुपर्थ्यो। मैले विवाह सम्बन्धलाई आफ्नो गन्तव्यको रूपमा हेर्नु हुँदैनथियो वा जीवनभरको खुसी यसैमा अड्याउनु हुँदैनथियो। त्यो गलत दृष्टिकोण हो। वर्षौंसम्म, मैले मेरो श्रीमानलाई नै आफ्नो सर्वस्व ठानेकी थिएँ। जब उहाँले मेरो विश्वासको विरोध गर्नुभयो, मैले अन्धो भएर सम्झौता गरेँ र हार मानेँ, जसले गर्दा मैले भेलाहरू र मेरो कर्तव्यसमेत त्यागेँ। म पूर्ण रूपमा अन्धकारमा फसेँ, र मलाई रित्तोपन र पीडा महसुस भयो। मैले मेरो सारा समय र ऊर्जा सुखी वैवाहिक जीवन कायम राख्नमै खर्च गरेकी थिएँ, त्यसैले मैले परमेश्‍वरका धेरै वचनहरू पढ्न पाएकी थिइनँ र धेरै सत्यताहरू बुझेकी थिइनँ। मैले कर्तव्य पूरा गर्दा अपराधहरू समेत गरेकी थिएँ र मेरो जीवनका कैयौँ वर्षहरू खेर फालेकी थिएँ। अहिले, म आफ्नो कर्तव्य पूरा गरिरहेकी छु, भेलाहरूमा गइरहेकी छु, र मेरा ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गरिरहेकी छु, मेरो हृदयमा शान्ति र आराम महसुस हुन्छ। मैले के पनि बुझेकी छु भने, एक सृजित प्राणीको रूपमा, मैले सत्यताको खोजी गर्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मैले पछ्याउनुपर्ने जीवन यही नै हो। मैले पत्रुसको बारेमा सोचेँ, जसले आफ्नो विश्वासका लागि आमाबुबाको सतावट सामना गर्नुपरेको थियो, तर तिनले आफ्नो परिवारद्वारा नियन्त्रित हुन मानेनन् र परमेश्‍वरलाई पछ्याउने दृढ सङ्कल्प गरे। अन्त्यमा, तिनले परमेश्‍वरको आज्ञा पूरा गरे र परमेश्‍वरको अनुमोदन प्राप्त गरे। धेरै इसाईहरू पनि यस्ता थिए जसले प्रभुलाई पछ्याउन, उहाँको सुसमाचार प्रसार गर्न, र उहाँका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्न सबथोक त्यागे। मेरो हृदय निकै उत्प्रेरित भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म पनि मेरो कर्तव्य पूरा गर्न र तपाईंका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्न घर छोड्न चाहन्छु। म तपाईँसँग मेरा लागि अवसर तयार गरिदिनुहोस् भनी बिन्ती गर्दछु।”

एक वर्षपछि, जब मेरो श्रीमानले जतिसुकै रोक्ने कोसिस गरे पनि म परमेश्‍वरमा विश्वास गर्न र आफ्नो कर्तव्य पूरा गर्न दृढ छु भन्‍ने देख्‍नुभयो, तब उहाँले सम्बन्ध विच्छेदको माग गर्नुभयो। मैले शान्त भएर भनेँ, “त्यसोभए आ-आफ्नो बाटो लागौँ र राम्ररी छुट्टिऔँ।” जब मेरो श्रीमानले म गम्भीर छु भन्ने देख्नुभयो, तब उहाँ पछि हट्नुभयो। उहाँले मलाई कर्तव्य पूरा गर्नका लागि घर छोडेर जान दिन राजी हुनुभयो, तर मसँग सम्बन्ध विच्छेद चाहिँ गर्नुभएन। जब म घरबाट निस्केँ, तब मलाई अन्ततः उड्न स्वतन्त्र भएको पिँजडाबाट मुक्त भएको चराजस्तै महसुस भयो। म जुनसुकै बेला भजन गाउन सक्छु, जुनसुकै बेला परमेश्‍वरका वचनहरू खान र पिउन सक्छु, र कर्तव्य सकेर ढिलो फर्किए पनि मैले केही कुराको चिन्ता लिनु पर्दैन। हरेक दिन, मेरा ब्रदर-सिस्टरहरूसँग भेलामा सहभागी हुँदा र कर्तव्य पूरा गर्दा मलाई हृदयमा ठुलो आनन्द हुन्छ। यस्तो जीवन मलाई विशेष गरी सन्तोषजनक र खुसीलाग्दो छ भन्‍ने महसुस हुन्छ।

अहिले, म हरेक दिन पूर्णकालीन रूपमा आफ्नो कर्तव्य पूरा गर्छु, म विभिन्न कर्तव्यहरूमा तालिम लिन्छु, र मैले पहिलाभन्दा सत्यता सिद्धान्तहरूको अझ धेरै र व्यावहारिक बुझाइ प्राप्त गरेकी छु। मैले मेरो जीवन प्रवेशमा पनि केही उपलब्धिहरू हासिल गरेकी छु। साँचो खुसी सुखी वैवाहिक जीवनबाट आउँदैन भन्ने कुरा मैले यथार्थ रूपमा बुझेकी छु। बरु, सृष्टिकर्तालाई चिन्नु, आफ्नो मिसन र जिम्मेवारीहरू पूरा गर्न सृजित प्राणीको कर्तव्य पूरा गर्नु, र मुक्तिको मार्गमा हिँड्न सत्यता बुझ्नु—यही नै साँचो खुसी हो। साथै, म आफूलाई विशेष गरी भाग्यमानी भएको महसुस गर्छु किनभने मानवजातिहरूको यो विशाल सागरमा, परमेश्‍वरले मलाई उहाँको घरमा फर्काएर, मलाई सत्यता बुझ्न मार्गदर्शन गरेर, र विवाहको भुमरीबाट बचाएर मलाई मुक्ति दिनुभएको छ। म परमेश्‍वरलाई उहाँको मुक्तिका लागि मेरो हृदयको अन्तस्करणदेखि धन्यवाद दिन्छु, र म अबदेखि गम्भीरतापूर्वक परमेश्‍वरको लागि आफूलाई समर्पित गर्ने र अर्थपूर्ण जीवन जिउने सङ्कल्प गर्छु।

अघिल्लो:  ४४. एक भेलापछि गरिएको चिन्तन

अर्को:  ४६. मैले अतिथि-सत्कारक कर्तव्य निर्वाह गरेको समय

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger