४६. मैले अतिथि-सत्कारक कर्तव्य निर्वाह गरेको समय

निङ्ग यू, चीन

मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मण्डलीमा अगुवा र कामदारको रूपमा सेवा गरेँ, र पछि मैले लेखन-पठनको कर्तव्य पूरा गर्न थालेँ। मलाई यी दुवै कर्तव्यहरू धेरै मन पर्थे; मलाई ती क्षमता भएका मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरू हुन्, र जब-जब म तीबारे बताउँछु, त्यो प्रभावशाली र सम्मानजनक सुनिन्छ, र मानिसहरूलाई ईर्ष्यालु बनाउँछ भन्ने लाग्थ्यो। विशेष गरी २०१६ को अन्त्यतिर, जब मलाई परमेश्‍वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा कर्तव्य निर्वाह गर्न बढुवा गरियो, तब मलाई आफूसँग राम्रो क्षमता र लेख-पढ गर्ने प्रतिभा छ, र म त्यो पूरा गर्नका लागि उपयुक्त छु भन्ने झन् धेरै महसुस भयो। सन् २०२० को अगस्टमा, मलाई अरूसँग सुमधुर रूपमा सहकार्य गर्न नसकेको र आफ्नो कर्तव्यमा प्रभावहीन भएको कारण बर्खास्त गरियो। संयोगवश त्यही समयमा उपयुक्त अतिथि-सत्कारक परिवार उपलब्ध नभएका केही लेखन-पठनका कामदारहरू थिए। त्यसैले सुपरभाइजरहरूले मलाई आफैमा चिन्तन गर्दै गर्दा उनीहरूलाई अतिथि-सत्कार गर्ने प्रबन्ध मिलाइदिनुभयो। मलाई अतिथि-सत्कार गर्न लगाइँदै छ भन्ने सुन्नेबित्तिकै, मेरो मनमा केही खिन्नता भयो। “अतिथि-सत्कार गर्नु भनेको त शारीरिक श्रम गर्नु मात्र हो, कमजोर क्षमता भएका र कुनै खुबी नभएका मानिसहरूले निर्वाह गर्ने कर्तव्य हो। जे भए पनि, म त केही क्षमता र खुबी भएकी, केही वर्षदेखि लेखन-पठनको कर्तव्य निर्वाह गरेकी व्यक्ति हुँ। मेरो कर्तव्य फेरबदल गरिए तापनि, मलाई सम्भवत: कहिल्यै पनि अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न लगाईंदैन!” तर मैले नसोचेको कुरा, सुपरभाइजरहरूले मलाई अतिथि-सत्कारको कर्तव्य नै दिनुभयो! त्यति बेला, मेरो मनमा अनिच्छा थियो, तर मैले कुन तथ्यमाथि चिन्तन गरेँ भने मैले हालै लेखन-पठनको कर्तव्यमा कुनै परिणाम नल्याएर काममा ढिलाइ गरिसकेकी थिएँ। परमेश्‍वरको घरले मलाई जवाफदेही ठहराएको थिएन र अझै पनि मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न अनुमति दिएको थियो—यो पहिले नै परमेश्‍वरको अनुग्रह थियो। रोजी र छाडी गर्नु अविवेकी कार्य हुने थियो, त्यसैले तत्कालका लागि समर्पित हुनुबाहेक मसँग अरू कुनै विकल्प थिएन। पहिलो दुई हप्तासम्म, म हरेक दिन समयमै खाना बनाउँथे र कोठाहरू सफा गर्थेँ, अनि त्यसपछि म आफ्नो भक्तिभाव गर्थेँ र परमेश्‍वरका वचनहरू पढ्थेँ। मलाई यसरी कर्तव्य निर्वाह गर्नु पनि निकै राम्रो हो भन्ने लाग्यो। तर, बिस्तारै, आफ्ना सिस्टरहरू हरेक दिन आफ्नो कर्तव्य निर्वाह गर्दै कम्प्युटर अगाडि बसिरहेका तर आफू भने भाँडाकुँडा सम्हालिरहेकी, र एप्रोन, पोछा र फोहोर फाल्ने भाँडोका साथमा दिन बिताइरहेकी देखेर, मलाई मनभित्र झन् झन् खिन्नता महसुस हुन थाल्यो। मैले मनमनै सोचेँ, “अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नु भनेको शारीरिक श्रम हो: यो त खाना पकाउन सक्ने कुनै पनि ब्रदर-सिस्टरले गर्न सक्छन्, र यसको लागि कुनै क्षमता वा खुबी चाहिँदैन। अर्कोतर्फ, लेखन-पठनको कर्तव्य निर्वाह गर्नु मानसिक श्रम हो, साथै यसमा र अतिथि-सत्कारक कर्तव्यको शारीरिक कामबिच स्पष्ट स्तरगत भिन्नता छ!” मैले जति धेरै यसरी सोचेँ, म अतिथि-सत्कारक कर्तव्य निर्वाहप्रति त्यति नै धेरै प्रतिरोधी भएँ।

एक पटक, सिस्टर चेनले मलाई फोहोर फाल्नमा मद्दत गर्न आग्रह गर्नुभयो, र मलाई तुरुन्तै आफ्नो अनुहार रातो भएको महसुस भयो, आफूलाई नोकरजस्तै ठानेँ। मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नु तुच्छ हो भन्ने झन् धेरै महसुस भयो। कहिलेकाहीँ, सिस्टरहरूले मलाई उनीहरूसँग भेलाहरूमा सहभागी हुन आग्रह गर्थे, तर मलाई आफू अतिथि-सत्कारको कर्तव्य निर्वाह गरिरहेकी र उनीहरूभन्दा निम्न छु भन्ने लागेकोले, भेलामा सङ्गति गर्दा म आफ्नो स्थितिबारे खुलेर बताउने आँट गर्दिनथेँ। म ठूलो कष्टमा थिएँ। मैले आफूले लेखनपठनको कर्तव्य निर्वाह गरेका वर्षहरूमा, कसरी म जहाँ गए पनि ब्रदर-सिस्टरहरूले मलाई सम्मान र ईर्ष्या गर्थे भनी सम्झिएँ। अहिले म अतिथि-सत्कार गरिरहेकी थिएँ, र मलाई कसैले पनि सम्मान गर्दैनथ्यो। मैले जति धेरै यसरी सोचेँ, मलाई त्यति नै धेरै अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नु अर्थहीन छ भन्ने लाग्यो। मैले यतिसम्म सोचेँ, “यहाँ अतिथि-सत्कार गर्नुभन्दा त आफ्नै स्थानीय मण्डलीमा फर्किएकै राम्रो। सायद मैले त्यहाँ अझै पनि लेखन-पठनको कर्तव्य निभाउन सक्छु, र मेरा ब्रदर-सिस्टरहरूले पनि मलाई सम्मान र ईर्ष्या गर्नेछन्।” एक पटक, सुपरभाइजर मेरो घरमा आउनुभयो, मलाई अभिवादन गर्नुभयो, र सिधै मेरा सिस्टरहरूको कोठामा जानुभयो। उहाँले ढोका बन्द गर्नेबित्तिकै, मैले अचानक छुट्याइएको महसुस गरेँ, म उनीहरूको स्तरकी होइन भन्ने महसुस भयो। मेरा सिस्टरहरू लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेका थिए; उनीहरूको हैसियत र स्तर मेरोभन्दा उच्च थियो, र उनीहरूलाई अरूले महत्त्व दिन्थे, जबकि म भने उनीहरूभन्दा निम्न, एउटा महत्त्वहीन शारीरिक कर्तव्य मात्रै निर्वाह गरिरहेकी थिएँ। यो स्पष्ट भिन्नताले मेरो मनलाई छियाछिया पाऱ्यो, र त्यो पीडा अवर्णनीय थियो। भेलापछि, सुपरभाइजर पछिल्लो समय मेरो स्थिति कस्तो छ भन्ने पनि नसोधी हतारमा जानुभयो। मलाई थाहा थियो, उहाँ आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो, त्यसैले उहाँले नसोध्नु सामान्य थियो, तर पनि मेरो मनमा मलाई निकै निराश महसुस भयो। मैले विगतमा लेखन-पठनको कर्तव्य निर्वाह गर्दा, कसरी सुपरभाइजरले समय-समयमा मेरो स्थितिबारे सोधपुछ गर्नुहुन्थ्यो, हाम्रा समस्याहरू समाधान गर्न हामीसँग सत्यता सङ्गति गर्नुहुन्थ्यो, र केही मामिलामा त मसँग परामर्शसमेत लिनुहुन्थ्यो भनी सम्झिएँ। तर अहिले, म केवल एक अतिथि-सत्कारक थिएँ, र मलाई कसैले पनि ध्यान दिँदैनथ्यो। मैले जति गरे पनि वा जति राम्रो गरे पनि, कसैले थाहा पाउने थिएन। के मैले मेरा बाँकी दिनहरू यसरी नै बिताउनुपर्ने हो? यसरी सोच्दा, म ठूलो कष्टमा परेँ र अतिथि-सत्कारको कर्तव्य र लेखन-पठनको कर्तव्य एउटै स्तरका होइनन् भन्ने झन् धेरै महसुस गरेँ। म अतिथि-सत्कारको कर्तव्य निर्वाहप्रति झनै प्रतिरोधी भएँ। पछि, म खाना बनाउन त्यति सक्रिय भइनँ। मनस्थिति राम्रो हुँदा समयमै पकाउँथेँ, र मनस्थिति खराब हुँदा समयमा पकाउँदिनथेँ। मैले लगनशीलताका साथ सफाइ पनि गरिनँ, र सकेसम्म झारा टार्थेँ। मैले गर्ने हरेक काममा मेरो ध्यान अन्तै हुन्थ्यो, र दिनको अन्त्यमा, मलाई धेरै थकित र भित्रभित्रै रित्तो महसुस हुन्थ्यो। मेरो ध्यान अन्तै हुने भएकोले, भान्साको पानी जाने पाइप मुख्य फोहोर पानीको लाइनबाट निस्किएको समेत म थाहा पाउँदिनथेँ, जसले गर्दा फोहोर पानी सिधै भुइँमा बग्थ्यो र तल्लो तलाको छिमेकीको घरमा चुहिन्थ्यो। उनीहरू कतिपटक त हाम्रो ढोकामा आए। ठूलो रातो अजिङ्गरले जताततै विश्वासीहरूलाई खोजिरहेको र उनीहरूबारे रिपोर्ट गरेबापत पुरस्कार दिइरहेकोले, हरेक पटक कोही आउँदा, सिस्टरहरूले हतार-हतार आफ्ना कम्प्युटरहरू लुकाउनुपर्थ्यो र आफ्नो काम रोक्नुपर्थ्यो, जसले गर्दा उनीहरूको कर्तव्यमा ढिलाइ हुन्थ्यो। त्यस समयमा, म हरेक दिन झोक्राउँथेँ, र मेरो हृदय ठूलो कष्टमा थियो।

एक बिहान, म खाना पकाइरहेकी थिएँ, एउटा सेतो ढुकुर उडेर आयो र भान्साको झ्यालको डिलमा बस्यो। त्यसका प्वाँखहरू एकदमै सेता थिए, र त्यो शिर ठाडो पारेर र छाती फुलाएर उभियो, अनि आफ्ना पोतेका दानाजस्ता काला आँखाले मलाई हेरिरह्यो। एकैछिनपछि, त्यो पखेटा फट्फटाउँदै उडेर गयो। मेरो हृदयमा उजाडपनको लहर छायो। म त एउटा चराजत्तिको स्वतन्त्र र खुसीसाथ पनि बाँचिरहेकी थिइनँ। अनायासै, मेरा आँखा आँसुले भरिए। त्यति नै बेला मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “म आकाशमा उड्ने स-साना चराचुरुङ्गीलाई हेर्नका लागि रमाइलो दृश्य मान्छु। तिनीहरूले मेरो अघि आफ्‍नो सङ्कल्प नगरेका भए पनि र तिनीहरूसँग मलाई ‘प्रदान गर्ने’ कुनै वचनहरू नभए पनि, मैले तिनीहरूलाई दिएको संसारमा तिनीहरू आनन्द पाउँछन्। तर, मानिस यसो गर्न सक्दैन, र उसको अनुहार उराठले भरिएको छ—के मैले उसलाई तिर्न नसकिने ऋण तिर्न बाँकी हुन सक्छ? किन उसको अनुहार सधैँ आँसुले भिजेको हुन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ३४)। परमेश्‍वरका वचनहरूले मेरो हृदयमा प्रहार गरे, मलाई लज्जित र व्याकुल महसुस गराए। एउटा चराले परमेश्‍वरले दिनुभएको संसारलाई आफ्नो स्वर्ग मान्छ र कुनै चिन्ताविना जिउँछ, आफ्नो छोटो जीवनमा परमेश्‍वरको महिमा प्रकट गर्न सक्षम हुन्छ। म पनि एउटी सृजित प्राणी भए तापनि, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सकिनँ। सुपरभाइजरले मेरो वास्तविक अवस्था र कामको आवश्यकताअनुसार मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न लगाउनुभएको थियो। यो मेरो लागि र मण्डलीको कामको लागि लाभदायक थियो, तर म सधैँ प्रतिरोध महसुस गरिरहेकी थिएँ, अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्दा अलग देखिने वा अरूद्वारा याद गरिने कुनै मौका हुँदैन, र म अरूद्वारा कदर गरिन वा सम्मानित हुन पाउँदिन भन्ने विश्वास गर्थेँ। त्यसैले म झाराटारूवा र गैरजिम्मेवार भएँ, वातावरणलाई राम्रोसँग कायम राख्न असफल भएँ र आफ्ना सिस्टरहरूलाई उनीहरूका कर्तव्यमा बाधा पुऱ्याएँ। म परमेश्‍वरविरुद्ध साँच्चै धेरै विद्रोही थिएँ! आँसु झार्दै, मैले घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले यो पूरै समय तपाईंविरुद्ध विद्रोह गर्दै आएकी छु र अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न निकै प्रतिरोधी भएकी छु। मलाई सधैँ यो कर्तव्य निर्वाह गर्दा अरूभन्दा निम्न भइन्छ भन्ने लाग्छ, र म आफ्नो हृदयमा कहिल्यै समर्पित हुन सक्दिनँ। हे परमेश्‍वर, म आफ्नो कर्तव्यप्रति यस्तो व्यवहार गर्न चाहन्नँ, तर म आफैँले आफूलाई बदल्न सक्दिनँ। म तपाईंका अभिप्रायहरू बुझ्नका लागि मलाई मार्गदर्शन गरिदिनुहोस् भनी बिन्ती गर्छु, ताकि म तपाईंका सामु समर्पित हुन सकूँ।”

आफ्नो भक्तिभावको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरा निम्ति साह्रै उपयोगी थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई उच-नीच भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्‍वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरो अभिमान र हैसियत, तेरा आफ्नै लाभहरू, र यस्तै अन्य कुरालाई ध्यान दिन्छस्, तब आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पणताको हुँदैन। तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले कसले तँलाई यो काम सुम्पेको हो भनी विश्‍लेषण गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ—यो परमेश्‍वरको आज्ञा हो, यो तेरो कर्तव्य हो, र तँ परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ, र आफ्नो कर्तव्य स्वीकार गर्नुपर्छ। दोस्रो, उच-नीच भनेर नछुट्टया, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि वा नदेखाए पनि, यो सार्वजनिक रूपमा गरिनुपर्ने भए पनि वा पर्दापछाडि गरिनुपर्ने भए पनि, कर्तव्यको प्रकृति के हो भन्नेबारे सरोकार नराख्। यी कुराहरूका बारेमा विचार नगर्। यस मनोवृत्तिको अर्को पक्ष पनि छ: र त्यो समर्पण र सक्रिय सहकार्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। आफूले परमेश्‍वरका वचनहरूलाई मनन गर्दा, धेरै समयदेखि अन्धकारमा रहेको मेरो हृदयमा अचानक ज्योतिको एउटा सानो किरणले छेडेजस्तो लाग्यो। परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्यप्रति सही दृष्टिकोण र मनोवृत्ति राखून्, उनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि त्यसलाई परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्न सकून्, आफ्नै रुचिअनुसार काम नगरून्, र त्यसलाई स्वीकार गर्न, समर्पित हुन र त्यसमा निष्ठावान् हुन सकून् भनी माग गर्नुहुन्छ। आफ्नो रुचिअनुसार आफ्नो कर्तव्यप्रति व्यवहार गर्नु, यसले आफूलाई सबैको नजरमा पारिदिँदा स्वीकार गर्नु र नपारिदिँदा प्रतिरोध गर्नु—यो आफ्नो कर्तव्यलाई इन्कार गर्नु हो; यो परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हो। मैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिमाथि चिन्तन गरेँ। म सधैँ आफ्नो रुचिअनुसार छान्ने र रोज्ने गर्थेँ, र अलिकति पनि समर्पित थिइनँ। म अगुवा वा कामदार हुँदा, वा लेखन-पठनको कर्तव्य निर्वाह गर्दा, अरूले मलाई सम्मान र महत्त्व दिन्छन्, र मेरो प्रतिष्ठा बढ्छ भन्ने विश्वास गर्थेँ, त्यसैले म खुसीसाथ स्वीकार गर्थेँ। अहिले मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न खटाइएको थियो। मलाई यो अरूको सेवा गर्ने शारीरिक श्रम, एउटा निम्न काम हो, र मैले जति राम्रो गरे पनि म अलग देखिने छैन वा अरूद्वारा सम्मानित र कदर गरिइने छैन भन्ने लागेकोले, मैले यसलाई अपमानजनक र लाजमर्दो ठानेँ, र म समर्पित हुनै सकिनँ। मेरी सिस्टरले मलाई फोहोर फाल्नमा मद्दत गर्न आग्रह गर्दा, मलाई उनले अह्राउँदै छिन् भन्ने लाग्यो। म मेरा सिस्टरहरूसँग भेलामा बस्दा, मलाई उनीहरूभन्दा निम्न महसुस हुन्थ्यो र सहभागी हुन अनिच्छुक हुन्थेँ। मैले अतिथि-सत्कारको कर्तव्य निर्वाह गरेकोमा पछुतोसमेत गरेँ। मैले सोचेँ, म त केवल एउटी सानी सृजित प्राणी हुँ, जसको बताउन लायक कुनै हैसियत नै छैन। सुपरभाइजरले मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्ने प्रबन्ध गर्नुभयो, र त्यसलाई परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्नु र समर्पित हुनु विवेकपूर्ण कुरा हुने थियो, तर मैले आफ्नो रुचिअनुसार छान्ने र रोज्ने गरेँ, अरूको सम्मान पाउनका लागि लेखन-पठनको कर्तव्य निर्वाह गर्ने मन बनाएँ, र अतिथि-सत्कारको कर्तव्यप्रति प्रतिरोधी र झारा टार्ने व्यवहार गरेँ। ममा कुनै विवेक वा समझको साँच्चै अभाव थियो। म कसरी परमेश्‍वरद्वारा घृणित र तिरस्कृत नहुन सक्थेँ र? आज, म अन्धकारमा खसेकी थिएँ र असह्य पीडामा बाँचिरहेकी थिएँ। यो सब मैले आफ्नै मान र हैसियतको धेरै वास्ता गरेको र परमेश्‍वरमा समर्पित नभएको कारणले थियो। त्यसपछि मात्र मैले बुझेँ सुपरभाइजरले मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न लगाउनुमा परमेश्‍वरको श्रमसाध्य अभिप्राय थियो। यो मेरो भ्रष्ट स्वभावलाई प्रकट गर्न र मेरो हैसियतको चाहनालाई काटछाँट गर्न, मलाई आफैमा चिन्तन गरेर आफूलाई चिन्न अनि साँचो पश्चात्ताप र रूपान्तरणबाट गुज्रन प्रेरित गर्नका लागि थियो। यो कर्तव्य वास्तवमै मेरा लागि आवश्यक थियो, र यो मेरो जीवन प्रवेशका लागि लाभदायक थियो। म अब उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्दिनथेँ। मलाई केवल परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने र परमेश्‍वरको हृदयलाई सान्त्वना दिन आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने इच्छा भयो!

त्यस समयमा, मैले प्रायः परमेश्‍वरका वचनहरूको एउटा खण्डलाई मनन गर्थेँ: “मानिसहरूको सम्पूर्ण जीवन परमेश्‍वरकै हातमा छ, र यदि तिनीहरूले परमेश्‍वरको अघि सङ्कल्प नगरेका भए, मानिसको यो रित्तो संसारमा व्यर्थमा जिउन को इच्‍छुक हुनेथ्यो र? किन टाउको दुखाउने? यदि तिनीहरूले परमेश्‍वरका लागि केही पनि गर्दैनन् भने, संसारमा हतार-हतार ओहोरदोहोर गरेर, के तिनीहरूको सम्पूर्ण जीवन नै खेर गएको हुनेछैन र? यदि परमेश्‍वरले तेरा कार्यहरूलाई उल्‍लेखनीय नठान्‍नुभए पनि, के तँ तेरो मृत्युको क्षणमा सन्तुष्टिको मुस्कान दिनेछैनस् र? तैँले सकारात्मक दिशामा अगाडि बढ्नुपर्छ, नकारात्मक दिशामा पछाडि फर्कनु हुँदैन—के यो अझै राम्रो अभ्यास होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ३९)। परमेश्‍वरका वचनहरूलाई मनन गर्दा, मलाई ठूलो हौसला मिल्यो। परमेश्‍वर आखिरी दिनहरूमा काम गर्न देहधारी हुनुभएको अवधिमा मैले आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, मुख्य कुरा भनेको सही अभिप्राय राख्नु, परमेश्‍वरको सामु आफ्नो उचित स्थानमा उभिनु, आफ्नो रुचिअनुसार कर्तव्यहरू नछान्नु, र परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्नु हो—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। जति धेरै मैले परमेश्‍वरका वचनहरूलाई मनन गरेँ, त्यति नै धेरै म प्रभावित भएँ, त्यति नै धेरै मैले आफूलाई परमेश्‍वरप्रति ऋणी महसुस गरेँ, र त्यति नै धेरै मैले आफ्नो विद्रोहलाई घृणा गरेँ। म अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न इच्छुक भएँ। त्यसपछि, हरेक दिन मैले समयमै खाना बनाएँ, राम्रो वातावरण कायम राखेँ, र घर पनि सफा गरेँ, जसले गर्दा मेरा सिस्टरहरूलाई घरजस्तै महसुस भयो। यसरी अभ्यास गर्दा, मैले परमेश्‍वरसँगको मेरो सम्बन्ध नजिक भएको महसुस गरेँ। तर, मलाई आफ्नो प्रकृति सारको साँचो ज्ञान नभएकोले, केही समयपछि, म फेरि गलत स्थितिमा जिउन थालेँ।

एक दिन, मैले अनजानमा के थाहा पाएँ भने, म जस्तै अतिथि-सत्कारको कर्तव्यमा सारिएकी एक सिस्टर इन्टरनेट प्रविधिसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न गएकी रहिछन्। त्यति नै बेला, मेरो मनमा खैलाबैला मच्चियो। “अरूहरू केही समय अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्छन् र त्यसपछि उनीहरूको कर्तव्य पुनः हेरफेर गरिन्छ, त्यसोभए किन सुपरभाइजर मलाई अर्को कर्तव्यमा खटाउनुहुन्न? मलाई केवल मेरो स्थानीय मण्डलीमा लेखन-पठनको कर्तव्य निर्वाह गर्न फर्कन दिए पनि त हुन्थ्यो; कम्तीमा त्यो अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नुभन्दा बढी सम्मानजनक त सुनिन्थ्यो। अहिले म दिनभरि यहाँ व्यस्त छु, शारीरिक र निम्न कामहरू गर्दैछु, र मैले जति नै मिहिनेत गरे पनि, मलाई कसैले सम्मान गर्दैन। यसमा कुनै भविष्य छैन। के मैले सुपरभाइजरसँग कुरा गरेर मेरो कर्तव्य फेरबदल गर्न लगाउनुपर्ला?” तर फेरि मलाई त्यसो गर्नु अविवेकी हुनेछ भन्ने लाग्यो। मैले यसबारे बारम्बार सोचेँ, र खाना पकाउँदा पनि बेचैन भएँ। एक पटक, मेरो मन अन्तै हुँदा मैले धेरै चाउचाउ पकाएँ; मेरा सिस्टरहरूलाई त्यो सिध्याउन तीन छाक लाग्यो। यसले मलाई पूर्ण रूपमा लज्जित महसुस गरायो। मैले राम्ररी खानासमेत पकाउन सकिनँ—मैले अरू के गर्न सक्थेँ र? मेरो हृदय झनै पीडित र नकारात्मक भयो। एक दिन, म तरकारी किन्न बजार गएँ र मैले साधारण मामिलासम्बन्धी कर्तव्य निर्वाह गरिरहेकी सिस्टर सियाओलाई भेटेँ। उनलाई चर्को घाममा भीड छिचोल्दै साइकल चलाइरहेको, तर अनुहारमा खुसीको भाव लिएको देखेर, मलाई धेरै ईर्ष्या लाग्यो। त्यसपछि मैले दिनभरि मलिन अनुहार लिएर, खुसी हुन नसकेकी म आफैलाई हेरेँ। मैले चिन्तन नगरी रहन सकिनँ: “हामी दुवैले मण्डलीमा साधारण मामिलासम्बन्धी कर्तव्य निर्वाह गरिरहेका छौँ, त्यसोभए उनी कसरी समर्पित हुन सक्छिन्? उनी कसरी त्यति धेरै खुसी हुन सक्छिन्? म किन कहिल्यै साँचो रूपमा समर्पित हुन सक्दिनँ?” त्यस समयमा, मैले यी प्रश्नहरूमाथि बारम्बार मनन गरेँ, र मैले यस सम्बन्धमा सत्यता बुझ्नका लागि परमेश्‍वरसँग मार्गदर्शन माग्दै उहाँलाई प्रार्थना पनि गरेँ।

आफ्नो भक्तिभावको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै व्यक्तिगत धारणा, आशा र भविष्य छन्। तिमीहरूको हैसियतको चाहना र अत्यधिक चाहनाहरूलाई काटछाँट गर्नका निम्ति अहिले यस तरिकाले काम गरिन्छ। यी आशाहरू, हैसियतप्रतिको यो चाहना, र यी धारणाहरू सबै शैतानी स्वभावका प्रतीक हुन्। … धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्‌लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्‍न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “एक ख्रीष्टविरोधीका लागि, हैसियत, शक्ति र प्रतिष्ठा उसको सबैभन्दा महत्त्वपूर्ण फाइदा, र उसले आफ्नो जीवनबराबर मान्ने कुरा हुन्। यसकारण, जब कुनै ख्रीष्टविरोधी बर्खास्त हुन्छ, जब उसले ‘अगुवा’ पदवी गुमाउँछ र ऊसँग अब हैसियत हुँदैन, मतलब उसले शक्ति र प्रतिष्ठा गुमाएको हुन्छ, र त्यसउप्रान्त उसले सम्मान, समर्थन र मान पाइने विशेष व्यवहार पाउनेछैन, तब हैसियत र शक्तिलाई जीवन नै ठान्ने ख्रीष्टविरोधीका लागि त्यो पूर्णतया अस्वीकार्य हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्दै मैले आफैमा चिन्तन गरेँ, र त्यसपछि मात्र मैले देखेँ, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्” जस्ता शैतानी विषहरूअनुसार जिइरहनु नै म अतिथि-सत्कारको कर्तव्यमा साँचो रूपमा समर्पित हुन नसक्नुको मूल कारण रहेछ। यो सबै मेरो इज्जत र हैसियतको निरन्तर पछ्याइले गर्दा भएको थियो। यी शैतानी विषहरूद्वारा प्रभावित र संस्कारित हुनाले, परमेश्‍वरमा विश्वास गर्नुभन्दा पहिले, मैले आफ्नो लागि बनाएको जीवनको लक्ष्य विश्वविद्यालयमा भर्ना हुने र एउटा सम्मानजनक जागिर खोज्ने थियो, ताकि मलाई अरूले उच्च सम्मान गरून् र आदर गरून्। मलाई लाग्थ्यो, यसरी जिउनु मात्र मूल्यवान् र अर्थपूर्ण हुन्छ, र यदि मैले आफ्नो जीवन शारीरिक श्रम गर्दै, अरूको अह्रोटमा चल्दै र हेपिँदै बिताएँ भने, जीवनको कुनै उद्देश्य हुनेछैन। तर, विभिन्न कारणहरूले गर्दा, म राम्रो स्कूलमा भर्ना हुन सकिनँ र घरमा खेतीपाती मात्र गर्न सक्थेँ। म शारीरिक श्रम गर्न अनिच्छुक थिएँ, त्यसैले मैले एउटा स्कूलमा सट्टा शिक्षकको जागिर पाएँ। तलब धेरै नभए पनि, त्यो जागिर सम्मानजनक थियो। मैले परमेश्‍वरमा विश्वास गरेपछि पनि, म यी शैतानी विषहरूअनुसार नै जिइरहेँ। मैले परमेश्‍वरको घरका कर्तव्यहरूलाई विभिन्न दर्जामा विभाजित गरेँ, र आफूलाई सबैको नजरमा पारिदिने र अरूले सम्मान गर्ने कर्तव्यहरू मात्रै मन पराएँ। म अतिथि-सत्कारको कर्तव्य शारीरिक काम हो र यो निम्न स्तरको हो भन्ने विश्वास गर्थेँ, त्यसैले म यसलाई पन्छाउन र इन्कार गर्न चाहन्थेँ। म यी शैतानी विषहरूद्वारा नियन्त्रित थिएँ। मेरो जीवनप्रतिको दृष्टिकोण र मेरा मूल्यमान्यताहरू विकृत भएका थिए, र मेरो हृदय ख्याति र हैसियतको पछ्याइमा लागेको थियो। मैले आफ्नो अभिमान र हैसियतलाई अरू सबै कुराभन्दा माथि ठानेँ, र जब मैले अभिमान र हैसियत प्राप्त गर्न सकिनँ, तब मलाई जीवनको कुनै उद्देश्य छैन र यो धेरै पीडादायी छ भन्ने लाग्यो। मैले कसरी आफूले लेखन-पठनको कर्तव्य निर्वाह गर्दा, सधैँ ख्याति र हैसियत पछ्याइरहेकोले मेरो स्थिति सधैँ खराब हुन्थ्यो, म अरूसँग सुमधुर रूपमा सहकार्य गर्न सक्दिनथेँ, र म आफ्नो कर्तव्यमा प्रभावहीन थिएँ, जसको परिणामस्वरुप, मलाई बर्खास्त गरियो भन्नेबारे सोचेँ। मेरो भ्रष्ट स्वभावको यो पक्षलाई समाधान नगर्ने हो भने, मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म ढिलो-चाँडो असफल र पतन हुनेथिएँ। तर मैले आफ्नो भ्रष्टतामाथि चिन्तन गर्दै त्यसलाई समाधान गरिनँ, न त अतिथि-सत्कारको कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भनेर नै विचार गरेँ। मेरो मन ख्याति र हैसियतको चाहना पूरा गर्न लेखन-पठनको कर्तव्य निर्वाह गर्नमा नै केन्द्रित थियो, र मैले अतिथि-सत्कारको कर्तव्यप्रति प्रतिरोधी, झाराटारुवा, र निष्ठाहीन व्यवहार गरेँ। म एकदमै स्वार्थी र नीच थिएँ, साँच्चै नै अलिकति पनि मानवता वा विवेक विहीन! मैले कसरी आफूले एक दशकभन्दा बढी समयदेखि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्यागेकी थिएँ, र केवल एक पटकको कर्तव्य फेरबदलले मेरो साँचो कद प्रकट गरिदियो भन्नेबारे सोचेँ। त्यसपछि मात्र मैले के देखेँ भने मैले सामान्यतया भन्ने गरेका सबै कुराहरू अलिकति पनि सत्यता वास्तविकताविनाका, केवल अक्षर र धर्मसिद्धान्तहरू मात्र थिए। अचानक, मलाई आफू धेरै दयनीय छु भन्ने लाग्यो। मैले सोचेँ, ख्रीष्टविरोधीहरू कसरी हठी भई ख्याति र हैसियतको खोजी गर्छन्, र उनीहरूले जतिसुकै काटछाँट, बर्खास्ती, र कर्तव्य फेरबदलको सामना गरे पनि, उनीहरूले कहिल्यै आफ्नो महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्दैनन्; बरु, उनीहरू धेरै दुष्ट कार्यहरू गर्छन्, र अन्ततः परमेश्‍वरद्वारा हटाइन्छन्। के म उनीहरूकै पदचाप पछ्याइरहेकी थिइनँ र? म हिँडिरहेको मार्ग एक ख्रीष्टविरोधीको मार्ग थियो। म नफर्किएमा, अन्ततः परमेश्‍वरद्वारा तिरस्कृत भई हटाइनेथिएँ!

मेरो भक्तिभावको समयमा, मैले अझै मनन गरेँ, “म अतिथि-सत्कारको कर्तव्यमा साँचो रूपमा समर्पित हुन सक्दिनँ। मभित्र अरू के-कस्ता गलत दृष्टिकोणहरू छन् त?” मैले परमेश्‍वरका वचनहरू पढेँ: “सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्‍वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्‍नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्‍कै स्विकार्दैनन् र आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्‍वरको घरका विभिन्‍न मानिसहरूको ओहदामा कुनै भिन्‍नता हुन्छ? अहिलेका लागि, विभिन्‍न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्‍वरले काम गर्ने अवधिमा, विभिन्‍न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। भिन्‍नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र पद अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरको सामु सबै समान छन्, सबै सृजित प्राणीहरू हुन्, र कुनै व्यक्तिले कर्तव्य निर्वाह गरेकै आधारमा हैसियत र दर्जाको कुनै भिन्नता हुँदैन। अगुवा हुनु वा लेखन-पठनको कर्तव्य निर्वाह गर्नुको अर्थ आफ्नो पद वा हैसियत अरूभन्दा उच्च हुनु होइन, र अतिथि-सत्कार वा साधारण मामिलासम्बन्धी कर्तव्य निर्वाह गर्नुको अर्थ आफ्नो पद वा हैसियत निम्न हुनु होइन। हरेक व्यक्तिले निर्वाह गर्ने कर्तव्य उनीहरूको क्षमता र खुबी, र मण्डलीको कामको आवश्यकताअनुसार बन्दोबस्त गरिन्छ। निर्वाह गरिने कर्तव्यहरू कामको विभाजनमा मात्र फरक हुन्छन्; त्यहाँ उच्च र निम्न हैसियतको कुनै भिन्नता हुँदैन। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, परमेश्‍वरले के कुरालाई महत्त्व दिनुहुन्छ भने उनीहरूले सत्यताको खोजी गर्छन् कि गर्दैनन् र सत्यता प्राप्त गर्छन् कि गर्दैनन्—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्दा, मैले आफ्नो दृष्टिकोण एकदमै हास्यास्पद रहेको देखेँ। मैले के विश्वास गरेकी थिएँ भने परमेश्‍वरको घरमा, अगुवा र कामदारको रूपमा सेवा गर्ने, सुसमाचार प्रचार गर्ने, वा लेखन-पठनको कर्तव्य निर्वाह गर्ने सबै क्षमता र खुबी भएका मानिसहरू हुन्, उनीहरूको उच्च हैसियत हुन्छ, र उनीहरू प्रतिष्ठित हुन्छन्। यसको विपरीत, मैले के विश्वास गरेकी थिएँ भने अतिथि-सत्कारको कर्तव्य वा साधारण मामिलासम्बन्धी कर्तव्य निर्वाह गर्नेहरू केवल शारीरिक श्रम गर्ने, निम्न हैसियतका, र तल्लो वर्गका हुन्। यो तर्कहीन दृष्टिकोणद्वारा शासित भएकैले मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्न मन पर्थ्यो, र जब मलाई अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्न लगाइयो, तब मलाई पाखा लगाइएको जस्तो लाग्यो। म दुःखी र निराश भएँ, र समर्पित हुन गाह्रो भयो। मैले परमेश्‍वरका वचनहरूअनुसार कामकुराहरूलाई हेरिनँ, बरु परमेश्‍वरको घरका कर्तव्यहरूलाई गैरविश्‍वासीहरूको दृष्टिकोणबाट हेरेँ, तिनीहरूलाई विभिन्न दर्जामा विभाजित गरेँ, र आफ्नो हृदयको गहिराइबाट अतिथि-सत्कारको कर्तव्यलाई उपेक्षा गरेँ। यो साँच्चै तर्कहीन थियो। यो त एक अविश्‍वासीको दृष्टिकोण थियो! हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, परमेश्‍वर के आशा गर्नुहुन्छ भने हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यताको खोजी गर्न सकौँ, र सत्यतालाई आफ्नो मापदण्ड बनाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेरौँ, अनि आचरण र कार्य गरौँ। मैले आफ्नो वरिपरि पतन भएका झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको बारेमा सोचेँ। उनीहरू मण्डलीमा अगुवा भए तापनि, उनीहरूले अन्धाधुन्ध हैसियत पछ्याएका र सत्यताको खोजीमा ध्यान नदिएकाले, उनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने धेरै कामहरू गरे। उनीहरू अन्त्यसम्मै पश्चात्तापी भएनन्, र अन्ततः हटाइए। यसको विपरीत, साधारण मामिलासम्बन्धी कर्तव्य वा अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्ने केही ब्रदर-सिस्टरहरू, उच्च हैसियत नभए तापनि, मण्डलीको बन्दोबस्तमा समर्पित हुन र चुपचाप आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम थिए। केही समयपछि, उनीहरूले आफ्नो जीवन प्रवेशमा केही प्रगति गर्न सके, र कतिले त अनुभवात्मक गवाही लेखहरूसमेत लेखे। मैले के देखेँ भने कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म उनीहरूले सत्यताको खोजी गर्छन् र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छन्, तबसम्म उनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्। मैले सोचेँ, मैले यतिका वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी छु, र मेरो कर्तव्य फेरबदल हुँदा, मैले त्यस मामिलालाई परमेश्‍वरका वचनहरूअनुसार हेर्न सकिनँ, बरु त्यसलाई आफ्नै गलत दृष्टिकोणहरूको आधारमा नापेँ। मैले अतिथि-सत्कारको कर्तव्यलाई इमानदार भई राम्रोसँग निर्वाह गर्न सकिनँ र परमेश्‍वरप्रति अलिकति पनि समर्पण देखाइनँ। मैले परिवर्तित नभई यस्तै गरिरहेमा, मलाई पनि अन्ततः हटाइनेथियो। मैले आफ्नो कर्तव्यमा सत्यता खोज्ने र सत्यता अभ्यास गर्ने कुरामा ध्यान दिनुपर्थ्यो, र मैले त्यस उप्रान्त परमेश्‍वरको विरुद्ध विद्रोह गर्न मिल्दैनथ्यो। त्यसपछि, मैले प्रायः प्रार्थना गरेँ, परमेश्‍वरका वचनहरू पढेँ, र भजनहरू सुनेँ, र परमेश्‍वरसँगको मेरो सम्बन्ध धेरै नजिक भयो। मलाई कुनै कठिनाइ हुँदा, म खुलेर आफ्ना सिस्टरहरूसँग खोजी गर्थेँ। उनीहरू मसँग सङ्गति गर्थे र मलाई मद्दत गर्थे, र मैले आफ्ना सिस्टरहरूसँगको सम्बन्ध पनि नजिक भएको महसुस गरेँ। मैले सत्यता खोज्ने र आफूमाथि आइपर्ने कुराहरूमा सत्यता अभ्यास गर्ने तालिममा पनि ध्यान दिएँ, समयमै खाना बनाएँ, घर सफा राखेँ, र सुरक्षा र संरक्षणको काम राम्रोसँग गरेँ, मेरा सिस्टरहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्नका लागि शान्त, आरामदायी, र सुरक्षित वातावरण प्रदान गर्न सक्दो प्रयास गरेँ। कहिलेकाहीँ, मेरा सिस्टरहरूले आफ्नो कर्तव्य सिध्याएपछि, उनीहरू मलाई सफाइमा पनि मद्दत गर्थे, र जब उनीहरू मलाई खाना पकाउन धेरै व्यस्त देख्थे, उनीहरू आफै आएर मद्दत गर्ने प्रस्ताव पनि गर्थे। जब मैले आफ्नो दृष्टिकोण परिवर्तन गरेँ, आफ्नो मनोवृत्तिलाई सही बनाएँ, र समर्पित भएँ, तब मेरो हृदय स्वतन्त्र भयो।

एक दिन, लेखन-पठनको कामको लागि नयाँ चुनिनुभएकी सुपरभाइजर मेरो घरमा आउनुभयो। मैले उहाँ दुई वर्षअघि मैले सहकार्य गरेकी सिस्टर चेन हुनुहुँदो रहेछ भन्ने देखेँ। आश्चर्यचकितका साथै, मेरो मन फेरि उथलपुथल भयो। “सिस्टर चेनलाई पनि गत वर्ष बर्खास्त गरिएको थियो, र केही समय चिन्तन गरेपछि, उहाँले फेरि लेखन-पठनको कर्तव्य निर्वाह गर्न थाल्नुभएको छ, र यस पटक त उहाँ सुपरभाइजरको रूपमा समेत चुनिनुभएछ। मलाई हेरौँ न: मेरो कर्तव्य फेरबदल भएपछि, म यतिका समयदेखि यहीँ अतिथि-सत्कार गरिरहेकी छु। अरूको प्रगति हुँदैछ, तर म भने ओरालो लाग्दैछु। साँच्चै तुलना नै गर्न मिल्दैन!” जब मैले यस्तो सोचेँ, मलाई फेरि अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नु लाजमर्दो लाग्यो। त्यति नै बेला, मैले आफ्नो स्थिति गलत छ भन्ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई आफ्नो हृदयको सुरक्षा गर्न बिन्ती गर्दै उहाँलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “मोटामोटी रूपमा कुरा गर्दा, तैँले परमेश्‍वरको व्यवस्थापन योजनाको काममा भाग लिइरहेको छस्; अझ स्पष्ट रूपमा भन्‍ने हो भने, तँ परमेश्‍वरले विभिन्न समयमा र विभिन्न समूहका मानिसहरूमाझ गर्ने विविध कामका आवश्यकताअनुसार काम गरिरहेको छस्। तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो कुनै ठूलो मामिला होइन—यो तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ—तर त्यो परमेश्‍वरले तँलाई दिनुभएको काम हो, तैँले त्यो उहाँबाट स्विकारेको होस्, र अब त्यो तेरो कर्तव्य हो। … चाहे जे नै भए पनि, त्यो परमेश्‍वरको काम र सुसमाचार फैलाउनुका आवश्यकताहरूसँग सम्बन्धित भएसम्म, मानिसहरूले त्यसलाई परमेश्‍वरबाट पाएको कर्तव्यका रूपमा स्वीकार गर्नुपर्छ। यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दा, कर्तव्य भनेको व्यक्तिको मिसन हो, परमेश्‍वरले सुम्पनुभएको आज्ञा हो; अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो तेरो जिम्मेवारी हो, तैँले गर्नैपर्ने काम हो। यो तेरो मिसन हो, परमेश्‍वरले तँलाई सुम्पिनुभएको आज्ञा, र तेरो जिम्मेवारी र कर्तव्य हो, त्यसकारण तेरो व्यक्तिगत मामिलाहरूसँग तैँले कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पाउनु परमेश्‍वरले प्रदान गर्नुभएको अनुग्रह र उन्नयन हो। परमेश्‍वर मानवजातिलाई मुक्ति दिने काम गर्न पृथ्वीमा आउनुभएको छ। यो एक विशाल जिम्मेवारी हो, र अगुवा र कामदार हुनु, सुसमाचार प्रचार गर्नु, अतिथि-सत्कार गर्नु, जस्ता मानिसहरूको सहकार्य आवश्यक पर्ने धेरै कर्तव्यहरू छन्। हरेक कर्तव्य महत्त्वपूर्ण छ। ठूलो वा सानो, उच्च वा निम्न, र प्रतिष्ठित वा नीच भन्ने कुनै कर्तव्य हुँदैनन्। चाहे कोही मानसिक श्रममा संलग्न होस् वा शारीरिक श्रममा, यो सबै परमेश्‍वरको सामु आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अतिथि-सत्कारको कर्तव्य निर्वाह गरेर म अलग नदेखिए तापनि, सबैलाई शान्त मनले आफ्नो कर्तव्य निर्वाह गर्न दिन सक्नु पनि एक सृजित प्राणीको जिम्मेवारी र कर्तव्य पूरा गर्नु हो। मेरो हृदयदेखि, मैले अब अतिथि-सत्कारको कर्तव्यलाई प्रतिरोध गर्न छोडेँ, र मलाई अब अतिथि-सत्कारको कर्तव्य निर्वाह गर्नु केवल शारीरिक श्रम हो, र यो निम्न स्तरको हो भन्ने लाग्न छोड्यो। आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले आफ्नो मनलाई अझ बढी आफ्नो स्थितिमाथि चिन्तन गर्न र सत्यता खोज्नमा पनि लगाउन सकेँ। यसरी कर्तव्य निर्वाह गर्दा मैले आफ्नो हृदयमा धेरै सहज महसुस गरेँ।

मैले कहिल्यै सोचेकी थिइनँ, तर केही समयपछि मैले फेरि लेखन-पठनको कर्तव्य निर्वाह गर्न थालेँ। अतिथि-सत्कारको कर्तव्य निर्वाह गरेका ती दिनहरू मेरो हृदयमा एक बहुमूल्य सम्झना बनेका छन्। यो परमेश्‍वरका वचनहरूकै मार्गदर्शन थियो जसले मलाई मेरो पछ्याइ पछाडि रहेका भ्रामक दृष्टिकोणहरूलाई खुट्ट्याउन सक्ने बनायो, र कर्तव्यहरू उच्च वा निम्न, र प्रतिष्ठित वा नीच हुँदैनन् भन्ने कुरा बुझायो। तपाईंले जुनसुकै कर्तव्यको सामना गरे पनि, तपाईंले स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। सत्यता पछ्याउन र आफ्नो निष्ठा अर्पण गर्न सक्नु—परमेश्‍वरले यही कुरालाई महत्त्व दिनुहुन्छ।

अघिल्लो:  ४५. विवाह सम्बन्ध मेरो गन्तव्य होइन

अर्को:  ४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger