५. मैले परमेश्‍वरको प्रेम कहिल्यै हटेको छैन भन्‍ने देखेँ

याङ सियाओलिन, चीन

सन् १९९७ मा, एउटा बिमारका कारण मैले प्रभुमा विश्‍वास गर्न थालेँ, र लगत्तै, मेरो अवस्थामा सुधार आयो। म प्रभुको अनुग्रहप्रति निकै कृतज्ञ थिएँ। २००३ को वसन्त ऋतुमा, मैले प्रभु येशू फर्कनुभएको छ, र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजना तीन चरणमा विभाजित छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर कामको अन्तिम चरण, न्यायको काम गर्दै हुनुहुन्छ। परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्ने र आफ्ना भ्रष्ट स्वभावहरू पखाल्ने सबैले परमेश्‍वरबाट मुक्ति पाउन र उहाँको राज्यमा प्रवेश गर्न सक्छन्। त्यसैले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्विकारेँ र सक्रिय भई आफूलाई सुसमाचार प्रचारमा समर्पित गरेँ। मेरो परिवारले मलाई रोक्न खोजेको, मेरा छिमेकीहरूले गिल्ला गरेका, र ठूलो रातो अजिङ्गरले मलाई पिछा गरेर गिरफ्तार गर्न खोजेको भए पनि, जब-जब म परमेश्‍वरले कसरी मेरो बिमार निको पार्नुभएको थियो र उहाँले मानिसलाई सुन्दर गन्तव्य प्रतिज्ञा गर्नुभएको छ भनेर सम्झन्थेँ, मलाई यो थोरै कष्ट भोग्नु एकदमै सार्थक हो भन्ने लाग्थ्यो।

आँखा झिमिक्क गर्दा, २०२१ को सुरुवात भइसकेको थियो, र म मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै थिएँ। त्यो दौरान, मलाई अक्सर तल्लो पेटमा मन्द, दुख्ने पीडा भइरहन्थ्यो। सुरुमा, मैले यसलाई खासै वास्ता गरिनँ र चिसो मौसमले गर्दा चिसो लागेको होला भनेर सोचेँ। तर जुन महिनाको अन्त्यतिर, दुखाइ झनै बढ्यो, र मेरो पिसाबमा बारम्बार रगत आउँथ्यो, त्यसैले मेरो परिवारले मलाई हतार-हतार अस्पताल लग्यो। जाँचपड्तालपछि, डाक्टरले गम्भीर हुँदै भने, “तपाईँ किन चाँडै आउनुभएन? तपाईँको पाठेघर १० हप्ताको गर्भ रहेको जत्रो भएको छ, र यो मासुका डल्लाहरूले भरिएको छ। यो तपाईँको पिसाबमा रगत मात्रै आएको होइन; यो पाठेघरको रक्तस्राव हो। अवस्था राम्रो देखिँदैन। तुरुन्तै तपाईँको शल्यक्रिया गर्नुपर्छ।” यो सुनेर, म त अचानक अरकच्च परेँ। “यो कसरी भयो?” मैले सोचेँ। “मैले यत्तिका समय आफ्नो कर्तव्य पूरा गर्दै आएकी छु। मसँग परमेश्‍वरको सुरक्षा हुनुपर्ने हो!” घर पुगेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ यो रोग तपाईँको अनुमतिले लागेको हो, तर डाक्टरका कुराले मलाई भयभीत बनायो। कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि म तपाईँका अभिप्रायहरू बुझ्न सकूँ।” मलाई परमेश्‍वरका वचनहरूको एउटा हरफ याद आयो, “परमेश्‍वर निश्चय नै तिम्रो सर्वशक्तिमान् हुनुहुन्छ भनेर विश्‍वास ग।” त्यसैले मैले आफ्नो कम्प्युटर खोलेँ र परमेश्‍वरका वचनहरूको त्यो खण्ड फेला पारेँ: “आफूले नबुझ्ने कुराका समाधानहरूका लागि अधीर नहुनू; यस्ता कुरा परमेश्वरसामु बारम्बार ल्याऊ, र उहाँलाई इमानदार हृदय सुम्प। परमेश्‍वर निश्चय नै तिम्रो सर्वशक्तिमान् हुनुहुन्छ भनेर विश्‍वास गर! तिमीले परमेश्‍वरको जोडदार आकाङ्क्षा राख्नैपर्छ, तृष्णा गरेर खोज्नुपर्छ, अनि शैतानका बहाना, अभिप्राय र युक्तिलाई चाहिँ इन्कार गर्नुपर्छ। निराश नहोऊ। कमजोर नबन। सारा हृदयले खोजी गर; सारा हृदयले प्रतीक्षा गर। सक्रिय भई परमेश्वरसँग सहकार्य गर, आफ्ना आन्तरिक बाधाहरू हटाऊ।(परमेश्‍वरको सङ्गति)। उहाँका वचनहरू मनन गर्दा, मेरो हृदय बिस्तारै शान्त भयो। मलाई यो बिमार लाग्नुमा परमेश्‍वरको अभिप्राय हुनुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले यो अझै नबुझेकी भए पनि, मलाई मैले प्रार्थना गर्नुपर्छ, खोजी गर्नुपर्छ, र परमेश्‍वरको मार्गदर्शन पर्खनुपर्छ भन्‍ने थाहा थियो। परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ, र उहाँ मेरो भवितव्यमाथि सार्वभौम हुनुहुन्छ। डाक्टरहरूले आफ्नो ज्ञान र अनुभवका आधारमा रोग निदान गर्छन्, तर मैले उनीहरूको कुरालाई आफूलाई त्रासित तुल्याउन दिनु हुँदैनथ्यो। ममा परमेश्‍वरप्रति आस्था हुनुपर्थ्यो। यो सोचेर, मलाई डर लाग्न छोड्यो। जुलाईको सुरुतिर, मेरो पाठेघर, डिम्बाशय र फेलोपियन ट्युबहरू निकाल्न शल्यक्रिया गरियो। डाक्टरले मलाई भने, “तपाईँ एकदमै भाग्यमानी हुनुहुन्छ। प्याथोलोजी रिपोर्ट राम्रो आयो।” मैले मनमनै परमेश्‍वरलाई चुपचाप धन्यवाद दिएँ। बीस दिनभन्दा बढी आराम गरेपछि, मैले फेरि आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ।

मैले मेरो बिमार निको भयो भन्ने सोचेँ, तर, यो त सुरुवात मात्र हो भन्‍ने मलाई अलिकति पनि थाहा थिएन। जीवनमा तीनवटा ठूला शल्यक्रियाहरू—पित्तथैली निकाल्ने, एपेन्डिसाइटिसको शल्यक्रिया, र अहिले पाठेघर निकाल्ने शल्यक्रिया—गरेको हुनाले, मलाई चाँडै नै शल्यक्रियापछिका जटिलताहरूले सताउन थाले। अगस्टको सुरुतिरको एक रात, मलाई अचानक नराम्ररी पेट दुख्यो, र मेरो परिवारले मलाई हतार-हतार अस्पताल लग्यो। आन्द्रामा अवरोध भएको निदान भयो। डाक्टरले तुरुन्तै मलाई पेट खाली गर्न र आन्द्रा सफा गर्न पाइप हाले। पाइपले अन्ननलीमा असजिलो बनाएकाले, मलाई लगातार बान्ता भयो। त्यसमाथि पेटको सहनै नसकिने दुखाइले गर्दा, म न बस्न सक्थेँ, न पल्टिन नै। पूरै एक दिन र एक रातको त्यस सास्तीले, मलाई लखतरान बनायो। त्यसपछि, भोलिपल्ट राति ११ बजे, मलाई फेरि पेटमा असह्य पीडा भयो। म कति पहेँलिएकी छु भन्ने देखेर, मेरा श्रीमान् हतार-हतार डाक्टर खोज्न जानुभयो। सीटी स्क्यान गर्दा, मेरो आन्द्रामा प्वाल परेको र पेटमा धेरै मात्रामा पानी भएको पत्ता लाग्यो, त्यसले गर्दा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। त्यतिबेलासम्म, म पीडाले बेहोस हुने अवस्थामा पुगेकी थिएँ, मेरो अनुहार आँसु र पसिनाले भिजेको थियो। मैले मनमनै बारम्बार पुकारा गरेँ, “हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमेश्‍वर …” अर्धचेत अवस्थामा, मेरो मनमा परमेश्‍वरका वचनहरू आए: “परमेश्‍वर निश्चय नै तिम्रो सर्वशक्तिमान् हुनुहुन्छ भनेर विश्‍वास ग(परमेश्‍वरको सङ्गति)। डाक्टरले मलाई हल्लाएर ब्युँझाउनुअघि कति समय बित्यो मलाई थाहा भएन, उनले सोधे, “तपाईँलाई कस्तो छ? तपाईँ कसरी निदाउनुभयो?” तब मात्र मैले त्यस्तो पीडामा पनि म त निदाएकी रहेछु भनेर थाहा पाएँ। सर्जनसँग सम्पर्क गर्न अत्यन्तै ढिलो भएकाले, उनीहरूले मलाई अवलोकनका लागि कोठामा फिर्ता पठाउन मात्र सके। अप्रत्याशित रूपमा, म भोलिपल्ट बिहान ७ बजेसम्म मज्जाले निदाएछु। डाक्टर मलाई जाँच्न आउँदा, उनले अलमलमा पर्दै भने, “सीटी स्क्यानमा तपाईँको पेटमा पानी जमेको प्रस्ट देखिन्थ्यो। अहिले तपाईँको अवस्था कसरी स्थिर भयो?” मैले मनमनै परमेश्‍वरलाई बारम्बार धन्यवाद दिएँ। एक हप्तापछि, म डिस्चार्ज भएँ।

पित्तथैली निकालेको कारण पित्तरसको उल्टो बहावले गर्दा, मेरो पेट प्रायजसो फुल्थ्यो र पोल्थ्यो। मेरो छाती र ढाड असाध्यै दुख्थ्यो, र दिनभरि म राम्ररी खान वा सुत्न सक्दिनथेँ। म कैयौँ अस्पतालमा गएँ र मैले धेरै चिनियाँ पारम्परिक औषधिहरू खाएँ, तर कुनैले पनि निको भएन। मेरो अनिद्रा पनि झनै बढ्यो; कहिलेकाहीँ त म रातभरि पटक्कै सुत्न सक्दिनथेँ। आफू दिनदिनै दुब्लाउँदै गएको देखेर, म फिक्री र चिन्ताको निरन्तर स्थितिमा जिइरहेकी थिएँ। “यस्तै भइरह्यो भने, के मैले अझै आफ्नो कर्तव्य निर्वाह गर्न सकूँला त?” मैले सोचेँ। “मैले खान वा सुत्‍न सकिनँ भने, के म मर्नेछु? अनि मरेँ भने, मैले अझै कसरी मुक्ति पाउन सक्छु?” मैले परमेश्‍वरलाई अलि गलत नबुझी सक्दै सकिनँ। “मैले आफ्नो आस्थाको यतिका वर्ष राम्रो-नराम्रो सबै परिस्थितिमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। मैले आफू एक वर्षभन्दा बढी समयदेखि बिरामी भएकी भए पनि, आफ्नो कर्तव्य निर्वाह गर्न छोडेकी छैनँ। किन परमेश्‍वरले मेरो सुरक्षा गरिरहनुभएको छैन? कतै परमेश्‍वरले मलाई प्रकट गर्न र हटाउन यस रोगलाई प्रयोग गरिरहनुभएको त होइन?” बारम्बार, मैले रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म एकदमै कमजोर छु। म आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ भनेर चिन्तित छु, र यदि म मरेँ भने, मुक्ति पाउन सक्दिनँ भन्ने मलाई झनै डर छ। हे परमेश्‍वर, बिन्ती छ, मलाई मार्गदर्शन गर्नुहोस्, ताकि मैले तपाईँका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सकूँ।” त्यसपछि मैले परमेश्‍वरका वचनहरू देखेँ: “जब मानिसहरूलाई रोग आइपर्छ, तब तिनीहरूले कुन मार्ग पछ्याउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू आफ्नै भविष्य र निकासहरूबारे सोचेर हैरानी, बेचैनी र चिन्तामा डुब्‍नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता व्यक्तिगत कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र बुझेका सत्यताहरूले काम गर्छन् र ती व्यर्थ हुँदैनन्। तँ जति बढी यस्ता कठिनाइहरूमा पर्छस्, तैँले त्यति नै आफ्‍ना इच्छाहरू त्यागेर परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरले यस्तो परिस्थिति खडा गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँलाई रोग आइपर्दा परमेश्‍वरले तँलाई निको पार्नुहुन्छ कि पार्नुहुन्‍न भनेर तैँले उहाँलाई जाँच्‍न, अनि यसरी मामिलाको वास्तविकता पत्ता लगाउन भनेर पनि होइन; परमेश्‍वरले यी विशेष परिस्थिति र अवस्थाहरू खडा गर्नुहुन्छ ताकि तैँले यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्‍न सकेस्, सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्‍वरप्रति अझै धेरै समर्पण हासिल गर्न सकेस्, र परमेश्‍वरले मानिस, घटना, र कामकुराहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा अझै स्पष्ट र सही रूपमा जान्‍न सकेस्। मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ; मानिसहरूले त्यो महसुस गर्न सकून् वा नसकून्, तिनीहरूलाई साँच्‍चै थाहा भए पनि नभए पनि, तिनीहरू यो कुराप्रति समर्पित हुनुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तिनीहरूले अवश्यै परमेश्‍वरलाई जाँच्‍नु पनि हुँदैन। तँ जसरी पनि मर्न सक्छस्, र यदि तैँले परमेश्‍वरलाई विरोध, इन्कार, र जाँच गरिस् भने, तेरो अन्तिम परिणाम के हुनेछ भनेर भन्‍नै पर्दैन। यसविपरीत, मानौँ तैँले रोगको सामना गर्दा, तैँले सृजित प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न, तँलाई आइपरेको यो अवस्थामा परमेश्‍वरले तँलाई कस्ता पाठहरू सिकेस् भन्ने चाहनुहुन्छ र तेरा कुन-कुन भ्रष्ट स्वभावहरू चिनेस् भन्ने चाहनुहुन्छ भनेर खोजी गर्न सक्छस्, र यसरी परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न, र परमेश्‍वरका मागहरू पूरा गर्नका लागि राम्रो गवाही दिन सक्छस्। यदि तैँले यस तरिकाले अभ्यास गरिस् भने, तैँले परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्न सक्नेछस्। जब परमेश्‍वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्‍वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्‍वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वर तँलाई योजना बनाउन दिनुहुन्‍न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्‍न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्‍न दिनुहुन्‍न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्‍नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तेरा लागि बिमारीका परिस्‍थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले कुरा बुझेँ। ममाथि यो रोग आइपर्न दिनुपछाडिको परमेश्‍वरको अभिप्राय मलाई दुःख, चिन्ता र फिक्रीमा डुबाउनु थिएन, बरु मलाई सत्यता खोज्न, पाठहरू सिक्न, र आफूले प्रकट गरेको भ्रष्ट स्वभाव चिन्न लगाउनु थियो। त्यो ममा परमेश्‍वरप्रति साँचो आस्था र समर्पण छ कि छैन भनेर जाँच्नका लागि पनि थियो। म बिरामी भएको विगत एक वर्ष वा सोभन्दा बढी समयलाई फर्केर हेर्दा, मैले सबै किसिमका उपचारहरू—चिनियाँ पारम्परिक औषधि, पश्चिमी औषधि र घरेलु उपचारहरू—गरेकी थिएँ। मैले प्रसिद्ध डाक्टरहरू र विशेषज्ञहरूलाई देखाएकी थिएँ, तर मेरो अवस्था सुध्रिएन मात्र होइन, वास्तवमा झनै खराब भयो। म दुःख, फिक्री, र चिन्ताको स्थितिमा जिइरहेकी थिएँ, मेरो बिमार बढ्यो भने म आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ भनेर डराएकी थिएँ, र यदि म मरेँ भने, मुक्ति पाउन सक्दिनँ भनेर झनै डराएकी थिएँ। मेरो हृदय पीडामा र कमजोर थियो, र मैले परमेश्‍वरमाथिको आस्था गुमाएकी थिएँ। विगतमा, जब म बिरामी पर्थेँ र परमेश्‍वरको सुरक्षा र अनुग्रह देख्थेँ, तब म उहाँप्रति एकदमै कृतज्ञ हुन्थेँ। तर अहिले मेरो बिमार गम्भीर भएकाले र मैले उहाँको अनुग्रह र आशिष्‌हरू देख्न नसकेकाले, परमेश्‍वरले मलाई प्रकट गर्न र हटाउन यस बिमारलाई प्रयोग गरिरहनुभएको छ भन्‍ने शङ्का गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँदेखिको आफ्नो त्याग र कष्टलाई उहाँसँग मोलतोल गर्ने पुँजीका रूपमा प्रयोग गर्ने कोसिससमेत गरेँ, र उहाँले मलाई किन सुरक्षा गरिरहनुभएको छैन भनेर गुनासो गरेँ। वास्तवमा, परमेश्‍वरले यस बिमारलाई मेरो विश्‍वासमा भएका अशुद्धताहरू प्रकट गर्न, र मलाई आफ्नो भ्रष्टता चिनाउन, अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित गराउन प्रयोग गरिरहनुभएको थियो। परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझेर, मलाई गहिरो पछुतो लाग्यो। मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफूलाई तपाईँको हातमा सुम्पन अनि तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। मलाई मार्गदर्शन गर्नुहोस्।”

त्यसपछिका अवधिमा, मैले चिनियाँ पारम्परिक औषधि खाइरहेँ, तर मेरो अवस्था अझै सुध्रिएन। मेरो पेट आगोले पोलेजस्तै हुन्थ्यो, र मलाई यति वाकवाकी लाग्थ्यो कि म खानै सक्दिनथेँ। मेरो पूरै शरीर दुख्थ्यो, र राति, म मुस्किलले दुई वा तीन घण्टा सुत्नका लागि निद्राको औषधिमा भर पर्नुपर्थ्यो। पछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ मात्र होइन, म भेलाहरूमा निरन्तर जानसमेत सकिनँ। जुलाई २०२३ मा, मण्डलीले मेरो अवस्थाका आधारमा मलाई घरमै बसेर आराम गर्न र रोग निको पार्न केही समयका लागि मण्डली जीवन रोक्न सुझाव दियो। म ठूलो पीडामा थिएँ। मैले सोचेँ, “म आफूले पहिले जति नै कष्ट भोगिरहेकी भए पनि, परमेश्‍वरले मलाई निको पार्नुहुनेछ भन्‍ने सोचेर दाह्रा किटेर आफ्नो कर्तव्यमा अडिग रहेँ।” “तर अहिले म भेलाहरूमा जानसमेत सक्दिनँ। के मैले कुनै गवाही दिन सकूँला र? के मैले परमेश्‍वरद्वारा हटाइनका लागि मात्रै पर्खिरहेकी हुनेछैन र?” मेरो आशाको अन्तिम किरण चकनाचुर भयो। त्यो दिन, म घर गएँ, ओछ्यानमा पल्टेँ, र धुरु-धुरु रोएँ। मैले आफू वरपरका ब्रदर-सिस्टरहरू सबै स्वस्थ छन् र सामान्य रूपमा भेलाहरूमा जान र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छन् भनेर सोचेँ। कतिपय गैरविश्‍वासीहरूसमेत स्वस्थ थिए। मलाई किन निरन्तर बिमारले सताउँछ?

अगस्टको अन्त्यमा, आन्द्राको अवरोधका कारण म फेरि अस्पताल भर्ना भएँ। त्यो दौरान, पेट, आमाशय र ढाडको दैनिक दुखाइले मलाई असह्य पीडा दिन्थ्यो। म मुस्किलले केही खान सक्थेँ, त्यसैले पोषणका लागि म प्रोटिन र ग्लुकोजको IV ड्रिपमा मात्र भर पर्नुपर्थ्यो। मेरो तौल छिट्टै २० किलोभन्दा बढी घट्यो। मेरा श्रीमान्‌ काम छोडेर अस्पतालमा मसँगै बस्नुभयो, र उहाँले हरेक दिन मेरो ढाड मालिस गरिदिनुहुन्थ्यो। केहीपटक, मैले उहाँको आँसु मेरो ढाडमा खसेको महसुस गरेँ। मलाई मेरा दिनहरू सायद आइपुगे भनेर थाहा भयो। राति, जब म सुत्न सक्दिनथेँ, तब मेरो आस्थाको २० वर्षका दृश्यहरू मेरो मनमा झलझली आउँथे। मेरा श्रीमान्‌ले मलाई परमेश्‍वरमा विश्‍वास गर्न मनाही गर्नुभएको थियो र सम्बन्धविच्छेद गर्ने धम्कीसमेत दिनुभएको थियो, तर मैले सम्झौता गरिनँ। संसारका मानिसहरूले मलाई खिल्ली उडाए, गिल्ला गरे, र अपमान गरे, तर म पछि हटिनँ। ठूलो रातो अजिङ्गरले मलाई पिछा गर्‍यो र सतायो, तर मैले आस्था गुमाइनँ। मैले सोचेँ, वर्षौँको दौरान मैले कसरी त्याग गरेकी र कष्ट भोगेकी छु भनेर परमेश्‍वरले देख्नुहुनेछ र मलाई अन्त्यसम्मै सुरक्षा गर्नुहुनेछ, जसले गर्दा म राज्यको भव्यता देख्न सक्षम हुनेछु। अहिले आफूले सामना गरिरहेको कुरा सम्भवतः मेरो जीवनको अन्त्य हुन सक्छ भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। मेरो हृदय टुट्यो र मैले यस्तो नसोची सक्दै सकिनँ, “त्यो सब कष्ट भोगेपछि पनि, अन्त्यमा म मर्नुपर्छ। यस्तो हुन्छ भन्‍ने मलाई थाहा भएको भए, म किन प्राथमिकता दिएर परमेश्‍वरमा विश्‍वास गर्न थाल्ने थिएँ र?” केही दिनसम्म, म अस्पतालको ओछ्यानमा पल्टिरहेँ, मैले प्रार्थना गरिनँ वा परमेश्‍वरका वचनहरू पढिनँ। मेरो मनमा मृत्युपछि के हुन्छ भन्‍ने दृश्यहरू मात्रै आइरहन्थे। मैले विशेष गरी आत्मिक क्षेत्र अँध्यारो, बाक्लो कुहिरोले ढाकिएको, आफ्नै आँखाअगाडिको आफ्नो हातसमेत देख्न नसकिने गरी अँध्यारो हुन्छ, अनि त्यहाँ साथ दिने परिवार हुँदैन भन्ने कुरा सम्झेँ र म डरले काम्थेँ। एक दिन, मेरा दाइ र भाउजू मलाई हेर्न अस्पताल आउनुभयो। मलाई साह्रै दुब्ली र कमजोर देखेर, दाइले आँखाभरि आँसु पार्दै भन्नुभयो, “हरेस नखा। तैँले प्रार्थना गर्नुपर्छ र परमेश्‍वरमा अझ धेरै भर पर्नुपर्छ!” उहाँका शब्दहरूले ममा ग्लानि र बेचैनी भरिदिए। मैले सोचेँ, “म बिरामी भएदेखि नै, परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌हरू देखाउनुहुँदा, मैले उहाँलाई धन्यवाद दिएकी छु र परमेश्‍वरमा विश्‍वास गर्नु एकदम राम्रो हो भनेर महसुस गरेकी छु। तर अहिले मृत्यु ममाथि भएकाले, म उहाँविरुद्ध गुनासो गर्न थाल्छु र आफ्‍नो आस्थाप्रति पछुतोसमेत मान्छु। यो त परमेश्‍वरलाई विश्वासघात गर्नु हो!” त्यो दौरान, मलाई हरेक दिन दस घण्टाभन्दा बढी IV ड्रिप लगाइन्थ्यो। नवौँ दिनसम्ममा, मेरा दुवै पाखुरा यति सुन्निए कि उप्रान्त IV ड्रिप लगाउन सकिएन, त्यसैले मलाई डिस्चार्ज गर्नुको विकल्प रहेन। घर फर्केपछि, मैले बारम्बार परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मृत्युको सामना गर्दा, मेरो हृदय त्रास र असहायपन, अनि तपाईँप्रतिका गलत बुझाइ, गुनासा र अनुचित मागहरूले भरिएको छ। हे परमेश्‍वर, कृपया मलाई आफ्नो भ्रष्टता चिन्न र तपाईँका अभिप्रायहरू बुझ्न मार्गदर्शन गर्नुहोस्।”

ओछ्यानमा अडेस लाग्दै, मैले आफ्नो कम्प्युटर खोलेँ र परमेश्‍वरका वचनहरू देखेँ: “हरेकले आफ्नो मनमा यहोवाले मानिसहरूलाई दिनुहुने सबै अनुग्रह, आशिष् र प्रतिज्ञाबारे मात्र सोच्न सक्छन्, तर यहोवाले तिनीहरूबाट यी कुरा लानुहुँदा कस्तो स्थिति हुनेछ भनेर तिनीहरूले कहिल्यै सोच्दैनन् र कल्पना गर्न सक्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै मानिसहरू उहाँको अनुग्रह, आशिष् र प्रतिज्ञाहरू लिन मात्र तयार हुन्छन्, साथै उहाँको दया र कृपा स्विकार्न मात्र इच्छुक हुन्छन्, तर कसैले पनि परमेश्‍वरको सजाय र न्याय, उहाँको परीक्षा र शोधन वा उहाँको वञ्चितीकरण स्विकार्न प्रतीक्षा वा तयारी गरिरहेको हुँदैन। एक जनाले पनि परमेश्‍वरको न्याय र सजाय, उहाँको वञ्चितीकरण वा श्राप स्विकार्न तयारी गर्दैन। के मानिस र परमेश्‍वरबीचको यो सम्बन्ध सामान्य हो कि असामान्य हो? (असामान्य।) किन तँ यो सम्बन्ध आसामन्य हो भन्छस्? यो के कारणले गलत छ? मानिसहरूमा सत्यता नहुनुले यो गलत छ। अनि यस्तो किन हुन्छ भने, मानिसहरूमा एकदमै धेरै धारणा र कल्पनाहरू हुन्छन्, तिनीहरू निरन्तर परमेश्‍वरलाई गलत बुझ्छन् र सत्यता खोजेर यी कुरालाई सुल्झाउन जान्दैनन्—यसले गर्दा समस्याहरू आउने सम्भावना सबैभन्दा बढी हुन्छ। खास गरी, मानिसहरू आशिष् पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरसँग सौदा गर्न र उहाँबाट विभिन्‍न कुरा माग्न मात्र चाहन्छन्, तर सत्यता पछ्याउँदैनन्। यो एकदमै खतरनाक कुरा हो। तिनीहरूले आफ्ना धारणाहरूसँग नमिल्‍ने कुनै कुराको सामना गर्नेबित्तिकै, तिनीहरूले परमेश्‍वरका सम्बन्धमा धारणा, गलतफहमी, र गुनासाहरू विकास गर्छन्, र तिनीहरू उहाँलाई धोका दिने हदसम्म जान सक्छन्। के यसका परिणामहरू गम्भीर हुँदैनन् र? धेरैजसो मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा वास्तवमा कुन मार्गमा हिँड्छन्? तिनीहरूले केही वर्ष प्रवचनहरू सुनेका भए पनि र केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि, वास्तवमा, तिनीहरूले सत्यता साँच्चै बुझ्दैनन्। तिनीहरूले सत्यता पछ्याउन इच्छुक भएको दाबी गरे पनि, तिनीहरूमध्ये थोरैले मात्र सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन सक्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। “अय्यूब साँच्चै नै आस्थाका एक व्यक्ति थिए। जब परमेश्‍वरले उनलाई आशिष्‌ दिनुभयो, तब उनले परमेश्‍वरलाई धन्यवाद दिए। जब परमेश्‍वरले उनलाई ताडना दिनुभयो र उनको सर्वस्व खोस्नुभयो, तब पनि उनले परमेश्‍वरलाई धन्यवाद दिए। अन्त्यसम्मै कामकुराहरूको अनुभव गरेपछि, जब उनी वृद्ध भइसकेका थिए र परमेश्‍वरले उनका सबै सम्पत्ति र छोराछोरीहरू खोसिसक्नुभएको थियो, तब अय्यूबले कस्तो प्रतिक्रिया देखाए? उनले गुनासो त गरेनन् नै, उनी शैतानलाई इन्कार गर्न पनि सक्षम भए, र उनले आफ्नो हृदयबाट परमेश्‍वरको प्रशंसा गरे, परमेश्‍वरको नाउँको महिमा गाए, र उहाँको गवाही दिए। … मानिसहरू अक्सर भन्ने गर्छन्, ‘परमेश्‍वरले गर्ने सबै कुरा मानिसहरूका लागि लाभदायक हुन्छन् र तिनमा उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्।’ के यो सत्यता हो? (हो।) तर के तैँले यो कुरा स्वीकार गर्न सक्छस्? जब परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुन्छ, तब तैँले त्यो कुरा स्वीकार गर्न सक्छस्, तर जब उहाँले खोस्नुहुन्छ, तब के तैँले त्यो कुरा स्वीकार गर्न सक्छस्? तँ सक्दैनस्, तर अय्यूबले सके। उनले यो कथनलाई सत्यताका रूपमा लिए—के उनी सत्यतालाई प्रेम गर्दैनथे र? परमेश्‍वरले उनका सबै सम्पत्ति खोस्नुभयो, जसले गर्दा उनलाई निकै ठूलो नोक्सान भयो, र उनीमाथि गम्भीर बिमारी पनि आइपर्‍यो। तर ‘परमेश्‍वरले गर्ने सबै कुरा सही छन्, र तिनमा परमेश्‍वरका असल अभिप्रायहरू समावेश हुन्छन्’ भन्ने उनको यो भनाइले उनीसँग भएका सबै कुरा परमेश्‍वरले दिनुभएको हो भन्‍ने कुरा उनले आफ्नो हृदयमा पूर्ण रूपमा बुझेका थिए भनी प्रमाणित गर्छ। उनले यो सत्यता हो भनी बुझेकाले नै, उनले जतिसुकै पीडा भोगे पनि, उनले कुनै गुनासो गरेनन् र उनी अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्षम भए। उनकी पत्नीले जे भने पनि, उनी आफ्नो गवाहीमा दृढ रहन र आफ्नो हृदयमा परमेश्‍वरलाई महिमित पार्न सक्षम भए। त्यसैले हामी अय्यूब सत्यतालाई प्रेम गर्थे भनी भन्छौँ। यसबाहेक, परमेश्‍वरले उनलाई जाँच्‍न जुनसुकै माध्यम प्रयोग गर्नुभए पनि, उनी गुनासोविना स्वीकार गर्न र समर्पित हुन सक्षम भए। शैतानले उनको सम्पत्ति खोस्दा र उनलाई मार्न खोज्दा, वा उनलाई खटिराले पीडित पार्दा पनि—यी सबै कुरा मानवीय धारणाहरूसँग नमिल्ने भए पनि—अय्यूबले कस्तो प्रतिक्रिया देखाए? के उनले परमेश्‍वरबारे गुनासो गरे? उनले परमेश्‍वरबारे गुनासोको एक शब्द पनि बोलेनन्, बरु परमेश्‍वरको नाउँलाई महिमित पारिनुपर्छ भने। यसले अय्यूब परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्थे, र उनी सत्यतालाई, अनि निष्पक्षता र धार्मिकतालाई प्रेम गर्थे भनी पनि प्रमाणित गर्छ। आफ्नो हृदयमा, उनले भने, ‘परमेश्‍वर मानिसहरूप्रति निकै निष्पक्ष र निकै धर्मी हुनुहुन्छ! परमेश्‍वरले जे गर्नुभए पनि त्यो सही हुन्छ!’ यसरी, उनले परमेश्‍वरको प्रशंसा गर्न सके। उनले भने, ‘परमेश्‍वरले जे गर्नुभए पनि, म गुनासो गर्नेछैनँ। परमेश्‍वरको नजरमा, सृजित प्राणीहरू कीरा मात्रै हुन्। परमेश्‍वरले मलाई जस्तो व्यवहार गर्नुभए पनि त्यो ठीक र न्यायोचित हुन्छ।’ उनी परमेश्‍वरले गर्नुभएका सबै कुरा सही, सकारात्मक कुरा हुन् भनी विश्वास गर्थे। उनको सम्पत्तिमा जतिसुकै ठूलो नोक्सान भए पनि, उनले जतिसुकै कठिनाइको सामना गरे पनि वा जतिसुकै पीडा सहे पनि, उनले परमेश्‍वरबारे गुनासो गरेनन्, र उनी अझै पनि परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सके। यो सत्यतालाई प्रेम गर्नुको प्रकटीकरण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याउनका लागि आत्मज्ञान अत्यावश्यक हुन्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, म लाजले भुतुक्‍कै भएँ! मेरो दृष्टिकोणमा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँबाट अनुग्रह र आशिष्‌हरू प्राप्त गर्नु मात्रै थियो। कुनै दिन परमेश्‍वरको न्याय र सजाय, वा परीक्षा र शोधन ममाथि आइपर्ला भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ, झन् परमेश्‍वरको न्याय सामना गर्न मैले सत्यताद्वारा आफूलाई पहिले नै सुसज्जित गरेकी हुनु त परको कुरा हो। मलाई अय्यूबका अनुभवहरू कण्ठस्थ थाहा भए पनि र उनले आफू आफ्नो गवाहीमा दृढ रहँदा भनेका अत्यावश्यक वचनहरू मैले कण्ठाग्र भन्न सक्ने भए पनि, मैले त धर्मसिद्धान्त मात्रै बुझेकी थिएँ। अय्यूबले परमेश्‍वरको डर मानेका र दुष्टताबाट अलग बसेका हुनाले परमेश्‍वरका परीक्षाहरू अनुभव गरे। उनले आफ्ना सबै सम्पत्ति र छोराछोरीहरू गुमाए, र उनको शरीरभरि पीडादायी खटिराहरू आए। उनलाई उनकी श्रीमतीले खिल्ली उडाइन् र साथीहरूले गिल्ला गरे, तर उनी अझै पनि आफ्नो निष्ठाप्रति अडिग रहे। आफ्नो चरम पीडामा, उनले परमेश्‍वरविरुद्ध गुनासो गर्नु वा उहाँको नाम त्याग्नुको सट्टा बरु आफू जन्मेको दिनलाई सरापे। उनले “परमेश्‍वरले गर्ने सबै कुरा सही छन्, र तिनमा परमेश्‍वरका असल अभिप्रायहरू समावेश हुन्छन्” भन्‍ने कुरालाई अभ्यास गरिनुपर्ने सर्वोच्च सत्यता ठाने। जबसम्म कुनै कुरा परमेश्‍वरबाट आएको थियो, चाहे राम्रो होस् वा नराम्रो, तबसम्म उनले त्यो स्वीकार गर्न र समर्पित हुन सके। उनले परमेश्‍वरप्रतिको आफ्नो आस्था, समर्पण र डरमार्फत शैतानलाई हराए र परमेश्‍वरका निम्ति जोरदार गवाही दिए। धर्मसैद्धान्तिक हिसाबले, मलाई परमेश्‍वरले गर्ने सबै कुरा सही हुन्छन् र तिनमा उहाँका असल अभिप्रायहरू हुन्छन् भन्ने थाहा थियो, तर जब मेरो दीर्घकालीन बिमारले मलाई मृत्युको मुखमा पुर्‍यायो, तब मेरो साँचो कद पूर्ण रूपमा प्रकट भयो। मैले आफ्ना सुकर्महरू गन्न, परमेश्‍वरले मलाई किन सुरक्षा गरिरहनुभएको छैन भनेर गुनासो गर्न, र आफ्नो आस्थाप्रति र आफूले त्यागेका र समर्पित गरेका सबै कुराप्रति पछुतोसमेत मान्न थालेँ। जब परमेश्‍वरले मलाई आशिष् दिनुभयो, तब म उहाँप्रति कृतज्ञताले भरिएँ, तर जब उहाँले गरेको कुरा मेरो धारणाविपरीत भयो, तब मैले उहाँसँग तर्क गर्न र उहाँको विरोध गर्न थालेँ। ममा साँच्चै विवेक र समझको कमी थियो; ममा मानवता छँदै थिएन! त्यसपछि मैले भुइँमा घोप्टो परेर परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, र म सृजित प्राणी हुँ। तपाईँले जेसुकै गर्नुभए पनि, ममा कुनै गुनासो हुनु हुँदैन वा तपाईँसँग कुनै माग राख्नु हुँदैन। हे परमेश्‍वर, म तपाईँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक छु।”

त्यसपछिका केही दिनको दौरान, मैले आफ्ना कामकुराहरू व्यवस्थित गरेँ। मैले परमेश्‍वरका वचनका पुस्तकहरू प्याक गरेँ र एउटी सिस्टरलाई ती कहाँ राखेकी छु भनेर बताएँ। मैले मृत्युलाई कसरी सही रूपमा सामना गर्ने भनेर प्रार्थना र खोजी पनि गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “तैँले मृत्युलाई यसरी नै लिनुपर्छ। आफ्नो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्‍नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तर, मृत्युका विविध प्रकृति छन्। यीमध्ये एउटा के हो भने, परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको समयमा, मानिसहरूले आफ्‍नै मिसनहरू पूरा गरेका हुन्छन् र परमेश्‍वर तिनीहरूको भौतिक जीवनलाई अन्त्य गर्नुहुन्छ, त्यसैले तिनीहरूको भौतिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तिनीहरूको जीवन समाप्त भएको छ भन्‍ने हुँदैन। जब कुनै व्यक्तिको देहको अस्तित्व समाप्त हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा अस्तित्वमा रहनेछ भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वरको काम र वचनहरूलाई कसरी लिन्छस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वर र सत्यताप्रतिको तेरो मनोवृत्तिमा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारीको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोह, विरोध, र वितृष्णाको छ भने, तेरो दैहिक जीवन समाप्त भएपछि, तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहभित्र चेतना हुँदा, सत्यता र परमेश्‍वरप्रति तैँले समर्पणता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्‍वास छ भने, तेरो भौतिक जीवन समाप्त भयो भने पनि, तेरो जीवन अझै पनि अर्को क्षेत्रमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। मृत्युको परिभाषा यही नै हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई एकदमै शान्त महसुस भयो। हरेकले मृत्युको सामना गर्नैपर्छ, तर हरेक व्यक्तिको मृत्युको प्रकृति र मृत्युपछिको तिनीहरूको परिणाम एकदमै फरक हुन्छन्। तिनीहरू सृष्टिकर्तासामु फर्कन्छन् कि शैतानसँगै नरकमा जान्छन् भन्‍ने कुरा, तिनीहरू जीवित छँदा परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको दृष्टिकोणमा निर्भर हुन्छ। मलाई बाइबलको एउटा पद याद आयो जसले भन्छ, “अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। अय्यूबले जीवनभर परमेश्‍वरको डर माने र उनी दुष्टताबाट अलग रहे। शैतानका आक्रमण र यातनाहरूबीच, उनी परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहे, जसले परमेश्‍वरको हृदयलाई सान्त्वना दियो। मृत्युको सामना गर्दा, अय्यूब हृदयदेखि नै समर्पित हुन सके। उनको मन शान्त र शान्तिमय थियो, उनमा कुनै चिन्ता वा डर थिएन। तब मैले बुझेँ, मृत्यु आफैमा डरलाग्दो कुरा होइन। डरलाग्दो कुरा त सत्यता नपछ्याई वा त्यो प्राप्त नगरी जीवन जिउनु, अझै पनि आफ्नो भ्रष्ट स्वभाव र शैतानी दर्शनहरूअनुसार जिउनु, र अझै पनि परमेश्‍वरविरुद्ध विरोध र विद्रोह गर्नु हो। यस्तो भौतिक जीवन जतिसुकै लामो वा जतिसुकै आरामदायक किन नहोस्, यो केवल अस्थायी हो, र मृत्युपछि, व्यक्ति दण्डित हुन नरकमा जानैपर्छ। तर जीवित छँदा, यदि कुनै व्यक्तिले सत्यता पछ्याउन र सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्न सक्छ, अय्यूबले जस्तै परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने वास्तविकता जिउन सक्छ, र ऊ शैतानलाई अपमानित गर्न आफ्नो गवाहीमा दृढ रहन सक्छ भने, एक दिन उसको भौतिक शरीर मरे पनि, ऊ अझै पनि परमेश्‍वरद्वारा अनुमोदित व्यक्ति हुन्छ। मृत्युको सामना गर्दा, मैले परमेश्‍वरप्रति गलतफहमी, गुनासा र अनुचित मागहरू मात्रै प्रकट गरेकी थिएँ। म उहाँप्रति विद्रोह र प्रतिरोधले भरिएकी थिएँ। म जीवित रहिरहेकी भए पनि, यदि मेरो भ्रष्ट स्वभाव परिवर्तन नभएको भए, म अन्ततः हटाइनेथिएँ र दण्डित हुनेथिएँ।

पछि, मैले चिन्तन गर्न थालेँ। झन्डै तीन वर्ष बिमार अनुभव गरेपछि, मैले परमेश्‍वरप्रति एकदम धेरै विद्रोह र गलतफहमी प्रकट गरेकी थिएँ। उहाँले गर्ने सबै कुरा सही छन् र म समर्पित हुनुपर्छ भन्‍ने मलाई थाहा भए पनि, मृत्युको सामना गर्दा, मैले जे गरे पनि आफूलाई समर्पित गराउन सकिनँ। मैले परमेश्‍वरसँग तर्क गर्न र उहाँको विरोध गर्नसमेत सकेँ। मेरो भ्रष्ट स्वभावको कुन पक्षले यो गराइरहेको थियो? एक दिन, मैले परमेश्‍वरका वचनहरू देखेँ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्नो भविष्य, आफ्ना आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू सबैभन्दा बढी विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले अपेक्षा गर्नुहुने निष्कपटता, साँचो विश्‍वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्‍वास, वा निष्कपटता देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र चाहनाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्‍न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भन्नुभएका सबै आशिष्‌ र फाइदा प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही निष्कपटता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई निष्कपटता भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रति तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्‍न सक्‍ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्‍ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्‍ने त नहुनुपर्ने हो। तर परमेश्‍वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वर ख्रीष्टविरोधीहरूले आशिष्‌ र इनाम पाउनका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्छन् भनेर खुलासा गर्नुहुन्छ। यदि राम्रो परिणाम, इनाम वा आशिष्‌ नभएको भए, ख्रीष्टविरोधीले परमेश्‍वरमा विश्‍वास गर्नेथिएन, झन् आफ्नो कर्तव्यका लागि कष्ट भोग्नु त परै जाओस्। ख्रीष्टविरोधीले गर्ने हरेक कुरा परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास हुन्छ, उसले ठूला आशिष्‌हरूका लागि सानो मूल्य चुकाएर सौदा गर्ने भ्रामक आशा राखेको हुन्छ। मैले आत्मचिन्तन गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि अनि उहाँका प्रतिज्ञा र आशिष्‌हरू, अनि मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न र अनन्त जीवन पाउन सक्छन् भन्‍ने जानेपछि, म सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्रिय भएँ। मेरो परिवारले मलाई जति नै रोक्न खोजे पनि, वरपरका मानिसहरूले जति नै गिल्ला वा अपमान गरे पनि, वा ठूलो रातो अजिङ्गरले सताउँदासमेत, म पछि हटिनँ। म बिमारले थलिएर खान र सुत्न नसक्दासमेत, आफ्नो कर्तव्यमा अडिग रहेँ। तर जब मेरो बिमार झन् खराब भयो र मैले मृत्युको खतरा सामना गरेँ, तब मैले परमेश्‍वरले मलाई किन सुरक्षा गरिरहनुभएको छैन भनेर गुनासो गरेँ अनि वर्षौँदेखि मैले कामकुराहरू त्यागेकी र आफूलाई समर्पित गरेकीमा पछुतोसमेत गरेँ, र आफ्नो आस्थाप्रति पछुतो मानेँ। मैले प्रकट गरेको कुरा परमेश्‍वरप्रतिको विद्रोह र विश्वासघातबाहेक अरू केही थिएन। मैले पावललाई सम्झेँ। उनले सुसमाचार प्रचार गर्दै युरोपभरि यात्रा गरे, र उनले धेरै कष्ट भोगे र ठूलो मूल्य चुकाए, तर उनको कष्ट र उनले चुकाएको मूल्य केवल आशिष्‌हरू र मुकुट प्राप्त गर्नका लागि मात्र थिए। उनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले परमेश्‍वरसँग सौदा गर्नका लागि आफ्नो कष्ट र आफूले चुकाएको मूल्यलाई मोलतोलको साधनका रूपमा प्रयोग गरे, खुलेआम उहाँविरुद्ध आवाज उठाए। उनले भन्न खोजेको कुरा के थियो भने, उनले समर्पित गरेको र हासिल गरेको कुराका आधारमा, परमेश्‍वरले उनलाई इनाम, मुकुट र असल गन्तव्य दिनुपर्थ्यो; अन्यथा, परमेश्‍वर धर्मी हुनुहुनेथिएन। मैले प्रकट गरेको स्वभाव पावलको जस्तै थियो। मेरा कार्यहरूका आधारमा, म नाश हुन लायक थिएँ, तर परमेश्‍वरले मलाई अझै जिउन दिनुभएको छ। यो मेरा लागि पश्चात्ताप गर्ने मौका, परमेश्‍वरको महान् कृपा र अनुग्रहको कार्य थियो।

म सोच्ने गर्थेँ, मैले सतावट, सङ्कष्ट वा ज्यानै खतरामा पर्ने रोगको सामना गरे पनि, जबसम्म म आफ्नो कर्तव्य कायम राख्न सक्थेँ, तबसम्म मसँग परमेश्‍वरको हेरचाह र सुरक्षा हुनेथ्यो र म बाँच्न र मुक्ति पाउन सक्षम हुनेथिएँ। परमेश्‍वरका वचनहरूबाट, मैले यो दृष्टिकोण एकदमै हाँस्यास्पद छ भन्‍ने देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले बल्ल के बुझेँ भने मुक्ति पाउनु भनेको कर्तव्य निर्वाहको बाहिरी अभ्यासमा अडिग रहनु होइन। मुख्य कुरा के हो भने स्वभावमा परिवर्तन हासिल गर्न आफ्नो कर्तव्यको दौरान सत्यता पछ्याउनु र प्राप्त गर्नु, र परमेश्‍वरले खडा गरेका विभिन्न परिस्थितिहरूमा पाठ सिक्नु, अय्यूबजस्तै परमेश्‍वरमा समर्पित हुन र उहाँको योजनाबद्ध कार्यको कृपामा हुन सक्नु हो। तब मात्र व्यक्तिले मुक्ति पाउन र बाँच्नका लागि आवश्यक योग्यताहरू पूरा गर्न सक्छ। मैले प्रार्थनामा एउटा सङ्कल्प गरेँ। मेरो परिणाम जेसुकै भए पनि, म समझ भएको सृजित प्राणी बन्न इच्छुक भएँ। यदि परमेश्‍वरले मलाई अझै जिउन दिनुभएको भए, म नयाँ जीवन सुरु गर्न, आशिष्‌हरू पाउने मेरो अभिप्राय त्याग्न, र परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्न छोड्न इच्छुक थिएँ। म सत्यता प्राप्त गर्न र परमेश्‍वरको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य निर्वाह गर्नेथिएँ। यदि परमेश्‍वरले मेरो जीवन यहीँ नै अन्त्य हुनुपर्छ भनेर नियोजन गर्नुभएको छ भने, म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक थिएँ। त्यसपछि, मेरो स्थितिमा धेरै सुधार आयो। मेरो बिमार अझै निको नभएको, र धेरैजसो समय मेरो पूरै शरीर दुख्ने, र कहिलेकाहीँ मेरो मनसमेत स्पष्ट नहुने भए पनि, मेरो हृदय शान्तिमा थियो। मैले बारम्बार परमेश्‍वरलाई प्रार्थना गरेँ, म आफ्नो जीवन र मृत्यु उहाँको हातमा सुम्पन इच्छुक भएँ। म उहाँले योजनाबद्ध गरेको जुनसुकै कुरामा समर्पित हुनेथिएँ।

त्यसपछि, मेरो स्वास्थ्य झन् बिग्रियो। एक घुट्की पानीले पनि मलाई वाकवाकी लाग्थ्यो र म बान्ता गर्थेँ। ममा हिँड्ने बलसमेत थिएन। मलाई सबैभन्दा स्पष्टसँग याद भएको कुरा सेप्टेम्बर १८ को रात हो। म रातभरि कोल्टे फेरिरहेँ, सुत्नै सकिनँ। बिहानीपख, मलाई ज्वरो आयो, र पूरै शरीर सहनै नसक्ने गरी दुख्यो। मैले चुपचाप मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई आफू बाँच्छु भन्ने लाग्दैन। मैले धेरै कुरा छोडेर जान नचाहे पनि, म एक सृजित प्राणी हुँ। चाहे म जिऊँ वा मरूँ, चाहे मेरो परिणाम र गन्तव्य राम्रो होस् वा नहोस्, म केवल तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन अनुरोध गर्छु।” मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ!” “परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बोध गर्दा हामीलाई आड मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई बचाउन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोक टाढा भगाउँछ र सबै शान्त बनाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। हो, परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ। जीवन र मृत्यु परमेश्‍वरको एउटै सोचभित्र अडिएका हुन्छन्। डाक्टरहरूले बिमारको उपचार गर्न सक्छन्, तर ज्यान बचाउन सक्दैनन्। परमेश्‍वर मात्र मेरो सहारा हुनुहुन्छ, र उहाँका वचनहरूमा जिउँदा मात्र मेरो आत्माले शान्ति पाउन सक्छ। परमेश्‍वरका वचनहरू मनन गर्दा, मलाई थाहै नपाई निद्रा लाग्यो। दुई वर्षभन्दा बढी समयमा म निद्राको औषधि नखाई निदाएको यो पहिलोपटक थियो, र म झन्डै चार घण्टा सुतेँ। ब्युँझेपछि, मलाई मानसिक रूपमा धेरै राम्रो महसुस भयो, र पीडा पनि निकै कम भएको थियो। त्यो शब्दमा बयान गर्नै नसकिने अत्यन्तै राम्रो अनुभूति थियो। पछि, अझ चमत्कारिक कुरा भयो। एक साँझ खाना खाएपछि, मेरा श्रीमान्‌ले मलाई तल्लो तलामा हिँड्न मद्दत गर्दै गर्नुहुँदा मेरै उमेरकी एउटी महिलासित हाम्रो भेट भयो। उनले मलाई हेरेर सोधिन्, “म्याडम, तपाईँ किन यति कमजोर हुनुहुन्छ?” मेरा श्रीमान्‌ले उनलाई मेरो अवस्थाबारे बताउनुभयो। उनले भनिन्, “मेरो एक जना साथीलाई पनि यस्तै भएको थियो। उनलाई नजिकैको एउटा सानो अस्पतालमा उपचार गरियो, र अहिले उनी पूर्ण रूपमा निको भइन्।” भोलिपल्ट मेरा श्रीमान्‌ले मलाई त्यस अस्पतालमा लानुभयो। केवल केही दर्जन युआनको पश्चिमी औषधिले नै मेरो बिमार निको भयो। एक महिनापछि, म फेरि सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। पाँच महिनापछि, मेरो तौल २० किलोभन्दा बढी बढ्यो। मलाई चिन्ने ब्रदर-सिस्टरहरू र गैरविश्‍वासीहरू दुवैले यो चमत्कार हो भनेर भने। मलाई आफ्नो हृदयमा यो पूर्ण रूपमा परमेश्‍वरको कृपा र अनुग्रह, अनि उहाँका अद्भुत कार्यहरू हुन् भनेर स्पष्टसित थाहा भयो। म कति विद्रोही थिएँ, आफ्नो कर्तव्यमा परमेश्‍वरसँग मोलतोल गर्ने र उहाँलाई छल गर्ने निरन्तर प्रयास गर्थेँ भनेर सोच्दा, म परमेश्‍वरको यति ठूलो अनुग्रह पाउन साँच्चै अयोग्य थिएँ। कुरा के हो भने, आज म अझै जीवित र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनु मेरा लागि परमेश्‍वरको अपार कृपा र प्रेम हो। म परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिन्छु, र आफ्नो कर्तव्य निर्वाह गर्ने यो बहुमूल्य अवसरको कदर गर्छु।

यो बिमार अनुभव गर्दा मेरो देहले केही कष्ट भोगेको भए पनि, मैले प्राप्त गरेको कुरा अमूल्य खजाना थियो। मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ वा फाइदाहरू प्राप्त गर्नु होइन, तर पखालिनका लागि सत्यता पछ्याउनु हो। परमेश्‍वरलाई पछ्याउनु र सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु मेरो जिम्मेवारी हो, अनि परमेश्‍वरप्रति समर्पण र उहाँको डर हासिल गर्नु मैले पछ्याउनुपर्ने लक्ष्य हो। यस अनुभवमार्फत्, मैले गहन रूपमा के महसुस गरेकी छु भने “तँमाथि बिमारी आइपर्दा, त्यो परमेश्‍वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। यो सत्यता हो, र यो तथ्य पनि हो! यो अनुभव मेरो जीवनको सबैभन्दा बहुमूल्य खजाना हो। यो परमेश्‍वरको विशेष प्रेम, फरक किसिमको प्रेम हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ४. अलग्याइएपछिका चिन्तनहरू

अर्को:  ६. परमेश्‍वरका परीक्षाहरूको अर्थ मैले बल्ल बुझेँ

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger