६. परमेश्वरका परीक्षाहरूको अर्थ मैले बल्ल बुझेँ
सन् २०२४ को जुलाई महिनाको एक दिन, मसँग सहकार्य गर्ने सिस्टरहरू र म लेखहरूको मूल्याङ्कन गर्दै थियौँ, त्यति नै बेला सिस्टर जेनले अचानक आफूलाई सञ्चो नभएको, रिँगटा लागेको र छाती कसिएको जस्तो महसुस भएको भनिन्। उनी कुर्सीमा हल्लिरहेकी थिइन् र जुनसुकै बेला बेहोस होलिन् जस्तो देखिन्थिन्। सुरुमा त, हामीले यो उकुसमुकुस हुने मौसम र कोठामा हावा नखेल्ने भएर भएको होला भन्ने ठान्यौँ। तर पछि, उनलाई झन्-झन् धेरै पटक यस्तो हुन थाल्यो। साह्रो पर्दा त उनीसँग बोल्ने तागत पनि हुँदैनथ्यो, र केही पाइला हिँड्ने बित्तिकै उनी स्याँस्याँ गर्थिन्। उनले आफ्नो कर्तव्य पूरा गर्नु त परै जाओस्, दैनिक जीवनमा आफ्नो ख्यालसमेत राख्न सक्दिनथिन्। मलाई चिन्ता लाग्न थाल्यो, “कतै उनलाई कुनै ठूलो रोग त लागेन?” तर फेरि मैले मनमनै सोचेँ, “हामी सबै जना लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेका छौँ, जुन एकदमै महत्त्वपूर्ण छ। साथै, सिस्टर जेनले आफ्नो कर्तव्य निर्वाहमा कष्ट सहन र मूल्य चुकाउन सक्छिन्, र त्यसमा केही नतिजा पनि हासिल गरेकी छिन्। परमेश्वरले पक्कै पनि उनलाई सुरक्षा दिनुहुनेछ र कुनै ठूलो रोग लाग्न दिनुहुनेछैन। यो सायद परमेश्वरले उनलाई जाँच्नुभएको होला। हुनसक्छ उनले पाठ सिकिसकेपछि परमेश्वरले उनको रोग हटाइदिनुहुनेछ।” त्यसपछि सिस्टर जेन जँचाउन अस्पताल गइन्। डाक्टरले उनका सबै रिपोर्ट सामान्य छन्, तर मुटुको धड्कन सुस्त छ र मुटुमा रक्तसञ्चार कम छ भन्नुभयो। उहाँले मुटु र रक्तसञ्चारका लागि केही औषधी लेखिदिनुभयो र उनलाई प्रशस्त आराम गर्न र आफ्नो ख्याल राख्न भन्नुभयो। जाँचको नतिजा हेरेपछि, हामी सबैले सिस्टर जेनलाई केही समय आराम र स्वास्थ्यलाभ गरेपछि ठीक हुनेछ भन्ने ठान्यौँ। मैले हृदयमा परमेश्वरलाई धन्यवाद दिइरहेँ र हामी गैरविश्वासीहरूभन्दा फरक छौँ भन्ने कुरामा म अझ विश्वस्त भएँ: हामी विश्वासीहरूसँग परमेश्वरको हेरचाह र सुरक्षा छ, अनि हामीले पाठ सिकेपछि, हाम्रा रोगहरू निको हुनेछन्। तर अप्रत्याशित रूपमा, सिस्टर जेन अस्पतालबाट फर्किएर केही समय आराम गरेपछि, उनको रोग फेरि बल्झियो, र उनलाई झन् बारम्बार समस्या हुन थाल्यो।
एक बिहान, सञ्चो नभएकोले उनी कोठामा आराम गरिरहेकी थिइन्, त्यति नै बेला उनी खै कसरी ओछ्यानबाट लडिन्। आवाज सुनेर हामी दौडिँदै कोठाभित्र पस्यौँ, र उनलाई भुइँमा लडिरहेको र चल्मलाउन नसक्ने अवस्थामा भेट्टायौ। उनका आँखा कसिलो रूपमा बन्द थिए, उनी स्याँस्याँ गरिरहेकी थिइन्, उनका हातखुट्टा बरफ जस्तै चिसा र कक्रिएका थिए, अनि उनको सम्पूर्ण शरीर थामिनसक्नु गरी काँपिरहेको थियो। उनले अब सास फेर्न सक्दिनन् र जुनसुकै बेला मर्न सक्छिन् जस्तो देखिन्थ्यो। हामी भयभीत थियौँ। हाम्रो अतिथि सत्कारक सिस्टरले हतार-हतार तुरुन्तै काम गर्ने मुटुको औषधी खोजेर उनलाई दिइन्, अनि बल्ल उनी बिस्तारै होसमा आउन थालिन्। त्यो क्षण फेरि सम्झँदा, मेरो मुटु अझै पनि ढुकढुक गरिरहेको थियो। यदि हामीले अलिकति मात्र ढिलो गरेको भए, के हुन्थ्यो होला भनेर सोच्दा पनि डर लाग्छ। सिस्टर जेन ओछ्यानमा पल्टिरहेको, हातले मुटुमा थिचिरहेको र उनको अनुहार पीडाले खुम्चिएको देख्दा, मेरो मुटु दुख्यो। “यस्तो कसरी हुन सक्छ? डाक्टरले उनलाई ठीक छ भन्नुभएको होइन र? तर उनलाई मुटुको गम्भीर समस्या भएको प्रस्ट देखिन्छ। मैले सुनेकी छु कि यदि मुटुको रोग गम्भीर छ भने, सास फेर्न गाह्रो भएर मानिसको अचानक मृत्यु हुन सक्छ। उनी भर्खर तीसको दशकमा छिन्—उनी कसरी यति धेरै बिरामी परिन्?” मलाई त्यतिबेला अत्यन्तै गाह्रो भयो जतिबेला उनले मलाई मलिन स्वरमा यसो भनिन्, “मलाई अहिले साँच्चिकै बिसन्चो भइरहेको छ, मेरो मुटुको धड्कन जुनसुकै बेला रोकिन सक्छ जस्तो लागिरहेको छ। यदि म मरेँ भने, तिमीले मेरी आमालाई परमेश्वरलाई गलत नबुझिदिन भन्नू है। परमेश्वरले जे गर्नुभए पनि, त्यो धर्मी हुन्छ…।” उनी केही कुरा भन्थिन् अनि रोकिन्थिन्, छोटो र छिटो-छिटो बोल्थिन्। उनलाई त्यस्तो अवस्थामा देखेर म भयभीत भएँ। मैले कसैलाई पनि मृत्युको त्यति नजिक पुगेको कहिल्यै देखेकी थिइनँ, र एकछिन त मैले उनलाई के भनेर सान्त्वना दिने भन्ने भेउ नै पाइनँ। पछि, उनको स्वास्थ्यलाई ख्याल राख्दै, अगुवाले उनको परिवारलाई खबर गर्नुभयो र उनलाई निको हुनका लागि घर लैजान भन्नुभयो।
सिस्टर जेनको रोग मैले बुझ्नै सकिनँ। “उनी एक सच्चा विश्वासी हुन्। आफ्नो कर्तव्य निर्वाह गरेको कारण उनलाई श्रीमान्ले घरबाट निकालिदिएको थियो, र उनले विगत केही वर्षयता मण्डलीमा महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्दै आएकी छिन्, साथै केही नतिजा पनि हासिल गरेकी छिन्। उनी किन यति धेरै बिरामी परेकी होला? परमेश्वरले उनलाई किन सुरक्षा दिनुभएन? यो परीक्षा नै भए पनि यति गम्भीर त हुनु भएन नि, होइन र? यदि उनी मरिन् भने, उनले कसरी मुक्ति पाउन सक्छिन्? गैरविश्वासीहरू र परमेश्वरको प्रतिरोध गर्नेहरूलाई अनेक किसिमका विपत् आइलाग्छन् भन्ने कुरा त म बुझ्न सक्छु, तर सिस्टर जेन फरक छिन्। उनी परमेश्वरमा सच्चा विश्वास गर्छिन्। उनीमाथि कसरी यस्तो भयानक आपत् आइलाग्न सक्यो?” मेरो मन अत्यन्तै अशान्त थियो, र मैले परमेश्वरको अभिप्राय के हो भनेर बुझ्नै सकिनँ। यसले गर्दा म आफ्नै बारेमा सोच्न थालेँ। मलाई पहिले के लाग्थ्यो भने म मेरो परिवार र करियर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्न हिँडेको एक दशकभन्दा बढी भइसकेको छ, र मैले सधैँ महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गरेकी छु अनि केही नतिजा पनि हासिल गरेकी छु, त्यसैले यदि मैले यसरी नै पछ्याइरहेँ भने, मैले अवश्यै मुक्ति पाउनेछु र म परमेश्वरको राज्यमा प्रवेश गर्नेछु। तर सिस्टर जेनको अवस्थाले मलाई अचानक मेरो आफ्नै मुक्ति पनि सुनिश्चित छैन जस्तो महसुस गरायो। यदि सिस्टर जेनलाई जस्तै मलाई पनि एकदिन अचानक ठूलो आपत् आइलाग्यो, वा मैले मृत्युको सामना गर्नुपर्यो भने के होला? यदि म मरेँ भने, मैले कसरी मुक्ति पाउन सक्छु? के मैले यतिका वर्षदेखि चुकाएको मूल्य र गरेको समर्पण खेर जानेछैन र? जब मैले यस्तो सोचेँ, म केही हदसम्म दिक्दार भएँ। मेरो मन अब मेरो कर्तव्यमा थिएन, र म हरेक दिन जसोतसो जति सकिन्छ त्यति मात्र गर्थें, र हातमा भएको काम सकाउन पाउनुमै सन्तुष्ट हुन्थेँ। मलाई परमेश्वर र मेरो बीचमा एउटा पर्खाल भएजस्तो महसुस हुन्थ्यो। म आफैलाई नसोधी बस्न सकिनँ, “मलाई के भएको छ? सिस्टर जेन बिरामी परेदेखि यता मैले किन आफ्नो कर्तव्यप्रति कुनै जोस निकाल्न सकिरहेकी छैन?”
खोजी गर्ने क्रममा, मैले “के विपत्ति भोग्नु नराम्रो कुरा नै हुनुपर्छ र?” शीर्षकको एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ। त्यसमा उद्धृत गरिएका परमेश्वरका वचनका दुइटा खण्डले ठ्याक्कै मेरो स्थितिलाई सम्बोधन गर्थे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कतिपय मानिसहरूले अरूलाई बिमारी वा विषमताहरू सामना गरिरहेको देख्छन्, तब तिनीहरूले त्यसलाई तुरुन्तै आफूसँग जोड्छन्, ‘यदि मलाई यस्तो भयो भने के होला? के परमेश्वर कृपालु र प्रेमिलो परमेश्वर हुनुहुन्न र? परमेश्वरमा विश्वास गर्नेहरूले किन अझै पनि यी विषमताहरू सामना गर्छन्? के मैले पनि यसरी नै दुःख भोग्नुपर्ने हुन सक्छ? त्यसोभए, उहाँ ठ्याक्कै कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ? यदि परमेश्वर मानिसलाई यति ख्याल नगर्ने हुनुहुन्छ, कुनै पनि समय र कुनै पनि ठाउँमा, मानिसहरूलाई दुःख दिन अप्रत्याशित परिस्थितिहरू खडा गर्नुहुन्छ भने, परमेश्वर वास्तवमा भरपर्दो हुनुहुन्न जस्तो देखिन्छ!’ तिनीहरू डराउँछन् कि यदि तिनीहरूले विश्वास गर्न छोडे भने, तिनीहरूले आशिष्हरू प्राप्त गर्न सक्नेछैनन्, तर तिनीहरू यस कुरामा पनि डराउँछन् कि यदि तिनीहरूले विश्वास गर्न जारी राखे भने, तिनीहरूलाई विषमताहरू आइपर्नेछन्। फलस्वरूप, जब तिनीहरू प्रार्थना गर्न परमेश्वरसामु आउँछन्, तब तिनीहरूले परमेश्वरबाट केवल सुरक्षा र आशिष् माग्छन्, र परमेश्वरसँग परीक्षाहरू वा ताडना माग्ने हिम्मत गर्दैनन्। तिनीहरूले यसो भन्ने हिम्मत गर्दैनन्, ‘हे परमेश्वर, म तपाईँले आफ्ना चाहनाहरूअनुसार कामकुरा गर्नुहोस् भनी अनुरोध गर्छु। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक छु।’ तिनीहरूले यसरी प्रार्थना गर्ने हिम्मत गर्दैनन्। अब, जब तिनीहरूले अरूलाई केही परीक्षा र विषमताहरू सामना गरिरहेको देख्छन्, तब तिनीहरूको सङ्कल्प र साहस घट्छ। तिनीहरूमा परमेश्वरको धर्मी स्वभाव, उहाँको सजाय र न्याय, र उहाँको सार्वभौमिकताका बारेमा फरक ‘बुझाइ’ विकास हुन्छ, र तिनीहरू हृदयमा परमेश्वरप्रति सतर्क पनि बन्छन्। यसरी, मानिसहरू र परमेश्वरका बीचमा एउटा पर्खाल, एउटा फाटो हुन्छ। के मानिसहरू यी स्थितिहरूमा हुनु राम्रो हो? (होइन।) त्यसोभए के यी स्थितिहरू तिमीहरूभित्र नै उत्पन्न हुन्छन्? के तिमीहरू यी स्थितिहरूमा जिउँछौ? (जिउँछौँ।) यस्ता समस्याहरू कसरी समाधान गरिनुपर्छ? के सत्यता नखोज्नु ठीक हो? यदि तैँले सत्यता बुझ्दैनस् र तँसँग विश्वास छैन भने, तँलाई अन्तिमसम्म परमेश्वरलाई पछ्याउन गाह्रो हुनेछ, र जब कुनै बिन्दु पुगेर तैँले प्रकोपहरूको सामना गर्छस्—चाहे ती प्राकृतिक हुन् वा मानव सृजित—तब तँ पतन हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। “परमेश्वरमा विश्वास गर्ने सबै मानिसहरू उहाँको अनुग्रह, आशिष् र प्रतिज्ञाहरू लिन मात्र तयार हुन्छन्, साथै उहाँको दया र कृपा स्विकार्न मात्र इच्छुक हुन्छन्, तर कसैले पनि परमेश्वरको सजाय र न्याय, उहाँको परीक्षा र शोधन वा उहाँको वञ्चितीकरण स्विकार्न प्रतीक्षा वा तयारी गरिरहेको हुँदैन। एक जनाले पनि परमेश्वरको न्याय र सजाय, उहाँको वञ्चितीकरण वा श्राप स्विकार्न तयारी गर्दैन। के मानिस र परमेश्वरबीचको यो सम्बन्ध सामान्य हो कि असामान्य हो? (असामान्य।) किन तँ यो सम्बन्ध आसामन्य हो भन्छस्? यो के कारणले गलत छ? मानिसहरूमा सत्यता नहुनुले यो गलत छ। अनि यस्तो किन हुन्छ भने, मानिसहरूमा एकदमै धेरै धारणा र कल्पनाहरू हुन्छन्, तिनीहरू निरन्तर परमेश्वरलाई गलत बुझ्छन् र सत्यता खोजेर यी कुरालाई सुल्झाउन जान्दैनन्—यसले गर्दा समस्याहरू आउने सम्भावना सबैभन्दा बढी हुन्छ। खास गरी, मानिसहरू आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गर्छन्। तिनीहरू परमेश्वरसँग सौदा गर्न र उहाँबाट विभिन्न कुरा माग्न मात्र चाहन्छन्, तर सत्यता पछ्याउँदैनन्। यो एकदमै खतरनाक कुरा हो। तिनीहरूले आफ्ना धारणाहरूसँग नमिल्ने कुनै कुराको सामना गर्नेबित्तिकै, तिनीहरूले परमेश्वरका सम्बन्धमा धारणा, गलतफहमी, र गुनासाहरू विकास गर्छन्, र तिनीहरू उहाँलाई धोका दिने हदसम्म जान सक्छन्। के यसका परिणामहरू गम्भीर हुँदैनन् र? धेरैजसो मानिसहरू परमेश्वरमा विश्वास गर्दा वास्तवमा कुन मार्गमा हिँड्छन्? तिनीहरूले केही वर्ष प्रवचनहरू सुनेका भए पनि र केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि, वास्तवमा, तिनीहरूले सत्यता साँच्चै बुझ्दैनन्। तिनीहरूले सत्यता पछ्याउन इच्छुक भएको दाबी गरे पनि, तिनीहरूमध्ये थोरैले मात्र सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन सक्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनहरू पढेपछि, मैले म दिक्दार हुनुको मुख्य कारण भनेको परमेश्वरमा विश्वास गर्ने मेरो दृष्टिकोणमा समस्या हुनु रहेछ भनेर बुझेँ। म परमेश्वरबाट आशिष् पाउन चाहन्थेँ, त्यसैले मात्र मैले उहाँमा विश्वास गरेकी थिएँ। जब मैले आशिष् पाउने कुनै आशा देखिनँ, तब मैले परमेश्वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, अनि मैले उहाँमाथिको विश्वास गुमाएँ। सिस्टर जेन सुरुमा बिरामी पर्दा, म अलि चिन्तित भए पनि, मैले सोचेँ कि हामीले महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गरिरहेको र उहाँ सच्चा विश्वासी भएको हुनाले, परमेश्वरले उहाँलाई पक्कै पनि सुरक्षा दिनुहुनेछ र निको पार्नुहुनेछ। साथै, जब अस्पतालको जाँचमा उनका सबै रिपोर्ट सामान्य देखिए, तब परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र उहाँका लागि साँचो रूपमा आफूलाई समर्पित गर्नेहरूले पक्कै पनि उहाँका आशिष् र सुरक्षा पाउनेछन् भन्ने कुरामा म झन् निश्चित भएँ। तर जब उनको रोग बल्झियो र उनी मृत्युको मुखमै पुगिन्, तब मैले परमेश्वरलाई गलत बुझ्न र उहाँबारे गुनासो गर्न थालेँ, “उनलाई किन यस्तो भयानक आपत् आइलाग्यो? परमेश्वरले उनलाई किन सुरक्षा दिनुभएन?” मलाई त विश्वासीहरू गैरविश्वासीहरूभन्दा फरक छैनन्, र उनीहरूले मुक्ति पाउने कुनै सुनिश्चितता छैन जस्तो पनि लाग्यो। मैले तुरुन्तै आफ्नो बारेमा सोचेँ, र सिस्टर जेनलाई जस्तै मलाई पनि अचानक आपत् आइलाग्न सक्छ भनेर म चिन्तित भएँ। यदि मलाई निको नहुने रोग लाग्यो र म मरेँ भने, मैले कसरी मुक्ति पाउन सक्छु? मैले आफ्नो भविष्य र गन्तव्यबारे चिन्ता गर्न थाल्ने बित्तिकै, मेरो हृदय परमेश्वरबाट टाढा भयो, र म मेरो कर्तव्यमा निष्क्रिय र नकारात्मक भएँ। मैले के देखेँ भने परमेश्वरमाथिको विश्वासमा मैले उहाँबाट आशिष् र अनुग्रह मात्र पाउन चाहेकी रहेछु। मेरा चाहनाहरू चकनाचुर हुनेबित्तिकै, म उहाँलाई गलत बुझ्न र उहाँबारे गुनासो गर्न विवश भएँ, यहाँसम्म कि म दिक्दारीमा डुबेँ र कर्तव्यमा झाराटारुवा भएँ। यो परमेश्वरको विरोध गर्नु थियो; यो उहाँप्रतिको विश्वासघात थियो! मेरो व्यवहार धार्मिक संसारका ती मानिसहरूको भन्दा फरक थिएन, जो केवल धित मरुञ्जेल खान्छन्। जब परमेश्वरले मलाई आशिष् दिनुहुन्थ्यो, म जोसले भरिन्थेँ, त्याग्न र समर्पित हुन अनि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्थेँ। तर आशिष् पाउने मेरो आशा हराउनेबित्तिकै, म तुरुन्तै निरुत्साहित बन्थेँ। मैले देखेँ कि मैले वर्षौंदेखि केवल आशिष् र अनुग्रहको खातिर मात्रै परमेश्वरमा विश्वास गरेकी रहेछु, र म त केवल धित मरुञ्जेल खाने अविश्वासी पो रहेछु। मैले आफैलाई तिरस्कार र घृणा गर्न थालेँ। परमेश्वरलाई यति साह्रो गलत बुझेकोमा मलाई आत्मग्लानि र दोषी पनि महसुस भयो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ साँच्चै हृदयमा सत्यता पछ्याउन इच्छुक छस् भने, तैँले परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न केही मेहनत लगाउनुपर्छ, तुरुन्तै आत्म-चिन्तन गर्नुपर्छ र आफूलाई चिन्ने प्रयास गर्नुपर्छ, र तँमाथि आउन लागेका परीक्षाहरू र शोधनका लागि मानसिक रूपमा तयार हुनुपर्छ। तैँले आफूलाई परमेश्वरप्रति जतिसुकै समर्पित गरे पनि, र आफ्नो कर्तव्य निर्वाहमा जतिसुकै मूल्य चुकाए पनि, यदि तैँले अन्ततः अय्यूबका जस्तै परीक्षाहरूको सामना गरिस्, र परमेश्वरले तेरा सबै सम्पत्ति खोस्नुभयो, र तेरो जीवन समेत समाप्त हुन लाग्यो भने, तैँले यसलाई कसरी सामना गर्नुपर्छ? तैँले परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ? तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? परमेश्वरले तँलाई सुम्पनुभएको कुरालाई तैँले कसरी लिनुपर्छ? के तँसँग सही बुझाइ र मनोवृत्ति छ? के यी प्रश्नहरूको उत्तर दिन सजिलो छ, कि छैन? यो तिमीहरूसामु राखिएको ठूलो बाधा हो। अनि, यो बाधा र समस्या भएकोले, के यो समाधान गर्नुपर्दैन र? (पर्छ।) यसलाई कसरी समाधान गर्ने त? के यो समाधान गर्न सजिलो हुन्छ त? तैँले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेको छस्, परमेश्वरका धेरै वचनहरू पढेको छस्, अनि धेरै प्रवचनहरू सुनेको छस् र धेरै सत्यताहरू बुझेको छस्। मानौँ तँ परमेश्वरलाई सबैथोक योजनाबद्ध गर्न दिन तयार भइसकेको छस्, चाहे त्यो आशिष् प्राप्त गर्ने होस् वा विषमता भोग्ने होस्। अनि मानौँ, तैँले त्याग गरेको र आफूलाई समर्पित गरेको, मूल्य चुकाएको र जीवनभरको शक्ति समर्पित गरेको बाबजुद, अन्त्यमा तैँले बद्लामा पाउने भनेको परमेश्वरको श्राप वा वञ्चितिकरण मात्र हो। अनि, त्यसपछि पनि, यदि तेरो कुनै गुनासो छैन, तेरा आफ्नै चाहना वा मागहरू छैनन्, तर तँ परमेश्वरप्रति समर्पित हुन र उहाँको योजनाबद्ध कार्यहरूको अधीनमा आफूलाई राख्न मात्र खोज्छस्, र तँलाई परमेश्वरको सार्वभौमिकताबारे अलिकति पनि बुझाइ प्राप्त गर्न र त्यसप्रति अलिकति समर्पित हुन सके तेरो जीवन सार्थक हुन्छ भन्ने लाग्छ भने—यदि तँमा यस्तो सही मनोवृत्ति छ भने, केही कठिनाइहरू उत्पन्न हुँदा, के तिनलाई हल गर्न सजिलो हुँदैन र? … परमेश्वर सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, अनि कुनै पनि सृजित प्राणीको सन्दर्भमा परमेश्वरको स्वभाव कृपा र प्रेम हो, र त्यो प्रताप र क्रोध पनि हो। परमेश्वरले प्रत्येक व्यक्तिसँग व्यवहार गर्नुहुँदा, उहाँको धर्मी स्वभावमा भएका कृपा, प्रेम, प्रताप र क्रोध परिवर्तन हुँदैनन्। परमेश्वरले केही मानिसहरूलाई मात्र कृपा र प्रेम अनि बाँकीलाई प्रताप र क्रोध कहिल्यै देखाउनुहुन्न। परमेश्वरले यस्तो गर्नुहुनेछैन किनभने उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, र उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ। कुनै पनि व्यक्तिका लागि, परमेश्वरको कृपा, प्रेम, प्रताप र क्रोध सबै हुन्छ। उहाँले मानिसहरूलाई अनुग्रह र आशिष् अनि सुरक्षा पनि दिन सक्नुहुन्छ। त्यो सँगसँगै, परमेश्वरले मानिसहरूलाई न्याय र सजाय गर्न, श्राप दिन अनि तिनीहरूलाई दिइएका सबै कुरा लैजान पनि सक्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई सबथोक दिन सक्नुहुन्छ, र तिनीहरूबाट सबथोक लान पनि सक्नुहुन्छ। यो परमेश्वरको स्वभाव हो, र यो उहाँले हरेक व्यक्तिमा गर्न चाहने काम पनि हो। तसर्थ, यदि तँ ‘म परमेश्वरको नजरमा आँखाको नानीजस्तै अमूल्य छु। उहाँ मलाई सजाय दिन र न्याय गर्न बिलकुल अनिच्छुक हुनुहुन्छ, अनि म दुःखी र निराश नहूँ भनेर उहाँ आफूले मलाई दिएका सबै कुरा लानेगरी कठोर हृदयको हुनुहुनेछैन,’ भनेर सोच्छस् भने, के यो गलत सोचाइ होइन र? के यो परमेश्वरबारे धारणा होइन र? (हो।) त्यसैले, यी सत्यता बुझ्नुअघि, के तँ परमेश्वरको अनुग्रह, कृपा र प्रेममा रमाउन मात्र चाहँदैनस् र? तँ परमेश्वरको आफ्नै न्याय र सजाय, साथै एउटा धर्मी, प्रतापी, र क्रोधित स्वभाव पनि छ भन्ने कुरा सधैँ बिर्सिन्छस्। तेरो मुखले परमेश्वर धर्मी हुनुहुन्छ भनेर भने पनि, र उहाँले तँलाई कृपा र प्रेम देखाउनुहुँदा, तैँले उहाँलाई धन्यवाद दिन र प्रशंसा गर्न सके पनि, जब परमेश्वरले तँलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, र उहाँको प्रताप र क्रोध देखाउनुहुन्छ, तब तँ निकै निराश हुन्छस्: ‘यस्तो परमेश्वर नहुनुभएको भए हुन्थ्यो, परमेश्वरले नै यस्तो नगर्नुभएको भए हुन्थ्यो, परमेश्वरले मलाई निशाना नबनाउनुभएको भए हुन्थ्यो, यो परमेश्वरको वास्तविक अभिप्राय नभएको भए हुन्थ्यो, यी कुराहरू मलाई नभई अरूलाई नै गरिएको भए हुन्थ्यो! म दयालु व्यक्ति हुँ र मैले कुनै खराबी गरेको छैनँ, अनि मैले धेरै वर्ष परमेश्वरमा विश्वास गर्ने क्रममा धेरै मूल्यहरू चुकाएको छु, त्यसैले परमेश्वर यस्तो निर्दयी हुनु हुँदैन। मलाई परमेश्वरको कृपा र प्रेम, साथै उहाँको प्रचुर अनुग्रह र आशिष् पाउन हकदार र योग्य मानिनुपर्छ। परमेश्वरले मलाई न्याय वा सजाय गर्नुहुनेछैन, न त उहाँसँग यसो गर्ने हृदय नै छ।’ के यो कामना र गलत सोचाइ मात्र होइन र? (हो।) यो कुन अर्थमा गलत हो? यहाँ गलत के हो भने, तँ आफूलाई सृष्टि गरिएको प्राणी, सृष्टि गरिएको मानवजातिको सदस्य मान्दैनस्। तैँले गलत रूपमा आफूलाई सृष्टि गरिएको मानवजातिदेखि अलग राख्छस्, आफूलाई विशेष समूह वा विशेष प्रकारको सृष्टि गरिएको प्राणी ठान्छस् र आफूलाई विशेष हैसियत दिन्छस्। के यो अहङ्कारी र आत्म-धर्मी हुनु होइन र? के समझहीन हुनु होइन र? के यो साँच्चिकै परमेश्वरप्रति समर्पित हुने व्यक्ति हो? (होइन।) बिलकुलै होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वर सबैप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भन्ने बुझेँ। कसैको कर्तव्य महत्त्वपूर्ण छ वा कसैले आफ्नो कर्तव्यमा विशेष योगदानहरू दिएको छ भन्दैमा उहाँले उसलाई सबै आपत्बाट बचाएर सधैँ सुरक्षा र आशिष् दिनुहुनेछैन। तर म सधैँ विपत् त गैरविश्वासीहरूलाई वा परमेश्वरप्रति इमानदार नहुने र सत्यता नपछ्याउनेहरूलाई मात्र आइलाग्छन् भन्ठान्थेँ। म के विश्वास गर्थेँ भने सिस्टर जेनले मण्डलीमा महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकी र केही नतिजा हासिल गरेकी हुनाले, परमेश्वरले उनलाई गम्भीर रोग र आपत्बाट जोगाउनुपर्ने थियो। यो पूर्ण रूपमा मेरो आफ्नै धारणा र कल्पना थियो र यो सत्यतासँग फिटिक्कै मेल खाँदैनथ्यो। परमेश्वरको सार धर्मी छ। परमेश्वरले मानिसहरूलाई आशिष् दिनुभए पनि वा आपत् भोग्न दिनुभए पनि, उहाँ सधैँ धर्मी हुनुहुन्छ। परमेश्वरले कुनै गल्ती गर्नुहुन्न। एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा भनेको स्वीकार गर्नु र समर्पित हुनु हो। हामीमा हुनुपर्ने समझ यही हो। मैले एउटी सिस्टरको बारेमा सोचेँ जो सधैँ अगुवा थिइन्, र केही महत्त्वपूर्ण कामहरूमा जिम्मेवार थिइन्। पछि, उनलाई गम्भीर उच्च रक्तचाप र अन्य रोगहरू लाग्यो, जसले जीवनलाई नै जोखिममा पार्यो। उनलाई कमजोर महसुस भए पनि, उनले पाठ सिक्नका लागि सत्यताको खोजी गर्नमा ध्यान केन्द्रित गरिन् र समर्पित हुन सकिन्। यो अनुभवपछि, उनले आफ्नै भ्रष्ट स्वभाव र परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरिन्, र आफ्नो अनुभवात्मक बुझाइबारे एउटा लेखसमेत लेखिन्। उनीभित्रका भ्रष्टता र अशुद्धताहरूलाई शुद्ध पार्नका लागि परमेश्वरले उनलाई रोगहरू लाग्न दिनुभयो; यो परमेश्वरले उनलाई मुक्ति दिनुभएको र सिद्ध पार्नुभएको थियो, र यो उहाँको कामको बुद्धि थियो। अनि अय्यूबको पनि कुरा आउँछ। उनी परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस थिए। परमेश्वरले शैतानलाई उनको परीक्षा गर्न दिनुभयो: उनका सम्पत्तिहरू खोसिए, उनका छोराछोरीहरू मारिए, र उनको आफ्नै शरीर खटिराले भरिएको थियो। उनको शरीरले ठूलो कष्ट भोग्यो, तर उनले परमेश्वरलाई त्यागेनन् वा उहाँलाई चिढ्याउने एउटै शब्द बोलेनन्, र उनले परमेश्वरलाई जोरदार गवाही दिए। बाहिरबाट हेर्दा, परमेश्वरले शैतानलाई अय्यूबको परीक्षा गर्न दिनु र उनलाई त्यति धेरै कष्ट भोग्न लगाउनु हाम्रो धारणाविपरीत भएको देखिन्छ। तर परमेश्वरले यी कुराहरू प्रयोग गरेर अय्यूबलाई शैतानको अगाडि उहाँका निम्ति जोरदार गवाही दिन लगाउनुभयो, र अय्यूबको विश्वास सिद्ध पारियो। परमेश्वरले जे गर्नुभए पनि, त्यो असल हुन्छ। मानिसहरूले आपत् सामना गर्दैमा त्यो नराम्रो नै हुन्छ भन्ने छैन। यदि मानिसहरूले परमेश्वरको अभिप्राय खोज्न र पाठ सिक्न, सत्यता बुझ्न, र शुद्ध हुन सके भने, त्यो नराम्रो कुरा राम्रो कुरा बन्छ। मलाई पहिले के लाग्थ्यो भने सबै कुरा सुरक्षित हुनु र राम्ररी चल्नु राम्रो कुरा हो, जबकि प्रकोप र आपत्हरू नराम्रा कुरा हुन्। अहिले म मेरो यो दृष्टिकोण विकृत थियो भनेर देख्छु। परमेश्वरका आखिरी दिनहरूको काम न्याय र शुद्धीकरणको काम हो। उहाँले हाम्रा धारणाहरूसँग नमिल्ने अनेक किसिमका घटनाहरू प्रयोग गरेर हाम्रो जाँच र शोधन गर्नुहुन्छ, हाम्रा भ्रष्ट स्वभावहरू र हाम्रा अभिप्रायहरूमा भएका अशुद्धताहरू प्रकट गर्नुहुन्छ, ताकि हामीले आत्मचिन्तन गर्न र आफूलाई चिन्न, सत्यता खोज्न, सत्यता अभ्यास गर्न, र परमेश्वरको मुक्ति प्राप्त गर्नका लागि हाम्रा भ्रष्ट स्वभावहरू फाल्न सकौँ। तर मैले परमेश्वरको काम बुझेकी थिइनँ। मेरो विश्वासमा, म कामकुरा सुरक्षित होऊन्, सहज रूपमा अघि बढून्, र परमेश्वरको अनुग्रहको आनन्द लिन पाइयोस् भन्ने पछ्याइमा मात्र लागेँ। म परीक्षाहरू वा आपत्हरू सामना गर्न चाहन्नथेँ। मैले यस तरिकाले जतिसुकै वर्ष परमेश्वरको काम अनुभव गरे पनि, मैले कहिल्यै शुद्धीकरण वा परिवर्तन हासिल गर्नेथिइनँ। अब, मैले बुझेँ कि सिस्टर जेनको गम्भीर रोगका पछाडि पक्कै पनि परमेश्वरको अभिप्राय हुनुपर्छ, र उनले सिक्नुपर्ने पाठहरू हुनुपर्छ। यदि म यस मामिलाबारे छर्लङ्ग हुन सकिनँ भने, मैले मानिसको दृष्टिकोणबाट यसको विश्लेषण र अध्ययन गर्न खोज्नु हुँदैन। मैले सत्यता र परमेश्वरको अभिप्राय खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले हातमा भएको कर्तव्यमा ढिलाइ गर्नु हुँदैन। ममा हुनुपर्ने समझ यही हो।
पछि, मैले मनन गरेँ, “सिस्टर जेन बिरामी परेपछि म किन लगातार यति धेरै दिक्दार भएँ? यो दिक्दारीको मूल कारण के थियो?” खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरको परिवारमा, दाजुभाइ-दिदीबहिनीहरूमाझ तेरो हैसियत वा प्रतिष्ठा जति नै उच्च भए पनि वा तेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अनि तेरो प्रतिभा र योगदान जति नै ठूलो भए पनि वा तैँले परमेश्वरमा जति नै लामो समयदेखि विश्वास गरेको भए पनि, परमेश्वरको नजरमा तँ एक सृजित प्राणी मात्र होस्; तेरो हैसियत जतिसुकै उच्च भए पनि, तँ एक सामान्य सृजित प्राणी नै होस्। तैँले आफूलाई दिएका उच्च उपाधि र संज्ञाहरू वस्तुपरक वा व्यावहारिक छैनन्; ती अस्तित्वमा छैनन्। यदि तँ सधैँ यी कुरालाई मुकुट वा विशेष समूहको हुन वा विशेष व्यक्ति बन्न सक्षम पार्ने पूँजी ठान्छस् भने, तैँले यसो गरेर परमेश्वरको दृष्टिकोणको प्रतिरोध र विरोध गर्छस्, र तँ परमेश्वरसँग अमिल्दो हुन्छस्। अनि यसको परिणाम के हुनेछ? के यसले तँलाई सृजित प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्यको प्रतिरोध गर्न लगाउनेछ? परमेश्वरको दृष्टिमा तँ सुरुदेखि नै एक सृजित प्राणी होस्, तर तँ आफूलाई त्यस्तो ठान्दैनस्। के तँ साँच्चै यस्तो मनस्थितिले परमेश्वरप्रति समर्पित हुन सक्छस् त? तँ सधैँ यस्तो कामना गर्दै सोच्छस्, ‘परमेश्वरले मलाई यस्तो व्यवहार गर्नु हुँदैन, उहाँले मलाई कहिल्यै त्यस्तो व्यवहार गर्न सक्नुहुन्न।’ के यसले परमेश्वरसँग द्वन्द्व गराउँदैन र? अनि, जब परमेश्वरले तेरो धारणा, मानसिकता, र आवश्यकताविपरीत कार्य गर्नुहुन्छ, तब तँ मनमा के सोच्नेछस्? परमेश्वरले तेरो लागि खडा गर्नुभएका वातावरणहरूलाई तैँले कसरी सामना गर्नेछस्? के तँ समर्पित हुनेछस्? (हुनेछैनँ।) तँ समर्पित हुनेछैनस्, निश्चित रूपमा प्रतिरोध, विरोध, गनगन र गुनासो गर्नेछस्, हृदयमा यसबारे बारम्बार अल्झिरहनेछस्, र यस्तो सोच्नेछस्, ‘परमेश्वर साँच्चिकै मलाई सुरक्षा दिने र अनग्रही व्यवहार गर्ने गर्नुहुन्थ्यो। किन अहिले उहाँ परिवर्तन हुनुभएको हो? म अब त म जिउनै सक्दिनँ!’ त्यसैले तँ झगडालु र अभद्र बन्न थाल्छस्। घरमा, यदि तैँले आफ्ना आमाबुबाप्रति सन्काहा व्यवहार गरिस् भने, त्यो क्षम्य हुनेथियो; तेरा आमाबुबाले तँलाई केही गर्नेथिएनन्। तर परमेश्वरको घरमा यो स्वीकार्य छैन, किनभने तैँले जे गरिरहेको छस् त्यसले मण्डलीको काममा बाधा पुऱ्याइरहेको छ। परमेश्वरको घरमा तँ यति सन्काहा हुनु र तैँले यसरी उपद्रो गर्नु पूर्ण रूपमा विवेक र समझविहीन हुनु हो। परमेश्वरका चुनिएका मानिसहरूले समेत तैँले यसो गरेको हेर्न सक्दैनन्, त्यसोभए के तँलाई परमेश्वरले यस्तो व्यवहार सहनुहुन्छ भन्ने लाग्छ? के उहाँले तँलाई उहाँप्रति यसो गर्न छुट दिनुहुनेछ? अहँ, दिनुहुनेछैन। उहाँले किन दिनुहुनेछैन? परमेश्वर तेरा आमाबुबा हुनुहुन्न; उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र सृष्टिकर्ताले एक सृजित प्राणीलाई आफ्नो सामु सन्काहा र अविवेकी हुन, वा रिसले कराउन कहिल्यै छुट दिनुहुनेछैन। जब परमेश्वरले तँलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, जब उहाँले तेरो जाँच गर्नुहुन्छ वा तँबाट कुराहरू लानुहुन्छ, र जब उहाँले तँलाई सङ्कष्टमा राख्नुहुन्छ, तब उहाँ सृष्टिकर्ताप्रति एक सृजित प्राणीको मनोवृत्ति हेर्न चाहनुहुन्छ, उहाँ एक सृजित प्राणीले कस्तो प्रकारको मार्ग छनौट गर्छ भनी हेर्न चाहनुहुन्छ, र उहाँले तँलाई सन्काहा हुन वा कुतर्क गर्न कहिल्यै छुट दिनुहुनेछैन। यी कुराहरू बुझेपछि, के मानिसहरूले सृष्टिकर्ताले गर्नुहुने सबै कुरासँग कसरी व्यवहार गर्नुपर्छ भनी सोच्नु पर्दैन र? सबैभन्दा पहिले, मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो उचित स्थान सम्हाल्नुपर्छ र सृजित प्राणीका रूपमा आफ्नो पहिचान निश्चित गर्नुपर्छ। के तैँले आफू सृजित प्राणी भएको भनी निश्चित गर्न सक्छस्? यदि तैँले त्यो निश्चित गर्न सक्छस् भने, तैँले सृजित प्राणीका रूपमा आफ्नो उचित स्थान सम्हाल्नुपर्छ र सृष्टिकर्ताका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र तैँले थोरै दुःख भोगे पनि, तैँले कुनै गुनासो गर्नु हुँदैन। यसको अर्थ तँ समझ भएको व्यक्ति होस् भन्ने हुन्छ। यदि तँ आफूलाई सृजित प्राणी ठान्दैनस्, तर तेरो शिरमा उपाधि र प्रभामण्डल छ, र तँ परमेश्वरको घरमा हैसियत भएको व्यक्ति, एक महान् अगुवा, कमान्डर, सम्पादक, वा चलचित्र निर्देशक होस्, र तँ परमेश्वरको घरको काममा महत्त्वपूर्ण योगदान दिएको व्यक्ति होस् भन्ने ठान्छस् भने—यदि तँ त्यस्तै सोच्छस् भने, तँ सबैभन्दा समझविहीन, र अत्यन्तै निर्लज्ज व्यक्ति होस्। के तिमीहरू हैसियत, स्थान, र मूल्य भएका मानिस हौ? (होइनौँ।) त्यसोभए तिमीहरू के हौ? (हामी सृजित प्राणी हौँ।) ठीक भन्यौ, तिमीहरू केवल साधारण सृजित प्राणी हौ। मानिसहरूमाझ, तैँले आफ्ना योग्यताहरू प्रदर्शन गर्न, वरिष्ठताको फाइदा उठाउन, आफ्ना योगदानहरूको घमण्ड गर्न, वा आफ्ना साहसपूर्ण कार्यहरूको शान देखाउन सक्छस्। तर परमेश्वरका अगाडि, यी कुराहरू उहाँका लागि पूर्ण रूपमा मूल्यहीन र घिनलाग्दा हुन्छन्। यदि तैँले आत्मचिन्तन गर्न सकिनस् र अझै पनि घमण्ड गरिस्, धाक लगाइस्, र आफ्नो वरिष्ठता प्रदर्शन गरिस् भने, कुराहरू बिग्रनेछन्। परमेश्वरले तँलाई पूर्ण रूपमा समझविहीन र चरम रूपमा अहङ्कारी ठान्नुहुनेछ। उहाँले तँलाई घृणा गर्नुहुनेछ र तँलाई देखेर घिन मान्नुहुनेछ, र तँलाई पन्छाउनुहुनेछ, अनि त्यसपछि तँ समस्यामा पर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। “ख्रीष्टविरोधीहरूको समझ त्रुटिपूर्ण हुन्छ। सत्यतामा जेजसरी सङ्गति गरिए पनि, र यसलाई जति नै स्पष्ट रूपमा सङ्गति गरिए पनि, तिनीहरू अझै पनि परमेश्वरका अभिप्रायहरू के हुन् वा परमेश्वरमा विश्वास गर्नुको उद्देश्य के हो, र मानिसहरूले अपनाउनुपर्ने सही मार्ग कुन हो भनेर बुझ्दैनन्। त्यस्ता मानिसहरूले आफ्नो दुष्ट स्वभावको कारण, आफ्नो दुष्ट प्रकृतिको कारण, र आफ्नो प्रकृति सारको कारण, भित्री रूपमा सत्यता के हो र सकारात्मक कुराहरू के हुन्, सही के हो र गलत के हो भनेर छुट्याउन सक्दैनन्। तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई सत्यता, जीवनको एकमात्र उद्देश्य, र सबैभन्दा न्यायवान् उद्यम मान्दै दह्रिलो गरी पक्रिराख्छन्। तिनीहरूलाई यदि व्यक्तिको स्वभाव परिवर्तन भएन भने ऊ सधैँ परमेश्वरको शत्रु हुनेछ भन्ने सत्यता थाहा हुँदैन, र परमेश्वर त्यस व्यक्तिलाई कुन आशिष् दिनुहुन्छ र उसलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा उसको क्षमता, वरदान, प्रतिभा वा पुँजीमा आधारित हुँदैन, बरु ऊ कति धेरै सत्यता अभ्यास गर्छ र कति धेरै सत्यता प्राप्त गर्छ, र ऊ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भन्ने कुरामा आधारित हुन्छ भन्ने कुरा पनि थाहा हुँदैन। यी भनेका ख्रीष्टविरोधीहरूले कहिल्यै नबुझ्ने सत्यता हुन्। ख्रीष्टविरोधीहरू यस्तो कुरा कहिल्यै देख्दैनन्, र तिनीहरू सबैभन्दा बढी मूर्ख यहीँनेर हुन्छन्। सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूमा आफ्नो कर्तव्यप्रति मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू के विश्वास गर्छन् भने, कर्तव्य निर्वाह गर्नु भनेको लेनदेन हो, र जसले आफूलाई कर्तव्यमा सबैभन्दा बढी समर्पित गर्छ, जसले परमेश्वरको घरमा सबैभन्दा बढी योगदान दिन्छ र जसले परमेश्वरको घरमा सबैभन्दा धेरै वर्षसम्म सहेर बस्छ, उसैसँग अन्त्यमा आशिष् र मुकुट पाउने बढी मौका हुन्छ। ख्रीष्टविरोधीहरूको तर्क यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने ख्रीष्टविरोधीहरूले आशिष् प्राप्त गर्नुलाई आफ्नो पछ्याइको लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नो विश्वासमा सत्यता पछ्याउँदैनन्; तिनीहरू केवल आशिष् प्राप्त गर्न चाहन्छन्। तिनीहरू के ठान्छन् भने जबसम्म तिनीहरूले परमेश्वरको घरमा महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्छन् र केही योगदान दिन्छन्, तिनीहरू परमेश्वरबाट ठूला आशिष्हरू पाउन योग्य हुन्छन्। मैले के महसुस गरेँ भने मेरो पछ्याइपछाडिको दृष्टिकोण पनि ख्रीष्टविरोधीको जस्तै थियो। म विश्वास गर्थेँ कि जबसम्म मैले महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकी हुन्छु, कष्ट सहन, मूल्य चुकाउन, आफ्नो कर्तव्यमा केही नतिजा हासिल गर्न, र असल कार्यहरू पर्याप्त मात्रामा तयार गर्न सक्छु, तब मेरो योगदान जति ठूलो छ, परमेश्वरले मलाई उति नै धेरै आशिष् दिनुहुनेछ, र म मुक्ति पाउन सक्षम हुनेछु। यसपटक जब सिस्टर जेन बिरामी परिन्, र मैले उनको अवस्था बिग्रिएर ज्यानै जाने स्थितिमा पुगेको देखेँ, तब मैले परमेश्वरलाई गलत बुझेँ, र उनलाई सुरक्षा नदिइएकोमा परमेश्वरबारे गुनासो गरेँ। मलाई म पनि सिस्टर जेन जस्तै अचानक गम्भीर बिरामी पर्न वा कुनै दुर्भाग्यमा पर्न सक्छु, र अन्ततः मुक्तिको सबै आशा गुम्न सक्छ भन्ने चिन्ता थियो। यसले मलाई एकदमै दिक्दार बनायो, र कर्तव्य पूरा गर्ने मेरो सबै जोस हरायो। मेरा यी अभिव्यक्तिहरू परमेश्वरसँग बाझिरहेका र उहाँको सार्वभौमिकता र बन्दोबस्तको विरोध गरिरहेका थिए। ममा साँच्चै समझको कमी थियो! हामी त साधारण सिर्जित प्राणी मात्र हौँ, र हामीले मण्डलीमा जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, परमेश्वरको नजरमा हामी सबैलाई समान व्यवहार गरिन्छ। तर मैले आफूलाई धेरै उच्च ठानेँ र म आफ्नो उचित स्थानमा उभिनँ। मलाई सधैँ म महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेको छु भन्ने लाग्थ्यो, त्यसैले मैले यसलाई परमेश्वरबाट अनुग्रह र आशिष् माग्न पूँजीको रूपमा प्रयोग गर्थेँ, र उहाँले मलाई प्रकोप र आपत्हरूबाट जोगाउनुपर्छ भनी माग गर्थेँ। ममा साँच्चै समझ छँदै थिएन! मैले जीवन स्वभावमा परिवर्तन ल्याउनका लागि सत्यता पछ्याउने नभई इनाम र आशिष् प्राप्त गर्ने उद्देश्यले परमेश्वरमा विश्वास गरेकी र कर्तव्य निर्वाह गरेकी थिएँ। के म अनुग्रहको युगको पावलकै प्रकृतिको थिइनँ र? परमेश्वरमाथिको विश्वासमा पावलमा सच्चाइको कमी थियो; तिनको काम र समर्पण तिनका आफ्नै अनर्गल चाहनाहरूले भरिएका थिए। तिनी प्रायः आफूलाई उच्च पार्थे र अरूको अगाडि आफ्ना उपलब्धिहरूको देखावट गर्थे, प्रभुका यति धेरै काम गरेको छु र यति धेरै फल फलाएको छु भनी घमण्ड गर्थे। तिनले यी कुरालाई परमेश्वरबाट इनाम र मुकुटको माग गर्न पूँजीका रूपमा प्रयोग गरे, यहाँसम्म कि तिनले यस्ता निर्लज्ज शब्दहरू समेत बोले, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। तिनले परमेश्वरको स्वभावलाई चिढ्याए र परमेश्वरको दण्ड भोगे। म हिँडिरहेको मार्ग पावलको मार्ग थियो। यदि मैले चाँडै कामकुरालाई सुधारेकी र कर्तव्य निर्वाहमा आफ्ना अभिप्रायहरू सच्याएकी थिइनँ, बरु निरन्तर आशिष्हरू पछ्याएकी थिएँ भने, म पनि पावलजस्तै परमेश्वरद्वारा हटाइनेथिएँ, र मैले मुक्ति पाउने मौका गुमाउनेथिएँ।
पछि, मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ, र परमेश्वरले कस्तो व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ र निगाह देखाउनुहुन्छ भन्नेबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गर्नका निम्ति, तैँले परमेश्वरमा कति वर्षदेखि विश्वास गरेको छस्, तैँले कति वटा कर्तव्यहरू निर्वाह गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति र व्यक्तिका कार्यहरूको पछाडिका सिद्धान्तहरू, दिशा, मूल र उत्प्रेरणालाई हेर्नुहुन्छ। परमेश्वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “मानिस परमेश्वरका निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, त्यो परमेश्वरलाई मन पर्नु त्यति नै स्वाभाविक र सही हुन्छ भन्ने सोच्छन्। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र ऊ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य सक्रिय रूपमा पूरा गर्ने प्रयास गर्दैन। परमेश्वरका लागि, मानिसहरूले परमेश्वरप्रति साँचो प्रेम र परमेश्वरप्रति पूर्ण समर्पण गर्न जति बढी पछ्याउँछन्, अर्थात्, तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न जति खोज्छन्, तिनीहरू त्यति नै बढी परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र हैसियतलाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस सृजित प्राणी हो, त्यसकारण मानिसले परमेश्वरबाट कुनै पनि माग गरेर सीमा नाघ्नु हुँदैन, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्ने कुराअनुसार गरियो, र तिनीहरूका योगदानको अधिकताअनुसार गरिएन; तिनीहरूको गन्तव्य तिनीहरूले सुरुदेखि नै पछ्याएको कुराअनुसार निर्धारित भयो, तिनीहरूले कति काम गरे, वा अरू मानिसहरूले तिनीहरूको आँकलन कसरी गरे भन्ने कुराअनुसार निर्धारित भएन। त्यसकारण, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्न खोज्नु नै सफलताको मार्ग हो; परमेश्वरप्रतिको साँचो प्रेम पछ्याउने मार्ग नै सबैभन्दा सही मार्ग हो; आफ्नो पुरानो स्वभाव परिवर्तन गर्न र परमेश्वरप्रतिको चोखो प्रेम पछ्याउनु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै सृजित प्राणीको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्मै परमेश्वरको सम्पूर्ण कामको उद्देश्य पनि यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचनहरू योभन्दा स्पष्ट हुन सक्दैनथे। परमेश्वरको घरमा, कुनै ठूलो, सानो, उच्च वा नीच कर्तव्य भन्ने हुँदैन। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले कस्तो कर्तव्य निर्वाह गर्छ वा उसले योगदानहरू दिएको वा उपलब्धिहरू हासिल गरेको छ कि छैन भन्ने कुरामा निर्भर हुँदैन। महत्त्वपूर्ण कुरा त उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र उसले जीवन स्वभावमा परिवर्तन हासिल गर्छ कि गर्दैन भन्ने हो। यो अत्यन्तै महत्त्वपूर्ण छ। मैले मण्डलीमा प्रकट भएका ती ख्रीष्टविरोधीहरूलाई सम्झेँ। तिनीहरूमध्ये धेरैजसो अगुवा र कामदार बनिसकेका थिए जसले विगतमा आफ्ना कर्तव्यमा धेरै त्याग र समर्पण गरेका थिए। यद्यपि, तिनीहरू गलत मार्गमा हिँडिरहेका थिए। तिनीहरूले आफ्नो कर्तव्यमा सत्यता सिद्धान्तहरू खोजेनन् र जथाभावी रूपमा काम गरे, जसले परमेश्वरको घरको काममा गम्भीर अवरोध र बाधा पुर्यायो। तिनीहरूसँग जति नै सङ्गति गरे पनि तिनीहरूले पश्चात्ताप गर्न मानेनन् र अन्ततः तिनीहरूलाई प्रकट गरियो र हटाइयो। अर्कोतर्फ, कोही यस्ता हुन्छन् जसले मण्डलीमा मामुली कर्तव्यहरू निर्वाह गर्छन्, तर तिनीहरू सत्यता पछ्याउनमा र आफ्नो जीवन प्रवेशमा ध्यान केन्द्रित गर्छन्। तिनीहरू कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोज्छन्, र तिनीहरूले जति धेरै कर्तव्य निर्वाह गर्छन्, त्यति नै राम्रो गर्दै जान्छन्। यस्ता मानिसहरूसँग मुक्ति पाउने आशा हुन्छ। यसबाट, मैले के देखेँ भने परमेश्वरले कुनै व्यक्तिको परिणाम र गन्तव्य उसले निर्वाह गर्ने कर्तव्य वा उसको योगदानको परिमाणको आधारमा निर्धारण गर्नुहुन्न। परमेश्वरले त कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन र उसको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरालाई महत्त्व दिनुहुन्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मैले परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुरालाई हेर्नुपर्छ, पत्रुसको मार्ग पछ्याउनुपर्छ, आफ्नो जीवन स्वभावमा परिवर्तन ल्याउन सत्यता पछ्याउनुपर्छ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। मैले पछ्याउनुपर्ने कुरा यही हो।
पछि, मैले मनन गरेँ, “जब ममाथि परीक्षा आइपर्छ, तब परमेश्वरका अभिप्रायहरूसँग मिल्नका लागि ममा कस्तो मनोवृत्ति हुनुपर्छ?” त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु परमेश्वरको हरेक अनुयायीले सामना गर्ने सबैभन्दा आधारभूत पाठ हो। यो सबैभन्दा गहन पाठ पनि हो। तँ जुन हदसम्म परमेश्वरमा समर्पित हुन सक्छस्, तेरो कद त्यति ठूलो हुन्छ, र तेरो आस्था त्यति ठूलो हुन्छ—यी कुराहरू सुसङ्गत छन्। … पत्रुसले अत्यन्तै धेरै परीक्षा र शोधनहरू पार गरे। उनले आफ्ना सबै व्यक्तिगत माग, योजना र चाहनाहरूलाई त्यागे, र परमेश्वरले कुनै कुरा गर्नुपर्छ भनी माग गरेनन्। उनीसँग आफ्नै सोचहरू थिएनन्, र उनले आफूलाई पूर्ण रूपमा सुम्पे। उनले यसो सोचे: ‘परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। उहाँले मेरो परीक्षा लिन सक्नुहुन्छ, मलाई ताडना दिन सक्नुहुन्छ, र मलाई न्याय गर्न वा सजाय दिन सक्नुहुन्छ। उहाँले मलाई काटछाँट गर्न वा खार्न परिस्थितिहरू सिर्जना गर्न सक्नुहुन्छ, मलाई सिंहको ओडार वा ब्वाँसोको गुफामा हालिदिन सक्नुहुन्छ। परमेश्वरले जे गर्नुहुन्छ, त्यो सही हुन्छ, र म त्यसमा समर्पित हुनेछु। परमेश्वरले गर्नुहुने सबथोक सत्यता हो। मसित कुनै पनि गुनासा वा रोजाइहरू हुनेछैनन्।’ के यो पूर्ण समर्पण होइन र? कहिलेकाहीँ मानिसहरू सोच्छन्: ‘मानिसहरू सबैले परमेश्वरले गर्ने सबै कुरा सत्यता हो भनेर भन्छन्, तर परमेश्वरले गर्नुभएको यो कुरामा मैले किन कुनै सत्यता पत्ता लगाएको छैन? कहिलेकाहीँ त परमेश्वर पनि गलत हुनुहुन्छ जस्तो देखिन्छ। तर जे भए पनि, परमेश्वर सत्यता व्यक्त गर्न सक्नुहुन्छ भन्ने कुराले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने देखाउँछ, त्यसैले म समर्पित हुनेछु!’ के यस्तो प्रकारको समर्पणता सच्चा हुन्छ? (हुँदैन।) यो समर्पित भएको दाबी मात्रै हो। यो छानीछानी गरिएको समर्पणता हो; यो सच्चा समर्पणता होइन। … परमेश्वरमा विश्वास गर्दा, तँ सृजित प्राणीको स्थानमा दृढ रहनुपर्छ। चाहे जहिलेसुकै होस्, परमेश्वर तँबाट लुक्नुभएको भए पनि वा तेरोसामु देखा पर्नुभएको भए पनि, तैँले परमेश्वरको प्रेम महसुस गर्न सके पनि वा नसके पनि, तैँले तेरा जिम्मेवारी, दायित्व, र कर्तव्यहरू के हुन् भनेर थाहा पाउनैपर्छ—तैँले अभ्यासबारे यी सत्यताहरू बुझ्नैपर्छ। यदि तँ अझै पनि तेरा धारणाहरूमा अडिएर ‘यदि मैले यो मामला सत्यता र मेरा सोचाइअनुरूप छ भनेर प्रस्ट रूपले देख्न सकेँ भने, म समर्पित हुनेछु; यदि मैले यो प्रस्ट देखिनँ र यी परमेश्वरका कार्यहरू हुन् भनेर पुष्टि गर्न सकिनँ भने, म केही समय पर्खनेछु, अनि यो परमेश्वरले नै गर्नुभएको हो भनेर निश्चित भएपछि म समर्पित हुनेछु’ भनेर भन्छस् भने, के यो परमेश्वरमा समर्पित हुनु हो र? होइन। यो सशर्त समर्पण हो, निरपेक्ष र पूर्ण समर्पण होइन। परमेश्वरको कुनै पनि काम मानव धारणा र कल्पनाहरूअनुरूप हुँदैन; देहधारण र विशेषगरी न्याय र सजाय मानव धारणा र कल्पनाहरूअनुरूप हुँदैन। अधिकांश मानिसहरू त्यसलाई स्विकार्न र त्यसमा समर्पित हुन साँच्चै सङ्घर्ष गर्छन्। यदि तँ परमेश्वरको काममा समर्पित हुन सक्दैनस् भने, के तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छस्? त्यो सम्भव छँदै छैन। सृजित प्राणीको कर्तव्य के हो? (सृजित प्राणीको स्थानमा उभिने, परमेश्वरको आज्ञा स्विकार्ने र परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुने।) ठिक भनिस्, त्यसको मूल त्यही हो। त्यसोभए के यो समस्यालाई सम्बोधन गर्न सजिलो छैन र? सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ता अर्थात् तेरो परमेश्वरमा समर्पित हुनु—हरेक सृजित प्राणीले सबैभन्दा बढी कायम राख्नुपर्ने कुरा यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। परमेश्वरका वचनहरूले अभ्यासको मार्ग औँल्याए: हामीमाथि जस्तोसुकै आपत् वा परीक्षा आइपरे पनि, हामीले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ र उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ। पत्रुसले परीक्षाहरू अनुभव गर्दा, परमेश्वरले जस्तोसुकै वातावरण खडा गर्नुभएको भए पनि वा तिनले जस्तोसुकै कष्ट र शोधन सहेको भए पनि, तिनले कहिल्यै आफ्नै हितलाई ख्याल गरेनन् र परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने र प्रेम गर्ने भन्ने कुरामा मात्र ध्यान केन्द्रित गरे। तिनले परमेश्वरका लागि आफ्नो जीवनसमेत दिए। पत्रुसको अभ्यासलाई परमेश्वरले याद गर्नुभयो, र तिनले परमेश्वरको अनुमोदन प्राप्त गरे। यसको विपरीत, जब मैले सिस्टर जेन अति गम्भीर रूपमा बिरामी परेको देखेँ, तब मेरो हृदय परमेश्वरप्रतिको गुनासो र प्रतिरोधले भरियो। म आफूले पनि आपत् सामना गर्नुपर्ने हो कि भनेर डराएँ, र मलाई मृत्युको झन् बढी डर लाग्यो। मैले परमेश्वरमाथि विश्वास राखेकी थिइनँ; मैले समर्पण त झनै देखाइनँ। मैले ‘मेरो विलम्बित गवाही’ भन्ने चलचित्र सम्झेँ। जब मुख्य पात्र झाउ सियाङमिङलाई पहिलो पटक पुलिसद्वारा पक्राउ गरियो र क्रूर यातना दिइयो, तब तिनले मृत्युको डरले आफू विश्वासी भएको कुरा इन्कार गरे। त्यसपछि, तिनले परमेश्वरका वचनहरूमार्फत आत्मचिन्तन गरे र आफूलाई चिने, तिनले पछुतो र आत्मग्लानि महसुस गरे, र दियाबलसको अगाडि परमेश्वरलाई इन्कार गर्ने गरी कमजोर भएकोमा आफैलाई घृणा गरे। त्यसपछिका दश वर्षमा, तिनले आफूलाई सत्यताले सुसज्जित पार्नमा ध्यान केन्द्रित गरे। तिनले परमेश्वरका परीक्षाहरूको अर्थ र मानिसप्रति उहाँका मागहरू बुझे। तिनले जीवन र मृत्युलाई पनि छर्लङ्ग देखे र तिनी आफ्नो जीवन परमेश्वरलाई सुम्पेर परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार भए। तिनले केवल एकदिन परमेश्वरलाई गवाही दिने मौकाको आशा गरे। परमेश्वरले तिनका प्रार्थनाहरू सुन्नुभयो, र पछि तिनलाई ठूलो रातो अजिङ्गरले फेरि पक्राउ गर्यो। यस पटक, तिनी डराएनन् वा भयभीत भएनन्, न त तिनी मृत्युद्वारा बाँधिए। बरु, तिनले पुलिसको अगाडि ठूलो रातो अजिङ्गरको दुष्ट सारको खुलासा गरे, र अन्ततः शैतानलाई लज्जित पारे। जब तिनी जेलबाट बाहिर निस्के, तिनको अनुहारमा हर्षित मुस्कान थियो। मलाई लाग्छ तिनले पक्कै पनि यो सोचेको हुनुपर्छ कि एकपटक परमेश्वरमा समर्पित हुन आफ्नो ज्यान जोखिममा पार्न सक्नु नै तिनले आफ्नो जीवनमा गरेको सबैभन्दा बहुमूल्य र अर्थपूर्ण काम थियो। मैले अहिलेसम्म परमेश्वरबाट परीक्षाको सामना नगरेकी भए पनि, मैले ब्रदर झाउबाट सिक्नुपर्छ। आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, मैले आफूलाई सत्यताले सुसज्जित पार्न र मेरो कद तयार पार्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यदि एकदिन मलाई परमेश्वरबाट परीक्षा आइपर्यो भने, म ब्रदर झाउले जस्तै परमेश्वरलाई आफ्नो सर्वस्व सुम्पन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, परमेश्वरलाई गवाही दिन र उहाँको हृदयलाई सान्त्वना दिन सकूँ भन्ने आशा गर्छु।
केही समयपछि, हामीले सिस्टर जेनबाट एउटा चिठी पायौँ। उनले घर फर्किएपछिका आफ्ना अनुभवहरू र बिरामी पर्दाको यो अनुभवबाट आफूले प्राप्त गरेका उपलब्धिहरूबारे कुरा गरिन्। उनले आफ्नो अवस्थामा केही सुधार आएको, अहिले आफूले सक्ने जति केही कर्तव्यहरू निर्वाह गरिरहेको, र भविष्यमा उनको रोग निको होस् वा नहोस्, उनी परमेश्वरमा भर परेर यसलाई अनुभव गर्न र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक रहेको बताइन्। मेरी सिस्टरले बिरामी हुँदा यसलाई सकारात्मक रूपमा स्वीकार गर्न र पाठ सिक्न सकेको देख्दा, मैले साँच्चै के महसुस गरेँ भने, चाहे जेसुकै भएको होस्, त्यसका पछाडि परमेश्वरका असल अभिप्रायहरू हुन्छन्। परमेश्वरले यो रोगलाई सिस्टर जेनलाई सिद्ध पार्न र मलाई पनि यसबाट पाठ सिक्न दिनका लागि प्रयोग गरिरहनुभएको थियो। परमेश्वरलाई धन्यवाद!