५३. तीन पटक पक्राउ परेर सिकेका पाठहरू

आन शिया, चीन

मे २०११ मा, आमाले मलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। परमेश्वरका वचनहरू पढेपछि, मैले के जानेँ भने स्वर्ग र पृथ्वी अनि यावत् थोक परमेश्वरले सृष्टि गर्नुभएको हो, मानवजाति पनि परमेश्वरले नै बनाउनुभएको हो, र मानिसहरूले परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। केही समय अनुसन्धान गरेपछि, मैले सर्वशक्तिमान्‌ परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्राउ गर्ने र सताउने भएकाले, मेरा बुबा, हजुरबुबा र हजुरआमाले आफूहरूलाई पनि मुछिने डरले मेरी आमाको आस्थाको सधैँ विरोध गर्नुहुन्थ्यो र उहाँलाई सताउनुहुन्थ्यो, त्यसैले मैले परमेश्वरमाथिको आफ्नो विश्वासबारे परिवारलाई थाहा दिने आँट गरिनँ।

सन् २०१२ को अन्त्यतिर, सुसमाचार प्रचार गरेको कारण म पक्राउ परेँ; त्यतिबेला म १९ वर्षकी थिएँ। प्रहरीले मेरो आस्थाको कुनै प्रमाण नभेट्टाए पनि, तिनीहरूले मलाई ३२ घण्टासम्म गैरकानुनी रूपमा थुनामा राखे। मेरो परिवारले भनसुन गरेपछि मात्र म रिहा भएँ। मलाई लिन मेरा हजुरबुबा र काका आउनुभयो। बाटोमा काकाले भन्नुभयो, “तेरा हजुरबुबा र हजुरआमाले तँलाई हुर्काउन धेरै दुःख गर्नुभयो, र यो बुढेसकालमा पनि उहाँहरूले सधैँ तेरो चिन्ता गरिरहनुपर्छ। तँ पक्राउ परेको खबर सुन्नेबित्तिकै, तेरी हजुरआमा पिरले गर्दा सुत्न पनि सक्नुभएन।” हजुरबुबाको सेतो कपाल देखेर, मेरो मन अमिलो दुख्यो। घर पुग्दा, मैले हजुरआमा र फुपूहरूलाई आँगनमा बसिरहेको देखेँ। हजुरआमाले काम्दै गरेको औँला मतिर ठड्याउँदै भन्नुभयो, “भन् त, के तैँले पनि आमाको सिको गरेर परमेश्वरमा विश्वास गर्न थालेकी होस्?” मेरी फुपुले गिज्याउँदै भन्नुभयो, “तँ हामीलाई कहिल्यै शान्तिले बस्न दिन्नस्, सधैँ पिर मात्र दिन्छेस्? प्रहरी सिधै तेरो ढोकामा आयो। तँलाई लाज नलागे पनि, तेरा कारणले मलाई लाज लागिसक्यो! अहिले तैँले पूरै परिवारको इज्जत फालिस्। तँ हाम्रा बारेमा यति निष्ठुरी कसरी हुन सक्छेस् हँ?” हजुरआमाले काम्दै गरेको स्वरमा भन्नुभयो, “यसपालि, तँलाई छुटाउन तेरो काका र फुपुले भनसुन गर्नुपर्‍यो। नत्र त, प्रहरीले तँलाई जेल पठाउने थियो। अबदेखि तैँले परमेश्वरमा विश्वास गर्न पाउँदिनस्!” मेरा फुपुहरूले पनि परमेश्वरको निन्दा गर्ने र उहाँलाई दोषी ठहर्‍याउने केही कुराहरू बोल्नुभयो। उहाँहरूले मलाई गाली गरेको सुन्दा, मैले केही ठूलै गल्ती गरेजस्तो लाग्यो र उहाँहरूसँग आँखा जुधाउन सकिनँ। मैले साह्रै अन्याय महसुस गरेँ। परमेश्वरमा विश्वास गर्नु स्पष्ट रूपमा राम्रो कुरा हो, तर उहाँहरूले मलाई कुनै घोर अपराध गरेजस्तै गरी गाली गरिरहनुभएको थियो। मैले परमेश्वरलाई मेरो हृदयको रक्षा गर्नुहोस् भनी निरन्तर प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्वरका वचनहरू सम्झेँ: “मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लज्जित हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। मैले मनमनै सोचेँ, “हो त नि, मेरो जीवन परमेश्वरबाट आएको हो। सुसमाचार प्रचार गर्नु र धेरै मानिसहरूलाई परमेश्वरका वचनहरूको गवाही दिनु ताकि तिनीहरूले परमेश्वरको मुक्ति स्वीकार गर्न सकून्—यो त सबैभन्दा न्यायवान् काम हो! तर म मेरो विश्वासको कारण पक्राउ परेकीले र परिवारलाई चिन्ता र दुःख दिएकीले, मैले उहाँहरूलाई पिर र लज्जा बोकाएजस्तो, अनि मैले केही गल्ती गरेजस्तो महसुस गरेँ। मैले त सही र गलत नै छुट्याउन सकेकी रहेनछु! परमेश्वरमा विश्वास गर्नु र सुसमाचार प्रचार गर्नु सबैभन्दा न्यायवान् काम हो। आस्थाको सवालमा मसँग आफ्नै दृढ अडान हुनुपर्छ।” यस्तो सोचेपछि, म अब बन्धनमा रहिनँ।

केही दिनपछि, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्वरको मण्डलीलाई बदनाम गर्न टिभी, प्रमुख सञ्चार माध्यमहरू र अनलाइनमा आधारहीन अफवाहहरू र भ्रामक कुराहरू फैलाउन थाल्यो, र तिनीहरूले मण्डलीका इसाईहरूलाई व्यापक धरपकड गर्न थाले। यी आधारहीन अफवाहहरू सुनेपछि, मेरो परिवारले ममाथि निगरानी गर्न थाल्यो। म कहाँ छु भनी बुझ्न उहाँहरूले मलाई बारम्बार फोन गर्नुहुन्थ्यो र प्रायः मलाई मेरो विश्वास छोड्न मनाउने कोसिस गर्नुहुन्थ्यो। हजुरबुबाले भन्नुभयो, “तँलाई थाहा छ, यसपालि पक्राउ परेका कति जनालाई जेल सजाय तोकिएको छ? कसै-कसैले त दश वर्षभन्दा बढीको सजाय पाएका छन्, र यसले तिनीहरूको परिवारलाई समेत असर गर्छ—वृद्धवृद्धाहरूले आफ्नो भत्ता गुमाउँछन् र छोराछोरीहरू स्कुल जान पाउँदैनन्। परमेश्वरमा विश्वास गरेर के फाइदा छ र? तेरो उमेर जतिसुकै भए पनि तिनीहरूले पक्राउ गर्छन् र सजाय दिन्छन्। यहाँबाट अलि उत्तरतिर, तेरै उमेरको कसैलाई तीन वर्षको सजाय तोकियो। हामी सबैलाई मान्छे मार्नु सबैभन्दा खराब अपराध हो र यसमा सबैभन्दा कडा सजाय हुन्छ भन्ने लाग्थ्यो, परमेश्वरमा विश्वास गर्दा हुने सजाय त हत्या गर्दा हुने सजायभन्दा पनि कडा रहेछ!” पछि, जहिले म हजुरबुबाको घर जान्थेँ, उहाँले मलाई बेला-बेलामा भन्नुहुन्थ्यो, “तैँले परमेश्वरमा विश्वास गर्नु हुँदैन, बुझिस्? के तैँले टिभीमा देखिनस्? मानिसहरू भन्छन्, जब कसैले सर्वशक्तिमान्‌ परमेश्वरमा विश्वास गर्छ, तब उसको तीन पुस्ताले त्यसको सजाय भोग्नुपर्छ। तेरा काका र फुपुहरूको जागिरमा असर पर्नेछ, र तेरा भाइबहिनीहरू विश्वविद्यालय भर्ना हुन खोज्दा तिनीहरूलाई समस्या हुनेछ। तिनीहरूले तँप्रति किन रिस नराख्लान् र? म यो सबै तेरै भलाइका लागि भन्दैछु!” मलाई याद छ, एकचोटि मेरी फुपुले मलाई भन्नुभयो, “तँलाई थाहा छैन, सानो छँदा तँलाई हुर्काउन कति गाह्रो भएको थियो। तँ कति पटक बिरामी परिस् र झण्डै मरेकी थिइस्। तेरी हजुरआमाले तँलाई कहिल्यै छोड्नुभएन, दिनरात तेरो हेरचाह गर्नुभयो। उहाँले आफ्नो सम्पूर्ण तनमन तँलाई दिनुभयो। त्यतिबेला तँलाई गम्भीर रक्तअल्पता भएको थियो र ब्लड बैंकमा रगत थिएन। तेरा हजुरबुबाले नै तँलाई रगत दिनुभएको थियो। अब तँ ठूली भइस्, के तँ अझै पनि उहाँहरूलाई पिर दिइरहन्छेस्?” मेरो मन अमिलो भयो। मलाई हुर्काउने मेरा हजुरबुबा र हजुरआमा नै हुनुहुन्थ्यो; उहाँहरूले मेरो हेरचाह गर्नुभयो र मेरा लागि त्याग गर्नुभयो। अहिले म हुर्किसकेर पनि उहाँहरूलाई अझै पिर दिइरहेकी थिएँ। मलाई आफू असाध्यै विवेकहीन भएको महसुस भयो। अर्को पटक म घर जाँदा, हजुरबुबाले मलाई भन्नुभयो, “‘तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्।’ तैँले आफ्नो बारेमा नसोचे पनि, तैँले आफ्नो परिवारका बारेमा सोच्नुपर्छ। यदि एक दिन तँ तेरो आस्थाको कारण पक्राउ परिस् र जेलमा कष्ट भोग्नुपर्‍यो भने, हाम्रो मन कसरी नकुँडिएला र हामी कसरी दुःखी नहौँला?” उहाँले त्यसो भनेको सुन्दा, मभित्र मिश्रित भावनाहरू उर्लिएर आए। मलाई लाग्यो, म उहाँहरूलाई धेरै पिर दिइरहेकी छु र उहाँहरूको भावनाप्रति असाध्यै निष्ठुरी बनिरहेकी छु, मानौँ मलाई हुर्काउन उहाँहरूले गरेका सबै प्रयासहरू व्यर्थ भएका थिए। मलाई धेरै कमजोर महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो परिवारले मेरो जति धेरै चिन्ता गर्छ, म उहाँहरूप्रति त्यति नै ऋणी भएको महसुस गर्छु। मलाई थाहा छ, तपाईँमा विश्वास गर्नु राम्रो कुरा हो, तर मेरो हृदय अझै धेरै पीडामा छ। कृपया, मलाई अगुवाइ गर्नुहोस्!” प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्‍वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको नैसर्गिक प्रवृत्तिले अघि बढाउँछ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्‍वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्‍वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मेरो जीवन परमेश्वरबाट आएको हो। मेरा हजुरबुबा र हजुरआमाले मलाई हुर्काउनुभए तापनि, पर्दा पछाडि बसेर मलाई सधैँ हेरचाह गर्ने र सुरक्षा दिने परमेश्वर नै हुनुहुन्थ्यो। एकचोटि म सानो छँदा, मैले अन्जानमा मुसा मार्ने विष खाएकी थिएँ। मेरो परिवारले मलाई तीन वटा अस्पतालमा पुर्‍यायो, तर कुनै पनि अस्पतालले मेरो उपचार गरेनन्; तिनीहरूले मेरो परिवारलाई मेरो अन्तिम संस्कारको तयारी गर्न मात्र भने। मेरा हजुरबुबा डाक्टर हुनुहुन्थ्यो, तर उहाँ पनि लाचार हुनुहुन्थ्यो। अन्तमा, एउटा अस्पतालले नचाहँदा-नचाहँदै पनि मलाई बचाउने कोसिस गर्न सहमत भयो, र तिनीहरूले मलाई आकस्मिक उपचार दिएपछि, म चामत्कारिक रूपमा बाँचेँ। अर्को पटक, मलाई आन्द्रामा गम्भीर अवरोध भयो। डाक्टरले मालिस गर्दा आन्द्रा झन् कसिनेछ भन्दै त्यसलाई मालिस नगर्न सल्लाह दिए। मलाई शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउन लागेको थियो, तर मेरी हजुरआमाले मेरो पेट मालिस गर्नुभयो र वास्तवमै त्यो अवरोधलाई खुलाउन सफल हुनुभयो। आज म जीवित र स्वस्थ हुनुको कारण पूर्ण रूपमा परमेश्वरको अद्भुत सुरक्षा हो। यो सबैको श्रेय मेरा हजुरबुबा-हजुरआमालाई दिनुको साटो म परमेश्वरको मुक्तिप्रति कृतज्ञ हुनुपर्छ। यो कुरा बुझिसकेपछि, मैले उहाँहरूप्रति ऋणी भएको महसुस गर्न छोडेँ। एक महिनापछि, मैले मण्डलीलाई सुसमाचारको काममा सहकार्य गर्न मानिसहरूको आवश्यकता छ भन्ने थाहा पाएँ, त्यसैले मैले जागिर छोडेँ र आफूलाई त्यस काममा समर्पित गरेँ।

अक्टोबर २२, २०१३ को दिउँसो, एउटा भेलामा सहभागी भइरहेको बेला एक जना दुष्ट व्यक्तिले मेरो सुराकी गरिदियो र म फेरि पक्राउ परेँ। मलाई १५ दिन थुनामा राखियो र एक हजार युआन जरिवाना गरियो। मेरा बुबा मलाई लिन आउनुभयो। घर फर्कँदा बाटोमा, उहाँको अनुहार मलिन थियो, र उहाँ पूर्ण रूपमा मौन हुनुहुन्थ्यो। उहाँ जति धेरै मौन रहनुभयो, म त्यति नै डराएँ; त्यो आँधी आउनुअघिको सन्नाटा जस्तै महसुस भयो। मैले हृदयमा प्रार्थना गरेँ, “परमेश्वर, अब मैले के सामना गर्नुपर्ने हो, मलाई थाहा छैन। कृपया मेरो रक्षा गर्नुहोस्। मेरो परिवारले मलाई जस्तोसुकै आक्रमण गरे पनि, म तपाईँका निम्ति मेरो गवाहीमा दृढ रहनैपर्छ!” हामी हजुरबुबाको घर पुगेपछि, बुबाले मलाई कराउनुभयो, “प्रहरीले मलाई भनेको—तैँले विश्वास गर्ने त मान्छे मात्रै हो! तिमीहरू सबै उल्लु बनिसक्यौ, तैपनि तँ अझै कति आशक्त हुन्छेस्!” उहाँले त्यसो भनेको सुन्दा मलाई रन्को छुट्यो, अनि त्यसैले मैले जवाफ फर्काएँ, “तपाईँले पहिले प्रभु येशूमा विश्वास गर्नुहुन्थ्यो। के उहाँ पनि बाहिरबाट हेर्दा मानिस हुनुहुन्नथ्यो र? तर उहाँसँग ईश्‍वरीय सार थियो र उहाँ परमेश्वरको काम गर्न सक्नुहुन्थ्यो।” मेरा बुबाले मतिर औँला ठड्याउँदै भन्नुभयो, “आशक्त! पूरै आशक्त! प्रहरीले भनेको, तिमीहरू एउटा सङ्गठन हौ …” मैले उहाँको कुरा काट्दै सोधेँ, “सङ्गठन भनेको के हो? सङ्गठन त मानिसहरूले बनाउँछन्; यो आफ्नै उद्देश्य र स्वार्थका लागि व्यापार गर्ने एउटा समूह हो। सर्वशक्तिमान्‌ परमेश्वरको मण्डली परमेश्वरको कामद्वारा अस्तित्वमा आएको हो। हामी त केवल परमेश्वरका वचनहरू पढ्न, परमेश्वरको आराधना गर्न, आफूलाई कसरी चिन्ने भनेर कुरा गर्न र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्न भेला हुन्छौँ। यसको सङ्गठनसँग कुनै लिनुदिनु छैन। परमेश्वरको मण्डलीलाई सङ्गठन भन्नु भनेको अवधारणाहरूलाई भ्रमित पार्नु मात्र हो। अन्योलमा परेको व्यक्तिले मात्र त्यसो भन्ने छ। बुद्धिमान् व्यक्तिले आफैँ अनुसन्धान गर्ने छ र अन्धाधुन्ध यस्ता बकवास कुराहरू सुन्ने छैन।” तर मलाई अचम्म पार्दै, मेरा हजुरबुबाले पनि मतिर औँला ठड्याउँदै भन्नुभयो, “यो गाउँभरि हेर्! तँजस्तो अरू कोही छ? यति सानो उमेरमै परमेश्वरमा विश्वास गर्ने! तैँले त हाम्रो बेइज्जत नै गरिस्!” हजुरआमा र काकाले पनि मलाई गाली गरिरहनुभएको थियो। मेरा बुबाले सोध्नुभयो, “तँलाई त धेरै कुरा थाहा रहेछ हगि। तैँले विश्वास गरेको कति भयो? तेरा भेलाहरू कहाँ हुन्छन्?” मलाई लागेको थियो, म आधा महिना थुनामा बसेर आएकी हुँदा मेरो परिवार मेरो बारेमा धेरै चिन्तित हुनेछ, तर मेरो अगाडिको दृश्यले मेरो हृदयलाई चिसो बनायो। मेरा त्यति मायालु आफन्तहरू कसरी यस्ता भए? घर जेलजस्तै चिसो महसुस भयो। केवल मेरो परमेश्वरमाथिको आस्थाको कारण, मेरो आफ्नै परिवारले मलाई एक्ल्याउँदै थियो र मेरो विरुद्धमा एक हुँदै थियो। मलाई कसैले बुझेन, र मलाई कस्तो महसुस भइरहेको छ भनेर कसैले वास्ता गरेन। मलाई आस्थाको मार्ग असाध्यै कठिन लाग्यो, र म एकदमै नकारात्मक र कमजोर भएँ। मेरा बुबाले, मेरो कारण लज्जित भएर, मलाई हरेक दिन मेरो कोठामा थुनिदिनुभयो। जब गाउँका मानिसहरूले म मेरो आस्थाको कारण पक्राउ परेको थाहा पाए, तिनीहरूमध्ये कोही-कोही हाम्रो घरबाहिर उभिएर गिज्याउँथे र कुरा काट्थे। केही बदमास केटाकेटी त चिच्याउँथे पनि, “ए त्यो विश्वासी घरमा छे? प्रहरी आयो है!” एक साँझ, बुबाले फेरि मलाई गाली गर्न थाल्नुभयो, र मेरा कारणले गर्दा पूरै परिवारले समाजमा मुख देखाउन सकेको छैन भन्नुभयो। त्यसपछि, उहाँ कोठामा बस्नुभयो, र उदास भएर मौन रही चुरोट पिउनुभयो। केही बेरपछि, मैले उहाँ भक्कानिएको आवाज सुनेँ। मैले मेरो जीवनभरि बुबा रोएको कहिल्यै सुनेकी थिइनँ, र उहाँ रोएको सुन्दा मलाई पनि रुन मन लाग्यो। मैले सोचेँ, “मेरो आस्थाले मेरो परिवारमा कति नकारात्मक असर पारेको छ। मेरा हजुरबुबा र हजुरआमा यसै पनि बूढा भइसक्नुभयो, र उहाँहरूले अझै मेरो चिन्ता गरिरहनुपर्छ। त्यसमाथि, म पक्राउ परेको यो दोस्रो पटक हो। यदि म मेरो विश्वासमा लागिरहेँ र फेरि पक्राउ परेँ भने, मेरो परिवारले कसरी सहन सक्ला? सायद मैले मेरो आस्था त्याग्नुपर्छ, जागिर खानुपर्छ र पैसा कमाउनमा मात्र ध्यान दिनुपर्छ, र कम्तीमा उहाँहरूलाई ढुक्क बनाउनुपर्छ।” यो सोचले मलाई भयानक पीडा दियो, र मैले प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँमा विश्वास गर्न चाहन्छु, तर मेरो परिवारले मलाई सताउन र बाधा दिन छोड्दैन, र म साह्रै कमजोर महसुस गर्छु। परमेश्वर, कृपया, मलाई अगुवाइ गर्नुनुहोस्!” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरू पढेँ: “तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्‍वरलाई तैँले गवाही दिनुपर्ने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्‍ने देखाउँछ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने यी कुराहरू परमेश्वरको अनुमतिमा ममाथि आइपरेका थिए। यो उहाँको मेरा लागि जाँच थियो, उहाँ म मेरो विश्वासमा अडिग रहने छु कि छैन, र मेरो गवाहीमा दृढ रहने छु कि छैन कि शैतानसँग सम्झौता गर्ने छु भनेर हेर्न चाहनुहुन्थ्यो। मेरो परिवारको आक्रमण र छिमेकीहरूको कुरा काटाइको सामना गर्दा, र विशेष गरी जब मैले बुबा रोएको सुनेँ, मैले मेरो आस्थालाई मेरो परिवारमाथि उपहास ल्याएको र मलाई लिएर उहाँहरूलाई चिन्तित बनाएको भन्दै दोष दिएकी थिएँ। त्यसपछि मैले मेरो आस्था त्याग्ने बारेमा सोचेकी थिएँ—के त्यो शैतानसँग सम्झौता गर्नु थिएन र? यदि मेरो परिवारलाई म गलत कुरामा विश्वास गर्छु भन्ने साँच्चै चिन्ता थियो भने, उहाँहरूले मलाई त्यो कुरा बुझ्न र मैले विश्वास गरेको कुरा साँचो मार्ग हो कि होइन भनेर अनुसन्धान गर्न मदत गर्नुपर्थ्यो। तर उहाँहरूले मलाई अन्धाधुन्ध आक्रमण मात्र गर्नुभयो। सत्य कुरा त, उहाँहरू केवल मेरो आस्थाले उहाँहरूलाई पनि मुछ्ने छ र उहाँहरूको आफ्नै स्वार्थमा हानि पुर्‍याउने छ भनेर डराउनुभएको थियो। मैले उहाँहरूको मनसाय बुझ्न सकेकी थिइनँ र उहाँहरूको मप्रतिको तथाकथित चिन्ताले मलाई झुक्याएको थियो। म झण्डै शैतानको चालमा फसेर परमेश्वरलाई धोका दिएकी थिएँ—यो कति खतरनाक थियो! भविष्यमा मेरो परिवारले मलाई जस्तोसुकै सतावट दिए पनि, म परमेश्वरका निम्ति मेरो गवाहीमा दृढ रहनुपर्थ्यो र मेरो परिवारको आक्रमणसामु झुक्नु हुँदैनथ्यो।

नोभेम्बर १४, २०१३ मा, मेरा बुबाले मलाई जबरजस्ती उहाँले काम गर्ने ठाउँमा लैजानुभयो र मलाई नजरबन्दमा राख्नुभयो। उहाँ काममा जाँदा, मलाई दुइटा ताल्चा लगाएर घरभित्र थुनिदिनुहुन्थ्यो। मैले भाग्नका लागि सोच्न सक्ने हरेक उपाय लगाएँ, तर केही लागेन। एक दिन, बुबा फर्कनुभयो, ओछ्यानको छेउमा बस्नुभयो, र मलाई गाली गर्नुभयो, “आफैलाई हेर्! यति सानो उमेरमै दुईचोटि पक्राउ परिसकिस्! तँलाई लाज छैन?” मैले भनेँ, “परमेश्वरमा विश्वास गर्ने भएकाले, म केवल परमेश्वरका वचनहरू पढ्छु। मैले कुनै गलत काम गरेकी छैन। यसमा लाज मान्नुपर्ने के छ र?” त्यसपछि उहाँ यति धेरै रिसाउनुहुने छ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। उहाँ जुरुक्क उठ्नुभयो, मेरो घाँटी समात्नुभयो, र मेरो अनुहारमा एकपछि अर्को थप्पड हान्न थाल्नुभयो, र चिच्याउनुभयो, “तँ विश्वास गर्न चाहन्छेस्? म तँलाई कुटेरै त्यो विश्वास निकालिदिने छु!” मेरो नाकबाट रगतको धारा बगिरहेको थियो, तर छिमेकीले ढोका नढकढक्याएसम्म उहाँ रोकिनुभएन। उहाँले मलाई आँखा तरेर हेर्नुभयो र गर्जिनुभयो, “यदि तैँले विश्वास गरिरहिस् भने, म तँलाई यसरी नै हिर्काइरहने छु! म तँलाई कुटेरै तह लगाउने छु!” त्यतिबेला मेरो नाकबाट रगत बग्न रोकिएकै थिएन। रगतले लतपतिएका टिस्यु पेपरले डस्टबिन भरिएको देख्दा, मेरो हृदयमा असह्य पीडा भयो। “मैले परमेश्वरमा विश्वास गरेकै कारण मेरै बुबा यति क्रूर भइरहनुभएको छ। उहाँ कसरी मेरो बुबा हुन सक्नुहुन्छ? उहाँ त दियाबलस हुनुहुन्छ!” म ओछ्यानमा घोप्टो परेँ र धेरै बेर डाँको छोडेर रोएँ, मलाई परमेश्वरमा विश्वास गर्नु असाध्यै गाह्रो छ भन्ने लाग्यो। मैले सोचेँ, “यदि मैले विश्वास गरिरहेँ भने, यो सतावट कहिल्यै अन्त्य नहोला कि? सायद मैले उहाँलाई आस्था त्यागिसकेँ भन्नुपर्ला कि। म यहीँ कुनै जागिर खाँदै गोप्य रूपमा विश्वास गर्न सक्छु। त्यसो गरे उहाँले मलाई हिर्काउन छोड्नुहुने छ।” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईँका अभिप्रायहरू बुझ्न सकूँ।”

तीन दिनपछि, मैले एउटा पुरानो मोबाइल फोन भेट्टाएँ, लुकाएर राखेको परमेश्वरका वचनहरू भएको मेमोरी कार्ड निकालेँ, र त्यसमा हालेँ। मैले फोन अन गरेँ र परमेश्वरका वचनहरू पढेँ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो। … आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानव धारणाहरूअनुरूप नहुँदा, वा त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। दुःख र शोधनका दौरान मानिसहरूमा आस्था हुनुपर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यता खोजी गर्न, परमेश्‍वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्‍छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्‍वरमाथिको आस्था गुमाएको छैनस् भन्‍ने कुरा प्रमाणित गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “तेरो वास्तविक कद जे भए पनि सुरुमा तँसित दुःख भोग्ने यो सङ्कल्प र साँचो आस्था दुवै हुनुपर्छ, साथै तँसित देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प पनि हुनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नका निम्ति दुःख भोग्न र तेरा व्यक्तिगत हितहरूमा घाटा भोग्न इच्छुक हुनुपर्छ। तँ हृदयमा अफसोस महसुस गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेको थिइनस्, र अहिले तैँले अफसोस महसुस गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूमार्फत परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तैँले यी सर्तहरू पूरा गर्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १९)। मैले यी खण्डहरू बारम्बार पढेँ। मैले अय्यूबबारे सोचेँ। उनको परीक्षाको बेला, उनले आफ्नो सम्पूर्ण सम्पत्ति र छोराछोरी गुमाए, उनको शरीरभरि खटिरा आयो, र उनलाई उहाँकी श्रीमती र साथीहरूले समेत आक्रमण गरे। तर अय्यूबले कहिल्यै परमेश्वरको नाम इन्कार गरेनन्। बरु, उनी परमेश्वरका योजना र बन्दोबस्तहरूप्रति समर्पित भए, यहोवाको नामको प्रशंसा गरे, र आफ्नो परीक्षाको बीचमा पनि आफ्नो गवाहीमा दृढ रहे, र शैतानलाई लज्जित तुल्याए। मैले भोगेको त केवल बुबाको नजरबन्द र कुटाइ मात्र थियो—थोरै शारीरिक कष्ट मात्र—तर मलाई परमेश्वरमा विश्वास गर्नु साह्रै गाह्रो र पीडादायी हुँदो रहेछ भन्ने लागिसकेको थियो, र मैले विश्वास त्याग्ने बारेमा समेत सोचेकी थिएँ। के यो परमेश्वरलाई धोका दिनु र शैतानसामु झुक्नु थिएन र? परमेश्वरप्रतिको मेरो विश्वास कति सानो रहेछ! आरामदायी वातावरणमा भेलामा सक्रिय रूपमा सहभागी हुनु र कर्तव्य पूरा गर्नुले मसँग साँचो विश्वास छ भन्ने हुँदैनथ्यो। साँचो विश्वास भनेको प्रतिकूल वातावरणमा कष्ट भोग्दा पनि परमेश्वरलाई पछ्याउन सक्नु हो। बुबाले मलाई यो अनजान ठाउँमा ल्याउनुभएको, मेरा ब्रदर-सिस्टरहरूसँगको सम्पर्क विच्छेद गरिदिनुभएको, र मलाई कुट्नुभएको—यो सबै परमेश्वरको अनुमतिमा भएको थियो। परमेश्वरले यसलाई मेरो आस्था र दुःख भोग्ने मेरो सङ्कल्पलाई सिद्ध पार्न प्रयोग गरिरहनुभएको थियो। यो उहाँको आशिष् थियो! जब मैले परमेश्वरका अभिप्रायहरू बुझेँ, तब मैले प्रार्थना गरेँ, र मलाई अगुवाइ गर्न परमेश्वरसँग बिन्ती गरेँ ताकि म मेरो गवाहीमा दृढ रहन सकूँ। बुबाले मलाई बन्धक बनाएर राख्नुभएको बीस-बाइस दिनको अवधिमा, उहाँ काममा गएको बेला म परमेश्वरका वचनहरू पढ्ने गर्थें। मेरो हृदय परमेश्वरसँग झन्-झन् नजिक हुँदै गयो, र मलाई कष्ट भोगिरहेको छु जस्तो लाग्न छाड्यो।

बीस दिनभन्दा केही बढी समयपछि, मेरो गाउँबाट प्रहरी आए र मलाई हिरासत केन्द्रमा लिएर गए। मे २०१४ को अन्त्यमा, चिनियाँ कम्युनिस्ट पार्टीले ममाथि “कानून कार्यान्वयनमा बाधा पुर्‍याउन पन्थ सङ्गठनको प्रयोग गरेको” आरोप लगायो र मलाई तीन वर्षको जेल सजाय सुनायो, जसलाई चार वर्षको परीक्षणका लागि निलम्बन गरिएको थियो। मेरो रिहाइ सुनिश्चित गर्न मेरो परिवारले प्रहरीलाई एक लाख युआनभन्दा बढी तिर्नुपर्‍यो। मेरो परीक्षणकालमा, मैले हरेक हप्ता स्थानीय न्यायिक कार्यालयमा रिपोर्ट गर्नुपर्थ्यो र म सधैँ सम्पर्कमा रहनुपर्थ्यो। यदि तिनीहरूले मलाई सम्पर्क गर्न सकेनन् भने, मैले चेतावनी पाउने गर्थेँ; तीन पटक फोन नउठाएमा, मलाई सिधै जेल चलान गरिने थियो। म रिहा भएको भए तापनि, मसँग कुनै व्यक्तिगत स्वतन्त्रता थिएन। मेरो काकाले मेरो रिहाइका लागि आफ्नो जागिर नै जमानी राख्नुभएको थियो, र त्यस समयपछि मेरो परिवारले मलाई झन् कडा सतावट दियो। मैले मेरो हरेक गतिविधि उहाँहरूलाई रिपोर्ट गर्नुपर्थ्यो। एकचोटि, म तीन घण्टाभन्दा अलि बढी समय बाहिर हुँदा मेरी फुपुको १४ वटा मिस कल आएको थियो। राति, म अलि चाँडै सुत्न गएँ भने, हजुरआमा म प्रार्थना गर्दैछु कि भनेर जाँच गर्न आउनुहुन्थ्यो र सुत्दाखेरि मलाई ढोका पनि बन्द गर्न दिनुहुन्नथ्यो। म फुपुको पसलमा काम गर्न जाँदा पनि उहाँ मेरो पछि-पछि आउनुहुन्थ्यो। चौबीसै घण्टाको यो निगरानीको सामना गर्दा, मलाई असाध्यै कमजोर महसुस हुन्थ्यो र यसको सामना कसरी गर्ने भन्ने कुनै उपाय थिएन। म अक्सर प्रार्थना गर्थेँ, र परमेश्वरलाई मेरा लागि बाटो खोलिदिनुहोस् भनी बिन्ती गर्थेँ। एक दिन, न्यायिक कार्यालय जाँदै गर्दा बाटामा, मैले एउटी सिस्टरलाई भेटेँ। उनले मलाई ब्रदर-सिस्टरहरू सबैले मेरा लागि प्रार्थना गरिरहेका छन्, र मैले अझ धेरै प्रार्थना गर्नुपर्छ, अनि परमेश्वरले मलाई मार्गदर्शन गर्नुहुनेछ भनेर बताइन्। उनका शब्दहरूले मलाई गहिरो रूपमा छोयो। उनले मलाई सुटुक्क एउटा एमपी-फाइभ प्लेयर र परमेश्वरको वचनहरूका भिडियो भएको मेमोरी कार्ड पनि दिइन्। त्यसपछि, मैले परमेश्वरका वचनहरू पढेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने उहाँले मेरो साहस र आस्था निर्माण गर्न, मलाई शैतानको दुष्टता स्पष्ट रूपमा देख्न मदत गर्न, ताकि म यसको प्रभावमा नपरूँ तर यसलाई परास्त गर्न बुद्धिको प्रयोग गर्न सकूँ भनेर यो वातावरण प्रयोग गरिरहनुभएको थियो। तिनीहरूले मेरो शरीरलाई नियन्त्रण गर्न सक्थे, तर मेरो हृदयलाई नियन्त्रण गर्न सक्दैनथे। मलाई प्रार्थना गर्नबाट रोक्न तिनीहरूले मलाई निरन्तर निगरानी गर्थे, तर म अझै पनि मेरो हृदयमा परमेश्वरका वचनहरू मनन गर्न सक्थेँ र परमेश्वरको नजिक हुन उहाँ सामु आफूलाई शान्त पार्न सक्थेँ। बिस्तारै, मेरो हृदयले दिक्दार मान्न छाड्यो।

एक पटक, मैले मेरो परिवारलाई म स्वाध्ययन गरी परीक्षा दिन चाहन्छु भनेँ र एक्लै बस्न मेरो पुरानो घरमा सरेँ। यसरी म अन्ततः उहाँहरूको निगरानीबाट उम्किएँ। म आफ्नो आस्थाको कारण तीन पटक पक्राउ परिसकेकी हुनाले, मेरो गाउँका मानिसहरू मबाट टाढै बस्थे। कहिलेकाहीँ, सडकमा कुनै समूह गफ गरेर बसिरहेको छ भने, म त्यहाँबाट जानेबित्तिकै तिनीहरू तितरबितर हुन्थे। अरूले म कुनै अनौठो प्राणी हुँ जस्तो गरेर मलाई टाढैबाट गडेर हेर्थे, अनि मेरो पिठिउँपछाडि कानेखुसी गर्थे र औँला ठड्याउँथे। मेरो परिवार, मदेखि लज्जित भएर, सार्वजनिक ठाउँमा मसँग हिँड्दैनथे। मलाई सबैले तिरस्कार गरेको, पूर्ण रूपमा एक्ल्याइएको महसुस हुन्थ्यो, र मैले साह्रै अन्याय महसुस गरेँ। धेरै पटक मैले मेरो हृदयमा पुकारा गरेँ, “मैले गरिरहेको भनेको त केवल परमेश्वरमा विश्वास र उहाँको आराधना, अनि विवेक र समझ भएको मान्छे बन्ने प्रयास हो। मैले के गल्ती गरेकी छु र? मैले आधारभूत मानव अधिकार समेत किन नपाएकी? किन मैले परिवारबाट तिरस्कार र छिमेकीहरूबाट भेदभाव सहनुपर्ने?” मैले असाध्यै दमित र पीडा महसुस गरेँ। त्यस समयमा, म अक्सर प्रार्थना गर्थेँ र मैले यो वातावरणलाई कसरी अनुभव गर्नुपर्छ भनेर खोजी गर्थेँ।

पछि, मैले परमेश्वरका वचनहरू पढेँ र धेरै प्रोत्साहन पाएँ। मैले यसलाई कसरी अनुभव गर्ने भनेर थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले देहधारण गरी पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्ष आफैमा सबैभन्दा पीडादायी कुरा थियो, त्यसमाथि उहाँलाई कसैले बुझ्न सकेन। … उहाँले सहने मुख्य कष्ट भनेको चरम रूपमा भ्रष्ट मानवतासँग सँगै जिउनु, सबै किसिमका मानिसहरूबाट उपहास, अपमान, न्याय, र निन्दा सहनु, साथै दुष्ट दियाबलसद्वारा खेदो गरिनु र धार्मिक संसारबाट अस्वीकार र शत्रुता भोग्नु हो। उहाँको हृदयका घाउहरूलाई कसैले पनि निको पार्न सक्दैन। यो एउटा पीडादायी कुरा हो। उहाँले अपार धैर्यका साथ भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ, र उहाँले आफ्ना घाउहरूका बाबजुद मानिसहरूलाई प्रेम गर्नुहुन्छ—यो सबैभन्दा पीडादायी काम हो। मानवताको क्रूरता र प्रतिरोध, निन्दा र बदनाम, झूटा आरोप, सतावट, र तिनीहरूको खेदो र हत्याले परमेश्‍वरलाई नै ठूलो जोखिम हुनेगरी उहाँको देहलाई यो काम गर्न लगाउँछ। उहाँले सहनुभएको कष्टलाई कसले बुझ्न सक्थ्यो, र उहाँलाई कसले सान्त्वना दिन सक्थ्यो र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। ख्रीष्टको सार प्रेम हो)। मैले प्रभु येशूलाई सम्झेँ, जसलाई उहाँको जन्मदेखि नै सरकारले सताएको थियो। जब उहाँले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँलाई खिल्ली उडाइयो, दोषी ठहर्‍याइयो र निन्दा गरियो, र अन्ततः फरिसीहरू र रोमी सरकारले क्रुसमा टाँगे। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्वर काम गर्न र मानवजातिलाई मुक्ति दिन आउनुभएको छ, र उहाँलाई पनि चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले दोषी ठहर्‍याएको छ र खोजीको सूचीमा राखेको छ। हामीलाई मुक्ति दिन परमेश्वरले धेरै कष्ट भोग्नुहुन्छ, तथापि कसैले उहाँप्रति ख्याल देखाउँदैन वा उहाँलाई बुझ्दैन। उहाँको हृदयलाई कस्तो महसुस हुँदो हो? मैले नूहलाई पनि सम्झेँ। परमेश्वरले उनलाई जहाज बनाउन बोलाउनुभयो। उनले जहाज बनाउन आफ्नै सम्पत्ति खन्याए, सँगसँगै यहोवा परमेश्वरको अभिप्राय सञ्चार गर्दै, मानिसहरूलाई जहाजमा चढ्न भने। उनका कार्यहरूको खिल्ली उडाइयो, तर नूह यसबाट कमजोर भएनन्, न गुनासो नै गरे। उनी परमेश्वरको इच्छा पालन गर्न अटल रहे। तर म भने यहाँ परमेश्वरलाई पछ्याउँदा थोरै भेदभाव र खिल्ली भोग्दा नै यति धेरै नकारात्मक र दुखी भइरहेकी थिएँ। म कति नाजुक थिएँ। नूहको तुलनामा म केही पनि थिइनँ! मैले प्रभु येशूले भन्नुभएको कुरा पनि सम्झेँ: “साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्‍याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्‍याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्(मत्ती ७:१३-१४)। प्रभु येशूले धेरै पहिले नै भन्नुभएको थियो, मानिसले हिँड्न सक्ने दुई वटा बाटा हुन्छन्। एउटा फराकिलो ढोकाबाट जान्छ, जुन संसारलाई पछ्याउने, र दैहिक सुख, ख्याति, प्राप्ति र पैसाजस्ता देखिने फाइदाहरू खोज्ने बाटो हो; धेरै मानिस यही बाटो हिँड्छन्। अर्को साँघुरो ढोकाबाट जान्छ, जुन परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने बाटो हो। यो कष्टको बाटो हो, जहाँ तिमीले खिसी, गिज्याइ, अनि बदनामी र गालीगलौजको समेत सामना गर्नेछौ, र एकपछि अर्को अड्चनको सामना गर्नेछौ। धेरै कम मानिसले मात्र यो बाटोमा पाइला राख्न सक्छन्। मैले इज्जत, प्रतिष्ठा र हैसियतको धेरै नै वास्ता गरेँ; यी सबै मेरो आस्थाको मार्गका बोझ थिए। मलाई थाहा थियो, अघि बढिरहन र अन्ततः जीवन प्राप्त गर्न, मैले यी सबै त्याग्नुपर्छ र परमेश्वरप्रतिको साँचो आस्थामा दृढ रहनुपर्छ। त्यसमाथि, यी गैरविश्‍वासीहरूको अनुमोदन लिनु पूर्ण रूपमा अर्थहीन र मूल्यहीन कुरा हो। मेरो आस्थामा, मैले सत्यता प्राप्तिलाई पछ्याउनुपर्छ र परमेश्वरद्वारा कदर पाउने प्रयास गर्नुपर्छ। अरूले मलाई जसरी हेरे पनि, म परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउनमा निरन्तर लाग्नुपर्छ। यस्तो सोचेपछि, म बाँधिन छाडेँ।

पछि, मलाई थाहा भयो, म सधैँ झैँ काममा आइरहेकी छु कि छैन भनेर जाँच्न मेरा बुबा र हजुरआमा सुटुक्कै एक पटकभन्दा बढी मैले काम गर्ने ठाउँ जानुभएको रहेछ। मलाई आफ्नो निजता वा मानव अधिकार नै छैन जस्तो लाग्यो। एकचोटि, मैले परमेश्वरका वचनहरू पढेँ र मेरो परिवारबारे केही सुझबुझ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्‍वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू पिशाच हुन्, र, यस अलावा, उनीहरूलाई नष्ट गरिनेछ। विश्‍वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू, परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्नेहरू, र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू सबै विनाशका पात्रहरू हुनेछन्। रहन सक्नेहरू सबै शोधनको कष्ट भोगेका र दृढ रहेकाहरू हुन्; यिनीहरू साँचो रूपमा परीक्षाहरू भोगेका मानिस हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जोकोही पनि शत्रु हो; अर्थात्, परमेश्‍वरको देहधारणलाई पहिचान नगर्ने—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो! के शैतानहरू, पिशाचहरू, र परमेश्‍वरका शत्रुहरू परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरूबाहेक अरू केही हुन् त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरू पढ्दा मलाई मेरो विश्वासमा रोकछेक गर्ने मेरा परिवारका सदस्यहरूको याद आयो। मेरी आमाले उहाँहरूलाई सर्वशक्तिमान्‌ परमेश्वरको आखिरी दिनहरूको सुसमाचारको गवाही दिनुभएको थियो, तर उहाँहरूमध्ये एक जनाले पनि यसको खोजी वा अनुसन्धान गरेनन्। जब मेरो आस्थाले उहाँहरूका हितमा असर गर्‍यो, उहाँहरूले मलाई सताउन र परमेश्वरमाथिको मेरो विश्वास रोक्न सबै किसिमका उपायहरू लगाउनुभयो, र “मेरो भलाइका लागि गरेको” भन्ने आवरणमा मलाई गाली गर्नुभयो। उहाँहरूले मलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न नजरबन्दमा राख्नुभयो र कुट्नुभयो, र त्यस दिनसम्म पनि उहाँहरूले मलाई पछ्याइरहनुभएको र निगरानी गरिरहनुभएको थियो। मैले उहाँहरूको प्रकृति सार परमेश्वरलाई घृणा गर्ने र विरोध गर्ने खालको देखेँ। मैले अय्यूबलाई सम्झेँ, जो आफ्नो परीक्षा दौरान आफ्नै श्रीमतीको कटाक्षमा परे। उनी यसबाट वशीभूत भएनन् वा नकारात्मक बनेनन्; बरु श्रीमतीलाई मूर्ख स्त्री भनेर हप्काए। आफ्नो परिवारसँग कसरी व्यवहार गर्ने भन्ने सवालमा अय्यूबका सिद्धान्तहरू थिए र उनी आफ्नो आस्थामा दृढ रहे। मैले उनको उदाहरण पछ्याउनुपर्थ्यो, परमेश्वरलाई प्रतिरोध गर्ने मेरा परिवारका सदस्यहरूलाई इन्कार्नुपर्थ्यो, र म र उहाँहरूबीच स्पष्ट रेखा कोर्नुपर्थ्यो।

एक पटक, प्रहरीले मलाई फोन गरेको रहेछ, तर मैले सुनिनँ। केही दिनपछि, हजुरबुबा मकहाँ आउनुभयो र भन्नुभयो, “तैँले प्रहरीको फोन किन उठाइनस्? फोन चैं उठाउने गर्!” मलाई झनक्क भयो। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र चिनियाँ कम्युनिस्ट पार्टीको परमेश्वरलाई प्रतिरोध गर्ने दुष्ट सारबारे केही सुझबुझ पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै, क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्‍वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्‍वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई प्रलोभनमा पारेर अचेत बनाउँछन्। के प्राचीनका पुर्खाहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वरका वचनहरूबाट, मैले चिनियाँ कम्युनिस्ट पार्टीको परमेश्वरप्रति शत्रुवत् रहेको पिशाचीय सार अझ स्पष्ट रूपमा देखेँ। बाहिर, यसले धार्मिक स्वतन्त्रताको ब्यानर फहराउँछ, तर वास्तविकतामा, यसले सही र गलतलाई बङ्ग्याउँछ र अज्ञानी मानिसहरूलाई बहकाएर आफ्नो पक्षमा पारी परमेश्वरलाई आक्रमण र प्रतिरोध गर्न, र इसाईहरूलाई सताउन सबै किसिमका विधर्म र भ्रामक कुरा फैलाउँछ। यसको उद्देश्य सबैलाई आफूसँगै परमेश्वरको प्रतिरोध गर्न र विनाशतिर चल्न लगाउनु हो। चिनियाँ कम्युनिस्ट पार्टी पृथ्वीमा भएको दियाबलस हो, परमेश्वरको शत्रु हो; यो पूर्ण रूपमा घृणित र दुष्ट छ! आस्थामा आएको तीन वर्षमै, म तीन पटक पक्राउ परिसकेकी थिएँ। रिहा भएपछि पनि, मसँग व्यक्तिगत स्वतन्त्रता थिएन। चिनियाँ कम्युनिस्ट पार्टीले मेरो परिवारका तीन पुस्ताका सदस्यहरूको जागिर र सेवा-सुविधामा असर पर्ने धम्की दिएर मेरो परिवारलाई मेरो आस्था रोकछेक गर्न उक्साएको थियो। आफ्नै हितका लागि, मेरो परिवारले अन्धाधुन्ध मलाई सतायो, परमेश्वरलाई दोषी ठहर्‍यायो र निन्दा गर्‍यो, र निरन्तर मेरो पिछा र निगरानी गर्‍यो। म पक्राउ परेको हुनाले गाउँलेहरूले पनि मबाट अलग बसे र मलाई भेदभाव गरे। यो सबै चिनियाँ कम्युनिस्ट पार्टीको सतावटको नतिजा थियो। चिनियाँ कम्युनिस्ट पार्टीले मेरो आस्थामा रोकछेक गर्न हरेक उपाय लगायो, तर यसले कहिल्यै कल्पना गरेको थिएन, यसले गर्ने कार्यले मलाई यसको परमेश्वर-प्रतिरोधी सार मात्र होइन, मेरो परिवारको प्रकृति सारबारे सुझबुझ प्राप्त गर्न मदत गर्नेछ। यसले परमेश्वरलाई पछ्याउने मेरो विश्वासलाई झन् बलियो बनायो। चिनियाँ कम्युनिस्ट पार्टीले मेरो शरीरलाई नियन्त्रण गर्न सक्थ्यो, तर मेरो हृदयलाई नियन्त्रण गर्न सक्दैनथ्यो। म मेरो आस्था वा मेरो कर्तव्य त्याग्नेछैन।

मे २०१५ को अन्त्यमा, बहिनीलाई नयाँ जागिरका लागि बिदाइ गर्ने मौका छोपी म अन्ततः घर छोडेर कर्तव्य निर्वाह गर्न निस्केँ। घरबाट बाहिर निस्कनेबित्तिकै, मलाई बन्धनहरू तोडेर फुक्का भएजस्तो महसुस भयो; मेरो शरीर र प्राण पूर्ण रूपमा स्वतन्त्र थिए। परमेश्वरका वचनहरूले मलाई आस्था नदिएको भए र सत्यता बुझ्न अन्तर्दृष्टि प्रदान नगरेको भए, म मेरो परिवारको निरन्तर आक्रमणलाई कहिल्यै जित्न सक्ने थिइनँ। मलाई “परिवार” को बन्धनबाट फुक्का हुन अगुवाइ गर्ने र अन्ततः कर्तव्य निर्वाहको मौका दिने परमेश्वर नै हुनुहुन्थ्यो। परमेश्वरलाई धन्यवाद होस्!

अघिल्लो:  ५२. म अब मान्छे खुसी पारिहिँड्ने व्यक्ति होइन

अर्को:  ५४. अब म आफ्नो भाग्य खोटो छ भनेर गुनासो गर्दिनँ

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger