५६. आशिष् प्राप्त गर्ने सपनाबाट ब्यूँझनु

यीफान, चीन

म २८ वर्षकी हुँदा मलाई एलर्जीबाट हुने दम भयो। जब-जब त्यो बल्झिन्थ्यो, म सास फेर्न सक्दिनथेँ, र यति निसास्सिएजस्तो हुन्थ्यो कि मेरो टाउको नै घुम्न थाल्थ्यो। राती, म सुत्न पनि सक्दिनथेँ; कुनै कुरामा अडेस लागेर बसिरहनुपर्थ्यो, अनि पूरै रात त्यसरी नै बस्नुपर्थ्यो। त्यो बेला, उपचारका लागि मलाई बारम्बार अस्पताल भर्ना गर्नुपर्थ्यो, र मेरो रोगको कष्टले मलाई शारीरिक र मानसिक रूपमा लखतरान बनाइसकेको थियो। मलाई याद छ, एक पटक म गम्भीर बिरामी थिएँ र सास फेर्न सकिरहेकी थिइनँ, र दस दिनभन्दा बढी अस्पतालमा रहेपछि पनि मेरो अवस्थामा सुधार आएन, अनि सलाइन र अक्सिजन लगाइराख्दा पनि म निसास्सिएर पसिनाले निथ्रुक्क हुन्थेँ। अस्पतालले मेरो अवस्थाको उपचार गर्न नसकेपछि मलाई ठूलो अस्पतालमा पठाउने व्यवस्था गरियो। मेरो परिवारले मलाई स्ट्रेचरमा बोकेर लगे, र हामी अस्पतालको प्रवेशद्वारमा पुग्नेबित्तिकै म बेहोस भएँ। त्यतिबेला मैले सोचेँ, सायद अब मेरो अन्त्य हुने भयो, तर दस दिनको सघन उपचारपछि, मेरो अवस्था नियन्त्रणमा आयो। अस्पतालबाट डिस्चार्ज भएपछि, मैले घरमै बसेर स्वास्थ्यलाभ गरेँ। म हरेक दिन सतर्क भई बस्थेँ, सानो गल्तीले पनि मेरो रोग फेरि बल्झिन्छ कि भन्ने डर लाग्थ्यो। एकदिन, म डाक्टरलाई भेट्न गएँ। डाक्टरले भने, “तपाईंको रोग चिकित्सा क्षेत्रकै लागि एउटा चुनौती हो। यसका लक्षणहरू नियन्त्रण गर्न सकिनु नै राम्रो कुरा हो, तर निको हुने कुनै सम्भावना नै छैन। तपाईंले सधैँ आफूसँग आकस्मिक औषधी राख्नुपर्छ, किनभने उपचारमा ढिलाइ भयो भने, ज्यानै जोखिममा पर्न सक्छ।” यो सुनेर म साह्रै हतोत्साहित भएँ। यति सानै उमेरमा मलाई कसरी यस्तो रोग लाग्यो? जब-जब म गम्भीर बिरामी भएर मृत्युको मुखमा पुगेको त्यो समयलाई सम्झन्थेँ, म डरले काँप्थेँ। त्यसपछिका दस वर्षभन्दा बढी समय, मैले जताततै उपचार खोजेँ, तर कुनैले पनि यसको जड कारणलाई निको पारेन। रोगको पीडाले मलाई जीवनप्रतिको आशा नै गुमाउने बनायो। सन् २००९ मा, मेरी आमाले मलाई परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। परमेश्‍वरका वचनहरू पढेर, मैले यो मानवजातिको मुक्तिको कामको परमेश्‍वरको अन्तिम चरण हो भनी बुझेँ। मेरो जीवनकालमा परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्न पाउनु ठूलो आशिष् थियो। मैले सोचेँ, “जबसम्म म राम्ररी पछ्याउँछु, मेरो रोग निको पार्नु त परमेश्‍वरका लागि सानो कुरा हो। सायद मैले राज्यको सुन्दरता पनि देख्न पाउनेछु!” यो त मरुभूमिमा मरुद्यान भेटिएजस्तै थियो—अनि मैले जीवनमा फेरि आशा पाएँ। त्यसपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न थालेँ। बिस्तारै, मैले मेरो रोग पहिलेको जस्तो गम्भीर नरहेको महसुस गरेँ। यो अझै पनि बारम्बार बल्झन्थ्यो, तर केही औषधी खाएर त्यसलाई नियन्त्रण गर्न सक्थेँ। मैले मनमनै परमेश्‍वरलाई धन्यवाद दिइरहेँ, र आफ्नो कर्तव्य पूरा गर्न म झनै उत्प्रेरित भएँ। एक पटक, मैले परमेश्‍वरलाई लामो समयदेखि विश्वास गरेकी एउटी सिस्टरलाई भेटेँ। उनले भनिन् परमेश्‍वरलाई पाउनुअघि उनलाई पनि मेरो जस्तै रोग थियो। परमेश्‍वरलाई पाएपछि, मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहिन्, र थाहै नपाई उनी आफ्नो रोगबाट निको भइन्। मैले मनमनै सोचेँ, “परमेश्‍वरले उनलाई निको पार्न सक्नुभयो भने मलाई पनि पक्कै निको पार्न सक्नुहुन्छ। कुरा यति मात्र हो कि मैले अहिलेसम्म पर्याप्त मूल्य चुकाएकी छैन र म योग्य छैन। जब म आफूलाई अझ बढी समर्पित गर्छु, परमेश्‍वरले मलाई निराश पार्नुहुनेछैन।”

पछि, मैले लेखन-पठनको काम लिएँ। मैले मनमनै सोचेँ, “लेखन-पठनको काम गर्न पाउनु परमेश्‍वरको अनुग्रह र उहाँले मलाई उचाल्नुभएको हो, त्यसैले मैले यो काम तनमनले गर्नुपर्छ। सायद परमेश्‍वरले म मूल्य चुकाउन तयार भएको देखेर मेरो कष्ट कम गरिदिनुहुनेछ। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र सायद उहाँले मेरो रोग पूर्ण रूपमा निको पार्न सक्नुहुनेछ।” यही मानसिकता लिएर, म हरेक दिन बिहानदेखि बेलुकासम्म काम गर्थेँ, र मेरो कर्तव्यले केही नतिजा पनि ल्यायो। सन् २०१७ सम्ममा, केही औषधी लामो समयसम्म प्रयोग गर्दा कम प्रभावकारी हुन थाले, र अलिक प्रभावकारी औषधीहरू मेरा लागि धेरै महँगा थिए, त्यसैले मैले आफ्नो रोग नियन्त्रणमा राख्न हर्मोनको औषधीमा भर पर्नुबाहेक अरू विकल्प थिएन। मैले मनमनै सोचेँ, “यतिका वर्षसम्म, मलाई यो रोगले बाँधेको छैन र म आफ्नो कर्तव्य पूरा गर्न लागिरहेकी छु। सायद परमेश्‍वरले मेरो समर्पण देखेर कुनै दिन मेरो रोग निको पार्नुहुनेछ। तब म सामान्य मानिसले जस्तै आफ्नो कर्तव्य पूरा गर्न सक्नेछु। त्यो कति अचम्मको हुने थियो!” जब म यस्तो सपना देखिरहेकी थिएँ, मेरो रोग निको हुनुको साटो झन्-झन् बिग्रँदै गयो। मैले लामो समयदेखि हर्मोनको औषधी खाएकाले, त्यसको साइड इफेक्ट देखिन थाल्यो, र मेरो शरीर सुन्निन थाल्यो। मेरो अवस्था देखेर, सुपरिवेक्षक मलाई उपचारका लागि घर पठाउने व्यवस्था मिलाउन बाध्य हुनुभयो। मलाई अत्यन्तै नकारात्मक र दुःखी महसुस भयो, र सोचेँ, “मेरो रोग यति गम्भीर भइसकेको छ। म भोलिको सूर्य देख्न पाउँछु कि पाउँदिनँ भन्ने पनि थाहा छैन, भविष्यमा परमेश्‍वरको राज्यको सुन्दर दृश्यको त कुरै छोडौँ।” यो सोच्दा-सोच्दै थाहै नपाई मेरो आँखाबाट आँसु बग्न थाल्यो, र मनमनै मैले गुनासो गर्न थालेँ, “हे परमेश्‍वर! यतिका वर्षसम्म, मैले आफ्नो कर्तव्य पूरा गर्न आँधीबेहरीको सामना गरेकी छु, अनगिन्ती कठिनाइ सहेकी छु र मूल्य चुकाएकी छु। मेरो कर्तव्यले नतिजा पनि दिएको छ, त्यसोभए तपाईंले मलाई किन सुरक्षा दिनुभएन? यदि म यसरी नै मरेँ भने, के मेरो सबै त्याग अर्थहीन हुनेछैन र? परमेश्‍वर, के तपाईं मलाई प्रकट गर्न र हटाउन यो रोग प्रयोग गर्दै हुनुहुन्छ? यस्तो हुन्छ भन्ने थाहा पाएको भए, मैले आफ्नो रोगको उपचार गर्न र शरीरको हेरचाह गर्नमा ध्यान दिने थिएँ। तब मेरो यस्तो हालत हुने थिएन।” जति मैले यसबारे सोचेँ, उति नै मलाई अन्यायमा परेको महसुस भयो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरू खाइपिइ पनि गरिनँ, प्रार्थना पनि गरिनँ। म हरेक दिन दिग्भ्रमित भएर, एउटा हिँडिरहेको लासजस्तै जिइरहेकी थिएँ। मैले परमेश्‍वरबाट धेरै टाढा भएको महसुस गरेँ, मानौँ उहाँले मलाई त्याग्नुभयो। मलाई निकै डर लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ मेरो स्थिति गलत छ, तर मैले के पाठ सिक्नुपर्छ भन्ने मलाई थाहा छैन। कृपया मलाई मेरो समस्या बुझ्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

एकदिन, मैले परमेश्‍वरका वचन पढेँ र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, मनसाय र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देखेको भए पनि, तिनीहरूले परमेश्‍वरमाथि गर्ने विश्‍वासमा अझै पनि ती प्रेरणाहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुमा तिनीहरूको अन्तिम उद्देश्य उहाँका आशिष्‌हरू र आफूले उहाँबाट चाहेको कुरा प्राप्त गर्नु हो। मानिसहरूका जीवन अनुभवहरूमा तिनीहरूले प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर त्यागेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ? मैले यसको हिसाब गर्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै नै समर्पित गरेको छु, म दौडेको दौड्यै छु, र मैले धेरै दुःख भोगेको छु—के यस अवधिमा मैले गरेको कार्यसम्पादनको बदलामा परमेश्‍वरले मलाई कुनै वाचा गर्नुभएको छ? के उहाँले मेरा असल कार्यहरू याद गर्नुभएको छ? मेरो परिणाम कस्तो हुनेछ? के मैले आशिष्‌हरू पाउन सक्छु? …’ हृदयमा, प्रत्येक व्यक्तिले बारम्बार र निरन्तर यस्ता हिसाबकिताबहरू गर्छ, र परमेश्‍वरबाट केही कुरा माग्दा, तिनीहरूले मनसायहरू, महत्त्वाकाङ्क्षाहरू र लेनदेनको मानसिकता बोकेका हुन्छन्। यसो भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू रचिरहेको हुन्छ, उसको आफ्नै परिणामका लागि निरन्तर परमेश्‍वरसँग ‘बहस गरिरहेको’ हुन्छ, र परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्‍वरले दिनुहुनेछ कि दिनुहुनेछैन भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरलाई पछ्याउने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग केही माग्दै आएको छ, र औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब समेत दिने गरेको छ। परमेश्‍वरसँग सौदाबाजी गर्न खोज्दा खोज्दै, मानिसले उहाँसँग तर्क पनि गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आउँदा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा प्रायः कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्‍वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्ने दुइटा शब्दबारे परमेश्‍वरमा विश्‍वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्‍वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्‍वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेर, मैले मेरो हृदयमा घोचेको जस्तो महसुस गरेँ, र म दुःखी, लज्जित र अपमानित भएँ। परमेश्‍वरमा विश्वास गरेका यतिका वर्षहरूमा, बिरामी हुँदा पनि, मैले आफ्नो कर्तव्य पूरा गर्न बिहान सबेरै उठेर अबेरसम्म काम गरेकी थिएँ, र म परमेश्‍वरप्रति अर्पित, उहाँका अभिप्रायहरूको ख्याल गर्ने, र उहाँलाई सन्तुष्ट पार्न खोज्ने जस्तो देखिए तापनि, मेरो साँचो अभिप्रायचाहिँ मेरो समर्पण र उपलब्धिहरूलाई परमेश्‍वरले मेरो रोग निको पारिदिनुहोस् भन्नका लागि पुँजीका रूपमा प्रयोग गर्नु थियो। मैले यी कुराहरूलाई मुक्ति सुनिश्चित गर्न र परमेश्‍वरको राज्यमा प्रवेश गर्नका लागि आफ्नो सौदाबाजीको साधनका रूपमा हेरेँ। मैले जे जति गरेँ, ती सबै आफ्नै आशिष् र फाइदाका लागि थिए, र म परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्दै थिएँ। मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य साँचो अर्थमा पूरा गरिरहेकी थिइनँ। मेरो रोग निको नहुने खालको थियो, र वर्षौँको पीडा र कष्टले मलाई जिउने इच्छा नै गुमाउने बनाएको थियो, तर मेरो पीडा र निराशामा, परमेश्‍वरको सुसमाचार मकहाँ आयो। परमेश्‍वरको अख्तियार र शक्ति देखेर, मैले उहाँमाथि आशा राखेँ। विशेष गरी जब मैले एउटी सिस्टर परमेश्‍वरलाई पाएपछि निको भएको देखेँ, मैले के सोचेँ भने म आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन तयार रहेसम्म परमेश्‍वरले मलाई निराश पार्नुहुनेछैन। मलाई उहाँले मेरो रोग निको पार्ने मात्र होइन, अनन्त जीवनको आनन्द लिन मलाई उहाँको राज्यमा पनि लैजानुहुनेछ भन्ने विश्वास थियो। त्यसैले, मण्डलीले मेरा लागि जुनसुकै कर्तव्यको व्यवस्था गरे पनि, मैले स्वीकार गरेँ र समर्पित भएँ, र मैले आफ्नो रोग नियन्त्रणमा राख्न औषधी खाएँ र आफ्नो कर्तव्यमा कहिल्यै ढिलाइ गरिनँ। तर जब मेरो रोग निको हुनुको साटो झन्-झन् बिग्रँदै गयो, र मैले मृत्युको जोखिम समेत सामना गरेँ, तब म तुरुन्तै परमेश्‍वरको विरुद्ध भएँ, र परमेश्‍वरले मप्रति अन्याय गरिरहनुभएको छ भन्ने महसुस गरेँ। म नकारात्मक स्थितिमा रहेँ, परमेश्‍वरको बारेमा गुनासो गरेँ र उहाँलाई गलत बुझेँ। मैले न परमेश्‍वरका वचनहरू पढेँ, न त प्रार्थना नै गरेँ, र आफूले विगतमा गरेको त्यागमा पछुतो समेत गरेँ। परमेश्‍वरका वचनहरूले गरेको खुलासाअनुसार आफूलाई हेर्दा, मैले परमेश्‍वरसँगको मेरो सम्बन्ध नाङ्गो स्वार्थको, कर्मचारी र मालिक बीचको जस्तै रहेछ भन्ने महसुस गरेँ। मेरो परिश्रम र बलिदान सबै परमेश्‍वरबाट लाभ लिनका लागि थिए, र मैले परमेश्‍वरलाई प्रयोग गरिरहेकी र धोका दिइरहेकी थिएँ। मैले कहिल्यै परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्दै गरिनँ। मैले आफ्नो २० को दशकमा भोगेको गम्भीर रोगलाई सम्झेँ, र के जानेँ भने परमेश्‍वरको सुरक्षा नभएको भए, म धेरै पहिले नै मरिसकेकी हुन्थेँ। नत्र म कसरी बाँचिरहेकी हुन्थेँ र? मलाई दोस्रो जीवन दिने र यस घडीसम्म बाँच्न दिने परमेश्‍वर नै हुनुहुन्थ्यो। तर कृतज्ञ हुनुको साटो, मैले परमेश्‍वरबाट आशिष् र अनुग्रह माग्न आफ्नो त्यागलाई प्रयोग गरेँ। ममा साँच्चै मानवताको कमी थियो र म परमेश्‍वरको मुक्तिको अयोग्य थिएँ। मैले पावलको बारेमा सोचेँ। उनले परिश्रम र बलिदान गरे पनि, त्यो परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि थिएन, बरु आशिष् र मुकुट पाउनका लागि थियो। अन्तमा, आफ्नो विद्रोहीपनमा उनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए। यदि मैले पश्चात्ताप गरेर परिवर्तन भइनँ, र परमेश्‍वरबाट आशिष् र अनुग्रह मागिरहेँ भने, म अन्ततः पावल जस्तै परमेश्‍वरद्वारा तिरस्कृत भई हटाइने थिएँ। यो कुरा बुझेपछि, मलाई झनै पछुतो लाग्यो, र यतिका वर्षसम्म परमेश्‍वरमा विश्वास गरेर पनि सत्यता नपछ्याएकोमा मैले आफैलाई घृणा गरेँ। म आशिष् पाउने गलत मार्गमा हिँडेकी थिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंमा विश्वास गरेका यतिका वर्षहरूमा मैले तपाईंप्रति कुनै प्रेम देखाएकी छैन, न त तपाईंको ऋण तिर्ने प्रयास नै गरेकी छु। मैले तपाईंलाई प्रयोग गर्ने प्रयास मात्र गरेकी छु। म पूर्ण रूपमा मानवताविहीन रहँदै आएकी छु! हे परमेश्‍वर, म आफ्नो गलत अभिप्रायविरुद्ध विद्रोह गर्न र तपाईंसँग लेनदेनको प्रयास गर्न छोड्न चाहन्छु।”

त्यसपछि, औषधी र इन्हेलरको प्रयोगले मेरो रोग केही नियन्त्रणमा आयो। सन् २०२२ को अप्रिलमा, मैले लेखन-पठनको काम पुनः सुरु गरेँ। मैले यो अवसरको कदर गरेँ। यस अवधिमा, मैले आफ्नो कर्तव्य तनमनले सक्दो गरेँ, र मेरो कर्तव्यको नतिजा पनि निकै राम्रो थियो। आँखा झिमिक्क गर्दा, सेप्टेम्बर २०२३ आयो, र मेरो दम अचानक झन्-झन् बिग्रियो। औषधी र सुईहरूले काम गरेनन्, र मसँग उपचारका लागि प्रान्तीय अस्पताल जानुबाहेकको विकल्प थिएन। धेरै प्रयासपछि, मेरो अवस्था अन्ततः स्थिर भयो। तर केही समय नबित्दै, मेरो दम फेरि बल्झियो। मैले सास भित्र तान्न मात्र सक्थेँ तर बाहिर फाल्न सक्दिनथेँ, जसले गर्दा टाउको घुम्ने र रिँगटा लाग्ने भयो, र मलाई मेरो ज्यान कुनै पनि बेला जान सक्छ भन्ने लाग्यो। मसँग स्वास्थ्यलाभका लागि घर फर्कनुबाहेक अरू कुनै विकल्प थिएन। घर जाने सोचले मलाई अत्यन्तै निरुत्साहित र निराश बनायो, र मैले आँसु थाम्नै सकिनँ। मैले मनमनै सोचेँ, “मैले आफ्नो कर्तव्यमा यति धेरै मिहिनेत गरेकी छु, यति धेरै कष्ट सहेकी छु, र ठूलो मूल्य चुकाएकी छु, अनि मेरो रोग चाहिँ किन झन्-झन् बिग्रँदै गइरहेको छ? परमेश्‍वरले मेरो कर्तव्य पूरा गर्ने इच्छालाई विचार गरेर मलाई किन रक्षा गर्नुहुन्न र निको पार्नुहुन्न? के परमेश्‍वरले मेरो हृदय देख्नुहुन्न र?” मैले यसबारे जति सोचेँ, उति नै मलाई अन्यायमा परेको महसुस भयो, र मैले परमेश्‍वरले मप्रति अन्याय गरिरहनुभएको छ भन्ने ठानेँ। म भविष्यको बारेमा पूर्ण रूपमा निराश भएँ। मेरो रोग निको हुने सम्भावना त थिएन नै, मैले मुक्ति पाउने र राज्यमा प्रवेश गर्ने मेरो आशा पनि झनै झिनो भएको महसुस गरेँ। त्यतिबेला, एउटी सिस्टरले मेरो स्थिति हेरेर मेरा लागि परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजिदिइन्: “जब परमेश्‍वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्‍वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्‍वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वर तँलाई योजना बनाउन दिनुहुन्‍न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्‍न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्‍न दिनुहुन्‍न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्‍नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तेरा लागि बिमारीका परिस्‍थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्। त्यसकारण, जब तँमाथि रोग आइपर्छ, तब तैँले सधैँ यसबाट कसरी छुटकारा पाउने वा यसबाट कसरी उम्कने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन। … तैँले यसो भन्‍न मिल्दैन, ‘यदि म यो रोगबाट निको भएँ भने, म यो परमेश्‍वरको महान् शक्तिको कारणले हो भनेर विश्‍वास गर्नेछु, तर निको भइनँ भने, म परमेश्‍वरसँग खुसी हुनेछैन। परमेश्‍वरले किन मलाई यो रोग दिनुभयो? उहाँले किन यो रोग निको पार्नुहुन्‍न? किन मलाई नै यो रोग लाग्यो र अरू कुनै व्यक्तिलाई लागेन? म यो स्विकार्न सक्दिनँ! मैले किन यति सानै उमेरमा मर्नुपर्ने? किन अरू मानिसहरूले चाहिँ बाँचिरहन पाएको? किन?’ किन भन्‍ने कुनै कुरै छैन—यो परमेश्‍वरको योजनाबद्ध कार्य हो। उहाँले यसरी नै कुराहरूको प्रबन्ध गर्नुभएको र योजना बनाउनुभएको छ। यसको कुनै कारण छैन, र तैँले किन भनेर सोध्‍नु हुँदैन। किन भनेर सोध्‍नु विद्रोही बोली हो, र यो सृष्टि गरिएको प्राणीले सोध्‍नुपर्ने प्रश्‍न होइन। यदि तैँले किन भनी सोध्छस् भने, यो मात्रै भन्‍न सकिन्छ कि तँ अत्यन्तै विद्रोही र हठी छस्। जब कुनै कुराले तँलाई असन्तुष्ट तुल्याउँछ, वा परमेश्‍वरले तैँले चाहेजस्तो गर्नुहुन्‍न वा तेरो शैलीमा तँलाई काम गर्न दिनुहुन्‍न, तँ बेखुसी हुन्छस्, मुरमुरिन्छस्, र किन भनेर सधैँ प्रश्‍न गर्छस्। त्यसकारण, मानौँ परमेश्‍वरले तँलाई सोध्‍नुहुन्छ, ‘सृजित प्राणीका रूपमा, तैँले किन आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेको छैनस्? किन तैँले अर्पणका साथ आफ्‍नो कर्तव्य निर्वाह गरेको छैनस्?’ तैँले कसरी जबाफ दिनेछस्? यदि तैँले ‘कुनै कारण छैन, म यस्तै हो’ भनिस् भने, के यो जबाफ स्वीकार्य हुन्छ? (हुँदैन।) परमेश्‍वरले तँसँग त्यसरी बोल्‍नु स्वीकार्य हुन्छ, तर परमेश्‍वरसँग तैँले त्यसरी बोल्‍नु स्वीकार्य हुँदैन। तँ गलत स्थानमा उभिएको छस्, र तँ पूर्णतया समझहीन छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको अभिप्रायबारे केही बुझेँ। परमेश्‍वरले म रोगमा जिऊँ र बिरामी हुनुका सबै पक्षलाई बुझौँ भन्ने चाहनुहुन्नथ्यो, न त मलाई चिन्तित भएर आफ्नो रोगबाट उम्कने बाटो खोज्न लगाउन चाहनुहुन्थ्यो। रोगको उपचार गर्न सकिन्छ, तर यो निको हुन सक्छ कि सक्दैन वा यसले मेरो ज्यान जोखिममा पार्छ कि पार्दैन भन्ने कुरा मानिसको हातमा छैन। यो सबै परमेश्‍वरको सार्वभौमिकता र पूर्वनियोजनको अधीनमा छ। मैले गर्नुपर्ने भनेको परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, म बिमारी हुँदा मैले कुन-कुन भ्रष्ट स्वभाव र गलत विचारहरू प्रकट गरेँ भनी चिन्तन गर्नु, र यी कुराहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नु थियो। यो नै मैले राख्नुपर्ने समझ थियो। मैले म बिमारी हुँदा परमेश्‍वरप्रति कसरी कुनै समर्पण देखाइनँ भन्ने कुरा सोचेँ। जब मेरो अवस्था बिग्रियो र मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ, वा जब मेरो ज्यान जोखिममा थियो, तब मैले सत्यताको खोजी गर्नुको सट्टा गुनासो गरेँ। मैले परमेश्‍वरले मेरो कष्ट र त्यागलाई विचार नगर्नुभएको र मेरो रक्षा नगर्नुभएकोमा गुनासो गरेँ, र मैले परमेश्‍वर अन्यायी हुनुहुन्छ भन्ने ठानेँ। अघिल्ला अनुभवहरूद्वारा मैले परमेश्‍वरसँग लेनदेनको प्रयास गर्ने मेरो गलत मानसिकताको बारेमा केही बुझाइ प्राप्त गरेकी भए पनि, कुनै साँचो रूपान्तरण भएको थिएन। परमेश्‍वरलाई मेरा कमीकमजोरीहरू थाहा थियो, र मेरो रोगको बल्झाइमार्फत, उहाँले फेरि एक पटक उहाँमा विश्वास गर्ने मेरो घृणित अभिप्रायहरूलाई खुलासा गर्नुभयो। तब मात्र मैले आशिष् प्राप्त गर्ने मेरो अभिप्राय कति गहिरोसँग जरा गाडेको रहेछ भन्ने महसुस गरेँ। मेरो रोगको बल्झाइमा परमेश्‍वरको असल अभिप्राय थियो, र यो मेरा भ्रष्टता र अशुद्धताहरूलाई शुद्ध पार्न आएको थियो। तर मैले परमेश्‍वरको कामलाई बुझिनँ र परमेश्‍वर अन्यायी हुनुहुन्छ भनी गुनासो गरेँ। मैले परमेश्‍वरलाई गलत बुझेँ, र उहाँले मेरो रोगमार्फत मलाई हटाउन चाहनुहुन्छ भनी सोचेँ, र मैले के देखेँ भन यतिका वर्षको आस्थापछि पनि, मैले परमेश्‍वरलाई पटक्कै चिनेकी रहेनछु। म साँच्चै गरिब, दयनीय र दृष्टिहीन थिएँ! अब मैले के बुझेँ भने बाहिरबाट हेर्दा, मैले यो रोगबाट धेरै कष्ट भोगेँ, तर यसको पछाडि परमेश्‍वरको श्रमसाध्य अभिप्राय थियो, यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो, र यो मलाई म बिमारी हुँदा आत्मचिन्तन गर्न र आफैलाई चिन्न लगाउनका लागि थियो। यस्तो नभएको भए, म आफ्नो पछ्याइमा गलत दृष्टिकोण लिएर अघि बढिरहने थिएँ, र म परमेश्‍वरका मागहरूबाट झन्-झन् टाढा हुने थिएँ र अन्ततः फर्कन नसकिने मार्गमा हिँड्ने थिएँ। यो कुरा बुझेपछि, मेरो हृदय उज्यालो भयो, र मैले परमेश्‍वरको बारेमा गुनासो गर्न वा उहाँलाई गलत बुझ्न छाडेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र परमेश्‍वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्‍वरको नजरमा, भ्रष्ट र परमेश्‍वरको प्रतिरोध गर्न सक्‍ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्‍वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। तँ अहिले तथ्यहरूको दृष्टिकोणबाट यो बुझ्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, गर्छौ त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले गर्ने कुरा बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईँले गर्ने सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्; ती सबैमा धार्मिकता छ। तपाईँको बुद्धि र कार्यहरूका लागि म तपाईँको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। शैतानलाई नष्ट पार्ने समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि निहित हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्‍न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई के महसुस भयो भने मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझेकी नै रहेनछु। मैले परमेश्‍वरको धार्मिकतालाई भ्रष्ट मानवजातिले बुझ्ने निष्पक्षता र तर्कसङ्गतताका रूपमा हेरेकी थिएँ। म सोच्थेँ मैले परमेश्‍वरमा विश्वास गरेकी, मूल्य चुकाएकी र आफूलाई समर्पित गरेकी हुनाले परमेश्‍वरले मेरो रोग निको पार्नुपर्छ, मलाई अनुग्रह र आशिष् दिनुपर्छ। जब कुराहरू मेरा धारणाहरूसँग मिल्थे, म परमेश्‍वरलाई धर्मी ठान्थेँ, तर जब परमेश्‍वरले मलाई आशिष् दिनुहुन्नथ्यो, र कुराहरू मेरा धारणा र कल्पनाहरूसँग मिल्दैनथे, म परमेश्‍वर अन्यायी हुनुहुन्छ भन्ने सोच्थेँ। मैले परमेश्‍वरको धार्मिकतालाई पूर्ण रूपमा मैले आशिष् र लाभ पाएँ कि पाइनँ भन्ने आधारमा नापेकी थिएँ, जुन सत्यतासँग पूर्ण रूपमा अमिल्दो छ। यी दृष्टिकोणहरू साँच्चै विकृत थिए! वास्तवमा, परमेश्‍वरलाई पाएपछि व्यक्तिले जति नै त्याग वा समर्पण गरे पनि, जति नै कष्ट भोगे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यो सबै एउटा सृजित प्राणीले गर्नुपर्ने कर्तव्य हो। परमेश्‍वरले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ—चाहे उहाँले अनुग्रह र आशिष् दिनुहोस्, वा शरीरको रोग निको पार्नुहोस्—त्यो परमेश्‍वरको विशेषाधिकार हो, र भ्रष्ट मानवजातिलाई परमेश्‍वरले यसो वा त्यसो गर्नुपर्छ भनी माग गर्ने कुनै अधिकार छैन। मानिसहरूले गर्नुपर्ने भनेको स्वीकार गर्नु र समर्पित हुनु हो, किनभने यो नै उनीहरूमा हुनुपर्ने समझ हो। तर मैले आत्मधर्मी पाराले मेरो त्यागलाई हेरेर परमेश्‍वरले मेरो रोग निको पारिदिनुपर्छ भनी माग गरेँ। के म परमेश्‍वरबाट जबर्जस्ती असुल्न खोजिरहेकी थिइनँ र? मैले परमेश्‍वरमा विश्वास गरेपछि, मैले बलिदान र समर्पण गरेँ, र त्यसैले परमेश्‍वरले मेरा लागि सबै कुरा सहज बनाइदिनुपर्छ र मेरो रोग निको पारिदिनुपर्छ, र यदि उहाँले त्यसो गर्नुभएन भने उहाँ अन्यायी हुनुहुन्छ भन्ने विचार—के यो मेरो आफ्नै धारणा मात्र थिएन र? यदि परमेश्‍वरले मलाई निको पार्नुभयो भने, यो उहाँको धार्मिकता हो, र यदि उहाँले मलाई निको पार्नुभएन भने, यो पनि उहाँको धार्मिकता हो। मेरो रोग जतिसुकै गम्भीर होस्, परमेश्‍वरले मलाई मर्न दिनुभएको नै किन नहोस्, यो परमेश्‍वरको धार्मिकता हो। मैले परमेश्‍वरको धर्मी स्वभावलाई व्यक्तिगत हितको दृष्टिकोणबाट होइन, बरु उहाँको सारको दृष्टिकोणबाट हेर्नुपर्थ्यो। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँको सार धार्मिकता हो। उहाँले हामीलाई जसरी व्यवहार गर्नुहुन्छ, त्यो उचित र धर्मी छ। मैले परमेश्‍वरले पत्रुसलाई कसरी शैतानको हातमा सुम्पनुभयो भन्ने बारेमा सम्झेँ। पत्रुसले परमेश्‍वरको बारेमा गुनासो नगरी वा उहाँलाई गलत नबुझी त्यसलाई स्वीकार गर्न सके, र उनले यसो समेत भने, “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईँले गर्ने सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्; ती सबैमा धार्मिकता छ। तपाईँको बुद्धि र कार्यहरूका लागि म तपाईँको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” म त एउटा सानो सृजित प्राणी मात्र हुँ, र परमेश्‍वरले मलाई जे गर्नुभए पनि त्यो उपयुक्त छ। चाहे उहाँले मलाई निको पार्नुहोस् वा नहोस्, चाहे उहाँले मलाई राम्रो परिणाम वा गन्तव्य दिनुभएको होस् वा नहोस्, मैले स्वीकार गरी समर्पित हुनुपर्छ, किनभने यसले मानवता र समझ भएको कुरा देखाउँछ। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले पहिले तपाईंको धर्मी स्वभावलाई बुझिनँ, र मैले त्यसलाई आफ्नै धारणा र कल्पनाहरूद्वारा नापेँ। अहिले म बुझ्छु तपाईंले जे गर्नुभए पनि त्यो धर्मी छ। मेरो रोग निको नभए पनि र म मरे पनि, तपाईं धर्मी नै रहनुहुन्छ, र म अझै पनि तपाईंलाई धन्यवाद दिनेछु र तपाईंको प्रशंसा गर्नेछु!”

पछि, मैले परमेश्‍वरका वचनहरूमा परमेश्‍वरप्रति अय्युबको समर्पणता देखेँ र अत्यन्त प्रभावित भएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “अय्यूबले परमेश्‍वरसँग सौदा गर्न खोजेनन्, परमेश्‍वरप्रति कुनै माग राखेनन्, र परमेश्‍वरबाट केही पनि मागेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्‍वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष्‌ प्राप्त गरे कि विषमता भोगे भन्ने कुरामा निर्भर थिएन। तिनी विश्वास गर्थे कि चाहे मानिसहरूले परमेश्‍वरबाट आशिष्‌ पाऊन् वा विषमता, परमेश्‍वरको महान् शक्ति र अख्तियार परिवर्तन हुनेछैन, यसैले व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। मानिस परमेश्‍वरद्वारा आशिषित् हुनु परमेश्‍वरको सार्वभौमिकताका कारणले हो, र जब मानिसलाई विषमता आइपर्छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको महान् शक्ति र अख्तियारले मानिसमाथि सार्वभौमिकता राख्छन् र मानिसबारे सबै कुराको प्रबन्ध गर्छन्; मानिसको भाग्यका उतारचढावहरू परमेश्‍वरको महान् शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्यहरू परमेश्‍वरका कानमा परे र उहाँसामु आइपुगे, र उहाँले तिनलाई महत्त्वपूर्ण कुराका रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई बहुमूल्य ठान्‍नुभयो। त्यो हृदयले सधैँ र सबै ठाउँमा परमेश्‍वरको आज्ञा पर्खन्थ्यो र समय वा स्थानको पर्वाह नगरी आफूलाई आइपरेको हर कुरालाई स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग राखेनन्। तिनले आफैसँग गरेको माग भनेको परमेश्‍वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा गर्नु, तिनलाई स्वीकार गर्नु, सामना गर्नु, र तीप्रति समर्पित हुनु थियो; अय्यूबले यो आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास गरे, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो, र मैले अभ्यासको मार्ग भेट्टाएँ। अय्यूबले परमेश्‍वरसँग लेनदेनको प्रयास नगरी उहाँमा विश्वास गरे, र उनले आशिष् पाए वा सङ्कट भोगे पनि, उनले परमेश्‍वरको प्रशंसा गर्न सके। किनभने उनले यावत् थोकबाट अनि आफ्नै अनुभवहरूबाट परमेश्‍वरको अख्तियारलाई चिनेका थिए, र उनलाई थाहा थियो सबै कुरामाथि सार्वभौम भएर शासन र प्रबन्ध गर्ने परमेश्‍वरको महान् शक्ति नै हो। कुनै व्यक्तिले चाहे अन्ततः आशिष् पाओस् वा सङ्कट भोगोस्, उनीहरूले निःशर्त सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुनुपर्छ। अय्यूबमा मानवता र समझ थियो; उनले परमेश्‍वरलाई केही गर्न भनेनन्। बरु, उनले आफूलाई सधैँ पर्खने र परमेश्‍वरबाट आउने सबै कुरा स्वीकार गर्ने र त्यसमा समर्पित हुने बनाए। अय्यूब इमानदार, दयालु, र परमेश्‍वरमा साँचो आस्था राख्ने व्यक्ति थिए; अन्ततः, उनी परीक्षाहरूको दौरान आफ्नो गवाहीमा दृढ रहे र परमेश्‍वरको अनुमोदन पाए। म पनि अय्यूबको अनुकरण गर्न चाहन्थेँ, र मेरो रोग निको हुन्छ कि हुँदैन, वा चाहे मेरो परिणाम जेसुकै होस्, म परमेश्‍वरका प्रबन्ध र योजनाबद्ध कार्यहरूमा समर्पित हुन चाहन्थेँ र अब उप्रान्त आफ्नै छनौट गर्न चाहन्नथेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, विगतमा मैले सत्यतालाई बुझिनँ। म सधैँ मेरो रोग निको हुन्छ कि हुँदैन वा मेरो राम्रो परिणाम वा गन्तव्य हुन्छ कि हुँदैन भन्ने बारेमा चिन्तित हुन्थेँ, र म ठूलो कष्टमा जिएँ। आज, म आफूलाई तपाईंको हातमा सुम्पन इच्छुक छु, र चाहे मैले आशिष् पाऊँ वा सङ्कट भोगूँ, म तपाईंको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुनेछु।” मेरो दृष्टिकोण केही परिवर्तन भएपछि मैले ठूलो राहत र छुटकाराको महसुस गरेँ। त्यसपछि, मैले आफ्नो स्वास्थ्य सुधार्न एक परम्परागत चिनियाँ जडीबुटीको घरेलु उपचार गरेर हेरेँ, र अचम्मको कुरा, मेरो अवस्था साँच्चै नियन्त्रणमा आयो, र म सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम भएँ।

यो अनुभवद्वारा, मैले के महसुस गरेँ भने रोगद्वारा प्रकट नभएको भए, मैले आशिष् पछ्याउने मेरा घृणास्पद अभिप्रायहरूलाई चिन्न सक्ने थिइनँ। मेरो रोगका कारण मैले केही शारीरिक पीडा भोगे तापनि, मैले आफ्नो पछ्याइपछाडिको भ्रामक दृष्टिकोणबारे केही बुझाइ प्राप्त गरेँ, र मैले केही परिवर्तन अनुभव गरेँ। यो मेरा लागि परमेश्‍वरको प्रेम र मुक्ति थियो! परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ५५. समस्या औँल्याउनु भनेको कमजोरीमाथि औँला उठाउनु होइन

अर्को:  ५७. मैले छोराप्रतिको ऋणी भावनालाई त्यागेँ

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger