७३. आफ्नो कर्तव्यमा झाराटारुवा बन्नु साँच्चै खतरनाक हुन्छ

स्कट, अमेरिका

सन् २०२४ को अक्टोबरमा म विदेशी भाषाका अनुभवात्मक गवाही भिडियो सम्पादन गर्ने आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ। एक पटक, एउटा भिडियो सम्पादन गर्ने क्रममा, मैले धेरै वटा शटहरू एकअर्कासँग राम्ररी नमिलेको पाएँ। सही फुटेज छान्न मलाई सामान्य भन्दा तीन गुणा बढी समय लाग्नेथियो, अनि अडियोसँग मिलाउनका लागि मैले लगातार विभिन्न शटहरू प्रयास गर्नुपरेको थियो। सुरुमा त, मैले ध्यान दिएर सम्पादन गर्न निकै धैर्य गरेँ, तर बिहानी सकिँदासम्म, मैले सामान्यतया गर्ने कामको आधा पनि सिध्याएको थिइनँ। मलाई छटपटी हुन थाल्यो, अनि मैले मनमनै सोचेँ, “यस भिडियोमा धेरै नै जटिल शटहरू छन्। यदि मैले हरेक शटलाई यति मिहिन रूपमा सम्पादन गरेँ भने, यो साह्रै झन्झटिलो हुन्छ र धेरै समय लाग्छ। यो त साह्रै थकाइलाग्दो काम हो! सायद यसपटक म अलिकति छोटो बाटो अपनाउँछु। यो स्वीकार्य भए पुग्छ। भिडियो अनलाइनमा अपलोड भएपछि सायद दर्शकहरूले यी सानातिना समस्याहरू याद पनि गर्नेछैनन् होला। केही ट्रान्जिसनहरू त्यति नमिले पनि ठूलो समस्या हुँदैन।” यस्तो सोचेर, जोड्न गाह्रो हुने शटहरू भेट्नेबित्तिकै, म धेरै नसोची कुनै फुटेज छान्थेँ र त्यसलाई जोडिदिन्थेँ। ट्रान्जिसनहरू त्यति राम्ररी मिलेका छैनन् भन्ने देख्दादेख्दै पनि, मैले आफैलाई सान्त्वना दिँदै सोचेँ, “ठिकै छ। यो स्वीकार्य भए पुग्छ। अरूले सायद यी सानातिना समस्याहरू याद गर्नेछैनन्।” अचम्मको कुरा, मैले तयार भएको भिडियो बुझाएपछि, त्यसको समीक्षा गरेका ब्रदर ब्रायनले सच्याउनुपर्ने तीसभन्दा बढी समस्याहरू औँल्याउनुभयो। सुरुमा त मैले यो कुरा विश्वास गर्नै सकिनँ। यो भिडियो सम्पादन गर्दा म झाराटारुवा भएको थिएँ भन्ने मलाई थाहा थियो, तर त्यति धेरै समस्याहरू होलान् भन्ने चाहिँ मलाई लागेको थिएन। उहाँले औँल्याउनुभएका समस्याहरू मैले ध्यानपूर्वक हेरेँ र उहाँका सबै प्रतिक्रिया सही रहेछन् भन्ने थाहा भयो। सबै कुरा सच्याउन मलाई आधा दिन लाग्यो। मैले त्यो फेरि बुझाउनै लाग्दा, मलाई फेरि चिन्ता लाग्न थाल्यो, र मैले सोचेँ, “मैले ब्रदर ब्रायनका सुझावहरूअनुसार समस्याहरू त समाधान गरेको छु, तर के अझै अन्य समस्याहरू हुन सक्छन्? मैले केही कुरा नछुटाएको सुनिश्चित गर्न सायद मैले फेरि एकपटक समग्र जाँच गर्नुपर्छ होला।” तर फेरि मैले सोचेँ, “आजको काम सक्ने बेला हुन लाग्यो। यदि मैले अहिले पूरा जाँच गरेँ भने, धेरै ढिलो सकिनेछ, अनि मैले आराम गर्ने समय कम पाउनेछु। छोडिदेऊ। त्यसमाथि, ब्रदर ब्रायनले जाँच गरिसक्नुभएको छ, त्यसैले उहाँले भेट्टाउनुभएका समस्याहरू सच्याउँदा मात्रै पनि पुग्नुपर्ने हो।” त्यसैले, सुझाइएका परिवर्तनहरू गरेपछि, मैले त्यो सिधै बुझाएँ। नसोचेको कुरा, यसपटक अर्कै व्यक्ति, ब्रदर कर्कले समीक्षा गर्नुभयो, र उहाँले सच्याउनुपर्ने अरू सात-आठवटा समस्याहरू औँल्याउनुभयो। यो नतिजा देखेपछि, मैले भिडियो अपलोड गर्ने निर्धारित समयमा ढिलाइ गराएछु भन्ने महसुस गरेँ। मैले मनमनै सोचेँ, “यदि मैले हिजो अलिकति बढी समय दिएर पूरा जाँच गरेको भए, सायद मैले यी समस्याहरू पत्ता लगाउने थिएँ, र भिडियो आज निर्धारित समयअनुसार नै अनलाइनमा जान सक्थ्यो। यो समयमै अपलोड हुन नसक्नुको कारण भनेको मैले झारा टार्नु र यसलाई गम्भीरतापूर्वक नलिनु नै हो।” यस्तो सोच्दा, मलाई अलिकति आत्मग्लानि भयो र मैले आफैलाई भनेँ कि यसपटक सच्याउने काममा म लगनशील हुनुपर्छ र अबदेखि मैले झारा टार्न मिल्दैन। त्यसैले, समस्याहरू सुल्झाएपछि, मैले फेरि पूरा भिडियो जाँच गरेँ। मैले ट्रान्जिसनहरू नमिलेका अरू केही ठाउँहरू फेला पारेँ, र तिनलाई सच्याएँ। यसमा अलिकति बढी समय र मेहनत लागे पनि, म ढुक्क भएँ। यसपटक, मैले भिडियो बुझाएपछि, यो वेबसाइटमा सहजै अपलोड भयो।

पछि, मेरो झाराटारुवा मनोवृत्तिले गर्दा अपलोडमा कति ढिलाइ भयो भनी सोच्दा, मलाई निकै दोषी महसुस भयो। मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, जसबाट मैले आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै पनि कुरालाई त्यति निस्फिक्री र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावको तत्त्व हो: प्राय यसलाई मानिसहरूले घटियापन भन्छन्। आफूले गर्ने हरेक मामिलामा, तिनीहरू ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’ भन्‍ने हदसम्‍म काम गर्छन्; यो त ‘होला,’ ‘सायद,’ र ‘बीसको उन्नाइस’ भन्‍ने मनोवृत्ति हो; तिनीहरू झाराटारुवा तरिकाले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र छल गरेर परिस्थितिहरू पार गर्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्‍कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्‍ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावको तत्त्व होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्‍कार भन्‍नु सही हुन्छ, र यसलाई अनुशासनहीन भन्‍नु पनि पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्‍नका निम्ति मिल्‍ने शब्द ‘घटियापन’ हो। धेरैजसो मानिसभित्र घटियापन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा केही न केही छल हुन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सकेसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, ‘जबसम्म म खुलासा हुनबाट बच्‍न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म जसोतसो यसलाई टारेर अघि बढ्नेछु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै कष्ट हुन्छ।’ यस्ता मानिसहरू कुनै पनि कुरामा कहिल्यै निपुण बन्दैनन्, अनि तिनीहरू आफ्नो अध्ययनमा आफूलाई होम्याउन वा कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफू त्यो सिक्न सफल भएको विश्‍वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्‍छन्, र लटरपटर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ। यस्तो घटियापन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा घटियापन भएका मानिसहरू आफूले गर्ने हरेक कुरामा ‘लटरपटर गर्दै अघि बढ्ने’ दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्‍वरका वचन पढेपछि मात्र मैले कुरा बुझेँ। जब मानिसहरूले सधैँ कामकुरालाई हल्का र गैरजिम्मेवार मनोवृत्तिले सामना गर्छन्, र झन्झटबाट बच्नकै लागि झाराटारुवा र धोकेबाज उपाय अपनाउँछन्, यो तिनीहरूभित्र घटियापन भएकाले गर्दा हो। आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यसरी झारा टार्ने मनोवृत्तिलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। परमेश्‍वरका वचनले मेरो स्थिति ठ्याक्कै खुलासा गरिदियो। मलाई आफूले सम्पादन गरिरहेको भिडियोका लागि फुटेज छान्न बढी समय खर्चिनुपर्दा, मलाई त्यो साह्रै झन्झटिलो लाग्यो र म मेहनत गर्नु नपरोस् भन्ने मात्र चाहन्थेँ, त्यसैले म जुन पायो त्यही शट लिएर जोडिदिन्थेँ। ट्रान्जिसनहरू नमिलेको देख्दा पनि, म तिनलाई सच्याउन चाहन्नथेँ। म त समीक्षा गर्ने ब्रदरले याद गर्नुभएन भने उम्कन सकिन्छ भन्ने आशासमेत गरिरहेको हुन्थेँ। अन्तमा, भिडियोमा धेरै समस्याहरू देखिए र पटक-पटक सच्याउँदा यो अपलोड गर्न ढिलाइ भयो। म मण्डलीको भिडियोको काममा अवरोध र बाधा पुर्‍याइरहेको थिएँ! वास्तवमा, एउटा सम्पादकको आधारभूत कर्तव्य भनेको सम्भव भएसम्म सबैभन्दा उपयुक्त फुटेज छान्नु र त्यसपछि निश्चित विधिहरू प्रयोग गरेर भिडियोलाई प्रवाहपूर्ण बनाउनु हो। एउटा सम्पादकमा कम्तीमा पनि यो मनोवृत्ति र जिम्मेवारी बोध हुनैपर्छ। तर म सधैँ झन्झटबाट बच्न खोज्थेँ, छोटो बाटो अपनाउँथेँ र धूर्त बन्थेँ, अनि म घटियापनका साथ कर्तव्यमा लाग्थेँ, र “झन्डै मिल्ने” खेस्रा सम्पादनमै सन्तुष्ट हुन्थेँ। यदि म लामो समयसम्म यस्तै रहेँ भने, म सम्पादकको रूपमा आफ्नो कर्तव्यमा असफल हुने मात्र होइन, भिडियोको काममा ढिलाइ गराएकोमा मलाई प्रकाश गरिने र हटाइने पनि थियो। परिणामहरू अत्यन्तै गम्भीर हुनेथिए! यो थाहा पाएपछि, मलाई नराम्रो लाग्यो र गहिरो धिक्कार महसुस भयो। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र म परिवर्तन हुन अनि अबदेखि आफ्नो कर्तव्यलाई आफ्नो घटियापनको आधारमा व्यवहार नगर्न इच्छुक भएँ।

त्यसपछि, म आफ्नो कर्तव्यमा अलिक बढी लगनशील बनेँ। एकपटक, म स्लोभाक भाषाको भिडियो सम्पादन गर्दै थिएँ, र मैले बुझाएपछि, त्यसको समीक्षा गर्ने सिस्टरले संवादका हरफहरूबीचको विराममा एउटा समस्या औँल्याउनुभयो। पछि, मैले यो समस्या समाधान गर्न सक्ने एउटा विधि पत्ता लगाएँ, त्यसैले मैले त्यसलाई मेरो सम्पादनमा लागू गर्न खोजेँ। अचम्मको कुरा, जब मैले उक्त भिडियो पुनः बुझाएँ, ती सिस्टरले भिडियो राम्ररी सम्पादन गरिएको र प्रवाहपूर्ण भएको बताउनुभयो। यो सुनेर म धेरै खुसी भएँ, र यो विधिले वास्तवमै मेरो कर्तव्यको नतिजामा केही सुधार ल्याउन सक्ने देखियो। तर, यो विधि प्रयोग गर्न अलि झन्झटिलो थियो; यसका लागि केही अतिरिक्त चरणहरू आवश्यक पर्थे। यदि मैले हरेक भिडियो यसरी सम्पादन गरेँ भने, यो धेरै झन्झटिलो हुनेथ्यो र मैले अझ बढी कष्ट भोग्नुपर्थ्यो। त्यसैले, म मेरो पुरानै सम्पादन विधिमा फर्किएँ, र फलस्वरूप, फेरि धेरै समस्याहरू देखा परे। यदि मैले अझ बढी मेहनत लगाएको भए र अलिकति बढी समय खर्चेको भए, यी समस्याहरूबाट बच्न सकिन्थ्यो भन्ने कुरा मलाई राम्ररी थाहा थियो। यसबारे सोच्दा, मलाई गहिरो आत्मग्लानि महसुस भयो, “म किन आफ्नो कर्तव्यमा अझ बढी मेहनत लगाउन र अझ बढी मूल्य चुकाउन सक्दिनँ? म किन फेरि झाराटारुवा भइरहेको छु?” मलाई परमेश्‍वरले सद्गुण नभएका मानिसहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन् भनी खुलासा गर्नुभएको कुरा याद आयो, त्यसैले मैले पढ्नका लागि परमेश्‍वरका वचनको त्यो अध्याय खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ? के भन्‍न सकिन्छ भने, तिनीहरू सबै विवेक र समझ भएका र सत्यता स्वीकार गर्न सक्ने मानिस हुन्, किनभने विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्विकार्न र त्यसको कदर गर्न सक्छन्, र तिनीहरूले सत्यता बुझ्न सक्छन् भने, तिनीहरू यसलाई व्यवहारमा लागु गर्न सक्छन्। विवेक र समझ नहुनेहरूमा मानवता हुँदैन; सरल रूपमा भन्नुपर्दा, तिनीहरूमा सद्‌गुणको कमी हुन्छ। सद्गुणको कमी हुनुको प्रकृति के हो? यो मानवतारहित र मानव कहलिन अयोग्य हुनु हो। … सद्‌गुणरहित मानिसहरू मानवताहीन हुन्छन्; तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्रोसँग गर्न सक्छन् र? तिनीहरू कर्तव्य निर्वाह गर्न अयोग्य हुन्छन्, र तिनीहरूले कुनै पनि कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनन्। त्यस्ता मानिसहरू मानव कहलिन योग्य हुँदैनन्। तिनीहरू पशु हुन्, मानव स्वरूपमा रहेका पशु हुन्। विवेक र समझ भएका मानिसहरू मात्र मानव मामिलाहरू सम्हाल्न, वचनबद्ध रहन, विश्‍वासयोग्य हुन र ‘सज्जनवृन्द’ कहलिन योग्य हुन सक्छन्। यो ‘सज्जनवृन्द’ भन्‍ने पदावली परमेश्‍वरको घरमा प्रयोग गरिँदैन। बरु, परमेश्‍वरको घरले मानिसहरू इमानदार होऊन् भन्‍ने माग गर्छ—सत्यता यही हो। इमानदार व्यक्तिहरू मात्र विश्‍वासयोग्य हुन्छन्, तिनीहरूसँग मात्र विवेक र समझ हुन्छ, र तिनीहरू मात्रै मानव कहलिन लायक हुन्छन्। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता स्विकार्न र सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छ, अनि आफ्ना कर्तव्यहरू मानकअनुरूप निर्वाह गर्छ भने, त्यो व्यक्ति इमानदार र भरोसायोग्य हुन्छ। अनि, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेहरू इमानदार मानिस हुन्। विश्‍वासयोग्य र इमानदार व्यक्ति बन्नु भनेको तेरा योग्यता वा तेरो रूपरङ्गसँग सम्बन्धित कुरा होइन, र तेरो क्षमता, सामर्थ्य वा प्रतिभासँग सम्बन्धित कुरा त झन् हुँदै होइन। जबसम्म तँ सत्यता स्विकार्छस्, र जिम्मेवारीपूर्वक काम गर्छस् र जबसम्म तँसँग विवेक र समझ हुन्छ र तँ परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म त्यो पर्याप्त नै हुनेछ। व्यक्तिसँग जस्तोसुकै योग्यताहरू भए पनि, वास्तविक चिन्ताको विषय के हो भने, ऊसँग सद्‌गुण हुँदैन। सद्‌गुण नभएको व्यक्ति मानव होइन, बरु ऊ पशु हो। परमेश्‍वरको घरबाट हटाइएका मानिसहरूमा मानवता नभएको र सद्‌गुण हुँदै नभएको कारण नै तिनीहरूलाई हटाइएको हो। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्नेहरू सत्यता स्विकार्न सक्षम हुनैपर्छ, र तिनीहरू इमानदार मानिस हुनैपर्छ, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्नैपर्छ। यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्; उहाँमा साँच्चै विश्‍वास गर्नेहरू र आफूलाई इमानदारीसाथ उहाँप्रति समर्पित गर्न सक्नेहरू यिनै हुन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन पढेपछि मैले कुरा बुझेँ। परमेश्‍वरले विवेक र समझ भएकाहरूलाई मुक्ति दिनुहुन्छ, किनकि विवेक र समझ भएका मानिसहरूले मात्र सत्यता स्वीकार गर्न, सत्यता अभ्यास गर्न र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्छन्। मानवता, विवेक र समझ नभएकाहरूले सत्यता स्वीकार गर्न सक्दैनन्; तिनीहरूले बुझे पनि, त्यसलाई व्यवहारमा लागू गर्न सक्दैनन्। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू मानिस नभई पशु हुन्, र तिनीहरूलाई परमेश्‍वरले हटाउने मात्र हो। परमेश्‍वरका वचनहरूको खुलासाले मेरो हृदयलाई घोच्यो। म विवेक र समझ नभएको ठ्याक्कै त्यही प्रकारको व्यक्ति थिएँ जसलाई परमेश्‍वरले खुलासा गरिरहनुभएको थियो। मैले एक दशकभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्वास गरेको थिएँ र अर्पित भई कर्तव्य निर्वाह गर्ने अनि झाराटारुवा नहुने पक्षमा उहाँका धेरैवटा वचन पढेको थिएँ। तैपनि अहिले, मेरो देहलाई अलिकति कष्टबाट बचाउनका लागि मात्र, म अझै पनि छोटो बाटो अपनाउँदै र धूर्त बन्दै थिएँ, र काममा ढिलाइ गरिरहेको थिएँ। म सत्यता स्वीकार गर्ने व्यक्ति पटक्कै थिइनँ, न त म विवेक र समझ भएको व्यक्ति नै थिएँ। तथ्य के हो भने, जब मैले कठिन भिडियोहरू भेटेँ, यदि मैले अलि बढी मेहनत र समय लगाएको भए, म तिनलाई राम्ररी सम्पादन गर्न सक्थेँ। तर मैले झन्झट लिन चाहिनँ। मेरो आफ्नै भौतिक सुखका खातिर, म यतिकै केही शटहरू छान्थेँ र तिनलाई जोडिदिन्थेँ। ट्रान्जिसनहरू मिलेका छैनन् भन्ने देख्दा पनि, म तिनलाई सच्याउँदिनथेँ, जसले गर्दा भिडियो पटक-पटक सच्याउन फिर्ता पठाइन्थ्यो, र यसको प्रगतिमा ढिलाइ हुन्थ्यो। राम्रो भिडियो निकाल्न त्यसमा भएका समस्याहरू हल गर्ने अझ राम्रा उपायहरू छन् भनेर मलाई प्रस्ट रूपले थाहा थियो, तर मेरो देहले कष्ट भोग्ने डरले, मैले सबैभन्दा कम मेहनत लाग्ने तरिका रोजेँ, जसले गर्दा भिडियोमा समस्याहरू आए र पटक-पटक सच्याउनुपर्दा प्रक्रियामा ढिलाइ भयो। खासमा, भिडियो राम्ररी सम्पादन गर्न उच्च प्राविधिक सीपहरू चाहिँदैन; यो सावधानी, लगनशीलता र अलिकति बढी मेहनतले गर्न सकिन्छ। तर मैले त्यति पनि गर्न सकिनँ। ममा विवेक साँच्चै छँदै थिएन! म आफ्नो भौतिक सुखबारे मात्र वास्ता गर्थेँ, मण्डलीको कामको अलिकति पनि वास्ता गर्दिनथेँ, र मण्डलीका हितहरूको पटक्कै रक्षा गर्दिनथेँ। म अत्यन्तै भरोसाहीन, सद्गुणरहित र मानवताहीन थिएँ! यदि कुनै जिम्मेवार व्यक्तिले यो भिडियो सम्पादन गरेको भए, यो चाँडै अपलोड हुन सक्थ्यो र एक दिन अघि नै सुसमाचार फैलाउने काममा यसले आफ्नो भूमिका खेल्न सुरु गर्न सक्थ्यो। मैले गर्दा नै भिडियोको अपलोडमा ढिलाइ भयो। म भिडियोको काममा अवरोध र बाधा पुर्‍याइरहेको थिएँ; म परमेश्‍वरको प्रतिरोध गरिरहेको थिएँ! यदि मैले आफूलाई परिवर्तन गरिनँ भने, अन्ततः म परमेश्‍वरद्वारा तिरस्कृत हुने, प्रकाश गरिने र हटाइने थिएँ। म यस्तै रहिरहन हुँदैनथ्यो। मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नुपर्थ्यो, इमानदार व्यक्ति बन्न खोज्नुपर्थ्यो, आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो, र आफूले देखेका हरेक समस्या समाधान गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना पनि गरेँ, “हे परमेश्‍वर, म मेरो कर्तव्यमा झाराटारुवा र गैरजिम्मेवार भएको छु। म आफूले राम्ररी गर्न सक्ने कामहरू गर्न असफल भएँ, र मैले भिडियोको अपलोडमा ढिलाइ गरेको छु। ममा साँच्चै विवेक र समझको कमी छ, र म भरोसाहीन छु। हे परमेश्‍वर, म पश्चात्ताप गर्न तयार छु। यसका लागि अझ बढी समय र ऊर्जा खर्चनुपरे पनि, अझ बढी कष्ट भोग्नुपरे पनि र अझ ठूलो मूल्य चुकाउनुपरे पनि, यदि यसले राम्रो नतिजा हासिल गर्न सक्छ भने, म त्यो गर्न इच्छुक छु। यदि म फेरि कहिल्यै झाराटारुवा भएँ भने, मलाई अनुशासनमा राख्नुहोस् र ताडना दिनुहोस्।”

त्यसपछि, मैले आफ्नो कर्तव्यप्रतिको पहिलेको गलत मनोवृत्तिलाई परिवर्तन गरेँ। मैले भिडियोहरू सम्पादन गर्न अतिरिक्त समय र ऊर्जा खर्चे पनि, सम्पादित भिडियोहरू अझ बढी प्रवाहपूर्ण देखिए, र अपलोड प्रक्रिया अलि तीव्र बन्यो। यसरी आफ्नो कर्तव्य पूरा गर्दा, म अझ बढी ढुक्क भएँ। केही समयपछि, सुपरिवेक्षकले मलाई मेसेज पठाएर केही ब्रदर-सिस्टरहरूले मैले सम्पादन गरेका भिडियोहरू निकै प्रवाहपूर्ण भएको टिप्पणी गरेको बताउनुभयो, र उहाँले सबैसँग साझा गर्न सकिने कुनै राम्रो तरिका छ कि भनेर सोध्नुभयो। यो सुनेर म गहिरो भावना र चिन्तनमा डुबेँ। मैले केवल परमेश्‍वरले भन्नुभएको कुरा पालन गरेर आफ्नो कर्तव्यमा बढी मेहनत लगाएको र बढी मूल्य चुकाएको थिएँ। मैले मेरो कर्तव्यको नतिजामा यति धेरै सुधार आउने अपेक्षा गरेकै थिइनँ। पछि, मैले मेरो अनुभव र सम्पादन विधि ब्रदर-सिस्टरहरूसँग साझा गरेँ, र उहाँहरू सबैलाई यो निकै उपयोगी लाग्यो।

मेरो एउटा उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र झाराटारुवा हुनुका परिणामहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका लागि, मानिसहरूले आफ्नो भाग पूरा गर्नु धेरै महत्त्वपूर्ण छ; तिनीहरूको मानसिकता महत्त्वपूर्ण हुन्छ; र तिनीहरूले आफ्ना सोच र विचारहरू कहाँ केन्द्रित गर्छन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वरले छानबिन गर्नुहुन्छ र मानिसहरूमा कस्तो मानसिकता छ र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कति हृदय लगाउँछन् भनी देख्न सक्नुहुन्छ। आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउनु अति महत्त्वपूर्ण छ, र आफ्नो भाग पूरा गर्नु अनिवार्य छ। मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कामहरूका बारेमा कुनै पछुतो नहोस् भनी प्रयास गर्नुपर्छ, र परमेश्‍वरप्रति ऋणी नहुने प्रयास गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदय र शक्ति दिनुको साँचो अर्थ यही हो। यदि तैँले आफ्नो कर्तव्यमा कहिल्यै आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउँदैनस् र तँ निरन्तर झाराटारुवा हुन्छस्, जसले गर्दा काममा ठूलो हानि हुन्छ र परमेश्‍वरले माग गर्नुभएका परिणामहरूभन्दा धेरै पछि पर्छस् भने, तब तँलाई हटाउन मात्र सकिन्छ। अनि तब के अझै पनि पछुतो महसुस गर्ने समय हुनेछ? हुनेछैन। यो एउटा अनन्त पछुतो, एउटा दाग हुनेछ! निरन्तर झाराटारुवा हुनु एउटा दाग, एउटा गम्भीर अपराध हो, होइन र? (हो।) तैँले आफ्नो भागमा पर्ने र आफूले गर्नुपर्ने सबै कुरामा, आफ्नो सम्पूर्ण हृदय र शक्तिले, राम्रो गर्न प्रयास गर्नुपर्छ, र झाराटारुवा हुनु वा कुनै पछुतो राख्नु हुँदैन। यसरी, तैँले निर्वाह गर्ने कर्तव्यलाई परमेश्‍वरले याद गर्नुहुनेछ। परमेश्‍वरले याद गर्नुहुने कुराहरू असल कार्यहरू हुन्। त्यसोभए, परमेश्‍वरले याद नगर्नुहुने कुराहरू के बन्छन्? (ती अपराध र दुष्ट कार्यहरू बन्छन्।) तैँले अब हामी तिनलाई दुष्ट कार्यहरू भनिरहेका छौँ भनी स्वीकार गर्न नसक्लास्, तर जब यी कुराहरूले गम्भीर परिणामहरू निम्त्याउने, र नकारात्मक प्रभाव उत्पन्न गर्ने दिन आउँछ, तब तैँले यी अपराधहरू व्यवहारगत अपराध मात्रै होइनन्, बरु दुष्ट कार्यहरू हुन् भनी थाहा पाउनेछस्। जब तँ यो बुझाइमा पुग्छस्, तब तँलाई पछुतो लाग्नेछ: ‘यदि मैले अहिले जानेको कुरा त्यतिबेला जानेको भए! यदि मैले त्यतिबेला अलिकति बढी सोच र मेहनत लगाएको भए, यी परिणामहरूबाट बच्न सकिन्थ्यो।’ कुनै पनि कुराले तेरो हृदयबाट यो अनन्त दाग मेटाउनेछैन, र यदि यसले तँभित्र सदाका लागि दोषको आभास गराउँछ भने, त्यसले समस्या निम्त्याउँछ। त्यसैले, अहिले तेरो कर्तव्य निर्वाह गर्दा, तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरले दिनुभएको आज्ञामा आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउन प्रयास गर्नुपर्छ, र तैँले गर्ने सबै कुराले तँलाई स्पष्ट विवेक दिनुपर्छ र कुनै पछुतो गर्ने ठाउँ छोड्नु हुँदैन, र परमेश्‍वरद्वारा याद गरिनुपर्छ। कुनै पनि हालतमा झाराटारुवा नहो। यदि तैँले आवेगमा गल्ती गरिस् र यो एउटा गम्भीर अपराध हो भने, यो एउटा अनन्त दाग बन्नेछ। एक पटक तँलाई पछुतो भएपछि, तैँले त्यसलाई पूर्ति गर्न सक्नेछैनस्; त्यो स्थायी हुनेछ। तैँले यी दुइटा मार्गहरू स्पष्ट रूपमा हेर्नुपर्छ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नका लागि तैँले कुन चाहिँ रोज्नुपर्छ? आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नु, पर्याप्त असल कार्यहरू तयार गर्नु, र सत्यता प्राप्त गर्न प्रयास गर्नु—यसरी मात्रै तँ कुनै पनि पछुतोबाट बच्न सक्छस्। जे भए पनि, दुष्ट काम नगर् र अरू मानिसहरूको कर्तव्य निर्वाहमा बाधा नदे, सत्यता उल्लङ्घन गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने कुनै पनि कार्य नगर्, साथै आफूलाई जीवनभर पछुतो हुन नदे। अति धेरै अपराधहरू गर्दा कस्तो परिणाम आउँछ? तैँले परमेश्‍वरको उपस्थितिमा आफूप्रति उहाँको क्रोध सञ्चित गर्दै जानेछस्! तैँले जति धेरै अपराधहरू गर्छस्, त्यति नै धेरै परमेश्‍वरको क्रोध सञ्चित गरिरहेको हुन्छस्—अन्त्यमा, तँ दण्डित हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि म निकै भावुक भएँ। मैले “निरन्तर झाराटारुवा हुनु एउटा दाग, एउटा गम्भीर अपराध हो” भन्ने वचनलाई बारम्बार मनन गरेँ र मैले महसुस गरेँ कि आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएर म असल कार्यहरू तयार गर्न असफल मात्र भइरहेको थिइनँ, खासमा म दुष्ट कार्यहरू बढाइरहेको थिएँ। यदि कुनै दिन यसले गम्भीर परिणामहरू निम्त्यायो भने, म पूर्ण रूपमा प्रकाश गरिने र हटाइने थिएँ। यदि मैले सम्पादन गरेका भिडियोहरू कसैले जाँच नगरी सिधै अनलाइनमा गएका भए, तिनमा भएका सबै समस्याहरूले परमेश्‍वरको घोर अपमान गर्नेथिए! मैले परमेश्‍वरबाट सत्यताको यति धेरै मलजल र आपूर्ति प्राप्त गरेको छु, त्यसैले मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र भिडियोहरू राम्ररी सम्पादन गर्नुपर्छ। तैपनि, म झाराटारुवा र गैरजिम्मेवार भएँ। के म र व्यवस्थाको युगमा परमेश्‍वरलाई लङ्गडा र अन्धा गाईवस्तु, भेडा र ढुकुर चढाउनेहरूबीच कुनै फरक थियो? म परमेश्‍वरको प्रेमको ऋण तिर्नेबारे नसोची उहाँको अनुग्रह र आशिष्‌ लिइरहेको थिएँ, र मैले चढाएको कुरा सबैभन्दा तुच्छ भेटी थियो। यो निर्लज्ज भई परमेश्‍वरलाई मूर्ख बनाउनु र धोका दिनु थियो; यो परमेश्‍वरको क्रोध बढाउनु थियो! यदि मैले पश्चात्ताप नगरी त्यसो गरिरहेँ भने, कम्तीमा पनि मेरो कर्तव्य पूरा गर्ने अवसर खोसिनेथियो, र यदि यो गम्भीर थियो भने, मैले परमेश्‍वरको दण्ड भोग्नेथिएँ। मैले मथियास नाम गरेको व्यक्तिको बारेमा सोचेँ, जो आफ्नो कर्तव्यमा लगातार झाराटारुवा भएको थियो। उसले गर्ने हरेक काममा, ऊ केवल काम सिध्याउने प्रयास गर्थ्यो र अरूले निरन्तर उसका गल्तीहरू सुधार्नुपर्थ्यो र उसले बिगारेका कामहरू मिलाउनुपर्थ्यो, जसले मण्डलीको काममा गम्भीर अवरोध र बाधा पुर्‍याउँथ्यो। धेरैपटक काटछाँट गरिएपछि पनि, उसले पश्चात्ताप गरेन र उसलाई एउटा साधारण मण्डलीमा पठाइयो। मैले पछि सुनेँ कि उसले त्यहाँ पनि आफूलाई सुधार गरेन; उसले कर्तव्य पूरा गर्नसमेत छोड्यो, र अन्तमा ऊ मण्डलीबाट निकालियो। अरूको असफलता सम्झँदा, म नडराई बस्न सकिनँ। मैले यो पनि अनुभव गरेँ कि परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन। मैले अझै मण्डलीमा कर्तव्य पूरा गर्न पाउनु भनेको परमेश्‍वरको कृपा र मेरो लागि पश्चात्ताप गर्ने मौका थियो। आफ्नो कर्तव्यमा झाराटारुवा हुने समस्या समाधान गर्न मैले तुरुन्तै सत्यता खोज्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनमा मेरो झाराटारुवा मनोवृत्तिलाई समाधान गर्ने मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तँ वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छस्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तँ इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै आफ्‍नो कर्तव्य निर्वाह गर्छस् र परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी वास्तविक जीवनमा लागू गर्न सक्छस्? तैँले ‘परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्नु’ लाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भङ्ग हुन्छ वा तँ रमाइलो गर्न चाहन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यो मेरो हृदयलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउनु हो? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले तँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘त्यो समयमा, मलाई केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई त्यत्तिकै टारिदिएँ। अहिले मात्रै मलाई म साँच्‍चै झाराटारुवा थिएछु, मैले आफ्नो जिम्‍मेवारी पूरा गरेको रहेनछु भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण, अब तैँले आफूलाई सुल्टाउनैपर्छ! कर्तव्य निर्वाह गर्नेबारे तेरो मनोवृत्ति गलत थियो। तैँले त्यसलाई अतिरिक्त काम जस्तै व्यवहार गरिस् र देखावटी मेहनत मात्र लगाइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प छ भने मात्र तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्ति रुपान्तरण भएको छ भने मात्रै तैँले आफूलाई सुल्टाएको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। “मानिसहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले, तिनीहरू प्रायः आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा हुन्छन्। यो सबैभन्दा गम्भीर समस्या हो। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने हो भने, तिनीहरूले पहिले झाराटारुवापनको समस्या समाधान गर्नैपर्छ। जबसम्म तिनीहरूमा झाराटारुवा मानसिकता हुन्छ, तबसम्म तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्नेछैनन्, जसको अर्थ झाराटारुवापनको समस्या समाधान गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसोभए तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? पहिले, तिनीहरूले आफ्नो मानसिकताको समस्या समाधान गर्नुपर्छ—तिनीहरूले आफ्ना कर्तव्यहरूलाई सही तरिकाले लिनुपर्छ, कामहरू गम्भीरतापूर्वक र जिम्मेवारीपूर्वक गर्नुपर्छ, र छली, झाराटारुवा हृदय राख्न छोड्नुपर्छ। व्यक्तिको कर्तव्य परमेश्‍वरका लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिका लागि होइन; यदि मानिसहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन् भने, तिनीहरूसँग सही मानसिकता हुनेछ। यसबाहेक, केही काम गरेपछि, मानिसहरूले त्यसलाई समीक्षा गर्नुपर्छ र त्यसमाथि चिन्तन गर्नुपर्छ। यदि तिनीहरूलाई आफ्नो हृदयमा अलिकति असहज महसुस भयो, र होसियारीपूर्वक समीक्षा गर्दा तिनीहरूले साँच्चै समस्या छ भनी पत्ता लगाए भने, तब तिनीहरूले त्यसलाई सच्याउनैपर्छ, र त्यसलाई सच्याएपछि, तिनीहरूलाई आफ्नो हृदयमा सहज महसुस हुनेछ। भित्र असहज महसुस हुनुले समस्या छ भन्ने प्रमाणित गर्छ। यसका लागि होसियारीपूर्वक समीक्षा गर्नुपर्ने हुन्छ, र महत्त्वपूर्ण बिन्दुहरूमा कुनै पनि कुरा छुटाउनु हुँदैन। यो आफ्नो कर्तव्य निर्वाह गर्नमा जिम्मेवार हुने मनोवृत्ति हो। यदि कोही कर्तव्यनिष्ठ हुन सक्छ, उसले जिम्मेवारी लिन र आफ्नो सम्पूर्ण हृदय र शक्ति दिन सक्छ भने, काम राम्ररी सम्पन्न हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले मेरो हृदय उज्यालो पारिदियो। मलाई थाहा थियो कि मैले आफ्नो कर्तव्य पूरा गर्ने अवसरको कदर गर्नुपर्छ र त्यो गर्दा परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्छ। जब-जब मलाई झाराटारुवा हुने सोच आउँथ्यो, तब मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो र आफैविरुद्ध विद्रोह गर्नुपर्थ्यो, र आफ्नो कर्तव्यमा सम्भव भएसम्म उत्तम नतिजा हासिल गर्ने प्रयास गर्नुपर्थ्यो। यसबाहेक, आफूले गर्ने हरेक काममा मैले मेहनत लगाउनुपर्थ्यो र गम्भीर हुनुपर्थ्यो, र राम्रो नतिजा हासिल गर्न समस्या वा कष्टबाट पछि हट्नु हुँदैनथ्यो। त्यसपछि, मैले आफ्नो कर्तव्यमा परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ र हरेक भिडियो ध्यानपूर्वक सम्पादन गरेँ। जब मैले फुटेज छान्न धेरै समय लाग्ने कठिन भिडियोहरू भेट्थेँ, र मलाई त्यो धेरै झन्झटिलो लाग्थ्यो, म मेरो देहविरुद्ध विद्रोह गर्न सचेत भई परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र मिल्दो राम्रो फुटेज फेला पार्न सक्दो प्रयास गर्थेँ। सम्पादन गरिसकेपछि, म त्यसलाई दुईपटक जाँच गर्थेँ, र आफूले फेला पार्न सकेका हरेक समस्यालाई सच्याउँथेँ र सुधार गर्थेँ। म आफ्नो कर्तव्यमा आएका समस्याहरूलाई पनि बारम्बार सारांशीकृत गर्थेँ, र यदि मैले सम्हाल्न नसक्ने कुनै कुरा भएमा, म मेरो आफूसँग सहकार्य गर्ने ब्रदरलाई सोध्थेँ। समय बित्दै जाँदा, मेरो प्राविधिक सीपमा केही सुधार आयो, मेरा भिडियोहरूको समीक्षा गर्ने ब्रदरले कम समस्याहरू औँल्याउनुभयो, र धेरै भिडियोहरू एक पटक जाँच गरेपछि सिधै अपलोड भए। यी नतिजाहरू देखेर, म धेरै खुसी र ढुक्क भएँ।

पछि, एउटा यस्तो घटना घट्यो जुन मलाई मेरो एउटा परीक्षा हो भन्ने लाग्यो। मैले सम्पादन गरेको एउटा भिडियो पहिले नै बुझाइसकेको थिएँ, तर अप्रत्याशित रूपमा, दुई दिनपछि, एक जना सिस्टरले मलाई अचानक पुन: रेकर्ड गरिएको अडियो फाइल पठाउनुभयो। उहाँले अघिल्लो रेकर्डिङमा केही प्राविधिक समस्याहरू रहेको, त्यसैले ध्वनिको गुणस्तर त्यति राम्रो नभएको, र त्यो पुन: रेकर्ड गरिएको भन्नुभयो। नयाँ अडियोसँग मिलाउन मैले भिडियो पुन: सम्पादन गर्नुपर्ने भयो। सुरुमा त मलाई यो खबर स्वीकार गर्नै गाह्रो भयो, र मैले सोचेँ “यो हुनै सक्दैन, पुन: सम्पादन गर्ने? के यसको मतलब मेरो पहिलेको धेरैजसो काम खेर गएको होइन र?” फेरि सच्याउन अर्को आधा दिन खर्चनुपर्ने कुरा सोच्दा मलाई त्यो गर्न मन लागेन; त्यो धेरै झन्झटिलो लाग्यो। त्यसपछि म सुपरिवेक्षकलाई सोध्न गएँ, र उहाँले अघिल्लो अडियोको गुणस्तर धेरै राम्रो नभए पनि, यो स्वीकार्य दायराभित्रै रहेको हुनाले, यसलाई नफेरे पनि हुन्छ भन्नुभयो। उहाँले त्यसो भनेको सुनेर, मैले मनमनै सोचेँ, “गजब भयो! यसो गर्दा मैले पुन: सम्पादन गर्ने झन्झट गर्नु पर्दैन।” पछि, मैले सिस्टरले पठाउनुभएको नयाँ अडियोलाई पुरानो अडियोसँग तुलना गरेँ र नयाँ अडियो वास्तवमै धेरै राम्रो भएको पाएँ। त्यो बिन्दुमा, म दोधारमा परेँ, “अडियो फेर्नु पर्ला कि नपर्ला? फेरिनँ भने म झन्झटबाट बच्छु, र भिडियो पनि सामान्य रूपमा अपलोड गर्न सकिन्छ, तर गुणस्तर खस्किनेछ। ती सिस्टरले पहिले नै अडियो पुन: रेकर्ड गरिसक्नुभएको छ, र पुरानोको ठाउँमा त्यसलाई राख्दा भिडियो अझ राम्रो हुनेछ। के मैले अडियो फेर्न र भिडियो पुन: सम्पादन गर्न केही समय खर्चनु पर्दैन र?” ठिक त्यही बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो दिमागमा आयो: “तैँले आफ्नो भागमा पर्ने र आफूले गर्नुपर्ने सबै कुरामा, आफ्नो सम्पूर्ण हृदय र शक्तिले, राम्रो गर्न प्रयास गर्नुपर्छ, र झाराटारुवा हुनु वा कुनै पछुतो राख्नु हुँदैन। यसरी, तैँले निर्वाह गर्ने कर्तव्यलाई परमेश्‍वरले याद गर्नुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मेरा लागि सामयिक सम्झौटो बने। केही अतिरिक्त समय खर्चेर यो भिडियो सच्याउँदा यसबाट अझ राम्रो नतिजा आउन सक्छ, र त्यो अर्थपूर्ण र मूल्यवान् कुरा हो। त्यसमाथि, यी अनुभवात्मक गवाही भिडियोहरू अनन्तसम्म सुरक्षित राखिनुपर्छ। यदि मैले अहिले अलि बढी समय खर्चेर यसलाई अझ राम्रो बनाउन सकिन्छ भने, मैले यसलाई सकेसम्म राम्रो बनाउन आफ्नो सक्दो प्रयास गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा गर्नु र कुनै पछुतो नराख्नु भनेको यही हो। यस्तो सोचेर, मैले सुपरिवेक्षकलाई भनेँ, “पुन: रेकर्ड गरिएको अडियो वास्तवमै राम्रो छ। अडियो फेर्दा भिडियोको नतिजा अझ राम्रो हुनेछ, त्यसैले यसलाई सम्पादन गर्न अतिरिक्त समय खर्चनु सार्थक हुन्छ।” सुपरिवेक्षक सहमत हुनुभयो। जब मैले नयाँ अडियो राखेर पुन: सम्पादन गरी भिडियो बुझाएँ, मलाई एक किसिमको ढुक्क र आनन्द महसुस भयो। अडियो फेर्न र पुन: सम्पादन गर्न केही समय र ऊर्जा लागे पनि, अनुभवात्मक गवाही भिडियोको नतिजा सुधार गर्न पाउनुले यो सबैलाई सार्थक र अर्थपूर्ण बनायो।

मैले आफ्नो कर्तव्यमा झारा टारेका ती सबै समयहरू फेरि सम्झेँ, क्षणिक भौतिक सुखको लोभमा आफूले अति धेरै भिडियोहरूको सामान्य अपलोडमा ढिलाइ गरेको र धेरै अपराधहरू गरेको कुरा सम्झेँ। मलाई पछुतो र ऋणी महसुस भयो। अब उप्रान्त, म मेरो कर्तव्यप्रतिको व्यवहारमा झाराटारुवा हुन मिल्दैन; मैले मेरो सम्पूर्ण हृदय र सारा शक्ति अर्पित गर्नैपर्छ। पछि, मेरो कर्तव्यमा, मैले आफ्नो मनोवृत्ति जाँच्नमा ध्यान दिन थालेँ। कहिलेकाहीँ कठिन भिडियोहरू भेटिँदा, त्यो धेरै झन्झटिलो छ र कष्ट भोग्न मन छैन भन्ने विचार अझै प्रकट हुन्थ्यो। तर तब म यो मेरो कर्तव्य हो, मेरो जिम्मेवारी हो, र मैले नतिजालाई प्राथमिकता दिनुपर्छ र झन्झटदेखि डराउनु हुँदैन भनेर सोच्थेँ। बिस्तारै, म यी विचारहरूविरुद्ध विद्रोह गर्न र परमेश्‍वरका वचनअनुसार अभ्यास गर्न सक्षम भएँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ७२. अगुवाइको पछ्याइ पछाडि

अर्को:  ७४. पैसाको पछि लाग्ने भुमरीबाट बाहिर निस्किँदा

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger