८४. श्रीमान् बिरामी परेपछि मैले सिकेका पाठहरू

लिन् जिङ, चीन

सन् २००१ को अगस्टमा, एक जना सिस्टरले मलाई परमेश्‍वरले सत्यता व्यक्त गर्न र न्यायको काम गर्न, मानवजातिको भ्रष्ट स्वभावलाई शुद्ध पार्न र रूपान्तरण गर्न, अनि अन्ततः मानिसहरूलाई सुन्दर राज्यमा ल्याउन दोस्रो पटक देहधारण गर्नुभएको छ भनी गवाही दिइन्। यो सुनेर म निकै उत्साहित भएँ। केही समयको अनुसन्धानपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। त्यसपछि, म सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन र आफ्ना कर्तव्य निर्वाह गर्न थालेँ। पछि, म मण्डली अगुवा चुनिएँ। त्यतिबेला, मेरा श्रीमान्‌ले मलाई परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्नबाट प्रायः रोक्ने प्रयास गर्नुहुन्थ्यो, तर म उहाँको नियन्त्रणमा परिनँ र मैले आफ्नो कर्तव्यमा कहिल्यै बाधा पर्न दिइनँ। म दिनभरि मण्डलीको काममा व्यस्त रहन्थेँ। दिउँसो भेलाहरूमा सहभागी हुन्थेँ, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू समाधान गर्न सङ्गति गर्थेँ। अनि साँझपख, नकारात्मक र कमजोर ब्रदर-सिस्टरहरूलाई सहायता गर्थेँ। मेरा श्रीमान्‌ले पहिले धेरै पैसा कमाउनुहुन्नथ्यो, तर सोच्दै नसोचेको कुरा, त्यस अवधिमा उहाँको आम्दानी राम्रो भयो र हाम्रो परिवारले केही बचत गर्न धेरै समय लागेन। म साह्रै खुसी भएँ। मैले मनमनै सोचेँ, “अहिले कर्तव्य निर्वाह गर्दा मसँग परमेश्‍वरको अनुग्रह र आशिष्‌ छ, र भविष्यमा म राज्यमा प्रवेश गर्न पनि सक्नेछु। मैले भविष्यमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, अनि परमेश्‍वरले मलाई अन्याय गर्नुहुनेछैन; उहाँले मेरो परिवारको जीवनलाई झन्-झन् राम्रो बनाउन आशिष्‌ दिनुहुनेछ।” तर, म यसरी योजना बुन्दै गर्दा, एउटा नसोचेको घटना घट्यो।

केही समयपछि, श्रीमान्‌ले कम्मर दुखेको गुनासो गरिरहन थाल्नुभयो, त्यसैले उहाँ जँचाउन अस्पताल जानुभयो। डाक्टरले मेरा श्रीमान्‌लाई कम्मरको हड्डीको चक्काले ठाउँ छोडेको र मेरुदण्डमा हड्डी पलाएको छ, अनि यो अवस्था गम्भीर भएमा, यसले नसा थिचेर पक्षाघात गराउन सक्छ भन्नुभयो। उहाँलाई अबदेखि काम गर्न नहुने र तत्काल उपचार थाल्नुपर्ने पनि भनियो। यो सुन्दा म झसङ्ग भएँ। मैले मनमनै सोचेँ, “भर्खरै बनाएको नयाँ घरको धेरै ऋण तिर्न बाँकी नै छ, झ्याल-ढोका हालेकै छैन। छोरी युनिभर्सिटीमा पढ्दै छे, उसलाई पनि पैसा चाहिन्छ। म मण्डलीको अगुवाका रूपमा साह्रै व्यस्त छु, पैसा कमाउन जाने समय नै छैन। १४ वर्षको छोराले मात्रै सजावटको काम सिक्दै छ, तर ऊ सानै छ र अझै पनि सिकारु नै छ, महिनामा थोरै कमाउँछ। अब भविष्यमा घरखर्च कसरी टार्ने होला?” मलाई अलि चिन्ता लाग्यो। तर, म दिनभरि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न कति व्यस्त छु भन्‍नेबारे सोच्दा, मलाई के लाग्यो भने परमेश्‍वरले मेरो परिवारको कठिनाइलाई बेवास्ता गर्नुहुनेछैन, र मेरा श्रीमान्‌को बिमारी केही समयको आरामपछि निको हुन सक्छ। यसो सोच्दा मेरो हृदयको चिन्ता धेरै कम भयो।

हेर्दाहेर्दै एक वर्षभन्दा बढी समय बित्यो। मेरा श्रीमान्‌ले उपचारका लागि निरन्तर औषधीयुक्त प्लास्टर लगाउनुभयो, तर उहाँको बिमारी अझै निको भएन, र डाक्टरहरूसँग पनि कुनै प्रभावकारी उपचारविधि थिएन। मलाई हृदयमा निकै छटपटी भयो। मैले यस्तो नसोची रहनै सकिनँ, “मेरा श्रीमान्‌को बिमारी कहिले निको होला? यदि म आफ्नो कर्तव्य निर्वाह गर्नमा यति धेरै व्यस्त नभएकी भए, म परिवार पाल्नका लागि केही पैसा कमाउन सक्थेँ। तर म दिनभरि मण्डलीको काममा व्यस्त रहन्छु र पैसा कमाउने समय नै छैन। परमेश्‍वरले मेरो परिवारको सुरक्षा किन गर्नुहुन्न? मेरा श्रीमान्‌को बिमारी किन निको भइरहेको छैन? घरमा यी सबै कठिनाइहरू आँखा अगाडि हुँदाहुँदै, म कसरी कर्तव्यमा आफ्नो हृदय पूर्ण रूपमा लगाउन सक्छु?” यसबारे जति धेरै सोच्थेँ, मलाई त्यति नै पीडा हुन्थ्यो। मेरो हृदय चिन्ताले जलिरहेछ जस्तो लाग्थ्यो। कहिलेकाहीँ त सहन नसकेर म लुकेर रुन्थेँ। मलाई थाहा थियो मैले परमेश्‍वरबारे गुनासो गर्नु हुँदैन, तर म आफ्ना भावनाहरूलाई नियन्त्रण नै गर्न सक्दिनथेँ र दिनभरि पीडा र सास्तीमा जिउँथेँ। खास गरी, जब मैले मसँग सहकार्य गर्ने सिस्टरका श्रीमान्‌ पैसा कमाउन एकदमै सिपालु रहेको, र उनले आरामदायी जीवन जिएको अनि पैसाको अभावमा नबाँधिएको देखेँ, तब मलाई यो अन्यायपूर्ण हो भन्ने लाग्यो। मैले सोचेँ, “म उनीभन्दा सक्रिय भएर कर्तव्य निर्वाह गर्छु, तैपनि मेरो परिवारको स्थिति किन यस्तो छ? परमेश्‍वरले तिनीहरूलाई अनुग्रह गर्नुहुन्छ तर मलाई किन गर्नुहुन्न? के परमेश्‍वरले मलाई मन पराउनुहुन्न? मैले यसरी मूल्य चुकाउँदा र आफूलाई समर्पित गर्दा पनि परमेश्‍वरले मेरो परिवारलाई आशिष्‌ दिनुहुन्न भने, म किन यति सक्रिय भइरहनु?” तर फेरि, मैले सोचेँ, “के परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको हो? यदि मैले सक्रिय रूपमा कर्तव्य निर्वाह गरिरहेँ भने, मेरो भक्ति देखेर परमेश्‍वरले मेरो परिवारलाई आशिष्‌ दिन सक्नुहुन्छ। यदि मैले झाराटारुवा पाराले कर्तव्य निर्वाह गरेँ र भविष्यमा परमेश्‍वरले मलाई वास्ता गर्नुभएन भने, म के गर्ने?” त्यसैले, मैले आफैलाई भनेँ—म झाराटारुवा बन्नु हुँदैन र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। म दिनभरि आफ्नो कर्तव्य निर्वाहमा व्यस्त भइरहेँ। तर, केही समयपछि पनि, मेरा श्रीमान्‌को अवस्थामा सुधार आएको थिएन, र मेरो परिवारका समस्याहरू अझै समाधान भएका थिएनन्। मेरो हृदय झन् धेरै अन्योल र हैरानीमा थियो, र मलाई कुनै निकासको बाटो नभएजस्तो लाग्यो। मेरो हृदय पित्तजस्तै तितो भयो। एउटा भेलामा, मैले घरका कठिनाइहरूबारे कुरा निकालेँ। अनुहारमा हैरानी बोकेर, मैले गुनासो गरेँ, “तपाईंहरू सबै स्वर्गमा हुनुहुन्छ जस्तो देखिन्छ, तर मचाहिँ धेरै सास्ती पाएर नरकमा भएजस्तो महसुस गर्छु।” सिस्टरले मलाई कठोरतापूर्वक काटछाँट गर्दै भन्नुभयो, “के तपाईं परमेश्‍वर धर्मी हुनुहुन्न भनी गुनासो गरिरहनुभएको छैन र?” सिस्टरका शब्दहरूले मेरो हृदयलाई नै झसङ्ग बनायो। के म परमेश्‍वरबारे गुनासो गरिरहेकी थिइनँ र? मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले गर्ने हरेक गुनासोले दाग बसाउँछ, र त्यो धोएर पखाल्न नसकिने पाप हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। समस्याको गम्भीरता महसुस गरेर, मैले तुरुन्तै शिर निहुराएँ र बोल्न छोडेँ। घर पुगेपछि, मैले घुँडा टेकेँ र रुँदै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ मेरो परिवारमा कठिनाइहरू आउँदा मैले गुनासो गर्नु हुँदैन, तर मलाई तपाईंको अभिप्राय के हो वा यसलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन। हे परमेश्‍वर, मलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहोस् ताकि म तपाईंको कामलाई जान्न र तपाईंको अभिप्राय बुझ्न सकूँ।”

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र परमेश्‍वरका अभिप्रायबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सबै मानिसहरूका लागि, शोधन अत्यन्तै पीडादायी हुन्छ, र स्विकार्न धेरै गाह्रो हुन्छ—तैपनि शोधनको दौरान नै परमेश्‍वर मानिसलाई उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, र मानिसप्रतिका आफ्ना मागहरू अवगत गराउनुहुन्छ, र थप अन्तर्दृष्टि र थप व्यावहारिक काटछाँट प्रदान गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलनामार्फत, मानिसले आफ्नैबारे र सत्यताबारे अझ ठूलो ज्ञान, र परमेश्‍वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिसले परमेश्‍वरका लागि अझ साँचो र अझ शुद्ध प्रेम प्राप्त गर्न सक्षम हुन्छ। शोधनको काम गर्नुपछाडिका परमेश्‍वरका उद्देश्यहरू यस्तै छन्। परमेश्‍वरले मानिसमा गर्ने सबै कामका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वर अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरसामुबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको दौरान मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका अभिप्रायहरू, उसका पुराना दृष्टिकोण, परमेश्‍वरप्रतिको उसको प्रेम, र ऊ जिउने सम्पूर्ण तरिका परिवर्तन गर्नु हो। शोधन मानिसको एक व्यावहारिक जाँच हो, र एक प्रकारको व्यावहारिक तालिम हो, शोधनको दौरान मात्र उसको प्रेमले आफ्नो अन्तर्निहित कार्य गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। परमेश्‍वरका वचन मनन गर्दा, मेरो मन उज्यालो भयो। परमेश्‍वरले हाम्रा लागि जस्तोसुकै वातावरणको बन्दोबस्त गर्नुभए पनि, उहाँको लक्ष्य हामीलाई हटाउनु होइन, बरु हाम्रो भ्रष्ट स्वभावलाई धुनु र रूपान्तरण गर्नु हो, अनि हामीलाई उहाँको स्वभाव र उहाँको काम बुझ्न मद्दत गर्नु हो। जब हामीले परमेश्‍वरलाई जान्दछौँ, तब उहाँको काममा समर्पित हुन सक्छौँ। त्यतिबेला मलाई महसुस भयो, मेरा श्रीमान्‌लाई लामो समयदेखि ढाडको समस्यामा राख्नुका पछाडि परमेश्‍वरको अभिप्राय भनेको मैले सत्यता खोजूँ र यसबाट पाठ सिकूँ भन्‍ने रहेछ, ताकि मेरो भ्रष्ट स्वभाव धोइन र रूपान्तरण हुन सकोस्। मैले परमेश्‍वरको नयाँ काम पहिलो पटक स्वीकार गर्दाको समयलाई फर्केर सोचेँ। मलाई थाहा थियो, आखिरी दिनहरूमा परमेश्‍वरले न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ, तर मैले अझै पनि अनुग्रहको युगमा जस्तै अनुग्रह र आशिष्‌ प्राप्तिलाई पछ्याएँ, परमेश्‍वरले मेरा श्रीमान्‌को बिमारी निको पारिदिनुहोस् भन्‍ने चाहेँ। बिमार अझै पनि सुधार नहुँदा, मैले परमेश्‍वरबारे गुनासो गरेँ अनि नकारात्मकता र गलत बुझाइमा जिएँ। यो सारा कष्ट मैले आफैमाथि ल्याएकी थिएँ। यो सबै परमेश्‍वरको कामबारे मेरो बुझाइको कमीले गर्दा भएको थियो, र म परमेश्‍वरको विश्‍वासमा गलत बाटोमा हिँडिरहनुले थियो। यो बुझेपछि, मेरो मनको पीडा धेरै कम भयो।

पछि, मैले मानिसहरू परमेश्‍वरलाई कसरी बहुउद्देश्यीय बाकस र अक्षयपात्रका रूपमा व्यवहार गर्छन् भन्नेबारे उहाँको खुलासालाई सम्झेँ, त्यसैले मैले परमेश्‍वरका वचनहरूको त्यो खण्ड खोजेर पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नहुने भएपछि, तिनीहरूको प्रकृति सार, र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? के तिनीहरू परमेश्‍वरको डर मान्छन्? के तिनीहरू दुष्टताबाट अलग बस्छन्? जो परमेश्‍वरको डर मान्दैनन् वा दुष्टताबाट अलग बस्‍दैनन्, तिनीहरूलाई दुइटा शब्दमा व्याख्या गर्न सकिन्छ: ‘परमेश्‍वरका शत्रुहरू।’ तिमीहरूले प्रायजसो यी दुइटा शब्द बोल्छौ, तर कहिल्यै पनि तिनको वास्तविक अर्थ जानेका छैनौ। ‘परमेश्‍वरका शत्रुहरू’ भन्‍ने शब्दहरूको ठोस अर्थ छ: तिनको अर्थ परमेश्‍वरले मानिसलाई शत्रुको रूपमा हेर्नुहुन्छ भन्ने होइन, बरु मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भन्ने हो। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, मनसाय र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देखेको भए पनि, तिनीहरूले परमेश्‍वरमाथि गर्ने विश्‍वासमा अझै पनि ती प्रेरणाहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुमा तिनीहरूको अन्तिम उद्देश्य उहाँका आशिष्‌हरू र आफूले उहाँबाट चाहेको कुरा प्राप्त गर्नु हो। मानिसहरूका जीवन अनुभवहरूमा तिनीहरूले प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर त्यागेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ? मैले यसको हिसाब गर्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै नै समर्पित गरेको छु, म दौडेको दौड्यै छु, र मैले धेरै दुःख भोगेको छु—के यस अवधिमा मैले गरेको कार्यसम्पादनको बदलामा परमेश्‍वरले मलाई कुनै वाचा गर्नुभएको छ? के उहाँले मेरा असल कार्यहरू याद गर्नुभएको छ? मेरो परिणाम कस्तो हुनेछ? के मैले आशिष्‌हरू पाउन सक्छु? …’ हृदयमा, प्रत्येक व्यक्तिले बारम्बार र निरन्तर यस्ता हिसाबकिताबहरू गर्छ, र परमेश्‍वरबाट केही कुरा माग्दा, तिनीहरूले मनसायहरू, महत्त्वाकाङ्क्षाहरू र लेनदेनको मानसिकता बोकेका हुन्छन्। यसो भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू रचिरहेको हुन्छ, उसको आफ्नै परिणामका लागि निरन्तर परमेश्‍वरसँग ‘बहस गरिरहेको’ हुन्छ, र परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्‍वरले दिनुहुनेछ कि दिनुहुनेछैन भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरलाई पछ्याउने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग केही माग्दै आएको छ, र औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब समेत दिने गरेको छ। परमेश्‍वरसँग सौदाबाजी गर्न खोज्दा खोज्दै, मानिसले उहाँसँग तर्क पनि गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आउँदा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा प्रायः कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्‍वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्ने दुइटा शब्दबारे परमेश्‍वरमा विश्‍वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूको खुलासाले मेरो मुटुसम्मै छेड्यो। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मैले परमेश्‍वरका धेरै अनुग्रह र आशिष्‌को आनन्द लिएकी थिएँ, र म आफ्नो कर्तव्य निर्वाह गर्नमा अत्यन्तै उत्प्रेरित थिएँ। मलाई लाग्थ्यो, जबसम्म म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छु, तबसम्म परमेश्‍वरले मलाई प्रशस्त अनुग्रह प्रदान गर्नुहुनेछ, प्रकोप र दुर्भाग्यबाट मेरो रक्षा गर्नुहुनेछ, र मेरो परिवारलाई सुरक्षित र सकुशल राख्नुहुनेछ। म यिनै गलत अभिप्रायहरू लिएर आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। सुरुमा, जब मेरा श्रीमान्‌लाई कम्मरको हड्डीको चक्कामा समस्या भयो र डाक्टरले अवस्था गम्भीर भएमा पक्षाघात हुन्छ भन्नुभयो, मलाई लागेको थियो, जबसम्म म सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छु, तबसम्म परमेश्‍वरले मसँग अन्याय गर्नुहुनेछैन र मेरा श्रीमान्‌को बिमारी निको हुन धेरै समय लाग्नेछैन। त्यसैले, कर्तव्य निर्वाह गर्ने मेरो उत्साह अलिकति पनि कम भएन। तर, जब मेरा श्रीमान्‌को अवस्थामा सुधार भएन र मेरो परिवारले आर्थिक कठिनाइहरूको सामना गर्नुपर्‍यो, जबकि मेरो वरपरका ब्रदर-सिस्टरहरूले उच्च र आरामदायी जीवनको आनन्द लिइरहेका थिए, तब मलाई यो अन्यायपूर्ण हो भन्ने लाग्यो र मैले परमेश्‍वरले मलाई आशिष्‌ दिनुभएन भनी गुनासो गरेँ, र म पहिले जस्तो आफ्नो कर्तव्य निर्वाह गर्नमा सक्रिय रहिनँ। पछि, कतै परमेश्‍वरले म उहाँप्रति बफादार छु कि छैन भनी जाँच गरिरहनुभएको त होइन, र यदि म आफ्नो कर्तव्यप्रति झाराटारुवा भएँ भने, मैले परमेश्‍वरको अनुग्रह र आशिष्‌ पाउनेछैनँ भनी मलाई चिन्ता लाग्यो, त्यसैले मसँग आफ्नो कर्तव्य निर्वाहलाई निरन्तरता दिनुबाहेक अर्को विकल्प थिएन। केही समयपछि पनि, मेरा श्रीमान्‌को अवस्था अझै सुधार भएको थिएन, र मेरो जीवनका कठिनाइहरू समाधान भएका थिएनन्। मैले आफ्नो हृदयमा परमेश्‍वरबारे अझ धेरै गुनासो गरेँ, र मेरा सिस्टरहरूको अगाडि परमेश्‍वरप्रतिको असन्तुष्टि पोखेँ, परमेश्‍वर मप्रति धर्मी हुनुहुन्न भनी गुनासो गरेँ। परमेश्‍वरसँग सौदाबाजी गर्ने मेरो प्रयासको कुरूपता पूर्ण रूपमा खुलासा भयो, र म पूरै रूपमा प्रकटित भएकी थिएँ! मेरा श्रीमान् बिरामी हुनुभएको वर्षौंसम्म, मैले सत्यता खोजेकी थिइनँ। बरु, म निरन्तर नकारात्मकतामा जिएँ, परमेश्‍वरबारे गुनासो गरेँ र उहाँलाई गलत बुझेँ। मैले कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, म केवल परमेश्‍वरका आशिष्‌हरूका लागि लेनदेन गर्न उहाँसँग सौदाबाजी गर्ने प्रयास गर्दै थिएँ, उहाँलाई अक्षयपात्र, र बहुउद्देश्यीय बाकसका रूपमा व्यवहार गर्दै थिएँ। विगतमा, मैले के सोचेकी थिएँ भने म आफ्नो कर्तव्य निर्वाह गर्न निकै सक्रिय छु। श्रीमान् बिरामी हुँदा पनि मैले कहिल्यै आफ्नो कर्तव्यलाई बेवास्ता गरिनँ, र मैले काममा केही नतिजाहरू पनि हासिल गरेँ। फलस्वरूप, मैले आफैलाई “परमेश्‍वरप्रति बफादार” र “उहाँमा साँचो विश्‍वास गर्ने” व्यक्तिको ट्याग भिराएकी थिएँ। ममा आत्मसचेतनाको घोर अभाव थियो! जो मानिसहरू परमेश्‍वरप्रति बफादार हुन्छन्, तिनीहरू तिनै हुन् जसले आफ्नो सारा हृदय र मन लगाएर आफ्नो कर्तव्य राम्ररी पूरा गर्छन्, र परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ वा हुन्न भन्‍ने कुरामा अलिकति पनि गुनासो गर्दैनन्। उदाहरणका लागि अय्यूबलाई हेरौँ। परमेश्‍वरले दिनुहुँदा होस् वा खोस्नुहुँदा, अय्यूब परमेश्‍वरप्रति समर्पित हुन र सधैँ उहाँको नामको प्रशंसा गर्न सक्षम थिए। परमेश्‍वरले उनीसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, अय्यूबको आफ्नै कुनै माग थिएन। परमेश्‍वरप्रति बफादार व्यक्ति हुनुको साँचो अर्थ यही हो। मैले त परमेश्‍वरबाट लाभहरू पाउनका लागि उहाँमा विश्‍वास गरेकी र कर्तव्य निर्वाह गरेकी रहेछु। ममा अलिकति पनि बफादारी वा इमानदारी थिएन। म केवल एक अवसरवादी थिएँ। मेरो परमेश्‍वरमाथिको विश्‍वास र उहाँलाई पछ्याउने कार्य झुटा थिए, केवल मेरो अनुग्रह र आशिष्‌को माग मात्र साँचो थियो। मैले यी भौतिक कुराहरूलाई अरू सबैभन्दा माथि राखेकी थिएँ, र निरन्तर परमेश्‍वरसँग अनुग्रह र आशिष्‌ मागिरहन्थेँ। म परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति पटक्कै थिइनँ, र साँच्चिकै उहाँको घृणा र अरुचि निम्त्याइरहेकी थिएँ। यदि परमेश्‍वरले मलाई यसरी प्रकट गर्नुभएको नभए, मैले कहिल्यै आफ्नो साँचो रूप स्पष्ट देख्ने थिइनँ।

त्यसपछि मैले आत्मचिन्तन गरेँ: किन यस्तो हुन्छ जब राम्रो कुरा हुन्छ तब म परमेश्‍वरको प्रशंसा गर्न सक्छु, तर जब मेरा श्रीमान्‌ बिरामी हुनुभयो र हामीले आर्थिक कठिनाइहरूको सामना गर्‍यौँ, तब मैले परमेश्‍वरबारे किन गुनासो गरेँ? मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्‌लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्‍न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “जो सबैभन्दा गहिरो रूपमा भ्रष्‍ट भूमिमा जन्मिए तिनीहरू परमेश्‍वर के हुनुहुन्छ, वा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरामा अझ बढी अनभिज्ञ हुन्छन्। मानिसहरू जति बढी भ्रष्‍ट हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको समझ र अन्तर्ज्ञान त्यति नै कमजोर हुन्छ। परमेश्‍वरको विरुद्धमा मानिसको विरोध र विद्रोहको मूल कारण भनेको उसलाई शैतानद्वारा भ्रष्ट तुल्याइनु हो। शैतानले भ्रष्‍ट तुल्याएका कारण मानिसको विवेक संवेदनहीन बनेको छ, ऊ नैतिक रूपमा भ्रष्ट छ, उसका सोचहरू पतित छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट तुल्याइनुभन्दा अगाडि, मानिस सुरुमा परमेश्‍वरप्रति समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तीप्रति समर्पित हुन्थ्यो। सुरुमा उसको समझ र विवेक राम्रो थियो र उसको मानवता सामान्य थियो। शैतानद्वारा भ्रष्‍ट तुल्याइएपछि, मानिसको सुरुको समझ, विवेक, र मानवता सबै संवेदनहीन बने र शैतानद्वारा बिगारिए। यसरी, उसले परमेश्‍वरप्रति आफ्नो समर्पण र प्रेम गुमाएको छ। मानिसको समझ असामान्य बनेको छ, उसको स्वभाव एउटा पशुको जस्तै बनेको छ, र परमेश्‍वरका विरुद्ध उसको विद्रोहीपन निरन्तर बढिरहेको छ र झनै घोर बनिरहेको छ। तैपनि मानिसले यो कुरा अझै पनि न त थाहा पाएको छ न त बुझेको नै छ, र लगातार विरोध र विद्रोह मात्र गर्छ। मानिसको स्वभावका प्रकटीकरणहरू उसको समझ, अन्तर्ज्ञान, र विवेकका अभिव्यक्तिहरू हुन्। उसको समझ र अन्तर्ज्ञान राम्रो नभएको, र उसको विवेक उच्‍च रूपमा संवेदनहीन बनेको हुनाले, उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो)। परमेश्‍वरका वचन मनन गर्दैजाँदा, मैले के बुझेँ भने मानिसहरूको विचारलाई भ्रष्ट तुल्याउने र बिगार्ने शैतान नै हो। यो संसार बाँच्नका लागि विभिन्न शैतानी नियमहरूले भरिएको छ, जस्तै “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” “फाइदा नै सबैभन्दा मुख्य कुरा हो,” र “कहिल्यै पनि घाटामा पर्नु हुँदैन।” हरेक मानिस यिनै शैतानी दर्शनहरूअनुसार जिउँछन्, र स्वार्थी र घृणास्पद बन्छन्, र विवेकलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। तिनीहरू जे पनि काम गर्दा, सबैभन्दा पहिले त्यो आफ्नो फाइदामा छ कि छैन भनेर सोच्छन्। यदि फाइदाजनक छ भने, तिनीहरू त्यो गर्छन्; यदि छैन भने, गर्दैनन्। म पनि यी शैतानी विचार र धारणाहरूद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएकी थिएँ। परमेश्‍वरमा विश्‍वास गर्दा र कर्तव्य निर्वाह गर्दा, मसँग उहाँको हेरचाह र सुरक्षा छ, अनि मेरो परिवारको जीवनमा सुधार भइरहेको छ भन्‍ने देख्दा, मैले कर्तव्य निर्वाह गर्दा अर्पित भएको कारण मैले परमेश्‍वरका यी आशिष्‌हरू पाएकी हुँ, र जबसम्म म यसरी नै सक्रिय भएर आफ्नो कर्तव्य निर्वाह गर्छु, तबसम्म भविष्यमा मैले मुक्ति पाउन र राज्यमा प्रवेश गर्न पनि सक्नेछु भन्‍ने मलाई लागेको थियो। तर जब मेरा श्रीमान्‌ बिरामी पर्नुभयो र मेरो परिवारले आर्थिक कठिनाइहरू भोग्नुपर्‍यो, तब मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, अनि कर्तव्य निर्वाहमा झाराटारुवा भएँ। तथ्यहरूले के प्रकट गरे भने ममा कर्तव्य निर्वाह गर्दा अलिकति पनि इमानदारी रहेनछ। मैले केवल परमेश्‍वरलाई धोका दिने र उहाँविरुद्ध योजना बुन्ने प्रयास गरिरहेकी, र कर्तव्य निर्वाह गरेर परमेश्‍वरबाट आशिष्‌ ठग्ने व्यर्थको प्रयास गरिरहेकी रहेछु। हामीलाई मुक्ति दिन परमेश्‍वर स्वयम्‌ देहधारी हुनुभएको छ र सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो सारा रगत-पसिना हामीलाई समर्पण गर्नुहुन्छ, र कहिल्यै आफ्नै हितको विचार गर्नुहुन्न। परमेश्‍वरको सार विश्‍वासयोग्य छ; यो निस्वार्थ, सुन्दर र असल छ। यसको ठीक विपरीत, मैले गरेको थोरै कर्तव्यभित्र पनि सौदाबाजी, माग र धोकाहरू लुकेका थिए, र मैले परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गरेकी नै थिइनँ। म एक स्वार्थी र घृणास्पद व्यक्ति थिएँ जसले सम्पूर्ण मानवता र समझ गुमाएको थियो। यदि ममाथि यी परिस्थितिहरू नआइपरेका भए, मैले कहिल्यै आफू वास्तवमा कस्तो छु भनी स्पष्ट देख्ने थिइनँ। त्यसपछि मात्र मैले बुझेँ कि मेरा श्रीमान्‌को बिमारी र मेरो परिवारको आर्थिक कठिनाइहरू परमेश्‍वरले जानाजानी मलाई गाह्रो बनाउनका लागि होइन रहेछन्। बरु, यसको उद्देश्य मलाई मेरो आफ्नै स्वार्थी र घृणास्पद कुरूप अनुहार स्पष्ट रूपमा देखाउनु, मेरो हृदयलाई जगाउनु, र मैले कसरी आफूलाई आचरणमा राख्नुपर्छ भनी देखाउनु रहेछ। यो मेरा लागि परमेश्‍वरको महान्‌ मुक्ति थियो, जसमा उहाँको प्रेम थियो, तर म उहाँको अभिप्राय बुझ्न नसक्ने गरी दृष्टिहीन भएकी थिएँ, र मैले निरन्तर उहाँलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। यो बुझेपछि, म पछुतोले भरिएँ, र आफैलाई घृणा गरेँ। त्यसपछि, मेरा श्रीमान्‌को बिमारी वा हाम्रो पारिवारिक जीवनमा कुनै सुधार होस् वा नहोस्, म परमेश्‍वरसमक्ष पश्‍चात्ताप गर्न र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक भएँ।

आफ्नो खोजीलाई जारी राख्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ: “अय्यूबले परमेश्‍वरसँग सौदा गर्न खोजेनन्, परमेश्‍वरप्रति कुनै माग राखेनन्, र परमेश्‍वरबाट केही पनि मागेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्‍वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष्‌ प्राप्त गरे कि विषमता भोगे भन्ने कुरामा निर्भर थिएन। तिनी विश्वास गर्थे कि चाहे मानिसहरूले परमेश्‍वरबाट आशिष्‌ पाऊन् वा विषमता, परमेश्‍वरको महान् शक्ति र अख्तियार परिवर्तन हुनेछैन, यसैले व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। मानिस परमेश्‍वरद्वारा आशिषित् हुनु परमेश्‍वरको सार्वभौमिकताका कारणले हो, र जब मानिसलाई विषमता आइपर्छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको महान् शक्ति र अख्तियारले मानिसमाथि सार्वभौमिकता राख्छन् र मानिसबारे सबै कुराको प्रबन्ध गर्छन्; मानिसको भाग्यका उतारचढावहरू परमेश्‍वरको महान् शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्यहरू परमेश्‍वरका कानमा परे र उहाँसामु आइपुगे, र उहाँले तिनलाई महत्त्वपूर्ण कुराका रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई बहुमूल्य ठान्‍नुभयो। त्यो हृदयले सधैँ र सबै ठाउँमा परमेश्‍वरको आज्ञा पर्खन्थ्यो र समय वा स्थानको पर्वाह नगरी आफूलाई आइपरेको हर कुरालाई स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग राखेनन्। तिनले आफैसँग गरेको माग भनेको परमेश्‍वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा गर्नु, तिनलाई स्वीकार गर्नु, सामना गर्नु, र तीप्रति समर्पित हुनु थियो; अय्यूबले यो आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास गरे, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। जब अय्यूबले आफ्ना सबै भेडा, गाईवस्तु र सारा सम्पत्ति गुमाए, यद्यपि उनी मानसिक पीडामा थिए, तर उनी विवेकी थिए। परमेश्‍वरको अभिप्राय नबुझ्दा उनले हतारमा निष्कर्ष निकालेनन्, र कहिल्यै परमेश्‍वरविरुद्ध गुनासो वा विद्रोहको एक शब्द पनि बोलेनन्। उनलाई थाहा थियो, परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, जसले सबथोक सृष्टि गर्नुभयो र जो सबथोकमा सार्वभौम हुनुहुन्छ, र परमेश्‍वरले दिनुहुँदा होस् वा खोस्नुहुँदा, उहाँको नामको सधैँ प्रशंसा र गुणगान गर्नुपर्छ। परमेश्‍वरले जस्तोसुकै वातावरणको बन्दोबस्त गर्नुभए पनि अय्यूब परमेश्‍वरबाट आएको भनी स्विकार्न र समर्पित हुन सक्षम थिए। यसको ठीक विपरीत, जब मैले आफूलाई हेरेँ, तब के देखेँ भने परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌ दिनुहुँदा म खुसीले उहाँको नामको प्रशंसा गर्थेँ, तर जब मेरा श्रीमान्‌ बिरामी पर्नुभयो र मेरो परिवारले आर्थिक कठिनाइहरूको सामना गर्‍यो, तब मैले उहाँको अभिप्राय खोज्न र बुझ्न प्रार्थना गरिनँ। बरु, मैले कर्तव्य निर्वाहको माध्यमद्वारा छल गरेर परमेश्‍वरको भरोसा जित्ने कोसिस गर्न, र मेरो परिवारको कठिनाइहरू हल गर्न उहाँको सहयोग लिन चाहेँ। जब परमेश्‍वरले गर्नुभएको काम मेरो इच्छाअनुरूप भएन, तब उहाँ मप्रति धर्मी हुनुहुन्न भनी मैले गुनासो गरेँ। मैले परमेश्‍वरप्रति अलिकति पनि साँचो समर्पण देखाइनँ। अय्यूब र ममा वास्तवमै आकाश-पातालको फरक थियो। मेरो मानवता साह्रै तुच्छ थियो!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र परमेश्‍वरमा विश्‍वास गर्ने तथा कर्तव्य निर्वाह गर्ने कुरा कसरी आशिष्‌ पाउने वा दुर्भाग्य भोग्नेसँग सम्बन्धित छ भन्‍ने कुरा बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने मानव जीवन परमेश्‍वरले नै प्रदान गर्नुभएको हो, र मानिसले उपभोग गर्ने सबै कुरा परमेश्‍वरले नै जुटाउनुहुन्छ। मानिसहरूले निशर्त आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। मानिसहरूले सर्त वा माग राख्नु हुँदैन; झन् आशिष्‌ र अनुग्रह पाउनका लागि मात्र कर्तव्य निर्वाह गर्नु त हुँदै हुँदैन। त्यो त तिनीहरूले गर्न सक्ने सबैभन्दा असमझदार काम हो। जसरी आमाबुबाले आफ्ना छोराछोरी हुर्काउन धेरै दुःखकष्ट भोग्छन्, त्यसरी नै छोराछोरीले आमाबुबालाई सहारा दिनुपर्छ। यदि पैतृक सम्पत्ति पाउने देख्दा मात्र मानिसहरूले आमाबुबालाई हेर्छन्, र सम्पत्ति नहुँदा आमाबुबालाई घरबाट निकाल्छन् भने, यस्ता मानिसहरू विद्रोही सन्तान हुन्; तिनीहरू पशु हुन्। तिनीहरूमा मानवता हुँदैन। कर्तव्य निर्वाह गर्नु सृजित प्राणीका रूपमा मेरो परम कर्तव्य हो, र मैले यसमा कुनै अभिप्राय वा उद्देश्य राख्नु हुँदैन। परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुन्छ वा हुन्न, त्यो वास्ता नगरी मैले निशर्त आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। अझ भन्नुपर्दा, मेरा श्रीमान्‌ले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने प्रयास गर्नुभयो। उहाँको बिमारी निको नहुनु उहाँकै गल्ती थियो। उहाँ दयाको पात्र हुनुहुन्नथ्यो। मेरा श्रीमान्‌ परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति हुनुहुन्थ्यो, तैपनि मैले परमेश्‍वरलाई उहाँको बिमारी निको पार्न बिन्ती गरेँ र परमेश्‍वरबारे गुनासोसमेत गरेँ। यो पूर्ण रूपमा असमझदार कुरा थियो, र यसले परमेश्‍वरको अरुचि र घृणा निम्त्यायो। भविष्यमा, मेरा श्रीमान्‌को बिमारी निको होस् वा नहोस्, म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन, आफ्नो मनोवृत्ति सही राख्न, र सारा हृदय र मन लगाएर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक भएँ। यो बुझिसकेपछि, मेरो मनको तितोपन हट्यो। त्यसपछि मैले बाइबलमा भनिएको कुरा सम्झेँ: “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?(मत्ती ६:२६)। परमेश्‍वरले भन्नुभयो, आकाशका चराचुरुङ्गीले न बिउ छर्छन् न बाली काट्छन्, तैपनि उहाँले तिनीहरूलाई समेत खुवाउनुहुन्छ, भने मानिसहरूको त कुरै नगरौँ। परमेश्‍वर मैले भविष्यका घटनाहरूका लागि तयारी वा योजना गरौँ भन्ने चाहनुहुन्न, बरु मैले कामकुराहरूलाई स्वभाविक रूपमै अघि बढ्न दिऊँ भन्ने चाहनुहुन्छ। पर्याप्त खान र लाउन पाउनमै म सन्तुष्ट हुनुपर्छ। हाम्रो परिवारमा आर्थिक कठिनाइ भए पनि, हामी अझै गुजारा चलाउन सक्थ्यौँ, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन इच्छुक थिएँ, ममा अब उप्रान्त भोलिका लागि हैरानी र चिन्ता थिएन।

पछि, मेरा श्रीमान्‌को साथीको काका छुट्टी मनाउन हाम्रो क्षेत्रमा आउनुभयो। उहाँले मेरा श्रीमान्‌लाई औषधीयुक्त प्लास्टर र कम्मर तथा खुट्टाको दुखाइको उपचार गर्ने तरिका सिकाउनुभयो, र उहाँको निःशुल्क उपचार पनि गरिदिनुभयो। केही समयपछि, मेरा श्रीमान्‌लाई धेरै सञ्चो भयो, र उहाँले बजारमा कम्मर र खुट्टाको दुखाइको उपचार गर्न एउटा क्लिनिक पनि खोल्नुभयो, र पारिवारिक आम्दानीमा सघाउन केही पैसा कमाउनुभयो। यी कुराहरू अनुभव गरेपछि, मेरा श्रीमान्‌ले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट त्यति सारो रोक्न छोड्नुभयो। पछि, मेरा श्रीमान्‌को बिमारी धेरै पटक बल्झियो, तर मैले उप्रान्त श्रीमान्‌को बिमारीको कारण परमेश्‍वरबारे गुनासो गरिनँ। मलाई थाहा छ, परमेश्‍वरले जे योजनाबद्ध गर्नुहुन्छ त्यो असल हुन्छ, र म परमेश्‍वरमा समर्पित हुनुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। म यसरी परिवर्तन हुन सक्नु परमेश्‍वरका वचनहरूको अगुवाइको नतिजा हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ८३. के मेरी छोरीप्रतिको मेरो प्रेम साँचो हो

अर्को:  ८५. कर्तव्यहरूमा कुनै हैसियत वा दर्जा हुँदैन

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger