८३. के मेरी छोरीप्रतिको मेरो प्रेम साँचो हो

किउ यान, चीन

म गाउँमा हुर्किएँ, र मेरा आमाबुबाले खासै पढ्न पाउनुभएन, त्यसैले उहाँहरूसँग बिहानदेखि बेलुकासम्म खेतबारीमा कडा परिश्रम गर्नुको विकल्प थिएन। मेरो बुबाले मलाई प्रायः भन्नुहुन्थ्यो, “हाम्रो परिवारमा, तेरो काकाले मात्रै कडा मिहिनेत गरेर पढेर आफूलाई स्थापित गरे र सहरमा ठूलो हाकिम बने। मैले सानो छँदा राम्रोसँग पढिनँ, त्यसैले अहिले म खेतीकिसानी गरेर जीविका चलाउन मात्र सक्छु। तैँले भविष्यमा कडा मिहिनेत गरेर पढ्नुपर्छ—मजस्तो कुनै सम्भाव्यता नभएको मान्छे नबन्नू।” जब मैले मेरो काका एउटा सानदार कारमा गाउँ फर्कनुभएको, अनि सबैले उहाँको गुणगान गाएको र उहाँलाई प्रशंसाको नजरले हेरेको देखेँ, मलाई असाध्यै ईर्ष्या लाग्यो। त्यसपछि मैले मेरो बुबालाई गाउँलेहरूले गर्ने उदासीन व्यवहार हेरेँ, अनि महसुस गरेँ कि व्यक्ति पढेर मात्रै अघि बढ्न सक्छ र जहाँ गए पनि उसले सम्मान पाउन सक्छ। मैले भविष्यमा आफूलाई अरूभन्दा उत्कृष्ट बनाउन र अरूको प्रशंसा पाउन कडा मिहिनेत गरेर पढ्नैपर्छ भनी अठोट गरेँ। मैले अरूले भन्दा धेरै गुणा मिहिनेत गरेर पढेँ, तर उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षामा राम्रो गर्न सकिनँ र एउटा साधारण प्राविधिक विद्यालयमा मात्र भर्ना पाएँ। अझ अप्रत्याशित कुरा त के थियो भने, म पास भएर निस्कँदा सरकारले कर्मचारी कटौती, आकार घटाउने र कार्यक्षमता केन्द्रित नीतिहरू लागू गर्‍यो, र मैले औपचारिक रूपमा काम सुरु गर्नुअघि नै मलाई मूलतः जागिरबाट निकालियो। मलाई ममाथि आकाशै खसेजस्तो महसुस भयो, र अब जीवनमा अरूभन्दा उत्कृष्ट बन्न सक्छु भन्ने आशा रहेन। विवाहपछि, मेरो श्रीमान्‌को शैक्षिक स्तर औसत भएकाले उहाँले मजदुरका रूपमा काम गर्नुभयो, र हाम्रो जीवनस्तर सामान्य मात्र थियो। मेरा आफन्त र साथीभाइलाई हेर्दा, मैले शिक्षा र डिग्री हुनेहरूले आकर्षक र उच्चस्तरीय जीवन जिएको र महङ्गा ठाउँहरूमा आउजाउ गरेको देखेँ। योसँगै आफूलाई हेर्दा, मलाई उच्च शिक्षाविना यस समाजमा सफल हुन सकिँदैन, र मेरो जीवन सधैँ यस्तै रहनेछ भन्ने अझ बलियो महसुस भयो। त्यसैले मलाई भविष्यमा मैले मेरो बच्चालाई राम्रोसँग पढाउनुपर्छ र उसलाई उच्च डिग्री हासिल गर्न मदत गर्नुपर्छ, ताकि उसले हाम्रो परिवारको इज्जत राख्न सकोस् भन्ने लाग्यो। त्यसरी, मैले पनि गौरव प्राप्त गर्न सक्थेँ।

मेरी छोरी चार वर्षकी हुँदा, मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। त्यो समयमा, म हप्ताको दुई पटक भेलामा सहभागी हुन्थेँ, र बाँकी समय म मेरी छोरीसँग अङ्ग्रेजी फ्ल्यासकार्डहरूको समीक्षा गरिरहेकी, पुराना कविताहरू वाचन गरिरहेकी र उसलाई सामान्य जोड-घटाउ सिकाइरहेकी हुन्थेँ। म उसले सानैदेखि पढाइप्रति रुचि राखोस् भन्ने चाहन्थेँ। ऊ तीन कक्षामा हुँदा, मैले उसलाई अङ्ग्रेजी र गणितको ट्युसन पढाउन थालेँ, र म उसको नतिजा उसका साथीहरूको भन्दा उत्कृष्ट हुनेछ भन्ने आशा गर्थेँ, ताकि भविष्यमा उसले राम्रो विश्वविद्यालयमा भर्ना पाओस्, राम्रो जागिर पाओस्, अनि महिमा र सफलताको जीवन जिओस्। म छोरीलाई भविष्यमा अरूभन्दा उत्कृष्ट बन्नका लागि कडा मिहिनेत गरेर पढ्नुपर्छ भनेर प्रायः भनिरहन्थेँ। ऊ हरेक पटक अलमल्ल पर्दै मलाई हेर्थी, आधा मात्र कुरा बुझेजस्तो देखिन्थी, तर मैले जे भन्थेँ त्यो उसले नचाहँदा-नचाहँदै पनि मान्थी। कहिलेकाहीँ उसलाई पढाइदेखि दिक्क लागेको देख्दा, उसले किन पढ्नुपर्छ, र राम्रो नतिजा ल्याएमा मात्रै कसरी उसले राम्रो भविष्य र रोजगारीका अवसरहरू पाउँछे भनेर म धैर्यपूर्वक बुझाउँथेँ। उसको अनुहारमा विवशता देखेर मैले मनमनै सोचेँ, “आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनु आमाबुबाको जिम्मेवारी र दायित्व हो। अहिले उसले मेरो कुरा नबुझ्ला, तर ठूलो भएपछि उसले मेरा श्रमसाध्य अभिप्रायहरू बुझ्नेछे।”

पाँच कक्षामा, मेरी छोरीको गणितको नतिजा एकदमै कमजोर थियो। हुन त उसलाई शिक्षिकाले धैर्यपूर्वक कुराहरू बुझाउँथिन्, साहपाठीहरूले पढ्न सघाउँथे, र ऊ आफैँ पनि अभ्यासहरू गर्न कडा मिहिनेत गर्थी, यद्यपि उसको परीक्षाको नतिजा भने सधैँ असन्तोषजनक नै हुन्थ्यो। कहिलेकाहीँ त ऊ अनुतीर्ण नै हुन्थी। यो देखेर म असाध्यै चिन्तित भएँ र मैले कडाइपूर्वक छोरीलाई भनेँ, “राम्रो नतिजा ल्याइनस् भने, तैँले चाहेको स्कुलमा भर्ना पाउनेछैनस् र केही पनि हासिल गर्नेछैनस्। अरूको नजरमा तँ केही पनि हुनेछैनस् र तेरो पूरै जीवन असफल हुनेछ। जे गरेर भए पनि तैँले छिटोभन्दा छिटो गणितको नतिजा सुधार्ने उपाय खोज्नैपर्छ। नत्र भने म तँलाई सजिलै छोड्नेछैन।” छोरीले कायर भएर मलाई हेरी, ऊ बोल्न अत्यन्तै डराई, डरले उसको अनुहार मलिन भएको थियो। उसको त्यस्तो अवस्था देखेर, मेरो मन अलिकति पग्लियो—उसले कडा मिहिनेत गरिरहेकी थिई, र गणितमा उसको नतिजा कमजोर हुनुको कारण उसले सिक्न नचाहनु थिएन। मलाई कतै मैले अलि बढी नै गरेँ कि भन्ने लाग्यो। तर फेरि मैले सोचेँ, “यदि अहिले मैले कडाइ गरिनँ भने, पछि उसले राम्रो जागिरका अवसरहरू नपाउन सक्छे। बरु उसले अहिले मलाई घृणा गरोस्, तर उसको भविष्य नबिग्रियोस्।” धेरैतिर सोधखोज गरेपछि, मैले मेरी छोरीलाई ट्युसन पढाउन धेरै वर्षको अनुभव भएका एक जना शिक्षक भेट्टाएँ। उसको ट्युसनको समयमा, म पनि आफ्नो कामलाई थाती राखेर सुन्थेँ। छोरीले नबुझेका कुराहरू म टिपेर राख्थेँ, र घर पुगेपछि, म उसलाई ती कुराहरू फेरि दोहोर्‍याउन लगाउँथेँ। उसले अझै पनि गर्न नसक्दा, मलाई रिस उठ्थ्यो र म चर्को स्वरमा कराउँदै यसो भन्थेँ, “यदि तँ यस्तै रहिरहिस् भने, के तँलाई अझै पनि तैँले कुनै प्रमुख कलेजमा भर्ना पाउँछस् भन्ने लाग्छ?” छोरी डरले पछि हटी, र उसका आँखामा पीडाको आँसु टिलपिलायो। मेरो मन पग्लियो, र मैले सोचेँ, “सायद मैले परिस्थितिलाई आफ्नै लयमा चल्न दिनुपर्छ—उसले जति सक्छे त्यति नै सिकोस्। यो सबै दबाबले उसलाई अवसादमा पुर्‍यायो भने के गर्ने?” तर फेरि मैले तुरुन्तै सोचेँ, “अहिले पढाइमा खुकुलो गरेँ भने यसले सोझै उसको भविष्यमा असर गर्नेछ। मैले अभिभावकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ।” त्यसैले मैले छोरीलाई पढ्न दबाब दिइरहेँ। पहिलो कुरा त मेरी छोरी अन्तर्मुखी थिई, र मैले दिएको दबाबले गर्दा उसको आत्मसम्मान झन् घट्यो। ऊ प्रायः डरलाग्दा सपनाले तर्सेर ब्युँझन्थी, उसको नतिजा झनै खस्कियो, र हामी बीचको सम्बन्धमा झनै दूरी बढ्यो। यो देखेर म धेरै व्यग्र भएँ। एकातिर, म उसको कमजोर नतिजाले उसको भविष्यमा असर गर्छ भनेर चिन्तित थिएँ, तर अर्कोतिर, मलाई ऊप्रति असाध्यै पीर पनि पर्‍यो र उसलाई त्यति धेरै दबाब दिएकोमा दोषी महसुस भयो। यी अन्तर्विरोधी भावनाहरू एकअर्कामा जेलिएका थिए, र मलाई के गर्ने भनी थाहा थिएन। म निरन्तर सोच्थेँ, “के मेरी छोरीलाई यसरी व्यवहार गर्नु माया हो? यदि हो भने, यसले उसलाई स्वतन्त्र र सहज महसुस गराउनुपर्ने होइन र? तर म प्रस्ट रूपमा ऊ झन् दुखी भएकी र उसको आत्मसम्मान झनै खस्केको महसुस गर्न सक्छु। उसको नतिजामा सुधार त भएन-भएन—त्यो झन् खस्कियो, र ऊ अहिले डरलाग्दा सपना देखेर तर्सिँदै ब्युँझिरहन्छे। के मेरो बच्चालाई शिक्षा दिने मेरो तरिका गलत हुन सक्छ?” मलाई के गर्ने भनेर थाहा थिएन, त्यसैले मैले प्रार्थना गरिरहेँ, र मेरा समस्याहरू बुझ्न मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरेँ।

एकदिन, मैले परमेश्‍वरका वचनहरू पढेँ, र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूले मलाई खासमा म यतिका वर्षदेखि पूर्ण रूपमा शैतानको छलमा जिइरहेकी रहेछु भनेर बुझ्न मद्दत गरे। मैले बाल्यकालदेखि नै मेरा आमाबुबाले मलाई कसरी सिकाउनुभएको थियो भनी स्मरण गरेँ, र मैले “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” भन्ने भनाइहरूलाई आफ्नो पछ्याइको लक्ष्य बनाएकी थिएँ। अरूभन्दा उत्कृष्ट बन्नका लागि, म विद्यार्थी हुँदा अरूले भन्दा धेरै गुणा कडा मिहिनेत गर्थेँ, तर उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षामा अनुतीर्ण भएँ र पछि मैले राम्रो जागिर पाउन सकिनँ। तसर्थ, मैले आफूमाथि हरेस खाएँ र जीवनमा आत्मविश्वास गुमाएँ। मेरी छोरी जन्मिएपछि, मैले आफ्ना सबै आशाहरू ऊमाथि राखेँ। उसको पढाइप्रतिको रुचि बढाउन, मैले सानै उमेरदेखि उसमा ज्ञान भर्न थालेँ, र फलस्वरूप, उसले बाल्यकालको खुसी गुमाई। जब उसले स्कुल सुरु गरी र मैले उसको गणितको नतिजा कमजोर भएको देखेँ, नतिजा सुधार्न मैले उसलाई जबर्जस्ती ट्युसन पढ्न लगाए, र उसको नतिजा सुधार नभएपछि, म रिसाएँ र मैले उसलाई गाली गरेँ। म ऊप्रति बिलकुलै समझदार वा करुणामय थिइनँ। मैले उसलाई निरन्तर दबाब दिइरहेकीले, उसको कलिलो हृदय ठूलो तनावले बोझिलो भयो, र हामी एकअर्काबाट झन्-झन् टाढा भयौँ। बाहिरबाट हेर्दा, मैले यो सबै उसको भलाइका लागि गरिरहेको जस्तो देखिन्थ्यो, तर खासमा, म आफ्ना अधुरा सपनाहरू ऊमाथि लादिरहेकी थिएँ, उसलाई मेरा लागि ती सपना साकार पार्न लगाइरहेकी थिएँ, र मलाई अरूभन्दा उत्कृष्ट बनाउने औजारको रूपमा उसलाई प्रयोग गरिरहेकी थिएँ। ममा मानवताको साँच्चै कमी थियो! यो सबै महसुस गरेपछि, मलाई गहिरो पश्चात्ताप भयो। मैले शैतानद्वारा निरन्तर उल्लु बनाइन र हानि बेहोर्न चाहिनँ।

मैले खोजी जारी राखेँ, र परमेश्‍वरका वचनहरू पढेँ: “आफ्‍नो जन्‍म, वयस्कता, वा विवाहबारे व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू अनुभव गरेका सबैलाई तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूका आमाबाबु को हुन्छन्, र तिनीहरूको पति वा पत्‍नी को हुन्छन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरू त स्वर्गको इच्‍छा स्वीकार गर्न मात्र सक्छन् भन्ने थाहा हुन्छ। तैपनि जब मानिसहरूले अर्को पुस्तालाई हुर्काउने समय आउँछ, तब तिनीहरू आफ्ना सन्तानले आफ्‍नै जीवनको अघिल्‍लो भागमा आफूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा आफूले पूरा गर्न नसकेका सबै चाहना आफ्‍ना सन्तानलाई सुम्पिन्छन्। … मानिसहरूलाई थाहा छ, तिनीहरू यस जीवनमा क्षमताविहीन छन् र कुनै काम लागेका छैनन्, भीडभन्दा अलग देखिनका लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नुबाहेक कुनै विकल्प नै छैन। अनि त्यसैले तिनीहरू आफ्‍ना सबै आशा, आफ्‍ना पूरा नभएका चाहना र आकाङ्क्षाहरू अर्को पुस्तालाई सुम्पन्छन्, र आफ्ना सन्तानले आफ्ना सपनाहरू पूरा गर्न अनि आफ्ना चाहनाहरू साकार पार्न आफूलाई सहयोग गर्न सक्ने आशा गर्छन्; तिनीहरू आफ्ना छोराछोरीहरूले परिवारको नामलाई महिमित पार्ने, विशिष्ट हैसियत पाउने, अथवा धनी वा प्रसिद्ध बन्‍ने आशा गर्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरू आफ्‍ना छोराछोरी उच्च शिखरमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू पूर्ण छन्; के तिनीहरूलाई आफूले जन्माउने सन्तानहरूको सङ्ख्या, आफ्ना छोराछोरीको रूप, क्षमता, इत्यादि आफूले निर्णय गर्ने कुरा होइनन्, अनि आफ्ना सन्तानको नियति आफ्नो हातमा त झनै छैन भन्‍ने कुरा थाहा छैन र? मानिसहरू आफ्‍नै नियतिका मालिक होइनन्, तैपनि तिनीहरू युवा पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरू आफ्‍ना छोराछोरीहरूको नियति हेरफेर गर्ने प्रयास गर्छन्। के तिनीहरू आफूलाई बढ्ता आँकिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूले मेरो साँचो स्थिति खुलासा गरिदिए। मैले मेरी छोरी अरूभन्दा उत्कृष्ट बनेर उसले मेरा चाहनाहरू साकार पार्न सक्छे भन्ने आशाले वास्तवमै ऊमाथि मेरा अधुरा चाहनाहरू थोपरेकी रहेछु। त्यसैले मैले आफ्नै प्रयासले उसको नियति नियन्त्रण गर्न आफूले सक्ने सबथोक गरेँ। वास्तवमा, हरेक व्यक्तिको नियति परमेश्‍वरको हातमा हुन्छ, तर मलाई परमेश्‍वरको सार्वभौमिकताबारे थाहा थिएन। म “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” र “आफ्नो नियति आफ्नै हातमा हुन्छ” भन्ने भ्रामक विचारअनुसार जिउँथेँ, र म सधैँ मेरी छोरीको भविष्य नियन्त्रण गर्न चाहन्थेँ। मैले ज्ञान भएका तर त्यसका कारण नियति नबदलिएका आफू वरपरका सबै श्रमिकहरूबारे सोचेँ। म एउटा ज्वलन्त उदाहरण थिएँ। मैले सधैँ ज्ञानको माध्यमबाट आफ्नो नियति बदल्ने कोसिस गरेँ, तर पढाइ सकेपछि मलाई तुरुन्तै जागिरबाट निकालियो, र मैले रोजगारी पाउने वा आफूले पढेको कुरा प्रयोग गर्ने मौका समेत पाइनँ। मैले व्यक्तिको नियति उसको आफ्नै हातमा हुँदैन भन्ने देखेँ, तैपनि मैले भ्रममा परेर छोरीको नियति नियन्त्रण गर्ने प्रयास गरेँ। म असाध्यै अहङ्कारी र अज्ञानी थिएँ, र मैले साँच्चै आफ्नो अधिमूल्यन गरेकी थिएँ! मेरी छोरीको नियति र करियर परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ, र यी कुराहरू मानव प्रयास वा पढाइमार्फत बदल्न सकिँदैन। मैले मेरो श्रीमान्‌को साथीको बारेमा सोचेँ जो, प्राथमिक शिक्षा मात्र हासिल गरेको भए पनि, देशभरि धेरै वटा चेन पसलहरू खोल्न सफल भएका थिए, र धेरै कलेज स्नातकहरू त्यहाँ जागिर खोज्न जान्छन्। यो स्पष्ट भिन्नताले मलाई ज्ञानले व्यक्तिको नियति बदल्न सक्दैन, र मैले मेरो बच्चाको पढाइलाई आफ्नै लयमा अघि बढ्न दिनुपर्छ भन्ने कुरा अझ स्पष्टसँग देखायो। त्यसपछि, मैले मेरी छोरीलाई मेरो मागअनुसार पढ्न बाध्य पारिनँ, र मैले उसलाई अतिरिक्त कक्षाहरूमा भर्ना गर्न पनि छोडेँ। बरु, मैले ऊसँग सम्बन्धित सबै कुरा परमेश्‍वरको हातमा सुम्पिएँ। मैले छोरीलाई सुसमाचार पनि प्रचार गरेँ। समय पाउनेबित्तिकै, ऊ आफ्नै उमेरका ब्रदर-सिस्टरहरूसँग भेला हुन्थी, र उसको मानसिक स्थितिमा सुधार हुँदै गयो।

पछि, मैले परमेश्‍वरका नयाँ वचनहरू पढेँ, र आफ्ना समस्याहरू अझ स्पष्ट रूपमा देखेँ। मैले आमाबुबाले खासमा आफ्ना छोराछोरीप्रति कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्ने कुरा पनि बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबासँग आफ्नो व्यक्तिपरक चेतनाभित्र आफ्ना छोराछोरीको भविष्यबारे सबै प्रकारका अनुमान, योजना, र निर्णयहरू हुन्छन्, र फलस्वरूप, तिनीहरू यी अपेक्षाहरू विकास गर्छन्। यी अपेक्षाहरूद्वारा प्रेरित भएर, आमाबुबाहरू आफ्ना छोराछोरीहरूले अभिनय, नृत्य, चित्रकला, इत्यादि जस्ता विभिन्‍न सीप सिक्नुपर्ने माग गर्छन्, र आफ्ना छोराछोरीहरू प्रतिभाशाली व्यक्ति बनेपछि, तिनीहरूलाई अरूको मुनि जिउनुको सट्टा अरूभन्दा माथि उठ्न, निम्न-स्तरका अधीनस्थ कर्मचारी हुनुको सट्टा उच्च-पदस्थ अधिकारी बन्न, प्रबन्धक, कार्यकारी, र प्रमुख कार्यकारी अधिकृत बन्न, फर्च्युन ग्लोबल ५०० कम्पनीहरूमा काम गर्न, इत्यादि गर्न सजिलो हुनेछ भन्‍ने सोच्छन्। यी सबै आमाबुबाका व्यक्तिपरक विचारहरू हुन्। … यी आमाबुबाहरूले पूर्ण रूपमा आफ्नै प्राथमिकता र चाहनाहरूअनुसार आफ्ना छोराछोरीमाथि अपेक्षाहरू राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक होइन र? (हो।) यो व्यक्तिपरक हो भन्नु त यसलाई राम्रोसँग प्रस्तुत गर्नु हो—वास्तवमा यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हो? के यो स्वार्थीपन होइन र? के यो करकाप होइन र? (हो।) तँलाई कुनै निश्चित पेसा मन पर्छ, तँ अधिकारी बन्न, धनी बन्न, समाजमा आकर्षक र सफल बन्न चाहन्छस्, त्यसैले तँ आफ्ना छोराछोरीलाई पनि त्यस्तै व्यक्ति हुन र त्यस्तै मार्गमा हिँड्न लगाउँछस्। तर तिनीहरूले भविष्यमा त्यो काम गर्न सक्नेछन् कि छैनन्, वा त्यो काम साँच्चै तिनीहरूका लागि सुहाउँदो छ कि छैन भनी भन्न गाह्रो छ। अनि त्यसोभए तिनीहरूको नियति वास्तवमा के हो त? परमेश्‍वरले तिनीहरूमाथि कसरी सार्वभौमिकता राख्नुहुनेछ र तिनीहरूका लागि कसरी प्रबन्धहरू गर्नुहुनेछ? के तँलाई यी कुराहरू थाहा छ? कतिपय मानिस भन्छन्: ‘मलाई ती कुराहरूको मतलब छैन। यो मैले, एक अभिभावकका रूपमा मन पराउने कुरा हुञ्जेल ठीक छ। मलाई यो मन पर्ने हुनाले, म तिनीहरूमाथि यस प्रकारका अपेक्षाहरू राख्छु।’ के त्यो ज्यादै स्वार्थी कुरा होइन र? (हो।) यसलाई राम्रोसँग प्रस्तुत गर्दा, यो धेरै व्यक्तिपरक छ, यो केवल आफ्नै कुरा सुन्नु हो, तर वास्तवमा, यो के हो? यो एकदमै स्वार्थी कुरा हो! यी आमाबुबाहरू आफ्ना छोराछोरीको क्षमता वा प्रतिभालाई ख्याल गर्दैनन्, र तिनीहरू हरेक व्यक्तिको नियति र जीवनका लागि परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूको वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूलाई ख्याल गर्दैनन्, तिनीहरू केवल इच्छाजनक सोचाइमा आधारित भएर आफ्नै प्राथमिकता र योजनाहरूलाई आफ्ना छोराछोरीमाथि जबरजस्ती लाद्छन्। कतिपय मानिस भन्छन्: ‘यदि मैले यी प्रबन्धहरू गरिनँ भने, तिनीहरूको भविष्य प्रभावित हुनेछ। तिनीहरू जवान र भोला छन्, र तिनीहरूले बुझ्ने बेलासम्म, सबै कुरा धेरै ढिलो भइसकेको हुनेछ। मैले एक अभिभावकका रूपमा मेरा छोराछोरीको चिन्ता गर्नुपर्छ र तिनीहरूका लागि सबै कुराको प्रबन्ध गर्नुपर्छ। यो एक अभिभावकको जिम्मेवारी हो!’ यो भनाइमा केही गलत छैन, तर यदि तेरा योजना र प्रबन्धहरू तेरा छोराछोरीलाई चाहिने कुरा होइनन्, बरु तैँले तिनीहरूमाथि लाद्ने कुराहरू हुन् भने, त्यो उचित हुँदैन। … तिनीहरूका आमाबुबाले तिनीहरूलाई सानैदेखि ‘तिमीले मानिसहरूसँग अन्तरक्रिया गर्दा केही कुरा भित्रै राख्नुपर्छ’ भनेर सिकाए पनि, तिनीहरू त्यसलाई एक प्रकारको धर्मसिद्धान्तका रूपमा मात्रै लिनेछन्। तिनीहरूले आफ्ना आमाबुबाको सल्लाह साँच्चै बुझेपछि मात्रै त्यसअनुसार साँच्चै काम गर्न सक्नेछन्। जब तिनीहरू आफ्ना आमाबुबाको सल्लाह बुझ्दैनन्, तब तिनीहरूका आमाबुबाले तिनीहरूलाई जतिसुकै सिकाउने प्रयास गरे पनि, त्यो तिनीहरूका लागि एक प्रकारको धर्मसिद्धान्त मात्रै रहनेछ। त्यसकारण, कतिपय आमाबुबाले ‘यो समाज अत्यन्तै प्रतिस्पर्धी छ, र मानिसहरू अति धेरै दबाबमा जिउँछन्; यदि मैले सानै उमेरदेखि मेरा छोराछोरीको शिक्षाको गति बढाइनँ र तिनीहरूलाई ठोस ज्ञान प्राप्त गराइनँ भने, तिनीहरूले भविष्यमा पीडा र कष्ट भोग्नुपर्नेछ’ भन्‍ने सोच्दा, के यो विचार औचित्यपूर्ण छ? (छैन।) तँ आफ्ना छोराछोरीले भविष्यमा त्यो कष्ट कम भोगून् भनेर तिनीहरूलाई सानै उमेरदेखि यो दबाब सहन लगाइरहेको छस्, र तिनीहरूले केही पनि नबुझ्ने उमेरदेखि नै यो दबाब बोक्न लगाइरहेको छस्। के तिनीहरूले यो दबाब सहेको कारणले तिनीहरू साँच्चै केही बन्नेछन् भन्ने कुरा साँच्चै हो त? यदि तिनीहरू कुनै उचित सीप वा ज्ञान प्राप्त गर्न असफल भए भने, के त्यो सबै बेकार हुनेछैन र? तिनीहरूलाई सानै उमेरदेखि दबाब सहन लगाउनु तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुँदैन। यदि त्यसले केही रोग र परिणाम ल्यायो भने, के त्यो तिनीहरूलाई हानि पुऱ्याउनु होइन र? के तँ यो साँच्चै तिनीहरूको आफ्नै भलाइका लागि गरिरहेको छस्? तिनीहरूले नबुझ्नु अनिवार्य रूपमै खराब कुरा होइन। कम्तीमा तिनीहरू केही वर्ष आरामदायी, सरल, र खुसी तरिकाले जिउन सक्छन्। यदि तिनीहरूले सानै उमेरदेखि यी कुराहरू छर्लङ्गै देख्न सके र यी दबाबहरू सहन थाले भने, यो तिनीहरूका लागि अनिवार्य रूपमै राम्रो कुरा हुनेछैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले मेरी छोरीप्रतिको मेरो प्रेम कति सङ्कीर्ण र स्वार्थी रहेछ भनेर थाहा पाएँ। अरूभन्दा उत्कृष्ट बन्ने मेरो आफ्नै लक्ष्य हासिल गर्नका निम्ति, मैले एकतर्फी रूपमा मेरा विचारहरू ऊमाथि लादेँ, उसको योग्यता वा क्षमतालाई ख्याल नगरी उसको भविष्यको योजना बनाएँ, र दबाब र बन्धनहरू सिर्जना गरेर मैले उसलाई बलजफ्तीपूर्ण विधिहरू प्रयोग गरी पढ्न लगाएँ। उसको नतिजामा सुधार नभएको देखेपछि, मैले दिमाग खुस्केझैँ गरी उसलाई चिच्याएँ, जसले गर्दा ऊ झन्-झन् अन्तर्मुखी बन्दै गई र स्वतन्त्रता र स्थानबाट बञ्चित भई। मैले गरेका सबै कुराले उसलाई रोक्ने र बाँध्ने काम गरिरहेका थिए। मलाई ख्याति र प्राप्ति मन पर्थ्यो, र म सधैँ अरूभन्दा उत्कृष्ट बन्न चाहन्थेँ, त्यसैले मेरा आफ्नै चाहनाहरू साकार हुन नसकेपछि, मैले तिनलाई छोरीमाथि थोपरेँ, उसलाई मेरा चाहनाहरू पूरा गर्न बाध्य पारेँ, र उसलाई पढ्नका लागि अत्यधिक दबाब दिएँ। मैले कहिल्यै उसलाई के मन पर्छ वा ऊ केमा राम्रो छे भनेर विचार गर्न आफूलाई उसको ठाउँमा राखेर हेरिनँ। मेरो दबाबका कारण ऊ झन्-झन् अन्तर्मुखी बन्दै गएको र उसमा झन्-झन् हीनताबोध बढ्दै गएको देख्दा पनि, मैले अझै पनि उसले मेरा अपेक्षाहरू पूरा गर्नुपर्छ भनेर जिद्दी गरेँ, जसले गर्दा ऊ निरन्तर पीडामा बाँच्न बाध्य भई। म साँच्चै क्रूर र स्वार्थी थिएँ! मेरी छोरी अझै सानी थिई, जुन उमेरमा ऊ रमाइलो गर्न चाहन्थी, तैपनि मैले जबरजस्ती उसमा शैतानी दर्शन र नियमहरू भरिदिएकी थिएँ, र उसलाई उसले सहन नपर्ने ती दबाब र पीडा सहन बाध्य पारेकी थिएँ। मैले छोरीलाई जे गरेँ त्यो बिलकुलै माया थिएन, त्यो एक प्रकारको मनोवैज्ञानिक क्षति थियो। यदि मैले साँच्चै मेरी छोरीलाई माया गरेकी र उसको जिम्मेवारी लिएकी भए, मैले उसलाई उसको रुचि र क्षमताअनुसार शिक्षा दिनुपर्ने थियो, ऊमाथि मेरा आफ्नै चाहनाहरू लाद्नुको सट्टा उसलाई सही मार्गदर्शन गर्नुपर्ने थियो। मेरा कार्यहरूबारे चिन्तन गर्दा, मलाई गहिरो पछुतो महसुस भयो, र मैले आफूमा मानवता नभएको थाहा पाएँ। मैले अबदेखि ऊमाथि यी अनुचित अपेक्षाहरू लाद्न मिल्दैनथ्यो।

त्यसपश्चात, परमेश्‍वरका वचनहरू पढेर, मैले आमाको रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्‍न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्‍न जटिल पारस्परिक सम्बन्धहरूमा फस्‍ने, र यस संसारका विभिन्‍न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो। यदि तिनीहरूका छोराछोरी बिरामी भए भने, आमाबुबाहरूले आवश्यक पर्दा तिनीहरूको उपचार गराउनुपर्छ; तिनीहरूले आफ्ना छोराछोरीको पढाइमा ढिलाइ हुने डरले, उनीहरूलाई उपचार त्यागेर स्कुल जान लगाइरहनु हुँदैन। जब तिनीहरूका छोराछोरीलाई स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई स्वास्थ्यलाभ गर्न दिनुपर्छ, र जब तिनीहरूलाई आराम गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई आराम गर्न दिनुपर्छ। तिनीहरूका छोराछोरीको स्वास्थ्य सुनिश्चित गर्नु अनिवार्य कुरा हो; यदि छोराछोरी पढाइमा पछि परे भने, आमाबुबाहरूले पछि त्यसलाई पूर्ति गर्ने उपाय खोज्न सक्छन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीलाई ठोस ज्ञान प्राप्त गर्न मद्दत गर्नुपर्छ; अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्नका लागि मार्गदर्शन र शिक्षा दिनुपर्छ, र तिनीहरू समाजका अस्वस्थ प्रवृत्ति र दुष्ट अभ्यासहरूबाट प्रभावित नहोऊन् भनेर तिनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुपर्छ। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई शारीरिक स्वास्थ्य सुनिश्चित गर्नका लागि उपयुक्त व्यायाम गर्नमा ध्यान दिन लगाउनुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मागहरू जबरजस्ती लाद्नुको सट्टा गर्नुपर्ने कुराहरू यिनै हुन्। आमाबुबाहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको आत्माका लागि चाहिने कुराहरू र तिनीहरूको भौतिक जीवनमा चाहिने कुराहरू दुवैका सन्दर्भमा आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। तिनीहरूले उनीहरूलाई केही सामान्य ज्ञानका कुराहरू बताउनुपर्छ, जस्तै तिनीहरूले तातो खानेकुरा खानुपर्छ र चिसो खानेकुरा खानु हुँदैन, मौसम चिसो हुँदा चिसो लाग्‍न वा रुघाखोकी लाग्‍नबाट जोगिन न्यानो लुगा लगाउनुपर्छ, र यसरी तिनीहरूलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्न सिक्न मद्दत गर्नुपर्छ। साथै, छोराछोरीको अबोध दिमागमा आफ्नो भविष्यबारे केही बचकाना र अपरिपक्व विचारहरू, वा केही चरम सोचहरू उत्पन्न हुँदा, आमाबुबाले त्यो कुरा थाहा पाउनेबित्तिकै उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नैपर्छ, ती बचकाना कल्पनाहरू र चरम कामकुरा सच्याउनैपर्छ, ताकि उनीहरूका छोराछोरी जीवनमा सही मार्गमा चल्न सकून्। यो तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको अर्थ एकातिर आफ्ना छोराछोरीका जीवनको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीका सोचलाई मार्गदर्शन गर्नु र सच्याउनु, अनि तिनीहरूका सोच र विचारहरूबारे सही मार्गदर्शन दिनु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “जब आफ्ना छोराछोरी हुर्कन्छन्, तब आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू भनेको आफ्ना छोराछोरीलाई जीवनको सही दिशातिर मार्गदर्शन गर्नु र सहयोग गर्नु हो, तिनीहरूलाई दबाब दिनु वा नेल ठोक्नु, बोझ लाद्नु होइन, र आफ्ना छोराछोरीका छनौटहरूमा हस्तक्षेप गर्नु वा तिनीहरूमाथि आफ्नै आशाहरू लाद्नु त झनै होइन। बरु, आमाबुबाले आफ्ना छोराछोरी हुर्कँदै जाँदा, छोराछोरीको क्षमता, रुचि, र पछ्याइहरूका आधारमा उपयुक्त सहयोग प्रदान गर्नुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीको व्यक्तित्व र क्षमता जस्तोसुकै भए पनि, तिनीहरूलाई जीवनको सही मार्गमा अगुवाइ गर्नुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीलाई तिनीहरूमा कमी भएका कुराहरू परिपूर्ति गर्न मद्दत गर्नुपर्छ, अनि आफ्ना छोराछोरीलाई सकारात्मक दिशामा विकास गर्नका लागि अगुवाइ र मार्गदर्शन गर्न सिक्नुपर्छ। आफ्ना छोराछोरीलाई सामाजिक प्रवृत्तिहरूबाट आउने कतिपय त्रुटिपूर्ण कुराले बहकाउँदा र बाधा दिँदा, आमाबुबाले तुरुन्तै आत्मिक मार्गदर्शन अनि व्यवहारसम्बन्धी निर्देशन र सुधार प्रदान गर्नुपर्छ। छोराछोरी पढ्न इच्छुक छन् कि छैनन्, उनीहरू कतिको राम्ररी पढ्छन्, उनीहरूमा ज्ञान र सीप सिक्ने रुचि कति छ, र उनीहरू ठूला भएपछि के गर्न सक्छन् भन्‍ने सन्दर्भमा, यी कुराहरू उनीहरूको प्राकृतिक गुण र रुचिहरू अनि उनीहरूका रुचिहरूको झुकावबमोजिम नै हुनुपर्छ, र यसरी उनीहरू हुर्कने क्रममा स्वस्थ, स्वतन्त्र र बलियो रूपमा हुर्कन सक्षम हुन्छन्। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। त्यसबाहेक, आफ्ना छोराछोरीको वृद्धि, पढाइ र करियरप्रति आमाबुबाले राख्नुपर्ने मनोवृत्ति नै यही हो, तिनीहरूले आफ्नै इच्छा, महत्त्वाकाङ्क्षा, रुचि र चाहनासमेत छोराछोरीमाथि थोपरेर उनीहरूलाई ती पूरा गर्न लगाउनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरूबाट, मैले थाहा पाएँ कि आमाबुबाको जिम्मेवारी भनेको छोराछोरीलाई उनीहरूको क्षमता र सामर्थ्यका आधारमा सामान्य रूपमा सिक्न मार्गदर्शन गर्नु, उनीहरूको हुर्काइको क्रममा समस्याहरू आउँदा सकारात्मक र सक्रिय मार्गदर्शन दिनु, उनीहरूले गल्ती गर्दा अनुशासनमा राख्नु, र उनीहरूलाई सकारात्मक र नकारात्मक कुराहरूबीच खुट्याउन सिकाउनु हो। बच्चाको भावी जीवनको सन्दर्भमा, ऊ कस्तो व्यक्ति बन्नेछ वा उसले कस्तो करियर पछ्याउनेछ भन्ने कुरा सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तभित्र पर्छन्, र आमाबुबाले परमेश्‍वरको सार्वभौमिकता स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। आफ्नो जिम्मेवारीबारे निश्चित भएपछि, मैले छोरीलाई कसरी शिक्षा दिने भनी थाहा पाएँ। छोरी स्कुलको काममा व्यस्त नहुँदा, हामी सँगै बसेर परमेश्‍वरका वचनहरू पढ्थ्यौँ र भजन सुन्थ्यौँ। उसलाई पढाइमा समस्या हुँदा, म शान्त भएर उसलाई सिकाउँथेँ र दबाब महसुस नगर्न पनि भन्थेँ। अप्रत्याशित रूपमा, मेरी छोरीको नतिजामा थोरै सुधार आयो। पछि, मैले मेरी छोरीलाई चित्र बनाउन मन पर्ने देखेँ, त्यसैले मैले उसलाई चित्रकला कक्षामा भर्ना गरिदिएँ। उसले आफ्ना रुचिहरू विकास गरी, र उसको मानसिक स्थितिमा पनि सुधार आयो। मेरी छोरी र म पनि झन्-झन् नजिकिँदै गयौँ।

एकदिन स्कुल छुट्टी भएपछि, छोरीलाई लिएर घर फर्कने क्रममा, मैले एउटी आमालाई आफ्नी छोरीलाई नतिजा राम्रो नल्याएको भन्दै चिच्याउँदै गाली गरेको देखेँ। ती सानी बच्ची डरले कामिरहेकी थिई। त्यही बेला, मेरी छोरीले मेरो कानमा खुसुक्क भनी, “आमा, परमेश्‍वरको मुक्तिका कारण अब मैले दुःख भोग्नु परेको छैन। पहिले तपाईँ पनि मलाई त्यतिकै कठोर व्यवहार गर्नुहुन्थ्यो, तर अब तपाईँ त्यस्तो हुनुहुन्न, र तपाईँ असल आमा बन्नुभएको छ।” उसले यसो भनेको सुन्दा, मेरो हृदय न्यानो भयो, र म झन्डै रोएँ। मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो। परमेश्‍वरका वचनहरूले नै मलाई मानिसको नियति उहाँको हातमा छ भन्ने महसुस गराएका हुन्। अझ भन्नुपर्दा, परमेश्‍वरका वचनहरूले नै मलाई छोराछोरीप्रति आमाबुबाको साँचो जिम्मेवारी के हो भनेर देखाएका हुन्। त्यसपछि मैले छोरीलाई जबरजस्ती पढ्न लगाइनँ, र यसले गर्दा म उसको नजरमा असल आमा बनेँ। मैले छोरीलाई नरम स्वरमा खुसुक्क भनेँ, “हामी दुवैले परमेश्‍वरलाई उहाँको मुक्तिका लागि धन्यवाद दिनुपर्छ।”

अहिले मेरी छोरी नर्सिङ स्कुलमा पढिरहेकी छे, र कहिलेकाहीँ हामीले भविष्यको रोजगारीका विषयमा छलफल गर्ने भए पनि, मेरो मन शान्त छ, र म सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्वास गर्छु। मेरो बच्चाको रोजगारीको अवस्था जस्तोसुकै भए पनि, म परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन तयार छु। यो रुपान्तरण र यी उपलब्धिहरू सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शनले गर्दा भएका हुन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ८२. “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने विचारबारे चिन्तनहरू

अर्को:  ८४. श्रीमान् बिरामी परेपछि मैले सिकेका पाठहरू

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger