८८. मैले ख्याति र प्राप्तिको बन्धन फालेकी छु

शिआओ हअ, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकता थाहा नहुने हुनाले, तिनीहरू सधैँ अवज्ञाकारी मनस्थिति र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता साथै नियतिमा रहेका कुराहरूबाट मुक्त हुन चाहन्छन्, र आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्छन्। तर तिनीहरू कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको आत्माको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र साथसाथै तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यसको कारण परमेश्‍वरको सार्वभौमिकता हो, वा खराब नियति हुनु हो? अवश्य नै, दुवै सत्य होइनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले लिने मार्गहरू र तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तँ मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस् र मान्छस्, जब तँ परमेश्‍वरले सार्वभौमिकता राख्ने र तेरो लागि प्रबन्ध गर्ने सबै कुरा तेरो लागि अत्यन्तै फाइदाजनक र सुरक्षात्मक छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्नेछस्, र तेरो सम्पूर्ण सत्त्व बिस्तारै सहज, स्वतन्त्र र आजाद बन्नेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। जब म परमेश्‍वरका वचनको यो खण्ड देख्छु, म मेरो पहिलेको सङ्घर्षको अनुभव सम्झन्छु। मैले परमेश्‍वरको सार्वभौमिकता बुझेकी थिइनँ, त्यसैले म सधैँ आफ्नै प्रयासले मेरो भाग्य बदल्न र अरूले प्रशंसा गर्ने ख्याति र प्राप्तिसहितको सम्मानित र प्रतिष्ठित जीवन जिउन चाहन्थेँ। मलाई ख्याति र प्राप्ति भएपछि सुखी जीवन हुन्छ भन्ने लाग्थ्यो। बारम्बार रोकावट र असफलताहरू भोगेपछि, बस दुर्घटनामा बालबाल बाँचेपछि मात्र मेरो चेत खुल्यो र मृत्युको अगाडि मानिसहरू कति असहाय र महत्त्वहीन हुँदो रहेछन्, जतिसुकै पैसाले पनि जीवन किन्न नसकिने रहेछ, ख्याति र प्राप्तिको पछि लाग्दा पीडा र शून्यता मात्र हात लाग्दो रहेछ, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भएर अनि सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरेर मात्र सबैभन्दा अर्थपूर्ण जीवन जिउन सकिँदो रहेछ भन्ने महसुस गरेँ।

म गाउँमा जन्मेकी थिएँ, र सानी छँदा, म मेरी दिदीले एउटा खनिज प्रशोधन कारखानाको प्रयोगशालामा काम गरेको देख्थेँ। उहाँले काम गर्ने वातावरण आरामदायी र सहज थियो, र उहाँ कामको सिलसिलामा नियमित रूपमा यात्रा र घुमफिर गर्न पाउनुहुन्थ्यो। हरेक पटक घर आउँदा, उहाँले फेसनदार र सुन्दर लुगा लगाउने मात्र होइन, उहाँले अन्य ठाउँका केही स्थानीय कोसेलीहरू पनि ल्याउनुहुन्थ्यो। गाउँका सबै मानिसले उहाँको खुब प्रशंसा गर्थे, र मलाई उहाँको डाह लाग्थ्यो, म सोच्थेँ, “भविष्यमा मैले पनि यस्तो सम्मानित र प्रतिष्ठित जीवन जिउन पाए कति राम्रो हुन्थ्यो!” मैले जुनियर हाइस्कुल पूरा गरेको वर्ष, मेरी दिदी काम गर्ने खनिज प्रशोधन कारखानाले कर्मचारी लिइरहेको संयोग जुर्‍यो, त्यसैले म त्यो कारखानामा काम गर्न गएँ। तर मेरो शिक्षास्तर कम भएको र ममा कुनै विशेष सीप नभएकाले, मैले वर्कसपमा मात्र काम गर्न पाएँ। वर्कसपमा मेसिनहरूको आवाजले कानै खान्थ्यो र जताततै धुलो उड्थ्यो। रसायन भर्नका लागि म हरेक दिन दर्जनौँ किलो रसायन बोकेर सिँढी उक्लने र ओर्लने गर्थेँ। मलाई रसायनको एलर्जी भएकाले, मेरा हात र अनुहारमा रातो डाबरै डाबर हुन्थे। मैले रातभरिको सिफ्टमा पनि काम गर्नुपर्थ्यो, र केही महिनापछि, मेरो अनुहार पहेँलो र फुस्रो भयो, र म लखतरान हुन्थेँ। म प्राविधिक काम गर्ने मेरा सहकर्मीहरूले सबैभन्दा राम्रो सुविधा र आवास, साथै मेरोभन्दा कैयौँ गुणा बढी तलब पाएको देख्थेँ। उनीहरू प्रायः अफिसमा, फुर्सदिलो भएर पत्रपत्रिका पढ्दै र चिया पिउँदै बस्थे, र चिटिक्क लुगा लगाएर, सभ्य र भद्र देखिन्थे। अनि जब म, हरेक दिन धुलो र फोहोरले ढाकिएकी, आफैँलाई हेर्थेँ, तब मलाई आफू उनीहरूभन्दा तल्लो स्तरमा भएजस्तो लाग्थ्यो; मलाई साँच्चै हीनताबोध हुन्थ्यो। म मनमनै सोच्थेँ, “मसँग न शिक्षा छ न त कुनै सीप नै, त्यसैले मैले गर्न सक्ने कडा श्रम मात्रै हो। पहिले मेहनतले नपढेकामा मलाई साह्रै पछुतो लाग्यो। यदि मैले डिप्लोमा लिएकी भए, के म अरूभन्दा विशिष्ट बन्न र उनीहरूजस्तै प्रशंसित हुन सक्दिनथेँ र? हामी सबै मानव हौँ, तर मचाहिँ किन यति असफल छु? म मेरो सम्पूर्ण जीवन वर्कसपमा परिश्रम गरेरै बिताउन चाहन्नँ।” पछि, मैले कारखानामार्फत व्यावसायिक माध्यमिक विद्यालयको प्रवेश परीक्षा दिने अवसरबारे सुनेँ। मैले मेरो आराम गर्ने समय त्यागिदिएँ, बिहान सबेरै उठेर र राति अबेरसम्म बसेर पाठ्यपुस्तकहरू रट्न र अभ्यास प्रश्नहरू हल गर्न थालेँ। दुई वर्षको मेहनतपछि, मैले व्यावसायिक विद्यालयमा पढ्ने योग्यता प्राप्त गरेँ। तीन वर्षपछि, मैले इच्छा गरेको डिप्लोमा पाएँ र एक दक्ष पेसाकर्मी बनेँ। मैले काम गर्दा लाउने तेलैतेल लागेका कपडा उतारिदिएँ, र धुलोले भरिएको वर्कशप छाडेर लोभलाग्दो अफिसे जागिर खाएँ। वर्कसपमा अझै व्यस्त रहेका मेरा सहकर्मीहरूलाई हेरेर, मैले मनमनै मेरा विगत केही वर्षका प्रयासहरू खेर गएका छैनन् भनी सोचेँ। ममा “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ” र म कडा मेहनत गर्न इच्छुक रहेसम्म फुर्सदिलो, आरामदायी, मर्यादित र प्रतिष्ठित जीवन जिउन सक्छु भन्ने विचारमा अझ दृढ विश्वास पनि जाग्यो।

तर जब म विभागीय कार्यालयमा पुगेँ, मैले त्यहाँ मेरा सहकर्मीहरूसँग शैक्षिक योग्यता मात्र नभएर, व्यावसायिक उपाधिहरू पनि रहेको पाएँ। हामी एउटै काम त गर्थ्यौँ, तर मेरो तलब सबैको भन्दा कम थियो। अझ, व्यावसायिक उपाधिबिना, म आवास सुविधा, आधिकारिक दर्जा, वा बढुवाका लागि योग्य हुने थिइनँ, र मलाई कुनै पनि बेला वर्कसपमा फिर्ता पठाइन सक्थ्यो। तलब वृद्धि र बढुवा चाहने हो भने मैले उच्च व्यावसायिक उपाधि प्राप्त गर्नुपर्थ्यो। त्यसपछि, मैले लेखा सिद्धान्त, उन्नत अङ्ग्रेजी, तथ्याङ्क सिद्धान्त आदिका थुप्रै परीक्षा सामग्रीहरू किनेँ। ती मैले पहिले कहिल्यै नदेखेका कुराहरू थिए, र मलाई ती कुरा सिक्न साँच्चै गाह्रो थियो। यद्यपि, विभागीय कार्यालयमा बलियो पकड बनाउनका लागि, मैले आफ्नो पूरा शक्ति लगाउनुपर्थ्यो। पछि, मैले कामबाहेक आफ्नो सम्पूर्ण समय र ऊर्जा पढाइमा लगाएँ। कुनै बाधा नहोस् भनेर, मैले आफ्नो एक वर्षे बच्चा आमाबुबालाई सुम्पने पीडादायी निर्णय समेत गरेँ। तथापि, कामको धेरै तनाव र मेरो कमजोर शैक्षिक पृष्ठभूमिका कारण, मैले दुई वर्ष लगातार परीक्षा दिएँ तर दुवै पटक असफल भएँ। मेरा सहकर्मीहरूले मलाई हाँसोमा उडाए, र मेरा श्रीमानले मलाई पुनः परीक्षा नदिन सल्लाह दिनुभयो। तर मैले हार मान्न अस्वीकार गरेँ, र पढ्नका लागि प्रायः राति अबेरसम्म बस्ने गर्थेँ। सुरुदेखि नै मलाई थाइराइडको समस्या थियो, र लामो समयसम्म औषधि सेवन आवश्यक थियो। लामो समयसम्म पढ्न भनेर राति अबेरसम्मको बसाइले मेरो रोग प्रतिरोधात्मक क्षमता झन् कमजोर बनायो। मैले हरेक दुई-तीन दिनमा नसाबाट औषधि लिनुपर्थ्यो, र साह्रै असञ्चो हुँदा मलाई हिँड्दा पनि सास फेर्न गाह्रो हुन्थ्यो। तर, मैले व्यावसायिक उपाधि प्राप्त गरिनँ भने, मैले तलब वृद्धि वा बढुवा हुने कुनै मौका पाउने थिइनँ। तब के मेरा यी वर्षौँका प्रयासहरू सबै व्यर्थ हुनेथिएनन् र? भविष्यमा मैले अरूभन्दा विशिष्ट बन्ने मौका कसरी पाउने थिएँ? जब मैले यसबारे सोचेँ, म दाँत किटेर डटिरहेँ। तीन वर्षको कडा मेहनतपछि, अन्ततः मैले मध्यमस्तरीय व्यावसायिक योग्यता प्राप्त गरेँ। यो “पास” सँगै, म केही समयपछि नै मध्यमस्तरीय अधिकृतमा बढुवा भएँ। मेरो तलब पनि बढ्यो, किनकि म एकै क्षणमा कामदारबाट अधिकृतमा परिणत भएँ। मैले मेरो मूल्य र हैसियतमा सुधार भएको महसुस गरेँ; म आफू कति गौरवान्वित थिएँ भनेर बताउनै सक्दिनँ।

तर, यी राम्रा दिनहरू लामो टिकेनन्। केही वर्षपछि, कारखानाको नाफा घट्यो, र मलाई जागिरबाट निकालियो। म एकै क्षणमा अधिकृतबाट कामविहीन कामदारमा परिणत भएँ। मलाई मेरो शिर माथिको आभा र मेरो उज्ज्वल भविष्य एकै क्षणमा हराएको झैँ लाग्यो, र म एकदमै खिन्न भएँ; म यसरी नै मेरो सम्पूर्ण जीवन बिताउन पनि राजी थिइनँ। त्यतिबेला, मैले पत्रपत्रिकामा धेरै मानिस जागिर गुमाएपछि आफ्नै व्यवसाय सुरु गरेर अन्ततः मालिक र उद्यमी बनेको, र लोभलाग्दो जीवन जिउन थालेको कुरा पढेँ। मलाई उनीहरूले गर्न सकेको कुरा म पनि गर्न सक्छु भन्ने लाग्यो। त्यसैले, मैले आफ्नै उद्यमशील यात्रा सुरु गरेँ, स्टल चलाउने, खाजा बेच्ने, बिमा प्रवर्द्धन गर्ने आदि कामहरू गरेँ। मैले केही पैसा त कमाएँ, तर म कार दुर्घटनामा परेँ, र मेरो घाँटीको मेरुदण्डमा चोट लाग्यो। लगत्तै, मेरा श्रीमानको पनि जागिर गुम्यो, मेरा आमाबुबा बिरामी परेर अस्पताल भर्ना हुनुभयो, र हाम्रो परिवारसँग भएको थोरै पैसा पनि सबै खर्च भयो। यी रोकावटहरू सामना गर्दा पनि, म असफलता स्विकार्न इच्छुक थिइनँ र अझै अवसरहरू खोजिरहेकी थिएँ। सन् २००४ मा, म नेटवर्किङ व्यवसायको सम्पर्कमा आएँ। मैले एक प्रबन्धकले साधारण हैसियतबाट सफलतासम्मको आफ्नो उद्यमशील यात्राको अनुभवबारे, अनि कसरी उनको बिक्री टोली देशभरि फैलिएको छ, कसरी उनले वर्षमा लाखौँ युआन कमाउँछिन् भन्नेबारे बताएको सुनेँ…। त्यो सुन्दा मेरो जोस ह्वात्तै बढ्यो, र म बिना हिचकिचाहट टोलीमा सामेल भएँ। मैले सामानहरू कसरी बेच्ने र मेरो टोली कसरी बढाउने भनेर निरन्तर अध्ययन गरेँ, एक दिन धेरै पैसा कमाएर आर्थिक स्वतन्त्रता हासिल गर्ने, र अरूलाई आफ्ना उद्यमशील अनुभवहरू सुनाउन सक्षम हुने सपना देखेँ। त्यो कति गौरवशाली हुने थियो!

केही समय नबित्दै, एक आफन्तले मलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। परमेश्‍वरका वचनहरू खाएर-पिएर, मैले के थाहा पाएँ भने परमेश्‍वर नै यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, मानवजातिको भाग्य, परिणाम र गन्तव्य परमेश्‍वरको हातमा छ, र मानिसहरूले परमेश्‍वरप्रति समर्पित भए र उहाँको आराधना गरे मात्र राम्रो नियति पाउन सक्छन्। त्यसैले, मैले सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेँ र मण्डलीको जीवनमा सहभागी हुन थालेँ। तर, त्यतिबेला मेरो पूरा ध्यान मेरो बिक्री टोली बढाउनमा थियो, र मलाई धेरै सङ्गतिमा सहभागी हुँदा मेरो बिक्रीमा असर पर्ला कि भन्ने डर थियो। यदि मेरो बिक्री कम भयो भने, मेरो आम्दानी कम हुने थियो। तब म कसरी प्रतिष्ठित र सम्मानित जीवन जिउनेबारे सोच्न सक्थेँ र? त्यसैले, मैले आफ्नो अधिकांश समय सामानहरू बेच्न र ग्राहक आधार बढाउनमा खर्च गरेँ, र अक्सर सङ्गतिहरू छुटाएँ। म सङ्गतिहरूमा सहभागी भएँ भने पनि, मलाई सधैँ निद्रा लाग्थ्यो, र कुनै कुरा दिमागमा छिर्दैनथ्यो। सुरुमा, मलाई अलिक आत्मग्लानि महसुस भयो, तर जब मैले मेरो अथक व्यवस्थापनका कारण मेरो टोलीमा मानिसहरूको सङ्ख्या बढ्दै गएको, हाम्रो बिक्री झन्-झन् राम्रो हुँदै गएको, र म मध्यमस्तरीय वितरक बन्नुको झन्-झन् नजिक पुगेको देखेँ, तब मेरो हृदयमा भएको अलिकति आत्मग्लानि पनि हरायो। पछि, सामान बेच्नका लागि म लगभग हरेक दिन ग्राहकहरूलाई भेट्थेँ, र हरेक महिना अध्ययन भ्रमणका लागि टोलीलाई बाहिर लैजान्थेँ, त्यसैले म सङ्गतिहरूमा जान छाडेँ। जब मेरा सिस्टरहरू मलाई खोज्न मेरो घर आउनुहुन्थ्यो, म उहाँहरूबाट लुक्थेँ, र मैले मेरो शरीर र हृदय मेरो व्यवसायमा समर्पित गरेँ। ग्राहकहरू अझ बढाउन, मैले सामान बेच्ने विभिन्न जुक्ति सिकेँ। उदाहरणका लागि, रोगहरूको खतराहरूबारे कुरा गरेर म ग्राहकहरूलाई स्वास्थ्य सामग्री किन्न फकाइफुल्याइ गर्थेँ, र शृङ्गारका सामानहरू बेच्नका लागि ग्राहकहरूको प्रशंसा गर्थेँ। मैले नेटवर्किङ व्यवसायको सम्भावना र आकर्षक बोनस प्रणालीबारे पनि कुरा गर्थेँ, र आफूलाई चिटिक्क पार्थेँ, र एक सफल व्यक्तिको छवि प्रयोग गरेर ग्राहकहरूलाई मेरो बिक्री टोलीमा सामेल हुन आकर्षित गर्थेँ। पछि, मलाई अलिकति असहज महसुस भयो: वास्तवमा, मेरो आम्दानी बिलकुलै स्थिर थिएन, र नेटवर्किङ व्यवसायबाट पैसा कमाउन त्यति सजिलो थिएन। के म मानिसहरूलाई ठग्नका लागि मीठा सपना मात्र देखाइरहेकी थिइनँ र? तर फेरि मैले सोचेँ, “नेटवर्किङ व्यवसायमा सबैले बिक्रीका तरिकाहरूबारे तालिम लिन्छन्। यदि धेरै इमानदार भइयो भने सामान कसरी बेच्न सकिन्छ? पैसा कसरी कमाइन्छ?” त्यसैले, मैले पैसा कमाउनका लागि धोकाधडीका उपायहरू प्रयोग गर्न जारी राखेँ। अझ धेरै पैसा कमाउनका लागि म प्रायः रातिको एक वा दुई बजेसम्म काम गर्थेँ, जसले गर्दा घर पुग्दा म लखतरान हुन्थेँ। मेरो श्रीमानको शल्यक्रिया हुँदा पनि मसँग उहाँको हेरचाह गर्ने समय थिएन। उहाँले रिसाएर मलाई निर्दयी भन्नुभयो, र सम्बन्धविच्छेदसमेत माग्नुभयो। हाइस्कुल प्रवेश गर्न लागेकी मेरो छोरी अनलाइन गेमको लतमा फसी र उसको पढाइ बिग्रियो, तर मसँग उसलाई ध्यान दिने समय नै थिएन। टोलीको नेतृत्व गर्न गाह्रो थियो, मेरो वैवाहिक जीवनमा समस्या थियो, र मेरी छोरी अटेरी थिई। यी सबै कुराले मलाई थकित र आकुल बनायो। म प्रायः सोच्थेँ, “के मलाई चाहिएको जीवन साँच्चै यही हो त?” तर, टोलीमा सुधार आउन थालेको थियो र मलाई चाहिएको सुन्दर जीवन नजिकै देखिन्थ्यो, त्यसैले म जबरजस्ती अघि बढिरहेँ। यसरी नै मैले दुई वर्षसम्म कडा सङ्घर्ष गरेँ। मेरो टोली बढेर लगभग सय जनाको भयो, र हाम्रो बिक्री बढिरह्यो। म मध्यमस्तरीय वितरक बनेँ, र महिनाको ६ देखि ७ हजार युआन कमाइ हुन थाल्यो। मैले मेरा सिनियरहरूबाट प्रशंसा र मेरा वरपरका मानिसहरूबाट आदर पाएँ, र ठूलो उपलब्धि हासिल गरेको महसुस गरेँ। त्यसपछि मेरो हृदयमा अवर्णनीय रित्तोपन भए पनि, जब मैले म उच्चस्तरीय वितरक बनेँ भने वर्षको लाखौँ युआन कमाउन सक्छु, र सबैबाट प्रशंसित हुन सक्छु भन्ने सोचेँ, तब मैले नयाँ उत्प्रेरणा पाएँ, र उच्चस्तरीय वितरक बन्ने लक्ष्यतर्फ सङ्घर्ष गर्न तयार भएँ। नसोचेको घटना, अध्ययन भ्रमणका लागि मेरो टोलीलाई लैजाँदै गर्दा, हामी चढेको बस एउटा ट्रकसँग ठोक्कियो, र म बेहोस भएँ। जब म ब्युँझिएँ, मैले गाडीहरू भुइँमा पल्टिएको देखेँ, र वरिपरि चिच्याहट सुनेँ। केही मानिसको अनुहार रगतले लतपतिएको थियो, र केही पीडाले कराइरहेका थिए। म उभिन चाहन्थेँ, तर मेरो कम्मर यति दुखेको थियो कि म उठ्न सकिनँ। उद्धारकर्ताहरूले हामीलाई बसबाट बाहिर ननिकालेसम्म मसँग पर्खिनुको विकल्प थिएन। यो दुःखद दृश्य देखेर म भयभीत भएँ, “मेरो कम्मर यति धेरै दुखेको छ, कतै मलाई पक्षाघात त हुने होइन? मेरो टोलीका धेरै मानिस घाइते भएका छन्। यदि कसैलाई केही भयो भने, म उनीहरूको परिवारलाई के जवाफ दिनु?” मैले अत्यन्तै असहाय महसुस गरेँ। यतिबेला, मैले परमेश्‍वरलाई सम्झेँ र मनमनै प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर, हामीलाई बचाउनुहोस्…” जाँचपछि, मेरो कम्मरका तीनवटा हड्डी दबिएर भाँचिएको पाइयो। डाक्टरले शल्यक्रिया नगरी औषधिले मात्र उपचार गर्ने सल्लाह दिए। म बसको अगाडि बसेको भए पनि, म गम्भीर घाइते थिइनँ। यो मप्रति परमेश्‍वरको दया र सुरक्षा थियो, र मैले हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। मेरी मिल्ने साथी मेरुदण्डको शल्यक्रियापछि कोमाका कारण अझै वार्डमै थिइन्, अर्की दिदीको भर्खरै खुट्टाको नसा चुँडिएर शल्यक्रिया गरिएको थियो, र बीस वर्षकी एउटी केटीको कम्मरमुनिको भागमा चोट लागेको थियो र डाक्टरले भनेअनुसार उनी कहिल्यै आमा बन्न नसक्ने सम्भावना थियो। यो सबै देखेर, मैले मानव जीवन कति नाजुक हुँदो रहेछ भन्ने महसुस गरेँ। दुई दिनअघि मात्र हामी बसमा खुसी हुँदै सिकेका कुराहरू साटासाट गरिरहेका थियौँ, तर अहिले हामी सबै अस्पतालको बेडमा पल्टिरहेका थियौँ। त्यसपछि मैले आफैँलाई हेरेँ, मेरो कम्मरको हाड भाँचिएको थियो। डाक्टरले भने, म दुई-तीन महिनासम्म आफ्नो हेरचाह आफैँ गर्न सक्नेछैन। मैले सोचेँ, “यदि यस पटक म मरेको भए धेरै पैसा कमाएको के अर्थ हुन्थ्यो र? म बाँच्नु नै ठूलो भाग्य हो!”

दुई महिनापछि, म अस्पतालबाट डिस्चार्ज भएँ र स्वास्थ्यलाभ गर्न घर फर्किएँ। म बस दुर्घटनामा परेको थाहा पाएर एक जना सिस्टर मलाई भेट्न आइन्, र उहाँले परमेश्‍वरको वचनको एउटा खण्ड खोजी पढेर सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसका खातिर हो। यो त स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई परमेश्‍वरले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसको अस्तित्वका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण मानिसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। मेरी सिस्टरले भनिन्, “मानिसको नियति परमेश्‍वरको हातमा छ, र कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन। तपाईँ नै हेर्नुहोस्, तपाईँ दिनभरि पैसाकै लागि मरिहत्ते गर्दै हुनुहुन्थ्यो। यस पटक परमेश्‍वरले नै तपाईँलाई गम्भीर चोटपटकबाट बचाउनुभयो। तर के तपाईँले कहिल्यै सोच्नुभएको छ, तपाईँले पैसा कमाउनुभयो भने पनि, यदि तपाईँको ज्यान गयो भने त्यो पैसाको के काम? आज हामी परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न पाएकोमा भाग्यमानी छौँ, तर तपाईँ राम्ररी भेला भइरहनुभएको छैन। के यो तपाईँका लागि परमेश्‍वरको मुक्तिबाट तर्किने प्रयास होइन र?” ती सिस्टरका कुराले मेरो मनमा घोचे पनि, ती कुरा तथ्य पनि थिए। फर्केर हेर्दा, जब मैले स्व-अध्ययनमार्फत मेरो डिप्लोमा र व्यावसायिक उपाधि पाएँ, मलाई त्यसपछि त सबै कुरा सहज हुनेछन् भन्ने लागेको थियो। तर अन्तमा मेरो जागिर गुम्छ र म बेरोजगार हुन्छु भन्ने मैले सोचेकै थिइनँ। म यो असफलता चुपचाप स्वीकार गर्न तयार थिइनँ। जब मैले धेरै मानिसले आफ्नै व्यवसाय सुरु गरेर अरूभन्दा विशिष्ट बनेको देखेँ, मैले पनि आफ्नै व्यवसाय सुरु गर्ने प्रयासमा कडा परिश्रम गरिरहेँ। तथापि, ती सबै असफल भए। यस अवधिमा, म कार दुर्घटनामा समेत परेँ र मेरो घाँटीको मेरुदण्डमा चोट लाग्यो जसले मलाई झन्डै पक्षाघात गरायो। म पूर्ण रूपमा निको नहुँदै, म फेरि नेटवर्किङ व्यवसायमा हाम फालेँ। म नेटवर्किङ व्यवसायमार्फत राम्रो जीवन जिउन चाहन्थेँ, तर मैले बस दुर्घटनाले मेरा वर्षौँको मेहनतलाई फुटाएर माटोमा मिलाइदिन्छ भन्ने सोचेकै थिइनँ। मैले वास्तवमै आफ्नै नियति नियन्त्रण गर्न नसक्ने रहेछु, र मानिसको नियति परमेश्‍वरको हातमा रहेछ भन्ने महसुस गरेँ। यो दुर्घटना नराम्रो कुरा जस्तो देखिए पनि, वास्तवमा यो राम्रो कुरा थियो। यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो। नत्रभने, मैले ख्याति र प्राप्ति पछ्याउन छोड्ने थिइनँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र म अत्यन्तै भावुक भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मेरो हृदय न्यानो भयो, र मैले परमेश्‍वरको प्रेम र कृपा महसुस गरेँ। मैले परमेश्‍वरको आवाज सुनेकी थिएँ तर मैले पैसा, ख्याति र प्राप्तिको परीक्षालाई रोक्न सकिनँ, र अझ धेरै पैसा कमाउन र अरूभन्दा माथि हुनका लागि, म भेलामा जान चाहिनँ। मेरा ब्रदर-सिस्टरहरू मलाई खोज्न मेरो घर आउँदा पनि म उनीहरूबाट लुकेँ। म निकै संवेदनहीन र विद्रोही भएकी थिएँ, तर परमेश्‍वरले मलाई त्याग्नुभएन। बस दुर्घटना हुँदा म अगाडिको सिटमा बसिरहेकी थिएँ र ठूलो धक्का खाएकी थिएँ, तर म गम्भीर घाइते भइनँ। के यो परमेश्‍वरको सुरक्षा थिएन र? परमेश्‍वरले मकहाँ आउन र सत्यतामा सङ्गति गर्न एउटी सिस्टरको पनि प्रबन्ध गर्नुभयो, ताकि मैले परमेश्‍वरको अभिप्राय बुझ्न सकूँ र परमेश्‍वरतर्फ फर्कन सकूँ। के यो सबै परमेश्‍वरले मप्रति कृपा देखाउनु थिएन र? परमेश्‍वरको प्रेम कति महान् छ, तर म ख्याति र प्राप्ति पछ्याउनमै मग्न थिएँ, परमेश्‍वरबाट लुकेर उहाँबाट धेरै टाढा भड्किरहेकी थिएँ। मेरो हृदय साह्रै कठोर थियो, र म विवेक र समझशून्य थिएँ। म साँच्चै परमेश्‍वरको मुक्तिको लायक थिइनँ!

जब म फेरि हिँड्न सक्ने गरी निको भएँ, मेरो सिनियरले मलाई फोन गर्नुभयो र फर्किएर टोली व्यवस्थापन गर्न भन्नुभयो। मैले मनमनै सोचेँ, “यदि मैले यति धेरै मेहनत गरेर बनाएको टोलीलाई व्यवस्थापन गरिनँ भने, यो विघटन हुनेछ। अहिले, हरेक महिना बिक्री घटिरहेको छ, र मेरो आम्दानी पनि घटिरहेको छ। यदि यस्तै भइरह्यो भने, के मेरा पहिलेका प्रयासहरू सबै व्यर्थ हुनेछैनन् र?” मेरो हृदय डगमगाउन थाल्यो। यतिबेला, मैले परमेश्‍वरका वचनहरू पढेँ: “तँ परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मानिस परमेश्‍वरद्वारा सृजित भएको हो। सृजित प्राणीका रूपमा, म परमेश्‍वरमा समर्पित हुनुपर्छ, मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। मैले आफूले आफ्नो जीवनको अधिकांश समय ख्याति, प्राप्ति र हैसियत पछ्याउनमा बिताएको कुरा सम्झेँ। अन्तमा, मैले मेरा सारा मेहनत र कष्टपछि पनि आफूले चाहेको कुरा पाइनँ, र मैले झन्डै आफ्नो ज्यान गुमाएँ। अहिले म परमेश्‍वरमा फर्कन सक्नु भनेको परमेश्‍वरको कृपा र सुरक्षाका कारण हो, र मैले परमेश्‍वरको प्रेम चुकाउनुपर्छ। अझै पनि धेरै निष्कपट विश्वासीहरू छन् जो परमेश्‍वरसामु आएका छैनन्, र मैले ती मानिसहरूलाई सुसमाचार प्रचार गर्नुपर्छ। यो मेरो जिम्मेवारी र कर्तव्य हो। त्यसैले, मैले त्यस उप्रान्त टोलीको विस्तार नगर्ने निर्णय गरेँ। म परमेश्‍वरका वचनहरू खान-पिउनका लागि राम्ररी भेला हुन, र परमेश्‍वरको गवाही दिन सुसमाचार प्रचार गर्न चाहन्थेँ। त्यसपछि, मैले मेरो सिनियरको अनुरोध अस्वीकार गरेँ र मेरा ब्रदर-सिस्टरहरूसँगै आफ्नो कर्तव्य पूरा गर्ने छनौट गरेँ, र सक्रिय रूपमा मेरा वरपरका मानिसहरूलाई सुसमाचार प्रचार गर्न थालेँ। हरेक दिन सन्तोषजनक थियो।

सन् २०१२ मा, मैले एक पूर्व सहकर्मीलाई भेटेँ। उनी उच्चस्तरीय वितरक भइसकेकी थिइन्, र प्रशस्त पैसा कमाइरहेकी थिइन्। उनले ठूलो घर पनि किनेकी थिइन्। उनले भनिन्, “तिमी मसँग काम गर्न आयौ भने मात्र पनि, म तिमीलाई बिक्री बढाउन मद्दत गर्नेछु। तिम्रो वार्षिक तलब एक लाख युआन हुनेछ, कुनै समस्या हुनेछैन।” उनले धेरै पैसा कमाइरहेकी, निकै जवान र सुन्दर देखिएकी अनि उनको नयाँ घर भिल्ला जस्तै भएको देखेर, मैले आफूलाई डगमगाउनबाट रोक्न सकिनँ, “के मलाई चाहिएको जीवन यही होइन र? मसँग अनुभव छ र म उनीभन्दा कम बुद्धिमान् पनि छैन, त्यसैले मलाई फेरि वापसी गर्न गाह्रो हुनेछैन। वार्षिक एक लाख युआन तलब पाउन धेरै मेहनत गर्नुपर्दैन।” नाफाको परीक्षाले मेरो मनलाई शान्त रहन दिएन, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ मैले मेरो आस्थामा भेलाहरूमा राम्ररी सहभागी हुनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, तर मलाई अझै पनि ख्याति र प्राप्ति पछ्याउन मन लाग्छ, र म मेरो हृदयमा धेरै द्विविधा महसुस गर्दै छु। प्रिय परमेश्‍वर, मलाई शैतानका परीक्षाहरूमा फस्नबाट जोगाउनुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र मैले ख्याति र प्राप्ति पछ्याउनुको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका विभिन्न जिउने तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीपूर्वक चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको प्रारम्भिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई चरित्रभ्रष्ट तुल्याउने र नरकतर्फ डोर्‍याउने पासो हुन्। यो कुरा बुझेपछि, तैँले जीवनसम्‍बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्‍वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्‍न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्‍ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ख्याति र प्राप्ति प्रयोग गर्छ, र उनीहरूलाई ख्याति र प्राप्तिको पछ्याइलाई सकारात्मक कुराका रूपमा, जीवनभर सङ्घर्ष गर्ने लक्ष्यका रूपमा लिन लगाउँछ, जसले गर्दा उनीहरू निरन्तर परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धबाट उम्कन खोज्छन्, र अन्ततः परमेश्‍वरलाई त्याग्छन् र धोका दिन्छन्। ख्याति र प्राप्ति भनेको शैतानले मानिसहरूका लागि थापेको पासो हो, र मानिसहरूको परीक्षा गरी पतनमा पुराउने जाल हो। मैले ख्याति र प्राप्ति छोड्न नसक्नुको कारण के थियो भने मैले “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “अरूभन्दा विशिष्ट बन” जस्ता शैतानी अस्तित्वका नियमहरूलाई सकारात्मक कुराका रूपमा लिएकी थिएँ। मानिसहरूले ख्याति र प्राप्ति पाएपछि मात्र मर्यादित र मूल्यवान् जीवन जिउन सक्छन् भन्ने ठानेकी थिएँ। मैले भर्खरै स्कुल पास भएर रोजगारीमा प्रवेश गरेको समय सम्झेँ। मेरी दिदीको जस्तै प्रतिष्ठित जीवन जिउनका लागि, मैले डिप्लोमा र व्यावसायिक उपाधिका लागि मरिहत्ते गरेर परीक्षा दिएकी थिएँ। जागिर गुमेपछि, राम्रो जीवन जिउन र मानिसहरूको प्रशंसा जित्न, मैले नेटवर्किङ व्यवसायको तालिम लिएँ र राम्रो बिक्री गर्न झूट बोल्न र ठग्न सिकेँ। म मानिसहरू जे सुन्न चाहन्थे त्यही भन्थेँ, र आफूलाई सफल व्यक्तिको भेषमा प्रस्तुत गर्थेँ, र झूटो रूप देखाएर मानिसहरूलाई बहकाउँथेँ। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिँदै हुनुहुन्छ भन्ने आवाज सुन्दा, र परमेश्‍वरका वचनहरू सत्यता हुन् र तिनले मानिसहरूलाई सही मार्गमा डोर्‍याउन सक्छन् भन्ने महसुस गर्दा पनि, मैले मेरो टोलीको विस्तार गर्न र बिक्री बढाउन चाहेकीले म भेलाहरूमा राम्ररी सहभागी भइनँ। मसँग परमेश्‍वरका वचनहरू पढ्ने समयसमेत थिएन, र मैले मेरो सम्पूर्ण ऊर्जा पैसा, ख्याति र प्राप्ति पछ्याउनमा खर्च गरेँ। अन्ततः, बस दुर्घटनामा मैले झन्डै ज्यान गुमाएँ। अहिले बल्ल म नियमित रूपमा भेला हुन र कर्तव्य पूरा गर्न सक्षम भएकी थिएँ, तर जब मैले मेरी पूर्व सहकर्मीले मलाई वार्षिक एक लाख युआन तलब पाउन मद्दत गर्ने कुरा सुनेँ, मेरा चाहनाहरू जागे, र म संसारमा फर्कन र केही ठूलो कुरा हासिल गर्न आतुर भएँ। म पैसा, ख्याति र प्राप्तिले कति कसिएर बाँधिएकी रहेछु! वास्तवमा, सोच्दाखेरि, विगतका केही वर्षमा, म ख्याति र प्राप्तिका लागि मरिहत्ते गर्दै व्यस्त थिएँ। मैले केही पैसा कमाए पनि, र अरूबाट प्रशंसा र आदर पाए पनि, मेरो पारिवारिक जीवन मेलमिलापपूर्ण थिएन, र म प्रायः रिसाउँथेँ र श्रीमानसँग झगडा गर्थेँ, र मलाई अक्सर मेरो हृदयमा रित्तोपनको आभास हुन्थ्यो। अझ, ख्याति र प्राप्ति पछ्याउने क्रममा, मैले आफ्ना ग्राहकहरूसँग झूट बोलेँ र उनीहरूलाई ठगेँ अनि विवेकको आधारभूत मानक पार गरेँ। म कुनै निष्ठा वा मर्यादाबिनै बाँचेँ। साथै, बस दुर्घटनाका कारण उत्पन्न केही शारीरिक समस्या अझै बाँकी छन्, र मेरो प्रायः ढाड दुख्ने गर्छ। मैले ख्याति र प्राप्तिका लागि धेरै मूल्य चुकाएँ, तर बदलामा मैले आत्मिक रित्तोपन र शारीरिक पीडा पाएँ। मैले थाहा पाएँ, तपाईँसँग जतिसुकै पैसा भए पनि, तपाईँले मानसिक शान्ति वा विवेकको चैन किन्न सक्नुहुन्न, र तपाईँको हैसियत जतिसुकै उच्च भए पनि, तपाईँ दुर्भाग्यबाट उम्कन सक्नुहुन्न। ख्याति र प्राप्तिले मानिसहरूलाई साँचो सुखी जीवन दिन सक्दैनन्। तिनले मानिसहरूलाई परमेश्‍वरबाट टाढा लैजान, रित्तोपन र पीडामा जिउन, र अन्ततः उनीहरूलाई मुक्ति पाउने अवसर गुमाउने बनाउनतर्फ डोर्‍याउन मात्र सक्छन्। अब बल्ल मैले पैसा, ख्याति र प्राप्तिको दलदलबाट आफ्ना खुट्टा बाहिर निकालेकी थिएँ, र म पहिले जस्तै ख्याति, प्राप्ति र हैसियत पछ्याउन चाहन्नथेँ, वा त्यो कष्ट, थकान, रित्तोपन र सास्तीको जीवन जिउन चाहन्नथेँ। मैले ख्याति र प्राप्ति पछ्याउने आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्नुपर्थ्यो, परमेश्‍वरमा समर्पणता पछ्याउनुपर्थ्यो, र सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। यसो गर्दा मात्र जीवन अर्थपूर्ण हुन्छ। मैले के पनि थाहा पाएँ भने, बाहिरबाट हेर्दा मेरी सहकर्मीले मलाई मनाउन खोजिरहे जस्तो देखिए पनि, त्यसको पछाडि शैतानको परीक्षा र मप्रति परमेश्‍वरको जाँच थियो। म फेरि शैतानका चालमा फस्न र मेरो अघिल्लो गलत मार्गमा हिँडिरहन सक्दिनथेँ। त्यसैले, मैले मेरी सहकर्मीलाई ठाडै अस्वीकार गरेँ।

त्यसबेलादेखि, कसैले मलाई पैसा कमाउने राम्रो तरिकाका रूपमा कुनै प्रकारको नेटवर्किङ व्यवसाय सिफारिस गर्दा, मेरो मन डगमगाउन छाड्यो, र म सुसमाचार प्रचार गर्ने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने बारेमा मात्र सोच्थेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। यदि तँ परमेश्‍वरको आराधना गर्दैनस् बरु आफ्नै फोहोर देहभित्रै जिउँछस् भने, के तँ मानव वस्त्र धारण गरेको पशु मात्र होइनस् र? तँ मानव भएकाले तैँले आफूलाई परमेश्‍वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्‍वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरूले मलाई पैसा, ख्याति, प्राप्ति, अभिमान वा प्रतिष्ठा पछ्याउनुको कुनै अर्थ छैन भन्ने बुझाए। परमेश्‍वरमा विश्वास गरेर, सत्यता पछ्याएर, भ्रष्ट स्वभावहरू फालेर र सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्र सबैभन्दा अर्थपूर्ण जीवन जिउन सकिन्छ। विगतमा, मैले पैसा, ख्याति, प्राप्ति र भौतिक आनन्द पछ्याएँ, र देहका लागि जिएँ। म प्रतिष्ठित र सम्मानित देखिए पनि, मैले हृदयमा शान्ति र आनन्द महसुस गरेकी थिइनँ। अहिले म मेरा ब्रदर-सिस्टरहरूसँगै मेरो कर्तव्य पूरा गर्दै छु, परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै छु, परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दै छु, र आत्मचिन्तन गरी आफैँलाई बुझ्दै छु। म अब त्यति धेरै झूट बोल्दिनँ, र म बिस्तारै मानव स्वरूपमा जिउन थालेकी छु। मलाई पैसा, ख्याति र प्राप्ति पछ्याउने पीडाबाट उम्कन मद्दत गर्नुभएकोमा, र जीवनको उज्ज्वल मार्गमा लाग्न मार्गदर्शन गर्नुभएकोमा म सर्वशक्तिमान् परमेश्‍वरको अगुवाइलाई धन्यवाद दिन्छु!

अघिल्लो:  ८७. मैले आफ्‍नो कर्तव्य पन्छाउँदा के कुराको चिन्ता गरिरहेकी थिएँ

अर्को:  ८९. समस्या रिपोर्ट गर्न डराउनुको पछाडि

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger