ग. कसरी आफैलाई चिन्ने र साँचो पश्चात्ताप हासिल गर्ने
३५८. हजारौँ वर्षको भ्रष्टतापछि, मानिस सुन्न नसक्ने र सुस्त भएको छ; ऊ परमेश्वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्वरलाई धोका दिन्छ: जब मानिसले परमेश्वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्वरको श्रापहरू र परमेश्वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्हरू प्राप्त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्न सक्छ? मानिससँग साँच्चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्हरू प्राप्त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्ट बनाइएको कारण नै र तिनीहरू परमेश्वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्टता हो। शैतानको भ्रष्टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल निरन्तर विरोध र विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै भएन, र यो परमेश्वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्वरमा समर्पित हुने र उहाँप्रति विश्वासयोग्य हुने, परमेश्वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्वरको हुने, र परमेश्वरप्रति स्वस्थ विवेक कायम राख्ने कुरालाई दर्साउँछ। यसले परमेश्वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्ट बनाइएको कारण उसले परमेश्वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्वरको जानाजानी विरोध गर्छ, र उहाँको आलोचना गर्छ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने स्पष्ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँको आलोचना गर्छ; मानिससँग परमेश्वरप्रति समर्पित हुने अभिप्राय छैन, र केवल उहाँसँग माग राख्ने र अनुरोध गर्ने गरिरहन्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्त गरेका हुन्छन्; आफैलाई चिन्न नसकेका मानिसहरू जति धेरै परमेश्वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
३५९. मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्वरलाई उछिन्न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्न चाहन्छन् र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ठ्याक्कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श-वाणीहरू र लोक-उक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानव भ्रष्टताको सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरू तिनीहरूका आफ्नै प्राथमिकता हुन्छन्, र ती सबैले मानिसहरूका स्वभाव र खोजीहरूलाई प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्ने हरेक शब्द, र गर्ने हरेक काममा जति नै छद्म भेष धारण गरे पनि यसले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणको लागि, फरिसीहरूले प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गर्नुभएका उपदेश र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा निन्दा गरे। यसले सत्यताको विरुद्ध खडा हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्म सङ्गत गरिसकेपछि, अरूले तिनीहरूको प्रकृति अत्यन्तै छली र कपटी छ भन्ने कुरा पत्ता लगाउँछन्। तिनीहरूसँग लामो समयसम्म उठबस गरिसकेपछि, जोकोहीले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको सांसारिक व्यवहारसम्बन्धी दर्शन भनेकै कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै शैतानी दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्ने हो भने, तैँले ती कुराहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्ने सोच्दै र कुनै पश्चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति सार हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
३६०. तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको सांसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसहरूका हुन् तिनीहरू सबै आफ्ना लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूले बारम्बार दोहोर्याएर भनेका चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आत्म-आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्वरको विरोध गर्छन् र परमेश्वरको विरुद्धमा उभिन्छन्। यदि मानिसहरूको प्रकृतिलाई यसरी चिरफार गर्न सकियो भने तिनीहरूले आफूलाई सजिलै चिन्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
३६१. तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्नुपर्छ। तैँले कुनै पनि नतिजा देख्न पाउनको लागि परमेश्वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदै जान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति सारलाई बिस्तारै जान्न थाल्नेछस्।
आफ्नो प्रकृति चिन्नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले पछ्याउने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा बोलीले लट्ठ पार्ने वा नाटक देखाउने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्छुक हुनु, अरूलाई राम्रा लाग्ने र मानिसहरूले अनुमोदन र प्रशंसा गर्ने कामकुराहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्वरमा विश्वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्न मानिसहरू विशेष इच्छुक हुन्छन्। … मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्न सकिँदैन। तँलाई जे मन पर्छ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयका लागि कसैका निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ
३६२. प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्वरबाट आउने खुलासाहरू अनुरूप हुनुपर्दछ। परमेश्वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्न सक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउन सक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न, परमेश्वरको वचन निरन्तर अभ्यास गर्न, आफ्नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता पछ्याउन, आफ्नो स्वभाव परिवर्तन गर्न, र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्वरको अनुग्रहविना र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुनेथियो, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरू आफैविरुद्ध विद्रोह गर्न सक्दैनन्। पत्रुसको सिद्धताको मार्गमा हिँड्नु मुख्यतः सङ्कल्प लिने, विश्वास राख्ने र परमेश्वरमा भर पर्ने कुरामा निर्भर हुन्छ। त्यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्वरको वचनविना हर कुरा गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवमाझ आफैलाई चिन्नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन। पत्रुसको मार्गमा हिँड्नका लागि, व्यक्तिले आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
३६३. एकातिर, परमेश्वरका परीक्षाका अवधिमा, मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ नगण्य, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ; अर्कोतिर, परीक्षाका अवधिमा परमेश्वरले मानिसका लागि केही वातावरणहरू प्रबन्ध गर्नुहुन्छ, ताकि मानिस तीभित्र, परमेश्वरको प्रेमिलो स्वभाव अनुभव गर्न झन् बढी सक्षम होस्। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ अपराजेय भए तापनि—चरम दुःखको तहसम्म समेत पुग्ने भए तापनि—त्यो अनुभव गरिसकेपछि, मानिसले उसमा भएको परमेश्वरको काम कति प्रेमिलो छ भनी देख्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्वरका निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको सार बुझ्ने बारेमा त कुरै नगरौँ। केवल परमेश्वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र उसँग केही पनि छैन भनी जान्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
३६४. आत्मचिन्तन गर्नु र आफैलाई चिन्नुको चाबी यो हो: तैँले कुनै निश्चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले आफैलाई ती क्षेत्रहरूमा चिन्नु र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्वरको अभिप्रायहरू पूरा गर्न सक्दैनन् सो जान्नका लागि ती क्षेत्रहरूलाई अझ गहन रूपमा बुझ्नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र धेरै मानिस विशेष गरी उनको खुट्टै पर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसलाई उसको निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्ने लाग्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्वरद्वारा दण्डित भयो। यदि, त्यस समयमा उसले आफ्नै बारेमा चिन्तन र चिरफार गरेको भए, उसले जसरी सोच्यो त्यसरी सोच्ने थिएन। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यता खोजी गर्न ध्यान दिएको थिएन; उसले केवल आफ्नै धारणा र कल्पनाहरूमा विश्वास गरेको थियो। उसले केही असल कुराहरू गर्दैमा र केही असल व्यवहारहरू देखाउँदैमा परमेश्वरले उसलाई अनुमोदन गर्नुहुनेछ र उसलाई इनाम दिनुहुनेछ भनी उसले सोचेको थियो। अन्त्यमा, उसको आफ्नै धारणा र कल्पनाले उसको हृदयलाई दृष्टिहीन बनायो र उसको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, र तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन, त्यसैले परमेश्वरले यो कुरा पर्दाफास गर्नुभन्दा पहिले, तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र उसलाई तिनीहरूले आफूले बन्न खोजेको र चाहेको आदर्श ठाने। पावलको मामिला परमेश्वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्वरलाई पछ्याउने हामीहरूले जब आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ र परमेश्वरको सेवा गर्ने क्रममा, हामी परमेश्वरप्रति अर्पित रहेको र हामीले परमेश्वरलाई प्रेम गर्ने गरेको महसुस गर्छौँ, र यस्तो समयमा, हामीले आफ्नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का नगर्ने, यसबारेमा मनन नगर्ने, वा यसमा परमेश्वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्ने गर्दैनस्। उदाहरणका लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्ने कतिपय मानिसहरू पनि छन्। उनीहरू कहिल्यै अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरू सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, ताकि तिनीहरूको समस्या अनसुल्झा नरहोस्; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवन प्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराले पक्कै परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र आफूहरू परमेश्वरका साँचो विश्वासीहरू हौँ भन्ने विश्वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरू आफ्नो प्राकृतिक दयालुपनलाई पूँजीका रूपमा हेर्छन्, र उनीहरूले त्यसो गर्नेबित्तिकै, त्यसलाई सत्यताका रूपमा मानिलिन्छन्। वास्तवमा, उनीहरूले गर्ने सबै कुरा मानव भलाइ हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्वरका मागहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले गर्ने सबैकुरामा परमेश्वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरूले उहाँका मागहरूअनुसार नै काम गर्छन्। परमेश्वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्न; परमेश्वरका लागि त्यो दोषी ठहराइनु हो र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
३६५. आजभोलि, धेरैजसो मानिसहरूमा आफ्नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, तिनीहरूले सम्भवतः गर्ने कार्यहरू, वा तिनीहरूका केही कमजोरीबारे मात्र ज्ञान छ, र यसले तिनीहरूलाई आफूलाई चिन्न विश्वास गर्ने बनाउँछ। त्यसबाहेक, यदि तिनीहरू केही प्रावधान पालना गर्छन्, निश्चित क्षेत्रहरूमा गल्ती गर्दैनन् भन्ने कुरालाई निश्चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा तिनीहरूसँग वास्तविकता छ भन्ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैँले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव स्वरूपमा जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्वरलाई सच्चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै जीवन स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्वरमाथिको विश्वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफूबारे मानिसहरूको ज्ञान अत्यन्तै सतही छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव निश्चय नै परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नै प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्त्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै कुरूप प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्ना बारेको सत्यतालाई साँच्चै देख्न सक्छस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र परमेश्वरको वचन अभ्यास गर्छस्, तब तैँले गाह्रो हुन्छ भन्ने विश्वास नगरी देहविरुद्ध विद्रोह गर्न सक्छस् र सत्यता अभ्यास गर्ने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति कुरूप, कति घृणास्पद र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले साँच्चै आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यसबेला, सत्यता अभ्यास गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्नेछ, “यो परमेश्वरको धर्मी दण्ड हो। परमेश्वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्वरबारे गुनासो त झनै गर्नेछैन, उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकाले परमेश्वरद्वारा ऊ हटाइनुपर्छ र नाश पारिनुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्नेछ, “मैले आफ्नो विश्वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ सत्यता पछ्याएको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दुःख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कसले चाहिँ मुक्ति पाउनसक्नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन