स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ

वर्षौँसम्म परमेश्‍वरको काम अनुभव गर्ने र प्रवचनहरू सुन्‍ने क्रममा, केही मानिसहरू यस्ता हुन्छन् जसमा आफूबारे केही बुझाइ हुन्छ, र जो केही वास्तविक अनुभवबारे बोल्न, र आफ्नो वास्तविक स्थिति, आफ्नो व्यक्तिगत प्रवेश, आफ्नो व्यक्तिगत प्रगति, आफ्ना कमजोरीहरू, र आफू कसरी प्रवेश गर्ने योजना छ भन्‍नेबारे सङ्गति गर्न सक्छन्। तर केही त्यस्ता मानिस पनि हुन्छन् जोसँग आफूबारे केही बुझाइ हुँदैन र जो कुनै पनि वास्तविक अनुभवबारे बोल्न सक्दैनन्। तिनीहरू शब्द र धर्मसिद्धान्तहरू, बाह्य काम, समसामयिक परिस्थितिहरू, र सुसमाचार प्रचारको प्रगतिजस्ता बाहिरी मामिलाहरूबारे मात्र बोल्न सक्छन्, तर ठोस जीवन प्रवेश वा व्यक्तिगत अनुभवबारे केही बोल्न सक्दैनन्। यसले के देखाउँछ भने तिनीहरू अझै पनि जीवन प्रवेश गर्ने सही मार्गमा पुगेका छैनन्। व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्। यो सबको कारण के हो भने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैन, परमेश्‍वरलाई साँचो प्रेम गर्दैन, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैन। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तँबारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्चै असल छन्, र सत्यता अभ्यास गर्नु सर्वोत्तम कुरा हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। व्यक्तिको स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल भएजस्तो सुनिन्छ, तर वास्तवमा यो धेरै अनुभव चाहिने प्रक्रिया हो। यस अवधिमा, मानिसहरूले धेरै कष्ट भोग्‍नुपर्छ—तिनीहरूले आफ्‍नै शरीरलाई काबुमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काँटछाँट, परीक्षा र शोधनको कष्ट पनि भोग्नुपर्छ, अनि तिनीहरूले धेरै असफलता र पतन पनि अनुभव गर्नुपर्छ, र भित्री सङ्घर्ष र सास्तीको कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूमा आफ्‍नो प्रकृतिबारे केही बुझाइ हुन सक्छ, तर केही बुझाइबाट तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरू परीक्षा, शोधन, र काटछाँटको लामो प्रक्रियाबाट गुज्रनुपर्छ, अनि तिनीहरूले निरन्तर सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, तब मात्रै तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू अलिअलि गर्दै फाल्न सक्छन्। त्यसकारण आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणका लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यस चरणमा, अरूले तँलाई काँटछाँट गर्छन्, र त्यसपछि तेरो वातावरणले तँलाई सत्यता सिद्धान्तहरूअनुसार काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यो चाहन्‍नँ, ममा यसका लागि शक्ति छैन!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू अनुभवको कुनै निश्चित बिन्दुमा पुग्छन्, अनि त्यसपछि केही परीक्षा र शोधनबाट गुज्रन्छन् र अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू अलि अनिच्छुक हुँदै सत्यता अभ्यास गर्छन्। उदाहरणका रूपमा, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कुरालाई लिऊँ: तँसित आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा केही समर्पण, परमेश्‍वरप्रति अर्पित हुनुको अर्थ के हो भन्नेबारे केही ज्ञान र सत्यतासम्बन्धी केही बुझाइ छ, तर तँ कहिले परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित हुन सक्‍नेछस् अनि कहिले नाम र काम दुवैमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसका लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, अनि तब मात्र तैँले आफू गलत भएको र दोषी व्यक्ति आफू नै भएको, आफ्नो कर्तव्य निर्वाहमा अर्पण नहुनु अस्वीकार्य हुने र आफू लापरवाह हुन नहुने कुरा थाहा पाउन थाल्नेछस्। पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई आफूमा अत्यन्तै धेरै अशुद्धता छन्, तँ अत्यन्तै धेरै व्यक्तिगत मनसायहरू पाल्छस्, र तँसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अत्यन्तै धेरै विलासी चाहनाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना वास्तविक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यता खोजी गरिस् भने, बिस्तारै आस्थाको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पखालिन थाल्‍नेछन्। तेरो भ्रष्ट स्वभावहरू जति बढी पखालिन्छन्, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

अहिले धेरै मानिसहरूले आफ्‍ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्‍नो स्वभाव परिवर्तन गरेपछि परमेश्‍वरका मागहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै मानकको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्‍न सक्‍नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यताको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैनन्। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, अझै सच्चा रूपमा समर्पित भइरहेको छैनस्। कहिलेकाहीँ तँ वातावरण अनुकूल भएकाले वा कसैले तेरो सुपरिवेक्षण गरिरहेकाले सत्यता अभ्यास गर्न सक्छस्, अनि त्यसपछि मात्रै तँ केही हदसम्म समर्पित हुन सक्छस्। यसबाहेक, जब तेरो मुड राम्रो हुन्छ र तेरो स्थिति सामान्य हुन्छ, वा जब तँमा पवित्र आत्माको काम हुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्छस्। तर यदि तँ परीक्षाको बीचमा छस् भने—जब तैँले परीक्षाको दौरान अय्यूबले जस्तै कष्ट भोगिरहेको छस्, वा जब तँ मृत्युको परीक्षा सामना गर्छस्—के तँ अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दृढ रहन सक्नेछस्? के तँ पत्रुसले भनेको जस्तै कुरा भन्न सक्नेछस्, “तपाईँलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म त्यो खुसी र आनन्दसाथ किन गर्न नसकुँला र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्‍मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। सत्यता अभ्यास गर्दा किन सधैँ केही कठिनाइ हुन्छन्, जबकि आफ्नै इच्छाअनुसार चल्दा कुनै कठिनाइ हुँदैन? यसले के देखाउँछ भने जब मानिसहरू सत्यता अभ्यास गर्छन्, तब तिनीहरूलाई सधैँ आफ्ना भ्रष्ट स्वभावहरूले बाधा दिन्छन्; यसको बाह्य वातावरणसँग खासै कुनै सम्बन्ध छैन। त्यसकारण, सत्यता अभ्यास गर्नमा मानिसहरूको सबैभन्दा ठूलो कठिनाइ भनेको तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू हुन्। कठिनाइ जुनसुकै प्रकारको भए पनि, यो सिधै व्यक्तिका भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुन्छ; ती कठिनाइहरू सबै तिनीहरूका भ्रष्ट स्वभावहरू सक्रिय भइरहेका र तिनले रोकावटहरू खडा गरिरहेका कारणले गर्दा हुन्छन्। यसरी, सत्यता अभ्यास गर्नका लागि, देहविरुद्ध विद्रोह गर्नु र आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्नु अत्यावश्यक छ; मानिसहरूले सत्यता अभ्यास गर्न सक्नुअघि कष्ट भोग्नु र मूल्य चुकाउनु आवश्यक छ। यदि तिनीहरूमा भ्रष्ट स्वभावहरू नभएका भए, तिनीहरूले सत्यता अभ्यास गर्नका लागि कष्ट भोग्नु र मूल्य चुकाउनु पर्नेथिएनन्। के यो स्पष्ट तथ्य होइन र? कहिलेकाहीँ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो देखिन्छ, तर वास्तवमा, तेरा कार्यहरूको प्रकृति सत्यता अभ्यास गर्ने प्रकृति होइन। परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवात्मक गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। किनभने तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि होइन, तर आशिष्‌ र इनामहरू प्राप्त गर्नका लागि हो। यदि तैँले गर्ने कुराहरूमा तेरा व्यक्तिगत मनसायहरूको मिसावट छ भने, तँ सिद्धान्तहरूबाट विचलित हुने सम्भावना हुन्छ, र तैँले सत्यता अभ्यास गरिरहेको छस् भनेर भन्न सकिँदैन; यो एक प्रकारको आचरण मात्रै हो। ठ्याक्कै भन्नुपर्दा, तेरो यस प्रकारको आचरणलाई सम्भवतः परमेश्‍वरले दोषी ठहराउनुहुनेछ; यसलाई उहाँले अनुमोदन वा स्मरण गर्नुहुनेछैन। यसको सार र स्रोतलाई थप चिरफार गर्दा यो शैतानको प्रकृतिबाट उत्पन्न हुन्छ भन्‍ने देखिनेछ। त्यसोभए यसले तँलाई दुष्कर्मी बनाउँछ, र तेरो यो आचरण परमेश्‍वरको प्रतिरोध गर्नु ठहरिन्छ। मानव दृष्टिकोणबाट हेर्दा, सायद खुट्ट्याउने क्षमता नभएका कतिपय मानिसहरूले यसो भन्‍नेछन्, “यसलाई दुष्टता गरेको ठानिँदैन, न त यसलाई अवरोध र बाधाहरू खडा गरेको नै ठानिन्छ, र यसले कुनै क्षति पुर्‍याएको छैन। भनिएको र गरिएको कुरा पनि तार्किक र उचित देखिन्छ।” तर मानिसहरूले छर्लङ्गै देख्न नसक्ने कुरा के हो भने तिनीहरूभित्र भएका मिसावट र मनसायहरू दुष्ट तत्त्व हुन्, त्यसकारण तिनीहरूका कार्यहरूलाई दुष्ट कार्य ठानिन्छ, र परमेश्‍वरको प्रतिरोध गर्नु ठानिन्छ। त्यसकारण, तैँले परमेश्‍वरका वचनहरू प्रयोग गरेर र आफ्ना कार्यहरूपछाडिका मनसायहरूलाई हेरेर आफ्नो स्वभाव परिवर्तन भएको छ कि छैन र तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर निर्धारण गर्नुपर्छ। यो कुरा तेरा कार्यहरू आफ्ना मानव कल्पना र विचारहरूसित मेल खान्छन् कि खाँदैनन्, वा ती तेरो रुचिसँग मिल्छन् कि मिल्दैनन्, त्यसमा निर्भर हुँदैन; यो यी कुराहरूमा निर्भर हुँदैन। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँले माग गरेका मानकहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने उहाँको भनाइमा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यता अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब यस मामिलाको सारको कुरा आउँछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधुप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सारगत र गहन कुराहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, तैँले आफूले गर्ने सबै कार्यमा आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैँले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आफ्नो दैनिक जीवनमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको र तँमा काम गरिरहनुभएको महसुस गर्नेछस्। तैँले आफ्ना कार्यहरू परमेश्‍वरका वचनहरूसँग कसरी मेल खान्छन् भनेर देख्न सक्नेछस्, ती सत्यता सिद्धान्तहरूअनुरूप हुनेछन्, र तैँले कामकुराहरू केही हदसम्म अनुभव गरिसकेपछि, तैँले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तर, यदि केही अवधिसम्म कामकुराहरू अनुभव गरेपछि, तैँले विगतमा गरेका केही काम उचित थिएनन् जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनुरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैँले गरेका सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरो सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो। यो सङ्गतिपश्‍चात्, के तिमीहरू आफूले स्वभाव परिवर्तनलाई कसरी बुझ्नुपर्छ भनेर स्पष्ट छौ? तिमीहरूले प्राय आफ्नो स्वभाव रूपान्तरण गर्नेबारे छलफल गर्दैनौ होला र व्यक्तिगत अनुभवहरू पनि बिरलै सङ्गति गर्छौ होला। बढीमा, तैँले यसरी सङ्गति गर्छस् होला: “म केही समयपहिले नकारात्मक थिएँ। त्यसपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँले मलाई विश्‍वासीहरूले परीक्षाहरू भोग्‍नैपर्छ भन्‍ने तथ्यबारे अन्तर्दृष्टि दिनुभयो। मैले यसबारे केही समय सोचेँ, र थाहा पाएँ कि वास्तविकता त्यही हो। त्यसैगरी, म आफ्नो कर्तव्य निर्वाह गर्दा केही पक्षहरूमा अर्पित हुँदिनँ, त्यसैले बस मैले त्यो स्विकारेँ। केही समयपछि, ममा फेरि उत्प्रेरणा जाग्यो, र त्यसउप्रान्त म नकारात्मक रहिनँ।” सङ्गतिपछि अरूले पनि यसो भन्छन्, “हाम्रो स्थिति पनि प्राय उस्तै नै रहन्छ, र हाम्रो भ्रष्ट स्वभाव पनि त्यस्तै छ।” यदि तँ सधै यी कुराहरू नै सङ्गति गर्छस् भने, समस्या हुनेछ—तैँले यी कुराहरूको सार प्रस्टसित बुझ्ने वा देख्‍नेछैनस्। तैँले जति नै वर्ष विश्‍वास गरे पनि, तेरो जीवन स्वभाव परिवर्तन हुन सक्नेछैन।

स्वभावमा हुने रूपान्तरणले मुख्यतः व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिमा अन्तर्निहित कुराहरूलाई उसको बाहिरी व्यवहारबाट बुझ्न सकिँदैन। ती सिधै त्यस व्यक्तिको अस्तित्वको मूल्य र महत्त्वसँग अनि जीवनबारे उसको दृष्टिकोण र उसका मूल्यमान्यताहरूसँग सम्बन्धित हुन्छन्; ती उसको प्राणको गहिराइमा भएका कुराहरूसँग र उसको सारसँग सम्बन्धित हुन्छन्। यदि कुनै व्यक्तिले सत्यता स्वीकार गर्न सक्दैन भने, ऊ यी पक्षहरूमा रूपान्तारित हुनेछैन। परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर अनि परमेश्‍वरको ज्ञान प्राप्त गरेर मात्रै मानिसहरूले साँचो रूपमा सत्यता बुझ्न सक्छन्। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण र अस्तित्व र मूल्यमान्यताहरूबारे तिनीहरूको दृष्टिकोण परिवर्तन हुन थाल्छ। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण सत्यतासँग मिल्ने र परमेश्‍वरको वचनसँग एकरूप हुने बन्छ र तिनीहरू परमेश्‍वरप्रति साँच्चै समर्पित हुन र आफ्नो कर्तव्य निर्वाह गर्दा उहाँप्रति बफादार हुन सक्षम बन्छन्। यो मात्रै स्वभाव परिवर्तन हो। हाल, यदि मानिसहरू सत्यताको बुझाइ प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले बाहिरी रूपमा थोरै प्रयास गरे पनि र आफ्नो कर्तव्य निर्वाहमा थोरै कष्ट भोगे पनि अनि माथिबाट आएका कार्य प्रबन्धहरू सम्पन्न गर्न, र केही सरल कार्य गर्न सके पनि, र तिनीहरूमा थोरै समर्पण छ भन्ने देखिए पनि, जब तिनीहरू आफ्ना धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छन्, तब तिनीहरूको विद्रोहीपन फेरि देखा पर्नेछ। उदाहरणका लागि, जब तँलाई काँटछाँट गरिन्छ, तब तैँले तर्क गर्नेछस् र आफ्नो बचाउ गर्ने प्रयास गर्नेछस्, अनि जब कुनै प्राकृतिक वा मानव-निर्मित प्रकोप आउँछ, तब परमेश्‍वरबारे गुनासो र गनगन गर्नेछस्। यसले तँ परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुने व्यक्ति होइनस् भन्‍ने कुरा प्रकट गर्छ। त्यसकारण, त्यो थोरै बाहिरी समर्पण र परिवर्तन व्यवहारमा भएको परिवर्तन मात्रै हो; यो स्वभाव परिवर्तनको स्तरमा पुग्दैन। सायद तँ धेरै दौडधुप गर्न, धेरै कष्ट भोग्न, र ठूलो अपमान सहन सक्छस्; तँलाई परमेश्‍वरको एकदमै नजिक भएको महसुस हुन सक्छ, र पवित्र आत्माले तँमा केही काम गर्न सक्नुहुन्छ। तर, जब परमेश्‍वर तँलाई तेरा धारणाहरूसँग नमिल्ने कुरा गर्न भन्नुहुन्छ, तब तैँले समर्पित हुन नमान्न, बहानाहरू बनाउन, परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न, अनि गम्भीर मामिलाहरूमा उहाँलाई प्रश्न गर्न र उहाँको विरोधसमेत गर्न सक्छस्। यो गम्भीर समस्या हो! यसले तँमा अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति छ, तँ सत्यता साँच्चै बुझ्दैनस्, र तेरो जीवन स्वभावमा पटक्कै कुनै रूपान्तरण भएको छैन भन्‍ने देखाउँछ। बर्खास्त गरिएपछि वा निकालिएपछि, कतिपय मानिस परमेश्‍वरलाई गलत ठहराउने र परमेश्‍वर धर्मी हुनुहुन्न भनेर भन्‍ने हदसम्म जान्छन्। तिनीहरू परमेश्‍वरसँग विवाद र उहाँको प्रतिरोधसमेत गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्‍वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू साँच्चै परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट दियाबलस हुन्। दुष्ट दियाबलसको प्रकृति भएका मानिसहरू कहिल्यै परिवर्तन हुनेछैनन् र तिनीहरूलाई त्याग्नुपर्छ। हरेक परिस्थितिमा सत्यता खोज्न, सत्यता स्विकार्न, र परमेश्‍वरको कामप्रति समर्पित हुन सक्नेहरूसँग मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य देखिने स्थितिहरू खुट्ट्याउन सिक्नैपर्छ। प्रार्थना गर्दा तैँले सुँकसुँकाउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्‍वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्‍वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्‍ने जनाउँदैन। यदि तँ पवित्र आत्माले काम नगर्नुहुँदा वा परमेश्‍वरले तेरो धारणाहरूसँग नमिल्ने कुराहरू गर्नुहुँदा समेत, परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति, सत्यता वास्तविकता भएको व्यक्ति र जीवन स्वभाव परिवर्तन भएको व्यक्ति होस्।

तैँले तेरो स्वभाव रूपान्तरण कहाँबाट सुरु गर्छस्? यो तेरो आफ्नो प्रकृतिको बुझाइबाट सुरु हुन्छ। यही नै कडी हो। त्यसो भए, आफ्नो प्रकृति कसरी बुझ्ने त? आफूसँग भएका भ्रष्ट स्वभावहरू खुट्ट्याएर। यी भ्रष्ट स्वभावहरू चिनिसकेपछि, तैँले आफ्नो प्रकृति सार बुझ्नेछस्। कतिपयले सोध्लान्, “मैले मेरो भ्रष्ट स्वभाव कसरी बुझ्न सक्छु?” अवश्य नै, तैँले त्यसलाई परमेश्‍वरको वचनअनुसार बुझ्नुपर्छ, र सत्यताअनुसार खुट्ट्याउनुपर्छ। त्यसो भए यसलाई कसरी अभ्यास गर्ने त? तैँले प्रकट गर्ने भ्रष्ट स्वभावलाई परमेश्‍वरले खुलासा गर्नुभएका वचनसँग तुलना गरेर। तैँले जति बढी तुलना गर्न सक्छस्, त्यति नै बढी खुट्ट्याउन सक्‍नुपर्छ। यदि तैँले धेरै तुलना गर्न र धेरै चिन्‍न सक्छस् भने, तेरो भ्रष्ट स्वभाव पनि बुझ्न सक्‍नेछस्। के तिमीहरूमध्ये लामो समयदेखि विश्‍वास गरेका र धेरै वर्षदेखि यसरी नै अभ्यास गर्दै आएकाहरूले अहिले आएर आफ्नै प्रकृतिबारे बुझेका छौ? सायद यो बुझाइबाट निकै टाढा छौ होला! यो तुलना गर्दा निश्‍चित मार्ग अपनाउनुपर्छ; आधारविना कसैले पनि केही कुरा बोल्नु हुँदैन। तैँले मान्छेको भ्रष्ट सार परमेश्‍वरले कसरी खुलासा गर्नुहुन्छ भन्‍नेबारे उहाँको धेरैभन्दा धेरै वचन पढ्नुपर्छ। तैँले यी सबै वचनहरू खोजी, बारम्बार पढेर आफैमाथि बारम्बार चिन्तन गर्नुपर्छ, र आफ्नो स्थितिलाई यी वचनहरूसँग तुलना गर्नुपर्छ। त्यो तुलनामा तेरो भ्रष्ट स्वभाव दुरुस्तै मिलेपछि, र तँलाई परमेश्‍वरको वचनले ठुलो सटीकतासाथ तेरो स्थिति खुलासा गरेको र ती कुनै अर्थमा गलत नरहेको महसुस भएपछि, के तँ विश्‍वस्त हुनेछैनस् र? केही मानिसहरू भन्छन्, “आफ्नो प्रकृतिलाई बुझेपछि यसलाई परिवर्तन गर्न सकिन्छ।” यसो भन्‍न सजिलो छ। तर यसलाई कसरी बुझ्ने त? त्यसको लागि कुनै मार्ग हुनुपर्छ। यदि मार्ग छ भने, कसरी अनुभव गर्ने भनेर तैँले जान्‍नेछस्। यदि मार्ग नै छैन भने, तैँले केवल यो नारा भट्याउनेछस्, “हामी सबैले आफ्नो प्रकृति बुझ्नुपर्छ। हाम्रो प्रकृति असल हुँदैन, त्यो शैतानी छ। हामीले आफ्नो प्रकृति सार बुझेपछि आफ्नो स्वभाव परिवर्तन गर्न सक्छौँ।” तैँले यो नारा भट्याइसकेपछि, केही पनि काम भएको हुँदैन, र कसैमा पनि केही बुझाइ आएको हुँदैन। यसो गर्नु भनेको मार्गविनाको धर्मसिद्धान्त फलाक्‍नु मात्र हो। यसरी काम गर्नाले समस्या सिर्जना भइरहेको छैन त? यस तरिकाले काम गर्दाको परिणाम के हुन्छ? तिमीहरू सबैले प्राय यस्तो नारा भट्याउने गर्छौ, “हामीले आफ्नो प्रकृति बुझ्नुपर्छ! हामी सबैले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ! हामी सबै परमेश्‍वरमा समर्पित हुनुपर्छ! हामी सबै परमेश्‍वरसामु लम्पसार पर्नुपर्छ! हामी सबैले परमेश्‍वरको आराधना गर्नुपर्छ! परमेश्‍वरलाई प्रेम नगर्ने मान्छे अस्वीकार्य हुन्छ!” यी धर्मसिद्धान्तहरू फलाक्‍नुको कुनै अर्थ छैन र यसले समस्या समाधान गर्दैन। तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्‍लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्‍लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्‍लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्‍न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्‍नुपर्छ। तैँले कुनै पनि नतिजा देख्‍न पाउनको लागि परमेश्‍वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदै जान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति सारलाई बिस्तारै जान्‍न थाल्‍नेछस्।

आफ्नो प्रकृति चिन्‍नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले पछ्याउने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्‍ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा बोलीले लट्ठ पार्ने वा नाटक देखाउने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्‍छुक हुनु, अरूलाई राम्रा लाग्‍ने र मानिसहरूले अनुमोदन र प्रशंसा गर्ने कामकुराहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्‍न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्‍न मानिसहरू विशेष इच्छुक हुन्छन्। सामान्य उदाहरण दिनुपर्दा: गैर-विश्‍वासीहरूमाझ ग्रुपीहरू हुन्छन्। तिनीहरू कलाकार वा गायकहरूको पछि लाग्छन्, तिनीहरूलाई सन्देशसहितको अटोग्राफ माग्छन्, वा तिनीहरूसित हात मिलाउँछन् र अङ्कमाल गर्छन्। के विश्‍वासीहरूको मनमा यस्ता कुराहरू हुन्छन्? के तँ आफूले पुज्ने कलाकारको गीत कहिलेकाहीँ गाउँछस्? के कहिलेकाहीँ तिनीहरूको नक्‍कल गर्दै तैँले तृष्णा गरेको तिनीहरूको स्टाइलको कपडा लगाउँछस्? तैँले यी कलाकार र चर्चित मानिसहरूलाई आराधनाको पात्र र आराधनाको मोडल बनाउँछस्। मानिसहरू यस्तै साधारण चिजहरूमा रुचि राख्छन्। के विश्‍वासीहरूले साँच्चै गैरविश्‍वासीहरूले आराधना गर्ने यी कुराहरूको आराधना गर्दैनन् त? भित्री हृदयमा, अधिकांश मानिसहरू अझै पनि तिनीहरूको आराधना गर्न चाहन्छन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र स्पष्टतः ती कुराहरूको खोजीमा लाग्‍न छाडेजस्तो देखिन्छस्। तर मनमा भने तँ अझै ती कुराहरूको ईर्ष्या गर्छस्, र अझै पनि ती कुराहरूमा रुचि राख्छस्। कहिलेकाहीँ तैँले सोच्छस्: “म अझै पनि तिनीहरूको सङ्गीत सुन्‍न चाहन्छु, र अझै पनि तिनीहरूको अभिनय रहेका टिभी कार्यक्रमहरू हेर्न चाहन्छु। तिनीहरू कसरी बस्छन् होला? तिनीहरू अहिले कहाँ होलान्? तिनीहरूसँग भेटेर हात मिलाउन पाए त कति जाती हुन्थ्यो, र त्यसपछि त म मरे नै भने पनि मेरो मृत्यु सार्थक भइहाल्थ्यो।” मानिसहरूले जोसुकैको आराधना गरे पनि, सामान्यतया, तिनीहरू सबैले यी कुराहरू मन पराउँछन्। सायद यी मानिसहरू, घटना र कुराहरूको सम्पर्कमा आउनका लागि तँसँग अवसर छैन वा त्यसो गर्ने स्थितिमा तँ छैनस् होला, तर यी कुराहरू तेरो हृदयभित्रै छन्। मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्‍न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्‍ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्‍कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्‍न सकिँदैन। तँलाई जे मन पर्छ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयका लागि कसैका निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्‍चै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्‍नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणका लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ, मानिसहरूले आफूसमान स्तरका मानिसहरू खोज्छन्। यदि एउटी महिला कसैसँग साँच्चै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्‍न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? यस्तो हुन्छ किनकि मानिसहरूको नसानसामा, तिनीहरूको हृदयको गहिराइमा जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरू कतिपयले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। कतिपय मानिसहरू अन्धकार र दुष्टतामा डुब्‍ने सम्‍भावना हुन्छ, जसले उनीहरूमा जीवन छैन भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले भने देहको परीक्षाबाट पार पाउन सक्छन् र ती कुराहरूको काबु वा बन्धनमा रहँदैनन्, र यसले उनीहरूसँग अलिअलि कद छ र उनीहरूको स्वभाव अलिअलि रूपान्तरित भएको छ भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले केही सत्यता बुझ्छन् र आफूसित जीवन छ र आफूले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने महसुस गर्छन्, तर वास्तवमा, यसको लागि अझै बेला भएको हुँदैन, किनकि व्यक्तिको स्वभाव रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको प्रकृति सार बुझ्न सजिलो छ? कसैले थोरैथोरै बुझे पनि, त्यो बुझाइ प्राप्त गर्नलाई उसले धेरै घुम्ती र मोडहरू पार गर्नुपर्छ, र त्यो थोरै बुझाइपछि पनि, परिवर्तन सहज हुँदैन। यी सबै मानिसहरूले सामना गर्ने कठिनाइहरू हुन्, र सत्यता पछ्याउने सङ्कल्पविना मानिसहरूले आफूलाई चिन्‍न सक्दैनन्। तेरो वरिपरिका मानिस, घटना र मामलाहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्‍वरका वचनहरूले तेरो जीवन, रुचि, अनुभव र अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्चै रूपान्तरण भएको हुनेछस्। अहिले, मानिसहरूको कथित रूपान्तरण त थोरै सहकार्य गर्न सक्‍नु, काटछाँट मन नलागीनलागी स्विकार्नु, सक्रिय रूपमा कर्तव्य निर्वाह गर्नु, र थोरै जोस र विश्‍वास हुनु मात्रै हो, तर यसलाई स्वभावगत रूपान्तरण मान्‍न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्‍ने प्रमाणित गर्दैन। यो त केवल मानिसहरूको रुचि र झुकाव मात्र हो—त्योभन्दा बढी केही होइन।

मानिसहरूको प्रकृतिसम्बन्धी बुझाइमा पुग्नका लागि आफ्‍नो प्रकृतिले नै प्रिय ठान्‍ने कुराहरू पत्ता लगाउनेबाहेक तिनीहरूको प्रकृतिभित्रका सबैभन्दा महत्त्वपूर्ण केही पक्षहरू पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, कामकुराबारे मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूले लिने तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासम्बन्धी सबै कुराबारे दृष्टिकोण र रायहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्‍न सकिन्छ: “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; सरल रूपमा भन्‍नुपर्दा, उनीहरू देहका लागि जिइरहेका हुन्छन्, र उनीहरू पेट भर्नका निम्ति मात्र जिइरहेका हुन्छन्। यस्तो अस्तित्व कसरी पशुको भन्दा भिन्‍न हुन्छ? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, ऊ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छ, ऊ केका लागि जिउँछ, र ऊ कसरी जिउँछ भन्‍ने हो—र यी सबै मानव प्रकृतिभित्रै पर्ने सारगत कुरा हुन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई चिरफार गरेर मात्र तैँले साँच्चिकै उनीहरूको भ्रष्टता र सार थाहा पाउन सक्छस्, मानिसहरू वास्तवमा के हुन्, उनीहरूमा साँच्चिकै के कुराको कमी हुन्छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ भनी बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा चिरफार गर्न सजिलो छैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।

वसन्त, १९९९

अघिल्लो:  पत्रुसको मार्गमा कसरी हिँड्ने

अर्को:  मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger