देहधारणको रहस्य (१)

अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे। यूहन्ना प्रभुको अग्रदूत थिए, तैपनि तिनी परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ थिए; तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्र थिए। येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि ओर्लनुभयो। त्यसपछि उहाँले आफ्नो काम सुरु गर्नुभयो, अर्थात् उहाँले ख्रीष्टको सेवकाइ गर्न थाल्नुभयो। त्यसैकारण उहाँले परमेश्‍वरको पहिचान धारण गर्नुभयो, किनकि उहाँ परमेश्‍वरबाट आउनुभएको थियो। यसभन्दा पहिले उहाँको विश्‍वास जे-जस्तो भए पनि—त्यो कहिलेकहीँ कमजोर, वा कहिलेकहीँ बलियो भएको हुन सक्छ—त्यो सबै सामान्य मानव जीवनमा हुने कुरा हो, जुन उहाँले आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले उहाँमा थियो। उहाँले बप्तिस्मा लिइसकेपछि (अर्थात्, अभिषेक हुनुभएपछि), परमेश्‍वरको शक्ति र महिमा तुरुन्तै उहाँसँग थियो, त्यसैले उहाँले आफ्नो सेवकाइ गर्न थाल्नुभयो। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्नुहुन्थ्यो, आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो र उहाँसित शक्ति र अधिकार थियो, किनकि उहाँले सीधै परमेश्‍वरको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो; उहाँले आत्माको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो र आत्माको आवाज प्रकट गर्दै हुनुहुन्थ्यो। त्यसकारण, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो; यो निर्विवाद छ। यूहन्ना त्यस्तो व्यक्ति थिए जसलाई पवित्र आत्माले प्रयोग गर्नुभएको थियो। तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनथिए, न त तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्नु सम्भव नै थियो। यदि तिनले त्यसो गर्ने इच्छा गरेका भए, पवित्र आत्माले तिनलाई त्यसो गर्ने अनुमति दिनुहुनेथिएन, किनकि तिनले त्यो काम गर्न सक्दैनथिए, जुन परमेश्‍वर आफैले पूरा गर्न चाहनुहुन्थ्यो। हुन सक्छ, तिनमा मानिसको इच्छाका धेरै कुराहरू थिए, वा विचलित पार्ने केही कुरा थियो; कुनै पनि परिस्थितिमा तिनले सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए। तिनका गल्तीहरू र मूर्खताहरूले तिनी आफैलाई मात्र प्रतिनिधित्व गर्थे, तर तिनको काम भनेको पवित्र आत्माको प्रतिनिधि हुनु थियो। तापनि, तिनका सबै कुराले परमेश्‍वरको प्रतिनिधित्व गर्थे भनेर तैँले भन्‍न सक्दैनस्। के तिनको विकृत तरिकाहरूले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? मानिसको प्रतिनिधित्वमा विकृतिहरू हुनु सामान्य कुरा हो, तर यदि परमेश्‍वरको प्रतिनिधित्वमा विचलनहरू छन् भने के त्यसले परमेश्‍वरलाई लज्जित पार्दैन र? के यो पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा हुनेछैन र? पवित्र आत्माले मानिसलाई हलकासाथ परमेश्‍वरको स्थानमा खडा हुने अनुमति दिनुहुन्न, चाहे ऊ अरूद्वारा उच्च पारिएको नै किन नहोस्। यदि ऊ परमेश्‍वर होइन भने, ऊ अन्त्यसम्म स्थिर बस्न सक्दैन। पवित्र आत्माले मानिसको इच्छाअनुसार कुनै व्यक्तिलाई परमेश्‍वरको प्रतिनिधित्व गर्ने अनुमति दिनुहुन्न! उदाहरणका लागि, पवित्र आत्माले नै यूहन्नाको बारेमा साक्षी दिनुभएको थियो र तिनी येशूका निम्ति बाटो तयार पार्ने व्यक्ति हुन् भनी पवित्र आत्माले नै तिनलाई प्रकट गर्नुभएको थियो, तर तिनीमाथि गरिएको पवित्र आत्माको काम राम्ररी निर्धारित गरिएको थियो। येशूको निम्ति बाटो तयार पार्ने व्यक्ति हुनु, उहाँको निम्ति बाटो तयार पार्नु भनेर मात्रै यूहन्‍नालाई भनिएको थियो। भन्नुपर्दा, पवित्र आत्माले तिनलाई बाटो तयार पार्ने काममा मात्र समर्थन गर्नुभयो र तिनलाई त्यो काम मात्र गर्ने अनुमति दिनुभयो—तिनलाई अरू कुनै काम गर्न दिइएन। यूहन्नाले एलियाको प्रतिनिधित्व गर्थे र तिनले बाटो तयार पार्ने एक अगमवक्ताको प्रतिनिधित्व गरे। पवित्र आत्माले तिनलाई यसमा समर्थन गर्नुभयो; जबसम्म तिनको काम बाटो तयार पार्ने थियो पवित्र आत्माले तिनलाई समर्थन गर्नुभयो। तापनि, यदि तिनले आफू परमेश्‍वर हुँ भनेर दाबी गरेका भए, र तिनी मुक्तिको काम पूरा गर्न आएका हुन् भनेका भए पवित्र आत्माले तिनलाई अनुशासनमा राख्‍नु हुनेथियो। यूहन्नाको काम जति नै महान् भए पनि र त्यसलाई पवित्र आत्माले समर्थन गर्नुभएको भए पनि, तिनको काम सीमाहीन थिएन। मानिलिऊँ, पवित्र आत्माले साँच्चै तिनको कामलाई समर्थन गर्नुभएको भए पनि, तिनलाई दिइएको शक्ति बाटो तयार पार्ने कामसम्म मात्र सीमित थियो। तिनले अरू कुनै पनि काम पटक्कै गर्न सकेनन्, किनकि तिनी बाटो तयार पार्ने यूहन्ना मात्र थिए, येशू थिएनन्। त्यसकारण, पवित्र आत्माको गवाही महत्त्वपूर्ण हुन्छ, तर पवित्र आत्माले मानिसलाई जुन काम गर्ने अनुमति दिनुहुन्छ त्यो अझ महत्त्वपूर्ण हुन्छ। के यूहन्नाले त्यति बेला ठूलठूला साक्षी पाएका थिएनन् र? के तिनको काम पनि महान् थिएन र? तर तिनले गरेको कामले येशूको कामलाई उछिन्न सकेन, किनकि तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसभन्दा बढी केही थिएनन् र सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए, त्यसैले तिनले गरेका काम सीमित थियो। तिनले बाटो तयार पार्ने काम गरिसकेपछि, पवित्र आत्माले अब तिनको गवाहीलाई समर्थन गर्नुभएन, तिनीबाट कुनै नयाँ काम भएन, परमेश्‍वर आफैले काम सुरु गर्नुभएपछि तिनी गए।

कतिपय मानिस दुष्ट आत्माहरूका नियन्त्रणमा पर्छन् र “म परमेश्‍वर हुँ!” भन्दै चर्को स्वरमा कराउँछन्। तैपनि, अन्तमा, तिनीहरू प्रकट गरिन्छन्, किनभने तिनीहरूले प्रतिनिधित्व गर्ने कुरामा तिनीहरू गलत हुन्छन्। तिनीहरू शैतानको प्रतिनिधित्व गर्छन्, र पवित्र आत्मा तिनीहरूलाई कुनै वास्ता गर्नुहुन्न। तैँले आफूलाई जतिसुकै उच्च पारे पनि वा तँ जतिसुकै ठूलो स्वरले कराए पनि, तँ अझै पनि एउटा सृजित प्राणी नै होस् र तँ शैतानको होस्। म कहिल्यै “म परमेश्‍वर हुँ, म परमेश्‍वरको प्रिय पुत्र हुँ!” भनेर कराउँदिनँ। तर मैले गर्ने काम परमेश्‍वरको काम हो। के म चिच्याउन आवश्यक छ र? उच्च पार्न आवश्यक छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र मानिसले उहाँलाई कुनै हैसियत प्रदान गर्नु वा सम्मानजनक उपाधि दिनु आवश्यक छैन: उहाँको कामले नै उहाँको पहिचान र हैसियतको प्रतिनिधित्व गर्छ। उहाँको बप्तिस्माभन्दा पहिले, के येशू परमेश्‍वर स्वयम् हुनुहुन्नथ्यो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? उहाँको गवाही दिइएपछि मात्रै उहाँ परमेश्‍वरको एकमात्र पुत्र बन्नुभयो भनेर पक्कै पनि भन्न मिल्दैन, होइन र? उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै पहिले नै, के येशू नाम गरेका एक जना मानिस हुनुहुन्नथ्यो र? तँ नयाँ मार्गहरू ल्याउन वा आत्माको प्रतिनिधित्व गर्न असक्षम छस्। तँ आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरू व्यक्त गर्न सक्दैनस्। तँ परमेश्‍वर स्वयम्‌को काम गर्न असक्षम छस्, र तँ आत्माको काम गर्न पनि असक्षम छस्। परमेश्‍वरको बुद्धि, आश्चर्य, र बुझ्‍न नसकिने अवस्था, अनि परमेश्‍वरले मानिसलाई सजाय दिँदा उहाँको सम्पूर्ण स्वभाव—यी सबै तैँले व्यक्त गर्न सक्ने क्षमताभन्दा बाहिर छन्। त्यसकारण परमेश्‍वर हुँ भनी दाबी गर्ने प्रयास गर्नु व्यर्थ हुनेछ; तँसँग नाम मात्रै हुनेछ र कुनै सार हुनेछैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर उहाँलाई कसैले चिन्दैन, तैपनि उहाँ आफ्नो काम जारी राख्नुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै यसो गर्नुहुन्छ। चाहे तैँले उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँलाई बहिनी भन्, त्यसले फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको काम हो र यसले परमेश्‍वर स्वयम्‌को कामको प्रतिनिधित्व गर्छ। उहाँ मानिसले उहाँलाई के नामले बोलाउँछ भन्‍नेबारे वास्ता गर्नुहुन्न। के त्यो नामले उहाँको काम निर्धारण गर्न सक्छ र? तैँले परमेश्‍वरलाई जेसुकै भनेर बोलाए पनि, उहाँका सम्बन्धमा भन्नुपर्दा, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँ आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा अनुमोदित हुनुहुन्छ। यदि तँ एउटा नयाँ युगका लागि मार्ग प्रस्तुत गर्न, वा पुरानो युगको अन्त्य गर्न, वा नयाँ युगको सुरुवात गर्न, वा नयाँ काम गर्न असक्षम छस् भने, तँलाई परमेश्‍वर भन्न मिल्दैन!

पवित्र आत्माद्वारा प्रयोग गरिएको व्यक्तिले समेत परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। यसको अर्थ त्यस्तो व्यक्तिले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्‍ने मात्रै होइन, उसले गर्ने कामले सिधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्‍ने पनि हो। अर्को शब्दमा भन्दा, मानव अनुभवहरूलाई सिधै परमेश्‍वरको व्यवस्थापनभित्र राख्न सकिँदैन, र तिनले परमेश्‍वरको व्यवस्थापनको प्रतिनिधित्व गर्न सक्दैनन्। परमेश्‍वर स्वयम्‌ले गर्नुहुने काम पूर्णतया उहाँले आफ्नै व्यवस्थापनको योजनामा गर्न चाहनुभएको काम हो र यो ठूलो व्यवस्थापनसँग सम्बन्धित छ। मानिसहरूद्वारा गरिने काममा तिनीहरूका व्यक्तिगत अनुभवहरू आपूर्ति गर्ने कुरा समावेश हुन्छ। यसमा पहिले गएकाहरूले हिँडेका मार्गहरूबाहेक अनुभवको नयाँ मार्ग खोज्ने, र पवित्र आत्माको मार्गदर्शनमा हुँदा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई मार्गदर्शन गर्ने कुरा समावेश हुन्छन्। यी मानिसहरूले आपूर्ति गर्ने कुरा भनेको तिनीहरूका व्यक्तिगत अनुभवहरू वा आत्मिक मानिसहरूका आत्मिक लेखहरू हुन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिने भए पनि, तिनीहरूले गर्ने काम छ हजार वर्षे योजनाको व्यवस्थापनको महान् कामसँग असम्बन्धित छ। तिनीहरू केवल आफूले निर्वाह गर्न सक्ने प्रकार्यहरू नसकेसम्म वा आफ्नो जीवनको अन्त्य नभएसम्म मानिसहरूलाई पवित्र आत्माको प्रवाहमा डोर्‍याउनका लागि विभिन्न कालमा पवित्र आत्माद्वारा खडा गरिएका मानिस हुन्। तिनीहरूले गर्ने काम भनेको परमेश्‍वर स्वयम्‌का लागि उपयुक्त मार्ग तयार गर्नु वा पृथ्वीमा परमेश्‍वर स्वयम्‌को व्यवस्थापनको कुनै एउटा पक्षलाई जारी राख्नु मात्रै हो। आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको अझ ठूलो काम गर्न असक्षम छन्, न त तिनीहरू नयाँ निकासहरू खोल्न सक्छन्, तिनीहरूमध्ये कसैले पनि अघिल्लो युगको परमेश्‍वरको सबै काम अन्त्य गर्न त झनै सक्दैन। त्यसकारण, तिनीहरूले गर्ने कामले एउटा सृजित प्राणीले आफ्नो प्रकार्य निर्वाह गर्नुलाई मात्र प्रतिनिधित्व गर्छ र यसले परमेश्‍वर स्वयम्‌ले आफ्नो सेवकाइ निर्वाह गर्नुलाई प्रतिनिधित्व गर्न सक्दैन। किनभने तिनीहरूले गर्ने काम परमेश्‍वर स्वयम्‌द्वारा गरिएको कामजस्तो हुँदैन। नयाँ युगको सुरुवात गर्ने काम परमेश्‍वरको सट्टामा मानिसले गर्न सक्ने कुरा होइन। यो परमेश्‍वर स्वयम्‌बाहेक अरू कसैले गर्न सक्दैन। मानिसद्वारा गरिने सबै काम भनेको एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो र यो ऊ पवित्र आत्माद्वारा प्रेरित वा प्रबोधित हुँदा गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गदर्शन भनेको पूर्णतया मानिसलाई दैनिक जीवनमा अभ्यासको मार्ग देखाउनु र उसले परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी काम गर्नुपर्छ भन्‍ने कुरा देखाउनु हो। मानिसको काममा न त परमेश्‍वरको व्यवस्थापन समावेश हुन्छ न त यसले आत्माको कामको प्रतिनिधित्व गर्छ। उदाहरणका लागि, विटनेस ली र वाचम्यान नीको काम बाटो देखाउनु थियो। मार्ग नयाँ होस् वा पुरानो, काम बाइबलभित्रै रहने सिद्धान्तमा आधारित थियो। चाहे त्यो स्थानीय मण्डलीलाई पुनर्स्थापित गर्नु होस् वा स्थानीय मण्डली निर्माण गर्नु होस्, तिनीहरूको काम मण्डलीहरू स्थापना गर्नेसँग सम्बन्धित थियो। तिनीहरूले गरेको कामले येशू र उहाँका प्रेरितहरूले अनुग्रहको युगमा अधुरो छोडेका वा थप अगाडि नबढाएका कामलाई अगाडि बढायो। तिनीहरूले आफ्नो काममा जे गरे त्यो येशूले त्यस समयको आफ्नो काममा उहाँपछि आउने पुस्ताहरूलाई गर्न भन्नुभएको कुरालाई पुनर्स्थापित गर्नु थियो, जस्तै शिरलाई ढाकेर राख्ने, बप्तिस्मा लिने, रोटी भाँच्ने, वा दाखमद्य पिउने। तिनीहरूको काम बाइबललाई पालन गर्नु र बाइबलभित्रै मार्गहरू खोज्नु थियो भनेर भन्न सकिन्छ। तिनीहरूले कुनै पनि प्रकारको नयाँ प्रगति गरेनन्। त्यसकारण, व्यक्तिले तिनीहरूको काममा बाइबलभित्रै नयाँ मार्गहरू, साथै अझ राम्रा र अझ वास्तविक अभ्यासहरू पत्ता लागेको मात्र देख्न सक्छ। तर व्यक्तिले तिनीहरूको काममा परमेश्‍वरका वर्तमान अभिप्रायहरू भेट्टाउन सक्दैन, आखिरी दिनहरूमा परमेश्‍वरले गर्ने अभिप्राय राख्नुभएको नयाँ काम त झनै भेट्टाउन सक्दैन। किनभने तिनीहरूले हिँडेको मार्ग पुरानो नै थियो—त्यसमा कुनै नवीकरण र कुनै प्रगति भएको थिएन। तिनीहरूले येशूको क्रूसीकरणको तथ्यलाई पक्रिराख्न, मानिसहरूलाई पश्‍चात्ताप गर्न र आफ्ना पापहरू स्वीकार गर्न लगाउने अभ्यासलाई पालन गर्न, जसले अन्तसम्म सहन्छ उसले मुक्ति पाउनेछ र पुरुष महिलाको शिर हो, र महिलाले आफ्नो श्रीमान्‌को पालन गर्नुपर्छ भन्‍ने भनाइहरू पालना गर्न, र दिदीबहिनीहरूले प्रचार गर्न सक्दैनन्, पालन गर्न मात्र सक्छन् भन्‍ने परम्परागत धारणालाई त झनै बढी पालना गर्न जारी राखे। यदि यस्तो प्रकारको अगुवाइलाई निरन्तर रूपमा पालना गरिएको भए, पवित्र आत्माले कहिल्यै पनि नयाँ काम गर्न, मानिसहरूलाई प्रावधानहरूबाट मुक्त पार्न, वा तिनीहरूलाई स्वतन्त्रता र सुन्दरताको क्षेत्रमा डोर्‍याउन सक्नुहुनेथिएन। त्यसकारण, युग परिवर्तन गर्ने कामको यो चरणमा, परमेश्‍वर स्वयम्‌ले काम गर्न र बोल्न आवश्यक छ; नत्रभने उहाँको सट्टामा कुनै पनि मानिसले त्यसो गर्न सक्दैन। अहिलेसम्म, यो प्रवाहभन्दा बाहिरका पवित्र आत्माका सबै काम ठप्प भएका छन्, र पवित्र आत्माद्वारा प्रयोग गरिएकाहरूले आफ्नो दिशा गुमाएका छन्। त्यसकारण, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूको काम परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कामजस्तो नहुने हुनाले, तिनीहरूका पहिचान र तिनीहरू जसका तर्फबाट काम गर्छन् ती पात्रहरू पनि त्यसै गरी फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुहुने काम फरक छ, र यसै कारणले गर्दा त्यसरी नै काम गर्नेहरूका पहिचान र हैसियतहरू फरक हुन्छन्। पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूले केही नयाँ काम गर्न पनि सक्छन् र अघिल्लो युगमा गरिएका केही कामलाई हटाउन पनि सक्छन्, तर तिनीहरूले गर्ने कामले नयाँ युगमा परमेश्‍वरका स्वभाव र अभिप्रायहरू व्यक्त गर्न सक्दैन। तिनीहरू परमेश्‍वर स्वयम्‌को स्वभावलाई सिधै प्रतिनिधित्व गर्ने उद्देश्यले नयाँ काम गर्नका निम्ति होइन, अघिल्लो युगको कामलाई पूर्ण रूपमा हटाउन मात्र काम गर्छन्। तसर्थ, तिनीहरूले जति नै धेरै पुराना अभ्यास खारेज गरे पनि वा जति नै धेरै नयाँ अभ्यास सुरु गरे पनि, तिनीहरू अझै मानिस र सृजित प्राणीहरूको नै प्रतिनिधित्व गर्छन्। तर, परमेश्‍वर स्वयम्‌ले काम गर्दा, उहाँ खुला रूपमा पुरानो युगका अभ्यासहरूको खारेजीको घोषणा गर्ने वा सिधै नयाँ युगको सुरुवातको घोषणा गर्ने गर्नुहुन्न। उहाँ आफ्नो काममा सिधा र स्पष्ट हुनुहुन्छ। उहाँ आफूले गर्न चाहेको काम स्पष्ट रूपमा सम्पादन गर्नुहुन्छ; अर्थात्, उहाँ आफूले ल्याएको कामलाई सिधै व्यक्त गर्नुहुन्छ, आफ्नो काम मूल अभिप्रायअनुसार सिधै गर्नुहुन्छ, आफ्नो सत्त्व र स्वभाव व्यक्त गर्नुहुन्छ। मानिसले हेर्दा, उहाँको स्वभाव र उहाँको काम पनि बितेका युगहरूका भन्दा फरक हुन्छन्। तर, परमेश्‍वर स्वयम्‌को दृष्टिकोणबाट हेर्दा, यो उहाँको कामलाई निरन्तरता दिनु र थप अगाडि बढाउनु मात्रै हो। परमेश्‍वर स्वयम्‌ले काम गर्दा, उहाँ आफ्नो वचन व्यक्त गर्नुहुन्छ र सिधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, मानिसले काम गर्दा, यो विचार-विमर्श र अध्ययनमार्फत हुन्छ, वा यो अरूको काममा आधारित ज्ञानको विस्तार र अभ्यासको प्रणालीकरण हो। भन्नुको अर्थ, मानिसले गर्ने कामको सार भनेको एउटा स्थापित क्रमलाई पछ्याउनु र “नयाँ जुत्ता लगाएर पुरानो मार्गमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरू हिँड्ने मार्ग समेत परमेश्‍वर स्वयम्‌ले सुरु गर्नुभएको मार्गको जगमा नै निर्माण गरिएको हुन्छ। त्यसैले, आखिरमा, मानिस मानिस नै हो, र परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ।

यूहन्ना प्रतिज्ञाद्वारा जन्मेका थिए, जसरी इसहाक अब्राहामबाट जन्मेका थिए। तिनले येशूका लागि बाटो खोलिदिए र धेरै काम गरे, तर तिनी परमेश्‍वर थिएनन्। बरु, तिनी अगमवक्ताहरूमध्ये एक थिए, किनभने तिनले येशूका लागि बाटो मात्र खोलिदिएका थिए। तिनको काम पनि महान् थियो, र तिनले बाटो खोलिसकेपछि मात्रै येशूले आधिकारिक रूपमा आफ्नो काम सुरु गर्नुभयो। सारमा, तिनले केवल येशूका लागि सेवा प्रदान गरे, र तिनले गरेको काम येशूको काममा टेवा पुर्‍याउन गरिएको थियो। तिनले बाटो खोलिसकेपछि, येशूले आफ्नो काम सुरु गर्नुभयो, जुन काम अझ नयाँ, अझ ठोस, र अझ विस्तृत थियो। यूहन्नाले कामको सुरुवाती भाग मात्र गरे; नयाँ कामको ठूलो भाग येशूले गर्नुभयो। यूहन्नाले पनि नयाँ काम गरे, तर तिनी नयाँ युगको सुरुवात गर्ने व्यक्ति थिएनन्। यूहन्ना प्रतिज्ञाद्वारा जन्मेका थिए, र तिनको नाम स्वर्गदूतद्वारा दिइएको हो। त्यतिबेला, कतिपयले तिनको नाम तिनका बुबा जकरियाको नामबाट राख्न चाहेका थिए, तर तिनकी आमाले यसो भन्दै आफ्नो भनाइ राखिन्, “यस बालकलाई त्यो नामले बोलाउन मिल्दैन। उसलाई यूहन्ना भनिनुपर्छ।” यो सबै पवित्र आत्माको आदेशमा भएको थियो। येशूको नाम पनि पवित्र आत्माको आदेशमा नै राखिएको थियो, उहाँ पवित्र आत्माबाट जन्मनुभएको थियो, र उहाँ पवित्र आत्माद्वारा प्रतिज्ञा गरिनुभएको थियो। येशू भनेको परमेश्‍वर, ख्रीष्ट, र मानिसको पुत्र हुनुहुन्थ्यो। तर, यूहन्नाको काम पनि महान् हुँदाहुँदै तिनलाई किन परमेश्‍वर भनिएन? येशूले गर्नुभएको काम र यूहन्नाले गरेको कामबीच ठ्याक्कै के भिन्‍नता थियो? के यूहन्ना येशूका लागि बाटो खोलिदिने व्यक्ति भएकोले मात्रै यस्तो भएको थियो? कि यो परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुनाले यस्तो भएको थियो? यूहन्नाले पनि “तिमीहरू पश्‍चात्ताप गर, किनकि स्वर्गको राज्य नजिक आइपुगेको छ” भनेका भए पनि, र तिनले पनि स्वर्गको राज्यको सुसमाचार प्रचार गरेका भए पनि, तिनको काम थप विकसित भएन र यसको सुरुवात मात्र भयो। यसको विपरीत, येशूले पुरानो युगको अन्त्य गर्नुका साथै एउटा नयाँ युगको सुरुवात गर्नुभयो, तर उहाँले पुरानो करारको व्यवस्थालाई पनि पूरा गर्नुभयो। उहाँले गर्नुभएको काम यूहन्नाको भन्दा महान् थियो, र अझ महत्त्वपूर्ण कुरा उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन आउनुभयो—उहाँले त्यस चरणको काम गर्नुभयो। यूहन्नाको कुरा गर्नुपर्दा, तिनले बाटो मात्र खोलिदिए। हुन त तिनको काम महान् थियो, तिनका वचनहरू धेरै थिए, र तिनलाई पछ्याउने चेलाहरू कैयौँ थिए, तर तिनको कामले मानिसलाई नयाँ सुरुवात ल्याइदिनेबाहेक अरू केही गरेन। मानिसले तिनीबाट कहिल्यै पनि जीवन, मार्ग, वा अझ गहन सत्यताहरू प्राप्त गरेन, न त मानिसले तिनीमार्फत परमेश्‍वरका अभिप्रायहरूको बुझाइ नै प्राप्त गर्‍यो। यूहन्ना एक महान् अगमवक्ता (एलिया) थिए जसले येशूको कामका लागि थलो खोले र उम्मेदवारहरू तयार पारे; तिनी अनुग्रहको युगका अग्रदूत थिए। तिनीहरूको सामान्य मानव रूपलाई अवलोकन गरेर त्यस्ता मामलाहरूलाई खुट्ट्याउन बिलकुलै सकिँदैन। यो अझ बढी सान्दर्भिक छ किनभने यूहन्नाले पनि निकै ठूलो काम गरे र, यसबाहेक, तिनलाई पवित्र आत्माद्वारा प्रतिज्ञा गरिएको थियो, र तिनको कामलाई पवित्र आत्माद्वारा समर्थन गरिएको थियो। यसो हुनाले, तिनीहरूले गरेका काममार्फत मात्रै कसैले तिनीहरूका सम्बन्धित पहिचानहरूबीच भिन्‍नता छुट्याउन सक्छ, किनभने व्यक्तिको बाहिरी रूपबाट कुनै हालतमा उसको सार बताउन सकिँदैन, न त पवित्र आत्माको गवाही के हो भनेर मानिसले कुनै हालतमा यकिन गर्न नै सक्छ। यूहन्नाद्वारा गरिएको काम र येशूद्वारा गरिएको काम असमान थिए र फरक प्रकृतिका थिए। यूहन्ना परमेश्‍वर थिए कि थिएनन् भन्ने कुरा व्यक्तिले यसैका आधारमा निर्धारण गर्नुपर्छ। येशूको काम सुरुवात गर्नु, निरन्तरता दिनु, अन्त्य गर्नु, र फलदायी बनाउनु थियो। उहाँले यी प्रत्येक चरण सम्पादन गर्नुभयो, जबकि यूहन्नाको काम एउटा थालनी गर्नेबाहेक अरू केही थिएन। सुरुमा, येशूले सुसमाचार प्रचार गर्नुभयो र पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, र त्यसपछि मानिसलाई बप्तिस्मा दिनुभयो, बिरामीलाई निको पार्नुभयो, र पिशाचहरूलाई धपाउनुभयो। अन्त्यमा, उहाँले मानवजातिलाई पापबाट छुटकारा दिनुभयो र सम्पूर्ण युगका लागि आफ्नो काम पूरा गर्नुभयो। उहाँ मानिसलाई प्रचार गर्दै र स्वर्गको राज्यको सुसमाचार प्रचार गर्दै हरेक ठाउँमा पनि जानुभयो। यस सन्दर्भमा उहाँ र यूहन्ना उस्तै हुनुहुन्थ्यो, भिन्‍नता यति मात्र थियो कि येशूले नयाँ युगको सुरुवात गर्नुभयो र मानिसलाई अनुग्रहको युग ल्याइदिनुभयो। उहाँको मुखबाट अनुग्रहको युगमा मानिसले के अभ्यास गर्नुपर्छ भन्‍ने वचन र मानिसले पछ्याउनुपर्ने मार्ग निस्कियो, र अन्तमा, उहाँले छुटकाराको काम सकाउनुभयो। यूहन्नाले यो काम गर्न सक्नेथिएनन्। त्यसैले परमेश्‍वर स्वयम्‌को काम गर्ने येशू नै हुनुहुन्थ्यो, र परमेश्‍वर स्वयम् उहाँ नै हुनुहुन्छ, र सिधै परमेश्‍वरको प्रतिनिधित्व गर्ने पनि उहाँ नै हुनुहुन्छ। मानिसका धारणाहरूले के भन्छन् भने प्रतिज्ञाद्वारा जन्मेका, आत्माबाट जन्मेका, पवित्र आत्माद्वारा समर्थन गरिएका, र नयाँ निकासहरू खोल्ने सबै जना परमेश्‍वर हुन्। यो तर्कअनुसार, यूहन्ना पनि परमेश्‍वर हुनेथिए, अनि मोशा, अब्राहाम, र दाऊद…, तिनीहरू पनि सबै परमेश्‍वर हुनेथिए। के यो चरम मजाक होइन र?

आफ्नो सेवकाइ निर्वाह गर्नुभन्दा पहिले, येशू पनि एक सामान्य व्यक्ति मात्र हुनुहुन्थ्यो जो पवित्र आत्माले जे गर्नुभयो त्यसैअनुरूप काम गर्नुहुन्थ्यो। त्यसबखत उहाँ आफ्नो पहिचानबारे सचेत हुनुभए पनि वा नहुनुभए पनि, उहाँ परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुनुभयो। पवित्र आत्माले उहाँको सेवकाइ सुरु हुनुभन्दा पहिले उहाँको पहिचान कहिल्यै प्रकट गर्नुभएन। उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि मात्रै उहाँले ती प्रावधानहरू र ती व्यवस्थाहरू खारेज गर्नुभयो, र उहाँले आधिकारिक रूपमा आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गर्नुभएपछि मात्र उहाँका वचनहरू अख्तियारले भरिपूर्ण र शक्तिशाली भए। उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि मात्रै एउटा नयाँ युग ल्याउने उहाँको काम सुरु भयो। यसभन्दा पहिले, पवित्र आत्मा उहाँभित्र २९ वर्षसम्म लुकेर रहनुभयो, जुन समयमा उहाँले एक व्यक्तिको मात्र प्रतिनिधित्व गर्नुभयो र उहाँसँग परमेश्‍वरको पहिचान थिएन। परमेश्‍वरको काम उहाँले काम गरेसँगै र आफ्नो सेवकाइ निर्वाह गरेसँगै सुरु भयो। मानिसले उहाँलाई कति चिन्छ भन्‍ने कुराको वास्ता नगरी उहाँले आफ्नो काम आफ्नो भित्री योजनाअनुसार नै गर्नुभयो, र उहाँले गर्नुभएको कामले सिधै परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्थ्यो। त्यसबखत, येशूले आफ्ना वरिपरिका मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू मलाई को भन्छौ?” तिनीहरूले जवाफ दिए, “तपाईँ अगमवक्ताहरूमध्ये सबैभन्दा महान् र हाम्रा उत्कृष्ट चिकित्सक हुनुहुन्छ।” अनि कतिपयले “तपाईँ हाम्रा उच्च पूजाहारी हुनुहुन्छ,” इत्यादि जवाफ दिए। सबै प्रकारका जवाफहरू दिइए, र कतिपयले त उहाँ यूहन्ना हुनुहुन्छ, उहाँ एलिया हुनुहुन्छ भनेर समेत भने। त्यसपछि येशूले सिमोन पत्रुसतिर फर्केर सोध्नुभयो, “तँ मलाई को भन्छस्?” पत्रुसले जवाफ दिए, “तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ।” त्यस बेलादेखि, मानिसहरू उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा सचेत भए। जब उहाँको पहिचान थाहा दिइयो, तब यस कुरामा सचेत हुने पहिलो व्यक्ति पत्रुस थिए र यो कुरा तिनकै मुखबाट बोलिएको थियो। त्यसपछि येशूले भन्नुभयो, “तैँले भनेको कुरा देह र रगतले होइन, मेरा पिताले प्रकट गर्नुभएको हो।” उहाँको बप्तिस्मापछि, अरूले यसबारे थाहा पाए पनि वा नपाए पनि, उहाँले गर्नुभएको काम परमेश्‍वरको तर्फबाट गरिएको थियो। उहाँ आफ्नो काम गर्नका निम्ति आउनुभयो, आफ्नो पहिचान प्रकट गर्न होइन। पत्रुसले यसबारे बोलेपछि मात्रै उहाँको पहिचान खुला रूपमा थाहा भयो। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरामा तँ सचेत भए पनि वा नभए पनि, समय आएपछि, उहाँले आफ्नो कामको थालनी गर्नुभयो। अनि तँलाई यसबारे थाहा भए पनि वा नभए पनि, उहाँले त्यसै गरी आफ्नो काम जारी राख्नुभयो। तैँले यसलाई नकारे पनि, उहाँ अझै पनि आफ्नो काम निर्वाह गर्नुहुन्थ्यो र समय आएपछि उहाँ यसलाई पूरा गर्नुहुन्थ्यो। मानिसले उहाँको देहलाई चिनोस् भनेर होइन, मानिसले उहाँको काम बुझोस् भन्नका लागि उहाँ आफ्नो काम गर्न र आफ्नो सेवकाइ निर्वाह गर्न आउनुभयो। यदि तैँले आजको दिनको कामको चरण परमेश्‍वर स्वयम्‌को काम हो भनेर चिन्न सकेको छैनस् भने, यो तँमा दर्शनको कमी भएकोले गर्दा हो। तैपनि, तँ कामको यो चरणलाई नकार्न सक्दैनस्; तैँले त्यो चिन्न नसक्नुले पवित्र आत्माले काम गरिरहनुभएको छैन वा उहाँको काम गलत छ भन्‍ने प्रमाणित गर्दैन। कतिपय मानिस यस्ता पनि छन् जो वर्तमानको कामलाई बाइबलमा भएको येशूको कामसँग दाँजेर जाँच्छन् र कुनै पनि असङ्गति देखाएर कामको यो चरणलाई नकार्छन्। के यो अत्यन्तै अन्धो हुनु होइन र? बाइबलमा अभिलेख गरिएका कुराहरू सीमित छन्; तिनले परमेश्‍वरको कामलाई त्यसको सम्पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैनन्। चार वटा सुसमाचारमा जम्मा एक सयभन्दा कम अध्याय छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू लेखिएका छन्, जस्तै येशूले अन्जीरको रूखलाई सराप्नुभएको, पत्रुसले प्रभुलाई तीन पटक इन्कार गरेको, येशू आफ्नो क्रूसीकरण र पुनरुत्थानपछि चेलाहरूकहाँ देखा पर्नुभएको, उहाँले उपवासका बारेमा सिकाउनुभएको, प्रार्थनाका बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदका बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरूलाई नियुक्त गर्नुभएको, इत्यादि। तर, मानिसले तिनलाई खजानाझैँ महत्त्व दिन्छ, आजको कामलाई तीसँग तुलना समेत गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएको सबै काम यति मात्रै थियो भन्‍ने समेत विश्‍वास गर्छन्, मानौँ परमेश्‍वर यति मात्रै गर्न सक्षम हुनुहुन्थ्यो र योभन्दा बढी केही गर्न सक्नुहुन्नथ्यो। के यो बेतुके कुरा होइन र?

पृथ्वीमा येशूको समय साढे तेत्तीस वर्ष थियो, अर्थात्, उहाँ पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनुभयो। यो समयको साढे तीन वर्ष मात्रै उहाँको सेवकाइ निर्वाह गर्नमा बित्यो; बाँकी समय उहाँले एक सामान्य मानव जीवन मात्र जिउनुभयो। सुरुमा, उहाँले सभाघरमा सेवाहरूमा भाग लिनुभयो र त्यहाँ उहाँले पूजाहारीहरूले धर्मशास्त्रहरूको व्याख्या गरेको र अरूले प्रचार गरेको सुन्नुभयो। उहाँले बाइबलको धेरै ज्ञान प्राप्त गर्नुभयो: उहाँ यस्तो ज्ञान लिएर जन्मनुभएको थिएन, र उहाँले पढेर र सुनेर मात्र उक्त ज्ञान प्राप्त गर्नुभयो। बाइबलमा प्रस्ट रूपमा अभिलेख गरिएको छ कि उहाँ बाह्र वर्षको उमेरमा सभाघरमा शिक्षकहरूलाई यस्ता प्रश्नहरू सोध्नुहुन्थ्यो: प्राचीन अगमवक्ताहरूका अगमवाणीहरू केका बारेमा थिए? मोशाका व्यवस्थाहरू केका लागि थिए? अनि पुरानो करार केका लागि थियो? अनि मानिसले परमेश्‍वरको सेवा गरेको र मन्दिरमा पूजाहारीको पोसाक लगाएको केका लागि थियो? … उहाँले धेरै वटा प्रश्न सोध्नुभयो, किनभने उहाँसँग न त ज्ञान थियो न त बुझाइ नै थियो। उहाँ पवित्र आत्माद्वारा गर्भाधारण गरिनुभएको भए पनि, उहाँ पूर्ण रूपमा एक सामान्य व्यक्तिका रूपमा जन्मनुभएको थियो; उहाँको व्यक्तित्वका केही विशेष पक्षहरू भए पनि, उहाँ एक सामान्य व्यक्ति नै हुनुहुन्थ्यो। उहाँको कद र उहाँको उमेरको अनुपातमा उहाँको बुद्धि निरन्तर बढ्दै गयो, र उहाँ सामान्य मानव जीवनका चरणहरूबाट गुज्रनुभयो। मानिसहरूको कल्पनामा, येशूले कुनै बाल्यकाल र कुनै किशोरावस्था अनुभव गर्नुभएन; जन्मिनेबित्तिकै उहाँले तीस वर्षको व्यक्तिको जीवन जिउन थाल्नुभयो, र उहाँको काम पूरा भएपछि उहाँलाई क्रूसमा टाँगियो। उहाँ सायद सामान्य व्यक्तिको जीवनका चरणहरूबाट गुज्रनुभएन; उहाँले अरू मानिसहरूसँग न त खानुभयो न त सङ्गत गर्नुभयो, र मानिसहरूलाई उहाँको एक झलक पाउन सजिलो थिएन। उहाँ सायद एक अनौठो व्यक्ति हुनुहुन्थ्यो, जसलाई देखेर मानिसहरू तर्सिन्थे, किनभने उहाँ परमेश्‍वर हुनुहुन्थ्यो। मानिसहरू देहमा आउनुहुने परमेश्‍वर पक्कै पनि सामान्य मानव जीवन जिउनुहुन्न भन्‍ने विश्‍वास गर्छन्; तिनीहरू उहाँ एक पवित्र व्यक्ति हुनुभएकोले दाँत नमाझे पनि वा मुख नधोए पनि उहाँ सफा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। के यी विशुद्ध रूपमा मानिसका धारणाहरू होइनन् र? बाइबलले मानवतामा येशूको जीवनको कुनै अभिलेख राख्दैन, उहाँको कामको मात्र राख्छ, तर यसले उहाँसँग सामान्य मानवता थिएन वा उहाँले तीस वर्ष पुग्नुभन्दा पहिले सामान्य मानव जीवन जिउनुभएन भन्‍ने प्रमाणित गर्दैन। उहाँले आधिकारिक रूपमा २९ वर्षको उमेरमा आफ्नो काम सुरु गर्नुभयो, तर तैँले त्यो उमेरभन्दा पहिलेको मानवतामा उहाँको सम्पूर्ण जीवनलाई नकार्न मिल्दैन। बाइबलले त्यो अवधिलाई आफ्ना अभिलेखहरूमा नराखेको मात्र हो; यो सामान्य मानवतामा उहाँको जीवन थियो र उहाँको ईश्‍वरीय कामको अवधि थिएन, त्यसैले यसलाई लेखिनुपर्ने कुनै आवश्यकता थिएन। किनभने येशूको बप्तिस्माभन्दा पहिले, पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभएन, बरु येशूले आफ्नो सेवकाइ निर्वाह गर्ने दिन नआएसम्म उहाँलाई एक सामान्य व्यक्तिका रूपमा उहाँको जीवनमा कायम मात्र राख्नुभयो। हुन त उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, तर उहाँ एक सामान्य व्यक्तिकै जस्तो प्रक्रियामार्फत परिपक्व हुनुभयो। परिपक्व हुने यो प्रक्रियालाई बाइबलमा समावेश गरिएन। यसलाई समावेश गरिएन किनभने यसले जीवनमा मानिसको वृद्धिका लागि कुनै ठूलो सहायता प्रदान गर्न सक्दैनथ्यो। उहाँको बप्तिस्माभन्दा पहिलेको अवधि एक गुप्त अवधि थियो, जसमा उहाँले कुनै चिन्ह र अचम्मको कार्य गर्नुभएन। येशूले आफ्नो बप्तिस्मापछि गर्नुभएको काम मात्रै मानवजातिको छुटकारा थियो—जुन अनुग्रह, सत्यता, र कृपा र प्रेमपूर्ण दयाले प्रशस्त र भरिपूर्ण थियो। यो कामको थालनी नै अनुग्रहको युगको सुरुवात पनि थियो; यसै कारणले गर्दा, यो लेखिएको र वर्तमानसम्म पुस्तान्तरण हुँदै आएको हो। यसको उद्देश्य अनुग्रहको युगका मानिसहरू अनुग्रहको युगको मार्ग र क्रूसको मार्गमा हिँडून् भन्नका लागि एउटा निकास खोल्ने र सबै कुरा फलदायी बनाउने थियो। यो मानिसद्वारा लेखिएका अभिलेखहरूबाट आएको भए पनि, यत्रतत्र सानातिना गल्तीहरू भेटिनुबाहेक, सबै कुरा तथ्य हुन्। तर, यी अभिलेखहरूलाई असत्य भन्न मिल्दैन। अभिलिखित कुराहरू पूर्णतया तथ्यपरक छन्; ती लेख्दा मात्रै मानिसहरूले गल्तीहरू गरे। कतिपयले यसो भन्नेछन्, यदि येशू सामान्य र साधारण मानवता भएको व्यक्ति हुनुहुन्थ्यो भने, उहाँ कसरी चिन्ह र अचम्मका कार्यहरू गर्न सक्षम हुनुभयो? येशूले भोग्नुभएको चालीस दिनको प्रलोभन एउटा चमत्कारी सङ्केत थियो, जुन एउटा सामान्य व्यक्तिले हासिल गर्न सक्नेथिएन। उहाँको चालीस दिनको प्रलोभन पवित्र आत्माको काम गराइको प्रकृतिमा थियो; त्यसोभए उहाँमा अलिकति पनि अलौकिकता थिएन भनेर कसरी भन्न सकिन्छ? चिन्ह र अचम्मका कार्यहरू गर्ने उहाँको क्षमताले उहाँ एक सामान्य व्यक्ति नभई सामान्य सीमाभन्दा माथिको व्यक्ति हुनुहुन्थ्यो भन्‍ने प्रमाणित गर्दैन; कुरा यति मात्र हो कि पवित्र आत्माले उहाँजस्तो सामान्य व्यक्तिमा काम गर्नुभयो, र यसरी उहाँलाई चमत्कारहरू गर्न र अझ ठूलो काम गर्न सम्भव तुल्याउनुभयो। येशूले आफ्नो सेवकाइ निर्वाह गर्नुभन्दा पहिले, वा बाइबलले भनेजस्तै, पवित्र आत्मा उहाँमाथि ओर्लनुभन्दा पहिले, येशू एक सामान्य व्यक्ति मात्र हुनुहुन्थ्यो र कुनै पनि हिसाबले अलौकिक हुनुहुन्नथ्यो। जब पवित्र आत्मा उहाँमाथि ओर्लनुभयो, अर्थात्, जब उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गर्नुभयो, तब उहाँ अलौकिक कुराले भरिपूर्ण हुनुभयो। यसरी, मानिस परमेश्‍वरको देहधारी शरीरमा सामान्य मानवता छैन भन्‍ने विश्‍वास गर्न पुग्छ; यसबाहेक, ऊ भुलवश देहधारी परमेश्‍वरमा ईश्‍वरत्व मात्र हुन्छ, मानवता हुँदैन भन्‍ने सोच्छ। पक्कै पनि, जब परमेश्‍वर आफ्नो काम गर्न पृथ्वीमा आउनुहुन्छ, तब मानिसहरू अलौकिक घटनाहरू मात्र देख्छन्। तिनीहरूको आँखाले देख्ने र तिनीहरूको कानले सुन्ने सबै कुरा अलौकिक हुन्छन्, किनभने उहाँको काम र उहाँका वचनहरू तिनीहरूका लागि बोध गर्न नसकिने र प्राप्त गर्न नसकिने हुन्छन्। यदि स्वर्गको कुनै कुरा पृथ्वीमा ल्याइयो भने, त्यो कसरी अलौकिकबाहेक अरू नै केही हुन सक्छ? जब स्वर्गको राज्यका रहस्यहरू पृथ्वीमा ल्याइन्छन्, जुन मानिसका लागि बोध गर्न नसकिने र बुझ्न नसकिने छन्, जुन अत्यन्तै अद्भुत र बुद्धिमानी छन्—के ती सबै अलौकिक हुँदैनन् र? तर, तैँले के जान्नुपर्छ भने, चाहे त्यो जतिसुकै अलौकिक होस्, सबै कुरा उहाँको सामान्य मानवताभित्रै गरिन्छ। परमेश्‍वरको देहधारी शरीरमा मानवता हुन्छ; यदि उहाँमा यो हुँदैनथ्यो भने, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुनेथिएन। येशूले आफ्नो समयमा अति धेरै चमत्कार गर्नुभयो। त्यस समयका इस्राएलीहरूले जे देखे त्यो अलौकिक कुराहरूले भरिपूर्ण थियो; तिनीहरूले स्वर्गदूत र दूतहरू देखे, र तिनीहरूले यहोवाको आवाज सुने। के यी सबै अलौकिक थिएनन् र? पक्कै पनि, आज कतिपय यस्ता दुष्ट आत्मा छन् जो मानिसलाई अलौकिक कुराहरूद्वारा भ्रमित पार्छन्; त्यो वर्तमानमा पवित्र आत्माद्वारा नगरिने काममार्फत मानिसलाई भ्रमित पार्नका लागि तिनीहरूले गर्ने नक्कलबाहेक केही पनि होइन। धेरै मानिसले चमत्कारहरू गर्छन् साथै बिरामीलाई निको पार्छन् र पिशाचहरू धपाउँछन्; यी दुष्ट आत्माहरूको कामबाहेक अरू केही होइनन्, किनभने आजको दिनमा पवित्र आत्माले त्यस्तो काम गर्न छोडिसक्नुभएको छ, र त्यस समयदेखि यता पवित्र आत्माको कामको नक्कल गर्नेहरू सबै वास्तवमै दुष्ट आत्मा हुन्। त्यस समयमा इस्राएलमा गरिएका सबै काम अलौकिक प्रकृतिका मात्र थिए, यद्यपि पवित्र आत्मा अहिले त्यसरी काम गर्नुहुन्न, र अहिले हुने त्यस्तो कुनै पनि काम शैतानको नक्कल र ढोँग अनि त्यसले दिने बाधा हो। तर तैँले जुनसुकै अलौकिक कुरा दुष्ट आत्माहरूबाट आउँछ भनेर भन्न मिल्दैन—यो परमेश्‍वरको कामको युगमा निर्भर हुन्छ। आजका दिनमा देहधारी परमेश्‍वरद्वारा गरिने कामबारे विचार गर् त: यसको कुन पक्ष अलौकिक छैन? उहाँका वचनहरू तेरो लागि बोध गर्न नसकिने र प्राप्त गर्न नसकिने छन्, र उहाँले गर्नुहुने काम कुनै पनि मानिसद्वारा गर्न सकिँदैन। उहाँ जे बुझ्नुहुन्छ त्यो मानिसले कुनै हालतमा बुझ्न सक्दैन, र उहाँको ज्ञानको कुरा गर्नुपर्दा, मानिसलाई यो कहाँबाट आउँछ भन्‍ने थाहा छैन। कतिपयले यसो भन्छन्, “म पनि तपाईँ जस्तै सामान्य छु, तर तपाईँलाई थाहा भएको कुरा मलाई कसरी थाहा नभएको हो? म उमेरले जेठो छु र अनुभवले धनी छु, तैपनि मलाई थाहा नभएको कुराबारे तपाईँ कसरी थाहा पाउन सक्नुहुन्छ?” मानिसको कुरा गर्ने हो भने, यी सबै यस्ता कुरा हुन् जुन मानिसले कुनै हालतमा प्राप्त गर्न सक्दैन। अनि कतिपय मानिस यस्ता पनि छन् जो यसो भन्छन्, “इस्राएलमा गरिएको कामको बारेमा कसैलाई थाहा छैन, र बाइबलका व्याख्याताहरूले समेत कुनै स्पष्टीकरण दिन सक्दैनन्; तपाईँलाई चाहिँ कसरी थाहा भयो?” के यी सबै अलौकिक कुरा होइनन् र? उहाँसँग अचम्मका कार्यहरूको कुनै अनुभव छैन, तैपनि उहाँलाई सबै कुरा थाहा छ; उहाँ अत्यन्तै सहजताका साथ बोल्नुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ। के यो अलौकिक होइन र? उहाँको काम देहले प्राप्त गर्न सक्ने कुराभन्दा माथि पुग्छ। यो मासुको शरीर भएको कुनै पनि मानिसको सोचाइले प्राप्त गर्न सक्दैन र यो मानिसको मनको समझले पूर्णतया कल्पना गर्नै सक्दैन। उहाँले कहिल्यै बाइबल नपढ्नुभएको भए पनि, उहाँ परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम बुझ्नुहुन्छ। अनि हुन त उहाँ बोल्दा पृथ्वीमा उभिनुहुन्छ, तर उहाँ तेस्रो स्वर्गका रहस्यहरूका बारेमा बोल्नुहुन्छ। मानिसले यी वचनहरू पढ्दा उसलाई यस्तो लाग्छ, “के यो तेस्रो स्वर्गको भाषा होइन र?” के यी सबै एउटा सामान्य व्यक्तिले हासिल गर्न सक्ने कुराभन्दा बाहिरका मामला होइनन् र? त्यस समयमा, जब येशूले चालीस दिनको उपवास बस्नुभयो, के त्यो अलौकिक थिएन र? यदि तँ चालीस दिनको उपवास सबै हिसाबले अलौकिक हो, दुष्ट आत्माहरूको कार्य हो भनेर भन्छस् भने, के तैँले येशूलाई दोषी ठहराएको छैनस् र? आफ्नो सेवकाइ निर्वाह गर्नुभन्दा पहिले, येशू एक सामान्य व्यक्ति जस्तै हुनुहुन्थ्यो। उहाँ पनि विद्यालय जानुभयो; नत्रभने उहाँले पढ्न र लेख्न कसरी सिक्न सक्नुहुन्थ्यो र? जब परमेश्‍वर देह बन्नुभयो, तब आत्मा देहभित्रै लुकेर रहनुभयो। तैपनि, एक सामान्य व्यक्ति भएको नाताले, उहाँले वृद्धि र परिपक्वताको प्रक्रिया पार गर्न जरुरी थियो, साथै उहाँको संज्ञानात्मक क्षमता परिपक्व नभएसम्म, र उहाँ कुराहरूलाई छर्लङ्गै देख्न सक्षम नभएसम्म, उहाँलाई एक सामान्य व्यक्ति मान्न सकिँदैनथ्यो। उहाँको मानवता परिपक्व भएपछि मात्रै उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सक्नुहुन्थ्यो। उहाँको सामान्य मानवता अझै पनि अपरिपक्व नै रहेको र उहाँको समझ परिपक्व भइनसकेको अवस्थामा उहाँले कसरी आफ्नो सेवकाइ निर्वाह गर्न सक्नुहुन्थ्यो र? उहाँले छ-सात वर्षको उमेरमा आफ्नो सेवकाइ निर्वाह गर्नुहुन्छ भनेर पक्कै पनि अपेक्षा गर्न सकिँदैनथ्यो! परमेश्‍वर पहिलो पटक देह बन्नुहुँदा किन खुला रूपमा देखा पर्नुभएन? किनभने उहाँको देहको मानवता अझै अपरिपक्व नै थियो; उहाँको देहका संज्ञानात्मक प्रक्रियाहरू साथै यस देहको सामान्य मानवता पूर्ण रूपमा उहाँमा निहित थिएनन्। यसै कारणले गर्दा, उहाँले आफ्नो काम सुरु गर्नुअघि—उहाँ देहमा आफ्नो काम सम्हाल्न पर्याप्त रूपमा सुसज्जित नभएसम्म—सामान्य मानवताले र सामान्य मानवताको आम सुझबुझले युक्त हुनु उहाँका लागि पूर्ण रूपमा आवश्यक थियो। यदि उहाँ उक्त कामका लागि योग्य हुनुहुन्नथ्यो भने, उहाँ निरन्तर वृद्धि हुन र परिपक्व हुन जरुरी हुनेथियो। यदि येशूले सातआठ वर्षको उमेरमा आफ्नो काम सुरु गर्नुभएको भए, के मानिसले उहाँलाई एक विलक्षण बालप्रतिभा मान्नेथिएन र? के सबै मानिसले उहाँलाई एउटा बालक ठान्नेथिएनन् र? कसलाई चाहिँ उहाँ पत्यारिलो लाग्नेथियो र? सातआठ वर्षको बालक जो आफू उभिएको मञ्चभन्दा होचो छ—के उहाँ प्रचार गर्न योग्य हुनुहुनेथियो र? उहाँको सामान्य मानवता परिपक्व हुनुभन्दा पहिले, उहाँ यस कामका लागि योग्य हुनुहुन्नथ्यो। उहाँको अझै पनि अपरिपक्व रहेको मानवताको कुरा गर्नुपर्दा, कामको ठूलो भाग पूर्णतया अप्राप्य थियो। परमेश्‍वरका आत्माले देहमा गर्नुहुने कामका पनि सिद्धान्तहरू हुन्छन्। उहाँ सामान्य मानवताले सुसज्जित हुनुभएपछि मात्रै उहाँ पिताका लागि काम गर्न सक्नुहुन्छ, र पिताद्वारा दिइएको आज्ञा सम्हाल्न सक्नुहुन्छ। त्यसपछि मात्रै उहाँ आफ्नो काम सुरु गर्न सक्नुहुन्छ। बाल्यकालमा, येशूले प्राचीन समयमा घटेका धेरैजसो घटना बुझ्नै सक्नुहुन्नथ्यो, र उहाँले सभाघरमा शिक्षकहरूलाई सोधेर मात्रै बुझ्न थाल्नुभयो। यदि उहाँले बोल्न सिक्नेबित्तिकै आफ्नो काम सुरु गर्नुभएको भए, उहाँले गल्तीहरू नगर्न कसरी सम्भव हुन्थ्यो? परमेश्‍वरले कसरी चाहिँ गलत कदमहरू चाल्न सक्नुहुन्छ? त्यसकारण, उहाँ काम गर्न सक्षम हुनुभएपछि मात्रै उहाँले आफ्नो काम सुरु गर्नुभयो; उहाँ काम सम्हाल्न पूर्ण रूपमा सक्षम नभएसम्म उहाँले कुनै पनि काम गर्नुभएन। २९ वर्षको उमेरमा, येशू निकै परिपक्व भइसक्नुभएको थियो र उहाँको मानवता उहाँले गर्नुपर्ने काम सम्हाल्नका लागि पर्याप्त थियो। त्यसपछि मात्रै परमेश्‍वरका आत्माले आधिकारिक रूपमा उहाँमा काम गर्न सुरु गर्नुभयो। त्यस समयमा, यूहन्नाले उहाँका लागि बाटो खोल्न सात वर्षसम्म तयारी गरेका थिए, र आफ्नो काम पूरा गरेपछि, तिनलाई झ्यालखानामा हालियो। त्यसपछि यो बोझ पूर्ण रूपमा येशूमाथि आइपर्‍यो। यदि उहाँले २१ वा २२ वर्षको उमेरमा, जुन समयमा उहाँको मानवतामा धेरै कमी थियो, जब उहाँ भर्खरै मात्र युवावस्थामा प्रवेश गर्नुभएको थियो, र उहाँले अझै नबुझेका कुराहरू धेरै थिए, त्यतिखेर यो काम सम्हाल्नुभएको भए, उहाँ नियन्त्रण लिन असक्षम हुनुहुनेथियो। त्यसबेला, येशूले आफ्नो काम सुरु गर्नुभन्दा पहिले नै यूहन्नाले केही समय आफ्नो काम गरिसकेका थिए, जुन समयसम्म उहाँ मध्य उमेरमा पुगिसक्नुभएको थियो। त्यो उमेरमा, उहाँको सामान्य मानवता उहाँले गर्नुपर्ने काम सम्हाल्नका लागि पर्याप्त थियो। अब, देहधारी परमेश्‍वरसँग पनि सामान्य मानवता छ र, तिमीहरूमध्येका पाका मानिसहरूका तुलनामा परिपक्व नभए पनि, यो मानवता जस्तो छ त्यो उहाँको काम सम्हाल्नका लागि पहिले नै पर्याप्त छ। आजको कामको वरपरका परिस्थितिहरू पूर्ण रूपमा येशूको समयका परिस्थितिहरू जस्तै छैनन्। येशूले बाह्र जना प्रेरितलाई किन छान्नुभयो? यो सबै उहाँको कामको समर्थनमा र त्योसँगको सहकार्यमा गरिएको थियो। एकातिर, यो त्यस समयमा उहाँको कामको जग बसाल्नका लागि थियो भने अर्कोतिर यो आउने दिनहरूको उहाँको कामको जग बसाल्नका लागि थियो। त्यस समयको कामअनुरूप, येशूले बाह्र जना प्रेरितलाई छान्नुभयो; यो येशूको अभिप्राय थियो, साथै परमेश्‍वर स्वयम्‌को अभिप्राय पनि यही नै थियो। उहाँलाई बाह्र जना प्रेरितलाई छान्नुपर्छ र त्यसपछि तिनीहरूलाई हरेक ठाउँमा प्रचार गर्न अगुवाइ गर्नुपर्छ भन्‍ने लाग्यो। तर आज तिमीहरूका बीचमा यसको कुनै आवश्यकता छैन! देहधारी परमेश्‍वरले देहमा काम गर्दा, त्यसमा धेरै वटा सिद्धान्त हुन्छन्, र त्यसमा मानिसले बुझ्दै नबुझ्ने मामलाहरू धेरै हुन्छन्; मानिस उहाँलाई मापन गर्न, वा परमेश्‍वरसँग अत्यधिक मागहरू राख्न निरन्तर आफ्नै धारणाहरू प्रयोग गर्छ। तैपनि आजको दिनसम्म, धेरै मानिस तिनीहरूको ज्ञान तिनीहरूकै धारणाहरूले मात्र बनेको छ भन्‍ने कुरामा पूर्णतया अनभिज्ञ छन्। परमेश्‍वर जुनसुकै युग वा ठाउँमा देहधारी हुनुभएको भए पनि, देहमा उहाँले काम गर्ने सिद्धान्तहरू अपरिवर्तित रहन्छन्। उहाँ देह बन्ने तर आफ्नो काममा देहभन्दा माथि उठ्ने हुन सक्दैन; उहाँ देह बन्ने तर उहाँले देहको सामान्य मानवताभित्र काम नगर्ने त झनै हुन सक्दैन। नत्रभने, परमेश्‍वरको देहधारणको महत्त्व शून्यमा परिणत हुनेथियो, र वचन देह बन्नुभएको कुरा त अझ बढी पूर्ण रूपमा अर्थहीन हुनेथियो। यसबाहेक, स्वर्गमा हुनुहुने पितालाई (आत्मालाई) मात्र परमेश्‍वरको देहधारणको बारेमा थाहा छ, र अरू कसैलाई थाहा छैन, देह स्वयम्लाई वा स्वर्गका दूतहरूलाई समेत थाहा छैन। यसो हुनाले, परमेश्‍वरले देहमा गर्ने काम अझ बढी सामान्य छ र यसले मार्ग वास्तवमै देह बन्नुभएको छ, वचन वास्तवमै देह बन्नुभएको छ, र देहको अर्थ एक साधारण र सामान्य व्यक्ति हो भन्‍ने कुरा अझ राम्ररी प्रदर्शन गर्न सक्छ।

कसै-कसैलाई यस्तो लाग्न सक्छ, “किन परमेश्‍वर आफैले यो युगको सुरुवात गर्नुपर्दछ? के कुनै सृष्टि गरिएको प्राणी उहाँको स्थानमा खडा हुन सक्दैन र?” तिमीहरू सबैलाई थाहा छ, कि परमेश्‍वर एउटा नयाँ युग सुरु गर्ने स्पष्ट उद्देश्यसहित देह बन्नुभयो, र निश्चय नै, जब उहाँले एउटा नयाँ युगको सुरुवात गर्नुहुन्छ, उहाँले त्यतिबेलै पहिलेको युगको अन्त्य गर्नुभएको हुनेछ। परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँको कामलाई गति दिने उहाँ स्वयम् नै हुनुहुन्छ, त्यसैले पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई हराउनुभएको र संसारमाथिको उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि उहाँ स्वयम्ले मानिसमाझ काम गर्नुहुँदा, त्यो एक नयाँ लडाइँको सुरुवात हो। नयाँ कामको सुरुवातविना, स्वाभाविक रूपमै पुरानोको अन्त्य हुनेथिएन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त हुन बाँकी छ भन्‍ने कुराको प्रमाण हो। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ काम गर्नुहुन्छ भने मात्र, मानिस शैतानको शक्तिबाट पूर्णतः उम्कन सक्छ र उसले नयाँ जीवन र नयाँ सुरुवात प्राप्त गर्न सक्छ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरमा समर्पित हुने कार्य हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिस परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरमा समर्पित हुन्छ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र तिमीहरू उहाँमा समर्पित हुनुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र समर्पणता र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँको कामलाई गति दिने उहाँ नै हुनुहुन्छ, र उहाँको काम समाप्त गर्ने उहाँ नै हुनुहुन्छ। कामको योजना बनाउने, र त्यसलाई व्यवस्थापन गर्ने उहाँ नै हुनुहुन्छ, र अझ बढी, कामलाई फलदायी बनाउने उहाँ नै हुनुहुन्छ। बाइबलमा भनिएझैँ, “आदि र अन्त्य म नै हुँ; बीउ छर्ने र कटनी गर्ने म नै हुँ।” परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित यो सबै काम उहाँ आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ; उहाँको सट्टा कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्तिमा ल्याउन सक्दैन, किनकि सबै थोक आफ्नो हातमा राख्नुहुने उहाँ नै हुनुहुन्छ। संसार सृष्टि गर्नुभएकाले, उहाँ सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुनेछ, र उहाँले निश्चय नै सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुनेछ, यसरी आफ्नो सम्पूर्ण योजनालाई फलदायी बनाउनुहुनेछ!

अघिल्लो:  अभ्यास (२)

अर्को:  देहधारणको रहस्य (२)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger